Category: समाचार

  • युवाजति विदेशमा : स्वदेशमा कृषि गर्ने महिला र वृद्धवृद्धा

    युवाजति विदेशमा : स्वदेशमा कृषि गर्ने महिला र वृद्धवृद्धा

    काठमाडौं । रोजगारी र अध्ययनमा युवा विदेशिएसँगै नेपालको कृषि महिला र पौढले धानिरहेको पाइएको छ । स्वदेशमा कृषि कर्म गर्ने युवा घट्दै गएको राष्ट्रिय कृषि गणनाको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’को नतिजा अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ । पुरुषको संख्या घटेको छ । उमेर समूहका हिसाबले ५४ वर्षमुनिका किसानको संलग्नता घटेको छ ।

    नेपालका ५० लाखभन्दा बढी युवा विदेशमा रहेका छन् । २६ लाख श्रम स्वीकृति लिएर गएका हुन् । युवा विदेशिएसँगै त्यसको असर कृषिमा देखिएको सरकारको विश्लेषण छ । विदेश अध्ययनका लागि गत वर्षमात्रै १ लाख १० हजार २ सय १७ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । जसमा अध्ययनका लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

    अध्ययनसँगै काम गर्दा गतिलो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेशिने क्रम बढेको हो । वैदेशिक अध्ययन जस्तै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या पनि उच्च छ । गत वर्ष मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै बढी अर्थात् ७ लाख ४० हजार थियो । अघिल्लो आर्थिक वर्षमा करिब ६ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए ।

    २०६८ को कृषि गणनाअनुसार २५ वर्षभन्दा मुनि उमेर समूहका मुख्य किसानको हिस्सा ३.१ प्रतिशत थियो । ०७८ सम्म आइपुग्दा यो उमेरका मुख्य किसानको हिस्सा २.६ प्रतिशतमा झरेको छ । एक दशकमा २५ देखि ३४ वर्ष उमेर समूहका कृषकहरू १६.१ प्रतिशतबाट घटेर १४.९ प्रतिशतमा झरेको छ । ३५ देखि ४४ वर्ष उमेर समूहका किसानको संख्या पनि घटेको छ ।

    ०६८ को गणनामा यो उमेर समूहका किसानको हिस्सा २६..७ प्रतिशत थियो भने त्यसको १० वर्षमा १ प्रतिशत घटेको छ । ४५ देखि ५४ वर्ष उमेर समूहका पनि २५.१ प्रतिशतबाट २४.८ प्रतिशतमा घटे पनि ५५ देखि ६४ उमेर समूहका किसानको संख्या भने दस वर्षको अवधिमा १७.६ प्रतिशतबाट बढेर १८.३ प्रतिशतमा पुगेको छ ।

    ६५ वर्षभन्दा बढी उमेरका मुख्य किसान पनि ११.४ प्रतिशतबाट बढेर १३.७ प्रतिशत पुगेको छ । कृषि गणना ०६८ अनुसार मुख्य किसानमा महिलाको हिस्सा १९ प्रतिशत मात्रै थियो । १० वर्षमा यो संख्या पनि बढेर ३२ प्रतिशत अर्थात् ३ लाख ३८ हजारमा पुगेको छ ।

  • काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु

    काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु

    काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबारदेखि साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

    काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने प्रवक्ता पौडेलले बताए । उनका अनुसार रातिको १०ः४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु थिए भने फर्कँदा ११७ जना यात्रु आएका छन् ।

    माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको उनको भनाइ छ । निगमको वेबसाइट तथा नजिकैको ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सकिनेछ ।

  • अमेरिकाको क्यालिफोर्नियामा अब जातका आधारमा हुने भेदभाव अपराध मानिने

    अमेरिकाको क्यालिफोर्नियामा अब जातका आधारमा हुने भेदभाव अपराध मानिने

    काठमाडौं । अमेरिकामा विधानसभाबाट जातको आधारमा हुने भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने विधेयक पारित गर्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ । क्यालिफोर्निया राज्यको पछिल्लो कदमले आफूमाथि जातको आधारमा भेदभाव हुने गरेको गुनासो गर्दै आएका दक्षिण एसियाली मूलका मानिसलाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    राज्यको विधानसभाले पारित गरेको यो विधेयकमा हस्ताक्षर गरेर अब त्यसलाई कानुनको रूप दिने कि नदिने भन्ने निर्णय राज्यका गभर्नरले गर्नुपर्ने हुन्छ । गएको फेब्रुअरीमा जातीय विभेदमा प्रतिबन्ध लगाएर सियाटल त्यस्तो नियम बनाउने पहिलो सहर बनेको थियो ।

    क्यालिफोर्निया राज्यका डेमोक्र्याट गभर्नर ग्याभिन न्युसमको कार्यालयले विधेयक आफ्नो टेबलमा आएपछि त्यसको समीक्षा गर्ने बताएका बीबीसीले जनाएको छ । केही हिन्दु समूहले जातीय प्रणाली उत्तरी अमेरिकामा गम्भीर मुद्दाको रूपमा नरहेको दाबी गर्दै आएका छन् । केही दलित अधिकारकर्मीले त्यस्तो दाबीलाई अस्वीकार गर्दै आफूहरूले परम्परागत रूपमा विशेष सुविधा पाउँदै आएका भनिने समुदायका मानिसबाट भेदभावको सामना गर्नुपरिरहेको बताएका छन् ।

  • भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति

    भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति

    काठमाडौं । नेपालको चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्ट व्यवसाय अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ। नेपाल र भारतको सम्बन्ध अझै सुदृढ गर्दै लैजाने उद्देश्यले दुई देशका व्यावसायिक घरानाले सिमेन्ट व्यवसायमा नयाँ अध्याय सुरू गरेका हुन्। नेपालसँग जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले यो साझेदारी गरिएको चौधरी ग्रुपले जनाएको छ।

    यसै सन्दर्भमा ग्रुपका प्रबन्ध निर्देशक वरूण चौधरीले यो सहमति दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यमा कोशेढुंगा सावित हुने विश्वास रहेको बताए। उनले अदानी ग्रुपका अध्यक्ष गौतम अदानीले यो रणनीतिक साझेदारी सफल बनाउन नेतृत्व दिई भूमिका खेलेकोमा आभार पनि व्यक्त गरे।

    ‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौं,’ उनले भने।

    चौधरी ग्रुप र अदानी ग्रुपबीच यो सम्झौता नेपालमै भएको हो। यसले दुई व्यावसायकि घरानाको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोण दर्शाएको र सामूहिक वृद्धि तथा पारस्परिक लाभको यात्रामा अगाडि बढेको पनि उनले बताए। भविष्यमा थप आर्थिक सम्बन्धहरू बढावा दिनेतर्फ यो सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहको छ।

    अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको रहेको चौधरी ग्रुपले जनाएको छ। चौधरी ग्रुपले हाल पाल्पामा रहेको कारखानामार्फत् सिजी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

  • आज निजामती दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज निजामती दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।

    विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो। हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्।

    दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ। दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ।

  • जर्मनीमा रोजगारी पठाउने प्रलोभन सहितका विज्ञापनमा भर नपर्न विभागले गरायो सचेत

    जर्मनीमा रोजगारी पठाउने प्रलोभन सहितका विज्ञापनमा भर नपर्न विभागले गरायो सचेत

    काठमाडौं । जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरु गलत भएको वैदेशिक रोजगार विभागले बताएको छ । अनधिकृत व्यक्तिले नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन र सूचना सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले यस्तो बताएको हो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार सामाजिक सञ्जालमा जर्मनीको रोजगारी सम्बन्धी आएका सूचनाहरु गलत हुन् ।

    विभागले यस्ता भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न सरोकारवालामा सूचित समेत गरेको छ । कानुन विपरीत हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न समेत विभागले चेतावनी दिएको छ ।

    सरकारले १११ वटा मुलुकलाई वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरेको छ । व्यक्तिगत रुपमा नेपाली नागरिक १७८ मुलुकमा रोजगारीका लागि गइरहेका छन् । संस्थागत रुपमा खुला भएको मुलुकमा इजाजत प्राप्त संस्थाले मात्र कामदार पठाउन पाउँछन् ।

  • सर्वोच्चको आदेशपछि कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्की मूख्यमन्त्री बन्ने

    सर्वोच्चको आदेशपछि कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्की मूख्यमन्त्री बन्ने

    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको फैसला सुनाएको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

    आदेशको संक्षिप्त विवरण तयार पारेपछि न्यायाधीश सपना प्रधान मल्ल इजलासमा पुगेर बुँदागत रूपमा संक्षिप्त विवरण सुनाएकी थिइन् । त्यसक्रममा उनले कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म तदर्थमा राखिराख्नु उचित नहुने भएकाले ४८ घन्टाभित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको बताइन् ।

    १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । त्यसविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च आए । त्यही मुद्दामा न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले प्रदेशसभाको अध्यक्षता गरेका मन्सुरीले दिएको मत संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको छ ।

    संविधानको धारा १८६ मा प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिलाई मतदानको अधिकार हुनेछैन भनिएको छ । साथै प्रतिबन्धात्मक वाक्यांशमा मत बराबर भएमा मात्र अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ भनिएको छ । यो व्यवस्था सभामुख वा उपसभामुखका लागि मात्र नभई अध्यक्षता गरेका व्यक्तिलाई समेत भएको सर्वोच्चको पूर्ण इजलासको ठहर छ ।

    बहसका क्रममा मुख्यमन्त्री थापाको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले १८६ कुनै प्रस्ताव पास गर्दा मात्र लागू हुने तर्क गरेका थिए । संविधानको धारा १८८ अनुसार मुख्यमन्त्रीले विश्वासको मतमा प्रदेशसभाको सम्पूर्ण सदस्यको मतको बहुमत हेरिने भएकाले बैठकको अध्यक्षता गरेको व्यक्तिले मत दिनसक्ने उनीहरूको तर्क थियो ।

    सर्वोच्चले भने संविधानमा प्रदेशसभा बैठकको अध्यक्षता सम्बन्धी व्यवस्था १६८ बाहेक अर्को धारामा नभएकाले सबै अवस्थामा यही लागू हुने ठहर गरेको छ । अर्थात् विश्वासको मत लिने क्रममा बराबर मत आए मात्र प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिले मत दिन पाउँछ ।

    ४ भदौमा भएको मतदानमा बराबरी मतको अवस्था नआएको अवस्थामा मन्सुरीले मत दिएकाले यो संविधान, संविधानवादको मान्य सिद्धान्त तथा सर्वोच्चबाट प्रतिपादित नजीर सिद्धान्तको समेत प्रतिकूल भएको सर्वोच्चको ठहर छ ।

    पूर्ण इजलासको फैसलामा भनिएको छ— ‘उल्लेखित प्रस्तावमा निजले गरेको मतदान, त्यो मत समेत गणना गरी उक्त प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको भनी सो प्रदेशसभाले गरेको २०८०\०५\४ को निर्णय तथा उक्त निर्णयको जानकारी गराउन सोही मितिमा प्रदेश प्रमुखलाई गरेको पत्राचार लगायतका काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।’

    साथै थापाले संविधानको धारा १६८ ९४० अनुसार प्रदेशसभाको विश्वासको मत पाएको नदेखिएकाले स्वतः मुख्यमन्त्री पदबाट पदमुक्त हुने सर्वोच्चको फैसला छ ।

    एमाले संसदीय दलका नेता कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको पनि माग गरेका थिए । सर्वोच्चले त्यसलाई पनि स्वीकार गर्दै ४८ घण्टाभित्र गर्न परमादेश दिएको छ ।

    नेपालको संविधान र अवलम्बन गरेको संवैधानिक प्रणालीका दृष्टिकोणले प्रदेश मन्त्रिपरिषद् गठन, निरन्तरता वा विघटनको निर्णय प्रदेशसभाबाटै हुने विषय हो भन्नेमा इजलास प्रष्ट रहेको फैसलामा उल्लेख छ ।

    तर अघिल्लो मुद्दामा सर्वोच्चले १६८ (२) बमोजिम गठित मन्त्रिपरिषद्ले विश्वासको मत प्राप्त गर्न नसके (३) मा जाने स्मरण गराएको भन्दै फैसलामा भनिएको छ– आदेश अनुसार नै उपधारा (२) बमोजिम गठित मन्त्रिपरिषद्ले ऐ उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेको यस स्थितिमा पुनः सोही उपधारा बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रिया पुनरावृत्ति गर्नु संविधानसम्मत हुने देखिएन ।’

    एउटै विकल्पमा पटक–पटक नगई संविधान बमोजिमको विकल्पमा प्रवेश गर्नु संवैधानिक अभ्यासको विकासका दृष्टिले उचित हुने भन्दै सर्वोच्चले ‘संवैधानिक व्यवस्था तथा यस अदालतबाट भएको पूर्व आदेश बमोजिम उपधारा ९३० बमोजिम प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने देखिन आयो’ भनेको छ ।

