Category: समाचार

  • संयुक्त राष्ट्रसघंका महासचिव गुटर्रेस नेपाल भ्रमणमा आउँदै

    संयुक्त राष्ट्रसघंका महासचिव गुटर्रेस नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा गएका बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।


    प्रधानमन्त्री ‘प्रचण्ड’ ले मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले नेपाल भ्रमण गर्न लागेको जानकारी गराएका हुन् । उनी असोज २६ मा नेपाल आउने तयारी छ । नेपालको शान्ति प्रव्रिmयालगायत अन्य विविध विषयमा महत्वपूर्ण छलफल हुने समेत बताइएको छ । असोज २६ गतेदेखि तीन दिन महासचिव गुटर्रेस नेपालमा रहने भएका छन् ।

  • अमेरिकामा ७५ हजार भन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा उत्रिए

    अमेरिकामा ७५ हजार भन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा उत्रिए

    काठमाडौं । अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडतालमा उत्रिएका छन् । कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् । अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा सुरू भएको र वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुने युनियनले जनाएको छ ।

    स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्सले’ ले गएको महिना एक विज्ञप्ति निकालेर यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो । युनियनले बोर्डमा तलब वृद्धि र श्रमको उप–सम्झौता तथा अन्य मागहरू सम्बोधन गर्न माग राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • आजबाट मौसममा हुनेछ सुधार, लगातार झरी नपर्ने

    आजबाट मौसममा हुनेछ सुधार, लगातार झरी नपर्ने

    काठमाडौं । आजबाट मौसममा सुधार हुने भएको छ । जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अब लगातार झरी पर्नेछैन । मनसुन बहिर्गमनमा ढिलाइ भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको छ । नेपालमा अहिले भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। भारतको सिक्किमलगायत राज्यमा यसैका कारण भारी वर्षा भइरहेको छ। त्यसकै प्रभावले भारी वर्षादेखि लगातार झरी परिरहेको थियो।

    आजबाट नेपालमा उक्त प्रणालीको प्रभाव कमजोर भई मौसममा क्रमिक सुधार आउने बताइएको छ । काठमाडौं उपत्यकामा रातिदेखि नै मौसममा सुधार आएको छ । उपत्यकामा दिउँसो ‍छिटफुट वर्षाको सम्भावना छ तर हिजो अस्तिजस्तो ठूलो पानी नपर्ने महाशाखाको अनुमान छ । अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाको प्रक्षेपण छ।

    त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • आज जितिया पर्व मनाइंदै

    आज जितिया पर्व मनाइंदै

    काठमाडौं । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।


    व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

    त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए । यस पर्वमा यहाँका व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

    व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ(आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ । प्रत्येक महिलाले अनिवार्यरुपमा आज कोदो र माछा खाने गर्छन् भने प्रत्येक घरमा आजका दिन कोदोको रोटी र माछा पाक्छ ।

    त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ । जलेश्वर नगरपालिका–८ पण्डित कालिकान्त झा सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको बताउँछन् ।

    पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैंले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

    राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।
    जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन । तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ ।

  • दमाम उडेको नेवानिको जहाज किन पाकिस्तानमाथिबाट नेपाल फिर्ता आयो ?

    दमाम उडेको नेवानिको जहाज किन पाकिस्तानमाथिबाट नेपाल फिर्ता आयो ?

    काठमाडौं । काठमाडौंबाट साउदीको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज पाकिस्तानको आकासबाटै काठमाडौं फिर्ता भएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज त्यसको एक घण्टापछि काठमाडौं अवतरण गरेको हो ।

    सो जहाजमा रहेको अर्को जहाज कति नजिकमा छ भन्ने संकेत दिने प्रणालीमा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्काउनु परेको नेवानि स्रोतले जनाएको छ । पछिल्लो समय नेपाली आकासमा उड्ने जहाजहरुमा निरन्तर समस्या आइरहँदा नेपालको हवाई सुरक्षामाथि नै प्रश्न उठिरेको छ ।

  • विश्व बैंकबाट १० करोड ३८ लाख अमेरिकी डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय

    विश्व बैंकबाट १० करोड ३८ लाख अमेरिकी डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १० करोड ३८ लाख ४० हजार अमेरिकी डलर सहुलियत ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता रेखा शर्माका अनुसार अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडलाई नेपाल सरकारबाट सन् २०२१ देखि २३ सम्मको वार्षिक बजेट योगदान बापत कुल ७ लाख ७५ हजार ५३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    उदय आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजना कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने स्वीस फ्र्यांक ५४ लाख ५० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ । सिटी अफ लण्डनको मेन्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेनलनमा सहभागी हुन अर्थमन्त्री डा। प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डलाई स्वीकृति दिएको छ ।

  • सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न गगन थापाको अपिल

    सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न गगन थापाको अपिल

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेका छन् । हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार कसैले गरेमा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

    धार्मिक आस्था फरक फरक भएपनि सबैमा मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता रहेको थापाले उल्लेख गरेका छन् । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र भएको थापाले सामाजिक सञ्जालमा उल्लेख गर्दै भनेका छन्, ‘आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई छ । यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ ।’

    समाजमा सद्भाव कायम गर्न नेतृत्वदायी तथा उदाहरणीय भूमिका निर्वाह गर्न उनले कांग्रेसका नेता कार्यकर्तालाई आह्वान गरेका छन् । पछिल्लो समय विभिन्न स्थानमा भड्किएको धार्मिक सदभावका कारण चारैतर्फ चिन्ता व्यक्त गरिएको छ ।

  • तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

    तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

    काठमाडौं । यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याएका तीन वैज्ञानिकले पाउने भएका छन्।

