Category: समाचार

  • गगनको आक्रमक स्टाटस : भ्रष्टाचार विरुद्ध पार्टी नहेरौं

    गगनको आक्रमक स्टाटस : भ्रष्टाचार विरुद्ध पार्टी नहेरौं

    काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आक्रमक स्टाटस सार्वजनिक गरेका छन् । उनले शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको नेक्सस बनिरहेको भन्दै त्यसको कडा शब्दमा आलोचना गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एकपछि अर्को काण्ड सार्वजनिक भइरहेको सन्दर्भ निकाल्दै महामन्त्री थापाले संरचनागत संयन्त्रहरूमा देखिएको लुपहोलका कारण भ्रष्टाचार मौलाएको उल्लेख गरेका छन् ।


    ठूला भ्रष्टाचारका काण्ड सामसुम पार्न ठूलाहरू मिल्ने गरेको र सत्ता बार्गेनिङको टुल बनाइने गरेको पनि उनको भनाइ छ । महामन्त्री थापाले भनेका छन्, ुयस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुलु बनाउने सम्भावना एकदमै देखिन्छ।

    भ्रष्टाचार अन्त्यका लागि पार्टीभित्र मात्र नभई अन्य दल र नागरिक आन्दोलनसँग पनि एकाकार हुनुपर्ने पनि महामन्त्री थापाको भनाइ छ । यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएको एक ठाउँमा आउँ। यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ, महामन्त्री थापाले भनेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म पनि बलियो बनाउनुपर्ने महामन्त्री थापाको भनाइ छ । उनले भनेका छन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔँ । नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔँ । के नीतिगत हो, के होइन प्रस्ट गरौँ ।

    भ्रष्टाचारीका सन्दर्भमा नेता र नाता केही हेरिन नहुने महामन्त्री थापाले बताएका छन् । उनले भनेका छन्, यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ, निर्दोष कोही नपरुन, दोषी कोही नछुटून्। भ्रष्टाचारीको सन्दर्भमा न नेता, न नाताु केही नहेरियोस्, त्यसै गरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस् । यी सबै कुरामा मेरो पहलकदमी रहनेछ, जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लागौँ ।

  • ओलीको चूनौति : यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट काण्डको छानविन गर

    ओलीको चूनौति : यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट काण्डको छानविन गर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् ।

    ‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

    आफूलाई ललिता निवासको विषयमा आरोपित गरिरहेको भए पनि अहिले आफैं त्यसमा फँसिरहेको उनको भनाइ छ । ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे ।

    ‘अहिले चिया बगान निस्केको छ । गर न छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ’, उनले भने, ‘हामीले कानुन बनाइदिएका हौं । अब उपरान्त कानुनसम्मत गर भनेर भनेका छौं । बनाइदिएका छौँ ।’


    उनले नेकपा एमाले कमिसनका पछाडि हिँड्ने पार्टी नभएको र महान उद्देश्यका लागि हिँड्ने पार्टी भएको बताए । उनले ओम्नी प्रकरणबारे पत्रिका पढेर थाहा पाएको भन्दै आफूले अहिलेसम्म नदेखेको र सुनेको मात्रै जिकिर गरे । उनले भ्रष्ट र तस्करले उल्टै थर्काएको भन्दै सत्तामा भएकाहरू आफैंले सुन तस्करी गरेको आरोप लगाए । त्यसमा अरूको ध्यान नजाओस् भनेर केपी ओलीले पशुपतिमा सुन भनेर पित्तल चढाएको विषय निकालेको बताए ।

  • नेपालका ५ क्रिकेटरको नाम बिग ब्यास लिगको ड्राफ्टमा

    नेपालका ५ क्रिकेटरको नाम बिग ब्यास लिगको ड्राफ्टमा

    काठमाडौं । नेपाली क्रिकेट टोलीका ५ खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन् ।
    लामिछानेले पहिले नै बिग ब्यास खेलिसकेका छन् ।

    देव खनाल नेपालका यू–१९ कप्तान समेत हुन् । अर्जुन साउद विकेटकिपर ब्याटर हुन् । अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट किपिङका लागि चिनिन्छन् । आसिफ शेख नेपाली टिमका विकेटकिपर तथा ओपनर ब्याटर हुन् । आरिफ शेख भने नेपालको लागि मध्यक्रम र फिनिसिङ ब्याटर हुन् ।

    उनले मध्यगतिको बलिङ समेत गर्छन् । १३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३७६ खेलाडी ड्राफ्टमा छन् । यी खेलाडीले ८ टिममा रहि खेल्नेछन् । बिग ब्यासको ड्राफ्ट आगमी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यास आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ ।

