Category: समाचार

  • सरकारले इतिहास मै धेरै काम गरेको छ : प्रचण्ड

    सरकारले इतिहास मै धेरै काम गरेको छ : प्रचण्ड


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् ।

    उनले भने, “हिजो हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेका थियौँ। जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन। दलाल पुँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन। तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन।”  सोही कारण संविधान लेख्दा नै राज्य समाजवाद उन्मुख हुने भनेर लेखिएको उनको भनाइ थियो।

    प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताए । प्रधानमन्त्रीले नियमित रूपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको बताए ।

  • काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै हिमालय एयरलाइन्स

    काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै हिमालय एयरलाइन्स

    काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले काठमाडौं-सांघाइ नियमित उडान गर्ने भएको छ ।

    चीनमा नयाँ गन्तव्य विस्तार गर्दै एयरलाइन्सले आगामी डिसेम्बर २ तारिख (मंसिर १६ गते)देखि नियमित उडान गर्ने भएको हो ।

    हिमालयको चीनमा यो तेस्रो गन्तव्य हो । यसअघि चिङताओ र बेइजिङमा नियमित उडान गरिरहेको छ ।

    काठमाडौं–सांघाइ रुटमा एयरलाइन्सले साताको दुई दिन शनिबार र बुधबार उडान गर्ने भएको छ ।

    हिमालयनले हाल मलेसिया, यूएई, साउदी अरेबिया, कतार, कुवेत, बंगलादेश लगायत गन्तव्यमा नियमित उडान गर्दै आइरहेको छ ।

  • प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख जम्मा

    प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख जम्मा

    काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३०५ रुपैयाँ जम्मा भएको छ ।

    विभिन्न संघसंस्था र व्यक्तिहरूले कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्मको अवधिमा उक्त रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    भूकम्पका कारण संरचना भत्किँदा जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो । भूकम्पले १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो ।

  • छठको आज दोस्रो दिन, खरना मनाइदै

    छठको आज दोस्रो दिन, खरना मनाइदै


    काठमाडौं । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

    दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ ।

    सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन ब्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन्।

    तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुनेछ ।

    छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ ।

    यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ 

    अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

  • धनगढीमा आगलागी, कम्तीमा ८ घरमा क्षति

    धनगढीमा आगलागी, कम्तीमा ८ घरमा क्षति


    काठमाडौं । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
    कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए ।

    स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको बताउँदै एसपी पालले धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।

    आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो ।

    आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

  • ८५ लाख रुपैयाँ बुझाएर छिरेका नेपालीको अध्यागमनको हिरासतमा मृत्यु

    ८५ लाख रुपैयाँ बुझाएर छिरेका नेपालीको अध्यागमनको हिरासतमा मृत्यु

    काठमाडौं । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर अमेरिका छिरेका ३२ वर्षीय सुवास श्रेष्ठको अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ । ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट लुकिछिपी उनलाई अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।

  • टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । सरकारको टिकटक बन्द गर्ने निर्णयको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा ६ वटा रिट पुगेको हो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका छन् ।

    त्यस्तै अधिवक्ताद्वय सुनिल रञ्जन सिंह र सरिता थापाले पनि टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

    हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बन्धमा निर्णय हुने बताईएको छ ।

    टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।

    २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भईरहको छ ।

  • शनिबारदेखि घरदैलोमा जाँदै रास्वपा

    शनिबारदेखि घरदैलोमा जाँदै रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव संकलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने भएको हो ।

    ‘चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नुपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दैछौँ’, प्रवक्ता डा ढकालले भने, ‘गत निर्वाचनमा अमूल्य मतसहित विश्वास दिएकामा धन्यवाद दिन पार्टीको सबै संगठन परिचालन गरी यही मङ्सिर २, ३ र ४ मा घरदैलोमा जाँदैछौँ । जनताबाट थप सल्लाह, सुझाव र खबरदारी गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो ।’

  • छठ पर्व आजबाट शुरु

    छठ पर्व आजबाट शुरु

    काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

    पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भन्दछन् ।

    तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

    छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अघ्र्यको रुपमा चढाउने गरिन्छ ।
    अघ्र्य दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

    तराई मधेशपासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा व्यस्त छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ ।

    छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाइएको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाइएको छ ।

    अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वका सुमधुर गीत र भजनले मिथिलाञ्चल लगायत तराई मधेश नै छठमय बनेको छ ।

    छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

  • विश्वकप क्रिकेट : फाइनलमा पुग्यो अष्ट्रेलिया, भारत सङ्ग भिड्ने

    विश्वकप क्रिकेट : फाइनलमा पुग्यो अष्ट्रेलिया, भारत सङ्ग भिड्ने


    काठमाडौं । अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ ।

    बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए ।


    अष्ट्रेलियाका लागि महत्वपूर्ण पारी खेल्नुका साथै एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिएका हेड प्लेयर अफ दि म्याच बने । अष्ट्रेलियाका मिचेल स्टार्क र कप्तान कमिन्सले ३/३ विकेट लिए भने ह्याजलउड र हेडले २/२ विकेट हात पारे ।

  • रुपन्देहीमा बस दुर्घटना,२० जना घाइते

    रुपन्देहीमा बस दुर्घटना,२० जना घाइते


    काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

    बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

    घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीको नेतृत्वमा १० जनाको टोली र वडा प्रहरी कार्यालय बुद्धवटलबाट प्रहरी निरीक्षक महेश पाठकको नेतृत्वमा ७ जनाको टोली उद्धारमा खटिएको थियो ।  बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • चितवन राष्ट्रिय निकुञ्जमा तस्करको निशानामा परे दुई पाेथी गैंडा, खुरका लागि हत्या

    चितवन राष्ट्रिय निकुञ्जमा तस्करको निशानामा परे दुई पाेथी गैंडा, खुरका लागि हत्या


    काठमाडौं । तिहारकाे समय पारेर गैेंडा तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मारेको नेपाली संचारमाध्यमले जनाएका छन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टर साैराहाकाे प्यारीढाप पाेष्ट नजिकै दुईवटा वयस्क पाेथी गैंडा तस्करले मारेको खबर छ । दुबै गैंडालाई तस्करले खाल्डाेमा पारेर मारि खाग र खुर काटेर लगेको बताइएको छ । घटनाको बारेमा निकुञ्ज प्रशासनले अहिलेसम्म सूचना सार्वजनिक गरेको छैन ।  गैंडा एक हप्तादेखि १० दिन अगाडि मारेको हुनसक्ने अाशंका गरिएको छ। याे क्षेत्र मानिसहरूकाे चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र मानिन्छ । तस्करहरूले पहिले पहिले गैंडा मार्न खाल्डाे बनाउने विधि प्रयाेग गर्थे । खाल्डाे बनाउँदा बन्दुकको अावाजसमेत खासै अाउँदैन। गैंडा पस्ने खाल्डो तस्करले खनिन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नअाउनु निकुञ्ज प्रशासनकाे लापरबाही भएको समाचारमा उल्लेख छ ।

  • हङ्गेरी र स्लोभाकिया युरोकपमा छनोट

    हङ्गेरी र स्लोभाकिया युरोकपमा छनोट


    काठमाडौं । हंगेरी र स्लोभाकिया अर्को वर्ष जर्मनीमा आयोजना हुने युरो कपमा छनोट भएका छन् । समूह जी अन्तर्गत बिहीबार राति भएको खेलमा बुल्गेरियासँग २-२ को बराबरी खेलेको हंगेरीले एक खेल अगावै युरोकपमा स्थान पक्का गरेको हो ।

    ७ खेलबाट १५ अंकसहित हंगेरी समूह जी को शीर्ष स्थानमा छ । दोस्रो स्थानको सर्वियाको ७ खेलबाट १३ अंक छ ।

    हंगेरीले अब अन्तिम खेलमा मोन्टेनेग्रोसँग खेल्नेछ र उक्त खेल हारे पनि शीर्ष स्थानमा रहने पक्का छ । लिथुअनियालाई २-० ले हराएको मोन्टेनेग्रो भने ११ अंक सहित तेस्रो स्थानमा छ ।

    अब यस समूहबाट सर्विया र मोन्टेनेग्रोमध्ये एक टोली युरो कपमा छनोट हुनेछ ।

    यस्तै समूह जे मा स्लोभाकियाले आइसल्याण्डलाई ४-२ ले हराएर युरोकपमा स्थान बनाएको हो । यस समूहबाट यसअघि पोर्चुगल युरोकपका लागि छनोट भइसकेको छ । जितपछि स्लोभाकियाले ९ खेलबाट १९ अंक जोड्दै समूह उपविजेता बन्दै युरो कपमा स्थान बनाएको हो ।

  • दक्षिण कोरियामा ४० लाख रोजगारी जोखिममा

    दक्षिण कोरियामा ४० लाख रोजगारी जोखिममा

    काठमाडौं । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैङ्कको एक अध्ययनमा बताइएको छ । 

    तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमानेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ । 

    बैङ्क अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् ।

    “उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठुलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठुलो जोखिम छ”, अध्ययनमा भनिएको छ । एआईले सेतो पोसाकधारी (चिकित्सक) को विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठुलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ । 

    अध्ययनअनुसार एआईका कारण आफ्नो जागिर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्तिहरू धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन् । बैङ्क अफ कोरियाको अध्ययनमा भनिएको छ, “एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा हो तर यसले एआई प्रणाली विकसित गर्ने इन्जिनियर र एआईसँग सम्बन्धित स्टार्ट–अपहरूमा नयाँ नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्दछ ।” रासस-एएफपी

  • उत्तरी चीनमा खानीमा आगलागी, २६ जनाको मृत्यु

    उत्तरी चीनमा खानीमा आगलागी, २६ जनाको मृत्यु

    काठमाडौं । उत्तरी चीनको शान्क्सी प्रान्तमा रहेको एक निजी कोइला खानीको भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ।

    बिहीबार बिहान ७ बजे ल्युलियाङ सहरको लिशी जिल्लामा रहेको पाँच तले भवनको दोस्रो तल्लामा आगलागी भएको हो।

    बिहीबार दिउँसोसम्म आगो नियन्त्रणमा लिइएपनि उद्धार कार्य भइरहेको उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सिन्ह्वाले उल्लेख गरेको छ।  

    दिउँसोसम्म मृत्यु हुनेको संख्या २६ पुगेको र ५० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको बिबिसीले जनाएको छ ।
    शान्क्सी कोइला उत्पादनको आधारमा चीनको सबैभन्दा ठूलो प्रान्त रहेको बिबिसीले उल्लेख गरेको छ।

  • जम्मु कश्मिरमा बस दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

    जम्मु कश्मिरमा बस दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

    काठमाडौं । जम्मु-कश्मिरको डोडा भन्ने स्थानमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । १७ जना घाइते भएका छन् ।

    सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

  • विश्वकप : भारतको उत्कृष्ट फर्म जारी, पुग्यो फाइनलमा

    विश्वकप : भारतको उत्कृष्ट फर्म जारी, पुग्यो फाइनलमा

    काठमाडौं । मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

    अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ ।

    बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा ३९७ रन बनाएको थियो ।
    ३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३२७ रनमा अलआउट भयो । डिरेल मिचेलले सर्वाधिक १३४ रन योगदान गरे । उनले ८५ बलमा शतक पूरा गरे । कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिपले ४१ रन बनाए

    कप्तान विलियम्सन र मिचेलले १८१ रनको साझेदारी गरे । ओपनरद्वय ड्वेन कोनभे र रचिन रविन्द्रले समान १३/१३ रन बनाए ।

    यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो ।

    भारतका लागि कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ११७ र श्रेयस ऐयरले १०५ रन बनाए । शुभमन गिलले ८० र केएल राहुल ३९ रनमा नटआउट रहे ।

    कोहलीको यो ५० औं शतक हो । कोहलीले वान डे क्रिकेटमा सचिन तेन्दुलकरको रेकर्ड तोडे । तेन्दुलकरले ४९ शतक बनाएका थिए । बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले तीन विकेट लिए ।

  • विश्वकप छनोट : आज नेपाल र युएइ भिड्दै

    विश्वकप छनोट : आज नेपाल र युएइ भिड्दै


    काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

    पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।

    यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् । वरीयताका आधारमा यूएई बलियो टोली हो ।

    नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।

    अबको आठ महिनामा नेपालले छनोटका ६ खेल खेल्नेछ र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ ।

  • राष्ट्रपतिले दुई बहिनीको हातबाट टीका थाप्दै

    राष्ट्रपतिले दुई बहिनीको हातबाट टीका थाप्दै


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने भएका छन् ।

    राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरूको हातबाट टीका र आर्शिवाद लिलिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।

    भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

  • आज भाइटिका, उत्तम साइत कुन?

    आज भाइटिका, उत्तम साइत कुन?


    काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

    टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

    भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् ।

  • वर्षमा एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर आज दिनभर खुल्ने

    वर्षमा एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर आज दिनभर खुल्ने


    काठमाडौं । वर्षको एक दिन भाइटीकामा मात्र खुला हुने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बिहानै बेलुकीसम्मै खुल्ला हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    दाजुभाइ–दिदीबहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

    २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ ।

    दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम छ ।

  • उत्तराखण्डमा सुरुङमा फसेका ४० मजदुरको उद्दार जारी

    उत्तराखण्डमा सुरुङमा फसेका ४० मजदुरको उद्दार जारी

    काठमाडौं । उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो गएपछि फसेका मजदुरलाई निकाल्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । उत्तराखण्डको उत्तरकाशीमा आइतबार निर्माणाधीन सुरुङ पहिरो गएपछि ४० जना मजदुर थुनिएका थिए । भारतीय समाचार संस्था पीटीआईका अनुसार मजदुरहरू निकाल्न ड्रिलिङ मेसिनको सहायता लिइएको छ ।

    राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेडका निर्देशक अंशु मनीष खाल्कोका अनुसार भित्र थुनिएका मजदुर सुरक्षित अवस्थामा रहेका छन् । उनले भनेका छन्, अवस्था अहिले राम्रो छ । सबै मजदुर सुरक्षित छन् । हामीले खाना र पानी उपलब्ध गराइरहेका छौँ । हामीले सक्दो राम्रो गरिरहेका छौँ ।

    माथिबाट पहिरो खस्दा करिब ६० मिटर जति सुरुङ थुनिएको थियो । जसमध्ये २० मिटर सफा गरिसकेको र बाँकी आजै सकिने उत्तरकाशीका एसपी अर्पण यदुवंशीले जनाएका छन् । पाइपमार्फत मजदुरहरूलाई खाना र पानी पठाइएको उनले बताए । थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन् । उनीहरू सुरुङको मुखबाट दुई सय मिटरभित्र छन् । त्यस क्षेत्रमा प्रशस्तै नेपाली कामदारहरू पनि कामका लागि पुग्ने गरेका छन् । सुरुङभित्र कोही पनि नेपाली नपरेको जनाएका छन् ।

    यमुनोत्री राष्ट्रिय राजमार्गमा उक्त सुरुङ मार्गको निर्माण हुँदै थियो । ४ किलोमिटर लामो र १४ मिटर चौडाइको निर्माणाधीन सुरुङमा एक्कासि बाहिरिने मार्ग नै थुनिन पुगेको हो । चारधाम सडक परियोजनाअन्तर्गत सबै मौसममा सवारी साधन सञ्चालन राख्ने उद्देश्यले सुरुङको निर्माण थालिएको हो ।

  • इजरायलका कारण गाजाका अस्पताल मसानघाट जस्तै

    इजरायलका कारण गाजाका अस्पताल मसानघाट जस्तै

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताल झन्डै श्मशान घाटु जस्तै भएको बताएको छ । उत्तरी गाजामा रहेको अल(शिफा अस्पताल इजरायली डिफेन्स फोर्स(आईडीएफ) को आक्रमणको निशानामा परेको छ । आईडीएफले हमासले अस्पतालको मुनि रहेको सुरुङबाट इजरायलविरुद्ध आक्रमणको षड्यन्त्र रचिरहेको आरोप लगाउँदै आएको छ ।

    तर हमास र अस्पतालले भने त्यसको खण्डन गर्दै आएका छन् । डब्लूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमायरले करिब ६ सय जनाले अस्पतालमा आश्रय लिइरहेको बताएका छन् । ुअस्पतालभरि शवै शव रहेको छ । जसको उचित व्यवस्थापन गर्न सकिएको छैन । शवलाई पुर्न वा मुर्दाघरमा लैजान सकिएको छैन,ु उनले भनेका छन् ।

    हमासको स्वास्थ्य मन्त्रालयले करिब ६५० बिरामीसहित करिब २ हजार ३ सय जना अस्पतालमा रहेको बताएको छ । अस्पतालका व्यवस्थापक डाक्टर मोहम्मद अबु सेलमियाले प्रतिबन्धका बाबजुद अस्पताल चलाउन निकै कठिन भएको बताएका छन् । उनले शवहरू कुहिन थालेको र कुकुरहरू पसेर खान थालेको समेत बताएका छन् ।

    इजरायललले शवहरू व्यवस्थापनका लागि अनुमति नदिएको पनि उनको भनाइ छ । विद्युत् कटौती हुँदा नवजात शिशुहरूको मृत्युसमेत भएको उनले बताए । बीबीसीसँगको कुराकानीमा उनले सात जना नवजात शिशुको अक्सिजन अभावले मृत्यु भएको जानकारी दिएका छन् ।

    गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी ११ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।

  • डब्लूएचओले भन्यो : गाजाका अस्पताल काम गर्न नसक्ने अवस्थामा

    डब्लूएचओले भन्यो : गाजाका अस्पताल काम गर्न नसक्ने अवस्थामा

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओले गाजास्थित प्रमुख स्वास्थ्य केन्द्र अल-शिफा अस्पतालको अवस्था “दयनीय र जोखिमपूर्ण” बनेको चेतावनी दिएको छ। उक्त अस्पताल अहिले लगभग बिजुली नभएको र खानेकुरा तथा पानीको अभावको अवस्थाबाट गुज्रिरहेको छ। पहिल्यैदेखिको गम्भीर अवस्थालाई अस्पताल क्षेत्र आसपास “निरन्तर भइरहेका गोलाबारी र बमबारी” ले झन् बिगारेको र अल-शिफाले “अस्पतालको रूपमा काम गर्न छोडेको” डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन्।

    त्यहाँ उपचाररत जोखिममा रहेका नवजात शिशुहरूलाई उक्त अस्पतालबाट अर्को अस्पतालमा सार्ने काममा “ सघाउन तयार रहेको” इजरेली सेनाले दोहोर्‍याएको छ। महिना नपुगी जन्मेका प्रत्येक तीनमध्ये एक शिशुको बिजुली अभावका कारण ज्यान जाने गरेको अल–शिफा अस्पतालका शल्यक्रिया प्रमुख मारवान अबु सादाले बीबीसीलाई बताए।

    यसअघि इन्क्यूबेटरमा राखिएका नवजात शिशुहरूलाई बिजुली अभावका कारण शल्यचिकित्सा वार्डका शय्याहरूमा सारिएको छ। थुप्रै नवजात शिशुहरूले पाउनुपर्ने सेवा नपाइरहेको भन्दै उनले “ती सबैको ज्यान जान सक्ने डर भएको” बताए। यसअघि बीबीसीसँग कुरा गर्दै इजरेली राष्ट्रपति आइजक हर्टसोगले अलशिफा अस्पतालमा हमास र त्यसका मुख्यालयहरू रहेका आरोप दोहोर्‍याएका थिए।

    हमास समूहलले अस्पताललाई सैन्य उद्देश्यका लागि प्रयोग गरेको अस्वीकार गर्दै आएको छ। डा। अबु सादाले पनि इजरेली आरोपलाई “ठूलो झूट” को सङ्ज्ञा दिँदै नजिक रहेका फौजहरूलाई आउन र अस्पतालको निरीक्षण गर्न “खुला निम्तो” दिएका छन्। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अलशिफा अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अस्पतालभित्र अझै कम्तीमा २,३०० जना रहेका जनाएको छ।

    त्यो सङ्ख्याबारे डब्ल्यूएचओलाई जानकारी गराइएको र उसले सामाजिक सञ्जाल एक्समा त्यसलाई पोस्ट गरेको हो। मन्त्रालयको अद्यावधिक जानकारी अनुसार ६०० देखि ६५० जना उपचाररत रहेका छन् भने २०० देखि ५०० स्वास्थ्यकर्मी र आश्रय लिएका विस्थापितहरू करिब १,५०० जना छन्। बिजुली, पानी र खानेकुराको अभावले जीवन “तत्काल जोखिममा रहेको” पनि मन्त्रालयले जनाएको छ।

    “तत्काल युद्धविराम” गर्न र “सर्वसाधारण तथा स्वास्थ्य संस्थाहरूलाई जोगाउन” विश्व स्वास्थ्य सङ्गठनले फेरि आह्वान गरेको छ। डक्टर्स विदआउट बोर्डर्सले गए रातियता अल-शिफा अस्पतालस्थित आफ्ना कर्मचारीहरूसँग सम्पर्क हुन नसकेको जनाएको छ। अलशिफा अस्पताल गाजा स्ट्रिपमा रहेकामध्ये सबैभन्दा ठूलो अस्पताल हो । BBC

  • नेपाल संवत आज, म्हः पूजा समेत गरिँदै

    नेपाल संवत आज, म्हः पूजा समेत गरिँदै

    काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

    ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने ।

    विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

    विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिकक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

    आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म ९म्हः० पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ ।

    भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ । भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो । देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दैछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ ।

  • आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा हुँदै

    आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा हुँदै

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् ।

    गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौं बलि राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।

    वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार वा अपभ्रंश भई हल तिहार पनि भनिन्छ ।

  • टिकटक बन्द गर्ने निर्णयमा गगन थापा असहमत

    टिकटक बन्द गर्ने निर्णयमा गगन थापा असहमत

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरेका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका हुन् ।

    ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो।’

    महामन्त्री थापाले सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखिएको आरोप समेत लगाएका छन्, ‘सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन’, उनले लेखेका छन् ।

  • नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ ।


    ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’ भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशले पनि टिकटक बन्द गरेका छन् । उनीहरुले डाटा सुरक्षाको कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाएका हुन्।

    डेनमार्कले गत मार्चमा आफ्ना कर्मचारीलाई काम गर्ने डिभाइसमा टिकटक चलाउन रोक लगाएको थियो । अस्ट्रेलिया, बेल्जियम र क्यानडाले पनि सबै सरकारी मोबाइल डिभाइसमा टिकटक चलाउन रोक लगाएका छन् । भारतले सन् २०२० मा नै टिकटक सहितका ५८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

    चीन भारत सीमामा दुई देशबीचको सेनाबीच तनाव बढेपछि भारतले भारतको सम्प्रभुता, भारतको सुरक्षामा खतरा पैदा भएकाले टिकटक सहितका चिनियाँ एप बन्द गरेको थियो । सन् २०२२ मा अफगानिस्तानमा सरकारमा आए लगत्तै तालिवानले इस्लामिक कानुन विपरीत रहेको भन्दै टिकटक बन्द गरेको थियो ।

  • सरकारी कामकाजमा अब नेपाल संवत पनि उल्लेख हुने

    सरकारी कामकाजमा अब नेपाल संवत पनि उल्लेख हुने

    काठमाडौं । सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल सम्वत् ११४४ (२०८० कात्तिक २८ गतेदेखि) विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रिय विभूति शंखधर साख्वाले वि।सं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गराएका थिए । त्यसैले यसलाई नेपालको मौलिक संवतको रुपमा लिइन्छ ।

    इतिहासका जानकारहरुका अनुसार लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म चलेको थियो । लिच्छविकाल अघि भने शक संवत् प्रचलनमा थियो । कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौंमा छ ।

    २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवतको नयाँ वर्ष काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

    गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालमा सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

  • सांसद विकास कोषको रकम भूकम्पको पुनर्निर्माणमा खर्च गरिने

    सांसद विकास कोषको रकम भूकम्पको पुनर्निर्माणमा खर्च गरिने

    काठमाडौं । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रुपैयाँ जाजरकोट भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो ।

    यसमा १ अर्ब ७५ करोड रुपैयाँ थपेर विपद व्यवस्थापनका लागि १० अर्ब उपलब्ध गराउने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोडका दरले ८ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको थियो । यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले यो कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

    भूकम्पपछिको पुनर्निर्माणमा प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यक पर्ने देखिएको भन्दै सरकारले विपद व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन व्यक्ति, संघसंस्था तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ । मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण आवास पूर्ण र आंशिक क्षति भई बस्न योग्य नरहेको घर परिवारलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । यो रकम दुई किस्तामा दिइनेछ । विपद व्यवस्थापन कोषबाट स्थानीय तहमा पठाउने छ र परिवारको स्वघोषणा र वडाको सिफारिस लाभग्राहीको बैंंक खातामा पठाइनेछ ।

    अनुदान उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुनेछ । अस्थायी आवास निर्माणका लागि शहरी विकास मन्त्रालयले सम्बन्धित स्थानीय तहमार्फत प्राविधिक सहयोग उपलब्ध गराउनेछ । संघ र स्थानीय तहसँग समन्वय गरी आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउन र अस्थायी आवास निर्माण तथा प्राविधिक परिचालनको अनुगमन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ । आवश्यक समझदारी कायम गर्न तथा सहयोगका लागि स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा राजनीतिक दलहरुको सर्वदलीय संयन्त्र बनाइनेछ ।

    यस्तै भूकम्प प्रभावित क्षेत्रका स्थानीय प्रशासन र सुरक्षा निकायले खोज उद्दार र राहतका लागि उपलब्ध बजेटबाट इन्धन खर्च वापतको रकम अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल उपलब्ध गराउने निर्णय पनि भएको छ । मन्त्रिपरिषदको बैठकले भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिर्वतनको उच्च जोखिममा रहेकाले व्यक्तिगत आवास लगायत सबै भवन र संरचनाको बिमा गराउनेबारे अध्ययन गरी प्रतिवदेन बुझाउन मुख्य सचिवलाई निर्देशन दिएको छ ।