    ‘क्वान्टम डट्सको खोज र संश्लेषण’मा गरेको योगदानका लागि वैज्ञानिक मोउंगी जी बावेन्डी, लुइस ई. ब्रुस र एलेक्सई आई एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार प्रदान गरेको हो ।

    ‘क्वान्टम डट’ भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन्।

    रंगीन प्रकाश बनाउने, इलेक्ट्रोनिक्स, मिनिस्क्युल सेन्सर, स्लिमर सोलार सेलदेखि एन्क्रिप्टेड क्वान्टम कम्युनिकेसनमा क्वान्टम डटको प्रयोग हुनसक्ने अनुमान गरिएको छ ।

    तीनै वैज्ञानिक संयुक्त राज्य अमेरिकामा कार्यरत छन्। बावेन्डी एमआईटीमा, ब्रुस कोलम्बिया यूनिभर्सिटीमा र एकिमोभ न्यानो क्रिस्टल्स टेक्नोलजी इन्कमा कार्यरत छन्।

    यसअघि हिजो मंगलबार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई प्रदान गरिएको थियो ।

    चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिक क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई प्रदान गरिएको छ ।

  • सर्वोच्च अदालत परिसरमै ढलिन् रिगलको आममाफीविरूद्ध अनसन थालेकी भारती

    सर्वोच्च अदालत परिसरमै ढलिन् रिगलको आममाफीविरूद्ध अनसन थालेकी भारती

    काठमाडौं । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्ध अनसनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा ढलेकी छन्।

    कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । भारती बेहोश भएपछि वीर अस्पताल लगिएको छ।

    श्रीमान चेतन मानन्धरका हत्या गर्ने रिगललाई जेल चलान गर्नुपर्ने माग गर्दै उनले बुधबार माइतीघर मण्डलमा अनशन सुरू गरेकी हुन्।

    भारतीका श्रीमान् चेतनको २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी हत्या भएको थियो। चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

    संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिँदै रिहा गरेको थियो। रिगल भनिने योग ढकाल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन्।

  • मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

    मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

    काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिएका छन् । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो ।

    मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ । रासस

  • ५० करोडसम्मको विदेशी लगानी स्वचालित रुटबाट भित्राउन सकिने

    ५० करोडसम्मको विदेशी लगानी स्वचालित रुटबाट भित्राउन सकिने

    काठमाडौं । अब नेपालमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट भित्राउन सकिने भएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी अटोमेटिक रुटबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी ल्याउन सक्ने व्यवस्था गरेको हो ।

    यसअघि विदेशी लगानीको सीमा दुई करोड रुपियाँ निर्धारण गरिएको थियो । विदेशी लगानीको माथिल्लो सीमा र उद्योग व्यवसायका क्षेत्रमा अधिकतम ५० करोड रुपियाँसम्मको कुल पुँजी हुने उद्योग व्यवसायमा लगानी गर्न सक्ने व्यवस्था राजपत्रमा उल्लेख छ । स्वचालित मार्गबाट विदेशी लगानी गर्न सक्ने विभिन्न सात वटा क्षेत्रसमेत निर्धारण गरिएको छ ।

    विदेशी लगानी गर्न उद्योग क्षेत्रमा ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग र उत्पादनमूलक उद्योग रहेका छन् । लगानीकर्ताले यी उद्योगमा ५० करोड रुपियाँसम्म लगानी गर्ने व्यवस्था गरिएको छ । साथै सूचना प्रविधिमा आधारित उद्योगमा स्वचालित मार्गबाट विदेशी लगानीको स्वीकृति गर्दा लगानीको न्यूनतम सीमा लागु नहुने व्यवस्था गरेको राजपत्रमा उल्लेख छ ।

    विदेशी लगानी गर्न सकिने ऊर्जामूलक उद्योग अन्तर्गत वायु, सौर्य शक्ति, बायोमास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण निर्माण गर्ने रहेका छन् । यस्तै बायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सहउत्पादनका रूपमा उत्पादन हुने ऊर्जा, ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने रहेको छ ।

    कृषि तथा वन पैदावारमा आधारित उद्योगमा फलफूल तथा तरकारी प्रशोधन, हरित गृह (ग्रिन हाउस( स्थापना र सञ्चालन, रेसम प्रशोधन, चिया तथा कफी प्रशोधन, जडीबुटी प्रशोधन, रबर प्रशोधन, शीत भण्डार (स्थानीय फलफूल तथा तरकारी भण्डारण गर्ने, प्राकृतिक रेसाजन्य प्रशोधन रहेका छन् ।

    यस्तै कागज, रेजिनलगायत अन्य गैरकाष्ठजन्य वन पैदावारमा आधारित नयाँ प्रविधिद्वारा बिरुवा उत्पादन गर्ने (टिस्यु कल्चरलगायत), कपास प्रशोधन उद्योग रहेको छ । यस्तै पूर्वाधार उद्योगमा सवारी पार्किङ गृह, निर्यातजन्य वस्तुको प्रशोधन क्षेत्र, प्रदूषित पानी प्रशोधन उद्योग (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट), फिल्म सिटी निर्माणरफिल्म स्टुडियो निर्माण र वेयर हाउस निर्माण तथा सञ्चालन रहेका छन् ।

    पर्यटन उद्योग अन्तर्गत मोटेल, होटल, रिसोर्ट, बार तथा रेस्टुराँ, मनोरञ्जन पार्क, वाटर पार्क, सभा सम्मेलन तथा खेलकुद पर्यटन रहेका छन् । सूचना प्रविधिमा आधारित उद्योग अन्तर्गत टेक्नोलोजी पार्क आइटी पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, डिजिटल म्यापिङ, बिजनेस प्रोसेस आउटसोर्सिङ, नलेज प्रोसेस आउटसोर्सिङ रहेका छन् ।

    सेवामूलक उद्योग अन्तर्गत यान्त्रिक कार्यशाला (वर्कसप), निर्माण व्यवसाय, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, पुनस्र्थापना गृह सञ्चालन, फिजियोथेरापी क्लिनिक, आयुर्वेद तथा अन्य वैकल्पिक अस्पताल रहेका छन् । उत्पादनमूलक उद्योग अन्तर्गत पशुपन्छी तथा माछाको दाना उत्पादन, स्टार्च, ग्लुकोज आदि उत्पादन, बेकरीका वस्तु उत्पादन, पशुपन्छी तथा मत्स्यजन्य मासु प्रशोधन तथा प्याकेजिङ, आधारभूत कच्चा पदार्थबाट तेल, बोसो आदि उत्पादन, कन्फेक्सनरी तथा बिस्कुट उत्पादन, चिनी उत्पादनलगायत रहेका छन् ।

  • इन्द्रजात्रा हेर्न न्यूरोड पुगेका किशोरको हत्या आरोपमा दुई युवतीसहित चार जना पक्राउ

    इन्द्रजात्रा हेर्न न्यूरोड पुगेका किशोरको हत्या आरोपमा दुई युवतीसहित चार जना पक्राउ

    काठमाडौं । इन्द्रजात्रा हेर्न न्युरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो। घटनामा संलग्न भएको आरोपमा काठमाडौं प्रहरी परिसरले ४ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ घर भई हाल ललिपुरको लुकुसी बस्ने २० वर्षीया सोनिया श्रेष्ठ, ललितपुर महानगरपालिका १९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका २४ कि १९ वर्षीया भूमी मल्ल र ललितपुरको गोदावरी नगरपालिका-५ घर भई हाल नागबहाल बस्ने १९ वर्षीय अरबिन ठकुरी छन्। परिसरका अनुसार किशोरमाथि धारिलो हतियार प्रहार गरी भाग्न लागेको अवस्थामा सन्देश खड्की र सोनिया श्रेष्ठलाई सोही राति काठमाडौं महानगरपालिका २४ मखनबाट पक्राउ गरेको हो।

    भूमी मल्ललाई क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट पक्राउ गरिएको परिसरले जानकारी दिएको छ। प्रहरीले ठकुरीको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार समेत बरामद गरेको छ। परिसरका अनुसार काठमाडौं जिल्ला अदालतबाट सन्देश खड्की र सोनिया श्रेष्ठ खड्कीविरूद्ध असोज १५ गतेदेखि लागु हुनेगरी ६ दिन र भूमी मल्ल र अरबिन ठकुरीविरूद्ध १६ गतेदेखि लागु हुनेगरी ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

  • अमेरिकामा आफ्नै पार्टीका सांसदले हटाए सभामुख

    अमेरिकामा आफ्नै पार्टीका सांसदले हटाए सभामुख

    काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख केभिन म्याकर्थी पदमुक्त बनेका छन् । स्थानीय समयअनुसार मंगलबार भएको चुनावमा उनले सभामुख पदमा बसिरहन सदनमा बहुमत ल्याउन सकेनन्। उनको पक्षमा २१० र विपक्षमा २१६ मत खसेको द न्युयोर्क टाइम्सले लेखेको छ ।

    म्याकर्थीलाई सभामुखबाट हटाउन उनको आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूले भूमिका खेलेका छन्। मंगलबारको मतदानमा ८ जना रिपब्लिकन सांसदले उनको विपक्षमा मतदान गरेका थिए। डेमोक्र्याटिक पार्टीका २०८ जना सांसदले पनि उनीविरूद्ध भोट हाले । यसअघि तिनै ८ जना उग्र दक्षिणपन्थी रिपब्लिकन सांसदहरूको समूहले म्याकर्थीलाई सभामुखबाट हटाउने प्रस्ताव संसदमा दर्ता गरेका थिए। त्यसको नेतृत्व फ्लोरिडा राज्यबाट प्रतिनिधित्व गर्ने सांसद म्याट गाएट्जले गरेका थिए।

    उग्र दक्षिणपन्थी रिपब्लिकन सांसदहरूले म्याकर्थीमाथि सरकारलाई खर्च गर्ने बाटो खोल्न स्टपग्याप फन्डिङ विल पास गराउन सहयोगी भूमिका खेलेको आरोप लगाएका छन्। डेमोक्र्याटिक पार्टीबाट निर्वाचित राष्ट्रपति जो बाइडेनले सरकार चलाउन ल्याएको बजेट संसदका दुबै सदनले पारित नगरे कार्यान्वयनमा जान सक्दैन। तल्लो सदनमा झिनो बहुमत भएकाले रिपब्लिकन पार्टीका सांसदहरूले त्यसलाई लेनदेनको विषय बनाएका छन्।

    सरकारले खर्च नै गर्न नपाउने भएपछि गत शनिबार ४५ दिनका लागि स्टपग्याप फन्डिङ विल पास गरेको थियो। उक्त विलमा १२६ जना रिपब्लिकन सांसदले पनि मतदान गरेका थिए। तर उग्र दक्षिणपन्थी रिपब्लिकन सांसदहरूले त्यसको विरोध गर्दै सभामुख हटाउने प्रस्ताव ल्याएका हुन्। पदमुक्त भएपछि म्याकर्थीले आफू फेरि सभामुख बन्ने दौडमा नलाग्ने प्रतिक्रिया दिएका छन्। अमेरिकी संसद बैठक अर्को साता बस्नेछ। सम्भवतः अक्टोबर ११ मा नयाँ सभामुख चयनका लागि मतदान हुनेछ। गम्भीर आन्तरिक कलहमा फसेको रिपब्लिकन पार्टीबाट अब को सभामुख बन्छ भन्ने यकिन छैन। त्यही कारण सभामुख चयनको प्रक्रिया लम्बिन सक्छ।

  • कस्तो छ बझाङमा भूकम्पको प्रभाव ?

