Category: समाचार

  • ‘सुन काण्डमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन’

    ‘सुन काण्डमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन’

    काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा राजस्व विभागले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारेको छ ।

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको बताइन् । प्रवक्ता शर्माले सरकारकै अग्रसरतामा सुन पक्राउ गरिएको भन्दै विभागले गरिरहेको अनुन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गरिन् ।

    उनले सरकार यस घटनाको जरासम्म पुग्न लागेकाले उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले नदेखेको बताइन् ।

    राज्यको एउटा निकायले छानबिन गरिरहेकै अवस्थामा अर्को समिति बनाउँदा छानबिन प्रभावित हुन सक्ने उनको भनाइ छ ।

  • सहकारी पीडितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

    सहकारी पीडितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

    काठमाडौं । लामो समयदेखि माइतीघर मण्डलमा आन्दोलनरत सहकारीबाट पीडितहरुले सडक प्रदर्शनसमेत थालेका छन् ।

    काठमाडौंमा विभिन्न स्थानबाट आएका पीडितहरु विभिन्न नारा लगाएका प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन् ।

    बिजुलीबजारको आर्क ब्रिजमा सहकारीपीडितले सडक अवरुद्ध गर्न खोज्दा प्रहरी र पीडितबीच धकेलाधकेल भएको छ । जसमा १०/१५ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर भएको र अस्पताल लगिएको छ ।

    उनीहरुले सहकारीमा आफूहरुले राखेको वचत फिर्ता गराउन सरकारले पहल गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

  • काठमाडौं महानगरले भन्यो-‘ मापदण्ड विपरितका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्र हटाउनू’

    काठमाडौं महानगरले भन्यो-‘ मापदण्ड विपरितका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्र हटाउनू’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै मापदण्ड विपरित राखिएका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्रमा हटाउन आग्रह गरेको छ ।

    महानगरपालिकाभित्र डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाले काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका, २०७९ को परिच्छेद २ को दफा ३ को व्यवस्था अनुसार महानगरपालिका क्षेत्रभित्र घरजग्गा, जग्गा वा बाह्य विज्ञापन योग्य अन्य संरचनाको स्वामित्व वा लिजमा लिएको भोगाधिकार प्राप्त व्यक्तिले त्यस्तो घरजग्गा,जग्गा वा अन्य भौतिक संरचनामा कुनै वस्तु तथा सेवाको प्रचारप्रसार गर्न सूचना प्रकाशित भएको ३५ दिनभित्र कार्यालयमा तोकिएको ढाँचामा निवेदन पेस गर्नु सूचना जारी गरेको छ ।

  • छात्रवृत्तिका विद्यार्थीका लागि तोकियो परीक्षा केन्द्र, प्रवेश पत्र अनलाइनबाटै

    छात्रवृत्तिका विद्यार्थीका लागि तोकियो परीक्षा केन्द्र, प्रवेश पत्र अनलाइनबाटै

    काठमाडौं । कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले १५ वटा परीक्षा केन्द्र तोकेकाे छ । महानगरले भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा. वि. बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मा. वि. कुलेश्वरमा परीक्षा केन्द्र तोकेको हाे ।

    यस्तै पद्मकन्या विद्याश्रम मा. वि., डिल्लीबजार, पद्मोदय मा. वि. रामशाहपथ, पशुपति मित्र मा. वि. चावहिल, रत्नराज्य मा. वि. बानेश्वर, सहिद शुक्र मा. वि. बागबजार, संस्कृति मा. वि. रानीपोखरी, शान्ति शिक्षा मन्दिर मा. वि. ठँहिटी, सिद्धेश्वर मा. वि. शान्तिनगर ताेकिएका छन् ।

    छात्रवृत्तिकाे लागि परीक्षा दिने विद्यार्थीको संख्या ६ हजार १७ जना रहेको जनाइएकाे छ । यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि ४ हजार १५५ जना छन् । त्यसपछि व्यवस्थापनमा १ हजार ४८४ जना र प्राविधिक विषयका लागि २४५ जना छन् ।

    सबैभन्दा थोरै मानविकी विषयका लागि १८ जना छन् । शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थी छन् । यी ३ वटै विषयका विद्यार्थीहरुको परीक्षा केन्द्र कुलेश्वर मा. वि., कुलेश्वरमा राखिएको छ ।

    साउन २० गते शनिवार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि आजदेखि विद्यार्थीहरुले प्रवेश पत्र लिन सक्नेछन् ।

  • बारुला खाँदा ८ जना गम्भीर बिरामी

    बारुला खाँदा ८ जना गम्भीर बिरामी

    काठमाडौं । विभिन्न जिल्लाबाट मनाङ आएर ज्याला मजदुरी गरेका ८ जना मजदुर बारुला पोलेर खाँदा गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् ।

    बिरामी हुनेहरूमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४४ वर्षीय दलबहादुर आले मगर, ४३ वर्षीय टेकबहादुर सुनार, ३८ वर्षीय महलमान थापा मगर, ४० वर्षीय गुञ्जमान थापा, गोरखा पालुङटार नगरपालिकाका–८ का ३८ वर्षीय सेते तामाङ, उदयपुर कटारी नगरपालिका–८ की ४७ वर्षीया लीला तामाङ, धादिङ रुविभ्याली गाउँपालिका–५ का ४४ वर्षीय प्रेमबहादुर घले र रोल्पा थवाङ गाउँपालिका–२, फुन्तिवाङ घर भई नार्पाभूमि गाउँपालिका–२ छ्याज्यामा होटेल व्यावसाय गरी बस्ने ४७ वर्षीया रामसरी बुढा रहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले जानकारी दिएका छन् ।

    भुईँ बारुला पोलेर खाएका उनीहरूलाई रातिदेखि मुटु, छाती तथा जिउ पोल्न थालेपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको छ । सबै बिरामी अचेत अवस्थामा छन् ।

  • काठमाडौंमा छुटेकाहरुलाई कोभिड खोप दिन अभियान चलाइने

    काठमाडौंमा छुटेकाहरुलाई कोभिड खोप दिन अभियान चलाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन २१ गते आइतवारदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । यस अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो।

    कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ। यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिए ।

    खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताए । उनका अनुसार बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आकलन गरेर नागरिकको बचावटको लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    अहिले कोभिडको सङ्क्रमणका बारेमा मानिसले खासै कुरा गरेका छैनन् । अस्पतालमा कोभिडकै कारण निमोनिया भएका बिरामी आउने गरेका छन् । उनीहरुको उपचार आईसीयूमा राखेर भइरहेको पनि पौडेलले बताए ।

    पटकपटक सञ्चालन गरिएको अभियानमा पनि केही नागरिकले पहिलो मात्रासमेत खोप नलगाएको पाएपछि कामपाले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । केही वाडमा मात्र यस कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको भए पनि क्रमिकरुपमा अन्य वडामा पनि यस कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमले पहिलो मात्रा लगाउनकै लागि छुटेकालाई समेट्ने र दोस्रो, तेस्रो र चौथो मात्रा नलगाउनेका लागि सहज हुनेछ ।

    अहिलेसम्म ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउने ८८ प्रतिशत, तेस्रो मात्रा ४३ प्रतिशत र चौथो मात्रा लगाउने छ प्रतिशत रहेका खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । यस कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि साउन १८ र १९ गते स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण र २० गते शनिवार खोप सञ्चालन हुनेछ ।

  • कुन भेगमा छ आज बढी वर्षाको सम्भावना ?

    कुन भेगमा छ आज बढी वर्षाको सम्भावना ?

    काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ। साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षा तथा कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार राति गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना छ।

    यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय र हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

    रास्वपाको केन्द्रिय समिति बैठक बस्दै

    काठमाडौं । स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको बताइएको छ ।


    रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारी भइरहेको छ । पार्टीले मंसिरमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। आजको बैठकमा यिनै विषयमाथि छलफल हुने बताइएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ३९ सदस्यीय छ। विधानमा १ सय २१ सदस्यीय केन्द्रीय समिति रहने भनिए पनि मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट सदस्य पूर्ति हुन बाँकी रहेको छ। रास्वपाले सांसदहरूलाई पनि केन्द्रीय समितिमा मनोनीत गर्ने तयारी गरेको छ।

    प्रतिनिधि सभामा रहेका ६ जना सांसद मात्रै केन्द्रीय समितिमा छन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, तनहुँ १ बाट निर्वाचित डा स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, शिशिर खनाल, मनिष झालगायत सांसद केन्द्रीय समितिमा छैनन्।

  • माओवादी केन्द्रिय समिति बैठक आज पनि निरन्तर

    माओवादी केन्द्रिय समिति बैठक आज पनि निरन्तर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् । बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए ।

    बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँचरपाँच मिनेट समय दिइएको छ । बैठकमा खासगरी समसामयिक राजनीतिक विषय, विधान सम्मेलन, सरकारको कामकारबाहीको वियमा छलफल भइरहेको छ । केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदसदस्यहरू, आयोगका पदाधिकारी, प्रदेश पदाधिकारी सहभागी भएको बैठकमा पहिलो दिन बुधबार अध्यक्ष प्रचण्डले मौखिम प्रतिवेदन पेस गरेका थिए ।

  • नासाको भोइजर टू यान कहाँ हरायो ?

    नासाको भोइजर टू यान कहाँ हरायो ?

    काठमाडौं । अन्तरिक्षमा अर्बौँ किलोमिटर पर सम्पर्कविहीन भएको भोइजर टू अन्तरिक्षयानबाट सङ्केतहरू प्राप्त गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। गलत निर्देशनका कारण नासाले गत महिनादेखि त्यससँग सम्पर्क गर्न सकेको थिएन। उक्त अन्तरिक्षयान सन् १९७७ देखि अन्तरिक्ष अन्वेषणमा संलग्न छ।

    पृथ्वीबाट पठाइएको गलत निर्देशनका कारण उक्त यानले आफ्नो एन्टेना पृथ्वीबाट ०.२ डिग्रीमा ढल्काएको थियो। फलतः उक्त यानको निर्देशन पालना गर्ने वा पृथ्वीमा डेटा पठाउने क्षमता अवरुद्ध भयो। तर मङ्गलवार आकाश नियमित रूपमा स्क्यान गर्ने क्रममा उक्त यानबाट उत्पन्न सङ्केतहरू भेटिएको नासाले बताएको छ।

    अक्टोबरमा उक्त यान रिसेट हुँदा फेरि सम्पर्क र्स्थापित हुने नासाको आशा छ। भोइजर टू पृथ्वीबाट १९.९ अर्ब किलोमिटरभन्दा पर छ। त्यहाँ उक्त उक्त यान ताराहरूको बीचको भागमा ५५,३४६ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको छ। गत जुलाई २१ यता उक्त यानले कमान्ड लिन वा नासाको ुडीप स्पेस नेटवर्कुलाई डेटा पठाउन सकिरहेको थिएन।

    नासाको उक्त सञ्जालअन्तर्गत संसारभरि ठूला रेडिओ एन्टेनाहरू जडान गरिएको छ। तर भोइजर टूले पृथ्वीमा रहेका कन्ट्रोलरहरूले पठाएको निर्देशन लिइरहेको छैन। सीमित सम्पर्क पुनर्स्थापित भएसँगै अब यसबाट सूचना आदानप्रदान हुने आशा वैज्ञानिकहरूले गरेका छन्। नासाले भोइजर टूले अहिले पनि राम्रो अवस्थामा सङ्केतहरू प्रसारण गरिरहेको जनाएको छ।

    यसअघि सोमवार अस्ट्रेलियाको राजधानी क्यान्बरामा रहेको नासाको एउटा विशाल डिशले विगत ४६ वर्षदेखि काम गरिरहेको भोइजर टूबाट उत्पन्न सङ्केत खोज्ने प्रयास गरेको थियो। सम्पर्क पुनर्स्थापित गर्ने प्रयासमा उक्त एन्टेनाले भोइजर टू भएको क्षेत्रतर्फ व्यापक रूपमा सही निर्देशनहरू पठाएको उक्त मिशनको व्यवस्थापन गरिरहेको नासाको जेट प्रोपल्शन ल्याबोरटरीले जनाएको थियो। अर्बौँ किलोमिटर पर रहेको उक्त यानबाट पृथ्वीसम्म सङ्केत आइपुग्न १८ घण्टाभन्दा लामो समय लाग्छ।

    पूर्ण सम्पर्क स्थापित गर्न नसकिएको अवस्थामा आफ्ना एन्टेना पृथ्वीतर्फ सोझ्याउनका लागि भोइजर टू वर्षमा कैयौँ पटक रिसेट हुनेगरी प्रोग्र्यामिङ गरिएको छ। अर्को रिसेटको समय अब अक्टोबर १५ मा तय गरिएको छ। त्यतिखेर पूर्णसम्पर्क पुनर्स्थापित गर्न सकिने नासाले जनाएको छ। सन् १९७७ मा भोइजर टूलाई भोइजर वनभन्दा १६ दिनअघि अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो

    यसबीचमा वैज्ञानिक उपकरणहरू जडित उक्त अन्तरिक्षयान ब्रह्माण्डमा योजनाबद्ध मार्गमा रहने नासाको अपेक्षा छ। भोइजर टू र सँगसँगै बनेको भोइजर वनले मात्र अहिलेसम्म हेलिओस्फिअर र समग्र सौर्यमण्डल बाहिर रहेर काम गर्न सकेका छन्। सूर्यबाट उत्पन्न कणहरूको सुरक्षात्मक घेरा र चुम्बकीय क्षेत्रलाई हेलिओस्फिअर भनिन्छ।

    ती दुई यान इन्टर्स्टेलर स्पेस अर्थात् ताराहरूबीचको अन्तरिक्षमा क्रमशः सन् २०१८ र २०१२ मा पुगेका थिए। ती यानलाई सौर्यमण्डलका बाह्य ग्रहहरूको दुर्लभ एकत्रीकरणबाट लाभ हुनेगरी बृहस्पति र शनि ग्रहको अन्वेषण गर्न बनाइएको थियो। त्यस्तो अवस्थिति १७६ वर्षमा हुने गर्छ।

    भोइजर टू वरुण र अरुणको अगाडिबाट यात्रा गर्ने एक मात्र अन्तरिक्षयान हो। अहिले पृथ्वीबाट २४ अर्ब किलोमिटरभन्दा पर अवस्थित भोइजर वन सबैभन्दा टाढा पुगेको अन्तरिक्षयान हो। ती प्रत्येक यानमा पृथ्वीका कुरा ‘बाह्य संसार’ लाई थाहा दिन सकिनेगरी पृथ्वीका ध्वनि, तस्बिर र सन्देशहरू भएको एउटा ‘गोल्डन रेकर्ड’ राखिएको छ।

  • विभिन्न देशका राजदूतको संसदीय सुनुवाइ पूरा

    विभिन्न देशका राजदूतको संसदीय सुनुवाइ पूरा

    काठमाडौं । विभिन्न देश र नियोगका लागि सरकारले प्रस्तावित गरेको छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद्अन्तर्गत सार्वजनिक सुनुवाइ समितिको आज बुधवारको बैठकमा न्युयोर्कमा रहेको नेपाली स्थायी नियोग, स्विट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको हो ।

    बैठकमा न्युयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्विट्जरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गरे ।

    उनीहरुले आफूलाई खटाएको नियोग र देशबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गराउने, दुई देशबीचको सम्बन्ध थप सुदृढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने, आर्थिक कुटनीतिमा जोड दिने, वैदेशिक लगानी भित्र्याउन पहल गर्ने तथा वैदेशिक सहयोग प्राप्त गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

    यसअघि समिति सदस्यहरूले प्रस्तावित राजदूतलाई देशको प्रतिनिधिका रूपमा काम गर्ने जिम्मेवारी भएकाले देश र नेपाली नागरिकको हितमा गर्व गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न सुझाव दिँदै हाम्रा प्राकृतिक सम्पदालगायत राष्ट्रिय धरोहरको प्रचारप्रसार तथा परम्परागतबाहेक नयाँ उपलब्धि देखिने गरी काम गर्न निर्देशन दिएका थिए ।

    सरकारले परराष्ट्र सेवामा रहेका वरिष्ठ सहसचिवलाई विभिन्न कुटनीतिक नियोग र देशमा राजदूतका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । समितिले भोलि बिहीवार प्रस्तावित राजदूत घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (यूएई) र धनबहादुर ओलीको (थाइल्यान्ड) को संसदीय सुनुवाइ गर्नेछ ।

  • सभामुख छोडेको भोलिपल्ट बाबुरामलाई मन्त्रीपद उपहार

    सभामुख छोडेको भोलिपल्ट बाबुरामलाई मन्त्रीपद उपहार

    काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखबाट राजीनामा गरेकै भोलिपल्ट बाबुराम गौतमले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका छन् ।

    सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको बरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन् ।

    मुख्यमन्त्री उद्धव थापाले शपथ लिए लगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका छन्।

    जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । जबेगु र सुनुवार यसअघि विनविभागीय मन्त्री भएका थिए ।

  • लुटपाटको प्रतिकार गर्दा रोहितको गोली हानेर हत्या

    लुटपाटको प्रतिकार गर्दा रोहितको गोली हानेर हत्या

    काठमाडौं । विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

    ‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटे । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ,’ घटनाको अनुसन्धान गरेको सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले भने ।

    गोली लागेका चौधरीको उपचारको क्रममा सोही दिन धरानस्थित बीपी प्रतिष्ठानमा निधन भएको थियो ।

  • म्यागासेसेसहितका मेडल लिलाम गर्दै महावीर पुन

    म्यागासेसेसहितका मेडल लिलाम गर्दै महावीर पुन


    काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा पाँच मेडल लिलामका लागि राखिएको बताएका छन् ।

    पुनले प्राप्त गरेको द रामोन म्यागासेसे पुरस्कारको सुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ ।

    यस्तै, डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कारको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ । इन्टरनेट हल अफ फेम २०१४ को सुरुआती मूल्य सात हजार ५०० अमेरिकी डलर तोकिएको छ । यस्तै, राष्ट्रदीप पदकको मूल्य दुई हजार ५०० अमेरिकी डलर र युनिभर्सिटी अफ नेब्रास्का अनर ग्राज्युएड अवार्डको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ ।

    बोली लगाउन आफूलाई म्यासेज गर्न र हेर्नका लागि केही दिनमा यी मेडल राष्ट्रिय आविष्कार केन्द्रमा राखिने फेसबुक पोस्टमा लेखिएको छ ।

  • रवि लामिछानेले ल्याए महिलालाई निःशुल्क बस

    रवि लामिछानेले ल्याए महिलालाई निःशुल्क बस

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।

    सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । ‘

    मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन’, उनले भने,’तर जनप्रतिनिधि र नीति–निर्माताले सार्वजनिक यातायात कस्तो हुनुपर्दछ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्दछ भन्ने देख्नुपर्छ र देखाउनुपर्छ ।’

  • जब ११ जना सफाईकर्मीलाई १० करोडको चिट्टा पर्यो

    जब ११ जना सफाईकर्मीलाई १० करोडको चिट्टा पर्यो

    काठमाडौं । गत जुन महिनामा दक्षिणी भारतीय राज्य केरलाका ११ जना महिला सफाइ मजदुरहरूले संयुक्त रूपमा चिट्ठाको टिकट किन्न पैसा उठाए। गत साता आफ्नो समूहले १० करोड भारतीय रुपैयाँ बराबरको रकम जितेको थाहा पाउँदा उनीहरूको खुसीले सीमा नाघ्यो।

    उनीहरू मलप्पुरम जिल्लाको परप्पान्नगडी सहरका घरहरूबाट नकुहिने फोहोर सङ्कलन गर्छन्। सामान्यतया नगरवासीले प्रत्येक महिना तिर्ने शुल्कबाट उनीहरूले दैनिक २५० रुपैयाँजति ज्याला पाउँछन्। कहिलेकाहीँ स्थानीय निगमले ती महिलाले जम्मा गरेर छुट्ट्याएको फोहोर बेच्छ र सङ्कलित रकमको केही अंश उनीहरूलाई पनि दिन्छ।

    तर त्यो रकम जीविकोपार्जनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ। अधिकांश महिलाले छोराछोरी पढाउन र अन्य खर्चका लागि ऋण लिएका छन्।

    भाग्योदय हुने आशामा उनीहरूले कहिलेकाहीँ मिलेर चिट्ठा किन्दै आएका थिए। धेरै भारतीय राज्यहरूमा चिट्ठा अवैध छ। केरलामा पनि निजी चिट्ठा कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ। तर राज्य सरकार स्वयंले एउटा अत्यधिक लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    “एक पटक हामीले १,००० रुपैयाँको पुरस्कार जितेका थियौँ। त्यो रकम हामीले बाँडेका थियौँ,” समूहका लागि प्रायः टिकट खरिद गर्ने राधा भन्छिन्। गत महिना उनीहरूको समूहले २५० रुपैयाँ पर्ने मनसुन बम्पर पुरस्कारको चिट्ठा (विशेष अवसरहरूमा जारी गरिने चिट्ठा)ं खरिद गर्ने निर्णय गर्‍यो।

    त्यसका लागि राधाले पैसा उठाउँदा आफूसँग पर्याप्त नगद नभएकाले आफूलाई दुःख लागेको ७२ वर्षीया कुट्टीमालु बताउँछिन्। “चेरुमानिल बेबी (समूहको अर्की सदस्य) सँग २५ रुपैयाँ रहेछ। उनले टिकट खरिद गर्नकै लागि आफूसँग भएको पैसाको आधा हिस्सा मलाई दिइन्,” उनले भनिन्।

    यसरी समूहका दुई महिलाले १२ रुपैयाँ ५० पैसा र बाँकी नौ जनाले प्रतिव्यक्ति २५ रुपैयाँ हालेर टिकट लिएका हुन्। “केही जितेको खण्डमा सबैलाई दामासहीले भाग लगाउने कुरामा हामी सहमत थियौँ,” कुट्टीमालुले भनिन्। हामीले यति ठूलो रकम जित्ने आशा गरेका थिएनौँ।“ विजेता घोषणा भएको भोलिपल्ट एक महिलाले आफ्ना पतिलाई नतिजा हेरिदिन आग्रह गरेपछि मात्र उनीहरूले आफ्नो समूहलाई चिट्ठा परेको थाहा पाए।

    “बम्पर पुरस्कारका लागि टिकट किनेको यो चौथो पटक हो,” राधाले भनिन्, अन्ततः हामी भाग्यमानी ठहरियौँ।” उमेरले ६२ पुगेकी बेबीलाई आफ्नो समूहले त्यति ठूलो धनराशि जितेको पत्याउन निकै गाह्रो भयो। “मलाई भाग्यले कहिले पनि साथ दिएको थिएन,” उनले भनिन्। सन् २०१८ मा केरलामा आएको बाढीले उनको घर बगाएको थियो। अब उनले नयाँ घर बनाउने र ऋणमुक्त हुने योजना बनाएकी छन्।

    समूहका अन्य महिलाहरूको कथा पनि उस्तै छ। मिर्गौलाले काम नगरेपछि गत वर्ष ५० वर्षीया के बिन्दुका पति बिते। अङ्ग प्रत्यारोपणका लागि उनीहरूसँग पैसा थिएन। “मेरा पति डाइयालसिसका लागि राखेको पैसाले चिट्ठाको टिकट किन्थे,” उनले भनिन्। “उनले हाम्रो घरको निर्माण कार्य पूरा नगरी हामीलाई छोडेर गए। अब त्यो मैले पूरा गर्नुपर्छ।”

    बिन्दु आफ्नी १५ वर्षीया छोरीलाई पढाउनमा पैसा खर्च गर्न चाहन्छिन्। पढाउन सके छोरीले राम्रो जागिर पाउन सक्ने उनले ठानेकी छन्। चिट्ठा जित्नुभन्दा अघिल्लो रात ४९ वर्षीया लक्ष्मीको परिवार आफ्नो भविष्यबारे चिन्तामा थियो।

    केरलाभरि ठूलो वर्षाका कारण निर्माण क्षेत्रमा ज्यालादारी मजदुरी गर्ने उनका पतिलाई काम पाउन मुस्किल भइरहेको थियो। अब छोरीको पढाइ खर्च जुटेकोमा यो दम्पतीले केही राहत महसुस गरेका छन्। लीलालाई भने आफ्नी छोरीको शल्यक्रियाका लागि खर्च जोहो गर्न धौधौ परेको थियो।

    ‘मैले यसअघि नै घर धितोमा राखेर ऋण लिएकी थिएँ, उसैको विवाहका लागि,’ ५६ र्षीया लीलाले भनिन्। सरकारलाई तिर्नुपर्ने कर कटौती भएपछि उक्त समूहले कुल छ करोड ३० लाख रुपैयाँ प्राप्त गर्ने छ। बेबी र कुट्टीमालुले संयुक्त रूपमा र अरूले जनही ६३ लाख रुपैयाँ हात पार्ने छन्।

    बेबी र कुट्टीमालुले पाएको रकम बराबर भाग लाग्ने छ। यी महिलाहरूले फोहोर सङ्कलन गर्नुबाहेक सार्वजनिक शौचालय बनाउन र फोहोर फाल्ने संरचनाहरू निर्माणमा पनि सघाउने गरेको सुचितवा मिशनका निर्देशक केटी बालाभाष्करन बताउँछन्। यो राज्यभरि यस्ता कार्यको समन्वय गर्ने संस्था हो।

    शुक्रवार अर्थात् जीवन परिवर्तन गर्ने रकम जिते दिनको भोलिपल्ट यी एघारै महिला आफ्नो काममा फर्किए। “हामीले एउटा निर्णय गर्‍यौँ,” लीलाले भनिन्। ‘हामी यो काम छोड्ने छैनौँ किनकि यही सामूहिक कामले हाम्रो जीवनमा समृद्धि ल्याइदियो।’

    BBC Nepai

  • माओवादी केन्द्रिय कमिटी बैठक आजबाट

    माओवादी केन्द्रिय कमिटी बैठक आजबाट

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुँदैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्। केन्द्रीय कमिटी बैठकअघि बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीले पार्टी अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गर्नेछ। अध्यक्ष प्रचण्डले ती दुई प्रतिवेदनलाई एउटै प्रतिवेदनका रूपमा पेस गर्ने महासचिव गुरूङले जानकारी दिए।

    स्थायी कमिटीले पारित गरेपछि उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुनेछ। त्यसपछि समय रहेसम्म आजैदेखि प्रतिवेदनमाथि छलफल सुरू हुने उनले बताए। यसपालिको केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म बोल्न दिने माओवादी केन्द्रको तयारी छ। यसअघि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भनिएपनि त्यसमाथि विवाद उत्पन्न भएपछि त्यसबारेमा पनि स्थायी कमिटी बैठकले निर्णय गर्नेछ।

    माओवादी केन्द्रमा ३८७ जना केन्द्रीय सदस्य छन्। बैठकमा पार्टीको लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगका सदस्यहरू पनि उपस्थित हुनेछन्। पाँचदिन सम्म चल्ने बैठकमा ७ सय भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने बताइएको छ।

  • आज पनि पाँच प्रदेशमा ठूलो वर्षा

    आज पनि पाँच प्रदेशमा ठूलो वर्षा

    काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

    महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।


    राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • प्रेमिकाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा हाल्ने युवकलाई प्रहरीले मलेसियाबाट नेपाल ल्यायो

    प्रेमिकाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा हाल्ने युवकलाई प्रहरीले मलेसियाबाट नेपाल ल्यायो

    काठमाडौं । प्रेमिकाको नग्न तस्वीर तथा भिडियो पोर्न साइटमा हालेको अभियोगमा एक आरोपीलाई प्रहरीले मलेसियाबाट नेपाल ल्याएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको पत्रका आधारमा इन्टरपोलको एनसीबी (नेशनल कन्ट्रोल ब्यूरो) काठमाडौंले इन्टरपोल हेडक्वार्टरलाई म्यादीका २७ वर्षीय प्रकाश विकविरुद्ध रेड नोटिस जारी गर्न आग्रह गरेको थियो । त्यसअनुसार इन्टरपोल महासचिवालयले २४ माघ २०७८ मा रेड नोटिस जारी गरेको थियो ।

    नोटिसका आधारमा इन्टरपोल मलेसियाले विकलाई त्यहाँ पक्राउ गरेको थियो । मलेसियाले उनलाई डिपोर्ट गरेर नेपाल पठाइदिएपछि विकलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साइबर ब्यूरोले पक्राउ गरेको छ । ब्यूरोका एसएसपी नविन्द अर्यालका अनुसार, विकले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाएर नग्न भिडियो र फोटोहरु रेकर्ड गरेका थिए ।

    उनले ती फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने र आफन्तलाई समेत पठाएर यातना दिएका थिए । ‘पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि उनको नाममा फेक एकाउन्ट समेत बनाएर ती सामग्रीहरु पोर्न साइटमा समेत अपलोड गरेर चरित्रहत्या गरेको पाइएको थियो ‘, अर्यालले भने, ‘उनीलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पनि पक्राउ अनुमति दिइसकेको थियो ।’

    प्रहरीका अनुसार, अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको खुलेको थियो । त्यसपछि उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइएको थियो । साइबर ब्यूरोले थप अनुसन्धान गरिरहेको छ ।

  • ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

    ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ग्यासको मूल्य भने घटेको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ ।

  • कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

    कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

    काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्।

    २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले धारा १६८ (२) अनुसार मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्। थापाको पद तथा गोपनीयताको शपथ बुधबार बिहान १०ः३० बजे हुने बताइएको छ ।

    थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन्।

    आजै सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्‍याउन राजीनामा दिएका थिए ।

  • कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश

    कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश

    काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।

    कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

    सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्‍याउन राजीनामा दिएका थिए । दाबीपत्रमा कांग्रेसका थापा, माओवादीका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादी राजेन्द्र राई र जसपा निर्मला लिम्बुले हस्ताक्षर गरेका छन् ।

    प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

  • गठबन्धनलाई बहुमत जुटाउन कोशीका सभामुख गौतमले दिए राजीनामा

    गठबन्धनलाई बहुमत जुटाउन कोशीका सभामुख गौतमले दिए राजीनामा

    काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सत्ता गठबन्धन सरकार नै बन्न नसक्ने अवस्थामा पुगेपछि मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।

    अब उनी नेकपा (माअ‍ोवादी केन्द्र) को संसदीय दलको सदस्य भएका छन् । सत्ता गठबन्धनका निम्ति ४७ सांसदको हस्ताक्षर सुनिश्चित गर्न उनले राजीनामा दिएका हुन्।

    ओखलढुंगा प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित गौतमकै हस्ताक्षरमा बहुमत दाबी गर्दै गत असार २१ गते कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए।

    तर गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले थापाको नियुक्ति २२ दिनमै रद्द गरिदिएको थियो। अब उनै थापाले एक महिनाबीचमै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन्।

  • रक्सी पिउन लाइसेन्स अनिवार्य

    रक्सी पिउन लाइसेन्स अनिवार्य

    काठमाडौं । गुठिचौर गाउँपालिकामा मदिरा सेवन गर्नेलाई लाइसेन्स अनिवार्य गरेको छ ।

    गाउँपालिकालाई ‘मदिरा निषेधित पालिका’ घोषणा गर्नको लागि भाद्र १ गतेदेखि लागू हुने गरी लाइसेन्स अनिवार्य गरेको हो ।

    मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि अनुसार पालिकाभित्र मदिरा उत्पादन गर्ने, वितरण गर्ने, सेवन गर्ने तथा ओसार पसार गर्ने सबै व्यक्तिले अनिवार्य रुपमा लाईसेन्स लिनु पर्ने छ ।

    रक्सीको बिक्री वितरणका लागि इजाजत अनिवार्य गर्दै गाउँपालिकाले यस्तो इजाजत लिन, नवीकरणको काम समेत साउन भित्रै गरिसक्न सूचित गरेको छ ।

    यस गाउँपालिकामा अब सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्य केन्द्र, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालय भन्दा ५ सय मिटर टाढा मात्र रक्सी पसल खोल्न पाइने भएको छ । रक्सी पसलमा यसबाहेक अन्य सामान राख्न नपाइने भएको छ ।

  • प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै साउन २२ गते सोमबारका लागि बोलाइएको हो । क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

  • मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्चको आदेश

    मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्चको आदेश

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेको घर टहरा तत्काल नभत्काउन अल्पकालीन आदेश दिएको छ । न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासलले ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले आदेश दिएका हुन् । काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर आफनाे जग्गा दाबी गर्दै आएका विश्वनाथ (जनार्दन ) आचार्यले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त जग्गामा आचार्यले ४ वटा सटर बनाएका छन् । ती सटरहरुमा उनले मासिक ७० हजारका दरले भाडामा लगाएका छन् । यी सटरहरु स्वीकृत नलिई र नक्सा पास नगरी बनाइएकाले महानगरले भत्काउने तयारी गरेको थियो ।

  • सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम

    सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा भएको छ । मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति सिन्धुपाल्चोकसँगै देशका धेरै ठाउँमा पानी परेको छ ।

    आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

  • क्वार्टरमा मदिरा सेवन गरेको भिडियोमा युवतिसँगै लाइभ भएपछि मन्त्रालय तानिए डमरु

    क्वार्टरमा मदिरा सेवन गरेको भिडियोमा युवतिसँगै लाइभ भएपछि मन्त्रालय तानिए डमरु

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई हाजिर हुन पत्र लेखेको छ। सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो।

    ‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ। आफ्नो क्वार्टरमा एक युवतीसँग मापसे गर्दै टिकटकमा लाइभ आएपछि उनी विवादमा तानिएका हुन्। भिडियो सार्वजनिक भएपछि उनले कोठामा रंग लगाएर फेरेका छन् ।

  • तीन प्रदेशमा आज ठूलो वर्षा

    तीन प्रदेशमा आज ठूलो वर्षा

    काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य, बदलीको अवस्था छ।

    कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना महाशाखाले औंल्याएको छ।

    रातिपख देशभर आंशिकदेखि सामान्य बदलीकै अवस्था रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

  • संवैधानिक परिषद्को बैठक आज बस्दै

    संवैधानिक परिषद्को बैठक आज बस्दै

    काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको छ । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान रहेपनि अहिलेसम्म सिफारिस हुन सकेको छैन ।

    संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए। आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्न सक्छ । किनकी श्रेष्ठ वरीयताक्रममा अगाडि छन्।