Category: समाचार

  • आज तमु ल्होसार, देशभर सरकारले दियो बिदा

    आज तमु ल्होसार, देशभर सरकारले दियो बिदा

    काठमाडौं । आज तमु ल्होसार, गुरुङ समुदायमा नयाँ वर्षका रुपमा मनाइंदैछ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

    यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको छ।

    तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले यो पर्वले आपसीविश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध देश निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गरेका छन् । आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

  • रुसमा युक्रेनी हमला, कम्तिमा २० जना मारिए

    रुसमा युक्रेनी हमला, कम्तिमा २० जना मारिए

    काठमाडौं । रुसमा हवाई हमला भएको छ । घटनामा कम्तिमा २० जना मारिएको र १०० जना घाइते भएको समाचार एजेन्सीहरुले बताएका छन्. । यो आक्रमण युक्रेनले गरेको आरोप रुसको छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यसअघि गत शुक्रबार रुसले युक्रेनमा आक्रमण गर्दा ३९ जनाको ज्यान गएको थियो । त्यसैको जवाफ स्वरुप युक्रेनले रुसमा आक्रमण गरेको बताइएको छ ।

    बीबीसीका अनुसार रुस(युक्रेन युद्धको क्रममा रुसमा भएको यो मिसाइल आक्रमण सबैभन्दा खतरनाक हो । युक्रेनले अनेकौं प्रकारका हतियार प्रयोग गरेर आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसमा युक्रेनी ओल्खा र चेक निर्मित भ्याम्पायर रकेट पनि प्रयोग भएको बताइएको छ । युक्रेनले भने रुसले गरेको आक्रमणको प्रतिक्रिया स्वरुप रुसी क्षेत्रमा ७०भन्दा बढी ड्रोन लन्च गरिएको जनाएको छ ।

    युक्रेनले ड्रोन आक्रमण गरेपछि बेलगोरोडमा ठूलो आवाजका साथ विष्फोट भएको थियो । साथै गाडीहरुका हर्न अस्वाभाविक ढंगले बजेको पनि सुनिएको थियो । बेलगोरोड क्षेत्रका गभर्नरले युक्रेनी सेनाको आक्रमण पछिल्लो दुई वर्षयताकै सबैभन्दा गम्भीर खालको भएको बताएका छन् । रुसी रक्षा मन्त्रालयले भने युक्रेनले किभ मोर्चामा खटिएका रुसी सेनाको ध्यान अन्यत्र मोड्न र उक्साउन खोजेको टिप्पणी गरेको छ । उसले युक्रेनको आक्रमण सैह्य नहुने प्रतिक्रियासमेत दिएको छ ।

  • ललितपुर घटनामा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

    ललितपुर घटनामा कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा सरकारको तर्फबाट कमजोरी भएको स्वीकार गरेका छन् । शनिबार काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन कार्यक्रममा उनले मन्त्रीको गाडी जल्नुमा र गोली चलाउनुमा सुरक्षा निकायबाट कमजोरी भएको बताएका हुन् ।

    ‘हाम्रो मन्त्रीजीको पीएसओ (निजी सुरक्षा अधिकारी) ले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटी भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ । अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ’, उनले भने ।

    पानीजहाज बनाउने कामको लागि कोरियाली भाषा परीक्षा दिँदा फेल भएकाहरुले उत्पादनमूलक कामको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग राख्दै गरेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।
    भाषा परीक्षामा फेल भएकाहरुले पुनः परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । ३ पुसमा अदालतले निवेदन दिन १८ जनाले मात्र फारम भर्न दिन आदेश दिएको थियो । प्रधानमन्त्री प्रचण्डले अदालतको निर्णयको कारण पनि यो घटना भएको आशय व्यक्त गरे ।

    ‘यहाँ यो प्रक्रियामा कहीँ न कहीँ अदालतले १८ जना, जसले निवेदन दिए, उनीहरुलाई परीक्षा दिन स्वीकृति दिनुको अर्थ अरुलाई नदिएको भन्ने जस्तो अर्थ लगाउने ठाउँ देखिँदैन । पछि त फेरि हिजै ३ बजे अदालतले सबैले परीक्षा दिन पाउने भनेपछि एउटै निर्णय पहिलेनै पुस ३ गते भइदिएको भए यो दुर्भाग्यपूर्ण घटना घटनानै थिएन । त्यसकारण कहीँ न कहीँ त्रुटीहरु भएका छन भन्ने हामीले समीक्षा गर्दैछौं’ उनले भने ।

