Category: समाचार

  • मनसुनले रोकिएको ‘हट एयर बलुन’सेप्टेम्बरदेखि पुनःसुरु हुने

    मनसुनले रोकिएको ‘हट एयर बलुन’सेप्टेम्बरदेखि पुनःसुरु हुने

    काठमाडौं । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो ।

    बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्‍कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

    विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुई वटा बेलुन उडाउने भएको छ । एक अमेरिकी र एक भियतनामी पाइलटले बेलुन उडाउने भएका छन् ।

    पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बादेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइने भएको छ ।

    बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बेलुनमा उड्न सक्नेछन् ।

    हट एयर बेलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ ।

    उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्म्को दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र समेत दिइन्छ । नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।

    हट एयर बलुनमा उड्ने सोच बनाएर जाँदा बिहानपख केही चिसो हुने हुनाले न्यानो कपडा साथमै लिएर जाँदा राम्रो हुन्छ । यसबाहेक हिल जुत्ता वा अन्य जुत्ता भन्दा स्प्रोर्ट्स जुत्ता लगाउँदा उडानका क्रममा सहज हुनेछ ।

  • प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई आज

    प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई आज

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुने भएको छ । संसदीय सुनुवाइ समितिले आज श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्ने र लगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० बजे छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तय भएकोछ ।

    प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र छलफल गर्ने समितिको तयारी छ । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थियो ।
    गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । २३ साउनमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

  • पाकिस्तानमा यात्रु बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु

    पाकिस्तानमा यात्रु बसमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु

    पञ्जाव । पाकिस्तानको पन्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबसमा आगो सल्केको थियो ।

    फैसलावाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह सहर कराँचीबाट सङ्घीय राजधानी इस्लामवादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् ।

    अघिल्लो साता पन्जाब प्रान्तमा भएका दुई हजार आठ सय ९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिए भने तीन हजार एक सय ११ जना घाइते भएका थिए । आपत्कालीन सेवा विभागका अनुसार ९९ जनाको टाउको गम्भीर चोट लागेको, एक सय ८७ जनाका शरीरका विभिन्न भाग भाँच्चिएका, आठ सय ५० जना घाइते अस्पताल भर्ना भएका थिए ।

  • कस्तो रहनेछ आजकौ मौसम ?

    कस्तो रहनेछ आजकौ मौसम ?

    काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सर्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले उक्त रेखा सरदर स्थानमा अवस्थित छ। मनसुनको न्यूनचापीय रेखा र न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सातै प्रदेशमा पानी परिरहेको छ। अहिले कोशी , बागमती र गण्डकी प्रदेशमा तुलनात्मक रूमा बढी पानी परिरहेको छ।


    आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।


    राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले यी क्षेत्रहरुमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ।

  • आज नागपञ्चमी, के छ महत्व ?

    आज नागपञ्चमी, के छ महत्व ?

    काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरुले नाग पञ्चमी पर्व मनाउँदैछन् । श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अङ्कित तस्वीर विशेष पूजासहित टाँस्ने चलन छ। यसरी विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास पनि रहँदै आएको छ।

    विशेष गरेर यस दिनदेखि वर्षायामको समाप्ति हुने जनविश्वास रहँदै आएको छ। नागपञ्चमीको प्रचलन कहिलेबाट भयो भन्ने सम्बन्धमा विभिन्न खालका किंवदन्तीहरू पाइन्छ। विशेषतस् वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने विश्वास रहेको छ।

    महाभारतमा परीक्षित नामका राजालाई नागले डसेर मृत्यु भएपछि उनका छोरा जनमेजयले संसारका सम्पूर्ण सर्प मार्न यज्ञ लगाएर यज्ञमा भष्म बनाउन खोजेको अवस्थामा इन्द्रसँगै आएका अस्तिकाले माफी मागेपछि यज्ञमा हवन हुन लागेका सम्पूर्ण सर्पहरू बाँचेकाले श्रावण शुक्लपक्षको पञ्चमीका दिन विशेष पूजापाठ गरिएको भन्ने विश्वास रहेको छ।

    यसरी नै वर्षाकालमा विशेषगरी नाग, सर्पले धेरै दुःख दिने हुनाले तिनीहरूलाई खुशी पार्नको लागि वर्षाको समयमा विशेषतस् श्रावण शुक्लपक्षको पञ्चमीका दिन नागहरूको पूजा गर्ने प्रचलन रहेको जनविश्वास पाइन्छ। कसै–कसैले यसलाई पानीसँग जोडेका छन्।

    नाग रिसाए भने पानीको अभाव हुने हुँदा सम्पूर्ण जीव, जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ। बहुमूल्य मणिलाई शिरमा धारण गरेको नागलाई शिव, विष्णु, गणेश, गोरखनाथ, कृष्ण मत्स्येन्द्र नाथका कथामा समेत प्रसङ्ग जोडिएको कारण नाग र नागपञ्चमीको महत्त्व बढेको बताइन्छ।

    काठमाडौं उपत्यकामा भने नाग रिसाए भने चोभारमा पहिरो जाने र पहिले जस्तै उपत्यकामा पानी जम्ने र समस्या आउन सक्छ भनेर नागलाई विधिपूर्वक पूजाआजा गर्ने गरेको किंवदन्ती छ। यस सम्बन्धमा कसै कसैले नागले यो धर्तीको बोझ बोकेकाले काँध फेर्दा पृथ्वी कम्पन हुने वा हल्लने अथवा भूकम्प जाने बताउँछन्।

    यिनै विश्वासले गर्दा घरको जग हाल्दा, घर निर्माण गर्दा पहिला नागलाई पूजा गर्ने र नागको शिरलाई विशेष ख्याल गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। विष्णु भगवान, शिव र देवीदेवतासँग समेत नागको सम्बन्ध रहेको जनविश्वास छ त्यसैले नागलाई शक्ति र देवताको रूपमा लिने र पूजापाठ गर्ने गरेको पाइन्छ।

  • चोरिएका दुई बच्चालाई बोरामा हालेर भारत लैँजाने क्रममा एक तस्कर पक्राउ

    चोरिएका दुई बच्चालाई बोरामा हालेर भारत लैँजाने क्रममा एक तस्कर पक्राउ

    काठमाडौं । चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका(३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिण झिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत-४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो।

    सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही गाउँपालिका(३ नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द महतोका दुई वर्षीय छोरालाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए।

    सीमावर्ती इलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई शंका लागी आलमले बोकेको बोरा जाँच गर्दा दुई बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। उद्धार गरिएका बच्चाहरूलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी थापाले जानकारी दिए। नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

  • नेपालको पानी र साउदीको तेल साटफेर गरौं : पर्यटन मन्त्री

    नेपालको पानी र साउदीको तेल साटफेर गरौं : पर्यटन मन्त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले साउदी अरेवियाका राजदूत साद अबु हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन् । आइतबार भएको भेटबारे जानकारी दिँदै पर्यटन मन्त्री किरातीले लेखेका छन्, ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ ।’

    भेटमा आफूले उठाएका सवालबारे उनी भन्छन्, ‘पैसाको धनी साउदीले प्रकृतिको धनी नेपालमा पानी र पर्यटनमा लगानी गर्नुहोस् ।’ तातो साउदीबाट चिसो सगरमाथाको देश नेपाल घुम्न पर्यटक पठाउन समेत पर्यटन मन्त्रीले राजदूत हाइमेदसँग आग्रह गरेका छन् । उनले पोखरा र भैरहवा विमानस्थलमा साउदीबाट सिधा उडानको पहल गर्न समेत आग्रह गरेका छन् ।

  • स्पेनले जित्यो महिला विश्वकपको उपाधी

    स्पेनले जित्यो महिला विश्वकपको उपाधी

    काठमाडौं । इंग्ल्याण्डलाई १-० ले हराउँदै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ । पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।


    खेलको १६ औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो । १७ औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाइन् । स्पेनले खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाएकी थिइन् ।

    तर पनि उनले टिमलाई उपाधि जिताउन सकिनन् । यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ । स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ ।

    यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले ११ पटक विश्वकप जितेका छन् । स्पेन महिला र पुरुष दुवै फुटबल विश्वकप जित्ने दोस्रो टोली पनि बनेबो छ । यसअघि जर्मनीको दुवै टिमले विश्वकप जितिसकेका छन् ।

  • राष्ट्रपतिले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक

    राष्ट्रपतिले मंगलबारका लागि बोलाए सर्वदलीय बैठक

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । बैठक मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । अहिले जारी संसद अवरुद्ध हटाउन राष्ट्रपतिले पहल गर्ने बताइएको छ ।

  • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गएनन् ‌ओली

    प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गएनन् ‌ओली

    काठमाडौं । संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलसँगको छलफल सुरु भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफलको सुरु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

    बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन्।

    तर गत साउन १० गतेदेखि अवरुद्ध संसद् खुलाउन डाकिएको बैठकमा आफू नगएर ‌ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई पठाएका हुन्।

    बैठक मुख्यगरी सदन सुचारु गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

    यो बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले दलका उपनेता नेम्वाङ र पमुख सचेतक गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपप्रधान तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।

  • रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तिमा ७ मारिए

    रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तिमा ७ मारिए

    काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् । कीएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रूसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको थियो ।

    फेब्रुअरी २०२२ मा बेलारूस हुँदै युक्रेनमा आक्रमण गर्दा रुसी सेनाले शहरभरि मार्च गरेको थियो । पुटिनले दक्षिणी रूसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रूसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण भएको हो ।

    यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीडेनको भ्रमणका लागि त्यसतर्फ लागेका थिए । चेर्निहिभ आक्रमणबारे पुष्टि गर्दै युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममा भनेकाछन्, “पाँच जनाको मृत्यु भएको छ । कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएका छन् ।”

    जेलेन्स्कीका अनुसार यो आक्रमण ‘सहरको मध्यभागमा’ एउटा चोकमा भएको थियो, जहाँ ‘पोलिटेक्निक विश्वविद्यालय र एउटा नाट्यशाला’ छ । ‘एउटा सामान्य शनिबारलाई रूसले पीडा र क्षतिको दिनमा परिणत गरेको छ,” युक्रेनी नेताले स्वीडेन पुगेपछि भने । उनले घटनास्थलबाट एउटा भिडियो पोस्ट गरेका थिए ।

    यसमा सोभियत कालीन एउटा ठूलो भवनको चारैतिर भग्नावशेष देखिएको छ, त्यसको वरिपरि रोकेर राखिएका कारहरूमा आंशिक रूपमा क्षति भएको छ । एएफपीका सञ्चारकर्मीहरूले तारास शेभचेन्को नाट्यशाला सङ्गीत एकेडेमी बाहिर दमकल देखेको बताएका छन् । आसपासका केही भवनमा पनि सामान्य क्षति पुगेको छ । रासस

  • प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता पहिलो महिनामै उत्साहजनक

    प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता पहिलो महिनामै उत्साहजनक

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा झन्डै १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आव २०८०–८१ को साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो ।

    अघिल्लो आवमा यस महिनामा दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धतामा चार गुणाले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।

    विभागका अनुसार साउनमा ६० वटा उद्योगमा आएको वैदेशिक लगानीमध्ये ५४ साना उद्योग, चार वटा मध्यम किसिमका र दुई वटा ठुला उद्योग रहेका छन् । प्रत्यक्ष वैदेशिक लगानी सबैभन्दा धेरै पर्यटन क्षेत्र, सेवामूलक क्षेत्रका उद्योगमा बढी भित्रिएका छन् । वैदेशिक लगानी स्वीकृत भएका ६० उद्योगमध्ये उत्पादनतर्फका चार, सूचना प्रविधितर्फका एक, पर्यटनतर्फका २८, सेवामूलकतर्फका २६ र कृषितर्फका एक रहेका छन् ।

  • मोटरसाइकल दुर्घटनामा कास्कीमा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा कास्कीमा दुई जनाको मृत्यु

    पोखरा । कास्की जिल्लाको रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    मोटरसाइकल रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०–९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खसेको बताइएको छ। दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको थियो।


    चिकित्सकले जाँचका क्रममा दुवै जनालाई मृत घोषणा गरेका थिए। प्रहरीले दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको जनाएको छ। रासस

  • आज बस्दैछ संसद बैठक, हट्ला एमालेको अवरोध ?

    आज बस्दैछ संसद बैठक, हट्ला एमालेको अवरोध ?

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेका कारण आजको बैठकबारे पनि अन्यौल कायमै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको माग र सरकारका अंगहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण संसद बैठक बस्न सकेको छैन ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । एमालेले भने १० साउनदेखि संसदमा अवरोध गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पहल गरे पनि सहमति जुटेको छैन ।

    यद्यपि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आइतबारदेखि संसदको अवरोध हट्ने विश्वास व्यक्त गरेका थिए । त्यसका लागि शनिबार पनि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको थियो ।

  • गैरआवासीय नेपालीलाई सहज रुपमा नागरिकता दिलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    गैरआवासीय नेपालीलाई सहज रुपमा नागरिकता दिलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीलाई सहज रूपमा नागरिकता दिलाउन थप पहल गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको निम्ता गर्न गएको सङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको बताए ।

    विदेशमा रहेका नेपाली नागरिकले राहदानी प्राप्तिलगायतका समस्या खेप्नु परेको विषयमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो अवस्था मूल्याङ्कन गरी कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा यस्ता योजनालाई अझ बृहत् रूपमा अघि बढाउन आग्रह गरे ।


    गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वको सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई विश्व सम्मेलनको निमन्त्रणा दिएको हो । अध्यक्ष डा. केसीले आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन र सोही अवसरमा हुने विश्व ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनको विषयमा प्रधानमन्त्रीलाई जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले विश्व सम्मेलनको सफल आयोजनाका लागि शुभकामना दिँदै आफू पनि उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे ।
    भेटमा सङ्घका अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका लागि नागरिकता प्राप्तिको बाटो खुलिसकेको र नियमावली निर्माणको चरणमा रहेकाले त्यसलाई सहज र सङ्घमैत्री बनाउन प्रधानमन्त्रीको तहबाटै पहल गरिदिन आग्रह गरे ।

  • सामाजिक सञ्जालमा अलबिदा लेखेका वडाध्यक्ष मृत भेटिए

    सामाजिक सञ्जालमा अलबिदा लेखेका वडाध्यक्ष मृत भेटिए

    काठमाडौं । मुसिकोट नगरपालिका–१ का ४५ वर्षीय वडा अध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् । शनिवार बिहान ५ बजे सामाजिक सञ्जालमा परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिता, साथ निभाउन सकेन , मलाई माफ गरे , घर परिवार ,साथीभाइ ,शुभचिन्तक सबै प्रति माफी चाहन्छु । अलबिदा भन्ने स्ट्याटस लेखेका उनले झुन्डिएर आत्महत्या गरेको पाइएको छ ।

    सामाजिक सञ्जालमा स्ट्याटस देखेपछि स्थानीय र प्रहरीको टोलीले खोजतलास गर्दा झाँक्री थानमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • बंगलादेशको एक कम्पनीले आफ्ना सात सय कर्मचारीलाई एक साथ नेपाल भ्रमणमा पठायो

    बंगलादेशको एक कम्पनीले आफ्ना सात सय कर्मचारीलाई एक साथ नेपाल भ्रमणमा पठायो

    काठमाडौं । बंगलादेशको एक कम्पनीले आफ्नो उद्योगभित्रका ७०० कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ । बंगलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको हो ।

    बंगलादेशभर २ लाख भन्दा बढी कर्मचारी रहेको यो ग्रुपले ‘डिलर एण्ड सेल्स कन्फ्रेन्स’ नाममा यो भ्रमण राखेको हो । शुक्रबार १७५ जनाको पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्ड तथा नेपाली पर्यटन व्यवसायीले स्वागत गरे । उनीहरुलाई पञ्चेबाजाले स्वागत गरिएको हो ।

    बाँकी टोली आजै साँझ र शनिबारसम्म नेपाल आइपुग्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल सभा सम्मलेनका लागि पनि आकर्षक गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न यो भ्रमणले ठूलो भूमिका खेल्ने बोर्डका सञ्चार संयोजक टीपी भुसालले बताए । उनका अनुससार यो टोलीले काठमाडौं आसपासका पर्यटकीय क्षेत्रमा भ्रमण गर्नेछ ।

    नेपालमा चार दिनसम्म रहँदा बंगलादेशी टोलीले आफ्नो कम्पनीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपालमा सम्मेलन समेत आयोजना गर्नेछ । ‘पहिलो पटक कुनै कम्पनीले घुमफिरको प्रयोजनमा यति ठूलो समूह नेपाल पठाएको छ’ भुसालले भने, ‘उनीहरुलाई नेपालमा पहिलो आतिथ्य अविस्मरणीय बनाउन बोर्डले भव्य स्वागत गरेको हो ।’

    यो टोलीलाई नेपाली गाइडहरुले काठमाडौं आसपासका क्षेत्रमा घुमाउने छन् । उनीहरु स्वयम्भु, पाटन दरवार, चन्द्रागिरि, धुलिखेल र भक्तपुर भ्रमणमा जाने छन् । पछिल्लो समय नेपालमा बंगलादेशी पर्यटकको आगमन निरन्तर बढ्दैछ । जुलाई २०२३ मा २६ सय ९६ जना पर्यटक नेपाल आएका थिए ।

    जुनमा यो संख्या २४ सय २ थियो । मेमा २१ सय ६४, अप्रिलमा २२ सय १७, मार्चमा २४ सय ६६, फेब्रुअरीमा १९ सय ७ र जनवरीमा २४ सय ६८ जना बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ ।

  • एक नेपालीको थाप्लोमा ७६ हजारभन्दा बढी ऋण

    काठमाडौं । नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार २०८० असार मसान्तसम्म नेपाल सरकारले तिर्न बाँकी कुल ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

    अर्थात् प्रत्येक नेपालीको भागमा ७६ हजार ६९ रुपैयाँभन्दा बढी ऋण परेको छ ।

    तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

    आर्थिक वर्ष २०७९/०८० मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४०.७ प्रतिशत रहेको थियो ।

    नेपाल सरकारले रु.२५६ अर्ब आन्तरिक ऋण परिचालन गरेको छ भने रु.११५ अर्ब ९ करोड साँवा भुक्तानी गरेकोछ । यसर्थ, यस अवधिमा रु.१४० अर्ब ९० करोड खुद आन्तरिक ऋण परिचालन भएको छ ।

    यो रकम कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले रु.१०२ अर्ब १२ करोड वाह्य ऋण परिचालन गरेको छ । २०८० असार मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.७१ अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।

    सरकारको ऋण बढ्नु भनेको प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार बढ्नु हो । यस ऋणलाई आधार मान्ने हो भने अहिले प्रतिव्यक्ति ऋणको भार समेत बढ्छ ।

    सरकारले देशको बढ्दो आवश्यकताहरु परिपूर्ति गर्नको लागि देशभित्रका संघ सस्था, व्यक्तिहरुबाट ऋण लिने गर्दछ भने बाहिरी देश र सस्थाहरुबाट पनि ऋण लिनुपर्ने हुन्छ ।

    सार्वजनिक खर्चको लागि सरकारद्धारा यसरी लिइने ऋणलाई नै समग्रमा सार्वजनिक ऋण भन्ने गरेको पाईन्छ ।

  • दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना

    दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना

    काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने दुई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र दुई कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागले ऐन र नीतिविपरीत अवैधानिक विज्ञापन गरेकाले ऐन अनुसार दुई–दुई लाख रुपियाँ जरिबाना गरेको हो ।

    विभागले स्वीकृतिबिना सामाजिक सञ्जालको प्रयोग गरी नेपाली युवालाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै विज्ञापन गरेको तथा राहदानी सङ्कलन गरेको आरोपमा काठमाडौँको वसुन्धरास्थित क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि र इगल म्यानपावर कन्सल्टेन्ट प्रालिलाई कारबाही गरेको हो ।

    त्यस्तै विभागले ऐन अनुसार वैदेशिक रोजगारसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा हालेर सर्वसाधारणलाई भ्रम सिर्जना गरेको आरोपमा ललितपुरस्थित सुयान एजुकेसन प्रालि र ललितपुरमै रहेको एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टरमा स्थलगत अनुगमन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

    विभागले यसै सम्बन्धमा सूचना जारी गर्दै आमसर्वसाधारण युवालाई सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ । साथै विभागको स्वीकृति नलिई वैदेशिक रोजगारको प्रलोभनमा विज्ञापन प्रकाशन–प्रसारण नगर्न ध्यानाकर्षण गराएको छ ।

  • शनिबार काठमाडौंको धेरै स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने

    शनिबार काठमाडौंको धेरै स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने

    काठमाडौं । शनिबार काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने भएको हो।

    टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको अहिलेको १३२ केभी मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सवस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरूद्ध प्राधिकरणले जानकारी दिएको छ ।

    बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रमा विद्युत् अवरूद्ध हुने छ।
    त्यस्तै ज्ञानोदय, गाई-बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ। सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध हुने छ।

    त्यस्तै दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत सेवा अवरूद्ध हुने प्राधिकरणले बताएको छ।

  • बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

    बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

    काठमाडौं । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

  • रुकुममा छुट्टाछुट्टै स्थानमा भेटियो दुई शव

    रुकुममा छुट्टाछुट्टै स्थानमा भेटियो दुई शव

    काठमाडौं । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

  • मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । मलेसियाको मध्य सेलान्गोर राज्यमा आज बिहीवार एक सानो निजी विमान सडकमा ठोकिँदा १० जनाको ज्यान गएको छ । विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले बताए ।


    मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका जनाएको छ । प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो ।

    हवाई दुर्घटनाबारे ब्युरोले तत्काल अनुसन्धान शुरु गर्ने उनले बताए । प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ ।

  • सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक

    सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक

    काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । अब श्रमिकले मासिक १७ हजार ३०० पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेको थियो ।

    अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पुर्‍याइएको हो । यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३८५ र मंहगी भत्ता ५ हजार ६१५ रुपैयाँ रहेको थियो । मन्त्रालयका अनुसार अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पुगेको छ । यसअघि यो रकम ५७७ रुपैयाँ रहेको थियो । आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा पुगेको छ । यसअघि यो रकम ७७ रुपैयाँ प्रतिघण्टा रहेको थियो । यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो ।

    चिया बगानका श्रमिकको हकमा भने मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ ।यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो । उनीहरुको दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको छ । यसअघि यो रकम ४३५ रुपैयाँ थियो । प्रतिघण्टाका हिसावले अब श्रमिकले ६६ रुपैयाँ पाउने छन् । यसअघि यो रकम ५७ रुपैयाँ प्रतिघण्टा रहेको थियो । चिया बगानका सरदार र नाइकेको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ । यो रकम ५५ रुपैयाँ रहेको थियो ।

    यस पारिश्रमिकका अतिरिक्त श्रमिकले सामाजिक सुरक्षा ऐनले तोकेका सुविधाहरु, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य रुपमा पाउने मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार स्थानीय तहले समेत अब यो सूचनामा तोकिएको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक तोक्नुपर्ने भएको छ । यो रकम भन्दा न्यूनतम हुने गरी अब पारिश्रमिक तोकेर रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले जनाएको छ ।

  • पानीको जार र बोतलमा सरकारले तोकेभन्दा बढी मूल्य नलिन आग्रह

    पानीको जार र बोतलमा सरकारले तोकेभन्दा बढी मूल्य नलिन आग्रह

    काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ ।

    संघले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो ।

    संघका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै संघले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताए।

    “उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैँयासम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैँयासम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैँयासम्म र बोतलको पानीमा प्रतिवोतल २० रुपैँयासम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,” उनले भने।

    संघले पानीको बजार अनुगमन गर्नका लागि संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ ।

    उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ ।

    यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गरेका छन् ।

    संघका सल्लाहकार गोकर्ण सिलवालले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आम उपभोक्तालाई आग्रह गरेका छन्। “उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारबाही गछौँ,” उनले भने ।

    हाल काठमाडौं उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार खपत हुँदै आएको छ । नेपालबाट आर्थिक वर्ष २०७९/८० मा मात्र ६० करोड मूल्य बराबरको पानी विदेश निर्यात भएको संघले जनाएको छ । हाल काठमाडौं उपत्यकाभित्र झण्डै २०० र देशभर ५०० भन्दा बढी पानी उद्योग रहेका छन् ।

  • कन्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तिको ज्यान गयो

    कन्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तिको ज्यान गयो

    काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

    “राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।” प्रमुख संरक्षण अधिकृत मेहताले भने, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।”

    उनले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । “सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ”, उनले भने, “विधि प्रक्रिया पु¥याएर हात्तीको दाहसंस्कार गरिनेछ ।” रासस

  • रास्वपाले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने

    रास्वपाले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने भएको छ । रास्वपाले आयोगमा रहने पदाधिकारी र सदस्य मागेको छ । पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७ वटै प्रदेश र जिल्ला समितिमासमेत अनुशासन आयोग बनाउन लागेको बताएको छ । पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गर्ने उसले बताएको छ।

    ‘पार्टीका सदस्य एवं पदाधिकारीहरूलाई असल, आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लङ्घन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ ९५० च को अधिनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधिनमा रही यस पार्टीको सदस्य लिएकाबाट पदपूर्ति गरिने छ,’ रास्वपाको सूचनामा भनिएको छ।

    रास्वपाको नियमावलीअनुसार प्रदेश अनुशासन आयोग ५ सदस्यीय हुने छ। जसमा प्रदेश प्रमुख, उपप्रमुख, सचिव र २ जना सदस्य हुने व्यवस्था छ। पदाधिकारीहरू कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने र प्रत्येक प्रदेशमा एक जना महिला र एकजना कानुनमा स्नातक गरेको हुनुपर्ने प्रावधान राखिएको छ। त्यसैगरी पदपूर्ति गर्न केन्द्रीय अनुशासन आयोगले परिपत्र गरेको छ।

    जिल्ला अनुशासन समिति ३ सदस्यीय हुने छ। जसमा एकजना प्रमुख र दुई जना सदस्य रहने व्यवस्था गरिएको छ। प्रमुखको हकमा स्नातक गरेको हुनुपर्ने र सदस्यमध्ये एकजना कानुनको क्षेत्रमा अध्ययन र अनुभव भएको महिलालाई प्राथमिकता दिनुपर्ने उसले बताएको छ। आयोगमा बस्न चाहने व्यक्तिको उच्च नैतिक चरित्र र असल सामाजिक आचरण भएको हुनुपर्ने पनि रास्वपाले बताएको छ

  • कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया

    कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा। चन्द्र भण्डारीको हात र पछाडिको भागको शल्यक्रिया भएको छ । झन्डै छ महिना पहिले बुद्धनगरमा रहेको आफ्नै निवासको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगलागीमा परि घाइते भएका उनको आज बुधवार कीर्तिपुरको बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो ।

    अस्पतालका प्लास्टिक सर्जन प्रा. डा. शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै भण्डारीको शल्यक्रिया गरिएको जानकारी दिए । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिम स्प्रौलसमेत आफ्नै खर्चमा नेपाल आएका थिए ।


    नेता भण्डारीको सर्जरीका लागि प्रा. डा. विडी झाको संयोजकत्वमा विशेषज्ञ टोली गठन गरी उपचार सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो । विशेषज्ञ टोलीमा डा. प्रदीपराज भण्डारी, डा. तिम स्प्रौल, प्रा. डा. शङ्करमान राई, डा. किरण नकर्मी, डा. विशाल कार्की, डा. अनुप सुवेदी, डा. प्रविण गिरी, डा. प्रज्वल श्रेष्ठ, नर्सिङ सुपरभाइजर सुष्मा डङ्गोल र ह्यान्ड थेरापिस्ट मोहनकृष्ण डङ्गोल रहेका थिए ।


    सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उनलाई होस आएको जानकारी दिएका छन् । भारतमा दुई महिनाभन्दा बढी उपचार गराएर फर्किएपछि उनको गएको वैशाख १९ गतेदेखि काठमाण्डौको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

  • बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….

    बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….

    काठमाडौं । बीमाको रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले बीमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री र रामेछाप घर भई टीकाथली बस्ने ३३ वर्षीय भिमसेन खत्री छन्। १३ महिना अगाडि प्रदीपकुमार खत्रीले बा ३ ख २८९४ नम्बरको टिपर मासिक किस्ता १३ दाख रुपैयाँ तिर्ने गरी खरिद गरेका थिए।

    उनका भाइ भिमसेन खत्रीले उक्त टिपर चलाउने गर्थे। तर चार महिना अगाडि गोदावरी नगरपालिका(१२ ठेंचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा बिग्रिएर थन्किएको थियो। मर्मत गर्न धेरै पैसा लाग्ने भएपछि उनीहरूले टिपरमा आगो लगाएर बीमा रकम प्राप्त गर्ने योजना बनाएका थिए। योजनाअनुसार साउन १२ गते राति सवा १ बजे पेट्रोल छर्केर आगो लगाएका थिए।

    त्यही दिन दिउँसो प्रहरी वृत्त चापागाउँमा आगो लगाउने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गर्दै प्रदीपकुमार पुगेका थिए। उनले निवेदन दिँदा बीमा रकमका लागि आवश्यक सिफारिस गर्न भनेका थिए। प्रहरीलाई श‌का लागेपछि अनुसन्धान अघि बढाउँदा बीमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गरेको खुलेको हो। उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।

  • विमानस्थलको सुरक्षा प्रवन्धबारे प्रधानमन्त्रीको चासो

    विमानस्थलको सुरक्षा प्रवन्धबारे प्रधानमन्त्रीको चासो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थाबारे चासो राखेका छन् । उनले यसको सुरक्षा व्यवस्थामा व्यापक हेरफेरको आवश्यकता रहेको समेत बताए ।

    बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन्।

    बैठकमा प्रधानमन्त्रीले प्रचण्डले भने, ‘हामी गम्भीर विषयमा छलफल गरिरहेका छौं। हामीले स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ। नकारात्मक चिजलाई शिक्षाका रूपमा लिएर अगाडि बढाउनुपर्छ। सोच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ।’ उनले विमानस्थलको समग्र व्यवस्थापनको समीक्षा गर्नुपर्ने बेला आएको बताए।

    ‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ। त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ। हामी छिट्टै एउटा निर्णयमा पुग्छौं।’

    छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ(नयाँ प्रविधि र तौर(तरिकाको प्रयोग भएको उल्लेख गर्दै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता औंल्याउँदै अपराधको सञ्जाल तोड्न सरकार कठोर रूपमा उभिने बताए।

    अर्थमन्त्री प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरूबीच अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्नेमा जोड दिँदै राज्यका सबै निकायमा दण्ड र पुरस्कारको व्यवस्था गरेर जानुपर्ने बताए।

    छलफलमा गृहसचिव दिनेश भट्टराईले त्रिभुवन विमानस्थललगायत देशभरिका विमानस्थलको अवस्था, सुरक्षा व्यवस्थापन, विमानस्थलमा कार्यरत कार्यालय र निकायहरूको कार्यजिम्मेवारी एवं वर्तमान अवस्थालगायत सुरक्षा चुनौती र सरकारले निगरानी राख्नुपर्ने विषयहरूमा आफ्नो प्रस्तुति राख्दै देशको समग्र सुरक्षा स्थिति सामान्य अवस्थामा रहेको ब्रिफिङ गरेका थिए।

    प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका सल्लाहकारहरू, राष्ट्रिय सुरक्षा सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, राष्ट्र बैंकका गभर्नर, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरू, नागरिक उड्डयन प्राधिकरणका प्रमुख लगायत सरोकारवाला निकाय र कार्यालयका अधिकारीहरू उपस्थित थिए।