Category: समाचार

  • काठमाडौंको गैह्रीगाउँमा चार जनाको सामुहिक हत्या

    काठमाडौंको गैह्रीगाउँमा चार जनाको सामुहिक हत्या

    काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको विभत्स हत्या भएको छ । गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

    हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेलरमट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल–मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

  • यो वर्ष विभुषण नबाड्ने सरकारको निर्णय

    यो वर्ष विभुषण नबाड्ने सरकारको निर्णय

    काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। विगतका वर्षमा संविधान दिवसको अवसरमा विभूषित हुनेको नामावली सार्वजनिक हुँदै आएको थियो।

    ‘‘संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने। हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने’’, मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ।

    विगतमा विभुषणको गरिमा घटेको भन्दै तीव्र. आलोचना भइरहेको थियो । सोहीकारण सरकारले व्यवस्थापित बनाएर मात्र तक्मा बाड्ने निर्णय गरेको हो ।

  • कर प्रणालीबारे अध्ययन गर्न समिति गठन

    कर प्रणालीबारे अध्ययन गर्न समिति गठन

    काठमाडौं । सरकारले विद्यमान कर प्रणालीको सुधारका लागि अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको हो । आगामी माघसम्म आफ्नो प्रतिवेदन बुझाउने गरी एक उच्चस्तरीय समिति गठन गरिएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका थियो ।

    मल्लिक पूर्वअर्थ सचिव समेत हुन् । बजेटमा कर प्रणालीको सुधार अन्तर्गत विद्यमान कर प्रणालीबारे अध्ययन गरी सुधारको सुझाव दिन उच्चस्तरीय समिति गठन गर्ने उल्लेख थियो । अर्थ मन्त्री डा. प्रकाश शरण महतका अनुसार यस्तो समितिले दिएको सुझावलाई आधार मानेर आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट निर्माण गरिने छ ।

  • मेयर हर्क साम्पाङको पत्र- डीएसपी मल्लले भनेको टेरेनन्, तुरुन्त सरुवा गरिदिनू’

    मेयर हर्क साम्पाङको पत्र- डीएसपी मल्लले भनेको टेरेनन्, तुरुन्त सरुवा गरिदिनू’

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेखेका छन्।

    इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लले आफूले भनेकने नटेरेको भन्दै तत्काल सरुवा गरिदिन माग गरेका हुन्।

    बुधबारको मितिमा आवश्यक कारवाही शीर्षकमा पठाइएको पत्रमा उनले मल्लले स्थानीय सरकारले भनेको नटेरेको उल्लेख गरेका छन् ।

    पत्रमा ‘इलाका प्रहरी कार्यालय, धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मल्लले स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाइ केही गर्न नमान्ने, ढुंड्डा गिट्टी तस्करलाई प्रकाउ गर्न जान नमान्ने, स्थानीय शान्ति सुरक्षामा केही नगर्ने, स्थानीय सरकारको सुरक्षा गर्न नसक्ने… सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजकता गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नमानेको आरोप पनि लगाएका छन्।

  • डा. गोविन्द केसीद्वारा घोषित सत्याग्रह स्थगित

    डा. गोविन्द केसीद्वारा घोषित सत्याग्रह स्थगित

    काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित गरेको घोषणा गरेका छन् ।

    सरकारका प्रतिनिनिधिसँगको छलफलमा आफ्ना माग तीन महिनाभित्र सम्बोधन गर्ने भनेपछि सत्याग्रह हाललाई स्थगित भएको डा केसीले जनाएका छन्।

    ‘यो अवस्थामा भदौ २९ गते घोषित सत्याग्रह तीन महिनाका लागि स्थगित गरेका छौँ । अब सत्याग्रह सुरु गर्न परेको खण्डमा देशमा रहेको सबै खाले दण्डहीनताका जरोमा रहेको द्वन्द्वकालीन अन्यायको विषयलाई मुख्यरूपमा उठान गर्ने तथा त्यसका लागि जिम्मेवार दुवै पक्षका व्यक्तिहरूलाई जवाफदेही बनाउने पनि जानकारी गराउन चाहन्छौँ,’ डा. केसीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    विभिन्न मागहरू राखी साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धताहरूपछि त्यसलाई भदौ २९ गतेसम्म सारिएको थियो ।

    हालैका दिनमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलगायतका कर्मचारीहरूसितको भेटघाटमा उनीहरूले तीन महिनाको समय माग गरेको उनले जनाएका छन् ।

    पदाधिकारी नियुक्तिका मापदण्ड कायम गर्नका लागि कानुनी व्यवस्था गर्ने, एकीकृत प्रतिष्ठान ऐन जारी गर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्‍याउनेलगायतका कामहरूका लागि उनीहरूले तीन महिनाको समय मागेको डा. केसीले बताएका छन् ।

    सबै खाले गलत काम गर्ने राजनीतिज्ञहरु र खास गरी सत्ता र प्रतिपक्षमा हुने मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई जवाफदेही नबनाइ नेपालमा दण्डहीनताको अन्त संभव नभएको भन्दै विज्ञप्तिमा डा केसीले उनीहरुलाई जवाफदेही बनाउन जिम्मेवार नागरिकले मुल भूमिका खेल्नु पर्ने बताएका छन्।

    केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दे विभिन्न अभियान संचालन गर्दै आएका छन्।

  • असोजदेखि फोहोर रोक्ने निर्णयबाट पछि हट्यो बञ्चरेडाँडाबासी, माग सम्बोधनमा सरकारको चासो

    असोजदेखि फोहोर रोक्ने निर्णयबाट पछि हट्यो बञ्चरेडाँडाबासी, माग सम्बोधनमा सरकारको चासो

    काठमाडौं । नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले तत्कालका लागि काठमाडौंको फोहोर फाल्न नरोक्ने भएका छन् ।

    यसअघि स्थानीयले असोज १ गतेबाट ल्याण्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने निर्णय गरेका थिए । उनीहरूले सरकारले आफूहरूको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै फोहोर फाल्न रोक लगाउने बताएका थिए ।

    तर सरकारले पत्र पठाउँदै स्थानीयको माग सम्बोधन गर्ने क्रममा रहेको जानकारी गराएपछि स्थानीयहरू पछि हटेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले पत्र पठाउँदै स्थानीयबासीको माग सम्बोधन भइरहेको जानकारी गराएएका थिए ।

    स्थानीयले रचनात्मक आन्दोलनलाई भने जारी राख्ने भएका छन् । आफ्ना मागहरू पूर्ण रूपमा कार्यान्वयन नहुँदा सम्म शान्तिपूर्ण रूपमा रचनात्मक जारी रहने स्थानीयले बताएका हुन् ।

  • एसियाली खेलकुदमा भाग लिन जाने नेपाली टोलीलाई प्रधानमन्त्रीले गरे बिदाई

    एसियाली खेलकुदमा भाग लिन जाने नेपाली टोलीलाई प्रधानमन्त्रीले गरे बिदाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई विदाइ गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले खेलाडी तथा व्यवस्थापकलाई विदाइ गरेका हुन्।

    प्रधानमन्त्री दाहालले विदाइ गर्दै भने, ‘सफलताको निम्ति हृदयदेखि शुभकामना दिन चाहान्छु। मेरो जानकारी अनुसार चीनमा राम्रो व्यवस्थापन भइसकेको छ। चिन्ता लिनु पर्ने छैन। तपाइँहरुले देशको गौरव र उचाइ बढाउनु हुनेछ भन्ने विश्वास छ। म आफू समेत उद्‌घाटनमा हुनेछु। मेरो लागि पनि एसियाली खेलकुद रोमाञ्चक हुनेछ। हाङझाउमा म तपाइँहरुकै साथमा हुनेछु।’ एसियाली खेलकुद असोज ६ मा सुरु भएर असोज २१ मा सकिनेछ। प्रधानमन्त्री दाहाल अमेरिका भ्रमणपछि एसियाली खेलकुदको उद्‌‌घाटनअघि चीन पुग्नेछन्।

    यसपटकको एसियाली खेलकुदमा नेपालका २९ खेलमा २ सय ५३ खेलाडीका सहभागिता रहनेछ। जसमा १२७ महिला र १२६ पुरुष खेलाडीले भाग लिँदैछन्। नेपालका तर्फबाट बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टसमा २३ खेलाडीको सहभागिता रहनेछ । यस्तै फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कबड्डीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ।

  • संसद्का दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

    संसद्का दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

    काठमाडौं । संघीय संसदका दुवै सदनले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

    बिहीबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। सभाको बैठकमा सभामुख घिमिरेले स्व. नेम्वाङले लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भुमिका निर्वाह गर्नुभएका, संविधान सभामार्फत नेपालको संविधान निर्माणमा अहं र नेतृत्वदायी भूमिका खेलेकाका मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताए।

    उनले भने, ‘माननीय सदस्यहरु अब म संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएकोमा निम्निलिखित शोक प्रश्ताव प्रश्तुत गर्दछु।

    संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते मंगलवार हृदयघातबाट भएको निधनले सिंगो मुलुक स्तब्ध बनेको छ। लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भुमिका निर्वाह गर्नुभएका, संविधान सभामार्फत नेपालको संविधान

    निर्माणमा अहं र नेतृत्वदायी भुमिका खेल्नुभएका मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको छ। स्व. नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य,२०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिका संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो।

    साथै २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६४ र २०७० को संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो। यसैगरी २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति हुनुभएका स्व. नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो। संविधान सभामार्फत नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भुमिका रहेको थियो। यो बैठक स्व. नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ। उक्त शोक प्रश्तावलाई पारित गरिदिन अनुरोध गर्दछु। माननीय सदस्यहरु उपरोक्त शोक प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।’

    प्रतिनिधि सभाको अर्को बैठक भदौ २९ गते शुक्रबार १ बजे बस्नेछ।

  • राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि

    राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि

    काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानसाथ हिन्दू र लिम्बू संस्कारअनुसार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरे । यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो ।

    श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत पनि आर्यघाट पुगेका थिए।

    दाहसंस्कार गर्नुअघि उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो ।

  • कलाकारितामा प्रहरीको पोशाक प्रयोग गर्न अनुमति लिनुपर्ने

    कलाकारितामा प्रहरीको पोशाक प्रयोग गर्न अनुमति लिनुपर्ने

    काठमाडौं । फिल्म, फेसबुक, टिकटक भिडिओ, टेलिशृंखला, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने नेपाल प्रहरीले जनाएको छ। प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडिओको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले यसबारे बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन्।

