Category: समाचार

  • एमाले नेताको आरोप- ‘रास्वपा भिजन,नीति नभएको भ्रम छर्ने पार्टी’

    एमाले नेताको आरोप- ‘रास्वपा भिजन,नीति नभएको भ्रम छर्ने पार्टी’

    काठमाडौं । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ राष्ट्रिय स्वतन्त्रता पार्टीमाथि खनिएका छन् । एमाले प्रथम गण्डकी अधिवेशनमा बोल्दै उनले रास्वपासँग भिजन,नीति नभएकोले युवाहरुलाई भ्रम छरिरहेको आरोप लगाए ।

    ‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ गुरुङले भने, ‘राजनीतिमा एउटा कुन्चैं चटकेवालहरु चलिराखेका छन्, जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन ।’

    यो मुलुकमा राष्ट्रिय स्वतन्त्रता पार्टी नामको पार्टी छ, जसको कुनै कुनै भिजन छैन, कुनै योजना छैन, कुनै नीति छैन त्यसले युवाहरुलाई दिग्भ्रमित भइराखेका छन् । यो दिग्भ्रमबाट मुक्त हुनुहोस् गुरुङले भने।’

    भिजनबिनाको, नीति बिनाको, योजना बिनाको पार्टीले मुलुकलाई अगाडि हाँक्न सक्दैन ।’

  • आममाफीको विषयमा रास्वपाद्वारा राष्ट्रपति पौडेललको ध्यानाकर्षण

    आममाफीको विषयमा रास्वपाद्वारा राष्ट्रपति पौडेललको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संविधान दिवसको अवसरमा हत्याको आरोपमा सजाय काटिरहेका व्यक्तिलाई आममाफी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललको ध्यानाकर्षण गराएको छ।

    हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका नेपालगञ्जका योगराज ढकाललाई आममाफी दिएको भन्दै आज बिहान राष्ट्रपति पौडेललाई भेटेर रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुले तीन बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

    पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदवाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने बताए । यस्तो विषयलाई अस्वीकार गर्ने व्यवस्था संविधानले नदिएको समेत उनले स्पष्ट पारे ।

    संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको पनि बताए ।

  • नेपालमा यस वर्ष बाढी-पहिरोबाट ६१ जनाको मृत्यु, २९ जना वेपत्ता

    नेपालमा यस वर्ष बाढी-पहिरोबाट ६१ जनाको मृत्यु, २९ जना वेपत्ता

    काठमाडौं । नेपालमा यस वर्षको मनसुनमा बाढी–पहिरोबाट ६१ जनाको मृत्यु र २९ जना बेपत्ता भएका छन्। मनसुन सुरू भएयताको बाढी पहिरोबाट ६९ जना घाइते भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले नियमित सूचनामार्फत् अद्यावधिक गरेको हो। बाढी–पहिरोबाट २ सय ४२ घर पूर्णरूपमा क्षतिग्रस्त बनेको र ७ सय ११ घरमा आंशिक क्षति पुगेको शाखाले जानकारी दिएको छ। शाखाका अनुसार यस वर्षको बाढी–पहिरोबाट ६० जिल्ला प्रभावित बनेको छ।

    साधारणतया जुन १० मा भित्रने मनसुन यस वर्ष जुन १३ मा नेपाल भित्रिएको थियो र देशभर फैलन एक साता लागेको थियो। नेपालबाट अक्टोबर २ मा मनसुन बाहिरिने पूर्वानुमान छ। तर, यस वर्ष केही ढिला गरेर मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मनसुन पूर्वानुमान महाशाखाले यसअघि नै बताइसकेको छ। गत असार ४ गते पूर्वी नेपालको संखुवासभा, पाँचथर, ताप्लेजुङमा बाढी–पहिरोले क्षति पुर्‍याएको थियो। असार ४ गतेकै बाढीले संखुवासभामा १९ जना मजदुर बेपत्ता बनाएको थियो।

  • सोल्टी होटेलमा रहेको सेयर बेचेर जहाज किन्न निगमलाई समितिको सुझाव

    सोल्टी होटेलमा रहेको सेयर बेचेर जहाज किन्न निगमलाई समितिको सुझाव

    काठमाडौं । वित्तीय संकटको कारण जहाज खरिदमा अलमलिएको नेपाल एयरलाइन्सलाई सोल्टी होटलको सेयर बेचेर स्रोत जुटाउन विज्ञ टिमले सिफारिस गरेको छ। एयरलाइन्सको व्यापार विस्तारका लागि जहाज खरिद गर्नैपर्ने अवस्था रहेको तर त्यसका लागि वित्तीय स्रोत जुटाउन समस्या देखिएपछि यस्तो सुझाब दिइएको हो।

    पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले आइतबार यस्तो सुझाव सहितको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको हो।

    वाइडबडी र न्यारोबडी जहाज किन्न ऋण दिएका कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण चुक्ता नगरी थप ऋण नदिने भएपछि यस्तो विकल्प दिइएको हो। नेपाल वायुसेवा निमगको सोल्टी होटल लिमिटेडमा १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर रहेको छ।

    यो सेयरको हालको बजार मूल्य ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रूपैयाँ पुगेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। सोल्टीको सेयर मूल्य २०८० भदौ १९ गते प्रतिकित्ता ४ सय ४३ रुपैयाँमा कारोबारलाई आधार मानेर निकालिएको छ। समितिले रणनीतिक साझेदार भित्र्याएर कम्पनी मोडलमा नेपाल एयरलाइन्स चलाउन पनि सुझाव दिएको छ।

  • मालेका युवा मेयर माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

    मालेका युवा मेयर माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित

    काठमाडौं । माल्दिभ्समा शनिबार भएको राष्ट्रपतिको चुनावमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मोहम्मद मुइज्जु विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का उम्मेदवार इब्राहिम मोहम्मद सोलिहलाई हराए । मुइज्जुले चुनावमा ५४ प्रतिशत मत पाए ।
    राजधानी मालेका मेयर रहेका मुइज्जु चीनप्रति सहानुभूति लिने नेता मानिन्छन् । उनको मुख्य चुनावी नारा पनि माल्दिभ्सबाट ‘भारत हटाउ’ थियो । आगामी नोभेम्बर १७ मा मुइज्जुले पद बहाली गर्नेछन् । त्यसअघि सोलिह कामचलाउ सरकारका रूपमा रहनेछन् । सोलिहले आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित मुइज्जुलाई बधाईसमेत दिए ।

    ६१ वर्षीय सोलिह सन् २०१८ देखि सत्तामा थिए । उनले भारतसँगको सम्बन्धलाई बलियो बनाएका थिए, जुन देशसँग मालेको बलियो सांस्कृतिक तथा आर्थिक सहकार्य पनि थियो । उनले सधैं ‘भारत प्रथम’ नीतिलाई अघि बढाएका थिए । माल्दिभ्स लामो समयदेखि भारतको प्रभाव क्षेत्रमा रहँदै आएको छ । भारतलाई पनि यो टापुको देशबाट हिन्द सागरमा निगरानी गर्न सहज भएको थियो ।

    राष्ट्रपतिमा नवनिर्वाचित ४५ वर्षीय मुइज्जु भने प्रगतिशील गठबन्धनबाट थिए, जुन गठबन्धनले चीनसँग सम्बन्धको पक्षधरता लिँदै आएको छ । चीनले पनि यो महत्त्वपूर्ण स्थानमा तीव्रताका साथ सैन्य आधार खडा गर्न प्रयास गरिरहेको छ । भारत भने आफ्नो प्रतिस्पर्धी चीनलाई रोक्न चाहिरहेको छ । बेइजिङ भने खाडी मुलुकबाट यस क्षेत्र हुँदै आउने ऊर्जा आपूर्तिको सुरक्षाको योजनामा छ ।

    पछिल्लो दशकमा दिल्लीले माल्दिभ्सलाई सैन्यसम्बन्धी दुई हेलिकोप्टर र सानो विमान दिएको थियो । सन् २०२१ मा माल्दिभ्सको सुरक्षा निकायले उक्त विमान सञ्चालन र मर्मतका लागि ७५ जना भारतीय सैनिक आफ्नो देशमा रहेको जानकारी दिएको थियो । लगत्तै विपक्षी दलले ‘भारत हटाउ’ अभियान सुरु गरेका थिए, जसले भारतीय सैनिक फिर्ताको माग गरेको थियो । सोलिहअघि पीपीएम पार्टीका अब्दुल्ला यामिन सन् २०१३ देखि २०१८ सम्म राष्ट्रपति थिए । उनको कार्यकालमा माल्दिभ्स चीनसँग नजिकिएको थियो भने चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) योजनामा सहभागी भएको थियो । यामिन अहिले भ्रष्टाचारको आरोपमा ११ वर्षे जेल सजाय भुक्तान गरिरहेका छन्, जसका कारण उनी यस पटक चुनावमा सहभागी हुन पाएनन् ।

    बेलायतको लिड्स विश्वविद्यालयबाट पीएचडी गरेका मुइज्जु सन् २०१२ मा आवासमन्त्रीमा नियुक्त हुँदै राजनीतिमा छिरेका थिए । यामिन राष्ट्रपति भएपछि पनि उनको मन्त्री पदले निरन्तरता पाएको थियो । त्यतिबेला उनले २० करोड अमेरिकी डलर लागतको पुल निर्माणका लागि सम्झौता गरेका थिए, जसले अर्को टापुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई राजधानी मालेसँग जोड्छ । २.१ किलोमिटर लामो र चार लेनको उक्त पुलमा चीनले लगानी गरेको थियो । सन् २०१८ मा यामिन राष्ट्रपति हुँदा उक्त पुलको उद्घाटन गरिएको थियो । सन् २०२१ मा मुइज्जु मालेको मेयरमा चुनिएका थिए ।

    राष्ट्रपतिमा निर्वाचित भए पनि मुइज्जुलाई भारतको प्रभाव कम गर्न कठिनाइ हुने विश्लेषकहरूको भनाइ छ । सार्वजनिक रूपमा चीन पक्षधरता लिँदै आएका उनलाई माल्दिभ्सको अर्थतन्त्र, व्यापार र पूर्वाधार निर्माणमा संलग्न रहेको भारतलाई रोक्न सहज हुनेछैन । यस्तै, माल्दिभ्सका विभिन्न संरचना निर्माणका लागि चीनबाट लिएको ऋण पनि उनका लागि चुनौती हुनेछ ।

    माल्दिभ्समा आफ्नो प्रभाव कायम गर्न भारत र चीनले प्रतिस्पर्धा गर्दै आएका छन् । सन् २०१६ मा माल्दिभ्सले ४ करोड अमेरिकी डलरमा ५० वर्षका लागि एउटा टापु चीनलाई भाडामा दिएको थियो । यस्तै, भारतले पनि पछिल्लो वर्षमा दुई अर्ब डलर ऋण तथा सहायता माल्दिभ्सलाई उपलब्ध गराएको थियो । मुइज्जुको जितले माल्दिभ्स अझ चीनतर्फ ढल्किने विश्लेषकहरूको भनाइ छ ।

  • सोमबार वर्षाको सम्भावना, कस्तो रहनेछ आजको मौसम

    सोमबार वर्षाको सम्भावना, कस्तो रहनेछ आजको मौसम

    काठमाडौं । यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो । तर, यसमा एक–दुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन् । यसपालि मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएको छ । यसले गर्दा देशभरको मौसम बदली भएको छ । अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने छ । दिनभरजसो बादल लाग्ने छ । अबको दुई–तीन दिनसम्मकैे मौसम यस्तै रहने अनुमान रहेको बताइएको छ । आज कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । ठूलो वर्षा भएका क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद्का अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको हो। आज राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालका यसपालि गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो।

  • स्पेनमा नाइट क्लवमा आगलागी, कम्तिमा १३ जना मारिए

    स्पेनमा नाइट क्लवमा आगलागी, कम्तिमा १३ जना मारिए

    काठमाडौं । दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् । स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो । त्यतिबेला नाइट क्लबमा भीडभाड थियो । आगो वरपरका अरु क्लबमा पनि फैलिएको थियो । त्यसैले अधिकारीहरुले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाएका छन् ।

    सामाजिक सन्जालमा सेयर गरिएको भिडियोमा गाढा कालो धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारण भने खुलेको छैन । आपतकालीन सेवाका कर्मचारीहरु उद्धार तथा खोजमा खटिएका छन् । एक २८ वर्षीया महिलाले आफ्नी आमालाई पठाएको अडियो म्यासेजमा ‘आमा म हजुरलाई धेरै माया गर्छु, हाम्रो मृत्यु हुनेवाला छ’ भनेकी छन् । ती महिला आफ्नो पार्टनर र साथीहरुसँग नाइट क्लबमा गएकी थिइन् । उनी जीवित छिन् कि मृत्यु भइसक्यो भन्ने खुलिनसकेको बीबीसीले जनाएको छ ।

  • सिरहामा बस दुर्घटना, २ जनाको मृत्यु

    सिरहामा बस दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    डिएसपी बस्नेतका अनुसार दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका(२ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका २०का ५२ वर्षीय अनिलकुमार झा रहेका छन् । यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन् ।

    घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते भएका उनीहरूको गोलबजार स्थित हस्पिटलहरुमा उपचार भइरहेको डिएसपी बस्नेतले बताए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • एक महिनामा ९१ हजार पर्यटकले गरे नेपाल भ्रमण, अमेरिकी पर्यटक ७ हजार ३६४

    एक महिनामा ९१ हजार पर्यटकले गरे नेपाल भ्रमण, अमेरिकी पर्यटक ७ हजार ३६४

    काठमाडौं । एक महिनाको अवधिमा ९१ हजार जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका हुन् । यो सन् २०१९ कै हाराहारीमा हो । सो वर्ष सेप्टेम्बर महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० पछि भने कोभिड–१९ का कारण पर्यटक आगमन प्रभावित बन्न पुग्यो । सन् २०२० मा ५८४, सन् २०२१ मा ९,९०७, सन् २०२२ मा ५८,३१४ जना पर्यटक नेपाल आएका थिए ।

    एक महिनाको अवधिमा भारतीय पर्यटक नेपालमा सर्वाधिक संख्यामा आएको देखिएको छ । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार ६९४ जना भारतीय नेपाल आएको तथ्यांकमा उल्लेख छ । चिनियाँ पर्यटक ८ हजार १७४ जना आएका छन् । अमेरिकी पर्यटक ७ हजार ३६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    बंगलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार यस वर्षको ९ महिनाको अवधिमा झण्डै ७ लाख पर्यटक नेपाल आएका छन् । जनवरी देखि सेप्टर २०२३ को बीचमा ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल आएका छन् ।

  • जलहरी काण्डमा भ्रष्टाचार ठहर, तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध मुद्दा

    जलहरी काण्डमा भ्रष्टाचार ठहर, तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध मुद्दा

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

    पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो । सुन हिनामिना गर्ने कार्यक्रमा ढकाल र थापाको प्रत्यक्ष भूमिका देखिएको अख्तियारको ठहर छ ।

    उनीहरुलाई जनही सोही रकम बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको हो । कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

  • शिक्षासम्बन्धी विधेयक सदनमा पेश

    शिक्षासम्बन्धी विधेयक सदनमा पेश

    काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाएको विधेयक प्रतिनिधिसभा पेस गरेको छ । शिक्षामन्त्री अशोककुमार राईले आइतबारको बैठकमा शिक्षा विधेयक सदनमा पेस गरेका हुन् ।

    मन्त्री राईले गत भदौ २७ गते सो विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए ।

    मन्त्री राईले प्रस्तुत गरेको शिक्षा विधेयकलाई लिएर नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले पठनपाठन ठप्प गरेर काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए ।

    सरकारसँगको ६ बुँदे सहमति पछि उनीहरुले आन्दोलन फिर्ता गरेका थिए । शिक्षा विधेयकमा शिक्षकलाई राजनीतिक दल र आबद्ध भ्रातृ संस्थाको सदस्ता लिन नपाइने प्रस्ताव गरिएको छ।

  • केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, विरोधमा स्वास्थ्यकर्मीको प्रदर्शन

    केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, विरोधमा स्वास्थ्यकर्मीको प्रदर्शन

    काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा डाक्टरमाथि कुटपिट भएको छ। आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो।

    डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरू अहिले अस्पताल परिसरमै नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

    डाक्टरका अनुसार एक व्यक्ति बिरामी लिएर ओपिडिमा आएका थिए। खड्काले उनलाई लाइनमा बस्न भनेपछि बिरामी लिएर आएका व्यक्तिले कुटपिट गरेका हुन्।

  • रियल टाइम मूल्यमा भारतमा विजुली बेच्न प्राधिकरणले पायो अनुमति

    रियल टाइम मूल्यमा भारतमा विजुली बेच्न प्राधिकरणले पायो अनुमति

    काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ । यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ) का आधारमा मात्र बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बेच्न पाउने भएको हो ।

    भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यस अन्तर्गत उत्पादन अनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउने छ ।

    भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४।२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ । यी आयोजना यसअघि ‘डे अहेड मार्केट’ का लागि सूचीकृत थिए। यस्तो अनुमति शनिबार सकिँदै थियो।

    अघिल्लो दिनको नवीकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् अघिल्लो दिन र वास्तविक बजार समय दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । भारतको विद्युत् मन्त्रालयले १५ साउनमा विद्युत् आयातरनिर्यात ९अन्तर्देशीय० स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत् छिमेकी देशका अनुमति प्राप्त निकायलाई वास्तविक बजार समयमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले एक दिनअघिको बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि– एनभिभिएनलाई बेचिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

    प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको जनाएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र८१ को साउन र भदौमा पाँच अर्ब ४३ करोड ३१ लाख रुपियाँको विद्युत् भारत निर्यात गरेको छ ।

  • पर्वतमा वेपत्ता जिप मोदी किनारमा भेटियो, एक जनाको शव फेला

    पर्वतमा वेपत्ता जिप मोदी किनारमा भेटियो, एक जनाको शव फेला

    काठमाडौं । पर्वतको कुश्मा नगरपालिका(७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा भेटिएको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव समेत भेटिएको प्रहरीले जनाएको छ । दुई जना अझै बेपत्ता छन् । शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो ।

    बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिएका छन् । उनी तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेको भुसाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।,

    उनी र अर्का एक जना साथी बागलुङबाट पोखराका लागि गाडी चढेको प्रहरीलाई खबर प्राप्त भएको छ । तर, उनीसँगै सवारको शव नभेटिएकाले बेपत्ता हुने एक उनकै साथी हुन भनेर यकिन गर्न नसकिएको डिएसपी भुसालले बताए । बिहानैदेखि बेपत्ता २ जनाको खोजी कार्य भइरहेको छ । गाडी चालकले भने आफू भागेर बाँच्न सफल भएको बताएका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

    गाडी रोक्न पछाडि पांग्रामा ढुंगाको आड लगाउँदा लगाउँदै बाढी आएपछि आफू भागेको तर ३ जनासहित जीपलाई भने बगाएकोे चालकले बयान दिएका छन् । गाडीलाई रोकेर यात्रु झार्ने तयारी गर्दा गर्दै माथिबाट एक्कासी रुख, ढुंगामुडा र माटोसहित आएको बाढीले जीप बगाएर बेपत्ता पारेको थियो ।

    बिहान जीप ३०० मिटर तल टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको र तालिम प्राप्त गोताखोर मगाएर बेपत्ताको खोजी भइरहेको डिएसपी भुसालले जानकारी दिए । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमाना तमादीखोला खहरे बनेर दुर्लुङको डाँडा हुँदै कतिबेला बाढी झर्छ भन्ने पत्तै नहुने र अघिल्ला वर्षहरुमा पनि घटना घटेको डिएसपी भुसालको भनाइ छ ।

  • सरकार र चिकित्सकबीच सहमति

    सरकार र चिकित्सकबीच सहमति

    काठमाडौं । सरकार र चिकित्सकबीच शनिबार साँझ सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।

    पछिल्लो समय मणिपाल ९पोखरा, माडी ९चितवन, हेटौँडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालमा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो। सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाको संयोजक डा. शेसराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

    सरकार र चिकित्सकबीच डाक्टरको सुरक्षा प्रत्याभुति गराउने सहमती भएको छ । डाक्टरलाई कुटपिट गर्नेलाई तीन वर्ष भन्दाबढी जेल सजाय गर्ने बारे कानूनी व्यवस्था बढाउने बारे समेत सहमति भएको छ ।

  • बाढीले जिप बगाउँदा तीन जना वेपत्ता

    बाढीले जिप बगाउँदा तीन जना वेपत्ता

    काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ ।

    घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन् । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो । रासस

  • खाना पकाउने ग्यासको मूल्य सिलिण्डरमै २१५ रुपैयाँले बढ्यो

    खाना पकाउने ग्यासको मूल्य सिलिण्डरमै २१५ रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

  • अमेरिकाको न्यूयोर्कमा आँधीका कारण आपतकालिन अवस्था घोषणा

    अमेरिकाको न्यूयोर्कमा आँधीका कारण आपतकालिन अवस्था घोषणा

    काठमाडौं । अमेरिकाको न्युयोर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क सहरमा शक्तिशाली आँधीपछिको बाढीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ । लागार्डिया एअरपोर्टको एउटा टर्मिनल बाढीपछि बन्द गरिएको बीबीसीले जनाएको छ । जनजीवन प्रभावित भएको छ ।

    केही क्षेत्रमा पाँच इन्च अर्थात् १२ दशमलव ७ सेन्टिमिटरसम्म पानी परेको छ । न्युयोर्कका गभर्नर क्याथी होचुलले मानिसलाई सुरक्षित रहन र बाढी पसेका सडकमा यात्रा नगर्न आग्रह गर्नुभएको छ । हवाई यात्रुलाई पनि यात्रा गर्नुपूर्व अधिकारीसँग सोधीखोजी गर्न अनुरोध गरिएको छ । बाढीमा फसेका ६ जनाको उद्धार भएको र थप क्षतिको विवरण प्राप्त नभएको उद्धारमा संलग्न अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

  • प्रधानमन्त्री स्वदेश फर्किदैं

    प्रधानमन्त्री स्वदेश फर्किदैं

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमण सकेर आज स्वदेश फर्किदैछन् । उनी स्वदेश प्रस्थान गरेका छन् । असोज ६ गते चीन पुगेका प्रचण्ड आज छेन्दुबाट आज बिहान नेपाल प्रस्थान गरेका हुन् । उनलाई सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

    ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेशका लागि उडेका हुन् ।

  • एसियाड : पब्जी मोवाइलमा  सेमिफाइनलबाटै बाहिरियो नेपाल

    एसियाड : पब्जी मोवाइलमा सेमिफाइनलबाटै बाहिरियो नेपाल

    काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ ।
    शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो । फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि फाइनल चरण पुग्न सकेन ।

    सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३।३४६ सेकेण्ड टाइमिङ निकाले ।
    कोरिया ५० मिनेट ३७।१५१ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहँदा चाइनिज ताइपेई ५२ मिनेट १९।३९३ सेकेण्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेका छन् । नेपालले जापानलाई भने पछि पारेको थियो । नेपाल र जापान सेमिफाइनलबाटै बाहिरिए ।

    सेमिफाइनल चरणको समूह बी को खेल शनिबार दिउँसो हुनेछ । सेमिफाइनलमा दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछ र फाइनल चरणमा शीर्ष तीन स्थानमा रहनेले पदक जित्नेछ । नेपालले यसअघि दुई चरणको एलिमिनेसन राउण्ड पार गर्दै सेमिफाइनल पुग्दै पदकको आशा जगाएको थियो ।

    तर सेमिफाइनलबाट बाहिरिएपछि पब्जीमा पदक जित्ने आशा सकिएको छ । इस्पोर्ट्समा नेपालले यस पटक पाँच इभेन्टमा सहभागिता जनाएकोमा चार इभेन्टमा नेपालको चुनौती समाप्त भइसकेको छ । अब डोटा टु के अन्तर्गत नेपालले शनिवारै क्वाटरफाइनलमा कीर्गिस्तानसँग खेल्नेछ । यो खेल बेलुका ७ बजे सुरु हुनेछ ।

  • आजबाट सुरु भयो सोह्र श्राद्ध

    आजबाट सुरु भयो सोह्र श्राद्ध

    काठमाडौं । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

    चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
    यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको प्राडा रामचन्द्र गौतम बताउँछन् । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने गौतमले बताए ।

    कारणवश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने जानकारहरूको भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए ।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

    सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

  • पाकिस्तानमा बम विष्फोट, कम्तिमा ५२ जनाको मृत्यु

    पाकिस्तानमा बम विष्फोट, कम्तिमा ५२ जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्युजले जनाएको छ । जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रशिद शाहीले घटनाको मृतकको संख्या पुष्टि गरेका छन् ।

    उनका अनुसार अल फलाह रोडस्थित मदिना मस्जिदमा धार्मिक कार्यक्रमका लागि स्थानीय जम्मा भएको समयमा विस्फोट भएको हो । मस्जिद नजिक स्थानीय इद उल मिलादको उत्सव मनाउने र जुलुस निकाल्ने तयारीमा थिए । डीआईजी मुनिर अहमदका अनुसार आक्रमणकारीले प्रहरीको सवारीनजिक विस्फोट गरेका थिए । विस्फोटमा परी नवाज गशगुरीको मृत्यु भएको छ ।

    सहिद नबाब गौस बख्स रायसानी मेमोरियल अस्पतालका प्रमुख कार्यकारी डा। सइद मिरवानीले आफ्नो अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए । उनले २० भन्दा घाइतेलाई थप उपचारका लागि क्वेटा रेफर गरिएको पनि बताए । सामाजिक सञ्जालमा आएका भिडियोमा उद्धारकर्मी र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको दृश्य देखिएको छ । हालसम्म यो घटनाको कसैले जिम्मेवारी लिएका छैनन् ।

    पाकिस्तानका गृहमन्त्री सरफराज बुग्तीले घटनाको निन्दा गरेका छन् । बलुचिस्तानका कार्यवाहक मुख्यमन्त्री मिर अली मर्दन खान डोमकीले घटनाको जाँच गर्न आदेश दिएका छन् । ‘घटनामा संलग्न तत्व दयाका पात्र हुनेछैनन् । शान्तिपूर्ण जुलुसलाई निशाना बनाउनेविरुद्ध कडा कदम चालिनेछ,’ उनको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

    यस्तै, शुक्रबार नै खैबर पख्तुनख्वाको हंगुस्थित दोआबा प्रहरी स्टेसनमा दुई विस्फोट हुँदा एक प्रहरी अधिकारीसहित कम्पनीमा चार जनाएको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रहरी स्टेसनको प्रवेशद्वारमा भएको हंगु जिल्ला प्रहरी अधिकारी निसार अहमदले बताए । त्यसपछि घटनास्थलमा स्थानीय जम्मा भएका थिए । त्यसपछि प्रहरी स्टेसनको परिसरस्थित एक मस्जिदमा अर्को विस्फोट भएको थियो ।

  • पूर्व अरनिकोले जडिबुटी बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

    पूर्व अरनिकोले जडिबुटी बनाएको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले पूर्व अरनिको यातायात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौं महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।

    महानगरले बसपार्कमा बनेका हरेक संरचनाहरू काठमाडौं महानगरको मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गर्दै आएको थियो ।

    महानगरले असार १ गतेदेखि काठमाडौंबाट छुट्ने लामो तथा छोटो दूरीका सबै बसहरू अनिवार्य रूपमा गोंगबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरे पनि राजधानी पूर्वका यात्रुहरूका लागि गोङ्गबु बसपार्क उपयुक्त नहुने भन्दै पूर्व अरनिकोले आफ्नै लगानीमा बसपार्क निर्माण गरेको हो ।

  • सरकार र राहतका शिक्षकबीच सहमति,आन्दोलन फिर्ता

    सरकार र राहतका शिक्षकबीच सहमति,आन्दोलन फिर्ता

    काठमाडौं । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ ।

    बैठकमा शिक्षामन्त्री अशाेक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी सहभागी थिए ।
    सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए । नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।

    तर महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए । उनीहरुले शनिबारदेखि माइतीघरमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

  • नेपाली कामदारलाई इजरायलमा भिसा नवीकरणमा समस्या

    नेपाली कामदारलाई इजरायलमा भिसा नवीकरणमा समस्या

    काठमाडौं । इजरायलमा सहायक श्रमिक केयरगिभरमा काम गर्न गएकामध्ये तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा ढिलाइ भएको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता ९जिटुजी० मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो । दूतावासका अनुसार भिसा नवीकरण समयमा नभएपछि दूतावासले इजरायली पक्षसँग छलफल अघि बढाएको छ ।

    नेपाली दूतावासका अनुसार दूतावासले इजरायलमा सरकारी तवरबाट आएका नेपाली श्रमिकको भिसा नवीकरणका लागि इजरायलको पपुलेसन तथा इमिग्रेसन अथोरिटी ९पिवा० सँग कूटनीतिक पहल गरिरहेको छ ।

    विशेष गरी पछिल्लो समय सरकारी सम्झौता (जिटुजी) इजरायल गएका नेपाली सहायक श्रमिकको भिसा नवीकरणमा देखिएको समस्या समाधानका सम्बन्धमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ । पिवाले भिसा नवीकरण हुन बाँकी नेपाली श्रमिकलाई इजरायलमा कुनै समस्या नहुने आश्वासन दिएको छ । साथै बैठकमा कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा समेत कुराकानी भएको थियो ।

    इजरायलको केयरगिभरमा सहायक श्रमिकका लागि नौ हजार ६९९ जनाले निवेदन दिएकामा एक हजार १४७ जना छनोट भएका थिए । हालसम्म इजरायल प्रवेश गरेका नेपाली युवामध्ये ७० प्रतिशत अर्थात् लगभग ७७० महिला र ३० प्रतिशत अर्थात् बाँकी ३३० पुरुष रहेका छन् । पिवाले छनोट गरेका एक हजार १७५ जनामध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । अन्तिम नामावली प्रकाशित भएकामध्ये केही श्रमिक भने जान योग्य नभएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    इजरायल जाने नेपालीले मासिक एक हजार छ सय अमेरिकी डलर अर्थात् हालको विनिमय दर अनुसार करिब एक लाख ९० हजार रुपियाँ पारिश्रमिक पाउँछन् । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि थपेर पाँच वर्षसम्म बस्न पाइने व्यवस्था छ । इजरायलको कृषि उद्योगमा धेरै नेपाली कार्यरत छन् ।

  • एसियाली खेलकुदमा नेपाल अझै पदकविहिन, पहिलो स्थानमा चीन

    एसियाली खेलकुदमा नेपाल अझै पदकविहिन, पहिलो स्थानमा चीन

    काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान १८ स्वर्ण, ३० रजत र ३१ कास्यका साथ ७९ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान ६ स्वर्ण, १० रजत र १५ कास्यसहित ३१ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

    यसैगरी भारत ६ स्वर्ण, आठ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ । थाइल्याण्ड ६ स्वर्ण, तीन रजत र नौ कास्यसहित १८ पदकका साथ का साथ छैटौँ स्थानमा उक्लिएको छ । यस्तै हङकङ चाइना पाँच स्वर्ण, १२ रजत र १५ कास्य सहित कुल ३२ पदक प्राप्त गर्दै सातौँ स्थानमा रहेको छ ।

    चाइनिज ताइपेई चार स्वर्ण, चार रजत र ६ कास्यसहित १४ पदकका साथ आठौँ, इरान तीन स्वर्ण, नौ रजत र १० कास्यसहित २२ पदक प्राप्त गर्दै नवौँ तथा दक्षिण कोरिया तीन स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १२ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

    एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३३ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब इ स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेटलगायत खेलबाट पदकको आश गरेको छ । रासस

  • झापामा एक युवकको विभत्स हत्या

    झापामा एक युवकको विभत्स हत्या

    काठमाडौं । झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरी श्रोतलार्ई उदृत गर्दै सरकारी सञ्चारमाध्यम गोरखा पत्रले लेखेको छ । रातभर दमक १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको दमकसँगै जोडिएको इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बुको बीभत्स हत्या भएको हो ।

    इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाका अनुसार केही ब्याक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मुख्य हतियार प्रयोग गर्ने ब्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको पनि लामाले जानकारी दिए ।

  • एसियन गेममा पब्जीमा नेपाल दोस्रो चरण प्रवेश

    एसियन गेममा पब्जीमा नेपाल दोस्रो चरण प्रवेश

    काठमाडौं । एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ। आज चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा पुगेको हो। समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो भयो। समूहमा शीर्ष स्थान दक्षिण कोरियाले हात पार्‍यो। नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ थियो।

    नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो। अब नेपालले दोस्रो चरणमा भोलि समूहमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँबाट उत्कृष्ट आठ टिम तेस्रो चरणमा प्रवेश गर्नेछन्। पहिलो चरणमा समूह ‘ए’ बाट हङकङ, ‘बी’ बाट चाइनिज ताइपेई, ‘सी’बाट दक्षिण कोरिया र नेपाल तथा ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा छन्। वरीयताका आधारमा यसअघि नै चीनसहित चार देश दोस्रो दोस्रो चरणमा पुगेका छन्। अब आज समूहबाट सिधै दोस्रो चरणमा पुग्न नसकेका ११ टिमबीचको प्रतिस्पर्धाबाट ७ टिम अन्तिम १६ मा पुग्नेछन्।

  • तीन दिनदेखि घुमघाममा रमाउँदै प्रधानमन्त्री ‘प्रचण्ड’,मानसरोवर र कैलाश पर्वत अवलोकन

    तीन दिनदेखि घुमघाममा रमाउँदै प्रधानमन्त्री ‘प्रचण्ड’,मानसरोवर र कैलाश पर्वत अवलोकन

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको नेपाली टोली बिहिबार चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर पुगेको छ । मानसरोवर प्रसिद्ध धार्मिक तीर्थस्थल हो। दाहाल तिब्बतमै पर्ने कैलाश पर्वत पनि पुगेका छन्।

    उनीसँग तीनमन्त्री, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव लगायत अधिकारी छन्। दाहाल नेतृत्वको जम्बो टोली चिनियाँ अधिकारीसँग द्विपक्षीय भेटवार्ताको तालिका सकिएपछि मंगलबारदेखि घुमघाममा रमाइरहेको छ। असोज ५ देखि चीनमा रहेको दाहाल नेतृत्वको टोली शनिबार काठमाडौं फर्किने तालिका छ।

  • जुद्धशम्शेरको सालिकदेखि गद्दी बैठकसम्म हिँडेर राष्ट्रपतिले गरे इन्द्रजात्रा अवलोकन

    जुद्धशम्शेरको सालिकदेखि गद्दी बैठकसम्म हिँडेर राष्ट्रपतिले गरे इन्द्रजात्रा अवलोकन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन पैदल हिँडेरै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका छन् । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गर्थे ।

    उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत पनि हिँडेरै ईन्द्रजात्रा हेर्न पुगेका छन् । उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।

    राष्ट्रपति पौडेलले यसअघि नै सर्वसाधारणको बाक्लो उपस्थिति रहने जात्रामा आफू सर्वसाधारणलाई दुःख नहुने गरी सहभागी हुने बताएका थिए ।