Category: समाचार

  • कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

    कुश्माका प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

    काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

    पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीलाई बुधवार दिउँसो उनलाई कुश्मा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    कास्की प्रहरीकै अनुरोधमा पर्वत प्रहरीले उनलाई पक्राउ गरेर कास्की पठाउन लागेको हो । पक्राउ पूर्जी जारी भएयता उनी केही समय फरार थिए ।

    स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामासमेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्र्याउन चाहेका थिए ।

    उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएको थियो ।

    पराजुली सहसचिवको परीक्षा दिन जाने भन्दै पुस ३ गतेदेखि कार्यालयबाट बिदा लिएका थिए । त्यसपछि सम्पर्कविहीन भएका थिए ।

  • अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन सरकारलाई मोर्चाको सुझाव

    अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन सरकारलाई मोर्चाको सुझाव

    काठमाडाैं। समाजवादी मोर्चा नेपालले संविधानमा भएका अनुसूचिलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समाजवादी मोर्चाले संविधान प्रदत्त अधिकार प्रदेशले नपाउँदा संघीयता विरोधी शक्तिहरुसँग लड्न प्रदेश कमजोर भएको भन्दै संघीयतालाई मजबुत बनाउन अध्यादेश ल्याएर भएपनि प्रदेश सरकारलाई पूर्ण अधिकार दिइनुपर्ने मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

    बैठकमा मोर्चाले हालसम्म गरेका कामहरूको समीक्षा हुनुका साथै पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको छ। यसका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको छ।

    सरकारमा सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने चित्रहरू देखिएको भन्दै बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले असन्तुष्टि प्रकट गरे। बुधबार साँझ ६ बजे पुनः बस्ने गरी समाजवादी मोर्चाको बैठक सकिएको छ।

  • कान्तिपुरलाई रविको जवाफ : प्रमाणविनै समाचार लेखेर भ्रम र अतिरञ्जनता किन फैलाउनु परेको ?

    कान्तिपुरलाई रविको जवाफ : प्रमाणविनै समाचार लेखेर भ्रम र अतिरञ्जनता किन फैलाउनु परेको ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी हिनामिना प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति सामाजिक सञ्जालबाट जवाफ दिएका छन् ।

    लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् ।

    ग्यालेक्सी टीभी छोड्ने बेलामा आफूलाई निशुल्क दिएको सेयर सबै ट्रान्सफर गरेको जानकारी गराएको रविले स्मरण गरेका छन् ।

    विद्यमान कानुन आफूलाई कारबाही गर्न अपर्याप्त भएमा संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुने उनको भनाइ छ । तर, उनले आफूमाथि प्रश्न उठाउने सञ्चारमाध्यमलाई कैयन प्रश्न भने राखेका छन् । ‘यहाँ मेरो एउटा प्रश्न चाहिँ छ– मदिराको विज्ञापन गर्न हुँदैन भन्ने कानूनी व्यवस्था सञ्चारमाध्यमलाई थाहा छ कि छैन ? छ भने २०७५ सालमै बनेको यस्तो व्यवस्थाको वर्षौँसम्म किन बर्खिलाप गरी मदिराको विज्ञापन गरी नै रहे ? कानुन त तिनी पनि बुझ्थे–बुझ्छन् होला ? मैले कानुन जान्नु–बुझ्नुपर्छ भन्ने कुनै सञ्चारमाध्यम वा पत्रकारलाई लाग्छ भने उसले पनि जान्नु–बुझ्नुपर्छ कि पर्दैन ?’, उनको प्रश्न छ ।

  • रुसको सामुन्द्रिक युद्धपोत युक्रेनले बनायो ध्वस्त

    रुसको सामुन्द्रिक युद्धपोत युक्रेनले बनायो ध्वस्त

    काठमाडौं । रुसले आफ्नो एउटा युद्धपोत युक्रेनी आक्रमणमा परेर ब्ल्याक सीस्थित एउटा बन्दरगाहमा क्षतिग्रस्त भएको पुष्टि गरेको छ। युक्रेनले मङ्गलवार बिहानीपख रुसको अधीनमा रहेको क्राइमियाको फिओदोसियामा हवाई आक्रमण गरेको थियो। क्राइमिया अन्तर्राष्ट्रिय रूपमा युक्रेनी भूभागको मान्यता पाएको क्षेत्र हो।

