Category: समाचार

  • विश्व अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रको बिस्तार संतोषजनक : विश्व बैंक

    विश्व अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रको बिस्तार संतोषजनक : विश्व बैंक

    काठमाडौं । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने देखिएको छ । यस्तो प्रक्षेपण विश्व बैंकले गरेको हो । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने छ । यसै वर्ष अर्थात चालु आर्थिक वर्ष (आव) २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान विश्व बैंकले गरेको छ । गत आव २०७९–८० मा नेपालकको आर्थिक विस्तार मात्र १.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने प्रक्षेपण समेत विश्व बैंकले गरेको छ ।

    तर, विश्व अर्थतन्त्र भने आगामी आर्थिक वर्ष अर्थात सन् २०२५ मा समेत सुस्त नै रहने छ । आगामी वर्ष विश्व अर्थतन्त्रको विस्तार २.७ प्रतिशत मात्र रहने अनुमान विश्व बैंकको रहेको छ । खासगरी ठूलो अर्थतन्त्र भएका मुलुकको सुस्त विस्तारले समग्र विश्व अर्थतन्त्र प्रभावित हुने छ । यस वर्ष १.६ प्रतिशतले विस्तार भएको अमेरिकी अर्थतन्त्र आगामी वर्ष १.७ प्रतिशतले मात्र विस्तार हुने छ ।

    जापानी अर्थतन्त्र यस वर्ष ०.९ प्रतिशतले वृद्धि भएकोमा आगामी वर्ष ०.८ प्रतिशतले मात्र विस्तार हुने अनुमान गरिएको छ । चीनको अर्थतन्त्र यो वर्ष ४.५ प्रतिशतले विस्तार भएकोमा आगामी वर्ष ४.३ प्रतिशतले बढ्ने देखिएको छ । रुसको अर्थतन्त्र यस वर्ष १.३ प्रतिशत र आगामी वर्ष ०.९ प्रतिशतले मात्र बढ्ने छ । भारतको अर्थतन्त्रमा भने निकै राम्रो प्रगति देखिएको छ । यस वर्ष ६.४ प्रतिशतले बढ्ने भारतीय अर्थतन्त्रले आगामी वर्ष समेत सोही गति समात्ने देखिएको छ ।

    अर्थतन्त्र विस्तारका हिसावले भारतले केही वर्षयता उच्च गति समातेको छ । यो लय आगामी वर्ष समेत निरन्तर रहने छ । अघिल्लो वर्ष भारतले ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । आगामी वर्ष ६.५ प्रतिशतको वृद्धि प्राप्त गर्नेछ । दोस्रो स्थानमा बंगलादेश रहेको छ । उसले यस वर्ष ५.६ प्रतिशतको वृद्धि समात्ने देखिएको छ । आगामी वर्ष ५.८ प्रतिशतले बंगलादेशको अर्थतन्त्र विस्तार हुनेछ ।

    तेस्रो स्थानमा माल्दिभ्स रहेको छ । सो मुलुकले यस वर्ष ५.२ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ । आगामी वर्ष ५.५ प्रतिशत पुर्‍याउने छ ।

    चौथो स्थानमा भुटान छ । यस वर्ष ४ प्रतिशतको आर्थिक वृद्धिदर रहेको भुटानले आगामी वर्ष ४.६ प्रतिशतको वृद्धिदर समात्ने छ । पाँचौ स्थानमा नेपाल छ । छैठौं स्थानमा श्रीलंका र पाकिस्तानको समान वृद्धिदर रहने देखिएको छ । दुवै मुलुकले १.७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने भएका छन् ।

  • नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने, यी ठाउँमा रोकिन्छ गाडी

    नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने, यी ठाउँमा रोकिन्छ गाडी

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।

    यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो ४ घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए ।

    उनका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ । सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरेअनुरुप काम भइरहेको उनले जानकारी दिए ।

    उनले भने, ‘अत्यावश्यक सवारी साधन छाड्नुपर्ने हुँदा दिनमा चार घण्टा भनिए पनि दुई/तीन घण्टा राम्रो गरी काम भएको छ ।’ यथाशीघ्र छिटो काम सक्न भनिएको उनले बताए ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ ।

    गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनले जानकारी दिए । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो ।

    आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताए। गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उनले जानकारी दिए । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो ।

    विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् ।

    यी ठाउँमा रोकिन्छ गाडी

    नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछ ।

    काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने उनले जानकारी दिए ।

    यसैगरी, पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोकिनेछ ।

  • क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना

    क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ‍‍८ वर्ष कैद र ३ लाख जरिवाना सजाय सुनाएको छ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

    जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

  • ‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा

    ‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो। मंगलबार साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ।

    प्रहरीले बमजनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको जनाएको छ । उनको साथबाट नेपाली रुपैयाँसहित विभिन्न १७ देशका मुद्रासमेत बरामद गरेको छ ।

    जुन अहिले नेपाली बजारभाउअनुसार तीस लाख ९२ हजार रुपैयाँभन्दा बढी हुन आउँछ । साथै उनको साथबाट विभिन्न ब्रान्डका १४ वटा मोबाइल, दुईवटा ल्यापटपलगायत सामान पनि प्रहरीले बरामद गरेको छ ।

    उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

  • सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन, घरमा भेटियो पैसाको चाङ

    सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन, घरमा भेटियो पैसाको चाङ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो। मंगलबार साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ।

    प्रहरीले बमजनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको जनाएको छ । उनको साथबाट नेपाली रुपैयाँसहित विभिन्न १७ देशका मुद्रासमेत बरामद गरेको छ ।

    जुन अहिले नेपाली बजारभाउअनुसार तीस लाख ९२ हजार रुपैयाँभन्दा बढी हुन आउँछ । साथै उनको साथबाट विभिन्न ब्रान्डका १४ वटा मोबाइल, दुईवटा ल्यापटपलगायत सामान पनि प्रहरीले बरामद गरेको छ ।

    उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

  • रास्वपामा सदस्य बन्न स्वेच्छिक शूल्क

    रास्वपामा सदस्य बन्न स्वेच्छिक शूल्क

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यता शूल्क स्वेच्छिक बनाएको छ । पार्टीमा अब स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले सदस्यताबारे यस्तो प्रबन्ध गरेको हो। रास्वपाले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम राखेको थियो । अब त्यसमा बढाएर, घटाएर वा स्वेच्छिक शुल्क तिर्न सकिने प्रबन्ध गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

    ‘पार्टीको विभिन्न तहका समिति, पदाधिकारी तथा सदस्यहरुबाट प्राप्त प्रतिक्रिया, सुझावहरुलाई छलफल गर्दा, पार्टी सदस्यता शुल्क एक हजार रहेकोमा सदस्यता शुल्क बढी दिन इच्छुकले बढाएर दिन सक्ने र असमर्थ हुनेका हकमा घटाएर दिन सक्ने गरी गर्नुपर्ने भन्ने सुझावलाई मनन गरी सदस्यता त्यसमा थपेर वा घटाएर स्वेच्छिक सदस्यता शुल्क तिरेर पनि सदस्यता लिन सक्ने व्यवस्था गरियोे,’ महामन्त्री ढकालले भने।

    त्यस्तै पार्टीको विभिन्न तहगत निकायका पदाधिकारी तथा सदस्यहरूले पार्टीमा बुझाउनुपर्ने वार्षिक लेबी शुल्कलाई परिमार्जन गरिएको उनले बताए। यस्तै सार्वजनिक प्रशासनसम्बन्धी अध्ययन कार्यदल र ऊर्जा नीति कार्यदलको म्याद तीन महिना थप गर्ने निर्णय गरिएको उनले बताए।


    पार्टी केन्द्रीय निर्वाचन आयोगमा तीन जना सदस्य पनि थप गरिएको महामन्त्री ढकालले जानकारी दिए। भूमिनन्द बराल आयोगको सचिव छन्। त्यस्तै, अतिन्द्र दाहाल, राम गुरुङ, सुमित्रा पण्डित क्षेत्री सदस्य थपिएको प्रवक्ता ढकालले बताएका छन्।

  • काठमाडौंमा सार्वजनिक स्थलमा कुकुर- बिरालोलाई शौच गराए कारवाही हुने

    काठमाडौंमा सार्वजनिक स्थलमा कुकुर- बिरालोलाई शौच गराए कारवाही हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकामा घरपालुवा जनावरलाई सार्वजनिक स्थलमा शौच गराएमा जरिवाना तिर्नु पर्ने भएको छ । महानगरक्षेत्रभित्र कुनै पनि घरपालुवा जनावर धनी कुकुर बिरालोलाई शौच गराउन घर बाहिरका कुनै पनि सार्वजनिक स्थानमा निकाले कारबाही गरिने कृषि तथा पशुपन्छी विभागले जनाएको छ । सार्वजनिक स्थानमा शौच गराएको फेला परे महानगरले पाँच हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ।

    ‘जथाभावी सार्वजनिक ठाउँ, अर्काको घर आँगनमा वा निषेधित स्थलमा दिशा-पिसाब गराएर फोहोरमैला गर्न नपाइने भन्दै महानगरले जरिवाना तिराउने भएको हो । महानगर प्रहरी बलले यसको नियमन गर्ने भएको छ । केहि समयअगाडि महानगरले क्षेत्रभित्रका कुकुर र बिरालाहरूको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको थियो।

    जसमा घरपालुवा कुकुर बिरालालाई दर्ता गराउनु पर्ने, तिनीहरूको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जनावरधनीले गर्नुपर्ने उल्लेख छ। महानगर क्षेत्रभित्रका मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा छोड्न रोक लगाइएको छ ।

  • फ्रान्समा ३४ वर्षिय युवा बने प्रधानमन्त्री

    फ्रान्समा ३४ वर्षिय युवा बने प्रधानमन्त्री

    काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिन युवा प्रधानमन्त्री नियुक्त गरेका छन् । मङ्गलबार उनले ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका हुन् ।

    धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा राष्ट्रपति म्याक्रोनले स्वीकार गरेका हुन् । यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र यस गृष्ममा युरोपेली संसद्को निर्वाचनभन्दा पहिला भएको छ । म्याक्रोनको मध्यमार्गी शक्ति मरिनले पेनको नेतृत्वमा अति दक्षिणपन्थीको हातबाट पराजयको जोखिममा छ ।

    म्याक्रोनले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजेका बेला यसै साता मन्त्रिपरिषदमा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ । राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, “गणतन्त्रका राष्ट्रपतिले श्ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ र उहाँलाई सरकार बनाउने जिम्मेबारी दिनुभएको छ ।”

    फ्रान्सेली सरकारको नेतृत्व गर्ने दोस्रो महिला बोर्नपछि एटलले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने तयारी गरेको बताइएको छ । जनताबाट लोकप्रियता हासिल गर्न आवश्यक नभए पनि आफ्नो विनम्र आचरणले एटलले सहकर्मीहरूबाट सम्मान पाएको समेत समाचारमा उल्लेख छ । उनी राजनीतिकरूपमा महत्त्वपूर्ण शिक्षा मन्त्रालयमा आफ्नो कार्यकालपछि सरकारमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन् ।


    सोमबार बोर्नले राजीनामा दिएपछि एटलको नियुक्तिको अपेक्षा गरिएको थियो । द्रुत घोषणाको अनुपस्थितिले प्रभावशाली सरकारी अधिकारीहरू एटलको जबरजस्त पदोन्नतिबाट असन्तुष्ट थिए भन्ने हल्ला फैलिएको थियो । यद्यपि आन्तरिकमन्त्री गेराल्ड डर्मानिन तथा वित्तमन्त्री ब्रुनो ले माइरेसहित तनावको पछाडि रहेका भनिएका नजिकका स्रोतहरूले यसको कडा खण्डन गरेका छन् ।

    एटलको तुलना उनका गुरु राष्ट्रपति म्याक्रोनसँग गर्न थालिएको छ । जुनमा युरोपेली निर्वाचन र त्यसपछि सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनमा अति दक्षिणपन्थीहरूसँग म्याक्रोनको मध्यमार्गी शक्तिहरूको जित सुनिश्चित गर्नु एटलको सबैभन्दा महत्त्वपूर्ण काम हुनेछ ।

    एटलको अधिक लडाकू शैली उनका पूर्ववर्ती बोर्नको विपरीत हुने सम्भावना छ । यति सानो उमेरमा उच्च पद ग्रहण गरेपछि एटलको तुलना म्याक्रोनसँग अपरिहार्य भएको छ । म्याक्रोन ३९ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा फ्रान्सको राष्ट्रपति बनेका थिए । एटलले लरेन्ट फाबियसको यसअघिको रेकर्ड सजिलै तोडेका छन् । फाबियसलाई सन् १९८४ मा ३७ वर्षको उमेरमा फ्रेन्कोइस मितराँले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
    फ्रान्सेली सञ्चारमाध्यमले सन् २०२७ मा फ्रान्सेली राष्ट्रपतिले आफ्नो कार्यकालको सीमा नाघ्दा एटलले एलिसी प्यालेसमा म्याक्रोनको स्थान लिन सक्ने अनुमान गरिएको छ । सेप्टेम्बरमा फ्रान्सेली साप्ताहिक पोइन्टले भनेको थियो, “ग्याब्रिएल एटल, नयाँ म्याक्रोन ?”


    राससको सहयोगमा

  • तपस्वीको भेषमा बस्ने राम बहादुर बमजन पक्राउ

    तपस्वीको भेषमा बस्ने राम बहादुर बमजन पक्राउ

    काठमाडौं । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजन पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई पक्राउ गर्न खटिएको थियो। उनी दुई महिनादेखि काठमाडौंमा बसेको खुलेको छ ।

    उक्त टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य प्रहरीले पत्ता लगायो। त्यसपछि बुढानिलकण्ठस्थित रहेको एक घरमा डिएसपी भण्डारीको टोली पुगेको थियो । टोली पुगेपछि बमजनले आफूलाई पक्राउ गर्न आएको भेउ पाएसँगै भाग्न खोजेका थिए । उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएको खुलेको छ । बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको छ ।

  • डेडिकेटेड र ट्रंक लाइन विवादमा छानविन समिति गठन

    डेडिकेटेड र ट्रंक लाइन विवादमा छानविन समिति गठन

    काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनाएको हो । आयोगमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल सदस्य रहेनछन् । लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको तर बिलमा प्रिमियम रकम छुटेको दावी गर्दै विद्युत् प्राधिकरणले छुट बिलको पत्र काटेपछि विवाद उत्पन्न भएको थियो।

    पुरानो मिति अर्थात् कतिपय उद्योगलाई २०७२ साउनदेखि र कतिपयलाई २०७३ साउनदेखि ०७५ सालसम्म विद्युत् उपभोग गरेको तर प्रिमियम लगाउन छुट भएको भन्दै प्राधिकरणले ५८ उद्योगबाट १० अर्ब १४ करोड रुपैयाँ तिर्नुपर्ने पत्र काटेको थियो । डेडिकेटेड र ट्रंक लाइनको विवाद कै बीच महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विभिन्न उद्योगहरुको लाइन काटिदिएको छ । बिजुलीको लाइन काटिदिएको विरोधमा उद्योगी व्यवसायी र मजदुरहरुले प्रदर्शन पनि गर्दै आएका थिए।

    सरकारले उद्योगमा काटिएको लाइन तुरुन्त जोड्न पनि विद्युत प्राधिकरणलाई दिर्नेशन दिएको छ । विद्युत प्राधिकरणले छुट बिलको पत्र पठाए पनि त्यसका लागि चाहिने प्रमाण अर्थात् टीओडी मिटरको विवरण भने दिन सकेको छैन । उसले टीओडी मिटरको विवरण नभएको भन्दै अदालतलाई जवाफ पठाएको छ । अब समितिले विवादबारे छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ र सोही बमोजिम विवाद समाधान गरिनेछ ।

  • मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास, एक जना पक्राउ

    मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास, एक जना पक्राउ

    काठमाडौं । सिराहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो।

    सोमबार खुकुरी प्रहारको प्रयास गरेको भीडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–८ अरङका घर भएका रामबाबु साह छन्।

    यसअघि कामतीले आफ्नो घर मिरब्याजी साहले बेचिदिएको भन्दै प्रशासनमा उजुरी दिएका थिए। उजुरी दिएको भन्दै मिटरब्याजी साहले कामतीमाथि आक्रमणको प्रयास गरेका थिए।

  • माइतीघरमा प्रदर्शनमा उत्रिएका अभियन्ता डा. गोविन्द केसी पक्राउ

    माइतीघरमा प्रदर्शनमा उत्रिएका अभियन्ता डा. गोविन्द केसी पक्राउ

    काठमाडौं । स्वास्थ्य अभियन्ता एवं सत्याग्रही प्रा. डा. गोविन्द केसी पक्राउ परेका छन् । विभिन्न माग राखेर माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको जानकारी प्रहरीले गराएको छ।

    प्रा. डा. केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

    यस्तो छ डा केसीको विज्ञप्ति–

    प्रेस विज्ञप्ति

    हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्युनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार अनि न्याय र सुशासनका लागि निरन्तर लडिरहेका छौं । तर एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरुले भने निरन्तर लुटतन्त्र र दण्डहीनतालाई प्रश्रय दिइरहेका छन् । भ्रष्टाचार आकाशिंदो छ । सार्वजनिक क्षेत्रका सेवा प्रदायक संस्थाहरु धराशायी हुने अवस्थामा छन् । नेताहरुले भने तिनलाई डुबाएर नाफाखोरी गर्ने निजी क्षेत्रका सीमित माफिया र अपराधीहरुसित साँठगाँठ गरिरहेका छन् । उता वास्तवमै उद्यम र व्यवसाय गर्ने, नियमसंगत रुपमा कर तिर्ने व्यवसायीहरु कठिन परिस्थितिमा छन् ।

    यस्तो अवस्थामा आम मानिस विरोध र प्रदर्शनमा उत्रनु स्वभाविक हो । लोकतन्त्रमा यो हामी नागरिकको आधारभुत अधिकार पनि हो ।

    तर प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न पाउने हाम्रो संविधान प्रदत्त अधिकार समेत खोसेर नागरिकको मुख थुन्न खोजेको छ । स्मरण रहोस करिब पांच वर्ष अघि ओलीको सरकारले माईती घर मंडला लगायत अधिकांश स्थानहरूमा आम भेला तथा प्रदर्शनमा रोक लगाएपछि हामीले त्यसको शान्तिपूर्ण ढङ्गले नियमित रूपमा अवज्ञा गरे पछि – ओली सरकार सो आदेश फिर्ता लिन वाध्य भएको थियो।

    अहिले आएर देउवा दम्पती, प्रचण्ड र माधव नेपालको सरकारले मानव अधिकारको ठाडो उल्लंघन गरी लोकतन्त्र र देशको संवैधानिक व्यवस्थाको खिल्ली उडाई रहेका छन्। अहिले देशमा जति पनि दण्डहीनता र अत्याचार व्याप्त छ, त्यसको जडमा छ द्वन्द्वकालमा भएका जघन्य र मानवताविरुद्धको अपराधका दोषीहरुलाई दण्ड नभएको अवस्था ।

    सो यूद्धमा युद्धरत दुवै पक्ष( राज्य र माओवादी तर्फ) बाट साधारण नागरिक , सुरक्षा कर्मी र माओवादी लडाकुहरु लगायत गरेर करिब १३,००० व्यक्तिहरू मारिए भने १,३०० व्यक्तिहरू वेपत्ता पारिए। त्यस्तै हजारौ घाईते तथा अंग भंग वनाइए, यातना पाए। हजारौंलाई गैरकानुनी ढंगले वन्दी वनाईयो/अपहरण गरियो – यातना दिइयो, ठुलो संख्यामा महिलाहरु बलात्कृत भए ।

    हजारौं बालबालिकाहरुका हातबाट कलम खोसेर राइफल थमाउँदै उनीहरुलाई युद्धको आगोमा हालियो। उक्त द्वन्द्वका अधिकांश पिडितहरुलाई अझै पनि न्यायबाट वन्चित गरेर राखिएको छ । जवकी पीडकहरु वृहत् शान्ति सम्झौता भएदेखि प्राय निरन्तर सत्तासीन छन्।

    साधारण नागरिक लाई सानो गल्ती को सजाय हुने देशमा मानवता विरोधी जघन्य अपराध गर्नेहरु उचित सजाएको भागी वन्नु नपर्ने किन? ‘चोरलाई चौतारी साधुलाई सुली’ भनेको यही हैन र? हामीले लामो समयदेखि भन्दै आएका छौं: अब त्यो दण्डहीनता अन्त हुनुपर्छ र पीडितले न्याय पाउने गरी शीघ्र संक्रमणकालीन न्याय प्रक्रिया टुंगिनुपर्छ ।

    यो अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि लड्ने र अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । विगत लामो समयदेखि यी मुद्दाहरु उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका हौं । त्यसैले निम्न मागहरु राखेर हामीले आज पुन: माइतीघर मण्डलाको कथित निषेधाज्ञा तोड्ने निर्णय गरेका छौं ।

    प्रदर्शनका मागहरुः
    १) सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस् ।

    २) नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गरियोस् ।

    ३) चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति सर्वोच्च अदालत वाट रोकिएकाले तत्काल अदालतले वाटो खोली नियुक्ति अघि वडाईयोस ।

    ४) यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस्ः गेटामा तत्काल हामीसित सम्झौता भएबमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याईयोस् ।

    चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्याइयोस् । जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेज वा प्रतिष्ठानहरु खोलियोस् । १०० शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम हरु शुरु गरियोस् ।

    वर्षौंसम्म अड्काएर राखिएको, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित उच्च शिक्षा ऐन शिघ्र जारी गरियोस्। ऐन निर्माण हुन्जेल -भागवण्डा नमिलेर महिनौं सम्म खाली राखिएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीहरुका रिक्त पदमा प्रस्तावित ऐनमा भएका प्रावधानहरुको आधारमा तुरुन्त नियुक्ति गरियोस।

    एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गरियोस् । सरकारी अस्पताल( स्वास्थ्य केन्द्र/चौकी) हरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधि – उपचार हरु पाइने सुनिश्चित गरियोस् ।

    प्रा. डा. गोविन्द केसी २४ पौष, २०८०।

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

    दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । अध्यक्ष खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमार्फत मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन् ।

    उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । ५ वर्ष कार्यकालको सकिन ७ महिना बाँकी हुँदै उनले राजीनामा बुझाएका हुन् ।

    अध्यक्ष खनाल माथि टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भ्रष्टाचार गरेको, अवैध कल बाइपास गरेको लगायत आरोप लागेका छन् ।

    टेरामक्समा अनियमितता भएको भन्दै अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन समेत अगाडि बढाइसकेको छ ।

  • ठगिएका रियल गोर्खा सहकारीका पीडितलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

    ठगिएका रियल गोर्खा सहकारीका पीडितलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

    ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए ।

    उनले भने, ‘सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने भएकाले जतिसक्दो छिटो सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेका छौँ ।’

    प्रहरी उपरीक्षक अधिकारीले काठमाडौँको तीनकुने केन्द्रीय कार्यालय भई जोरपाटी र भक्तपुरका विभिन्न क्षेत्रमा उक्त सरकारीले सेवा दिएको र सोही क्रममा सञ्चालक समितिका सदस्यले निक्षेपकर्तालाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाइ निक्षेपकर्ताको ठूलो रकम हिनामिना गरेको पाइएको बताए।

    अहिलेसम्मको अनुसन्धानमा रु १२ करोड ३५ लाख बचत रकम अपचलन तथा हिनामिना गरेको पाइएको उनले बताए । यसरी रकम हिनामिना गरी फरार रहेका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरी अनुसन्धान थालिएकाले बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन ब्यूरोले आग्रह गरेको छ ।

    कठायत र ओझाले सर्वसाधारणलाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिकरुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका पारी रकम सङ्कलन गरेका थिए ।

    समय पुगेपछि उक्त संस्थामा बचतकर्ताले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिएको तथा लामो समयदेखि ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराउन आवश्यक पहल नगरी संस्था नै बन्द गरेर फरार भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

  • माल्दिभ्स र भारतबीच किन चर्कियो द्धन्द्ध, पर्यटनमा कस्तो असर ?

    माल्दिभ्स र भारतबीच किन चर्कियो द्धन्द्ध, पर्यटनमा कस्तो असर ?

    काठमाडौं । भारत र माल्दिभ्सबीच चर्किएको वाकयुद्धले माल्दिभ्सको पर्यटनमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ । माल्दिभ्सले भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्रीलाई निलम्बन गरिसकेको छ । तर, भारतमा ब्वाइकट माल्दिभ्स अभियान चलाइएको छ । यस अभियानलाई क्रिकेट र बलिउड सलिब्रेटीले समेत साथ दिएका छन् ।

    माल्दिभ्स भारतीय भीआइपी र सेलिब्रेटीहरुबीच लोकप्रिय गन्तब्य हो । पछिल्लो समय भारतीयहरुले हजारौं बुकिंग रद्द गरेको समाचार सार्वजनिक भइरहेका छन् । माल्दिभ्सका तीन जना मन्त्रीले सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई विदूषक, आतङ्ककारी र इजरेलको कठपुतली भनेका थिए।

    मोदीबारे त्यस्तो टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको थियो । माल्दिभ्सको विदेश मन्त्रालयका एक प्रवक्ताले ती टिप्पणीहरू व्यक्तिगत भएका र तिनले सरकारको धारणा प्रतिनिधित्व नगर्ने बताए। ती मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएको हो । सोमवार माल्दिभ्सका दिल्लीस्थित उच्चायुक्त इब्राहिम शाहिबलाई भारतीय विदेश मन्त्रालयबाट बाहिरिँदै गरेको देखिएको थियो।

    माल्दिभ्सका लागि भारतीय उच्चायुक्त पनि मालेमा त्यहाँको विदेश मन्त्रालय गएका थिए। तर भारतीय उच्चायुक्तको कार्यालयले मुनु महावर एउटा पूर्वनिर्धारित बैठकका लागि गएको बताएको छ। गत वर्ष सत्तामा आएका मुइज्जूले गत वर्ष झन्डै ७५ भारतीय सैनिकलाई माल्दिभ्स छाड्न आग्रह गरेपछि भारत र उक्त टापुराष्ट्रबीच तनाव उत्पन्न भएको थियो। निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् ।

    उनीहरूलाई बर्खास्त गर्न माग गरिएको भए पनि माल्दिभ्सका सञ्चारमाध्यमहरूले ती मन्त्रीहरूलाई निलम्बन मात्र गरिएको जनाएका छन्। ती मन्त्रीहरूले मोदीले भारतको लक्षद्वीपका टापुहरूको पर्यटन प्रवर्धन गर्ने खालका तस्बिरसहित गरेको पोस्टमा त्यस्तो प्रतिक्रिया जनाएका थिए। शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरिन्। केहीले माल्दिभ्समा बिदा मनाउन जाने आफ्नो योजना रद्द गर्ने घोषणा पनि गरे। गत वर्ष माल्दिभ्स जाने पर्यटकमध्ये सबैभन्दा ठूलो भाग भारतीयहरूको थियो।

    भारतीय टिकट बुकिङ साइट ईजमाईट्रिपका प्रमुख कार्यकारी अधिकृतले उनको कम्पनीले माल्दिभ्सका लागि सबै बुकिङ अहिलेका लागि स्थगित गरिएको बताएका छन्। माल्दिभ्स सफा बालुवायुक्त समुद्री तट र रिसोर्ट एवं मुगाबाट बनेका टापुका लागि प्रसिद्ध छ। बलीवुड कलाकार अक्षय कुमार र केही क्रिकेटरसहित प्रख्यात भारतीयहरूले माल्दिभ्सका मन्त्रीले गरेका ती टिप्पणीप्रति दुःख व्यक्त गरेका छन्।

  • लेवनानमा इजरायलको आक्रमणबाट हिज्बुल्लाहका नेता मारिए

    लेवनानमा इजरायलको आक्रमणबाट हिज्बुल्लाहका नेता मारिए

    काठमाडौं । इजरायली आक्रमणमा लेबनानस्थित हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएका छन् । ड्रोन हमलामा हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएको विवरण सार्वजनिक भएको बीबीसीले लेखेको छ । हिज्बुल्लाह कमान्डर विसाम तावीलको दक्षिणी लेबननमा निधन भएको बताइएको छ। लेबनानका सरकारी सञ्चारमाध्यमले बिन्त जबेल जिल्लामा एउटा कारलाई निशाना बनाइएको र उक्त कार सडकबाट हटेको अनि त्यसपछि त्यसमा आगो लागेको जनाएका छन्।

    हिज्बुल्लाहले आफ्नो राद्वान फौजका वरिष्ठ कमान्डर विसाम तावीलको हत्या भएको पुष्टि गरेको छ। उसले आफ्ना कमान्डरको मृत्युबारे विस्तृत विवरण दिएको छैन। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरेली हमलामा त्यहाँ २३ हजार जना जतिको मृत्यु भइसकेको छ। त्यसमध्ये आधा जति बालबालिका र महिलाहरू रहेका बताइएको छ।

    गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा इजरेली हमलाका कारण ७३ जनाको हत्या भएको र ९९ जना घाइते भएको जनाएको छ। गत अक्टोबर १२ मा हमासले इजरेलमाथि गरेको हमलामा १ हजार २ सय जति मानिसहरू मारिएका थिए भने करिब २४० जनालाई हमासले बन्धक बनाएको थियो। गाजाको मानवीय अवस्थालाई लिएर संयुक्त राष्ट्रसङ्घीय निकायहरूले चिन्ता व्यक्त गरिरहेका छन्। पोप फ्रान्सिसले पनि उक्त क्षेत्रमा युद्धविरामका लागि आग्रह गरेका छन्।

  • महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

    महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

    काठमाडौं । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए ।

    दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते दुबैजनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी गिरीले बताए । दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरुको उपचार जारी छ ।

  • राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

    राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

    काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध उजुरी हाल्न सकिने दिन तोकिएको छ । सोमबार मनोनयन दर्ता गरिएको थियो ।
    निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका ताकिएको हो ।


    राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

    उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक\एक मतदान स्थल र दुई\दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।

  • सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने सहमति

    सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने सहमति

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो । नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इण्डियन चेम्बर अफ कमर्सका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरे ।

    साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालालाई प्लेटफर्म प्रदान गर्ने बताइएको छ । दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुने समेत सीएनआईले जनाएको छ । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि लगायत क्षेत्रमा लगानीको अवसर रहेको भन्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह गरे ।

    इण्डियन चेम्बर अफ कमर्सका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्व दिंदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उनको भनाइ थियो ।

    परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यावसायिक विकासमा यूएसीको महत्वबारे प्रकाश पारे । उनले यूएसीले एसियन राष्ट्र बीचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । परिसंघका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्ने र क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्न यो सहकार्य सहयोगी हुने बताए ।

  • काठमाडौंबाट बरामद भयो ४७ किलो चाँदी, ३ जना पक्राउ

    काठमाडौंबाट बरामद भयो ४७ किलो चाँदी, ३ जना पक्राउ

    काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले ४७ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फ रहेको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनका अनुसार, उपत्यकाको भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न ठाउँमा छापा हानेको थियो ।

    त्यसक्रममा चाँदीका गहनासहित उनीहरु पक्राउ परेको रेग्मीले बताए । पक्राउ परेकाहरुलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

  • नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’

    नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’

    काठमाडौं । कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ।

    आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.१ पुष्टि भएको हो।

    यद्यपि नयाँ भेरियन्ट भनिएको जेएन.१ पनि ओमिक्रोनकै सब भेरियन्ट हो। मन्त्रालयले संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ।

    संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यको मापदण्डहरू (भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) पनि मन्त्रालयले आग्रह गरेको छ। पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.१ भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेको छ।

  • राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको उम्मेदवारी, कुन प्रदेशमा कति ?

    राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको उम्मेदवारी, कुन प्रदेशमा कति ?

    काठमाडौं । आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

    निर्वाचन कार्यतालिका अनुसार कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।

    कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच, मधेस प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट पाँच उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

    बागमती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा १५ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

    गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट आठ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

    लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट सात उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

    कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

    सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

    स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ।

  • राष्ट्रियसभा निर्वाचन : बागमतीमा १६ जनाको उम्मेदवारी

    राष्ट्रियसभा निर्वाचन : बागमतीमा १६ जनाको उम्मेदवारी

    बागमती प्रदेशमा ४ सिटका लागि १६ जनाको उम्मेदवारी
    काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेश क्लस्टरतर्फ १६ जनाले उम्मेदवारी दिएका छन्।

    सोमबार राजधानी हेटौंडा उपमहानगरपालिका–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा ४ सिटका लागि १६ जनाले उम्मेदवारी दिएका हुन् ।

    हेटौंडा प्रदेश निर्वाचन कार्यालयमा गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट छुट्टाछुट्टै उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।

    सत्ता गठबन्धनका तर्फाबट नेपाली कांग्रेसले २ सिटमा उम्मेदवारी दिएको छ । कांग्रेसबाट महिलातर्फ विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै, गठबन्धनकै तर्फबाट माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १-१ सिटमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट दलिततर्फ घनश्याम रिजालले उम्मेदवारी दिएका छन् ।

    एमालेले भने चार वटै पदमा एकलौटी उम्मेदवारी दिएको छ । एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

    राप्रपाको तर्फबाट भने हेमजंग गुरुङ्, पूर्ण बहादुर विश्वकर्मा, बालकुमारी ढल्लाकोटी, भरतमणि भट्ट र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट श्रीकृष्ण महर्जन, कृष्णलक्ष्मी दुवाल, संगीता नेपाली र हिमालयश्वर मुलले पनि उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्।

    आगामी माग ११ गते हुने निर्वाचनको लागि बागमती प्रदेश सभाको तर्फबाट ११० जना, प्रदेशको स्थानीय निकायको तर्फबाट २३७ गरी ३४७ मतदाता रहेका छन्।

  • बंगलादेशको विवादास्पद चुनावमा शेख हसिना विजयी, पाँचौँ पटक प्रधानमन्त्री बन्ने निश्चित

    बंगलादेशको विवादास्पद चुनावमा शेख हसिना विजयी, पाँचौँ पटक प्रधानमन्त्री बन्ने निश्चित

    काठमाडौं । विवादास्पद निर्वाचनमा विजयी भएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले निरन्तर चौथो पटक सरकारको नेतृत्व गर्ने सुनिश्चित भएको छ। उनको दल अवामी लीग र साझेदार दलहरूले ३०० सदस्यीय संसद्‌मा कम्तीमा २२३ सीट जितेका छन्। यो विजयपछि हसिना पुनः देशको कार्यकारी बन्न पाउने छिन्।

    बंगलादेशको मुख्य विपक्षी दल बंगलादेश न्याश्नलिस्ट पार्टी बीएनपीले निर्वाचन बहिष्कार गरेको थियो। हसिनाको पार्टी र साझेदारहरूले थप सीट पनि जित्ने अनुमान गरिएको छ। बीएनपीले निर्वाचनलाई ‘स्वाङ’ को सङ्ज्ञा दिएको छ। बीएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतवार सम्पन्न निर्वाचनको परिणाम आएको हो।

    आधिकारिक तथ्याङ्कमा झन्डै ४० प्रतिशत मत खसेको देखाइएको छ। यद्यपि आलोचकहरूले उक्त सङ्ख्या पनि बढाइचढाइ प्रस्तुत गरिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

    सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा मतदान भएको थियो। राजनीतिक विश्लेषक बदिउल मजुमदारका अनुसार निर्वाचन आयोगले मतदानको प्रतिशत बढाएको छ। ‘विभिन्न स्रोत र सञ्चारमाध्यममा प्रकाशित विवरणहरूलाई आधार मानेर हेर्दा [निर्वाचन आयोगले भनेको] मतदानको प्रतिशत र वास्तविकता मिल्दैन,’ उनले भने।

    निर्वाचनमा ४५ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। तर उनीहरूमध्ये अधिकांश अवामी लीगसँग आबद्ध व्यक्ति हुन्। जातीय पार्टीले पनि आठ सीट जितेको छ। निर्वाचनको परिणाम औपचारिक रूपमा घोषणा हुन बाँकी नै छ।

    शेख हसिनाको पाँचौँ कार्यकाल

    शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। त्यसपछि सन् २००९ मा उनी फेरि निर्वाचित भइन्। त्यसयता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी छन्। प्रधानमन्त्रीका लागि यो उनका लागि पाँचौँ कार्यकाल हुने छ। ‘यो देशमा प्रजातन्त्र कायम रहनुपर्छ भन्ने प्रत्याभूत गराउन मैले यथाशक्य प्रयास गर्दै आएकी छु,’ आफूले मतदान गरेपछि हसिनाले सञ्चारकर्मीहरूसँग आइतबार भनेकी थिइन्।

    अवामी लीगका महासचिव ओबैदुल कादरका अनुसार हसिनाले पार्टीका नेता तथा कार्यकर्तालाई विजयोत्सव नगर्न र जुलुस ननिकाल्न निर्देशन दिएकी छन्। ‘ह्यूमन राइट्स वाच’का अनुसार गत अक्टोबर २८ मा विपक्षी दलले र्‍याली निकाल्दा झन्डै १० हजार जना पक्राउ परेका थिए।

    त्यसपछि भएको हिंसामा कम्तीमा १६ जनाको ज्यान गएको थियो भने ५ हजार ५०० जनाभन्दा बढी घाइते भएका थिए। सरकारले ‘सत्तारूढ अवामी लीगका राजनीतिक प्रतिद्वन्द्वीहरूबाट जेल भरेको’ आरोप ह्यूमन राइट्स वाचको छ। यद्यपि अवामी लीले उक्त आरोप अस्वीकार गरेको छ।

    एकदलीय शासनको डर

    अवामी लीगको विजयका कारण देशमा एकदलीय शासन सुरु हुन सक्ने आशङ्का उत्पन्न भएको देखिन्छ। निकै थोरै मानिसलाई मात्र सरकारले दमन गर्न छोड्ला भन्ने लाग्छ। विपक्षी दल र नागरिक समाजले सरकारको वैधताबारे प्रश्न उठाइरहे दमन अझ बढ्न सक्ने डर देखिन्छ।

    प्रधानमन्त्रीको दल अवामी लीगले स्वतन्त्र कामचलाउ सरकार गठन गरेर निर्वाचन गराउनुपर्ने माग अस्वीकार गरेपछि बीएनपीले चुनाव बहिष्कार गरेको थियो।-बीबीसी

  • चितवनमा बोराभित्र भेटिएका शवको पहिचान खुल्यो,‘विवाहेतर सम्बन्धका कारण’ हत्या

    चितवनमा बोराभित्र भेटिएका शवको पहिचान खुल्यो,‘विवाहेतर सम्बन्धका कारण’ हत्या

    काठमाडौं । चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटै शवको पहिचान खुलेको प्रहरीले जनाएको हो ।

    उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। यसमा संलग्न व्यक्ति पनि भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । मृतक र आरोपितको नाम भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।

  • धानको उत्पादन बढ्यो, जमिन भने घट्दै

    धानको उत्पादन बढ्यो, जमिन भने घट्दै

    काठमाडौं । नेपालमा धानको उत्पादन बढेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०\८१ मा धान ४.३३ प्रतिशतले बढी उत्पादन भएको छ । यो चालु आवमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो ।

    गत वर्षभन्दा यो वर्ष दुई लाख ३७ हजार ७६२ मेट्रिक टन धान बढी उत्पादन भएको छ । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो । धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले बताएको छ ।


    धान उत्पादनमा वृद्धि भएपछि गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो । आव २०७९\८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएको थियो भने चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षभन्दा आठ हजार आठ सय हेक्टर क्षेत्रमा कम रोपाइँ भएको थियो तैपनि धान उत्पादनमा वृद्धि भएको कृषि मन्त्रालयले दाबी गरेको छ ।

    कृषि मन्त्रालयका अनुसार कुल धान बाली भित्र्याइएको क्षेत्रफल गत आवको तुलनामा ०.६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफल कायम भएको हो । यो क्षेत्रफल गत चार आवको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम रहेको कृषि मन्त्रालयले जनाएको छ ।

    धानको उत्पादन सबभन्दा कोशी प्रदेशमा र सबभन्दा कम कर्णाली प्रदेशमा भएको छ । उत्पादकत्वतर्फ कोशी प्रदेशमा ४.४३ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको छ भने मधेश प्रदेश ३.४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा पुगेको छ । गत आवभन्दा यो चालु आवमा मधेश प्रदेशमा बढी क्षेत्रमा धान रोपाइँमा भएको थियो तैपनि गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा कमी आएको छ ।

    कृषि मन्त्रालयका अनुसार गत वर्ष तीन लाख ७५ हजार हेक्टरमा धान रोपाइँ भएको थियो, जसमा १३ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो तर चालु आर्थिक वर्षमा तीन लाख ८३ हजार हेक्टरमा धान रोपाइँ भए पनि १३ लाख ३७ हजार मेट्रिक टन मात्र उत्पादन भएको हो । अरू सबै प्रदेशमा गत वर्षभन्दा धान उत्पादनमा वृद्धि नै भएको छ ।

    कृषि मन्त्रालयले धान उत्पादन वृद्धि हुनुमा उन्नत बिउको उपलब्धता र रोग किराको प्रकोपमा कमी, बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतालाई देखाएको छ । मधेश प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारण समग्र मधेश प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको कृषि मन्त्रालयले जनाएको छ ।

    मुख्य धानको तुलनामा चैते धान विगतको जस्तै गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वृद्धिको हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा रह्यो भने मधेश प्रदेश ऋणात्मक अवस्थामा रहेको छ ।

  • आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाको तयारीमा सरकार

    आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाको तयारीमा सरकार

    काठमाडौं । सरकारले आगामी अर्थिक वर्षएबाट आन्तरिक रोजगार प्रवर्द्धन वर्ष मनाउने तयारी गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन गर्दै आगामी वर्षदेखि सरकारले आन्तरिक रोजगारीमा जोड दिने बताएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले संरचना परिवर्तन गर्दै पालिकाहरुमा आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय गरेको छ ।

    मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार निर्देशक समितिको बैठकबाट आउँदो आर्थिक वर्षदेखि आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा अभियान सञ्चालन गर्ने निर्णय भएको छ । आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई अभियानका रूपमा सञ्चालन गर्न तीनै तहको सरकार, रोजगारदाता, विषयगत सङ्घ संगठन, सीप विकास प्रतिष्ठान लगायत श्रम तथा रोजगारीका क्षेत्रमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनसँग प्रत्यक्ष समन्वय र सहकार्य गरिने उनको भनाइ छ ।

    पालिका मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत र कानुनी आधार निर्माण गर्ने र श्रम बजारको नतिजामा सुधार हुने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचनामा परिमार्जन एवम् आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय भएको पनि उहाँले बताउनुुभयो । देशमा रोजगारीको अवसरमा सङ्कुचन हुँदै जाँदा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको भन्दै मन्त्रालयले यसको व्यवस्थापनमा देखिएका विविध चुनौती समेतलाई समाधान गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ ।

  • राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

    राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

    काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । निर्वाचन भने ११ माघमा हुने छ । सात प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता हुने छ । राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य तथा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ ।

    प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार चार सय ६२ रहने निर्वाचन आयोगले जनाएको छ । अघिल्ला वर्षहरुमा जस्तै यस चुनावमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

    माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल हरेक दुई वर्षमा सकिन्छ भने कार्यकाल छ वर्षको हुन्छ । अहिले २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ ।

  • बंगलादेशमा सत्तारुढ दललाई बहुमत

    बंगलादेशमा सत्तारुढ दललाई बहुमत

    काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।

    ३०० सिटका लागि भएको आम निर्वाचनमा बंगलादेश अवामी लिगले करिब २०० सिटमा जित हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले भने यो निर्वाचन देखावटीमात्र भएको भन्दै बहिस्कार गरेको थियो ।

    निर्वाचन आयोगका प्रवक्ताले ३०० मध्ये २९९ सिटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र अहिलेसम्मको परिणामको आधारमा अवामी लिगको सरकार बन्ने निश्चित भएको बताएका छन् । उनका अनुसार चुनावको अन्तिम परिणाम घोषणा हुन भने केही समय लाग्ने छ ।


    शेख हसिनाले गोपालगञ्ज-३ बाट शानदार जित हासिल गरेकी छन् । उनले २ लाख ४९ हजार ९६५ भोट पाएकी छन् । उनको निकटतम प्रतिस्पर्धी बंगलादेश सुप्रिम पार्टीका एम निजाम उद्दीनले ४६९ भोट मात्र पाएका छन् । शेख हसिनाले गोपालगञ्जबाट सन् १९८६ देखि आठ पटकसम्म चुनाव जित्दै आएकी छन् ।

    बंगलादेशको सत्तामा शेख हसिना सन् २००९ देखि नै छिन् । उनले यसपटक प्रमुख प्रतिपक्षी दल बीएनपीले बहिस्कार गरेपछि उनको पार्टी अवामी लिगएकलौटी जित हात पारेको छ । प्रधानमन्त्रीको रुपमा उनको यो अहिलेसम्मको पाँचौ कार्यकाल हुने छ ।

  • राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवारको टुंगो, कहाँबाट को परे ?

    राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवारको टुंगो, कहाँबाट को परे ?

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो । राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।

    कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाएका छन् । मधेशमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । उनी केन्द्रीय सदस्य र पार्टीको अनुशासन समितिको संयोजक हुन् । वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् । विष्णु देवी महिला संघ काठमाडौंको पूर्व अध्यक्ष हुन् भने बस्नेत तरुण दलको पूर्व अध्यक्ष हुन् ।

    गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाएका छन् । गोरखाका श्रेष्ठ प्रदेश महामन्त्री हुन् भने पदम बहादुर परियार तनहुँका हुन् । परियार अपाङ्ग पनि हुन्। उनीहरू दुवै जना संस्थापन इतर पक्षका हुन् । लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन् ।

    गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाएकी हुन् । कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाएका छन् । सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् । भट्ट कैलालीका पार्टी सभापति र अपाङ्ग हुन् भने बलदेव बोहरा कञ्चनपुरका पूर्व सभापति हुन् ।