Category: समाचार

  • नयाँ नोट सटही २९ असोजबाट

    नयाँ नोट सटही २९ असोजबाट

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।

    काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

  • हरेक वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने बालेनको घोषणा

    हरेक वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने बालेनको घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन् । ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्दे मेयर बालेनले श्रम बैंक मार्फत काम गर्ने बताएका हुन् ।

    ‘महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंक को स्थापना गरेर रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंकका योजना अन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याएको बालेनले बताएका छन् ।

    महानगरपालिकाका अनुसार महानगरका स्थायी बासिन्दा, महानगर का करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आबद्ध हुन सक्नेछन् । चालु आर्थिक वर्ष२०८०–८१ मा काठमाडौं महानगरपालिकाले महानगर गौरवको आयोजना, स्वर्णिम आयोजना र वडा तथा महानगरपालिका मार्फत हुने अन्य योजना छुट्टाएको थियो । बेरोजगार जनशक्तीहरुलाई श्रम बैंकमा आबद्ध गरेर आवश्यक स्थानमा परिचालन गर्ने महानगरको स्वर्णिम योजना हो ।
    मेयर बालेनले भिडियो सन्देशमा सोही कुरालाई उल्लेख गर्दै श्रम बैंकमा आवद्ध भएका जनशक्तिलाई ३ क्षेत्रमा विभाजन गरेर परिचालन गर्ने बताएका छन् । महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाइ, सामाजिक विकास लगायतका क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन गर्ने पहिलो क्षेत्र रहेको बालेनले बताएका छन् ।

    यस्तै महानगरको ‘जब पोर्टल’ मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु परिचालन गर्ने महानगरको तयारी छ । जनशक्ति व्यवस्थापनका लागि अर्को क्षेत्र महानगरको श्रम बैंक एप मार्फत आंशिक समय नोकरीकोे रुपमा सबै सेवा घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने मेयर बालेनले बताएका छन् ।

    श्रम बैंक मार्फत सूचीकृत भएका सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य बीमा महानगरले गरिदिनेछ । यस्तै महानगरको गौरवको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिङ सेन्टर को स्थापना गरी १२ महिना बिहानदेखि साँझसम्म नियमित तालिम सञ्चालन गरिने बालेनले बताएका छन् ।

  • झलनाथ खनालको सर्पपालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

    झलनाथ खनालको सर्पपालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

    काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सर्प पालन गर्ने नाममा भ्रष्टाचार भएको पाइएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका नाममा १७ करोड ८९ लाख ३३ हजार रुपैयाँ सरकारी रकम भ्रष्टाचार भएको दाबीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    अख्तियारले मधेस प्रदेश (तत्कालीन प्रदेश २)का तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र लालबन्दीका तत्कालिन मेयर मानबहादुर खड्कासहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

    सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा एन्टी–भेनम प्रोडक्सन् एण्ड रिसर्च सेन्टर, नेपाल (एपीआरसीएन) स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

    यस्तो छ आरोप पत्र

    जिल्ला सर्लाही, लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा Anti-venom Production & Research Centre, Nepal (APRCN) स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रदेश नं. २ (हाल मधेश प्रदेश), आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार र जिल्ला सर्लाही, लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्काले प्रदेश सरकारको आ.व. 2०७६।७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट समेत प्राप्त समपूरक अनुदान रकम सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि प्रचलित कानून अनुसार लेखा उत्तरदायी अधिकृतले कार्यान्वयन गर्ने गरी अख्‍तियारी समेत प्रदान भईसकेको अवस्थामा निजहरु विजय कुमार र मान बहादुर खड्काले आफूलाई नभएको अधिकार समेत प्रयोग गरी प्रचलित कानून विपरीत लागत साझेदारी सुन्य रहेको झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान नेपाल नामको गैरसरकारी संस्था/कम्पनीलाई सरकारी रकम उपलब्ध गराई सोही संस्थाबाटै कार्यक्रम कार्यान्वयन र खर्चको लेखाङ्कन गर्ने गरी उक्त गैरसरकारी संस्था/ कम्पनीका अध्यक्ष रेवती प्रसाद पन्तसँग त्रिपक्षीय समझदारी-पत्रमा हस्ताक्षर गरेको र सोही समझदारी-पत्रका आधारमा प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट लालबन्दी नगरपालिकालाई र सो नगरपालिकाबाट उक्त गैरसरकारी संस्था/कम्पनीलाई बदनियतपूर्वक सरकारी रकम रु.17,98,33,000।– निकासा समेत दिई सो संस्थाबाट सम्पूर्ण रकम खर्च भइसक्दा समेत योजनाको उद्देश्य प्राप्तितर्फ सुन्य प्रगती भई अन्य स्वीकृत नभएका विषयमा समेत सरकारी रकम खर्च गरी गराई रु.17,98,33,000।– विगो बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, दुरुपयोग गरेको देखिएकोले निजहरु विजय कुमार र मान बहादुर खड्कालाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरमा ऐ. दफा १७ ले व्यवस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैद र जरिवाना गरी हानिनोक्सानी, दुरुपयोग भएको रु.17,98,33,000।- (सत्र करोड अन्ठानब्ने लाख तेत्तीस हजार रुपैयाँ) ऐ. ऐनको दफा १७ बमोजिम निजहरुबाट असुल उपर गर्न एवं प्रचलित कानूनअनुसार बजेट कार्यान्वयन गर्ने अख्तियारी आफूलाई नरहेको अवस्थामा नरहेको अधिकारसमेत प्रयोग गरी निजहरुले त्रिपक्षीय समझदारी-पत्रमा हस्ताक्षर गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 15 बमोजिमको कसुरमा सोही दफा १५ बमोजिमसमेत कैद तथा जरिवाना हुन तथा प्रदेश सरकारको मन्त्रीको हैसियतमा रहेका निज विजय कुमारलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 24 बमोजिम थप कैद सजाय समेत हुन मागदावी लिइएको छ।

    प्रदेश नं. 2, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेम कुमार श्रेष्ठले प्रदेश सरकारको आ.व. 2०७६।७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन भएपश्चात निज प्रेम कुमार श्रेष्ठले सोही कार्यक्रमको लागि कार्यक्रम कार्यान्वयन गर्न सक्ने वित्तीय तथा भौतिक क्षमता वा जनशक्तिको व्यवस्था भएको; योजनाको विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्‍कन लगायतका अध्ययन तथा पूर्वतयारी सम्पन्न भएको भन्ने समेतका नभएका झुट्टा विवरण शर्त घोषणामा उल्लेख गरी राष्ट्रिय योजना आयोगमा अनुदान प्रस्ताव पेश गरेको र निजले पेश गरेको सो झुट्टा विवरणका आधारमा समपूरक अनुदान स्वीकृत भई आ.व. 2076।77 मा नेपाल सरकारबाट समपूरक अनुदान रकम रु.३,27,00,000।– प्राप्त भएको साथै ‍प्रदेश सरकारले विनियोजन गरेको र नेपाल सरकारबाट प्राप्त समपूरक अनुदान समेतको सम्पूर्ण सरकारी रकम झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल नामको गैरसरकारी संस्था/कम्पनीलाई उपलब्ध गराई सोही संस्थाबाटै कार्यक्रम कार्यान्वयन र खर्चको लेखाङ्कन गर्ने गरी भएको त्रिपक्षीय समझदारी-पत्र हस्ताक्षर गर्ने कार्यको रोहबरमा समेत बसी प्रचलित कानून विपरीत हुने प्रावधानहरुसमेत रहेको सोही त्रिपक्षीय समझदारी-पत्रअनुसार नै सरकारी रकम गैरसरकारी संस्थालाई उपलब्ध गराउने प्रयोजनार्थ लालबन्दी नगरपालिकालाई वित्तीय हस्तान्तरणसमेत गरेको देखिएकोले निजको हकमा गलत र झुट्टा व्यहोराको शर्त घोषणाको आधारमा संघीय सरकारबाट प्राप्त भएको रु.३,27,00,000।– विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरमा ऐ. दफा १७ ले व्यवस्था गरेबमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैद र जरिवाना गरी विगो रु.३,27,00,000।– (तीन करोड सत्ताइस लाख रुपैयाँ) ऐ. ऐनको दफा १७ बमोजिम निजबाट असुल उपर गर्न साथै निजले राष्ट्रिय योजना आयोगमा झुट्टा व्यहोराको शर्त घोषणा पेश गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १९(२) बमोजिमको कसुरमा सोही दफा १९(२) बमोजिम कैद र जरिवानासमेत हुन मागदावी लिइएको छ।

    तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्‍ (कम्पनी रजिष्ट्रारको कार्यालयको दर्ता नं.: 129243/071/072) का सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायले साविक प्रदेश नं. २ (हाल मधेस प्रदेश) को आ.व. 2०७६।७७ को नीति तथा कार्यक्रममा समवेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट समेत प्राप्त समपूरक अनुदान रकम सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि प्रचलित कानूनअनुसार लेखा उत्तरदायी अधिकृतले कार्यान्वयन गर्ने गरी अख्‍तियारी समेत प्रदान भईसकेको अवस्थामा निज रेवती प्रसाद पन्तले आफू अध्यक्ष रहेको गैरसरकारी संस्थाबाटै सो कार्यक्रम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिदिनको लागि तत्कालीन प्रदेश नं. २ (हाल मधेस प्रदेश) को आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रस्ताव पेश गरी प्रचलित कानून विपरीत लागत साझेदारी शुन्य रहेको सो झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान नेपालको नाममा सरकारी रकम प्राप्त हुने र सोही संस्थाबाटै कार्यक्रम कार्यान्वयन र खर्चको लेखाङ्‍कन गर्ने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुखसँग गैरसरकारी संस्था/कम्पनीको तर्फबाट त्रिपक्षीय समझदारी-पत्र हस्ताक्षर गरी त्रिपक्षीय समझदारी-पत्रअनुसार निकासा माग गरी रु.17,98,33,000।- निकासा लिएको साथै निज र अन्य प्रतिवादीहरु नवराज भण्डारी, निरज भण्डारी र देवेन्द्र रायले सरकारी रकम रु.17,98,33,000।– निकासा लिएपश्चात विभिन्न मितिमा सञ्चालक समितिको बैठकबाट कानून विपरितका निर्णय गरी बद्‍नियतपूर्वक सरकारी रकम संस्थाको उद्देश्य विपरीत र स्वीकृत कार्यक्रम विपरीत खर्च गरिसकेको साथै सम्पूर्ण रकम खर्च भईसक्दा समेत योजनाको उद्देश्य प्राप्तितर्फ सुन्य प्रगति भई कार्यक्रममा गरेको लगानी अलपत्र र खेर गई रु.17,98,33,000।– (सत्र करोड अन्ठानब्ने लाख तेत्तीस हजार रुपैयाँ) विगो बराबरको सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, दुरुपयोग गर्ने कसुरजन्य कार्यमा मतियार भै सोबापत लाभ र सुविधा लिए, दिलाएको समेत देखिँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २३ को स्पष्टीकरण खण्ड समेतको आधारमा निज प्रतिवादीहरु रेवती प्रसाद पन्त, नवराज भण्डारी, निरज भण्डारी र देवेन्द्र रायउपर भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिम कसुरको मतियारमा ऐ. ऐनको दफा 22 को प्रतिबद्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम सहप्रतिवादीहरुलाई हुने सरहकै कैद र जरिवाना हुन मागदावी लिइएको छ।

    साथै, रोक्का राखिएको तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्‍को नाममा रहेको जिल्ला सर्लाही, लालबन्दी नगरपालिका वडा नं. 1 स्थित ८ बिघा ९ कट्टा ६.३३ धुर जग्गा र सोही संस्थाको नाममा रहेको सवारी दर्ता नं. प्रदेश ३ – 01 023 च 4734 को चारपाङ्ग्रे सवारी साधन (Mahindra Scorpio S5 2WD) भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 4७ बमोजिम जफतको मागदाबी लिई सो प्रयोजनार्थ राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्‍ (कम्पनी रजिष्ट्रारको कार्यालयको दर्ता नं.: 129243/071/072) समेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

  • इण्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’

    इण्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’

    काठमाडौं । इण्डियन आइडल सिजन–१४ को पहिलो एपिसोडमा नेपाली गायिका मेनुका पौडेलले दिएको प्रस्तुतिको चर्चा जताततै छ ।

    मेनुकाले गाएको ‘तुम्हारे बिना हमरा कोनो नही’बोलकोे मर्मस्पर्शी प्रस्तुतिबाट गोल्डेन माइक समेत जितेकी छन्। जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले ‘स्ट्यान्डिङ ओभेसन’ समेत दिएका थिए भने जजहरूको मन मात्र जितिनन् ।

    शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनै जज भक्कानिए , ‘शब्दविहीन’ रहे । झापाको हल्दीबारीमा जन्मिएकी मेनुका दृष्टिबिहीन हुन्।

    २५ वर्षकी मेनुकाले विसं २०७५ मा भारतको रिपालिटी शोमा सारेगमपमा पनि भाग लिएकी थिइन्। उनी टप ११ बाट बाहिरिएकी थिइन्। नेपाल आइडलमा भाग लिएकी थिइन् ।

  • कीर्तिमानी आरोही तेन्जेन लामा हिमपहिरोमा बेपत्ता

    कीर्तिमानी आरोही तेन्जेन लामा हिमपहिरोमा बेपत्ता

    काठमाडौं । सिसापाङ्मा हिमालको हिमपहिरोमा परी अमेरिकी महिला आरोही र शेर्पा गाइडको मृत्यु भएको छ भने नेपालका विश्वकीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता भएका छन्।

    चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतमा पर्ने सिसापाङ्मा हिमालमा शनिबार दिउँसो ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरो तेन्जेनसँगै एक जना अमेरिकी आरोही पनि बेपत्ता भएकी छन्।

    सिसापाङ्मा हिमाल आरोहण गर्न तेन्जेन लामा र एलिट एक्स्पेडिसनका मिङ्मार शेर्पासँगै अमेरिकी दुई जना महिला आरोही अन्ना गुटु र जिना मारी गएका थिए।

    ‘घटनाबारे विस्तृत सूचना आएको छैन। तेन्जेन लामा विश्व कीर्तिमानी आरोही हुन्। उनले गत साउनमा ९२ दिनमै विश्वका अग्ला १४ शिखरको आरोहण गरेर कीर्तिमान बनाएका थिए। नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलासँगै बनाएको यो रेकर्ड यसअघि निर्मल पुर्जा उर्फ ‘निम्स दाइ’ को नाममा थियो। पुर्जाले ६ महिना ६ दिन लगाएर बनाएको उक्त रेकर्ड तेन्जेनले आधा समयमै भंग गरिदिएका थिए।

  • एसियाडको समापनमा नेपालको झण्डा एरिकाले बोक्ने

    एसियाडको समापनमा नेपालको झण्डा एरिकाले बोक्ने

    काठमाडौं । नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छन् । हान्झाउमा जारी एसियाडको समापन समारोह आइतबार हुँदैछ । त्यस समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोक्नेछिन् ।

    नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई झण्डा बोक्न दिने निर्णय गरेको हो । एसियाडको १५औं दिन शनिबार कुमुते ६८ केजीमाथी तौल समूहमा रजत जितेपछि एरिकाले यो अवसर पाएकी हुन् । एरिकाले एसियाडअघि इन्डोनेसियामा भएको दशौं वर्ल्ड शितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

    करातेमा नेपालबाट ८ खेलाडी सहभागी भएकोमा एरिकाले मात्र पदक जितेकी हुन् । एसियाड अन्तिम दिन प्रतिस्पर्धा गरेकी करातेकी सविना श्रेष्ठ कुमुते ५० केजीमुनि तौल समूहमा अन्तिम ३२ मा चीनकी रानरान लिसँग ३-१ ले पराजित भइन् । एरिकाको रजत एसियाडमा नेपालले व्यक्तिगततर्फ जितेको २५ वर्षपछि पहिलो रजत हो । समग्रमा यो तेस्रो रजत हो । यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविताराज भण्डारीले रजत पदक जितेकी थिइन् । यस्तै २०१८ मा प्याराग्लाइडिङ टिमले इन्डोनेसियामा रजत जितेको थियो ।

    नेपालले १९औं एसियाडमा २९ खेलमा अहिलेसम्मकै सबैभन्दा धेरै २५३ खेलाडी सहभागी गराएको थियो । जसमा नेपालले एक रजत र एक कांस्य जित्यो । एरिकाले रजत जित्नुअघि नेपालको मिहला कबड्डी टिमले कांस्य पदक जितेका थिए । हान्झाउ एसियाडको उद्घाटन समारोहमा भने तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्तीमगरले नेपालको झण्डा बोकेका थिए ।

  • इजरायलमा हिंसात्मक तनाव, नेपालीहरु समेत परेको विवरण सार्वजनिक

    इजरायलमा हिंसात्मक तनाव, नेपालीहरु समेत परेको विवरण सार्वजनिक

    काठमाडौं । प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरायलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ। बीबीसीका अनुसार शनिवार बिहानैदेखि इजरायलले र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरायलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।

    त्यस क्रममा हालसम्म ४० जना इजरायली र केही प्यालेस्टिनीहरू मारिएको खबर आएको छ। इजरायलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बीबीसीलाई बताएको छ।

    नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले “नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको” भन्ने विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताए। उनले भने, “हामी त्यो विवरण सही हो कि होइन र नेपालीको अवस्था के कस्तो छ भनेर बुझिरहेका छौँ। स्थिति अझै सामान्य नभएकाले यकिन कुराहरू आइसकेको छैन।”

    कतिपय सञ्चारमाध्यमहरूले नौ जना नेपाली घाइते भएका र १७ जना नेपालीलाई हमासले बन्धक बनाएको पनि लेखेका छन्। त्यसबारे बुझ्दा नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तै खबर आएको तर “स्रोतहरू सीमित भएकाले” पुष्टि गर्न नसकेको जानकारी दिएको छ। इजरायलमा नेपालीहरू घाइते भएको र बन्धक बनाइएको भन्ने विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका बीबीसीले थाहा पाएको छ।

    उक्त बैठकपछि मन्त्रालयले आधिकारिक विवरण र जानकारी सार्वजिन गर्ने अपेक्षा गरिएको छ। विभिन्न विवरणमा जनाइए अनुसार हमलामा पर्ने नेपालीहरू नेपाल र इजरायलबीच भएको सरकार(सरकारबीच भएको सम्झौता अनुसार कृषि क्षेत्रमा काम गर्न गएका नेपालीहरू हुन्। त्यहाँ अहिले करिब दुई हजार नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बताइएको छ। नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा पनि कृषि क्षेत्रमा नेपाली नागरिकहरू जाने गरेका छन्।


    नेपाली कामदारहरू कार्यरत रहेको गाजा क्षेत्रको कृषि फर्ममा रकेट प्रहार हुँदा उनीहरू घाइते भएको बताइएको छ। उक्त फर्ममा कुल १४ जना नेपाली कार्यरत रहेकोमा नौ जना घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको खबर आएको छ। त्यस क्षेत्रमा रहेका नेपालीहरूलाई अहिले सुरक्षित स्थलमा राखिएको र इजरेली सेनाले उनीहरूलाई मोबाइलमा कुरा नगर्न निर्देशन दिएकाले पनि सम्पर्क कठिन भएको अधिकारीहरूले बताएका छन्।

  • एसियाडमा नेपालले जित्यो दोस्रो पदक, करातेमा रजत प्राप्त

    एसियाडमा नेपालले जित्यो दोस्रो पदक, करातेमा रजत प्राप्त

    काठमाडौं । जारी एसियाडमा नेपालले दोस्रो पदक जित्न सफल भएको छ । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने ऐतिहासिक रेकर्ड बनाउनबाट चुक्दै रजतमा सिमित बनेकी छिन् । शनिबार १९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी तौल समूहमा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भइन् ।


    एरिका सोफ्यासँग ३–० ले पराजित भइन् । सेमिफाइनलमा एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८–४ ले हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् । एरिकाले क्वार्टरफाइनलमा भने जापानी खेलाडी युजुकी सावाएलाई हराएकी थिइन् । नेपाले १९औं एसियाली खेलकुदमा दोस्रो पदक जितेको छ । यसअघि कबड्डीमा नेपाली महिला टोलीले कांस्य पदक जितिसकेको छ ।

    इन्डोनेसियामा विश्व सितेरियो च्याम्पियनसिपमा स्वर्ण जितेर एरिका १९औं एसियाली खेलकुदका लागि चीन पुगेकी थिइन् । यसअघि सन् १९९८ मा थाइल्यान्डमा भएको १३औं एसियाली खेलकुदमा सविता राजभण्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन् । त्यस्तै २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा नेपाली प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो । समग्रमा यो नेपालको तेस्रो रजत पदक बनेको छ ।

  • विश्वकप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई हरायो

    विश्वकप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई हरायो

    काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । धर्मशालामा जितका लागि पाएको १५७ रनको लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । बंगलादेशलाई जिताउन नजमुल हुसेनले नट आउट ५९ रन बनाए भने मेहदी हसन ५७ रनमा आउट भए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको थियो । मध्यक्रम र पुछारका ब्याटर बंगलादेशी बलरसामु टिक्न नसक्दा अफगानिस्तानले ४४ रन जोड्दा ८ विकेट गुमाएयो ।

    अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर इब्राहिम जरदान र अजमातुल्लाह ओमाराजी समान २२ तथा रहमत शाह र कप्तान हसमतुल्लाह शहिदी समान १८ रनमा आउट भए । बंगलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीनतीन विकेट लिएका थिए ।

  • सल्यानमा बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    सल्यानमा बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

    काठमाडौं । सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका ३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

    दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६ की ४० वर्षीया अनिता बोहरा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानलका डीएसपी नविन कार्कीले जानकारी दिए ।

    कार्कीका अनुसार दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको छन् र घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।

  • प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै

    प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ ।

    प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको भ्रमण गर्ने छन् । ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

    प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्ने छन् । प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ । बेलायत नेपालको पुरानो मित्रराष्ट्र हो । आजभन्दा ठिक एक सय वर्षअघि अर्थात् सन् १९२३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर जबरा र बेलायत सरकार ९तत्कालीन ब्रिटिस–इण्डीया० बीच भएको सन्धीले नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र बराबरीको मान्यता भएको समकक्षी मुलुकको मान्यता दिएको थियो ।

    नेपाली सेना र बेलायती सेनाबीच पुरानो र न्यानो मित्रवत् सम्वन्ध रहिआएको छ । बेलायती सेनामा नेपालीलाई गोर्खाली सेनाकारुपमा समावेश गर्दै आएको छ । त्यो सङ्ख्या अहिले पनि करिब चार हजारको हाराहारीमा छ । बेलायती सेनामा गोर्खा समावेश कार्यलाई दुईपक्षीय सम्बन्धको अनुपम र बेग्लै आयमकारुपमा हेरिने गरिएको छ ।

    बेलायत सरकारले गोर्खाली सैनिकले पु¥याएको योगदानको उच्च कदर गर्दै त्यहाँको रक्षा मन्त्रालय भवन परिसरमा गोर्खाली सैनिकको सालिक स्थापित गरेको छ ।

    नेपाली सेनाका कैयौँ अधिकृत बेलायतमा तथा त्यहाँका सेनाका अधिकृत पनि तालिम प्रशिक्षणका लागि नेपाल आउने अभ्यास छ । बेलायतमा पाँच दर्जनभन्दा बढी विभिन्न शैक्षिक कार्यक्रम, तालिम, अभ्यास, सेमिनारलगायत उच्चस्तरीय भ्रमणमा नेपाली सेना सहभागी हुँदै आएको छ ।

    नेपाली सेनाका अधिकृत हाल एनडिसी, डिएचइटी, स्टाफ कलेज, एयर ट्रान्सपोर्ट म्यानेजमेन्ट, आरएमएस, पिसीविसी, एक्सर साइज क्याम्ब्रीयन पट्रोलमा आठसहित अधिकृतसहित १६ जना तालिम प्रशिक्षणलगायतमा सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    त्यसैगरी, हालसम्म बेलायती सेना शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र हाइअल्टिच्यूट एण्ड माउन्टेन वेयलफेयरमा तालिममा सहभागी हुँदै आएको छ । बेलायतको वेल्सको ब्रेकनमा सन् २०१९ ‘एक्सरसाइज क्याम्ब्रियन गस्तीमा नेपाली सेनाले स्वर्ण जित्न सफल भएको थियो । उक्त गस्तीमा सैनिक नेतृत्व, समूह कार्य, शारीरिक तन्दुरुस्ती र लक्ष्य हासिल हासिलका आधारमा मूल्यांकन गरिन्छ । रासस

  • सिक्किममा बाढीका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

    सिक्किममा बाढीका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

    काठमाडौं । उत्तरी सिक्किमको ल्होनाक हिमताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । १८ सैनिकसहित ७८ जना अझै बेपत्ता छन् । बिहीबार साँझसम्म १८ जनाको मृत्यु राज्य सरकारले पुष्टि गरेको थियो । प्रहरी, सेना सहितको उद्धार टोलीले थप २० शव फेला पारेको हो । धेरैजसो शव बंगलादेश सीमा क्षेत्रमा फेला परेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ ।

    बाढीले बगाएर पश्चिम बंगालको तल्लो भेट बंगलादेशको सीमा नजिक पुर्‍याएका शवहरु पनि उद्धार गरिएको छ । बेपत्तामध्ये ४ जना सैनिकको शव बंगलादेश सीमा नजिक फेला परेको थियो । बाढीमा १८ भारतीय सैनिक अझै बेपत्ता छन् । भारतीय सैनिकको गोताखोर टोलीले बेपत्ता सैनिकको खोजी जारी राखेको छ । हाल वर्षा रोकिएको र पानीको सतह कम हुँदै गएकाले खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ ।

  • नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञाको समय घटाइयो

    नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञाको समय घटाइयो

    काठमाडौं । नेपालगन्जमा मङ्गलवारदेखि जारी कर्फ्यु र निषेधाज्ञाको समय घटाइएको छ । बिहीबार र शुक्रवार राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएकोमा शनिवार राती ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएका छन् । नेपालगन्जमा दिउसो निषेधाज्ञा र रातीको समयमा कर्फ्यु लाग्दै आएको छ । शनिवार बिहान ९ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । यसअघि बिहान ८ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञा जारी हुँदै आएकोमा शनिवार एक घण्टा घटाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन नपाउने गरी निषेधज्ञाको आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अधिकारी आचार्यले बताए ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले समग्र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न र मानव अधिकारको सम्मान गर्न सबैमा अनुरोध गर्दै सार्वजनिक स्थलमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू, सामाजिक सञ्जालमा कुनै व्यक्ति सङ्घ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने वा धार्मिक विद्वेष फैलाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न हार्दिक आव्हान गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

  • विश्वकप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात

    विश्वकप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात

    काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सुखद सुरूवात गरेको छ। हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार राति सकिएको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सविरूद्ध ८१ रनको जित निकालेको हो।
    पाकिस्तानले दिएको २८७ रनको चुनौती पछ्याएको नेदरल्याण्ड्सले ४१ ओभरमा अलआउट हुँदं २०५ रनमात्रै बनाउन सक्यो। नेदरल्याण्ड्सका लागि बास दे लिड्सले सर्वाधिक ६८ रन बनाए। उनले ६८ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

    त्यस्तै ओपनर विक्रमजित सिंहले ६७ बलमा ४ चौका र १ छक्काको मद्धतले ५२ रन बनाए। लोगान भ्यान बीक् र कोलिन एकलम्यानले क्रमशः २८ र १७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ पाकिस्तानका हरिश रौफले तीन विकेट लिए। हसन अलीले २ विकेट लिँदा शाहिन अफ्रिदी, इतिफिखर अहमद, मोहम्मद नवाज र शादव खानले १–१ विकेट लिए।

    टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रन बनाएको थियो। पाकिस्तानले खराब सुरूवात गरेको खेलमा ओपनरद्वय फखर जमन र इमाम उल हक क्रमश १२ र १५ रन बनाएर आउट भए। कप्तान बाबर आजम ५ रनमै आउट भएपछि मोहम्मद रिजवान र साउद सकिलले अर्धशतक प्रहार गरी पाकिस्तानलाई खेलमा फर्काए।

    उनीहरू दुबैले ६८र६८ रन बनाए। रिजवानले ७५ बलमा ८ चौका प्रहार गरे भने ५२ बल खेलेका शकिलले ९ चौका र एक छक्का हाने। खेलमा मोहम्मद नवाजले ३९ रन, शादब खानले ३२ रन, हरिश रौफले १६ रन र शाहिन अफ्रिदीले १३ रन बनाउँदा इफ्तिखर अहमद ९ रनमै आउट भएका थिए। बलिङमा नेदरल्याण्ड्सका बास दे लिड्सले चार विकेट लिए। कोलिन एकरम्यानले २ विकेट र आर्यन दत्, लोगान भ्यान बीक्, पउल भ्यान मिकरेनले १र१ विकेट लिए। एकदिवसीय विश्वकपमा आज नेदरल्याण्ड्स र अफगानिस्तान र साउथ अफ्रिका र श्रीलंका खेल्दैछ।

  • विश्वकप छनोट : नेपाल र लाओसबीच आगामी बिहीबार प्रतिस्पर्धा

    विश्वकप छनोट : नेपाल र लाओसबीच आगामी बिहीबार प्रतिस्पर्धा

    काठमाडौं । विश्वकप फुटबल २०२६ छनोटअन्तर्गत नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ । एसिया क्षेत्रतर्फको पहिलो चरणको छनौट खेलमा नेपालले लाओससँग आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको हो । यसअघि चार चोटी आमनेसामने भएको खेलमा नेपालले दुई खेल जितेको थियो भने दुई खेल बराबारी भएको थियो । लाओस फिफा वरियताको १८६ औं स्थानमा छ भने नेपाल १७५ औं स्थानमा छ । नेपालले लाओसविरूद्ध होम र अवे गरी दुईवटा खेल खेल्ने छ । दोस्रो खेल अक्टोबर १७ मा लाओसमा हुने छ ।

    लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । दोस्रो चरणमा नेपालले युएई, बहराइन र यमन र श्रीलंकाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्ने छ । लाओसविरूद्धको खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अर्ल्बटो एनेसको मुख्य प्रशिक्षणमा अहिले २५ सदस्यीय टोली बन्द प्रशिक्षणमा छन् । खेलको लागि लाओस ९ अक्टोबरमा नेपाल आइपुग्ने छन् ।

    लाओसका प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको बताएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले खेलको सम्पूर्ण तयारी अगाडि बढाइएको जानकारी दिएको छ । खेल हेर्नका लागि साधारण पारापिटतर्फ तीन सय र भिआइपी पारापिटतर्फ पाँच सय रुपियाँ टिकट दर तोकिएको छ ।

  • नेपाल र रोमानीयाबीच श्रम सम्झौता

    नेपाल र रोमानीयाबीच श्रम सम्झौता

    काठमाडौं । युरोपियन देश रोमानिया र नेपालबीच श्रम सम्झौता भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र रोमानियाका श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कु बीच आज शुक्रबार द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको हो । नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

    सम्झौता अनुसार नेपालमा रोमानियाका लागि राजदूतावास स्थापना गर्ने, आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधी तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानियामा नेपाली श्रमिकहरुका लागि सम्भावित सीपयुक्त श्रम बजारको पहिचान गर्नका साथै महिला श्रमिकहरुलाई समेत लक्षित गरि सुरक्षित वैदेशिक रोजगारलाई संयोजन गर्ने जस्ता कार्यलाई प्राथमिकतामा राखिने छ ।

    नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको सहभागिता थियो । सम्झौतापछि मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरु र द्विपक्षीय श्रम समझादारीका आवश्यकता र प्रभावकाबारेमा प्रस्तुत गरेका थिए ।

    रोमानिया पक्षबाट नेपाली कामदारको हक,हित सुरक्षा कायम गर्ने प्रतिवद्वता व्यक्त भएको थियो । उलेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शी रुपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार ल्याने प्रकृयामा समन्वय र सहकार्य गर्ने रोमानियाका प्रतिनिधिले बताएका थिए । दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीप जस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति भएको छ ।

    रोमानियामा कार्यरत रहेका कुनै पनि आप्रवासी कामदारहरुले रोमानियाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी रोमानियाले गराएको छ । दुबै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने भन्दै समझदारी पक्षमा हस्ताक्षर भएको छ । पछिल्लो समय नेपाली युवाहरुको श्रम गन्तव्यको रुपमा रोमानियामा आकर्षण हुँदै आएको छ ।

  • विदेशबाट आउँदा यी सामाग्री ल्याउन नपाइने

    विदेशबाट आउँदा यी सामाग्री ल्याउन नपाइने

    काठमाडौं । वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने गर्छन्। स्वदेश फर्किने क्रममा अधिकांश खाली फर्किन चाहँदैनन्।

    आफ्ना परिवार, आफन्त तथा साथीभाइलगायतका लागि भन्दै अधिकांशले विभिन्न सामान ल्याएर आउने गर्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने नेपाली नागरिकलाई विभिन्न सामान नल्याउन अनुरोध गर्दै सूचना जारी गरेको छ।

    कार्यालयले विदेशबाट आउने यात्रु तथा विदेशमा बस्ने नेपाली नागरिकले इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर, पानी तान्ने मेसिनलगायतका सामान नल्याउन अनुरोध गरेको हो।

    यसअघि यात्रु तथा विदेशमा बस्ने नेपाली नागरिकहरूले आफूसँगै यस्ता सामान तथा कार्गोमार्फत् परिवारलाई पठाउने गरेको भन्दै अब यस्ता सामानहरू नल्याउनरनपठाउन अनुरोध गरेको हो।

    यस्ता सामानहरू ‘एक्सरे मेसिन’मा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था देखिएको भन्दै कार्यालयले सूचनामार्फत यस्तो अनुरोध गरेको हो।

  • बझाङ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार दिने

    बझाङ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार दिने

    काठमाडौं । बझाङ भूकम्पपीडितलाई अस्थायी आवास (घर) बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन्।

    प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्‍याएका घरहरूको अवलोकन गरेका थिए।

    यसअघि बस्दै आएको घर भत्किएर घरविहीन भएका परिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराइने प्रधानमन्त्रीले उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरुप परिवार संख्याका आधारमा, मापदण्ड बमोजिम १५ देखि २० हजार रुपैयाँ तत्काल राहतस्वरुप व्यवस्था गरिने पनि बताए।

    प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि आवश्यक पर्ने राहत सामग्री (त्रिपाल, कम्बल, लत्ताकपडा, खाद्यान्न, औषधि) तथा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गरिएको जानकारी दिए। थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा आवश्यक व्यवस्था गरिने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।

    प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण घाइते भएकाहरुको नि:शुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए। साथै, भूकम्पका कारण पहिरो जाँदा ज्यान गएमाकाका परिवारलाई २ लाख रुपैयाँ प्रदान गरिने पनि प्रधानमन्त्रीले जानकारी दिए।

    प्रधानमन्त्री प्रचण्डले बझाङ भूकम्पका कारण भत्किएका, चिरा परेका र आंशिक क्षति भएका घर तथा संरचनाको दीर्धकालीन पुनर्निर्माण र पुनर्स्थापना गरिने बताए। त्यसका लागि स्थानीय तह, जिल्ला र प्रदेशबाट प्राप्त क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाइ यसअघि (२०७२ सालको) भूकम्पले क्षतिग्रस्त बनेका संरचनाको पुनर्निर्माण गरिए जस्तै स्थानीय सामग्रीहरुको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ छ।

  • एमाले सांसदको प्रश्न-‘जवाफ देउ सरकार जनताले यसपालिको दशैं कसरी टार्छन् ?

    एमाले सांसदको प्रश्न-‘जवाफ देउ सरकार जनताले यसपालिको दशैं कसरी टार्छन् ?

    काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दशैं मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमा सरकारलाई प्रश्न गरेका हुन् । उनले चाडपर्व नजिएसँगै जनताले दशैं मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महँगी नियन्त्रण गर्न माग गरे ।

    सांसद पन्तले बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोको २५० रुपैयाँ पुगेको बताए । उनले सरकारले दसैँ पेस्कीका रूपमा जनतालाई महँगी दिएको भन्दै कवितामार्फत व्यंग्य गरे ।
    उनले भनेका छन् –
    खल्तीमा तलब हालेर हिँड्यो बजार
    चामलको बोराले नाघ्यो तीन हजार
    रहर दाल किलोको २५०
    बजार भाउ सुन्दा गुम्छ होस हवास
    तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
    गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ
    दशैं पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयो
    सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो
    आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ
    सरकार गरिबको दशैं यसपाली कसरी टर्छ ?

  • महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

    महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

    काठमाडौं । नर्वेली नोबेल समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ । इरानकी महिला उत्पीडन, मानवअधिकार र स्वतन्त्रताको क्षेत्रमा कार्यरत मोहम्मदीलाई नोबेल शान्ति पुरस्कारले सम्मान गर्ने घोषणा गरेको हो ।

    सन् १९७२ अप्रिल २१ मा जन्मिएकी इरानी मानवअधिकारवादी कार्यकर्ता मोहम्मदी ‘डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टर’ (डीएचआरसी)को उपाध्यक्ष हुन् ।

    सन् २०१६ मा इरानको तेहरानस्थित एक अदालतले उनलाई १६ वर्ष कैद सजाय सुनाएको थियो । मृत्युदण्डको सजाय हटाइनु पर्ने माग गर्दै मानवअधिकार आन्दोलनलाई अगाडि बढाएपछि उनलाई उक्त कैद सजाय सुनाइएको थियो ।

  • घर जग्गा धितोमा अब ५० प्रतिशत कर्जा लिन पाइने

    घर जग्गा धितोमा अब ५० प्रतिशत कर्जा लिन पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । बिहीबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले अब उपत्यकाभित्र तथा बाहिर धितोसँग ऋणको अनुपात (एलटीभी रेसियो) समान ५० प्रतिशत कायम गरेको हो ।

    राष्ट्र बैंकले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा व्यक्तिगत आवधिक कर्जालगायत कर्जा घररजग्गा धितो राखी प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा यो व्यवस्था लागू हुने व्यवस्था गरेको छ । व्यक्तिगत घरकर्जामा भने ७० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा छ । नयाँ व्यवस्थाले घरजग्गा व्यवसायमा उत्साह आउने अपेक्षा गरिएको छ ।

  • पोर्चुगल पुगेर राजेश हमालले नेपाली समुदायसँग भने : विदेशी नागरिकता लिए पनि पहिचान नबिर्सनुहोुस

    पोर्चुगल पुगेर राजेश हमालले नेपाली समुदायसँग भने : विदेशी नागरिकता लिए पनि पहिचान नबिर्सनुहोुस

    काठमाडौं । महानायक राजेश हमालले विदेशी नागरिकता एवम् पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न अनुरोध गरेका छन् । बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् । जहाँ रहे पनि, जहाँको नागरिकता र पासपोर्ट हात पारेता पनि आफ्नो पहिचान आफ्नै हुने बताउँदै उनले भने, ‘पहिचान भन्ने कुरा तपाईंले कसैको देशको नागरिकता लिएर न त्याग्न मिल्छ, न त कसैले तपाईंको पहिचानलाई खोस्न सक्छ । त्यसकारण आफ्नो पहिचान जोगाइराख्नु पर्दछ ।’

    पहिलो पुस्ताका नेपालीहरुमा नेपालप्रतिको आत्मियता असाध्यै धेरै रहेको बताउँदै महानायक हमालले दोस्रो पुस्ताका नेपालीलाई आफ्नो पहिचान सिकाउन भूमिका खेल्नुपर्ने बताए । ‘आफ्नो कला, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ । धर्म, संस्कृति, रितिरिवाजलाई तपाईंहरूले नै दोस्रो पुस्तालाई पनि सिकाउनु पर्छ । त्यो जिम्मेवारी पहिलो पुस्ताले लिनुपर्दछ,’ हमालले थपे ।

    अरू देशको तुलनामा नेपालबाट विदेशिने क्रम हालसालै बढेको उनले बताए । ‘ल सबै नेपाली दाजुभाइ विदेशिनु भो भन्ने कुराहरू गर्छौं, तर हामी विदेशिन थालेको धेरै भएको छैन,’ उनले भने, ‘अरू राष्ट्रको हेर्नु भो भने २–४ पुस्ता भइसकेको छ । तर विदेशमा हामी पहिलो पुस्ता भएका छौं । बच्चाहरु यहाँ हुर्किंदै छन् । त्यसैले अन्यको तुलनामा हाम्रो पछि नै हो ।’

    तर २०–२५ वर्षको छोटो समयमा पनि डायस्फोरामा नेपालीहरुले ठूलो सफलता हासिल गरेको हमालले प्रष्ट पारे । ‘विदेशमा तपाईं कोही गीत संगीत, कलामा अब्बल हुनुहुन्छ । कोही राजनीतिमा लाग्नु भएको छ । कोही रोजगारी गरेर आफूलाई राम्रोसँग स्थापित गर्नु भएको छ । यो उपलब्धि देख्दा एकदमै खुशी लाग्छ,’ हमालले थपे ।

    उनले युवाहरुलाई समय खेर नफाल्न र कामलाई सम्मान गर्दै मिहिनेत गर्न पनि अनुरोध गरेका छन् । जुनसुकै राष्ट्रमा बसे पनि त्यहाँको भाषा, संस्कृति र रहनसहनलाई नियाल्ने प्रयास गर्न समेत उनले अनुरोध गरेका छन् । महानायक हमालले पोर्चुगल अघि फ्रान्स र बेल्जियमका नेपालीहरुमाझ पनि अन्तर्क्रिया गरेका थिए । हमाल विदेशमा रहेका नेपालीहरुको संघर्ष र सफलताको कथालाई समेटेर टेलिभिजन कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् । सोही सिलसिलामा नै उनले युरोपको समेत भम्रण गरेका हुन् ।

  • प्रधानमन्त्री आज भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

    प्रधानमन्त्री आज भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जाने भएका छन् । उनी बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने भएका हुन् । उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम छन् । प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

    बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

    भूकम्पले घरलगायतका भौतिक संरचनामा क्षति पुगेको छ । घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थान र सामुदायिक घरहरुमा बसिरहेका छन् । घर बाँकी भएकाहरु भने विस्तारै घरमा फर्किएर दैनिक कामकाजमा संलग्न हुन थालेका छन् । भूकम्प प्रभावितहरुका लागि राहत संकलन जारी छ ।

    प्रदेश सरकार र विभिन्न संघसंस्थाले राहत उपलब्ध गराइसकेका छन् भने केन्द्र सरकारको राहत आज सडकमार्ग हुँदै जिल्ला आइपुग्न लागेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । संकलित राहतलाई एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गरेको छ ।

    बिहीबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित नागरिकलाई राहत र पुनर्स्थापनाका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया छिट्टै कार्यान्वयन गर्ने बताएका थिए ।

  • जारी एसियाडमा नेपालले जित्यो पहिलो पदक, कबड्डीमा कास्य

    जारी एसियाडमा नेपालले जित्यो पहिलो पदक, कबड्डीमा कास्य

    काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत नेपालले पहिलो पदक प्राप्त गरेको छ । महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१–१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको हो ।

    कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ । यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ र अब स्वर्णका लागि खेल्ने छ ।

  • उत्तेजक भाषण दिँदा पक्राउ परेका श्रीनिवास जरिवाना तिरेर शर्तसहित रिहा

    उत्तेजक भाषण दिँदा पक्राउ परेका श्रीनिवास जरिवाना तिरेर शर्तसहित रिहा

    काठमाडौं । उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास गल्ती स्वीकार गरी सर्तसहित रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय जनकपुरले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो ।

    श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेका छन् । असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो ।

    मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो । बुधबार जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूर अभियोग गर्दा भएपछि जनकपुरधाम ल्याइएको थियो ।

    जिल्ला प्रशासन कार्यालयमा वयानका क्रममा श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको स्वीकार गरेका थिए । ’म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’, श्रीनिवासको वयान उधृत गर्दै धनुषाका डीएसपी रञ्जल अवाले भने ।

  • सेयर कर्जा धितोको सीमा बढाइयो

    सेयर कर्जा धितोको सीमा बढाइयो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सक्नेछन् ।

    यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ। असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १।२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा बिहीबार संशोधन गर्दै राष्ट्र बैंकले यी व्यवस्था गरेको हो ।

  • सर्वोच्चले सरकारसँग माग्यो ‘रिगल’लाई कैद मिनाहा दिनुको कारण

    सर्वोच्चले सरकारसँग माग्यो ‘रिगल’लाई कैद मिनाहा दिनुको कारण

    काठमाडौं । सर्वोच्च अदालतले चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

    न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्।

    आदेशमा रिगललाई आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत् र अन्य प्रत्यर्थीहरुको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४६ (१) असोज २४ गते साँझ ५ बजेभित्र जवाफ पेस गर्न भनिएको छ।

    चेतनको २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी हत्या भएको थियो। चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

    संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिँदै रिहा गरेको थियो। रिगल भनिने योग ढकाल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन्।

  • एक वर्षमा दुई पटक पार्टी बदल्दै पूर्वमन्त्री कुशवाह एमालेमा प्रवेश

    एक वर्षमा दुई पटक पार्टी बदल्दै पूर्वमन्त्री कुशवाह एमालेमा प्रवेश

    काठमाडौं । पूर्वमन्त्री शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा–२ मा उम्मेदवार बनेका कुशवाहलाई बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गरेका हुन् । यसअघि उनी जनमत पार्टी छोडेर स्वतन्त्र रहँदै आएका थिए ।

    कुशवाहाले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बारा-२ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेर १३ हजार ४६८ मत ल्याएका थिए। त्यहाँबाट निर्वाचित रामसहायप्रसाद यादव राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा माओवादी केन्द्रले जसपाका उपेन्द्र यादवलाई समर्थन गर्‍यो।

    त्यसपछि उनी माओवादी परित्याग गरी सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका थिए। उपनिर्वाचनमा जनमतबाट बारा-२ को उम्मेदवार बनेका कुशवाहा जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए। कुशवाहालाई गत साउनमा नेतृत्वविरूद्ध गुटबन्दी गरेको भन्दै जनमतले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

    कुशवाह २०६४ सालमा बारा–२ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए भने माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि रहेका थिए ।

  • सांसद गौतमले लिइन् ‘पोलिटिसियन अफ द इयर’

    सांसद गौतमले लिइन् ‘पोलिटिसियन अफ द इयर’

    काठमाडौं । बेलफास्ट बेलायतमा जारी द वन योङ वर्ल्ड समिटमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड ग्रहण गरेकी छन् । गौतमले रोबर्ट एफ. केन्नेडी ह्युमन राइट्सकी अध्यक्ष केरी केन्नेडीको हातबाट अवार्ड ग्रहण गरेकी हुन् ।

    २७ वर्षीया सोबितालाई नेपाली इतिहासमा सबैभन्दा कान्छी सांसद रूपमा अवार्ड पाएकी हुन् । चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायत सर्टलिस्टमा समेटिएकोमा ५ जनाले यो अवार्ड पाएका हुन् ।

    प्रतिस्पर्धीहरूमध्येबाट गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका छन् ।

  • कैद माफीप्रति गगन थापाको असन्तुष्टि, मागे सरकारसँग जवाफ

    कैद माफीप्रति गगन थापाको असन्तुष्टि, मागे सरकारसँग जवाफ

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कानुनका छिद्रहरू प्रयोग गरेर गम्भीर अपराधमा जोडिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने गरिएको भन्दै विरोध गरेका छन्। कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन्।

    ‘संविधानसभाले बनाएको संविधान, संविधानले बनाएको कानुन र ती कानुन अहिले अपव्याख्या भएकोले हाम्रो काँधमा कानुन बनाउने जिम्मेवारी आएको छ,’ उनले भने, ‘आममाफीको निर्णय गलत छ। सदनदेखि सडकसम्म विरोध भएको छ। विषय अदालतमा पनि पुगेको छ। सरकारले यसको कारण सदनलाई जानकारी गराउनुपर्छ।’

    चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको दिनमा आममाफी दिएपछि विरोध भइरहेको छ। चेतनकी श्रीमती भारतीले रिगललाई पुन: जेल पठाउन माग गर्दै माइतीघर मण्डलमा अनशन जारी राखेकी छन्।