    तर सन् २०१४ मा रुसले कब्जा गरेयता त्यो मस्कोको नियन्त्रणमा छ। रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनी विमानबाट नोभचेर्कास्क युद्धपोतलाई लक्षित गरी क्रूज क्षेप्यास्त्र प्रहार गरिएको थियो। त्यसअघि युक्रेनी वायुसेनाका प्रमुखले आफ्ना लडाकु विमानहरूले उक्त पानीजहाजलाई ध्वस्त पारेको दाबी गरेका थिए।

    टेलिग्राममा लेख्दै मिकोला ओलेसुकले रुसी युद्धपोतको सङ्ख्या घट्दै गइरहेको दाबी गरेका छन्। रुसले क्राइमियामा प्रमुख नियुक्त गरेका सर्गेइ अक्स्योनोभले उक्त हमलाका क्रममा एक व्यक्तिको मृत्यु भएको जनाएका छन्। अन्य दुई जना घाइते भएको बताइएको छ। उनले छवटा भवनहरू नष्ट भएको र त्यसपछि केही मानिसहरूलाई अस्थायी आवास केन्द्रहरूमा राखिएको जनाए। अहिले उक्त बन्दरगाहमा सामान्य रूपमा यातायात सञ्चालन भइरहेको जनाइएको छ।

    हमलाबाट लागेको आगो नियन्त्रणमा लिने क्रममा त्यस क्षेत्रलाई घेराबन्दी गरिएको थियो। बन्दरगाह क्षेत्रमा ठूलो विस्फोट भएको भनिएको भिडिओ सामाजिक सञ्जालमा देखा परेको छ। युक्रेनी वायुसेनाका प्रमुखले त्यो भिडिओ शेअर गरेका छन्। उक्त आक्रमणका तस्बिरहरूको आधिकारिकता स्वतन्त्र रूपबाट पुष्टि हुन सकेको छैन।

    तर डिसेम्बर २४ मा भूउपग्रहबाट खिचिएको तस्बिरमा उक्त बन्दरगाहमा नोभचेर्कास्ककै लम्बाइको पानीजहाज भएको देखिन्छ। सन् २०२२ को मार्च महिनामा युक्रेनको रक्षा मन्त्रालयले अधीनस्थ युक्रेनी बन्दरगाह बेअर्ड्यान्स्कमा गरिएको एउटा हमलामा त्यसलाई क्षति पुर्‍याइएको जनाएको थियो। त्यस क्रममा अर्को युद्धपोत सरातोभ समुद्रमा डुबेको थियो। रुसी सरकारी टीभीले मारियिन्काको बाहिरी भागमा क्षतिग्रस्त भवनहरू भएको ठाउँमा रुसी सैनिकहरूको हिँडिरहेको दृश्य प्रसारित गरेको थियो ।


    रुसी रक्षामन्त्री सर्गेई शोइगुले आफ्ना सैनिकहरूले पूर्वी युक्रेनस्थित एउटा मुख्य सहर मारियिन्का आफ्नो नियन्त्रणमा दिएको दाबी गरेका छन्। तर किएभ उक्त दाबीको खण्डन गरेको छ। रुसी नियन्त्रणमा रहेको क्षेत्रीय राजधानी डोनेट्स्कबाहिर रहेको तथा उच्च सुरक्षा प्रबन्धयुक्त इलाकालाई रुसी सेनााले कब्जा गरेको जानकारी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएका थिए।

    तर युक्रेनी सैन्य प्रवक्ताले मारियिन्कामा सङ्घर्ष जारी रहेको बताएका छन्। डोनेट्स्क पुग्ने बाटोमा पाँच किलोमिरटको दूरीमा पर्ने उक्त सहर लगभग ध्वस्त भइसकेको छ। पुटिनले आफ्नो सेना मारियिन्कामा ूसफलू भएको भन्दै युक्रेनी फौजलाई डोनेट्स्कबाट अझ पर धकेलिएको बताएका छन्। युक्रेनी पक्षले मारियिन्काबाट डोनेट्स्कमा नियमित रूपमा आक्रमण गर्दै आएको थियो।