    कस्तो छ बझाङमा भूकम्पको प्रभाव ?

    काठमाडौं । बझाङमा मंगलबार देखि निरन्तर भूकम्प गइसकेको छ । मंगलबार दिउँसो, राती र बिहान गरी एक दर्जन पटक भूकम्प गइसकेको छ । भूकम्प पीडितहरुले खुला आकासमा रात बिताएका छन् । राति र आज बिहान पनि साना धक्का गइरहेकाले उनीहरु घर फर्किन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पपछि कोही पनि घरमा बस्न नसकेको बताए । ‘घर फर्किने अवस्था छैन, सबैले खुला स्थानमा रात बिताउनुभयो,’ उनले भने । कोहीले बुधबार नेपाल रेडक्रसले उपलब्ध गराएको ४० वटा त्रिपाल मुनि र कोहीले आफ्नै व्यवस्था गरेर रात काटेका छन् ।

    मंगलबार दिउँसो २ः४० बजे बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १० पटकसम्म भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको विवरणमा उल्लेख छ । ती कम्पनहरु ५ देखि ४ म्याग्निच्युडसम्मका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार बुधबार बिहानसम्म भूकम्पबाट १३ जना घाइते भएको र एकजना बेपत्ता भएको विवरण प्राप्त भएको छ । घाइतेहरुमध्ये दुई जना अस्पतालमै भर्ना भएका छन् भने ११ जना सामान्य उपचारपछि फर्किएका छन् ।

    एकजना महिला भने अझै पनि बेपत्ता छिन् । जयपृथ्वी नगरपालिका(११ ओखल घर भएकी अन्दाजी ४०र४५ वर्षीया गुनमती धामीको अवस्था थाहा हुन नसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । उनी टिमुर टिप्न भन्दै जंगल गएकी थिइन् । त्यहीबेला माथिबाट खसेको पहिरोमा उनी परेकी थिइन् । उनको खोजतलासका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार भूकम्पले भएको क्षति अध्यावधिक गर्ने काम भइरहेको छ । प्रभावितहरुका लागि थप योजना बनाउन आज बिहान जिल्ला विपत व्यवस्थापन समितिको बैठकसमेत बोलाइएको छ । ‘सो बैठकमा आउँदा क्षतिको विवरण पनि लिएर आउन सदस्यहरुलाई भनेको छु, त्यसपछि एकिन विवरण हामी सार्वजनिक गर्छौं,’ प्रजिअ पाण्डेयले भने ।

    प्रारम्भिक विवरण अनुसार भूकम्प र परकम्पले सदरमुकाम चैनपुरसहितका स्थानमा घर र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । निजी, सरकारी र सार्वजनिक भवनहरु कुनै भत्किएका र कुनै चिरैचिररा परेकाले जोखिमयुक्त छन् । अघिल्ला धक्काले कमजोर बनेका घरहरु पटक(पटक आइरहेका परकम्पले कुनै पनि बेला भत्किनसक्ने जोखिम भएकाले घरमा नबस्न प्रशासनले आह्वान गरेको छ । प्रभावितहरुलाई नेपाल विद्युत प्राधिकरणको चौर, जिल्ला प्रशासनको प्रांगण, टुँडिखेल र विद्यालयका चौरहरुमा राखिएको छ ।

    भूकम्पपछि जयपृथ्वी राजमार्गका दुई ठाउँमा सुक्खा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । एक ठाउँको पहिरो पन्छाइए पनि वडा नम्बर ७ को कचली खोला भन्ने स्थानको पहिरो पन्छाउन बाँकी छ । भूकम्पले डिभिजन वन कार्यालय, निर्वाचन कार्यालय, कृषि लगायत सरकारी कार्यालयमा पनि क्षति पुगेको छ । जिल्ला कारागारमा पनि सामान्य क्षति भएकाले कैदीबन्दीलाई सुरक्षित स्थानमा बस्ने व्यवस्थाका लागि जेलरलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

  • नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति विस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो । चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण बजेटमा गरिएको छ ।

    गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशत मात्रै भएको थियो । चालु आर्थिक वर्षमा कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य मात्रै भए पनि सेवा क्षेत्रको वृद्धि सन्तोषजनक हुने प्रक्षेपण छ । कृषि क्षेत्रको वृद्धि २ दशमलव १ प्रतिशत र उद्योगको वृद्धिदर ३ दशमलव २ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, सेवा क्षेत्रको वृद्धि दर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकको छ ।

    नेपालमा लम्पी स्किन महामारीले पारेको प्रभावलाई ध्यान दिएर आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक गरिएको विश्व बैंकका अर्थशास्त्री नयनकृष्ण जोशीले जानकारी दिए । तर, नेपालमा मनसुनका कारणका कृषि उत्पादन घट्नसक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुनसक्ने तथा भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिन सक्ने जोखिम पनि विश्व बैंकले औंल्याएको छ । मंगलबार सार्वजनिक भएको विश्व बैंकको अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेटको अनुमान अनुसार आगामी आर्थिक वर्ष २०८१र८२ मा भने आर्थिक वृद्धि ५ प्रतिशत हुने छ ।

    चालु आर्थिक वर्षमा मूल्यवृद्धि भने राष्ट बैंकले तोकेको लक्ष्यभन्दा बढी हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । राष्ट बैंकले चालु आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतमा मूल्यवृद्धि कायम रहने लक्ष्य लक्ष्य निर्धारण गरेको छ । तर, यो साढे ७ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण छ । गत आर्थिक वर्षमा मूल्यवृद्धि ७ दशमलव ८ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षमा उत्पादनशील र निर्माण क्षेत्र संकुचन भएको थियो । त्यस्तै, सेवा क्षेत्रतर्फ पनि होलसेल र रिटेल क्षेत्र पनि संकुचन भएको थियो ।

    मंगलबार नै सार्वजनिक भएको दक्षिण एसिया विकास अपडेटले यस क्षेत्रको आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो कुनै पनि विकासशील क्षेत्रको तुलनामा उच्च हो, तर, यस क्षेत्रको महामारीपूर्वको अवस्था र विकासका आवश्यकता पूरा गर्ने आवश्यकताभन्दा कम हो, विश्व बैंकककी दक्षिण एसिया हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्रसोर्जले भनिन्, ‘दक्षिण एसियाका सबै देशहरुमा आर्थिक सुस्तता देखिएको छ । सबै देशको आर्थिक वृद्धि खुम्चिएको छ ।’

    दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको ६ दशमलव ३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै बंगलादेशको ५ दशमलव ६ प्रतिशत, माल्दिभ्सको ५ दशमलव २ प्रतिशत र भुटानको ४ प्रतिशत हुने अनुमान छ । सबैभन्दा कम श्रीलंका र पाकिस्तानको १ दशमलव ७ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

    दक्षिण एसियाले सामना गरिरहेको प्राकृतिक विपत्तिका कारण यस्तो भएको उनको भनाइ छ । त्यस्तै, चीनको वृद्धि अत्यन्तै कमजोर देखिएको छ । यसले पनि दक्षिण एसियाको आर्थिक वृद्धिमा प्रभाव परेको उनको भनाइ छ । दक्षिण एशिया अहिले उच्च ऋण र कम राजस्वको समस्यामा रहेको उनले जनाइन् । ‘दक्षिण एसियाली मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ऋणको ऋणको अनुपात ८६ प्रतिशत छ । भुटानबाहेक कुनै पनि मुलुकको राजस्व जीडीपी अनुपात सन्तोषजनक छैन,’ विश्वबैंकले भनेको छ ।

    दक्षिण एसियाका सबै मुलुकका सरकारहरु आन्तरिक ऋणमा धेरै भर परेको पनि विश्व बैंकले जनाएका छन् । ‘आन्तरिक ऋणमा ब्याजदर उच्च हुन्छ । ऋण लिएको कम समयमै भुक्तानी गर्नुपर्छ । यसको सबैभन्दा ठूलो बेफाइदा भनेको सरकारले धेरै ऋण लिएपछि निजी क्षेत्रलाई जानुपर्ने कर्जा सरकारमा जान्छ,’ उनले भनिन्, ‘त्यसो हुँदा हामी देशमरुलाई आन्तरिक ऋण कम गर्न सुझाव दिन्छौं ।’

  • यस पटक दशैंको टिकाको साइत ११:०२ बजे

    यस पटक दशैंको टिकाको साइत ११:०२ बजे

    काठमाडौं । यसपटक दशैंको उत्तम साइत नेपाली साइत अनुसार ११ बजेर २ मिनेट जाँदा देखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०ः१९ बजे रहेको छ ।

    कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ । कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८ः२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९ः३५ बजे स्थिरासन गराइन्छ । कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ ।

    कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरिने साइत छ ।
    विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    विजयादशमीका दिन बिहान ९ः२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १०ः ३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । यस्तै कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

  • बझाङमा २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्प, काठमाडौंदेखि दिल्लीसम्म हल्लायो

    बझाङमा २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्प, काठमाडौंदेखि दिल्लीसम्म हल्लायो

    काठमाडौं । बझाङमा एकैदिन भूकम्पका दुई ठूला धक्का मापन गरिएको छ । मंगलबार दिउँसो २६ मिनेटको अन्तरमा भूकम्पका दुई ठूला धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युड, त्यसको २६ मिनेटपछि अर्थात् ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का नयाँ दिल्लीसम्म पुगेको छ ।

    दिल्लीसहित त्यस वरपर भूकम्पको झड्का महसुस भएको आजतकले जनाएको छ । समाचारअनुसार भूकम्पको झड्काका कारण नयाँ दिल्लीमा धेरैबेर हल्लाएको थियो ।

  • कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा

    कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    भदौ २० गते दिउँसो रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको हो। यस प्रकरणमा प्रहरीले सापकोटालाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेको थियो।

  • बझाङ केन्द्रविन्दु बनाएर भूकम्प

    बझाङ केन्द्रविन्दु बनाएर भूकम्प

    काठमाडौं । बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    डोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। त्यस्तै दिउँसो ३ बजेर ६ मिनेट जाँदा पनि भूकम्प गएको छ तर यस बारे केन्द्रले जानकारी अद्यावधिक गरिसकेको छैन ।

  • जनयुद्ध दिवसको बिदा फिर्ता नलिए प्रतिरोध गर्ने ओलीको चेतावनी

    जनयुद्ध दिवसको बिदा फिर्ता नलिए प्रतिरोध गर्ने ओलीको चेतावनी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग गरेका छन् । प्रतिनिसभाको मंगलबारको बैठकमा बोल्दै उनले आगामी मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय फिर्ता नलिए त्यसका विरुद्ध कदम चाल्ने चेतावनी दिए ।

    बिदा फिर्ता नलिए यसले युद्ध नत्यागेको स्पष्ट पार्ने भन्दै उनले अहिलेको संविधान र प्रश्नलाई ट्याकल गर्न खोजेको देखिने बताए । हिंसा सुरु गरेको दिनलाई उत्सव मनाउन बिदा गरेर स्वीकार्य कुनै हालतमा छैन । बिदा रद्द नगरे हामीले यसका विरुद्ध कदम चाल्नुपर्ने हुन्छ ।

  • ओलीले संसदमा सोधे-‘खुँडा र एसिड हान्ने अपराधी छानी-छानी किन पुरस्कृत गरियो’ ?

    ओलीले संसदमा सोधे-‘खुँडा र एसिड हान्ने अपराधी छानी-छानी किन पुरस्कृत गरियो’ ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कार्यशैली, सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति लाई लिएर तीव्र आलोचना गरेका छन्।

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा उनले सरकारको कडा आलोचना गरेका हुन्।

    ‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’

    पर्साकी मुस्कान खातुनलाई एसिड हान्ने घटनाका दोषीलाई पनि सरकारले माफी दिएकोमा उनले आपत्ति जनाए।

    ‘मेरै सरकारको पालामा एसिडासम्बन्धी कडा कानुन बनाएको थियो। तर अहिले एसिडपीडित मुस्कान खातुन उपचारमा रहेकै बेला माफी दिइएको छ’, उनले भने, ‘अहिले मुस्कान पेटको मासु काटेर घाउको उपचार गर्दैछिन्। यता सरकार अपराधीलाई आधा सजाय नहुँदै माफी दिन्छ।’

    संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए ।

  • नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू , उल्लंघन गर्नेलाई कारबाही

    नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू , उल्लंघन गर्नेलाई कारबाही

    काठमाडौं । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्‍यालीमा ढुंगामुडा प्रहार भएको थियो ।

    कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउने कानुन विपरीतका कुनै पनि गतिविधि नगर्नु स्थानीय प्रशासनले अपील गरेको छ । कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।

    आदेशको उल्लंघन गर्नेलाई आवश्यकता अनुसार बल प्रयोग गर्न सक्ने बताइएको छ।

  • एक दर्जन  ठेकेदार कम्पनी परे कालोसूचीमा

    एक दर्जन ठेकेदार कम्पनी परे कालोसूचीमा

    काठमाडौं । सरकारले एक दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

    तीन वर्ष कालोसूचीमा पर्नेहरुमा सकिल हैदर नेतृत्वको एमरएस सकिल हैदर इन्जिनियर्स एण्ड कन्सट्रक्सन, दीपक सापकोटा नेतृत्वको एमरएस शंकरमाली निर्माण सेवा र धर्मराज भण्डारी नेतृत्वको एम–एस सुनौला खिम्ती कन्सट्रक्सन छन् । यी कम्पनीहरुलाई दोलखाको सडक सुधार तथा विकास योजना कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

    यसैगरी तीन वर्ष कालोसूचीमा परेका अन्यमा शारदा अधिकारी र प्रभेज खान मुख्य व्यक्ति रहेका एम–एस सिपल हैदरावाद, साफबोन वाटर सर्भिस साङघाइ, दीपराज इमान्युअल मुख्य व्यक्ति रहेको आईएसजी इन्फरमेसन सर्भिस ग्रुप, सशक्त शरण गोले अभिषेक मुख्य व्यक्ति रहेको आर्भण अन्सट्रक्सन चितवन रहेका छन् ।

    निर्माण न्यौपाने नेतृत्वको शिवालय बिल्डर्स मकवानपुर, यक्षध्वज कार्की नेतृत्वको स्काई बिल्डर्स प्रालि, भरतसिंह वाइवा नेतृत्वको वाइवा एण्ड लामा कन्सट्रक्सन, रविन्द्र कुमार मण्डल नेतृत्वको जानकी निर्माण सेवा जनकपुर दुई वर्ष कालोसूचीमा परेका छन् ।

    यसैगरी गोकर्णप्रसाद पण्डित नेतृत्वको नागार्जुन कन्सट्रक्सन, दीपक सापकोटा नेतृत्वको शंकरमाली निर्माण सेवा, नेत्रप्रसाद न्यौपाने नेतृत्वको रुपन्देही बिल्डर्स एण्ड कन्सट्रक्सन काठमाडौं, तिलबहादुर ओली नेतृत्वको ति।ई।भू। निर्माण सेवा रोल्पा, माधव घिमिरे नेतृत्वको कश्यप निर्माण सेवा र उमेश श्रेष्ठ नेतृत्वको इको भिजनरी प्रालि ग्वार्को ललितपुर पनि कालोसूचीमा परेका छन् ।

    यसैगरी महेन्द्र निर्माण सेवा सप्तरीका महेन्द्र यादव, खेमराज आचार्य नेतृत्वको एमरएस कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सलेन्ट, अइन्द्र कुमार थापा नेतृत्वको एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन झापा, सुरेन्द्र तामाङ नेतृत्वको गौरती भिमसेन निर्माण सेवा सिन्धुपाल्चोक, ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेलधुरा, कृष्ण गुप्ता नेतृत्वको ग्रिन वर्ल्ड कन्स्ट्रक्सन र अर्जुन चौधरी नेतृत्वको जयस कन्स्ट्रक्सन पनि कालोसूचीमा परेका छन् ।

  • किन संकटमा पर्दैछ डोनाल्ड ट्रम्पको व्यापारिक साम्राज्य

    किन संकटमा पर्दैछ डोनाल्ड ट्रम्पको व्यापारिक साम्राज्य

    काठमाडौं । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ ।

    सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उहाँका दुई छोरा एरिक तथा डन जुनियरले ट्रम्प सङ्गठनको घर जग्गा र वित्तीय सम्पत्तिको मूल्य बढाएर जालसाजी गरेको न्यायाधीश आर्थर एनगोरनले पहिला नै फैसला गरिसकेका छन् । न्युयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले २५ करोड अमेरिकी डलर जरिवाना र ट्रम्प तथा उनका छोराहरूलाई ट्रम्प साम्राज्यको व्यवस्थापनबाट हटाउन खोजिरहेका छन् ।


    सोमबार बिहानको सुनुवाइमा आफू उपस्थित हुने ट्रम्पले आइतबार बेलुका बताएका थिए । “मेरो नाम र प्रतिष्ठाविरुद्ध लड्न भोलि बिहान म अदालत जाँदैछु”, आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा उनले लेखेका छन्, “यो सम्पूर्ण मामिला नक्कली हो ।”

    यो नागरिक मामिलाबाहेक आगामी महिनाहरूमा ट्रम्पले धेरै ठुला आपराधिक मामिलाको पनि सामना गर्नु पर्नेछ । जो बाइडेनले जितेको सन् २०२० को राष्ट्रपति निर्वाचनको नतिजालाई उल्ट्याउने प्रयास गरेको आरोपमा उनलाई आगामी मार्च ४ मा वासिङ्टनस्थित सङ्घीय न्यायाधीशसमक्ष उपस्थित गराउने कार्यक्रम छ ।

    त्यसपछि उनी न्युयोर्क राज्य अदालतमा फिर्ता हुनेछन् । अहिले आपराधिक गुप्त सम्पत्तिको आरोपमा र पछि फ्लोरिडा सङ्घीय अदालतमा हाजिर हुनेछन् । उनमाथि राष्ट्रपति कार्यालय छोडेपछि वर्गीकृत दस्ताबेजहरू गलत तरिकाले प्रयोग गरेको आरोप लगाइएको छ । अन्तिममा उनले जर्जिया राज्यमा लागेको आरोपहरूको पनि जवाफ दिनुपर्ने छ । जर्जियामा उहाँमाथि अवैधरूपमा सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा परिवर्तन गर्न प्रयास गरेको आरोप लगाइएको छ । रासस-एएफपी

  • एमालेको कोशी र कर्णाली प्रदेशमा नयाँ नेतृत्व निर्वाचित

    एमालेको कोशी र कर्णाली प्रदेशमा नयाँ नेतृत्व निर्वाचित

    काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा र कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन् । कोशीमा प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५ सय १२ मत ल्याउँदा ढकालले ४ सय ३९ मत ल्याए । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।

    सचिवमा राजकुमार भण्डारी ५ सय २४ मत ल्याएर विजयी हुँदा शैलेश लामाले ३ सय ८१ मत प्राप्त गरे । उपसचिवमा जलवर्षा राजवंशी ६ सय २८ मत र खोटाङका देवान राई ६ सय १० मत ल्याएर निर्वाचित भए । उपसचिवका अर्का उम्मेदवार खेम नेपालीले ३ सय ९८ मत ल्याए । यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह विजयी भए । शाहले तीन सय ६९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गरे ।

    अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गरे । उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गरे । त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय भए । उनका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गरे । उपसचिवमा रविन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गरे । महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गरे ।

  • एसियाली खेलकुदमा नेपाल र भारतबीच क्रिकेट चल्दै

    एसियाली खेलकुदमा नेपाल र भारतबीच क्रिकेट चल्दै

    काठमाडौं । १९औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको छ । समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेपछि नेपालले क्वाटर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन भएको छ ।

    माल्दिभ्सविरुद्ध खेलेका विनोद भण्डारीको स्थानमा आज करण केसी खेलेका छन् । यस्तै, भारतका जितेश शर्मा र साई किशोरले टी–२०आईमा डेब्यु गरेका छन् । नेपालले भारतको चार विकेट लिइसकेको छ ।

  • बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह

    बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अधिकारी र बैंक तथा वित्तीय क्षेत्र परिसंघ .सीबीफीन)का पदाधिकारी बीच भेटवार्ता भएको छ । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोलीले सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको टोलीसँग भेट गरेको सीबीफीनले जनाएको छ । भेटमा सीबीफीनले बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउन आईएमएफलाई आग्रह गरेको थियो । नेपालको अर्थतन्त्र सुधारको विषयमा पनि छलफल भएको सीबीफीनले जनाएको छ ।

    भेटमा चालु मौद्रिक नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवम् बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयहरुमा सघन छलफल भएको सीबीफीनले जनाएको छ । सीबीफीनका अध्यक्ष गोल्यानले समग्र आर्थिक एवम् बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दाहरुमा आईएमफसँग निरन्तर छलफल तथा सम्वाद भइरहेको बताउँदै नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत तथा व्यवहारिक पक्ष र विकास साझेदार संस्थाहरुको भूमिकाका विषयमा आफ्नो धारणा राखेका थिए ।

    मिसन टोलीका प्रमुख टिडियान किन्दासहितका प्रतिनिधिहरुले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वभाविक भएको बताए । नेपाल सरकारले तत्काल सुधारका कदमहरु चाल्न आवश्यक रहेको उनको भनाइ छ । नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरुको सम्भावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।

    मिसन टोलीको जिज्ञासा मेट्दै सीबीफीनका अध्यक्ष गोल्यानले नेपाल सरकार तथा मातहतका नियामक निकायहरुले मैत्रीपूर्ण नीति र वातावरण बनाइ समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्नेमा जोड दिएका थिए ।

    भेटमा सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्र प्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीहरुको सामना गरिरहेको भएतापनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामार्थ्य बैंकिङ क्षेत्रमा रहेको बताएका थिए । भेटमा आईएमएफ मिसनबाट मिन्क गोर्ट, रसेल ग्रिन, आईएमएफ नेपालकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेज, अर्थशास्त्रीद्वय सुधा दाहाल, सरस्वती शर्मा र सिबिफिनका कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली, सदस्य उपेन्द्र केशरी न्यौपानेलगायतको सहभागिता थियो ।

  • चाडबाडमा विदेशबाट घर आउँदा अरुको सामान नल्याइदिन सरकारको आग्रह

    चाडबाडमा विदेशबाट घर आउँदा अरुको सामान नल्याइदिन सरकारको आग्रह

    काठमाडौं । दशैं, तिहार लगायतका चाडपर्व आएसँगै विदेशमा रहेका नेपालीहरु घर फर्किने क्रम सुरु भएको छ । घर फर्किने क्रममा कतिपयले टीभी, मोबाइल, ल्यापटप लगायतका सामान पनि ल्याउने गरेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध भएका र नभएकाहरुले पाउने सुविधामा फरक फरक छ । श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्ने छैन ।

    तर सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका नेपाली यात्रुले भने ३२ इञ्चसम्मको टेलिभिजन मात्र भन्सारी नतिरी ल्याउन पाउनेछन् । ५ हजारभन्दा बढी अमेरिकी डलर बोकेर आउने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्ने समेत भन्सार कार्यालयले सूचना निकालेर जानकारी दिएको छ । यसरी स्वघोषणा गर्दा कुनै शुल्क भने लाग्ने छैन ।

    कार्यालयले व्यक्तिगत प्रयोजनका लागि कानुनने छुट दिएका वा राजश्व तिरेर ल्याउन सकिने बाहेकका सामान नल्याउन समेत अनुरोध गरेको छ । कार्यालयका अनुसार विदेशबाट नेपाल फर्किने यात्रुमा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्म सुनको गहना ल्याउँदा भन्सार लाग्दैन ।

    थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउने पाउने व्यवस्था पनि छ । तर गहनाको आकार मात्र दिएर बनाएको बेरुवा औठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई भने गहनाको मान्यता लिइने छैन । मोबाइलको हकमा विदेशबाट फर्किने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।

    श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका यात्रुाले थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने छन् । सूचनामा भनिएको छ, ‘थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्नेछ ।’

    तर अरुको सामान नल्याउन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ । पछिलो समय साउदी अरब, यूएई, कतार, हङकङ, थाल्याण्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल र आसपासबाट अपरिचत व्यक्तिले घरमा पुर्‍याउने उपहार हो भनेर वा केही पैसा दिन्छु भन्ने प्रलोभन देखाएर ल्यापटप, मोबाइल, सुन, घडी लगायतका समान पठाउने गरेको भन्दै कार्यालयले भनेको छ, ‘यात्रुहरुले मापदडभन्न्दा बढी मालवस्तु लिएर आउने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मलवस्तु जफत हुने तथा सो बराबर मुल्य धरौटी जरिवाना तथा कैद सजाय पाउने गरेका छन् ।’

  • एमसीसी आयोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : ऊर्जा मन्त्री

    एमसीसी आयोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : ऊर्जा मन्त्री

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत अगाडि बढाएको प्रसारणलाइन निर्माणमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । कुल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे– रातमाटे– हेटौंडा– दमौली–न्यू बुटवल) प्रसारणलाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने उनले बताए ।

    एमसीसी कम्प्याक्ट सम्झौताको शुभारम्भको अवसरमा यसै साता नेपाल भ्रमणमा आएकी एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उनको प्रतिनिधिमण्डलसँग सोमबार ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले परियोजनाले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने भएकाले त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा लगिने बताए । प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा प्राप्तीलगायतका प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गौरवको परियोजनाका रुपमा महत्व दिइएको बताए ।

    महत्वपूर्ण परियोजना भएकाले सरकारले पनि उत्तिकै प्राथमिकता दिएको भन्दै मन्त्री बस्नेतले सहज कार्यान्वयन गराउनेतर्फ सरकारले कुनै कसर बाँकी नराख्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि आवश्यक सहमति भएको सन्दर्भ जोड्दै मन्त्री बस्नेतले भने, ‘सो प्रसारणलाइन हाम्रा लागि असाध्यै महत्वपूर्ण छ । यसलाई सहज रुपमा समयमै सम्पन्न गर्नुपर्छ । त्यसमा सरकार दृढ छ ।”

    नेपाली जनताका लागि सडक सुधार गर्ने र स्वच्छ तथा सुपथ रुपमा विद्युतमा भरपर्दो पहुँच बढाउने गरी तर्जुमा गरिएको परियोजनामार्फत मुलुकको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउने मन्त्री बस्नेतले बताए । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै उचाइमा पुर्‍याउने परियोजनाका रुपमा आफूहरुले यसलाई लिएको बताइन् ।

    उनले एमसीए नेपाल मार्फत कार्यान्वयनमा गएको प्रसारणलाइन र सडक सुधार आयोजना सहज रुपमा कार्यान्वयनको चरणमा प्रवेश गरेकामा प्रसन्नता व्यक्त गरिन् । गत १३ भदौदेखि एमसीसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ । नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच २९ भदौ २०७४ मा मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) भएको थियो ।

    लामो बहसपछि संसदले गत वर्ष मात्र यस सम्झौतालाई अनुमोदन गरेको थियो । एमसीसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइन र सडक निर्माण आयोजनाको काम सुरु भएको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्ने बाध्यकारी प्रावधान छ ।

  • मनसुन लम्बियो : धान नकाटौं, काटेको भए भित्र्याइहालौं

    मनसुन लम्बियो : धान नकाटौं, काटेको भए भित्र्याइहालौं

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।

    सामान्यतः २ अक्टोबरदेखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताए । उनले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताए ।

    यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ ।

    अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले बताए । ‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौं र काट्ने बेलाको धान छ भने नकाटौं । दुई/तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौं,’ उनले भने ।

    उनका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ । आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ । घाम लाग्ने सम्भावना कम छ । साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उनले बताए ।

    जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज २ अक्टोबरलाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ ।

    यो वर्ष नेपालमा ३१ जेठमा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै ८ असारमा मनसुन देशैभरी फैलिएको थियो । सुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो । यसपाली मनसुनको सुरूवाती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ ।

    यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औसतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो । औसतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ । जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विष्लेषण गरेर केही वर्षअघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन आजलाई अनुमान गरेको थियो ।