    साथै ४८ घण्टाभित्र १६८ ९३० बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद् गठन गर्न परमादेश दिएको छ । प्रदेशको कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म तदर्थ अवस्थामा राखिराख्नु उचित नहुने भएकाले समय तोकेर आदेश दिएको इजलासको तर्क छ ।

  • किनारा लागेन् सन्दीपविरुद्धको मुद्दा,पीडित किशोरीको जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश

    किनारा लागेन् सन्दीपविरुद्धको मुद्दा,पीडित किशोरीको जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आदेश दिएको छ ।

    सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ । तर, बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले हेर्दाहेर्दैमा नराखी गौशाला-२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको हो ।

    यसअघि प्रमाणीकरण गरिएको भए पनि इजलासले पुनः गाउँपालिकाबाट प्रमाणीकरण गराउनका लागि आदेश दिएको हो । बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।

    यसअघि, गत साउन ३२ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि त्यसदिन न्यायाधीश राजुकमार खतिवडाको इजलासले पीडित गौशाला २६ (छ) की आमाको उमेर एकीन गर्ने आदेश गरेको थियो ।

  • खुकुरी प्रहार गरेर कांग्रेस मर्दैन, सकिँदैन

    खुकुरी प्रहार गरेर कांग्रेस मर्दैन, सकिँदैन

    काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले खुकुरी प्रहार गरेर कांग्रेस नमर्ने बताएका छन्।

    कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित ढंगले पर्वत झैं उभिएको पार्टी भएको बताउँदै खुकुरी हानेर कांग्रेस सकाउँछु भन्नु र टाउकाले हिर्काएर पर्वत खसाउँछु भन्ने एकै रहेको बताए।

    ‘संसारको इतिहासमा पहाडसँग जुध्नेहरूको टाउको फुटेको छ। तर पहाड फुटेको इतिहास छैन। खुकुरी प्रहार गर्दैमा कांग्रेस एमाले माओवादी लगायतका संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक दलहरु पुराना हुन्, खराब छन्, तिनीहरूले यो मुलुकलाई निकास दिन सक्दैन भन्ने कृतिम भाष्य तयार गरेर लोकतन्त्र समाप्त पार्ने कसैको चाहना छ भने त्यो दिवास्वप्न हुनेछ,’ उनले भने।

  • काठमाडौं महानगरमा भोलि शोक बिदा

    काठमाडौं महानगरमा भोलि शोक बिदा

    काठमाडौं । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । रिजालको जन्म १७ कात्तिक २०२७ सालमा भएको थियो ।

  • पशुपति वनकाली पार्किङको ठेक्का रद्द, धरौटी रकम समेत जफत

    पशुपति वनकाली पार्किङको ठेक्का रद्द, धरौटी रकम समेत जफत

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्ध गरेको छ ।

    बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालना नगरेको भन्दै उक्त कम्पनीसँगको पार्किङ ठेक्का रद्द गर्ने निर्णय गरेको हो।

    सम्झौता अनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राख्नुका साथै अन्य थुप्रै नियम उलंघन गरेको भन्दै कोषले ठेक्का रद्ध गर्ने निर्णय गरेको हो।

    साथै सो कम्पनीसँग एक महिना भित्र बक्यौता उठाउने निर्णय पनि गरेको छ ।

    कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा.लि.को बैंक ग्यारेन्टी समेत जफत गर्ने निर्णय गरेको छ । ठेक्काको सम्झौताको शर्त न६ मा “ बढीमा ३ महिना सम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्नेछ ।

    तोकिएको समयमा भाडा नवुझाएमा सम्झौता रद्द गरी धरौटी रकम समेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिनेछ ”भन्ने उल्लेख छ ।

    आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मिति सम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ रुपैयाँ रहेको देखिएको छ ।

  • गगन थापाले सोधे -‘के हामीले काठमाडौं एक्लै हिँड्न नमिल्ने भएको हो’ ?

    गगन थापाले सोधे -‘के हामीले काठमाडौं एक्लै हिँड्न नमिल्ने भएको हो’ ?

    काठमाडौं । प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

    बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस घटनालाई सामसुम पार्ने कोसिस भइरहेको भन्दै यस विषयको गहिरो अनुसन्धान गर्न माग गरेका हुन् ।

    ‘एउटा सन्काहा सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण हुँदैछ, यसलाई थामथुम पर्ने, सामसुम पार्ने कोसिस हुँदैछ । म सरकारलाई सचेत र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो विषयमा गहिरो अनुसन्धान होस्, योसँग जोडिएका सबै पक्ष पनि उजागर होस्,’ थापाले भने ।

    उनले यो घटनासँगै जोडिएका अन्य पक्षहरुको पनि उजागर गर्नका लागि माग गरेका छन् । उनले गृहमन्त्रीलाई समेत प्रश्न गर्दै भने, ‘के हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ । हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ?’

    महामन्त्री थापाले ठाउँ ठाउँमा प्रधानमन्त्री र गृहमन्त्रीले बोलेको सुनेको भन्दै गम्भीर भएर भने, ‘यसलाई छाडिने छैन, यस्तो गरिने छ, म आग्रह गर्न चाहन्छु जिम्मा लिएकोले धेरै बोल्ने होइन गर्ने हो । हामीले परिणाममा हेर्न चाहन्छौँ । हामीले परिणाममा देख्यौँ भने त्यसको मूल्यांकन गर्ने संसद छ, नागरिक छ ।’

    उनले सोधे, ‘प्रतिनिधि सभा सदस्य नै काठमाडौँमा सुरक्षित हुँदैन भने प्रधानमन्त्रीलाई गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’

  • ‘महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन्’

    ‘महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन्’

    काठमाडौं । राष्ट्रिय प्रजतान्त्र पार्टीले कांग्रेस सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध नभएको प्रस्ट पारेको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा महामन्त्री धवलशमशेर राणाले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए ।

    कांग्रेस सहमहामन्त्रीमाथिको आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको उनको भनाइ छ ।

    महामन्त्री राणाले भने, ‘आक्रमणपछि उहाँले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौं । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा न विश्वास गरेकोथ्यो न त आउने दिनमा गर्छ । यो विषय प्रस्ट होस् ।’

    उनले दोषीलाई कारबाही गर्नसमेत माग गरे ।

  • काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

    काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

    काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र ७ का क्षेत्रीय सभापति समेत रहेका रिजालको उपचारको क्रममा ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

    केही दिन देखि उपचार गराइ रहेका उनको निधन पछि नेपाली काँग्रेसका महामन्त्री गगन थापा, काठमाडौँ क्षेत्र नम्बर ७ का सङ्घीय सांसद प्रदीप पौडेल लगायतका काँग्रेसका नेताहरू अस्पताल पुगेका छन् । उनी डेंगुबाट संक्रमित थिए । वडाअध्यक्ष रिजाल बालेन शाह मेयर बनेसँगै चर्चामा आएका थिए ।

  • नयाँ आइफोनमा टाइप-सी चार्जर, इयूको नियमसामु झुक्यो एप्पल

    नयाँ आइफोनमा टाइप-सी चार्जर, इयूको नियमसामु झुक्यो एप्पल

    काठमाडौं । आगामी सेप्टेम्बर १२ मा सार्वजनिक हुने एपलको नयाँ आईफोनमा यूएसबी टाइप सी चार्जर पोइन्ट हुने निश्चित भएको छ। एपल कम्पनीले निर्माण गरेका फोनमा छुट्टै लाइट्निङ अड्याप्टर प्रयोग हुँदै आएको छ।

    अरू साम्सङजस्ता अन्य प्रतिस्पर्धी स्मार्टफोनमा उक्त अड्याप्टरले काम गर्दैन। युरोपेली सङ्घ ईयूको कानुनले उपभोक्ताहरूको पैसा बचत र त्यसबाट निस्किने फोहोर कम गर्न मोबाइल फोन उत्पादकहरूलाई सन् २०२४ भित्र समान किसिमको चार्जिङ कनेक्शन बनाउन अनिवार्य गरेको छ।

    नयाँ आईप्याडजस्ता एपलका अधिकांश नयाँ उत्पादनहरूले यसअघिबाटै यूएसबी टाइप सी प्रयोग गरिरहेका छन्। तर यो कम्पनीले ईयूको नयाँ नियमको प्रतिवाद गरेको छ। सन् २०२१ को सेप्टेम्बरमा ईयूको नयाँ कानुन बन्दा एपलका एक प्रतिनिधिले बीबीसीसँग भनेका थिए, “एउटै प्रकारको मात्रै कनेक्टर अनिवार्य गर्ने कठोर कानुनले नवप्रवर्तनलाई प्रवर्धन गर्नुको साटो दमन गर्छ। यसले युरोप र विश्वभरिकै उपभोक्ताहरूलाई अन्ततः क्षति नै गर्छ।”

    लाइट्निङबाट यूएसबी(सी जोड्न मिल्ने अड्याप्टरहरू यसअघि नै एमजनसहितका अन्य विद्युतीय सामग्री उत्पादकहरू बनाइसकेका छन्। अर्को कुरा आईफोन–एइटपछि उत्पादित आईफोनका सबै संस्करणहरूमा वायरलेस चार्जिङ सुविधा उपलब्ध छ।

    अहिले चलिरहेको आईफोन(फोर्टीन (आईफोन १४) लाइट्निङ चार्जिङ पोइन्ट भएको एपलद्वारा उत्पादित सबैभन्दा नयाँ उपकरण हो। यदि नयाँ आईफोनमा यूएसबी(सी चार्जर पोइन्ट आए त्यसले लाइट्निङ केबलको अन्त्यको सङ्केत गर्ने छ। त्यसको मूल्य अहिले एपल स्टोरमा १९ पाउन्ड छ। एपलको विश्वव्यापी उत्पादनमा नै यस्तो परिवर्तन हुन लागेको हो वा युरोपमा मात्रै भन्ने स्पष्ट छैन।

    तर यो प्रविधि कम्पनीले युरोपेली बजारका लागि मात्रै छुट्टै उत्पादन बनाउने सम्भावना निकै कम छ। यो परिवर्तन आगामी साता सार्वजनिक हुन लागेका आईफोन–फिफ्टीन र आईफोन–१५ प्रो मा हुने अपेक्षा गरिएको छ। ब्लूम्बर्ग न्यूजका अनुसार एकै प्रकारको चार्जिङ पोइन्ट हुँदा उपभोक्ताहरूले एउटै चार्जरबाट आईप्याड, म्याक र आईफोन चार्ज गर्न सक्छन्। त्यसबाहेक डाउनलोड गति पति तीव्र हुन सक्छ।

    युरोपेली सङ्गले बनाएको एउटै चार्जर प्रयोग गर्नुपर्ने नियमले साना र मध्यम आकारका बोकेर हिँड्न मिल्ने विद्युतीय उपकरणहरूलाई समेटेको छ। तारको माध्यमबाट चार्ज गर्नुपर्ने यस्ता साधनहरूमा जसले उत्पादन गरेको भए पनि यूएसबी टाइप सी पोर्ट हुनुपर्ने भनिएको छ। ल्याप्टपहरूका लागि पनि यो नियम आकर्षित हुन्छ।

    तर उत्पादकहरूलाई यस्तो परिवर्तन कार्यान्वयनका लागि केही लामो समय दिइएको छ। ईयूका अनुसार यसले उपभोक्ताहरूको अनावश्यक चार्जर खरिदमा ३५ अर्ब नेपाली रुपैयाँ बराबरको वार्षिक खर्च जोगिन सक्छ। साथै यस्तो निर्णयबाट फोहोर उत्पादन समेत प्रतिवर्ष ११,००० टन कमी आउने दाबी गरिएको छ।

    BBC

  • अमेरिकी संसदमा हंगामा गर्ने समूहका नेतालाई २२ वर्ष जेल सजाय

    अमेरिकी संसदमा हंगामा गर्ने समूहका नेतालाई २२ वर्ष जेल सजाय

    काठमाडौं । सन् २०२१ को जनवरीमा अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद् भवनमा भएको दङ्गाको योजना बनाएको आरोपमा प्राउड बोइज समूहका एक पूर्वनेता लाई २२ वर्षको जेल सजाय सुनाइएको छ। क्यापिटल भनिने अमेरिकी संसद् भवनभित्र त्यसबेला भएको घटनामा संलग्नहरूलाई दिइएको यो नै सबैभन्दा लामो सजाय हो। उनलाई गत मे महिनामा सरकारविरुद्धको षड्यन्त्र र अन्य केही आरोपमा दोषी ठहर्‍याइएको थियो।

    उनन्चालीस वर्षीय एनरिके तारिओ उक्त घटनाका समयमा वाशिङ्टनमा थिएनन् तर त्यहाँ भएको दङ्गामा उनले उक्त चरम दक्षिणपन्थी समूहको सङ्लग्नताको संयोजन गर्न सघाएका थिए। उक्त घटनामा संलग्नताको आरोपमा १,१०० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्।

