Category: समाचार

  • विजुलीको चार खस्दा खेत जोतिरहेका किसानको निधन

    विजुलीको चार खस्दा खेत जोतिरहेका किसानको निधन

    काठमाडौं । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका( ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११ः४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

  • एमालेबाहेक अरुले देश बनाउन सक्दैन-ओली

    एमालेबाहेक अरुले देश बनाउन सक्दैन-ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने बताएका छन्।

    शुक्रबार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए।

    उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेकाले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको बताए।

    उनले भने, ‘नेकपा एमाले एउटा साधारण प्रतिपक्ष होइन। देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो। एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो। भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि। उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो। राष्ट्रियताको पक्षमा उनीहरु शिर निहुराउँछन्।’

  • जथाभाबी शतबीज नछर्न पशुपति विकास कोषको आग्रह, उपस्थित हुन नसक्नेका लागि विशेष व्यवस्था

    जथाभाबी शतबीज नछर्न पशुपति विकास कोषको आग्रह, उपस्थित हुन नसक्नेका लागि विशेष व्यवस्था

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी (शतबीजारोपण) मा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न आग्रह गरेको छ ।

    शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न र बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरेको छ ।

    कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन । तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चाैरसहित बाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको छ ।

    पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि निःशुल्क पालको व्यवस्था गरिदिएको पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो काममा नेपाली सेनाले पनि सहयोग गर्ने सूचनामा उल्लेख छ ।

    आफैँ उपस्थित भई बत्ती बाल्न नसक्ने भक्तजनहरूका लागि दुई हजार एक सय रुपैयाँ शुल्क लिई कोषले नै बत्ती बाल्ने व्यवस्था मिलाएको छ । त्यस्ता भक्तजनहरूले पशुपतिको पश्चिम बाहिरी ढोकास्थित कोषको बिक्री कक्षमा शुल्क बुझाउनु पर्नेछ ।

    कोषले कोही कसैले बत्ती बालेको स्थान र पालमा बसेको शुल्क मागेमा नदिन आग्रह गरेको छ ।

  • जुम्लाको तापक्रम माइनसमा, उपत्यकाको न्यूनतम ७.५ डिग्री सेल्सियस

    जुम्लाको तापक्रम माइनसमा, उपत्यकाको न्यूनतम ७.५ डिग्री सेल्सियस

    काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम –२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार बिहान पौने ९ बजे जुम्लामा सो न्यूनतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज डडेलधुराको न्यूनतम तापक्रम ५.२, ओखलढुंगाको ७.३, वीरेन्द्रनगरको ७.७, दिपायलको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

    आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार काठमाडौंको हिजो बिहान पौने ९ बजेको न्यूनतम तापक्रम ९.७ डिग्री सेल्सियस थियो ।

    गएको आइतबार (मंसिर १७) काठमाडौंको न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

  • काठमाडौं विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ

    काठमाडौं विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ


    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो ।

    भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलकाअनुसार उनी को हुन् र यो सुन कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ । घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए । उनीबाट बरामद भएको सुन शुक्रबार जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने महानिर्देशक पौडेलले जानकारी दिए । उनकाअनुसार घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको छ । अन्य केही व्यक्ति पनि संलग्न हुनसक्ने भएकाले अनुसन्धान भइरहेको छ ।

    घले बुधबारै फ्लाइ दुबईको फ्लाइटबाट नेपाल आउन लागेको जानकारी आएको थियो । त्यसैले बुधबारबाटै एयरपोर्टमा निगरानी भइरहेको थियो । बुधबार घले नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरुले निगरानी गरेका थिए । विमान अवतरण भइसकेपछि अन्य यात्रु सरासर झरेर गइसकेपछि करिब अन्तिमतिर घले झरेका थिए । उनलाई झर्नेवित्तिकै भन्सारको टोलीले पक्राउ गरेको थियो ।

  • एनसेलको शेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

    एनसेलको शेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

    काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न आदेश दिएको छ ।

    न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजसलाले खरिद बिक्री भएका एनसेलका शेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी कम्पनी रजिस्टारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुबै पक्षलाई २५ मंसिरमा छलफलमा बोलाएको छ ।

    यसअघि यिनै निवेदक रोकायाले दायर गरेको एनसेलको सेयर बिक्रीसम्बन्धी रिटमा अदालतले आगामी मङ्सिर २५ गतेका लागि अन्तरिम आदेश छलफलका लागि बोलाएको थियो ।

  • अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन सकिएन्

    अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन सकिएन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको बताएका छन्। रेस्पोन्सेबल विजनेश समिट कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन नसकेको बताए ।

    अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको बताए। सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गरे।सरकार राष्ट्रिय व्यवसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको बताए।

    ‘यहाँहरु सबैलाई अवगत नै छ-अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु’, उनले भने, ‘केही दिन पहिला मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठक गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया गरेको छु। अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणासमेत गरिएको छ। मेरो विश्वास छ-उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।’

    दाहालले अर्थतन्त्रमा सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार गर्न अझै मिहिनेत आवश्यक रहेको बताए।

    ‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ। तर, आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ’, उनले भने, ‘त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषण गर्ने तयारी गरिरहेको छु। त्यसमा यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारीवोध एवम् तत्परता रहने विश्वास लिएको छु।’

  • ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार खोस्ने प्राधिकरणको निर्णय विरुद्ध कर्मचारी आन्दोलित

    ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार खोस्ने प्राधिकरणको निर्णय विरुद्ध कर्मचारी आन्दोलित

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको निर्णय विरुद्ध नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित बनेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्याण्डलिङ)मा निगमको एकाधिकार प्राधिकरणले तोड्ने निर्णय गरेपछि निगम कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

    कर्मचारीहरुले बिहीबार निगमको सुन्धारा स्थित कार्यालयमा धर्ना दिएका छन् । ग्राउन्ड ह्याण्डलिङ खोस्ने हवाइ माफिया होसियार भन्दै उनीहरुले कार्यालय अघि धर्ना दिएका हुन् ।

    यही साता नागरिक उड्डयन प्राधिकरणले अब प्रतिस्पर्धाबाट ग्राउन्ड ह्याण्डलिङ दिने निर्णय गरेको छ। प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ ९२० अनुसार भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो ।

    यससँगै अब त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट हुनेछ । अहिलेसम्म ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार थियो ।

    झन्डै आधा खर्ब ऋणमा रहेको निगमले गउन्ड ह्याण्डलिङबाट राम्रो कमाइ गर्दै आएको छ ।

  • पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

    पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

    काठमाडौँ । यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

    गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यही मङ्सिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरुपमा रोक लगाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजकुमार खत्रीले जानकारी दिए ।

    उनले भने, `पशुपतिनाथ आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचना प्रकाशित गरेका छौँ, उक्त सूचनाको बर्खिलाप हुने गरी कुनै काम भएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।´

  • चुरोटबाट सल्किएको आगोले विराटनगरमा लियो तीन जनाको ज्यान

    चुरोटबाट सल्किएको आगोले विराटनगरमा लियो तीन जनाको ज्यान

    काठमाडौं । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ ।

    बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु भएको थियाे । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाकाे बुधबार राति मृत्यु भएको हाे । उपचारका क्रममा विराटनगर– ६ का दीपक मण्डलको मृत्यु भएको थियो । उनी कवाडी सञ्चालक दुखा मण्डलका छोरा हुन् ।

    मण्डललाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

    एक जनाको जलेर मृत्यु भएको अवस्थामा बुधवार घटनास्थलमै शव फेला परेको थियो । शवको पहिचान भने भएको छैन । मृतक महिला रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिएपछि उनको शव भेटिएको थियो । थप उपचारका लागि काठमाडौ पठाइएका चारमध्ये बुधबार राति सुनिता कामतकाे मृत्यु भएको छ ।

    केमिकलमा हाल्ने पफ्र्युम (सेन्ट) भर्ने क्रममा चुरोट सल्काउँदा आगलागी भएको मोरङ प्रहरीले जनाएको छ । ‘काम गर्ने क्रममा एक जनाले केमिकलको बट्टा फुटाउँदै थिएँ । त्यो क्रममा चुरोट पनि सल्काइयो । यसपछि आगलागी शुरू भयो,आगो लागेपछि कतिपय भाग्न सफल भए भने कोही तत्काल बाहिर निस्कन नपाउँदा घाइते भए ।

  • गठबन्धन सरकारले देशलाई बन्धक बनायाे : अध्यक्ष ओली

    गठबन्धन सरकारले देशलाई बन्धक बनायाे : अध्यक्ष ओली

    बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको बताउनुभएको छ ।

    मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको बताउनुभयो। यस अवस्थाबाट देशको रक्षा गर्नुपर्ने ओलीको भनाई छ। ‘यस अवस्थाको रक्षा नेकपा एमालेले गर्छ’, ओलीले भन्नुभयो ।

    सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशेको स्वाधीनता कमजोर बनाएको ओलीले बताउनुभयो । अहिलेको सरकार देशको भूमिको बारेमा समेत बोल्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो । ‘तै पनि यस्तो सरकार चलिरहेको छ, अथवा सरकार हुँ भनेर बसिरहेको छ’, ओलीले भन्नुभयो।

    अहिलेको सरकार चरम असफल सरकार भएको ओलीले बताउनुभयो । ‘कसरी बसिरहेको छ सरकार, अचम्म लाग्दो कुरो छ’, उहाँले भन्नुभयो ।

    अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रका साथ अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘त्यो गर्न राष्ट्रिय शक्ति आवश्यक पर्छ, राष्ट्रिय शक्ति नेपाली जनताको बिचबाट निस्किनु पर्दछ, अरूबाट निस्किने होइन, नेपाली जनता भ्रम, अन्योलमा पर्नु हुँदैन, राष्ट्रिय शक्तिको रूपमा उभिनु पर्दछ, देश हितको पक्षमा उभिनु पर्दछ, शान्तिको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा उभिन सक्नु पर्दछ’, उहाँले भन्नुभयो।

    नेपालमा सुरुङ मार्गको अवधारणा नै नेकपा एमालेले ल्याएको उहाँले बताउनुभयो। अब नेपाको कुनै पनि भाग दुर्गम हुन नसक्ने ओलीले प्रष्ट पार्नुभयो। अब नेपालका हरेक ठाउँका बाटो बन्नु पर्ने उहाँले भन्नुभयो । ‘नेकपा एमाले आएपछि चौतर्फी विकास गरेको छ’, उहाँले भन्नुभयो ।

  • एनसेलको शेयर बिक्री छानबिन गर्न टंकमणिको संयोजकत्वमा समिति गठन

    एनसेलको शेयर बिक्री छानबिन गर्न टंकमणिको संयोजकत्वमा समिति गठन

    काठमाडौं । सरकारले एनसेलको शेयर खरिद बिक्रिबारे अध्ययन गर्न चार सदस्यीय समिति गठन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व महोलखा परिक्षक टंकमणि शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

    समितिमा सचिव फणिन्द्र गौतम, सहसचिवहरु बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले सदस्य रहेका छन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको छ ।

    एनसेलको ८० प्रतिशत सेयर मलेसियन लगनीकर्ताले युकेमा दर्ता भएको स्पेक्ट्रालाइट कम्पनीलाई करिब ६ अर्बमा बेच्ने निर्णय गरेपछि कर छली भएको भन्दै चौतर्फी दबाव बढिरहेको छ । संसदको सार्वजनिक लेखा समितिले सेयर खरिद बिक्रि रोक्न पत्राचार गरेको छ भने अर्थ समितिले पनि १५ दिनभित्र यथार्थ जानकारी गराउन निर्देशन दिएको छ ।

    पाटन उच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ । ७ बर्ष अघि एक खर्ब ४३ अर्ब रुपैयाँमा आजियटाले एनसेलको ८० प्रतिशत सेयर किनेको थियो । अहिले भने करिब ६ अर्बमै आफ्नो सो सेयर बेच्ने सम्झौता गरेको छ ।

  • नेपाली नागरिकलाई भारतीय कागजात बनाएर क्यासिनोमा इन्ट्री

    नेपाली नागरिकलाई भारतीय कागजात बनाएर क्यासिनोमा इन्ट्री


    काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका क्यासिनोहरुमा प्रवेश गर्न भारतीय कागजात बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दोलखा मेलुङ गाउँपालिका ३ भई हाल काठमाडौँ बुढानीलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, ओखलढुङ्गा घर भई हाल ललितपुर बस्ने ३९ वर्षीय नवीन राई र रुपन्देही घर भई हाल काठमाडौँ तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपानेलाई पक्राउ गरिएको छ ।

    उनीहरूले क्यासिनो प्रवेश गराइ खेलाउने प्रयोजनका लागि नेपाली नागरिकको भारतीय कागजात बनाइदिने गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  • अवैध रुपमा रुसी सेनामा पठाउने गिरोह सार्वजनिक

    अवैध रुपमा रुसी सेनामा पठाउने गिरोह सार्वजनिक

    काठमाडौं । नेपालबाटअवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट १२ जनालाई मंगलवार पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन्।

    लैनचौर, ठमेल र महाराजगञ्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। यो गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरुलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ। परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ नेपाली नागरिक मारिएको पुष्टि गर्दै विवरण सार्वजनिक गरेपछि प्रहरीले रुस पठाउने गिरोहमाथि एक्सन लिएको थियो।

  • एनसेलले दूरसञ्चार प्राधिकरणलाई फर्कायो प्रतिवद्धतासहितको जवाफ(पत्रसहित)

    एनसेलले दूरसञ्चार प्राधिकरणलाई फर्कायो प्रतिवद्धतासहितको जवाफ(पत्रसहित)

    काठमाडौं । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ लेखेको छ । मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेकोबारे प्राधिकरणले मंसिर १५ मा लेखेको पत्रको एनसेलले प्रतिवद्धतासहितको जवाफ हिजो पठाएको हो ।

    मंसिर १५ गते सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिइ एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको रिनोल्ड होल्डिङ्स लिमिटेडको शतप्रतिशत सेयर खरिद बिक्री गर्ने सम्बन्धमा आजिएटा युके र स्पेक्ट्रलाइट युकेबीच सहमति भएको विषय बाहिरिएको थियो।

    यस्तो छ प्राधिकरणलाई एनसेलले पठाएको जवाफी पत्र

    यस कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद खरिद बिक्री गर्ने सम्बन्धनमा आजियटा युके र स्पेट्रलाइट युके लिमिटेडबीच सेयर बिक्री सम्झौतासम्म गरेकाले त्यहाँको पत्रका सम्बन्ध दूरसञ्चार नियमावलीको २०५४ को नियम १५. १ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ को परिपालनको प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लेखित सेयर खरिद बिक्रीका लागि भएको दुई पक्षीय सम्झौता समेतका कागजातहरु तदारुकतासाथ सम्बन्धित पक्षबाट छलफलका क्रममा रहेको अवतग गराउन चाहन्छौं ।

    एनसेल आजियटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनमा सधैं जागरुक र कटिबद्ध भएको प्राधिकरणमा अवगत नै छ । अत: त्यो पत्रमा उल्लेखित नियमावली र विनियामवलीको पूर्णपालना गर्न सदाझैं एनसेल आजियटा प्रतिबद्ध रहेको व्यहोरा सादर अनुरोध गर्दै नेपाल दूरसञ्चार प्राधिकरण अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनयामवली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल सो कागजातहरु संकलन गरि दूरसञ्चार नियमावलीको २०५४ को नियम १५.१ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ अनुसार त्यहाँ प्राधिकरणसमक्ष सेयर खेरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा सादर अवगत गराउन चाहन्छौं ।

  • औषधि पसलमा काठमाडौं महानगरको निगरानी, अनधिकृतलाई २९ गतेसम्मको अल्टिमेटम

    औषधि पसलमा काठमाडौं महानगरको निगरानी, अनधिकृतलाई २९ गतेसम्मको अल्टिमेटम

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैधरूपमा चलिरहेका औषधि पसललाई सचेत गराएको छ ।

    मेयर बालेन्द्र शाहले महानगरभित्र अनधिकृत रूपमा औषधि पसल सञ्चालन भइरहेको पाइएको उल्लेख गर्दै त्यस्ता औषधि पसललाई यही मंसिर २९ गतेभित्र आफ्ना अवैधानिक कार्य कानुनबमोजिम सच्याउन निर्देशन दिएका हुन् ।

    ‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ’, मेयर शाहले सूचना जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुनबमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ।’

    सोबमोजिम सुधार नभए त्यस्ता औषधि पसल बन्द गराइने चेतावनी उनले दिएका छन्।

    अनधिकृत रूपमा औषधि बिक्री वितरण भइरहेको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्रि नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी सूचना दिन मेयर शाहले महानगरवासीलाई अनुरोध पनि गरेका छन्।

  • एनसेल प्रकरणमा सत्ता गठबन्धनको धारणा के ?