  • ललितपुरमा प्रहरीबाट मारिएका दुई युवकको परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

    ललितपुरमा प्रहरीबाट मारिएका दुई युवकको परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

    काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको छ ।

    शनिबार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

    पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो । मन्त्रिपरिषद बैठकले घटनामा घाइते हुनेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    त्यस्तै सरकारले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने र सुरक्षा निकायलाई सतर्क,संयमित र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । ‘यस्ता घटना हुन नदिने गरी शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध छ’, मन्त्री शर्माले भनिन् ।

  • बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

    बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

    काठमाडौं । बालकुमारीमा शुक्रवार भएको आन्दोलन र दुई युवाको मुत्युका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाबारे ब्रिफिङ लिएका हुन् ।

    ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए ।


    ब्रिफिङमा उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको समेत बताएका छन् ।

  • अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै

    अंग्रेजी नयाँ वर्षमा ठमेलमा महोत्सव हुँदै

    काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाडौंको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव आयोजना भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ३१ डिसेम्बरका दिन बेलुका ठमेलमा सडक महोत्सव हुन लागेको हो । यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ ।

    परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको पर्यटन क्षेत्रको विकासका लागि ठमेलमा रहेको सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । ‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ नाराकासाथ सडक महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम हुनेछ । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख ८० हजार जनाको सहभागिता रहने परिषद्को अनुमान छ ।

    ठमेल सडक महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माले जानकारी दिए । विगतको तुलनामा यसवर्ष ठमेलभित्रका हरेक चोकमा सीसी क्यामरा जडान गरिएकाले ढुक्क भएर ठमेलमा घुम्न र मनोरञ्जन लिन परिषद्ले सबैलाई आग्रह गरेको छ ।

    सडक महोत्सव सम्पन्न गर्न २२ लाख रुपैयाँको हाराहारीमा खर्च हुने परिषद्का अध्यक्ष शर्माले बताए । नेपाल आएका पर्यटकमध्ये झण्डै ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेको परिषद्ले जनाएको छ । ठमेलभित्र झण्डै दुई हजार व्यवसायी तथा घरधनी रहेका छन् । ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेले ठमेल क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि परिषद्ले विभिन्न निकायसँग छलफल गरिरहेको बताए ।

  • रुसले युक्रेनमा एकसाथ धेरै तिरबाट थाल्यो आक्रमण, हताहती बढ्दै

    रुसले युक्रेनमा एकसाथ धेरै तिरबाट थाल्यो आक्रमण, हताहती बढ्दै

    काठमाडौं । युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणबाट किभ, ओडेसा, निप्रोपेत्रोभ्स्क, खार्किभ र ल्भिभमा १६० भन्दा धेरै घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसयो यो आक्रमणमा सबै प्रकारका हतियार प्रयोग गरेको दाबी गरेका छन् ।

    त्यहाँको वायु सेनाले एकैपटक यति धेरै क्षेप्यास्त्र प्रहार भएको कहिल्यै नदेखेको बताएको छ । वायु सेनाका प्रवक्ताका अनुसार रुसले हाइपरसोनिक, क्रुज र ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरेको छ, जसमा एक्स-२२ प्रकारका क्षेप्यास्त्र पनि प्रयोग भएको छ । शुक्रबारको आक्रमणको प्रतिरक्षा गर्न नसके पनि १५८ क्षेप्यास्त्र र ड्रोनमध्ये ११४ वटा खसालेका वायु सेनाले दाबी गरेको छ ।

  • आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    काठमाडौं । आज मुलुकको पहाडी भूभागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । अन्य भूभागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमान छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । आइतबार र सोमबार पनि देशका हिमाली क्षेत्रसहित उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • प्राधिकरणले काट्यो थप १४ उद्योगको विजुली

    प्राधिकरणले काट्यो थप १४ उद्योगको विजुली

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरणले शुक्रबार पाँच करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरुको विद्युत् लाइन काटेको हो । प्राधिकरणले यही पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका चारवटा उद्योग र त्यसपछि थप पाँचवटा गरी ९ वटा उद्योगको लाइन काटेको थियो ।

