Category: समाचार

  • प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ पुग्दै

    प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ पुग्दै

    काठमाडौं । चीन भ्रमणका सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउ प्रान्तबाट राजधानी बेइजिङ पुग्ने भएका छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछन् । उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने छन् । उनको बसोबासको प्रबन्ध सोही स्टेट गेस्ट हाउसमा मिलाइएको छ ।

    आज अपराह्न ४ बजे नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीहरुसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरुसमेतको टोली सहभागी हुने छ । उक्त समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् । पौने ६ बजे उनी बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । सोमबार समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड शनिबार चीनको हान्जाउ पुगेका थिए । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्नुका साथै १९ औं एसियन गेम्सको उदघाटन समारोहमा सहभागी भएका थिए ।

  • प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाने

    प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाने

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा १३ औं ‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली जाने भएका छ्न । भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनमा सहभागी हुन शर्मा आइतबार त्यसतर्फ जाने भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको र यसपटकको सहभागिता पनि त्यसैको निरन्तरता भएको बताएका छन् ।

    भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह-आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश र्फकने कार्यक्रम छ । पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो-प्यासिफिक’ भनिएको छ । ‘इन्डो-प्यासिफिक’ अमेरिका सहितका देशहरूको सैन्य रणनीति हो । सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मालाई भारतीय सेनाध्यक्ष मनोज पाण्डेले निमन्त्रणा पठाएका थिए ।

    प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ । उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो-प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औं ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन् ।

    सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुनेछन् । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत १५ देशका प्रधानसेनापतिहरू नै सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

  • युक्रेनले रुसमा हान्यो मिसाइल, क्षति कति ?

    युक्रेनले रुसमा हान्यो मिसाइल, क्षति कति ?

    काठमाडौं । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा मिसाइल आक्रमण गरेको छ । रुसी नौसेनाका अधिकारीहरुलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् । आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको दाबी युक्रनी सेनाको छ । रुसले भने आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ ।


    रुसको ब्ल्याक सी क्षेत्रका कमाण्डरहरु सेवास्तोपोल भन्ने स्थानमा बैठक बसिरहेको बेला सोही बैठकलाई लक्षित गरी युक्रेनले शुक्रबार आक्रमण गरेको थियो । सेवास्तोपोललाई रुसी नौसेनाको सबैभन्दा बलियो अड्डा मानिन्छ । आक्रमणमा स्टोर्म श्याडो मिसाइलको आक्रमण गरिएको थियो । यो मिसाइल युक्रेनलाई फ्रान्स र बेलायतले उपलब्ध गराएका थिए ।

    युक्रेनको सेनाले संक्षिप्त सूचना जारी गर्दै भनेको छ, ‘यो हमलाबाट दर्जनौं मारिएका छन् र घाइते भएका छन् । यो अड्डामा जहाज व्यवस्थापनका शीर्ष व्यक्तिहरु थिए ।’ बीबीसीले भने युक्रेन र रुस दुवैको दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको जनाएको छ । रुस र युक्रेन दुबैले आक्रमण सम्बन्धमा अलग-अलग दाबी गर्दै आएका छन् ।

  • काठमाडौंमा छुट्टाछुट्टै आगलागीमा दुई घर जले

    काठमाडौंमा छुट्टाछुट्टै आगलागीमा दुई घर जले

    काठमाडौं । काठमाडौंमा भएको दुई छुट्टाछुट्टै आगलागीमा दुई घर जलेका छन् । काठमाडौंको सतुंगल र चाबहिलमा आगलागी भएको हो । चन्द्रागिरि नगरपालिका ११ मा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । चाबहिलस्थित एक घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    सतुंगलमा चोककुमार श्रेष्ठले सन्चालन गरेको चप्पल कारखानामा गए राति विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा चप्पल बनाउने कच्चा पदार्थ जलेर नष्ट भएको छ । गएराति नै काठमाडौंको चाबहिलमा इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

  • दाङमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई जना घाइते

    दाङमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई जना घाइते

    काठमाडौं । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् । शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिएका छन् ।

    त्यस्तै खुकुरी रहारबाट सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमलाकुमारी हमाल घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने टेकबहादुरलाई घरभित्र लुकिरहेको अवस्थामा खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो कुराकानी भएको थियो ।

    वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । उनीहरुबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ । भेटका क्रममा राष्ट्रपति सीले नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदभावविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप उचाइमा पुग्ने बताएका थिए ।

    प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका थिए । उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिवद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगीकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने धारणा राखेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण गरेका थिए । राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरुको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एशियाबाट पहिलो नेताका रुपमा चीनमा स्वागत गरेको स्मरण गरे । उनले यस किसिमका छलफलले दुई देशबीचका सम्वन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताएका थिए । एक हप्ता चीनमा रहने प्रचण्ड प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ । त्यस्तै उनले नेपालसँगको सीमा क्षेत्र तिब्बत पनि भ्रमण गर्नेछन् ।

  • पारस खड्का क्यानको सचिवमा निर्वाचित

    पारस खड्का क्यानको सचिवमा निर्वाचित

    काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

    क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् ।

    अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको थियो ।जसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भए । मधेश प्रदेशबाट माधव कुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोला प्रथाबाट माधवकुमार कर्मचार्य विजयी भए ।

    गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी भए भने बागमतीमा दिवाकर घलेले ४६ मत ल्याएर विजयी भए । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी भए । खुल्ला सदस्यमा धीरेन्द्र साउद ५९, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१, वीरेन्द्र चन्द ३४ मत ल्याएर निर्वाचित भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत पाएका थिए र गोला प्रथा गर्दा करण चुनिएका छन्

  • एसियाली खेलकुद आजबाट, नेपालको जम्बो सहभागिता

    एसियाली खेलकुद आजबाट, नेपालको जम्बो सहभागिता

    काठमाडौं । एसियाली खेलकुद आजबाट सुरु हुँदैछ । प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुने छ । उद्घाटन समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चीन पुगिसकेका छन् । उनी अमेरिकाबाट सिधै चीन पुगेका हुन् । कोरोनाका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजनाका लागि चीनले कुनै कसुर बाँकी राखेको छैन ।


    चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । चिनियाँ मिडियाका अनुसार सीले प्रतियोगिताको सफल आयोजनाका लागि व्यक्तिगत रुचि देखाउँदै लगातार निर्देशन पनि दिइरहेका छन् । अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुख समेत यस समारोहमा उपस्थिति हुने छन् ।

    प्रतियोगिताकै लागि भनेर पूरा हाङचउ सहर सिंगारिएको छ र यसक्रममा चीनले बाँकी विश्वलाई भन्न चाहेको छ, ‘मुटुदेखि मुटुसम्म भविष्य’ का लागि । यसपल्ट प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ, यो एसियाली खेलकुदमा अहिलेसम्मको कुनै पनि सहभागिताभन्दा बढी हो । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ । चीन पुराना दुई संस्करणभन्दा बढी सफल र भव्य आयोजना गर्न चाहन्छ, समग्रमा १९ औं एसियाली खेलकुद ।

    सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो संस्करणबाट सुरु भएको प्रतियोगिताको यसपल्टको संस्करण यस क्षेत्रको जनसंख्या, अर्थतन्त्रको आकार र भौगोलिक कारणले पनि बृहत् मानिएको हो । खासमा यो प्रतियोगिता पछिल्लो सेप्टेम्बरमै हुनुपर्ने थियो । चीनको कोभिड प्रकोपप्रति शून्य सहनशीलताका कारण प्रतियोगिता एक वर्ष पछाडि सरेको

    प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् । हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, त्यसमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् । उद्घाटन स्थलको नाम ‘बिग लोट्स’ पनि छ र यहीं समापन समारोह पनि आयोजना हुनेछ । प्रतियोगिताकै लागि भनेर १० हजार क्षमताको भव्य तथा सानदार एसियाली भिलेजको पनि निर्माण गरिएको छ ।
    उद्घाटन समारोहमा सुरुमै गरिने मार्चपासमा एक–एक महिला र पुरुष खेलाडीले नेपालको झन्डा बोक्दै अगुवाइ गर्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले यो ऐतिहासिक अवसर पाउन लागेका छन् । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता हुन् ।

    यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए । उद्घाटन समारोह दुई घण्टाका हुनेछ । त्यसको सुरुमा प्रतियोगितामा सहभागी ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन् । नेपालले कुल २९ खेलमा सहभागिता जनाउँदै छ । सहभागी हुने खेलाडीको संख्या भने २ सय ५३ रहेको छ ।

  • मलङ्गवामामा कर्फ्यु आदेश निरन्तर

    मलङ्गवामामा कर्फ्यु आदेश निरन्तर

    काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बिच शुक्रवार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ । प्रहरीको बाक्लो उपस्थितिमा शिव सागर चोक नजिकको पोखरीमा सबै स्थानका मूर्ति एकैसाथ सेलाउने काम गरिएको हो । मूर्ति विसर्जन गर्न लैजाने क्रममा बिहीबार साँझ दुई समुदायबिच झडप भएपछि सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्नुपरेको थियो ।

    बिहीबार राति १० बजेदेखि लगाइएको कर्फ्यु शनिवार पनि जारी नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कर्फ्यु हटाउने वा नहटाउने भन्नेबारेमा निर्णय गर्न शनिवार जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ । निरन्तरको कर्फ्युका कारण मलङ्गवाको जनजीवन भने कष्टकर बन्दै गएको छ ।

    हाटबजार बन्द छन् । सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा ठप्प जस्तै रहेकाले अत्यावश्यक काम परेका सेवाग्राही मारमा परेका छन् । झडप रोक्न बिहीबार साँझदेखि नै निरन्तर बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । जिल्लाभरका युनिटबाट थप मद्दत टोली मलङ्गवा उतारिएको छ ।

    शुक्रवार जिल्ला प्रशासन कार्यालयमा ढुङ्गा मुढासहित प्रदर्शन उग्र बनेपछि प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस र केही राउन्ड हवाई फायर गरेको थियो । शुक्रवार नै बसेको सर्वपक्षीय÷सर्वदलीय बैठकले शान्ति भङ्ग गर्ने कार्यमा संलग्न दोषीलाई पक्राउ गरी कानुन बमोजिमको कारबाही गर्ने निर्णय गरेको थियो ।

  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता आज

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता आज

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुने भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले हाङझावमा चिनियाँ राष्ट्रपति चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड शुक्रबार न्युयोर्कबाट चीन गएका थिए। हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    आज मध्याह्न १२ बजे संक्षिप्त भेटपश्चात प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङले एउटै रिसोर्टमा लञ्च गर्नेछन्। त्यसपछि अपराह्न ४ बजे द्विपक्षीय भेटवार्ता हुने बताइएको छ। त्यसपछि बेलुका ८ बजे हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सरिक हुनेछन्। प्रधानमन्त्री प्रचण्ड भोलि बेइजिङ जानेछन्। त्यहाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्‍ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल(चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

    त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन्। नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कनेछ।

  • मुगुको गमगढीमा आगलागी

    मुगुको गमगढीमा आगलागी

    काठमाडौं । जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।

    डीएसपी थापाका अनुसार बजारका ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ । जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । तर, क्षतिको पूर्ण विवरण भने आइनसकेको छैन ।

  • सुनको आयात हुने कोटा दोब्बर बन्यो

    सुनको आयात हुने कोटा दोब्बर बन्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सरकारको सिफारिसमा बजारमा सुनको आपूीर्त सहज बनाउन यस्तो निर्णय गरिएको हो ।’ यद्यपि राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो ।

    वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउनेमा २२ फागुन २०७८ मा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो । कोभिड(१९ महामारी पछि बढेको आयात र रसिया(युक्रेन युद्धपछि बढेको उपभोग्य वस्तुको मूल्यले आयातमा परेको थप दबाबपछि बाह्य क्षेत्रमा समस्या देखिने अवस्था आउँदा सरकारले सुन आयातको दैनिक कोटा घटाएको थियो ।

    तर, अब बाह्य क्षेत्र स्थिर बन्दै गएको र सरकारलाई पनि आयात संकुचन हुँदा राजस्वमा दबाब बढ्दै गएपछि सरकारले सुन आयातको सीमा बढाउने निर्णय गर्दै कार्यान्वयनका लागि राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयातको सीमा बढाउने परिपत्र जारी गर्ने तयारी गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

  • त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक

    त्रिभुवन विमानस्थल आसपास चंगा र ड्रोन उडाउन रोक

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा चङ्‍गा, ड्रोन तथा बेलुन उडाए कारवाही हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । यस क्षेत्रमा पटक पटक यस्ता वस्तु उडाउने गरेको र यसले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै यस्तो गतिविधि नगर्न भनेको हो ।

    चङ्‍गा, ड्रोन, बेलुन उडाउने र लेजर लाइट बाल्दा सुरक्षामा असर गर्न सक्छ । सोहीकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान उड्ने क्षेत्रमा यस्ता गतिविधि नगर्न सचेत गराउँदै आएको छ । यस्ता गतिविधि भएको पाइएमा वा सूचनाको अटेरी वा अवज्ञा गरेमा कानून अनुसार कारवाही हुने कार्यालयको भनाइ छ ।

  • विश्व बैंकले दिने भयो झण्डै ३ अर्ब अनुदान

    विश्व बैंकले दिने भयो झण्डै ३ अर्ब अनुदान

    काठमाडौं । नेपालको कृषि तथा पोषण क्षेत्रलाई सहयोग गर्न विश्व बैंकले करिब २ अर्ब ६५ करोड २० मिलियन डलर) अनुदान स्वीकृत गरेको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना लागि उक्त अनुदान स्वीकृत गरेको हो । उक्त कार्यक्रमबाट नेपालका १६ वटा गाउँपालिकाका ५५ हजार भन्दा बढी साना किसानलाई सुधारिएको कृषि उत्पादकत्व र पोषण अभ्यास तथा जलवायु स्मार्ट कृषि मापन अभ्यासहरूबाट लाभान्वित गर्ने लक्ष्य लिएको जनाएको छ ।

    ‘दिगो विकास लक्ष्यहरू र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिबद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हाँसिल गर्नु र गरिबी न्यूनीकरण नेपाल सरकारको राष्ट्रिय लक्ष्य हो’ मालदिभ्स र नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले भने । उक्त कार्यले नेपालको उत्पादकत्व र जीविकोपार्जन र सीमान्तकृत समुदायहरूको पोषण सुरक्षा सुधार गर्न नेपाल सरकारको प्रयासलाई सहयोग पुग्ने समेत उनले विश्वास व्यक्त गरेका छन् ।

    खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना तीनवटा मुद्दाहरू छन् । जलवायु र पोषण स्मार्ट कृषि प्रविधि अनुकूलन र प्रसार, आय उत्पादन र विविधीकरण र पोषण सुरक्षा सुधार । यसले खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

  • सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दाेलन फिर्ता

    सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दाेलन फिर्ता

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच ७ बुँदे सहमति भएको छ । सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् । अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन्।

    वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए।

    शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने पनि सहमति भएको छ ।

    सरकारले पेश गरेको सहमतिको मस्यौदामा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न लगायतको विषयमा सहमति जुटेको छ ।

  • यातायात ठप्प पारेर शिक्षकहरुको नाचगान, वार्ता/विरोध सँगसँगै

    यातायात ठप्प पारेर शिक्षकहरुको नाचगान, वार्ता/विरोध सँगसँगै

    काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको शिक्षा सम्बन्धी विधयेकलाई लिएर असन्तुष्ट शिक्षकहरुकाे आन्दाेलनाे आज तेस्राे दिन हाे । तर,आन्दाेलनमा आएका शिक्षकहरु तेस्राे दिनमै सुस्ताएका छन् ।

    नेतृत्व वार्ताको तयारीमा जुटेपछि शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै आन्दोलनरत शिक्षकहरू काठमाडौंको माइतीघरमा केन्द्रित भएका छन् ।

    नेतृत्व वार्तामा जुटेपछि बानेश्वर-माइतीघर सडकमा सवारी आवागमन ठप्प पारेर उनीहरुले नाचगानसहित प्रदर्शन गरेका छन् । आन्दोलनका कारण आज पनि काठमाडौँको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

    सरकारले आजै शिक्षकको आन्दोलन टुंगिने गरी वार्ता गर्ने तयारी गरेको छ । तर विहान सरकारका प्रतिनिधिसँग भएको वार्ता विफल भएपछि आजैं वेलुकीको लागि वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

  • प्रचण्ड आज अमेरिकाबाट सिधै चीन जाँदै

    प्रचण्ड आज अमेरिकाबाट सिधै चीन जाँदै

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट सिधै चीन जाने भएका छन् । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज हाङझाव जान लागेका हुन्। न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ। भोलीदेखि सुरू हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेट्ने कार्यक्रम छ।

    चीनको सात दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष ‍झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्‍ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल(चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्।

    त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन्।

  • संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन, शान्ति कायम राख्न विश्व समुदायलाई आह्वान

    संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन, शान्ति कायम राख्न विश्व समुदायलाई आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गरेका छन् । भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताउँदै उनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताए ।


    संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हतियारमा खर्च बढ्दै जाँदा २०३० को एजेन्डा कार्यान्वयनका लागि स्रोतसाधनको अभाव भएको बताए । यस्तो परिस्थितिलाई सच्याउँदै शान्ति, समृद्धि र प्रगतिका साझा लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डले विश्व समुदायलाई अपिल पनि गरेका छन् ।

    नेपालको राजनीतिक गतिले स्थिर आकार लिएकाले अब नेपालको ध्यान आर्थिक रूपान्तरणको एजेन्डामा रहेको समेत उनले उल्लेख गरे । वर्तमान सरकार विकासका कामलाई तीव्रता दिन र सुशासनलाई सुनिश्चित गर्न सम्पूर्ण शक्ति र स्रोत परिचालनमा केन्द्रित रहेको समेत उनले बताए । दिगो विकास लक्ष्यलाई विकासको भिजन र प्राथमिकताको केन्द्रमा राखेर काम गर्दै आएको समेत प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।


    यद्यपि, कोभिड–१९ महामारी, जलवायु परिवर्तन र बढेको भू–राजनीतिक प्रतिस्पर्धा जस्ता सङ्कटहरूले दिगो विकास लक्ष्यमा भएको प्रगतिलाई खतरामा पारेको उल्लेख गर्दै उनले विकास सहायता, प्रत्यक्ष वैदेशिक लगानी, निर्यात प्रवर्द्धन, प्रविधि हस्तान्तरणमा परिवर्तित स्तरको अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेका छन् ।

  • बाँकेको बाल सुधार गृहमा झडप, एक जनाको मृत्यु

    बाँकेको बाल सुधार गृहमा झडप, एक जनाको मृत्यु

    काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । राती भएको झडपमा एक जनाको मृत्यु भएको र १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरलाई उदृत गर्दै सरकारी सञ्चारमाध्यम गोरखापत्रले जनाएको छ ।

    दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ । बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन नभएको समाचारमा उल्लेख छ ।

    पछिल्लो पटक लागु औषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधारगृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको बताइएको छ । यसअघि माघ अन्तिम सातापनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो । बालिग भए पनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ ।

  • सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि वार्ता

    सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि वार्ता

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज पनि वार्ता हुने भएको छ । वार्ता बिहान नौ बजेबाट सुरु गरिने भएको छ । बिहीबार बिहान र बेलुका दुई चरणमा समेत छलफल भएको थियो । बिहानको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी थिए ।

    बिहीबार बेलुका फेरि गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राईका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा। प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ सहित ती मन्त्रालयका सचिवहरुसहित शिक्षकका प्रतिनिधिहरुसँग छलफल भएको थियो । साँझ ७ बजेदेखि सुरु भएको छलफल बेलुका साढे ९ बजेसम्म चलेको थियो । सो छलफलमा शिक्षकका प्रतिनिधिहरुले १७ बुँदे माग प्रस्तुत गरेका थिए । मन्त्रीहरुले कतिपय माग संविधान संशोधन गर्नुपर्ने खालका रहेकाले उक्त मागमा सहमति हुन नसक्ने बताएका थिए ।

    शिक्षकहरुसँगको छलफलपछि सञ्चारमन्त्री रेखा शर्माले शिक्षकहरुले राखेका कतिपय माग संविधान संशोधन गर्नुपर्ने अवस्थाका र कतिपय माग ऐन–नियमावली संशोधन गरेर गर्न सकिने खालका भएको बताइन् । ऐन–नियमावली संशोधन गर्ने कुरा संसदबाट सम्बोधन हुनसक्ने भए पनि विद्यालय शिक्षा स्थानीय तह मातहतमा राख्न हुन्न भन्ने माग संविधानसँग जोडिएकाले उक्त विषयमा समीक्षा मात्र गर्न सकिने तर सहमति नहुने बताइन् ।

    विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुको मुख्य सरोकार आफूहरुको सरुवा, बढुवा र कारबाहीको अधिकार स्थानीय तहलाई दिन हुँदैन भन्ने छ ।

  • मलंगवामा किन लाग्यो कर्फ्यु ?

    मलंगवामा किन लाग्यो कर्फ्यु ?

    काठमाडौं । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएको छ । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउनु परेको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

    प्रहरीका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ साढे ७ बजे मुस्लिम बस्ती पुगेपछि बिजुलीको लाइन कटेको थियो । त्यसपछि अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडपको अवस्था आएको हो । एक युवकमाथि छुरा प्रहार भएको समेत बताइएको छ । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    यसले थप अप्रिय घटना निम्तन सक्ने भएकाले अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको छ ।

    कर्फ्यु लगाइएको सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

    यसअघि कृष्णष्टमीको मूर्ति सेलाउने क्रममा पनि सोही वस्तीमा दुबै समुदायबीच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो ।

  • यूरोप-अमेरिकी पठाइदिने प्रलोभनमा ४ करोड ठगी, म्यानपावरको अनुमति खारेज

    यूरोप-अमेरिकी पठाइदिने प्रलोभनमा ४ करोड ठगी, म्यानपावरको अनुमति खारेज

    काठमाडौं । वीस एचआर सोलुसनका सञ्चालकहरुमाथि झण्डै ४ करोड रुपैयाँ ठगीको अभियोगमा मुद्दा दायर भएको छ । कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ र फडिन्द्र कोइरालाको मिलेमतोमा ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधीकरण समक्ष अभियोग पत्र दायर गरेको जनाएको छ ।

    विभागका निर्देशक कविराज उप्रेतीका अनुसार यो म्यानपावरबाट पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको थियो । वैदेशिक रोजगारीमा नपठाएको र रकम समेत फिर्ता नगरेपछि उजुरी परेको थियो । पीडितहरुलाई ५० प्रतिशत रकम हर्जना तिर्नुपर्ने निर्णय गर्दै विभागले उक्त म्यानपावर खारेज समेत गरिदिएको छ ।

  • दुई महिनामा साढे ५ अर्बको विजुली निर्यात

    दुई महिनामा साढे ५ अर्बको विजुली निर्यात

    काठमाडौं । चालु चालु (आव) २०८०–८१ को दुई महिना (साउन–भदौ)मा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको जनाएको छ ।

    दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ) विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्री दर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट १० रुपैयाँ ३७ पैसा छ ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड ९आईएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ ।

    भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिष्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजाफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारणलाइनबाट निर्यात भइरहेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताएका छन् । ‘देशभित्र उत्पादित विद्युत् यही खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौं, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ’, घिसिङले भने, ‘खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रुपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौं ।

  • उच्चपदस्थलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन

    उच्चपदस्थलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन


    काठमाडौं । संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरु (उच्च पदस्थ व्यक्ति) लाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

    बिहीबार बसेको बैठकले भीभीआईपी र भीआईपीहरुलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

    समितिले उनीहरुलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि अनुरोध गरेको छ । त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।

    त्यस्तै समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकोमा कार्यान्वयनमा प्रभावकारिता नभएकाले सो निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

  • प्रचण्डको चीन भ्रमण तालिका सार्वजनिक,हाङजाउमा सी चिनफिङसँग भेटवार्ता

    प्रचण्डको चीन भ्रमण तालिका सार्वजनिक,हाङजाउमा सी चिनफिङसँग भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ। रराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी यही असोज ६ गतेदेखि १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्ने जनाएको हो।

    चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनले राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नेछन् ।

    भ्रमणको क्रममा दुई देशबीच विभिन्न विषयमा सम्झौता पनि हुने जनाइएको छ । भ्रमणका क्रममा हाङजाउमा प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि भेटवार्ता हुनेछ।

    साथै प्रचण्ड र चीनका प्रधानमन्त्री लि क्वाङबीच द्विपक्षीय भेट हुनेछ। यस्तै, हाङजाउबाट बेइजिङ पुगेर प्रचण्डले चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका पनि रहेको छ।

    चीन भ्रमणका क्रममा प्रचण्डको टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ लगायत सहभागी हुनेछन्। उनको भ्रमणका सरकारका उच्च अधिकारीसँगै व्यापारिक क्षेत्रबाट पनि सहभागिता हुने मन्त्रालयले जनाएको छ।

    यो भ्रमणले सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउनुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने विज्ञप्तिमा छ । प्रधानमन्त्री ३० सेप्टेम्बरमा स्वदेश फर्कनेछन् । संयुक्त राष्ट्रसंघको महासभा भाग लिन हाल अमेरिकाको न्युयोर्क पुगेका दाहाल त्यतैबाट चीन जानेछन् ।

  • शिक्षक र सरकारबीच वार्ता सुरु

    शिक्षक र सरकारबीच वार्ता सुरु

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता सुरु भएको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षक वार्तामा बस्न मानेका थिएनन् । बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज गृह मन्त्रालयमा वार्तामा बसेका छन् ।

    बिहान आठ बजेदेखि जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।

    वार्तामा शिक्षकहरुका मागबारे छलफल भइरहेको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले बिहीबार पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

  • शिक्षकको आन्दोलन आज पनि, पठनपाठन प्रभावित

    शिक्षकको आन्दोलन आज पनि, पठनपाठन प्रभावित

    काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित बनेको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षक आन्दोलन गर्न काठमाडौं भेला भएसँगै पठनपाठन प्रभावित भएको हो । देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो । संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

    विद्यालय बन्दको घोषणा नै गरेर शिक्षकहरुले आन्दोलन थालेसँगै आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन रोकिने भएको छ । विधेयकको परिच्छेद–७ मा शिक्षकको सरुवा तथा बढुवाको अधिकार पालिकालाई दिइने प्रावधान छ । यसमा शिक्षकहरूको मुख्य असन्तुष्टि छ । उनीहरूले यो अधिकार जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने माग राखेका छन् ।

    हिजो काठमाण्डौको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म हजारौँ शिक्षक आन्दोलनमा उत्रिए । शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको नेतृत्व र आह्वानमा आन्दोलन थालिएको छ । नेपाल शिक्षक महासङ्घले माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा मन्त्रालयले मङ्गलवार वार्तामा बोलाएको थियो । तर शिक्षक महासङ्घ यो वार्तामा बसेन । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरी व्यवस्था मिलाएको महासङ्घले जनाएको छ ।

    काठमाण्डौ महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलनमा जाँदा भएको शैक्षिक क्षतिलाई बिदाका दिन पढाएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएपछि बसेको महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले अहिले आन्दोलनमा जाने र यसको घाटा बिदाका दिन पढाएर पूरा गर्ने निर्णय गरेको हो ।

    शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अनुसार देशभर २७ हजार तीन सय ४३ वटा सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ जना शिक्षक कार्यरत छन् । शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार जना विद्यार्थीको पढाइ प्रभावित भएको छ । शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएसँगै पठनपाठन प्रभावित भएको हो ।

  • न्यूयोर्कमा नेपाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

    न्यूयोर्कमा नेपाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ। प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

    दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए। प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन्।

  • संयुक्त राष्ट्रसंघको महासभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन

    संयुक्त राष्ट्रसंघको महासभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । महासभा सुरू भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने भएका हुन्। सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु परिवर्तनका बारेमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट धारणा राख्ने यसअघि नै जानकारी गराइसकेका छन्। त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासनप्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायत विभिन्न विषयमा जानकारी गराउनेछन्।

    यसै वर्ष दिगो विकास, जलवायु परिवर्तन दिगो विकासका लक्ष्यहरू हाँसिल गर्न वित्तिय प्रवन्धलगायतका संयुक्त राष्ट्रसंघका मुलुकहरूको साझा चासो र सरोकारका विषयहरूमा पनि धारणा राख्ने प्रधानमन्त्री प्रचण्डले न्युयोर्क जानुअघि संसदलाई जानकारी दिएका थिए। नेपालले यसपालिको महासभामा अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ देशको प्रतिनिधित्व गर्द साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणा राखेको छ।
    महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड भोलि न्युयोर्कबाट चीन जानेछन्।

    rss

  • भारत र क्यानडाबीचको सम्बन्ध चिसिँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित

    भारत र क्यानडाबीचको सम्बन्ध चिसिँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित

    काठमाडौं । भारत र क्यानडाबीच देखिएको कूटनीतिक विवादको बाछिटा अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नदिन पश्चिमा देशका मन्त्री र अधिकारीहरूले ठूलो मेहनत गरिरहेको समाचार माध्यमहरुले जनाएका छन् । अमेरिका र अन्य पश्चिमा शक्तिहरूले क्यानडासँगको विवादका कारण भारतसँग आफ्नो सम्बन्ध नबिग्रियोस् भन्ने चाहेको समेत समाचारमा जनाइएको छ ।