    एनसेल प्रकरणमा सत्ता गठबन्धनको धारणा के ?


    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो। 

    बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकुल खरिद–बिक्री नभएको बताए । उनले शेयर खरिद–बिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।

    उनले भने, ‘‘सरकारमा संलग्न राजनीतिक दलका शीर्ष नेताको बैठक बसेको हो। एनसेलको सम्बन्धमा पछिल्लो समयमा एनसेलको शेयर खरिद–बिक्री लगायतका जुन कुरा आएका छन्, यो कुराहरु अत्यन्त ज्यादा गम्भीर छ। जति पनि काम कुरा भएका छन्। त्यो नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने जुन बाध्यात्मक कानुनी व्यवस्था छ, त्यसका अुनकुल भएको छैन। जति पनि गतिविधि भएका छन्, ती शंकास्पद छन्। त्यसमा प्रश्न उठेका छन्।’’ 

    उनले  यो विषयमा गम्भीर भएको प्रधानमन्त्रीले बताएको समेत उल्लेख गरे। लेखकले भने,  ‘‘यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। यसलाई देशको हित प्रतिकुल कुनै काम हुन नदिने र नेपालको प्रचलित कानुन बमोजिम अध्ययन गर्ने कुरा भएको छ। यो बैठकले पनि प्रधानमन्त्रीले भन्नुभएको कुरा ठिक छ भन्ने निष्कर्षमा पुगेको छ।’’ 

    प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिदबिक्रीका बारेमा मन्त्रिपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको उल्लेख गरे ।

    बैठकमा एनसेल खरिद बिक्रीको बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्ने र सूक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ। ‘‘यो विषयलाई देश र जनताको हितमा कानुन बमोजिम गर्नुपर्छ भन्ने निष्कर्ष भएको छ। मन्त्रिपरिषद्ले पनि यसमा आवश्यक निर्णय गर्छ। सरकारका निकायले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार छ’’, उनले भने ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा भएको अनियमितताको विषयमा विभागीय मन्त्रीसँग छलफल गरेका हुन् ।  मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा सहभागी शीर्ष दलका नेता र विभागीय मन्त्रीसँग छलफल गरेका छन् । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाश शरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगै सरकारमा सहभागी दलका शीर्ष नेता सहभागी थिए ।

  • एनसेल प्रकरणमा सरकारले दियो यस्तो स्पष्टीकरण

    एनसेल प्रकरणमा सरकारले दियो यस्तो स्पष्टीकरण


    काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेकि  सञ्चार तथा  सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गरेकि छिन् ।

    मङ्गलबार साँझ सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नु भएको छ ।’’

    नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने विज्ञप्तिमा उल्लेख छ । 

    ‘‘अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउनेछ । नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको छ।’’ 

  • बेलायतको अध्यागमनमा कडाइ, अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस

    बेलायतको अध्यागमनमा कडाइ, अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस

    काठमाडौं । बेलायतको अध्यागमनमा कडाइ गरिएको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनदरलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गरेका छन् ।

    प्रधानमन्त्री सुनकको उक्त कदमलाई अध्यागमनदर घटाउने सरकारको कट्टरपन्थी कार्यको रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्‍याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ ।

    नयाँ उपायहरूको शृंखलाको रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन् तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइनेछ।

    साथै यो कदमबाट दक्ष विदेशी कामदारहरूले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनुपर्ने बाध्यता सिर्जना हुनेछ।

    यस नयाँ प्रावधानअन्तर्गत स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म विदेशी विद्यार्थीलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउनेछ। बेलायतमा कुल माइग्रेसन गत वर्ष उच्चस्तरमा पुगेको आधिकारिक तथ्यांकले देखाएको छ। यसले बेलायत सरकारलाई दबाब थपेपछि यस मुद्दालाई राजनीतिक विषय जनाएको छ।

    बेलायतमा सन् २०२२ मा ६ लाख ६ हजार मानिसको बसाइँसराइ भएको राष्ट्रिय तथ्यांकको कार्यालय (ओएनएस)ले जनाएको छ। त्यसैगरी, १२ लाख मानिस बेलायत प्रवेश गरेका छन् भने झन्डै आधाले देश छोडेर गएका छन्।

    सिएनएनका अनुसार कन्जरभेटिभ सरकारहरूले बेलायतमा सर्ने मानिसको संख्यामा ठूलो मात्रामा कमी ल्याउने वाचा गरे तापनि सहज रूपमा त्यसो हुन सकेको छैन।

    विशेषगरी ब्रेक्सिटको परिप्रेक्ष्यमा हेर्दा यसका समर्थकहरूले सिमानाहरू ‘नियन्त्रण’ गर्न बेलायतलाई आवश्यक कदमको रूपमा यो पछिल्लो कदमलाई लिएका छन्।

    बेलायत आइपुगेका अधिकांश मानिस नाै लाख २५ हजार गैरइयू नागरिक रहेको र तीमध्ये १२ जनामा एकजनामध्ये एक शरण खोज्नेहरू रहेको तथ्यांकले देखाएको छ। गैरइयू देशहरूबाट बेलायत बसाइँ सर्नेहरूमा कामको खोजी, अध्ययन र मानवीय उद्देश्य प्रमुख रहेरको ओएनएसमा अन्तर्राष्ट्रिय आप्रवासन केन्द्रका निर्देशक जे लिन्डोपले उल्लेख गरे ।

    यसैगरी, गत वर्ष बेलायतको अध्यागमन तथ्यांकका अनुसार सबैभन्दा धेरै भारतीय नागरिक बेलायतमा अध्ययन, कामको खोजी र पर्यटन भिसा बोकेर प्रवेश गरेका थिए। जुन २०२२ को अन्त्यमादुई लाख ५८ हजारभन्दा बढी भारतीय नागरिकले भ्रमण भिसा प्राप्त गरेका छन् जुन अघिल्लो वर्षको तुलनामा ६ सय ३० प्रतिशतले बढी हो।

  • टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’मा

    टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’मा

    काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्दविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। सर्वोच्च अदालतमा आजदेखि सुरु हुने भनिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो।

    मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । तर न्यायाधीशद्वय माथेमा र शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

    २७ कातिकमा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनुपरेको बताउँदै आएको छ।

    सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए। ती रिटहरुमाथि मंसिर ५ गते भएको सुनुवाइको क्रममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले आज (मंगलबार)का लागि पूर्ण सुनुवाइको मिति तोकिएको थियो।

    न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश गरेको थियो।

  • ‘मिचाउङ’ले चेन्नईमा पाँच जनाको मृत्यु, १५० उडान प्रभावित

    ‘मिचाउङ’ले चेन्नईमा पाँच जनाको मृत्यु, १५० उडान प्रभावित

    काठमाडौं । सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएको छ ।

    भारतीय मौसम विभागको जानकारी अनुसार ‘गम्भीर चक्रवात मिचोङ्ग’ चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ । यो तूफान दक्षिण आन्ध्र तटमा समानान्तर अघि बढ्नेछ र नेल्लोर र मछलीपट्टनमको बीचबाट मङ्गलबार, डिसेम्बर ५ मा ठूलो आँधीको रूपमा बाहिरिने छ।

    आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र बाढीले चेन्नईमा हालसम्म ५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन । भारतीय मौसम विभागका अनुसार ‘मिचाउङ’चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ ।

    यो तूफान दक्षिण आन्ध्र तटमा समानान्तर सर्नेछ । राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् । भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् ।

    वर्षाका कारण चेन्नईका घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलहरू डुबानमा परेका छन् र उडान आवागमन रोकिएको छ । विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएको समाचारमा उल्लेख छ ।

  • के भारत माल्दिभ्सबाट आफ्नो सेना फिर्ता गर्दैछ?

    के भारत माल्दिभ्सबाट आफ्नो सेना फिर्ता गर्दैछ?


    काठमाडौं ।  रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए ।

    यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताए । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन समर्थक पूर्वराष्ट्रपतिको अप्रत्यक्ष सहयोगमा मुइज्जु गत सेप्टेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    “भारत सरकारसँगको शृङ्खलाबद्ध रचनात्मक बैठक र संवादपछि भारतीय सैनिक फिर्ता गर्ने सहमति भएको छ”, आइतबार राति राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ । समुद्री क्षेत्रमा गस्ती गर्ने तीनवटा उपहारप्राप्त विमान सञ्चालन गर्नका लागि भारतीय सैनिकहरू माल्दिभ्समा तैनाथ छन् ।

    प्राचीन सेतो समुद्री तट र एकान्त रिसोर्टहरूका साथ मुख्यरूपमा दक्षिण एसियाको सबैभन्दा महँगो बिदा मनाउने स्थलहरूमध्येको एकका रूपमा चिनिने माल्दिभ्स भूराजनीतिक ‘हटस्पट’ बनेको छ । विश्वव्यापी पूर्व–पश्चिम ढुवानी लेनहरूले भूमध्य रेखा पार गरी आठ सय किलोमिटर (पाँच सय माइल) फैलिएको माल्दिभ्सको एक हजार एक सय ९२ साना कोरल टापुहरूको शृङ्खलालाई पार गर्दछ ।

    राष्ट्रपति मुइज्जुको कार्यालयले भारतीय सैनिकहरूको फिर्तीको सम्झौता ‘प्राविधिस्तरमा प्रगतिमा रहेको’ जनाएको छ । आफ्नो माटोमा विदेशी सैन्य उपस्थितिको अनुपस्थिति सुनिश्चित गर्नका लागि प्राथमिकरूपमा कूटनीतिक च्यानलहरू प्रयोग गर्ने आफ्नो प्रतिबद्धतामाथि जोड दिइएको विज्ञप्तिमा उल्लेख छ ।

    माल्दिभ्सले सेना फिर्ताका लागि कुनै समयसीमा दिएको छैन र सोमबार नयाँदिल्लीबाट पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन । दुबईमा संयुक्त राष्ट्रसङ्घीय कोप२८ सम्मेलनका अवसरमा राष्ट्रपति मुइज्जु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको एक बैठकपछि यस्तो सहमति भएको हो ।

    माल्दिभ्सले भनेको छ, “दुवै नेता माल्दिभ्समा जारी विकास परियोजनाहरूसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्न समन्वय गर्ने प्रयासका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत हुनुभएको छ ।” रासस/एएफपी

  •  एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रधानमन्त्रीको चासो

     एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रधानमन्त्रीको चासो


    काठमाडौं । एनसेल खरिद सम्बन्धि प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर चासो व्यक्त गरेका छन् ।

    प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन पनि दिएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री  ‘प्रचण्ड’ ले यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा समेत सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएका छन् ।

  • रुसी सेनामा भर्ती भएका कुल ६ नेपालीको मृत्यु

    रुसी सेनामा भर्ती भएका कुल ६ नेपालीको मृत्यु


    काठमाडौं । अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको छ । 

    सरकारका तर्फबाट सोमबार वक्तव्यमार्फत औपचारिक जानकारी दिँदै मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने ६ जना नेपाली नागरिकको नाम सार्वजनिक गरेको हो ।

    अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपाली नागरिकमा गोरखाका सन्दिप थपलिया, वाणगंगा १ कपिलवस्तुका रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार ५ का प्रितम कार्की, दोलखा मेलुङ्ग ६ का राजकुमार रोका र इलाम ५ का गंगाराज मोक्तान रहेको मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । 

    गोरखापत्रलगायत विभिन्न सञ्चारमाध्यममा रुसी सेनामा नेपाली युवक यवुती अवैधानिक रुपमा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सामेल भएको समाचार प्रकाशित भएको थियो । सरकारले यसअघि मङ्सिर १६ गते केही मित्रराष्ट्रसँग परम्परागत सम्झौताका आधारमा गोर्खा भर्ती भए पनि रुससँग त्यस्तो भर्तीको सम्झौता नभएको स्पष्ट पार्दै भर्तीमा नजान अपिल गरेको थियो । 

    तथापि अवैधानिक रुपमा रुसी सेनामा गएर ज्यान गुमाएका नेपाली नागरिकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुस सरकारलाई यसै वक्तव्यमार्फत अनुरोध गरेको छ । 

    नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न र कुनै नेपाली नागरिकलाई भर्ती गरेमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुस सरकारसँग नेपाल सरकारले अनुरोध गरेको छ । रुसी सेनामा भर्ती भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी राखेको प्रष्ट पारेको छ । 

    नेपाल सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुसको यात्रा गर्नुपरेमा मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन प्रमाणपत्र लिएरमात्र यात्रा गर्न परराष्ट्र मन्त्रालयले अपिल गरेको छ । साथै मन्त्रालयले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ती हुन नजान पनि अनुरोध गरेको छ । 

  • अनलाइनबाट यौन व्यवसाय चलाउने पक्राउ

    अनलाइनबाट यौन व्यवसाय चलाउने पक्राउ


    काठमाडौं ।  नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेंगेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुंगाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

    कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।

  • अफवाह फैलाउने १८ युट्युव च्यानल कारवाहीमा

    अफवाह फैलाउने १८ युट्युव च्यानल कारवाहीमा

    काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई सञ्चालित भई अफवाहपूर्ण सामाग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई कारबाहीको लागि सिफारिस गरेको छ ।

    निराधार, अफवाह र अतिरञ्जनापूर्ण शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन भएकोले कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।

    मिडियाअन्तर्गत आवद्ध नभएका सामाजिक सञ्जाल (युट्यूब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

    काउन्सिलले यसअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतंकित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै मंसिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

  • कोप सम्मेलनमा सहभागी भइ स्वदेश फर्किए प्रधानमन्त्री

    कोप सम्मेलनमा सहभागी भइ स्वदेश फर्किए प्रधानमन्त्री

    काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किएका छन् । मङ्सिर १३ गते राति ९ बजे यूएई गएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गरेका छन् ।

    शनिबार जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताएका थिए । उनले  हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।

    सम्मेलनमा उनले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।

  • राष्ट्रियसभा निर्वाचन : पुस २३ गते उमेदवारी दर्ता, यस्तो छ कार्यतालिका

    राष्ट्रियसभा निर्वाचन : पुस २३ गते उमेदवारी दर्ता, यस्तो छ कार्यतालिका

    काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

    कार्यतालिकाअनुसार आउँदो पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिनेछ ।

    प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य सोही दिनदेखि सुरु भएर पुस २२ गते सकाइनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

    पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    मतदान कार्य माघ ११ गते बिहान नौ बजेदेखि दिउसो तीन बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ । मतदान कार्य सम्पन्न भएपछि त्यसै दिनै मतगणना कार्य हुने जनाइएको छ ।

    प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न नपाउने पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा तीनमामा भएको व्यवस्था अनुसार सोही दफाको उपदफा एकको प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

  • कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो, ५ मन्त्रालय मुख्यमन्त्रीसँगै

    कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो, ५ मन्त्रालय मुख्यमन्त्रीसँगै

    काठमाडौं । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

    राईलाई आन्तरिक मामिला तथा कानुन, उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

    गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए । यस्तै कार्तिक १७ गते माअ‍ोवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए । तर उनीहरुको जिम्मेवारी तोकिएको थिएन।

  • हिमालयले साङ्घाईमा सुरु गर्यो सिधा उडान

    हिमालयले साङ्घाईमा सुरु गर्यो सिधा उडान

    काठमाडौं । हिमालय एअरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान शुरु गरेको छ । एअरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान थालेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर २० मिनेटमा एक सय ३७ यात्रुसहितको जहाज साङ्घाई उडेको हो । यो जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाण्डौ फर्कनेछ । काठमाण्डौ–साङ्घाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिवार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ ।

    साङ्घाईमा हिमालय एअरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै चिनियाँ पर्यटक नेपालमा आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आउँदा दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय काठमाण्डौ विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा धेरै उडानमार्फत झण्डै १५ हजार यात्रु आवतजावत गरिरहेको जानकारी दिए । साङ्घाई चीनको मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।