Category: समाचार

  • बिहीबारबाट कार्यालय समय एक घण्टा छोटिने

    बिहीबारबाट कार्यालय समय एक घण्टा छोटिने

    काठमाडौं । बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ ।

    अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।

  • नेपालले थप हिमाल आरोहणमा खुला गर्नुपर्छ : राष्ट्रपति

    नेपालले थप हिमाल आरोहणमा खुला गर्नुपर्छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि हिमाल आरोहणका लागि अनुमति दिन सरकारलाई सुझाव दिए ।

    उनले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए । ‘नेपालमा अनगिन्ती हिमाल छन्, जुन औपचारिक रुपमा आरोहणका लागि खुला गरिएको छैन । ती हिमालको आरोहणका अनुमति दिन र प्रवर्द्धन गर्न तत्काल पहल लिन जरुरी छ’, राष्ट्रपति पौडेलले भने, ‘म नेपाल सरकारलाई ती हिमालको व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन पनि सुझाव दिन चाहन्छु ।’

    यस कार्यका लागि नेपाल पर्वतारोहण सङ्घ साझेदार हुन सक्ने राष्ट्रपति पौडेलको भनाइ छ । नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्ने दिएको जिम्मेवारी सङ्घले सफलतापूर्वक पूरा गरेको उनले उल्लेख गरे ।

    नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोरियो गुटेरेसले नेपालमा परेको जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता स्मरण गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक भएको बताए ।

  • माझी बस्तीको लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश, श्वेता खड्कासँग लिखित जवाफ माग

    माझी बस्तीको लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश, श्वेता खड्कासँग लिखित जवाफ माग

    काठमाडौं । उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ।

    मंगलबार न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो।

    लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेशसमेत दिएको छ ।

    श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माणको क्रममा माझीहरुले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो। तर अहिलेसम्म पनि ऋण भुक्तानी नभएको र घरजग्गा लिलामीमा जाने भएपछि माझीहरुले अदालत रिट दायर गरेका थिए।

    उत्प्रेषणको आदेश जारी गरिपाऊँ भन्दै हेलबहादुर माझीसमेतले अदालतमा रिट दायर गरेका थिए।

  • गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित दुई जना पक्राउ

    गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलाएर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कचनकवल गाउँपालिका–८ का ३७ वर्षीय हर्क लिम्बु र भारतीय नागरिक ४८ वर्षीय मोहम्मद करिम छन्। उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ।

  • गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किदा असईको लेक लागेर मृत्यु

    गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किदा असईको लेक लागेर मृत्यु

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ ।

    अन्नपूर्ण बेसक्याम्प पुगेर फर्कने क्रममा आज बिहान मृत्यु भएको जनाइएको छ । असही ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।

    गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए । हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।

    उपचारको क्रममा ९:४६ मा चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्यालयले जनाएको छ। उनी प्रहरी चौकी घान्द्रुकका इन्चार्ज थिए। पर्वत मोदी गाउँपालिका-६ का उनी ४२ वर्षका थिए।

  • नेपाल सरकार र ६ यूरोपेली वित्तीय संस्थाबीच सम्झौता

    नेपाल सरकार र ६ यूरोपेली वित्तीय संस्थाबीच सम्झौता

    काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय र नेपालमा लगानी गरिरहेका छ वटा विकास वित्तीय संस्थाबीच सम्झौता भएको छ । बेलायतको ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट, नेदरल्याण्डको एफएमओ, बेल्जियमको बायो, फिनल्याण्डको फिनफण्ड,फ्रान्सको प्रोपार्को, तथा स्वीजरल्याण्डको साइफेमबीच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    संझौतापत्रमा नेपालको तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र वित्तीय संस्थाहरूको तर्फबाट साइफेमका अध्यक्ष जर्ज फ्राइडेनले हस्ताक्षर गरे । यि वित्तीय संस्थाहरूले नेपालको दिगो विकास,जलवायु परिवर्तन, गरिबी निवारणका लागि सहुलियत दरमा नेपालमा ऋण प्रवाह गर्ने तथा कम्पनीको शेयरहरूमा समेत लगानी गर्दै आएका छन् । पाँच वर्षका लागि संझौतापत्रमा हस्ताक्षर गरिएको छ ।