    मङ्गलवार आफूमाथि हुने सजाय थाहा पाउनुअघि तारिओले भावुक भएर प्रहरी र वाशिङ्टन डीसीका मानिसहरूसँग सन् २०२१ जनवरी ६ को घटनामा आफ्नो संलग्नताका लागि माफी मागेका थिए। त्यति बेला जो बाइडनले राष्ट्रपतीय निर्वाचन जितेको प्रमाणित गर्नका लागि सांसदहरूको बैठक भइरहेका समयमा डोनल्ड ट्रम्पका समर्थकहरू संसद् भवनभित्र प्रवेश गरी आक्रमण गरेका थिए।

    उनीहरूमाथि शोक र दुःख पर्न गएकामा म एकदमै लज्जित र दुःखित छु, वाशिङ्टनको सङ्घीय अदालतमा उनले भने। अब म आजीवन त्यो लज्जा बोकेर बाँच्नुपर्ने छ। बन्दीहरूले लगाउने सुन्तला रङको लुगामा आएका तारिओले भने, म आफ्नै लागि सबैभन्दा खराब शत्रु रहेछु।

    सन् २०२० को नोभेम्बर महिनामा भएको निर्वाचनमा डोनल्ड ट्रम्प पराजित भएको स्विकार्दै तारिओले भने, म राजनीतिक कट्टरपन्थी होइन। हानि गर्नु वा चुनावी नतिजा बदल्नु मेरो उद्देश्य थिएन। चुनावको नतिजा बदल्नु सम्भव थियो भन्ने पनि मलाई लाग्दैन। कृपया ममाथि करुणा देखाउनुहोस्, तारिओले न्यायाधीशलाई भने कृपया मेरो ४० वर्षपछिको दशक मबाट नखोस्नुहोस्।

    यसअघि एक पटक उनकी आमाले न्यायाधीशसमक्ष कम सजायको आग्रह गर्दा उनी रोइरहेको देखिएको थियो। तारिओ प्राउड बोइजका राष्ट्रिय अध्यक्ष थिए। सन् २०१६ मा न्यूयोर्क सिटीमा स्थापित यस चरम दक्षिणपन्थी समूहका सदस्यहरू यस समूहलाई पुरुष मात्र भएको साथै बसेर रमाइलोका लागि मदिरा सेवन गर्नेहरूको जमघट एक ड्रिङ्किङ क्लब का रूपमा व्याख्या गर्छन्।

    यद्यपि उनीहरू आफूलाई ट्रम्पका सैनिक भएको पनि बताउँछन्। चरम वामपन्थी फासीवादविरोधीहरूसँग उनीहरूको बारम्बार झडप हुने गरेको छ। तारिओका वकिलले मङ्गलवार तारिओ किबोर्ड निन्जा र गलत दिशातर्फ निर्देशित देशभक्त भएको बताए। उनी रद्दी कुरा बोल्न उद्यत रहे पनि सरकार नै भङ्ग गर्ने उनको मनसाय नरहेको उनको दाबी थियो।

    यद्यपि ट्रम्पद्वारा नै सिफारिस गरिएका न्यायाधीश टिमोथी केलीले विगतका कतिपय अवस्थामा तारिओले आफ्ना गतिविधिबारे पश्चात्ताप नगरेको बताए। सरकारविरुद्धको षड्यन्त्र गम्भीर कसुर हो, न्यायाधीशले भने। त्यो षड्यन्त्रका मुख्य नाइके तारिओ नै थिए। गत मेमा उनलाई अमनचयनमा अवरोध र षड्यन्त्र तथा सरकारी सम्पत्तिको विनाश जस्ता अभियोगमा पनि दोषी ठहर गरिएको थियो।

    अभियोजकहरूले उनका गतिविधिलाई अपराधको सुनियोजित कदम भन्दै त्यसका लागि ३३ वर्षको कैद सजाय मागेका थिए। तारिओ पक्षका वकिलहरूले १५ वर्ष मात्र सजाय हुनुपर्ने माग गरेका थिए। न्यायाधीशले सजाय सुनाउँदा तारिओ चुपचाप बसेका थिए। अदालतबाट निस्कँदा उनले आफ्ना परिवारका सदस्यहरूलाई हात हल्लाए र शान्तिको सङ्केत बनाएर देखाए। उनका वकिलहरूका अनुसार तारिओले पुनरावेदन गर्ने योजना बनाएका छन्।

    सन् २०२० को चुनावपछि तारिओ र उनको समूहका सदस्यहरूले ट्रम्पले राष्ट्रपति कार्यालय छाडेमा हिंसा भड्काउने धम्कीपूर्ण अनलाइन सन्देशहरू पठाएका थिए। सन् २०२१ को जनवरीको घटनाको दुई दिनअघि उनी वाशिङ्टन डीसी प्रवेश गर्दा उनलाई प्रहरीले रोकेका थिए।

    आफूलाई अफ्रो-क्यूबन भनी चिनाउने तारिओलाई जनवरीको घटनाभन्दा तीन साताअघि ब्ल्याक लाइभ्स म्याटरु आन्दोलनको ब्यानर जलाएको आरोपमा पक्राउ गरिएको थियो। त्यति बेला उनका साथमा उच्च क्षमताको गोलीगट्ठा पनि भेटिएका थिए, जुन त्यहाँको कानुनअनुसार अवैध थियो।

    त्यसपछि उनलाई धरौटीमा रिहा गरी राजधानीबाट निस्कन आदेश दिइएको थियो। घटना भएको दिन उनी बाल्टिमोरमा थिए। ट्रम्प समर्थकले संसद् परिसर घेराउ गरेपछि तारिओले एक अनलाइन सन्देशमा आफूले उक्त घटनाक्रमहरूबाट मजा लिइरहेको बताएका थिए। दङ्गामा संलग्नहरूलाई उनले भनेका थिए, जे गर्नुपर्ने हो गर। दङ्गाको योजनामा संलग्न नाइकेहरूको सजायबारे मङ्गलवार अदालतमा अन्तिम सुनुवाइ भएको थियो।

    BBC

  • नेपाली विमानस्थल हुँदै कसरी हङकङ पुग्यो चरेश ?

    नेपाली विमानस्थल हुँदै कसरी हङकङ पुग्यो चरेश ?

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास परेर नेपाल एयरलाइन्सको विमानमार्फत हङकङमा चरेश पुगेको पाइएको छ । कार्गो कम्पनीमार्फत पठाइएको किताबको पार्सलमा चरेश भेटिएको सूचना प्राप्त भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पनि छानबिन थालेको छ । हङकङमा चरेश बरामद भएपछि त्यहाँको सुरक्षा संयन्त्रले नेपालस्थित कार्गो कम्पनीलाई खबर गरेको थियो ।

    कार्गोमार्फत त्यसबारे सूचना प्राप्त भएपछि आफूहरुले अनुसन्धान थालेको ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाले बताएका छन् । उनका अनुसार कति परिणाम हो भन्ने यकिन भइसकेको छैन, तर चरेश गएको भन्ने सूचना पाएपछि छानबिन सुरु भएको छ ।

    विमानस्थलमा लागूऔषध नियन्त्रण ब्यरोको टोली समेत जाँचमा खटिन्छ । तर, जाँच पार गरेर चरेश बाहिरिएपछि छानबिनका लागि ब्यूरोले प्रहरी नायब उपरीक्षक )डीएसपी) अनन्तराम शर्माको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ ।

    प्रहरीबाट तर्फबाट भएको हुनसक्ने कमजोरीबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको छ । प्रहरीका अनुसार, गाँजासहितको किताबको पार्सल विराट कार्गोले पठाएको थियो । २६ साउनमा गाँजासहितको पार्सल विमानस्थलबाट बाहिरिएको प्रहरीले जनाएको छ ।

  • अमेरिकी सेनाको टोली अभ्यासका लागि नेपाल आउँदै

    अमेरिकी सेनाको टोली अभ्यासका लागि नेपाल आउँदै

    काठमाडौं । अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि बन्दोबस्तका सामग्रीसहित वायुसेनाको विमान मार्फत नेपाल आउने भएको छ । नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्ने अमेरिकी सेनाको टुकडी बिहीबार नेपाल आउने भएको हो ।

    अमेरिकी सेनाको टुकडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि अमेरिकी वायु सेनाको विमान त्यसको भोलिपल्ट २२ भदौमा फिर्ता हुनेछ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले दुई देशका सेनाबीच चल्ने संयुक्त अभ्यास तालिम २४ भदौदेखि १२ असोजसम्म सञ्चालन हुने जानकारी दिएका छन् ।

    नियमित रुपमा सञ्चालन हुँदै आएको दुई देशका सेनाबीचको संयुक्त अभ्यासको ४०औं संस्करणमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी ४२ जना सैनिक सहभागी हुने प्रवक्ता भण्डारीले जानकारी दिएका छन् । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायत विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाको भनाइ छ ।

    सैनिक मुख्यालयका अनुसार नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशका सैन्य संगठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरू लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ ।

    यसैबीच, संयुक्त अधिराज्यमा संचालन हुने प्रतिस्पर्धात्मक क्याम्ब्रियन गस्ती अभ्यासमा सहभागी हुन सेनाको टोली बुधबार बेलायततर्फ प्रस्थान गरेको छ । नेपाली सेनाको १० सदस्यीय टोली प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको सेनाले जानकारी दिएको छ ।

  • थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पातलमा अब ‘अनलाइन टिकट’

    थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पातलमा अब ‘अनलाइन टिकट’

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन्।

    अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा आज (बुधबार) आयोजित कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट सम्बोधन गर्दै उनले प्रसूति अस्पतालको दीर्घकालीन योजना र जनशक्तिलाई पुनःसंरचना गरिने बताए। उनले अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेकामा जोड दिए।

    “बिरामीको चापलाई मध्यनजर गर्दै थप एक एक औषधि पसल, अनलाइन टिकेटिङ र क्यूआरकोडमार्फत भुक्तानी र दश शय्या एनआइसीयूलाई बीस शय्या बनाउने तत्परताले थप गुणस्तर बढ्ने विश्वास छ”, उनले भने।

    राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आरपी विच्छाले आगामी १६औँ योजनामा स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनका लागि पहल भएको बताए। “१६औँ योजनाबाट प्रत्यक्ष लाभ स्वास्थ्य संस्थाले नै लिने हो” उनले भने,“योजनामा स्वास्थ्य जनशक्ति व्यवस्थापनबारे राम्ररी व्यवस्था गर्ने तयारी छ।”

    मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले प्रसूति अस्पतालले मातृ मृत्युदरलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले पहल गरिरहेको जनाए। अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले विशिष्टीकृत सेवा विस्तारका लागि स्रोतसाधान तथा जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयसँग आग्रह गरे।

    “अस्थायी शय्याको व्यवस्था गरेर जस्तोसुकै परिस्थितिमा पनि अन्यत्र रिफर नगरी उपचार सेवा उपलब्ध गराइहेका छौँ” उनले भने, “विशष्टिकृत सेवा विस्तार गर्न मन्त्रालयसँग आवश्यक सहयोगका लागि पहल गरिरहेका छौँ।” विसं २०१६ मा स्थापनामा ४० शय्याबाट यस अस्पतालले पछिल्लो समय चार सय ८९ शय्यामार्फत उपचार सेवा उपलब्ध गराइरहेको छ। आर्थिक वर्ष २०७९/८० मा ३४ हजार एक सय ८५ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २६ हजार नौ सय ४७ तथा स्त्रीरोगतर्फ पाँच हजार ४६ जनाले उपचार सेवा लिएका छन।

    त्यसैगरी नवजात शिशु सघन उपचार तर्फ दुई हजार एक सय ९२ र मातृ सघन उपचार तर्फ चार सय ८३ भर्ना भएका थिए भने बहिरङग सेवा तर्फ एक लाख ८० हजार आठ सय ९० जनाले सेवा लिएको निर्देशक डा अधिकारीले जानकारी दिए। प्रसूतितर्फ भर्ना भएका २६ हजार नौ सय ४७ मध्ये २४ हजार छ सय ७२ गर्भवतीको प्रसूति भएको थियो। यसबाट २४ हजार नौ सय १५ जना नवजातशिशुको जन्म भएको थियो। यसमा नौ हजार आठ सय २१ जनाको शल्यक्रियाबाट प्रसूति भएको थियो।

    ‘आइभीएफ’ सेवा लिनेको सङ्ख्या ३८ जना र निःसन्तानसम्बन्धी बहिरङ्ग सेवा लिने आठ हजार तीन सय नौ रहेका छन्। यस्तै, दुई सय ५४ जना महिलाले आइयूआई सेवा र २७ जना निःसन्तान सेवाग्राहीले आइभिएफ सेवा लिएका छन्। लैङ्गिक हिंसाबाट पीडित महिलाको लागि अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आवमा चार सय तीन जना विभिन्न लैङ्गिक तथा यौन हिंसावाट पिडित महिलाले सेवा लिएको अस्पतालले जानकारी दिएको छ। अस्पतालबाट पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ र उपचारका सेवा विस्तार र किशोरीहरुलाई एचपीभी खोपको व्यवस्था गर्ने योजना बनाएको छ। सो अवसरमा अस्पतालद्वारा बहिरङ्ग सेवा तर्फ ‘अनलाइन टिकेटिङ’ सुरुआत समेत गरिएको थियो। रासस

  • कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

    कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक हमला भएको छ ।भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा बुधबार दिउँसो उनी माथि खुकुरी प्रहारको घटना भएको हो।

    आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर नगरपालिका वडा नं ७ का ४७ वर्षीय श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए ।

    घटनाको विस्तृत विवरण आइनसकेकाले अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

  • ‘रंगशाला बनाउनै नसकिने होइन’

    ‘रंगशाला बनाउनै नसकिने होइन’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने बताएका छन् ।

    एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार फर्कने क्रममा विमानस्थलमा आफू गौरवान्वित भएर फर्किएकाले आफ्नो पार्टीले गर्न सक्ने गर्ने बताएका छन् ।

    लामिछानेले क्रिकेटमा देखेको सपना पूरा भएकाले आफ्नो तर्फबाट सबै भूमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

    त्रिभुवन विमानस्थलमा भने, ‘संसारभरका क्रिकेटका होनहार खेलाडीहरुले, समीक्षकहरुले नेपालको खेलको प्रशंसा गरे । त्यस्तो क्षणको प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व लागेको छ ।’

    उनले भने, ‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन् । हामी हाम्रो परिधिभित्रबाट यसको विकासको लागि नीति निर्माणको तहमा छौं । ‘

  • प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ वटा चार्जिङ स्टेशन (सूचीसहित)

    प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ वटा चार्जिङ स्टेशन (सूचीसहित)

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न ठाउँमा ५१ विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेशन संचालनमा ल्याएको छ ।

    बुधबार एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनको संयुक्त उद्घाटन गरेका हुन् ।

    प्राधिकरणका अनुसार हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर राखिएको छ । जसमा ६०/६० किलोवाटका दुई वटा डीसी र २२ किलोवाटको एउटा एसी चार्जरहरू राखिएका छन् ।

    यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    प्राधिकरणले संचालनमा ल्याएका यी चार्जिङ स्टेशनमा २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि चार्जर र २५ वटा साना ठूला कारका लागि चार्ज गर्न सकिने प्रणाली जडान गरिएको छ ।

    एउटा सवारीसाधन पूर्णरूपमा चार्ज हुनका लागि बढीमा डेढ घण्टासम्म लाग्ने कार्यकारी निर्देशक घिसिङले बताए ।

    प्राधिकरणले भुक्तानी सहजताका लागि हरेक चार्जिङ स्टेशनमा अनलाइन बिलिङ सिस्टम जडान गरेको छ ।

    ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्ने उनले बताए ।साथै, प्राधिकरण चाँडै थप ११ वटा चार्जिङ स्टेशन संचालनमा ल्याउने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

    प्राधिकरणले एसियाली विकास बैंकको झन्डै ३८ करोड ऋण सहयोगमा ती चार्जिङ स्टेशनहरू निर्माण गरी संचालनमा ल्याएको हो ।

    ५१ वटा चार्जिङ स्टेशन निर्माणको ठेक्का चिनियाँ कम्पनी वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेडले ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) पाएको थियो । यही कम्पनीले चार्जिङ स्टेसन निर्माणदेखि आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भार समेत गर्नेछ ।

    कहाँ कहाँ छन् प्राधिकरणका चार्जिङ स्टेशन

    प्राधिकरणका अनुसार काठमाडौं उपत्यका रत्नपार्क, पुल्चोक, बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरी ७ वटा चार्जिङ स्टेशन संचालनमा आएका छन् ।

    त्यसैगरी, प्रदेश नम्बर १ को झापाका दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ स्थानमा चार्जिङ स्टेशन स्थापना गरिएको छ ।

    त्यस्तै, प्रदेश नम्बर २ को पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सात स्थानमा चार्जिङ स्टेशन संचालनमा आएको छ ।

    त्यसैगरी, वाग्मती प्रदेशमा धादिङको मलेखु, बीपी राजमार्गको सिन्धुली, मकवानपुरको हेटौंडा र चितवनको भरतपुरमा दुई–दुई वटा स्टेशन राखिएका छन् । मुग्लिनरकुरिनटारमा चार वटा र काभ्रेको बनेपामा एउटा गरी बागमती प्रदेशमा १३ वटा स्टेशन स्थापना गरिएको छ ।

    त्यसैगरी, गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङ्जामा एकरएक र कास्कीको पोखरामा तीन गरी ६ वटा स्टेशन रहेका छन् ।

    लुम्बिनी प्रदेशको नेपालगञ्ज, बुटवल, दाङको भालुवाङ, नवलपरासीको बर्दघाटरसुनवलमा दुई वटा रहेका छन् भने कर्णाली प्रदेशको सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक–एक गरी तीन वटा चार्जिङ स्टेशन संचालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

  • नेपाली स्टार्टअप टुटलले आजबाट आफ्नो सेवा पुनः सुरु गर्दै

    नेपाली स्टार्टअप टुटलले आजबाट आफ्नो सेवा पुनः सुरु गर्दै

    काठमाडौं । राइड सेयरिङ प्लेटफर्म टुटलले बुधबारदेखि पुनः सेवा सुरु गर्ने भएको छ । नयाँ व्यवस्थापनका साथ टुटलले राइड सेयरिङ सेवा सुरु गर्न लागेको हो । कम्पनीले एप र सेवा परिस्कृत गर्दै किफायती सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । बुधबारदेखि नै टुटल प्रयोग गर्न चाहने सेवाग्राहीले एपमार्फत राइड सेवा लिन सक्ने व्यवस्थापक ज्याप सर्भिसेजका सहसंस्थापक रुबिक जोशीले बताए ।

    टुटलको सिस्टममा हालसम्म २ हजार भन्दा बढी राइडर जोडिएको उनले जानकारी दिए । हाललाई राइडरहरुले निशुल्क दर्ता भई सेवा दिन पाउने व्यवस्था गरिएको छ । सुरुवातमा बाइक राइडरबाट १५ प्रतिशत र क्याब (ट्याक्सी) ड्राइभरबाट १२ प्रतिशत मात्रै कमिसन लिइने निर्णय गरेको कम्पनीले जनाएको छ ।

  • बिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार गरेन : प्रधानमन्त्री

    बिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार गरेन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानका लागि एकदिवसीय अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    उनले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोरखालीहरूलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताए । उनले यो विषय नेपालीहरूका लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको उल्लेख गरे ।

    उनले गोरखालीहरूले ब्रिटिश राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिश सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले सरकारले अहिले भारत र बेलायतसँग यसबारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको बताए ।
    प्रचण्डले अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पनि समान व्यवहार, श्रमको उचित मूल्य र आत्मसम्मान पाउन नसकेको स्वीकार गरे ।

    उनले भुतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्न सक्ने मुद्दा नभएर बहुपक्षीय रूपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्दा भएको बताए ।
    प्रधानमन्त्री प्रचण्डले गोरखा सैनिकको समस्या समाधानका लागि सरकारले जिम्मेवारपूर्ण ढङ्गले अभिभावकत्व प्रदान गर्ने विश्वास व्यक्त गरे ।

  • आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा

    आज श्रीकृष्णजन्माष्टमी, देशभर सार्वजनिक बिदा

    काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ।

    श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ। यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ।

    यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ।

    राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

    RSS

  • काठमाडौं–लुक्ला रुटमा इनरूट वेदर क्यामरा जडान

    काठमाडौं–लुक्ला रुटमा इनरूट वेदर क्यामरा जडान

    काठमाडौं । मौसमी सूचना प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं–लुक्ला हवाई रुटमा इनरूट वेदर क्यामेरा जडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा मौसमी सूचना दिने क्यामेरा जडान गरेको हो ।

    यसले गन्तव्य र प्रस्थान गर्ने विमानस्थलसँग रुटमा कस्तो मौसम छ भन्नेबारे प्रत्यक्ष जानकारी दिन्छ । प्राधिकरण र केन्द्रबीच अघिल्लो वर्ष यसबारे सम्झौता भएको थियो । सोही सम्झौता अनुसार यसअघि पोखरा–जोमसोम रुटमा क्यामेरा जडान भइसकेको छ ।

    आवश्यकताका आधारमा थप अन्य गन्तव्यमा समेत इनरूट वेदर क्यामेराहरु जडान गरिने प्राधिकरणले जनाएको छ । यस्ता क्यामेरा सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन हुनुपर्ने गरी सम्झौता भएको थियो । यस्ता क्यामेरा जडान र युसको सञ्चालन खर्च भने प्राधिकरणले बेहोरेको छ । काठमाडौं–लुक्ला रुट हवाई उडानका दृष्टिकोणबाट बढी जोखिमपूर्णमध्ये एक मानिन्छ ।

  • काठमाडौं विमानस्थलमा एकसाथ थपिए ५ सय ट्रली

    काठमाडौं विमानस्थलमा एकसाथ थपिए ५ सय ट्रली

    काठमाडौं ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै पटक ५ सय ट्रली थप गरिएको छ । ब्यागेज ट्रली धेरै बिग्रिएको र त्यसले दुर्घटना हुन सक्ने गुनासो यात्रुहरुबाट भएपछि नयाँ ट्रली खरिद गरिएको विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिएका छन् ।

    विमानस्थलमा अन्तर्राष्ट्रिय आगमनतर्फ पाँच सय नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको उनको भनाई छ । अब यात्रुको गुनासोको सम्बोधन हुने उनको भनाइ छ । पुुराना ट्रली मर्मत गरी अपुग भएको अवस्थामा प्रयोगमा ल्याइने उनको भनाइ छ ।

  • सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश पुनसँग सीआईबीले लियो बयान

    सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश पुनसँग सीआईबीले लियो बयान

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ।

    ६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको हो। उनको दावा छिरिङसँगको सम्बन्ध रहेका कारण यसमा जोडिएको हुनसक्ने प्रहरीको बुझाइ छ।

    बयानपछि उनलाई कागज बनाएर छाडिएको छ। अनुसन्धानमा आवश्यक परेको खण्डमा उपस्थित शर्तमा उनलाई छाडिएको हो।

    अहिलेसम्म प्रहरीले यस प्रकरणमा २७ जनालाई पक्राउ गरेको छ। यसअघि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराको पनि ६० किलो सुन प्रकरणमा संलग्नता रहेको सीआईबीको अनुसन्धानमा देखिएको छ।

  • जंगली जनावरलाई राखेको धरापमा परी धनगढीमा एक महिलाको मृत्यु

    जंगली जनावरलाई राखेको धरापमा परी धनगढीमा एक महिलाको मृत्यु

    काठमाडौं । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

    धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरेको छ । चौधरीले जंगली जनावरबाट धानबाली जोगाउन करेन्ट छाडेको बयान दिएको प्रहरीले जनाएको छ ।

  • १३ निर्माण कम्पनी परे कालोसूचीमा

    १३ निर्माण कम्पनी परे कालोसूचीमा

    काठमाडौं । सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।
    कालो सूचीमा परेकाहरुले सूचना प्रकाशित भएको मिति (२०८० भदौ १९ गते) देखि कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । गणेश सिंह साउद र केशरबहादुर साउद मुख्य व्यक्ति रहेको गणपति कन्स्ट्रक्सन कञ्चनपुर, प्रविन ब्रह्मदेव पाण्डे मुख्य व्यक्ति र सुवास श्रेष्ठ आधिकारिक व्यक्ति रहेको तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर मुम्बई र विनित जोशी नेतृत्वको जोशी विज हाउस प्रालि तीन वर्षसम्मका लागि कालो सूचीमा परेका छन् ।

    यसैगरी निर्माण न्यौपाने र रोशन खड्का नेतृत्वको शिवालय बिल्डर्स प्रालि मकवानपुर र पेशल आचार्य नेतृत्वको आज्ञा एण्ड कम्पनी प्रालि विराटनगर दुई वर्षसम्मका लागि कालो सूचीमा परेका छन् । इन्द्रबहादुर शाह ठकुरी नेतृत्वको चुलीडाँडा निर्माण सेवा, स्वयम्भू काठमाडौंलाई एक वर्ष ६ महिना ९डेढ वर्ष० सम्म कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचीमा उल्लेख छ ।

    यसैगरी मलिन पन्त नेतृत्वको इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौं, विजेनदास श्रेष्ठ नेतृत्वको मकर गणेश कन्स्ट्रक्सन प्रालि काठमाडौं, अफजल मोहम्मद हवाई नेतृत्वको बाबा इन्फ्राप्रोजेक्ट प्रालि बाँके, सुदीप आचार्य नेतृत्वको नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स पोखरा, उपेन्द्र ढकाल नेतृत्वको यू।डी। एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स टेकु एक वर्षका लागि कालो सूचीमा परेका छन् ।

    मोहन बहादुर तामाङ नेतृत्वको पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा र हेमराज बस्याल नेतृत्वको अरबिन्द्र कन्स्ट्रक्सन भरतपुर चितवन पनि एक वर्षका लागि कालो सूचीमा परेका छन् ।