    भू–राजनीतिको ठूलो मैदानमा भारत एउटा प्रमुख खेलाडी भइसकेको छ। भारत विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश मात्र नभएर यो उदीयमान शक्ति राष्ट्र र विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र पनि हो। यसलाई पश्चिमा राष्ट्रहरूले चीनसँगको सम्भावित सुरक्षा पर्खालको रूपमा पनि हेरेका छन्।

    भारतमा हालै भएको जी२० सम्मेलनका क्रममा पनि यो देखियो। युक्रेनका पश्चिमा सहयोगी देशहरूले सम्मेलनपछि जारी गरेको वक्तव्यमा युक्रेनमाथिको आक्रमणबारे भर्त्सना गर्ने क्रममा रुसको नाम लिएनन्। उनीहरूले वक्तव्यमा लेखिने शब्दको विषयमा विवाद गरेर भारतसँगको सम्बन्ध बिगार्न चाहेनन्। बरु यसले किएभमा कतिपयलाई रुष्ट बनायो।

    पश्चिमा कूटनीतिज्ञहरूलाई अहिले क्यानडा र भारतबीचको विवादमा देशहरूले एउटाको पक्ष लिन सुरु गर्लान् कि भन्ने डर छ। क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रूडोले पश्चिमी क्यानडामा गत जुनमा मारिएका एक जना सिख अभियानकर्मीको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि पछिल्लो साता भारत र क्यानडाबीचको विवाद चिसिएको छ।

    पछिल्लो महिनाहरूमा भारतले विकासशील देशहरूको नेताको रूपमा आफूलाई अघि सारेको छ। यसमा रहेका धेरै देशहरूले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्न अस्वीकार गरेका छन्। अमेरिका र युरोपेली देशहरूले युद्धले यी देश र तीनको अर्थतन्त्रमा असर गर्ने भन्दै यी देशहरूलाई आफ्नो पक्षमा ल्याउन ठूलो मेहनत गरिरहेका छन्। कूटनीतिज्ञहरू यो विवादले आफ्नो प्रयासलाई असर नगरोस् भन्ने चाहन्छन्।

    क्यानडाको विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री ट्रूडोले आफ्नो विषय अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकसँग उठाइसकेका छन्। अहिले क्यानडाका सहयोगी देशहरू उक्त देशप्रति इमानदार देखिए पनि सावधान भएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले हत्याको आरोपबारे “निकै चिन्तित रहेको” बताउँदै “क्यानडाको अनुसन्धान अघि बढ्ने र दोषीहरूलाई सजाय हुनुपर्ने” बताएको छ।

    सिखहरूको ठूलो समुदाय बसोबास गर्ने यूके र अस्ट्रेलिया जस्ता देशहरूका लागि यस्तो कूटनीतिक विवादको असर आन्तरिक राजनीतिमा पनि पर्ने जोखिम हुन्छ। यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले ब्रिटेनले “क्यानडाले उठाएको गम्भीर विषय धेरै नै गम्भीर रूपमा लिएको” बताएका छन्। उनका अनुसार “क्यानडाले भनेका कुराहरूलाई यूकेले गम्भीर रूपमा लिएको छ”।

    अस्ट्रेलियाको विदेश मन्त्रालयले पनि आरोपबारे “निकै चिन्तित” रहेको बताउँदै क्यानबेराले आफ्नो “गम्भीर चिन्ता भारतको उच्च नेतृत्व समझ राखेको” जनाएको छ। अहिलेका लागि पश्चिमा देशहरूले अनुसन्धान प्रक्रिया नसकिँदासम्म पर्खने मनस्थिति बनाएका छन्। केही सहयोगी देशहरूलाई क्यानडाको गुप्तचरले हालसम्म थाहा पाएका कुराहरूमा पहुँच दिइन सक्छ।

    यदि अकाट्य प्रमाण भेटियो भने परिस्थिति फेरिन सक्छ। त्यो अवस्थामा पश्चिमा देशहरूले ओट्टावा र नयाँ दिल्लीमध्ये एउटा रोज्नुपर्ने हुनसक्छ। त्यो अवस्था भनेको कानुनी शासन र राजनीतिको आवश्यकता मध्येको एउटा रोजाइ हुनसक्छ। पश्चिमा देशहरूले विगतमा भने रुस, इरान वा साउदी अरब जस्ता देशहरूले अर्को देशमा गराएका हत्याका आरोपहरूमा निन्दा गरेका थिए। भारत पनि त्यो समूहमा परोस् भन्ने उनीहरू चाहँदैनन्।

    BBC\nepal