    शुक्रबार लाइन काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ । शुक्रबार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ ।

    यसैगरी, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी इस्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ।

  • बालकुमारीमा गोली लागेर गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

    बालकुमारीमा गोली लागेर गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

    काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।

    प्रहरीको गोली लागेर घाइते भएका एक दैलेखका २३ वर्षीय सुजन राउतको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    यसैगरी प्रदर्शनका क्रममा बायाँ खुट्टाको घुँडामा गोली लागेका डोटीका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो।

    रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका थिए। सोही क्रममा मन्त्रीको गाडी उक्त स्थानमा पुगेपछि युवाहरुको समूहले जलाएको थियो।

    जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।

  • ‘सीपबिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई परीक्षामा सहभागी गराउन अदालतको आदेश

    ‘सीपबिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई परीक्षामा सहभागी गराउन अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले सीपबिल्डिङमा अनुत्तीर्ण भएका सबैलाई परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।

    न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

    सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।

    पानी जहाज निर्माण क्षेत्रका कामदारका लागि ईपीएस कोरिया शाखाले साउनमा आवेदन लिइएको थियो । त्यसअनुसार परीक्षा भएर ३ हजार ९८९ जनाले नाम निकालेका थिए ।

    १९ मंसिरमा उत्पादनमुकल क्षेत्रको कामदारका लागि हुने भाषा परीक्षाको सूचना निस्कियो, जसमा आवेदकको योग्यतामा २०२३ भित्र भाषा परीक्षाका लागि आवेदन नदिएको हुनुपर्ने उल्लेख थियो । यसले पानी जहाज निर्माणतर्फ भाषा परीक्षाका लागि आवेदन दिएकाहरु यसमा फरम भर्न नै अयोग्य भए ।

    अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले पाउनेछन् । यसअघि सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो ।

    त्यसका विरुद्धमा सुरज पाठकसहित १८ जनाले उच्च अदालत पाटनमै मुद्दा हालेका थिए । अदालतले उनीहरूलाई आवेदन प्रक्रियामा सहभागी गराउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

    सोही आधारमा १८ जनाले आज आवेदन फाराम भनेका थिए । भने अन्यले भर्न नपाएपछि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ ।

  • बालकुमारी आन्दोलनमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु

    बालकुमारी आन्दोलनमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ।

    जिल्ला प्रहरी परिसर, ललितपुरले हवाई फायर गरेका क्रममा गोली लागेर गम्भीर घाइते भएका २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको स्रोतले जानकारी दियो।।

    बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो।

    रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने भएका युवाहरुले शुक्रबार मध्याह्न कोटेश्वर–बालकुमारी–सातदोबाटो सडक कब्जा गरी उग्र प्रदर्शन गरेका थिए। सोही क्रममा मन्त्रीको गाडी उक्त स्थानमा पुगेपछि युवाहरुको समूहले जलाएको थियो।

  • ७ महिनापछि केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे बालकृष्ण खाण

    ७ महिनापछि केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे बालकृष्ण खाण

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा बसेरपछि धरौटीमा रिहा भएका खाण शुक्रवार केन्द्रीय समिति बैठकमा सहभागी हुन खाण पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।

    केन्द्रीय समितिको हिजोको बैठकमा भने खाण गएका थिएनन्। खाण भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा छुटेका थिए। खाण थुनामा हुँदा संस्थापन इतर पक्षले निलम्बन गर्नुपर्ने माग राखेपनि सभापति शेरबहादुर देउवाले मानेका थिएनन्।

  • वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, चाउचाउ बिक्रीमा रोक

    वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, चाउचाउ बिक्रीमा रोक

    काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक लगाएको छ ।

    यशोदा फुड्सले उत्पादन गरेको करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको आरोप लागेको थियो । कम्पनीले करेन्ट चाउचाउलाई वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरको आरोप थियो ।

    यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरि उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो।

    चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो।

    यशोदा फुड्सले वाईवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो। अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ।

    अदालतको यस आदेशले वाईवाईको नक्कल गरि बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ। यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा विक्रिवितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ।

    अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरि चौधरी ग्रुपद्वारा उत्पादीत वाईवाई नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाईमा रहँदै आएको छ।

  • कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, जलाए मन्त्रीको गाडी

    कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, जलाए मन्त्रीको गाडी

    काठमाडौं । कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोध प्रदर्शमा उत्रिएका युवाहरूले सरकारी गाडीमा आगजनी गरेका छन्।

    बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ। उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए ।

    मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए । गाडीमा आगो लागेपछि अहिले बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ। पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

    उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो ।

  • कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले आज बोल्दै

    कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले आज बोल्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ। हिजोदेखि सुरू भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठको एजेन्डा प्रस्तुत गरेका थिए।

    महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा, समुदायमा कांग्रेस मेलमिलाप दिवसदेखि सहिद दिवससम्म अभियान एजेन्डा रहेको शर्माले सुनाएका थिए। वर्तमान सरकारमा कांग्रेसका ९ मन्त्री छन्। केन्द्रीय समिति बैठक मन्त्रीहरूको ब्रिफिङबाट कार्यसूचीमा प्रवेश गरेको थियो।

    हिजो केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धारणा राखेका थिए। समयअभावका कारण अन्य मन्त्रीले धारणा राख्न पाएनन्। बाँकी रहेका ७ मन्त्रीहरूले आजको बैठकमा धारणा राख्नेछन्।

    उपप्रधानमन्त्री एवम् कानुनमन्त्री धनराज गुरूङ, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपि साउद, उद्योग मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सिता गुरूङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिका मन्त्री सुरेन्द्रराज आचार्यले धारणा राख्नेछन्। सरकारमा रहेका मन्त्रीका कामकारबाहीबारे समीक्षा गरिने भएकाले कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको छैन।

  • एनसेल खरीद -बिक्रिमा कानूनी प्रक्रिया पुरा नभएको प्राधिकरणको स्पष्टोक्ति

    एनसेल खरीद -बिक्रिमा कानूनी प्रक्रिया पुरा नभएको प्राधिकरणको स्पष्टोक्ति

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी प्रावधान पूरा नभएको उल्लेख छ ।

    नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ४ (क) बमोजिम समेत आफ्ना सेयर धनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको अनुमति वा स्वीकृति लिनुपर्ने उल्लेख छ । यो कानुनको परिपालना नभएको अवस्थामा प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सक्ने समेत प्राधिकरणले स्पष्ट पारेको छ ।

    प्राधिकरणले लेखा समितिमा बताए अनुसार मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी खरिद बिक्री सम्झौता र प्रेस विज्ञप्तिमार्फत गराएको जानकारीबारे आधिकारिक विवरण उपलब्ध गराउन १५ र २५ मंसिरमा पत्र लेखिएको छ । त्यसको आधिकारिक कागजात प्राप्त नभएको समेत प्राधिकरणले जनाएको छ ।

    यस कारोबारको वास्तविक सेयर खरिद मूल्यको जानकारी सेयर खरिद सम्झौताबाट स्पष्ट हुन सक्ने भएकाले सो को प्राप्ती पश्चात यकिन हुन सक्ने जानकारी समेत प्राधिकरणले लेखा समितिलाई गराएको छ । सेयर खरिद सम्झौतामा उल्लेखित रकम सन्देहात्मक देखिएमा कम्पनीको डीडीए गरी यथार्थ जानकारी लिइने समेत प्राधिकरणले जनाएको छ ।

    बिक्रीकर्ता दोहोरो कर हो वा होइन यकिन गर्ने निकाय आन्तरिक राजस्व विभाग रहेको समेत प्राधिकरणले बताएको छ । पूँजीगत लाभकरका विषय समेत सोही विभागले हेर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

  • राष्ट्रिय गौरवका आयोजनामा अब दुई सिफ्टमा काम

    राष्ट्रिय गौरवका आयोजनामा अब दुई सिफ्टमा काम

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उ

    नले दुई सिफ्टमा काम गर्ने व्यवस्थाको प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिए । प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको भन्दै त्यसको अक्षरस लागू गरिने समेत बताए ।

    प्रधानमन्त्रीले निर्माणाधीन योजनाहरूको वस्तुगत विश्लेषण गरी समस्या पहिचान गर्ने र समाधानको विकल्पसहित तीव्र गतिमा निर्माणको लागि कार्ययोजना तयार गर्न समेत निर्देशन दिए ।

    आयोजनाहरू समयमै सम्पन्न नहुने र अलपत्र हुने अवस्थालाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने भन्दै उनले आयोजना कार्यान्वयनका क्रममा जग्गा प्राप्ति, रुख–पोल–पाइप लगायतका युटिलिटी हटाउन, स्थानीय निर्माण सामग्री प्राप्ति जस्ता कार्यमा परेका कठिनाइका विषयमा तत्काल कानुनी एवम् प्रक्रियागत झन्झट हटाउनुपर्ने बताए । यसका लागि कानुन संशोधन लगायतका काममा विशेष प्राथमिकताका साथ कार्य सम्पादन गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।

    छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘म अलि उदार भएँ, मन्त्रालयलाई मैले उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा छु । पहिला तपाईंहरूले यो कुरा आत्मसाथ गर्नुहोला ।’ प्रधानमन्त्री कार्यालयको पुनर्संरचना आज नै गर्ने जानकारी दिँदै उनले सम्बोधनका बुँदा अक्षरस पालना हुने जानकारी गराए ।

    ‘यो सामान्य छलफल होइन, काममा नयाँ गति ल्याउन छलफल गरिएको हो, यो छलफलको सुरूवात हो, अन्त्य होइन । जनताका लागि अझ राम्रो काम गर्ने संकल्पका साथ यो छलफल प्रारम्भ गरिएको हो । मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउँछन् । यसमा सचेत हुनुहोला,’ प्रधानमन्त्रीले भने ।

    उनले नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा गुणात्मक परिवर्तन गरिने भन्दै योजना आयोग र अर्थ मन्त्रालयलाई सचेत गराए ।

    बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको निर्माण कार्यलाई उच्च प्राथमिकतामा काम गरिरहेको, नागढुंगा सुरूङमार्ग निर्माणको काम अपेक्षित गतिमा अगाडि बढेको, हुम्लाको सदरमुकाम सिमीकोटसम्म सडक विस्तार र कालोपत्रे गर्ने प्रक्रियालाई प्राथमिकता दिइएको बताउँदै जुनसुकै विकल्पमा गएर भए पनि निर्माण व्यवसायीको पुरानो भुक्तानी टुंगो लगाउनुपर्ने बताएका थिए ।

    मन्त्री ज्वालाले स्रोत सुनिश्चिततामा लचिलो प्रक्रिया अपनाउनुपर्ने, राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी नहुने गरी कार्यक्रम तर्जुमा गर्नुपर्ने, भौतिक पूर्वाधारका निम्ति देखापर्ने समस्या सम्बोधनका निम्ति छाता कानुन वा उच्चस्तरीय संयन्त्र आवश्यक रहेको, रकमान्तर नहुँदा प्राथमिकताका आयोजनामा बजेटको अभाव भएको बताउँदै विकासमैत्री नीति, संयन्त्र र कार्यक्रमको विकासमा जोड दिए ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले विकास ऐन तर्जुमालाई उच्च प्राथमिकता दिने बताउँदै ‘प्राइममिनिस्टर डेलिभरि युनिट’ निर्माण गर्नुपर्ने, आयोजनाको ठेक्का तोड्नुपूर्व नयाँ ठेक्काका लागि पर्याप्त गृहकार्य हुनुपर्ने बताए ।

    नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्यालले निर्माण व्यवसायीको बाँकी भुक्तानीको सहजीकरणका निम्ति आवश्यक काम भइरहेको, सडक पुलको बजेटमा दायित्वको दबाब बढिरहेको बताउँदै आयोजनाको म्याद थपका लागि सहजीकरण गरिएकाले पूर्वाधार विकासमा गति आउने बताए ।

  • जाँचबुझ आयोगले भन्यो– ‘यती एयर दुर्घटना मानविय त्रुटिका कारण’

    जाँचबुझ आयोगले भन्यो– ‘यती एयर दुर्घटना मानविय त्रुटिका कारण’

    काठमाडौं । गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।

    पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीलाई हस्तान्तरण गरेको छ ।

    पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

    आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए ।

    प्रतिवेदन बुझ्दै मन्त्री किँरातीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए ।

  • ‘सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताले आफ्नो एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु’

    ‘सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताले आफ्नो एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु’

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । रास्वपाद्वारा बिहीबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो बारे भएको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको बताए ।

    अनवाश्यकरूपमा सहकारीसँग आफ्नो नाम जोडेको उल्लेख गर्दै उनले भने— अन्तिसम्म लडाइँ लड्ने को हो भन्दा रवि लामिछाने भन्नुहोला । म बचतकर्ताहरूले आफ्नो लगानी एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु । म बचतकर्ताहरूको पक्षमा लड्छु ।

    यस्तै उनले आफू मुलुकको चौथो ठूलो दलको नेतृत्व भएकाले चितवनमा मात्रै सीमित हुन नहुने बताए । आफ्नो संसदीय कार्यकालको पहिलो वर्षलाई आफूले ‘योजना तर्जुमा’को वर्ष भनेको स्मरण गराउँदै उनले भने— अहिले योजनाहरू तर्जुमा गर्दैछु । अझै ४ वर्ष बाँकी छ । त्यो ४ वर्षभित्र मैले काम गर्नेछु ।

  • गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट

    गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ ।

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर परेको छ । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गराएका हुन्।

    मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेशी यही शुक्रबारलाई तोकिएको छ।

    अधिकारी उक्त पदका लागि योग्य नरहेको भन्दै नियुक्ति बदरको मागसमेत गरिएको छ। गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्रै रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिटमा उल्लेख छ।

    गभर्नर अधिकारीको शैक्षिक योग्यताको विषयमा यसअघि रिट परेको थियो। तर उक्त रिट सर्वोच्चले खारेज गरिदिएको थियो। ०७६ चैत २४ मा सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो।

  • कोभिडमा सुस्ताएको घरजग्गा व्यवसाय तंग्रीदै, काठमाडौंमा मेला हुँदै

    कोभिडमा सुस्ताएको घरजग्गा व्यवसाय तंग्रीदै, काठमाडौंमा मेला हुँदै

    काठमाडौं । कोभिड पछि सुस्ताएको घर जग्गा व्यवसायले गति लिन थालेको छ । यसै सन्दर्भमा नेपाल जग्गा तथा आवास विकास सङ्घले काठमाडौंमा आजबाट चार दिने घरजग्गा व्यवसायसँग सम्बन्धित प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आयोजना गर्दैछ । कोरोना महामारीका कारण ०७६ देखि रोकिएको प्रदर्शनी यस वर्ष भृकुटीमण्डपमा हुँदैछ ।

    मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, गाडी, सजावटका सामान र बीमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादन प्रदर्शन गरी यससम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने सङ्घले जनाएको छ ।

    भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टकासाथै बैंक र बीमा कम्पनीको ६० वटा स्टल रहने छ । मेलामा २ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने सङ्घले लक्ष्य लिएको छ ।

  • अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा

    अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा

    काठमाडौं । काठमाण्डौ महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । यसको लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच हिजो समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सबै वडा कार्यालयहरुमा कर्मचारीलगायतका अरु प्रक्रिया पूरा गरेर केही दिनमै बीमाको काम शुरु गर्ने तयारी भैरहेको महानगरपालिकाले जनाएको छ ।

    महानगरपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुले बीमा बोर्डमा सूचीकृत भएर बीमा अन्तर्गतको स्वास्थ्य उपचार दिन थाल्नेछन् । ती केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ ।

    महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् । बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् । काठमाण्डौका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकबाहेक देशभरका सबै पालिकाहरुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भैसकेको छ ।

  • भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर रिहा भए टेकनाथ रिजाल

    भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर रिहा भए टेकनाथ रिजाल

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्। उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका हुन्। उनलाई गत मंसिर १५ गते नै उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर धरौटी रकम बुझाउन नसक्दा रिजाल थप झन्डै एक महिना सुन्धारा कारागारमै रहनुपरेको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए। रकम बुझाएपछि रिजाल रिहा भएका हुन्।

    रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। काठमाडौं जिल्ला अदालतमा यही आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदाहरू परेका कारण बुधबार मात्रै रिहा गरिएको हो। अब उनी पुस २० गते काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रूपैयाँ बुझाएर रिहा भइसकेका छन्।

    पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन्। उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागारमै छन्।

    rss

  • कांग्रेसले मन्त्रिहरुको कामको समिक्षा गर्दै

    कांग्रेसले मन्त्रिहरुको कामको समिक्षा गर्दै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । आज दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा सरकारको एक वर्षको समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् ।

    आजको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको जानकारी गराउने र त्यसमाथि छलफल हुनेछ । यसका साथै राष्ट्रिय सभा सदस्यको निर्वाचनलगायतका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघका लागि तय भएको छ ।

  • दिल्ली भ्रमणमा नजान इजरायली सरकारको एडभाइजरी

    दिल्ली भ्रमणमा नजान इजरायली सरकारको एडभाइजरी

    काठमाडौं । नयाँदिल्लीस्थित इजरायली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।

    दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो । विस्फोटपछि दूतावास नजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ ।

    भारतका लागि इजरायली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मङ्गलबार बताएका थिए । इजरायली राष्ट्रिय सुरक्षा परिषद्ले बम विस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोबास गर्ने इजरायलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, “भिड हुने स्थान (मल, बजार) तथा पश्चिमी÷यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला ।”

    परिषद्ले इजरायलीहरूलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ । रासस-एएनआई

  • पूर्व डीआइजी शाह भ्रष्टाचार मुद्दामा दोषि ठहर

    पूर्व डीआइजी शाह भ्रष्टाचार मुद्दामा दोषि ठहर

    काठमाडौं । विशेष अदालतले अवकाशप्राप्त डीआईजी तथा साहित्यकार महेशबिक्रम शाह लगायत दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो ।

    विशेष अदालतले शाह र पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो ।

    उनीहरुलाई तीन वर्षभन्दा माथि कैद सजाय हुने निश्चित भएको छ । तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार आगामी २५ पुसमा पेशी तोकिएको छ । अख्तियारले २० फागुन २०७६ मा सिन्धुली दुधौलीका समादेशक शाह सहित लेखापाल दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर गरेको थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।

    २०७२ साल वैशाख २७ गते प्रहरी जवानहरुको नया भर्ना सुरु भएको थियो । पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाँउबाट तलबभत्ता खानेगरी उनीहरुको पदस्थापना भएको थियो । तर शाह लगायतका अधिकारीहरुले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लेखेर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।

    १०३ जनाको तलब भत्ताको रकम अनियमितता गर्दा ३१ लाख ८८ हजार अनि नयाँ प्रशिक्षार्थीको तलब भत्ताको नाममा थप १ दाख ४९ हजार गरी कुल ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप उनीहरुमाथि थियो ।

    अख्तियारले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सञ्जिव विशंखेले लेखा परीक्षणका क्रममा त्रुटी लुकाएको भन्दै उनीविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको थियो । २०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए ।

  • हात्ती सौन्दर्य प्रतियोगताको उपाधी सेल्फीकलीलाई

    हात्ती सौन्दर्य प्रतियोगताको उपाधी सेल्फीकलीलाई

    काठमाडौं । सेल्फीकली हात्तीले सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत भएको सौन्दर्य प्रतियोगिताको उपाधि जितेको छ । प्रतिस्पर्धामा रहेका अन्य ६ हात्तीलाई उन्छिदै १७ वर्षको सेल्फीकलीले उपाधि जितेको हो । निर्णायक संयोजक एवम् चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सेल्फीकलीले ३९४ अंक ल्याएर उपाधि उचालेको घोषणा गरे । प्रतियोगितामा ३९३ नम्बरसहित निकुञ्जको रिमझिमकली द्धितीय र ३५६ अंकसहित सम्मृद्धिकली तृतिय भए ।

    प्रतिस्पर्धामा चितवन राष्ट्रिय निकुञ्जको रिमझिमकलीसहित सम्वृद्धिकली, लक्ष्मीकली, विजुलीकली, रानीमायाकली, चम्पाकली र सेल्फीकली सहभागी भएका थिए । निकुञ्जका ३० र सौराहाका व्यससायीहरुले पालेका ४० गरेर ७० हात्तीबाट छानिएका ७ हात्तीका बीचमा सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सहभागी हात्तीहरुको आनीवानी, चिल्लोपना, अनुशासन, शारीरिक बनावट, हिँडाइ, नङहरुको विकास र व्यवस्थापन, चहकिलोपन जस्ता विषयका आधारमा अंक दिइएको थियो ।

    राइनो लज एण्ड होटलका सञ्चालक रामकुमार अर्यालले सेल्फीकली सौन्दर्य प्रतियोगितामा उत्कृष्ट भएकोमा खुसी लागेको बताए । उनले १२ वर्ष अगाडि पर्साबाट यसलाई ल्याएका थिए । अर्यालसँग सेल्फीकली र सोनाकली गरेर दुई हात्ती छन् । ‘सेल्फीकली मान्छेलाई नहान्ने, नरिसाउने, ज्ञानी, भनेको मान्ने खालको छ’ अर्यालले भने, ‘मलाई पनि माया गर्छ, म पनि उसलाई अति नै माया गरेर विषेश ख्याल गर्छु ।’ यी दुबै हात्तीका माहुते किशोर कुमाल र पुष्कर चौधरी हुन् । दुबै हात्ती दिनमा २ पटक पर्यटक लिएर जंगल जाने गरेको अर्यालले बताए ।

    यसपटकको हात्ती महोत्सवमा हात्तीको श्रृङ्गार, हात्ती वनभोज जस्ता कार्यक्रम राखिएका छन् । हात्ती दौड, हात्तीको फुटबल र हात्ती पोलो जस्ता कार्यक्रम हटाइएका छन् । पुस १० गतेबाट सुरु भएको महोत्सव १४ गतेसम्म ५ दिन सञ्चालन हुनेछ । कोराना भाइरसको संक्रमण भएपछि रोकिएको हात्ती महोत्सव ४ वर्षपछि पहिलोपटक भएको हो । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको महोत्सवमा २० हजारभन्दा बढि पर्यटकहरु आउने अपेक्षा छ । सौराहामा ११२ भन्दा बढि होटल तथा रिर्सोट र ८० भन्दा बढि रेष्टुरेन्टहरु छन् । एक रातमा ६ हजार ५ सय पर्यटकहरू राख्न सक्ने क्षमता सौराहाको छ ।

  • ‘गठबन्धन पाँचै वर्ष जान्छ, जति फुटाउन खोज्यो झन् बलियो हुन्छ’ -प्रचण्ड

    ‘गठबन्धन पाँचै वर्ष जान्छ, जति फुटाउन खोज्यो झन् बलियो हुन्छ’ -प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् ।

    गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

    गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्रीले बाँकी चार वर्षमा धेरै राम्रा काम गरिने बताए ।

    ‘मंसिरको पहिलो हप्ता त आकाशै खस्छ कि, धर्ती नै भासिन्छ जस्तो गरी एकथरी मान्छेले होहल्ला गरे। जनतालाई पनि के हुन लाग्यो भन्ने पर्‍यो। हामी हेर्छौं कहीँ केही देख्दैनौं। तर होहल्ला भएको भएकै छ।’ दुर्गा प्रसाईं समूहको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, ‘हामीले बढो धैर्यता र दृढताका साथ त्यसलाई विफल तुल्याइयो।

    त्यसपछि हुन खोजेका अरू धार्मिक जातीय तथा अतिवादी सोच र प्रवृत्तिलाई पनि आफूहरूले परास्त गरेको प्रचण्डको दाबी छ ।

    ‘म अहिले गर्वका साथ भन्छु जति षडयन्त्र भइरहेका छन्। हाम्रो गठबन्धन अझ बलियो र सुदृढ हुँदै गएको छ। र यो गठबन्धन पाँचै वर्ष जान्छ।’ प्रचण्डले भने, एक वर्षमा त यति धेरै काम भयो भने अर्को ४ वर्ष यो गठबन्धन हुँदा हामीले ठूलठूला सफलता प्राप्त गर्न सक्छौँ भन्ने मलाइ विश्वास छ।’

  • विदेश जानेका लागि तीन दिनभित्र ‘लाइसेन्स’

    विदेश जानेका लागि तीन दिनभित्र ‘लाइसेन्स’

    काठमाडौं । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् ।

    यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि निवेदन दिन सकिने भएको छ ।

    निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ ।

    तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले ‘प्राविधिक समस्या नआएमा’ भन्ने शर्त समेत राखेको छ । अर्जेन्ट सवारी चालक अनुमतिपत्र प्रिन्ट गर्नुपर्ने छ सवारी चालक अनुमतिपत्र शीघ्र प्रिन्ट गर्न विभागको अनलाइन सवारी चालक अनुमतिपत्र प्रणालीको पोर्टलमार्फत मिति निवेदन दिन सक्नेछन् ।

    प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाई गरी विभागको सहायता कक्षवाट वितरण हुनेछ । त्यसैले सवारी चालक अनुमतिपत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानुपर्नेछ ।