  • रास्वपाले फिर्ता लियो संसदीय समिति सभापतिमा दिएको उम्मेदवारी

    रास्वपाले फिर्ता लियो संसदीय समिति सभापतिमा दिएको उम्मेदवारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ।

    उद्योग तथा वाणिज्य समितिमा रास्वपाले उम्मेदवारी दिएको थियो। रास्वपाले गणेश पराजुलीलाई उम्मेदवार बनाएको थियो।

    जनमत पार्टीका उम्मेदवार पनि केही गर्छु भनेर राजनीतिमा आएकोले निर्विरोध उनलाई काम गर्न दिने सहमति पार्टीभित्र भएको जनाइएको छ ।

  • उपत्यकामा जनैपूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाउने

    उपत्यकामा जनैपूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाउने

    काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय सरकार तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका छन्।

    भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेको छ। ललितपुरका केही सांस्कृतिक संस्थाले १३ गते रक्षाबन्धन एवम् जनैपूर्णिमा र १४ गते गाईजात्रा पर्व मनाउने निर्णय गरेका छन्।

    काठमाडौँका केही सांस्कृतिक संस्थाले पनि भदौ १४ गते रक्षाबन्धन एवं जनैपूर्णिमा र १५ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय सार्वजनिक गरेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएको छ।

  • नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण क्रिकेट

    नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण क्रिकेट

    काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो । यसअघि शनिवार नेपालले चार देशीय महिला टी–२० को उपाधि जितेको थियो । फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

    आईसीसी महिला विश्वकप टि–२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ। नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप खेल्न पाउनेछन् ।

  • नेपाल एयरलाइन्सले भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोडने

    नेपाल एयरलाइन्सले भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोडने

    काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले १२ भदौ २०८० ९मंगलबार०देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो ।

    भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको कम्पनीले वताएको छ । उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने भएको छ । तत्पश्चात ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।

    यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी निगमको टिकट किन्न सक्ने भएका छन् । यसअघि निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ । निगमको यो उडानसँगै अब भैरहवामा समेत यात्रुले सहज सेवा पाउने अपेक्षा गरिएको छ ।

  • धमाधम स्तरोन्नति हुँदै नागढुंगा-मुग्लिन सडक, नौबिसे खण्डमा पिच गर्न मात्रै बाँकी

    धमाधम स्तरोन्नति हुँदै नागढुंगा-मुग्लिन सडक, नौबिसे खण्डमा पिच गर्न मात्रै बाँकी


    काठमाडौं । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ ।

    सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढुङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ ।

    यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहे पनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको नागढुङ्गा-मुग्लिन सडक आयोजनाका आयोजना पूर्वी खण्डका योजना प्रमुख ईश्वर रिजालले बताए। उनका अनुसार पहिलो चरण अन्तर्गत हालसम्म ३५ प्रतिशत, दोस्रोमा १० प्रतिशत र तेस्रोमा करिब ३ प्रतिशत काम भएको छ ।

    एकतर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको रिजालले जानकारी दिए ।

    नेपाल सरकार र विश्व बैंकको ऋण सहयोगमा रू १२ अर्बको लगानीमा पृथ्वीराजमार्गको नागढङ्गा-मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम थालिएको उनले बताए । ‘नौबिसे-नागढुङ्गामा निर्माणको काम लगभग अन्तिममा पुगिसकेको छ । पिचको काम बाँकी छ,’ उनले भने।

    सडक विभागको तथ्याङ्क अनुसार पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ हुँदै दैनिक साना ठूला गरी करिब १५ हजार सवारी काठमाडौं ओहोरदोहोर हुँदै आएका छन् ।

    उकालो र घुम्तीले गर्दा सवारी जाम हुने स्थानमा दुई लेनको अतिरिक्त एक लेन थप्ने गरी काम भइरहेको योजना प्रमुख रिजालले बताए । साना गाडीको पनि चाप हुने भएकाले बजार क्षेत्रमा चारदेखि छ लेनसम्म सडक चौडा गरिने योजना रहेको उनले जानकारी दिए।

    आयोजनाका आयोजना पश्चिम खण्डका योजना प्रमुख किरण कार्कीका अनुसार भौगोलिक हिसाबले सहज भएका स्थानमा दुई लेनलाई नै व्यवस्थित गर्ने गरी काम भइरहेको छ । समग्रमा कम्तीमा ९ मिटरदेखि बढीमा ३० मिटरको चौडाइमा स्तरोन्नति हुने उनले जानकारी दिए । ‘नौविसे र खत्रीपौवामा पुल बन्दैछ । नौविसेदेखि मलेखुसम्ममा १६ पुल बन्नेछ,’ उनले भने ।

    सडकमाथि मेसिन चढाएर पहरा काट्नुपर्ने स्थानमा काम गर्दा माथिबाट ढुङ्गामाटो खसेर सवारीमा लाग्न सक्ने जोखिम भएकाले त्यस्ता स्थानमा सवारी आवागमन केहीबेर रोकेर काम गर्ने गरिएको कार्कीले बताए । बर्खाको समयमा धमाधम काम भइरहे पनि राजमार्गमा सवारी रोकेर काम गर्दा यात्रुले सास्ती बेहोर्नु परिरहेको छ ।रासस

  • ललिता निवास जग्गा हिनामिना : ४ पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर

    ललिता निवास जग्गा हिनामिना : ४ पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । काठमाडौैं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न २९० जना विरुद्ध मुद्दा दायर भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले कीर्ते अभियोगमा ४ पूर्व मन्त्रीसहित २९० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

    सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय शाह विरुद्ध कीर्ते अभियोगमा मुद्दा दायर भएको हो ।

    त्यसैगरी, सरकारी वकिलले बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्यसहित २९० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साथै, आरोपितहरुसँग १८ अर्ब रुपैयाँ बढी बिगो दाबी माग गरिएको छ ।

    सीआइबीले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिए पनि सरकारी वकिलले कीर्ते अभियोगमा मात्र मुद्दा चलाएको हो ।

    उक्त अनियमितता संगठित अपराध सम्बन्धी कानून जारी हुनुभन्दा पहिले भएको भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौंले संगठित अपराध कसुरमा मुद्दा नचलाउने निर्णय गरेको हो ।

    संगठित अपराध निवारण ऐन, २०७० चैत १२ गते जारी भएको थियो । ललिता निवास जग्गा हिनामिना वि.सं. २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट भएको निर्णयका आधारमा भएको थियो ।

    कुनै पनि कानून जारी भएको मितिपछि मात्रै लागू हुने भएकाले त्यसअघि भएका घटनामा त्यो कानून आकर्षित नहुने भन्दै सरकारी वकिलको कार्यालयले आरोपितलाई कीर्तेको अभियोगमा मात्रै मुद्दा चलाएको हो ।

  • महिलाले गरिन् मट्टितेल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर

    काठमाडौं । दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका-५ सेतकला बस्ने अन्दाजी ४५ वर्षीया सुना साउँदले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।
    साउँदले आज बिहान ११ बजेतिर घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताए ।

    साउँदको शरीरमा आगो लाग्दा घुडाभन्दा माथिल्लो भाग जलेको बताइएको छ । आगो लागेको स्थानीयहरुले देखेपछि साउँदलाई उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो ।

    उनको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

  • ‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

    ‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

    काठमाडौं । रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    एसोसिएसनले प्रत्येक शनिबार दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरणका लागि आयोजना गरिएको हाटबजारमा प्रत्यक्ष ठेकीमा मही निःशुल्क खुवाउने छ । यो अभियानले युवा पुस्तामा मौलिक उत्पादन र रैथाने उत्पादनको ज्ञान प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको एसोसिएसनका अध्यक्ष दाहालले बताए । अब प्रत्येक हप्ता लाग्ने हाटबजारमा बिहान ६ बाट बिहान १२ भित्र सबै जना उपस्थित भई रैथाने कृषि सामग्री अवलोकन गर्ने कार्यक्रम हुँदै आएको छ ।

    एसोसिएसनले आफैँ सुरुवात गरेको यो अभियान ठुलो अभियानकर्ता रैथानेसँग जोडिएर गर्न लागेकाले यसले थप प्रोत्साहन प्राप्त हुने उनले बताए । रैथाने एग्रोका अध्यक्ष ढकालले यो सम्झौताले रैथाने बाली र खाद्यान्नमा विकास हुने बताए । उनले आफ्ना सन्ततिले अब रैथाने किसिमका उत्पादन र संस्कृति बिर्संदै आएकाले यसको जगेर्नाका लागि अहोरात्र खटिएको बताए ।

  • कम हुँदै वर्षा, कुन प्रदेश छ मनसुनको प्रभाव ?

    कम हुँदै वर्षा, कुन प्रदेश छ मनसुनको प्रभाव ?

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव पनि छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

    त्यस्तै कोशी प्रदेशका केही स्थान तथा मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राति कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान

    सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको बताएका छन् ।

    हरेक समस्याको संवाद र सहमतिको बलबाटै समाधान गर्न सकिने भन्दै उनले धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराएका छन् । त्यसका लागि पहल गर्न राजनीतिक दल तथा संघसंस्थाहरुलाई अपील गरेका उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् ।

    उनले भनेका छन्, ‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु ।’

    हार्दिक अपील

    नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ ।

    नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ । यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन । तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ ।

    केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु ।

    धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु । विभिन्न वर्ण, लिङ्ग, जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौँ । नेपालको राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहन्छ र रहनुपर्दछ ।

    सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै हो । बिमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पु¥याउन समेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्वपूर्ण रहन्छ । कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सुत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ ।

    अन्त्यमा, सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु ।

    भाद्र ९, २०८०
    पुष्पकमल दाहाल “प्रचण्ड”

  • फ्रान्समा गर्मीले जनजीवन प्रभावित

    फ्रान्समा गर्मीले जनजीवन प्रभावित

    काठमाडौं । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सेल्सियससम्म पुगेको छ ।

    गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा रहेका छन् । गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होशियार रहन आग्रह गरिएको छ । स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपायहरु अपनाउन आग्रह गरेका छन् ।

    बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा शतर्क रहन आग्रह गरेका छन् । राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गत सोमवार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो । ड्रोमको न्योन्समा ४२ दशमलव २ डिग्रि सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो ।

  • नेपालले जित्यो चार देश सम्मिलत सिरिज

    नेपालले जित्यो चार देश सम्मिलत सिरिज

    काठमाडौं । नेपालले चार देश सम्मिलित टी–२० सिरिज जितेको छ। आज भएको फाइनलमा हङकङलाई डिएल मेथडमा १३ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याको नेपालले ५.३ ओभरमा ३७ रन जोड्दा खेल मौसमले अवरुद्ध भय‍ो। त्यसपछि खेल हुन नसक्दा नेपाल विजयी भयो।

    सिरिजपछि नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्नेछ। मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

    प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ। समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

  • त्रिशुली नदीमा पिकनिक गएका २ जना वेपत्ता

    त्रिशुली नदीमा पिकनिक गएका २ जना वेपत्ता

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २९ गाईघाट नजिकै वनभोज ९पिकनिक० गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका १० सप्तगण्डकी चोक बस्ने ३० वर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    दिउँसो साढे ४ बजेतिर नदीमा बेपता भएका दुवै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

  • सप्तकोशीमा पानीको वहाव बढ्यो, ५६ वटै ढोका खोलियो

    सप्तकोशीमा पानीको वहाव बढ्यो, ५६ वटै ढोका खोलियो

    काठमाडौं । सप्तकोसी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रवार साँझबाटै ५६ ढोका खोलिएको हो ।
    पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रवार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो ।

    कोसी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राती १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिवार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

    गत साउन २९ गते ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव यस वर्षकै उच्च र अहिलेसम्मको पाँचौँ पटक उच्च मापन गरिएको कोसी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताउनु भयो । सम्पर्क तथा भूआर्जन अधिकृत पौडेलका अनुसार पहिलो पटक १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार २ सय क्युसेक पानीको मापन गरिएको थियो ।

    सन् १९६८ अगस्ट २७ मा ४ लाख १ हजार ९० क्युसेक, १९८४ सेप्टेम्बर १७ मा ५ लाख १ हजार ७ सय ८७ क्युसेक, सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक र १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १ सय ९३ क्युसेक पानीको बहाव उच्च मापन गरिएको छ । यस वर्षको दोस्रो पटक पानीको बहाव उच्च मापन र १९६८ यताकै छैटौँ पटक मापन गरिएको कोसी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताउनु भयो ।

    पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको थियो कोसीमा पानीको बहाव उच्च भए पनि पूर्वी तटबन्धमा सामान्य कटान बाहेक कुनै क्षति नभएको र श्रीलङ्का टापुमा भने कटान भइरहेको सम्पर्क अधिकृत पौडेलले बताउनु भयो । राजा वास, प्रकाशपुर, मधु वनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ ।

  • धरान प्रवेशमा कडाई

    धरान प्रवेशमा कडाई

    काठमाडौं । धरानमा आज आयोजना गरिने भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सहर प्रवेशमा कडाइ गरेको छ। विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन। र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। यही धार्मिक र्‍याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। धरानमा प्रशासनले शनिबार रातिसम्मका लागि शुक्रबार नै निषेधाज्ञा जारी गरेको छ। सोही अनुसार धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गरिएको छ।

    निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको बाटो बराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी ६ नं बाट बराहक्षेत्र वडा नं।३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ। त्यस्तै , इटहरी उपमहानगरपालिका वडा नं २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

    निषेधाज्ञाका कारण लामो दुरीबाट धरान जाने यातायात इटहरीको पानीपिया क्षेत्रमै रोकिएको छ। धरानका मेयर हर्क साम्पाङसहित सबै राजनीतिक दलका नेताहरु, पुर्व मेयरहरु, नागरिक अगुवाहरुले सबैलाई संयम अपनाउन अपिल गरेका छन्। उनीहरूले धार्मिक र सामाजिक सद्भाव कायम राख्न पनि अपिल गरेका छन्। गो मंसका विषयमा चर्किएको विवादले धरान पछिल्ला दिनमा आतकिंत बन्दै गएको हो ।

  • सी जिन्पिङ र मोदी सीमामा तनाव हटाउन सहमत

    सी जिन्पिङ र मोदी सीमामा तनाव हटाउन सहमत

    काठमाडौं । भारत र चीनका नेताहरू दुई देशबीचको विवादास्पद सीमामा विद्यमान तनाव घटाउन सहमत भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका छन्। उनीहरूले बुधवार एक्लाएक्लै भेटवार्ता गरेका थिए ।

    बेइजिङका अनुसार भारतीय प्रधानमन्त्रीको अनुरोधमा सीले उनलाई भेटेका हुन्। सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।

    यी शक्तिसम्पन्न राष्ट्रबीच हिमाली क्षेत्र अवस्थित ३,४४० किलोमिटर लामो सीमामा अस्पष्टता छ। त्यसलाई लाइन अफ एक्चूअल कन्ट्रोल (एलएसी) भनिन्छ ।
    भारत र चीन एलएसीबाट सैनिकहरूलाई हटाउने प्रयास अघि बढाउन सहमत भएको भारतका विदेशसचिव विनय मोहन क्वात्राले बिहीवार बताएका हुन्।

    भारत-चीन सम्बन्धलाई सामान्य बनाउनका लागि प्रधानमन्त्री ‘मोदीे ले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्नुपर्ने तथा एलएसीलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो, उनले भने। यस सन्दर्भमा दुई नेताबीच आफ्ना सम्बन्धित अधिकारीहरूलाई शीघ्र ‘एलएसी’बाटे सैनिक हटाउने र तनाव घटाउने कामलाई घनीभूत बनाउन निर्देशन दिने सहमति भयो, उनले भने।

    चिनियाँ विदेश मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै सी र मोदीबीच चीन–भारतबीच विद्यमान वर्तमान सम्बन्ध र पारस्परिक हितसँग सम्बन्धित अन्य विषयमा खुलस्त र गहिरो छलफल भएको जनाएको छ। राष्ट्रपति सीले चीन-भारत सम्बन्ध सुधार हुँदा दुवै देश र जनताको समान हित हुने तथा त्यो विश्व र क्षेत्रको शान्ति, स्थिरता र विकासका लागि पनि अनूकुल हुनेमा जोड दिनुभयो।

    ‘दुवै पक्षले द्विपक्षीय सम्बन्धका समस्त विषयबारे सोच्नुपर्छ र सीमावर्ती क्षेत्रमा मिलेर शान्ति सुनिश्चित गर्न सीमासँग सम्बन्धित विषयमा उपयुक्त तरिकाले व्यवहार गर्नुपर्छ, विज्ञप्तिमा भनिएको छ। भारतबाट प्रकाशित हुने द इन्डियन एक्सप्रेस अङ्ग्रेजी पत्रिकाका अनुसार सी र मोदीबीच वार्ता हुँदा दुवै नेताले दोभासे वा टिपोटकर्ता राखेका थिएनन्।

    यसअघि सी र मोदीबीच जी२० शिखर सम्मेलनमा सहभागी हुन जाँदा वार्ता भएको थियो। आगामी महिना जी२० शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति भारत जाने अपेक्षा गरिएको छ। उक्त सम्मेलन सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुन लागेको छ।

    BBC

  • बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसले दिए उम्मेदवारी

    बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसले दिए उम्मेदवारी

    काठमाडौं । नेपाल क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पूर्वकप्तान पारस खड्काले संरचना परिवर्तन गर्नका लागि आफूले व्यवस्थापनमा आउन चाहेको बताएका छन् । काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघका अध्यक्षहरुलाई दायाँ बायाँ राखेर पत्रकार सम्मेलन गरेका उनले क्रिकेट विकासका लागि आफूले संघमा आउन चाहेको स्पष्ट पारे ।

    उनले भने, ‘चुनाव जित्न मात्रै आएको होइन । क्रिकेटको संरचना परिवर्तन गर्नु जरुरी छ, त्यसैले आएको हो ।’ क्रिकेट संघमा आउन चाहँदा निकै सकरात्मक प्रतिक्रिया पाएपछि प्यानल बनाएरै अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनले बताए । उनलाई बाग्मती प्रदेशमा संघ रहेका ६ मध्ये चार जिल्लाले समर्थन गरेका छन् ।

    उनले नुवाकोट र चितवन जिल्लासँग समन्वय गर्न खोजे पनि ती २ जिल्लासँग समन्वय हुन नसकेको बताए । ‘बागमतीका ६ जिल्लाका अध्यक्षसँग समन्वय गर्न खोजेको हो,’ उनले भने, ‘तर चितवन र नुवाकोट जिल्लाबाट प्रतिक्रिया नपाएपछि हामीले चार जिल्लाको समर्थनमा उम्मेदवारी घोषणा गरेको हो ।’

    उनले पत्रकार सम्मेलनमा अघि भने, ‘क्रिकेटको साँच्चै विकास गर्न चाहनुहुन्छ भने चितवन र मकवानपुरका अध्यक्षज्युहरुलाई पनि मिलेर अघि बढ्न आग्रह गर्न चाहन्छु ।’

    केन्द्रको चुनावका बारेमा पत्रकारले सोधेको प्रश्नमा उनले क्यानको पदाधिकारी भएर काम गर्न सबैतिरबाट सुझाव आएको बताए । तर अहिले आफ्नो अहिलेको प्राथमिकता बागमती प्रदेशको अध्यक्ष रहेको भन्दै पारसले बागमतीको चुनावपछि बाँकी ६ प्रदेशसँग छलफल गरेर अघि बढ्ने स्पष्ट पारे ।

  • मुग्लिङ–काठमाडौं सडकमा पहिरो, आवतजावत रोकियो

    मुग्लिङ–काठमाडौं सडकमा पहिरो, आवतजावत रोकियो

    काठमाडौं । मुग्लिङ नजिकै नाग्दी खोलामा पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडक अवरूद्ध भएको छ । शुक्रबार साँझ सडकखण्ड अन्तर्गत ७ बजे इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए ।

    डीएसपी पण्डितका अनुसार पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् भने पहिरो पन्छाउन प्रहरीको टोली त्यसतर्फ पठाइएको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन अवतजावत गर्छन् ।

  • धरानमा निषेधाज्ञा

    धरानमा निषेधाज्ञा

    काठमाडौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाएको हो ।

    धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

    धरान प्रवेश गर्ने नाकामा तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।

  • हर्क साम्पाङलाई अदालतले भन्यो-‘व्यक्तिको जग्गामा धरपकड नगर्नू’

    हर्क साम्पाङलाई अदालतले भन्यो-‘व्यक्तिको जग्गामा धरपकड नगर्नू’

    काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो ।

    धरानका रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए थियो । अदालतले सो रिटमा मेयर साम्पाङलाई कडा आदेश दिएको हो ।

    धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षरोपण गर्नुभएको थियो । वृक्षरोपण गरेको जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आउनु भएको छ । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाको जग्गा भएकाले वृक्षरोपण गरेको दाबी गर्दै हडप्न खेजेको आरोप छ ।

  • मेलम्ची क्षेत्रमा आयो बाढी

    मेलम्ची क्षेत्रमा आयो बाढी

    काठमाडौं । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ ।

    निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएकोे छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन्। “अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ”, उनले भनिन्, “वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ ।”

    पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीय श्याम लामिछानेले बताए । सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए । रासस

  • आजको मौसम कस्तो रहनेछ ?

    आजको मौसम कस्तो रहनेछ ?

    काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। न्यूनचापीय रेखा सहित नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहीकोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    भारी वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • समाजवादीको सदस्यता फोनबाटै लिन सकिने

    समाजवादीको सदस्यता फोनबाटै लिन सकिने

    काठमाडौं । एकीकृत समाजवादीले पार्टी सदस्यता लिनका लागि आवेदकले फोनबाटै आवेदन दिनसक्ने व्यवस्था गर्ने भएको छ । मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको सूचनालाई बढी प्रभावकारी बनाउने भएको छ ।

    एकीकृत समाजवादील पार्टीमा कुनै पनि कमिटीको बैठकका निर्णअनुसार हरेक सदस्यले लिएका जिम्मेवारीको अनुगमन गर्ने र त्यसका लागि कसले कुन दिन कुन काम गरेको हो भन्ने जानकारी तुरुन्तै केन्द्रमा आउने व्यवस्था गरिने व्यवस्था समेत गर्ने भएको छ । साथै, पार्टीका बारेमा सकेसम्म बढी सूचना पाउन सक्ने गरी पार्टीको डिजिटल एपको प्रयोगलाई प्रभावकारी बनाउँदै लगिने निर्णय समेत एकीकृत समाजवादीको छ ।

  • टेलिभिजन प्याकेजको मूल्य २५०, सःशूल्क हेर्न कति लाग्छ ?

    टेलिभिजन प्याकेजको मूल्य २५०, सःशूल्क हेर्न कति लाग्छ ?

    काठमाडौं । सरकारले टेलिभिजन च्यानलहरुको न्यूनतम् उपभोक्ता शुल्क मासिक प्रतिग्राहक २५० रुपैयाँ तोकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन सेवामा ‘आला कार्ट’ मूल्य प्रणाली लागु गर्दै यस्तो शुल्क तोकेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले तोकेको सीमाभित्र रहेरमात्रै प्रसारण संस्थाहरुले उपभोक्तासँग मासिक शुल्क लिन पाउने बनाएकी हुन् ।

    यो नियम केबल, डीटीएच, एमएसओ, एमएमडीएस, आइपीटीभी, डीटीटीभीलगायत प्रसारण संस्थाको हकमा लागु हुने मन्त्रालयले जनाएको छ । इजाजत प्राप्त संस्थाले उपभोक्ताबाट मासिक न्यूनतम शुल्क २५० सम्पूर्ण नेपाली च्यानलहरु र निःशुल्क विदेशी च्यानलहरु उपलब्ध गराउनुपर्ने छ ।

    सःशुल्क च्यानलहरु उपभोक्ताले थप मूल्य तिरेर लिन पाउनेछन् । यसबाट अब उपभोक्ताले आफ्नो रोजाइका च्यानल मात्र रकम तिरेर हेर्न पाउने सुविधा हुनेछ । आफूले हेर्न नचाहेका च्यानलका लागि उनीहरुले रकम तिर्नुपर्ने छैन । ग्राहकले अब न्यूनतम् मूल्यका अतिरिक्त एउटा मात्र विदेशी च्यानल हेर्छु भन्यो भने त्यसको मात्रै मूल्य तिरेर हेर्न पाउनेछ ।

    यसबाट उपभोक्तामाथि लाद्ने गरिएको उच्च मूल्य नियन्त्रणमा आएको उनको मन्त्रालयका प्रवक्त नेत्र सुवेदीले बताए । सेवा प्रदायक संस्थाले अब मन्त्रालयबाट आफ्नो शुल्क स्वीकृत गराउनु पर्छ । त्यसपछि शुल्क कार्यान्वयनमा आउँछ ।

    सरकारले गत १५ चैतमै आलाकार्ट शुल्क प्रणाली लागु गरी सम्झौताका लागि कम्पनीहरुलाई आह्वान गरेको थियो । तर, च्यानलहरुले तोकिएको समय १ साउनभित्र बुके प्राप्त नभएको भन्दै त्यो पालना गरेका थिएनन् । त्यसपछि सरकारले सःशुल्क विदेशी च्यानलको प्रसारण रोक्ने निर्णय लिएको थियो ।

    मन्त्रालयका अनुसार स्टार इण्डिया प्रालिले वितरण गर्ने सम्पूर्ण सःशुल्क च्यानलको अधिकतम् मूल्य ६५ रुपैयाँ प्रतिमहिना प्रतिग्राहक तोकिएको छ । सोनी पिक्चर्स नेटवर्क इण्डियाले प्रसारण गर्ने सबै च्यानलहरुलाई समेत अधिकतम् सोही रकम तिरे पुग्ने भएको छ । इण्डियाकाष्ट मिडिया डिष्ट्रब्युसन प्रालिबाट प्रसारण हुने सबै च्यानलको मूल्य अधिकतम् मासिक प्रतिग्राहक २५ रुपैयाँ तोकिएको छ । जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिमिटेडका ग्राहकले अब सबै च्यानलको अधिकतम २५ रुपैयाँ तिर्दा पुग्ने भएको छ ।

    बिननेट कोलम्यान एण्ड कम्पनीका ग्राहकले भने मासिक ३ रुपैयाँ मात्र तिर्दा समेत पुग्ने भएको छ । डिष्कभरी नेटवर्क एसिया प्यासिफिक प्रालिका च्यानललाई ग्राहकले प्रतिमहिना २० रुपैयाँ तिर्दा पुग्ने भएको छ । बीबीसीका च्यानलहरु भने प्रतिग्राहक २ रुपैयाँ तिरे पुग्ने छ । होम बक्स अफिस (सिंगापुर)प्रालिका च्यानललाई अधिकतम १५ रुपैयाँ तिर्दा पुग्ने निर्णय मन्त्रालयले गरेको छ । यी सबै च्यानलको मूल्य जोड्दा २२० रुपैयाँ हुन आउँछ ।

  • अमेरिकी डलरको प्रभुत्व अन्त्य गर्न ब्रिक्सको साझा मुद्रा प्रयोगमा ल्याउन प्रस्ताव

    अमेरिकी डलरको प्रभुत्व अन्त्य गर्न ब्रिक्सको साझा मुद्रा प्रयोगमा ल्याउन प्रस्ताव

    जोहानेसबर्ग । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी डलरको प्रभुत्वको सामना गर्न ब्रिक्स मुलुकका लागि साझा व्यापारिक मुद्रा सिर्जना गर्न बुधबार आह्वान गरेका छन् ।

    ‘ब्रिक्स बिजनेस फोरम लिडर्स डायलग’मा लुला दा सिल्भाले ब्रिक्स राष्ट्रहरूबीच सीमापार व्यापारका लागि साझा मुद्रा निर्माण गर्न वकालत गर्दै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

    उनले उदीयमान राष्ट्रहरुबीचको व्यापारलाई सहज बनाउन साझा मुद्राको प्रयोग गरिने बताए। लुला डा सिल्भाले भने, ‘हामी ब्रिक्स एक बहुपक्षीय संस्था बनोस् भन्ने चाहन्छौं, न कि कुनै विशेष क्लब । हामी केवल आफूलाई व्यवस्थित गर्न चाहन्छौं ।’

    उनले गत अप्रिलमा व्यापारमा अमेरिकी डलरको निर्भरता कम गर्न सम्भवतः साझा क्षेत्रीय मुद्रा वा यस्तै संयन्त्र सिर्जना गर्ने प्रस्ताव गरेका थिए ।

    मङ्गलबार नै ब्राजिलका राष्ट्रपतिले आफ्नो सरकारले अर्जेन्टिनासँगको व्यापारमा चिनियाँ युआन प्रयोग गर्ने सम्भावनाबारे विचार गरिरहेको घोषणा गरेका थिए।

    उनले भने, ‘हामी कुनै एक देशमा निर्भर हुन सक्दैनौं जहाँ डलर छ, जसले डलरमा अधिक पैसा प्रचलनमा ल्याउँछ, र हामी त्यो मुद्राको उतारचढावबाट बाँच्न बाध्य छौं । यो सही होइन ।’

  • मन्त्रालय तानिए सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक

    मन्त्रालय तानिए सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक

    काठमाडौं । गृह मन्त्रालयले सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ ।

    तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएपछि अध्यागमन विभागका अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हो ।

    अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।

  • तीन सातामा १० हजारभन्दा बढी डेंगुका बिरामी थपिए

    तीन सातामा १० हजारभन्दा बढी डेंगुका बिरामी थपिए

    काठमाडौं । नेपालमा पछिल्लो एक महिनामा डेंगु संक्रमणको संख्या बढेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । १३ जनाको मृत्यु भइसकेको छ । यो अगस्टका २३ दिनमा देशभर १० हजार २४ डेंगु संक्रमित थपिएका छन् । १५० भन्दा बढी डेंगु संक्रमित भएसँगै १० जिल्लालाई ईडीसीडीले ‘रेड जोन’मा राखेको छ । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा नौ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, मोरङमा एक हजार ९४९, धादिङमा एक हजार ९४१, झापामा ९५४, काठमाडौंमा ४०४, धनकुटामा ३००, कास्कीमा २५८, संखुवासभामा २२१, दार्चुलामा १९४ र ललितपुरमा १५८ जनामा डेंगी डेंगु भएको महाशाखाले जनाएको छ ।