    विज्ञप्तिमा उल्लेख छ: पोसाक दुरूपयोगका साथै सांगठानिक मर्यादाविपरीतका अपशब्द र संवादलाई प्रस्तुत गरेको तथा कतिपयले प्रहरीले व्यावसायिक रूपमा गरेका कार्यलाई अपव्याख्या गर्ने एवं प्रहरी कर्मचारीका पारिवारिक सदस्यसमेतको सुरक्षा चुनौती दिने किसिमका असामाजिक एवं अराजक प्रकृतिका अभिव्यक्तिबाट प्रहरी कर्मचारीको व्यावसायिक मनोबलमा प्रतिकूल प्रभाव पार्ने किसिमका क्रियाकलाप देखिएकाले नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।

    ‘नेपाल प्रहरीको पोसाक प्रयोग गर्नुपूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकतानुसार उक्त भिडियोको स्कृप्टसमेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाको पूर्वस्वीकृति नलिई वा स्वीकृत परियोजन तथा स्क्रिप्टअनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्ननगराउन, प्रहरी कर्मचारीले व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दा निजहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिनरनगर्न तथा यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सर्वसाधारण सबैको लागि अनुरोध छ, प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।

  • विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन

    विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका सय उदाउँदा नेताको सूचीमा पर्न सफल भएका छन् । विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई समेटेको हो। आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो।

    जसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन्। टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको बताएको छ।

    उनले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ। पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ। बालेनकै प्रभावको आलोकमा ३ सय ८५ जना स्वतन्त्रहरूले पुराना र पाका उम्मेदवारहरूलाई पाखा लगाएको पनि टाइमले उल्लेख गरेको छ।

    सन् २०१५ (२०७२ वैशाख १२ र २९) को भूकम्पले तहसनसह बनाएको काठमाडौंमा सरल वाचा प्रस्तुत गरेर आफ्नो छवि विस्तार गरेको पनि म्यागेजिनले सन्दर्भ जोडेको छ। उपयुक्त ढंगले फोहोर व्यवस्थापन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक, र शहरी विकासको साथसाथै सांस्कृतिक सम्पदाको संरक्षण बालेनको प्रतिबद्धताभित्र परेको म्यागेजिनले उल्लेख गरेको छ। बालेनले ल्यान्डफिल साइट प्रयोग गर्न विभिन्न सम्झौतामा हस्ताक्षर गरेको र फोहोरको वर्गीकरण पनि थालेकोसमेत उल्लेख छ।

    त्यस्तै गैरकानूनी मानिने घरहरू भत्काउँदा सहरी गरिबमा त्यसको असर परेको र बालेन आलोचनाको घेराभित्र परेको पनि म्यागेजिनले सन्दर्भ जोडेको छ। म्यागेजिनको सय उदीयमान नेताको सूचीमा युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेट्सोला, स्कटल्यान्डका फर्सट मिनिस्ट हम्जा युसुफ, युक्रेनको उप्रप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियन्कालगायत छन्। टाइम म्यागेजिनले कलकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता र वकालतजस्ता विधाबाट पनि प्रतिभाशाली र प्रभावशाली सय जना व्यक्तित्व छनोट गरी सूचीकृत गरेको छ।

  • आज कुशे औंसी, यस्तो छ धार्मिक महत्व

    आज कुशे औंसी, यस्तो छ धार्मिक महत्व

    काठमाडौं । आज कुशे औँशी पर्व मनाइदैछ । हरेक साल भाद्र कृष्ण औँसीका दिन यो पर्व पर्छ । वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँने गर्छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक मान्यता छ ।

    आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

    यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ(आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

  • डडेलधुरामा अटो रिक्सा दुर्घटना, दुई जनाको मृत्यु

    डडेलधुरामा अटो रिक्सा दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    वीरबहादुर कुँवर घाइते छन् । उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । कैलालीको अत्तरियाबाट डोटीतर्फ गइरहेको अटो रिक्सा बुधवार राति करिब ९ बजे तिर दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

  • सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी

    सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी

    काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ ।

    नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ ।

  • सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?

    सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?

    काठमाडौं । झन्डै दुई महिनादेखि चर्चाको चुलीमा रहेको सुन तस्करीबारे पहिलो चरणको अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। हङ्‌कङबाट आएको विमानमा ल्याइएका आठ बाकस ब्रेकप्याड .ब्रेक शू) भित्र ६०.७ किलोग्राम सुन भेटिएको थियो। उक्त तस्कारी काण्डको अनुसन्धान गर्दा प्रहरीले भेटेको प्रमाणले त्यसबाहेक सुन निकाली पुनः प्याकिङ गरिएको अवस्थामा बरामद ब्रेकप्याडको तौलका आधारमा उक्त गिरोहले ३०० केजीभन्दा बढी सुन नेपाल भित्र्याएको देखिएको सीआईबीले जनाएको छ।

    सीआईबीका अनुसार उक्त गिरोहले ३६२.७७८ केजी सुन तस्करी भित्र्याएको देखिएको छ। अहिलेको बजारमूल्यको आधारमा ३.५ अर्ब रुपैयाँको सुन अवैध पैठारी भएको पुष्टि भएको सीआईबीले जनाएको छ। यस मामिलामा प्रहरीले २३ नेपाली र नौ विदेशीसहित ३२ जनालाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार सुन तस्करीमा संलग्न भएको आशङ्का गरिएका चार नेपाली र १४ विदेशीसहित १८ जना फरार छन्। अनुसन्धानको दायरामा ५० जना आएको बताइएको छ। सीबाईबीका प्रवक्ता नवराज अधिकारीले २९ जना विरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए।

    सीआईबीले उनीहरू विरुद्ध भन्सार ऐन अवैध सुन पैठारी तथा सङ्गठित अपराध अन्तर्गतका मुद्दा चलाउन सिफारिस गरेको छ। पक्राउ परेकामध्ये पाँच विदेशी नागरिकले नेपाली नागरिकता तथा राहदानी समेत लिएको खुल्न आएकाले त्यसमा पनि मुद्दा चलाउन सिफारिस गरिएको छ। सुन तस्करी काण्डको अनुसन्धानको नेतृत्व गरेकी सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यो घटना अन्तरदेशीय अपराधको स्पष्ट उदाहरण भएको बताइन्।

    नेपालभित्र चाहिँ राजनीतिक तथा उच्च प्रशासकीय संरक्षणको प्रत्यक्ष संलग्नता अहिलेसम्म नखुलेको उनले जनाएकी छन्। तर प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध र सम्पर्क दुरुपयोग भएको छनक भने आएको उनले बताइन्। उनका अनुसार सुन तस्करी गर्ने यो गिरोहका नाइकेहरूले इटली वा जापानका माफिया सङ्गठनहरूले प्रयोग गर्ने जटिल शैली अपनाएको देखिएको छ।

  • धर्मगुरु गिरीले पाए बलात्कार मुद्दामा सफाई

    धर्मगुरु गिरीले पाए बलात्कार मुद्दामा सफाई

    काठमाडौं । धर्मगुरु कृष्णबहादुर गिरीले बलात्कार मुद्दामा सफाई पाएका छन् । जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने धर्मगुरु गिरीलाई सफाइ दिएको हो । बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।
    सिद्धबाबालाई यसअघि पनि जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो ।

    तर उच्च अदालतल विराटनगरले फेरि प्रमाण बुझेर फैसला गर्न भन्दै जिल्लामा नै पठाएको थियो । जिल्लाले दोस्रो पटक उनलाई सफाइ दिएको हो । धर्मगुरु गिरीमाथि चतरास्थित आश्रममा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेको थियो । हिरासत अवधी अस्पतालमा बसेका गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।

    २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । ३ जेठ २०७९ मा उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले जवरजस्ती करणी मुद्दामा सफाइ दिने जिल्लाको फैसलामा गम्भीर त्रुटी देखाउँदै पुनप्रमाण बुझेर न्याय निरुपण गर्न आदेश दिएको थियो । उच्चको फैसलापछि जिल्लामै फर्किएको मुद्दा २०७९ असार १४ गते फेरि मुद्दा दर्ता भएको थियो । पुन दर्ता भएको मुद्दामा अदालतले दाबी नपुग्ने ठहर गरेको हो ।

  • परराष्ट्र मन्त्री न्यूयोर्क पुगे

    परराष्ट्र मन्त्री न्यूयोर्क पुगे

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क पुगेका छन् । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरे । न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्री साउदले राष्ट्रसङ्घको विभिन्न फोरममा सहभागिता जनाउनेछन् । गत सेप्टेम्बर ५ देखि सुरु भएको वार्षिक महासभामा विश्वभरका उच्चस्तरका नेताहरुले सेप्टेम्बर १९ तारिखदेखि सम्बोधन हुने कार्यतालिका रहेको छ ।

    यसपटकको महासभालाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसपटक विश्वभरका नेताहरुले सद्भावको पुनःनिर्माण प्रारम्भ र विश्वव्यापी ऐक्यबद्धता स् सन् २०३० को एजेण्डाको दु्रतगतिमा कार्यान्वयन र यसको दिगो विकास लक्ष्यतर्फ शान्ति, समृद्धि, प्रगति र सबैका लागि दिगोपन भन्ने मूल नारा तय गरिएको छ ।

    यही सिलसिलामा सेप्टेम्बर १८ र १९ तारिखको दिन दिगो विकाससम्बन्धी सम्मेलन हुनेछ । २० तारिखको दिन विकासका लागि वित्तीय परिचलानका विषयमा उच्चस्तरीय संवाद हुनेछ । सोही दिन जलवायु परिवर्तनसम्बन्धी सम्मेलनसमेत हुनेछ । यस सम्मेलनमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले विश्वभरबाट महासभामा भाग लिन आएका सरकारी, गैरसकारी, व्यावसायिक, नागरिक समाजका प्रतिनिधिलाई जलवायु असरका बारेमा सम्बोधन गर्नेछन् ।

    यसैगरी २० तारिखकै दिन महामारी नियन्त्रण, पूर्वतयारी र उत्तरदायी विषयमा समेत छलफल हुने कार्यक्रम रहेको छ । राष्ट्रसङ्घले दिएको जानकारीअनुसार यसपटकको महासभामा मुख्य कार्यक्रममा भविष्यका लागि मन्त्रिस्तरीय सम्मेलन, युनिभर्सल हेल्थ कभरेज, क्षयरोगविरुद्धको लडाईंका विषयमा छलफल हुने जनाइएको छ । यी कार्यक्रममा नेपालले मन्त्रिस्तरीय, प्रधानमन्त्री स्तरीयरुपमा सहभागिता जनाउनेछ ।

  • गगनको दाबी-‘केही दिनमा कांग्रेसले सरकारको नेतृत्व लिन्छ’

    गगनको दाबी-‘केही दिनमा कांग्रेसले सरकारको नेतृत्व लिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन वा केही महिनामा सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने बताएका छन्।

    बुधबार पोखरा महानगरको सम्मेलनमा दिपेन्द्र सभागृहमा थापाले सरकारको नेतृत्व अब कांग्रेसले गर्ने भन्दै नेता कार्यकर्तालाई रुवाबासी नगर्न आग्रह गरे।

    २०८४ सालको निर्वाचनलाई लिएर कांग्रेसका नेता कार्यकर्ता चिन्तित भएको आफूले पाएको भन्दै उनले प्रश्न गरे, ‘अब केही दिनपछि हप्तापछि, नभए महिनापछि संघको प्रधानमन्त्री कांग्रेस। सबै प्रदेशको मुख्यमन्त्री कांग्रेस अनि ८४ मा चुनाव हारिन्छ भनेर रुवाबासी, रुवाबासीरु,’ गगनले भने।

    गएको निर्वाचनपछि कांग्रेस धेरै ठाउँमा सत्तामा पुगेको उल्लेख गर्दै गगनले २०८४ सालको निर्वाचन आउन अझै चार वर्ष बाँकी रहेको बताए। जताततै चुनाव जितेको कांग्रेस अहिले रुनुपर्ने अवस्था नरहेको गगनको भनाइ थियो।

    ‘मैले अहिले कांग्रेस रोएको भेट्छु चुनाव हारिन्छ चुनाव हारिन्छ भनेर। नेपाली कांग्रेस त्यो हैन,’ थापाले भने, ‘गण्डकीमा गए यही मुख्यमन्त्री। लुम्बिनीमा गए त्यही मुख्यमन्त्री। सुदुरपश्चिम गए त्यही मुख्यमन्त्री। यता ठोक्किए वडाध्यक्ष। उता ठोके उपमेयर। त्यता ठोके अध्यक्ष। ३३२ वटा पालिकाको अध्यक्ष मञ्चभरि अटाइनअटाई बस्छन्। चुनाव लड्छ जित्छ। अनि देशभरीको कार्यक्रममा गयो भने कांग्रेसमा रुवाबासी छ। रुवाबासी चै किन रे भने ८४ सालमा चुनाव हारिन्छ भनेर। ८० सालमा चुनाव जित्ने। चुनाव आउन ४ वर्ष बाँकी छ।’

    गगनले कांग्रेस ठूलो पार्टी भएको भन्दै थप भने, ‘कांग्रेसले आफ्नो धर्म निर्वाह गरेन रे। फल के आउँछ चिन्ता गरेर बस्ने। आजको हाम्रो धर्म के हो। ७९ सालमा चुनाव भयो। जताततै चुनाव जितेको छ। संघमा चुनाव जितेको छ ठुलो पार्टी बनेको छ।’

  • निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने, सरकारीमा निःशुल्क

    निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने, सरकारीमा निःशुल्क

    काठमाडौं । लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा आज दर्ता गरेको छ ।

    विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट पारित गरेर सो विधेयक दर्ता गरिएको हो ।

    दर्तापछि विधेयकलाई सङ्घीय संसद् सचिवालयले वेभसाइटमा समावेश गरेको छ । यस विधेयकमा विद्यालय स्थापनाका आधारलाई स्पष्ट र पारदर्शी बनाइएको छ । विधेयकमा निजी लगानीका विद्यालय स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकेबमोजिम सञ्चालन हुनेछ भने स्थानीय तहले तोकेको शीर्षक र सीमामा निजी विद्यालयले शुल्क लिन पाउने छन् ।

    सार्वजनिक विद्यालयले भने शुल्क लिन पाउने छैन । नयाँ निजी विद्यालयको सञ्चालन गुठी (बोर्ड अफ ट्रष्टी) को मातहत हुनेछ भने हाल सञ्चालनमा रहेका निजी विद्यालय गुठीमा जान भने बाध्य हुने छैन ।

    यस विधेयकले शिक्षकको तलब वृद्धिको अधिकतम् दर, मिति २०७५ चैत ४ पछि नियुक्त हुने शिक्षकको निवृत्तिभरण कोष ऐन, २०७५ को व्यवस्था समेतका आधारमा कट्टा हुने र थप हुने रकम नियमावलीबमोजिम निर्धारण हुने प्रबन्ध गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकमध्येबाट चयन हुनेछ ।

