Category: समाचार

  • भारतविरुद्ध नेपाली ब्याटिङको शाहसिक प्रदर्शन

    भारतविरुद्ध नेपाली ब्याटिङको शाहसिक प्रदर्शन

    काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले बलियो टेष्ट मुलुक भारतविरुद्ध शाशसिक ब्याटिङ गरेको छ । टस हारेर नेपालले पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन मात्र बनाउन सक्यो । नेपालका आशिफ शेखले अर्धशतक बनाए । सोमपाल कामी अर्धशतकबाट २ रन टाढा रहे । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा टस जितेको भारतका कप्तान रोहित शर्माले बलिङ रोजेका थिए ।

    नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एक–एक विकेट रह्यो ।

  • काठमाडौं महानगर छिर्ने नाकामै पानीको जारको अनुगमन

    काठमाडौं महानगर छिर्ने नाकामै पानीको जारको अनुगमन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र बिक्रीका लागि ल्याइने जारको अनुगमन गर्न थालेको छ ।

    महानगरमा बिक्री हुने पानीको गुणस्तरमा शंका देखिएपछि जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि प्रवेशद्वारमा नै छड्के अनुगमन गर्न थालेको हो ।

    कागेश्वरी मनोहरा क्षेत्रमा भएका १ दर्जन बढी उद्योगको काठमाडौं महानगरपालिकाभित्र पानी बिक्री गर्दै आइरहेका छन् । आइतबार वडा नं ३२ को जडीवुटीमा पानीको जार लिएर आउँदै गरेको गाडीको अनुगमन गरेको थियो ।

  • काठमाडौं प्रशासनले भन्यो- ‘जथाभावी वक्तव्यबाजी नगर्नू’

    काठमाडौं प्रशासनले भन्यो- ‘जथाभावी वक्तव्यबाजी नगर्नू’

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारीलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन साथै सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

    शनिबार राति काठमाडौं महानगरका मेयर बालेनको गाडी ट्राफिकले चेकजाँच गरेपछि उत्पन्न परिस्थितिलाई लक्षित गर्दै विज्ञप्ति जारी गरेको हो ।

    ‘असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

    यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ‘, प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

    सहायक सीडीओ खड्गबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विगतदेखि नै हुँदै आएको स्मरण गराइएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ ।

    यसबाट निजी काममा सरकारी सवारी साधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ ।

    लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

  • इतिहासमै पहिलो पटक आज नेपाल र भारत अन्तर्राष्ट्रिय क्रिकेटमा भिड्दै

    इतिहासमै पहिलो पटक आज नेपाल र भारत अन्तर्राष्ट्रिय क्रिकेटमा भिड्दै

    काठमाडौं । नेपालले क्रिकेट खेल्न थालेको इतिहासमै पहिलो पटक छिमेकी मुलुक भारतसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ऐतिहासिक अवसर जुरेको छ । भारतको सिनियर टिमसँग अहिलेसम्म नेपालको भेट हुन सकेको छैन ।

    भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भन्दा लामो समय भइसकेको छ । एसोसिएट टिम नेपालको यात्रा भने धेरै लामो छैन । नेपालले भारतका यू–१९ टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको भएपनि सिनियर टोलीसँग भने एसिया कपमा भेट हुन लागेको हो। खेल आज हुँदैछ

    एसिया कप २०२३ अन्तर्गत नेपालले भारतसँग सोमबार पहिलोपटक खेलेर इतिहास बनाउने भएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ।

    नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।

    समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर(फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ। केही गरी भोलिको खेल वर्षाले रद्द भए भारत सुपर फोरमा पुग्नेछ। मौसमको पूर्वानुमानअनुसार पल्लेकेले मैदानमा खेल सुरु हुने समयमा वर्षा हुने सम्भावना न्यून छ। तर साँझ पछि भने पानी पर्ने सम्भावना देखिएको छ।

  • आज चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

    आज चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

    काठमाडौं । आज चार प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान् गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ भने नेपालमा बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

    यसको प्रभावले मुलुकका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने महाशाखाले जनाएको छ। आज बिहान पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो भारी वर्षा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना पनि छ।

    राति देशभर आंशिक देखि सामान्य बदली रही देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षेतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • नेपालका नयाँ विमानस्थल चलाउन चीनसँग प्रस्ताव गर्छु : प्रधानमन्त्री

    नेपालका नयाँ विमानस्थल चलाउन चीनसँग प्रस्ताव गर्छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रस्ताव गर्ने बताएका छन्।
    समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आसन्न चीन भ्रमणको प्रसंग निकाल्दै भने, ‘पोखरा र लुम्बिनी एयरपोर्ट तथा मुस्ताङको कोरला र गोरखाको रूइला नाका खोल्न प्रस्ताव गर्छु।’ चीन भ्रमणका एजेन्डाबारे शुक्रबार बिहान मन्त्रालयगत एजेन्डामा छलफल गरिएको उनले बताए।

    उनले रसुवा नाकाबाट क्रस बोर्डर प्रशारण लाइन बनाएर चीनमा बिजुली व्यापार गर्नेबारे पनि छलफल भइरहेको जानकारी गराएका थिए। किमाथाङ्का नाकाबाट पनि प्रशारण लाइनको सम्भाव्यता अध्ययन गर्ने भन्दै उनले यसमा चीनको पनि चासो रहेको बताएका थिए।

    चीनले नेपालको कृषिमा चासो राखेको उनको भनाइ छ। नेपालबाट चीनमा घाँस र मासुको व्यापार गर्न सकिने प्रधानमन्त्री दाहालको भनाइ छ। ‘चीनले नेपालबाट सुकेको घाँस ठूलो मात्रामा लान चाहन्छ, तिब्बतमा राँगाको मासुको माग रहेछ,’ उनले भने, ‘खोरेत नियन्त्रण गर्‍यौं भने खर्बौंको मासु बेच्न सकिन्छ।’

  • हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने

    हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने

    काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् ।

    आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।

    हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन् ।

    यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा अबदेखि एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ ।

    गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिने छ । हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ । हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।

    हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

    गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताउनुभयो। उक्त टीमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ।

  • मुख्यमन्त्री थापाविरुद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारदेखि निरन्तर सुनुवाइ हुने

    मुख्यमन्त्री थापाविरुद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारदेखि निरन्तर सुनुवाइ हुने

    काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासमा आइतबार परेको पेसीपछि इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो । रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ ।

    सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरी विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको भन्दै एमालेले रिट दायर गरेको हो।

    भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए।

    मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोश प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए। कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा परेको थियो। मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो।

  • ललितपुरको जंगलमा १६ वर्षीया किशोरी बलात्कृत

    ललितपुरको जंगलमा १६ वर्षीया किशोरी बलात्कृत

    काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।

    गोदावरी नगरपालिका–२, त्रिवेणीस्थित जंगलमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    किशोरी बलात्कार गर्ने गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    बलात्कारको उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि बलात्कारको कसुरमा जिल्ला आदलत ललितपुरबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

  • एमाले नेताहरुको एक टोली चीन भ्रमणमा

    एमाले नेताहरुको एक टोली चीन भ्रमणमा

    काठमाडौं । नेकपा (एमाले)का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिएका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, अखिल नेपाल महिला सङ्घका अध्यक्ष दुकाभद्र हमाललगायत केन्द्रीय तहका नेता सहभागी छन् ।

    भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको १३ दिनसम्म भ्रमण गर्नेछ । भ्रमणको बेला नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमाले प्रचार विभागका सचिव विष्टले जानकारी दिए । उनका अनुसार भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ ।

  • पेप्सीकोलामा सडक दुर्घटना, आधा दर्जन व्यक्ति घाइते

    पेप्सीकोलामा सडक दुर्घटना, आधा दर्जन व्यक्ति घाइते

    काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडक खण्डमा बिहान बसले अरु गाडीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले एउटा जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    ओभरटेक गर्ने क्रममा बस अन्य गाडीसँग ठोक्किएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परेका गाडीको नम्बर खुलेको छैन भने घटनाको विस्तृत विवरण पनि आएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

  • दोलखाबाट काठमाडौं आउँदै गरेको स्कार्पियो दुर्घटना, २ जनाको मृत्यु

    दोलखाबाट काठमाडौं आउँदै गरेको स्कार्पियो दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ । रासस

  • भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द हुँदा फ्यान निरास

    भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द हुँदा फ्यान निरास

    काठमाडौं । भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेटमा शनिबारको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंकाको क्यान्डीमा टस जितेर ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अलआउट भयो ।

    त्यसपछि वर्षाले अवरुद्ध पारेको खेल पुनः सुचारु हुन सकेन । क्यान्डीमा बिहानदेखि हल्का वर्षा भइरहेको थियो । दिउँसो घाम लाग्दा खेल समयमै सुरु हुन सकेको थियो । भारतको ब्याटिङका क्रममा पटक–पटक सिमसिमे वर्षाले खेल अवरुद्ध पारेको थियो । तर, पहिलो इनिङ्सपछि भने वर्षाले खेल पुनः हुन सकेन ।

    यसले पाकिस्तानलाई फाइदा पुगेको छ । नेपाललाई बुधबार प्रतियोगिताको उद्घाटन खेलमा २ सय ३८ रनले पराजित गरेको पाकिस्तान सुपर फोरमा प्रवेश गरेको छ । भारत र नेपालबीच सोमबार हुने खेलले समूह ‘ए’ बाट सुपर फोरमा पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । भारतलाई त्यो खेल बराबरीको नतिजा पनि काफी हुन्छ भने नेपाललाई जित्नैपर्छ ।

    तीव्र बलर शाहिन शाह अफ्रिदीले पालेकेले क्रिकेट रंगशालामा सानदार बलिङ गरेपछि पाकिस्तानले उत्कृष्ट सुरुआत गरेको छ । अफ्रिदीले भारतीय कप्तान रोहित शर्मालाई ११ र विराट कोहलीलाई ४ रनमा बोल्ड गरेपछि भारतले पूरा इनिङ्स दबाबमा खेल्नुपरेको थियो ।

    टोलीमा फर्किएका श्रेयस ऐर १४ र ओपनर शुभमन गिल १० रनमा आउट भएपछि भारत ६६–४ को स्थितिमा पुगेको थियो । इशान किसन र हार्दिक पाण्ड्येले पाँचौं विकेटमा १ सय ३८ रनको साझेदारी गरेपछि भारतको स्कोर बलियो बनेको थियो । किसनले ८१ बलमा ८२ र पाण्ड्येले ९० बलमा ८७ रन बनाए । किसनले ९ चौका र २ छक्का तथा पाण्ड्येले ७ चौका र १ छक्का प्रहार गरे ।

    किसनलाई ३८ ओभरमा हरिस रउफले आउट गरेपछि भारतको पुनः विकेट झर्नेक्रम सुरु भयो । रवीन्द्र जडेजा १४, शार्दुल ठाकुर ३, कुलदीप यादव ४, जसप्रित बुमराह १६ रन बनाएर आउट भए । देव्रेहाते अफ्रिदीले १० ओभरमा २ मेडन राख्दै ४ तथा नसिम शाह र रउफले ३–३ विकेट लिएका थिए ।

  • रसुवामा अवैध सुनसहित एक महिला पक्राउ

    रसुवामा अवैध सुनसहित एक महिला पक्राउ

    काठमाडौं । रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए ।

    सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको उनले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • इराकमा सवारी दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

    इराकमा सवारी दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

    काठमाडौं । इराकको उत्तरी क्षेत्रस्थित दुजैल र समारा सहरको मध्यभागमा सवारी दुर्घटनामा १६ तीर्थयात्रीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये धेरैजसो शिया इरानी तीर्थयात्रीहरू छन् । विश्वकै ठूलो धार्मिक मेलामध्येको एक मानिने अर्बेनका लागि कर्बाला सहरमा जाने क्रममा तीर्थयात्रीहरू चढेको बस ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा १३ जना घाइते छन् । दुर्घटनास्थलमा अहिले उद्धारको काम भइरहेको छ । घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । सरकारी अधिकारीहरूका अनुसार दुईवटा मिनीबस आपसमा ठोक्किएका थिए ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रत्यक्ष्यदर्शीहरूले बसका चालक निदाइरहेको देखेको बताएका छन् । इराकी स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार इराकमा गत वर्ष सडक दुर्घटनाबाट कम्तीमा ४ हजार ९ सय जनाको मृत्यु भएको थियो । औसतमा हरेक दिन १३ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक छ । यस वर्ष इराकमा भित्रिएका २६ लाख तीर्थयात्रीहरूमध्ये अधिकांश इरानबाट गएका छन् ।

  • नेपाल बैंक र एडीबीबीच सम्झौता

    नेपाल बैंक र एडीबीबीच सम्झौता

    काठमाडौं । नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । बैङ्कले एसियाली विकास बैङ्क (एडिबी) सँगको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो ।

    कार्यक्रमले व्यापार वित्तीय आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुयाउने अपेक्षा गरिएको छ । २०२२ मा एडिबी टिएससिएफपीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारमार्फत ७।७ बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेको बताइएको छ ।

    नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड एडिबी टिएससिएफपीसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैङ्क भएको छ । सम्झौताले २०० भन्दा बढी देशहरूबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्ने बताइएको छ ।

    नेपाल बैङ्क लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एसियाली विकास बैङ्कसँग यो सम्झौता हुन सम्भव भएको बैङ्कले जनाएको छ । सम्झौतामा एडिबी टिएससिएफपीका प्रमुख स्टिभन बेक, नेपाल बैङ्क लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरे ।

  • ८ वर्षपछि तातोपानी नाकाबाट सुरु भयो आवतजावत

    ८ वर्षपछि तातोपानी नाकाबाट सुरु भयो आवतजावत

    काठमाडौं । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरू भएको छ। आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्।

    सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए। नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए।

    तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए। विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो ।

    नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो। भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनःबन्द भएको थियो।

    चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो। आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसद्मा सापकोटाले आवाज पनि उठाउनुभएको थियो ।

    साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए। केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए। त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।

  • सुर्यको अध्ययन गर्न भारतले पठायो यान

    सुर्यको अध्ययन गर्न भारतले पठायो यान

    काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो । आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिबार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार विहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ ।

    यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दुरी पार गर्ने छ, जुन पृथ्वी र सूर्यको दुरीको १ प्रतिशत हो । भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्ने छ । लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ । यहाँ एक किमिसको न्यूट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ । यो ठाउँको नाम फ्रान्सेली गणितज्ञ जोसेफ लुइस लेगरञ्जको नामबाट राखिएको हो । उनले १८ औं शताब्दीमा यो विन्दुको बारेमा खोज गरेका थिए ।

    आदित्य –एल १ लेगरञ्ज प्वाइन्टमा पुगेमा यसले सूर्यको सबभन्दा बाहिरी सतहको कामको अध्ययन गर्नेछ । यो मिसनले दिने जानकारीबाट सूर्यका बारेमा मानव समुदायको बुझाइ अझ राम्रो बनाउन महत्वपूर्ण हुने विश्वास लिइएको छ । सूर्यको अध्ययन गर्ने यो पहिलो मिसन भने होइन । यसअघि नासा र युरोपियन स्पेस एजेन्सी (ईएसए)ले पनि यही कामका लागि सूर्य मिसन पठाएका छन् । भारत सरकारले २०१९ मा यो प्रोजेक्टलाई अनुमति दिएको थियो, जसको लागत करिव ४।६ करोड डलर थियो ।

  • ट्रम्पको अदालती कारवाही प्रत्यक्ष प्रसारण गरिने

    ट्रम्पको अदालती कारवाही प्रत्यक्ष प्रसारण गरिने

    काठमाडौं । एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन काउन्टी सुपीरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन् ।

    सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यमा भएको चुनावी धोखाधडी र आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई हराउन ट्रम्पसहित १९ जनाले षड्यन्त्र गरेको अभियोगको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने घोषणा भएको हो ।

    बिहीबार दायर गरिएको अदालतको कागजातमा पूर्वराष्ट्रपति ट्रम्पले आरोपहरूको प्रकृति र अदालतमा उपस्थित हुने आफ्नो अधिकारलाई पूर्ण रूपमा बुझेको बताएका छन् । यद्यपि उहाँले आफू दोषी नभएको दाबी गर्दै आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताए । गत साता उहाँले फुल्टन काउन्टीको जेलमा आत्मसमर्पण गरेका हुन् ।


    अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि चार पटक आपराधिक रूपमा अभियोग लगाइएको छ तर उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन् । जर्जियामा उहाँमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुटा बयान दिन अभिप्रेरित गरेकोलगायत चार वटा मुद्दा दायर गरिएको छ ।

    यसअघि पूर्वराष्ट्रपति ट्रम्पमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियलसँगको यौनसम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलाई भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र ती कागतपत्र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ ।

    सन् २०२० को जनवरी छ तारिखमा अमेरिकी संसद् क्यापिटल हिलमा भएको हुलदङ्गा एवम् आक्रमणमा सात जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ । रासस\एपी

  • परराष्ट्रले चीनको नक्साबारे के दियो जवाफ ?

    परराष्ट्रले चीनको नक्साबारे के दियो जवाफ ?

    काठमाडौं । चीनले हालै सार्वजनिक गरेको नक्साबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। गत अगष्ट २८ मा चीनले नेपालको भूभाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।

    सो विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ( सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ। यसका साथै मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ।

  • नेपाल एयरलाइन्सले भैरहवालाई अब बैलौरसँग पनि जोड्दै

    नेपाल एयरलाइन्सले भैरहवालाई अब बैलौरसँग पनि जोड्दै

    काठमाडौं । नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ । एयरलाइन्सले २९ जेठदेखि हरेक मंगलबार काठमाडौं क्वालालम्पुर, भैरहवा काठमाडौं रुटमा उडान भरिरहेको छ ।

    १२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्लीका लागि पनि यात्रु लिएर आउने गरी टिकट बुकिङ खोलेको थियो । जसअनुसार हरेक मंगलबार हङकङ र दिल्लीका लागि पनि एयरलाइन्सले भैरहवाबाट टिकट बुकिङ खोलेको थियो । अब सोही रुटलाई विस्तार गर्दै भैरहवाबाट बैंगलौरका लागि पनि बुकिङ खुल्ला गरेको निगमले जनाएको छ ।

    नयाँ उडान तालिकाअनुसार हरेक मंगलबार बिहान ८ः १५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । सो जहाजमा आएका यात्रुहरु हङकङ जाने भए सोही दिनको ११ बजेको उडानमा हङकङ पठाइने छ भने दिल्ली जाने यात्रुलाई १ बजेर २५ मिनेटको उडानमा दिल्ली पठाइने एयरलाइन्सले जनाएको छ ।

    यस्तै १ बजेर २५ मिनेटकै अर्को उडानमा बैंगलौरका लागि उडान गरिने एयरलाइनसका प्रवक्ता रमेश पौडेलले बताए । एयरलाइन्सले यात्रु चेकिङकै क्रममा गन्तव्यसम्मकै बोर्डिङ पास उपलब्ध गराउने र यात्रुहरुको लगेज सिधै गन्तव्य मुलुकमै पुग्ने पनि जनाएको छ । यात्रुहरुले नेपाल एयरलाइन्सको वेवसाइट वा ट्राभल एजेन्सीबाट टिकट काट्न सकिने पनि एयरलाइन्सले जनाएको छ ।

  • एक महिनामा भित्रिए ६७ हजार पर्यटक, अमेरिकी कति ?

    एक महिनामा भित्रिए ६७ हजार पर्यटक, अमेरिकी कति ?

    काठमाडौं । पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२३ मा सो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ ।

    चीनबाट ५ हजार २७ जना र अमेरिकाबाट ४ हजार ६२९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । श्रीलंकाबाट ३ हजार ८५८ जना पर्यटक नेपाल भित्रिदा बंगलादेशबाट ३ हजार १९० जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

    बेलायतबाट २ हजार ७११ जना पर्यटक नेपाल आएका छन् भने स्पेनबाट १५ सय ८८ जना पर्यटक नेपाल आएका छन् । यस्तै जापानबाट १५ सय २०, इटालीबाट १४ सय ९६ र अष्टे«लियाबाट १३ सय ४७ जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

  • पूर्वराजकुमार पारस अस्पताल भर्ना ?

    पूर्वराजकुमार पारस अस्पताल भर्ना ?

    काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि शुक्रबार बिहान शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। उपचारमा समलग्न चिकित्सकका अनुसार शाहको अहिले विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ ।

    ‘उहाँ छाती दुख्ने समस्या भएर आउनुभएको थियो । हामीले केही परीक्षण गरेका थियौं । त्यस्तो खासै गम्भीर समस्या केही देखिएको छैन’ ती चिकित्सकले भने, ‘अन्य केही परीक्षण गर्न बाँकी छ । सायद, भोलि उहाँलाई डिस्चार्ज गर्न सकिन्छ ।’ तर, यसअघि पनि शाहलाई मुटुमा समस्या देखिएको २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गरिएको उनले बताए ।

    ‘उँहालाई पहिला मुटुको समस्या भएकाले भर्ना गरेर राख्नुपरेको हो । एक–दुई वटा परीक्षणले सबै नर्मल भन्न नसकिने हुँदा भर्ना गरिएको छ । मुटु समस्याको औषधि खाइराख्नु भएकाले उहाँको अवस्था अहिले स्थिर छ’ ती चिकित्सक भन्छन् । पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

  • तोकिएको दिनमा मात्र लाइनमा बस्न राहदानी विभागको आग्रह

    तोकिएको दिनमा मात्र लाइनमा बस्न राहदानी विभागको आग्रह

    काठमाडौं । राहदानी विभागले त्रिपरेश्वरस्थित आफ्नो कार्यालयमा राहदानी सेवाका लागि आउने सेवाग्राहीलाई तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन आग्रह गरेको छ । विद्युतीय फारम भर्दा प्राप्त हुने ‘अपोइन्टमेन्ट’को मिति र समयबाहेकको अवधिमा सेवग्राही विभागमा पुगेर लाइन बस्दा विभागमा भीडभाड बढेको छ ।

    द्रुत सेवाअन्तर्गतको विद्युतीय राहदानी सेवालाई सहज र सेवाग्राहीमैत्री बनाउन भन्दै हरेक दिन बिहान १० बजेदेखि प्रत्येक आधा घण्टाको अन्तरमा १५० देखि २०० सम्म सेवाग्राहीलाई विद्युतीय राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट’ उपलब्ध गराउने व्यवस्था गरिएको विभागले जनाएको छ ।

    तथापि तोकिएको दिनको विभिन्न समयमा अपोइन्टमेन्ट पाएका अधिकांश सेवाग्राही एकैपटक बिहान सबैरै विभाग आएर लाइने लाग्ने गरेकोले विहानको समयमा विभागमा सेवाग्राहीको बढी भीडभाड हुने गरेको सूचनामा उल्लेख छ । ‘विभागमा भीडभाडरहित सेवाप्रवाहका लागि आफ्नो आवेदन फारममा तोकिएको मिति र समयमा मात्र विभागमा आइदिनुहुन सबै सेवाग्राहीलाई हार्दिक अनुरोध छ,’ विभागका प्रवक्ता कुमार राईले जारी गरेको सूचनामा भनिएको छ ।

  • ६१ किलो सुन प्रकरण : अनुसन्धान गर्न सीआइबीको टोली भारत गयो

    ६१ किलो सुन प्रकरण : अनुसन्धान गर्न सीआइबीको टोली भारत गयो

    काठमाडौं । हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सीआइबीका एक अधिकृतसहितको टोलीलाई बिहीबार भारत पठाएको हो ।

    बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सीआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले बिहीबरभारतमा पनि टोली पठाएको हो ।

    अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना सङ्कलन गर्नेछ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकता अनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचनाहरू सङ्कलन गरिरहेको बताए । यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ ।

    हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो ७१६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ । केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन् ।

    यस्तै नेपाली, चिनियाँ र भारतीय नागरिक पनि पक्राउ परेका छन् । हङकङबाट ल्याइएको सुन भारत लैजाने तयारी गरिएको सूचना प्रहरीले प्राप्त गरेपछि हङकङ र भारतका सुन तस्करीबारे सूचना लिन प्रहरी दुवै क्षेत्रमा सूचना लिन खटाइएको हो ।

    सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भारतीय र चिनियाँसहितका छ जना विदेशी छन् । सीआइबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।

  • कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

    कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

    काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दा आजका लागि सर्वोच्च अदालतमा हेर्न नमिल्ने भएको छ।
    मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तेस्रो नम्बरमा तोकिएको थियो। उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले नै कारण देखाऊ आदेश जारी गरेका थिए। आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो।

  • भोजपुर केन्द्रविन्दु भएर गयो भूकम्प

    भोजपुर केन्द्रविन्दु भएर गयो भूकम्प

    काठमाडौं । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो।

    यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिइन्छ। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर स–साना भूकम्पहरू गइरहेका छन्। रासस

  • कंगोमा राष्ट्रसंघ विरुद्ध हिंसात्मक प्रदर्शन, कम्तिमा ४८ जना मारिए

    कंगोमा राष्ट्रसंघ विरुद्ध हिंसात्मक प्रदर्शन, कम्तिमा ४८ जना मारिए

    काठमाडौं । पूर्वी कङ्गोमा संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्थानीय स्रोतले बिहीबार जनाएको छ । एएफपीलाई प्राप्त आधिकारिक दस्तावेजमा आक्रमण र हताहतको पुष्टि गरिएको छ । गत बुधबार कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए ।

    सुरुमा करिब १० जनाको मृत्यु भएको बताइएको थियो, जसमा एक जना प्रहरी अधिकारी पनि थिए । मृतक प्रहरीलाई सम्प्रदायका सदस्यहरूले नराम्रोसँग पिटेका थिए । तर एएफपीले परामर्श गरेको र सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा मारिने प्रहरीबाहेक ४८ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ ।

    उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् । कङ्गोको मानव अधिकार अधिकार समूह लुचाले पनि बिहीबार मारिएको प्रदर्शनकारीको सङ्ख्या ५० को हाराहारीमा रहेको जनाएको छ ।

    बिहीबार सामाजिक सञ्जालमा प्रसारित दुई अपुष्ट भिडियोमा कङ्गोका सैनिकहरूले रगतले लतपतिएका मृत शरीरहरू सैन्य गाडीको पछाडि फ्याँकेको देखिन्छ ।

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटामा परेको छ, जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो ।

    यस क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन विश्वको सबैभन्दा ठूलो र महँगो मध्ये एक हो, जसको वार्षिक बजेट लगभग एक अर्ब डलर छ । संयुक्त राष्ट्रसङ्घले मध्य अफ्रिकी राष्ट्रमा भएका हिंसातमक घटनाको कडा आलोचना गरिरहेको छ । यस क्षेत्रमा धेरै मानिसहरूले शान्ति सैनिकहरूलाई द्वन्द्व रोक्न असफल भएको ठान्छन् । एएफपी

  • समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा

    समाजवादी मोर्चाको सन्देश सभा आज पोखरामा

    काठमाडौं । समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा गरिएको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना भइसकेको छ । मोर्चाले आज गण्डकीको पोखरामा सभा आयोजना गरेको छ ।

    सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्दैछन् ।


    सभाको पूर्वसन्ध्यामा मोर्चाको गण्डकी प्रदेश संयोजन समिति पनि गठन गरिएको छ । मोर्चामा आबद्ध पार्टीबाट तीन–तीन जना सदस्य रहने गरी प्रदेश समिति गठन गरिएको नेकपा ९माओवादी केन्द्र० का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले जानकारीदिए । मोर्चामा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन् ।

    यसैगरी नेकपा एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चाका सदस्य छन् । यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेका छन् ।

    सचिव पौडेलका अनुसार मोर्चा समितिको अध्यक्षता आलोपालो गर्ने सहमति छ । हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गायत्री गुरुङले मोर्चाको नेतृत्व गरेकी छिन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको थियो । मोर्चालाई प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्ने नेताहरुले बताएका छन् ।

  • उपत्यका विभिन्न स्थानमा शनिबार विद्युत आपूर्तिे बन्द हुने

    उपत्यका विभिन्न स्थानमा शनिबार विद्युत आपूर्तिे बन्द हुने

    काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले यस्तो जानकारी गराएको छ । काठमाडौंको रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणको भनाई छ ।

    हाल टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार विद्युत आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरहरुमा वैकल्पिक व्यवस्था गरिएको छ ।