Category: समाचार

  • वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा स्पा सञ्चालक पक्राउ

    वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा स्पा सञ्चालक पक्राउ

    काठमाडौं । रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोका एसपी कृष्ण पंगेनीका अनुसार, स्पाका नाममा युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ ।
    ‘त्यहाँबाट ३ जना नाबालिकालाई उद्दार गरेर उनीविरुद्ध अनुसन्धानका लागि अदालतबाट पाँच दिन म्याद लिइएको प्रहरीले बताएको छ । पौडेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही प्रक्रिया अघि बढ्ने भएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले गाउँका युवतीहरुलाई आकर्षिक जागिर दिने भन्दै प्रलोभन देखाएर काममा लगाउने गरेका थिए । त्यसक्रममा पुरुषहरुसँग अश्लिल क्रियाकलाप गरेको भिडियो, फोटो आफूसँग सुरक्षित छ भनेर समेत धम्क्याउने गरेको प्रहरीको भनाई छ ।

  • देउवाले तोडे मौनता, भने-‘गणतन्त्रविरोधी गतिविधिबाट आत्तिएका छैनौं’

    देउवाले तोडे मौनता, भने-‘गणतन्त्रविरोधी गतिविधिबाट आत्तिएका छैनौं’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’

    उनले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताए । गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? यो प्रश्नमा उनले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।’ वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरूले प्रश्न गरेका थिए ।

    सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनको जवाफ थियो, ‘थाहा पाइहाल्नु हुन्छ नि ।’ सो अवसरमा कांग्रेस नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए ।

    उनले भने, ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।’ सरकारका कामप्रति नागरिक पूर्ण रूपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो । गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले भने, ‘मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन ।’

    सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए । उनले भने, ‘जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।’ नारायणगढ–बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको तथा यस विषयमा संसदमा कुरा उठाउने उनले बताए ।

  • रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित ९जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आज विशेष अदालत काठमाडौंमा रामधुनी नगरपालिका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देबेन्द्रनारायण चौधरी र सव-इन्जिनियर हर्षलाल चौधरी, वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी, वडा नं. ३ का तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनीलकुमार चौधरी, जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत)विरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको हो।

    रामुधनी–३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक कालोपत्र गर्ने कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाई धेरै रकम भुक्तानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

  • काठमाडौंमा अब बटुवा आफैले बटम थिचेर ट्राफिक बत्ति बाल्ने प्रणाली, बबरमहलबाट सुरु

    काठमाडौंमा अब बटुवा आफैले बटम थिचेर ट्राफिक बत्ति बाल्ने प्रणाली, बबरमहलबाट सुरु

    काठमाडौं । काठमाडौंमा बटुवा आफैले बटम थिचेर सडक बत्ति बाल्ने प्रणाली जडान थालिएको छ । पहिलो चरणमा बबरमहलमा यो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको छ । अब बटुवा आफैँले बटन थिचेर सवारी साधनका लागि रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक प्रणाली जडान गरिएको हो ।

    काठमाडौं जिल्ला अदालत अगाडि जेब्राक्रसमा पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ ।

    रातो बत्ती बलेपछि गाडी रोकिन्छन् र यात्रुले बाटो पार गर्न सक्छन् । यात्रुको चापअनुसार समयको सेटिङमा केही फेरबदल गर्न सकिने महानगरपालिकाले जनाएको छ । ट्राफिक प्रहरीले जथाभाबी बटन नथिच्न र सकेसम्म ८–१० जना यात्रु जम्मा भइसकेपछि मात्रै बटन थिचेर सडक पार गर्न अनुरोध गरेको छ ।

    बबरमहलबाहेकका अरु ठाउँमा पनि यस प्रकारको ट्राफिक बत्ती जडानको तयारी भइरहेको महानगरपालिकाको भनाई छ । महानगरपालिकाका अनुसार मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको सङ्ख्या बढी हुने ठाउँमा यस प्रकारको बत्ती राखिनेछ ।