    पुटिनले अब रुसी फौजसामु डोनेट्स्क क्षेत्रमा व्यापक कारबाहीको क्षेत्रमा अघि बढ्ने अवसर आएको बताएका छन्। रुसले सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनमा सैन्य आक्रमण गरेको थियो। केही सातायता रुसी सैनिकहरूले १,२०० किलोमिटर लामो रणभूमिमा पर्ने केही महत्त्वपूर्ण क्षेत्रहरूमा आक्रमण बढाएको छ।

    रुसले मारियिन्काबाहेक डोनेट्स्कनजिकै रहेको आभ्दियिन्का सहरलाई पनि घेराबन्दी गरेको छ। हिउँद सुरु भएपछि किएभको प्रत्याक्रमण रोकिएको थियो। यस्तो अवस्थामा रुसले युक्रेनलाई उछिन्न सक्ने आशङ्का बढेको छ। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनामा थप पाँच लाख मानिस भर्ती गर्ने योजना रहेको बताएका छन्।
    बीबीसी

  • दक्षिण कोरियामा एक सातामा चार नेपालीको मृत्यु

    दक्षिण कोरियामा एक सातामा चार नेपालीको मृत्यु

    काठमाडौं । दक्षिण कोरियामा एक हप्तामा ४ जना नेपालीको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा सोलुखुम्बु नेचासल्यानका रन्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो । गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार र छनानमा कार्यरत केरुङको सुतेकै अवस्थामा शुक्रबार निधन भएको थियो ।

    छुन्छन् नाम्दो येसन सीमा कम्पनीमा दुर्घटनामा परी स्याङ्बाको शुक्रबार मृत्यु भएको र बिरामी परेका मगरको उपचारको क्रममा ज्यान गएको हो । मगर थेगु क्षेत्रमा काम गर्दै आएका थिए । राई सोलुखुम्बु सेवा समाजका पूर्वउपाध्यक्षसमेत थिए । सोलुखुम्बु समाजका अध्यक्ष राजु राईले रन्जनको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको र मृतकको परिवारसँग सम्पर्क भइसकेको नेपाली सञ्चारमाध्यम कान्तिपुरले जनाएको छ ।

    स्याङ्बा पहिलो पाँच वर्ष सकाएर दोस्रो कार्यकालको रुपमा कोरिया आएकी थिइन् । ह्योल्मो सम्पर्क समितिका निर्वतमान अध्यक्ष बाबुज्याबा हृयोल्मोका अनुसार स्याङ्बा सेफ्टी नेट, प्यारासुटहरुमा प्रयोग हुने धागो बनाउने कम्पनीमा कार्यरत थिइन् । उनको कार्यस्थल दुर्घटनामा ज्यान गएको ह्योल्मो बताए ।

  • हात्ति महोत्सवमा आज शृङ्गार प्रतियोगिता हुँदै

    हात्ति महोत्सवमा आज शृङ्गार प्रतियोगिता हुँदै

    काठमाडौं । चितवनको सौराहामा शुरु भएको १७औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले जानकारी दिए । यसमा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार प्रतियोगिता, भोलि राप्ती नदीमा डुङ्गा दौड, पर्सि शुक्रवार हात्तीको वनभोज र शनिवार समापनको कार्यक्रम छ ।

    हिजोदेखि शुरु भएको पाँच दिने महोत्सव रत्ननगर नगरपालिका–७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा आयोजना गरिएको छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । त्यसयता हात्ती सम्बन्धित अन्य गतिविधि पनि थपिँदै गएका छन् ।

    कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि शुरु भएको हो । क्षेत्रिय होटल संघ (हान) चितवन सौराहाले गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेण्ट एण्ड बार एसोसिएशन चितवन छन् ।

  • हत्या आरोपीलाई समात्न प्रहरीले चलायो गोली

    हत्या आरोपीलाई समात्न प्रहरीले चलायो गोली

    काठमाडौं । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् । दुबै खुट्टामा गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।

    गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए । डिएसपी न्यौपानेका अनुसार सिंहसहित ४ जनाको जनाको समूह नेपाल आएको सूचनाका आधारमा प्रहरीले पछ्याएको थियो । प्रहरीले देखेर भाग्न थालेपछि सिंहलाई खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको डिएसपी न्यौपानेले बताए ।

    प्रिन्सिपल स्वर्णाकारको हत्यामा आठ जनाको संलग्नता रहेको प्रहरीले बताएको छ । उनको हत्या आरोपमा यसअघि बाराको कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह प्रहरी हिरासतमा छन् ।

  • विश्वविद्यालयमा भागवण्डा नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    विश्वविद्यालयमा भागवण्डा नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक समाज र दलहरुलाई क्रमभंगताको अपिल गरेका छन् । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार देशवासीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको बारेमा शीर्ष तहको छलफल गर्नुपर्ने बताए ।

    उनले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने समेत बताए । ‘संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्नेछन्’ उनले भने, ‘अब मेरिटोक्रेसी सुरु हुनेछ । त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थानबिन्दु हुनेछ ।’

  • आफ्नो कार्यशैली बदल्ने प्रधानमन्त्रीको उद्घोष

    आफ्नो कार्यशैली बदल्ने प्रधानमन्त्रीको उद्घोष

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताए । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने प्रधानमन्त्रीको प्रतिवद्धता छ ।

    आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार असफल त भएन, तर आफ्नै हुटहुटी अनुसार परिणाम पनि आएको छैन ।’ बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको उनले बताए । ‘कति बन्यो भन्ने होइन, कति बन्नसक्थ्यो भन्ने आत्मसमीक्षामा छु’ उनले भने, ‘यही चिन्ता र आत्म समीक्षाका साथ सार्वजनिक घोषणा गर्छु, अब सरकारको कार्यशैली बदलिनेछ ।’

    प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु ।’ सरकारको कार्यशैली बदल्न यो प्रस्थान विन्दु हुने भन्दै उनले यही साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने बताए ।

  • कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाउने प्रधानमन्त्रीको घोषणा

    कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाउने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरुलाई फिर्ता बोलाउने बताएका छन् । मंगलबार आफू प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कूटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालन गर्ने बताएका हुन् ।

    ‘म सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध छु। कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइनेछन्’, उनले भने । आफू प्रधानमन्त्री भएपछि विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको भन्दै प्रचण्डले अब आफ्नो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुने पनि बताए ।

  • २०० जना नेपाली रुसी सेनामा भर्ना, ७ को मृत्यु १०० बेपत्ता

    २०० जना नेपाली रुसी सेनामा भर्ना, ७ को मृत्यु १०० बेपत्ता

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका छन् । तीमध्ये ७ जनाको मृत्यु भएको, १०० जना हराइरहेको र घाइते भएको भनी परिवार र आफन्तबाट उजुरी आएको उनले बताएका छन् ।

    मंगलबार राष्ट्रिय समाचार समितिसँग अन्तर्वार्ताका क्रममा मन्त्री साउदले काम, अध्ययन र भ्रमणको सिलसिलामा रुस पुगेका करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका हुन् ।

    ‘करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किनभने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो सङ्ख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ’, उनले भने ।

    रुसी सेनामा भर्ना भएकामध्ये सात जना मारिएको सूचना रुसी सरकारले नै दिएको छ मन्त्री साउदले बताए । ‘यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरुका परिवार र साथीभाइले खबर गरेका छन्’, उनले भने ।

    यो विषयमा नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर नेपालको चासो रुसी सरकारसमक्ष पुर्‍याउन आग्रह गरेको मन्त्री साउदले बताए । रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर रुस जान नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र श्रीलंका तथा खाडीका ६ देशबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) को व्यवस्था गरिएको पनि उनको भनाइ छ ।

    ‘यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाएका छौँ । यसमा हामीले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी राखेका छैनौँ’, उनले भने ।

    युक्रेनमा बन्दी बनाइएकाहरुलाई छुटाउन युक्रेन सरकारको सम्पर्कमा पुगेको र नेपाल हेर्ने युक्रेनी राजदूतसँग संवाद गरेको पनि उनले बताए ।

    ‘दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौँ’, मन्त्री साउदले भने ।

  • बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट, श्रीमान्‌सहित सातजना पक्राउ

    बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट, श्रीमान्‌सहित सातजना पक्राउ

    काठमाडौं । ‘डिभोर्स’को विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ का सन्तोष थापाले श्रीमती शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका हुन् ।

    यसरी यातना दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले महिलाको उद्धार गरेको छ । उद्धारका गर्दा पनि शारदाको शरीरको आधा भाग पोलको डोरीमै बेरिएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी छन् ।

    श्रीमान् सन्तोषसँग अदालती प्रक्रियाबाट नै ‘डिभोर्स’ गर्न भन्दै सिन्धुली पुगेपछि उनीमाथि कुटपिट भएको हो । डिभोर्सकै विषयमा विवाद हुँदा गाउँलेसँगै मिलेर सन्तोषले यातना दिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धानपछि मुद्दा चलाउने तयारी गरेको छ ।

  • परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व

    परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताएका छन्।

    मंगलबार बिहान २० औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

    ‘तपाईहरूलाई थाहै छ-म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मनाउने निर्णय गरेको थिएँ’, उनले भने, ‘अहिले तेस्रो कार्यकालमा नेपाल सम्वत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको कार्यान्वयनसमेत भइरहेको छ।’

    नेपाली समाजको विशेषता र सामाजिक बनोटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारका लागि आफूले लगातार संघर्ष गर्दै आइरहेको उनले बताए।

    नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश भएको बताउँदै उनले भौगोलिक रूपमा सानो भए पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहर सामाजिक बनोट विश्वमै नमुना रहेको बताए।

    ‘विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव हो। यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो’, उनले भने।

  • पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रुको निधन

    पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रुको निधन

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गतराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा महानगरपालिका ३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो ।

    उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए । कार चालक फरार रहेकाले खोजी कार्य जारी छ । कारलाई भने वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा छ ।

  • अमेरिकाले नेपालबारे जारी गरेको ट्राभल एडभाइजरीको असर कति ?

    अमेरिकाले नेपालबारे जारी गरेको ट्राभल एडभाइजरीको असर कति ?

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकका लागि नेपालबारे ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । यसले अन्तर्राष्ट्रिय रूपमा ‘नेपालको अवस्था ठिक छैन’ भन्ने सन्देश प्रवाह हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । अमेरिकाले गत साता जारी गरेको ‘ट्राभल एड्भाइजरी’मा आफ्ना नागरिकहरूलाई नेपाल जाँदा सावधानी अपनाउन भनेको छ । त्यसले नेपालको ‘तङ्ग्रिँदै गरेको’ पर्यटन क्षेत्रमा नकारात्मक असर पनि पर्न सक्ने विज्ञहरूले बताएका छन् । अमेरिकाले राजनीतिक हिंसाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आफ्ना नागरिकहरूलाई सूचित गरेको छ।

    अमेरिकी विदेश मन्त्रालयले यही डिसेम्बर १८ मा जारी गरेको ट्राभल एड्भाइजरीमा भिन्न किसिमको राजनीतिक हिंसाका कारण नेपालमा यात्रा गर्न सावधानी अपनाउन सुझाव दिएको छ। उसले लेभल(२ भनेको एड्भाइजरीमा नेपालमा शान्तिपूर्ण हुने ठानिएका राजनीतिक प्रदर्शनहरू हिंसात्मक हुन सक्ने उल्लेख गरिएको छ। त्यस्ता प्रदर्शनहरूमा नेपाली अधिकारीहरूले बल प्रयोग पनि गर्न सक्ने अवस्था रहेको त्यसमा जनाइएको छ।

