Category: समाचार

  • कोशीका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

    कोशीका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

    काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्।

    संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाईआइतबार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ खुवाएका हुन्।

    कार्कीसँगै नेकपा (एमाले) का रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिएका छन्। दुवै मन्त्री हाल बिनाविभागीय छन् ।

    कांग्रेसका आठ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।

    यसअघि, एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले विश्वासको मत नपाउने स्थितिपछि असोज २० गते राजीनामा दिएका थिए ।

    राना एमाले कोशी संसदीय दलका उपनेता हुन्। कांग्रेसका राईले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

  • केही दिन मौसम बिग्रने, धान बाली प्रभावित हुन सक्ने

    केही दिन मौसम बिग्रने, धान बाली प्रभावित हुन सक्ने

    काठमाडौं । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् । आज धेरै ठाउँमा बादल लाग्ने र भोलि तथा पर्सि पानी पर्ने अनुमान मौसम विद्को छ । खासगरी पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

    पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुनेछ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जानेछ । वर्षाको सम्भावना रहेकाले आज धान नकाट्न र हिजोअस्ति काटिएको छ भने भित्र्याइहाल्न किसानलाई मौसमविद्को सुझाव छ । देशका धेरै ठाउँमा धान पाकेको छ ।

  • एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा आज नेपाल र बहराइन भिड्दै

    एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा आज नेपाल र बहराइन भिड्दै

    काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह ए मा रहेका नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । नेपालले यसअघि समूहको पहिलो खेलमा इरानलाई पराजित गरेको थियो ।

    बहराइन भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ । नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ । १६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष तीन टोली यू१९ एसिया कपका लागि छनोट हुनेछ ।

  • मनाङ एयरका घाइते पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो

    मनाङ एयरका घाइते पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो

    काठमाडौं ।मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पीके सढाईंलाई भारतको मुम्बई लगिएको छ । दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ हो । श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ह्याम्स अस्पतालले जानकारी दिएको छ ।

    ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरी पाइलट सेढाईलाई नेशनल बर्न सेन्टर पुर्‍याए हुन् । आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।

    शनिबार बिहान लुक्लाबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ । घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    उनको शरीर र हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा ‘डेब्रिडेमेन्ट’ र ‘इस्कराटोमी’ गरी उपचार भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

  • आजबाट सुरु भयो बडा दशैं, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

    आजबाट सुरु भयो बडा दशैं, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

    काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

    बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।

    दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

  • भारतविरुद्ध पाकिस्तान पुनः निरिह

    भारतविरुद्ध पाकिस्तान पुनः निरिह

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँग पाकिस्तान पुनः निरिह बनेको छ । पाकिस्तान ७ विकेटले पराजित भयो । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानले दिएको १ सय ९२ रनको लक्ष्य भारतले ओभरमा मात्रै ३ विकेट गुमाएर भेटायो । भारतका लागि रोहित शर्माले ८६ रन बनाए । यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो । उसका लागि कप्तान बाबर आजमले ५० रन बनाए ।

    यस्तै, मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए । एक सय ५५ रन बनाउँदासम्म पाकिस्तानको दुई विकेट मात्रै गुमेको थियो । बाँकी ३६ रन बनाउँदा उसका सबै खेलाडी आउट भए । भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २–२ विकेट लिए । यो विश्वकपमा भारतले ती खेल खेलेकोमा सबैमा जित निकालेको छ भने पाकिस्तानले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ ।

    भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा आजसम्म ८ खेल भएकोमा सबै खेल भारतले जितेको छ । तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ । सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टी–२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान १ खेलमा मात्रै विजयी भएको छ ।

  • माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब ऋण दिन विश्व बैंक सकारात्मक

    माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब ऋण दिन विश्व बैंक सकारात्मक

    काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहनुभएका अर्थमन्त्रीसँग शनिबार बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

    उक्त बैङ्कबाट सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा आगामी साता उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले वासिङ्टनमा प्राविधिक एवं वित्तीय विषयमा केन्द्रित रहेर छलफल गर्ने तयारी गरेको मन्त्रालयले बताएको छ । त्यसैगरी, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१औँ बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्रीले गरेको प्रस्तावप्रति विश्व बैङ्कले सकारात्मक जवाफ दिएको छ ।

    विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा उनीहरुले नेपालको प्रस्तावप्रति सकारात्मक जवाफ दिएका हुन् । गत वर्ष नौ दशमलव दुई प्रतिशत मात्र प्रवाह भएको कर्जाको परिमाण बढाउन मन्त्री महतले जोड दिएका थिए ।

    बैठकमा नयाँ आयोजना निर्माण तथा ठेक्का प्रक्रिया र धेरै क्षेत्रमा छरिएका आयोजनाको एकीकरणबारे पनि उनीहरुबीच छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी, तीन सय मिलियन अमेरिकी डलर अर्थात् रु ३९ अर्ब बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षबीच सहमति भएको छ । सहमतिअनुसार सार्वजनिक वित्त, वित्तीय क्षेत्र समावेशी विकासका साथै नीतिगत सुधारका काम कार्यान्वयन गरिनेछ ।

    यसैगरी, भौतिक पूर्वाधारका क्षेत्रमा अर्थमन्त्रीले कार्यक्रमगत सहायताको नयाँ ढाँचामा सहायता परिचालन गर्न अनुरोध गरेका छन् । उक्त ढाँचाअन्तर्गत स–साना आयोजना कार्यान्वयनका लागि नेपालको आफ्नै सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरणका मापदण्डलाई आधार मानेर लगानी सुनिश्चित गरिनेछ ।

  • मनाङ एयरको एओसी निलम्बन

    मनाङ एयरको एओसी निलम्बन

    काठमाडौं । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७स्१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका थिए ।

    यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो । तीन महिनाको अवधिमा दुई पटक दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

    मनाङ एयरसँग रहेको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि हाल ऊसँग हेलिकप्टर नै बाँकी छैन । सूचना अधिकारी भुलका अनुसार मनाङ एयरले अर्को हेलिकप्टर ल्याए पनि तत्काल उडान सञ्चालन गर्न पाउने छैन । ‘मनाङ एयरको समग्र चेकजाँच गरेपछि मात्र उडान सुरु गर्न दिने वा नदिने निर्णय हुन्छ’, उनले भने ।

  • इजरायलको आक्रमणबाट मारिए हमासले नियन्त्रणमा लिएका १३ वन्धक

    इजरायलको आक्रमणबाट मारिए हमासले नियन्त्रणमा लिएका १३ वन्धक

    काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको ज्यान गएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले जनाएको छ । उत्तरी गाजा र गाजा सहरभित्र इजरायली आक्रमणमा परि विदेशी र इजरायलीको ज्यान गएको एक विज्ञप्तिमा भनिएको छ । उत्तरी गाजा पट्टीमा ६ जनाको र गाजा सहरका अन्य छुट्टाछुट्टै ठाउँमा सात जनाको ज्यान गएको दाबी गरिएको छ ।

    इजरायली सेनाले बिहीवार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र घरहरू, हतियार डिपोहरू तथा सञ्चार कक्षहरूसहित लगभग ७ सय ५० ठाउँ लक्षित आक्रमणको घोषणा गरेको छ । इजरायली सेनाको निर्देशन पछि गाजाको उत्तरी क्षेत्रका बासिन्दाहरु दक्षिणी गाजातर्फ लागेका छन् । इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा आक्रमण गर्ने भन्दै त्यहाँका झण्डै ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा जान निर्देशन दिएको थियो ।

    हमासले इजरायलमा आक्रमण गरेको आज एक हप्ता भएको छ । हमास र इजरायली सेनाबीच युद्ध चर्किँदै गएको छ । हमासको आक्रमणमा इजरायलतर्फ एक हजार ३ सयभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा झण्डै एक हजार आठ सय जना प्यालेस्टिन मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन्।

  • विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

    विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ । भारत र पाकिस्तानबीच हुने खेललाई निक्कै महत्त्वकासाथ हेरिन्छ । भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् ।

    भारतले अस्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो । त्यस्तै, पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन् । भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् ।

    तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ । सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टी–२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान एक खेलमा मात्रै विजयी भएको छ ।

  • लागतभन्दा बढी मूल्य परेपछि एमसीसीका सबै ठेक्का रद्द

    लागतभन्दा बढी मूल्य परेपछि एमसीसीका सबै ठेक्का रद्द

    काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विस्तृत परियोजनाको ठेक्का सम्झौता रद्द भएको छ । समग्र लागतभन्दा उच्च भएपछि एमसीए नेपालले ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियामा जाने तयारी गरेको जनाएको छ । नयाँ ठेक्कामा जानुअघि कुन कुराले लागत उच्च भएको परीक्षण गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

    एमसीसीको गाइडलाइनअनुसार लागत बढी हालेकै आधारमा नेगोसियसन गर्न नमिल्ने भएका कारण हाललाई पुनः टेन्डर प्रक्रियामा जाने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताएका छन् । परियोजनाको लागत के कारणले बढ्यो त्यसको अध्ययन गरी डिजाइन समस्या पाइएमा परिवर्तनमा जान सकिने उनको भनाई छ ।


    परियोजना सकेसम्म वन क्षेत्रबाहिर बनाउने, वन बचाउन पहुँच मार्ग नबनाउने, कम जग्गा अधिग्रहण गरी ठूला टावर निर्माण गर्ने जस्ता कार्यले परियोजनाको लागत बढेको बताइएको छ । पुनः बोलपत्र आह्वान गर्नुअघि डिजाइन पनि राम्रोसँग अध्ययन गर्ने एमसीए नेपालको तयारी गरेको छ ।

    एमसीसी कार्यान्वयन गर्न बनेको मिलिनियम च्यालेञ्ज अकाउन्ट (एमसीए) नेपाल आह्वान गरेको बोलकबोल (बिडिङ)मा लागत तेब्बर परेपछि गत भदौ १३ गतेबाट समयावधि सुरु भएको परियोजना अघि बढ्न सकेको छैन । ‘न्यारो बेस डिजाइन’का कारण एमसीसी परियोजनामा समस्या रहेको विज्ञहरुको भनाइ छ ।

    एमसीसी परियोजना पाँच वर्षमा सक्नुपर्ने र नसकिए अमेरिकाले रकम फिर्ताको सर्त राखेको छ । एमसीसी परियोजनाको प्रसारण लाइन निर्माणको प्रस्ताव गरेको ५ भारतीय कम्पनीले प्रसारण लागतको कुल रकमभन्दा दोब्बर रकम प्रस्ताव गरेका थिए । परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माणको लागि २२ करोड ६ लाख अमेरिकी डलर लागत रहेको छ ।

    तर, सबैभन्दा कम प्रस्ताव नै साढे ३६ करोड डलरको हाराहारीमा परेको थियो । सडक र प्रसारण लाइन गरी कुल ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) रहेको परियोजनामा अमेरिकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर लागत छ । प्रसारण लाइनको लागत उच्च भएपछि सडक निर्माण ४० किमिमात्रै हुने भएको छ । यसअघि ७७ किमि सडक उच्च क्षमतामा निर्माण गरिने भनिए तापनि यसको लम्बाइ घटाएर ४० किमिमा झारिएको छ ।

  • मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते

    मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाइलट घाइते

    काठमाडौं । मनाङ एयरको ९एन(एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा पर्दा पाइलट पीके सेढाई घाइते भएका छन् । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । घटना बिहान ७ः१३ मिनेटमा भएको हो ।

    हेलिकप्टरमा पाइलटमात्रै थिए । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएर त्यहाँबाट काठमाडौंको ह्याम्स हस्पिटल ल्याइँदैछ।

  • नेपाली बजारमा सार्वजनिक भयो आइफोनको नयाँ सिरिज, मूल्य कति ?

    नेपाली बजारमा सार्वजनिक भयो आइफोनको नयाँ सिरिज, मूल्य कति ?

    काठमाडौं । नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको छ । एक महिनाअघि विश्व बजारमा लञ्च भएको उक्त फोन नेपाली बजारमा भने औपचारिक रुपमा शुक्रबारदेखि भित्रिएको बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले जनाएको छ । नेपालमा आईफोन १५ को १३ मोडल उपभोक्ताले खरिद गर्न सक्नेछ ।

    जसमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स छ । बजारमा १२८ जीबीको आईफोन १५ को मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ। २५६ जीबीको आईफोन १५ को मूल्य एक लाख ७६ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको दुई लाख १४ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

    त्यस्तै, आईफोन १५ प्लसमा १२८ जीबीको एक लाख ७६ हजार पाँच सय रूपैयाँ, २५६ जीबीसहितको आईफोन १५ प्लसको एक लाख ९५ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको आईफोन १५ प्लसको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ। आईफोन १५ प्रो अन्तर्गत १२८ जीबीको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ, २५६ जीबीको मूल्य दुई लाख १४ हजार पाँच सय रूपैयाँ, ५१२ जीबीको दुई लाख ५३ हजार र एक टीबी क्षमताको आईफोन १५ प्रोको मूल्य दुई लाख ९० हजार पाँच सय रूपैयाँ तोकिएको छ।

    आईफोन १५ प्रो म्याक्स पनि तीन वटा स्टोरेज क्षमतामा उपलब्ध हुनेछ। २५६ जीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ। ५१२ जीबीको आईफोन १५ प्रो म्याक्सको बजार मूल्य दुई लाख ७१ हजार पाँच सय रूपैयाँ र एक टीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँसम्म तोकिएको छ।

    आईफोन १५ को विभिन्न मोडलमध्ये सबैभन्दा सस्तो १२८ जीबी क्षमताको आईफोन १५ हो । जसको मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ। सबैभन्दा महँगो भने एक टीबी क्षमताको आईफोन १५ प्रो म्याक्स हो । जसको बजार मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

    जेनेरेसन नेक्स्टका अनुसार आईफोन १५ को कुनै पनि मोडल ग्लोबल आईएमई बैंक, इनभेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकबाट शून्य डाउनपेमेन्टमा खरिद गर्न सकिन्छ। ब्याजदर भने बैंकले तोकेअनुसार हुनेछ । आईफोन १५ मा १ वर्षको एप्पपल, एक वर्षको एक्स्टेन्डेण्ड वारेण्टी दिइएको छ ।

    फोनमा एक वर्षको स्क्रिन रिप्लेसमेन्ट सुविधा छ । नयाँ आईफोन किन्दा २० वाटको एड्याप्टर निःशुल्क पाइन्छ । यसैगरी १२८ जीबी क्षमताको आईफोन ११ को मूल्य ८९ हजार ९९० रूपैयाँ, १२८ जीबी आईफोन १२ को मूल्य १ लाख ६ हजार ९९० र १२८ जीबी आईफोन १३ को मूल्य १ लाख १९ हजार ९९० रूपैयाँ तोकिएको छ ।

  • कांग्रेसमा विद्रोह गरेका कोशी प्रदेश सांसदको हुलमा सुनिल शर्मा पनि मिसिए

    कांग्रेसमा विद्रोह गरेका कोशी प्रदेश सांसदको हुलमा सुनिल शर्मा पनि मिसिए

    काठमाडौं । मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई नियुक्तका लागि दबाब दिन एमाले र कांग्रेस नेता शेखर कोइराला समूहका सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

    एमालेका ३९ जना र सत्ता गठबन्धनको निर्णयको विरुद्वमा लागेका कांग्रेसका ९ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुख रशुराम खापुङको कार्यालयमा भेला भएका हुन्।

    कांग्रेसका कार्कीले एमाले र कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित बिहीबार साँझ मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुखको कार्यालय पुगेका ४७ सांसदको हुलमा प्रतिनिधिसभा सदस्य सुनिल शर्मा पनि मिसिएका छन् ।

    कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेका ३९ सहित कोइराला पक्षका ८ सांसदको हस्ताक्षर बुझाएपनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै ४७ सांसद शशरिर मुख्यमन्त्रीको कार्यालय पुगेका हुलमा शर्मा पनि मिसिएका हुन् ।

  • ‘युवा उँट चराउन गएकाले चामल उत्पादन भएन’

    ‘युवा उँट चराउन गएकाले चामल उत्पादन भएन’

    काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृहमा वाग्मती प्रदेश कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाली युवा खाडी जाँदा चामल उत्पादन घटेको बताएकी छिन्।

    आफू कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भएपछि कृषिबारे धेरै विषय थाह पाएको बताउँदै उनले भनिन् ‘बंगलादेश जाँदा लाज पनि लाग्यो। हाम्रो भन्दा ६ गुणा जनसंख्या। तै पनि चामल यति धेरै उत्पादन गरेको छ। हामीमा चाहिँ जनतालाई खान दिन सकेको छैन। हाम्रो खेतहरु बाँझो छ। हाम्रो युवाहरु खाडीमा उँट चराउन गइरहेका छन्।

  • इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन,विपिनको खोजी जारी

    इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन,विपिनको खोजी जारी

    काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपाल फर्कन २०० जनाले तेल अबिबस्थित नेपाली दूतावासमा आवेदन दिएका छन् ।

    इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

    नेपाल फर्कन चाहनेको यो संख्या गएराति इजरायलबाट उद्धार गरी ल्याइएका २५३ जना बाहेकको हो । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई भनेका छन् ।

    शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

    घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैराखेको छ । थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।

    इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरूलाई हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यमा तीब्रता दिन पुनः अनुरोध गरिएको समेत दूतावासले जनाएको छ ।

    साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमहरूको सदुपयोग गरी उनको खोजी कार्यलाई अझै तीब्र पारिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • हेलिकोप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

    हेलिकोप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

    काठमाडौं । असारमा ‘मनसुन अवधि– सेप्टेम्बरसम्म’ सुरक्षाको कारण देखाउँदै माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरेको प्रतिबन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले हटाएको छ । हेलिकोप्टर दुर्घटनाका कारण नेपाली आकाश असुरक्षित रहेको सन्देश गएकाले उडानमा कडाइ गरेको थियो ।
    मनसुन सकिएसँगै प्रतिबन्ध हटाएको तर उडान हुनुअघि ‘फ्लाइट रुट’ सफा हुनुपर्ने जनाएको छ ।

  • दशैंमा विदेशी पर्यटकलाई नेपाली रैथाने खाना खुवाइने

    दशैंमा विदेशी पर्यटकलाई नेपाली रैथाने खाना खुवाइने

    काठमाडौं । स्थानीय रैथाने खानाको प्रवर्द्धन गर्न होटल संघ नेपाल (हान)ले रैथाने परिकारहरू होटल तथा रेस्टुरेन्टको मेनुमै राख्ने बताएको छ। संघका सदस्य होटलहरूमा आगामी आइतबार (घटस्थापनादेखि कोजाग्रत पूर्णिमा)सम्म रैथाने परिकार पस्कने कार्यक्रम नै आयोजना हुने जनाइएको छ।

    पर्यटकहरूले यात्राको क्रममा रैथाने खानाप्रति विशेष रूचि राख्ने हुँदा मौलिक खानाको स्वाद चखाएर भ्रमण अविस्मरणीय बनाउने कार्यक्रमको उद्देश्य रहेको संघका अध्यक्ष विनायक शाहले बताए। यस्तो किसिमको कार्यक्रमअन्तर्गत देशभरका सदस्य होटलहरू खासगरी झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटलमा रैथाने खाना पाइनेछ।

    त्यस्तै काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतले आफ्नो मेनुमा दसैं विशेष स्थानीय रैथाने खाना पस्कने छन्। यस कार्यक्रममा अन्य क्षेत्रका थप सदस्य होटलहरू पनि सहभागी रहने संघले जनाएको छ।

  • विश्वकप छनोट : विश्व विजेता अर्जेण्टिनाको लगातार तेस्रो जित

    विश्वकप छनोट : विश्व विजेता अर्जेण्टिनाको लगातार तेस्रो जित

    काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो ।

    लगातार तेस्रो जितपछि अर्जेन्टिना ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । ब्राजिलको २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिलले अहिले भेनेजुएलासँग खेलिरहेको छ । छनोटकै अन्य खेलमा चिलीले पेरुलाई २-० ले, इक्वेडरले बोलिभियालाई २-१ ले हराउँदा कोल्मबिया र उरुग्वेले २-२ को बराबरी खेलेको छ । कोलम्बिया ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ भने उरुग्वे र चिलीको समान ४ अंक छ र चौथो र पाँचौ स्थानमा छ ।

  • राष्ट्रपति पौडेल आगामी महिना जर्मनीको भ्रमणमा जाने

    राष्ट्रपति पौडेल आगामी महिना जर्मनीको भ्रमणमा जाने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन् जर्मनीको एकीकरण तथा जर्मनी–नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा आज साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताए ।

    राजदूत प्रिन्जले भूकम्पपछिको पुनःनिर्माण होस् या कोरोना महामारीको समयमा जर्मनीले नेपाललाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, पत्रकार, उद्योगपति, व्यापारी, कामको सिलसिलामा काठमाडौँमा रहेका जर्मनीका नागरिक, नेपाली समाजका प्रतिष्ठित व्यक्तिलगायतको उपस्थिति थियो । रासस

  • इजरायलबाट नेपालीको पहिलो टोली घर फर्कियो

    इजरायलबाट नेपालीको पहिलो टोली घर फर्कियो

    काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धार प्रारम्भ गरिएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगे । यी नेपाल फर्कन नाम टिपाएका ४ सय जना नेपालीमध्ये पहिलो टोली हुन् । आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।


    नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकार समर्पित पाएको बताए । आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट नभएको बताए ।

    उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’ मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आवश्यकता अनुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सजग छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’

  • जहाज चढेर इजरायलबाट स्वदेश फर्कदै २५३ जना नेपाली

    जहाज चढेर इजरायलबाट स्वदेश फर्कदै २५३ जना नेपाली

    काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति साढे १ बजे काठमाडौंमा अतवरण हुने छ । त्यसपछि उनीहरु आफ्नो घर परिवारसँग मिल्नेछन् ।

    नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा उक्त संख्यामा नेपाली घर फर्किएका हुन् । नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् । त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका थिए ।

  • अन्जनले गरे सर्वाधिक गोलको कीर्तिमान बराबरी

    अन्जनले गरे सर्वाधिक गोलको कीर्तिमान बराबरी

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गर्न सफल भएका छन् । फिफा विश्वकप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा गोल गर्दै अञ्जनले हरि र निराजनको नाममा रहेको १३ गोल गर्ने कीर्तिमान बराबरी गरे । अञ्जनकै गोलको मद्दतमा नेपालले लाओससँग १–१ को बराबरी खेल्यो ।

    हरिले १३ गोलको कीर्तिमान राखेकोमा निराजनले २००८ मा यो कीर्तिमान बराबरी गरेकाथिए । त्यसको १५ वर्षपछि अञ्जनले यो कीर्तिमान बराबरी गर्न सफल भए । अब यो कीर्तिमान आफ्नो नाममा लेखाउन अन्जन एक गोलले पछाडी छन् । सन् १९८२ को एसियन गेम्समा वाईबी घलेले कुवेत विरुद्ध नेपालको लागि पहिलो आधिकारिक गोल गरेका थिए ।

    त्यसयता नेपालले धेरै खेल खेलिसके पनि व्यक्तिगत सर्वाधिक गोलको संख्या भने १३ मात्र छ । अब यो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउने सक्ने खेलाडीमा उनै अञ्जन देखिएका छन् । सन् २०१४ मा फिलिपिन्स विरुद्ध सन्दिप राईको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि डेब्यु गरेका अञ्जनले २०१९ मा चाइनिज ताइपेईविरुद्ध पहिलो गोल गरेका थिए ।

  • रिगलको कैद मिनाहाविरूद्धको रिट हेर्न नमिल्नेमा

    रिगलको कैद मिनाहाविरूद्धको रिट हेर्न नमिल्नेमा

    काठमाडौं । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका रिगल भन्ने योगराज ढकाललाई संविधान दिवसको दिन सजाय छुट दिई रिहा गर्ने निर्णयविरुद्ध दायर भएको रिट हेर्न नमिल्ने हुदै स्थगित भएको छ।

    सर्वोच्च अदालतमा बिहीबारदेखि उक्त रिटमा अन्तिम सुनुवाइ थालेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भनेको हो।

    न्यायाधीशको इजलासमा सुनुवाइ गर्न उपर्युक्त हुने भन्दै अर्को पेसी कात्तिक १४ गतेलाई तोकिएको छ।

  • लुटेरा समूहबाट १ पेस्तोल र ७ राउण्ड गोली बरामद

    लुटेरा समूहबाट १ पेस्तोल र ७ राउण्ड गोली बरामद

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३ जगडोलमा गोली प्रहार गरी प्रहरी टोलीले तीन जना लुटेरालाई नियन्त्रणमा लिएको छ।

    प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ।

    उनीहरु विभिन्न ठाउँमा तस्करी र अवैध सुन किन्न, खोज्न हिँड्ने र सुन भेटिएपछि पेस्तोल देखाएर लुट्ने समूहका नाइके भएको प्रहरी भनाइ छ । उक्त समूहका सर्लाही घर भएका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोक घर भएका अन्दाजी ३० वर्षका जितेन लामालाई २ वटा मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

    उनीहरुको साथबाट १ थान पेस्तोल र ७ राउण्ड गोली भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाखेरीले जनाएको छ।

  • काठमाडौंमा ‘लुटपाट गर्ने’ समूहमाथि प्रहरीले चलायो गोली, १ जना घाइते

    काठमाडौंमा ‘लुटपाट गर्ने’ समूहमाथि प्रहरीले चलायो गोली, १ जना घाइते

    काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लुटेरा समूहका एक जनालाई नियन्त्रणमा लिएको छ ।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको हो।

    प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।

    लुटपाटका घटनामा सक्रिय समूहले लुटपाट गर्दैछ भन्ने सूचनाका आधारमा प्रहरीले टोली परिचालन गरेको थियो। त्यसक्रममा जम्काभेट भएपछि उनीहरुले प्रहरी टोलीमाथि नै हतियार प्रहार गर्न खोजेपछि ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उनीहरूबाट एउटा पेस्तोल, पाँच राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ। उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन।

  • विश्वकप छनोट : नेपाल र लाओसबीच आज खेल

    विश्वकप छनोट : नेपाल र लाओसबीच आज खेल

    काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा आज नेपालले लाओससँग भिड्दैछ। नेपाल र लाओसबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा आज साँज साढे ५ बजे हुनेछ। दोस्रो लेग एक सातापछि लाओसमा हुनेछ। एसिया छनोटको पहिलो चरणमा वरीयताको पुछारमा रहेका २० टिमबीच प्रतिस्पर्धा अन्तर्गत नेपाल र लाओस् भिड्न लागेका हुन्। दुबै लेग जित्ने टोलीले दोस्रो चरणको खेल खेल्न पाउनेछ।

    त्यसकारण एक्सपोजरका हिसाबले पहिलो चरणको छनोट खेल नेपालसहित सबै २० टिमका लागि महत्वपूर्ण छ। दोस्रो चरणमा एसियाका शीर्ष वरीयताका टिम सम्मिलित समूहमा प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा एक टिमले ६ खेल होम एन्ड अवेका आधारमा खेल्नेछ। पहिलो चरणमा जित हात पारे नेपाली फुटबल टिमको तालिका एक वर्षको बीचमा ६ खेल खेल्न पाउनेछ। पहिलो चरणमा हार बेहोरेमा क्वालिफायर प्लेअफका लागि एक अवसर भने बाँकी हुनेछ।


    एक्पोजरका हिसाबले महत्वपूर्ण मानिएको विश्वकप छनोटको पहिलो चरणमा नेपालले भिड्न लागेको टिम ‌लाओस नेपालका लागि बलियो प्रतिद्वन्द्वी भने होइन। फिफा वरीयतामा ११ स्थान तल रहेको लाओससँग नेपालले गत वर्ष खेलेको थियो। दशरथ रंगशालामा नेपालले प्रधानमन्त्री कपअन्तर्गत खेलेको दुई मैत्रीपूर्ण खेलमा दुवै खेलमा जित निकालेको थियो। नेपालले पहिलो खेलमा २-० र दोस्रो खेलमा २-१ गोलको जित निकालेको थियो।

  • नेपालीलाई लिन इजरायल गयो जहाज, परराष्ट्र मन्त्री पनि साथमा

    नेपालीलाई लिन इजरायल गयो जहाज, परराष्ट्र मन्त्री पनि साथमा

    काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई पठाउने निर्णय गरेको थियो । जहाज आज राती ३ बजे दुबई हुँदै इजरायलका लागि उडेको हो । परराष्ट्र मन्त्रीको टीम र चालक दलका सदस्य इजरायल जान अनुमति पाएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् ।

    एकजना अझै सम्पर्कविहीन छन् । तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले सुरक्षित स्थानमा सारेको छ । तेल अबिबस्थित नेपाली दूतावासका अनुसार करिब ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् । यो जहाजमा नेपालीको शव भने ल्याइने छैन ।

  • एसीसी यू-१९ कप : आज इरान र नेपाल खेल्दै

    एसीसी यू-१९ कप : आज इरान र नेपाल खेल्दै

    काठमाडौं । मलेसियामा आजदेखि सुरु हुने एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज इरानसँग खेलिरहेको छ । समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) सुरु भएको हो । आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ ।


    नेपालले समूह चरणमा इरानसँगै बहराइन र साउदी अरेबियासँग खेल्नेछ । १६ टोली सहभागि एसीसी यू(१९ प्रिमियर कपबाट शीर्ष तीन टोली मात्र यू१९ एसिया कपमा छनोट हुनेछन् । जहाँ एसियाका टेष्ट खेल्ने पाँच राष्ट्रको यू(१९ टोलीले सीधै स्थान पक्का गरिसकेका छन् । हरेक समूहको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपालको पहिलो लक्ष्य समूहको तीनवटै खेल जितेर सेमिफाइनल पुग्ने र त्यसपछि फाइनल जित्दै च्याम्पियन भएर यू१९ एसिया कपमा पुग्ने छ ।

    त्यसका लागि नेपालले अन्य समूहमा रहेका युएई, हङकङ, मलेसिया, सिंगापुर जस्ता टिमसँग खेल्नुपर्ने हुन सक्छ । नेपालले दोस्रो खेल बहराइनसँग १५ अक्टोबर र तेस्रो खेल साउदीसँग १९ अक्टोबरमा खेल्नेछ ।

  • इजरायलबाट नेपाल फिर्ता भइन् साम्बा

    इजरायलबाट नेपाल फिर्ता भइन् साम्बा

    काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा नेपाल आएकी छिन् ।
    सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरे । सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् ।

    एसियाली राष्ट्र भएपनि युरोपेली फुटबल महासंघमा आबद्भ भएकोले सावित्रा युरोपियन लिगमा खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् । अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा घर फर्किएकी हुन् । हमासको आक्रमणमा १० नेपालीको मृत्यु भइसकेको छ ।