    संयुक्त अधिराज्य(बेलायत)सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

    लन्डनस्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको नेपालमा लगानी र व्यापारका अवसर विषयक एक उच्चस्तरीय सम्मेलनमा बोल्दै उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, जलविद्युत, सूचना प्रविधि, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

  • रिगलको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

    रिगलको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

    काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज पूरा नभएपछि आज हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा म‌गलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । म‌गलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए । आज बाँकी सुनुवाइ हुनेछ ।

    संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।

    गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि म‌गलबारका लागि सुनुवाइ तय गरिएको थियो । गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो । साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो ।

  • संयुक्त राष्ट्र संघका महासचिव आज न्यूयोर्क फर्कने

    संयुक्त राष्ट्र संघका महासचिव आज न्यूयोर्क फर्कने

    काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन्। कतार एयरवेजको उडानमार्फत बिहान १० बजे गुटेरेस न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

    आइतबार राति काठमाडौं आइपुगेका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। नेपाल बसाइका क्रममा उनले अन्नपुर्ण आधार शिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए।

  • परराष्ट्र मन्त्री साउद र अमेरिकी विकास वित्त निगमका सीइओबीच भेटवार्ता

    परराष्ट्र मन्त्री साउद र अमेरिकी विकास वित्त निगमका सीइओबीच भेटवार्ता

    काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनीहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको छ ।

    मन्त्री साउदले नेपाल सरकारले नेपालमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि लिइएको रणनीतिका बारेमा प्रकाश पार्दै निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए । निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रहरूका बारेमा आफ्नो धारणा राखे ।

  • संयुक्त रास्ट्रसंघका महासचिवको सम्बोधन नेपालका लागि महत्त्वपूर्ण : प्रधानमन्त्री

    संयुक्त रास्ट्रसंघका महासचिवको सम्बोधन नेपालका लागि महत्त्वपूर्ण : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको प्रतिक्रिया जनाएका छन् । 

    संसद्‌ भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले जलवायु र गरिवी निवारणसम्बन्धी फन्ड छुट्याउने सबभन्दा ठूलो कुरा भएको समेत उल्लेख गरे ।

    ‘राष्ट्रसंघका महासचिवले बोल्नसक्ने कुरा बोल्नुभयो, यो नेपालको लागि खुसीको कुरा हो,’ प्रधानमन्त्री दाहालले भने, ‘जलवायु र गरिबी निवारणसम्बन्धी फन्डहरु छुट्याउने भन्ने, यो भन्दा ठूलो कुरा केही हुन्न ।

    महासचिव गुटेरेसबाट शान्तिप्रक्रियाबारे पनि राम्रो धारणा आएको प्रधानमन्त्री दाहालको भनाइ छ । तर नेपालकै केही नेताहरुले देश विभाजित छ भन्ने देखाएको भन्दै उनले असन्तुष्टि जनाए ।

    नेपालको शान्ति प्रक्रियाबारे महासचिव गुटेरेसको राम्रो धारणा छ । नेपालकै केही नेताहरुले देश विभाजित छ जस्तो देखाउनुभयो, यो दुर्भाग्यपूर्ण छ,’ उनले भने ।

    यसैबीच, प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले महासचिव गुटेरेसले नेपाली राष्ट्रको राम्रो मूल्यांकन गरेको बताए ।

    महासचिव गुटेरेसले वातावरण र गरिबी निवारणको बारेमा बोलेको उल्लेख गर्दै ओलीले भने, ‘सम्पन्न, धनी देशहरुलाई र संयुक्त राष्ट्रसंघका प्रतिबद्धता र नेपालको सजगताको कुरा गर्नुभएको छ । शान्ति प्रक्रियालाई पीडितमैत्री बनाउने कुरा गर्नुभएको छ ।’

    महासचिव गुटेरेसले संघीय संसद्‌का दुवै सदनको बैठकलाई मंगलबार सम्बोधन गरेका थिए ।

  • संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको संसदमा के भने?

    संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको संसदमा के भने?

    काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकासोन्मुख देशको प्रतिनिधित्व हुनेगरी राष्ट्रसंघीय सुरक्षा परिषद्मा सुधार हुनुपर्ने बताएका छन् । मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्ने बताए ।

    विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्छ । मैले संयुक्त राष्ट्रसंघको पुरानो सुरक्षा परिषद्लाई सुधार गर्न आह्वान गरेको छु,’ गुटेरेसले भने ‘मैले विश्वव्यापी वित्तीय संरचनालाई सुधार गर्ने उपायहरू प्रस्ताव गरेको छु जसले गर्दा यसले विकासशील देशहरूलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्दछ र तिनीहरूका आवश्यकताको प्रतिकार्य गर्दछ ।’ उनले यस वर्षको संयुक्त राष्ट्र संघ महासभामा र त्यसपछि वास्तविक ध्यान प्राप्त गरेको बताए ।

    राष्ट्रसंघमा सबैभन्दा शक्तिशाली रहेको सुरक्षा परिषद्मा भिटो मतसहित अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स स्थायी सदस्य छन् भने प्रत्येक २ वर्षमा निर्वाचित हुने १० अस्थायी सदस्य छन् । विश्व शक्तिका रूपमा उदाउदा नयाँ शक्ति राष्ट्रहरुले सुरक्षा परिषदको सुधार हुनुपर्ने माग गर्दै आएका छन् ।

    महासचिव गुटेरेसले आजको वास्तविकतालाई प्रतिबिम्बित गर्ने बलिया अन्तर्राष्ट्रिय संस्थाहरू चाहिने र त्यसमा परिवर्तन हुनुपर्ने बताए । उनले आगामी वर्षको भावी राष्ट्रसंघीय शिखर सम्मेलन थप प्रगतिलाई अघि बढाउने महत्त्वपूर्ण अवसर रहेको बताए।

    उनले विश्व बहुध्रुवीयतातर्फ बढेको बताए । ‘यो बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ । यो राम्रो कुरा हो । बहुध्रुवीय विश्वले वैश्विक मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ,’ उनले भने ‘तर शान्ति कायम राख्न यो नयाँ गतिशीलतालाई बलिया बहुपक्षीय संस्थाहरू चाहिन्छन् । इतिहासले हामीलाई त्यो प्रमाणित गरेको छ ।’

    उनले बीसौं शताब्दीको सुरुमा युरोप बहुधुवीय थियो, तर बलिया बहुपक्षीय संस्थाहरू नभएका कारण युद्ध भएको बताए । ‘यो युद्धमा पर्‍यो जसले विश्वलाई आफ्नो चपेटमा लियो,’ उनले भने, त्यो हामीले लिन सक्ने जोखिम होइन।

  • हमास-इजरायल युद्धमा ३१ पत्रकार मारिए

    हमास-इजरायल युद्धमा ३१ पत्रकार मारिए

    काठमाडौं । अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् ।

    यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) को प्रतिवेदन उद्धृत गर्दै टाइम्स अफ इजराइलले पत्रकारहरूले लगातार हमला, पक्राउ, धम्की, सेन्सरसिप र परिवारका सदस्यको हत्याको सामना गर्नुपरिरहेको बताएको छ ।

    ती पत्रकारहरूमध्ये २६ जना गाजामा र तीमध्ये पनि अक्टोबर ७ मा इजराइलमा हमासको हमलाका क्रममा चार जना मारिएका थिए । हिज्बुल्लाहलाई लक्षित गरी गरिएको इजराइली गोलाबारीमा लेबनानमा एक पत्रकारको मृत्यु भएको थियो ।

    “सीपीजेले अन्य पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालयहरू तथा पत्रकारहरूको घरमा क्षति पुर्‍याएको धेरै अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान गरिरहेको छ”, सीपीजेले भनेको छ ।

    “पत्रकारहरू सङ्कटको बेला महत्त्वपूर्ण काम गर्ने नागरिक हुन् र उनीहरूलाई युद्धरत पक्षहरूले निशाना बनाउन हुँदैन भन्नेमा सीपीजे जोड दिन्छ”, सीपीजेको मध्यपूर्व तथा उत्तर अफ्रिका कार्यक्रम संयोजक सेरिफ मन्सुरले भन्नुभयो । रासस/एएनआई

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ महिना यताकै कम

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७ महिना यताकै कम

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन २८ अंकले घटेको नेप्से सोमबार ३ अंकले बढेकोमा आज फेरि दोहोरो अंकले घटेको हो ।

    सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १२ करोडले घटेर ५७ करोडमा सीमित भएको छ । यो पछिल्लो सात महिना यताकै कम हो ।

    मंगलबार नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० विन्दुमा आइपुगेको छ । यसदिन २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.४६ प्रतिशतले घटेको छ ।

    आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १ करोड ७० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

    दोहोरो अंकले घटेको बजारमा आज सोनापुर मिनरल्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले आज पनि ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

  • काभ्रेमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

    काभ्रेमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काभ्रेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पनौती नगरपालिका-२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा तीन जना घाइते भएका थिए।

    घाइतेको उपचारको लागि सिरमेमोरियल अस्पतालमा पठाइएको थियो। अस्पताल पुर्‍याउँदा चालक कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका-२ बस्ने ५० वर्षीय शिवबिक्रम केसीको मृत्यु भएको हो। बेथानचोक गाउँपालिका-२ का ४५ वर्षीय सारदा तिमल्सिनाको टाउको, घाँटी र दुबै हात-खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

  • नेपालका ६० प्रतिशत घर एक तले

    नेपालका ६० प्रतिशत घर एक तले


    काठमाडौं । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले घर छन् । 

    नेपालमा एक दशमलव तीन प्रतिशत चारतले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि नौतले र शून्य दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर छन् । “मधेस प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत छन् भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् दुई दशमलव ३४ प्रतिशत छन्”, तथ्याङ्क कार्यालयले भनेको छ ।

    देशभर कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई दशमलव ९८ प्रतिशत रहेको छ ।

    करिब ६२ प्रतिशत परिवारको कुनै एक सदस्यसँग बैंक खाता रहेको छ । “कूल ४१ लाख २२ हजार छ सय ९० अर्थात ६१ दशमलव ८९ प्रतिशत परिवारमा कम्तीमा एकजना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ”, तथ्याङ्क कार्यालयको विवरणमा भनिएको छ, “यसैगरी कूल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्यामध्ये ७४ लाख नौ हजार एक सय ८१ जना अर्थात २५ दशमलव ५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको देखिन्छ ।”

    यसैगरी, कूल एक करोड ४२ लाख ५३ हजार पाँच ५१ पुरुषमध्ये २६ दशमलव ४२ प्रतिशत र कूल एक करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४ दशमलव ७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको छ । देशभरका कूल आठ लाख ३६ हजार एक सय २७ अर्थात १२ दशमलव ५५ प्रतिशत परिवारमा कम्तीमा एकजना व्यक्तिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन् ।

    देशभरका कूल परिवार सङ्ख्यामध्ये २५ दशमलव ५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिन्छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१ दशमलव ९६ प्रतिशत छन् ।

    राष्ट्रिय जनगणना २०७८ सञ्चालनका क्रममा २०७८ भदौ ३० देखि असोज १८ सम्म (२० दिन) घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म (पन्ध्र दिन) प्रत्येक व्यक्ति तथा परिवारका बारेमा विस्तृत विवरण सङ्कलन गरिएको थियो । रासस

  • ट्राफिकले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिने

    ट्राफिकले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिने

    काठमाडौं । अब सवारी चालकहरुले चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) बोकेर हिड्नुपर्ने झन्झट हटेको छ । ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने भएको हो ।

    सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै नागरिक एपले याे सेवा देशैभर लागू भएकाे जानकारी दिएकाे छ । ​ ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारीचालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ।

    सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल लाइसेन्स किन मान्य हुँदैन भन्ने विषयमा बारम्बार प्रश्न उठिरहेको थियो ।

    सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘नागरिक एप’ २०७७ माघमा सार्वजनिक गरेको थियो। नागरिक एपमा नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी लिंक गर्न सकिन्छ।

  • शेयर बजारमा झिनो अंकको सुधार, कारोबार ६९ करोडमा सीमित

    शेयर बजारमा झिनो अंकको सुधार, कारोबार ६९ करोडमा सीमित

    काठमाडौं । शेयर बजारझिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० विन्दुमा पुगेको हो । यसदिन २८७ कम्पनीको ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँ बराबरको २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ०।८६ प्रतिशतले बढेको छ ।

    आज साधना लघुवित्तको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ । यसको साढे ३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    झिनो अंकले बढेको बजारमा आज पञ्चकन्या माइ हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ७।८२ प्रतिशत कमाएका छन् । त्यस्तै, मन्दकिनी हाइड्रोपावर र सुपर मोदी हाइड्रोपावरको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यता सोनापुर मिनरल्सको सेयर मूल्यमा भने लगातार दोस्रो दिन नेगेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले आज पनि ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

  • बाराको कैलयामा गोली प्रहार गरि प्रधानाध्यापको हत्या

    बाराको कैलयामा गोली प्रहार गरि प्रधानाध्यापको हत्या

    काठमाडौं । बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश स्वर्णकारको मृत्यु भएको छ ।

    सोमबार दिउँसो कलैयास्थित एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका उनलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले चार राउण्ड गोली हानेका थिए ।

    अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको उपचारको क्रममा वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ ।

    कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो । स्वर्णकारको टाउको र छातिमा ३ राउण्ड गोली लागेको थियो।

  • लेवनानमा एक नेपाली शान्ति सैनिक घाइते

    लेवनानमा एक नेपाली शान्ति सैनिक घाइते

    काठमाडौं । लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । शनिबार बिहान लेबनानको होउला गाउँमा दुई मोटर सेलले त्यहाँ कार्यरत शान्ति सैनिकलाई घाइते बनाएको थियो ।

    घाइते ती सैनिकलाई युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) को हेडक्वाटर नाकुरामा उपचार भइरहेको छ । युनिफिलद्वारा जारी वक्तव्यअनुसार घाइते सैनिकको अवस्था भने सामान्य छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पनि घाइते नेपाली सैनिकको अवस्था सामान्य रहेको जानकारी दिए । शान्ति सैनिकले लेबनान र इजरायलको सीमा क्षेत्रमा रहेको ‘ब्लु लाइन’ मा शान्ति स्थापनाका लागि काम गरिरहेका छन् । हमासले इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि इजरायलले हमास र प्यालेस्टाइनमा आक्रमण गरिरहेको छ ।

    पछिल्लो समय हमासलाई सहयोग गर्ने लेबनानको अर्को सशस्त्र पार्टी हेजबुल्लाहले पनि इजरायललाई लेबनानबाट आक्रमण गर्न थालेको छ । शान्ति सैनिकको कार्य क्षेत्रमा भएको उक्त आक्रमण हेलबुल्लाह वा इजरायल कसले गरेको भन्न यकिन हुन सकेको छैन । युनिफिलले भने वक्तव्य जारी गर्दै शान्ति सैनिकमाथि भएको उक्त आक्रमणको भर्त्सना गरेको छ भने छिटो युद्धविराम गर्नका लागि पनि आह्वान गरेको छ ।

  • मुगु सामुहिक हत्याकान्ड, एक जना शङ्काष्पद व्यक्ति पक्राउ

    मुगु सामुहिक हत्याकान्ड, एक जना शङ्काष्पद व्यक्ति पक्राउ


    काठमाडौं । मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ ।  जिल्ला  प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले हत्यारा अनुसन्धानका लागि घटना स्थलमा  ११ गते नै कर्णाली प्रदेश कार्यालयको  समन्वयमा घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु  पुगेर अनुसन्धान गरिरहेको छ ।  आइतबार बिहान हत्यारा नजिक प्रहरी पुगिसकेको छ उनले बताए ।

    प्रहरी प्रमुख  थापाले भने, ‘शंकास्पद अनुसन्धानले नजिक पुर्‍याएको छ  एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको साँचो हो, यकिन र विस्तृत घटनाबारे थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने छ ।’

    यसै बिच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । प्रदेश प्रहरी प्रमुख ढकाललाई प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनास्थलको स्थलगत भ्रमणमा सघाइरहेका छन्  प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

    घटना स्थलमा शनिवार नै  विशेष टोली  जुम्ला र कोहलपुरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरीको अनुसन्धान टोली मुगुको  मुन्दु गाउँमा  पुगेको थियो ।

  • विश्वकप छनोट आजबाट, नेपाल र सिङ्गापुर भिड्दै

    विश्वकप छनोट आजबाट, नेपाल र सिङ्गापुर भिड्दै


    काठमाडौं । टी-२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ ।त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले फिल्डिङ गरिरहेको छ ।

    नेपाली टोलीमा आज सन्दीप लामिछाने परेका छन् । त्रिकोणात्मक सिरिजको फाइनल खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएका हुन् । ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् । सन्दीपले त्रिकोणात्मक सिरिज खेलेका थिएनन् । अरु खेलाडी परिवर्तन भएको छैन ।

    एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार/चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

    सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन्।
    आयोजक नेपाल समूह ‘ए’मा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् । समूह ‘बी’मा यूएई, बहराइन, कुबेत र हङकङ छन् ।

  • इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु

    इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु


    काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

    अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ ।

    इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् ।

    सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।
    इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।

  • संयुक्त राष्ट्रसंघका महासचिवको आज सगरमाथाको हेलि टुर, पोखरा समेत जाने

    संयुक्त राष्ट्रसंघका महासचिवको आज सगरमाथाको हेलि टुर, पोखरा समेत जाने

    काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् ।

    मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।
    त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्नुहुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेस दिउँसो पोखरा भ्रमणका लागि प्रस्थान गर्नेछन् ।महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक  हाना सिंगर-हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनेछन् 
    महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका हुन् ।

    उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए

    साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

    भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए ।

  • सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने

    सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने


    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ ।

    सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन्।

    गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् ।
    गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरुलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका छन् ।

    साथै उनले औपचारिक पोशाकमा आउन समेत भनेका छन् । ‘उक्त दिन औपचारिक पोशाकमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछु’, सभामुख घिमिरेले सांसदहरुलाई भनेका छन् ।

  • शान्ति प्रक्रिया टुङ्याउन राष्ट्रसंघका महासचिवको भ्रमण महत्त्वपुर्ण : प्रधानमन्त्री

    शान्ति प्रक्रिया टुङ्याउन राष्ट्रसंघका महासचिवको भ्रमण महत्त्वपुर्ण : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन मद्दत गर्ने बताएका छन् ।

    चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे कुराकानी भएको थियो ।

    ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँको महत्वपूर्ण भूमिका हुने कुरा हामीले गर्‍यौं’, भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘यो भ्रमणले राष्ट्रसंघसँग हाम्रो सम्बन्धलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले व्यक्त गरेका छौं ।

  • गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान

    गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान


    काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनको गाजा क्षेत्रमा आपतकालीन मानवीय युद्धविराम गर्न अपिल गरेका छन् ।

    भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यूएन महासचिव गुटेरेसले गाजा क्षेत्रमा इजरायलले गरिरहेको बम आक्रमणका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै त्यसलाई रोक्न तत्काल युद्धविराम गर्न अपिल गरेका हुन् 

    ‘संसारसामु मानवीय प्रकोप भइरहेको स्पष्ट छ । अत्याधिक बम आक्रमणको शिकार भएर २० लाख भन्दा बढी मानिसहरू असुरक्षित जीवन बिताइरहेका छन्’, उनले भने, ‘कहीँ जाने सुरक्षित स्थान छैन । जिउनका लागि अत्यावश्यक चीजहरू खाना, पानी, आश्रय र चिकित्सकीय हेरचाहबाट वञ्चित भइरहेका छन् । म जिम्मेवार सबैलाई आफ्नो कदमबाट पछि हट्न आग्रह गर्दछु । आपतकालीन मानवीय युद्धविरामको लागि मेरो अपील दोहोर्‍याउन चाहन्छु।

    उनले सबै बन्दीहरूको बिना शर्त रिहाई गर्न पनि अनुरोध गरेका छन् । गाजाका जनताको आवश्यकताहरू पूरा गर्ने स्तरमा दिगो मानवीय राहत वितरणको व्यवस्था गर्न र गाजा, इजरायल र नेपाललगायत विश्वभरका प्रभावित मानिसहरूका लागि दुःस्वप्न बनेको यस युद्धको अन्त्य गर्न पनि महासचिव गुटेरेसले सम्बन्धित पक्षलाई आग्रह गरे ।
    उनले मध्यपूर्वमा भएको सङ्कट नेपालबाट हजारौं माइल टाढा भए पनि यसले नेपाली जनतालाई छोएको बताए।

  • लेबनानमा आईडीएफ र हिजबुल्लाहबीच भिडन्त, एक नेपाली शान्ति सैनिक घाइते

    लेबनानमा आईडीएफ र हिजबुल्लाहबीच भिडन्त, एक नेपाली शान्ति सैनिक घाइते


    काठमाडौं । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला खसेको गोलीको छर्रा लागेर सामान्य घाइते भएका हुन् । घाइते सैनिकको नाम खुलाइएको छैन । लेबनानमा हाल ८७४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।

  • भारतीले सुरु गरिन् अनसन

    भारतीले सुरु गरिन् अनसन

    काठमाडौं । भारती शेर्पाले दशैं सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् ।

    श्रीमान् हत्या गरेको आरोपमा थुनामा रहेका योगराज ढकाल (रिगल)लाई आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी शेर्पाले माइतीघरमा पुनः रिले अनसन सुरु गरेकी हुन् ।

    श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । आममाफीपछि उनले विरोध गर्दै आएकी छन् ।

    २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँकेको नेपालगञ्जका चेतनको हत्या भएको थियो ।

  • मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु

    मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु

    काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् ।

    ओटिस् आँधीले गुरेरोमा ठुलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचनाहरू ध्वस्त बनाएको बताइएको छ । घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह सहर अकापुल्को र वरपरका समुदायहरुमा रुखहरू र बिजुलीका खम्बाहरू ढालेको छ ।

  • नेपाल आए संयुक्त राष्ट्रसंघका महासचिव

    नेपाल आए संयुक्त राष्ट्रसंघका महासचिव

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटरेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् ।

    राति एक बजे काठमाडौँ आएका महासचिव गुटरेसले आजै महत्वपूर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

    भ्रमणको पहिलो दिन आज आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ।

    आजै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
    भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।

    प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आझ साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

    भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

    सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।