Category: समाचार

  • गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’

    गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’

    काठमाडौं । खानी तथा भूगर्भ विभागको टोलीले गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’ भएको पुष्टी गरेको छ।

    खानी तथा भूगर्भ विभाग काठमाडौंबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर गरेको परीक्षणमा पारदर्शी ढुङ्गा क्वार्ज क्रिष्टल भएको प्रमाणित भएको हो।

    भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले प्रकाश दिँदा टल्किने ढुङ्गा परीक्षण गरेका थिए।

    टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो।

    जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमूना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा. भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो।

    टोलीले गरेको परीक्षणका क्रममा उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम रहेको पाइएको छ। क्वार्ज क्रिष्टल मुख्य रुपमा सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग हुने गरेको भूगर्भविद्हरुले बताएका छन् ।

    गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो। टल्कने ढुङ्गा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न संघसंस्थाले प्रशासनसँग माग गर्दै आएका छन्।

    टल्कने ढुङ्गा ऐतिहासिक महत्त्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गनुपर्नेमा सङ्घसंस्थाको जोड छ। पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाइ मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने स्थानीयवासीको पनि भनाइ रहेको छ।

    भूगर्भविदहरूले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ अनुसार बहुमूल्य क्वार्ज क्रिष्टल विभाग बुझाउनुपर्ने बताएका छन्।

    उक्त ऐनको दफा २५ मा ‘अनुमति नलिई निकालिएको खनिज पदार्थ जफत गर्नुका साथै त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ।

    शाही परिवारले उक्त पत्थर पुस्तौंदेखि देउताका रूपमा पुज्दै आएको बताएका छन्। बाजे-बराजुले कहाँबाट यो ल्याएका हुन् भन्नेसमेत उक्त परिवारलाई यकिन छैन।

  • झिनो अंकले बढ्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ५.१३ अंकले बढेर २०६६.०५ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६९ कम्पनीको २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये ९ बटाको बढेको छ भने ४ घटेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ । बुधवार १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज सोल्टी होटेल सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड ९५ लाख बढीको कारोबार भएको छ ।

  • नेपालको झल्को दिंदै अमेरिकाको बोष्टन सहरमा ‘नेपाल डे’ कार्यक्रम सम्पन्न

    नेपालको झल्को दिंदै अमेरिकाको बोष्टन सहरमा ‘नेपाल डे’ कार्यक्रम सम्पन्न

    सुपेन्द्र बस्नेत, मासाच्युसेट्स

    अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा आयोजित ‘नेपाल डे’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुनेहरुले नेपालकै झल्को दिने गरी कार्यक्रम ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। ‘नेपाल डे’ न्यू इंग्ल्याण्डमा इतिहासमै पहिलो पटक नेपालीहरुको खुला बृहत सहभागिता भएको कार्यक्रम हुन पुगेको उनिहरुको मुल्याङ्कन रहेको छ। कार्यक्रममा फरफराएका नेपालको झण्डाहरु, नेपाली भेषभुषामा सजिएका सहभागीहरु, उनिहरुले बोलेका नेपाली भाषा, प्रस्तुत भएका नेपाली साँगीतिक कोसेलीहरु, नेपाली परिकार तथा सरसामानका स्टलहरु लगायतले कार्यक्रम स्थल नेपालमय भएको थियो। कार्यक्रम बोस्टन स्थित मूलवासी नेपालीहरुको संस्था ‘ग्रेटर बोस्टन नेपाली समुदाय'(जिबिएनसि) र एभरेट सिटीको संयुक्त आयोजनामा अगष्ट ६ तारिख आइतवारका दिन सम्पन्न भएको हो। नेपालीपन, नेपाली पहिचान, नेपालीत्व, सामुदायिक एकता र मनोरञ्जनलाई केन्द्रमा राखेर गरिएको कार्यक्रम अपरान्ह १२ बजेदेखि साँझ अबेरसम्म एभरेट सिटी स्थित ग्लेन्डल पार्क(Glendale Park)मा आयोजना गरिएको थियो।

    कार्यक्रम आयोजक संस्था जिबिएनसिकी अध्यक्ष अन्जु थापाले पनि सहभागीहरुको प्रतिक्रियालाई आधार मान्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएकी छिन्। नेपाली समुदायले इतिहासमै पहिलो पटक बृहत सहभागिता जनाउदै सामुदायिक एकता प्रदर्शन गरेको अध्यक्ष थापाको ठम्याइ छ। कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै उनले भनिन् , ‘कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। हामी सबैको अथक प्रयासबाट मात्र यो इतिहास रचिन सम्भव भएको हो। यसका लागि सहयोगी संस्था एभरेट सिटी, अन्य संघ संस्थाहरु, कार्यसमिति, सदस्यहरु, प्रेस, कलाकारहरुलगायत सबै सहयोगीहरुलाई आयोजकको तर्फबाट हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु।’ कार्यक्रमको दौरानमा कमी कम्जोरी भएको भएमा क्षमा प्रार्थी छौं भन्दै उनले ३४ वर्षको इतिहास रहेको जिबिएनसिको कार्यक्रमलाई सबैको साथ सहयोगमा अझ राम्रो गर्न प्रयास गरिने विश्वास समेत दिलाइन्।

    कार्यक्रममा एभरेट सिटिको तर्फबाट इडिआइ विभागकी निर्देशक (Director of EDI Department) क्याथी ड्राइन(Cathy Draine)को सहभागीता रहेको थियो। उनले कार्यक्रमको सफलताको कामना गर्दै सिटीकी मेयर डेमारिया(Demaria)ले दिएको शुभकामना सन्देशसमेत सुनाएकी थिइन्। यसैगरी, कार्यक्रम स्थलमा समरभिल सिटिकी मेयर क्याट्ज्याना ब्याल्यानटिन(Katjana Ballantyne ( Mayor of Somerville)को पनि उपस्थिति रहेको थियो। उनले आयोजित कार्यक्रम निकै आकर्षक र सबैका लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिदै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेकी थिइन्। संस्थागत प्रतिनिधित्व गरेका दुबैले कार्यक्रमको महत्व, प्रभाव र परिणामको चर्चा गर्दै आगामी दिनहरुमा पनि नेपाली समुदायसंग मिलेर काम गर्ने र सक्दो सहयोग गर्ने विश्वास दिलाएका थिए।

    कार्यक्रमको प्रारम्भमा संस्थाका सचिव तथा कार्यक्रम संयोजक सोनाम शेर्पाले अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै संस्थाको संक्षिप्त परिचयसहित कार्यक्रमको बारेमा प्रकाश पारेका थिए। नेपालको राष्ट्रिय गान गाएर र अमेरिकाको राष्ट्रिय गानको धुन बजाएर सुभारम्भ गरिएको साँगीतिक कार्यक्रमको सञ्चलन सन्देश मुनान्कर्मी, अशोक काफ्ले र आर्जु पराजुलीले गरेका थिए भने, प्राविधिकको जिम्मेवारी मुकुन्द पोखरेलले सम्हालेका थिए।

    बृहत् साँगीतिक कार्यक्रमका मूख्य आकर्षण नेपालका चर्चित गायक सुगम पोखरेल रहेका थिए। उनले नेपाली मूलका समुदायसंग साँगीतिक साक्षात्कार गर्दै आफ्ना चर्चित गीतहरु पस्किएर सहभागिहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए। पोखरेलले आफ्ना चर्चित गीतहरु-फेरी त्यो दिन संझन चाहन्न…, सम्हालिन्छ कहिले मन…, मेरो एउटा साथी छ…,वर्षमा दिनमा लै लै…लगायत गाएका थिए भने, स्थानीय कलाकारहरुको जोडदार प्रस्तुतिहरुले कार्यक्रमलाई थप वजसी र मनोरञ्जनात्मक बनाउन सफल भएको थियो। सहभागीहरुले पनि गर्वीलो नेपालीत्व र अपनत्व महसुस गर्दै साँगीतिक माहोलमा भरपूर मनोरञ्जन लिएका थिए।

    कार्यक्रमको अर्को आकर्षणको पाटो थियो नेपाली स्वादका परिकारहरु र नेपाल र नेपालीको पहिचान तथा नेपालीपन झल्काउने स्टलहरु। नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरुका ७ वटा, नेपाली पहिचान बोकेका सामानहरुका ६ वटा र संस्थागत ७ गरी कुल २० वटा स्टलहरु राखिएको थियो। त्यसैगरी, बालबालिकाहरुको मनोरञ्जनका लागि एभरेट सिटीको सहयोगमा खेल्ने सामग्रीहरुको पनि प्रबन्ध गरिएको थियो भने, कार्यक्रममा ७ वटा प्रायोजकहरु रहेका थिए।

    जिबिएनसिका सचिव तथा कार्यक्रम संयोजक सोनाम शेर्पाले पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। उल्लेखनीय संख्यामा सहभागीहरुको उत्साहजनक उपस्थितिले कलाकारहरु, स्टल राख्नेहरु, आयोजकहरुलगायत सबैलाई निकै खुशी तुल्याएको बताउदै उनले भने, ‘दिन छोटो लाग्यो। पहिला लामो दिन छ, ६/६ घण्टाको कार्यक्रम कसरी गर्ने होला भन्ने लागेको थियो। अहिले चाही समय छोटो भएको अनुभूति भएको छ। यस आधारमा के भन्न सक्छौं भने-‘यो ‘नेपाल डे’ एकदम सफल भएको छ।’ संयोजक शेर्पाले सम्पन्न कार्यक्रमको समिक्षा गर्दै आगामी वर्षमा अझै राम्रो गर्ने जनाए। उनले कार्यक्रम भव्यताका साथ सफल बनाउन प्रतक्ष्य तथा परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।

    जिबिएनसिले समरभिल सिटिको साथमा सन् २०१२ बाट ‘नेपाल उत्सव’ मनाउन सुरु गरेको थियो। बिचमा विविध कारणले रोकिएको कार्यक्रम सन् २०१७ मा दोस्रो र सन् २०१९ मा तेस्रो ‘नेपाल उत्सव’ मनाइएको थियो। सन् २०१९ पछि भने विश्वव्यापि कोरोना कहरका कारण बृहत् रुपमा आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि गत वर्ष चौथो ‘नेपाल उत्सव’ मनाइएको थियो। यस वर्ष भने कार्यक्रम स्थल र नाममा परिवर्तन गरि एभरेट सिटिसंगको सहकार्यमा खुला मैदानमा बृहत ‘नेपाल डे’ मनाइएको हो। कार्यक्रममा ४ हजारको सहभागिता रहेको अमुमान गरिएको छ।

  • डेङ्गी संक्रमण ७४ जिल्लामा फैलियो, १० हजार भन्दा बढी संक्रमित

    डेङ्गी संक्रमण ७४ जिल्लामा फैलियो, १० हजार भन्दा बढी संक्रमित

    काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ ।

    अहिलेसम्म ७ जनाले ज्यान गुमाएका तथ्याङ्क छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गी सङ्क्रमण बढिरहेको बताए । उनका अनुसार डेङ्गी सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा निक्कै उच्च हुने बताए ।

    सन् २०२२ मा नेपालमा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो । यसपालि सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा भेटिएका छन् । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेङ्गी सङ्क्रमण भएको छ ।

    पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्ने र ती फुलबाट लार्भा निस्कन्छन् । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ । कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बाग्मती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ जना, सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ ।

    सुनसरीपछि मोरङमा एक हजार तीन सय ४४, धादिङमा एक हजार २७ जना, कास्कीमा दुई सय २५ जना, धनकुटामा दुई सय २३, दार्चुलामा एक सय ९२ जना, झापामा एक सय ८२, काठमाण्डौमा एक सय ५१, सङ्खुवासभामा एक सय ४८ जना र तनहुँमा ७९ जना बिरामी भेटिएका छन् ।

    नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन पनि मन्त्रालयको आग्रह छ ।

  • पठाओले अब सामान समेत ढुवानी गर्ने

    पठाओले अब सामान समेत ढुवानी गर्ने

    काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले सामानको ढुवानी सेवा पनि सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्र कतै सामान पुर्‍याउनका लागि बुधबारदेखि पार्सल सेवा सुरु गरिएको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । ‘पठाओको मोबाइल एपमार्फत नै यो सेवा लिन सकिन्छ’ उनले भने ‘पार्सल सेवाका लागि पठाओका राइडरहरु परिचालन हुनेछन् ।’ पार्सल सेवा पनि राइड सेयरिङ सेवाजस्तै छिटोछरितो र सुरक्षित हुने थापाको दाबी छ ।

    ‘पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन्’ उनले भने ‘सामानहरू पार्सल गर्दा केही हानी, नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुनेछ ।’ चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिने कम्पनीले जनाएको छ ।

    यसअघि बाइक, कार लाइट ९ट्याक्सी०, पठाओ बजार र पठाओ फुडको सेवा दिँदै आएको यसले पार्सलको सुविधा विस्तार गरेको जनाएको छ । बार्गेनिङको झन्झट नहुने, चोकसम्म यातायात खोज्न जान नपर्ने, गेटदेखि गेटसम्म सेवा पाइने, डिजिटल भुक्तानी गर्न मिल्ने, यात्राको समयमा लाइभ ट्रयाकिङको व्यवस्था हुने, १० लाख रुपैयाँसम्मको बीमा सुविधा पठाओमा रहेको थापाले बताए ।

  • विदेशमा कामदार अलपत्र परेपछि दुई म्यानपावरको इजाजत रद्द

    विदेशमा कामदार अलपत्र परेपछि दुई म्यानपावरको इजाजत रद्द

    काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम करार बमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।

    पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि उनीहरुको इजाजतपत्र नै खारेज गरिएको हो।

    विभागले एक सूचना प्रकाशित गरी डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्तिबापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराई वा क्षतिपूर्ति भराई एक लाख जरिवाना गर्ने र इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ। युएई गएका १७ जना बाइक राइडरले आफूहरुले सम्झौताअनुसार काम नपाएको भन्दै विभागमा उजुरी दिएको विभागले जनाएको छ।

  • वन संरक्षणमा नेपाल सफल मुलुक हो : प्रधानमन्त्री

    वन संरक्षणमा नेपाल सफल मुलुक हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुदायिक वन कार्यक्रम वन विनाशलाई रोक्दै वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा सफल देखिएको बताएका छन्। उनले वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी स्थानीय उपभोक्ताहरूलाई नै सुम्पनु पर्छ भन्ने अवधारणाका साथ चार दशक अघि सुरु भएको सामुदायिक वन कार्यक्रम आज नेपालमा मात्र नभइ विश्वभर नै नमूना कार्यक्रमको रूपमा परिचित भएको छ।

    सामुदायिक वन दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध जनसमुदायको अपनत्व र प्रतिवद्धता, नेपाल सरकारले लागू गरेको प्रगतिशील नीति, संस्थागत सुप्रबन्ध र कानूनी प्रावधानको कारण उक्त कार्यक्रम सफल भएको बताएका हुन्।

    उनले सामुदायिक वन क्षेत्रमा रहेका नीतिगत, संस्थागत तथा प्रक्रियागत समस्याहरूलाई सरोकारवालाहरूको समन्वय र सहकार्यमा समाधान गर्दै सामुदायिक वन व्यवस्थापनमा सुशासन, सम्वृद्धि र सामाजिक न्यायको प्रत्याभूति गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।

    ‘वनक्षेत्र नेपालको तुलनात्मक तथा प्रतिस्पर्धी लाभको क्षेत्र हो वनको बहुउपयोगी प्रयोग, दिगो व्यवस्थापन र वनजन्य पदार्थको संरक्षण, उत्पादन, प्रवर्द्धन र विविधीकरण मार्फत देशको समृद्धिमा ठूलो योगदान पुग्ने देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘त्यसैगरी, सामुदायिक वनको व्यवस्थापन र सदुपयोगबाट प्राकृतिक श्रोतमा आधारित गरिब, दलित, जनजाति र अन्य सीमान्तकृत जनताको आयआर्जन र रोजगारी वृद्धि गर्न आवश्यक छ।’

  • वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढ्ने

    वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढ्ने

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    क्षतिपूर्ति रकमलाई समसामयिक बनाउनु पर्छ भनेर यस वर्ष बजेट विनियोजन भएको भन्दै मन्त्रालयले अब कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने तयारी गरेको हो । अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यसलाई वृद्धि गर्ने तयारी सरकारले गरेको हो ।

    मन्त्रालयका अनुसार क्षतिपूर्ति रकम बढाएर ९, १० वा १२ लाख कति पुर्‍याउने भन्ने बारे कार्यविधिले नै तोक्ने भएको छ । मन्त्रालयका अनुसार यसै कार्यविधिले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने श्रमिकका सन्ततिले पाउने छात्रवृत्ति रकमलाई समेत वृद्धि गर्ने भएको छ । सरकारले शिशु कक्षादेखि कक्षा १२ सम्म पढ्न छात्रवृत्ति दिने गरेको छ ।

    अहिले ८ कक्षासम्मको अध्ययनका लागि वार्षिक ८ हजार रुपैयाँ छात्रवृत्ति दिइन्छ । ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीले भने वार्षिक १२ हजार रुपैयाँ पाउँदै आएका छन् । यो रकम समेत कति पुग्ने भन्ने बारे कार्यविधिले तोक्ने भएको छ । मृतक परिवारले पाउने क्षतिपूर्ति रकमसँगै विदेशमा पुगेर अङ्‍गभङ्‍ग भएर फर्कने, दुःख पाएर फर्कने र अवैधानिक रुपमा पुगेर दुःख पाएका श्रमिकलाई समेत क्षतिपूर्ति उपलब्ध गराउने गरी कार्यविधि बन्ने छ ।

    सरकारले श्रमिकको हितका लागि क्रियासिल कोषहरुलाई समेत अब एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ । रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा गरी अहिले श्रमिकका लागि तीन वटा कोषबाट क्षतिपूर्ति रकम प्रदान गरिँदै आएको छ । अब यी तीन वटै कोषलाई एकीकृत गरी लैजाने गरी गृहकार्य भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

  • ललितानिवास प्रकरणः पक्राउ परेकालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

    ललितानिवास प्रकरणः पक्राउ परेकालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौं । ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप सात दिन प्रहरीको हिरासतमा राख्न अनुमति दिएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई थप ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

    बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

  • पशुपतिनाथ मन्दिरमा नवनियुक्त भट्ट अडिगाको प्रवेश

    पशुपतिनाथ मन्दिरमा नवनियुक्त भट्ट अडिगाको प्रवेश

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रूपमा पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गराएको छ । विधिवत् रूपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूलभट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेका कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

    नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका विभिन्न देवीदेवताको विधिअनुसार दर्शन र परिक्रमा गरी मन्दिर प्रवेश गरेका हुन् ।

    नियुक्तिपछि भट्ट अडिगा पाँच दिनसम्म पहिले बम्बै ढुकुटी घर भएको स्थान हाल श्रीकृष्ण मन्दिरसँगै गुप्तवास बसेका थिए । मूलभट्ट संयोजकत्वको विद्वत् परिषद्को सिफारिसमा भट्ट अडिगालाई पशुपति क्षेत्र विकास कोषले अनुमोदन गरेको थियो ।

    दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रूपमा नियुक्त भएको कोषका प्रवक्ता एवं कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

    यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । राजीनामा दिएको चार महिनामा प्रशासनिकलगायत प्रक्रिया पूरा गरी अडिगालाई दक्षिण मुहारको पुजारीका रूपमा नियुक्त गरिएको हो । रासस

  • संसद्‍मा एमालेको अवरोध, बैठक २६ गतेसम्मलाई स्थगित

    संसद्‍मा एमालेको अवरोध, बैठक २६ गतेसम्मलाई स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालले बुधबार पनि संसद्‍मा अवरोध जारी राखेको छ।

    गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चसरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो।

    बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको विरोध जनाए ।

    सभामुखले थापालाई समय सकिएको बताएपछि एमालेका अरू सदस्यहरू उठेर नाराबाजी गर्दै बेल घेर्न पुगे ।

    त्यसपछि सभामुख घिमिरेले बुधबारका निर्धारित कार्यक्रमका सूची हटाएर शुक्रबार दिउँसो २ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्।

    मंगलबार संसद्‍मा जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल उच्चस्तरीय समिति बनाउन नसकिने जवाफ दिएका थिए।

    तर गृहमन्त्रीको जवाफमा चित्त नबुझाएको एमालेले बुधबार पनि अन्तिममा संसद्‍मा अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए।

  • संखुवासभा कारागारका दुई कैदीको शंकास्पद मृत्यु

    संखुवासभा कारागारका दुई कैदीको शंकास्पद मृत्यु

    काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको छ।

    बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामीको उपचारका क्रममा मृत्यु भएको हो।

    बिहान २ बजे जेलबाट भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनको जिम्मा लगाएको थियो।

    प्रहरीले नियन्त्रणमा लिएपछि फेरि कारागार पुर्‍याइएको थियो । तर, कारागार पुगेपछि भने उनीहरु अचेत भएका थिए ।

    बिनोद जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका कैदी हुन् भने आकाश चोरी मुद्दामा जेल परेका थिए ।

  • महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोकेर मृत्यु

    महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोकेर मृत्यु

    काठमाडौं । सर्पले टोकेर बैतडीमा महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको मृत्यु भएको छ।

    मंगलबार राति साढे १२ बजेतिर पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।

    घरमा एक्लै सुतेकी चन्दले राति सर्पले टोकेको भनेर चिच्याएपछि छिमेकीहरू पुगेका थिए। अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो। ४ दिनदेखि उनी गाइ–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्।

    आँगनमा रोइकराइ गरिरहेकी किशोरीकी आमा बदेलले मकै खाने भएर पहरा दिन २० मिनेट जति टाढाको खेतमा गएकी थिइन्। किशोरीका बुवा र एक जना दाजु भारतमा छन्। अर्का दाजु एक जना महेन्द्रनगरमा पढाई गर्न गएका छन्।

    अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्।

    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा अहिले पनि महिला तथा किशोरीहरु गोठमा सुत्ने गर्छन्।

    पञ्चेश्वर–४ का कर्मचारी चन्दका अनुसार पहिलेको तुलनामा महिनावारी भएको बेला गोठमा सुत्ने ‘प्रथा’ अहिले कम भएको छ। तर केही परिवारका महिला भने देवी–देउताको डरले अहिले पनि महिनावारी हुँदा गोठमै सुत्ने गरेका छन्।

  • कोरोना महामारीपछि पहिलो पटक गाइजात्रा महोत्सव हुने

    कोरोना महामारीपछि पहिलो पटक गाइजात्रा महोत्सव हुने

    काठमाडौं । कोरोना महामारीपछिको पहिलो गाईजात्रा कमलादीस्थित प्रज्ञाभवनमा आयोजना हुने भएको छ । भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुने उक्त गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ुचिप्लेटी अंकलु, सीता न्यौपाने, राधिका कंडेल, दीपकप्रसाद आचार्य काकु, प्रभात लामा, रुबिना अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।

    यस वर्ष उपत्यका बाहिर पनि ु८० सालको गाईजात्राु आयोजना हुनेछ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । सधैं झैं यस पटक पनि रंगमञ्चसँगै टेलिभिजनमा पनि डिजिटल गाईजात्रा प्रसारण हुने बताइएको छ । अहिले ७ एपिसोडमा प्रसारण हुने डिजिटल गाईजात्रा अको पोस्ट प्रोडक्सन सकेर कलाकारहरू रङ्गमञ्चमा हुने ८० सालको गाईजात्रा को तयारीमा व्यस्त छन् ।

  • टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए, खरीद नगर्न अनुरोध

    टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए, खरीद नगर्न अनुरोध

    काठमाडौं । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।

  • युक्रेनी राष्ट्रपतिको हत्याको योजना बनाउने महिला पक्राउ

    युक्रेनी राष्ट्रपतिको हत्याको योजना बनाउने महिला पक्राउ

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्‌यन्त्रमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरिएको युक्रेनको सुरक्षा निकायले जनाएको छ। ती महिलाले गत जुन महिनामा बाढी प्रभावित क्षेत्र माइकोलाइभको भ्रमण गर्नुअघि जेलेन्स्कीको यात्रा कार्यक्रम पत्ता लगाउने प्रयास गरेको उक्त सेवाले जनाएको छ।

    युक्रेनले रुसलाई समर्थन गर्ने आफ्ना नागरिकलाई मस्कोको सेनालाई सहयोग गर्न सूचना प्रवाह गरेको आरोप लगाउँदै आएको छ। जेलेन्स्कीले एसबीयूका प्रमुखले आफूलाई “धोकेबाज विरुद्धको लडाइँ”बारे खबर गरेको भन्दै ती महिलाको गिरफ्तारीबारे आफूलाई जानकारी दिइएको पुष्टि गरेका छन्। रुसले यस गिरफ्तारीबारे कुनै टिप्पणी गरेको छैन।

    युक्रेनको सुरक्षा सेवासम्बन्धी निकाय एसबीयूले एक विज्ञप्ति जारी गर्दै ती महिलालाई रुसीहरूलाई गुप्तचरी सूचना दिन खोज्दा “रङ्गेहात” पक्राउ गरिएको जनाएको छ। ती महिलाले दक्षिणी माइकोलाइभ क्षेत्रमा जेलेन्स्कीको भ्रमणअघि नै त्यहाँको यात्रा योजना पत्ता लगाउन गुप्तचर सूचना सङ्कलन गर्ने प्रयास गरेको उनीहरूको आरोप छ। उनीहरूले एसबीयूको भान्सामा उभिएकी सन्दिग्धको मुखौटोसहितको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा ती महिला र सँगै उभिएका अधिकारीहरूलाई प्रस्ट देखिँदैन।

    जेलेन्स्कीले कखोभ्का बाँध भत्किँदा भएको क्षति निरीक्षणका लागि गत जुन महिनामा माइकोलाइभको भ्रमण गरेका थिए। त्यसपछि जुलाईमा रुसको भारी गोलाबारीपछि उनी त्यहाँ पुगेका थिए।

    सुरक्षा सेवा निकायले भ्रमणअघि नै आफू उक्त षडयन्त्रबारे जानकार रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ। उक्त निकायले रुसले “माइकोलाइभ क्षेत्रमा ठूलो हवाई आक्रमणको योजना बनाइरहेको” र सन्दिग्ध महिलाले उनीहरूलाई युद्ध गतिविधिबारे विद्युतीय प्रणाली तथा गोला बारुदसहितको गोदामका बारेमा जानकारी दिन खोजेको आरोप लगाइएको छ।

    एसबीयूका अनुसार सन्दिग्ध महिला ओचाकिएभ नामक सानो सहरकी बासिन्दा हुन् जहाँ जेलेन्स्कीले गत जुलाईमा भ्रमण गरेका थिए। उनी त्यहाँको एक सैन्य अखडामा रहेको पसलमा काम गर्थिन्।

    भ्रमणका क्रममा एसबीयूले सन्दिग्धलाई पक्राउ नगरी युक्रेनी राष्ट्रपतिमाथि हुनसक्ने आक्रमण रोक्ने उपाय अपनाएको बुझिएको छ। एसबीयूका अनुसार उसका केही प्रतिनिधिहरूले भ्रमणपछि ती महिलाको गतिविधि तथा रुसी पक्षबाट प्राप्त गरेका ुजिम्मेवारीहरूुबारे थप जानकारी लिन उनलाई पछ्याए। विज्ञप्तिमा सन्दिग्धले उक्त क्षेत्रमा गाडी चलाएको र युक्रेनी सैन्य सुविधाको फोटो तथा भिडिओ खिचेको जनाइएको छ।

    उनीमाथि हतियार र सैनिकको गतिविधिबारे अनधिकृत रूपमा सूचना सम्प्रेषण गरेको आरोप लाग्ने अनुमान गरिएको छ। दोषी ठहर भएको खण्डमा उनलाई १२ वर्षसम्म जेल सजाय हुन सक्छ। युक्रेनी सुरक्षा बलले रुसी हवाई आक्रमणको लक्ष्य पत्ता लगाउन मद्दत गर्ने कथित रुसी एजेन्टहरूलाई धेरै पटक गिरफ्तार गरेको छ।
    बीबीसी

  • इमरान खानलाई ५ वर्षसम्म निर्वाचन लड्न रोक

    इमरान खानलाई ५ वर्षसम्म निर्वाचन लड्न रोक

    कराची । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । इमरान खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले ५ अगस्टमा तीन वर्षको जेल सजायँ तोकेको छ । उनी हाल जेलमा छन् ।

    पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका नेता इमरान खान सन् २०१८ को मेमा प्रधानमन्त्री बनेका थिए । उनी विरुद्ध संसदले अविश्वास प्रस्ताव पारित गरेपछि १० अप्रिल २०२२ मा प्रधानमन्त्री पदबाट मुक्त भएका थिए । हाल पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरिफ छन् । शहबाज सत्तामा आएपछि इमरान खानविरुद्ध १०० भन्दा बढी आरोपमा मुद्दा दायर भएको छ । तर खानले आफूमाथि लागेका आरोपहरुको खण्डन गर्दै ती सबै राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।

  • आँखा पाक्ने रोग फैलिएपछि पोखरामा तीन दिन विद्यालय बन्द

    आँखा पाक्ने रोग फैलिएपछि पोखरामा तीन दिन विद्यालय बन्द

    काठमाडौं । आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’को संक्रमणले बालबालिकाहरुमा फैलिँदै गएपछि पोखराका सबै विद्यालय ३ दिन बन्द गरिने भएको छ । पोखरा महानगरले पालिकाले मंगलबार पोखराका संस्थागत तथा सामुदायिक विद्यालय बुधबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।
    पोखराभित्र २४३ संस्थागत र २०३ विद्यालय सामुदायिक छन् ।

    कास्कीका जिल्ला प्रशासन कार्यालय, पोखरा महानगर, निजी तथा सामुदायिक विद्यालय, यससँग सम्बन्धित संस्था अभिभावकसँगको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो । पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले शुक्रबारसम्म विद्यालय बन्द गर्दा र भोलिपल्ट शनिबार पनि परेकाले ४ दिनसम्म हेर्ने र त्यति हुँदा पनि संक्रमण फैलिए फेरि अर्को निर्णय गर्ने जानकारी दिए ।

  • एमालेले भन्यो – ‘सुन तस्करीको छानबिन समिति चाहिन्छ/चाहिन्न भोटिङ गरौं ‘

    एमालेले भन्यो – ‘सुन तस्करीको छानबिन समिति चाहिन्छ/चाहिन्न भोटिङ गरौं ‘

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउन सभामुखसमक्ष माग गरेको छ।

    मंगलबारको संसदमा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सबै माननीयहरूले उच्चस्तरीय छानविन समिति चाहेको बताए। उनले लेखा समितिको बैठकले पनि छानविन समिति गठनका लागि सरकारलाई ध्यानाकर्षण जनाएको भन्दै संसदमा डबल स्ट्यान्डर्ड व्यवहार नगर्न आग्रह गरे।

    उनले छानविन समिति गठनका लागि भोटिङ गराउन मागसमेत गरे। ‘कुनै पनि पार्टीले ह्वीप नलाऔं। सभामुखलाई आग्रह गर्न चाहन्छु, छानविन समिति बनाउन भोटिङ गराउनुस्। यदि कसैले नचाहेको रहेछ भने एमालेको आन्दोलन स्थगित गरिदिन्छौं,’ उनले भने।

  • महावीर पुनलाई विभूषण लिलामीमा नराख्न सरकारको पत्र

    महावीर पुनलाई विभूषण लिलामीमा नराख्न सरकारको पत्र

    काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न चेतावनी दिएको छ । गृहको विभूषण तथा सभा समारोह शाखाले उनलाई पत्रमार्फत विभूषण लिलामीमा राखे रद्द गरिने चेतावनी दिएको हो । मन्त्रालयले पठाएको पत्रमा सामाजिक सञ्जालबाट लिलामीबारे जानकारी पाएको उल्लेख छ । महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।

  • संसद अवरोध खोल्न एमाले सहमत, सुन तस्करीबारे गृहमन्त्रीले जवाफ दिने

    संसद अवरोध खोल्न एमाले सहमत, सुन तस्करीबारे गृहमन्त्रीले जवाफ दिने

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो ।

    गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरेर पुनः सदन अवरोध गर्ने तयारी एमालेको छ ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।

    सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ।

  • इटालीमा पानी जहाज डुब्दा कम्तिमा ३० जना आप्रवासी वेपत्ता

    इटालीमा पानी जहाज डुब्दा कम्तिमा ३० जना आप्रवासी वेपत्ता

    काठमाडौं । इटालीको लाम्पेडुसा टापुमा दुई जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फैक्स बन्दरगाहबाट छुटेको ती जहाजमा आप्रवासी सवार थिए ।

    संयुक्त राष्ट्रसंघको आप्रवासी एजेन्सीका अनुसार एउटा जहाजमा ४८ र अर्कोमा ४२ जना चढेका थिए । इटालीको सुरक्षाकर्मीले एक महिला र एक वर्षीय बालकको शव फेला परेका छन् । उनीहरूले ५७ जना आप्रवासीको उद्धार पनि गरेका छन् ।

    सुरक्षाकर्मीले जहाजको टुक्राको अनुसन्धान गरिरहेको बताएका छन् । मानव तस्करलाई समुद्रको खराब मौसमको पूर्वानुमानबारे जारी सूचना थाहा भए पनि उनीहरूले सुरक्षा अधिकारीलाई झुक्याउन जहाज अघि बढाएको इटालीका सुरक्षा अधिकारीहरूको भनाइ छ ।

  • आज कहाँ छ धेरै बाढी र पहिरोको जोखिम ?

    आज कहाँ छ धेरै बाढी र पहिरोको जोखिम ?

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ । बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेको छ ।

    विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ ।

    त्यस्तै, बाँके, बर्दिया, दाङ, सिन्धुली, मकवानपुर, बारा, धनुषा, सर्लाही, चितवनमा ठूलो पानी परेको छ । ललितपुरको खोकना क्षेत्रमा पनि बाढीको जोखिम रहेको छ भने बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ । रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन र सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बर्दियाको बबई नदीको चेपाङ, बाढीमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । बबई तटीय क्षेत्रमा आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।

    त्यस्तै, सिन्धुलीको कमला नदी, रानीबासको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पनि तल्लो तटीय तथा डुबान हुने क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ । दाङको लमही, भालुबाङ, कुसुम र आसपास पनि ठूलो पानी परेको छ । पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले राप्ती र यसका सहायक नदीमा बाढीको जोखिम छ ।

    बाँकेको कुसुम वर्षा मापन केन्द्रमा ठूलो वर्षा मापन भएको छ । त्यस क्षेत्र भइ बहने स–साना खहरे खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम उच्च छ ।

    त्यस्तै,कञ्चनपुर र कैलालीको धेरै ठाउँमा पानी परेको छ । कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रङ्घुन, पन्टुरालगायत साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा सतर्कता अपनाउन भनिएको छ । बाराको कलैया, सिमरा, निजगढ, रौतहटको गरुडा र आसपास पनि भारी वर्षा मापन भएको छ ।

    बकैया नदी, जमनी नदी, पसाह नदी र अन्य नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । आज दिनभरी नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

  • बनेपा बजार पनि डुबानमा

    बनेपा बजार पनि डुबानमा

    काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण बनेपाको पुल बजार डुबानमा परेको छ । डुबानका कारण बिहान केहीबेर अरनिको राजमार्ग हुँदै चल्ने गाडीहरु रोकिएका थिए ।

    अहिले भने पानीलाई निकास दिएर गाडी चलाउन थालिएको प्रहरीले जनाएको छ । हरेक वर्षको बर्खामा काभ्रे, बनेपाको पुल बजार डुबानमा पर्ने गरेको छ । पुण्यमती खोलामा आएको बाढीले हरेक वर्ष डुबान गर्ने गरेको छ ।

  • काठमाडौंमा अपरान्ह ११ बजेसम्म नदी किनारमा बाढीको जोखिम

    काठमाडौंमा अपरान्ह ११ बजेसम्म नदी किनारमा बाढीको जोखिम

    काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ । बाढीको सतह सतर्कताको तहसम्म पुगेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • काठमाडौंका नदीहरुमा बाढी, शहरी क्षेत्र डुबानमा

    काठमाडौंका नदीहरुमा बाढी, शहरी क्षेत्र डुबानमा

    आज रातभर आएको वर्षातकाकारण काठमाडौंका नदीहरुमा बाढी आएको छ । यसले शहरी इलाका नै डुबानमा परेका छन् । काठमाडौं उपत्यकाका विष्णुमती, बागमती, धोबीखोला, मनोहरा, हनुमन्तेसहितका खोलाहरु उर्लिएका छन् ।

    यसले नदी किनारको शहरी इलाका डुबानमा परेको छ । घरहरु डुबेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आह्वान गरेको छ । आज काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट क्षेत्र आसपास भारी वर्षा मापन भएको छ ।

  • अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    अविरल वर्षाका कारण आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणग-(मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ ।

    पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ ।

  • संसद बैठक भोलि ३ बजेसम्मलाई स्थगित

    संसद बैठक भोलि ३ बजेसम्मलाई स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

    संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।

    त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक क्विन्टल सुन प्रकरणमा प्रमसख प्रतिपक्षी नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति माग गरिरहेको छ । सत्तारुढ दलहरु सरकारले जारी राखेको अनुसन्धान एउटा टुंगोमा नपुगी अर्को समिति बनाउन तयार भएका छैनन् । यही विषयमा कुरा नमिल्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रभावित हुँदै आएको छ ।

  • डेंगु प्रकोप : ७ हजार ७ सय ३३ मा संक्रमण, ७ जनाको मृत्यु

    डेंगु प्रकोप : ७ हजार ७ सय ३३ मा संक्रमण, ७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

    स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए।

    सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताउँदै ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए।

    सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने भन्दै उनले हालसम्म ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

    ‘गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरु रिपोर्टेड भएका थिए। जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ। समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो। निजि स्वास्थ्य संस्थाको रेकर्ड हामीसँग नभएको हुन सक्छ,’ उनले भने, ‘डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो। विभिन्न समयमा यसले महामारीको रुप लिने गरेको छ। सन् २०१९ र सन् २०२२ मा महामारीको रुप लिएको थियो। यस वर्ष हामी सचेत हुनुपर्ने कारण केछ भने जनवरी १ देखि अगष्ट ६ सम्म सात हजार सात सय ३३ केस रिपोर्ट भइसकेको छ।’

    सबैभन्दा बढि केस सुनसरीबाट रिपोर्ट प्राप्त भएको पनि उनले बताए।

    ‘सुनसरीको पनि खास गरी धरान उपमहानगरपालिकामा संक्रमित धेरै छन्। जुलाईमा धेरै केस देखिन्छ। यस्तै सात जनाको मृत्युु भएको छ। जतिपनि बिरामीको मृत्यु भएको छ डेंगीले मात्रै मृत्युु भएको छैन,’ उनले अघि भने, ‘आइसोलेटेड डेंगीका कारण मृत्यु भएको छैन। कतिपय बिरामीहरू किड्नीका हुनुहुन्थ्यो। कतिपयले डायलायसीस गराइरहनुभएको थियो। कतिपय बिरामी सुुगरको हुनुहुन्थ्यो।’

    स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा नि:शुल्क हुने गरेको पनि बताए। डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

    ‘डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमा हुन्छ। र, यो निशुल्क उपलब्ध हुन्छ। डेंगु लागेको शंका लागेमा टेष्ट गर्नुपर्ने हो। टेष्टमा शुुल्कको एकरुपताका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ,’ उनले भने, ‘प्राइभेट अस्पतालहरुसँग पनि समन्वय गरेर टेष्टमा एकरुपता ल्याउने कोसीसमा छौं। कहिँ पाँच सयपचास रुपैंया कहिँ नौ सय रुपैंया पनि छ। नेपाल सरकारका केही अस्पतालमा डेंगुलागेको शंका लागेमा गर्नुपर्र्ने टेष्ट केहि निशुल्क पनि गरिरहेका छौं।’

    शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए। उनले डेंगुबाट बच्न लार्भा खोजर नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए।

    ‘डेंगुका चार वटा सेरोटाइपमध्ये कुनै एउटा सेरोटाइपले इन्फेक्सन गर्‍यो भने कमसेकम पनि १८ महिनादेखि २ वर्षसम्म अर्को सेरोटाइपले इन्फेक्सन गर्दैन। डेंगीलागेपनि गम्भीर नभएसम्म अस्पतालमा नआएको देखिएको छ,’ उनले भने, ‘डेंगुका गम्भीर बिरामी मात्रै अस्पतालमा आएकाले बिरामीको चाप कम देखिएको हुनसक्छ। डेंगी उल्लेख्य रुपमा बढेको छैन।’

    नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो।

  • तीन दलभित्रै समेटियो संसदीय समिति सभापतिको भागबण्डा, रास्वपा र राप्रपाले पाएनन् नेतृत्व

    तीन दलभित्रै समेटियो संसदीय समिति सभापतिको भागबण्डा, रास्वपा र राप्रपाले पाएनन् नेतृत्व

    काठमाडौं । दलहरूबीच संसदीय समितिको भागबण्डा मिलाएको छ । सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूले संसदीय समितिको भागबण्डा टुंगो लगाएका हुन् ।

    जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ ।

    तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने संसदीय समिति सभापति नपाउने भएका छन् । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० र राप्रपाका १४ सांसद छन्।

    प्रारम्भिक सहमति अनुसार नेपाली कांग्रेसले अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्य व्यवस्था समिति पाउने छ । त्यस्तै लेखा, महिला र राज्यका निर्देशक सिद्धान्त समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाउने सहमति छ ।

    त्यस्तै विकास र कानुन समिति माओवादी केन्द्रले पाउने छ भने अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले पाउने सहमति भएको छ । त्यस्तै उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउने छ । थप समितिको बारेमा नेताहरूबीच छलफल भइरहेको छ ।