    उक्त एड्भाइजरीमा नेपालमा हुने प्रदर्शनहरूमा नजान तथा ट्रेकिङ जाँदा वा पर्वतारोहण गर्दा एक्लै नजान पनि अमेरिकाले आफ्ना नागरिकहरूलाई सूचित गरेको छ। अमेरिकी विदेश मन्त्रालयले विभिन्न देशहरूको सुरक्षा लगातका अवस्थाहरूको विश्लेषण गरेर आफ्ना नागरिकहरूलाई यस्तो सुझाव दिने गरेको छ। विदेश मन्त्रालयको वेबसाइटमा राखिएका विवरणहरूमा जनाइएअनुसार लेभल ४ को एड्भाइजरी जारी गरिएको देशमा भने उसले आफ्ना नागरिकहरूलाई भ्रमण नै नगर्न सूचित गर्ने गरेको छ।

    त्यस्तै लेभल ३ को एड्भाइजरी जारी गरिएको देशमा गरिने यात्राबारे सकेसम्म पुनर्विचार गर्न भनेर सूचित गरिन्छ। लेभल २ को एड्भाइजरी जारी भएका देशमा जाँदा भने उसले नागरिकहरूलाई सतर्कता अपनाउन र लेभल १ को एड्भाइजरी जारी भएका देशमा जाँदा सामान्य सतर्कता अपनाउन भन्ने गरेको छ। तर, नेपालमा भने अहिले हिसात्मक प्रकृतिको कुनै आन्दोलन भएको छैन ।

  • उधौली पर्व आज, किराँत समुदायमा धुमधामसाथ मनाइंदै

    उधौली पर्व आज, किराँत समुदायमा धुमधामसाथ मनाइंदै

    काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन्।

    किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ। वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो। बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ।

    उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ। यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ। किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन्।

  • आज यःमरी पुन्हि मनाइंदै

    आज यःमरी पुन्हि मनाइंदै

    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

    यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेका छन् । आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

    यःमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित रहेको छ । यःमरी पुन्हि सुरु हुनुअघि घर(घरमा भित्र्याइएको धानलाई पाँच(छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ ।

    आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट यःमरी बनाएर पाथीभरि यःमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा छ । यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

  • प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

    प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दिउँसो पाँच बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि दिउँसो तीन बजेका लागि तय भएको कार्यक्रम पाँच बजेका लागि सारिएको हो । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यससँगै उनी तेस्रो पटक मुलुकको प्रधानमन्त्री बने । यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्ड आफैंले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आएका छन् ।

  • शरणार्थी शिविरमा इजरायलको आक्रमण, कम्तिमा ७० जनाको मृत्यु

    शरणार्थी शिविरमा इजरायलको आक्रमण, कम्तिमा ७० जनाको मृत्यु

    काठमाडौं । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले एक विज्ञप्तिमार्फत भिडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमणले आक्रमण भएकोले ७० जनाको मृत्यु भएको र यो सङ्ख्या थप बढ्न सक्ने बताउनुभएको छ । उहाँका अनुसार इजरायली सेनाले क्याम्पको मध्य क्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ । जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पुगेको छ ।

    मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतालहरूमा थप घाइतेलाई भर्ना गर्न गाह्रो भएको स्थानीय अधिकारीले बताएका छन् । स्रोतका अनुसार अल–मगाजी शरणार्थी शिविर बाहेक, इजरायली सेनाले मध्य गाजाको अल–बुरेज शरणार्थी शिविर र दक्षिणी सहर खान युनिसमा पनि आक्रमण गरेको छ ।

    प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द गरेको छ । यहाँ एम्बुलेन्स तथा उद्धार टोलीहरूको काममा समेत बाधा पुगेको छ । इजरायली सेनाले पहिले गाजाका प्यालेस्टिनीहरूलाई खाली गर्न भनेको ठाउँहरूमध्ये अल–मगाजी पनि एक थियो ।

    प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, गत महिना इजरायलले अल–मगाजीमा बमबारी गरेको थियो । बमबारीमा ५१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिकाहरू थिए । गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार देखाएका तथ्याङ्क अनुसार, इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या बीस हजार ४२४ पुगेको छ । अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा ५४ हजार ३६ जना घाइते भएका छन् । यसैबिच, गत साताको अन्त्यमा गाजामा कूल १५ इजरायली सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।

