Category: समाचार

  • एसियन कप : इरान स्तब्ध, कतार फाइनलमा

    एसियन कप : इरान स्तब्ध, कतार फाइनलमा

    काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमै जारी एएफसी एसियन कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३–२ ले हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।

    यसअघि २०१९ मा पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि उचालेको थियो । लगातार दोस्रो पटक उपाधि जित्ने होडमा रहेको घरेलु टोली कतारले उपाधिका लागि जोर्डनसँग खेल्नेछ । जोर्डनले पहिलो पटक फाइनल पुगेको हो । उसले २ पटकको च्याम्पियन दक्षिण कोरियालाई स्तब्ध हराएको छ ।


    खेलको चौथो मिनेटमै सरदार अजमोनले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय टिकेन । तारमा जास्सेम गाबेर अब्दुलसल्लमले १७औं मिनेटमा बराबरी गोल फर्काए । अक्रम अफिफले ४३औं मिनेटमा गोल गरेपछि कतारले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

    दोस्रो हाफमा इरानले खेलमा पुनारगमन गर्‍यो । ५१औं मिनेटमा इरानका अलिरेजा जहानबख्शले पेनाल्टीमा गोल गरेपछि खेल २–२ को स्थितीमा पुग्यो ।
    ८२औं मिनेटमा अलमोएज अलीले गोल गर्दै कतारलाई ३–२ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । र अन्तिममा त्यही गोल कतारलाई फाइनल पुर्‍याउन निर्णायक बन्यो । इन्जुरी टाइमको तेस्रो मिनेटमा इरानका शोजाए खालिलजादेह रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।

  • पाकिस्तानमा बम विष्फोट, कम्तिमा दुई दर्जन मारिए

    पाकिस्तानमा बम विष्फोट, कम्तिमा दुई दर्जन मारिए

    काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुईटा बम विस्फोटन हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पाकिस्तानमा बिहीवार निर्वाचन हुन लागेको छ। पहिलो विस्फोटन पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयअगाडि भएको थियो। त्यसमा परी १४ जनाको मृत्यु भयो। दोस्रो विस्फोटन त्यहाँबाट १५० किलोमिटर टाढा अवस्थित किल्ला सैफ उल्लाह जिल्लामा भएको बताइएको छ। त्यसमा परी आठ जनाको मृत्यु भयो। दुवै घटनामा कैयौँ मानिसहरू घाइते भएका छन्। पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटनाहरू भएका छन् भने धाँधली गरिएको वा हुन लागेको आरोप पनि लगाइएको छ।

    पिशिनमा भएको आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिइसकेको छैन। पिशिन प्रान्तीय राजधानी क्वेटाबाट ५० किलोमिटर टाढा र अफगान सीमाबाट १०० किलोमिटर दक्षिणपूर्वमा छ। त्यहाँ २५ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। दोस्रो विस्फोटनबारे विस्तृत विवरण आउन बाँकी छ। एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचारसंस्थालाई दिएको जानकारीअनुसार जिल्लाहको मुख्य बजारमा विस्फोटन भएको थियो। त्यसको निसानामा जेयूआई(एफ पार्टीको चुनावी अभियान सञ्चालन गर्ने कार्यालय थियो।

    सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा पिशिनमा विष्फोटनका कारण गाडी र मोटरसाइकलहरू ध्वस्त भएको देखिन्छ। प्रहरीले विस्फोटन कसरी गराइयो भन्ने पत्ता लगाउन खोजिरहेको छ। घाइतेहरूलाई नजिकैका अस्पतालमा लगिएको छ। निर्वाचनको मुखमा गत साता बलोचिस्तान र खैबर पख्तूनख्वा प्रान्तमा थुप्रै हिंसात्मक घटना भएका छन्। यद्यपि बलोचिस्तान सरकारले मतदान योजनाअनुसार नै अघि बढ्ने बताएको छ। ‘ढुक्क रहनुहोस्, हामी आतङ्कवादीहरूलाई हाम्रो महत्त्वपूर्ण प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न दिने छैनौँ, प्रान्तीय सूचनामन्त्री जन अचकजाईले पहिले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

  • हिमालयन हाइड्रो एक्स्पो–२०२४ वैशाखमा हुने

    हिमालयन हाइड्रो एक्स्पो–२०२४ वैशाखमा हुने

    काठमाडौं । आगामी वैशाख दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२४ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराका साथ १२–१४ वैशाखसम्म एक्स्पो आयोजना हुन लागेको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले ऊर्जामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो ।

    सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तयार गरेको सन्दर्भमा ऊर्जा विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । ‘भारतमा १० हजार मेगावाट, बंगलादेशमा ५ हजार मेगावाट र १३ हजार ५०० मेगावाट विद्युत् आन्तरिक रुपमा खपत गर्ने योजना सरकारले अघि सारेको छ,’ इप्पान अध्यक्ष कार्कीले भने, ‘नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता पनि भर्खरै भएको छ । यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो ।’

    हाल २ हजार ९०१ मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र सोलारसहित १७१ आयोजना सम्पन्न भई २ हजार २१४ मेगावाट ऊर्जा उत्पादन भैसकेको छ । यसैगरी ३३ सय ९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने ३ हजार ६१५ मेगावाट बराबरका १३८ आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको चरणमा छन् । यसैगरी करिब १९ हजार ६२३ मेगावाट बराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा भए पनि नतिजाउन्मुख अवस्था नभएको इप्पनका उपाध्यक्ष आशिष गर्गले बताए ।

    ‘तथ्यांक एकातिर छ, वास्तविकता अर्कैतिर भएको अवस्थामा सरकारको ऊर्जा उत्पादनको लक्ष्य पूरा गर्न ठूलो लगानी आवश्यक छ, यसलाई सघाउन पनि इप्पानले एक्स्पो आयोजना गर्न लागेको हो,’ उनले भने । नेपालका साथै विभिन्न मुलुकका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत एक्स्पोले सहजता ल्याउने इप्पानका महासचिव बलराम खतिवाडाको विश्वास छ । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।

    एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पूँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत् व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डन्डी लगायतका २०० स्टल रहने र ती मध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल हुने इप्पानको भनाइ छ ।

    इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गर्ने एक्स्पोको स्टल बुकिङ बुधबारदेखि नै खुल्ला गरिएको एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । जलविद्युतका लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि जानकारीको केन्द्र बन्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोबाट २५ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय व्यवस्थापन, निर्माण उपकरण तथा प्रविधिको आदान प्रदान हुने इप्पानको अपेक्षा छ ।

  • काठमाडौंको सबैभन्दा ठूलो सव-स्टेशन निर्माण सम्पन्न

    काठमाडौंको सबैभन्दा ठूलो सव-स्टेशन निर्माण सम्पन्न

    काठमाडौं । मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकामा २२०–१३२ केभी मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले यो सबस्टेसनको निर्माण सम्पन्न भएको जनाएको छ ।

    त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभीए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरुको सफलतापूर्वक परीक्षण गरिएको जानकारी दिएका छन् । ‘मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब वा मार्कीचोक सबस्टेसन बन्नु पर्ने छ, मार्कीचोक सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ, त्रिशूली ३ बी हब आगामी चैतको दोस्रो साताभित्र चार्ज गर्ने गरी काम भइरहेको छ, उक्त सबस्टेसन सञ्चालनमा आएपछि मातातीर्थ सबस्टेसन २२० केभीमा चार्ज गरिने छ,’ उनले भने ।

    उनका अनुसार काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२० केभीको पूर्वाधार तयार भएको छ । उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने भएको छ । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको छ ।

    उक्त प्रसारणलाइनलाई २०७९को असारबाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । आयोजनाअन्तर्गत नै मार्कीचोकमा २२०–१३२ केभी सबस्टेसन निर्माणाधीन छ । त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन त्रिशूली–काठमाडौं २२० केभी प्रसारणलाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । मस्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारणलाइनलाई बाडभञ्ज्याङमा एक आवसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।

    प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधानले मर्स्याङ्दी र त्रिशूलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युतलाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति हुने जानकारी दिए । उपकार्यकारी निर्देशक प्रधानले मातातीर्थबाट विद्युतलाई १३२ केभी प्रसारणलाइन मार्फत हेटौंडातर्फ समेत प्रवाह गर्न सकिने जानकारी दिए ।

    प्राधिकरणले चोभारमा १३२ केभीको सबस्टेनको निर्माण गरिरहेको छ । मातातीर्थबाट चोभारसम्मको १३२ केभी निर्माण सम्पन्न भइसकेको छ । चोभारबाट ललितपुरको पाटनसम्म १३२ केभी भूमिगत प्रसारणलाइन र पाटनमा १३२ केभी सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको कार्यकारी निर्देशक प्रधानले उल्लेख गरे ।

    मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको ठेकेदारको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी काम गर्न २०७७ पुसमा नयाँ ठेक्का लगाएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो । दुई वटा सबस्टेसनको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।

  • गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय बदर

    गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय बदर

    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन ओली सरकारले गरेको निर्णय बदर गरेको छ ।

    गिरीबन्धु टी स्टेटलाई मन्त्रिपरिषद्ले २०७८ साल वैशाख १३ गते ३४३ बिगाहा जग्गा प्रदेश–१ भित्रै सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो।

    ‘नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८/१/ १३ को प्रत्यार्थी गिरीबन्धु टी स्टेट प्रालिलाई ३४३-१९-१२ बिगाहा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ ‘ग’ लगायतका कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारबाहीसमेत बदर हुने ठहर्छ,’ आदेशमा भनिएको छ।

  • भैरहवा भन्सारको निरीक्षणपछि अर्थमन्त्रीले भने-‘राजस्वको लक्ष्य भेटाउने गरी काम गर्नूस्’

    भैरहवा भन्सारको निरीक्षणपछि अर्थमन्त्रीले भने-‘राजस्वको लक्ष्य भेटाउने गरी काम गर्नूस्’

    भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन्। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भने, ‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’

    भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिए।

    ‘कार्यरत कर्मचारीहरु एक वर्ष नभइ सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’ मन्त्री डा. महतले भने, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन।’

    अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै डा. महतले भने, ‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्यो मात्र कारण हुन सक्दैन। त्यो कुरामा कर्मचारीले गम्भीर भएर ध्यान दिनुहोला।’

    मन्त्री महतले जफत गरेको सामानको लिलामीका लागि पनि समयसीमा पहिले घोषणा गर्न, भन्सार र आन्तरिक राजश्वबीच समन्वय हुन जरुरी देखिएको बताए। साथै, जाँच पासका लागि प्राविधिक रुपमा के–के चाहिन्छ, के कुराले समस्या भएको छ, त्यसको रिर्पोट गर्न आग्रह गर्दै मन्त्री मन्त्री महतले समस्याको सम्बोधन तुरुन्त गर्ने प्रतिवद्धता जनाए।

  • ६१ किलो सुन तस्करीमा जोडिएकी कमलाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

    काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ।

    नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौंको पत्राचार पछि कमलालाई इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

    गएको साउनमा काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा उनको संलग्नता देखाएको थियो । उनी बेल्जियम मूलका तिब्बती नागरिक दावा लामाकी श्रीमती हुन् ।

    दावा सोही मुद्दामा हाल पुर्पक्षका लागि थुनामा छन् । तर, कमला भने फरार छिन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।

  • ‘जग्गा हडप्‍ने, सहकारीका ठग र नागरिकता किर्ते गर्नेहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्छ’

    ‘जग्गा हडप्‍ने, सहकारीका ठग र नागरिकता किर्ते गर्नेहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्छ’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले जग्गा हडप्ने होस् चाहे नागरिकतामा किर्ते गर्ने कसैलाई छाड्न नहुने बताएका छन्।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा धारणा राख्दै उनले आर्थिक शक्ति वा राजनीतिक पहुँचका आधारमा कसैलाई छुट दिन नहुनेमा जोड दिएका हुन्।

    ‘जो सुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन ? दण्ड पाउनु पर्दैन ?’ कांग्रेस महामन्त्री थापाको प्रश्न गरे ।

    नागरिकता किर्ते लगायतका विषयमा पनि शक्तिको दुरुपयोग हुन नहुने उनको भनाइ छ । थापाले प्रश्न गरे, ‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस् हातमा ताकत होस्, कलम होस्, नागरिकता बनाउनलाई किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा किर्ते गरेपनि उसको किर्ते माफी हुन्छ । यसरी चल्छ ?’

    सरकारले यी सबैलाई दण्डित कारबाही दायरामा ल्याए एउटा विश्वासको वातारण बन्ने महामन्त्री थापाले बताए। उनले सुशासनका निम्ति सरकारले काम गरेँ भनेर मात्र नहुने भन्दै त्यो काम जनताले महसुस गराउने गरी हुनुपर्ने बताए।

    प्रधानमन्त्रीबाट निर्देशन मात्रै धेरै भएको भन्दै महामन्त्री थापाले निर्देशनले मात्रै नचल्ने बताए। ‘निर्देशनले समस्याको समाधान हुँदैन। प्रधानमन्त्रीले दिएपछि मन्त्रीले पनि निर्देशन नै दिन्छ, अनि सचिवले पनि निर्देशन नै दिन्छ अनि कार्यान्वयन गर्ने कसले?’ उनले प्रश्न गरे।

  • चौधरीसहित तीन जना हाजिर जमानीमा रिहा

    चौधरीसहित तीन जना हाजिर जमानीमा रिहा

    काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण कुमार चौधरी रिहा भएका छन् ।

    अदालतले दुईदिन थुनामा राखेर अनुसन्धान गरेर अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएसँगै चौधरीसहित सीआईबीले कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई बुधबार छोडेको हो ।

    उनीहरु १८ माघमा पक्राउ परेका थिए । सीआईबीले पुनः म्याद थपका लागि सोमबार अदालत पेस गरेको थियो । पक्राउ परेसँगै स्वास्थ्यमा समस्या देखिएपछि चौधरी र थापा अस्पताल भर्ना भएका छन् भने ठाकुर सीआईबीको हिरासतमै छन् । सुरुमा चिरायु अस्पताल लगिएका उनीहरुलाई अस्पतालले रिफर गरेको थियो ।

  • निर्यात सहजीकरण गर्न दुई संस्थाबीच सहमति

    निर्यात सहजीकरण गर्न दुई संस्थाबीच सहमति

    काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवम् निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कमर्स र निर्यात परिषदबिच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवम् कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवम् सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने सझदारी बनेको हो ।

    दुई संस्थाबिच नीति निर्माणदेखि भन्सार सहजीकरण गर्ने विषयमा सहकार्य हुने चेम्बरले जनाएको छ । सो अवसरमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यातयोग्य वस्तुहरूको पहिचान र प्रवर्द्धन हुन नसक्दा अपेक्षित लाभ लिन नसकिएको उल्लेख गर्दै भने, “मुलुकमा १० खर्बभन्दा बढीको निर्यात सम्भावना छ । तर डेढ खर्ब रुपियाँ बराबरको पनि निर्यात हुन सकेको छैन ।”

    निर्यात प्रवर्द्धनमा देखिएको नीतिगत कठिनाइ अन्त्य गर्न चेम्बरले पहल गर्ने अध्यक्ष मल्लले बताए । व्यापार घाटा न्यूनीकरणका लागि नीतिगत सुधारसँगै भन्सार प्रशासनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । यस्तै भन्सारमा उच्चस्तरीय क्वारेनटिन ल्याब स्थापना एवम् निर्यातमा दिइने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

    वस्तु निर्यात गर्दा अनलाइनबाट सिधै भुक्तानी गर्न सकिने व्यवस्था गरिए निर्यात दोब्बरले वृद्धि गर्न सकिने उनको भनाइ छ । मुलुकभरबाट उत्पादन भएका कृषिजन्य, हस्तकला, जडीबुटी, चिया, कफीलगायतका वस्तुलाई एकै ठाउँमा जम्मा गरी एकीकृत निर्यात केन्द्र वा निर्यात प्रवर्द्धन गृहमार्फत निकासी गर्न सकिए साना व्यवसायीलाई लाभ तथा उत्पादन लागत कम हुनेमा अध्यक्ष मल्लले जोड दिए ।


    चालु आर्थिक वर्षको पाँच महिनामा नै व्यापार घाटा पाँच खर्ब ९७ अर्बभन्दा बढी भइसकेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा बजेटकै हाराहारीमा हुन थालेको बताए । उनले भने “आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापार घाटा पनि हो, आन्तरिक उत्पादन नहुँदा कृषि जन्य वस्तुहरूमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरूमा समेत निर्यात सहजीकरण हुन सकेको छैन, ।” नेपाल निर्यात परिषद्का नवनिर्वाचित अध्यक्ष नरेशलाल श्रेष्ठले भन्सार प्रक्रिया सहजीकरण नहुँदा व्यवसायीले अनावश्यक दुःख पाएको गुनासो गरे ।

  • एएफसी एसियन कपमा जोर्डनले रच्यो इतिहास, कोरियालाई हराउँदै फाइनलमा

    एएफसी एसियन कपमा जोर्डनले रच्यो इतिहास, कोरियालाई हराउँदै फाइनलमा

    काठमाडौं । जोर्डन एएफसी एसियन कपमा इतिहास बनाउन सफल भएको छ । उसले कोरियालाई २–० गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । गतराति भएको खेलमा याजन अल नामट र मउसा अल तमारीले गोल गरे। ५३ औं मिनेटमा याजन र ६६ औं मिनेटमा मउसाले गोल गरेका थिए। पराजित भएसँगै दक्षिण कोरिया सन् १९६० यता एसियन कपको उपाधि जित्ने लक्ष्य यसपटक पनि पूरा हुन सकेन। जोर्डन इतिहासमा पहिलो पटक फाइनल पुगेको हो। जोर्डनले उपाधिका लागि इराक र कतारबीचको खेलको बिजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल आज हुँदैछ ।

  • संसद बैठकमा आज शीर्ष नेताको सम्बोधन

    संसद बैठकमा आज शीर्ष नेताको सम्बोधन

    काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा आज शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । यसैगरी आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूची छ ।

  • विदेश पढ्न जानेसँगै विदेशियो ५८ अर्ब ४० करोड

    विदेश पढ्न जानेसँगै विदेशियो ५८ अर्ब ४० करोड

    काठमाडौं । पर्यटकबाट हुने भ्रमण आयभन्दा वैदेशिक अध्ययनमा जाने नेपालीले धेरै विदेशी मुद्रा लगेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भ्रमण आय ३९ अर्ब ५६ करोड पुगेको छ । गत आव पहिलो ६ महिनामा २७ अर्ब ४० करोड रहेकोमा ४४.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
    आर्थिक वर्षको ६ महिनामै भ्रमण व्यय भने ९२ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये शिक्षातर्फ ५८ अर्ब ९५ करोड रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

    गत आर्थिक वर्ष पहिलो ६ महिनामा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड थियो । गत वर्षको तुलनामा भ्रमण आय ४४.४ प्रतिशतले बढ्दा भ्रमण व्यय ६०.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । भ्रमण व्ययमा उच्च वृद्धि हुँदा पनि अन्य सेवा आयातमा बाहिरिने विदेशी मुद्रा घट्दा सेवा घाटा भने बढेको छैन । चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा खुद सेवा आय ३६ अर्ब ६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आव सोही अवधिमा खुद सेवा आय ३६ अर्ब २२ करोडले घाटामा थियो ।

  • काठमाडौंमा जोडिए एआई फिचरका क्यामरा

    काठमाडौंमा जोडिए एआई फिचरका क्यामरा

    काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र एआई फिचरका सिसिटिभी क्यामरा जडान गरिएका छन्। एआई (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपिआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सिसिटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान गरिएको महानगरले जनाएको छ ।

    महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्य क्यामरा जडान गरेको हो। यी क्यामराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरू कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउने महानगरले जनाएको छ। यस्ता विशेषता भएका क्यामरामध्ये ३ ठाउँमा एनएफपिआर ९सवारी साधन र चालकसम्बन्धी दृश्य तथा विवरण दिने० र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामरा राखिएका हुन्।

  • दुई जहाज भाडामा लिँदै नेवानि

    दुई जहाज भाडामा लिँदै नेवानि

    काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने भएको छ । सो प्रयोजनका लागि मंगलबार सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । निगमको कार्ययोजना अनुसार निगमसँग भएका वाइडबडी जहाजलाई लामो दुरीका जापान, सिड्नी र कोरिया उडानमा लगाउने र नजिकका गन्तव्यमा न्यारोबडी जहाज उडाउने योजना रहेको निगमले जनाएको छ ।

    नजिकका सेक्टरमा समेत अहिले निगमले वाइडवडी जहाज प्रयोग गरिरहेको छ । निगमसँग अहिले दुई वटा न्यारोबडी र दुई वटा वाइडवडी जहाज छन् ।
    दुई वटा मात्र न्यारोबडी जहाजले दिल्ली, दुबई, दोहा, मलेसियालगायतमा यात्रुको चाप नधान्ने भन्दै निगमले जहाज भाडामा लिनु परेको बताएको छ ।

    भविष्यमा भैरहवा विमानस्थलबाट उडान गर्न समेत यी जहाज प्रयोग गरिने प्रवक्ता पौडेलले जानकारी दिए । सरकारबाट विभिन्न समयमा गठन भएका सुधार आयोगले जहाज थप्न दिएको सुझाव अनुसार पर्यटन मन्त्री सुदन किराँतीको निर्देशनमा जहाज भाडामा लिने प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । यी जहाज जुलाई २०२४ सम्म ल्याएर उडानमा लगाउने योजना रहेको समेत निगमले उल्लेख गरेको छ ।

  • रंगशाला निर्माणमा प्रदेश सरकारको चासो, बजेट सुनिश्चितता गर्ने आश्वासन

    रंगशाला निर्माणमा प्रदेश सरकारको चासो, बजेट सुनिश्चितता गर्ने आश्वासन

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ। बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रंगशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिएका हुन्।

    रंगशाला निर्माणस्थल अवलोकनपछि अर्थमन्त्री लामाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन्। प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने उनले बताए।

    भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई पनि उनले रंगशालामा बजेट पार्ने विश्वास दिलाए। देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले भने, ‘रंगशाला निर्माणमा प्रदेश सरकारको चासो छ। हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौँ। ढुक्क हुनुस्।’

    महानगर उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निर्माणमा प्राप्त आश्वासनले आशा जगाएको बताए। मन्त्री लामासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, माया श्रेष्ठ, भरतपुर महानगरपालिका-१५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटा रंगशाला निर्माणस्थल पुगेका थिए। रासस

  • भाइरल ज्वरोले एकै गाउँका १३० जना बिरामी,एकजनाको मृत्यु

    भाइरल ज्वरोले एकै गाउँका १३० जना बिरामी,एकजनाको मृत्यु

    भाइरल ज्वरोले एकै गाउँका १३० जना बिरामी,एकजनाको मृत्यु
    काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ टर्लिङ गाँउमा भाइरल ज्वरोको कारण १३० जना बिरामी भएका छन् । उनीहरु मौसमी भाइरल ज्वरोको शिकार भएको अनुमान गरिएको छ । पाँच दिनअघिदेखि फैलिएको भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ । टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीकोनगरकोटीको खैराङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ । एकै गाउँमा ठूलो संख्यामा भाइरल ज्वरो फैलिएपछि चिकित्सकसहित राक्सिराङ गाउँपालिका कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

