Category: समाचार

  • मुस्ताङमा लेक लागेर एक सातामा तीन पर्यटकको मृत्यु

    मुस्ताङमा लेक लागेर एक सातामा तीन पर्यटकको मृत्यु

    काठमाडौं । मुस्ताङमा एक साताको अन्तरमा लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन्। लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन्।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या आएको मुस्ताङ प्रहरीका सूचना अधिकारी इन्सपेक्टर दिनेश गौतमले बताएका छन् । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल जोमसोम लगिएको थियो। अस्पतालका स्वास्थ्यकर्मीले आन्नालाई मृत घोषणा गरेको गौतमले बताए।

    उनको शव पोष्टमर्टम गर्न हेलिकप्टरमार्फत शिक्षण अस्पताल काठमाडौं पठाइएको छ। यस्तै, मुक्तिनाथ दर्शन गर्न आएका भारतीय नागरिक सत्यनारायणलाई पनि असोज २१ गते श्वासप्रश्वासको समस्या देखिएको थियो। उनलाई पनि उपचारका लागि जिल्ला अस्पताल जोमसोम लगिएको थियो। उनको स्वास्थ्य अवस्था नाजुक भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो।

    भारतको तिलगङ्गाबाट आएका सत्यनारायणको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। भारतकै तमिलनाडुबाट मुक्तिनाथ आएकी रेवतीको पनि श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ। मुस्ताङको प्रवेशद्धार घाँसा पुगेपछि उनलाई असोज २३ गते श्वासप्रश्वासमा समस्या देखिए थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि रेवतीलाई लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो।

    स्वास्थ्य केन्द्रमा उपचारका गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पर्यटक सिजन सुरू भएसँगै मुस्ताङमा पर्यटकको चाप बढेको छ। मोटरबाटोबाट छिट्टै उच्च हिमाली भेगमा पुग्ने पर्यटकलाई लेक लाग्ने गरेको छ।

  • आज इजरायल जाने जहाजमा नेपालीको शव भने नआउने

    आज इजरायल जाने जहाजमा नेपालीको शव भने नआउने

    काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलले शव हस्तान्तरण गरिसकेको छैन । सोहीकारण शव नेपाल ल्याउन केही समय लाग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन बुधबार राति नेपाल वायु सेवा निगमको जहाज उड्दै छ ।

    इजरायलमै प्रक्रिया पूरा नभएका कारण मृत्यु भएका नेपालीको शव ल्याउन उक्त जहाजमा ल्याउन नसकिने प्रवक्ता लम्सालले जानकारी दिइन् । यसपटक शव आउँदैन । ‘यसको प्रोटोकल हुन्छ । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ । ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो’, प्रवक्ता लम्सालले भनिन्, इजरायल युद्धको अवस्थामा र आपत्कालीन अवस्थामा भएको कारणले पोस्टमार्टमलगायत प्रोटोकलहरुलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन । हामीले अनुरोध गरेका छौं । दबाब दिने अवस्थामा छैनौं ।’


    धेरै मानिसको मृत्यु भएको कारण शवको पोस्टमार्टम बाँकी रहेको इजरायल सरकारले जानकारी दिएको पनि प्रवक्ता लम्सालले जानकारी दिइन् । आक्रमणमा परी घाइतेमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको पनि उनले बताइन् ।

  • इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज, सम्पर्कविहीन विपिनको खोजी कार्य जारी

    इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज, सम्पर्कविहीन विपिनको खोजी कार्य जारी


    काठमाडौं । इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज भएका छन् । परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले दुई नेपाली डिस्चार्ज भएको जानकारी गराइन् । बाँकी दुई जनाको अहिले पनि उपचार भइरहेको छ। लम्सालले भनिन्–विद्यार्थीहरु विश्वविद्यालयबाट कोही भर्खरै गएका छन् । त्यहाँको बारेमा सबै जानकारी पनि नभएका कारण हामीले क्षति पनि भोग्यौं । २६५ विद्यार्थीमध्ये १० जनाको निधन भएको र केही सम्पर्कमा नरहेको भन्दै बाँकीलाई २५० सीटको वाइडबडी विमानबाट एकैपटक ल्याउने तयारी रहेको जानकारी दिइन् । मन्त्रालयका अनुसार इजरायलमा विद्यार्थी र अन्य विभिन्न सेक्टरमा कार्यरत कामदारसमेतको संख्या करीव ४ हजार ५ सय रहेको छ । पहिलो उद्दारको उडानमा जोखिमक्षेत्रबाट एकै ठाउँमा राखिएका विद्यार्थीलाई ल्याइने र सम्भव भएसम्म अरुलाई पनि लिएर आउने लम्सालले बताइन् ।

  • मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

    मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

    रामेछाप। खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन्। लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन्। नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन्। यो मुख्य पर्यटकीय सिजन भएकाले अधिकांश पर्यटक सगरमाथा आधार शिविरतर्फ जाने तथा केहीले सगरमाथाको आरोहणमा गर्ने गर्दछन्। हिमाली दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन्।

  • नेपाली नागरिक लिन राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाने

    नेपाली नागरिक लिन राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाने

    काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार बुधवार राती ११ बजे दुबई हुँदै इजरायल जाने तयारी छ ।

    गाजापट्टी क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरूले उद्धारका लागि अनुरोध गर्दै आएका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

    इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन चाहनेको सूची अनलाइनमार्फत् दर्ता गरेको थियो। जसमा २ सय बढीले आवेदन दिएका छन्। आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो। अझै कञ्चनपुरका विपीन जोशी सम्पर्कविहीन रहेका छन्।

  • नेपाल र जर्मनीबीच श्रम सम्झौता, दोस्रो यूरोपेली मुलुक बन्यो

    नेपाल र जर्मनीबीच श्रम सम्झौता, दोस्रो यूरोपेली मुलुक बन्यो

    काठमाडौं । नेपाल र जर्मनीबीच श्रम समझदारी भएको छ । जर्मनीका नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबीच मंगलबार द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर भएको छ । जर्मनीमा भएको औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनी सरकारको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबीच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । जर्मनी यूरोपको दोस्रो श्रम सम्झौता हुने मुलुक बनेको छ । यसअघि गत शुक्रवार युरोपेली देश रोमानियासँग नेपालको द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।


    जर्मनी सँग भएको समझदारी अनुसार जर्मनीमा श्रम स्वीकृति नभइ अनलाइन प्रणालीबाट आवेदन माग गरेर एकवर्षे प्रशिक्षार्थीका रूपमा जर्मनी जान सक्ने छन् । जर्मनीमा जाने प्रशिक्षार्थी श्रमिकले आफ्नो रुचि र क्षमता अनुसार सिप सिकेर पास भएपछि मात्रै सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने समझदारीपत्रमा उल्लेख छ । समझदारी अनुसार जर्मनी जानका लागि विशेष क्षेत्र नतोकिएको र आवश्यकताका आधारमा आवेदन माग गरेर सबै क्षेत्रमा पठाउनलाई खुुला गरिएको छ ।

  • म्यानमारको एक शिविरमा सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा २९ जना मारिए

    म्यानमारको एक शिविरमा सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा २९ जना मारिए

    काठमाडौं । उत्तरी म्यान्मारमा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा परी दर्जनौं घाइते भएको उक्त क्षेत्र नियन्त्रणमा लिएको जातीय विद्रोही समूहका एक प्रवक्ताले मंगलबार बताएका छन् । म्यान्मारको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक लक्षित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप लगाइएको छ ।

    पछिल्लो आक्रमण स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे भएको कचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) का कर्णेल नाव बुले बताए । ‘बालबालिकासहित २९ शव फेला परेको छ, ५६ जना घाइते भएका छन्, शिविरमा कस्तो प्रकारको हमला भएको थियो भन्नेबारे अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले भने, ‘हामीले कुनै विमानको आवाज सुनेनौँ ।’

    सेनाले चीनको सीमामा रहेको लाइजा सहर नजिकै रहेको शिविरमा ड्रोन हमला गरेको हो कि भन्नेबारे पत्ता लगाउन खोजिरहेको पनि उनले बताए । स्थानीय सञ्चारमाध्यमहरूले हमलापछि काठका भग्नावशेषहरूबाट शव निकाल्न उद्धारकर्मीहरूले टर्चलाइटको प्रयोग गरेको तस्बिर देखाएका छन् । तस्बिरमा जमिनमा तौलिया र त्रिपाल राखेर कम्तीमा १० जनाको शव देखाइएको थियो । कर्णेल नाव बुले लियाजा नजिकैको अस्पतालमा ४२ जनाको उपचार भइरहेको जानकारी दिए ।


    सेनाले सन् २०२१ मा आङ सान सु कीलाई सत्ताबाट हटाएयता कचिन राज्यमा १० हजारभन्दा बढी मानिस विस्थाति भएका छन् । सन् २०२१ मा भएको सैन्य विद्रोहको व्यापक विरोध भएको र यसमा असहमति असहमति सेनाले राख्नेमाथि रक्तपातपूर्ण कारबाही गरेका छ । राजनीतिक बन्दीहरूका लागि सहयोगी संस्था ९एएपीपी० का अनुसार सैन्य कारबाहीमा दसौँं हजार गिरफ्तार भएका छन् भने चार हजार एक सय मारिएका छन् ।

  • इजरायलमा अमेरिकाका ११ नागरिक मारिएको पुष्टी, अन्य कुन देशका कति ?

    इजरायलमा अमेरिकाका ११ नागरिक मारिएको पुष्टी, अन्य कुन देशका कति ?

    काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी नेपालसहित २० भन्दा बढी मुलुकका नागरिकको मृत्यु वा हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको छ । सम्पर्कविहीन रहेको १ जना नेपाली विद्यार्थीको खोजी जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार हमासको आक्रमणमा परी ११ अमेरिकी नागरिकको मृत्यु भएको छ । त्यस्तै केही अमेरिकी हमासको नियन्त्रणमा रहेको पनि अमेरिकाले आशंका व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले एक्समा लेखेका छन्, यस हप्ता हामीले इजरायलविरुद्ध भयावह आतंकवादी आक्रमण र सयौँ नागरिक हताहती भएको हिसाब दिइरहेका छौँ । दुःखको कुरा यो छ कि अहिलेसम्म ११ अमेरिकी नागरिक मारिएको हामीलाई जानकारी आएको छ ।

    थाइल्यान्डका उपविदेशमन्त्री जाकापोङ साङमानीका अनुसार १८ जना थाई नागरिक हमासको आक्रमणमा मारिएका छन् । त्यस्तै ११ जना थाई नागरिक हमासको अपहरणमा परेको पनि थाई उपविदेशमन्त्री साङमानीले जानकारी दिएका छन् । इजरायलमा करिब ३० हजार थाई नागरिक कार्यरत छन् । ३ हजार थाई नागरिक स्वदेश फर्किन चाहेको थाई विदेश मन्त्रालयले जानकारी दिएको छ । ७ जना अर्जेन्टिनी नागरिक मारिएको र १५ जनाभन्दा बढी हराइरहेको अर्जेन्टिनी विदेशमन्त्री सान्टिआगो क्याफिएरोले बताएका छन् । फ्रान्सेली विदेश मन्त्रालयले आफ्ना २ जना आफ्ना नागरिक मारिएको र १४ जना हराइरहेको जनाएको छ ।

    जर्मन विदेश मन्त्रालयका अनुसार केही जर्मन–इजरायली नागरिक हमासको कब्जामा परेका छन् । त्यस्तै १ जना बेलायती नागरिक मारिएको र १ जना हराइरहेको बेलायतका लागि इजरायली राजदूतले जानकारी दिएका छन् । २ जना युक्रेनी महिला पनि हमासको आक्रमणमा मारिएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

    एक रसियाली नागरिक मारिएको र ४ जना हराइरहेको तेल अभिभस्थित रूसी दूतावासले जनाएको छ । फिलिपिन्सको विदेश मन्त्रालयका अनुसार ७ जना नागरिक हराइरहेका छन् । फिलिपिनी विदेश मन्त्रालयका अनुसार इजरायलमा करिब ३० हजार फिलिपिनी कार्यरत छन् । तीमध्ये अधिकांश स्वास्थ्य सेवासँग सम्बन्धित उद्योगमा काम गर्दै आएका छन् ।


    हमासको आक्रमणमा परी एक क्यानडेली नागरिक मारिएका छन् भने ३ जना हराइरहेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेतका अनुसार एक जना कम्बोडियाली विद्यार्थी हमासको आक्रमणमा मारिएका छन् । अस्ट्रिया र ब्राजिलका ३–३ जना, चिली, कोलम्बिया,इटाली, पाराग्वे, पेरु र तान्जानियाका २–२ जना नागरिक हराइरहेका छन् । त्यसैगरी आयरल्यान्ड र पनामाका १–१ नागरिक हराइरहेका छन् । हमासको आक्रमणमा परी इजरायलतर्फ ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

  • विश्वकप क्रिकेट : श्रीलंकामाथि पाकिस्तानको कीर्तिमानी जित

    विश्वकप क्रिकेट : श्रीलंकामाथि पाकिस्तानको कीर्तिमानी जित

    काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले हराएको छ । खेलका श्रीलंका र पाकिस्तानका २-२ ब्याट्सम्यानले शतक बनाएका थिए । तर पाकिस्तानका मोहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने मोहमद रिजवान १३१ रनमा नट आउट रहे । १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।

    यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाका कुशल मेन्डिसले १२२ तथा सदिरा समराविक्रमले १०८ रन बनाएका थिए । मेन्डिसले मात्र ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन बनाएका हुन् । ८९ बल खेलेका सदिराले भने ११ चौका र दुई छक्का हानेका थिए । यी दुई तेस्रो विकेटका लागि १११ रनको साझेदारी पनि गरेका थिए । सदिरा ब्याटिङमा आउनुअघि मेन्डिसले ओपनर पथुम निसंकासँग दोस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए । तर पनि श्रीलंका पराजित भयो ।

  • परराष्ट्र मन्त्री साउद र इजरायली समकक्षीबीच फोनवार्ता, के भयो कुराकानी ?

    परराष्ट्र मन्त्री साउद र इजरायली समकक्षीबीच फोनवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद र इजरायलका विदेश मन्त्री एली कोहेनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार दिउँसो परराष्ट्र मन्त्री साउदले समकक्षी कोहेनसँग कुराकानी गरेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री साउदले इजरायली विदेश मन्त्री कोहेनसँग हमास समूहको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताए।

    परराष्ट्र मन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेश मन्त्री कोहेनसँग आग्रह गरेका थिए। मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपालीको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरेका छन्।

    सम्पर्कबिहिन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि उनले आग्रह गरेका छन्। इजरायलका अस्पतालमा ४ जना नेपालीको उपचार भइरहेको छ। उनीहरुको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन समेत उनले आग्रह गरेका छन् । कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्ध रहेको पनि बताए।

    इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरेका थिए। इजरायल अहिले कठीन मोडमा रहेको उनले बताए। मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने बताएका थिए।

  • विश्वकप क्रिकेट : इंग्ल्याण्डले बंगलादेशलाई हरायो

    विश्वकप क्रिकेट : इंग्ल्याण्डले बंगलादेशलाई हरायो

    काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई १३७ रनको फराकिलो अन्तरले हराएको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ओपनर डेविड मालनको शतकीय मद्दतमा ३६४ रनको विशाल योगफल तयार पारेको थियो । जोनी बेयरस्टोसँग मिलेर इंग्ल्याण्डलाई राम्रो सुरुवात दिलाएका उनले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए ।

    बेयरस्टो ५२ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका जोए रुटले मालनलाई साथ दिए । रुटले ८२ रन बनाए । मालन १४० रनमा मेहन्दी असनको बलमा बोल्ड भए । त्यसक्रममा १०७ बल खेलेका उनले १६ चौका र ५ छक्का हाने । जितका लागि ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेशको सुरुवात राम्रो भएन ।

    ओपनर तान्जिद हसन १ रनमा आउट भए पनि अर्का ओपनर लिट्टन दाशले ७६ रन बनाए । दाश पाँचौं विकेटका रुपमा आउट हुँदा बंगलादेशको स्कोर १२१ रन थियो । उनी आउट भएपछि मुस्फिकर रहिम र तोहिद हृदोयले बंगलादेशको पारी सम्हाल्ने प्रयास गरेका थिए । रहिम ५१ र हृदोय ३९ रनमा आउट भए ।

  • राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण स्थगित

    राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण स्थगित

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा लडाकु समूह हमासले आक्रमण गरेपछि पश्चिम एसियमा सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । महासचिव गुटरेस नेपाल हुँदै चीन जाने पूर्व निर्धारित कार्यसूची रहेकामा त्यो पनि हाललाई रोकिएको छ ।

    यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने तय भएको थियो । तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् । केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • इन्द्रचोकको आकाश भैरव मन्दिर मुनि सञ्चालित पसलहरु हटाइयो

    इन्द्रचोकको आकाश भैरव मन्दिर मुनि सञ्चालित पसलहरु हटाइयो

    काठमाडौं । महानगर र गुठीयारबीच समन्वय गरेर इन्द्रचोकमा अवस्थित आकाश भैरवको मन्दिर मुनि रहेको पसलहरु हटाइएको छ। मन्दिर मुनी लस्सी पसलसँगै जुत्ताका पसलहरु संचालित थिए।

    मन्दिर मुनि भिड र फोहोर हुने गरी पसलहरु सञ्चालन भइरहेको भन्दै स्थानीयले पटकपटक पसल हटाउनुपर्ने जोड दिँदै आएका थिए।

    नेवार समुदायको एक महत्वपूर्ण देवता मध्ये आकाश भैरवलाई पनि मानिन्छ। ‘आकाशका देवता’ मानिने यस हिन्दु देवतालाई काठमाडौंका धेरै मन्दिरहरू समर्पित गरिएको छ र इन्द्रचोकको बीचमा रहेको आकाश भैरवको मुर्ति र मन्दिर सबैभन्दा प्रसिद्ध मन्दिरको रुपमा लिइन्छ ।

    यस स्थानमा गर्मी मौसममा दिनको ३०० देखि ७०० गिलास सम्म लस्सी विक्री हुने इन्द्रचोक क्षेत्रमा दैनिक २/३ लाख रुपैयाँबराबरको कारोवार हुने गरेको थियो ।

  • तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

    तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

    इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन् ।

    मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे।

    ‘अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौँ ।’

    बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए ।

  • सुन्धाराको गेष्ट हाउसमा युवती मृत फेला

    सुन्धाराको गेष्ट हाउसमा युवती मृत फेला

    काठमाडौं । सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा एकजना युवती मृत फेला परेकी छन्। ललितपुर इमाडोल घर भएकी २० वर्षीया भूमिका राउत सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । भूमिका असोज ८ देखि सो गेष्ट हाउसमा बस्दै आएकी थिइन् ।

    प्रहरीको अनुसार आइतबार उनीसँगै बसेका युवक पैसा सकिएको भन्दै पैसा लिन घर गएका थिए । उनी फर्किएर आउँदा कोठा भित्रबाट लक थियो । प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा उनी कोठामा लडिरहेकी थिइन । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

  • अर्थशास्त्रतर्फको नोवेल पुरस्कार पाउने गोल्डिन को हुन् ?

    अर्थशास्त्रतर्फको नोवेल पुरस्कार पाउने गोल्डिन को हुन् ?

    काठमाडौं । यो वर्ष अर्थशास्त्रतर्फ क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्‍याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले नोबेल पुरस्कार प्रदान गरिने भएको छ । उनी हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्छिन्। गोल्डिनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गरेकी छन्। नोबेल पुरस्कार समितिका अनुसार उनको अनुसन्धानले परिवर्तनका कारणहरू तथा लैङ्गिक असमानताको मुख्य स्रोत पत्ता लगाएको छ।

    गोल्डिन आफूले सधैँ गुप्तचर बन्ने चाहेको र अन्ततः सफल भएकोू बताएकी छन्। अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन् भने कुनै पुरुष सहकर्मीसँग संयुक्त रूपमा नभई एक्लै पुरस्कार हात पार्ने प्रथम महिला हुन्। उनी अहिले ७७ वर्षकी भइन्। अहिले पनि उनी श्रमबजारको इतिहास पढाउँछिन्।


    यसअघि नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फका विजेताको नाम घोषणा गरिसकेको छ। अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा भएपछि यो वर्ष सबै विधातर्फ नोबेल पुरस्कार घोषणा गर्ने क्रम टुङ्गिएको छ। सन् १९६९ देखि सन् २०२२ सम्म ५४ वर्षमा ९२ जनालाई एकल वा संयुक्त रूपमा नोबेल पुरस्कार दिइएको थियो। यो वर्षका विजेताहरूलाई आगामी डिसेम्बर १० मा पुरस्कार वितरण गरिने छ।

    विभिन्न विधाका पुरस्कारका लागि शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन गर्छन्। नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन।

  • विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार दोस्रो दिन

    विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार दोस्रो दिन

    काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ। सोमबार न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराउँदै जारी विश्वकपमा लगातार दोस्रो जित निकालेको हो। हैदरावादस्थित राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको ३२३ रनको फराकिलो लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा अल-आउट हुँदै २३३ रनमा समेटियो।

    नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक ६९ रन बनाए। उनले ७३ बलमा ५ चौका प्रहार गरे। कप्तान स्कट एडवार्ड्सले २७ बलमा २ चौका र एक छक्कासहित ३० रन बनाए। सिब्रान्ड एंगलब्रेक्टले २९, तेजा निदमनुरू २१ बास दे लिड्स १६ र विक्रमजित सिंह १२ रन बनाएर आउट भए। बलिङमा न्युजिल्यान्डका मिचेल सान्तनरले सर्वाधिक ५ विकेट लिए। म्याट हेनरीले ३ र रचिन रवीन्द्रले एक विकेट लिए।

    पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पूरा ५० ओभर खेलेर ७ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो। न्युजिल्यान्डका लागि विल योङले ८० बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७० रन बनाए। कप्तान टम लाथमले ४६ बलमा ६ चौका र एक छक्कासहित ५३ रन बनाए। ५१ बल खेलेका रचिन रवीन्द्रले ३ चौका र एक छक्कासहित ५१ रन बनाए।

    त्यस्तै डेरिल मिचेलले ४७ बलमा ५ चौका र २ चक्कासहित ४८ रनको योगदान गरे। मिचेल सान्तनरले ३६, डेभन कनवेले ३२ र म्याट हेनरीले १० रन जोडे। न्युजिल्यान्डले यसअघि विश्वकपको उद्घाटन खेलमै साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो। नेदरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। विश्वकपमा भोलि इंग्ल्यान्ड र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ।

  • रसुवामा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    रसुवामा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटना भएको थियो ।

    दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    दुर्घटनामा घाइते भएकाहरुमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते भएको र उपचारका लागि अस्पताल पनि पुर्‍याउन नपरेको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको छ

  • इजरायलमा रोजगारीका लागि भिसा लागेका २४ जना युद्धपछि नेपालमै रोकिए

    इजरायलमा रोजगारीका लागि भिसा लागेका २४ जना युद्धपछि नेपालमै रोकिए

    काठमाडौं । स्याहार केन्द्रमा सहायक कामदारको रुपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार नेपालमै रोकिएका छन् । श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको छनोट भएर उडान तालिका रहेका २४ कामदारहरु रोकिएको वैदेशिक रोजगार व्यवस्थापन शाखाले जनाएको छ । भिसा प्राप्त गरिसकेका २४ जना सहायक कामदारहरूको उडान तालिका २४ असोज, १ बजे तय भएकोमा रद्द भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    इजरायलको हालको संकटपूर्ण अवस्थामा उडान तालिका बमोजिम उडान प्रतिक्षामा रहेका कामदारहरूलाई इजरायलको यात्रा नगर्न एवम् इजरायको शान्ति सु–व्यवस्था सामान्य भएपश्चात वैदेशिक रोजगार सम्बन्धी थप कारवाही अगाडि बढाउने निर्णय भएको छ,’ मन्त्रालयका शाखा अधिकृत धनञ्जयकुमार शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

  • इजरायलमा मारिएका नेपालीको सम्मानमा नेपाल सरकारले घोषणा गर्यो राष्ट्रिय शोक, परिवारलाई १० लाख राहत

    इजरायलमा मारिएका नेपालीको सम्मानमा नेपाल सरकारले घोषणा गर्यो राष्ट्रिय शोक, परिवारलाई १० लाख राहत

    काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’

    उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी छ । मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ ।

    इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ ।

    यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले जानकारी दिएकी छन् ।

  • युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीलाई इजरायली सेनाले गर्यो उद्धार( नामसहित)

    युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीलाई इजरायली सेनाले गर्यो उद्धार( नामसहित)

    काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।

    नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार जनालाई कादोस फर्मबाट उद्धार गरिएको छ । यस्तै थप चार जनालाई रचमिम मुग्रबी फर्म र तीन जनालाई शोह्रासिम कृषि फर्मबाट उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उद्धार गरिएकाहरूको नाम कार्यरत कृषि फर्म र नेपालको ठेगाना

    रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा
    बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट
    आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली
    नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर

    लोकेन्द्र बिष्ट – बेनी अमार कृषि फर्म – मष्टामाण्डु ८, डडेल्धुरा
    रोहित नायक – बेनी अमार कृषि फर्म – टीकापुर ६, कैलाली
    निरञ्जन कुमार कुसहवा – बेनी अमार कृषि फर्म – पिपरीया ४, रौतहट
    अरबिन कुमार चौधरी – बेनी अमार कृषि फर्म – दोधारा ९, कैलाली

    उपेन्द्र जिसी – बेनी अमार कृषि फर्म – टीकापुर ९, कैलाली
    ओमप्रकाश उपाध्याय – डेभिडियन कृषि फर्म – धनगढी २, कैलाली
    गणेश साउद – डेभिडियन कृषि फर्म – लम्कीचुहा १, कैलाली
    बादल सुवेदी – डेभिडियन कृषि फर्म – घोराही ४, दाङ
    प्रविण जिसी – डेभिडियन कृषि फर्म – सिम्ता २, सुर्खेत

    गणेशप्रसाद जोशी – डेभिडियन कृषि फर्म – मेलौली ५, बैतडी
    नबिन घिमिरे – डेभिडियन कृषि फर्म – बंगलाचुली ३, दाङ
    श्रेया तिवारी – डेभिडियन कृषि फर्म – रत्ननगर ४, चितवन
    बिपना जोशी – डेभिडियन कृषि फर्म – लम्किचुहा ७, कैलाली

    नारायण भुसाल – डेभिडियन कृषि फर्म – पयुं ५, पर्वत
    मनिषा खनाल – डेभिडियन कृषि फर्म – रेसुंगा २, गुल्मी
    लुईस रिजाल – डेभिडियन कृषि फर्म – गेरुवा ६, बर्दिया
    प्रमोद भट्ट – कादोस कृषि फर्म – मेलौली ९, बैतडी

    अनुप अधिकारी – कादोस कृषि फर्म – कमलामाई २, सिन्धुली
    समपर्ण आचार्य – कादोस कृषि फर्म – तुल्सिपुर १२, दाङ
    निश्चल पाण्डे – कादोस कृषि फर्म –टीकापुर १, कैलाली
    बिभुसा अधिकारी – रचमिम कृषि फर्म – भरतपुर १५, चितवन

    सुस्मा रेग्मी – रचमिम कृषि फर्म – बान्निगढी जैगढ २, अछान
    रचना चौधरी – रचमिम कृषि फर्म –टीकापुर १, कैलाली
    आशा मिश्र – रचमिम कृषि फर्म –लम्किचुहा ९, कैलाली

    कल्पना जोशी – शोह्रसिम कृषि फर्म – गोदावरी २, कैलाली
    शिला कुमारी यादव – शोह्रसिम कृषि फर्म – बढियाताल ३, बर्दिया
    साधना बोहरा – शोह्रसिम कृषि फर्म – त्रिवेणी ५, सल्यान
    बिपिन सुवेदी – त्रिपुर ५, दाङ

  • इजरायलमा नेपाली नागरिकको मृत्युप्रति भारतले गर्यो दुख: व्यक्त

    इजरायलमा नेपाली नागरिकको मृत्युप्रति भारतले गर्यो दुख: व्यक्त

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा भएको आतंकवादी आक्रमणमा परी नेपाली नागरिकको मृत्युुप्रति दुःख व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको घटनामा १० नेपाली नागरिकको मृत्युुप्रति दुख व्यक्त गरेका हुन् ।

    पत्रमा राजदूत श्रीवास्तवले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । उनले यस दुखद घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश दिएका छन् ।

  • इजरायबाट नेपालीको शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा

    इजरायबाट नेपालीको शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा

    काठमाडौं । सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।

    इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने समेत निर्णय गरेको छ ।

    नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरु गर्नेछ ।

  • सुदूरपश्चिम सरकारले इजरायलमा निधन हुनेका परिवारलाई जनही २ लाख दिने

    सुदूरपश्चिम सरकारले इजरायलमा निधन हुनेका परिवारलाई जनही २ लाख दिने

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु २ लाख दिने घोषणा गरेको छ ।

    आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् ।

    मुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेतव्यक्त गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गरेका छन् ।

    इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ ।

  • चाडपर्व लक्षित गरेर धरहराभित्र निःशुल्क पार्किङको व्यवस्था

    चाडपर्व लक्षित गरेर धरहराभित्र निःशुल्क पार्किङको व्यवस्था

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं-तिहार,नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्रभित्र अस्थायी रूपमा भूमिगत पार्किङ खुला गरेको छ ।

    चाडपर्वको बेला किनमेल गर्नेहरूको भिडभाड बढी हुने भएको र पार्किङको समस्या देखिने गरेकाले आइतबारदेखि निर्माणाधीन अवस्थामा रहेको धरहराको भूमिगत पार्किङलाई चाडपर्वका लागि प्रयोग गर्ने महानगरले व्यवस्था गरेको हो ।

    ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। त्यहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ। धरहराको उत्तर- पूर्व ढोकाबाट पार्किङ स्थल जान सकिने छ।

  • अफगानिस्तानमा गएको भूकम्पका परी मृत्यु हुनेको संख्या २ हजारमाथि

    अफगानिस्तानमा गएको भूकम्पका परी मृत्यु हुनेको संख्या २ हजारमाथि

    काठमाडौं । अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको तालिबान सरकारले पुष्टी गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मोजाहिदका अनुसार भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४० जना घाइते भएका छन् । यस्तै १ हजार ३ सय २० घर पूर्ण तथा आशंका रूपमा भत्किएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने तालिबान सरकारले आशंका गरेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।

    इरानको सीमानजिकै रहेको पश्चिमी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा पर्छ । प्रवक्ता मोजाहिदका अनुसार उद्धार टोली हेरात पुगेको छ । यस्तै, खाद्यान्न, पानी, औषधि र लत्ताकपडा पनि घटनास्थलतर्फ पठाइएको छ । भूकम्पले हेरात सहर नजिकका १२ गाउँमा क्षति पुर्‍याएको अनुमान गरिएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी कार्य जारी राखेको तालिबान सरकारले जनाएको छ ।

  • हमास र इजरायलबीच आज पनि भिडन्त जारी

    हमास र इजरायलबीच आज पनि भिडन्त जारी

    काठमाडौं । प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण सुरु गरेको दोस्रो दिन आइतबार दक्षिण इजरायलका विभिन्न सीमा क्षेत्रमा हमास र इजरायली सेनाबीच भिडन्त भएको छ । हमासको आक्रमणयता आइतबार साँझसम्म कम्तीमा ४ सय इजरायलीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

    दर्जनौं इजरायलीलाई बन्धक बनाइएको छ । यस्तै, इजरायलको जवाफी कारबाहीमा परी गाजा क्षेत्रमा ३ सय १३ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएको प्यालेस्टिनी अधिकारीले जनाएका छन् । इजरायलको सुरक्षा परिषद्ले औपचारिक रूपमा ‘युद्ध स्थिति’ को घोषणा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    यो घोषणापछि सरकारलाई महत्त्वपूर्ण सैन्य गतिविधि गर्न अनुमति मिलेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रका स्थानीयलाई विस्थापित हुन चेतावनी दिँदै उक्त क्षेत्रलाई ‘निर्जन स्थल’ का रूपमा बदल्ने घोषणा गरेका छन् ।

    प्यालेस्टाइन समर्थित विद्रोही समूह हमासले शनिबार इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो । त्यसयता प्यालेस्टाइन र इजरायलबीच फेरि युद्ध चर्किएको हो । यसबीच लेबनानस्थित विद्रोही समूह हिजबुल्लाह पनि यस युद्धमा जोडिएको छ । इजरायल नियन्त्रित सिब्बामा आइतबार हिजबुल्लाहले मोर्टार आक्रमण गरेको हो ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमाथि हमासको आक्रमणको निन्दा गरेका छन् । हमासद्वारा ठूलो संख्यामा इजरायलीमाथि अपहरण र आक्रमण भएको घटनाले आफू स्तब्ध भएको गुटेरेसले जनाएका छन् । अपहरण गरिएका सबैलाई तत्काल रिहा गर्न पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई चाहिने सबै उपयुक्त सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहुलाई टेलिफोन गर्दै उनले इजरायली सरकार र जनतालाई सहयोग गर्न अमेरिका तयार रहेको बताएको टाइम्स अफ इजरायलले जनाएको छ ।

    सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई ‘भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानी’ का रूपमा लिँदै आएको छ ।

    यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २ हजार २ सय ५१ प्यालेस्टिनी मारिएका थिए । तीमध्ये १ हजार ४ सय ६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

    पछिल्लो पटक २०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमण गर्दा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टिनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२१ मा रमदानकै महिना इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो ।

    ११ दिनसम्म लम्बिएको हिंसात्मक द्वन्द्वमा गाजा क्षेत्रका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए । इजिप्टबाट कब्जामा लिएको ३८ वर्षपछि इजरायली सेना गाजाबाट एकतर्फी हटेको थियो । त्यस क्षेत्रलाई उसले प्यालेस्टाइनलाई छाडिदिएको थियो । त्यसयता कैयौं पटक इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किंदै आएको छ ।

  • विश्वकप क्रिकेट : भारतको विजयी सुरुवात

    विश्वकप क्रिकेट : भारतको विजयी सुरुवात

    काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले ३ अंक जोडेको हो । गतराति चेन्नेईमा भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय रनको लक्ष्य भारतले ४१ ओभर २ बलमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि केएल राहुलले सर्वाधिक ९७ रनको योगदान गरे ।

    विराट कोहलीले ८५ रनको योगदान गरे । हार्दिक पाण्डेया ११ रनमा नटआउट रहे । रोहित शर्मा र इशान किशनलाई शून्य रनमा गुमाएर खराब शुरुवात गरेको भारतको इनिङ्स विराट र केएल राहुलले सम्हालेका थिए । अष्ट्रेलियाका जोस हेजलउडले ३ तथा मिचेल स्टार्सले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अष्ट्रेलिया १ सय ९९ रनमा अलआउट भएको थियो ।

    अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए भने डेभिड वार्नरले ४१, मिचेल स्चार्सले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए । ग्लेन म्याक्सवेल र पट कुमिन्सले समान १५–१५ रन जोडे । भारतका रबिन्द जडेजाले ३ विकेट लिए भने कुलदीप यादव र जसप्रीत बुम्राहाले २ –२ विकेट लिए । यस्तै, मोहमद सिराज, हार्दिक पाण्डेया, रविचन्द्रन आश्विनले समान एक एक विकेट लिए ।

  • इजरायलबाट नेपाल फर्कन चाहने नेपालीले अनलाइन रजिस्ट्रेशन गर्न सक्ने

    इजरायलबाट नेपाल फर्कन चाहने नेपालीले अनलाइन रजिस्ट्रेशन गर्न सक्ने

    काठमाडौं । इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ
    जततउकस्ररायचmक।नभिरद्धज्ञछन्ःह्भ्द्ददश्ख्भ्यद्यअच्ठ

    अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले अनुरोध गरेको छ। यस्तै दूतावासले सूचना निकालेर आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन पनि आवश्यक प्रबन्ध गरिने जनाएको छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा इजरायलमा रहेका सबै नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ । दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको विज्ञप्तिमा उल्लेख छ । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासको भनाइ छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य भइरहेको दूतावासले जनाएको छ ।

  • इजरायलमा समस्यामा रहेका नेपालीले यी नम्बरमा गर्न सक्नेछन् सम्पर्क

    इजरायलमा समस्यामा रहेका नेपालीले यी नम्बरमा गर्न सक्नेछन् सम्पर्क

    काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ । शनिबारदेखि सुरु आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो ।

    सम्पर्क व्यक्तिमा परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ । यस्तै इजरायलस्थित तल अबिवमा रहेको नेपाली राजदूतावासमा रहेका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकेको छ । उनीहरू सबैको सम्पर्क नम्बरसहित दूतावासको ईमेलसमेत मन्त्रालयल खुला गरेको जनाएको छ ।