  • हमासले तीन दिनमा छाड्यो ४३ बन्धक, नेपालका विपिन अझै अज्ञात

    हमासले तीन दिनमा छाड्यो ४३ बन्धक, नेपालका विपिन अझै अज्ञात

    काठमाडौं । इजरायल र हमासबीचको युद्ध बिरामको तेस्रो दिनसम्म प्यालेस्टाइनी समूह हमासले ५४ बन्धक मुक्त गरेको छ। आइतबार हमासले थप १३ बन्धकलाई मुक्त गरेको छ । शनिबार १७ र शुक्रबार २४ बन्धक छाडिएको थियो । उनीहरुलाई रेडक्रसको जिम्मा लगाएको छ । अक्टोबर ७ देखि हमासले बन्धक बनाएका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाई छ । गाजाबाट लगिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गराई आफन्तहरूसँग भेट समेत गराइएको छ।

    हमासले बन्धक मुक्त गरेको बदलामा इजराइलले प्रत्येक दिन ३९ जना प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। अक्टोबर ७ यता इजराइली डिफेन्स फोर्सले तीन हजारभन्दा बढी प्यालेस्टिनियन नागरिकहरूलाई पक्राउ गरी जेलमा राखेको थियो। उनीहरूमाथि इजराइली सैनिकमाथि आक्रमण र ज्यान मार्ने कोशिस गरेको आरोप लगाइएको छ। इजराइली जेलमा रहेकाहरू अधिकांश महिला र किशोरकिशोरी छन्।


    इजराइलले बन्धकमुक्त गर्न भन्दै गाजामा कम्तिमा चार दिन युद्धविराम गर्ने सहमतिलाई गत मंगलबार अनुमोदन गरी शुक्रबारदेखि कार्यान्वयन गरेको हो । हमासले इजराइली जेलमा रहेका तिनै नागरिकहरूलाई रिहा गर्ने सर्त राखेको थियो।

    हसमाले पहिलो चरणमा बन्धकमुक्त गरेकाहरू अधिकांश वृद्धवृद्धा, महिला र बालबालिका छन्। बन्धक बनाइएकाहरूमध्ये नेपालका विपिन जोशी पनि छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत भदौमा इजराइल गएका हुन् । त्यसमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए । विपिनको अवस्था भने अझै अज्ञात छ ।

  • योगेश भट्टराई चढेको गाडीमा ढुंगा प्रहार

    योगेश भट्टराई चढेको गाडीमा ढुंगा प्रहार

    काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २–०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिए ।

    भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो । ढुंगा हान्नेहरुको खोजी भइरहेको डीएसपी लिम्बुले बताए । आइतबार दिउँसो भट्टराईको घरअगाडि पनि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए । प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । सोही समूहले भट्टराईको गाडीमा ढुंगा प्रहार गरेको हो । यसअघि एमाले प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादी नेता इन्द्रबहादुर आङ्वो सवार सवारीमा पनि पहिचान पक्षधर कार्यकर्ताले आक्रमण गरेका थिए ।

  • दुर्गा प्रसाईंले फिर्ता लिए सर्वोच्चमा हालेको रिट

    दुर्गा प्रसाईंले फिर्ता लिए सर्वोच्चमा हालेको रिट

    काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार प्रसाईलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो ।

    राजतन्त्र पुनर्स्थापनासहितको माग राखेर आन्दोलनमा होमिएका प्रसाईलाई गत शुक्रबार प्रहरीले घर बाहिर निस्कन नदिएर नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमाम बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

    तर आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा बहसका क्रममा प्रसाई खुला रुपमा भाषण गरिरहेको प्रसङ्ग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन् । प्रसाईले आफूलाई चर्चामा ल्याउनका लागि अफबाह फैलाएर दिनभर मिडियासँग कुराकानी गरिरहेका थिए ।

  • काेशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

    काेशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

    विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले ल्याएको बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेश सभाबाट पास भएको छ ।

    कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न शनिवार कोशी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए । उनले पेस गरेको विधेयक छलफल पछि सर्वसम्मतले पारित भएको हो ।

    विधेयक पास गर्न एमालेले समेत सहयोग गरेको छ । एमालेले समेत बिधियेकमा समर्थन गर्दै पास गरेको हो । कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट अनुमान गर्दै बजेट प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेका थिए ।

    उनले पेस गरेको विधेयकमा चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरेका छन् । सङ्घीय अनुदान बचत फिर्ताका लागि २ अर्ब राखिएको छ ।

    विधेयकमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ आउने अनुमान गरिएको छ ।

    यस्तै, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार रुप्रयाँको श्रोत अनुमान गरिएको छ । यस्तै नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० रुपैयाँ हुने अनुमान गरिएको छ ।

    तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । उनले पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरेका थिए ।

  • काठमाडौंमा ‘द्रुत बस’ सेवा आजबाट पुनः सुरु

    काठमाडौंमा ‘द्रुत बस’ सेवा आजबाट पुनः सुरु

    काठमाडौं । सूर्यविनायकरत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क(सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन् ।

    ती बस आज बिहान साढे ८ बजेदेखि तीन–तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् । सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ । यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५–५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको मन्त्रालयको भनाइ छ ।

    यात्रुहरुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा सुरु गरेको थियो । तर यो सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो । अरु सार्वजनिक बसलाई रत्नपार्क(सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ ।

    माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन् । रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

  • उत्तरकाशीमा १५ दिनदेखि सुरुंग भित्र फसेका ४१ मजदुर अझै उद्दारको पर्खाइमा, हिमपातले थप्दै समस्या

    उत्तरकाशीमा १५ दिनदेखि सुरुंग भित्र फसेका ४१ मजदुर अझै उद्दारको पर्खाइमा, हिमपातले थप्दै समस्या

    काठमाडौं । भारतको उत्तरकाशीमा एक निर्माणाधिन सुरुंग भत्किएपछि ४१ जना मजदुर फसेको १५ दिन बितेको छ । भारतीय सेनाले उनीहरुको उद्दारका लागि निरन्तर काम गरिरहेको छ । तर, अझै सफलता हात परेको छैन । भारतीय सञ्चारमाध्यमहरुका अनुसार १५ दिनसम्म पनि मजदुर सुरुंग भित्र सकुसल छन् । उनीहरुलाई निकाल्ने क्रममा वैकल्पिक स्थानबाट जमिन ड्रिल गरिएको छ र उनीसम्म पुग्ने प्रयास जारी छ ।

    यसैबीच मौसम विभागले सो भेगमा हिमपातको चेतावनी जारी गरेको छ । यसले थप आपत्ति निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यो घण्टा उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा भएको हो । उद्दारमा भइरहेको ढिलाईले मजदुरको मनोवल गिर्दै गएकोतर्फ भने चिन्ता व्यक्त गरिएको छ ।

  • युद्धबिरामको दोस्रो दिन छुटे ५६ कैदी\बन्धक

    युद्धबिरामको दोस्रो दिन छुटे ५६ कैदी\बन्धक

    काठमाडौं । गाजामा युद्धविरामको दोस्रो दिन प्यालेस्टाइन र इजरायलका तर्फबाट ५६ कैदी\बन्धक छुटेका छन् । हमासले १७ बन्धक छाडेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इजराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको हो । इजराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इजराइल पुर्‍याइ अस्पताल लगेको छ।

    युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इजराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो। योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इजराइलको जेलबाट मुक्त भएका छन्।

    युद्धविरामबीच गजामा विभिन्न मुलुकहरूले मानवीय सहायता पुर्‍याइरहेका छन्। त्यहाँ अत्यावश्यक इन्धन, खाद्यान्न र औषधी लगायतका मानवीय सहायता इजिप्ट लगायतका देशहरूले लगिरहेका छन्। इजराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। उक्त सहमतिलाई इजराइलको मंगलबार अनुमोदन गरेको थियो भने शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो।

    हमासले प्रत्येक दिन कम्तिमा १० जना बन्धक मुक्त गर्ने र त्यसवापत इसराइलले गजामा थप एकदिन युद्धविराम लम्ब्याउने भनिएको छ। अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गरी इजराइलसहित २६ देशका २३९ नागरिकहरूलाई बन्दी बनाएर गजा लगेको थियो। जसमा नेपालका विपिन जोशी पनि छन्।

    हमासको आक्रमणमा इजराइलमा १० नेपाली नागरिकसहित १ हजार २ सय जना मारिएको थिए। त्यसयता हमासलाई निशाना बनाउँदै इजराइलले लगातार गजामा आक्रमण गर्दै आइरहेको छ । इजराइलको आक्रमणबाट गजामा १३ हजारभन्दा बढी नागरिकहरूको मृत्यु भइसकेको छ। ठूलो संख्यामा नागरिकहरूको मृत्यु भएपछि गजामा युद्धविराम गर्न अन्तर्राष्ट्रिय समूदाय र संयुक्त राष्ट्रसंघले इजराइललाई दबाव दिँदै आइरहेको थियो।

  • हमासले रिहा गरेका २४ बन्धक को हुन् ?

    हमासले रिहा गरेका २४ बन्धक को हुन् ?

    काठमाडौं । हमासले १३ इजरेली ११ विदेशीसहित २४ बन्धकलाई मुक्त गरेपछि दुई पक्षबीच भएको सहमतिअनुसार इजरेलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ। हमासले चार दिनभित्रमा जम्मा ५० जना बन्धक रिहा गर्ने बताइए पनि त्यसमा नेपालका विपिन जोशी पर्ने नपर्नेबारे कुनै विवरण आएको छैन।

    कतारले मध्यस्थता गरेको सहमतिपछि इजरेल र हमासबीच चारदिने सङ्घर्षविराम सुरु भएको छ। रिहा गरिएका प्यालेस्टिनीहरूमाथि हत्या प्रयास गरेको, ढुङ्गा हानेको जस्ता कैयौँ आरोपहरू लगाइएको थियो। तीमध्ये कतिपय दोषी ठहर भइसकेका थिए भने केहीविरुद्धको मुद्दा सुनुवाइकै क्रममा थियो। रिहा हुनेमा २४ जना महिला र १५ किशोरकिशोरी छन्।

    वेस्ट ब्याङ्कमा रिहा गरिएका उनीहरू आफ्नो घर फर्कन सक्ने इजरेली कारागारले जनाएको छ। रिहा भएका प्यालेस्टिनीहरू इजरेलले पक्राउ गरेका ३०० जना महिला र नाबालकहरूमध्येबाट इजरेल आफैँले छानेका मानिसहरू हुन्। हमासले रिहा गरेका मानिसहरूमध्ये १० जना थाई नागरिक र एक फिलिपिनो छन्। उनीहरू हमास र इजिप्टको सरकारबीचको छुट्टै सम्झौता अनुसार रिहा भएका हुन्। हमासले रिहा गरेका मानिसहरूमध्ये १३ जना इजरेली छन्।


    रिहा हुने इजरेलीमा दुई वर्षदेखि ८५ वर्षसम्मका मानिस छन्। हमासले ती ८५ वर्षकी महिलालाई उनको गाउँबाटै अपहरण गरेको थियो। त्यस्तै ७८ वर्षकी क्यान्सरपीडित, ७९ वर्ष,७७ वर्ष र ७२ वर्षका वृद्धाहरू छन्। हमासले रिहा गरेका मानिसहरूमा दुई, चार र छ वर्षका बच्चाहरू र उनीहरूका आमा पनि छन्। इजरेल र हमासबीचको अस्थायी युद्धविरामअन्तर्गत चार दिनभित्रमा ५० जना बन्धक रिहा हुने जनाइएको छ।

    हमासका अनुसार त्यसको बदलामा इजरेली पक्षले उसको जेलबाट कुल १५० जना महिला र किशोर किशोरीहरू रिहा गर्ने छ। इजरेलले गजामा मानवीय सहायता, औषधि र इन्धन बोकेका सयौँ लरीहरूको प्रवेशलाई समेत अनुमति दिने सहमति जनाएको हमासले बताएको छ।
    बीबीसी

  • गुल्मी पुगेर गगनले पूर्वराजालाई भने : चुनाव लड्न आउनुस

    गुल्मी पुगेर गगनले पूर्वराजालाई भने : चुनाव लड्न आउनुस

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् । शनिबार कांग्रेसको गुल्मी जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पूर्वराजाले जुवाको खालमा च्याँखे थापिरहेको टिप्पणी गरे । ‘पूर्वराजाले पनि जुवाको च्याखे खालमा दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ’ उनले भने, ‘जाने पार्टी खोल्ने, चुनाव लड्ने, हाम्रो संविधानले दिन्छ, (बहुमत) ल्याउने संविधान बदल्ने फेर्ने (राजतन्त्र) फर्काउने, नेपाली कांग्रेस यो कुराका लागि तयार छ ।’

    पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै थापाले ज्ञानेन्द्र शाहलाई आफैं चुनाव लड्न आग्रह गरेका हुन् । नेपालमा राजाहरुकै बदनियतकै कारण राजसंस्था गएको भन्दै उनले कांग्रेस कार्यकर्ता यसमा प्रष्ट हुनुपर्ने बताए ।

    कतिपयले बीपीले राजतन्त्र मानेका थिए, कांग्रेसले बीपीको बाटो छाड्यो भन्दा कांग्रेस कार्यकर्ता नाजवाफ हुन आवश्यक नभएको थापाले बताए । गणतन्त्रमा गणतन्त्रमाथि नै प्रश्न उठाउन, गणतन्त्र चाहिँदैन भन्न र गणतन्त्र फाल्छु भन्न पाइने भन्दै उनले सरकार आत्तिन जरुरी नभएको बताए ।

  • उदयपुरमा स्कुल बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    उदयपुरमा स्कुल बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

    काठमाडौं । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ ।

    साथै, ७ वर्षे सन्ध्या चौधरी र ६ वर्षे विकास चौधरीको मृत्यु भएको छ । घाइते विद्यार्थीको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याइ उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ । रासस

  • टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने अर्थमन्त्रीको दावि

    टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने अर्थमन्त्रीको दावि

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग बनेरै छाड्ने बताएका छन् । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री डा. महतले भने, ‘अहिले म अर्थमन्त्री हुने अवसर पाएको छु । नुवाकोटको विकासले थप मौका पाएका छ । बालाजु–ककनी–त्रिशुलीबाट धेरै वर्षदेखि बिग्रिएको थियो, अहिले निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ । अब त्यो बाटो पक्की बन्छ । उता कुमारी जाने बाटोमा पनि बजेट विनियोजन भएको छ ।’

    काठमाडौं–छहरे–टोखा बाटो अहिले राम्रो भइसकेको जानकारी दिँदै उनले भने, ‘सुरुङमार्ग निर्माणका लागि हामीले बजेट छुटाएका छौं, यसका लागि अर्बौ अर्ब रुपैयाँ चाहिन्छ । चिनियाँ सरकारलाई समेत सहभागी गराएर यो बाटो सम्पन्न गर्ने प्रयासमा हामी लागिरहेका छौं । ढिलोचाँडो यो सुरुङ मार्ग बन्छ भन्ने मलाई विश्वास छ ।’

    यो सुरुङ मार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुनेछ । नुवाकोटमै बसेर काठमाडौं जागीर खान सकिन्छ । गोल्फुभञ्ज्याङसम्म पक्की बाटो निर्माणका लागि बजेट विनियोजन भएको समेत उनको भनाई छ । उनले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको समेत दावि गरे ।

  • हङकङ फिल्म फेस्टिवलका लागि नेपाली फिल्म ‘बोजु’ छनोट

    हङकङ फिल्म फेस्टिवलका लागि नेपाली फिल्म ‘बोजु’ छनोट

    काठमाडौं । हङकङका नेपाली युवाले बनाएको फिल्म बोजू हङकङकै फिल्म फेस्टिभल अल अबाउट अस फिल्म फेस्टिभल २०२३ मा छनौट भएको छ । फिरेन्स राईको निर्देशनमा बनेको यो फिल्ममा अंग्रेजी र नेपाली भाषाको प्रयोग गरिएको छ । फिल्ममा नाती र हजुरआमा (बोजू)को सम्बन्धलाई प्रस्तुत गरिएको छ । यो फिल्म निर्माणमा कलाकार विपिन कर्माले मेन्टरिङ गरेका हुन् ।

    निर्देशनमा आफूलाई तयार गर्दै आइरहेका विपिन नेटफ्लिक्समा प्रदर्शनमा आएको ह्यान्ड रोल्ड सिगरेटका कलाकारसमेत हुन् । हङकङका चर्चित कलाकार गोर्डेन ल्यामसँगै प्रमुख भूमिकामा अभिनय गरेपछि हङकङ निवासी नेपालीबिच विपिन चर्चामा आएका हुन् । विपिन संलग्न यही फिल्म अल अबाउट अस फिल्म फेस्टिभल २०२३को ओपनिङ फिल्म पनि हो ।

  • हमास र इजरायलले एक अर्काका कैदी बन्दी छाड्दै

    हमास र इजरायलले एक अर्काका कैदी बन्दी छाड्दै

    काठमाडौं । हमास लडाकु समूहले १३ जना बन्धकलाई रिहा गरेसँगै इजरायली जेलबाट ३९ जना प्यालेस्टिनी रिहा भएका छन् । इजरायली जेलमा राखिएका २४ जना महिला र १५ किशोरीलाई गएराति रिहा गरिएको हो । उनीहरुमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका विभिन्न आरोप लागेको थियो । प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन पहिलो चरणमा हिजो २४ जना बन्धकलाई रिहा गरेको छ । गाजाबाट रिहा हुनेमा १३ जना इजरायली र अरु थाइ नागरिक रहेका छन् ।

    अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका तथा थाइल्यान्डका कामदारहरू रिहा भएको जनाएको छ । उनीहरु रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका बीबीसीले जनाएको छ । कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार लडाइँ पनि चार दिनका लागि रोकिएको छ ।

    इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा ५० बन्धक र एक सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो । अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ४० जनालाई बन्धक बनाइएको थियो । त्यसलगत्तै इजरायलले गरेको आक्रमणमा १४ हजार जनाभन्दा धेरै मानिस मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • बर्दियामा आगलागी, कम्तिमा चार जनाको मृत्यु

    बर्दियामा आगलागी, कम्तिमा चार जनाको मृत्यु

    काठमाडौं । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।

    आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए । गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।

    स्थानियवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको हो । प्रहरीले भने घटनाको अनुन्धान गरिरहेको बताएको छ । आगलागी हुँदा घरको एउटा कोठामा पूरै क्षति भएको प्रहरीले जनाएको छ ।

  • साथिको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    साथिको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    काठमाडौं । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका १३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु मृत्यु भएको हो ।

    क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्युबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताए ।

    पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार १२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए । मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

    छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

  • मूर्खहरुले मात्र राजतन्त्र मान्छन् : ओली

    मूर्खहरुले मात्र राजतन्त्र मान्छन् : ओली

    काठमाडौं । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे ।

    पार्टी मुख्यालय च्यासलमा शुक्रबार राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे । एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरुले मात्रै गर्ने ओलीको भनाइ थियो ।

    ‘कि त चेतना नै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा, जन्मिदै राष्ट्रप्रमुख हुन नन्मिन्छ । लाटो जन्मिन्छ कि गजडी जन्मिन्छ कि । ड्रगिष्ट भएर जन्मिन्छ कि । कस्तो भएर जन्मिन्छ रु लफंगा भएर जन्मिन्छ कि ? थाहा छैन, उनले भने, जन्मिदै राजा हुने र ? त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी ? नागरिक सर्वोच्चता स्वीकार नगर्ने । देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने । एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने । त्यो चेतना, चेतना हो र । त्यो त मूर्खता हो नि ?

    उनले बिहीबार दुर्गा प्रसाईंको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रदर्शनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताए । अध्यक्ष ओलीले बल्खुमा बिहीबार भएको प्रदर्शनमा ५–७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताए ।

    कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा नभएकोहरुको प्रदर्शनबाट पनि थर्कमान भएको उनको टिप्पणी थियो । अध्यक्ष ओलीले जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न पनि युवा संघ, नेपाललाई सचेत गराए । ओलीले युवा संघको प्रदर्शनलाई भने देशलाई संकटबाट जोगाउनका लागि भएको दाबी गरे ।

  • ज्ञानेन्द्र शाहले शनिबार झापामा शक्ति प्रदर्शन गर्दै

    ज्ञानेन्द्र शाहले शनिबार झापामा शक्ति प्रदर्शन गर्दै

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

    काठमाडौँमा दुर्गा प्रसाईंले राजाको पक्षमा शक्ति प्रदर्शन गरिरहेका छन् । प्रसाईंको प्रदर्शन चलिरहेका बेला झापामा औपचारिक कार्यक्रममा शाह सहभागि हुन लागेका हुन् । पूर्व राजा शाहलाई नागरिकतहबाट स्वागत गर्ने तयारी भइरहेको राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले बताए । काठमाडौँबाट आज आएका शाह होटल मेची क्राउनमा बस्नेछन् । शनिबार होटलबाट कार्यक्रम स्थलसम्म राजावादी पक्षले मोटरसाइकल र्‍यालीसहित लैजाने तयारी रहेको थापाले बताए ।

    होटलमा पनि उनले आफ्ना समर्थकसँग भेटघाट गर्नेछन् । ‘पार्टीबाट होइन नागरिकको तहबाट स्वागत गर्ने तयारी छ,’ उनले भने, ‘होटलदेखि कार्यक्रम स्थलसम्म मोटरसाइकल र्‍यालीसहित उहाँलाई ल्याउने तयारी छ ।’ उनका अनुसार र्‍याली र पूर्व राजाको स्वागतमा राष्ट्रीय झण्डा प्रदर्शन हुनेछ । शनिबार दिउँसो १ बजे कलेजको उद्घाटन पछि शाह दमकस्थीत आफ्नो निवासमा आउनेछन् । आइतबार उनी काठमाडौँ फर्कने जानकारी आएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

