Category: समाचार

  • बल्खु र तीनकुनेमा प्रहरीले चलायो जामर भेहिकल

    बल्खु र तीनकुनेमा प्रहरीले चलायो जामर भेहिकल

    काठमाडौं । काठमाडौंको बल्खुमा नेपाल प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर चलाएको हो । जामरले मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउने काम गर्छ ।

    प्रसाई नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउँ महाअभियानको प्रदर्शन स्थानमा प्रहरीले एक थान जामर भेहिकल सञ्चालन गरेको हो । त्यसैगरी प्रहरीले युवासंघको प्रदर्शन स्थानमा पनि १ थान जामर भेहिकल चलाइरहेको छ ।

  • बल्खुमा झडप, प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास

    बल्खुमा झडप, प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास

    काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । उक्त प्रदर्शनलाई सम्बोधन गर्नका लागि राप्रपाका मुख्य सचेतक ज्ञानेन्द्र शाहीको पनि उपस्थिति थियो ।

  • महेश बस्नेत र दुर्गा प्रसाईको आन्दोलन आज, सुरक्षा निगरानी कडा

    महेश बस्नेत र दुर्गा प्रसाईको आन्दोलन आज, सुरक्षा निगरानी कडा

    काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाण्डौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको हो ।

    अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाण्डौ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरुमा पनि सुरक्षा जाँच भइरहेको छ ।

    बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ । सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन् । दुवै पक्षले एक लाख जनाभन्दा धेरै प्रदर्शनकारी ल्याउने घोषणा गरे पनि प्रहरीले बढीमा १५ हजार जना प्रदर्शनकारी आउन सक्ने आकलन गरेको छ ।

    यस्तै, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ । विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्व निर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक काम बाहेक गाडी ननिकाल्न अनुरोध गरेको हो । सडकको अवस्था बझेर यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

    यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले आज हुने भनिएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

  • मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का

    मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । मध्यरातमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको हो । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

  • दुई मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

    दुई मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

    काठमाडौं । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् ।

    जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा नगरपालिका १९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल एक(आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्‍याउँदा तीनै जनालाई साढे ७ बजेतिर चिकित्सकले मृत्यु घोषणा गरेको डीएसपी पाण्डेले बताए । मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन् । उनलाई थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको छ । प्रहरीका अनुसार दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । हेलमेट नलगाइ तीव्रगतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएर क्षति भएको प्रहरीले जनाएको छ ।

  • कतारका विदेश राज्यमन्त्री नेपाल भम्रणमा आउँदै

    कतारका विदेश राज्यमन्त्री नेपाल भम्रणमा आउँदै

    काठमाडौं । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने औपचारिक भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री अल–मुराइखी नेपाल आउने भएका हुन् ।

    भ्रमणका क्रममा अल–मुराइखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यस्तै उनी परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय बैठकमा समेत सहभागी हुनेछन्

  • माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो समिति

    माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो समिति

    काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीसँग एकता तथा ध्रुवीकरणका लागि समिति गठन गरेको छ । नेसपाको बुधबार बसेको बैठकले सात सदस्यीय एकता समिति गठन गरेको हो ।

    जसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठकाअनुसार पार्टी एकता र ध्रुवीकरण संयोजन समिति संयोजकमा भट्टराई छन् भने सदस्यमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेका छन् । बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकतारध्रुवीकरण गर्दै जान संयोजन समिति बनाउनेु निर्णय भएको श्रेष्ठले जानकारी दिएका छन्।

    त्यस्तै, नेसपाको केन्द्रीय समितिले पार्टीका विभिन्न कार्यबारे निर्णय गरेको छ । नेसपाले संगठन निर्माण तथा बिस्तार अभियानको अवधि २ महिना थप गर्ने, सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ । मंसिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने निर्णय पनि नेसपाले गरेका छन् । २०८१ बैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय पनि नेसापले गरेको छ ।

  • ‘सुतिरहेका महिलालाई लखेटेर एमालेलाई बदनाम गराउने षड्यन्त्र’

    ‘सुतिरहेका महिलालाई लखेटेर एमालेलाई बदनाम गराउने षड्यन्त्र’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको अभियानमा साथ दिन आएका महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको बताएका छन् ।

    पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई अनेक प्रकारको षड्यन्त्रले बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिस भइरहेको बताए ।

    उनले भने, ‘आज बिहान एउटा भिडिओ आएपछि मैले युवा संघलाई सोधेको थिएँ । युवा संघले पनि भिडिओ हेरेर थाहा पायौं भन्छ । हाम्रो कुनै संलग्नता छैन भन्छ ।

    यो आफैं बिरामी आफैं झाँक्री के भन्छ नि ! त्यस्तै कुरा हुनसक्छ । तर, युवा संघको यस्तो खालको क्रियाकलाप होइन हुन सक्दैन भनेर मलाई बताएको थियो । हामी यस सम्बन्धमा स्पष्ट पर्छौं, हाम्रो संलग्नता छैन अध्ययन गर्दैछौं भनिसक्या छ ।

    युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंसिर ७ गते बिहीबार काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।

    युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै ‘व्यवस्था बदल्ने’ प्रदर्शन भनेका छन् । दुवै पक्षले आफ्नो प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएका छन् र जिल्ला–जिल्लाबाट समर्थकहरुलाई काठमाडौंमा ओसार्ने तयारी गरेका छन् ।

    उनीहरुको प्रदर्शनलाई लक्षित गरी काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका छन् ।

  • नयाँ कार्यालयमा सरे प्रचण्ड, भने-‘त्यहाँ गुम्म थियो, यहाँ अब अलि बढी फुर्छ होला’

    नयाँ कार्यालयमा सरे प्रचण्ड, भने-‘त्यहाँ गुम्म थियो, यहाँ अब अलि बढी फुर्छ होला’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारको नयाँ कार्यालयमा सरेका छन् ।

    बुधबार प्रधानमन्त्री प्रचण्ड सिंहदरबारको पश्चिमतर्फको २०७२ मा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर बनाइएको कार्यालयमा सरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर रेट्रो फिटिङ गरिएको जानकारी दिए ।

    उनले भने- मलाई कता कता अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आएपछि सबैतिर देखिने, स्पेसपनि ठूलो सबै कारणले अलि बढी फुर्छ होला दिमाग चाहिँ भन्ने मैले महशुस गरेको छु ।

  • स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाउन बालेनको आग्रह

    स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाउन बालेनको आग्रह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

    सेन्सर बोर्डले चलचित्र जाँच समितिको कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको सन्दर्भमा मेयर साहले पत्र लेखेका हुन् । पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र,कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच)मा रोक लगाउन आग्रह गरिएको छ ।

  • ट्राफिक प्रहरीले भन्यो– भोलि अत्यावश्यक काम भए मात्र घरबाट निस्कनू

    ट्राफिक प्रहरीले भन्यो– भोलि अत्यावश्यक काम भए मात्र घरबाट निस्कनू

    ‘भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनू’ ट्राफिक प्रहरी
    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै भोलि (मंसिर ७ गते) सवारी साधन लिएर निस्किन आग्रह गरेको छ।

    नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्। प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्‍थापनमा असर पर्ने भन्दै कार्यालय सूचना जारी गरेको हो।

    ‘काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

  • बन्धक छुटाउन इजरायल र हमासबीच सम्झौता

    बन्धक छुटाउन इजरायल र हमासबीच सम्झौता

    काठमाडौं । इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायल बन्धक छुट्ने समयसम्मका लागि युद्ध रोक्न तयार भएको हो । इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्नेछन् । हमासले थप बन्धक छाड्दै गएमा थप केही दिन युद्धविराम पनि लम्बिने इजरायल सरकारले जनाएको छ । इजरायली सरकारको वक्तव्यमा भनिएको छ, थप १० जना बन्धक छाडिएमा थप एक दिन युद्ध रोकिनेछ ।

    इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो । सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए । त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो । बन्धक कहिलेदेखि छोडिन्छ भन्नेबारेमा भने स्पष्ट जानकारी आएको छैन । सीएनएनका अनुसार पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ ।

    इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सबै जना बन्धक सुरक्षित रूपमा घर फर्किएपछि पुनस् हमासविरुद्धको कारबाही सुरु हुने बताएका छन् । बन्धक बनाइएकाहरूको घरफिर्ती आफूहरूको ुठूलो लक्ष्यु भए पनि पूर्ण रूपमा जित हात नपारेसम्म हमासविरुद्धको कारबाही जारी रहने उनको भनाइ छ ।
    हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ ।

    जसमा नेपालका विद्यार्थी विपिन जोशीसमेत रहेका छन् । इजरायली सुरक्षा फौजले जोशी हमासको कब्जामा गाजामा रहेको दाबी गरेको छ । जोशी र अर्का एक थाई नागरिकलाई हमासले उपचारका लागि अस्पतालमा लैजाँदै गरेको भिडियो उसले सार्वजनिक समेत गरेको छ । तर उक्त भिडियोको स्वतन्त्र पुष्टि भने भएको छैन ।

    गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।

  • राष्ट्रपति र प्रधानमन्त्री निवास आसपास समेत निषेधित क्षेत्र घोषणा

    राष्ट्रपति र प्रधानमन्त्री निवास आसपास समेत निषेधित क्षेत्र घोषणा

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शितल निवास, प्रधानमन्त्री निवास लगायत आसपास पनि निषेधित क्षेत्र घोषणा गरेको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरबार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेका हुन्। सोमबार मात्रै प्रमुख जिल्ला अधिकारी बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकेका थिए।

    मंसिर ७ गते नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर केन्द्रित प्रदर्शन गर्न लागेका थिए। तर शान्ति सुरक्षा कायम गर्न र दंगा भड्किन नदिन भन्दै माइतीघरमा निषेधित क्षेत्र घोषणा गरिएको हो। त्यस्तै दुवै पक्षलाई छुट्टाछुट्टै स्थानमा कार्यक्रम गर्न ठाउँ तोकिएको छ। युवा संघले तीनकुनेमा र दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्ने भएका छन्।

    तर जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा मंगलबार प्रमुख जिल्ला अधिकारीले थप क्षेत्रमा निषेधित क्षेत्र तोकेका हुन्। शितल निवासको पूर्व पवित्र वर्कशपसम्म, पश्चिममा सामाखुसी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ।

    प्रधानमन्त्री निवासको पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिमसम्म, राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटरसम्म र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म पनि निषेधित क्षेत्र तोकिएको छ।

    संसद भवन नयाँ बानेश्वरको चारैतर्फको सडकसम्म र यातायात व्यवस्था विभागदेखि पूर्वतर्फ मीनभवन चोकसम्म पनि प्रदर्शन गर्न निषेध गरिएको छ। यता सिंहदरबार क्षेत्र आसपास पनि प्रदर्शन गर्न प्रशासनले रोकेको छ। भद्रकाली मन्दिर पूर्व तीनकुने आइल्यान्डको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मोडसम्म, त्यहाँदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडबाट पूर्वी गेठ हुँदै हनुमानस्थान मन्दिरसम्म पनि प्रदर्शन गर्न रोक लगाइएको छ।

    पश्चिम गेटदेखि सर्वोच्च अदालत अगाडि हुँदै माइतीघर मण्डल, माइतीघरदेखि हनुमानस्थान मन्दिरसम्म र बबरमहल जिल्ला अदालतको मोडको प्रवेशदेखि जिल्ला प्रशासन कार्यालयको उत्तरतर्फको मोडसम्म निषेध गरिएको छ। हरित गृह उपराष्ट्रपति कार्यालय नजिक रहेको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटल सिमानासम्म निषेध छ। यसअघि जिल्ला प्रशासन कार्यालय, ललितपुरले पनि पुल्चोकस्थित मन्त्रिक्वार्टर आसपास निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

  • अनलाइनबाट सट्टेबाजी खेलाउने ६ जना प्रहरीको नियन्त्रणमा

    अनलाइनबाट सट्टेबाजी खेलाउने ६ जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं । अनलाइनमार्फत सट्टेबाजी खेल खेलाएको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्ला धनकुटा नगरपालिका–७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अङ्कित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर चौदण्डीगढी नगरपालिका ३ घर भई ललितपुर थेचो बस्ने २० वर्षीया निका राई, सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका ७ घर भई ललितपुर भैंसेपाटी बस्ने २९ वर्षीय विजय थापा, बाग्लुङ बरेङ गाउँपालिका ४ घर भई ललितपुर खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २७ वर्षीय डेकर राई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    उनीहरूले अनलाइन ग्यामबलीङ तथा अनलाइन क्यासिनो खेलमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरूले विभिन्न सामाजिक सञ्जाल लगायत विभिन्न अनलाइन ग्यामबलिङ प्लेटफर्म प्रयोग गरी अनलाईन मार्फत् रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको साथबाट ल्याप्टप छ थान, राउटर दुई थान, कम्प्युटर तीन थान, मोनिटर दुई थान, सीपीयू एक थान र मोबाइल १४ थान प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

  • विश्वकप छनोट : महत्वपूर्ण खेलमै यमनसँग हार्यो नेपाल

    विश्वकप छनोट : महत्वपूर्ण खेलमै यमनसँग हार्यो नेपाल

    काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २–० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध कमजोर प्रदर्शन गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल(दाही र मोहम्मद अब्दुल्लाह अल(दाहीले दोस्रो हाफमा गोल गरे ।

    ओमारले ७२ औं मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । यस्तै मोहम्मद अब्दुल्लाह अल(दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे । दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा यमन बहराइनसँग २–० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको थियो । दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ । यस समूहमा युएई र बहराइन बलियो टोली भएकाले नेपालसामु घरेलु मैदानमा यमनलाई हराएर अंक जोड्ने अवसर थियो । यो अवसर नेपालले चुकाएको छ ।

  • ललितपुरमा ६ महिना प्रदर्शन गर्न रोक

    ललितपुरमा ६ महिना प्रदर्शन गर्न रोक

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आज अर्थात मंसिर ५ गतेदेखि लागु हुने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेका हुन् ।


    निषेधाज्ञा जारी भएको ठाउँमा ५ जना भन्दा बढी व्यक्ति भेला भइ नारा, जुलुश, प्रदर्शन, धर्ना, घेराउ, अनशन जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने पण्डितले निकालेको सूचनामा उल्लेख छ । पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र मन्त्री निवासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरेको उनले बताएका छन् ।

  • फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताको रकम चोरी हुन सक्ने सरकारको चेतावनी

    फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताको रकम चोरी हुन सक्ने सरकारको चेतावनी

    काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेसँगै सरकारले यसरी सामाजिक सञ्जाल नचलाउन अनुरोध गरेको छ । फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताबाट पैसा चोरी हुनेदेखि इमेल अकाउन्ट ह्याक हुने जोखिम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    ‘फ्रि भीपीएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पीड घट्ने, बैंक खाताबाट पैसा चारी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । टिकटक प्रयोगमा तत्काल रोक लगाउने निर्णयको जनस्तरमा व्यापक समर्थन भइरहेको भन्दै मन्त्रालयले नागरिकको सुरक्षा र गोपनीयताको संरक्षणका लागि यस्तो निर्णय लिनु परेको समेत स्पष्ट पारेको छ ।

    राष्ट्रिय सार्वभौमिकताको रक्षा र साइबर अपराधका घटना न्यूनीकरणमा समेत सरकारले यस्तो कदम चालेको मन्त्रालयको भनाइ छ । सामाजिक सञ्जालको रुयमा प्रयोग भइरहेको टिकटकको माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै भन्दै सरकारले नेपालमा टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

  • भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध, आर्थिक दुरूपयोगका घटना बढ्यो

    भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध, आर्थिक दुरूपयोगका घटना बढ्यो

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको हो।

    ‘भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ सूचनामा भनिएको छ।

    गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने ब्युरोले बताएको छ।

  • बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

    बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

    काठमाडौं । सन् २०२३ को ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्।

    रुक्सना नेपालको आदिवासी नेवा राष्ट्रकी सदस्य, ट्रान्सजेन्डर मानवअधिकारकर्मी हुन् भने उनले लिंग र यौनिकताको बारेमा सामाजिक सञ्जालमा क्वियर अधिकारका मुद्दाहरूमा आवाज उठाइरहेकी छन् ।

    ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्साना नेपालमा एलजीबीटीक्यू+ समुदायकाे कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ । उनी अहिले पूर्वाञ्चल विश्वविद्यालयमा रहेर कानुन विषय पढ्दै छिन् ।

    यस वर्ष बीबीसीको सूचीमा पूर्व अमेरिकी प्रथम महिलासमेत रहेकी लेखक तथा वकिल मिसेल ओबामा, मानव अधिकारको वकालत गर्दै आएकी अमाल क्लूनी, ब्लोन डी’ओर विजेता फुटबलर, एइताना बोनमाटी, एआई विज्ञ टिमनिट गेब्रु, हलिउड स्टार अमेरिका फेरेरा र बलिउड अभिनेत्री दिया मिर्जालगायत रहेका छन् ।

    यसअघि १०० प्रभावशाली महिलाको सूचीमा नेपालबाट सपना रोका मगर, बोनिता शर्मा, उमादेवी वादीलगायत परेका थिए। सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सयभन्दा बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।

    राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।

  • मंसिर ७ भित्र भूकम्पको क्षतिको विवरण संकलन गर्न पालिकालाई निर्देशन

    मंसिर ७ भित्र भूकम्पको क्षतिको विवरण संकलन गर्न पालिकालाई निर्देशन

    जाजरकोट । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मंसिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ ।

    बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह सहभागी थिए ।

    बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्न बैठकले निर्देश गरेको हो ।

    अहिले पठाएको विवरण स्पष्ट नभएको जनाउँदै बैठकले पूर्ण विवरण पठाउन स्थानीय तहलाई आग्रह गरिएको हो । यसैगरी सरकारी कार्यालयको क्षतिको विषयमा सरकारी कार्यालयलाई नै विवरण पठाउन आग्रह गरिएको छ ।

    अस्थायी टहरा निर्माण गरी विद्यालय सञ्चालन गरिएको छ । बस्न नमिल्ने घरका लागि मात्र अस्थायी आवास निर्माण गर्न रकम दिइने छ । त्यस्तै मंसिरभित्र खाद्यान्न जम्मा गर्न र प्रभावित क्षेत्रमा तुरुन्तै मेडिकल टिम परिचालन गर्नसमेत आग्रह गरिएको छ ।

  • टिकटकमा रोक लगाउनुको कारणमा यस्ता छन् सरकारका तर्क

    टिकटकमा रोक लगाउनुको कारणमा यस्ता छन् सरकारका तर्क

    काठमाडौं । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषदबाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ ।

    अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको सरकारले स्पष्ट गरेको छ ।

    सामाजिक सद्भाव र नागरिकको सुरक्षाका लागि टिकटकमा रोक लगाइएको सरकारको भनाइ छ । टिकटकले नागरिकको डाटा सुरक्षा गर्न नसकेको, नागरिकको गोपनीयताको हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय भएकाले पनि प्रयोगमै प्रतिबन्ध लगाउनुपरेको सरकारको भनाइ छ ।

    राष्ट्रिय सुरक्षा प्रतिकूल केही प्रतिनिधिमूलक घटना

    – केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनु परेको ।

    – नेपालगञ्जमामा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने सामग्रीसहितका भिडियो पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिन गई निषेधाज्ञासम्मको घटना हुन पुगेको ।

