Category: समाचार

  • भरतपुरमा एक युवक मृत फेला

    भरतपुरमा एक युवक मृत फेला


    चितवन । चितवनको भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन् ।

    उनको मृत्युको कुनै कारण खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

    सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

    नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत साउन ४ गते इतिहासकै उच्च प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    असोज पहिलो सातादेखि सुनको भाउ लगातार घटेर प्रतितोला १ लाख ६ हजार रुपैयाँसम्म झरेको थियो । जुन गत वैशाख यताकै सस्तो हो । तर, असोज तेस्रो साताबाट फेरि उकालो लागेको सुनको मूल्यले चाडवाडको सिजनमा नयाँ रेकर्ड कायम गरेको हो ।

    दसैं, तिहार जस्ता चाडवाडको बेलामा सुनको धेरै माग र खपत हुने गरेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला प्रतितोला १ हजार ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९२६.८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • नेपाल फर्कन चाहेनन् इजरायलमा रहेका अधिकांश नेपाली

    नेपाल फर्कन चाहेनन् इजरायलमा रहेका अधिकांश नेपाली

    काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् । दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएका थिए ।

    दूतावासले नेपाल फर्किन चाहनेहरुका लािग आवश्यक व्यवस्था गर्ने सार्वजनिक सूचना नै जारी गरेको छ । दूतावासले आक्रमण सुरु भएको तेस्रो दिनदेखि नेपाल फर्किन चाहनेको विवरण माग गरेको थियो । त्यसरी सूचना जारी गर्दा नाम दर्ता गराएका करिब चार सयभन्दा बढीमध्ये २५४ जना मात्रै पहिलो चरणको उद्धारमा नेपाल फर्किएका थिए । त्यसपछि मंगलबार थप १८ जनालाई भारतीय विमानको सहयोगमा दिल्ली हुँदै नेपाल ल्याइएको छ । पहिलो चरणमा नेपाल फर्किने २५४ जना सबै विद्यार्थी थिए भने यो चरणमा श्रमका लागि गएकाहरू बढी छन् ।

    गएको ७ अक्टोबारबाट हमासले इजरायलको दक्षिणी क्षेत्रमा सुरु गरेको रकेट आक्रमणमा नेपालीहरू समेत परेका थिए । त्यसमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । घाइते भएकामध्ये एक जना डिस्चार्ज भएर नेपाल आइसकेका छन् भने एकजना इजरायलमा नै दूतावासको निगरानीमा छन् । बाँकीको पनि अस्पतालनबाट छिट्टै डिस्चार्ज गर्ने तयारी चलिरहेको छ । एकजना नेपाली विद्यार्थी विपिन जोशी भने घटनाकै दिनदेखि सम्पर्क विहीन छन् ।

    दूतावासका प्रथम सचिव घिमिरेका अनुसार विपिनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ । अहिलेसम्म कुनै नतिजा हात लाग्न सकेको छैन । घटनामा परी ज्यान गुमाएका १० जनामध्ये पाँच जनाको शव इजरायलले नेपाली राजदूतावासलाई हस्तान्तरण गरिसकेको छ । बाँकी पाँच जनाको शवको पहिचान र केही कानुनी प्रक्रिया बाँकी रहेको दूतावासले जनाएको छ । छिट्टै मृतकका शव नेपाल पठाउने तयारी भइरहेको घिमिरेको भनाइ छ ।

  • यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै

    यू-१९ प्रिमियर कपमा नेपाल र साउदी अरेविया खेल्दै

    काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ । खेल युएसडी-युकेएम ओभलमा नेपालले साउदीविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । साउदीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।

    समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई–दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ । यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू–१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ ।

    हाल भइरहेको यू–१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ । त्यसैले देव खनालको कप्तानीमा रहेको नेपाली टोली लगातार तेस्रो खेल जित्नै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

    समूह ए को विजेताले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ । समूह डी को अन्तिम दुई खेल शुक्रबार हुनेछ । जसमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुनेछ । जापान २ खेल जित्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको एक जित र एक हारबाट समान २ अंक छ ।

    दुवै खेलमा पराजित इन्डोनेसिया अंकविहीन छ । यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू–१९ एसिया कपमा छनोट हुनेछन् । मलेसिया जानुअघि नै नेपालले यू–१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू–१९ एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ ।

  • आज नवरात्रको पाँचौं दिन, स्कन्ध माताको पूजा आरधना

    आज नवरात्रको पाँचौं दिन, स्कन्ध माताको पूजा आरधना

    काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन् ।

    दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।


    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।

  • इजरायलमा पुगेर अमेरिकी राष्ट्रपति बाइडेनले के दिए सन्देश ?

    इजरायलमा पुगेर अमेरिकी राष्ट्रपति बाइडेनले के दिए सन्देश ?

    काठमाडौं । अविरल रुपमा बमवर्षा गर्दै निहत्या नागरिकको ज्यान लिइरहेको इजरायललाई अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो मुलुकको समर्थन रहेको सन्देश दिएका छन् । हमासले इजरायलमा गरेको आतंककारी हमलाको विरुद्धमा इजरायलले गाजा क्षेत्रमा बम खसालिरहेको छ । यसबाट निहत्था नागरिकको ज्यान गएको छ । मंगलबार राती मात्र एक अस्पतालमा बम खस्दा कम्तिमा १ हजार जना मानिस मारिएका छन् ।

    यो आक्रमण अगाडी आक्रामक देखिएका अमेरिका र इजरायली नेता त्यसपछि भने रक्षात्मक स्थितिमा पुगेका छन् । जुन घटनाको विश्वभर आलोचना भइरहेको छ । जो बाइडेन केबल चार घण्टाका लागि इजरायल पुगेका थिए । उनले इजरायल एक्लै नभएको र अमेरिका उसको साथमा रहेको बताए ।


    प्यालेस्टिनी चरमपन्थी समूह हमासविरुद्धको लडाइँमा अमेरिकाले सुरुदेखि नै इजरायललाई साथ दिँदै आएको छ । अमेरिकाले हमासलाई प्रतिबन्धसमेत लगाएको छ । पछिल्लोपटक हमासले २० असोजमा एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछिका दोहोरो लडाइँमा परी दुवैतर्फ ४ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    बाइडनको आग्रहमा इजिप्टले गाजा क्षेत्रमा गर्न चाहेको सहयोग सीमित मात्रामा उपलब्ध गराउने अनुमति दिन इजरायल तयार भएको छ । तर, त्यसका लागि बन्दी निशर्त रिहाई हुनुपर्ने शर्त राखिएको छ । बाइडनले गाजा क्षेत्रका पीडितलाई मद्दत गर्ने घोषणा पनि गरेका छन् ।

    बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले गाजा र वेस्ट बैंकमा मानवीय सहायता पुर्याउन १०० मिलियन डलर सहयोग घोषणा गरेका छन् । अमरिकाले उपलब्ध गराउने रकमबाट १० लाखभन्दा बढी विस्थापित र युद्ध प्रभावित प्यालेस्टिनीले राहत पाउने बताइएको छ । तर यो सहयोग हमास या अरु कुनै आतंकवादी समूहसम्म पुग्न नहुनेमा बाइडनले जोड दिएका छन् ।

  • त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै

    त्रिकोणात्मक सिरिजमा आज नेपाल र हङकङ भिड्दै

    काठमाडौं । नेपाल टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र हङकङ भिड्दैछन् । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । टी–२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा दुई–दुई खेल खेल्नेछन् ।

    टी–२०आई नेपाललले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको छ । पछिल्लो पटक नेपाल र हङकङ २०२० मार्चमा एसीसी टी–२० इस्टर्न रिजनमा खेलेका थिए । जसमा हङकङ ४३ रनले विजयी भएको थियो । उक्त खेल खेलेका कुशल मल्ल, करण केसी, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरालगायत खेलाडी अहिले नेपाली टिममा छन् ।

    सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपबाट नेपाल र हङकङले टी–२०आईमा डेब्यु गरेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै सानदार डेब्यु गरेको थियो । त्यसमा खेलमा डेब्यु गरेका सोमपाल कामी मात्र हाल नेपाली टिममा छन् । त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङकङले तीन खेल जितेको छ ।

    २०१४ मा नेपाल र हङकङबीच भएको पहिलो टी–२० शृखंलाको एक मात्र खेलमा हङकङ २ विकेटले विजयी भएको थियो । २०१५ मा भएको आईसीसी टी–२० विश्वकप छनोटमा हङकङले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । यस्तै २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा भने नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

  • ५ महिनामा १२ अर्बको विद्युत भारत निर्यात

    ५ महिनामा १२ अर्बको विद्युत भारत निर्यात

    काठमाडौं । नेपालले एक महिना ९असोज०मा ४ अर्ब २ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । गत जेठयता भने कुल १२ अर्ब रुपैयाँको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

    तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

    साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो ।
    साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रति युनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रति युनिट १० रुपैयाँ २७ पैसा छ । विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको छ ।


    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ ।

    एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट ५६२ मेगावाट र महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारणलाइनबाट ७० मेगावाट विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात हुन सक्ने देखिएको बताए ।

    ‘करिब १ सय मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरेका थियौं, तर अहिलेसम्म स्वीकृति नपाएपछि केही दिन अघि पुनः प्रस्ताव पठाएका छौं,’ घिसिङले भने, ‘चाडपर्व सुरु भइसकेको छ, यसअवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको र तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युतको माग घट्छ, भारतबाट थप विद्युत् निर्यात स्वीकृति नपाउने हो भने विद्युत गृहहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्ने छ, यस्तो अवस्थामा छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं ।’

  • नेवानिले जहाज किन्न ल्याएको ऋणको असोजसम्मको किस्ता तिर्यो

    नेवानिले जहाज किन्न ल्याएको ऋणको असोजसम्मको किस्ता तिर्यो

    काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्न ल्याएको ऋणको असोज २०८० सम्मको किस्ता तिरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ । यसअघि निगमले २०७९ असारदेखि २०८० असारसम्म ३ अर्व ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

    निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएपछि नगद प्रवाहमा समेत सुधार आएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । यसबीचमा इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना वक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको पौडेलले जनाएका छन् । निगमले तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरीद गर्ने कार्ययोजनासमेत अन्तिम चरणमा पुगेको निगमले जनाएको छ ।

    निगमले नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रवद्र्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास कम्पनीको छ । यसबाट आफ्नो राष्ट्रिय उत्तरदायित्व समेत निर्वाह हुने निगमले जनाएको छ ।

  • त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध नेपालको सहज जित

    त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध नेपालको सहज जित

    काठमाडौं । नेपालले यूएईमाथि ७ विकेटको सहज जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए ।

    पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे । टस हारेर ब्याटिङ गरेकव यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो । उसको सुरुवात खराब थियो । टी–२० अन्तर्राट्रियमा डेब्यू गरेका विकेट किपर खलिद शाह पहिलो ओभरको अन्तिम बलमा डक आउट भए भने अलिशान सराफू पनि मात्र ६ रनमा आउट भए ।

    ५४ रन जोड्दा ४ विकेट गुमाएको यूएईको पारी र वसिल हमिदले सम्हाल्ने प्रयास गरे । दुबैले पाँचौं विकेटका लागि ५६ रनको साझेदारी गरे । नसिर ३२ रनमा आउट भए । त्यसपछि पनि आक्रामक पारी खेलेका हमिदले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि अर्धशतक पूरा गरे । ३६ बलमा ५० रन बनाएका उनले ५१ रनमा आउट भए । आसिफ खानले १२ रन बनाए भने अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । गुल्सन झाले २ र सोमपाल कामी र अविनाश बोहराले समान १–१ विकेट लिए ।

  • कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, राप्रपा विपक्षमा

    कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, राप्रपा विपक्षमा

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरे । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ जनामात्रै रहे । राप्रपाका एक सांसद अनुपस्थित रहे ।

  • ‘गठबन्धनलाई धोका दिनेलाई विश्वासको मत दिन नहुने हो, मध्यावधि त जोगाउन पर्‍यो’

    ‘गठबन्धनलाई धोका दिनेलाई विश्वासको मत दिन नहुने हो, मध्यावधि त जोगाउन पर्‍यो’

    काठमाडौं । कोशी प्रदेशसभामा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनलाई धोका दिने मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत दिन नहुने काम गरेको टिप्पणी गरेका छन्। बुधबार कोशी प्रदेशसभ बैठकमा बोल्दै उनले सिद्धान्ततः मध्यवाधि जोगाउन मत दिनुपरेको उनले बताए।

    ‘गठबन्धनकै मुख्यमन्त्री बनाउने हो, उहाँले भोलि त्यही भूमिका खेल्नुहुन्छ भन्ने शंकाको सुविधा दिँदै गठबनधनको मुख्यमन्त्रीका रुपमा काम गर्नुहुन्छ भन्ने विश्वासका साथ मत दिनुपरेको हो’, उनले भने। राईले भने,

    ‘उहाँलाई भन्दा हामीलाई मुख्यमन्त्री बन्न प्रस्ताव आएको थियो । हामीसँग भएको ४ सीटले उहाँहरूको काम चल्थ्यो तर हामी मुख्यमन्त्री बन्न दगुरेनौं ।’

    राईले नेकपा एमालेले अनैतिक चरित्र देखाएको टिप्पणी गरेका छन्। उनले एमालेकै कारण कोशी प्रदेशमा अस्थीरता सिर्जना भएको आरोप लगाए। कोही मुख्यमन्त्री हुन ४७ सांसद समर्थक रहेको सरकार ढाल्न धेरै थोक गर्ने फेरि ४७ सांसद बोकेर मुख्यमन्त्री दाबी पेश गर्ने यो कहिँ मिल्छ?’ नेता राईले प्रश्न गर्दै भने, ‘३९ सांसद बोकेर ४७ सांसद ढाल्न सबै प्रयत्न गर्ने, तीन पटक अल्पमतको सरकार तीनपटक त्यो दलले बहुमत पुर्‍याउन सकेन। जम्मा ३९ सांसद लिएर बस्ने बहुमतको सरकार ढाल्ने, यो एमालेको अनैतिक चरित्र हो।’

  • इजरायलबाट दिल्ली आएका थप ७ नेपाली महेन्द्रनगर हुँदै घर फर्किए

    इजरायलबाट दिल्ली आएका थप ७ नेपाली महेन्द्रनगर हुँदै घर फर्किए

    काठमाडौं । इजरायलमा फसेका थप ७ नेपाली आज घर फर्किएका छन् । इजरायलबाट उद्धार गरी दिल्ली ल्याइएका नेपालीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले सवारी साधनको व्यवस्था गरि आज नेपाल पठाएको हो । दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुगेका थिए । कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौँका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ महेन्द्रनगर पुगेको र उनीहरूलाई घर पठाइसकिएको जनाइएको छ ।

  • इजरायलबाट उद्धार गरिएका थप १८ जना नेपाली नयाँ दिल्लीमा

    इजरायलबाट उद्धार गरिएका थप १८ जना नेपाली नयाँ दिल्लीमा

    काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार भएको छ । भारत सरकारले उनीहरुको उद्धार गरेको हो । मंगलबार मध्यराति उनीहरु दिल्ली आइपुगे । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाट नेपाली नागरिकलाई पनि ल्याएको हो ।

    दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको जानकारी दिएका छन् । गत साता हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली नागरिकको उद्धारको प्रयास सरकारले थालेको हो । यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २ सय ५४ जनाको उद्धार गरेको थियो ।

    भारतीय र नेपाली नागरिकको उद्धार गरेर उडेको स्पाइस जेटको विशेष विमान राति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भारतीय समयअनुसार साढे ५ बजे उडेको उक्त विमानले ६ घण्टा लामो यात्रा गरेको थियो । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दूतावासका अधिकारीहरूले इजरायलबाट उद्धार गरी ल्याइएका टोलीलाई विमानस्थलमा स्वागत गरे ।

    उद्धार गरिएको टोली बुधबार बिहान १० बजे गड्डाचौकी भन्सार हुँदै महेन्द्रनगर पुग्ने छन् । उद्धार भएर दिल्ली आएका १८ जनामध्ये १४ जना महिला छन् । उद्धार गरिएकाहरूमा नन्दसिंह भुल, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँड, आतिश गुरुङ, जुनु गुरुङ, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की छन् । त्यस्तै, निश्चल श्रेष्ठ, स्मिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ, उर्मिला श्रेष्ठ र लक्ष्मण दुलाल छन् ।

  • नेपाल, यूएई र हङकङ सम्मलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट

    नेपाल, यूएई र हङकङ सम्मलित त्रिकोणात्मक क्रिकेट सिरिज आजबाट

    काठमाडौं । नेपाल टी–२० त्रिकोणात्मक सिरिज आजबाट काठमाडौंमा सुरु हुदैछ । पहिलो खेलमा आज घरेलु टोली नेपाल र यूएई भिड्दैछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी–२० सिरिजमा तीन मुलुक सहभागी छन् ।

    नेपाल र यूएई २० महिनापछि टी–२० आईमा भिड्दैछन् । यी दुई टोली पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी–२० विश्वकप छनोटमा खेलेका थिए । जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो । यूएईले भने टी–२० विश्वकपमा स्थान बनाउँदै अष्ट्रेलिया टी–२० विश्वकप खेलेको थियो ।

  • गाजामा एक अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय मारिए

    गाजामा एक अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय मारिए

    काठमाडौं । इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको छ । सो आक्रमणमा कम्तिमा ५ सय जना मारिएका छन् । उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको दावि गरेकाछन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले आफ्ना बच्चाको पनि हत्या गर्दछन् ।’

    इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पतालमा आक्रमणको दोष इस्लामिक जिहादमाथि लगाएको छ । उसले भनेको थियो, ‘इजरायलमाथि थुप्रै रकेट प्रहार भएका थिए, त्यसैमध्येको एउटा रकेटले गाजाको अस्पताललाई निशाना बनाइयो । हामीसँग रहेको गुप्त सूचनाका अनुसार अस्पतालमा भएको रकेट आक्रमणका लागि इस्लामिक जिहाज आतंकवादी संगठन जिम्मेवार छ ।’

    अल-अहली अल-अरबी बाप्टिस्ट अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए । उक्त आक्रमणमा परी ५०० जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ । भग्नावशेष पन्छाएर शव निकाल्ने क्रम जारी छ ।

  • संयुक्त राष्ट्र संघका महासचिव १२ कात्तिकमा नेपाल आउने

    संयुक्त राष्ट्र संघका महासचिव १२ कात्तिकमा नेपाल आउने

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी १२ कात्तिकमा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा राष्ट्रसंघ महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणमा आउने तय भएको हो ।

    यसअघि महासचिव गुटेरेसको नेपाल आउने पूर्वनिर्धारित कार्यतालिका विश्व राजनीतिमा देखिएको बदलावलाई कारण बनाउँदै स्थगित भएको थियो । इजरायलमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि २६ देखि २९ असोजसम्मका लागि तय भएको गुटेरेसको नेपाल भ्रमण रोकिएको थियो । स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको हो ।

    महासचिव गुटेरेसलाई सगरमाथा क्षेत्रको हवाइ अवलोकन गराउने तयारी छ । भ्रमणका क्रममा गुटेरेसले १३ कात्तिकमा नेपालको संघीय संसदलाई समेत सम्बोधन गर्ने भएका छन् ।

  • विश्वकप छनोटमा नेपालले लाओसलाई हरायो, दोस्रो चरणमा प्रवेश

    विश्वकप छनोटमा नेपालले लाओसलाई हरायो, दोस्रो चरणमा प्रवेश

    काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १–० ले पराजित गर्दै समग्रमा २–१ ले विजयी भएको हो । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । नेपाली फुटबलकै भविष्यसँग जोडिएको दोस्रो लेगको खेलमा प्राप्त विजयले नेपाली फुटबलमा ठूलो राहत मिल्नेछ ।

    अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा यूएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए । यमन भने पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा आज मंगलबार भएको खेलमा नेपालका लागि मनिष डाँगीले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए । उनले ५२औं मिनेटमा अन्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए ।

    विश्वकप छनोटको दोस्रो चरणमा एसियाका शीर्ष २६ वरीयतामा रहेका टोलीसँगै पहिलो चरण पार गरेका १० गरी कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागी टिमलाई ९ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोली छन् । जसमा हरेकले एक अर्कासँग होम एण्ड अवेका आधारमा दुई–दुई खेल खेल्नेछन् । दोस्रो चरणमा नेपालको भेट यूएई, बहराइन र यमन हुनेछ । तीनवटै टोलीसँग नेपालले होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ ।

    नेपालले युएईसँग अहिलेसम्म जम्मा एक खेल खेलेकोमा पराजित भएको छ भने बहराइन विरुद्ध अहिलेसम्म खेलेको छैन । यमन विरुद्ध ४ खेल खेल्दा नेपाल जितविहीन छ । यमनले तीन खेलमा नेपाललाई हराउँदा एक खेल बराबरीमा सकिएको थियो । दोस्रो चरणको खेलहरु आगामी नोभेम्बरदेखि नै सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ । अब नेपालले अर्को ८ महिना छनोट अन्तर्गत अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेछ । त्यसको तयारी स्वरुप केही मैत्रीपूर्ण खेलसमेत आयोजना हुने छन् ।

  • अध्यक्ष बद्री केसी र कुल आचार्यले लिए पहिलो गैरआवासीय नेपाली नागरिकता

    अध्यक्ष बद्री केसी र कुल आचार्यले लिए पहिलो गैरआवासीय नेपाली नागरिकता

    काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र मंगलबारदेखि विधिवत् रूपमा वितरण थालिएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो ।

    ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।योसँगै गैरआवासीय नेपालीलाई सो नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ । नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।

    गैरआवासीय नेपालीले लामो समयदेखि आफूहरूलाई नेपाली नागरिकता प्रदान गर्न माग गर्दै आएका थिए ।

  • विश्वकप फूटबल छनोट : आज नेपाल र लाओस भिड्दै

    विश्वकप फूटबल छनोट : आज नेपाल र लाओस भिड्दै

    काठमाडौं । नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा आज लाओससँग खेल्दैछ । लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । काठमाडौंको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले समूह एच मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।

    नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रमक फुटबल खेल्ने बताएका छन् । नेपाल अहिलेसम्म लाओससँग पराजित भएको छैन । यसपल्ट छनोटको प्लेअफ नियमअनुसार अबे–गोलको फाइदा लागू हुने छैन । दुई लेगको निर्धारित समयको खेल बराबरीमा रहे, शुरुमा ३० मिनेटको अतिरिक्त समयको खेल हुनेछ । त्यसमा पनि बराबरीको स्थिति रहे, खेल टाइब्रेकरमा जानेछ ।

  • उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

    उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

    काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपगेका छन्। बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरिन्।

    उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन्। आज उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ। वाङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालयलय सदस्य तथा स्टेट काउन्सिलर छन्। उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

    भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ यहाँ आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुनेछन्। उनले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ।

    यसैगरी चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापनमन्त्री वाङ सियाङ्सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। त्यहाँ रहँदा उनले प्रकोप जोखिम अवलोकन तथा पूर्वसूचना केन्द्र र आपत्कालीन ‘कमाण्ड सेन्टर’को अवलोकन गर्ने कार्यक्रम छ। रासस

  • गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आजबाट

    गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आजबाट

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् ।

    वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन् । केसी, श्रेष्ठ र शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूलाई क्रमशस् एमाले, कांग्रेस र माओवादीको समर्थन रहेको छ ।

    सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वलगायत करिब चार हजारभन्दा बढीको सहभागिता रहने एनआरएनएले जनाएको छ । विश्वभरबाट संघमा सूचीकृत सदस्यको संख्या ९६ हजार ८ सय ५० छ ।

  • गैरआवासीय नेपालीलाई आजबाट नागरिकता दिइने

    गैरआवासीय नेपालीलाई आजबाट नागरिकता दिइने

    काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई आजदेखि नागरिकता वितरण सुरु गर्दै छ । गैरआवासीय नेपालीहरु विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएको मौकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासबाट एनआरएन नागरिकता वितरण शुभारम्भ गर्न लागेका हुन् । सुरुमा एनआरएनका पदाधिकारीहरुबाट नागरिकता वितरण शुभारम्भ गर्न लागिएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् । अन्यले पछि क्रमशः नागरिकता पाउनेछन् ।

    गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।

    नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

    एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् ।

    यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ । गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा-बुबा, हजुरबुबा-हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

    विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ । साथै, नेपालको संविधान, कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने कानुनी प्रावधानसमेत छ ।

  • गैरआवासीय नेपालीको विश्व सम्मेलन भोलीबाट

    गैरआवासीय नेपालीको विश्व सम्मेलन भोलीबाट

    काठमाडौं । गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन भोलिदेखि सुरू हुने भएको छ। एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म हुने भएको हो। नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले जानकारी दिए।

    सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन्। त्यसपछि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ। वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा सरकार र सरोकारवालासहितको सत्रको आयोजना गरिएको छ।

    कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ। संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै सम्मेलन सकिनेछ। समापन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्।

  • मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने

    मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने

    काठमाडौं । नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ । सोमबार बसेको माओवादीको कोशी प्रदेश सचिवालय बैठकले केन्द्रीय कमिटीको सहमतिमा कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले आगामी कार्तिक १ गते विश्वासको मत लिँदैछन् ।

    नेपाली कांग्रेसको विद्रोही समूहका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीविरुद्ध सत्ता गठबन्धनले माओवादीका प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो ।

    कार्की मुख्यमन्त्री बनेसँगै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका नेता शेखर कोइरालाबीच केन्द्रमा कायम सत्ता गठबन्धनलाई निरन्तरता दिने सकमति बनेको थियो ।

  • बीपी ‘हाई–वे’ मा निजी सवारीलाई पनि टाइम कार्ड

    बीपी ‘हाई–वे’ मा निजी सवारीलाई पनि टाइम कार्ड

    काठमाडौं । जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले यात्रालाई सुरक्षित बनाउन भन्दै बीपी ‘हाई–वे’ मा निजी सवारी साधनलाई पनि टाइम कार्ड लागू गरेको छ। यसअघि यात्रुबाहक भाडाका सवारी साधनमा मात्रै टाइम कार्ड लागू गरिएको थियो। चाडवाडको यात्रालाई सुरक्षित बनाउन अहिले निजी सवारीलाईसमेत टाइम कार्ड लागू गरिएको छ। राजमार्गको हिरापानीदेखि नेपालथोक, दुम्जासम्म सम्पूर्ण निजी कार, जिप, भ्यान, मोटरसाइकललाई पनि टाइम कार्ड लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

  • काठमाडौंमा उपभोक्ताले कसरी चिन्ने स्वस्थ खसी ?

    काठमाडौंमा उपभोक्ताले कसरी चिन्ने स्वस्थ खसी ?

    काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा खसीबोका, च्यांग्राको बिक्रि सुरु भएको छ । उपत्यकामा हजारौंको संख्यामा खसीबोका र च्यांग्रा भित्रन्छन् । पशु सेवा विभागले स्वस्थ खसीको पहिचानका लागि सिङमा हरियो र रोगीकोमा रातो रङ लगाउने भएको छ । विभागले उपत्यकाका ११ स्थान र आसपासका बजारमा पशु चिकित्सकको टोली परिचालन गरी खसी, च्यांग्रा, राँगालगायत पशुबस्तुको परीक्षण गरी रङ लगाउने भएको हो ।

    चाडबाडमा लामो दूरीबाट ढुवानी हुँदा पशु बिरामी पर्ने सम्भावना रहन्छ । बाटोमा बिरामी भएको अवस्थामा रोग फैलिन सक्ने भन्दै पशु सेवा विभागले रोग फैलिन नदिन विभिन्न नाका र आसपासका बजारमा स्वास्थ्य टोली परिचालन गरेर रोगी, निरोगी पहिचान गर्ने तयारी गरेको जनाएको छ । खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागे रगतको नमुनाका आधारमा अध्ययन गरी सिङमा हरियो र रातो चिह्न लगाइने जानकार बताउँछन् ।

    आवश्यक परीक्षणसँगै स्वस्थ र अस्वस्थ खसीको वर्गीकरण गरी बिक्रीका लागि अनुमति दिइने भएको छ । खसीबोकाको नाक, मुखबाट सिँगान र र्‍याल बगेको, पातलो दिसा बगेको, चोटपटक लागेर संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको लगायत निरीक्षण गरिने विभागले जनाएको छ । शरीरको तापक्रम, गिँजा र खुट्टाको खुरमा घाउ, आँखामा चिप्रा र राता आँखा, घरीघरी आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षणको पहिचान गरिने छ ।

  • कंगोमा डुंगा डुब्दा कम्तिमा २८ जना मारिए, २६१ वेपत्ता

    कंगोमा डुंगा डुब्दा कम्तिमा २८ जना मारिए, २६१ वेपत्ता

    काठमाडौं । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ । दुर्घटनास्थलको निरीक्षण गर्नुभएका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्यजारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने’ बताएका छन् ।

    प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा कङ्गो नदीको बन्दरगाह शहर मबान्डाकाबाट शुक्रबार राति ३०० किलोमिटर भन्दा बढी दूरीमा रहेको बोलोम्बाका लागि छुटेको थियो । प्रत्यक्षदर्शीले सिन्ह्वालाई दिएको जानकारीअनुसार अत्यधिक भारका कारण डुङ्गा पल्टिएको तर डुङ्गामा सवार यात्रुको सङ्ख्या भने अज्ञात छ । विशेष गरी कङ्गो नदीमा अत्यधिक भार र डुङ्गाहरूको खराब अवस्था अधिकांश दुर्घटनाहरूको कारण हुनेगरेको छ । एजेन्सी

  • आजबाट नयाँ नोट साट्न पाइने

    आजबाट नयाँ नोट साट्न पाइने

    काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

    वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

  • भियतनामबाट तीन चार्टर्ड उडानबाट पर्यटक नेपाल भ्रमणमा आउँदै

    भियतनामबाट तीन चार्टर्ड उडानबाट पर्यटक नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकै खेपमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् । तीन दिन जहाज चार्टर्ड गरी एकै पटक ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको यो भ्रमणको व्यवस्थापन गरिरहेको कम्पनी रुप्से होलिडेजले जानकारी दिएको छ ।

    कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले आगामी सता नेपाल भ्रमण गर्ने भएका हुन् । आगामी अक्टुबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सको एयरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट पर्यटक नेपाल आउने भएका हुन् ।

    यी पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनीलगायत स्थानको भ्रमण गर्ने कम्पनीले जनाएको छ । यो टोलीमा खर्चालु पर्यटकको ठूलो संख्या रहेको र यसले नेपाललाई खर्चालु पर्यटकको गन्तव्य बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको कम्पनीले जनाएको छ । भियतनाममा करिब १५ प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्बी छन् । केही पर्यटक नेपालका विभिन्न बौद्ध चैत्य तथा गुम्बामा ध्यान तथा योगअभ्यासका लागि थप समय बस्ने समेत कम्पनीले जनाएको छ ।

    नेपाल–भियतनाम चार्टर उडान भईरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटक भियतनाम जाने कम्पनीले जनाएको छ । उडानका क्रममा एकतर्फी खाली रहने सिट बिक्री गरी पर्यटकका लागि यो चार्टर उडान आर्थिक रुपमा किफायती बनाउने प्रयास भइरहेको समेत रुप्से होलिडेजले जनाएको छ ।

    नेपालबाट भियतनाम जान चाहने पर्यटकका लगि रुप्से होलिडेजले एक लाख २० हजार रुपैंयाको विशेष टुर प्याकेज समेत सार्वजनिक गरेको छ । यो प्याकेजमा चार रात पाँच दिनको भियतनामको हनोईमा बसाई, विभिन्न आकर्षक गन्तब्यको घुमाई, एक दिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट सम्मिलित छ । तीन वटै चार्टर्ड उडानबाट उल्लेख्य संख्यामा नेपाली पर्यटकले भियतनाम भ्रमण गर्ने कम्पनीको छ ।