Category: समाचार

  • शेयर बजारमा लगातार लगातार उच्च अंकको वृद्धि

    शेयर बजारमा लगातार लगातार उच्च अंकको वृद्धि

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको हो ।

    यसदिन ३०६ कम्पनीको ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँ बराबरको १ करोड ९९ लाख ६३ हजार १७६ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटलको २४ करोड र सोनापुर सिमेन्टको २० करोड बढीको कारोबार भएको छ ।

    उच्च अंकले बढेको बजारमा आज १४ कम्पनीको शेयर मूल्य बढेको छ । बोटलर्स नेपाल (बालाजु), हिमालयन डिस्ट्रीलरी, फरवार्ड लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर, लिवर्टी इनर्जी, युनाइटेड इदीमार्दी, बलेफी हाइड्रोपावर, बीपीडब्ल्यू लघुवित्त, नागरिक मिडिया, थ्रीस्टार हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, मिड सोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, हिमालयन हाइड्रोपावर र मृक्तिनाथ कृषि कम्पनीका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

  • काठमाडौं आएको एयर अरेबियाको शौचालयमा भेटियो नवजात शिशुको शव

    काठमाडौं आएको एयर अरेबियाको शौचालयमा भेटियो नवजात शिशुको शव

    काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।

    जी९५३६ उडान नम्बरको जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानमा मृत शिशु फेला परेपछि खोजतलास गर्दा एक जना महिलाको भएको पत्ता लागेको र ती महिलालाई पक्राउ गरी उपचारका लागि अस्पताल लगिएको छ।

    काठमाडौं सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको जनाइएको छ ।

  • ट्रम्पको आगामी निर्वाचन लड्ने बाटो बन्द भएको हो ?

    ट्रम्पको आगामी निर्वाचन लड्ने बाटो बन्द भएको हो ?

    काठमाडौं । अमेरिकाको कोलोराडो सर्वोच्च अदाललतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपति चुनावबाट हटाएको छ । आउँदो चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको बीबीसीले जनाएको छ ।

    ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएका अदालतको भनाइ छ । तर यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउनुहुनेछ । यसअघि अरु राज्यहरुमा ट्रम्पलाई चुनावी दौडबाट निकाल्ने प्रयासहरु असफल भएका थिए ।

    सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उहाँ चुनावमा भाग लिन नपाउने कोलोराडोको सर्वोच्च अदालतको निर्णयमा भनिएको छ । अमेरिकामा यसै हप्ता भएका सर्वेक्षणहरुले आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति जो वाइडेन भन्दा पूर्व राष्ट्रपति ट्रम्प बलिया दावेदार रहेका देखाएको बीबीसीले जनाएको छ ।

  • इजरायलको आक्रमणबाट गाजामा झण्डै २० हजार सर्वसाधारण मारिए

    इजरायलको आक्रमणबाट गाजामा झण्डै २० हजार सर्वसाधारण मारिए

    काठमाडौं । हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ तारिखमा युद्ध सुरु भएयता १९,६६७ जना मारिएका जनाएको छ। मारिनेको पछिल्लो सङ्ख्या सामाजिक सञ्जालमा खुलाउँदै मन्त्रालयले थप ५२,५८६ व्यक्ति घाइते भएका जनाएको छ। उक्त क्षेत्रमा लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाव परिरहेका बेला मृत्यु हुने र घाइते हुने मानिसको ताजा सङ्ख्या सार्वजनिक भएको हो। अक्टोबरमा हमासका बन्दुकधारीले दक्षिणी इजरेलमा गरेको हमलायता भएको युद्धको १० साता बितिसकेको छ।

    दक्षिणी गाजास्थित रफाहमा बस्ने सर्वसाधारणले इजरेलको भारी बमबारीका कारण त्यहाँको जीवन कस्तो छ भन्नेबारे सुनाएका छन्। प्यालेस्टिनी जिहाद जुरोबले सञ्चारसंस्था एएफपीसँग बोल्दै भने, “ठूलो विस्फोटनको आवाज सुन्दा हामी सुतिरहेका थियौँ।” गाजा सहरबाट आन्तरिक रूपमा विस्थापित भएका उनले आफूले चमत्कारले मृत्यु छलेको र लुगा राख्ने ठाउँबाट आफूहरूको उद्धार भएको बताए।

    उनले सुरक्षाका लागि दक्षिणी क्षेत्र छोडेको भए पनि गाजामा जताततै बमबारी भएका कारण कतै पनि सुरक्षित ठाउँ नरहेको बताए। गाजा सहरबाट विस्थापित भएका अर्का व्यक्ति मोहम्मद जुरोबले हमलापछि इँटाहरू आफूमाथि खसेपछि ब्युँझिएको बताए। मेरो शरीरमा जताततै चोटहरू छन्, मेरो खुट्टा यस्ता चोटहरूले भरिएका छन्। हमलामा ज्यान गुमाउनेमा काका, काकाका सन्तानलगायत रहेको उनले बताए। मैले यहाँ आफ्नो परिवारका नौजना गुमाए,” उनले भने।


    गाजामा युद्धविराम गर्नेबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा मतदान हुनुअघि जिनिभामा सहायता निकायहरूले बालबालिकासहित सर्वसाधारणले भोगिरहेको पीडाप्रति एक पटक फेरि आफ्नो आक्रोश र निराशा व्यक्त गरेका छन्। राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा गाजामा युद्धविरामबारे दोस्रो पटक मतदानको तयारी भइरहेको छ। यसअघि भएको मतदानमा अमेरिकाले भिटो प्रयोग गरेको थियो। विश्व स्वास्थ्य सङ्गठनकी मार्गरेट ह्यारिसले भनिन्, “विश्वले यस्तो काम हुन दिइरहेको छ भन्ने नै विश्वास गर्नै नसकिने कुरा हो, यो अनुचित हो।

    विश्व स्वास्थ्य सङ्गठनले गाजामा मुस्किलले एक तिहाइ अस्पतालहरू अझै सञ्चालनमा रहेको र तिनीहरूले एकदमै कम सेवा दिन सकिरहेको बताएको छ। ह्यारिसले गाजामा रहेका आफ्ना सहकर्मीहरूसँग त्यहाँ आफूले देखेको भयावह अवस्था व्याख्या गर्न शब्द नै नभएको बताइन्। सहायता निकायहरूको अस्पष्टताले अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसङ्घको सुरक्षा परिषद्को यो र अन्य द्वन्द्व सल्टाउन नसकेकोप्रति बढ्दो आक्रोश देखाउँछ जुन द्वन्द्वमा बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका मानिसहरूले सबैभन्दा बढी मूल्य चुकाउनुपरेको छ।
    बीबीसी

  • हनि ट्यापमा पारेर पैसा असुली धन्धामा तीन महिला दोषि ठहर

    हनि ट्यापमा पारेर पैसा असुली धन्धामा तीन महिला दोषि ठहर

    काठमाडौं । दाङ जिल्ला अदालतले आपराधिक लाभको मुद्दामा तीन जना महिला दोषी ठहर गर्दै जेल सजाए तोकेको छ। जिल्ला अदालतले आइतबार सीतादेवी थापासहितका तीन जना महिलाले कसुर गरेको ठहर गरेको हो ।

    जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आपराधिक लाभको मुद्दामा प्रतिवादी प्युठान स्वर्गद्वारी नगरपालिका घर भई हाल घोराही उपमहानगरपालिका–१५ मा बस्दै आएकी सीतादेवी थापासहित तीन जनालाई दोषी ठहर गरेको हो। कसुर ठहर हुनेमा घोराही उपमहानगर–५ की सुष्मा परियार र घोराही–१ की खुमा वली रहेका छन्। कसुरदार तीनै जनालाई जनही एक वर्ष ६ महिनाको कैद सजाय र १५–१५ हजार रुपैयाँ जरिवाना फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।

    मुलुकी अपराध संहिता २०७४ को दफा २५३ को उपदफा १,२ र ३ (क) कसुरमा सोही ऐन र दफाको उपदफा ३ (ख) अनुसार जरिवानाको फैसला गरेको उनले बताए। अदालतले जनही दस हजारका दरले जाहेरवालाई क्षतिपूर्ति दिन पनि फैसला गरेको श्रेस्तेदार घिमिरेले बताए ।

    श्रेस्तेदार घिमिरेका अनुसार आपराधिक लाभ उठाउने मुद्दामा जिल्ला अदालतबाट भएको यो पहिलो फैसला हो । परिवर्तित नाम भद्रबहादुर जैसीले आपराधिक लाभ उठाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दर्ता गराएका थिए। सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७८ असोज १९ गते दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। त्यसको करिब दुई वर्षपछि फैसला भएको हो।

    श्रेस्तेदार घिमिरेका अनुसार आपराधिक लाभ उठाउने उद्देश्यले सीतादेवी थापाले नाम परिवर्तित भद्रबहादुर जैशीसँग एक लाख रुपैयाँ लिएको स्वीकार गरेकाले उक्त पैसा जाहेरीवालाई दिलाउने फैसला पनि भएको छ । पीडित भनिएका जैसी कानुन व्यवसायी हुन । हनि ट्रयापको आरोपमा पक्राउ परेकी सीतादेवी थापा एक लाख ५० हजार, सुष्मा परियार ७० हजार र खुमा वली ८० हजार रुपैयाँ धरौटीमा २०७८ असोज २२ गते छुटेका थिए।

    ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा २०७८ असोज २ गते घोराहीबाट उनीहरू तीन जनालाई प्रहरीले पक्राउ परेको थियो। होटलमा खाजा खान बोलाएर अन्त्यमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्न खोजेको भन्दै पक्राउ गरी २०७८ असोज २ गते पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको थियो।

    प्रहरीले प्रतिवादी थापासहितका परियार र वलीले घोराहीका एक व्यवसायीबाट १ लाख नगद र १७ लाखको चेक बुझेको आरोपमा पक्राउ गरेको थियो। सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेर र अन्तमा १८ लाखमा कुरा मिलाइएको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। प्रहरी महिलाको कोठबाट १७ लाखको चेक समेत बरामद गरेको थियो।

  • श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै

    श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै

    काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउन लागेका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ । २१ र २२ डिसेम्बर (आगामी बिहीबार र शुक्रबार) हुने बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने श्रीलंकाको प्रतिनिधि मण्डलको नेतृत्व साब्रीले गर्नेछन् ।

    बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत हुने छ । श्रीलंकाका पूर्व अर्थमन्त्रीसमेत रहेका साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेट पनि गर्ने छन् । उनी २३ डिसेम्बर अर्थात् शनिबार स्वदेश फर्किने छन् ।

  • नेपाल एयरलाइन्सले एक वर्षमा कमायो २२ अर्ब

    नेपाल एयरलाइन्सले एक वर्षमा कमायो २२ अर्ब

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष (आव) २०७९–८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो । कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ ।

    कोभिड–१९ को उच्च चपेटामा परी पर्यटक आगमन प्रभावित भएको समय आव २०७७–७८ मा ९ अर्ब १० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको नेवानिले आव २०७८–७९ मा १६ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा चार जहाज छन् । आन्तरिकमा २ वटा जहाज मात्र उड्न योग्य अवस्थामा छन् । यसबाहेक तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ समेत निगमको अर्को मुख्य आम्दानीको स्रोत हो ।

  • एनसेलको सेयर खरिदबिक्री प्रकरणः सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा

    एनसेलको सेयर खरिदबिक्री प्रकरणः सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा

    काठमाडौं । एनसेल खरिदबिक्रीविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो । सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश समेत दिएको छ ।

    स्वतन्त्र सांसद सिंहले एनसेल बिक्री शंकास्पद भएको भन्दै सर्वोच्चमा मंसिर २२ गते मुद्दा दर्ता गरेका थिए । उनले एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, ठूला करदाता कार्यालयलाई विपक्षी बनाउँदै मुद्दा हालेका थिए । विभिन्न मितिमा पटक पटक पेसीमा चढेपनि सुनुवाई भएको थिएन। मंगलबार भने न्यायाधीश सिंहको इजलासले सुनुवाई गरेको हो ।

    एनसेलको ८० प्रतिशत सेयर व्यावसायी सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले मंसिर १५ गते खरिद गरेको थियो । संसदको राज्य व्यवस्था समितिमा पनि एनसेलको बिषयमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल समितिमा पुगेका छन् । सार्वजनिक लेखा समितिका साथै अर्थ समितिले पनि एनसेल खरिदबिक्रीमा चासो देखाएका छन् ।

  • भैसेपाटीको निर्माणधीण मन्त्री क्वार्टर भित्र रहेको एक टहरामा आगलागी

    भैसेपाटीको निर्माणधीण मन्त्री क्वार्टर भित्र रहेको एक टहरामा आगलागी

    काठमाडौं । भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासभित्रै आगलागी भएको छ । निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आज एक्कासी आगलागी भएको हो ।

    प्रहरीका अनुसार आज बिहान ११ बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०÷१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । म शाहले करेन्ट सर्ट भएर आगलागी भएको जानकारी दिनुभयो । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्रसहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

    प्रहरीका अनुसार मन्त्री क्वाटरभित्रकै अस्थायी टहरामा मात्रै आगलागी भएको हो । अन्य स्थानमा नफैलिँदा ठूलो जोखिम टरेको छ । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको छ ।

  • मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द

    मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द

    काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मालीमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन बन्द भएसँगै त्यहाँ रहेको नेपाली सेना फिर्ता भएको छ । मिसनमा रहेका ५९ जना सैनिकहरू सोमबार संयुक्त राष्ट्रसंघको चार्टड विमानमा नेपाल फर्किएको नेपाली सेनाले जनाएको छ । राष्ट्रसंघले मिसन बन्द गरेसँगै त्यहाँ कार्यरत १५६ जना स्टाफ अधिकृत र १२ जना सैनिक पर्यवेक्षक गरी १६८ जना सैनिक नेपाल फर्किएका हुन् । त्यसमध्ये ९३ जना यसअघि नै स्वदेश आइसकेका थिए ।

    नेपाली सेनाका अनुसार बाँकी १६ जना केही समयपछि नेपाल आउनेछन् ।माली सरकारको निरन्तर दबाबपछि उक्त मिसन बन्द गर्ने निर्णय राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको थियो। मालीको सेनासँग राष्ट्रसंघको सम्बन्ध सुमधुर हुन नसकेपछि सुरक्षाको दृष्टिकोणले उक्त मिसन सबैभन्दा जोखिमपूर्ण मानिएको थियो। सन् २०१३ मा उत्तरी मालीमा हिंसात्मक संघर्ष सुरु भएपछि राष्ट्रसंघीय शान्ति मिसन स्थापना भएको थियो।

  • भारतमा एकै पटक ७८ जना सांसद निलम्बित

    भारतमा एकै पटक ७८ जना सांसद निलम्बित

    काठमाडौं । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ । गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो ।

    त्यसैगरी, गत डिसेम्बर १३ मा दुईजना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी सङ्घीय सरकारविरुद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसदभित्र सुरक्षा उल्लङ्घनको विषय उठाउँदै पटक–पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् ।

    सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लङ्घनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए । निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो । सिह्न्वा, रासस

  • १० प्रकारका औषधी उत्पादनमा रोक

    १० प्रकारका औषधी उत्पादनमा रोक

    काठमाडौं । औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएका छन् । उनका अनुसार उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीका छन् ।


    औषधी व्यवस्था विभागले रोक लगाएका औषधीमा लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको हो । यस्तै लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी छन् । यी नेपाली कम्पनीबाट उत्पादित औषधी हुन् ।

  • चीनमा विनासकारी भूकम्प, कम्तिमा १ सयको मृत्यु

    चीनमा विनासकारी भूकम्प, कम्तिमा १ सयको मृत्यु

    काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

    भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् । बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् । गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

  • लिवियामा ६० भन्दा धेरै आप्रवासीको डुबेर मृत्यु भएको दावि

    लिवियामा ६० भन्दा धेरै आप्रवासीको डुबेर मृत्यु भएको दावि

    काठमाडौं । लिबियाको तटमा डुबेर ६० जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको हुनसक्ने अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)ले जनाएको छ। घटनामा बच्न सफल भएका आप्रवासीलाई उद्धृत गर्दै उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले “एउटा समुद्री डुङ्गा जुवारा सहरबाट हिँड्दा त्यसमा करिब ८६ जना चढेका थिए” भनेको छ।

    उसले उच्च छालहरूले डुङ्गालाई बगाएको र बालबालिकासहित ६१ जना आप्रवासी बेपत्ता भएको तथा सम्भवतः उनीहरूको ज्यान गएको हुनसक्ने अनुमान गरेको छ। भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरूको लागि लिबिया मुख्य प्रस्थानबिन्दु हो। आईओएमको अनुमान अनुसार यो वर्ष मात्र उक्त क्षेत्रलाई पार गर्ने प्रयास गर्दा दुई हजार दुई सयभन्दा बढी मानिस भूमध्यसागरमा डुबेका छन्।

    त्यसले गर्दा उक्त समुद्री बाटो विश्वको सबैभन्दा खतरनाक आप्रवासी मार्गमध्ये एक बन्न पुगेको छ। आईओएमले पछिल्लो घटनामा पर्ने अधिकांश मानिसहरू नाइजिरिया, गाम्बिया र अन्य अफ्रिकी देशका रहेको बताएको समाचार एजेन्सी एएफपीले जनाएको छ। उक्त निकायले बचेका २५ जनालाई लिबियाको हिरासतमा स्थानान्तरण गरिएको र उनीहरूलाई चिकित्सा सहायता दिइएको बताएको छ।

    पहिले ट्विटर भनिने एक्समा लेख्दै आईओएमका एकजना प्रवक्ताले यस वर्षको मृत्युको सङ्ख्यालाई एकदमै उच्च भनेका छन्। उनले त्यो सङ्ख्याले आप्रवासीहरूको जीवन बचाउन पर्याप्त काम भइरहेको छैन भन्ने देखाउने उनले उल्लेख गरेका छन्। गत जुनमा दक्षिणी ग्रीसमा माछा मार्ने डुङ्गामा चढेका आप्रवासीहरू डुब्दा कम्तीमा ७८ जनाको मृत्यु भएको थियो। उक्त घटनामा अन्य १०० जनाको उद्धार गरिएको थियो।

    भूमध्यसागर पार गरेर युरोप जानका लागि प्रायः धेरै आप्रवासीहरूलाई उक्त मार्गबाट असुरक्षित रूपमा डुङ्गाहरूमा राखेर लगिएको देखिन्छ। त्यसरी असुरक्षित रूपमा यात्रा गर्नेहरूमध्ये अधिकांशले इटली पुग्ने आशा राखेका हुन्छन्। त्यहाँबाट उनीहरू अन्य युरोपेली देश जान चाहन्छन्। कतिपय आप्रवासीहरू द्वन्द्वका कारण देश छाडेका हुन्छन् भने कतिपयले चाहिँ कामका लागि युरोप जाने सपना देखेका हुन्छन्।

    आईओएमका अनुसार आप्रवासीका लागि मध्य भूमध्यसागर संसारकै सबैभन्दा घातक मार्ग हो। प्रायः केही परिष्कृत रबर डिङ्गीजस्ता डुङ्गामार्फत् धेरै मानिसहरूले सागर पार गर्ने प्रयास गर्छन्। त्यसले गर्दा यात्रा झनै जोखिमपूर्ण हुन्छ र घातक हुने सम्भावना बढ्छ। त्यस्ता डुङ्गाहरू धेरैजसो आपराधिक गिरोह र मानवतस्करहरूले सञ्चालन गर्छन्। मध्य भूमध्यसागरको मार्ग हुँदै युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि लिबियाको छेउमा अवस्थित ट्यूनिशिया पनि मुख्य प्रस्थानबिन्दु हो।

    त्यहाँ समुद्रमा डुबेर ज्यान गुमाउने मानिसका लाग आरक्षित चिहान पनि छ। तर त्यसले पनि आप्रवासीहरूलाई उक्त बाटो प्रयोग गर्नबाट रोकेको छैन। आईओएमजस्ता संस्थालाई भने अन्य आप्रवासीहरूलाई यी कुराले निरुत्साहित नगर्ने डर छ। उसले सधैँ त्यसबारे चिन्ता व्यक्त गर्दै आएको छ। युरोपेली सीमा र तटरक्षक निकाय फ्रन्टेक्सको विवरणअनुसार सन् २०१५ देखि २०२२ बीचमा झन्डै तीन लाख मानिसहरूलाई त्यहाँबाट उद्धार गरिएको थियो।

    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगका अनुसार यो वर्ष ट्युनिशिया र लिबियाबाट एक लाख ५३ हजार भन्दा बढी आप्रवासीहरू इटली पुगेका छन्। शनिवार यूकेका प्रधानमन्त्री ऋषि सुनकले आफ्ना इटली र अल्बेनियाका समकक्षीहरूसँग युरोपमा गैरकानुनी आप्रवासी रोक्ने विषयमा रोममा छलफल गरेका थिए। यसै वर्षको सुरुमा सुनकले इङ्ग्लिस च्यानलमा साना डुङ्गा पार गर्ने कामलाई रोक्ने विषयलाई आफ्नो सरकारको प्रमुख पाँच प्राथमिकताको क्षेत्रका रूपमा घोषणा गरेका थिए।

  • डा.गोविन्द केसीले तोडे अनशन, उपचारका लागि अस्पताल भर्ना

    डा.गोविन्द केसीले तोडे अनशन, उपचारका लागि अस्पताल भर्ना

    काठमाडौं । सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् ।

    उनी शुक्रबारदेखि अनशन बसेका थिए । गेटामा अनशन बस्न आएका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका थिए । स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेकाउनी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदै छन् ।

    १० दिनअघि पित्तथैलीको शल्यक्रिया गरेका उनको आइतबार ब्लड प्रेसर लो तथा पिसाबमा किटोनको लेभल बढी देखिएको थियो । धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा बसेका डा. केसीले कमजोरीका कारण आइतबारदेखि बोलचालसमेत कम गरेका थिए ।

    सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने र यसअघि आफूसित भएका सम्झौताहरू कार्यान्वयन गरिनुपर्ने माग राखेर केसी २१औँपटक अनशनमा बसेका थिए । ।

  • दीक्षान्त समारोहमा त्रिविले बनायो कीर्तिमान, ‘अन द स्पट’ प्रमाणपत्र

    दीक्षान्त समारोहमा त्रिविले बनायो कीर्तिमान, ‘अन द स्पट’ प्रमाणपत्र

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ ।

    सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

    सोहीअनुसार ओडब्लुआरका प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वकीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरे । ओडब्लुआर गिनिज बुककै भगिनी संस्था हो । त्रिविको रेकर्डमा आजको उपस्थिति अहिलेसम्मकै धेरै हो । ओडब्लुआरका दिल्लीस्थित प्रतिनिधि र काठमाडौंस्थित प्रतिनिधिले दीक्षान्त समारोहमा आएर प्रत्यक्ष अवलोकन गरेका थिए ।

  • रुकुम पश्चिमका ४ हजार भूकम्प पीडितले पाए पहिलो किस्ताको रकम

    रुकुम पश्चिमका ४ हजार भूकम्प पीडितले पाए पहिलो किस्ताको रकम

    रुकुम पश्चिम । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ४ हजार २८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही रहेका थिए ।

    लाभग्राहीको खातामा रु २५ हजारका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ । अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रु २५ हजारका दरले लाभग्राहीलाई रु १० करोड ७० लाख ५० हजार खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए ।

    उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका लागि पहिलो किस्ताबापत रु १७ करोड ५० लाख रकम प्राप्त भएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको बाँकी रकम पनि लाभग्राहीको बैंकमा खाता सञ्चालन हुने बित्तिकै पठाइने शाहले जानकारी दिए ।

    नगरपालिकामा अस्थायी आवास निर्माण गर्न नौ हजार नौ सय ६२ लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्ला विपद् व्यस्थापन कोषबाट पहिलो किस्ताबापत अझै २ हजार ९६२ लाभग्राहीको लागि रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जानकारी दिए।

    जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय जोखिम न्यूनीकरण कोषमा प्राप्त भएको रकम बैंक खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम रकम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । हालसम्म नगरपालिकामा २ हजार २४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी ३ हजार ६९० अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।

  • इराकमा सुरक्षाकर्मीले पनि पाए मतदानको अधिकार

    इराकमा सुरक्षाकर्मीले पनि पाए मतदानको अधिकार

    काठमाडौं । १० वर्ष वर्षपछि सोमवार हुने प्रान्तीय निर्वाचनअघि इराकी सुरक्षाकर्मीले शनिवार देशका १८ प्रान्तमध्ये १५ प्रान्तमा मतदान गरेका छन् । स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान सुरु भएको हो । इराकी राजधानी बगदाद र सेमीका तीन प्रान्तहरू बाहेक देशका १५ प्रान्तका अन्य धेरै सहरका मतदान केन्द्रहरूमा सैनिक र प्रहरीहरू मतदान गरेका छन् ।

    इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्याङ्क अनुसार १५ प्रान्तका ५६५ मतदान केन्द्रहरूमा सुरक्षाकर्मीहरूबाट १० लाखभन्दा बढी मतदाताहरूले मतदान गर्ने अपेक्षा गरिएको छ । इराकमा पछिल्लो प्रान्तीय निर्वाचन अप्रिल २०१३ मा भएको थियो । सिन्ह्वा

  • मलेसियामा साथिको हत्या गरी नेपाल आएका व्यक्ति पक्राउ

    मलेसियामा साथिको हत्या गरी नेपाल आएका व्यक्ति पक्राउ

    काठमाडौं । मलेसियामा एउटै कम्पनीमा कार्यरत व्यक्तिको हत्या गरी नेपाल फर्किएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले महोत्तरी गौशाला नगरपालिका-५ बस्ने २४ वर्षीय अनिलकुमार साहलाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए। शनिबार हिमालयन एयरलाइन्सबाट काठमाडौं आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले मंसिर २५ गते झापा शिवसताक्षी नगरपालिका-३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरेको आरोप छ। प्रधान विगत एक वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा काम गर्दै थिए।

    त्‍यहाँ काम गर्नेक्रममा साहले प्रधानको हत्या गरेको एसपी ढुंगेलले बताए। मृतक प्रधानकी श्रीमतीले प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। साहले आफ्नो हुलिया परिवर्तन गरी नेपाल फर्किएको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यस सूचनाको आधारमा खटिएको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिएर इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समन्वय गरी अनुसन्धान अघि बढाएको छ।

  • कुवेतका अमिरको निधनमा नेपालमा शोक

    कुवेतका अमिरको निधनमा नेपालमा शोक

    काठमाडौं । सरकारले कुवेतका अमिरको निधनमा सोमबार शोक मनाउने निर्णय गरेको छ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा २ पुसमा शोक मनाउने र देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

  • उद्योगीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरे : महासंघ

    उद्योगीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरे : महासंघ

    काठमाडौं । उद्योगीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरेको नेपाल निर्माण व्यवसायी महासंघले आरोप लगाएको छ । आइतबार महासंघले एक प्रेस विज्ञप्ति जारी गरी सिमेन्टमा बढाइएको मूल्य तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । ‘सिमेन्ट उत्पादनसँग सम्बन्धित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि उद्योगीले कार्टेलिङ गरी सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपैयाँभन्दा बढी बढाएकामा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    कार्टेलिङ गरी मूल्य बढाइनु दण्डनीय अपराध भएको आरोप पनि महासंघले लगाएको छ । विगतमा पनि कार्टेलिङ गरी पटक-पटक मूल्य वृद्धि हुँदा पूर्वाधार खर्च बढ्न नसकेको र सरकारका सार्वजनिक निकायलाई नै आर्थिक बोझ थपिएको महासंघको दाबी छ । सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल खारेज गरी उपभोक्तालाई राहत दिन महासंघले सरकारसँग माग पनि गरेको छ । सिमेन्ट उद्योगीले भने मूल्य नबढाइएको दाबी गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले सिमेन्टको मूल्य नबढेको बताए ।

  • बैतडीमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

    बैतडीमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

    काठमाडौं । मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।

    मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुबै ट्याक्टर दुर्घटना भएको नायब उपरीक्षक बोहराले बताए । लु ४ त ७३०५ नम्बरको ट्याक्टर सडकको माथि पट्टी दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्याक्टर खडीगाड खोलामा खसेको थियो ।

    लु ४ त ७३०५ ट्याक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालकसहित चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ । सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षक किशोरसिं ऐरी नेतृत्वको टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहरा बताए । मृतकको सनखात गरेर जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको प्रहरीले बताएको छ । दुईवटै ट्याक्टरमा चाररचार सवार रहेका थिए ।

  • टिकटक प्रतिबन्धबारेको फैसला ५ महिनापछि मात्रै

    टिकटक प्रतिबन्धबारेको फैसला ५ महिनापछि मात्रै

    काठमाडौं । नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि सर्वोच्च अदालतले तत्काल कुनै फैसला नदिने भएको छ ।

    केही दिनअघिको संयुक्त इजलासले टिकटक प्रतिबन्ध खारेजीको माग गर्दै दायर भएका रिटहरूमाथिको सुनुवाइ पाँच महिनापछि धकेलिदिएको हो ।

    ती १४ ओटै रिटलाई लगाब मुद्दाको रूपमा एकै स्थानमा समेटेको सर्वोच्च अदालतले गत ५ मंसिरका लागि पेशी तारेख तोकेको थियो । उक्त मितिमा न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी नहुने ठहर गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

    त्यसपछि १९ मंसिर र २७ मंसिर गरी दुई पटक पेशी तारेख तोकिएको भए पनि सुनुवाइ नै नगरी “हेर्न नभ्याइने“ मा राखिएको थियो । अबको पेशी तारेख भने २७ वैशाख २०८१ का लागि तोकिएको छ ।

    सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा मन्त्रीपरिषद् बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो ।

  • चिवाभञ्ज्याङमा ओलीले झन्डा फहराएपछि सकियो एमालेको संकल्प यात्रा

    चिवाभञ्ज्याङमा ओलीले झन्डा फहराएपछि सकियो एमालेको संकल्प यात्रा

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको सिक्किमसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झन्डा फहराएका छन्। यसअघि मंसिर १४ गते ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएरै यो अभियानको थालनी गरेका थिए।

    आइतबार फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ पुगेका ओलीले सीमाक्षेत्रमा नेपालको झन्डा फहराएसँगै संकल्प यात्रा टुंगिएको हो।

    ओली मध्यपहाडी राजमार्गको पूर्वीबिन्दु चिवाभञ्ज्याङमा झण्डोत्तोलन गरेसँगै आइतबार नै काठमाडौँ फर्किने तयारीमा छन्।

    मङ्सिर १४ गतेदेखि सुरु एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको थियो।

    मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा यो यात्रा थालिएको थियो।

    यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित थिए।

  • अध्यागमनका कर्मचारीलाई ५५ हजार बुझाएर भिजिट भिसामा जान लागेका २४६ जनाको कागजात नक्कली

    अध्यागमनका कर्मचारीलाई ५५ हजार बुझाएर भिजिट भिसामा जान लागेका २४६ जनाको कागजात नक्कली

    काठमाडौं । भ्रमण भिसामा विदेश जान लागेका १ हजार ५ सयभन्दा बढी युवाका कागजात अध्ययन गर्दा २ सय ४६ जनाको कागजात नक्कली फेला परेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ। यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन्।

    शंकास्पद कागजातसहित गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो। सो क्रममा १ हजार ५ सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये २ सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

    उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने र नक्कली कागजातका आधारमा के-कसरी विदेश पठाइने रहेछ भन्‍ने विषयमा अनुसन्धान गर्दा सबै मिलेमतोमा काम हुने गरेकोसमेत पाइएको छ।

    त्यसरी अनुसन्धानका क्रममा सरकारी कर्मचारीसहित एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजार रुपैयाँदेखि ५५ हजार रुपैयाँ दिएर मिलेमतोमा मिलाइ पठाउने गरेको पाइएको पनि उनले बताए।

    सोही आधारमा मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३५ जनाभन्दा बढीलाई विभिन्‍न मितिमा पक्राउ गरी सङ्गठित अपराध, लिखतसम्बन्धी कसुरसमेतका अपराधमा आवश्यक कारबाही थालिएको छ।

    सोही अध्ययनका आधारमा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसँग मिलेमतोमा नक्कली कागजातका आधारमा विदेश पठाउने र विदेश पुगेपछि महिलालाई घरेलु कामदारका रुपमा लगाइने र शोषणसमेत हुने तथा पुरुषलेसमेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लागाइने गरेको पाइएको छ।

    त्यसरी गएकालाई पछि स्वदेशमा फर्काउनसमेत कठिनाइ हुने गरेको प्रहरीको निष्कर्ष छ। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न भएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई पक्राउ गरी अनुसन्धान गर्दा उनले यसरी मिलेमतोमा ३ सय जना पठाएको पाइएको छ।

    यस्तै, निमा छिरिङ ट्राभल्सका सञ्‍चालक मनोज तामाङ र निजकै ट्राभल्समा काम गर्ने उनकै सालो पदम लामालाई पक्राउ गरी लिखितसम्बन्धी कसुर समेतका अपराधमा प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ।

    सोही कार्यमा संलग्न रहेका आधारमा नेपाल एयरलाइन्सका अरविन्द यादव, होम पोखरेल, ट्राभल्स एजेन्सीका मनुराम चौधरी, स्काई ट्राभल्स एण्ड टुरका दिनेश ज्ञवाली, रोयल ट्राभल्सका सञ्‍चालक देवराज खनालसहित गणेश पाण्डे, सञ्‍जय तामाङ, रामप्रसाद भण्डारी सरोजकुमार यादव, राजकिशोर शाह, रविन अर्याललगायतलाई पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ। रासस

  • गाजामा तीन जना बन्धक भुलवस मारिएको इजरायलको दावि

    गाजामा तीन जना बन्धक भुलवस मारिएको इजरायलको दावि

    काठमाडौं । इजरायलको सेनाले गाजामा लडाइँका क्रममा भुलवश तीनजना बन्धकहरू मारिएको जनाएको छ। उनीहरूलाई जोखिमका रूपमा गलत पहिचान हुँदा त्यसो हुन पुगेको इजरेली डिफेन्स फोर्स आइडिएफले जनाएको छ। ती २८ वर्षीय योतम हइम, २२ वर्षीय समीर तलल्का र र २६ वर्षीय एलोन सम्रिज रहेको जनाइएको छ।

    इजरायली सेनाले आत्मग्लानि महसुस गरेको जनाउँदै उनीहरूको उत्तरी गाजामा तैनाथ फौजहरूको गोली प्रहारबाट मृत्यु भएको जनाएको छ। इजरायमा ७ अक्टोबरमा भएको हमलापछि नियन्त्रणमा लिइएकामध्ये १०० भन्दा धेरै अझै गाजामा बन्धक अवस्थामा छन्।


    आइडिएफले शुक्रवारको घटना अनुसन्धानका क्रममा रहेको बताउँदै त्यस दुखद घटनालाई लिएर गहिरो आत्मग्लानि व्यक्त गरेको र उनीहरूका परिवारलाई समवेदना जनाइएको उल्लेख गरेको छ। जसमा थप भनिएको छ हाम्रो राष्ट्रिय उद्देश्य हराइरहेकालाई खोज्ने र सबै बन्धकहरूलाई घर फिर्ता ल्याउने छ।


    गलत पहिचान कसरी भयो भन्ने विषयमा आइडिएफका एकजना प्रवक्ता जोनाथन कनरिकसले दुई सम्भावित कारण बताए। “एक, उनीहरू सर्वसाधारणले लगाउने पोसाकमा थिए, जुन सम्भवतः हामीले हमास लडाकुहरूलाई जस्तो स्वरूपमा देख्छौँ त्यस्तै थियो,” उनले भने। तर उनले ती बन्धकहरूसँग हतियार थियो कि थिएन भन्नेबारे प्रस्ट पारेनन्। “दोस्रो चाहिँ यस दुस्खद् गल्ती हुनुअघि र पछि उक्त क्षेत्रमा इजरेली फौज र हमासका लडाकुबीच लडाइँ भएको थियो।”


    उक्त घोषणापछि मध्य तेलअभिभमा सयौँ मानिसहरू जम्मा भएर उक्त सहरमा रहेको आइडिएफको सैन्य शिविरतर्फ गएका थिए। उनीहरूले सरकारसँग बाँकी बन्धकहरूलाई छुटाउनेगरी सम्झौता गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले मैनबत्ती एवं उनीहरूलाईे घर ल्याउन र अब बन्धक साटासाट गरौँ लेखिएका प्लेकार्ड बोकेका थिए। मारिएका तीनजना पुरुषहरूका शवलाई इजरायल ल्याएर उनीहरूको पहिचान पुष्टि गरिसकिएको छ। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उनीहरूको मृत्युलाई असह्य दुःख भनेका छन्।

    ूयस दुःखद् साँझमा समेत हामी आफ्नो घाउमा पट्टि लगाउँदै, पाठहरू सिक्दै र हाम्रा सबै बन्धक बनाइएकाहरूलाई सुरक्षित घर फर्काउने उच्चतम प्रयास जारी राख्नेछौँ, उनले भने। ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले ती हत्या एउटा दुस्खद् भूल भएको र अमेरिकासँग त्यस कारबाही ठ्याक्कै कसरी भयो भन्ने जानकारी नरहेको बताए। अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगेको थियो जसमध्ये केही एउटा अस्थायी युद्धविरामका क्रममा छाडिएका थिए।

    त्यसयता इजरेलले गरेको हमलामा १८,८०० जनाभन्दा बढी मारिएको र ५०,००० भन्दा धेरै घाइते हुन पुगेको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। अल जजिराले आफ्ना एकजना पत्रकार समिर अबु दका गाजाको खान यूनिसमा भएको क्षेप्यास्त्र प्रहारमा परेर मारिएको जनाएको छ। इजरायलले हमासले बन्धक बनाएका थप तीन मानिसहरूको शव गाजाबाट बरामद गरेको जनाएको छ। जसमध्ये दुई इजरेली सैनिक र एक सर्वसाधारण छन्।

  • नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिँदै

    नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिँदै

    काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो ।

    गत बर्ष पनि सो खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विस्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो ।

    त्यसका लागि भारतीय दूतावासमार्फत भारतबाट विष्फोटक पदार्थ ल्याउने तयारीसमेत गरिएको थियो । तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न लागिएको आयोजनाले जनाएको छ । रक स्प्लीटर, हाइडो«लिक ज्याक हेम्बरको सहयोगमा चट्टान फुटाउन प्रयास गरिनेछ । यसपटक ३८ टनको ब्रेकर पनि प्रयोग गरिने भएको छ । यसअघि २२ टनको ब्रेकर प्रयोग गरिएको थियो ।
    गत बर्ष झण्डै तीन महिना तुइन खोलाको पहाडमा सडक बन्द गरेर ६० मिटर अग्लो ठाउँबाट चट्टान काट्ने प्रयास गरिएको थियो । करिब ३० प्रतिशत चट्टान फुटाएपछि काम रोकिएको थियो । तुइन खोलामाथिको पहाडमा अनुमान गरेभन्दा कडा चट्टान भेटिएपछि आयोजना नियन्त्रित विस्फोट मार्फत पहाड फुटाउने विकल्पमा पुगेको थियो । तुइन खोलाको नारायणगढतर्फको भाग भने अधिकांश काटिसकिएको छ ।

    यो सडक खण्डमा नयाँ १९ वटा पुल बन्ने योजना भए पनि हालसम्म ९ वटा पुलमात्र सञ्चालनमा आएका छन् । ८ वटा पुल आगामी दुई महिनाभित्र सञ्चालन गर्ने तयारी छ । खहरे खोलाको एउटा पुल निर्माणधीन छ भने, तुइन खोलाको पुल निर्माण सुरु नै भएको छैन । खहरेको पुलको पनि स्लाब ढलानको काम १५ दिन भित्र नै सक्ने योजना छ । बीम ढलानको काम सकिसकेको छ ।

    नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको हो । प्याकेज २ अन्तर्गतका जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभानका आठ पुल बनिसकेका छन् ।

    प्याकेज १ का २ पुल बन्न बाँकी छन्, चिसेञ्जी, काली, टोपे, न्याम्सी र रिग्दीखोलाका गरेर ५ पुल बनिसकेका छन् । प्याकेज–१ का पुलको लागत ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँ र प्याकेज–२ का पुलको ५९ करोड ५ लाख ५९ हजार रुपैयाँ रहेको छ । यो सडकखण्डका सबै पुल २५ मिटरभन्दा लामा छन् । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार भइसकेको तर पुलहरु साना र जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेपछि सबै पुलहरुलाई नयाँ बनाइएका हुन् ।

    पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटरका छन् । पुल बनाउन २०७६ चैत्र १० मा सम्झौता भएको थियो । ठेक्काको म्याद पुस मसान्तमा सकिँदैछ । बाँकी रहेका दुई पुल बनाउन १ बर्ष म्याद थपका लागि ठेकेदार अनक कन्सस्ट्रक्सनले माग गरेको छ ।

  • लोकतान्त्रिक समाज निर्माणबाट राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री

    लोकतान्त्रिक समाज निर्माणबाट राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । उनले यो भावलाई सदैव दृढताका साथ संकल्प गरी अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा समृद्धशाली मूर्त र अमूर्त सांस्कृतिक धरोहर सम्पदा राष्ट्रिय एकता सबलीकरण गर्ने विशिष्ट माध्यमका रूपमा परिचित छन् । यी सांस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।

    प्रधानमन्त्री दाहालले आफ्नो संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व भएको बताए । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको उनले उल्लेख गरे ।

    प्रधानमन्त्री दाहालले विभिन्न कालखण्डमा मानव समुदायले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यसअनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए । अहिले देशमा एकथरी तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरिएको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन्, उनले भने, लोकतन्त्रमा मात्रै सबै संस्कृति समानरूपमा मौलाउन र विकास हुन सक्छन् । त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरुविरुद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।

    उनले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामर्थ्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ वर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गरे । कार्यक्रममा नवदुर्गा भवानीसँग सम्बन्धित विभिन्न नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा नेकपा माओवादी केन्द्रका नेताहरु राजकाजी महर्जन, बिना मगरलगायतको उपस्थिति थियो ।

  • स्वास्थ बिमा सुबिधाको औषधि अब तीन महिनाको एकै पटक वितरण गरिने

    स्वास्थ बिमा सुबिधाको औषधि अब तीन महिनाको एकै पटक वितरण गरिने


    काठमाडौं । स्वास्थ्य बिमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्र औषधी पाउने गर्थे । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएपछि बसेको पहिलो बैठकले दीर्घरोगी बिरामीले एक महिनाका लागि मात्र औषधी पाउने गरेकामा अबदेखि तीन महिनाका लागि औषधी पाउने निर्णय गरेको हो । 

    एक महिनाको मात्र औषधी पाउँदा दुर्गम जिल्लाबाट स्वास्थ्य बिमाबापत औषधी लिइरहेका बिरामी समस्यामा परेका थिए । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बिरामीको समस्यालाई ध्यानमा राखी तीन महिनालाई पुग्ने औषधी एकै पटक दिने व्यवस्था गरिएको जानकारी दिए । 

    डा. लोहनीले योसहित विभिन्न आठबुँदे निर्णय पनि गरिएको बताए । बोर्डका अध्यक्ष लोहनीले बैठकले दाबी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिए । उनले  बिमितले पाउने सुविधाको थैलीमा पर्ने औषधीको मूल्य समायोजनको कार्यलाई अघि बढाउने निर्णय गरेको बताए ।  औषधीको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन । 

  • दुई बुँदे माग राखेर तीन दिने अनसन सुरु गर्दै डा. गोविन्द केसी

    दुई बुँदे माग राखेर तीन दिने अनसन सुरु गर्दै डा. गोविन्द केसी

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रह सुरु गर्न लागेका छन्।

    सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गर्दै भोलि शनिबार बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको बताए ।

    अहिलेको अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त गर्नु आफूहरूको कर्तव्य भएको उल्लेख गर्दै विगत लामो समयदेखि यी मुद्दाहरु उठाएर सत्याग्रहसमेत गर्दै आएको बताएका छन् ।

    प्रेस विज्ञप्ति
    हामी लामो समयदेखि स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, कुना काप्चा र विपन्न वर्गका देखि लिएर सवै नेपाली हरुको गुणस्तरिय, निशुल्क/सस्तो सुलभ स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँच का लागि र सुशासनका लागि लड्दै आएको सवै लाई अवगत नै छ।
    त्यसका लागि बारम्बार सत्याग्रही आन्दोलन समेत गरेका छौं । तर जुन पार्टीहरु सरकारमा गए पनि इमान्दारीसाथ हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरेका छैनन् । वरु वारम्वार धोका दिइ रहेका छन्।

    यसैबीच देशमा सबै क्षेत्रमा दण्डहीनता चुलिएर गएको छ । दण्डहीनता अन्त गर्नका लागि संविधानले स्थापना गरेका संस्थाहरु आफैं दलीय भागवण्डा र लुछाचुँडीको सिकार बनेर निस्तेज भइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोगजस्ता संस्थाहरु पार्टी कार्यकर्ताहरुका भर्तीकेन्द्र बनेर ती संस्थालाई पूर्णतः कर्तव्यच्युत बनाएका छन् । राज्यका हरेक अंगमा दलीयकरणको पराकाष्ठा छ । नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा नेताहरु भएका सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुलाई डुबाएर आफैं ती क्षेत्रमा व्यवसाय गर्नमा लिप्त छन् । साथै नयाँ सरकारी संस्थाहरू खोल्न दिईरहेका छैनन्।

    परिणामतः आम नागरिकहरुको जीवन दिन प्रतिदिन कठिन बन्दै गइरहेको छ । रोग लागे घरखेत नबेची उपचार नहुने अवस्था छ धेरैका लागि । केटाकेटीको औसत शिक्षाका लागि बाबुआमाको आयले नपुग्ने अवस्था छ । दुरदराजमा आज पनि मानिसहरु निरक्षर रहन अभिशप्त छन् । रोगहरुको समयमा उपचार नपाउँदा अंगभंग भएर आजीवन कठिन जीवन बिताउन मानिसहरु बाध्य छन् । समयमा आकस्मिक उपचार नपाएकै कारण मानिसहरुको ठूलो संख्यामा मृत्यु हुने गरेको छ । उपचारका लागि सरकारी अस्पतालमा जाँदासमेत महँगो शुल्क तिर्नुपर्ने अवस्था छ । निःशुल्क उपलब्ध हुनुपर्ने औषधि – उपचारहरु अस्पताल र स्वास्थ्य संस्थाहरुमा छैनन् ।

    यो अवस्थाप्रति संघदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरु अनभिज्ञजस्तै देखिन्छन् किनकि उनीहरु कहीं कसैप्रति जवाफदेही बनेका छैनन् । सत्तारुढ दलका होउन् वा प्रतिपक्षका, राज्यस्रोतको दोहनबाहेक उनीहरुको कुनै उद्देश्य देखिंदैन । तीमध्ये सम्वन्धित मंत्रालयका पनि मंत्री जस्ता मानिसहरु त स्वास्थ्य क्षेत्रका जल्दा बल्दा चुनौती सम्वोधन गर्नु त परै जाओस् माफिया र स्वार्थ समुहहरुको स्वार्थमा जथाभावी झुट बोल्ने र सुधारको प्रक्रिया उल्ट्याउने प्रयासमा अभियन्ताहरुलाई गालीगलौज गर्ने हदसम्म झुकेका छन् । त्यस्ता मंत्रीलाई पदच्युत गर्नुको साटो‌ प्रचण्ड र देउवाले पुरस्कृत गरिरहेका छन् ।

    उनीहरु सबैमा देखिएको दण्डहीनताको मुख्य कारण भने विगतदेखि नै जघन्य अपराध गर्नेहरु समेत दण्डित हुनुको सट्टा पुरस्कृत हुनु हो । खास गरी दश वर्षे सशस्त्र युद्धमा जघन्य तथा मानवताविरोधी अपराध गर्नेहरुसमेत दण्डित नहुँदा राज्यका सबै तहमा दण्डहीनता संस्थागत हुन पुगेको छ । सो यूद्ध मा युद्धरत दुवै पक्ष( राज्य र माओवादी तर्फ) बाट साधारण नागरिक , सुरक्षा कर्मी र माओवादी लडाकुहरु लगायत गरेर करिब १३,००० व्यक्तिहरू मारिए भने १,३०० व्यक्तिहरू वेपत्ता पारिए। त्यस्तै हजारौ घाईते तथा अंग भंग वनाइए, यातना दिइए। हजारौंलाई गैरकानुनी ढंगले वन्दी वनाईयो/अपहरण गरियो – यातना दिइयो, ठुलो संख्यामा महिलाहरु बलात्कृत भए । हजारौं बालबालिकाहरुका हातबाट कलम खोसेर राइफल थमाउँदै उनीहरुलाई युद्धको आगोमा हालियो।

    उक्त द्वन्द्वका अधिकांश पिडितहरुलाई अझै पनि न्यायबाट वन्चित गरेर राखिएको छ । जवकी पीडकहरु वृहत् शान्ति सम्झौता भएदेखि प्राय निरन्तर सत्तासीन छन्। साधारण नागरिक लाई सानो गल्ती को सजाय हुने देशमा मानवता विरोधी जघन्य अपराध गर्नेहरु उचित सजाएको भागी वन्नु नपर्ने किन? ‘चोरलाई चौतारी साधुलाई सुली’ भनेको यही हैन र?

    हामीलाई लाग्छ न्याय नभएसम्म शान्तिपूर्ण र समृद्ध समाजको कल्पना गर्न पनि सकिंदैन ।

    यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । विगत लामो समयदेखि यी मुद्दाहरु उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौं । तर पनि अवस्था परिवर्तन भएको छैन । त्यसैले राज्यलाई जवाफदेही बनाउनका लागि हामीले देहायका मागहरुसहित यही मंसीर २९ गते साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं ।

    सत्याग्रहका मागहरु

    १. सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस् ।

    २. यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस् ।
    सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने
    गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने; चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने; जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने ।
    १००शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम हरु शुरु गर्ने
    विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने; ऐन जारी नहुंदासम्म दलीय भागवण्डा निषेध गर्दै हामीसित यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने
    सबै सरकारी नियुक्तिहरुमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्ने

    डा गोविन्द केसी
    २०८० मंसीर २९