    – पछिल्लो समय टिकटक भिडियोका नाममा अश्लील भिडियो सार्वजनिक तथा अनैतिक क्रियाकलापका लागि मोलमोलाई हुने गरेको । त्यसका साथै लाइभमा अश्लील गतिविधि, जुवातास खेलाउने, गैरकानुनी विज्ञापन प्रसारणलगायतका गतिविधि बढिरहेको ।

    – टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिविधि बढ्दै गएको ।

    – विभिन्न स्थान र विभिन्न मितिमा टिकटक भिडियो बनाउने क्रममा लडेर मृत्यु भएको । साथै केहीको पासो लगाएर टिकटक भिडियो बनाउने क्रममा झुण्डिएर मृत्युसमेत भएको ।

    – भाइरल हुने नाममा परीक्षार्थीले परीक्षा कोठाभित्रको भिडियो समेत टिकटकबाट सार्वजनिक गरेको ।

    यी र यस्ता घटनाबाट अनैतिक र असामाजिक क्रियालापबाट वृद्धि हुँदै गएको ।

    टिकटिकले सिर्जना गरेका अन्य चुनौती

    – नागरिकको भौतिक सुरक्षाका लागि पनि टिकटक चुनौती बन्यो । साइबर अपराधका उजुरीमध्ये अधिकांश टिकटकसँग सम्बन्धित छन् ।

    – टिकटकले प्रयोगकर्ताको रुचिअनुसारका अन्तहीन भिडियोहरू मोबाइलका स्क्रिनमा आउने गरी एलगोरिदम सेट गरेको हुनाले घण्टौंसम्म यसलाई चलाउने लतमा धेरै मानिस फस्दै गएको र जसबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्न गई अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता समस्या देखिन थालेकाले मानव स्वास्थ्य बिग्रन नदिन टिकटकमा रोक लगाइएको हो ।

    – बालबालिका तथा युवकयुवतीलाई गलत दिशातिर डोराउँदै विषाक्त मनोविज्ञानको सिर्जना गरिरहेकाले भोलिका कर्णधार बालबालिकाको भविष्यलाई ध्यान दिएर टिकटक प्रयोगमा रोक लगाइएको हो ।

    – धार्मिक असहिष्णुता, जातीय क्षेत्र एकता, भौगोलिक अखण्डता तथा राष्ट्रियता र राष्ट्रिय सुरक्षामा चुनौती सिर्जना गरेको ।

    – टिकटक प्रयोगकर्तामध्ये करिब ४५ प्रतिशत १२ देखि २४ वर्ष उमेर समूहका अध्ययनबाट देखिन आएकाले उक्त उमेर समूहका मानिस गलत प्रभावमा सजिलै पर्न सक्ने तथा भ्रामक छविमा रमाउने र महत्वाकांक्षी हुनेलगायत भाइरल हुने आकांक्षाले गलत दिशातिर मोडिने खतरा रहेको ।

    – आपराधिक मानसिकताका व्यक्तिले टिकटक प्रयोगकर्ताको मनोविज्ञानको गलत फाइदा उठाई आपराधिक गतिविधिमा संलग्ने गराउने गरेको ।

    – हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा दिएको । जसले हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लगेको ।

    – टिकटक प्रयोगको लत बसेर महत्वपूर्ण समय यसको प्रयोगमा बिताउँदा उत्पादकत्व वृद्धिमा समेत असर पुग्ने गरेको ।

    – टिकटकको प्रयोगबाट आत्महत्या, गाली बेइज्जत, दुर्घटना, पारिवारिक बिखण्डनजस्ता समाजलाई नकारात्मक असर पुग्ने घटना बढिरहेको ।

    –सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी भए पनि यससम्बन्धी ऐन निर्माणको चरणमा रहेकाले कानुन नआउँदासम्म मन्त्रिपरिषद्को निर्णयले पनि कानुन सरहकै मान्यता पाउने भएकाले मन्त्रिरिषदबाट निर्णय गरिएको ।

    – नेपालको संविधानको धारा २८ गते गोपनीयताको हक सुनिश्चित गरेको, कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयताका कानुनबमोजिमबाहेक अनतिक्रम्य हुने उल्लेख गरेको छ ।

    –व्यक्तिको गोपनीयतासम्बन्धी ऐन, २०७५ ले विद्युतीय प्रणालीहरुबाट भएको कुराकानीलाई पनि गोपनीयताको अधिकारभित्र राखेको । प्रत्येक व्यक्तिलाई विद्युतीय माध्यममा रहेको निजको कुनै पनि वैयक्तिक सूचना, लिखत, पत्राचार, तथ्यांक वा चरित्रसम्बन्धी कुराको गोपनीयता राख्न पाउने अधिकार हुने । कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिबिचमा विद्युतीय माध्यमबाट भएको कुनै संवाद वा कुराकानी सम्बन्धित व्यक्तिहरुले मञ्जुरी दिएको कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनिअंकन वा रेकर्ड गर्न वा गराउने नहुने स्पष्ट व्यवस्था रहेको ।

    नेपालमा मात्र प्रतिबन्ध लगाइएको होइन सदुपयोग ज्यादा र दुरुपयोग अपवाद हुने देशहरुमा सामाजिक सञ्जालको सुसञ्चालन हुँदा नागरिकहरु बलिया हुने र सरकार जवाफदेही हुने विश्वास गरिन्छ । कतिपय त्यस्ता देशमा सामाजिक सञ्जाल प्लेटफर्महरु पनि स्वदेशी रहेछन् वा स्वदेशी एजेन्टको नियन्त्रणमा रहँदा रहेछन् । यी दुवै विषय हाम्रो देशको सन्दर्भमा भने मेल खाएको देखिँदैन ।

    विभिन्न देशमा आफ्नो देशको अनुकूलतामा टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने गरिएको छ । स्वतन्त्रताको अगुवा देश अमेरिकाका ५० मध्ये ४० राज्यमा कुनै न कुनै किसिमको प्रतिबन्ध लागेको, छिमेकी देश भारतमा समेत प्रतिबन्धित छ । अझ चाखलाग्दो कुरा त के भने यसको शुरुवात भएको चीनमा समेत नियन्त्रित प्रयोग मात्र छ ।

    अश्लीलता, मानव बेचबिखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाको मानसिक स्वास्थ्यलगायतका कारण देखाउँदै हालसम्म नेपालसहित २८ देशमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउने देशहरु :

    कीर्गिस्तान : बालबालिकाहरूमा कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै प्रतिबन्ध लगाएको हो।

    बेलायत : सुरक्षाका कारण देखाउँदै प्रतिबन्ध लगाएको हो।

    अमेरिका : सुरक्षाका कारण देखाउँदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागी प्रयोगमा प्रतिबन्ध।

    न्यूजिल्यान्ड : साइबर सुरक्षाको जोखिम देखाउँदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागि प्रयोगमा प्रतिबन्ध।

    क्यानडा : गोपनीयता र सुरक्षा जोखिम देखाउँदै सरकारी अधिकारीहरुका लागि प्रयोगमा प्रतिबन्ध।

    ताइवान : राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।

    बेल्जियम : गोपनीयता, साइबर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै प्रतिबन्ध ।

    डेनमार्क : साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध।

    पाकिस्तान : जातीय तथा धार्मिक द्वन्द्व फैलाउने सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।

    अफगानिस्तान : युवामा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द्व फैलने जोखिम र ईस्लामिक कानून विपरीत देखाउँदै प्रतिबन्ध।

    भारत : गोपनीयता, सुरक्षा जोखिमलगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध।

    सोमालिया : गलत अफवाह फैलाउने जोखिम देखाउँदै सीमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिबन्ध।

    अर्मेनिया : विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

    अजरवैजान : नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।

    बंगलादेश: पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै प्रतिबन्ध।

    इन्डोनेसिया : धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै प्रतिबन्ध।

    इरान : धार्मिक कारण देखाउँदै प्रतिबन्ध।

    जोर्डन : प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउँदै अस्थायीरूपमा प्रतिबन्ध।

    अष्ट्रिया : अष्ट्रियाको इन्टिलेजेन्स सर्विसको प्रतिवेदनमा सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

    इस्टोनिया : राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

    फ्रान्स : डेटा सुरक्षाको जोखिम देखाउँदै प्रतिबन्ध।

    आयरल्यान्ड : साइबर सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

    लाटभिया : सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध।

    माल्टा : साइबर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीमा प्रयोग पूर्ण प्रतिबन्ध।

    नेदरल्यान्ड : डाटा प्रोटेक्सन जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध।

    नर्वे :राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनीतिक सल्लाहकारहरूले प्रयोगमा प्रतिबन्ध।

    अष्ट्रेलिया :सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाइस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध।

    नेपाल : सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले प्रतिबन्ध।

  • सिमेन्ट निर्यातमा उत्साह, तीन महिनामा पौने अर्बको व्यापार

    सिमेन्ट निर्यातमा उत्साह, तीन महिनामा पौने अर्बको व्यापार

    काठमाडौं । चालु आर्थिक वर्षका तीन महिनामा मुलुकबाट ८५ करोड ३० लाख ७१ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ६९६ टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ । साउन, भदौ र असोजमा ४६ करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार २४८ टन क्लिंकर निर्यात भएको हो । मुलुकबाट ३८ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको ६ लाख ९ हजार ४४८ टन तयारी सिमेन्ट निर्यात भएको छ ।

    गत आर्थिक वर्ष सोही अवधिमा २ करोड १५ लाख ७९ हजार रुपैयाँ बराबरको ६० हजार ८४८ टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । गत आर्थिक वर्षको साउन, भदौ र असोजमा ८० लाख ३३ हजार रुपैयाँको १ हजार २५ टन क्लिंकर र १ करोड ३५ लाख ४६ हजार रुपैयाँको ५९ हजार ८२४ टन तयारी सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा मात्रै निर्यात भएको विभागले जनाएको छ ।

    चालु आर्थिक वर्षका लागि सरकारले ‘स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माण गर्दा निश्चित मापदण्डका आधारमा ढलान गर्ने प्रविधि अवलम्बन गरिने’ व्यवस्था अघि सारेको छ । ‘यसबाट टिकाउ र गुणस्तरीय सडक निर्माण हुने तथा बिटुमिन ९अलकत्रा० को आयात घट्ने विश्वास लिएको छु,’ अर्थमन्त्री प्रकाशशरण महतले बजेट वक्तव्यमा भनेका छन्  । सिमेन्ट उद्योगी व्यवसायीले लामो समयदेखि माग गर्दै आएको मुद्दालाई सरकारले अघि सार्दै आएको छ ।

    मुलुकमा ६५ सिमेन्ट उद्योग छन् । सिमेन्टको माग कम भएर उत्पादन कटौती गरेका कारण ९० प्रतिशतभन्दा बढी सिमेन्ट उद्योग अस्थायी रूपमा बन्द भएका छन् । मुलुकमा सिजनमा ७० लाख र अफसिजनमा ३० लाख टन मात्र सिमेन्ट उत्पादन हुने गरेको छ । आर्थिक वर्ष ०७८\७९ मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन र ०७७\७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ ।

    नेपालले यसअघि पनि ०६९\७० मा सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो । तर दुई आर्थिक वर्षपछि त्यसलाई निरन्तरता दिन सकेको थिएन । पछिल्ला तीन आर्थिक वर्षदेखि फेरि सिमेन्ट र क्लिंकर निर्यात हुन थालेको हो । आर्थिक वर्ष ०६९\७० मा २ लाख १८ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको थियो । भारतबाटै कच्चा पदार्थ ल्याई तयारी सिमेन्ट निर्यात गर्दा लागत महँगो र उद्योग आत्मनिर्भर नहुँदा निकासीले निरन्तरता पाउन नसकेको र अहिले सरकारले सिमेन्ट निर्यातमा अनुदान दिनेलगायत व्यवस्था र उद्योग पनि आत्मनिर्भर भइसकेकाले निर्यात सुरु भएको सरोकारवालाको दाबी छ ।

    झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग ९पीएससी० सिमेन्ट निर्यात गरेको थियो । ०७०\७१ मा ५६ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार १ सय ५० किलो सिमेन्ट निर्यात भएको थियो ।

    ०७१\७२ मा ६० हजार २ सय रुपैयाँ बराबरको ५ हजार ५ सय २५ किलो सिमेन्ट मात्र निर्यात भएको विभागको तथ्यांक छ । पछिल्ला वर्षमा पाल्पा सिमेन्टको ‘तानसेन’ र अर्घाखाँची र बालाजी ब्रान्डका सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । पहिला भारतबाटै कच्चा पदार्थ ल्याई तयारी सिमेन्ट पुनः भारत पठाउँदा लागत मूल्य बढेकाले व्यवसायीले निर्यातलाई निरन्तरता दिन नसकेका थिएनन् ।

    गत वर्षदेखि औपचारिक रूपमा निर्यात सुरु भएकाले यसपालि ४ अर्बसम्मको निर्यात हुने अनुमान गरेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । ‘सरकारले गत वर्षदेखि सिमेन्ट निर्यात गर्नेलाई अनुदान दिने व्यवस्था गरे पनि हालसम्म कसैले पाएनन्,’ उनले भने, ‘५० करोडभन्दा बढी निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिने भनेको छ । तर कसैको पनि नाघेको छैन । अलिअलि निर्यात गरेबापत पाइने ४ प्रतिशत अनुदान पनि पाएका छैनौं ।’ सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको ५६ वर्ष भइसकेको संघले जनाएको छ ।

  • माछा मार्ने क्रममा पोखरामा दुई जनाको मृत्यु

    माछा मार्ने क्रममा पोखरामा दुई जनाको मृत्यु

    काठमाडौं । माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका २९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् ।

    सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५ः २३ मा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

  • विश्वकप छनोटमा आज यमन र नेपाल भिड्दै

    विश्वकप छनोटमा आज यमन र नेपाल भिड्दै

    काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ । फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ ।

    तर घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ । नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर नेपालले कुनै खेल जित्न सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो ।

    सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमन विरुद्धको खेलका लागि तयार रहेको र जितका लागि खेल्ने बताएका थिए ।यसैबीच नेपाल र यमनको खेल हेरिसकेपछि घरसम्म पुग्न दर्शकलाई सहज होस् भनेर निःशुल्क बसको व्यवस्था गरिएको छ । अखिल नेपाल फुटबल संघ )एन्फा)ले विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको जनाएको छ । बस सेवाका लागि दर्शकहरुले टिकटको अर्धकट्टी देखाउनुपर्ने छ ।

  • दाङमा एकै घरका दाजुभाई मृत फेला

    दाङमा एकै घरका दाजुभाई मृत फेला

    काठमाडौं । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।

    मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन् । उनीहरू बस्दै आएको घरमा घरधनी बस्ने नगरेको पाइएको छ । मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्किएपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मंगलबार शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरीले बताएको छ ।

    डीएसपी पोखरेलका अनुसार सोमबार साँझ मात्रै उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई आएको हो । एउटै कोठाका दुई वटा खाटमा उनीहरु मृत फेला परेका हुन् । शव गन्हाइसकेकाले उनीहरुको दुई\तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

  • अर्थतन्त्र चलायमान बनाउन गम्भीर छलफलमा जुट्यो सरकार

    अर्थतन्त्र चलायमान बनाउन गम्भीर छलफलमा जुट्यो सरकार

    काठमाडौं । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्ने बारे छलफल गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मालगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या छिटो र छरितो रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताए ।

    उहाँले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिन मंगलवार सिंहदरबारमा पुनः बैठक बस्ने पनि बताए । उनले बैठकमा आफूले आन्तरिक संरचनाका उपलब्धि, चुनौति र कार्यदिशा प्रस्तुत गरेको बताए । देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको छ ।

    अर्थमन्त्री महतले अर्थतन्त्र छिटोभन्दा छिटो चलायमान बनाएर देशमा थप रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए । प्रधानमन्त्री र गभर्नरले पनि आफ्ना धारणा राख्नुभएको र मंगलवारको बैठकमा निजी क्षेत्रसँग पनि छलफल हुने उनले जानकारी दिए ।

    अर्थमन्त्री महतले देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको बताए । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग भोलि दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

  • भूकम्प पिडितको अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा

    भूकम्प पिडितको अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा

    काठमाडौं । भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ ।

    सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम आजै(सोमबार) निकासा भएको हो । जाजरकोट र पश्चिम रुकुमका लागि ५०(५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड रुपैयाँ निकासा भएको हो ।


    त्यो रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकिएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ । भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने छन् । अस्थायी आवास निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ ।

  • माइतीघरदेखि बानेश्वरसम्म ३० दिन निषेधित क्षेत्र घोषणा

    माइतीघरदेखि बानेश्वरसम्म ३० दिन निषेधित क्षेत्र घोषणा

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

    प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

    निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९(क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो । यसमा कुनै ठाउँमा हुलदंगा वा अशान्ति भएमा वा हुनसक्ने पर्याप्त आधार देखिए क्षेत्र र समय तोकेर हुलदंगा वा अशान्ति पार्ने उद्देश्यले एकैठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश गर्नसक्ने उल्लेख छ ।

    युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएको थियो । त्यसपछि उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ ।

    ‘माइतीघर मण्डला मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम हुँदैन’, प्रजिअ बस्नेतले भने, ‘वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनेका छौं ।’ वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।

    युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै व्यवस्था बदल्ने प्रदर्शन भनेका छन् ।

  • टिकटक प्रतिबन्ध विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

    टिकटक प्रतिबन्ध विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

    काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा परेका छन् ।

    टिकटकको प्रतिबन्ध विरुद्ध १० वटा रिट परेका थिए। सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका थिए । तर, न्यायाधीश चुडाल नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि सबै मुद्दा हेर्न नभ्याउने सूचीमा परेका हुन् ।

    टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् ।

    सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध फुकुवाको माग गर्दै विभिन्न कानून व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

  • नेपाली र थाइल्याण्डका नागरिकलाई हमासले बन्धक बनाएको भिडियो सार्वजनिक

    नेपाली र थाइल्याण्डका नागरिकलाई हमासले बन्धक बनाएको भिडियो सार्वजनिक

    एजेन्सी । इजरायली डिफेन्स आर्मीले प्यालेस्टिनी लडाकु समूह हमासले नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो र तस्बिरमा एक नेपाली र एक थाइल्याण्डका नागरिकलाई सारिएको देखिएको सीएनएनले जनाएको छ ।

    सीसीटीभी भिडियोहरू सार्वजनिक हुनुअघि गत शनिबार जारी गरिएको विज्ञप्तिमा हमासले इजरेली हवाई आक्रमणमा घाइते भएका कयौँ बन्धकहरूलाई उपचारका लागि अस्पतालमा ल्याइएको बताएको छ ।

    भिडियोमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकासे निलो रंगको टिसर्ट लगाएका अर्का एक जनालाई घचेट्दै हिँडाएको देखिन्छ । तर उनीहरुको अनुहार भने देखिँदैन । उक्त भिडयोमा हतियार बोकेका व्यक्तिहरु पनि देखिन्छन् ।

    गत अक्टोबर ७ तारिखका दिन हमासले इजरायलमा आक्रमण गर्दा कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ नेपाली विद्यार्थी विपिन जोशी वेपत्ता भएका थिए । इजरायलले विपिन हमासको नियन्त्रणमा रहेको बताउँदै आएको थियो ।