    यसैगरी विद्यालय कर्मचारीका लागि कर्मचारीका लागि सुविधाको व्यवस्था गरिएको छ । विधेयकमा नेपाल शिक्षक महासङ्घका पेसागत मागलाई अधिकतम् सम्बोधन गरिएको जनाइएको छ ।

  • गौहत्याको विरोधमा राप्रपाको प्रदर्शन

    गौहत्याको विरोधमा राप्रपाको प्रदर्शन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ । बुधवार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्।

    सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरुप सरकारविरुद्ध प्रदर्शन गरेको छ।

    भृकुटीमण्डपबाट शुरु भएको विरोध र्‍याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गौहत्या गर्नेमाथि कारबाही नभएसम्म देशभर आन्दोलन नरोक्ने उद्घोष गरे ।

  • दुई करोडको अडियो प्रकरण: रास्वपाले थाल्यो मोहनजंग थापामाथि छानबिन

    दुई करोडको अडियो प्रकरण: रास्वपाले थाल्यो मोहनजंग थापामाथि छानबिन

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेपछि उनिमाथि छानबिन थालेको छ।

    केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो।

    बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ।’ बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पुर्‍याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न रास्वपाले आग्रह पनि गरेको छ।

  • गणित, विज्ञान र कम्प्युटर नेपाली भाषामा पढाउन नपाइने

    गणित, विज्ञान र कम्प्युटर नेपाली भाषामा पढाउन नपाइने

    काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्‌को विधेयक शाखामा दर्ता भएको छ।

    विधेयकमा विद्यालयहरुले अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय नेपाली भाषामा पढाउन नपाउने व्यवस्था गरिएको छ ।

    ‘शिक्षणको माध्यम भाषा नेपाली, संस्कृति, मातृभाषा वा अंग्रेजी हुन सक्ने, त्यसमध्ये गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा अध्यापन गराउनु पर्ने,’ विधेयकमा उल्लेख छ ।

    सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषामा अध्यापन गराउनु पर्ने व्यवस्था विधेयकमा छ ।

  • एसईई हटाउने प्रस्तावसहित शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता

    एसईई हटाउने प्रस्तावसहित शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता

    काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्‌को विधेयक शाखामा दर्ता भएको छ। नेपालमा २०२८ सालको शिक्षा विधेयक संशोधन गरेर सञ्चालन भएको भए पनि नयाँ विधेयक आउन सकिरहेको थिएन।

    यसअघि विधेयकमा भएको प्रावधान चुहावट भएपछि निजी विद्यालय सञ्चालकहरुले विरोध जनाएका थिए। प्याब्सन, एनप्याब्सनहरुको विरोधपछि सरकार विधेयक दर्ता गर्न पन्छिएको थियो।

    सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने गरी विधेयक तयार पारेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा एसईईलाई राखिएको छैन । शिक्षा मन्त्रालय स्रोतका अनुसार एसईई हटाइएको छ । अब विद्यालय तहको अन्तिम परीक्षा १२ को हुनेछ ।

    ‘एसईई नरहने भन्ने छ । १० को परीक्षा विद्यालयले लिने । ८ को स्थानीय तहले र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने भनिएको छ,’ शिक्षा मन्त्रालय स्रोतले भन्यो ।

  • पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै

    पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै

    काठमाडौं । सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्दैछ । परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १४ वर्ष पुगि १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरी एचपीभी खोप डेमोस्ट्रेसनका रुपमा सञ्चालन गर्न लागेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिएर कार्यक्रम सुरु गर्ने जनाएको छ । 

    कार्यक्रममा २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्मिएका किशोरीहरुलाई मात्र खोप दिने डा.गौतमले जानकारी दिए ।

    खोप लगाउन उमेर खुलाउने आधिकारिक प्रमाण पत्र वा वा जन्म मिति खुलाउने अन्य कागजात र दोस्रो मात्राको हकमा खोप कार्ड पहिलो मात्रा लगाउदा प्राप्त हुने कार्ड लैजान उहाँको आग्ह छ । दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाट लगाउन डा.गौतमको आग्रह छ ।

    सरकारले राष्ट्रिय खोप कार्यक्रम एचपीभी खोपको सातै प्रदेशबाट डेमोस्ट्रेसनका रुपमा सञ्चालन गरेको हो ।  खोप उपलब्धका आधारमा कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल प्रादेशिक अस्पताल सुर्खेत, डडेल्धुरा अस्पतालमा खोप  कार्यक्रम सञ्चालन गर्दै छ ।

    विश्व स्वास्थ्य संगठनले सुरुवाती चरणमा नौदेखि १५ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई अनिवार्य खोप लगाउन सुझाव दिएको थियो । सोही सुझाव सोरुप नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट कसैको पनि अकाल्कै मृत्यु नहोस् भन्ने उद्देश्यले ह्युमन पापिलोमा भाइरसविरुद्धको खोप नौदेखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क रुपमा सञ्चालन गर्ने घोषण गरेको हो । 

    यो कार्यक्रमका लागि सरकारले चीनबाट २० हजार भाइल एचपीभी खोप खरिद गरेर ल्याएको छ । हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ ।

  • सुन तस्करीको अनुसन्धान प्रतिवेदन आज प्रहरीले बुझाउदै

    सुन तस्करीको अनुसन्धान प्रतिवेदन आज प्रहरीले बुझाउदै

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले करिब ६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । यसबारे जानकारी दिन सीआईबीले आज ११ः३० बजे पत्रकार सम्मेलन समेत आयोजना गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै बाहिरिएको ब्रेक-सु सहितको सुन गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । सुरुमा ब्रेक सुसहितको तौल १५५ किलो भए पनि त्यसबाट सुनमात्र निकालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।

    सुरुका १८ दिनसम्म राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा सुन तस्करीमा संगठित गिरोह संलग्न भएको पाइएपछि थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो 

    सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले भन्सार कार्यालयका कर्मचारी, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल तथा केही चिनियाँ र भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।

    आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीको तयारी छ 

  • भक्तपुरबाट पर्सा लगिएका बाल सुधार गृहका कैदिले गरे उत्पात

    भक्तपुरबाट पर्सा लगिएका बाल सुधार गृहका कैदिले गरे उत्पात

    काठमाडौं । पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त बनेको छ । बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता बढाइएको छ ।

    गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । दुई समूहबीचको विवादले झडपको रुप लिँदा केही कैदीबन्दी घाइते पनि भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

    बाल सुधार गृहमा तनाव बढेको थाहा पाएपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि झन् आक्रोशमा आएकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाले आज बिहानको अवस्था सामान्य रहेको बताए । यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिए ।

    ‘उनीहरुबीच राति आपसमा विवाद भएको थाहा पाएपछि हामीले रोक्न खोज्यौं, त्यहीक्रममा प्रहरीमाथि ढुंगा–ईंटा प्रहार भएको थियो, अहिले भने अवस्था सामान्य छ,’ डीएसपी थापाले भने, ‘अहिले पनि प्रहरीहरु गेट बाहिर तैनाथ छन् ।

    बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ

    यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।

  • लिबियामा बाढीको ताण्डब, कम्तिमा १५ सय मानिस मारिए

    लिबियामा बाढीको ताण्डब, कम्तिमा १५ सय मानिस मारिए

    काठमाडौं । लिबियामा बाढीका कारण ठूलो मानवीय क्षति भएको छ । लिबियाको एउटा सहरमा मात्रै १,५०० जनाको ज्यान गएको डेर्नाको पूर्वी बन्दरगाह भ्रमण गरेका एक जना मन्त्रीले बताएका छन्। डेर्ना बन्दरगाह सहर हो। “त्यहाँ देखिएका कुराले म स्तब्ध भएको छु। त्यहाँ सुनामीको जस्तै अवस्था छ,” पूर्वी सरकारका उड्डयन मन्त्री तथा सरकारको आपत्कालीन प्रतिकार्य समितिका सदस्य रहेका हिचेम च्किओउआटले भने। दुई वटा बाँध र चार वटा पुल भत्किएपछि करिब १,००,००० मानिसहरूको बसोबास रहेको डेर्नाको अधिकांश भाग डुबानमा छ।

    सरकारका ती मन्त्रीले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै “त्यहाँ जताततै शवहरू रहेको” बताएका छन्। ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ। उक्त समुद्री आँधी त्यहाँ आइतवार प्रवेश गरेको थियो। ती मन्त्रीले यसअघि ज्यान गुमाउनेहरूको सङ्ख्या निकै बढी हुने अनुमान गरिएको बताएका थिए। “पच्चीस प्रतिशत सहर बिलायो भन्दा बढाइचढाइ गरेको हुने छैन। थुप्रै भवनहरू भत्किएका छन्।” अन्तर्राष्ट्रिय सहायता निकाय आईएफआरसीका अनुसार बाढीका कारण हराउने मानिसको सङ्ख्या झन्डै १०,००० छ।

    मानवीय सहायता सञ्जाल रेड क्रेसन्टले पनि ड्यान्यल समुद्री आँधीका कारण बेपत्ता मानिसहरूको सङ्ख्या १०,००० पुगेको जनाएको छ। ठूलो वर्षापछि आएका बाढी र पहिरोका कारण सडक र घरहरू भत्किएका छन्। आईएफसारसीका तामेर रमादानका अनुसार त्यहाँ भएको विनाश ठूलो छ। ‘मृतकको सङ्ख्या ठूलो छ र त्यो हजारौँ पुग्न सक्छ,’ उनले भने।

    लिबियाविज्ञ जलेल हर्चाउईले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउने मानिसको सङ्ख्या केही हजारसम्म पुग्न सक्ने देखिन्छ। जारी उद्धार तथा राहत अभियानका क्रममा सात सैनिकहरू बेपत्ता भएका छन्। पूर्वी क्षेत्रमा रहेका अधिकारीहरूले त्यहाँ कर्फ्यू लगाएका छन् भने विद्यालय तथा पसलहरू बन्द गर्न पनि निर्देशन दिएका छन्। पूर्वका सहरहरू बेन्गाजी, सुसे, डेर्ना र अल-मर्ज सबै नै प्रभावित भएका छन्। ज्यान गुमाउने मानिसहरूको सङ्ख्या बढ्नुका साथै ठूलो सङ्ख्यामा घरहरूमा पनि क्षति पुगेको लिबियाली रेडक्रसले जनाएको छ।

    GETTY IMAGES\BBC

    एक लाख जनसङ्ख्या भएको डेर्ना सहरमा दुईवटा बाँधहरू भत्किएका छन् भने त्यस वरपरको ठूलो क्षेत्र डुबानमा परेको छ र केही बासिन्दाको पानीमा डुबेर ज्यान गएको बताइएको छ। अधिकारीहरूले त्यस क्षेत्रलाई विपद्‌ग्रस्त सहर घोषणा गरेका छन्। पूर्वी लिबियाका प्रधानमन्त्री ओसामा हमादले एक लिबियाली टेलिभिजन च्यानलसँग कुरा गर्दै भने, “हराइरहेका मानिसहरूको सङ्ख्या हजारौँमा छ। डेर्नामा पूरै बस्तीहरू नै नष्ट भएका छन्। त्यहाँका बासिन्दाहरूसहित सबैलाई पानीले बगाएको छ।”

    ओसामा हमादले त्यस्तो तथ्याङ्कको स्रोत भने उल्लेख गरेनन्। पूर्वका क्षेत्रहरूका साथै बाढीको चपेटामा पश्चिमी सहर मिस्राटा पनि परेको छ। अनलाइनमा आँधीले पारेका प्रभावका बारेमा अपुष्ट भिडिओहरूको चर्चा भैरहेको छ। त्यसमध्ये एउटामा बाढीको पानीको बेगले एकजना मानिसलाई बगाएर लगेको देख्न सकिन्छ। अन्य भिडिओ दृश्यहरूमा बाढीमा फसेका सवारीचालकहरू आफ्ना सवारीसाधनको छतमा बसिरहेका देख्न सकिन्छ। आँधीका कारण विद्यालय र पसलहरूका साथै चारवटा ठूला तेल बन्दरगाहहरू बन्द भएका छन्।

    बेन्गाजीमा रहेको प्रशासनले देशको पूर्वको अवस्थालाई हेरिरहेको छ भने राजधानी त्रिपोलीमा अवस्थित त्यसको प्रतिद्वन्द्वी तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार पनि सक्रिय भएको छ। त्यहाँका प्रधानमन्त्री अब्दुल हमिद ड्बेइबाले आइतवार आफूले राज्यका सबै निकायहरूलाई बाढीले पुर्‍याएको क्षतिप्रति तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिइएको बताएका छन्। लिबियाका लामो समयदेखिका नेता मुअम्मर गद्दाफी सन् २०११ मा मारिएपछि सन् २०१४ देखि लिबिया दुई प्रतिद्वन्द्वी प्रशासनबीच बाँडिएको छ। ड्यान्यल समुद्री आँधीबाट पुगेको क्षतिपछि दुवैप्रशासनले देशमा तीनदिने शोक घोषणा गरेका छन्।
    बीबीसीको सहयोगमा

  • नेम्वाङको अन्त्येष्टी विहिबार, सोही दिन शोक बिदा

    नेम्वाङको अन्त्येष्टी विहिबार, सोही दिन शोक बिदा

    काठमाडौं । संविधानसभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार अन्तिम संस्कार गरिने भएको छ । सोही दिन सरकारले शोक बिदा समेत दिएको छ । उनको पार्थिव शरीरलाई सोमबार राति नेकपा एमालेको पार्टी कार्यालयमै राखिने भएको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार विहान निधन भएको थियो ।

    उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपराह्न ५ बजेसम्म एमाले पार्टी कार्यालय, च्यासलमा राखिएको थियो । आज राती पार्टीका नेता कार्यकर्ता र सुरक्षाकर्मी रहने भएका छन् । मंगलबार विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि समय तोकिएको छ । त्यसपछि नेम्वाङको पार्थिव शरीरलाई उनको बालुवाटारस्थित निवासमा लगिनेछ ।

    अष्ट्रेलिया भ्रमणमा रहेका उनका कान्छा छोरा सुहाङ आज (मंगलबार राति) काठमाडौं आइपुग्दैछन् । जेठा छोरा भने परिवारसहित बेलायतमा छन् । उनी भोलि बुधबार मात्र आइपुग्ने भएकाले पर्सि मात्र नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ ।

  • कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

    कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

    काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । अनलाइनबाट दर्ता हुने कम्पनीले कम्पनीको छाप तथा कम्पनीको तर्फबाट सम्बन्धित कागजातमा हस्ताक्षर गर्न अनुमतिप्राप्त कम्पनीको अध्यक्ष, सञ्चालक वा कम्पनी सचिवको नमुना हस्ताक्षर विद्युतीय सूचना प्रणालीमा उपलब्ध गराउनुपर्नेछ । केही समयका लागि हाल प्रचलनमा रहेको भौतिक कागजात पेस गरी सेवा लिने वा विद्युतीय हस्ताक्षरमार्फत् कागजात पेस गरी डिजिटल सेवा लिने भनी विकल्प उपलब्ध गराइने कार्यालयले जनाएको छ । विद्युतीय हस्ताक्षरमार्फत् सेवा माग गर्न इच्छुक कम्पनीले सरकारबाट विद्युतीय हस्ताक्षरको साँचो (कि) लिनुपर्नेछ । चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटले कम्पनी दर्तालगायतका काम विद्युतीय माध्यामबाट गर्ने व्यवस्था राखेको थियो ।