    कलेज र शालिकको उद्घाटन गर्न आउने पूर्व राजा शाहले सम्बोधन गर्ने कुनै कार्यक्रम नरहेको उनले बताए । ‘उहाँले सम्बोधन गर्ने कार्यक्रम नरहेको व्यवस्थापनले जानकारी गराएको छ,’ उनले भने,‘होटलबाट कार्यक्रमस्थलसम्म मोटरसाइकल ¥याली निकाल्ने जानकारी आएको छ । पूर्वराजा आउने र उनी पक्षधरले शक्ति प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाएको छ ।

  • भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर

    भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर

    जाजरकोट । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।

    गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको थियो भने ३४६ घाइते भएका थिए ।

    भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिए । उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विद्युत् सेवा नपुगेका ठाउँमा रहेका भूकम्प प्रभावितका लागि ‘सोलार सिस्टम’ वितरणको तयारी भएकोसमेत बताए।

    ‘केन्द्रका कर्मचारी तथ्याङ्क सङ्कलनमा रहेकाले तथ्याङ्क आउनेबित्तिकै सोलार सिस्टम उपलब्ध गराइने छ,’ मन्त्री बस्नेतले भने । भूकम्पबाट नलगाड, भेरी, बारेकोटमा बढी क्षति भएको छ ।

  • श्रीमान जिवित हुँदै एकल महिलाको भत्ता लिने २ जना विरुद्ध मुद्दा दायर

    श्रीमान जिवित हुँदै एकल महिलाको भत्ता लिने २ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान जिवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    श्रीमानले नै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि रामेछापको मन्थली नगरपालिका वडा नं।३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो सोही वडाकी निर्मला खत्रीविरुद्ध मुद्दा दायर गरेको हो ।

    छानबिनमा क्रममा महत्तो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले उनीहरुलाई त्यो रकम विगो मानी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

  • इजरायल र हमासबीच युद्धबिराम शुक्रबार ७ बजेबाट लागु

    इजरायल र हमासबीच युद्धबिराम शुक्रबार ७ बजेबाट लागु

    काठमाडौं । इजरायल र हमासबीच भएको चार दिने सङ्घर्षविराम सहमति शुक्रवार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु हुने कतारले जनाएको छ। दोहास्थित विदेश मन्त्रालयका एक प्रवक्ताले मानवीय सहायताको आपूर्ति चाँडोभन्दा चाँडो सुरु गरिने पनि बताएका छन्। हमास र इजरायलबीच चार दिनका लागि सङ्घर्षविराम गर्ने र बन्दी साटफेर गर्ने विषयमा भएको सहमतिका लागि कतारले मध्यस्थता गरेको थियो।

    सहमतिअनुसार इजरायली जेलबाट १५० प्यालेस्टिनी महिला र किशोरकिशोरी पनि मुक्त हुने छन् भने गाजामा मानवीय सहायता बढाइने छ। शुक्रवार हमासले १३ बन्धक छाड्ने अनि केही सङ्ख्यामा प्यालेस्टीनी बन्दी इजरायलले समेत छाड्ने प्रवक्ता मजिद अल अन्सारीले बताए।

    त्यसैगरी इजरायलको प्रधानमन्त्री कार्यालयले समेत शुक्रवार छाड्न लागिएका बन्धकहरूको प्रारम्भीक सूची प्राप्त गरेको अधिकारीहरूले उनीहरूका परिवारलाई सम्पर्क गर्न थालेको जनाएको छ। यसअघि बिहीवार देखि उक्त सङ्घर्षविराम हुने र केही बन्धकहरूको अनि केही प्यालेस्टीनी बन्दीहरूको रिहाइ हुने भनिए तापनि त्यसमा ढिलाइ भएको थियो।

    इजरायली सेना इजरेली डिफेन्स फोर्सेजका प्रवक्ता पिटर लेर्नरले हालका निम्ति आफ्ना सैन्य कारबाही जारी रहने बताएका थिए। उनले भने, ूहामी अहिलेसम्म निरन्तर लडाइँकै अवस्थामा छौँ। सरकारले लडाइँ रोक्न भन्ने बित्तिकै हामी त्यसो गर्नेछौँ। हालसम्म त्यस्तो निर्देशन आएको छैन।


    कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार बिहान सात बजे सङ्घर्षबिराम सुरु हुनेछ भने दिउसो चार बजे बन्धकहरू छाडिनेछन्। ती प्रवक्ताले चार दिने सङ्घर्षबिरामको यो पहिलो दिनको तालिका मात्र सार्वजनिक गरिएको बताए। जस अनुसार शुक्रवार १३ जना बन्धकहरू छाडिने बताए। दुई पक्षबीचको सहमती अनुसार चार दिने सङ्घर्षबिरामका बेला हमास नियन्त्रणमा रहेका ५० जना बन्धकहरू छाडिनेछन्।

    कतारको विदेश मन्त्रालयका अनुसार छाडिन लागेकाहरूमा केही जेष्ठ महिला र केही बालबालिकाहरू हुनेछन्। प्रवक्ता अन्सारीका अनुसार बन्धकहरूको स्थानान्तरण सबै पक्षका लागि सुरक्षित हुने सोचका आधारमा उनीहरू रेडक्रसलाई बुझाइनेछ। बीबीसी

  • उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

    काठमाडौं । आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भूभागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।


    शनिबार कोशी र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा जाडो बढ्ने भएकोले सतर्कता अपनाउने सचेतसमेत गराएको छ ।

  • दुर्गा प्रसाई र युवासंघको आन्दोलनमा २६ जना घाइते

    दुर्गा प्रसाई र युवासंघको आन्दोलनमा २६ जना घाइते

    काठमाडौं । काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् ।

    झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन भने छ जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो । रासस

  • चार महिनामा १२ अर्बको विद्युत निर्यात

    चार महिनामा १२ अर्बको विद्युत निर्यात

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०–८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । विद्युत् निर्यात गत आव २०७९–८० को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठदेखि भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ ।

    प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिती र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम ली–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

    भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

  • निजी जग्गामा आएको बँदेल अब अनुमति नलिई मार्न सकिने

    निजी जग्गामा आएको बँदेल अब अनुमति नलिई मार्न सकिने

    काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ । सर्त अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएरमा एक्लै वा सामूहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिन्छ ।

    बँदेल पक्रिएको अवस्थामा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्त आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालयमा बुझाउनु पर्ने छ । त्यसको सूचना वडा कार्यालयमा समेत गराउनु पर्ने सर्त राखिएको छ । पक्रने क्रममा बँदेल मरेमा वडाका एक जना प्रतिनिधिको रोहबरमा मुचुल्का गरी गाड्न वा तौलको आधारमा मूल्य तोकी सो रकम राजस्वमा चढाएर सम्बन्धित वडाभित्र उपयोग गर्न सकिने सर्त राखिएको छ ।

    यो व्यावसायिक प्रयोजनमा भने गर्न नपाइने सरकारको सर्त छ । यसको जानकारी समेत सम्बन्धित निकुञ्ज वा कार्यालय तथा वडा कार्यालयमा गराउनु पर्ने भएको छ । मारिएको बँदेलको विवरण हरेक महिना संघीय सरकारका सरोकारवाला निकायलाई गराउनु पर्ने भएको छ । निजी जमिन बाहेकको क्षेत्रमा भने बँदेललाई धमाउन, मार्न, लखेट्न पाइँदैन ।

  • ११ माघमा राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव

    ११ माघमा राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव

    काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ । बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । त्यसक्रममा आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्र्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको जानकारी दिए । आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

  • शान्तिपूर्ण सकियो युवा संघको प्रदर्शन, फर्किए कार्यकर्ता

    शान्तिपूर्ण सकियो युवा संघको प्रदर्शन, फर्किए कार्यकर्ता

    काठमाडौं । नेकपा (एमाले) निकट युवासंघको कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ।

    उपत्यकाका विभिन्न ठाउँबाट कार्यकर्ताहरू जुलुसका साथ तीनकुने आएका थिए। तीनकुनेबाट कोटेश्वर हुँदै पुन तीनकुने आएर र्‍याली कोणसभामा परिणत भएको थियो।

    कोणसभालाई एमाले नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष छितीज थेबेले सम्बोधन गरेका छन्। त्यस्तै कालाकारहरू रामप्रसाद अवस्थी र सागर राईले साङ्गीतिक प्रस्तुति दिएका थिए। प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरू पुगेका थिए । प्रदर्शन सकिएसँगै उनीहरू घर फर्किन थालेका छन् ।

    प्रदर्शनका कारण सवारी आवागमन अवरुद्ध बनेको थियो ।