  • फेरि राखियो माओवादीले हटाएको स्व. राजा वीरेन्द्रको सालिक

    फेरि राखियो माओवादीले हटाएको स्व. राजा वीरेन्द्रको सालिक

    काठमाडौं । पोखरामा २०६२–०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको स्व. राजा वीरेन्द्रको शालिक फेरि ठड्याइएको छ। पोखरा महानगरपालिका–१० वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको हो ।

    गए राति १ बजेर ४५ मिनेटको शुभ मुहूर्तमा शालिक स्थापना गरिएको बताइएको छ । सालिक पुनःस्थापना गर्न स्थानीयको समिति बनेको थियो । शालिक ८ फिट अग्लो ढलोटको रहेको छ । शालिक निर्माणका लागि करिब २५ लाख रुपैयाँ खर्च भएको बताइएको छ । तत्कालीन राजाकै वीरेन्द्रकै नामबाट चोकको नाम राखिएको थियो ।

    पोखराका चोकहरुमा रहेका शालिकका विषयमा विवाद रहँदै आएको छ । विशेष गरी पोखराको पृथ्वीचोक, विरौटाको वीरेन्द्रचोकको शालिकको विषयमा विवाद छ । राप्रपाले पोखराको पृथ्वीचोकमा पनि पृथ्वीनारायणको सालिक पुनस्स्थापनाको माग गरिरहेको छ।

  • आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पुनः पक्राउ

    आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पुनः पक्राउ

    काठमाडौं । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरेको हो ।

    मंसिर २० गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालतले उनी दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए ।

    आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन्। आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिए भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएका थिए। आरतीका बुवा, आमा, बहिनी र भाइ १९३ दिनदेखि काठमाडौंमा अनसनमा छन् ।

    आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो। दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको आरोप छ।

  • स्थानीयले जलाइदिए मान्छे मार्ने बस, राजमार्ग अवरुद्ध

    स्थानीयले जलाइदिए मान्छे मार्ने बस, राजमार्ग अवरुद्ध

    काठमाडौं । सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिएर दुई जनाको मृत्यु गराउने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ।

    सिन्धुली–बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा
    आज बिहान ८ः१५ बजे बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङका २४ वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको प्रहरीले जनाएको छ। बसमा आगो लगाएपछि आज बिहानदेखि सो राजमार्गमा सवारी आवागमन बन्द भएको छ।

  • कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन

    कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन

    काठमाडौं । दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । गएको पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार यो सङ्ख्या अनलाइन प्रणालीबाट आवेदन दिने व्यवस्था भएयताकै धेरै हो ।

    शाखाले तीन वर्षदेखि अनलाइनमार्फत ईपीएसको आवेदन दिन सकिने व्यवस्था गरेको छ । गएको साउनमा भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने व्यवस्था भएपछि आवेदन धेरै परेको हो । अहिले खोलिएको आवेदनको परीक्षा मिति भने तोक्न बाँकी छ ।

    दक्षिण कोरिया सरकारले उत्पादनमूलक क्षेत्रका लागि सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने भनेको छ । रोजगारीका लागि कोरिया जान पहिले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । कोरिया सरकारले सन् २००८ देखि औपचारिक रुपमा नेपाली श्रमिक लैजान थालेको हो ।

  • रास्वपाले आजबाट नारायणगढ–बुटवल सडकमा पैदलयात्रा गर्दै

    रास्वपाले आजबाट नारायणगढ–बुटवल सडकमा पैदलयात्रा गर्दै

    काठमाडौं । नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजदेखि पैदलयात्रा सुरु गर्दैछ । पदयात्रा आज बिहान ९ बजे चितवनको नारायणगढ पुल्चोकबाट सुरु हुनेछ ।

    नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा सक्ने रास्वपाले जनाएको छ । ‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राको क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्देश्य हो,’ हाम्रो उद्देश्य सांकेतिकरुपमा सरकारको ध्यानाकर्षण गराउनु हो,’ रास्वपाले भनेको छ ।

    यात्रामा पार्टी सभापति रवि लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी हुनेछन् । यात्राका क्रममा सडकको दायाँवायाँ रहेका बस्तीका बासिन्दासँग अन्तरक्रिया भने हुने छैन । दबाब यात्रामा सहभागी हुनेहरुलाई पार्टीको झण्डा, लोगो, टि–सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न रास्वपाले आग्रह गरेको छ ।

  • आज क्रिसमस डे, विश्वभर मनाइदैं

    आज क्रिसमस डे, विश्वभर मनाइदैं

    काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ ।

    येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

    ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

  • नवलपरासी पूर्वको जंगलमा सासु बुहारीको मृत्यु

    नवलपरासी पूर्वको जंगलमा सासु बुहारीको मृत्यु

    काठमाडौं । नवलपरासी पूर्व (नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका वडा नं १ को खहरे जंगलमा सासु(बुहारीको शव फेला परेको छ । स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए ।

    उनीहरु आइतबार दिउँसो घाँस काट्न भनेर जंगलमा गएका थिए । अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो । खोज्ने क्रममा गएराति १० बजेतिर जंगलमा दुवै जना मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई मध्यविन्दु अस्पतालमा ल्याएर राखिएको छ । उनीहरुको बाघको आक्रमणबाट ज्यान गएको अनुमान प्रहरीले गरेको छ ।

  • डेडिकेटेड र ट्रकलाइन विवाद : थप उद्योगको लाइन काटियो

    डेडिकेटेड र ट्रकलाइन विवाद : थप उद्योगको लाइन काटियो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको विद्युत् महसुल बक्यौता नतिरेको भन्दै थप उद्योगहरुको बिजुलीको लाइन काटिदिएको छ । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील उद्योग, त्रिवेणी स्पिनिङ मिल तथा अशोक स्टीलको बिजुलीको लाइन काटिएको हो । सर्वोत्तम सिमेन्टको ८३ करोड र लक्ष्मी स्टीलको ६२ करोड बक्यौता बाँकी रहेको प्राधिकरणले दाबी गरेको छ ।

    अन्य उद्योगहरुको पनि ५० करोड माथिको बक्यौता रहेको दाबी गर्दै बिजुलीको लाइन काटिएको हो । प्राधिकरणले यसअघि शुक्रबार जगदम्बा स्टील, घोराही सिमेन्ट, रिलाइन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट गरी चार वटा उद्योगको विद्युत् लाइन काटेको थियो । शुक्रबारदेखि प्राधिकरणले बढी बक्यौता भएको उद्योगको लाइन काट्न सुरू गरेको हो । तर, डेडिकेटेड फिडर र ट्रंक लाइनको विषय अत्यन्तै विवादित छ ।

  • अफलाइनमा पठाओ र इनड्राइभ चलाउने ४८ राइडर पक्राउ

    अफलाइनमा पठाओ र इनड्राइभ चलाउने ४८ राइडर पक्राउ

    काठमाडौं । राइड शेयरिङ एपका नाममा अफलाइन यात्रा गराएको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ । शनिबार काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत रुपमा सर्वसाधारणलाई ओसारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार, पठाओ र इनड्राइभबाट अफलाइनमा यात्रु आसार्ने ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो ।

    ‘विगतका केही आपराधिक घटनामा यस्ता सवारीसाधनको संलग्नता देखिएका छन्’, उनले भने, ‘त्यसैले सुरक्षा संवेदनशीलताको दृष्टिले सधैं जोखिम सिर्जना हुने भएकाले अफलाइन राइड शेयर नगर्न समेत सम्बन्धितमा सचेत गराउँछौं ।’ पक्राउ परेकाहरुलाई मातहतका विभिन्न वृत्त र प्रभागहरुमा राखिएको प्रहरीले जनाएको छ ।

  • नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

    नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो ।

    तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो । परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ ।

    नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछ । कार्यालयले चार घण्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोे प्रयोग गर्न अनुरोध गरेको हो ।

  • बालुवाटारमा प्रचण्ड, ओली र देउवा बीच भेटवार्ता, के भयो कुराकानी ?

    बालुवाटारमा प्रचण्ड, ओली र देउवा बीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

    प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उनीहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । सोमबार पुनः बैठक बस्ने सहमति भएको उनले जानकारी दिए ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ ।

    उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।