  • आपतकालिन सेवालाई एकीकृत रुपमा प्रवाह गर्ने गृह मन्त्रालयको तयारी

    आपतकालिन सेवालाई एकीकृत रुपमा प्रवाह गर्ने गृह मन्त्रालयको तयारी

    काठमाडौं । आपतकालीन सेवा एकीकृत रुपमा प्रवाह गर्ने विषयमा अध्ययन गर्न गृह मन्त्रालयले एक कार्यदल गठन गरेको छ । एम्बुलेन्स, दमकल, प्रहरी र प्रारम्भिक स्वास्थ्य जस्ता सेवालाई एकीकृत रुपमा उपलब्ध गराउने विषयमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो ।

    कार्यदलमा गृह, स्वास्थ्य, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बलका एक-एक जना र नेपाल प्रहरीका दुईजना प्रतिनिधि रहेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका सूचना तथा सञ्चार विज्ञ विजय गौतम पनि कार्यदल सदस्य छन् ।

    अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बरहरू प्रयोगमा छन् । यी सबै आकस्मिक सेवालाई एउटै प्रणालीबाट सञ्चालन गर्ने विषयमा कार्यदलले अध्ययन गरेर सुझाव दिने उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

  • बेलायती राजालाई क्यान्सर भएको पुष्टी

    बेलायती राजालाई क्यान्सर भएको पुष्टी

    काठमाडौं । बेलायती राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पुष्टी भएको छ । बकिङ्गम दरबारले यसको सार्वजनिक जानकारी गराएको छ । प्रस्टेट बढेपछि जाँच गर्दा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ। क्यान्सरको प्रकार खुलाइएको छैन् तर दरबारको वक्तव्यअनुसार राजाले सोमवारबाट नियमित उपचार थालेका छन्।

    क्यान्सरको चरण वा अवस्थाबारे अहिले खुलाइएको छैन। पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन्। उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह बताइएको छ । तर बकिङ्गम दरबारले राजा आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको जनाएको छ।

    सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्वलाई भने निर्वाह गरिरहने छन्। आइतवार उनलाई सान्ड्रिङ्गममा एउटा गिर्जाघरको प्रार्थानासभामा देखिएको थियो। त्यहाँ उनले मानिसहरूतिर हेरेर हात हल्लाएका थिए। उनले लन्डनस्थित एउटा निजी अस्पतालमा एक साताभन्दा केही समयअघि प्रस्टेटको उपचार गराएका थिए।

    राजाले आफ्नो प्रस्टेट उपचारलाई सार्वजनिक गर्ने निर्णय अरू मानिसहरूलाई पनि प्रस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले लिएको बताइएको छ। उनले आफू यसबारे चेतना जगाउन पाउँदा प्रसन्न भएको बताइरहँदा ब्रिटेनको स्वास्थ्य संस्था एनएचएसको वेबसाइटका अनुसार प्रस्टेटसँग सम्बन्धित समस्या बढेको देखिएको छ। यो प्रस्टेट क्यान्सर नभएको बुझिएको छ तर प्रस्टेट बढेको उपचार गराउने क्रममा पत्ता लागेको हो। उनले निरन्तर उपचार जारी राख्ने छन् तर क्यान्सर प्रारम्भिक चरणमा ने हुँदा हुँदा पत्ता लागेको विश्वास गरिएको छ।

  • कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन

    कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ। निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापा, शनिस्चरे निवासी हुन्। उनी पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय थिए।

    बुढाथोकी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री हुँदा त्यही मन्त्रिपरिषद्मा सामान्य प्रशासन मन्त्री थिए। ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल, खासगरी झापाको भूमिमा उहाँको ठूलो रिक्तता अनुभुती हुनेछ,’ शर्माले सामाजिक सञ्जालमा शोक सन्देश लेख्दै भनेका छन्। बुढाथोकीको पार्थिव शरीर मंगलबार नै गृहजिल्ला पुर्‍याएर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ।

  • अरुण चौधरीलाई दुई दिन भित्र अनुसन्धान नसकिएमा हिरासतमा नराख्न अदालतको आदेश

    अरुण चौधरीलाई दुई दिन भित्र अनुसन्धान नसकिएमा हिरासतमा नराख्न अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई अबको दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ । यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको हो ।


    पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यस अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराई हाजिर जमानीमा छाड्न आदेश दिइएको छ । महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सिजी चाँदबाग रेसिडेन्सी नामक निजी कम्पनीमा सारेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चौधरीसहित तीनै जनालाई १८ माघमा पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरु हाल ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

    जिल्ला अदालतले पक्राउ परेकाहरुले आफूउपर लागेको आरोपमा अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको, विवादित सम्पत्ति कसैले मास्न लुकाउन वा अहिले नै अन्यत्र हक हस्तान्तरण गरी अनुसन्धान प्रभावित पार्न सक्ने अवस्था नरहेको भन्दै अनुसन्धानका लागि प्रहरीले मागे अनुसार २५ दिन नै समय नचाहिने बताएको छ । आरोपितमध्ये अजित नारायण सिंह थापाको उमेर ८० वर्ष भन्दा माथि रहेको र अरु आरोपित पनि पेशा व्यवसायमा रही हजारौंलाई रोजगारी दिने अभिभावकको भूमिकामा रहेको देखिएको भन्दै अदालतले २२ गतेदेखि लागू हुने गरी २ दिन भन्दा बढी हिरासतमा नराख्ने गरी म्याद दिएको छ ।

  • २५ हजार डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    २५ हजार डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले २५ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट चीनको ग्वानजाउ जान लागेका चिनियाँ नागरिक सियुआई विङक्यान अबेध रुपमा बोकेको डलर सहित पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकमा रहेको राजस्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जनाएको छ ।

  • बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाइने

    बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाइने

    काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ ।
    सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंह सहितको छलफलमा मन्त्रालयले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । बैठकपछिको निर्णयमा भनिएको छ, ‘एक महिनाभित्रै खाल्डाखुल्डीरहित सडक सतह हुने गरी मर्मत सुधारको ठोस कार्यतालिका पेस गर्न लगाई कार्यान्वयन गर्ने र त्यसका लागि छुट्टै टिम परिचालन गर्ने ।’

    बैठकले दाउन्ने खण्डमा निर्माण गर्दा यातयात सञ्चालनमा हुन सक्ने अवरोधबारे निर्माण व्यवसायीबाट ठोस कार्ययोजना १ साताभित्र पेस गर्नुपर्ने र कार्ययोजना अनुसारको सहमतिलाई सम्बन्धित पक्षले कार्यान्वयन गर्ने सहमति समेत भएको छ । यसअगाडि सहमत भएको लक्ष्य भन्दा १० प्रतिशत कम प्रगति भएको र यस आर्थिक वर्षभित्र यसअघिको १० पूरा हुने गरी कार्यतालिका प्राप्त गरी मासिक रुपमा अनुगमन गर्ने र लगातार ३ महिना लक्ष्य पूरा नगरे सम्झौताको शर्त अनुसार कारबाही अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।

    बैठकले वर्षायामको सम्भावित अवरोध हटाउने योजना तय गरी कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ । निर्माण सामग्रीको नियमित आपूर्तिका लागि मन्त्रालयले सहजीकरण गर्ने निर्णय समेत भएको छ । निर्माण व्यवसायीले शर्त पालना नगरेमा योजना कार्यालयबाट ठेक्का अन्त्य गर्ने निर्णय समेत भएको छ । प्याकेजका कामहरु आगामी जुनसम्म कम्तीमा २ लेन सडक निर्माण सम्पन्न नभए सम्झौता अनुसार कारबाही अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।

  • धरहराको भूमिगत पार्किङमा जडान गरियो आगो निभाउने यन्त्र

    धरहराको भूमिगत पार्किङमा जडान गरियो आगो निभाउने यन्त्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू (फायर एक्सटिंग्विसर) जडान गरेको छ ।
    निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित आगो निभाउने उपकरणहरू जडान गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको छ ।

    काठमाडौं महानगरले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको थियो । तर भूमिगत पार्किङमा मानवीय क्षतिको जोखिम लगायतको सुरक्षाको प्रश्न उठेपछि महानगरले आगो निभाउने उपकरणहरू जडान गरेको हो । ९ माघदेखि न्युरोडमा पार्किङ निषेध गरेर पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको बहुतले पार्किङको विकल्प दिइएको थियो ।

    तर न्युरोडका व्यवसायी आन्दोलित भएपछि महानगरले १४ माघदेखि निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीलाई अनुरोध गरेर धरहराको भूमिगत पार्किङको ३ तल्लामध्ये एक तलामा पार्किङ खुलाएको थियो । पार्किङ स्थलमा बत्ती र धुलोको समस्या छ ।

    जसका कारण धरहरामा पार्किङ गर्न पुगेका सवारी धनीहरूले पार्किङ स्थलमा बत्तीको व्यवस्था तत्काल गर्न र धुलो उड्ने समस्या समाधान गर्न महानगरसँग अनुरोध गरेका छन् । ‘हामीले अग्नि नियन्त्रण उपकरण जडान मात्रै नभएर धुलोको समस्या समाधान गर्न सरसफाइ कर्मचारी मार्फत काम पनि गरिरहेका छौं । पहिलो तल्लामा भेन्टिलेसन पनि चालु छ । ५ जना नगर प्रहरी सुरक्षाका लागि खटिएका छन्,’ पाण्डेले भने ।

  • दलीय आधारमा सम्बोधन माघ २४ गते, फागुन ६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    दलीय आधारमा सम्बोधन माघ २४ गते, फागुन ६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । आउँदो फागुन १४ गतेसम्मको प्रस्तावित कार्यतालिकामा सोमबार ९आज०को बैठकमा दलीय आधारमा सम्बोधन गर्ने कार्यसूची छैन ।

    राजनीतिक दलका तर्फबाट सम्बोधन यही माघ २४ गतेको बैठकमा गर्ने तय छ । माघ २४ को बैठकमा शून्य समय समेत राखिनेछ ।

    आउँदो बुधबार बस्ने उक्त बैठकमा शून्य समय, दलीय आधारमा मन्तव्य राख्ने, सम्पत्ति शुद्धीकरण, (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकपारित गर्ने प्रस्ताव पेस गरिनेछ ।

    त्यसपछिको बैठक आउँदो फागुन ६ गते बस्ने तय छ । ६ गते बस्ने तेस्रो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यतालिका छ ।

    फागुन १० गते शून्यसँगै विशेष समय थपिएको छ । सोही दिन राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० प्रस्तुत गर्ने कार्यतालिका छ ।

    फागुन ११ गते शून्यसँगै विशेष समयमा राखिएका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । त्यही दिन बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक समितिमा पठाउने कार्यसूची पनि छ । भन्सार विधेयकमाथि सैद्धान्तिक छलफल समेत गर्ने कार्यतालिकामा उल्लेख छ ।

  • टीआरसी विधेयक सहमतिमै अघि बढाउने प्रधानमन्त्रीको चाहना

    टीआरसी विधेयक सहमतिमै अघि बढाउने प्रधानमन्त्रीको चाहना

    काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै अघि बढाउनुपर्ने बताएका छन् ।

    संघीय संसदको अधिवेशन सुरु हुनु अगाडि सोमबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने बताए ।

    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सहमतिबाट टीआरसी विधेयक टुंग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।’

    टीआरसी विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा दफाबार छलफलमा छ । ५ जेठ २०८० मा कानुन न्याय तथा मानवअधिकार समितिले यो विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन गरेको थियो । उक्त संसदीय उपसमितिले विधेयकका अधिकांश विषयमा सहमति जुटाएर प्रतिवेदन बुझाइसकेको छ ।

    तर, प्रतिवेदनमा चार वटा विषयमा भने थप छलफलबाट टुंगोमा पुग्नुपर्ने भनेर राखिएको छ ।

  • विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्रको व्यवस्था गर्न माग

    विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्रको व्यवस्था गर्न माग

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराएकी छन्।

    प्रतिनिधि सभा नियमावली २०७९ को नियम ८० बमोजिम उनले उक्त संकल्प प्रस्ताव दर्ता गराएकी हुन्। विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था हुनुपर्ने संकल्प प्रस्तावमा छ ।

    संविधान २०७२ को धारा ३९ को उपधारा ५ मा बालबालिका को विवाह गर्न नहुने उल्लेख छ । मुलुकी देवानी संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ ऐनले पनि नीतिगत तहमै बालविवाह लाई अमान्य भनेको छ । तथापि, बालविवाह नरोकिएकाले विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यवस्था गर्न आवश्यक भएको संकल्प प्रस्तावमा उल्लेख छ ।

    अब कार्य व्यवस्था समितिबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उक्त संकल्प प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि सभामा छलफलका लागि प्रस्तुत गर्न सक्नेछ।

  • धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा

    धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।

    मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीण भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्तिको स्मरण गराउँदै बालेनले भनेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ‘नबनेको भए म बिसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

    काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निस्शुल्क पार्किङको व्यवस्था गरेको थियो । त्यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने मेयर बालेन शाहले बताएका छन् । अहिले त्यहाँको पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको शंका गर्दै उनले महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी समेत दिएका छन् ।

  • नामिबियाका राष्ट्रपतिको क्यान्सरका कारण मृत्यु

    नामिबियाका राष्ट्रपतिको क्यान्सरका कारण मृत्यु

    काठमाडौं । नामिबियाका राष्ट्रपति जिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उनी क्यान्सरपीडित थिए ।

    ‘अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँछु, प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपति, आज, आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ, राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । विज्ञप्तिमा भनिएको छ, नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति सङ्घर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाई जनताको घरको स्तम्भ गुमाएको छ।

    शनिबार मात्रै उपराष्ट्रपति एम्बुम्बाले राजधानी शहर विन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थिर अवस्थामा रहेको जनाकारी गराएका थिए । उनी ८२ वर्षका थिए ।

  • आज देशभरका चलचित्र घर बन्द हुने

    आज देशभरका चलचित्र घर बन्द हुने

    काठमाडौं । सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयको समर्थन गर्दै क्युएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ ।