Category: समाचार

  • ‘स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा पाइँदैन’- अर्थमन्त्री

    ‘स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा पाइँदैन’- अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् ।

    राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले विदेश जाने बित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त हुन जरुरी रहेको बताएका हुन् ।

    ‘हामीकहाँ विकास हुन बाँकी छ । यसकारण यहाँ अवसर प्रशस्त छ । विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी छैन, बाहिरबाट सबै सुविधा देखिए पनि भित्र खोक्रो छ,’ अर्थमन्त्री डा महतले भने, ‘अवसर हेर्ने सुक्ष्म आँखा चाहियो यही अवसर खोज्नेलाई सरकारले अनुदान, सस्तो ऋण, करछुट लगायतका सुविधा दिइरहेको छ । अहिले युवाहरुमा विदेश गएन भने आफ्नो हैसियत सानो र कमजोर भएको भन्ने गलत सोचाई हाबीहुँदै गएको छ, जुन चिन्ताको विषय हो ।’

    अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नुपर्ने बताए । उनले विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्न जोड दिए । अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको बताए ।

    चालु आर्थिक वर्षको बजेटबाट सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यातका लागि सहजीकरण गरेको उनले बताए । अहिले प्रविधिको प्रयोगले बजारीकरण गर्न सजिलो भएको उनको भनाइ छ ।

    आर्थिक विकास, उद्यमशीलता र रोजगारी अवसर र चुनौती शीर्षकको पहिलो सत्रमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले उद्यमशीलता भनेको व्यक्तिको क्षमतामा निहित हुने र त्यस्तो क्षमता सिकाइमा भरपर्ने बताए । उद्यमशीलता विकासका लागि व्यक्तिको क्षमता विकास महत्वपूर्ण हुने उनको भनाइ छ । उद्यमशीलता प्रवद्र्धनका लागि सरकारले लिएका नीति र योजनाको लाभ युवाले पाउन नसकेको पनि पूर्व अर्थमन्त्री खतिवडाले उल्लेख गरे ।

    सोही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले युवा लक्षित उद्यमशीलता कार्यक्रमका लागि बैंकिङ क्षेत्रले १० प्रकारका सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको बताए ।

    महिला उद्यमशीलता, शैक्षिक प्रमाणपत्र धितो कर्जालगायत बिना धितो कर्जाका कार्यक्रम सञ्चालन भइरहेकोमा त्यसको लाभ युवाहरुले लिनसक्नुपर्ने उनले बताए । उद्यमशीलता लक्षित कर्जा कार्यक्रमको उपलब्धि लक्ष्य अनुरुप नदेखिएको उनको भनाइ थियो ।

  • एमाले अध्यक्ष ओलीलाई सदनको अवरोध अन्त्य गर्न राष्ट्रपति पौंडेलको सुझाव

    एमाले अध्यक्ष ओलीलाई सदनको अवरोध अन्त्य गर्न राष्ट्रपति पौंडेलको सुझाव

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको थियो ।

    लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाएका थिए । दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव छ ।

    यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई पनि बोलाएर सदनको अवरोध हटाउनेबारे चासो राखेका थिए ।

  • एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई

    एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई

    काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ पाउने भएका छन्।

    उक्त अवार्ड दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा आगामी ७ अक्टोबरमा चौधरीलाई हस्तान्तरण गरिनेछ। एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्दै आएको छ।

    यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुस्ली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यानलगायत सम्मानित भएका छन्।

    चौधरीले २०७२ को महाभुकम्पपछि भूकम्पपीडितका लागि करिब ३ हजार घर बनाएका थिए। विभिन्न १० जिल्लामा घर बनाएर पीडितलाई हस्तान्तरण गरेका थिए।

    त्यस्तै चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ ओटा पक्की घर निर्माण गरेको थियो। भुकम्पका बेलामा गरेको योगदानमाथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी प्रकाशित गरेको थियो।

    त्यस्तै कोभिड प्रभावितको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरी सञ्चालनमा ल्याएको थियो। त्यस्तै फाउण्डेसनले कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड) पनि निर्माण गररेको थियो। कोभिडको बेला फाउन्डेसनले सरकारलाई पीसीआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो।

  • मन्त्रालयको योजना अनुसार काठमाडौं ‘खाल्डाखुल्डी’रहित बन्ला ?

    मन्त्रालयको योजना अनुसार काठमाडौं ‘खाल्डाखुल्डी’रहित बन्ला ?

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगत्तै ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

    खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातका कारण काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिने गरेका छन् । संघीय सरकारको मातहतमा रहेका सडकहरु वर्षात हटेलगत्तै स्तरोन्नतिको काममा लाग्ने मन्त्री ज्वालाले जानकारी दिए । मंगलबार चक्रपथदेखि बुढानीलकण्ठको सडक अवलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डीरहित काठमाडौं बनाउने बताए ।

    ‘दैनिक लाखौं मानिस हिँड्ने बाटोमा खाल्डाखुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्थालाई हामी छिट्टै अन्त्य गर्छौं’ मन्त्री ज्वालाले भने, ‘खाल्डाखुल्डी पुर्न र सडकको स्तरोन्नति गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौं । सडकको अवस्था हेर्न म आफैं नियमित आउँछु ।’

    खानेपानी, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा पनि सडकमा समस्या देखिने गरेको छ । त्यसो त, खानेपानी, नेपाल विद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकासहितको एउटा समिति पनि बनेको छ । समितिको बैठक भने छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले बताए ।

    ‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत प्राधिकरणले खन्दै जान्छ, बिग्रेको दोषजति मन्त्री र सचिवलाई आउँछ,’ मन्त्रालयका सचिव केशव शर्माले भने, ‘अब यो अवस्था अन्त्य गर्न छुट्टै बैठक बस्छौं र स्थायी निकास निकाल्छौं ।’

    यस्तै वर्षात हटेलगत्तै भदौको दोस्रो साताबाट सडक मर्मत सम्भारको काम सुरु गरिने भएको छ । महाराजगञ्ज–बुढानीलकण्ठ सडकका धेरै ठाउँमा पानीको पाइप फुटेर सडकमा खाल्डाखुल्डी परेको छ । यो समस्या तत्काल हल गर्न मन्त्री ज्वालाले निर्देशन दिएका हुन् ।

  • कित्ताकाट खुल्दा अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

    कित्ताकाट खुल्दा अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

    काठमाडौं । समग्र अर्थतन्त्रमै शिथिलता आएपछि सरकारले वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था हटाएको छ । गत वर्षको मंसिर २३ देखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब जग्गाको कित्ताकाट पुरानै नीतिनियम अनुसार हुनेछ ।

    त्यसका लागि मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली २०७९ संशोधन गरी उक्त व्यवस्था गरेको हो । जग्गा वर्गीकरण नभए पनि सबै पालिकाहरूमा कित्ताकाट गर्न पाउने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

    कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्रको रूपमा जग्गा वर्गीकरण गर्नुपर्ने व्यवस्था नियमावलीमा राखिएको थियो । यी क्षेत्रको रूपमा जग्गा वर्गीकरण गरिसकेका पालिकाहरूको हकमा कित्ताकाट गर्न कुनै समस्या थिएन । तर अधिकांश पालिकाले यो व्यवस्थाअनुसार जग्गा वर्गीकरण नगरिदिँदा कित्ताकाट र जग्गा कारोबार ठप्प भएको थियो ।

    ‘अब हालसम्म पनि वर्गीकरण नगरेका पालिकाहरूमा एक वर्ष समय थप गर्ने गरी नियमावली संशोधन गरिएको छ । यसको अर्थ एक वर्षसम्म वर्गीकरण नभएका पालिकाहरूको जुनसुकै जग्गाहरूको पनि कित्ताकाट हुने भएको छ । कित्ताकाटका लागि अन्य मापदण्डसमेत लचिलो बनाइएको छ ।

    मन्त्रिपरिषद्ले स्वीकृत गरेको नियमावलीअनुसार आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म र कृषि जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइनेछ । यसअघि आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैन थियो ।

    कृषि जमिनको सन्दर्भमा उपत्यकामा ५ सय वर्गमिटर, तराई र भित्री मधेशमा ६७५ वर्गमिटर क्षेत्रफलभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो । सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवास र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड र व्यावसायिक आवासमा स्थानीय सडकको मापदण्ड पूरा भएको बाटोघाटो भएका जग्गाहरूको मापदण्ड पनि कायम गर्ने गरी नियमावलीमा राखिएको छ ।

    मन्त्रिपरिषद्बाट स्वीकृत भएको नियमावलीअनुसार सरकारले प्लानिङको स्वीकृति लिएकाहरूलाई ८० वर्गमिटर र नलिएकाको हकमा १३० वर्गमिटर जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरिदिएको छ । पहिला प्लानिङको अनुमति लिने र नलिने दुवैलाई १३० वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने व्यवस्था थियो ।

    विकास निर्माण आयोजनाहरूले काम अघि बढाउँदा कसैको जग्गाबाट १ आना, २ आना वा त्योभन्दा कम क्षेत्रफल लिनुपर्ने अवस्थालाई सरलीकृत गर्न सरकारले जति पनि कित्ताकाट गर्न छुट दिएको छ । अंशबण्डा, अंश भर्पाइ, मोहीको बाँडफाँट गर्नॅपर्ने विषयमा पनि १३० वर्गमिटरमा कित्ताकाट गर्नॅपर्ने प्रावधानलाई हटाइएको छ ।

    अब ८० वर्गमिटर नै जग्गा टुक्राउन पाइने निर्णय गरेको छ । सरकारले स्थानीय तहहरूलाई जग्गा वर्गीकरण गर्न अधिकारसँगै समयअवधि पनि थप गरेको छ । सम्बन्धित पालिकाले निर्धारण गरेको सडक वा बाटोमा पर्ने जग्गाको मापदण्डअनुसार कित्ताकाट गर्न पाइने सरकारले जनाएको छ । हरेक स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका बाटोको मापदण्ड तोकेको छ । मोही र जग्गाधनीबीचको समस्यालाई पनि सरकारले समाधान गरेको छ ।

  • पारस खड्का बने काठमाडौं क्रिकेट संघको सदस्य

    पारस खड्का बने काठमाडौं क्रिकेट संघको सदस्य

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् ।

    काठमाडौं जिल्लाको उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत निर्वाचित भए । सदस्यहरुमा पारससँगै अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ छन् ।

  • डिजेट र पेट्रोलमा भारी मूल्यवृद्धि

    डिजेट र पेट्रोलमा भारी मूल्यवृद्धि

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल\मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


    नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल–डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल–मट्टितेल १५३ रुपैयाँ थियो ।

  • कक्षा १२ को परिक्षाफल सार्वजनिक

    कक्षा १२ को परिक्षाफल सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् ।

    त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ । राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ । २ विषयसम्म नन ग्रेडेड भएकाहरुका लागि ग्रेडवृद्धिका लागि असोज ६ र ७ गते परीक्षा तोकिएको छ ।

  • हज यात्राका लागि आवेदन खुल्यो, १२ सय जनाको कोटा निर्धारण

    हज यात्राका लागि आवेदन खुल्यो, १२ सय जनाको कोटा निर्धारण

    काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिन आग्रह गरेको छ ।

    सन् २०२४ (हज १४४५) का लागि नेपालबाट १२ सयजना इस्लाम धर्मावलम्वीहरूका लागि हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा आएको छ ।

    नेपाल हज समितिले मंगलबार एक सूचना जारी गर्दै हज गर्न चाहने इच्छुक मुस्लिम धर्मावलम्बीले साउन ३० देखि असोज ३० भित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

    त्यसका लागि पहिलो किस्तास्वरुप आफ्नो ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा १ लाख ५० हजार डिपोजित रहम बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

  • लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू

    लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू

    काठमाडौं । रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ । योजनाले ३.८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो । गोसाइकुण्ड गाउँपालिका( ५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको पावर हाउससम्म गुरुङ निर्माण गरिएको आयोजना निर्माण पक्ष आरएम ग्रुपका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए ।

    आयोजना निर्माणको काम दुई वर्षअघि कोभिड महामारीका बेला सुरु भएको थियो । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकालिनकल उपकरण आपूर्तिको काम भइरहेको र सामान आएलगत्तै जडान कार्य सुरु हुने अर्यालले बताए । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको आरएम ग्रुपले जनाएको छ। आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राकेटले गरिरहेको छ ।

    लक्ष्मी सनराजइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आरएम ग्रुपको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको कुल अनुमानित लागत दुई अर्ब ७३ करोडमध्ये सनराइज बैंकले डेढ अर्ब, सिद्धार्थ बैंकले ५४ करोड, कुमारी बैंकले ३० करोड र बाँकी आरएम ग्रुपले जुटाउनेगरी वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । एक वर्षभित्र आयोजनाको निर्माण सम्पन्न गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य रहेको ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।

  • रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए

    रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए

    काठमाडौं । रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा १२ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यद्यपि मृतकको सङ्ख्याबारे स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।

    चिकित्सकलाई उद्धृत गरिएको एक अपुष्ट रुसी विवरणका अनुसार मृत्यु हुनेको सङ्ख्या करिब २५ पुगेको छ र ६० जनाभन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा केही बालबालिका समेत रहेका छन्। आगोको रापका कारण गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि मस्को लगिएको बताइएको छ।


    क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण भने हालसम्म खुल्न सकेको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार पेट्रोल पम्पमा फैलनुअघि त्यहाँ नजिकै कार पार्किङ गरिएको क्षेत्रबाट आगो लाग्न सुरु भएको थियो। अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार रातिको ९ः४० बजे फैलन सुरु भएको आगो नियन्त्रणमा लिन सयौँ अग्नि नियन्त्रकहरूलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो।

    सार्वजनिक भएको तस्बिरमा रातिको समयमा ठूलो आगो लागेको देखिन्छ। घटनास्थल वरपर थुप्रै दमकलहरू देखिएका छन्। त्यहाँ करिब २६० जना आपत्कालीन कर्मचारीलाई परिचालन गरिएको छ। गम्भीर घाइतेलाई मस्को लैजानका लागि सरकारले एउटा विमान पनि तैनाथ गरेको मन्त्रालयले जनाएको छ। रुसी समाचार संस्था इन्टरफ्याक्सले चिकित्सकलाई उद्धृत गर्दै मृत्यु हुनेमा तीन जना बालबालिका रहेको जनाएको हो। आगलागी ६०० वर्गमिटर क्षेत्रमा फैलिएको र थप विस्फोटको खतरा रहेको जनाइएको छ।


    परिचय नखुलाई एक जना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रुसी पत्रिका इज्भेस्टिआले पेट्रोल पम्पको अगाडि रहेको कारमा आगलागी भएको जनाएको छ। “विस्फोटपछि सबै कुरा हाम्रो टाउकोमा खसेसरह भएको थियो। त्यसपछि हामीले केही पनि देख्न सकेनौँ,” ती प्रत्यक्षदर्शीले भनेका छन्। द रिपब्लिक अफ डागेस्तान रुसी सङ्घको ८३ वटा क्षेत्रहरू मध्येको एक हो र यो देशको दक्षिणी भागमा पर्छ। मखाच्कला मस्कोबाट लगभग १,६०० किलोमिटर टाढा छ।

  • ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ

    ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ गरेको छ। ब्युरोले उनलाई बोलाएर बालुवाटारको ललिता निवास प्रकरणमा उनको संलग्नताबारे सोधपुछ गरेका हो । पौड्यालले २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्य सचिव थिए।

    गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका निर्णयकर्ताहरूमाथि पनि छानबिन गर्न आदेश दिएको थियो। अदालतले २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गते मन्त्रिपरिषद बैठकबाट भएका निर्णय र त्‍यस निर्णयमा सहभागीहरूमाथि अनुसन्धान गर्न आदेश दिएको हो।

    उक्त आदेशसँगै सिआइबीले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरेको हो। २०६६ र २०६७ सालमा माधव नेपाल प्रधानमन्त्री थिए भने २०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री थिए। ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन भूमिका खेलेको आरोप उनीहरूमाथि छ। माधव नेपाल नेतृत्वको मन्त्रिपरिषदले प्रधानमन्त्री निवास बालुवाटार विस्तार गर्ने निर्णय गरेको थियो। विस्तार गर्दा व्यक्तिका नाममा भएका जग्गा सट्टापट्टा गर्ने निर्णय भएको थियो। त्यही बेला नक्कली मोही खडा गरेर बालुवाटारको जग्गा व्यक्तिका नाममा पुर्‍याइएको थियो।

    नक्कली मोही हुँदै बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याएको आरोप २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई पनि लागेको हो। माधव नेपाल सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदार थिए भने बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा भूमिसुधार मन्त्री चन्द्रदेव जोशी थिए। दुवै मन्त्रीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।

    आयोगले नीतिगत निर्णयमा कारबाही गर्ने क्षेत्राधिकार नभएको भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाएको थिएन। उनीहरूलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट भने परेको छ। उक्त रिट विचाराधीन अवस्थामै रहेका बेला अदालतले मन्त्रिपरिषदका निर्णय र निर्णय कार्यान्वयन तथा प्रस्तावमा प्रत्यक्ष संलग्नमाथि अनुसन्धान गर्न बाटो खुल्ने गरी आदेश दिएको थियो। ललिता निवासको १४३ रोपनी जग्गा चार चरण गरी व्यक्तिको नाममा पुगेको सिआइबीले जनाएको छ।

  • मुगुमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    मुगुमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं २ रिप गाउँका छन् । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो । प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं २ का एकै नाम थरका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।

    दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुगुको सोरु गाउँपालिका-७ चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही र लोकजङ्ग नेपाली छन् । नेपाली सोरु(५ का वडा सदस्य हुन् । यसैगरी सोरु ६ का सेरे रोकाया र हुम्ला सिमीकोट २ का उदीप बोहोरा पनि घाइते भएका प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

  • २९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा

    २९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्ति लगायतका माग राखेर २९ भदौमा अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि अनशन बस्ने घोषणा गरे पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको केसीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको फाइदाका लागि गरेको निर्णय खारेजी र चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिको माग गर्दै अनशन घोषणा गरेका हुन् ।

    ‘हाललाई सरकारले औपचारिक रुपमा प्रतिबद्धताहरु कार्यान्वयनका लागि समय मागेकाले हामीले आजका लागि घोषणा गरेको सत्याग्रह एक महिनाका लागि स्थगित गरेका छौं । उक्त समयमा प्रतिबद्धताअनुसार मागहरु पूरा भएर कार्यान्वयनमा नगएमा भदौ २९ गतेदेखि सत्याग्रह लगायत आन्दोलनका कडा कार्यक्रमहरु शुरु गर्ने पनि जानकारी गराउन चाहन्छौं’ केसीले भनेका छन् ।

    केसीले पछिल्ला दिनमा नर्सिङ कलेजका विषयमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् । आफूहरुले देशमा सबै तहको स्वास्थ्य र चिकित्सा शिक्षा गुणस्तरीय, निःशुल्क वा सस्तो र सर्वसुलभ रहोस् र आम नेपालीले पाउने स्वास्थ्य सेवाको गुणस्तर बढ्दै जाओस् भन्ने चाहेको उनले प्रष्टीकरण दिएका छन् ।

    ‘त्यस क्रममा चिकित्सा शिक्षा ऐन जारी भएपछि सोही अनुसार चिकित्सा शिक्षा आयोगले नियमन गर्ने क्रममा विभिन्न कोर्सहरुमा सिट संख्या घटेको हुनसक्छ । त्यो अवस्थामा गर्नुपर्ने काम भनेको शिक्षण संस्थाहरुको गुणस्तर बढाउने, स्तरोन्नति गर्ने र आवश्यक संख्यामा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने हो’ केसीले भनेका छन् ।

    तर त्यसो गर्नुको सट्टा सीटीईभीटीमा निजी कलेजका सञ्चालकलाई लैजाने, उनैको स्वार्थमा नीति–नियमको धज्जी उडाउने, निजीको स्वार्थ पूर्ति गर्न सरकारी संस्थाको समेत भर्ना रोक्ने, चिकित्सा शिक्षा आयोगको समन्वयमा नियमन दुरुस्त बनाउनुको सट्टा कानुनविपरीत निर्णयहरु गर्ने जस्ता गतिविधिका कारण स्वास्थ्य शिक्षामा भद्रगोल सिर्जना भएको केसीको दाबी छ ।

    ‘यसको निकास हाल कायम कानुनी व्यवस्था अनुसार गुणस्तर हुने गरी तथा देशको जनशक्तिको माग पूरा हुने गरी विभिन्न कोर्समा सिटहरु तोक्नेबाहेक केही हुन सक्दैन’ केसीले भनेका छन्, ‘कानुन नमिची र गुणस्तरमा सम्झौता नगरी अघि बढ्ने कुनै काममा हाम्रो कहिल्यै अवरोध छैन ।’

  • सुन काण्डमा उच्चस्तरीय समिति नचाहिने सत्तारुढ दलको निष्कर्ष

    सुन काण्डमा उच्चस्तरीय समिति नचाहिने सत्तारुढ दलको निष्कर्ष

    काठमाडौं । सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निष्कर्ष निकालेको हो । उच्चस्तरीय आयोग माग्नु भनेको भइरहेको अनुसन्धानलाई डाइल्युट गर्नु भन्ने निष्कर्ष पार्टीहरुको छ ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन प्रहरीले २ साउनमा राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको प्रकरणमा नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि प्रश्न उठाएर उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको थियो । यही माग राखेर एमालेले १० साउनदेखि संसद बैठक अवरोध गर्दै आएको छ ।

    संसदको अवरोध खोल्ने विषयमा छलफलमा जुटेका सत्तारुढ दलहरु एमालेको माग पूरा गर्न नसक्ने निष्कर्षमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले ललिता निवासदेखि सुनकाण्डसम्मका छानबिनमा सरकारले कुनै राजनीतिक नियत नराखी स्वतन्त्र अनुसन्धानलाई अघि बढाएको भन्दै सहयोग मागेका थिए । उनले बैठकमा भनेका थिए, ‘छानबिन गर्दा जुनसुकै दलका जोसुकै पर्न सक्छन्, मेरै पार्टीका पनि । त्यसैले नियतमा प्रश्न नगरी अनुसन्धानलाई सघाउन गठबन्धनले लागोस् ।’

    एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको विषयमा पनि छलफल भएको थियो । गठबन्धनका नेताहरुले जिज्ञासा राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको र निष्कर्षमा नपुगेको बताएका थिए ।

    ‘गृहमन्त्रीले छानबिनको प्रक्रिया अगाडि बढिरहेको छ, टुंगिएको छैन । एक हदसम्म अनुसन्धान भएपछि बाहिर आउँछ भन्नुभयो’ पाण्डेले भने । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन कुराकानी भएको देखिएको सीआईबीले प्रतिवेदनमा उल्लेख गरेको थियो ।

    प्रधानमन्त्री प्रचण्डले आफू जोकसैलाई नछाड्ने, तर प्रमाणले पुष्टि नहुने कुरामा हात हालेर ‘ब्याकफायर’ हुन नचाहेको कुरा बैठकमा राखेका थिए । बैठकमा गौर हत्याकाण्डको विषयमा पनि छलफल भएको थियो । सरकारले हालै गौर हत्याकाण्डका पीडित संघर्ष समितिसँग गरेको सम्झौताप्रति जनता समाजवादी पार्टीका नेताहरुले आपत्ति जनाएका छन् ।

  • एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

    एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताको लागि स्थगित भएको छ ।

    सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते १ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

  • ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा राखिने

    ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा राखिने

    आइतबार बसेको सर्वपक्षीय बैठकले गोरखा नगरपालिका-७, सतिपीपलस्थित राममाया शाहीको घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ । घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले बाहिर नपठाउने निर्णय भएको हो । किष्टललाई समयसमयमा आफूहरुले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा, जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित सङ्घसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो ।

  • ‘कर तिरेर जति पनि सुन ल्याउन दिऔं’

    ‘कर तिरेर जति पनि सुन ल्याउन दिऔं’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिए तस्करी नियन्त्रण हुने दाबी गरेका छन् ।

    संसदीय दलको बैठकमा उनले सुन धेरै तस्करी हुन थालेकाले कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

    बैठकमा भने, ‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला नहुँदा तस्करी मौलाएको छ । यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ ।’

    सुन तस्करी प्रकरणलाई लिएर कांग्रेस बैठकमा चर्को बहस छ ।

    हाल नेपालमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत दैनिक १० किलो सुन बजारमा पठाउने गरेको छ ।

    व्यवसायीहरुले यति सुनले आन्तरिक माग पनि नधान्ने भन्दै कोटा बढाउन माग गर्दै आइरहेका छन् ।

  • बागमतीका सबै प्रादेशिक अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै बेड निःशुल्क

    बागमतीका सबै प्रादेशिक अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै बेड निःशुल्क

    काठमाडौं । भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो।

    ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

    त्यस्तै मन्त्रालयले भदौ १ गतेदेखि लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन दिएको छ।

  • ब्रेक शु बाट निकालियो तस्करीको सुन

    ब्रेक शु बाट निकालियो तस्करीको सुन

    काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकाल्न सुरू गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकाल्न थालेको हो।

    साउन २ गते अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपाँस भएर बाहिरिएको अवस्थामा करिब १ क्विन्टल सुन बरामद भएको थियो।

    राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ ।

    राजस्वले बरामद गरेकाे ब्रेक शु सहितको सुनको तौल १५५ रहेको छ ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    एक साता देखिको निरन्तरको वर्षा सोमबार पनि निरन्तर हुने भएको छ । सोमबार बिहानै देखि वर्षा भई रहेको छ भने दिनभर देश भरी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको पहाडी भू–भागको नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ 

  • बाढीका कारण क्षतविक्षत कागबेनी

    बाढीका कारण क्षतविक्षत कागबेनी

    काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बाढीका कारण क्षतविक्षत भएको छ । बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो ।

    मानवीय क्षति भने भएको छैन । कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘१५–१६ घर बगेका छन् । कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेका छन् ।’ प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् ।

    कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको प्रजिअ केसीले जानकारी दिए । काग खोला मुक्तिनाथ मन्दिर हुँदै आउने खोला हो । यो खोला कागबेनीमा कालीगण्डकी नदीसँग मिसिन्छ । राति ठूलो वर्षासँगै खोलामा बाढी आएको थियो । बाढी कागबेनीको बीच बस्तीसम्म पसेको छ ।

    बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए । अहिले पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा परिचालित छ ।

    कागबेनी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र र प्रसिद्ध धार्मिकस्थलसमेत हो । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार वस्तीमा बाढी पस्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । उनले स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए । उनका अनुसार बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।

  • सप्तकोशीमा आयो ठूलो बाढी, सबै ढोका खोलियो

    सप्तकोशीमा आयो ठूलो बाढी, सबै ढोका खोलियो

    काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिएका छन् ।

    उनका अनुसार आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो । यद्यपि यो घट्दो क्रममा छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको बताइन् ।

    उनका अनुसार १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ । यद्यपि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी पाण्डेले वस्तीमा बाढी पस्न सक्ने जोखिम भएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिइन् । उनले भनिन्, ‘वस्ती बाढीमा पसिसकेको चाहिँ छैन, तर हामी हाई अलर्टमा छौं ।’

  • माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता

    माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता

    काठमाडौ. । नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतवारको पदाधिकारी बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीले आफ्नै पार्टीका मन्त्री मोदीलाई फिर्ता ल्याउने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

    मोदीले सरकारमा राम्रो काम गर्दा गर्दै पनि यसअघि जनमत पार्टीसँग भएको सहमतिका आधारमा फिर्ता बोलाउने निर्णय गर्नुपरेको उपमहासचिव पुनको भनाइ छ । बैठकमा मन्त्री मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टीको निर्णय स्वीकार रहेको बताएका छन् । मोदी माओवादी मन्त्रीमध्ये इमानदारीसाथ काम गर्नेमध्येमा पर्छन् ।

  • आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण

    आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाश शरण महतले गलत गरेको कुनै प्रमाण आए आफू पदमा नबस्ने बताएका छन्। आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा बोल्दै उनले आफूले गलत काम नगरे पनि विभिन्न व्यक्तिहरूले आक्षेप लगाउने गरेको बताए।

    ‘ममाथि व्यक्तिगत प्रहार भइरहेका छन्, व्यर्थको लाञ्छना लगाउने काम भइरहेको छ,’ महतले भने, ‘किन ममाथि अनावश्यक शंका गर्ने ?’ आफूले केही गल्ती गरेको प्रमाण दिएमा पदमा नबस्ने पनि उनले बताए। ‘तपाईंहरूलाई लाग्छ, मैले गल्ती गरेको छु ?, पदमा बसेर मैले केही गल्ती गरेँ ? हो भने प्रमाण दिनुहोस्, म पदमा बस्दिनँ,’ उनले भने, ‘होइन भने आरोप नलगाउनुहोस्, अनेक प्रचार नगर्नुहोस्।’

    उनले पार्टीका नेता–कार्यकर्तामा अनुशासन र मर्यादा हुनुपर्ने पनि बताए। ‘हामी त एउटा संस्कारको अभ्यास गरेर आएको मानिस हो,’ पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘पार्टीका सदस्यहरू पनि मर्यादामा बस्नुपर्दछ।’ उनले सुन प्रकरणमा छानबिन भइरहेको बताए। ‘सुन बरामद गरियो। बरामद नगरेको भए त प्रश्न नै आउँथेन होला नि,’ उनले भने, ‘हङकङलाई अर्थ मन्त्रालयबाट चिठी लेखेका छौं। को-को संलग्न छन् भनेर अनुसन्धान पनि भइरहेको छ।’


    सुन प्रकरण छानबिन गर्न अर्थमन्त्री महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने कांग्रेसकै सांसद सुनिल शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोलेका थिए।

  • बर्दियामा दाउरा टिप्ने क्रममा तीन जनालाई बाढीले बगायो

    बर्दियामा दाउरा टिप्ने क्रममा तीन जनालाई बाढीले बगायो

    काठमाडौं । बर्दियामा बबई नदीले तीन जनालाई बगाएको छ । तीनै जनाको अवस्था अज्ञात छ। बाढीका क्रममा दाउरा संकलनका लागि गएका गुलरिया नगरपालिकाका तीन जना युवालाई आइतबार बबईको बाढीले बगाएको हो ।

    गुलरिया– १२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारूलाई मध्याह्न १२ बजे, गुलरिया– ८ थपुवाका २७ वर्षीय अक्षय चौधरीलाई साढे १ बजे र गुलरिया– २ पण्डितपुरका २७ वर्षीय महेश चौधरीलाई साढे ४ बजे बाढीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिएका छन् ।

    उनीहरू तीन जना बबईमा बाढी आएको समयमा दाउरा संकलन गर्न गएको र उनीहरू अलग अलग ठाउँबाट बगेको बताइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले खोजी गर्दा पनि उनीहरू फेला पार्न नसकेको र सोमबार बिहानैबाट फेरि खोजी सुरू हुने बताइएको छ ।


    बेपत्ताको खोजी र डुबानमा परेकाहरूको उद्धारका लागि ११ जना नेपाली सेना, ४९ जना सशस्त्र प्रहरी र एक सय दस जना नेपाल प्रहरी दिनभर परिचानल भएको बोहराले जानकारी दिए। दाउरा संकलन गर्न गएकी मध्यबाँसगढी नगरपालिका– ३ की ४० वर्षीया रामजानी थारूको भने सकुशल उद्धार गरिएको थियो।

    डुडुवा खोलामा बाढी आएको समयमा दाउरा संकलन गर्न गएकी थारू नदीको टापूमा फसेकी थिइन्। उनलाई प्रहरी निरीक्षक सुधिर खड्काको कमान्डमा खटिएको सात जनाको प्रहरी टोलीले सकुशल उद्धार गरेको डिएसपी बोहराले बताए। भारी वर्षाका कारण घरहरू डुबानमा परेका छन्। अहिलेसम्म ८४ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

    बर्दिया नगरपालिका– ८ भगतपुरमा आठ घर डुबानमा परेका छन्। तीमध्ये चार घर परिवारका २२ जना विस्थापित भएका छन्। उनीहरूलाई सरस्वती आवासीय माध्यमिक विद्यालय, भगतपुरमा राखिएको छ। यही वडाको दूधामा ४० घर डुबानमा परेका छन्। ती मध्ये तीन घर परिवारका १४ जना विस्थापित भएको र उनीहरूलाई युवक मावि, दूधामा स्थानान्तरण गरिएको छ ।

  • युवती प्रयोग गरी बंगलादेशका नागरिकलाई बोलाएर काठमाडौंमा बन्धक, दुई नेपालीसहित ६ जना पक्राउ

    युवती प्रयोग गरी बंगलादेशका नागरिकलाई बोलाएर काठमाडौंमा बन्धक, दुई नेपालीसहित ६ जना पक्राउ


    काठमाडौं । जागिरको प्रलोभन देखाएर बंगलादेशदेखि नेपाल बोलाएर बन्धक बनाउँदै फिरौती उठाउने गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चारजना बंगाली र दुईजना नेपाली नागरिक छन् ।

    प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । बन्धक बनाउँदै परिवारसँग फिरौती माग गर्ने समूहका ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा बंगलादेशका ४७ वर्षीय अमिर हुसेन, ३८ वर्षीय सलिम मिया, ३७ वर्षीय एमडी मोसिउर रहमान र २१ वर्षीया जहन्जिर आलम छन् ।

    त्यस्तै, नेपाली नागरिक इलामकी ३३ वर्षीया रोशनी राई र सिन्धुपाल्चोक बलेफीकी २७ वर्षीया तारा नेपाली छन् ।

    उनीहरूले पीडित परिवारबाट १० लाख रुपैयाँ लिएको समेत खुलेको छ । उनीहरूले पीडितलाई विभिन्न होटेलमा लिएर बन्धन बनाएर राख्ने गरेको प्रहरीले जनाएको छ ।

    उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

  • विदेशवाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष संञ्चालन

    विदेशवाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष संञ्चालन

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशवाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष संचालनमा ल्याएको छ । विदेशवाट फर्कीएका यात्रुले मापदण्ड भन्दा वढी सुन गरगहना विदेशी मुद्रा टीभी तथा मोवाइल फोन ल्याउने र स्वघोषणा नगरी वाहिरिदाँ भन्सार छली अनुसार कारवाहीको भागीदार हुने गरेका थिए ।

    स्वघोषणा कक्ष संचालनपछि यात्रुले आफूसंग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा वढि भएको सामानको भन्सार महशुल वुझाइ सजिलै लैजान पाउने छन ।

    विदेशवाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजांच एक्सरे मेशिनमा पुग्नु अगावै स्वयं घोषणाको सुविधा पाउँछन ।

    त्यसकालागि भन्सार कार्यालयले नियमित कर्मचारी सहित स्वयं घोषणा कक्षको व्यवस्था गरेको छ । यसअघी त्यस्तो कक्ष नहुदा यात्रुहरु मापदन्ड भन्दा वढि मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारवाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य वरावर धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए ।

    विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथाटेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्थाअनुसार महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।

    यसैगरी पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्राम सम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउँने व्यवस्था रहेको छ ।

    विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको छ।

    यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।

    श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका याबुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँने कानूनी व्यवस्था रहेको प्रमुख पाण्डेले भने यस्तो थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्दछ ।

    श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमासूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

    तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् ।

    अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुलभन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ ।यसैगरी ५ हजार अमेरीकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महशुल वा शुल्क वुझाउनु नपर्ने व्यवस्था रहेको छ ।

  • एमालेले भन्यो ‘सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ’

    एमालेले भन्यो ‘सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ’

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बरामद भएको १०० केजी अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नता रहेको जनाएको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा उल्लेख गरेका हुन्।

    एमालेले ई-सिगरटे प्रकरणमा सत्तारुढ पार्टीका नेता (कृष्णबहादुर महरा) माथि सोधखोज समेत नगरेकोमा आश्चर्य व्यक्त गरेको छ।

    ‘सत्तारुढ दलकै नेताको भूमिमा तस्करीमा जोडिएको प्रष्ट भइसक्दा पनि सरकार पक्राउ गरेर छानबिन गर्न तयार छैन’, एमालेले भनेको छ, ‘ललिता निवास प्रकरणमा मुख्य भूमिमा खेल्नेलाई आजका मितिसम्म बयानसम्म गर्न नसक्ने सरकारको भूमिकामाथि अनेक कोणबाट प्रश्न उठेका छन्।’

    ‘एमालेले सुन प्रकरण र चर्चामा रहेका सबै भ्रष्टाचार, अनियमितता र घोटालाहरूको निष्पक्ष छानबिन हुनुपर्छ । तस्करी र राज्यको साधन स्रोतको दोहन गर्ने अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउनु पर्छ भन्नेमा स्पष्ट छौं । यसका लागि निरन्तर प्रयत्नशील छौं । वर्तमान सरकार राष्ट्रियहितको रक्षा गर्न पूर्णतः असफल भएको छ । सरकार टिकाउन जस्तो सुकै शक्तिसँग जस्तोसुकै सम्झौता गर्न तयार हुने सरकारले आगामी दिनमा मुलुकलाई झनै जोखिमतिर धकेल्ने टड्कारो छ,’ एमालेले भनेको छ ।

  • आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित : केही ‘डाइभर्ट’, कुनै रद्द

    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित : केही ‘डाइभर्ट’, कुनै रद्द

    काठमाडौं । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान ‘डाइभर्ट’ भएका छन् भने केही उडान रद्द भएका छन् ।

    वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् ।

    साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए । विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ ।

    विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीन वटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ ।