Category: समाचार

  • साउदी सीमारक्षकले आप्रवासीहरुको व्यापक नरसंहार गरिरहेको खुलासा

    साउदी सीमारक्षकले आप्रवासीहरुको व्यापक नरसंहार गरिरहेको खुलासा

    काठमाडौं । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्यूमन राइट्स वाचको नयाँ प्रतिवेदनमा साउदी सीमारक्षकहरूले यमनसँग सीमा जोडिएको क्षेत्रमा कैयौँ आप्रवासीहरूको सामूहिक हत्या गरेको आरोप लगाइएको छ।

    बीबीसीका अनुसार प्रतिवेदनमा युद्धग्रस्त यमन हुँदै साउदी अरब जान खोज्ने सयौँ मानिसलाई गोली हानेर हत्या गरिएको उल्लेख छ। साउदी सीमारक्षकहरूद्वारा मारिएका भनिएका आप्रवासीमध्ये अधिकांश इथियोपियाली नागरिक हुन् । आप्रवासीहरूले गोली लागेर आफ्नो अङ्गभङ्ग भएको र आफूहरूले बाटोमा शवहरू देखेको बीबीसीलाई बताएका छन्।

    साउदी अरबले यसअघि नियोजित हत्याको आरोप अस्वीकार गरेको थियो। ह्ययूमन राइट्स वाचको प्रतिवेदनमा आप्रवासीहरूले सुनाएको बीभत्स वर्णन समावेश छ। उनीहरूले साउदी प्रहरी तथा सैनिकहरूले साउदी अरब र यमनबीचको अप्ठ्यारो सीमामा आफूहरूमाथि गोली प्रहार गरेको र विस्फोटक अस्त्र ताकेको बताएका छन्। बीबीसीले छुट्टै कुरा गरेका आप्रवासीहरूले पनि रातको समयमा सीमा पार गर्दाको अत्यासलाग्दो अवस्था वर्णन गरेका छन्।

    उनीहरूका अनुसार महिला र बालबालिकासहित साउदी अरब प्रवेश गर्ने इथियोपियालीहरूको ठूलो समूहमा गोली प्रहार भएको थियो। उनीहरूलाई यमनी र इथियोपियाली तस्करहरूले त्यहाँ पुर्‍याएका थिए। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आईओएमका अनुसार प्रत्येक वर्ष दशौँ हजार मानिसहरू होर्न अफ अफ्रिकाबाट समुद्र पार गरेर यमन साउदी अरबतिर जान्छन्। मानव अधिकारवादी संस्थाहरूका अनुसार धेरै मानिस बाटोमै जेल पर्छन् वा कुटिन्छन्।

    यहाँको समुद्र पार गर्न पनि निकै डरलाग्दो छ। गत साता मात्रै जिबूटीनजिकै समुद्रमा एउटा डुङ्गा डुब्दा २४ जनाभन्दा धेरै आप्रवासी हराइरहेका छन्। यमन हुँदै आप्रवासीहरू साउदी सीमासम्म जाने बाटोमा चिहानहरूको लस्कर छ। यात्राका क्रममा ज्यान गुमाएका मानिसहरू त्यहाँ पुरिएका छन्।

    यमनको अधिकांश उत्तरी क्षेत्र त्यहाँका विद्रोहीहरूको कब्जामा छ। उनीहरूले सञ्चालन गरेको हिरासतमा दुई वर्षअघि आगलागी हुँदा दर्जनौँ आप्रवासीहरूको मृत्यु भएको थियो। तर ह्यूमन राइट्स वाचले औँल्याएको दुर्व्यवहारको मात्रा योभन्दा पनि ठूलो छ।

  • शनिबार अगाडी मौसममा सुधार नहुने

    शनिबार अगाडी मौसममा सुधार नहुने

    काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभावले देशभर मौसम आंशिक देखि सामान्य बदली छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यो अवस्था शनिबारसम्म रहने भएको छ ।

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राति देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    भारी वर्षा हुने क्षेत्रहरूबाट बहने नदीमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाशाखाले अनुरोध गरेको छ।

  • काठमाडौंबाट छुटेको यात्रुबाहक बस बारामा दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौंबाट छुटेको यात्रुबाहक बस बारामा दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंबाट छूटेको यात्रु बाहक बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा दुर्र्घटनामा परेको छ । सो क्रममा कम्तिमा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सो बसमा भारतीय तीर्थयात्रु थिए । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटनामा परेको हो ।


    दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।

    दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए । दुर्घटना पछि बसका चालक फरार थिए । उन िर सहचालकलाई प्रहरीले धनुषबाट नियन्त्रणमा लिएको छ ।

  • प्राधिकरणको स्पष्टीकरण विरुद्ध अदालत गएका बालेनको रिट खारेज, तिर्नुपर्ने हुनसक्छ जरिवाना

    प्राधिकरणको स्पष्टीकरण विरुद्ध अदालत गएका बालेनको रिट खारेज, तिर्नुपर्ने हुनसक्छ जरिवाना

    काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन शाहले नागरिक उड्डयन प्राधिकरणविरूद्ध हालेको रिट खारेज भएको छ। काठमाडौंको सिनामंगलस्थित प्राधिकरणको भवन नक्सा पास नगरी बनाएको भन्दै महानगरपालिकाले गत जेठमा काम रोकेको थियो। त्यस क्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको थियो।

    महानगरले बलजफ्ती गरेको भन्दै प्राधिकरणले महानगर प्रमुख बालेनलाई स्पष्टीकरण सोधेको थियो। प्रमुख बालेनले प्राधिकरणलाई स्पष्टीकरण नदिएर अदालतमा रिट दर्ता गराएका थिए। तर, अदालतले गत असार १२ गते सम्बन्धित रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरी अल्पकालीन आदेश जारी गरेको थियो।

    आज भने उच्च अदालत पाटनले उनको रिट खारेज गरिदिएको छ। त्यससँगै प्रमुख बालेनले नागरिक उड्डयन प्राधिकरणमा स्पष्टीकरण दिनुपर्ने भएको छ। स्पष्टीकरण नदिएमा नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को व्यवस्थाअनुसार ५० हजार रूपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ।

  • चन्द्रमामा यान उतार्दै भारतले बनायो कीर्तिमान

    चन्द्रमामा यान उतार्दै भारतले बनायो कीर्तिमान

    काठमाडौं । भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ। इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो।

    जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो। चन्द्रयान–३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन्। ल्यान्डरको नाम विक्रम राखिएको छ। इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो० का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो।

    विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ। प्रज्ञानको तौल २६ किलो छ। सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद भएको थियो। इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले २०१९ मा अवतरणका क्रममा भएका प्राविधिक गल्तीलाई यसपालि सच्याइएको बताएका छन्।

    यसअघि अमेरिका, चीन र तत्कालीन सोभियत संघले चन्द्रमामा यान पठाएका थिए। तर उनीहरू सबैले चन्द्रमाको भूमध्यरेखा आसपासमा यान पठाएका थिए अमेरिकाले पटक-पटक अन्तरिक्षयात्री पठाएको छ। चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो मुलुक हो। प्रज्ञान रोभरले अब चन्द्रमाको दक्षिणी ध्रुवको सतहको अध्ययन गर्ने छ।

  • रविकाे दाबी – ‘सुन तस्करीमा उच्च तहका नेता,पूर्वआईजीपी र पत्रकार पनि जोडिएको सूचना मसँग छ’

    रविकाे दाबी – ‘सुन तस्करीमा उच्च तहका नेता,पूर्वआईजीपी र पत्रकार पनि जोडिएको सूचना मसँग छ’

    काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा श्रृंखलावद्ध भइरहेको सुन तस्करीमा संलग्नको सुइ उच्च नेताहरुतिर सोझ्याएका छन्।

    बुधबार बसेको प्रतिनिधिसभाको विषेय समयमा आफ्ना भनाइ राख्ने क्रममा उनले सुन तस्करीमा उच्च तहका नेता, पूर्वआईजीपी र पत्रकाहरु पनि मुछिएको सूचना आफूसँऊ रहेको बताएका हुन्।

    बैठकमा संसद् लामो समय अवरोध भएकोमा आक्रोश पोखेका उनले सुन प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआआईबी) सरकारले दबाब दिइरहेको पनि आशंका व्यक्त गरे। सरकारकै मान्छेले सुन प्रकरणका दोषीलाई उन्मुक्ति दिन दबाब दिइरहेको उनको भनाइ थियो।

    उनले हाल सुन तस्करीमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको नाम लिँदै उनले आफूलाई उच्च तहको संलग्नताबारे प्रहरीबाटै सूचना आएको बताए।

    ‘तस्करीको सुन आएको कुराको जानकारी अहिले पक्राउ परेका दावा (दावा छिरिङ )नामका व्यक्तिलाई फोटो पनि पठाएको इमान्दार देशभक्त प्रहरीले मलाई विश्वास गरेर सूचना दिएका छन्’, उनले भने, ‘यो प्रकरणमा जोडिएका विचौलियाको पनि मकहाँ विवरण आएको छ। यसबारे मैले सम्बन्धित सरकारी निकायलाई जानकारी दिनेछु।’

    लामिछानेले सुन तस्करी प्रकरणको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरेका मान्छे पनि संलग्न रहेको जिकिर गरे। ‘सुन तस्करीमा उच्च तहका नेतादेखि पत्रकारसमेत जोडिएका छन्’, उनले भने, ‘प्रहरीका पूर्व प्रमुखको दावासँग कुराकानी भएको भएको सूचा आएको छ। यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको ध्यान जाओस्।’

    लामिछानेले अहिले पक्राउ परेका दावा छिरिङसँग सुन तस्करीका लागि भएको कुराकानीको टेलिफोन रेकर्ड हेर्न पनि सरकारलाई आग्रह गरेका छन्।

    उनले दावाको टेलिफोन रेकर्डबारेको फरेन्सिक ल्याबको रिपोर्ट सांसदहरुलाई देखाउन पनि माग गरेका छन्। लामिछालेने दोहोर्‍याउँदै सत्ताकै नेताहरु जोगाउन सीआईबीको अनुसन्धान कमजोर बनाउने प्रयास भइरहेको पनि शंका गरेका छन्।

  • १७ जना घाइतेको उद्धार, १३ जनालाई ल्याइयो काठमाडौं

    १७ जना घाइतेको उद्धार, १३ जनालाई ल्याइयो काठमाडौं

    काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ।

  • काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु

    काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

    धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। घटनाबारे विस्तृत विवरण आउँदै छ।

  • चार देशीय सिरिजमा आज नेपाल र कुवेत भिड्दै

    चार देशीय सिरिजमा आज नेपाल र कुवेत भिड्दै

    काठमाडौं । मलेसियामा जारी चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे वायोमास ओभलमा शुुरु हुनेछ । नेपालले शृङ्खलाको पहिलो खेलमा हिजो हङकङलाई हराउँदै विजयी शुरुवात गरेको छ । तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ । शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ रहेका छन् । राउन्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

    फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि पनि शनिवार नै प्रतिस्पर्धा हुनेछ । यसपछि नेपाली टोलीले आईसीसी विश्वकप एसिया छनोट खेल्नेछ । अगष्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपालको समूह रहेको ‘ए’ मा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । एसिया छनोट अघि थाईल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ । नेपाल र थाईल्यान्डबीचको अभ्यास खेल अगष्ट २८ मा हुने नेपाल क्रिकेट संघले जनाएको छ।

  • आज ५ प्रदेशमा ठूलो वर्षाको प्रक्षेपण

    आज ५ प्रदेशमा ठूलो वर्षाको प्रक्षेपण

    काठमाडौं । मनसुनको न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज विभिन्न पाँच प्रदेशमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल ‍अहिले न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर अवस्थित छ भने नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। न्यूनचापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आद दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ् सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    महाशाखाका अनुसार राति देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    भारी वर्षा पूर्वानुमान् गरिएका क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • पर्यटनमन्त्री किराँतीलाई पितृ शोक

    पर्यटनमन्त्री किराँतीलाई पितृ शोक

    काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए । उनकी आमाको यसअघि नै निधन भइसकेको थियो ।

    मन्त्री किरातीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘भखरै बुवाले धोका दिनुभयो (आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो) उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । नि:शब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जली ’

  • भारतबाट हुने कुखुराको अवैध आयात रोक्न गृहको निर्देशन

    भारतबाट हुने कुखुराको अवैध आयात रोक्न गृहको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ । ३ भदौमा मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ ।

    आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको गुनासो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गरेका थिए । सोही गुनासो सम्बोधन गर्न भन्दै मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई अवैध कुखराको आयात रोक्न निर्देशन जारी गरेको मन्त्रालयले जनाएको छ ।

    जसअनुसार मन्त्रालयले खुला सीमा नाकाबाट गैरकानुनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रण गर्ने, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने, सीमा नाकामा गस्ती निगरानी बढाउने उल्लेख छ ।

    सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला ह्याचरी र कोल्ड स्टोरहरु हटाउन पनि मातहतको निकायलाई गृहमन्त्रालयले पत्राचार गरेको छ । भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

  • थाइ एयरवेजले नेपालमा पुनः उडान थाल्दै

    थाइ एयरवेजले नेपालमा पुनः उडान थाल्दै

    काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले नेपालमा पुनः उडान थाल्ने भएको छ । कोभिड १९ पछि उडान बन्द गरेको यो कम्पनीले आगामी नोभेम्बरदेखि नेपाल उडान पुनः सुचारु गर्ने भएको छ । थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई आफ्नो जनरल सेल्स एजेण्ट (जीएसए) समेत नियुक्त गरेको छ । उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू भएको कम्पनीले जनाएको छ ।

    सम्झौता अनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाइ एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवा उपलब्ध गराउने भएको छ । अब थाइ एयरवेज इन्टरनेसनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्ने भएको छ ।

    सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थाइ एयरवेजले नेपाली उड्डयन इतिहासमा लामो समय उडान गरेको छ । थाइ एयरवेज इन्टरनेसनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पुनः सञ्चालनमा आउनु सुखदः भएको बताए ।

    थाइल्याण्ड भित्रका विभिन्न आन्तरिक तथा विश्व प्रसिद्ध गन्तव्य फुकेट, पट्टाया र क्राबी साथै राजधानी सहर बैंककलाई थाइ एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्यालाई सहज हुने उनले बताए । अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरुमा थाइ एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरुलाई सहज र सुरक्षित उडान विकल्पहरु प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन गर्न सक्षम हुने उनको भनाइ छ ।

    आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाइ एयरवेज इन्टरनेसनलको नेपालका लागि जीएसए नियुक्त भई काम गर्न पाउँदा हर्षित भएको बताए ।

  • प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

    प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

    काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।

  • विश्वको सबैभन्दा जेठो हात्तीको मृत्यु

    विश्वको सबैभन्दा जेठो हात्तीको मृत्यु

    भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । यो हात्ती विश्वको सबैभन्दा बूढोमध्येको एक हो ।

    भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा सो हात्तीको मृत्यु भएको हो ।

    सन् १९४० मा एक बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको हात्तीलाई पाँच वर्षअघिसम्म काममा लगाइएको थियो । बिजुलीप्रसाद नामको सो हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र भटमास पकाएर खुवाइने गरिएको थियो ।

    पशु चिकित्सक कुशल कोंवर सरमानका अनुसार हात्तीको औसत उमेर ८० वर्ष हो । बिजुलीप्रसादको सोमबार बिहान मृत्यु भएको हो ।

    पर्याप्त प्राकृतिक आहारको अभावमा पनि उसको ज्यान गएको हुन सक्ने सरमानको अनुमान छ । रासस/एएफपी

  • सूचना टाँस गरी संसद् बैठक स्थगित

    सूचना टाँस गरी संसद् बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभा आजको बैठक सूचना टाँस गरी स्थगित भएको छ। बैठक बुधबारसम्मका लागि स्थगित भएको संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    ‘आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ , संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

  • नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

    नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

    काठमाडौं । पहिरोका कारण अवरूद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।

    केहीबेर अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए।

    चितवनको इच्छाकामना–६ नाम्सीखोला पुलमा गएराति ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरूद्ध बनेको थियो।

    पहिरो हटाएसँगै सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरूद्ध हुँदै आएको छ।

  • ललिता निवास जग्गा प्रकरणबारे सीआइबीले बुझायो प्रतिवेदन, २५० बढीलाई मुद्दा चलाउन सिफारिस

    ललिता निवास जग्गा प्रकरणबारे सीआइबीले बुझायो प्रतिवेदन, २५० बढीलाई मुद्दा चलाउन सिफारिस

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए । सीआइबीले करिब २५० बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ ।

    सीआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो ।

    बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय हाल विशेष अदालतमा विचाराधीन छ । सीआइबीले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।

  • सुन प्रकरणमा कस्तो बन्ने भयो छानविन समिति ?

    सुन प्रकरणमा कस्तो बन्ने भयो छानविन समिति ?

    काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार राति बसेको सर्वदलीय बैठकले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेको छ। उच्चस्तरीय समितिका लागि निर्देशित सर्तहरू तयार पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाउने सहमति भएको हो ।

    एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार कार्यदलले मंगलबार बिहान ११ बजेसम्म समितिको मस्यौदा तयार पार्नेछ। यसलाई अन्तिम रूप दिन मंगलबारै दिउँसो २ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्नेछ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ। संसद अवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार राति राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बसेको हो।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उच्चस्तरीय छानबिन समिति बनाउन सहमति भएको जानकारी दिए। सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरोध अन्त्य गर्न सबै विकल्प र सम्भावनामा छलफल भएको जानकारी दिए।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको बताइएको छ। अ

    हिले देशभर सामान्य तथा पूर्ण बदलीको अवस्था रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनकाअनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए।

    त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।

  • नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने

    नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने

    काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्ने उनले जानकारी दिएका छन् ।

    रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको बताइएको छ । चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको हो । गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् ।

    ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरीले अनुरोध गरेको छ । काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैंडाकोटमा रोकिएको छ ।

  • राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक आज

    राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक आज

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले आज बिहान साढे ८ बजे शीतल निवासमा बैठक बोलाएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिने(दिने काम हुने बताए ।


    सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए ।

    यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन् । मंगलबार राति सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा उच्चस्तरीय समितिमार्फत् सुन तस्करीबारे छानबिन गर्ने सहमति भएकाले एमाले संसदको अवरोध हटाउन तयार देखिएको छ । यही विषय राष्ट्रपतिलाई जानकारी गराउने नेताहरुले बताएका छन् ।


    उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग र सरकारी संयन्त्रलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण साउन १० गतेदेखि संसद अवरुद्ध हुँदै आएको थियो । उच्चस्तरीय समिति गठनमा सहमति भएकाले आज दिउँसो तीन बजे बस्ने संसद बैठक भने अवरोध नगर्ने एमाले नेताहरुले बताएका छन् ।

  • आजबाट संसद चल्दै

    आजबाट संसद चल्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ ।

    सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।

  • रुससँग काठमाडौंमा मेट्रो रेल बनाउन प्रस्ताव

    रुससँग काठमाडौंमा मेट्रो रेल बनाउन प्रस्ताव

    काठमाडौं । रुसले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ । सोमबारको भेटमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव गरेका थिए । मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।

    जवाफमा रसियन पक्षले मेट्रो रेल निर्माणका लागि रसियन रेल्वे कम्पनी तयार रहेको र त्यसका लागि ठोस प्रस्ताव मागेको मन्त्रालयले जनाएको छ । रसियन मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रसियाको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेको समेत सचिवालयले जनाएको छ । भारतका विभिन्न ठाउँमा पनि रसियन मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ ।

    मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेलका विषयमा छलफल गरेका हुन् । केही समयमै रुसी संसदका अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउने समेत बताइएको छ । उनको भ्रमणअघि मेट्रो पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रसियन टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको सचिवालयले जनाएको छ ।

    रसियन पक्षले पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएका छन् । उनीहरुको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ । छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौं इन्जिनियरहरुले रुसबाट तालिम र शिक्षा लिएको र उनीहरुको दक्षताले नेपाललाई सहयोग पुगेको बताए ।

  • अब भिआइपीले जहाजसम्म आफ्नो गाडी लैजान नपाउने

    अब भिआइपीले जहाजसम्म आफ्नो गाडी लैजान नपाउने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी)हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङ स्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् । उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ ।

    अतिविशिष्ट\विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले जानकारी दिए । यसअघि पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरु तथा मन्त्रीहरुले आफ्नै गाडी जहाजसम्म लैजाने गरेकोमा अब यो रोकिने छ ।

    तर, भीभीआइपी (अतिविशिष्ट)को हकमा भने सुरक्षा एस्कर्टसहित आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ । उच्च पदस्थ व्यक्तिको सवारी हुने दिन १ घण्टा अगाडि नै आन्तरिक टर्मिनलमा पुगी निषेधित क्षेत्रमा प्रवेश गर्ने भीआइपी सवारी साधनको विवरण टिपाएर पास लिनु पर्ने व्यवस्था समेत विमानस्थलले गरेको छ । एयरलाइन्सको चेकइन र लगेजको सुरक्षा जाँच समेत अगाडी नै गर्न विमानस्थलले सूचित गरेको छ ।

  • नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    काठमाडौं । चितवनको मुग्लिन नजिक सुख्खा पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका-६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

    ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ । सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् ।

  • कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, प्रतिपक्ष दलको नाराबाजी

    कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, प्रतिपक्ष दलको नाराबाजी

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । सभामुखको जिम्मेवारीमा रहेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद इसराइल मन्सुरीले सोमबारको बैठक संचालन गरेका थिए । उनले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका छन् ।

    बैठकमा ७७ सांसद उपस्थित थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्री थापाले ४७ मत नै पाए । मत विभाजन सकिसकेपछि प्रतिपक्ष दलका सांसदहरूले नाराबाजी गरेका थिए ।

    मत सचयाउने अवधिको घण्टी बजिसकेपछि इसराइलले सभाध्यक्ष मण्डलका अर्की सदस्य गीता तिम्सिनालाई सभाको अध्यक्षता गर्न समय दिएका थिए । त्यस लगत्तै एमालेका सांसद उठेर यो प्रक्रिया गलत भएको भन्दै विरोध जनाएका थिए ।

  • काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा

    काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा

    काठमाडौं । गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा गरेको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका एसएसपी डा मनोज केसीलाई ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेको हो।

    काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दान कार्कीलाई काज सरुवा गरेर प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ।

    प्रहरी प्रधान कार्यालय आईजीको सचिवालयमा कार्यरत एसएसपी भूपेन्द्र खत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरेको छ।

    खत्रीको ठाउँमा दानबहादुर कार्कीलाई लगिएको छ भने अपराध अनुसन्धान कार्यालयमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई सरुवा गरिएको छ।

    यस्तै एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा पठाइएको छ।

  • बालसुधार गृहबाट भागे १५० जना भन्दा बढी बालबालिका, प्रहरीले चलायो गोली

    बालसुधार गृहबाट भागे १५० जना भन्दा बढी बालबालिका, प्रहरीले चलायो गोली

    काठमाडौं । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट १५० जना भन्दा बढी बालबालिका भागेका छन् ।

    विभिन्न कसुरमा मुछिएका उनीहरू सोमबार दिउँसो सुधार गृहको ढोका फुटाएर भागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    बालबालिका भागेपछि प्रहरीले गोली समेत चलाएको छ ।

  • प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत

    प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत

    काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ। आज बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम अनुमोदन गरेको हो।

    संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए।

    त्यसपछि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो। श्रेष्ठले न्यायालयमा बिचौलिया, विकृति र विसंगतिमा शून्य सहनशीलता अपनाउने बताएका छन्।

    सोमबार सिंहदरबारमा बसेको संसदीय सुनवाई समिति बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै श्रेष्ठले न्यायालयमा विकृति र विसंगतिको बिषयमा आफू गम्भीर रहेको भन्दै अदालतमा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउँदै विकृति र विसंगतिलाई अन्त्य गर्ने बताएका हुन्।

    न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य मान्यतालाई अक्षुण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ गुणस्तरीय एवं प्रभावकारी न्यायसम्पादनको माध्यमबाट सवैलाई न्याय सुुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहमा दृढ संकल्पीत रहेको उनले बताए।

    उनले मुद्दा फर्छ्यौटलाई छिटोछरितो तथा प्रभावकारिता बनाउने र पुराना बक्यौता मुद्दाहरुको न्यूनिकरणमा विशेष जोड दिइएको जिकिर गरे।

    फरक मुद्दा व्यवस्थापन पद्धति योजनालाई मुलुकको अवस्था र आवश्यकताको सापेक्षतामा निर्माण गरिएको र जिल्ला अदालत तथा उच्च अदालतमा लागू समेत भइरहेको उनले बताए।

    उनको कार्ययोजनामा न्यायमा सहज पहँच अभिवृद्धिका लागि उपयुक्त रणनीति तथा कार्यक्रमसहित बार्षिक कार्ययोजनान तयार गरि कार्यान्वयन गर्ने लगाएत छन्।

    संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएका थिए। संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो भने साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो।