Category: समाचार

  • महानगर दिवसमा सन्दुक रुइतदेखि पारस खड्कासम्म सम्मानित (सूचीसहित)

    महानगर दिवसमा सन्दुक रुइतदेखि पारस खड्कासम्म सम्मानित (सूचीसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइतलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ ।

    २९औं वाषिर्कोत्सवको अवसरमा महानगरले राष्ट्रियस्तरमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई राष्ट्रिय व्यक्ति पुरस्कारबाट सम्मान गरेको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए। यस्तै सांसद, मेयर, प्रहरी, खेलाडीहरू पनि समारोहमा उपस्थित थिए।

    महानगरले अभिनेत्री मनिसा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीतलगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई पनि महानगरपालिले सम्मान गरेको छ।

    यस्तै एआईजी मिरा चौधरी, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केट बलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापित पनि सम्मानित भएका छन्।

    उनीहरूलाई महानगरले जनही एक लाख ५० हजार नगदसिहत सम्मान गरेको हो। सम्मान पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका थिए भने महानगरका मेयर बालेन शाहले दोसल्ला तथा उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेकी थिइन् ।

  • साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछ

    साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

    २९औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका,प्रदेश सरकार र संघीय सरकारको भुमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरेका हुन् ।

    उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे।

    मेयर बालेनले अबको साढे ३ वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए। मेयर शाहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे।

    मेयर बालेनले भने, ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन्। काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन्। तीमध्ये ३ वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, १०० र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन्।

    महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीन कुराको व्यवस्थापन गर्न सकोस्। साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ।’

  • एमाले सांसद कोइरीलाई सफाइ, लोसपाका सांसदसहित ७ जनालाई जन्मकैद

    एमाले सांसद कोइरीलाई सफाइ, लोसपाका सांसदसहित ७ जनालाई जन्मकैद

    काठमाडौं । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन्।

    न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको थियो। जिल्ला अदालत महोत्तरीले बिहीबार कोइरीलाई सफाइ दिने आदेश सुनाएको हो ।

    कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी-१ बाट निर्वाचित भएका थिए।

    उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।

    सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी यस मुद्दामा सांसद कोइरीसहित २८ जना अभियुक्त थिए। तीमध्ये ७ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको कसुरमा थप ६ महिना कैद कैद सजाय हुने भएको छ।

    यो सजाय पाउनेमा सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन्। अभिराम शर्मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका सांसद हुन्। उनीहरू महोत्तरी ३(१)बाट निर्वाचित भएका हुन्। रामशंकर मिश्र जलेश्वर नगरपालिकाका प्रमुख हुन्।

    महोत्तरी जिल्ला अदालतमा कोइरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा थमन विककी पत्नी शोभा गहतराज न्यायको माग गर्दै काठमाडौँ आएकी थिइन्।

  • बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

    बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

    यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।

    उच्च अदालत पाटनले गत १५ मंसिरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो । २० मध्ये बालकृष्ण खाणको हकमा मात्रै दुई न्यायाधीशबीच राय बाझिएको थियो ।

  • कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर, खेतीयाेग्य जमिन मासिँदै

    कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर, खेतीयाेग्य जमिन मासिँदै

    सुर्खेत । कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्बजनिक गरेको राष्ट्रिय कृषि गणना, २०७८ को प्रदेशस्तरीय नतिजाअनुसार कर्णालीमा ३ लाख २ हजार परिवारले कृषि पेसा गर्दै आएकामा जम्मा ३० प्रतिशत अर्थात् ९० हजार ६०० मात्रै कृषिमा आत्मनिर्भर छन् । अधिकांश परिवारलाई भने वर्षभरि खाना नपुग्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

    कर्णालीमा १ लाख १७ हजार ४११ हेक्टर जग्गामा ८२.६३ प्रतिशतले कृषि कर्म गर्ने गरिएको पाइएको तथ्याङ्क छ । कृषिमै आश्रित ठूलो सङ्ख्या भए पनि उत्पादनमा भने आत्मनिर्भर हुन नसकेको भन्दै सरकारले अब बनाउने नीति उत्पादनमुखी बनाउनुपर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए ।

    उनले भने, ‘कर्णालीमा अधिकांश नागरिक कृषि पेसामा आबद्ध छन्, तर उत्पादनमा भने थोरै सङ्ख्यामा मात्रै आत्मनिर्भर छन् । आगामी दिनमा सरकारले उत्पादनमुखी योजना बनाउन आवश्यक छ ।’

    तथ्याङ्कमा पुरानाभन्दा नयाँ प्रविधिको विस्तार भने भएको पाइएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्र्याक्टर र पावरट्रिलर प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको देखिएको छ । ८.१ प्रतिशत फलामे हलो, ५.१ प्रतिशत ट्याक्टर र ४.५ प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए ।

    तीन दशकमा नेपालमा कृषक परिवार सङ्ख्या र कृषकले भोगचलन गरेको जग्गामा वृद्धि भए पनि सरदर दुईपटक मात्र बाली लगाउने गरिएको छ । यस्तै गाईगोरु र राँगाभँसीभन्दा खसीबाख्रा, सुगुर बङ्गुरपालन गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    उत्पादनशील जमिन मासिँदै

    तथ्याङ्कअनुसार कर्णालीको उत्पादनशील जग्गासमेत मासिँदै गएको पाइएको छ । केही वर्ष अगाडिसम्म उत्पादन हुने सुर्खेत वीरेन्द्रनगर अहिले घर र घडरीमा परिणत हुन थालेको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा ४३ प्रतिशत परिवार आफ्नै उत्पादनमा आत्मनिर्भर छन् । तर यो सङ्ख्या विगतको भन्दा घटेको प्रतिवेदनमा उल्लेख छ ।

    त्यसैगरी पहाडाको जग्गा पनि बाँझिन थालेका छन् । रोजगारीको सिलसिलामा नागरिकको सहरकेन्द्रित बसाइसँगै वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेपछि गाउँका जमिन पनि बाझिँदै गएका हुन् । उत्पादनमुखी क्रियाकलाप नहुँदा अझै परनिर्भरता बढ्नसक्ने भन्दै विज्ञले आगामी दिनमा बनाउने योजना यो तथ्याङ्कलाई टेकेर बनाउनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।

    कर्णाली प्रदेश सरकारले यसअघि थुप्रै योजना कृषि लक्षित बनाउने गरेको भए पनि एकिन तथ्याङ्क नहुँदा योजना कार्यान्वयनमा समस्या झेल्दै आएको थियो । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा तथ्याङ्क नहुँदा योजना तथा बजेट निर्माण गर्न कठिनाइ भइरहेको भन्दै कृषि गणनाबाट आएको तथ्याङ्कले सरकारलाई योजना बनाउन र कार्यान्वयन गर्न सहज हुने बताए ।

    तीनै तहका सरकारको समन्वयमा उत्पादन वृद्धिसँगै बजारीकरणको ग्यारेण्टी गर्ने गरी योजना बनाउन आवश्यक रहेको भन्दै मन्त्री शर्माले भने, ‘उत्पादन बढाउन कठिनाइ छैन, किन भने अहिले आधुनिक प्रविधिको जति पनि प्रयोग गर्न सकिने अवस्था छ । कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण कसरी गर्ने भन्ने समस्या छ, यसतर्फ तीनै तहका सरकारले सोच्नुपर्छ ।’

    मन्त्रालयका सहसचिव डा नरहरिप्रसाद घिमिरेले तथ्याङ्कका आधारमा अब सरकारलाई योजना बनाउन सहज हुने बताए । राष्ट्रिय तथ्याङ्क कार्यालयका सहसचिव एवं उपप्रमुख तथ्याङ्क अधिकारी डा. डिल्लीराज जोशीले करिब ७ हजार जनशक्ति परिचालन गरी ४५ दिन लगाएर कृषि गणना गरिएको जानकारी दिए । एक कृषकसँग जानकारी लिन करिब डेढ घन्टा समय लागेको उनको भनाइ छ ।

  • हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

    हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए ।

    सो प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो ।
    प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत त्यस्तो सूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए ।
    उनले भने, ‘मैले युरोपेली युनियनका प्रतिनिधिसँग यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग पनि पटकपटक छलफल गरेको छु । हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म यसमा गम्भीर छु ।’
    यसपटक हवाई सुरक्षामा केही सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको आधारमा कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास भए पनि त्यो पर्याप्त नभएको बताए। उनले भने, ‘हाम्रो सुधार पर्याप्त भएन । थप सुधारका निम्ति काम गर्नुपर्ने देखिएको छ । तपाईहरूले दिएका सुझाव महत्वपूर्ण छन् । नियामक निकायसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ ।’

  • इजरायलमा जागिरको प्रलोभन देखाउने गिरोह सक्रिय, सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

    इजरायलमा जागिरको प्रलोभन देखाउने गिरोह सक्रिय, सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह


    काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ।

    नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।

    उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन। वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना प्रकाशित गरि कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अरु क्षेत्रमा रोजगारीको अवसर जनाउँदै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रहसमेत गरेको छ।

    यस्तो खालको ठगीका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ।

    इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहले गैरकानुनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना विभागमा आएकाले सचेत रहन आग्रह गरिएको प्रवक्ता तथा सूचना अधिकारी उप्रेतीले बताए।

    उनले भने, ‘इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ पैसा माग्ने गरेको भन्ने सूचना हामीलाई प्राप्त भएको छ। हामी छानबिन गर्दैछौं।’

  • २६४ ठाउँमा बस बिसौनी बनाउँदै काठमाडौं महानगर, अटो रिक्सा र ठेला हटाउने

    २६४ ठाउँमा बस बिसौनी बनाउँदै काठमाडौं महानगर, अटो रिक्सा र ठेला हटाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ । २९ औं महानगर दिवसका अवसरमा आज महानगरले आयोजना गरेको महानगर र ट्राफिक प्रहरी बीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।

    यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ ।

    यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको बताए । ‘अहिले सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार आउँछ भने त्यहाँबाट सहकार्य थालौँ,’ अधिकारीले भने । काठमाडौँमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने उनको भनाइ छ ।

    अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए। बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले, यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए।

    महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । यस्ता चिन्हहरु आधिकारिक निकायले मात्र राख्नु पर्ने, अध्ययन गरेर मात्र राख्नु पर्ने भएकोले महानगरपालिकाले यसतर्फ काम गरिरहेको उनको भनाइ थियो ।

    ययस बर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको छ ।

  • काठमाडौं महानगरभित्र आजदेखि सूर्तीजन्य पदार्थ बेच्न नपाइने, धूम्रपान पनि निषेध

    काठमाडौं महानगरभित्र आजदेखि सूर्तीजन्य पदार्थ बेच्न नपाइने, धूम्रपान पनि निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको छ ।

    महानगरपालिकाले यसअघि नै सूचना निकालेर आजदेखि लागु हुने गरी गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जनाएको थियो ।

    कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने महानगरको चेतावनी छ ।

    “कसैले यो सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरीमार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुनअनुसार अधिक्तम सजाय गरिनेछ,” महानगरले भनेको छ ।

    सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भइरहेको अवस्था समेतलाई दृष्टिगत गरी यो निर्णय लिइएको महानगरको भनाइ छ ।

    सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था रहेको महानगरपालिकाले जनाएको छ। २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरु (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायत स्थलमा धुम्रपान, चुरोट, बिँडी, सिंगारू तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा) सूर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ।

  • भिजिट भिसामा मानव तस्करी, अध्यागमन अधिकृत खड्कासहित ६ कन्सल्टेन्सीका सञ्चालक पक्राउ

    भिजिट भिसामा मानव तस्करी, अध्यागमन अधिकृत खड्कासहित ६ कन्सल्टेन्सीका सञ्चालक पक्राउ

    काठमाडौं । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ गरेका कन्सल्टेन्सी संचालकहरुमा मनोराज चौधरी, रामप्रसाद भण्डारी, सरोज यादव, दिनेश ज्ञवाली, देवराज खनाल र गणेश पाण्डे छन्।

    प्रहरीले असोज १९ गतेदेखि भिजिट भिसामा विदेश पठाउने गिरोहविरुद्ध अपरेसन सुरु गरेको थियो। जसमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन्। सो मुद्दामा ८ जना धरौटीमा रिहा भइसकेका छन्।

    अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    प्रहरीले भिजिट भिसामा जानेलाई रोक्न विशेष अपरेसन अभियान चलाएको छ । सो अभियानमा हालसम्म ३२ जना पक्राउ परेका छन् ।

  • काठमाडौंमा यसवर्षकै धेरै चिसो, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

    काठमाडौंमा यसवर्षकै धेरै चिसो, आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ।

    विहान पौने ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिए मौसम पूर्वानुमान महाशाखाको मापनमा उल्लेख गरिएको छ ।

    त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । दिउँसो भने काठमाडौंको न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ ।

    आगामी दिनमा जाडो झन् बढ्ने सम्भावना रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

  • नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

    नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

    काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्।

    स्नातक तहको नक्कली सर्टिफिकेट बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरेको हो ।

    उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतका कागजात कीर्ते गरेको उजुरी परेको थियो । उक्त जाहेरी परेसँगै प्रहरीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो।

    गहतराजले ‘महान् अभियान’ नामक पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी स्नातक तहको कागजात कीर्ते गरेको आरोप छ । उनले पशुपति बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा स्नातक उत्तीर्ण भएको कागजात बनाएका थिए । उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो ।

  • आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

    आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

    निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिए ।
    थानीले राजीनामाको कारण भने खुलाएका छैनन् । थानीले स्वतन्त्र रुपमा बस्न चाहन्छुु भनेपछि उनको राजीनामा उद्योगमन्त्री रमेश रिजालले स्वीकृत गरेका स्रोतले जनाएको छ ।

  • कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

    कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

    काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ।

    दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीले कार्यालयमा धर्ना दिँदै आएका थिए।

    सन् २०२३ मा कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाको फारम भर्न नपाइने बेहोरा उल्लेख गरिएको भन्दै परीक्षार्थीहरूले धर्ना, जुलुस तथा विरोध गर्न थालेपछि कार्यालयले त्यस्तो नगर्न आग्रह गरेको हो।

    एक विज्ञप्ति जारी गर्दै उठान गरेका मागका विषयमा कोरिया सरकारसँग छलफल भइरहेको ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ।

    नेपालस्थित दक्षिण कोरियाको सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपाल र अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको र निष्कर्षमा पुग्न केही समय लाग्ने भएकाले धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम रोक्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

  • झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ

    झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ

    काठमाडौं । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

    पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। राईको दाहिने खुट्टामा गोली लागेको छ।

    उनको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ। उनीबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध पनि बरामद भएको प्रहरीले जनाएको छ ।

  • रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, पहिलो किस्ताको रकम पठाइयो

    रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, पहिलो किस्ताको रकम पठाइयो

    रुकुमपश्चिम । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ ।

    जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

    उनका अनुसार लाभग्राहीको विवरण सङ्कलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ । हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर रु २५ हजारका दरले रु ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ । अब सङ्घीय सरकारले पठाएको रु ५० करोडमा रु ६ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले जानकारी दिए ।

    ‘पच्चीस हजार लाभग्राहीको प्रहरी मुचुल्का तयार भइसकेको छ, विवरण सङ्कलनको काम केही ठाउँमा बाँकी रहेकाले पाँच हजार लाभग्राही थपिने अनुमान हामीले गरेका छौँ, सङ्घीय सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको रु ५० करोड रकमले नपुग्ने देखिएपछि ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौँ,’ उनले भने । घर क्षति भएका लाभग्राहीको विवरण सङ्कलनको काम एक महिना बढी हुँदा पनि अझै पूर्ण विवरण आएको छ । सबै पालिकाबाट लाभग्राहीको विवरण आउन अझै तीन–चार दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    भूकम्पले बढी मानवीयसँगै भौतिक संरचनामा ठूुलो क्षति पुर्याएको आठबीसकोट नगरपालिकाको भने अस्थायी आवास निर्माण गर्नुपर्ने क्षतिको पूर्ण विवरण आएको छ । नगरपालिकाभर ९ हजार ९६२ लाभग्राही यकिन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार तीमध्ये साढे चार हजार लागग्राहीको रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा जम्मा भएको छ ।

    केही लाभग्राहीको खातामा रकम गइसके पनि केही लाभग्राहीको खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ । आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडित परिवारको गुनासो छ ।आठबीसकोट नगरपालिकामा यकिन भएका लाभग्राहीमध्ये ५ हजार ४६२ जनाको भने पहिलो किस्तावापतको रकम आउन बाँकी रहेको शाहले जाजकारी दिए ।

    कति भूकम्पपीडितका अस्थायी आवास बने कतिका बन्न बाँकी छन् । त्यसको विवरण स्थानीय तहले सङ्कलन गरेका छैनन् । चौरजहारी नगरपालिकाले भने हालसम्म आठवटा अस्थायी आवास निर्माण भएर पीडित परिवार बस्न थालेको जनाएको छ । नगरपालिकाभित्र ४३५ अस्थायी आवास निर्माणको अन्तिम चरणमा पुगेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीकय अधिकृृत शेरप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अन्य लाभग्राही पनि स्थानीय कच्चा पदार्थ, काठ, बाँसलगायत जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण जुटेका छन् ।

    नगरपालिकामा ६ हजार २७९ लाभग्राहीका लागि विपद् जोखिम न्यूनीकरण कोषमा पहिलो किस्ताबापतको रु २५ हजारका दरले रु १५ करोड ६९ लाख ७५ हजार रकम प्राप्त भएको छ । त्यसमध्ये बैंकमा खाता खोलेका साढे सात सय लाभग्राहीको खातामा रकम पठाएको छ । बाँकी लाभग्राहीको पनि खाता सञ्चालन भएमा तत्काल रकम पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । लाभग्राहीको विरण सङ्कलनको काम नसकिएकाले अझै नगरपालिकामा आठ सय लाभग्राही थपिने नगरपालिकाले जनाएको छ ।

  • काठमाडौं महानगरका सामुदायिक कुकुरमा प्राणघातक ‘डिस्टेम्पर’ रोग

    काठमाडौं महानगरका सामुदायिक कुकुरमा प्राणघातक ‘डिस्टेम्पर’ रोग

    काठमाडौं । काठमाडाैं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ। महानगर पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ।

    यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ। खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन्। त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लड्बडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यस रोगका मुख्य लक्षण हुन्।

    स्थानीयबाट आएको सूचनाका आधारमा कुकुरमा परीक्षण गर्दा रोग पुष्टि भएको प्रमुख झाको भनाइ छ। कुकुरहरूमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ तर कुकुरबाट मान्छेमा भने सर्दैन। कुकुरमा रोग लागेको पुष्टि भएपछि महानगरले व्यवस्थापन सुरू गरेको विभागले जनाएको छ।

    विभागका अनुसार यदि कुनै पनि सामुदायिक कुकुरमा यस्ता रोग लागेको थाहा पाएमा महानगरको निःशुल्क टेलिफोन नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा फोन गरी जानकारी दिन विभागले अनुरोध गरेको छ।

    कुकुरबाट कुकुरमा सर्ने भएकाले रोग फैलिएका ठाउँमा घरपालुवा कुकुर बाहिर नलैजान र कुकुरहरूलाई रोगविरूद्धको खोप अनिवार्य लगाउन विभागले आग्रह गरेको छ।

    महानगरले सामुदायिक कुकुरको अनियन्त्रित प्रजनन रोक्न बन्ध्याकरण प्रक्रिया पनि अघि बढाएको छ। आगामी पुस महिनासम्मा करिब छ हजार कुकुरको बन्ध्याकरण र रेबिजविरूद्धको खोप लगाइने महानगरको भनाइ छ। हाल महानगरमा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ। रासस

  • बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

    बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

    बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

    अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन । उनले भनिन्, “शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशु सहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ । ”

    मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगञ्ज लगिएको बताए ।रासस

  • पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै

    पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाइँदै

    काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ ।

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने गरिन्छ ।

    यो वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । मंगलबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षित साथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ ।

    बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंखलाई मार्गशीर्ष कृष्ण औँसीका दिन मंगलबार भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम छ । राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ ।

  • लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै

    लगानी सम्मेलन अघि मुलुकको कन्ट्री रेटिङ हुँदै

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनअघि नै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) गरिसक्ने बताएका छन् । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलमा मन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन् । सम्मेलनअघि नै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित भएर आउने पनि उनले बताए । अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री डा. महतले बताए ।

    ‘नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन्,’ उनले भने । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको पनि मन्त्री डा। महतले बताए । लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल गरेको पनि उनले बताए । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उनले बताए ।

    छलफलमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार गरिरहेको जानकारी दिए । उनका अनुसार तेस्रो लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । सम्मेलन आयोजना गर्न गठित निर्देशक र कार्यान्वयन समितिको बैठक बसिसकेको छ । सार्वजनिक–निजी साझेदारीमा नेपालमा लगानी गर्नका लागि के कस्ता कानुनी र प्रक्रियागत समस्या समाधान गर्न आवश्यक छ भन्नेबारे छलफल भएको जनाइएको छ । सम्मेलनका क्रममा सोकेसमा राखिने आयोजनाको पूर्वतयारीका विषयमा पनि छलफल भएको थियो ।

    आगामी वैशाख ९ र १० गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारको तयारी छ । सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । निर्देशक समितिको पहिलो बैठक मंसिर १० गते र कार्यान्वयन समितिको पहिलो बैठक मंसिर १९ गते बसेको थियो । प्राविधिक समितिको बैठक भने अझै बस्न सकेको छैन ।

    सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी गर्ने वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने र सम्मेलनको समग्र पक्ष हेर्ने काम निर्देशक समितिको हो । अर्थमन्त्रीको संयोजकत्वमा गठित उक्त समितिमा परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति पर्यटन, उद्योग, कृषि, सहरी र संघीय मामिलामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव, निजी क्षेत्रका तीन छाता संस्थाका अध्यक्ष सदस्य छन् ।

    निर्देशक समितिमा पेश गर्ने प्रस्ताव तयार गर्ने, सम्बद्ध सरोकारवालासँग आवश्यक समन्वय गर्ने र सम्मेलनको समग्र तयारीका लागि निर्देशक समितिलाई आवश्यक सहयोग गर्ने जिम्मेवारी कार्यान्वयन समितिको हो । मुख्य सचिवको संयोजकत्वमा विषयगत मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर र निजी क्षेत्रका छाता संस्थाका अध्यक्ष सदस्य रहनेगरी कार्यान्वयन समिति बनाइएको छ ।

    लगानी सम्मेलनमा प्रस्तुत हुने आयोजनाको स्थिति विश्लेषण गरी परियोजनाको अवधारणा बनाउने, सम्मेलनमा प्रस्ताव गर्ने आकर्षक र भरपर्दो आयोजनाको विकास गर्ने, सम्मेलनमा गरिने विभिन्न समझदारीपत्र तथा सम्झौताको आवश्यक तयारी गर्नेलगायत कामका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव संयोजक रहने गरी विभिन्न विषयगत मन्त्रालयका सहसचिव सहितको प्राविधिक समिति बनाइएको छ ।

  • ‘एचआइभी संक्रमितले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग’

    ‘एचआइभी संक्रमितले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग’

    काठमाडौं । एचआइभी संक्रमितहरुको छाता संगठन राष्ट्रिय एचआइभी तथा एड्स महासघंले संक्रमितमाथिको विभेद अन्त्य गर्न माग गरेको छ ।

    ७५ औ विश्व मानवअधिकार दिवसको अवसरमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संक्रमित माथि अहिले पनि विभिन्न विभिन्न खालको भेदभाव र अपमान हुने गरेको पाइएकाले उक्त माग गरेको हो ।

    राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनले कुनै पनि नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको भएपनि संक्रमितमाथि घरपरिवार, समाजले गर्ने लाञ्छना घृणा गर्ने व्यवहार नेपालका दुर्गम ठाउँ,अशिक्षित समूहमा कायम रहेको राष्ट्रिय एचआइभी तथा एड्स महासंघका कोषाध्यक्ष हिरामणी सिटौलाले बताए।

    संक्रमितहरूलाई भेट्यो कि एचआइभी सरिहाल्छ भन्ने व्यवहारको कारण संक्रमितहरू नजिकको स्वास्थ्य संस्थामा सेवा लिन जानै नसक्ने स्थिति रहेको, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवाको अस्वीकृति,गोपनीयता उल्लंघन,उपचार सेवामा अपर्याप्त पहुँचको सामना अहिले पनि गर्नु परिरहेको महासंघले जनाएको छ ।

    ‘चिकित्सकहरूले नै संक्रमितमितहरूले गोपनीयता खुलाइदिएका घटनाको कारण धेरै संक्रमितहरू नजिकका स्वास्थ्य संस्थामा उपचार लिनबाट वञ्चित भएका महासंघकै परियोजना अधिकृत राजेश्वरी प्रजापतिले जानकारी दिइन् । समाजले गर्ने विभेदपूर्ण व्यवहार थाहा पाउने, विभिन्न अवसरबाट वञ्चित हुनु परेपछि आत्महत्याको सोच आउने र प्रयास गरेको समेत पाइएको बताइन्।

    संक्रमितहरूलाई घर निकाला, स्वास्थ्य संस्थामा उपचारबाट वञ्चित गर्ने, अरूको पालो सकिएपछि उपचार गर्ने, रोजगारीबाट निकाला गर्ने,एचआइभी संक्रमित बालबालिकालाई स्कुलमा भर्ना हुनबाट वञ्चित गर्ने, एचआइभी संक्रमित बालबालिकाको नागरिकता नबनाइदिने, एचआइभी संक्रमित महिलालाई अंश तथा नागरिकताबाट वञ्चित गर्ने जस्ता विभेद अहिले पनि कायम रहेको महासंघले जनाएको छ ।

    नेपालमा एचआइभी संक्रमितहरुको संख्या ३० हजार रहेको छ। संक्रमित मध्ये २४ हजार ३ सय जनाले एचआइभी भाइरसको औषधी नियमित रुपमा सेवन गरिरहेका छन्। बाँकी संक्रमित सम्पर्कमा आएका छैनन्। सरकारले सन् २०३० सम्ममा औषधी पुरै प्रतिशत सङ्क्रमितले औषधी सेवन गरेको स्थिति बनाउने लक्ष्य लिएको छ।

  • संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

    संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

    काठमाडौं । संघीय संसद्को नयाँ महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।
    सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

    पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् ।

    वर्तमान महासचिव डा. भरत गौतमले सोमबार राष्ट्रपति पौडेलसमक्ष राजीनामा दिएका छन्। उनले ८ महिना कार्यावधि बाँकी रहँदै राजीनामा दिएपछि पाण्डे नयाँ महासचिव हुन लागेका हुन्।

    संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायधिवक्ता थिए। उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिवका लागि सिफारिस गरेर नियुक्त गरिएको थियो।

    राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले त्यसअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेलाई महासचिव बनाउन लागिएको स्रोतले बतायो ।

    पाण्डेलाई नायव महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो ।

  • एक दर्जन निर्माण कम्पनी एक वर्षदेखि तीन वर्ष सम्मलाई कालोसूचीमा

    एक दर्जन निर्माण कम्पनी एक वर्षदेखि तीन वर्ष सम्मलाई कालोसूचीमा

    काठमाडौं । सरकारले एक दर्जन निर्माण कम्पनीलाई एक देखि तीन वर्ष सम्मका लागि कालोसूचीमा राखेको छ ।

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो।

    सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ।

    त्यस्तै पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवालाई दुई वर्ष कालोसूचीमा राखेको छ। त्यस्तै, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष कालोसूचीमा राखिएको छ।

    पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई डेढडेढ वर्ष कालोसूचीमा राखिएको छ।

  • सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारद्वारा सम्मान

    सबिता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारद्वारा सम्मान

    काठमाडौ । भारतीय मानव अधिकार परिषदले लामो समयदेखि अटिजम भएका बालबालिकाहरुको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेकी सामाजिक अभियान्ता सविता उप्रेती लाई ‘अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’ बाट सम्मान गरेको छ ।

    संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १३ औँ अन्तराष्ट्रिय मानवअधिकार शिखर सम्मेलन र पुरस्कार–२०२३, डिसेम्बर १० को दिन भारतको नयाँ दिल्लिमा आयोजित एक बिशेष कार्यक्रममा उप्रेतीलाई उक्त सम्मान प्रदान गरिएको छ । यो पुरस्कार १४० सदस्य राष्ट्र भएको मानव अधिकार परिषदको प्रतिष्ठित पुरस्कार मानिन्छ ।

    उप्रेतीले मानव अधिकार, शान्ति,करुणाका साथ बहुआयामिक मानवीय सेवाहरू मार्फत गरेका कार्यको अथक र निस्वार्थ रूपमा काम गर्नु साथै विशेष गरी युवा पुस्तालाई केही उल्लेखनीय उपलब्धिहरू तर्फ प्रेरित गरेको भनी उक्त अवार्ड शान्ति, सद्भाव, मानव अधिकारको संरक्षण र प्रवर्द्धन र मानवताको सेवामा उत्कृष्ट योगदानको लागि भनी अन्तराष्ट्रिय मानव अधिकार परिषदले सबैभन्दा प्रतिष्ठित संस्थागत अन्तराष्ट्रिय मानव अधिकार पुरस्कारले उप्रेतीलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

    पुरस्कारको शीर्षकः अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ रहेको छ भने पुरस्कारको श्रेणीः मानव अधिकार, शान्ति, र मानवीय सेवाहरू प्रवर्द्धन गर्न प्रेरणादायी र दूरदर्शी नेतृत्व रहेको छ ।
    ठूलो व्यक्तिगत जोखिम, त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला, सशक्तीकरण तथा बालबालिका सेवा र वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गर्ने विश्वभरका महिलाहरुलाई यो पुरस्कार दिने गरिन्छ । यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो ।

    सबिता उप्रेती नेपालमा विगत तेह्र बर्ष देखि बिशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC) स्थापना गरि अटिजम बालबालिकाहरुको सेवामा आफ्नो सम्पुर्ण जीवन समर्पित गरेकी छन । हाल यस संस्थाको काठमाण्डौ नरेफाँट,गोठाटार र भक्तपुर ताथलीमा सहित तीन वटा शाखा संचालन गरि ६० जना बालबालिका तथा किशोर किशोरीहरुलाई बिशेष शिक्षा र थेरापी सेवाहरु प्रदान गरिदै आईरहेकी छन ।

  • जाजरकोट भूकम्पबाट ९ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धनमा क्षति

    जाजरकोट भूकम्पबाट ९ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धनमा क्षति

    काठमाडौं । जाजरकोट भूकम्पबा नौ करोड रुपैयाँ भन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ।

    भूकम्पको कारण २४ हजार पाँच सय एक घरमा क्षति पुग्दा भण्डारण गरेर राखिएका रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।

    गत कात्तिक १७ गते जाजरकोटका रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

    ६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ।
    कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको हो।

    जाजरकोट भूकम्पले जिल्लाभर रु पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ बराबरका पशुपन्छीमा क्षति भएको छ। जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन्।

    खाद्यान्न भण्डारण गर्न आग्रह

    कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि सम्लग्न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ।

    खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आउने जानकारहरुले बताएका छन्।

    जाजरकोटको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो। जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न स्थानीयलाई आग्रह गरेको छ। रासस

  • बालाचतुर्दशी: पितृ मोक्षका लागि शतबीज छर्ने दिन,किन छरिन्छ शिवालयमै शतबीज ?

    बालाचतुर्दशी: पितृ मोक्षका लागि शतबीज छर्ने दिन,किन छरिन्छ शिवालयमै शतबीज ?

    काठमाडौं । आज मुलुकभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिएको छ । गएराति दीप दान गरेर विहान सबेरै शिवालयमा शतबीज छरिएको हो ।

    आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्।

    मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि छर्ने चलन छ।

    यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ। यसका साथै शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ।

    शतबीजको एक गेडा अन्न छर्नाले सुन दान गरे बराबरको फलसमेत प्राप्त हुने धार्मिक मान्यता छ। मंसिर कृष्ण त्रयोदशीका दिन शतबीज छर्ने बेलासम्म आफ्ना पीतृहरूको नाममा बत्ती बाल्ने गरिन्छ। यसैक्रममा दिवङ्गत पीतृहरुको नाममा दीपदान गर्न लाखौं भक्तजन आइतबार पशुपति क्षेत्रमा जम्मा भएका छन्।

    आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

    बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउछन् ।

    शतबीज छर्नुका पछाडि विभिन्न धार्मिक कथनहरु जोडिएका छन् । भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ ।

    वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

    यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

    त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

    आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएका थिए। मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

    माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने धार्मिक मान्यता रहेको छ। धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।

  • बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु

    बाङ्लादेशमा विपक्षी पार्टीका ५ सदस्यको जेलमा मृत्यु

    काठमाडौं । प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् । 

    बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आगामी जनवरी ७ मा हुन गइरहेको आम निर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ । 

    बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल प्रदर्शनपछि भएको ‘अभूतपूर्व कारबाही’ मा पछिल्ला पाँच सातामा उसको सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ । प्रहरीले बिएनपीको गिरफ्तारीको आँकडालाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन । 

    कैदी परिवारका केही सदस्यसहित बिएनपीका केही हजार समर्थक कार्यकर्ताहरूको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए । गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को प्रदर्शनपछि कम्तीमा १० हजार विपक्षी समर्थकलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो । 

    प्रहरीका अनुसार सो प्रदर्शनपछि भएको हिंसामा एक प्रहरी अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको तथा करिब तीन सय बसमा आगजनी भएको थियो । यद्यपि बिएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० मानिसको ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गत महिना प्रतिबन्ध लगाइएको थियो । 

    बिएनपीले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको पार्टीका कानून प्रमुख कैसर कमालले एएफपीलाई बताउनुभयो । “हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ, यो गम्भीर छ”, उहाँले भन्नुभयो, “राष्ट्रव्यापी कारवाहीमा गिरफ्तार गरिएपछि धेरै बिएनपी कार्यकर्तालाई प्रहरी हिरासतमा प्रताडित गरिएको थियो भन्ने हामीलाई थाहा भएको छ ।” रासस, एएफपी 

  • गुप्चरकै शैक्षिक प्रमाणपत्र नक्कली, माधव बस्नेतविरुद्ध अख्तियारले हाल्यो मुद्दा

    गुप्चरकै शैक्षिक प्रमाणपत्र नक्कली, माधव बस्नेतविरुद्ध अख्तियारले हाल्यो मुद्दा

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत(गुप्चर) माधव बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।

    उनले शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

    अनुसन्धान हुँदा विभागका तत्कालीन अनुसन्धान अधिकृत बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ ।

    बस्नेतले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भई अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकोले उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको अख्तियारले जनाएको छ । । बस्नेतलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ।

  • वीर अस्पतालमा ‘ब्रेन ट्युमर र न्यूरो स्पाइन क्लिनिक’ सेवा

    वीर अस्पतालमा ‘ब्रेन ट्युमर र न्यूरो स्पाइन क्लिनिक’ सेवा

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा न्युरो सर्जरी विभाग अन्तर्गतको ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरु भएको छ । अस्पतालको न्यूरो सर्जरी विभागअन्तर्गतको ब्रेन ट्युमर केन्द्रमार्फत सेवा सञ्चालनमा ल्याइएको हो ।

    क्लिनिक सेवा साताको दुईदिन आइतबार र बुधबार बिहान १० देखि १ बजेसम्म सञ्चालन हुने छ । न्युरो सर्जरी ओपीडीको कोठा नम्बर ४३१ बाट सेवा लिन सकिने छ ।

    त्यस्तै साताको दुई दिन राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि वीर अस्पतालले सुरु गरेको छ । सोहीदिन र समयमा कोठा नम्बर ४२८ बाट न्युरो स्पाइन क्लिनिक सेवा दिइने अस्पतालले जनाएको छ ।

  • चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी

    चार वर्ष पछि सौराहामा हात्ति महोत्सव गर्ने तयारी

    काठमाडौं । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

    हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेका अनुसार लामो समयदेखि रोकिएको महोत्सव यसपटकदेखि नयाँ ढङ्गले गर्न लागिएको छ । महोत्सवका लागि सरोकारवालासँग छलफल सुरु गरिएको छ । हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरेर अघिल्ला महोत्सवभन्दा यसपटक फरक बनाउन खोजिएको उनले बताए । पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यस वर्ष त्यस्ता गतिविधि नगर्ने उनको भनाइ छ ।

    यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने योजनामा आयोजक रहेको क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बताए । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार गरिनेछ । हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता भएको भन्दै उनले हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्याङ्कन गरी हात्तीलाई सुन्दरीको उपाधि दिइनेछ । महोत्सवमा हात्तीलाई बिदा दिएर एक दिन उसलाई मनपर्ने परिकार खुवाइनेछ ।

    यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । यहात्तीको संरक्षण प्राथमिकतामा राखिएको भन्दै उनले हात्तीको स्याहार, स्वास्थ्यसहितको कार्यक्रम अहिलेको मुख्य आकर्षण हुने बताए ।

    यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतका अवलोकन गर्ने बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

    यहाँ आउने पर्यटकलाई नयाँ स्वादको मनोरञ्जन प्रदान गर्न हात्ती महोत्सव गरिँदै आएको सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिने महोत्सवले स्वदेशीसँगै विदेशी पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ ।