Category: समाचार

  • अयोध्याको राम मन्दिरमा गरियो प्राण प्रतिष्ठा

    अयोध्याको राम मन्दिरमा गरियो प्राण प्रतिष्ठा

    काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलला (भगवान रामको बाल स्वरुप)को मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ। धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवम् वैदिक विधि विधानमार्फत् मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो।

    प्राण प्रतिष्ठाको कर्मकाण्डमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सरिक भएका छन्। प्राण प्रतिष्ठाका क्रममा मोदी मूर्ति राखिएको स्थान, गर्भगृहमा पुगेका थिए।

    २८ हजार स्क्वायर फिटमा फैलिएको मन्दिरलाई भारतकै सबैभन्दा ठूलो मन्दिर मानिएको छ । रड प्रयोग नगरिएको यो मन्दिर बनाउन २५८७ गाउँबाट माटो ल्याइएको बताइएको छ ।

    पाँचौ शताब्दी पुरानो मस्जित रहेको क्षेत्र राम मन्दिरको भएको भारतीय सर्वोच्च अदालतले सन् २०१९ नोभेम्बर ९ मा सात दशक चलेको लम्बेतान मुद्दामा फैसला गरेको थियो । फैसलामा मस्जिद बनाउन २५ किलोमिटर पर छुट्टै जग्गा भारत सरकारले दिलाउने पनि फैसला भएको थियो ।

    फैसलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको भूमि पूजा सन २०२० अगस्ट ५ मा गरेका थिए । सन् १९९० मा हालको सत्ताधारी भारतीय जनता पार्टीका नेता लालकृष्ण आणवानीले राम मन्दिरको मुद्दा लिएका थिए ।

  • काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ

    काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर-२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरेको हो ।

    उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ । पक्राउ परेका डाक्टरले आफू चीनमा अध्ययन गरेको दाबी गरेका छन्।

    प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् । त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ ।

    तर प्रहरीले उनीसँग अध्ययन गरेका प्रमाणपत्रहरु माग गर्दा उनले सक्कली प्रमाणपत्रहरु देखाउन सकेका छैनन्।

  • रुसको एक शहरमा बम विष्फोट, कम्तिमा २५ जनाको मृत्यु

    रुसको एक शहरमा बम विष्फोट, कम्तिमा २५ जनाको मृत्यु

    काठमाडौं । रुस नियन्त्रित दोनेत्स्क सहरमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको रुसी सञ्चारमाध्यमले पुष्टी गरेकाछन् । दोनेत्स्क क्षेत्रका रुसी नेता डेनिस पुसिलिनले आक्रमणको पुष्टि गर्दै २५ जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएको बताएका छन् । आपतकालिन सेवाका अधिकारीहरू उद्धारका लागि जुटिसकेका र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने उनको भनाइ छ । घटनाबारे युक्रेनले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । समाचार संस्थाहरूले सार्वजनिक गरेका तस्बिरहरूमा घाइते तथा मृतकहरू सडकमा लडेको अवस्था देखिन्छन् । त्यस्तै तस्बिरहरूमा विस्फोट भएको स्थल वरपरका पसलहरू ध्वस्त भएका देखिन्छ ।

    रुसी विदेश मन्त्रालयले घटनालाई सर्वसाधारणमाथिको ‘बर्बर आतंककारी आक्रमण’ भएको उल्लेख गरेको छ । पुसिलिनले बजारहरू व्यस्त रहेको मौका छोपेर ‘भयानक आक्रमण’ गरिएको बताएका छन् । दोनेत्स्क र पूर्वी युक्रेनको केही भूभाग रुसले २०१४ मा नियन्त्रणमा लिएको थियो । त्यसयता ती क्षेत्र आंशिक रूपमा रुसको नियन्त्रणमा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ को सेप्टेम्बर ३० एक जनमत संग्रहमा गर्दै दोनेत्स्क सहित खेर्सन, लुहान्स्क र जापोरिज्जा क्षेत्रलाई आधिकारिक रुपमा आफ्नो देशमा गाभेका थिए । दोनेत्स्क नजिकका मरिन्का र अभ्दिभ्का क्षेत्रमा हाल रुस र युक्रेनी सेनाबीच भीषण लडाईं भइरहेको छ । संघर्ष जारी रहेका क्षेत्रबाट दोनेत्स्क करिब २० किलोमिटरको दूरीमा छ ।

  • झण्डै २४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

    झण्डै २४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

    काठमाडौं । नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब पुगेको छ । चालु आर्थिक वर्ष (आव) २०८०\८१ को पहिलो ६ महिनामा ८५ अर्ब १३ करोड रुपैयाँबराबर सार्वजनिक ऋण थपिँदै २३ खर्ब ८४ अर्ब ४८ करोड सार्वजनिक ऋण पुगेको हो । २०८० असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब १० करोड सार्वजनिक ऋण थियो ।

    यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ९८ अर्ब ४ करोड रुपैयाँ छ । बाह्य ऋण भने ११ खर्ब ८६ अर्ब ४४ करोड छ । असार मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड र वाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड थियो । यस अवधिमा सरकारले लिएको कुल ऋण आकार भने खुद बढेको ऋणको दाँजोमा धेरै ठूलो छ ।

    चालु आव पहिलो ६ महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ हो । यसै अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत ७७ अर्ब ४५ करोड रुपैयाँ भुक्तानीसमेत गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । सोही आधारमा ६ महिनामा सार्वजनिक ऋणको खुद वृद्धि ८५ अर्ब १३ करोड रहेको देखिएको हो । पछिल्लो ६ महिनामा सरकारले ऋणको सावाँ–ब्याज तिर्नमात्र १ खर्ब १६ अर्ब खर्च गर्नुपरेको छ ।

    कार्यालयका अनुसार ६ महिनामा आन्तरिक ऋणको सावाँ भुक्तानीमा ५९ अर्ब ३७ करोड खर्च भएको छ । आन्तरिक ऋणको ब्याज भुक्तानीमा ३४ अर्ब १९ करोड गएको छ । उता, बाह्य ऋणको सावाँ भुक्तानीमा १८ अर्ब ७ करोड र ब्याज भुक्तानीमा ४ अर्ब ९३ करोड खर्च भएको कार्यालयको तथ्यांक छ । यसरी सरकारले ६ महिनामा ऋणको साँवा–ब्याज तिर्नमात्र १ खर्ब १६ अर्ब ५७ करोड खर्च गरेको छ ।

  • यु-१९ विश्वकप : न्युजिल्यान्डविरुद्ध चम्किए अर्जुन, हार्यो नेपाल

    यु-१९ विश्वकप : न्युजिल्यान्डविरुद्ध चम्किए अर्जुन, हार्यो नेपाल

    काठमाडौं । युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङमा अन्य ब्याटरको साथ नहुँदा नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग हारेको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भयो । ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन मात्र बनायो ।

    नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेले । अन्य ब्याटरले भने उनलाई साथ दिन सकेनन् । तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुके । तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए ।

    अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुल्शन झा २–२ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् । न्युजिल्यान्डका मासन क्लार्कले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २\२ विकेट लिए ।

    दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो । न्युजिल्यान्डको जितमा तेस्रो नम्बरका ब्याटर स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको शानदार अविजित शतकीय इनिङ खेलेका थिए ।

    कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । नेपालका प्रमुख बलर गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले १\१ विकेट लिए ।

  • दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ रिहार नजिक यात्रु बस दुर्घटना भएको छ । घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रदेश ३(०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका(१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बस बर्दियाबाट काठमाडौं जाने क्रममा थियो । बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले पट्टा भाँचिएर बस दुर्घटना भएको अनुमान गरिएको जनाएको छ ।

  • काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?

    काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?

    काठमाडौं । काठमाडौंको शोभाभगवतीस्थित कोठामा सँगै बस्ने महिलाको हत्या गरी भारत फरार भएका एक जना पक्राउ परेका छन् । सो स्थानमा हत्या भएको तीन महिनापछि शव फेला परेको थियो । गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका १५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा एक जना महिलाको शव फेला परेको थियो। सो घरकी घरबेटी सरिता गिरी अर्कै घरमा बस्ने गरेको पाइएको छ ।

    एक वर्षदेखि एक जोडी ‘लिभिङ टुगेदर’मा सो घरमा बस्दै आएको प्रहरीले जनाएको छ । तर उनीहरूको नाम-ठेगाना लगायतका विवरण घरबेटीलाई थाहा नभएको समेत प्रहरीको भनाई छ । शुक्रबार दिउँसो उक्त घरमा घरबेटी गिरी पुग्दा बाहिरबाटै ताला लगाइएको थियो। ताला लगाइएको घरमा बाहिरसम्म गन्ध आएपछि उनले स्थानीयलाई बोलाएको समेत प्रहरीले जानकारी दियो ।

    हल्लाखल्ला भएपछि प्रहरीलाई समेत बोलाइएको थियो। अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भूबाट डिएसपी पूर्णिमाकुमारी चन्द र जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष टोली खटिएको थियो। ढोका फोडेर हेरेपछि एक जना महिलाको शव भुँइमा सडिगलिसकेको अवस्थामा फेला परेको परिसर प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले बताए ।


    उनका अनुसार बाहिरबाट ताला समेत लगाइएको र भित्र महिला मृत फेला परेपछि हत्याकै आशंकामा अनुसन्धान अघि बढाएको थियो। ‘दुइ जना बस्ने घरमा महिला मृत फेला पर्नु र बाहिरबाट ताला लगाएको हुँदा हत्या हो भन्ने आशंकामा अनुसन्धान अघि बढ्यो,’ उनले भने, ‘घरेबेटीले आफ्नो घरमा बस्नेको विवरण नराख्दा मृत फेला परेकाको पहिचान सुरूमा खुलेन। अनुसन्धानकै क्रममा पहिचान खुल्यो।’

    एसएसपी खत्रीका अनुसार घरमा केही कागजात फेला परेपछि महिलाको पहिचान खुलेको हो। मृतक तनहुँ भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मिया हुन्। उनीसँगै बस्ने पुरूष भने गायब थिए। शव सडिगलिसकेको अवस्थामा हुनु र सँगै बस्ने पुरूष फेला नपरेपछि उनी नै मुख्य आरोपी हुनसक्ने प्रहरीको अनुमान थियो। ती पुरूषको पहिचान खुलाउन पनि प्रहरीले केही कागजातहरू फेला पारे। घरमा फेला परेका गार्मेटका कागजातबाट उनको पहिचान खुल्यो। उनी भारतको मोतिहारीका ४३ वर्षीय इकरामउल हक अन्सारी भएको उनले बताए।

    मृतक मिया र फरार रहेका अन्सारी दुबै जना विवाहित हुन्। उनीहरू छुट्टिएर काठमाडौंमा बस्दै आएका थिए। काठमाडौंमा गार्मेट उद्योगमा कालिगढको काम गर्ने जिबिएस गार्मेटबाट भदौ २४ गते दुई हजार रुपैयाँ भुक्तानी लिएको रेकर्ड कार्ड प्रहरीले घरबाट फेला पारेको थियो। जसबाट उनीसम्म पुग्ने आधार पाएको एसएसपी खत्री बताउँछन्। तर सोही बेला अन्सारी भारत भागिसकेको सूचना प्रहरीले पायो।

    बल्खुबाट बिहान करिब ६–७ बजेतिर वीरगन्ज जाने सुमो चढेर भागेपछि परिसरले भारतीय प्रहरीसँग समन्वय गर्‍यो। ‘अनुसन्धान गर्दै जाँदा उनी रक्सौल, गुजरात, लखनउ हुँदै भारतका विभिन्न स्थानमा दुइ महिनासम्म भारतमा बसिरहेका रहेछन्,’ एसएसपी खत्रीले भने, ‘आफूले गरेका हत्याबारे प्रहरीले थाहा पाएरपाएनन् भनेर साथीहरूसँग उनले निरन्तर सूचना लिइरहेका हुन्थे। तर प्रहरीले थाहा नपाएपछि अन्सारी काठमाडौं नै फर्किएर आए।’

    काठमाडौं आएपछि कालिमाटीस्थित बिएन फेसन गार्मेन्टमा काम गरिरहेको थाहा पाएपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको एसएसपी खत्रीले बताए।
    प्रहरीका अनुसार घटना कात्तिक पहिलो साता भएको हो। हत्‍या भएको यकिन मिति भने खुलिसकेको छैन। इकरामउल र सफिनाबीच पछिल्लो समय विवाद भइरहन्थ्यो।

    इकरामउलले मदिरा सेवन गरी विवाद गर्ने गरेका थिए। एक राति करिब ९ बजेदेखि सुरू भएको विवाद भोलिपल्ट बिहान ३–४ बजेसम्म भएको थियो। त्यसैक्रममा इकरामउलले भित्री ढोकाको आग्लोले प्रहार गरी गम्भीर बनाएको अनुसन्धानबाट खुलेको छ। चिकित्सकको पोष्टमर्टम रिपोर्टअनुसार सफिनाको शरीरका विभिन्न ठाउँमा चोट देखिएका छन्।

    कुटपिट गरेपछि घाँटीमा सलले बाँधेर हत्या गरेको देखिएको एसएसपी खत्रीले बताए। हत्‍यापछि डरले इकरामउल घरमा ताला लगाएर हिँडेका थिए। उनले घरको चाबी पनि झाडीमा फालेर बल्खुतिर हिँडेर गएका थिए। परिसरले उनलाई आइतबार सार्वजनिक गरेको हो।

  • बीपीका उपकूलपतिलाई प्रधानमन्त्रीको निर्देशन-‘तुरून्तै धरान गएर बैठक बोलाउनूस्’

    बीपीका उपकूलपतिलाई प्रधानमन्त्रीको निर्देशन-‘तुरून्तै धरान गएर बैठक बोलाउनूस्’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् ।

    प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्रीले उपकूलपति डा. कार्कीलाई भने, ‘तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्,अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’

    यसैबीच प्रधानमन्त्रीले सहकूलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न समेत निर्देशन दिएका छन्।

  • भूकम्प प्रभावितलाई प्रधानमन्त्री उद्धार कोषमा जम्मा भयो २८ करोड ४३ लाख

    भूकम्प प्रभावितलाई प्रधानमन्त्री उद्धार कोषमा जम्मा भयो २८ करोड ४३ लाख

    काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ करोड ४३ लाख ५४ हजार पाँच रुपैयाँ जम्मा भएको छ ।

    विभिन्न संघसंस्था र व्यक्तिहरूले कात्तिक १८ गतेदेखि हाल सम्मको अवधिमा उक्त रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    भूकम्पका कारण संरचना भत्किँदा जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो । भूकम्पले १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो ।

  • ‘रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन सकिदैँन’- प्रधानमन्त्री प्रचण्ड

    ‘रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन सकिदैँन’- प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपाली युवालाई तत्कालै फिर्ता ल्याउन नसकिने संकेत गरेका छन्।

    युगान्डा भ्रमणपछि आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसके पनि नेपालको आग्रहलाई रुसले मान्ने स्थिति नरहेको बताएका हुन्।

    रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको दाबी पनि प्रधानमन्त्रीले गरे। ‘रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता गर्न हामीले कूटनीतिक पहल जारी राखेका छौँ। रुस-युक्रेन युद्धमा छन्। अहिले सरकारले भन्ने वित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन।’

    सकभर रूसी सेनामा नजाने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। “हाम्रो देशको सम्झौता भएका भारत र बेलायत बाहेक अन्य कुनै ठाउँमा पनि नेपाली सेनालाई भर्ना गरिंदैन,” प्रधानमन्त्री दाहालले भने, “जहाँ पायो, त्यही जागीर खाने नाममा राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने। अझ बाटो छलेर जाने यो तरीका भएन।”

    तथापि, रूसी सेनामा रहेका नेपाली युवालाई फर्काउन पहल भइरहेको उनको भनाइ थियो। रूस र युक्रेन दुवै देशसँग कुराकानी भइरहेको दाहालले बताए।

    यस विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाइसकेको प्रधानमन्त्री दाहालले जानकारी दिए। युगान्डामा रूसका विदेशमन्त्रीसँगको कुराकानीमा रूसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्तिका लागि पनि कुराकानी भएको उनले बताए।

  • त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ

    त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । अहिले विमानस्थल भन्सार सुरक्षार्थ एपीएफको टोली परिचालन गरिएको छ ।

  • युगान्डा भ्रमण पुरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किने

    युगान्डा भ्रमण पुरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किने

    काठमाडौं । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उनी नेपाली टोलीको नेतृत्व गर्दै त्यहाँ पुगेका हुन् । प्रधानमन्त्री दाहाल राति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेका छन् । दोहाबाट नेपाल फर्किन लागेका उनी आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्य छन् ।

  • चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान

    चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान

    काठमाडौं । चन्द्रमामा नियन्त्रित उपकरणद्धारा सफल अवतरण गर्ने मुलुकमा जापान पाँचौं मुलुक बनेको छ । एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् । तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ। द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्य रेखा नजिकैको खाडल क्रेटरमा नियन्त्रित रूपमा अवतरण गरेको हो।

    यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ। यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन्। यद्यपि इन्जिनियरहरू अझै उक्त मिसनलाई जोगाउन लागि परेका छन्। अझै कारण थाहा नभए तापनि उक्त यानमा रहेका सौर्य ब्याट्रीले ऊर्जा उत्पादन गर्नेछैनन्। जसका कारण स्लिम पूर्णतः उसका ब्याट्रीमा भर पर्नेछ र ती बिस्तारै डिस्चार्ज हुनेछन्।

    त्यसो भएपछि अन्तरिक्ष यानले काम गर्नेछैन। त्यसले कमान्डहरू लिनेछैन र पृथ्वीसँग सम्पर्कमा रहन सक्नेछैन। इञ्जिनिअरहरूले अहिले प्राथमिकता निर्धारण गर्दै आफ्ना कामहरू गरिरहेका छन्। उनीहरूले लुनार ल्यान्डरबाट ब्याट्री सकिनु अगाडी सक्दो धेरै डेटा हात पार्ने प्रयास गरिरहेका छन्। जसक्रममा उनीहरूले हिटरहरू बन्द गरेका छन् त्यसले खिचेका तस्बिरहरू समेत निकाल्ने काम गरिरहेका छन्।

    उनीहरूले निकालिरहेको अर्को एक डेटाले अवतरण सम्बन्धी सफ्टवेअरले कसरी काम गर्‍यो भन्ने जानकारी दिनेछ। जापानी अन्तरिक्ष निकायका अधिकारीहरूले स्लिम निष्क्रिय अवस्थामा गइहालेमा पनि तत्कालै सबै प्रयास छाडिहाल्ने छैनन्। उनीहरूका अनुसार चन्द्रमामा प्रकाशको दिशा परिवर्तन हुँदा स्लिम पुनः सक्रिय हुनसक्ने सम्भावना रहन सक्छ।

    BBC

  • विजनेश भिसा लिन अब अध्यागमन धाउनु नपर्ने

    विजनेश भिसा लिन अब अध्यागमन धाउनु नपर्ने

    काठमाडौं । बिजनेस भिसा लिन अब अध्यागमन विभाग जान नपर्ने भएको छ । अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार विभागले उद्योग विभाग अन्तर्गत रहेको एकल विन्दु सेवा केन्द्रबाट सेवाग्राहीले बिजनेस भिसा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । बिजनेस भिसामा जानेहरूले उद्योग विभागमा इन्ट्री गरेपछि त्यहीँबाट अनलाइनमार्फत अध्यागमन कार्यालयले विवरण प्राप्त गर्ने र डकुमेन्टका आधारमा अनलाइनबाटै भिसा जारी हुने व्यवस्था गरिएको महानिर्देशक तामाङले बताए ।

    यो सेवा माघ २ गतेदेखि नै सुरू भएको र यसले विभागमा इन्ट्री गरेपछि अध्यागमन गएर स्वीकृत गरी फेरि विभागमै जानुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए । अब डकुमेन्ट भेरिफाइ गर्नुपरेको खण्डमा मात्र अध्यागमन कार्यालय जानुपर्ने महानिर्देशक तामाङले जानकारी दिए।

    विभागले चाँडै अनलाइन भुक्तानीको सुविधा पनि ल्याउन लागेको छ। त्यसका लागि मोबाइल एप्स बनाउने काम पनि अन्तिम चरणमा रहेको महानिर्देशक तामाङले बताए। अनलाइन भुक्तानीको प्रयोग सफल रहेमा नेपालमा पनि इ(भिसा सुरू गरिने उनले बताए। यसले नेपाल घुम्न आउने विदेशीहरूलाई धेरै सहज हुनेछ। यसबाट नेपाल आउने पर्यटकको संख्या वृद्धि गर्न पनि सघाउन पुग्ने महानिर्देशक तामाङको भनाई छ ।

  • यू-१९ विश्वकप आज नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग खेल्दै

    यू-१९ विश्वकप आज नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग खेल्दै

    काठमाडौं । नेपालले आईसीसी यू १९ विश्वकप २०२४ मा आइतबार न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दैछ । देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली कम्तीमा सुपर सिक्स पुग्ने लक्ष्यका साथ दक्षिण अफ्रिकामा रहेको छ । नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपाली युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने यो सबैभन्दा राम्रो अवसर हो । युवा टोलीले एसिया क्षेत्रमा एसोसिएटविरुद्ध आफ्नो क्षमता देखाइसकेका छन् । हाल यु १९ टोलीमा रहेका अर्जुन कुमाल, देव खनाल र दीपेश कँडेल उत्कष्ट फर्ममा छन् । गुल्शन झाले नेपाली टोलीबाट खेलिसकेका छन् ।

    नेपालको सिनियर टोलीको हालसम्म टेस्ट टोलीलाई हराएको छैन । तर यू १९ टोलीले विश्वकपमा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पाकिस्तान, बंगलादेश र जिम्बावेलाई हराइसकेको छ । एसिया कपमा यू १९ टोलीले भारतलाई पनि हराइसकेको छ । नेपाली टीममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्शन झा, दिपेशप्रसाद कंडेल ९विकेटकिपर०, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द रहेका छन् । आज नेपाली समय अनुसार दुई बजेबाट नेपालको खेल सुृरु हुनेछ ।

  • ४० लाख कोरोना भाइरसको खोप नष्ट गरिँदै

    ४० लाख कोरोना भाइरसको खोप नष्ट गरिँदै

    काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । खोप प्रयोग नभएपछि म्याद सकिएको छ,उनले भने, धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदैछौँ ।

    प्रवक्ता डा. बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ । बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएका उनको भनाइ थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो । उक्त खोप चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।

    बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने तथा पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि खोपको प्रयोग नभएको बताए । ‘कोरोना महामारीको बेला खोपको माग गरेर आएको हो । खोप नेपाल आउँदा धेरै मानिसले पहिलो र दोस्रो मात्रा लगाइसकेका थिए,ु उनले भने,खोपलाई डब्लुएचओले बुस्टरका लागि प्रयोग गर्न नमिल्ने भनेपछि हामीले प्रयोग गर्न सकेनौँ । बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो । रासस

  • लगानीमा विविधिकरण खोज्न अर्थमन्त्रीको आह्वान

    लगानीमा विविधिकरण खोज्न अर्थमन्त्रीको आह्वान

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले लगानीकर्ताले विविध क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् । सम्पादक समाज नेपालद्वारा शनिबार आयोजित गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सम्मान समारोहमा उनले सम्भावना बोकेका नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थतन्त्रमा देखिएको अन्यौल समाप्त हुँदै गएको बताउँदै मन्त्री महतले लगानीका लागि विश्वासको वातावरण बनेको बताए ।

    ‘आगामी दिनमा अर्थतन्त्रमा सुधार हुँदैछ । आर्थिक गतिविधि पहिलेको तुलनामा बढ्छ, लगानीकर्ताले पनि निर्धक्क लगानी गर्दा हुन्छ, ब्याजदर पनि घटेको छु, अर्थमन्त्री महतले भने, तर सुझबुझ ढंगबाट लगानी गर्नुपर्‍यो । कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउने सम्भावना हुन्छ त्यसमा ध्यान दिनुपर्छ । एउटाले राम्रो गरे सबैले त्यही गर्ने हुँदा मागभन्दा पूर्ति धेरै भई सबै अप्ठ्यारोमा पर्न थाल्छ । त्यसकारण नयाँ क्षेत्र खोज्नुहोस ।’

    उनले आगामी वर्षको वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा विदेशीको चासो व्यक्त भएको बताए । यस्तै असारमा विश्व बैंकको सम्मेलन आयोजना गर्ने तयारी भएको पनि अर्थमन्त्री महतले जानकारी दिए । सम्मान समारोहमा पुरस्कृत हुने पत्रकारलाई शुभकामना दिँदै मन्त्री महतले पत्रकारिता क्षेत्रको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

    उनले भने, ‘पत्रकारिता क्षेत्र समस्यामा छ । तर यसको कारण देशको आर्थिक स्थिति मात्र होइन । मुख्य कारण सामाजिक सञ्जाल हो । मूलधारका आमसञ्चार माध्यम जोखिममा पर्दै गएका छन् । त्यसमा पनि सामाजिक सञ्जालमा आउने मिथ्यापूर्ण सूचनाले झुठोलाई सत्य जस्तो स्थापित हुने र सत्य गुम्राहमा पर्ने खतरा बढेको छ । मानिस गम्भीर विषयको गहिराईमा जान छाडे, यो अत्यन्त खतरनाक प्रवृत्ति हो । पत्रकारिता क्षेत्रको सबै प्रकारका समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता समेत मन्त्री महतले व्यक्त गरे ।

  • सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल

    सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमासिंघेबीच दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुवै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिएका थिए ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा जोड दिँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताएका थिए । उनले सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।

    भेटवार्तामा श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाल र श्रीलंका सार्कका सदस्य राष्ट्र हुन् । भेटवार्तामा प्रधानमन्त्री दाहालसँगै नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।

  • अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : वीरगन्जमा मदिरा-माछा मासु बिक्रिमा रोक

    अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : वीरगन्जमा मदिरा-माछा मासु बिक्रिमा रोक

    काठमाडौं । वीरगञ्ज महानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन महानगरभित्र मदिरा र माछामासु बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । पशुपन्छी र जीवजन्तुको बध गर्न, मदिरा र माछामासु बिक्री तथा वितरणमा रोक लगाउने निर्णय भएको महानगरले निकालेको सूचनामा उल्लेख छ।

    माघ ८ गते वीरगञ्जको घडीअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ। यस्तै सोही दिन भारतको अयोद्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको पनि कार्यक्रम छ। यी दुई कार्यक्रमलाई लक्षित गर्दै महानगरले मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको हो।

  • यू-१९ विश्वकपमा दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी

    यू-१९ विश्वकपमा दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा घरेलु टोली दक्षिण अफ्रिका र आयरल्यान्डले विजयी सुरुवात गरेका छन् । शुक्रबार राति सकिएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले हरायो । जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४०.१ ओभरमा ३१ रनमा अल आउट भयो ।

    वेस्टइन्डिजका विकेटकिपर जेवेल एन्ड्रयुले ९६ बलमा १४ चौका र ३ छक्कासहित १३० रनको सानदार शतकीय इनिङ खेले पनि जिताउन सकेनन् । दक्षिण अफ्रिकाको जितमा क्वेना माफकाले ९.१ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । राइली नर्टनले ३ विकेट लिए ।

    त्यसअघि सेन्वेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । मध्यक्रमका ब्याटर डेवान मारिसले ३८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए । कप्तान जुआन जेम्श ४७, डेविड टिगर ४४ र लुआन ड्रे प्रिटोरियसले ४० रन बनाए । वेस्टइन्डिजका नाथन सेलीले सर्वाधिक तीन विकेट लिए । नाथन एडवार्ड र डेशावन जेम्सले २.२ विकेट लिए ।

    अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो । १०६ रनको सामान्य लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । आयरल्यान्डको जितमा रयान हन्टरले ६३ बलमा ५ चौकासहित सर्वाधिक ५०, केन हिल्टन र फिलिफुस ले रक्सले २३\२३ रन बनाए । अमेरिकाका अर्या गर्गले सर्वाधिक दुई विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४०.२ ओभरमा १०५ रनमा अल आउट भएको थियो । अमेरिकाका खुश भलालाले सर्वाधिक २२ रन बनाएका थिए । आयरल्यान्डका रुवेन विल्सन र ओलीभर रिलेले ३-३ विकेट लिए ।

    आज यू-१९ विश्वकपमा बंगलादेशले भारतसँग, इंग्ल्यान्डले स्कटल्यान्ड र अफगानिस्तानले पाकिस्तानसँग खेल्नेछ । सबै खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ बजे सुरु हुनेछन् । नेपालले भने आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । नेपालको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

  • प्यालेस्टिनी राज्य स्थापना गर्ने अमेरिकी प्रस्तावमा इजरायल असहमत

    प्यालेस्टिनी राज्य स्थापना गर्ने अमेरिकी प्रस्तावमा इजरायल असहमत

    काठमाडौं । गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसको पुष्टी गरेका छन् । बीबीसीका अनुसार उनले एउटा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

    उनले “पूर्ण विजय प्राप्त नगरुन्जेल” गाजामा आक्रमण जारी राख्ने समेत बताए। उनले गाजामा “अझै धेरै महिना” लडाइँ लम्बिन सक्ने भन्दै हमासको अन्त्य र बाँकी रहेका इजरेली बन्धकहरूलाई फिर्ता नल्याउन्जेल त्यो जारी रहने बताए। हमासद्वारा सञ्चालित अस्पतालका अनुसार गाजामा अहिलेसम्म झन्डै २५,००० प्यालेस्टिनीको ज्यान गइसकेको छ भने झन्डै ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ।

    गाजामा जारी सैन्य कारबाही रोकेर दिगो रूपमा युद्ध अन्त्य गर्नलागि अर्थपूर्ण वार्ता सुरु गर्ने दबाव इजरेलले खेप्नुपरेको छ। अमेरिकासहित इजरेलका सहयोगी राष्ट्र र विपक्षी राष्ट्रहरूले पनि लामो समयदेखि निस्क्रिय रहेको “दुई राज्यकोू अवधारणा बिउँताउन आग्रह गरेका छन्। उक्त प्रस्तावअनुसार इजरेल र प्यालेस्टाइन सँगसँगै अवस्थित दुई राष्ट्र हुने छन्। धेरैले वर्तमान सङ्कटले युद्धरत पक्षलाई हिंसाको अन्त्यहीन चक्र समाप्त पार्न एउटा व्यावहारिक विकल्पको रूपमा कूटनीतिक पहल फेरि थाल्न बाध्य पार्न सक्ने आशा गरेका छन्।

    तर नेतन्याहूको टिप्पणीले उनको उद्देश्य त्यसविपरीत रहेको देखाएको छ। उनको पछिल्लो टिप्पणीपछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले अमेरिका र इजरेलले विषयहरूलाई निश्चय पनि फरक दृष्टिले हेर्ने बताए। यसअघि बिहीवार नेतन्याहूले इजरेलले जोर्डन नदीको पश्चिममा अवस्थित सबै भूभागमा सुरक्षा नियन्त्रण हुनुपर्छ भनेका थिए। भविष्यमा कुनै पनि बेला प्यालेस्टिनी राज्यको भूभागमा त्यस्तो नियन्त्रण हुन सक्ने छ।

  • शनिबार सिंहदरवारमा चार घण्टा बत्ति जाने

    शनिबार सिंहदरवारमा चार घण्टा बत्ति जाने

    काठमाडौं । शनिबार सिंहदरबारमा चार घण्टा बिजुली नहुने भएको छ। निर्माणाधीन संघीय संसद भवनको मुल गेट अगाडि रहेका पोल स्थानान्तरण तथा स्मार्ट मिटर जडान गर्नुपर्ने भएका कारण बिद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरेको छ।

    ‘पोल स्थानान्तरण तथा स्मार्ट मिटर जडान गर्नुपर्ने भएकाले सिंह दरबार परिषर भित्र, जिल्ला समन्वय समिति र महालेखा परीक्षकको कार्यालयमा शनिबार बिहान १० बजेदेखि २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने व्यहोरा जानकारी गराउँदछौं,’ सूचना भनिएको छ।

  • गौरवका आयोजनाको छनोटको मापदण्ड बदल्नु पर्छ : ऊर्जा मन्त्री

    गौरवका आयोजनाको छनोटको मापदण्ड बदल्नु पर्छ : ऊर्जा मन्त्री

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने धारणा राखेका हुन् । शुक्रबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरुको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए ।

    उनले भने, ‘अब राष्ट्रिय गौरवको आयोजनाहरु भनि सकेपछि त्यसको निम्ति त्यसको व्यवस्थापनको कानूनी व्यवस्था अलि विशिष्ट रुपमा हुनुपर्ने हो कि भन्ने कुरा ठिकै कुरा हो । तर त्यसो गर्नका लागि राष्ट्रिय गौरवको आयोजनाहरुको छनोट, पहिचान गर्ने कुरामा एउटा निश्चित मापदण्डसहित यो प्रसंगमा फेरि होलिष्टिक एप्रोचमा नै छलफल गरिदिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्छ । यसलाई समग्रमा नै फेरि एकपटक रिभ्यु गर्ने, छलफल गर्ने समय पनि आएको जस्तो लाग्छ ।’

    मन्त्री बस्नेतले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरुलाई सरुवा गर्ने कुनै मनशाय नरहेको बताए । विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको चाहना नभएको मन्त्री बस्नेतको स्पष्टीकरण थियो । ‘अहिले हाम्रो स्प्रिरिट कम्तिमा २ वर्ष भन्दा अगाडि कोही पनि राष्ट्रिय गौरवको आयोजना प्रमुखहरुलाई चेन्ज गर्ने मन्त्रालयको, विभागको त्यो स्पिरिट हुँदैन । र, विशेष परिस्थिति नभइकन हामीले परिवर्तन गर्ने कुरा आउँदैन ।’ उनले भने । उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताए ।

  • गुजरातमा डुङ्गा दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

    गुजरातमा डुङ्गा दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

    काठमाडौं । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् । 

    हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।

    डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुकाे खोजी भइरहेको खबरमा उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    उनले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको बीबीसीले जनाएको छ।

  • युगाण्डामा बस्ने नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तर्क्रिया

    युगाण्डामा बस्ने नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तर्क्रिया

    माघ ४, कम्पाला। असंलग्न आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा भाग लिन बिहीबार बेलुकी युगाण्डाको कम्पाला पुगेका  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गरेका छन् ।

    सो अवसरमा  प्रधानमन्त्री प्रचण्डले भने, “युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले गृह मन्त्रीजीसँग गरेको छलफलबाट  भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ।”

    उनले  भेटघाट तथा अन्तरक्रियाबाट आफुले विदेशमा रहेका नेपालीहरूका दुखकष्ट बुझ्ने अवसर पाएको भन्दै देशको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलिरहेका विदेशमा बस्ने नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताए ।


    कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन ।
    गैरआवासीय संघका युगाण्डाका संरक्षक रमेश कंडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको जानकारी गराउए ।

  • थेसिस बुझाउन त्रिविले दियो मौका

    थेसिस बुझाउन त्रिविले दियो मौका

    काठमाडौं । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले २०५८ सालपछि भर्ना भई थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको छ ।

    गत २५ पुसमा बसेको प्राज्ञिक परिषद स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गतका २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भई सैद्धान्तिक परीक्षा पास गरेका तर थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको जनाएको छ ।

    वार्षिक प्रणाली अन्र्तगत २०५८ मा भर्ना भई भएका र सो पछि भर्ना भई समय सिमा काटेकाहरु तथा समेष्टेर प्रणाली अन्तर्गत २०६८ सालमा भनाई भई समय सिमा काटेकालाई असार मसान्त २०८१ भित्र सम्बन्धित क्याम्पस/विभागमा बुझाइ भाईभा समेत गर्ने गरी एक पटकको लागि अवसर दिने निर्णय गरेको छ ।

    साथै एमफिल तहका परीक्षार्थीहरुको हकमा २०६८ सालमा भर्ना भई समय सिमा काटेकालाई पनि एक पटकको लागि मौका दिने निर्णय गरेको उल्लेख गरिएको छ ।

  • छुट जग्गा दर्ता गर्न सरकारले दियो मौका

    छुट जग्गा दर्ता गर्न सरकारले दियो मौका

    काठमाडौं । सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको छ । गत सोमबारको मन्त्रिपरिषद बैठकले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गर्न स्विकृती दिने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘नाप नक्सा भएको जग्गा दर्ता गर्न छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद यो सूचना प्रकाशित भएको मितिले दुई वर्ष र कार्यालयमा यसअघि नै निवेदन गरी फर्स्योट हुन बाँकी पुराना प्रतिवेदनहरु फस्यौंट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष हुने गरी तोकिएको छ ।’

    मालपोत नियमावली, २०३६ को नियम ४(क)मा ‘दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्नुपर्ने’ व्यवस्था छ । उक्त नियममा नापनक्सा भएको तर दर्ता गर्नमात्रै छुट भएको जग्गा दर्ता गर्न पाउने व्यवस्था छ । त्यसका लागि सरकारले राजपत्रमा सूचना निकाली म्याद तोकिदिनुपर्छ । त्यही प्रक्रियाका लागि मन्त्रिपरिषदले राजपत्रमा सूचना निकाल्ने निर्णय गरेको हो । यो निर्णयपछि अब मन्त्रालयले छुट जग्गा दर्ताका लागि राजपत्रमा सूचना निकाल्नेछ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार  छुट जग्गा दर्ता भनिएपनि जो कोहीले जस्तोसुकै जग्गा दर्ता गर्न पाउने होइन 

    २०२२ सालअघि आफ्नो हकभोग रहेको र जोताहाको निस्सा भएका जग्गाधनीहरुले मात्रै जग्गा दर्ता छुट भएको औचित्य पुष्टि गरी दिएको निवेदनमाथि कारवाही हुने हो’ उनले भने, ‘निवेदन परेपछि लामो प्रक्रिया पार गरेर त्यो जग्गाका वारेमा जाँचबुझ हुन्छ, साँच्चै नै त्यो जग्गा उक्त व्यक्तिको भोगचलन रहेको तर केही कारणले दर्ता गर्न छुट भएको रहेछ भने मात्रै छुट दर्ताको निर्णय हुने हो ।’

    प्रमुख मालपोत अधिकृतको संयोजकत्वमा गठन हुने समितिमा नापी कार्यालयका प्रमुख र मालपोत कार्यालयका बरिष्ठ अधिकृत सदस्य हुन्छन् ।

    पूर्वमहानिर्देशक पदमनिधी सोतीका अनुसार, यो अवधिमा विभिन्न तहका अदालतबाट छुट जग्गा दर्ता गरिदिनू भनी कैयौ आदेश र फैसलाहरु भए पनि कार्यान्वयन हुन पाएका थिएनन् । त्यस्ता फैसला कार्यान्वयन पनि यही प्रक्रिया अनुसार नै हुने उनी बताउछन् ।

    उनी भन्छन्, ‘जग्गाको लगत, तिरो तिरेको प्रमाण र भोगचलनको औचित्य पुष्टि गरेर मात्रै जग्गा दर्ताको निर्णय हुने प्रक्रिया छ । आवेदन दिएकै भरमा जुनसुकै जग्गा दर्ता हुने होइन ।’

  • एमडिएमएस र टेरामक्स सम्बन्धी कागजात बुझाउन संसदिय समितिको निर्देशन

    एमडिएमएस र टेरामक्स सम्बन्धी कागजात बुझाउन संसदिय समितिको निर्देशन

    काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

    समितिको आजको बैठकले सो सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

    सञ्चारमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदीलगायत अधिकारीसँगको छलफलपछि समितिले ती विषयमा भएका मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यससम्बन्धीमा अदालतबाट भएका फैसलासमेत मगाइ विज्ञको परामर्शका आधारमा थप निर्णय लिने निष्कर्ष निकालेको हो ।

    बैठकमा मन्त्री शर्माले ती प्रणालीका बारेमा विगतका सरकारले गरेका नीतिगत निर्णय र कार्यान्वयनकर्ता निकायबाट भएका कामबारे मन्त्रालयले अध्ययन गरिरहेको बताए । उनले  ती प्रणालीको कार्यान्वयनका क्रममा अनियमितता भएको भए छानबिनका लागि सरकारले सघाउने स्पष्ट पारे ।

  • ग्राउन्डेड जहाज बनाएर नेवानिले दोहा उडायो

    ग्राउन्डेड जहाज बनाएर नेवानिले दोहा उडायो


    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ-दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । 

    जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो । वाइडबडी जहाज मर्मतपछि अपराह्न ४ बजे दुई सय ६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी र दुई थान वाइड बडी जहाज छन् । तीमध्ये एक न्यारो बडी जहाज मर्मतका लागि हालै इजरायल पठाइएको छ । रासस 

  • कार्यबाहक प्रधानमन्त्रीले सुरक्षा अवस्था बारे लिए जानकारी

    कार्यबाहक प्रधानमन्त्रीले सुरक्षा अवस्था बारे लिए जानकारी

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग देशको सुरक्षास्थिति बारे छलफल गरेका हुन ।
    बिहिवार रक्षा मन्त्रालयमा भएको छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए ।

    त्यस अवसरमा खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचन समेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिए । उनले  सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन आग्रह गरे ।  सो अवसरमा वहाँले जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिहरूले शान्ति सुरक्षामा पार्न सक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन समेत निर्देशन दिए ।

    उक्त अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए तापनि विभिन्न तरिकाले संचालित गतिविधिहरुलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
    बैठकमा मुलुकको समग्र शान्ति सुरक्षा बारे समीक्षा गर्नुका साथै आगामी दिनमा चाल्नु पर्ने कदमहरुबारे छलफल गरिएको थियो ।