Category: समाचार

  • दुई आयुर्वेदिक औषधिका उत्पादनलाई विक्री वितरणमा रोक

    दुई आयुर्वेदिक औषधिका उत्पादनलाई विक्री वितरणमा रोक

    काठमाडौं । न्यून गुणस्तरीय पाइएपछि औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिका उत्पादनलाई बिक्री वितरणमा रोक लगाएको छ ।

    रोक लगाइएकामा गोर्खा आयुर्वेद, गोरखाबाट उत्पादित पुनर्नवादी मण्डूरको ब्याच नम्बर ०५ र भारतको डाबर इन्डिया लिमिटेडको मकरध्वज वटीको ब्याच नम्बर एसबी ००१६४ छन् ।

    उक्त, बनावट भएका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागले बुझाउन आयतकर्ता र वितरकलाई निर्देशन दिएको छ ।

  • भारतमा आदिकवि भानुभक्त आचार्यका नामबाट सडकको नामकरण

    भारतमा आदिकवि भानुभक्त आचार्यका नामबाट सडकको नामकरण

    काठमाडौं । हावडा म्युनिसिपल कर्पोरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ ।

    पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यू रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो ।

    नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५ वर्षदेखि भानुभक्त जयन्ती मनाउँदै आएको र आठ वर्षदेखि सो नाम राख्न माग गर्दै आएको थियो ।

  • काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा, सार्वजनिक बिदा

    काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा, सार्वजनिक बिदा

    काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ ।

    जात्रा अवधिभर विभिन्न प्रकारका विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । बुधबार कुमारीको पूजा गरिएको थियो । इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७ मिनेटको साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ । जात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।

    राजतन्त्र रहुञ्जेल रथयात्रा नजर गर्ने काम राजाहरुबाट हुने गर्दथ्यो ।
    इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ । यो ऐतिहासिक इन्द्र जात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् ।

    जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुबाट पाहुना बोलाउन थालेको हो । काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्रा अवलोकनका लागि चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका, सियान सिटी तथा अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् ।

    जात्रा अन्तर्गत असोज १० गते जीवित देवी कुमारी, गणेश र भैरवको पूजा गरिएको थियो । आज ती देवीदेवताको रथयात्रा हुने छ । रथयात्राको रुटमा सबै प्रकारका सवारी साधनहरु निषेध गरिएको छ । इन्द्र जात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।

  • गृह मन्त्रालयका कर्मचारीलाई अनिवार्य १५ मिनेट योगा गर्न निर्देशन

    गृह मन्त्रालयका कर्मचारीलाई अनिवार्य १५ मिनेट योगा गर्न निर्देशन

    काठमाडौं । गृह मन्त्रालयका कर्मचारीले अब कार्यालय सुरु हुनु भन्दा अगाडी अब १५ मिनेट योगा गर्नु पर्ने भएको छ । बुधबार आफ्ना कर्मचारीलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्न गृहले परिपत्र गरेको हो । मन्त्रालयका महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ । यसले कार्य क्षमता बढाउने मन्त्रालयको तर्क छ ।

    शनिबार सशस्त्र प्रहरी बलको हलमा राष्ट्रपति, प्रधानन्यायाधीश समेतलाई उपस्थित गराएर एकदिवसीय ध्यान विज्ञान शिविर गरिएको थियो । त्यसकोे चार दिनपछि मन्त्रालयले महाशाखाहरुमा कार्यरत अधिकृत स्तरका कर्मचारीले विहान १०ः०० देखि १०ः१५ बजेसम्म १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्र गरेको हो ।

    मन्त्रालयका अनुसार मन्त्रालय, विभाग र उपत्यकाभित्रका कार्यालयहरुका कर्मचारीहरु शनिबार एकदिवशीय ध्यान विज्ञान कार्यक्रममा सहभागी भइसकेका छन् । अब अरु कार्यालयका कर्मचारीलाई पनि ध्यान विज्ञान कार्यक्रम राख्ने र त्यसपछि मन्त्रालयमा जस्तै १५ मिनेट योग अभ्यास गराउने तयारी छ ।

  • अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति, आन्दोलन फिर्ता

    अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति, आन्दोलन फिर्ता

    काठमाडौं । काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच ४ बुँदे सहमति भएसँगै अभियान्ता ईःको आन्दोलन फिर्ता भएको छ । १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र महानगरबीच बुधबार बेलुकी सहमति भएको हो । सहमतिलगत्तै राति ९ बजेबाट ईःले आन्दोलन स्थगित गरेका छन् । सडक व्यापारी प्रतिनिधिको रोहवरमा महानगरका तर्फबाट कार्यपालिका सदस्य चिनकाजी महर्जन र प्रमुख बालेन्द्र शाहको सचिवालयका धिरज जोशी तथा अभियानकर्ता ईः ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।


    दुई पक्षबीच सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने सहमति भएको छ ।

    अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरि २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति समेत भएको छ ।

    साविकमा फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने समेत सहमति भएको छ ।

  • ई: लाई सम्बोधन गर्दै बालेनले राखे फुटपाथ व्यापारबारे ७ बुँदे धारणा

    ई: लाई सम्बोधन गर्दै बालेनले राखे फुटपाथ व्यापारबारे ७ बुँदे धारणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ई: लाई सम्बोधन गर्दै ७ बुँदे धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा ‘पत्र’को शैलीमा सन्देश लेख्दै बालेनले सडक तथा फुटपाथमा व्यवसाय गर्न दिने वा त्यस्ता व्यवसायीको व्यवस्थापन गर्ने अधिकार महानगरसँग नभएको बताएका छन्।

    बालेन र उपमेयर सुनिता डंगोललाई चुनावी बाचा सम्झाउँदै राष्ट्रिय सभागृहबाहिर अभियन्ता ई: लगायत ९ दिनदेखि उभिएर प्रदर्शन गरिरहेका छन्।

    महानगरको टोली र ई: का टोलीबीच मंगलबार वार्ता भए पनि निष्कर्षविहीन भएको थियो।

    यस्तो छ बालेनले ‘ई’लाई लेखेको पत्र:

    प्रीय ई,
    हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न । कसैले यस्तो भने पनि हामी पत्याउँदैनौँ । तपाईले उठाएका मागहरुलाई तपाई परिचालित हो भनेर पन्छाउन चाहन्नौँ । तर तपाई जे कुराका लागि उभिनु भएको छ, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुन्थ्यो । तपाईले त्यो संस्थागत बाटो नसमात्नुमा भने दुख लागेको छ । दुवैजना वार्ता बसौँ न भन्दा पनि मान्नु भएन । ठिकै छ, तपाईको इच्छा भनेर त्यसका लागि पनि कुनै दुर्भावना वा अहम राख्ने कुरा हुन्न ।
    अब फुटपाथ र त्यसमा हुने व्यापार व्यवसायका बारेमा हाम्रो धारणाहरुमा प्रवेश गरौँ –

    १. फुटपाथ, बाटो तथा right of way मा व्यापार गर्नु गैरकानुनी हो । यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग होइन ।

    २. समय छुट्याउने बारेमा पनि अवस्था फरक हुने रहेछ । बिहान दुई घण्टा र बेलुका दुई घण्टा पनि बालबालिका हिड्छन्, दृष्टिबिहिन हिड्छन्, गर्भवतिहरु हिड्छन्, बिरामीहरु हिड्छन् । त्यस्तै सोही समयमा आगलागीको घटना हुँदै नहुने होइन । मानिसहरु बिरामी नपर्ने होइनन् । त्यस्तो आपतकालिन अवस्थामा फुटपाथका पसल र ठेलाहरुले अवरोध गर्छन् । यहि कारणले सडक वा पेटीमा राखिने निर्माणका सामग्रीहरु पनि हटाइन्छन् । यसैले कसैको निर्माणका लागि वा १००० व्यक्तिहरुको लागि ५० लाख जना हिड्ने अधिकार हनन् गर्न वा तिनलाई जोखिममा राख्न मिल्दैन । गत एकबर्षमा काठमाडौँ महानगरको कल सेन्टरमा आएका २० प्रतिशत भन्दा ज्यादा गुनासोहरु जुन करिब १००० जति छन्, ति सबै फुटपाथबाट व्यापार व्यवसाय हटाउने सम्बन्धितका छन् ।

    ३. फुटपाथ बाहेक अन्य कुनै ठाउँमा मिल्छ कि भन्ने प्रसंगमा खाली ठाउजस्तो देखिने सार्वजनिक जग्गा व्यापार गर्न मेयरले मात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषदले पनि अहिलेका ऐनकानुन टेकेर दिन मिल्दैन । निजी जग्गाहरुमा त अहिले पनि सामूहिक बजारको अभ्यास भइरहेकै छ । काठमाडौँले नेपाल सरकारसँग मिलेर फुटपाथ व्यापारीहरुलाई व्यवस्थापन गर्न भृकुटी मण्डपमा कोशिस गरेकै हो । तर त्यसले फुटपाथ खाली भएन । समस्याको समाधान गरेन ।

    ४. त्यस्तै कतिपय जग्गा त हामीले चाहेर पनि दिन मिल्दैन । किनकि, महानगरको जग्गा र नेपाल सरकारको जग्गाको स्वामित्व फरक फरक हुन्छ । दिने र नदिने अधिकार फरक फरक प्रक्रिया र निकायमा हुन्छ । यसैले नेपाल सरकारको सरकारी जग्गा, त्यो दिने वा नदिने अधिकार महानगरसँग छैन । साँच्चै भन्नु भने, महानगरसँग त्यस्तो जग्गा भएको भए त्यहाँ २ कोठाको सार्वजनिक शौचालय सबैभन्दा पहिले बनाउँथ्यौँ । वास्तविकता के हो भने महानगरसँग जग्गा छैन । महानगरका वडा कार्यालय र कार्यालयहरु पनि भाडामा बसेका छन् । तपाईले माग गर्नु भएको ठाउँहरुमध्ये एउटा ठाउँ २५ बर्षदेखि नेपाल सरकारले मुअब्जा नदिएर १५० परिवारलाई सुकुम्बासी बनाइएको छ । त्यो ठाउँमा कुन चै नैतिकतामा हामीले व्यापार गर्न दिन मिल्ला ?

    ५. यस्तो धरातलमा तपाईको माग पुरा गर्ने अधिकार हामीसँग नभएको बुझ्नु भयो नै होला । संविधान, सार्वजनिक सडक ऐन जस्ता सम्बन्धित बिषयहरु हामीले परिवर्तन गर्न सक्ने कुरा भएन । त्यसो भए फुटपाथमा व्यापार व्यवसाय गर्न दिइरहन महानगरले आँखा चिम्लिदिने तर्क आउन सक्ला । तर, गैरकानुनी कुरामा आँखा चिम्लिने जस्तो महानगर हेर्ने चाहना स्वयम तपाईको पनि नहोला, विधिको पालना तपाईको पनि इच्छा होला भन्ने लाग्छ ।

    ६. मैले चुनावी एजेन्डा बिर्सिएको छैन र बिर्सिन्न पनि ।
    गरिबको सधैको लागि बोल्दिने काठमाडौ महानगर छ ।
    घोषणापत्रको कुन पेजको कुन बुँदामा लेखेको छु भन्ने पनि थाहा छ । त्यो बुँदा कुनै अमुक व्यक्ति वा समूहको व्यवस्थापनका लागि मात्र थिएन, त्यो गरिबी निर्मुल गर्ने एउटा चरणकोरुपमा थियो । महानगरको सिमितता र सम्भावना दुवैको प्रत्यक्ष अध्ययनबाट केहि कार्यक्रमहरु थप परिस्कृत गरिएका हुन् । अहिले पनि भन्छौँ, संसारैबाट गरिबी हटाउने हो, गरिब होइन । यसैले हामीले श्रम बैंक मार्फत रोजगारी सिर्जना गर्दैछौँ । सामान्य तालिमहरुबाट प्राप्त गरिने र सहजै बजार पाउने सिपहरु सिकाउनका लागि १० करोड भन्दा बढि बजेट छुट्याएका छौँ । गतबर्ष मात्र हामीले १५ हजार भन्दा धेरैलाई छात्रवृतिको व्यवस्था गरायौँ । स्वास्थ्यमा १० प्रतिशत छुटको प्रक्रिया लागू गर्ने बित्तिकै हरेक दिन ९०० शैयामा विपन्नले उपचार पाउने हक स्थापित हुन्छ । यसरी धेरै गर्न सकिने ठाउँ हुँदाहुँदै भारत र चीन बाट ल्याइएका सामानहरु फुटपाथमा बेच्न दिएर गरिबी निवारण हुन्छ भन्ने हामीलाई लाग्दैन । बरु यसले प्रणालीमा आबद्ध भएर सोही व्यवसाय गरिरहेकाहरुलाई धरासायी बनाउँछ । स्वर्गीय प्रेम प्रसाद आचार्यज्यूको संघर्षको मिहिन अध्ययन गर्ने हो भने पुग्न सकिने निष्कर्ष यो पनि हो । देशभित्र बनेका तर ठुलो बजारमा जान नसक्ने, अस्थायी प्रकृतिका आय सिर्जना गर्ने व्यवसाय वा उत्पादनहरुलाई व्यवस्थित गर्ने नीति लिएर काम अगाडि बढाइरहेकै छौँ । यहि नीति लागू भएपछि देशमा उत्पादन भएका सामान र सेवाहरुको काठमाडौँमा बजारीकरण सहज बनाइ अहिले देखिएका त्योसम्बन्धित समस्या कम हुनेछन् ।

    ७. र, जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा, स्वर्णिम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनीतिक बेइमानी देख्छौँ। उहाँहरु नियम बनाउने ठाउँमा हुनुहुन्छ, तर खोइ त्यो बारेमा स्पष्ट नियम बनाउनु भएको? खोइ त्यो बारेमा प्रयत्न गर्नु भएको? सस्तो लोकप्रियताका लागि जायज माग पुरा गर् भन्ने सतही कुरा गरि त दिनु भयो, तर यो माग जायज र यो नाजायज भनेर उहाँहरुले खोइ छुट्याउनु भएको? ति जायज मागहरु पुरा गर्न नसकिने ऐन कानुनहरु बनाउने उहाँहरु नै हुनुहुन्थ्यो त । त्यतिबेला उहाँले अहिले रहेको वैधानिक प्रावधानका विरुद्धमा नोट अफ डिसेन्ट खोइ लेख्नु भएको ? त्यसो होइन भने उहाँहरुले त्यो प्रावधानका बारेमा बुझाउनु पर्थ्यो । तर त्यसो गर्नु भएन । कानुनी प्रावधान सहि नलागे संशोधन गर्न पाउने अधिकार भएको मानिसहरुमा उहाँहरु पनि पर्नु हुन्छ, खोइ त्यसको लागि पहल गर्नु भएको ?

    हाम्रो आग्रह छ, हजारौँ काठमाडौंबासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ति मानिसहरुप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यो भन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ। यसैले कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनुहोला। हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनुहोला।

  • उपत्यकामा डेंगु संक्रमितको संख्या १ हजार नाघ्यो

    उपत्यकामा डेंगु संक्रमितको संख्या १ हजार नाघ्यो

    काठमाडौं । पछिल्ला केही दिनयता डेंगु संक्रमितको संख्या निरन्तर बढिरहेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ६२ जना संक्रमित भएका छन् ।

    हालसम्म सबैभन्दा धेरै कोशी प्रदेशमा २२ हजार ५४० जना संक्रमित भएका छन् ।

    त्यस्तै, वाग्मतीमा चारहजार ४६०, मधेसमा ५६७, गण्डकीमा एकहजार ८४०, लुम्बिनीमा ५०६, कर्णालीमा ८७ र सुदूरपश्चिममा ८९८ जनामा संक्रमण पुष्टी भएको छ ।

    तथ्यांकअनुसार जनवरीयता १९ सेप्टेम्बरसम्म डेंगुबाट ३० हजार ८९८ जना संक्रमित भएका छन् ।
    सेप्टेम्बरका २५ दिनमा सात हजार ७७९ जना डेंगु संक्रमित थपिएका छन् । डेंगुबाट जुलाईयता १५ जनाको मृत्यु भएको छ ।

  • प्रधानमन्त्री प्रचण्ड ल्हासामा

    प्रधानमन्त्री प्रचण्ड ल्हासामा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् ।

    गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे ।

    प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ ।

    उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आज ल्हासामै बस्नेछन् । उनका साथमा उनको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन् ।

    यसअघि प्रधानमन्त्री दाहाल हिजो बेइजिङबाट छिङछोङ सहर गएका थिए । छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामबारे जानकारी लिएका थिए ।

  • प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्दै

    प्रधानमन्त्री प्रचण्डले कैलास मानसरोवरको भ्रमण गर्दै

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधवार) छोङ्छिङ्बाट ल्हासा प्रस्थान गरेका छन् । सिचुवन एयरलाइन्स मार्फत ल्हासा प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासाको गोङ्गार विमानस्थलमा अवतरण गर्नेछन् । कार्यक्रमको सुची अनुसार आज साँझ उनले चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् ।


    सचिव वाङले प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नेछन् । चीनसँगको सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रका दुर्गम ग्रामीण क्षेत्रमा तिब्बतबाट विध्युत वितरण गर्ने समझदारी बनेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड ल्हासा जान लागेका हुन् । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ ।

  • बारामा गोली प्रहारबाट एक जनाको मृत्यु

    बारामा गोली प्रहारबाट एक जनाको मृत्यु

    काठमाडौं । बारामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ। पचरौता नगरपालिका ६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो। नेपाल भारत सीमाभन्दा करिब सात सय मिटर भित्र मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका थिए।

    उनीसँगै मोतिहारी जिल्ला, दर्पा थाना १ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाञ्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी दुईवटा अनटेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए। उनीहरु लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि उनकै पछाडि बसेका सुजितले अजितलाई पछाडिबाट गोली प्रहार गरेका थिए। घटना लगतै चारैजना युवक सोही मोटरसाइकल चढेर फरार भएका थिए।

    घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद भएको प्रहरी नायव उपरीक्षम न्यौपानेले बताए। मृतक अजितको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमसहित मनाईंदै

    आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमसहित मनाईंदै

    काठमाडौं । विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘सबैका लागि पर्यटन ः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसको अवसरमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

    दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस भव्यरूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

    मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मंगलबजारसम्म प्रभातफेरी गरिनेछ । पाटन दरबार क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा हुनेछ ।

    विगतमा विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो । उक्त कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।

    पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ । नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार संघको अगुवाइमा आज पोखरामा विशेष कार्यक्रम गरिँदैछ ।

    दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० ले सोमबार रक्तदान कार्यक्रम गरेको थियो । दिवसलाई भव्य रुपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने अध्यक्ष रमेश थापाले जानकारी दिए । कोरोना भाइरस संक्रमणको महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र अहिले करिब पुरानै लयमा फर्किएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुने विश्वास छ । विश्व पर्यटन संगठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ ।

    पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष एक लाख ४० हजार ३०० पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख २० हजार ८५ मात्र थियो । सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाहृय पर्यटक नेपाल घुम्न आएका थिए । नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य संख्यामा नेपाल आउने क्रम जारी छ ।

  • प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

    प्रचण्डद्धारा चीनमा कृषि विज्ञान प्रतिष्ठानको अवलोकन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गरेका छन् । कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले कृषि अनुसन्धानमा ख्यातिप्राप्त यस संस्थाको भ्रमण गरेका हुन् । मङ्गलबार बिहान चीनको राजधानी शहर पेइचिङ्बाट चाइना एअरमार्फत प्रधानमन्त्री प्रचण्ड चीनको दक्षिणपश्चिममा रहेको देशकै ठूला शहरमध्येको एक छोङछिङ शहर पुगेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका थिए । आजै चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् छोङछिङ नगरका पार्टी सचिव युआन चिआचुनले प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डको सम्मानमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चिआचुनले रात्री भोजको आयोजना गरेका छन् । प्रधानमन्त्रीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ चियानचाओले पनि भेटने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डको साथमा परराष्ट्र मन्त्री एनपी साउद, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महिन्द्र राय यादवसहित भ्रमण दलका सदस्यहरु छन् ।

  • डाक्टर कुट्ने र अस्पतालमा तोडफोड गर्नेहरुमाथि मुद्दा चल्ने

    डाक्टर कुट्ने र अस्पतालमा तोडफोड गर्नेहरुमाथि मुद्दा चल्ने

    काठमाडौं । गृह मन्त्रालयले डाक्टरमाथि आक्रमण र अस्पतालमा तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । सोमवार पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङ अस्पताल लगायत शिक्षण संस्थामा डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।


    यी घटनालाई लिएर दोषीमाथि कारबाहीको माग गरी डाक्टरहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज मङ्गलवार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरूको बैठक बोलाएका थिए । बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

    बैठकमा मेडिकल काउन्सिल एसोसिएसन, नर्सिङ काउन्सिल, चिकित्सक सङ्घ, अस्पतालका डाक्टर, मेडिकल आबद्ध सरोकारवालाहरू उपस्थित थिए । कुटपिटको आरोपमा बेसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेत र पोखरा–५ का विनय गुरुङलाई प्रहरीले प्रक्राउ गरिसकेको छ । आज मणिपाल, त्रिवि शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले सेवा रोकेर प्रदर्शन गरेका थिए ।

  • जलवायु परिवर्तनका समस्या समाधानमा विकसित मुलुकले योगदान गर्नुपर्छ : अर्थमन्त्री

    जलवायु परिवर्तनका समस्या समाधानमा विकसित मुलुकले योगदान गर्नुपर्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विकसित मुलुकले जलवायु परिवर्तनको समस्या सम्बोधनमा गरेका प्रतिवद्धता पालना गर्नुपर्ने बताएका छन् ।
    उनले जलवायु परिवर्तनको समस्या सृजनामा खासै भूमिका नरहेको नेपाल जस्ता विकासशील मुलुको चुनौती सामनाका लागि कार्बन उत्सर्जन गर्ने विकसित एवम् ठूला अर्थतन्त्र भएका मुलुकले गरेका प्रतिवद्धता पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका हुन् । एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड बैठकमा उनले जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुक रहेको भन्दै त्यसबाट सिर्जित समस्या तथा चुनौतीको बारेमा प्रष्ट पारेका थिए ।

    अर्थमन्त्री महतले कार्बन व्यापारको मूल्य बढाउनुपर्नेमा सहभागीहरूको ध्यानाकर्षण गराए । ृनले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् । एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा गभर्नरहरूको बिजनेस राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने बताए ।

    उनले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान समेत गरे । कार्बन उत्सर्जनमा खासै भूमिका नरहेका तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाल र यस्तै अन्य विकासशील मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा उनले जोड दिए । अर्थमन्त्री महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जन तर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए ।

    उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा रहेको उनले बताए । न्यून आय भएका मुलुकका लागि आर्थिक पुनर्उत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तारमा एआईआइबी लगायतका बहुपक्षीय विकास बैंकहरूले योगदान पुर्याउनुपर्ने उनले बताए ।

    यस्तै प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत एआईआइबी लगायतका बहुपक्षीय विकास बैंकहरूले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनले बताए । विकासशील सदस्य राष्ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको उनले बताए । उक्त सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवम् उपकरण पर्याप्त नहुने यथार्थ रहेको भन्दै अर्थमन्त्री महतले उक्त क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको उल्लेख गरे ।

    विकासशील मुलुकका लागि वित्तीय साधन स्रोतको अभाव हुन नदिन बैंकले सार्वजनिक निजी साझेदारी, हरित बण्ड, सम्मिश्रित वित्त लगायतका नवीन तथा सिर्जनशील उपकरणको उपयोग गर्नुपर्नेमा उनको जोड थियो । एआईआएबीको आठौं वार्षिक बैठकको अवसरमा आयोजित जलवायु परिवर्तनबाट सिर्जित समस्या सम्बोधनको उच्च आकांक्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालन सम्बन्धी छलफलमा समेत अर्थमन्त्री महत प्यानेलिष्ट वक्ताको रूपमा सहभागी थिए ।

  • काठमाडौं महानगरपालिका र ई:को समूहबीच वार्ता

    काठमाडौं महानगरपालिका र ई:को समूहबीच वार्ता

    काठमाडौं । जवाफदेहिताको माग गर्दै ८ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ई: को समूह र काठमाडौं महानगरपालिकाका प्रतिनिधिबीच वार्ता सुरु भएको छ।

    वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली सहभागी छन्।

    अभियान्ता ई: को तर्फबाट गोविन्द नारायण तिमिल्सेना, सञ्जय अधिकारी, फुटपाथ व्यवसायीको प्रतिनिधिसहित पाँच जना रहेका छन्। वार्तामा मेयर बालेन्द्र शाह र अभियान्ता ई: भने सहभागी भएका छैनन्।

  • ओलीले भने- फुटपाथ व्यापार नेवारी संस्कृतिको अंश, गरिबी लखेट्नुपर्छ गरिब होइन’

    ओलीले भने- फुटपाथ व्यापार नेवारी संस्कृतिको अंश, गरिबी लखेट्नुपर्छ गरिब होइन’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटपाथमा प्यापार गर्नु काठमाडौंका नेवारी जनताको संस्कृतिको अंश रहेको बताएका छन् ।

    काठमाडौं उपमहानगरपलिकाकी उपमेयर सुनिता डंगोलले केही दिनदेखि आन्दोलनरत अभियन्ता ईशान श्रेष्ठ ‘ईस्’ सँग भेटेपछि ओलीले सामाजिक सञ्जालमाफर्त आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    ओलीले फेसबुकमा लेखेका छन्- हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो।

    यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजीरोटीका लागि गुजारा व्यापार गरिरहनुभएका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो। फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो।

    असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं। पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ।

    ओलीले परम्परागत रूपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि भएको बताएका छन्।

    उनले लेखेका छन्- उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्। हामीले महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन। समाधानको उपाय के हुन सक्छ, तपाईंहरूको विचार पनि राख्नुस् है!

  • एसियाडको पदक तालिकामा चीनको अग्रता, नेपाली खेलाडी कमजोर सावित

    एसियाडको पदक तालिकामा चीनको अग्रता, नेपाली खेलाडी कमजोर सावित

    काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ ।

    दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।

    नेपालको निराशाजनक प्रदर्शन

    चीनको हाङझाउमा जारी१९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्मको खेलमा नेपाली खेलाडीले निराशाजनक खेल प्रदर्शन गरेका छन् । टेनिसमा सोमबार नेपालका सबै खेलाडी पराजित भएका छन् । नेपाल चारवटै स्पर्धामा पराजित भएको हो । पुरुष एकलतर्फ पहिलो चरणको खेल जितेका नेपालका प्रदीप खड्का सोमबार जापानी खेलाडीसित सोझो सेटमा पराजित भए ।

    पुरुष एकलतर्फ नै नेपालका अभिषेक बाँस्तोला हङकङसित पराजित भए । यसैगरी महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र माहिका राणाको जोडी दक्षिण कोरियासित पराजित भए । मिक्स डबल्समा पनि नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडी इण्डोनेसियाका खेलाडीसित पराजित भयो ।

    फेन्सिङमा पनि नेपाल पराजित

    एसियाली खेलकुदअन्तर्गत सोमबार फेन्सिङमा पनि नेपालका सबै खेलाडी पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका प्रयास योञ्जन पाँच वटै खेलमा पराजित भए । उनी काजकिस्तान, हङकङ, उज्वेकिस्तान, इरान र साउदी अरेबियाका खेलाडीसित पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका राजेन्द्र गजुरेल कुवेत, हङकङ, चीन, भियतनाम, दक्षिण कोरिया र जापानका खेलाडीसित पराजित भए ।

    यस्तै महिला फोइल व्यक्तिगततर्फ नेपालकी मन्दिरा थापा हङकङ, जापान, जोर्डन, दक्षिण कोरिया, मकाउ र थाइल्यान्डका खेलाडीसित पराजित भइन् । यस्तै गोमा आचार्य दक्षिण कोरिया, थाइल्यान्ड, जापान, सिंगापुर, युएई र चीनका खेलाडीसित पराजित भइन् ।

    रग्बीमा नेपाल जितबिहीन

    रग्बीमा पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपालको पुरुष टोली पराजित भयो । समूह सी मा रहेको नेपाल आइतबार यूएई, चीन र अफगानिस्तानसित पराजित भएको हो । सोमबार नेपाल फिलिपिन्स र थाइल्याण्डसित पनि पराजित भयो ।

    साइक्लिङमा पनि खराब प्रदर्शन

    सोमबार साइक्लिङ क्रस कन्ट्रीमा प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडीले दौड पूरा गर्न सकेनन् । महिलातर्फ उषा खनाल र पुरुषतर्फ सुरज राना मगर सहभागी भएका थिए । दुवै जनाले निर्धारित दूरी पूरा गर्न सकेनन् । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा भाग लिएका थिए । पुरुषतर्फ कूल १७ खेलाडी सहभागी थिए । महिलातर्फ १५ खेलाडी सहभागी थिए ।

    बास्केटबलमा जापानसित पराजित

    महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल सोमबार जापानसित पराजित भएको छ । समूह बी अन्तर्गत नेपाल जापानसँग २२–४ अकले पराजित भएको हो । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान रहेका छन् । नेपालले अब बुधबार काजकिस्तानसित तथा शुक्रबार ताइपेईसित खेल्ने छ ।

    बक्सिङमा रविन विजयी

    पुरुष बक्सिङमा सोमबार नेपालका रविन थापाले ५१ किलो तौल समूहमा अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरे । उनी अंकका आधारमा ४–१ ले विजयी भएका हुन् । रविनले अब प्रिक्वाटर फाइनलमा उत्तर कोरियाका खेलाडीसित खेल्नेछन् ।

    तेक्वान्दोमा दुवै खेलाडी पराजित

    तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । तेक्वान्दोमा नेपालकी अन्जली तामाङले मिश्रित खेल प्रदर्शन गरिन् । महिला ४९ किलोमुनिको तौल समूहमा उनले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई १०–४ अंकले पराजित गरिन् । प्रिक्वाटर फाइनलमा भने अन्जली थाइल्यान्डकी खेलाडसित पराजित भइन् । यस्तै पुरुष ५८ किलोमुनीको राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका खेलाडसित पराजित भए ।

    जुडोमा पनि नेपाल पराजित

    जुडोमा पनि सोमबार नेपालका तीनवटै खेलाडी पराजित भए । नेपालका मनीता श्रेष्ठ, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भएका थिए।

    पुनम महिला ७५ किलोमुनिको तौल समूहमा मंगोलियाकी खेलाडीसत पराजित भइन् । महिला ५७ किलोमुनिको तौल समूहमा मनीता तुर्कमिनिस्तानकी खेलाडीसित पराजित भइन् । यस्तै पुरुष ८१ किलोमुनिको तौल समूहमा जंगबहादुर फिलिपिन्सका खेलाडीसत पराजित भए ।

    उसुमा कमजोर प्रदर्शन

    उसुमा पनि सोमबार नेपाली खेलाडीहरुको प्रदर्शन कमजोर रह्यो । थाउलोअन्तर्गत महिला चाङक्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे ।

    पौडीमा नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए

    पौडीमा पनि सोमबार नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए । महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन् । उनी आठ खेलाडी सहभागि हिटमा अन्तिम स्थानमा रहिन् । यस्तै पुरुष ५० मिटर फ्रिस्टायलमा एलेक्स शाह पनि आफ्नो हिटमा अन्तिम स्थानमा रहँदै बाहिरिए । रासस

  • चितवन राष्ट्रिय निकुन्जबाट आज दुई वटा गैंडा कोशी टप्पु स्थानान्तरण गरिँदै

    चितवन राष्ट्रिय निकुन्जबाट आज दुई वटा गैंडा कोशी टप्पु स्थानान्तरण गरिँदै

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुई पोथी गैँडा स्थानान्तरण गरिने भएको छ । कोशी पठाइने गैँडालाई नियन्त्रणमा लिइएको छ । निकुञ्जका प्राविधिक टोलीले गैँडालाई नियन्त्रणमा लिई खोरमा राखी सकेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । ती गैँडालाई आजै कोशी टप्पु पठाइने भएको छ ।


    वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार पुष्पा र अञ्जलीलाई स्थानान्तरण गर्न लागिएको हो । पूर्वी नेपालमा रहेको कोशी अहिले गैँडा विहीन अवस्थामा छ । सरकारले कोशीमा गैँडाको वासस्थान विस्तार गर्ने उद्देश्यले सो स्थानान्तरण गराउन लागेको हो । कोशीटप्पुका प्रमुख संरक्षण अधिकृत रमेश यादवले गैँडा आफूहरुकालागि नयाँ जनावर पाहुना भएको बताउँदै यसको राख्ने ठाउँ सबै तयारी पुरा गरिएको बताए ।


    चितवनबाट अहिले सम्म नेपालका विभिन्न निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूमा सय गैँडा स्थानान्तरण गरी सकिएको छ । निकुञ्जले पहिलो पटक २०४२ साल माघमा १३ वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरेको थियो । यो निकुञ्जमा अहिले सम्म चितवनबाट ९१ वटा गैँडा स्थानान्तरण गरी सकेको निकुञ्जमा तथ्याङ्क छ । सन् २०२१ को गणना अनुसार नेपालमा ७५२ गैँडा रहेका छन् । यस मध्ये गैँडाको मुख्य वासस्थान चितवन निकुञ्जमा मात्रै ६९४ गैँडा छन् ।

  • दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, भारतीय नागरिक पक्राउ

    दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, भारतीय नागरिक पक्राउ

    काठमाडौं । बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा सोमबार पूर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।


    अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् । सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनपहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएकामा सोमबार दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगाजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ ।

  • काठमाडौंमा इन्द्रजात्रा सुरु, के छ महत्व ?

    काठमाडौंमा इन्द्रजात्रा सुरु, के छ महत्व ?

    काठमाडौं । काठमाडौंमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा सुरु भएको छ । हरेक साल भाद्रशुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको शुरुवात हुन्छ । काठमाडौंमा ठूलो लिङ्गोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्गो ठड्याउने गरिन्छ । जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । इन्द्रजात्रा पर्वको मुख्य विधि वसन्तपुर दरबार क्षेत्रको कालभैरव अगाडि यः सिं अर्थात् लिङ्गो ठड्याउनु हो । यो लिङ्गो तान्त्रिक विधिबाट ठड्याउने गरिन्छ ।

    वर्षा र सहकालका देवता इन्द्रको पूजा एवम् सम्झनामा मनाइने यो पर्वमा थानकोटमा रहेको इन्द्रदहमा गएर रातभर जाग्राम बसेर इन्द्रको पूजा समेत गर्ने गरिएको छ । विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा आठ दिनसम्म मनाइन्छ । इन्द्रजात्राको तेश्रो दिन आउँदो बिहीवार कुमारी रथयात्रा हुन्छ । यो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

    बिहीवार राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरुलगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ । कुमारीको रथसँगै लाखे , पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिन्छ ।

    यो दिन विदेशी पाहुना पनि सहभागी हुने छन् । जात्राभर सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजा ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ढालेपछि इन्द्रजात्राका अवसरमा गरिने सबै धार्मिक गतिविधि पनि समापन गरिनेछ।

  • प्रधानमन्त्रीद्धारा माओत्सेतुङको समाधिस्थलमा श्रद्धाञ्जली व्यक्त

    प्रधानमन्त्रीद्धारा माओत्सेतुङको समाधिस्थलमा श्रद्धाञ्जली व्यक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित थियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि थियानमेन स्क्वायर पुगेका थिए । प्रधानमन्त्री दाहाललाई त्यहाँ चिनियाँ उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

  • पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषि ठहर

    पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषि ठहर

    काठमाडौं । पूर्वसचिव एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन् । डेढ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतले पूर्वमन्त्री श्रेष्ठलाई दोषी ठहर गरेको हो । सोमबार विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई दोषी ठहर गरेको हो । विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार अदालतले श्रेष्ठलाई ६ महिना कैद र ९८ लाख २९ हजार ५ सय ३७ रुपैयाँ जरिवाना र त्यति नै बराबरको बिगो जफत गर्न आदेश दिएको छ ।

    दोस्रो संविधानसभा निर्वाचन गराउन गठित खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री रहेका श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ मा ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बिगो, त्यति नै जरिवाना, भ्रष्टाचारबाट आर्जित सम्पत्तिले बढेरबढाइएको चलअचल सम्पत्ति जफत र कैद सजाय मागदाबीसहित विशेषमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको करिब डेढ वर्षमा सोमबार उनी दोषी ठहर भएका हुन् ।

    श्रेष्ठ दोस्रो संविधानसभा निर्वाचन गराउन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा २०६९ चैत १ मा गठित सरकारका शान्ति तथा पुनर्निर्माण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुदमन्त्री रहेका थिए । उनी शान्तिमन्त्री हुँदै शान्ति तथा पुनर्निर्माण कोषको रकम अनियमितता गरेको आरोप लागेको थियो । तर, अनुसन्धान अभावमा उनीमाथिको कसुर छानबिनमै परेको थिएन । अख्तियारका अनुसार श्रेष्ठले भ्रष्टाचार गरेर जोडेको सम्पत्ति घरजग्गा खरिद, चलचित्र उद्योग, खनिज उद्योग, सेयर कारोबारलगायतमा लगानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    अख्तियारले करिब ६ वर्ष लामो अनुसन्धान क्रममा श्रेष्ठसँग ११ करोड ३५ लाख ४४ हजार २ सय ९४ रुपैयाँ बराबरको चल–अचल सम्पत्ति भेटिएकामा ६ करोड ९० लाख १६ हजार ६ सय २७ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको थियो । मन्त्रीबाट बाहिरिएको दुई वर्षपछि २०७२ मंसिर १६ मा श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीको करिब ६ वर्षपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो।

    २०२६ चैतदेखि २०३५ कात्तिकसम्म गोरखाको आरुघाटस्थित भीमोदय माविका शिक्षक रहेका उनी २०३६ कात्तिक २६ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । २०६४ माघ ८ मा सचिवबाट अवकाश पाएका उनी करिब २८ वर्ष निजामती सेवामा रहे । अवकाशको करिब ६ वर्षपछि २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म करिब एक वर्ष मन्त्री बनेका थिए ।

    निजामती सेवा प्रवेश गरेको ३ वर्षपछि २०३९ सालबाट जग्गाजमिन खरिद, सेयर किनबेच, नातेदार तथा आफन्तका नाममा उद्योग सञ्चालनलगायतमा उनको संलग्नता देखिएको छ । २०३९ फागुन ११ मा सामाखुसीमा १२ आना ३ पैसा जग्गा खरिद गरेका श्रेष्ठले २०७२ सम्म आइपुग्दा दुई दर्जनभन्दा बढी ठाउँमा करोडौं मूल्य बराबरको जग्गा किनेको अभियोग थियो ।

  • नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

    नेप्सेमा सामान्य गिरावट, यी ६ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

    काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार १९ अंकले घटेको नेप्से लगातार दोस्रो दिन ओरालो लाग्दै आज ५ अंकले घटेको हो ।

    सोमबार नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा आइपुगेको छ । सूचकसँग आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७२ करोडले घटेर १ अर्ब ५६ करोडमा सीमित भएको छ ।

    आज २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक घटेको छ ।

    आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

    घट्दो बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एशियन हाइड्रोपावर, माइखोला, मन्दकिनी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन ऊर्जाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा

    ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भगिनीसम्बन्ध भएका विभिन्न देशका २० विदेशी पाहुनालाई ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न आमन्त्रण गरेको छ ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनीसम्बन्ध भएका चीन, अमेरिका, जापानलगायत देशका विभिन्न नगरका २० नगरप्रमुख इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो ।

    जात्रामा राष्ट्रप्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । मंगलबार हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि विधिवत रूपमा जात्रा सुरु हुन्छ । यही असोज ११ गते रथयात्रा र देवीदेवताको पूजाआजा गरी इन्द्रजात्रा पर्व मनाइँदै छ ।

  • चीनमा कोइला खानीमा आगलागी, कम्तिमा १६ जना मारिए

    चीनमा कोइला खानीमा आगलागी, कम्तिमा १६ जना मारिए

    काठमाडौं । चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी भएको छ । दुर्घटनामा कम्तिमा १६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो ।

    सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षा सावधानी नअपनाउँदा चीनमा पटक पटक कोइला खानीमा आगलागी हुने गरेको छ । पछिल्लोे समय भने खानी क्षेत्रको सुरक्षामा सुधार हुँदै गएको तर, नियम उल्लङ्घनका कारण दुर्घटना हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

  • जारी एसियाडमा नेपाली खेलाडीको प्रदर्शन कस्तो छ ?

    जारी एसियाडमा नेपाली खेलाडीको प्रदर्शन कस्तो छ ?

    काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदमा आइतबारसम्म नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । यस स्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण पदक जिते भने इन्डोनेसियाले रजत तथा मकाउले कास्य पदक प्राप्त गर्यो ।


    उसुको सान्सौं ृफाइटे तर्फ नेपालकी एलिना चौधरी र रोहित चुनारा पनि पराजित भए । महिला ५२ किलोतर्फ चौधरी इरानकी खेलाडीसँग पराजित भइन् । पुरुष ५६ किलोतर्फ चुनरा किर्गिस्तानका खेलाडीसँग हारे । ६० किलोमा नेपालका मगलप्रसाद थारु पनि किर्गिस्तानका खेलाडीसँगै पराजित भए । महिला ताइजियानमा नेपालकी सविता राई आठ दशमलव सात सय ९६ स्कोरका साथ अन्तिम स्थानमा रहिन् । उक्त स्पर्धामा चीन पहिलो, ब्रुनाइ दोस्रो तथा थाइल्यान्ड तेस्रो भयो । ७० किलोतर्फ नेपालका पदम राई क्वाटरफाइनलमा लाओसका खेलाडीसँग पराजित भए ।

    सुटिङमा पनि नेपालले आइतबार निराशाजनक खेल प्रदर्शन गर्यो । सुटिङको १० मिटर महिला एयर राइफल्समा श्लिषा भण्डारी ४७औं र सुस्मिता नेपाल ५८औं स्थानमा रहे। उक्त स्पर्धामा ५९ खेलाडी सहभागी भएका थिए।

    इ फुटबलतर्फ नेपालका समीर गुरूङ मकाउका खेलाडीसित २–१ अंकले पराजित भए। यसैगरी तेक्वान्दोको पुम्सेमा नेपालकी स्वस्तिका तामाङ सिंगापुरकी खेलाडीसित पराजित भइन् । पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसित क्वाटरफाइनलमा पराजित भए। उनले प्रिक्वाटर फाइनलमा पाकिस्तानका खेलाडीलाई हराएका थिए।

    यस्तै जुडोमा नेपालका विकास विक तुर्किमिनिस्तानका खेलाडीसित १०–० अकले पराजित भए। यसअघि उनले कम्बोडियाका खेलाडीलाई १०–० अकले पराजित गरेका थिए। देवकी श्रेष्ठ मंगोलिया तथा इन्द्र श्रेष्ठ हङकङका खेलाडीसित पराजित भए। पौडीको एक सय मिटर फ्रिस्टाइलको हिट राउन्डमा एलेक्स शाह आठौँ स्थानमा रहे । रग्बी सेभेनमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)का खेलाडीसित पराजित भए ।

    बक्सिङमा नेपालकी संगीता सुनार ६० किलो तौल समुहमा तथा दिपक श्रेष्ठ पुरुष ८० किलो तौल समुहमा पराजित भए । सुनार भियतनामकी खेलाडीसित ५–० अंकले पराजित भइन् । श्रेष्ठ उज्वेकिस्तानका खेलाडीसित ५–० अंकले नै पराजित भए। महिला ५४ किलो तौल समुहमा नेपालकी मिनु गुरुङ जापानकी खेलाडीसित ५ ० अंकले पराजित भइन्।

    टेनिसमा नेपालका प्रदीप खड्काले पुरूष सिंगल्समा इस्ट टिमोरका खेलाडीलाई ६–० र ६–० अकको सोझो सेटमा पराजित गरे। उनी अन्तिम ३२ मा प्रवेश गरेका छन्। तर नेपाली खेलाडी महिला सिंगल्स र पुरुष डबल्सतर्फ भने पराजित भए। महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमै बाइ पाएका थिए।

    दोस्रो चरणमा विष्ट थाइल्यान्डकी खेलाडीसित तथा राणा दक्षिण कोरियाली खेलाडीसित पराजित भइन् । पुरुष डबल्समा प्रदीप खड्का र अभिषेक बाँस्तोलाको जोडी भारतीय खेलाडीसित ६–२ र ६–३ अकले पराजित भए । तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्बू पनि पराजित भए । उनी फिलिपिन्सका खेलाडीसित पराजित भए । लिम्बू सेमिफाइनल सेमिफाइनल पुग्न असफल रहे ।

  • सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रोल्पाबाट दाङतर्फ तरकारी लैजाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा सोमबार बिहान साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना सख्त घाइते भएका छन् ।

    सख्त घाइते भएका तुलसीपुर उपमहानगरपालिका–२ बस्ने वर्ष ३५ का नारायण योगीलाई उपचारको लागि प्रादेशिक अस्पताल दाङ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    जिप दुर्घटनामा परेर मृत्यु भएका दुवैको अहिले सनाखत नभएको उनले जानकारी गराए । उनका अनुसार तरकारी बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको जिप सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

  • प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

    प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज बेइजिङमा भेटवार्ता हुने भएको छ । स्थानीय समय अनुसार बिहान १० बजे (नेपाली समय अनुसार बिहान ८ बजे) हुने भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीले हस्ताक्षर गर्नेछन् । चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका हुन् ।

    चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने, चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने छन् ।

  • फुटपाथ व्यवसायीको विस्थापन होइन,व्यवस्थापन हुनुपर्छ : गगन थापा

    फुटपाथ व्यवसायीको विस्थापन होइन,व्यवस्थापन हुनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्ने बताएका छन् ।

    राष्ट्रिय सभागृह बाहिर छ दिनदेखि उभिएर ध्यानाकर्षण गराइरहेका सामाजिक अभियन्ता ई: लगायतका युवाहरुले उठाएका विषयमा ध्यानाकर्षण भएको भन्दै महामन्त्री थापाले त्यसबारे काठमाडौंका मेयर बालेन्द्र शाहसँग भेटेरै कुरा गर्ने कोशिस गरिरहेको समेत बताएका छन् ।

    लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्ने भन्दै उनले शान्तिपूर्णरुपमा उठाइएका विषयलाई सरकारले झन् महत्वका साथ सुन्नुपर्ने बताएका छन् ।

    महामन्त्री थापाले अभियन्ताहरुले उठाएका विषयमा महानगरपालिकाले संवादको वातावरणमार्फत् टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

    ‘लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ। ई: लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायीको विस्थापन होइन, उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन्,’ थापाले आइतबार सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘यसबारे सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै। त्यस कारण मेरो आग्रह छ-निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस्।’

  • गैंरआवासीय नेपालीले दूतावासमार्फत नागरिकताको निवेदन दिन सक्ने

    गैंरआवासीय नेपालीले दूतावासमार्फत नागरिकताको निवेदन दिन सक्ने

    काठमाडौं । गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकका अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन पाउने बाटो खुलेको छ । सरकारले नागरिकता नियमावली २०६३ मा तेस्रो संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरिसकेको छ । त्यस्तो नागरिकता प्राप्तिका लागि गैरआवासीय नेपालीले विदेशबाटै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    गृह मन्त्रालयका अनुसार गैरआवासीय नेपाली नागरिकता दिने गरी नियमावली क्याबिनेटबाट स्वीकृत भइसकेको छ । नियमावली आएपछि पुरानो कार्यविधिमा नयाँ व्यवस्था थप गरेर कार्यान्वयन हुने छ । प्रशासनिक र राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको छ । नेपालमा तीन पुस्ताभित्रका मानिसले मात्र गैरआवासीय नागरिकता पाउँछ, त्योभन्दा पछाडिका पाउँदैन ।

    मन्त्रालयका अनुसार गैरआवासीय नेपालीलाई आफू रहेको मुलुकस्थित नेपाली राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । विदेशमा बसोबास गर्ने नेपालीले गैरआवासीय नेपाली नागरिकता लिन चाहेमा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्येको नागरिकताका आधारमा गैरआवासीय नेपाली नागरिकताको लिने हो, सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्ने छ ।

    प्रमुख कटुवालका अनुसार गैरआवासीय नेपाली नागरिकता लिन हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाणलगायतका कागजात पेस गर्नुपर्ने छ । सार्क राष्ट्रमा बसोबास गर्नेले भने गैरआवासीय नेपाली नागरिकता नपाउने मन्त्रालयले जनाएको छ ।

    गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्ने छ । प्रमुख जिल्ला अधिकारीले निवेदक गैरआवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्ने छ । नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिबद्धता अर्थात् शपथ गराउनुपर्ने व्यवस्था छ ।