Category: समाचार

  • ललितपुरमा जर्मन नागरिक मृत फेला, लडेको आशंका

    ललितपुरमा जर्मन नागरिक मृत फेला, लडेको आशंका

    काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा जर्मन नागरिक मृत अवस्थामा भेटिएकी छन् । उनको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरेको हो । मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने बताइएको छ ।

    उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । बिहान ८ बजेतिर ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टको दोस्रो तलामा उनी मृत भेटिएपछि प्रहरी टोली पुगेको थियो । त्यसक्रममा उनको टाउकोमा सानो चोट देखिएको थियो । त्यसबाहेक शरीरमा अन्य कुनै चोट देखिएको छैन । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, बिहान ८ बजेतिर जति पानी तान्दा पनि ट्यांकी नभरिएको भन्दै अपार्टमेन्टकी हाउस किपर सञ्चालकसमक्ष पुगेकी थिइन् ।

  • न्यूरोडको सडक भन्दा बढी अन्यन्त्र महानगरको नि:शूल्क पार्किङ सुविधा

    न्यूरोडको सडक भन्दा बढी अन्यन्त्र महानगरको नि:शूल्क पार्किङ सुविधा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिएको छ । ९ माघदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्प दिएको हो । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार न्युरोडको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ । यो संख्या साविक न्युरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ संख्याभन्दा धेरै हो । अहिले धरहरा पार्किङ भवनमा उपलब्ध गराइएको स्थानमा मात्र पनि १ हजार ५ सय दुई पाङ्ग्रे अट्न सक्छन् ।

    ‘योसँगै काठमाडौं टावर (साविक पुरानो बसपार्क)मा ७ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारी पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यो निःशुल्क पार्किङ सेवा हो,’ पाण्डेले भने । महानगरको दाबीअनुसार यसबाहेक न्युरोडमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनमा समेत पार्किङ सुविधा छ । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिने व्यवस्था छ ।

    पाण्डेका अनुसार आज सोमबार धरहराको पार्किङ भवनमा करिब ९ सय सवारी चालकले निःशुल्क पार्किङ सेवा लिएका छन् । महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय २ पाङ्ग्रे र ३० वटा चार पाङ्ग्रे सवारी पार्किङ गर्न सकिन्थ्यो ।

    जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सय दुई पाङ्ग्रे र पाँचवटा चार पाङ्ग्रे, प्युखा १ सय ५० दुई पाङ्ग्रे र ६ चार पाङ्ग्रे, खिचापोखरी १ सय ५० दुई पाङ्ग्रे र १५ चार पाङ्ग्रे र वीर अस्पताल महाबौद्धमा १ सय ५० दुई पाङ्ग्रे सवारी पार्किङ गर्ने क्षमता थियो । महानगरले न्युरोडभन्दा अगाडि बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत ठाउँमा पार्किङ निषेध गरिसकेको छ ।

  • लोमस फर्मास्युटिकल्सको सिटामोल बिक्रीमा रोक

    लोमस फर्मास्युटिकल्सको सिटामोल बिक्रीमा रोक

    काठमाडौं । न्यून गुणस्तरीय पाइएपछि औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल बिक्रीमा रोक लगाएको छ । विभागले सो कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्रीमा रोक लगाएको हो ।

    राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सो औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । विभागले तत्काल त्यसको बिक्री–वितरण रोक्का गरी बजारबाट समेत फिर्ता ल्याउन कम्पनीलाई निर्देशन दिएको छ । विभागले सर्वसाधारणमा पनि सो ब्याचको औषधि प्रयोग नगर्न अनुरोध गरेको छ ।

  • २२ निर्माण कम्पनी कालोसूचिमा

    २२ निर्माण कम्पनी कालोसूचिमा

    काठमाडौं । ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा एकैपटक २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी कालो सूचीमा परेका छन्।

    ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी प्रा।लि, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै खड्गदेवी कन्स्ट्रक्सन, भिमादको आयुष एन्ड अनुष कन्स्ट्रक्सन, गोरखाको अनुपमा निर्माण सेवा, गोरखाकै अन्नपूर्ण निर्माण सेवा र लक्ष्मी कन्स्ट्रक्सन र कास्कीको त्रिवेणी निर्माण सेवा सडक डिभिजन कार्यालय दमौलीले पठाएअनुसार कार्यालयले कालोसूचीमा राखेको हो।

    अन्य जिल्लाका विभिन्न निकायहरूले नाम पठाए अनुसार विभिन्न निर्माण कम्पनीहरूलाई साढे १ वर्षदेखि ३ वर्षदेखि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

  • तराईमा हुस्सु–कुहिरो, हवाई उडान प्रभावित

    तराईमा हुस्सु–कुहिरो, हवाई उडान प्रभावित

    काठमाडौं । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सु–कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेपनि वर्षा हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना छ । तराईमा हुस्सुका कारण उडान प्रभावित भएको छ । नेपालगन्ज विमानस्थलमा पछिल्लो तीन दिनयता उडान प्रभावित बनेको हो ।

  • १६ औं योजनाबारे आयोगले दलरुसँग लियो सुझाव

    १६ औं योजनाबारे आयोगले दलरुसँग लियो सुझाव

    काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ ।
    १६औं योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारेको छ । तयार मस्यौदा माथि आइतबार आयोग उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो

    । कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रीका सांसद एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक एवम् पूर्वमन्त्री पदम गिरी, एमाले सचेतक महेश बर्तौता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायतका दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

    दलका प्रतिनिधिहरुले सबैले स्वीकार्ने र पूरा हुने लक्ष्यहरु १६औं योजनामा समावेश गर्न सुझाव दिएका छन् । छलफलमा आयोगका सबै सदस्यहरु, सदस्य सचिव र अन्य अधिकारीहरु सहभागी थिए । आयोगका सहसचिव महेश भट्टराईले १६औं योजनासम्बन्धी प्रस्तुतीकरण राखेपछि छलफल प्रारम्भ भएको थियो । यसअघि आइतबार नै आयोग सदस्य डा। जयकान्त राउतको अध्यक्षतामा प्रतिनिधि सभाको संसदीय समितिका सभापतिहरुसँग सुझाव लिइएको थियो ।

    संसदीय समितिका सभापतिहरूले योजनालाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाइ समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गरी समृद्धि हासिल गर्नुपर्ने विषयमा जोड दिएका थिए । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जैविक तथा सामाजिक विविधतालाई सम्बोधन गर्दै कृषि, वन, सिमेन्ट तथा फलामजन्य उद्योग, निर्माण लगायतका क्षेत्रमा केन्द्रीय रहनुपर्ने धारणा सभापतिहरुको थियो ।

  • १७ सय जनालाई रोजगारी दिन सरकार, संघ र उद्यमीबीच भयो सहमति

    १७ सय जनालाई रोजगारी दिन सरकार, संघ र उद्यमीबीच भयो सहमति

    काठमाडौं । १ हजार ६६५ जनालाई प्रशिक्षण र रोजगारी प्रदान गर्ने उद्देश्यसहित नेपाल सरकार, नेपाल उद्योग परिसंघ र उद्योगबीच त्रिपक्षीय सम्झौता भएको छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको हो । आइतबार भएको सम्झौतामा केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

    एप्रेन्टिससीप कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगहरुमा लिटमस् इन्डष्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण सुज म्यानुफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डस्ट्रिज प्रालि र रन सुज इन्डस्ट्रिज प्रालि रहेका छन् । सम्झौताअनुसार यी उद्योगहरुले कुल १ हजार ६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरुलाई प्रशिक्षण दिए पश्चात कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्ने छन् । प्रशिक्षार्थी कामदारहरुको अधिकतम तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले व्यहोर्ने भएको छ ।

    सम्झौता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितिमा भएको हो । कार्यक्रममा मन्त्री रिजालले यस कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसर सिर्जना हुने अपेक्षा व्यक्त गरे । उनले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले चालु आर्थिक वर्षका लागि ९ ओटा उद्योगहरुले २ हजार १०० जना प्रशिक्षार्थीका लागि परिसंघमार्फत आवेदन दिएको जानकारी दिए । पाठ्यक्रम तथा अन्य चुनौतीका कारणले ६ ओटा उद्योगहरुसँग मात्र यस कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको उनले जानकारी दिए । अन्य उद्योगहरु इच्छुक हुँदाहुँदै पनि यसमा सहभागी हुन नसक्दा १ हजार ६६५ हाराहारी मात्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएको उनले बताए । परिसंघका उपाध्यक्ष गुप्ताले आगामी वर्ष यस कार्यक्रमको लक्षित संख्यामा वृद्धि गरी सबै उद्योगहरुलाई समेट्नुपर्ने बताए ।

  • काठमाडौं महानगरले शिक्षा प्रमुखसँग लियो स्पष्टीकरण

    काठमाडौं महानगरले शिक्षा प्रमुखसँग लियो स्पष्टीकरण

    काठमाडौं । काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले अनलाइनखबरलाई जानकारी दिएको छ ।

    कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।

    ‘नगर शिक्षा समितिको निर्णयविना उहाँले कक्षा थप गरेको पाइएपछि कारण सहित सफाइ पेश गर्न प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशन भएको हो । उहाँले कुन निर्णयका आधारमा अनुमती दिएको भन्ने नदेखिएर स्पष्टीकरण सोधेका हौं’, सचिवालयका एक सदस्यले भने । स्थानीय तहमा नगर शिक्षा समितिका संयोजक नगर प्रमुख नै रहने व्यवस्था छ । कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ ।

  • नीतिश कुमार बिहारमा ९ औं पटक बने मूख्यमन्त्री

    नीतिश कुमार बिहारमा ९ औं पटक बने मूख्यमन्त्री

    काठमाडौं । भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी भारतीय जनना पार्टी बीजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बीजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी ९रामविलास० नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए । आज आइतबार राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी बिहारको मुख्यमन्त्री बनेको यो नवौं पटक हो ।

    नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिलेका थिए । तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बीजेपीसँग मिलेको हो । फेरि बीजेपी गठबन्धनमा नै गएका नीतिश कुमारको यो युटर्न थियो । राजनीतिमा करिब पाँच दशक विताइसकेका नीतिश कुमारले आफ्नो सहुलियतका लागि दल र गठबन्धन फेर्दै आएका छन् ।

  • निगमको मूख्यालय अब सिनामंगलमा बन्ने, न्यूरोडमा व्यापारिक भवन बनाउने

    निगमको मूख्यालय अब सिनामंगलमा बन्ने, न्यूरोडमा व्यापारिक भवन बनाउने

    काठमाडौं । नेपाल वायुसेवा निगमले सिनामङ्गलस्थित जग्गामा नयाँ प्रधान कार्यालय निर्माण गर्ने भएको छ । ३४ रोपनी १४ आना दुई पैसा तीन दाम क्षेत्रफल रहेको निगमको उक्त जग्गामा प्रधान कार्यालय निर्माण गर्न शनिबार भूमि पूजन कार्य गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० मोडलमा मुख्यालय सिनामङ्गलमा सार्ने योजना अनुसार शुक्रबार भूमि पूजन गरिएको हो

    । उनका अनुसार इन फ्लाइट किचनसहितको भवन निर्माणका लागि निगम व्यवस्थापनको निर्णयपछि भूमि पूजन भएको हो । हाल मुख्यालय रहेको न्युरोडको भवन के गर्ने भन्नेबारेमा थप छलफल अघि बढ्ने उनको भनाई छ हाल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका संरचना प्रयोगमा ठुलो रकम भाडाबापत तिर्दै आएको छ । नयाँ भवन निर्माणपछि तिर्दै आएको भाडाबापतको वार्षिक करोडौँ रकम बच्ने र मुख्यालयको केही स्थान भाडामा दिएर थप आम्दानी गर्न सकिने उनको भनाई छ ।

    हाल मुख्यालय रहेको न्युरोडको भवन व्यापारिक प्रयोजनमा दिएर त्यसबाट समेत आम्दानी हुने उनले बताए । विसं २०१५ मा शाही नेपाल वायुसेवा निगम (आरएनएसी) का रूपमा स्थापित निगमसँग हाल काठमाडौँ, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रुपन्देही, सुर्खेत, गोरखा, सङ्खुवासभा, कञ्चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडी गरेर २३ ठाउँमो जग्गाजमिन र भवन छ । निगमको सबैभन्दा धेरै जग्गा बाँकेका तीन ठाउँमा नौ बिघाभन्दा बढी छ । बाँके, विराटनगर र पोखरालगायतका ठाउँबाट निगमले वार्षिक लाखौँ रकम भाडाबापत उठाउँदै आएको छ ।

  • दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

    दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणकोअध्यक्ष पदका लागि सरकारले आवेदन मागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गरेर दरखास्त माग गरेको हो। दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकोका व्यक्तिले दरखास्त दिन सक्नेछन्।

    कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दस वर्षको अनुभव भएको, तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेका व्यक्तिले आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

    सूचना प्रकाशित भएको मितिले सात दिनभित्रमा आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ। एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरूषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि नवराज अधिकारीलाई कार्यवाहक तोकिएको थियो।

  • धरहराको अण्डरग्राउण्डमा आजदेखि पार्किङ खुला

    धरहराको अण्डरग्राउण्डमा आजदेखि पार्किङ खुला

    काठमाडौं । धरहराको अण्डर ग्राउण्डमा रहेको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा खुला भएको छ । धरहरा सँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो।

    महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप सहज हुने महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए। पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ। सहिद गेटबाट नयाँ सडक जाँदा गएको दसैंदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो।

  • २.२ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

    २.२ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

    काठमाडौं । काठमाडौं उपत्यकामा यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको हो । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।

    तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ । तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ । पूर्वको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु छ । धनगढी, नेपालगञ्ज, भैरहवा तिर बाक्लो हुस्सु छ, भद्रपुरतिर भने तुलनात्मक रुपमा अलि कम छ । बाक्लो हुस्सुसँगै जाडो बढेकाले तराई मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । तर शीतलहरको घोषणा भने जल मौसम विज्ञान विभागले गरिसकेको छैन ।

  • दरबार हत्याकाण्डबारे भ्रम फैलाइएको पूर्वराजा ज्ञानेन्द्रको आरोप

    दरबार हत्याकाण्डबारे भ्रम फैलाइएको पूर्वराजा ज्ञानेन्द्रको आरोप

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको उनले बताएका छन् । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेको स्मरण गरे । अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरेको उनले बताए ।


    दरबार हत्याकाण्डलाई विनाशकारी, कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्था भन्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए ।’ दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलका करण अझ पनि मानिसहरु बहकिरहेको भन्दै उनले भने, ‘यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो ।’

    सम्बोधनका क्रममा उनले २९ जेठ २०६५ मा नारायणहिटी दरबार छाडेको क्षण पनि सम्झिए । त्यसबेला आफूले आमसञ्चार माध्यममार्फत नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु भनेको उल्लेख गरे । त्यसबेला नै राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बन्छ र त्यसको वेथितीबाट आम जनतामा आक्रोश पैदा हुन्छ भन्ने आंकलन गरेको भन्दै उनले भने, ‘आज त्यो असन्तोष, चासो, चासो चिन्ता छलाछुल्ल छ ।’

    राजपाठ त्याग गर्दैगर्दा आफूले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता सम्झिरहेको भन्दै उनले भने, ‘त्यसै आशय अनुरुप मैले चीरकाल र यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ ।’ अहिले पनि आफूहरु देशमै रहेको र गौरब गाथा गाइरहेको पूर्वराजा ज्ञानेन्द्रले बताए । आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन भन्ने आफ्नो अडान रहेको उनले बताए । राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरबस्थाको राम्रो मूल्यांकन गरेर सबैको सुधार, विकास र निकासको बाटोमा लाग्नुपर्ने उनको जोड छ ।

    देश बनाउन र देश बचाउन आफूहरुलाई निरन्तर आह्वान भइरहेको भन्दै उनले पूर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह गरे । ‘दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्किएको छ’, विकास, उत्थान र समस्याको निवारण आफैंले गर्नुपर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रले भने ‘यो अवस्थाको अन्त्य गर्नै परेको छ । यसका निम्ति अब सोच्ने बेला आयो ।’ उनले भूगोल, जातजातिमा खण्डित, विभेद, विखन्डन र निषेधको राजनीति नगर्न आग्रह गरे ।

  • चिनियाँ उपमन्त्री र प्रचण्डबीच भेटवार्ता

    चिनियाँ उपमन्त्री र प्रचण्डबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।

    उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्। नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

  • इजरायलले नरसंहार गरिरहेको हेगको निष्कर्ष

    इजरायलले नरसंहार गरिरहेको हेगको निष्कर्ष

    काठमाडौं । दी हेग अर्थात संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसीजे)ले इजरायलले गाजामा नरसंहार गरिरहेको निष्कर्ष निकालेको छ । उसले नरसंहार रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला गरेको छ । विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा शुक्रबार फैसला गर्दै आइसीजेले प्यालेस्टिनीहरूले सामना गरिरहेको जीवनको प्रतिकूल परिस्थितिलाई सम्बोधन गर्न आवश्यक आधारभूत सेवा र मानवीय सहायताको प्रावधानलाई सक्षम बनाउन इजरायलले तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ ।

    अदालतले युद्धविरामको आदेश भने नदिएको बीबीसीले लेखेको छ । फैसलामा इजरायलले नरसंहार रोक्न कुनै पनि उक्साहटलाई ‘रोक्न र दण्डित’ गर्नुपर्ने उल्लेख छ । दक्षिण अफ्रिकाले इजरायलमाथि संयुक्त राष्ट्रसङ्घीय नरसंहार महासन्धिको उल्लङ्घन गरेको आरोप लगाएर यो मुद्दा दर्ता गरेको थियो । इजरायलले भने आफ्नो उद्देश्य द्वन्द्व फैलाउने नभइ आफ्ना नागरिकको रक्षाका लागि चालेको कदम भएको दावी गर्दै आएको छ ।

  • यु १९ विश्वकप : अब नेपालको भिडन्त भारत र बंगलादेशसँग

    यु १९ विश्वकप : अब नेपालको भिडन्त भारत र बंगलादेशसँग

    काठमाडौं । अफगानिस्तानलाई रोमाञ्चक खेलमा हराउँदै आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा पुगेको नेपालले सुपर सिक्समा भारत र बंगलादेशलाई प्रतिस्पर्धीका रुपमा पाएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको थियो । नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड समेत ‘सुपर सिक्स’ मा पुगिसकेका छन् । सुपर सिक्समा नेपालले समूह एको पहिलो र दोस्रो स्थानमा रहेका भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

    आउँदो बुधवार बंगलादेश तथा फेब्रुअरी २ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाल तेस्रो पटक १९ वर्षमुनिको विश्वकपको दोस्रो चरणमा पुगेको हो । यसअघि श्रीलंकामा सन् २००० र बंगलादेशमा २००२ मा भएको १९ वर्षमुनिको विश्वकपमा पनि नेपाल दोस्रो चरण पुगेको थियो । नेपालले सन् २०११ यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेर ऐतिहासिक सफलता पाएको छ ।

  • पाथिभरामा सुरु भयो हिमपात

    पाथिभरामा सुरु भयो हिमपात

    काठमाडौं । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबारदेखि वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो ।

    फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताए । शेर्पाका अनुसार हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो । यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले ९टीएमजे० क्षेत्रमा पनि हिमपात भएको छ ।

    जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् । यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ । हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैंची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ । जिल्लाको उच्च स्थानीयमा हिमपात भएसँगै अध्यधिक चिसो बढ्को छ ।

  • गुल्मीबाट मात्र ३० जनाले लिए गैरआवासीय नागरिकता

    गुल्मीबाट मात्र ३० जनाले लिए गैरआवासीय नागरिकता

    काठमाडौं । नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको थियो । यस्तो नागरिकता लिने संख्या पछिल्लो समय बढ्दै गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक कागजपत्र पूरा गरेको खण्डमा एकै दिनमा नागरिकता प्रदान गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे बताए ।

    प्रशासनमा थोरै जनशक्ति रहेकाले एकै दिन धेरै गैरआवासीय नागरिकता लिन गएमा भने उसै दिन प्रदान गर्न नसकिने उनको भनाइ छ । गैरआवासीलाई नागरिकता प्रदान गर्न प्रक्रिया पुर्‍याउन समय लाग्छ । गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफासिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ ।

    गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो । गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लडन, पासपोर्ट बनाउन पाउने छैनन् । तर, सम्पति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउनेछन् ।

  • त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेपछि…

    त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेपछि…

    काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको बताइएको छ । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए ।

    त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताए । यसको गुनासो आएपछि अध्यागमन कार्यालय प्रमुख हमाल आफैं सीसीटीभी फुटेज हेर्न गए । प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिएको समेत बताइएको छ ।

    हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यही लात्ताले हाने । त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमाललाई पनि लागेको समाचारमा उल्लेख छ । लगतै अध्यागमन कार्यालय प्रमुख हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका थिए । त्यसपछि गृह मन्त्रालयले छानविन समिति बनाएको छ ।

  • यु-१९ विश्वकपको सुपर सिक्समा नेपाल, अफगानिस्थानविरुद्ध रोमाञ्चक जित

    यु-१९ विश्वकपको सुपर सिक्समा नेपाल, अफगानिस्थानविरुद्ध रोमाञ्चक जित

    काठमाडौं । नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा पुगेको छ । समूह चरणको निर्णायक खेलमा अफगानिस्तानविरुद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को चरणमा प्रवेश गरेको हो । आजको खेलमा तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालले उत्कृष्ट प्रदर्शन गरे । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।

    जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । अफगानिस्तानका फरिदुन दावुड्जाईले ४.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र नासिर खानले २–२ विकेट लिए । अरब गुल र घजान्फरले १–१ विकेट लिए ।

    त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो । अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।


    नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।

    समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एक सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।

  • फुटपाथ व्यवसायीले काठमाडौँ महानगर घेराउ गर्ने

    फुटपाथ व्यवसायीले काठमाडौँ महानगर घेराउ गर्ने

    काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते बृहत् सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ।

    शुक्रवार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र बीचमा सबै फुटपाथ व्यवसायीलाई एक ठाउँमा ल्याएर माघ २८ गते बृहत् सडक आन्दोलन गर्ने कार्यक्रम तय गरिएको बताएको छ।

    नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्न माघ १७ गते जिल्ला प्रशासन कार्यालय, १८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालयमा र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए।

    उनले एक हप्ता सबै स्वरोजगार श्रमिकहरूलाई एक ठाउँमा ल्याएर माघ २८ गते थालचम्चा सहित ठूलो जनसहभागितामा सडक आन्दोलन तथा महानगर घेराउ गर्ने कार्यक्रम तय भएको बताए। उनले काठमाडौं महानगरले फुटपाथ र साना व्यवसायीको माग अहिलेसम्म सम्बोधन नगरेकाले आन्दोलन गर्न बाध्य भएको बताए।

    उनले महानगरले फुटपाथ व्यापारीहरूको जफत गरेको सामान फिर्ता गर्न माग गरे। उनले निम्न वर्गका व्यवसायीको सामान कब्जा गरी लिलाम गर्ने काम महानगरले तत्काल रोक्नुपर्ने बताए। उनले स्वरोजगार श्रमिकका लागि वैकल्पिक कार्यस्थलको सुनिश्चित गरी महानगरभित्रका सबै वडामा सस्तो बजार व्यवस्था गर्न माग गरे।

    उनले वैकल्पिक व्यवस्था नगरेसम्म महानगरले अहिले फुटपाथ व्यवसायीहरूले व्यवसाय गरिरहेको स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सुचारु गर्न दिन माग गरे। उनले महानगरले स्वरोजगार व्यवसायीलाई पञ्जीकरण गर्न सम्झौता भए पनि कार्यान्वयन गर्ने भन्दा बढी व्यवसायीहरूलाई धरपकड गर्ने काम भएको बताए। फुटपाथ व्यापारीको उचित व्यवस्थापनका लागि मेयर तथा उपमेयरको संयोजकत्वमा संघर्ष समितिका प्रतिनिधिसहित उच्चस्तरीय व्यवस्थापन कार्यदल बनाउनुपर्ने उनको माग छ।

    महानगरले फुटपाथ र साना व्यवसायीलाई निर्मम ढंगले लखेट्ने धरपकड गर्ने काम तत्काल रोक्नुपर्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङले बताइन्। उनले ७ बजेपछि सडक पेटीमा व्यापार गर्ने महिलालाई महानगर प्रहरीले अमानवीय व्यवहार गरी सामान लुट्ने गरेको बताइन्।

    उनले फुटपाथमा बेलुका दुई घण्टा व्यापार गरेर दुई छाक टार्ने निम्न वर्गका व्यापारीलाई महानगरले अमानवीय व्यवहार गर्ने गरेको बताइन्। उनले फुटपाथ व्यवसायीको समस्या समाधानका लागि भएका महानगरले गरेको ४ बुँदे सम्झौता कार्यान्वयनमा नगरेको आरोप लगाइन्।

  • एसियन कपको अन्तिम १६ मा को-को पुगे ?

    एसियन कपको अन्तिम १६ मा को-को पुगे ?

    काठमाडौं । एसियन कप २०२३ मा बिहीबार लिग चरणका खेल सकिएका छन् । लिग चरणको अन्तिम दुई खेलमा साउदी अरेबिया र थाइल्यान्डले गोलरहित बराबरी खेले । यस्तै किर्गिस्तान र ओमानबीचको खेल १–१ को बराबरीमा रह्यो । यस नतिजापछि समूह ‘एफ’ मा साउदी अरेबिया सात अंकमा शीर्षमा रह्यो भने थाइल्यान्ड पाँच अंकमा दोस्रो स्थानमा रह्यो । यससँगै प्रतियोगिताको अन्तिम १६ को समीकरण पनि पूरा भएको छ ।

    अब क्वाटरफाइनल प्रवेशका लागि ताजाकिस्तान र यूएई, इराक र जोर्डन, अस्ट्रेलिया र इन्डोनेसिया, साउदी अरेबिया र दक्षिण कोरिया, इरान र सिरिया, बहराइन र जापान, कतार र प्यालेस्टाइन तथा उज्वेकिस्तान र थाइल्यान्ड भिड्ने छन् । समूहको तेस्रो स्थानमा रहेका उत्कृष्ट चार टिम नकआउट चरण पुगेका थिए र त्यसमा जोर्डन, प्यालेस्टाइन, सिरिया र इन्डोनेसिया छन् । ओमान र चीन भने भाग्यमानी रहेनन् ।

  • यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र

    यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र

    काठमाडौं । नेपालमा कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशतसम्म अनौपचारिक अर्थतन्त्र रहेको अनुमान एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा कुल गार्हस्थ उत्पादन (जीडीपी) को औसत ४२.६६ प्रतिशत रहेको छ । राष्ट्रिय लेखा विधिअनुसार आर्थिक वर्ष २०१०–११–२०२०–२१ लाई आधार मानेर गरेको अध्ययनले यस्तो देखाएको हो । विभाग प्रमुख प्राडा शिवराज अधिकारीका अनुसार नेपालमा अस्थिर सरकार, अस्थिर नीति र सरकारले लगाउने प्रतिबन्धका समयमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गरेको पाइएको छ ।

    कोभिड–१९ महामारीका बेला सरकारले नाकाबन्दी लगाएको थियो । त्यसबेला अनौपचारिक अर्थतन्त्रको आकार बढेको देखिएको छ । २०१८–१९ मा जीडीपीको ३७.६० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रको आकार २०१९–२० मा ३९.१० प्रतिशतमा उक्लिएको छ । यस अध्ययनमा मुद्रा माग विधि र राष्ट्रिय लेखा विधि प्रयोग गरिएको छ । उनका अनुसार राष्ट्रिय लेखा अनुमान गर्दा अनौपचारिक वा प्रत्यक्ष अवलोकन नभएका आर्थिक गतिविधि अप्रत्यक्ष विधि प्रयोग गरी मापन गरिन्छ ।

    राष्ट्रिय लेखाले अर्थतन्त्रका सबै पक्ष समेट्न थालेसँगै अनौपचारिक अर्थतन्त्रको आकारसमेत क्रमशः घट्दो क्रममा रहेको देखिएको छ । २०१०–११ मा राष्ट्रिय लेखा दृष्टिकोणबाट ४९.१० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रको आकार २०२०–२१ मा आइपुग्दा ३८.६० प्रतिशतमा झरेको देखिएको छ । नेपालमा घरजग्गा र कृषि क्षेत्रमा सबैभन्दा धेरै अनौपचारिक अर्थतन्त्रको हिस्सा रहेको देखिएको छ ।

    तथ्यांकअनुसार घरजग्गामा ९९.९७ प्रतिशत अनौपचारिक अर्थतन्त्रको हिस्सा देखिएको छ । यो पछिल्लो १० वर्षको औसतका आधारमा देखिएको हो । कृषि, वन र मत्स्यपालनमा ९६।.८ प्रतिशत हिस्सा छ । भोजन तथा आवासमा ५०.४२ प्रतिशत हिस्सा अनौपचारिक छ ।

    कार्यालयका पूर्वनिर्देशक तथा तथ्यांक जानकार भण्डारीका अनुसार नेपालमा देशभरि रहेका घरजग्गाले अर्थतन्त्रमा गरिरहेको योगदानका गणना नै भएको छैन । अहिले हुने घरजग्गा किनबेच र घरभाडा कारोबार कुल घरजग्गा अर्थतन्त्रको एक प्रतिशत पनि छैन । सोहीकारण घरजग्गामा शतप्रतिशत हिस्सा अनौपचारिक देखिएको हो ।

  • यू-१९ विश्वकप : निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

    यू-१९ विश्वकप : निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । यो दुबै टिमका लागि निर्णायक छ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले हारिसकेको छ ।

    अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले हारेको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

    दक्षिण एसियाका दुई चर्चित यू १९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ । पछिल्लो पटक नेपाल र अफगानिस्तान गत डिसेम्बरमा युएईको आइसीसी ओभल एकेडेमीमा भिडेका थिए । त्यो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । नेपालका अर्जुन कुमालले ९१ रन बनाए पनि जिताउन सकेका थिएनन् । अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रनको इनिङ खेलेका थिए ।

  • काठमाडौंमा बिहीबार सिजनकै कम तापक्रम

    काठमाडौंमा बिहीबार सिजनकै कम तापक्रम

    काठमाडौं । काठमाडौंमा बिहीबार यस सिजनकै कम तापक्रम मापन भएको छ । काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।

    यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो । यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । माथिल्लो तहमा चिसो बादल आएकाले मौसम पनि चिसिएको छ । त्यसैले अघिल्ला दिनको तुलनामा जाडो झन् बढेको छ ।

    यद्यपि लामो समयदेखि हिउँदे वर्षा नभएकाले यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम जाडो छ । यदि पानी पर्ने हो भने काठमाडौंको न्यूनतम तापक्रम घटेर जाडो झन् बढ्न सक्ने मौसमविदहरु बताउँछन् । २०७५ साल पुसमा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो । सन् १९७८ मा भने काठमाडौंको न्यूनतम तापक्रम माइनससम्म पुगेको रेकर्ड छ ।

  • ‘द क्लिफ नेपाल’ले भारतको केरलामा समेत बिस्तार गर्यो विजनेश

    ‘द क्लिफ नेपाल’ले भारतको केरलामा समेत बिस्तार गर्यो विजनेश

    काठमाडौं । बाग्लुङ–कुश्मालाई साहसिक खेल स्थलको रूपमा स्थापित गरेको द क्लिफ नेपालले भारतको कम्पनीमा व्यवस्थापन सम्हालेको छ । द क्लिफ को व्यवस्थापनमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । योसँगै क्लिफ अन्तर्राष्ट्रियस्तरमा पहिलो पटक बन्जीको व्यवस्थापनमा संलग्न भएको हो ।

    केरलामा वाया नाडा कम्पनीले निर्माण गरेको बन्जी जम्प तथा अन्य साहसिक गतिविधि स्काई वाक, स्विङ, सुपरम्यान स्विङको व्यवस्थापन गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफले उपलब्ध गराउने अध्यक्ष राजु कार्कीको भनाइ छ । बन्जीको सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीसमेत भएकाले ुक्लिफु सँग सहकार्य गरेको भारतीय कम्पनीले जनाएको छ ।

    भारतीय रुपैयाँ झन्डै ४० करोड लगानीमा निर्माण भएको बन्जीसहितको एड्भेन्चर पार्कमा रहेको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुनेछ । निर्माणाधीन बन्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउनुहुन्छ । यससँगै केरलाका तीन वटा ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ । मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा द क्लिफद्वारा सञ्चालित बन्जी देखेपछि भारतीय व्यवसायीले चासो राखेका थिए ।

  • स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर

    स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइ कार्यक्रम अन्तर्गत स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन गरेको छ । स्वयम्भू परिक्रमा मार्ग, सिँढी, जङ्गल र स्तुप क्षेत्रको सरसफाइबाट ६१ टन फोहोर संकलन भएको महानगरले जनाएको छ । २१ मंसिरेदेखि सो क्षेत्रको सरसफाइका लागि १ सय जना जनशक्ति परिचालन गरिएको महानगरको भनाइ छ । सफाइका क्रममा प्लास्टिक, कपडा, बोतल, सिसा, रुखका पात लगायत संकलन भएको महानगरले जनाएको छ ।

  • राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो दल

    राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो दल

    काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १–१ जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको छ ।

    यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ । माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल बनेको हो ।

    हाल सबैभन्दा ठूलो दल रहेको भएता पनि अब राष्ट्रिय सभामा एमाले तेस्रो दल बन्नेछ । पदावधि पूरा हुने राष्ट्रिय सभाका २० सदस्यमध्ये ९ जना एमालेका परेका छन । जसमा निर्वाचित ८ जना हुन भने एक जना राष्ट्रपतिले मनोनीत गरेका सांसद छन् । निर्वाचित र मनोनित समेत गरी ९ सांसद घट्दा एमालेका एक सांसद मात्रै नयाँ अनुहार आए । फागुन २० पछि राष्ट्रिय सभामा एमाले १० सिटसहित तेस्रो दलको रुपमा रहनेछ ।

    हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या तलमाथि भएन । जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदैछ । बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ ।

    राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल सकिँदैछ । यो ठाउँमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सत्ता गठबन्धनको तयारी छ । यसो भएमा राष्ट्रिय सभामा जनमोर्चाका दुई सांसद हुनेछन् । निर्वाचित र मनोनित समेत गरी ९ सांसद घट्दा एमालेका एक सांसद मात्रै आए । फागुन २० पछि राष्ट्रिय सभामा एमाले १० सिटसहित तेस्रो दल रहनेछ ।
    लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ । राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको चुनावमा कोशी प्रदेशबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला निर्वाचित भए । मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भए ।

    बागमतीबाट नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भए ।

    लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भए । कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भए । नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भए । सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ माओवादीकी रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भए ।

  • लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी विजयी

    लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी विजयी

    काठमाडौं । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।
    विजयी बिष्णुकुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनलाई सत्तारुढ गठबन्धन दलको समर्थन रहेको थियो । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।