Category: समाचार

  • सभामुखले बोलाए शीर्ष नेताको बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

    सभामुखले बोलाए शीर्ष नेताको बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

    काठमाडौं । सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गरेको उनको सचिवालयले जनाएको छ ।

    सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आग्रह गरेका छन् ।


    साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

    सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुई पटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका छन् ।

    आइतबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरूले दिएका थिए ।

  • पाकिस्तानमा रेल दुर्घटना, कम्तिमा ३० जनाको मृत्यु

    पाकिस्तानमा रेल दुर्घटना, कम्तिमा ३० जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १०० जना घाइते भएका छन् । कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो ।

    रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । पाकिस्तानका रेल मन्त्री ख्वाजा साद रफिकले पत्रकार सम्मेलन गरी दुर्घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।

  • सिद्धबाबा मन्दिर नजिकै जिपमाथि ढुंगा खस्यो, तीन जना घाइते

    सिद्धबाबा मन्दिर नजिकै जिपमाथि ढुंगा खस्यो, तीन जना घाइते

    काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् ।

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यो राजमार्गमा माथिबाट पहिरो खस्दा बाह्रै मास जोखिम हुने गरेको छ ।

  • काठमाडौंमा जारको पानीको अनुगमन सुरु

    काठमाडौंमा जारको पानीको अनुगमन सुरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउने पानीको जारको अनुगमन सुरु गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन सुरु गरेको महानगरले जनाएको छ । पिउने पानीको लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घरको अवस्था लगायतका बारेमा अनुगमन सुरु भएको मेयर बालेन शाहले जानकारी दिएका छन् ।

    आइतबार त्रिपुरेश्वरको विभिन्न पसलहरुमा खानेपानी जारको अनुगमन भएको छ । अनुगमनको क्रममा माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीको जार नष्ट गरिएको छ । उत्पादन एवम् उपभोग्य मिति नलेखिएको, बिर्कोबाट पानी चुहिएको जार नष्ट गरिएको बताइएको छ । महानगर प्रहरीका अनुसार माता वैष्णवदेवी फुड एण्ड वेभरेज कम्पनीले नै महानगरको कार्यालय सहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो ।

  • नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’

    नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’

    काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङमार्ग निर्माणको काम सोमबारदेखि सकिने भएको हो ।

    आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको बताइएको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले जानकारी दिएका छन् ।

    २.५ किलोमिटर लामो नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलसँगै मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले बताएको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलमा भने ५ सय ६ मिटर खन्न बाँकी छ । यो आयोजना नेपालको पहिलो ठूलो सुरुङमार्ग हुने छ ।

  • ल्हारक्याल लामा बने लुम्बिनी विकास कोषको उपाध्यक्ष

    ल्हारक्याल लामा बने लुम्बिनी विकास कोषको उपाध्यक्ष

    काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् । विवादास्पद पृष्ठभूमिका उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्ने गरेका थिए ।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले यो पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) थिए । उनको कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारको कोषमा नयाँ उपाध्यक्ष नियुक्त गरेको हो ।

  • एक क्वीन्टल सुन प्रकरणको सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई, राजस्वले बुझायो फाइल

    एक क्वीन्टल सुन प्रकरणको सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई, राजस्वले बुझायो फाइल


    काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्वीन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको जिम्मा प्रहरीलाई लगाएको छ ।
    आइतबार विभागमा पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले यस्तो निर्णय भएको जानकारी दिएका हुन ।

    तस्करीमा अन्तरदेशिय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको महानिर्देशक ढुंगानाले बताए ।

    विभाग स्थापना भएको झण्डै ४६ वर्ष लामो इतिहासमा पहिलो पटक विभागले अनुसन्धान चल्दै चल्दै आफ्नो क्षेत्राधिकारको मुद्धा प्रहरीलाई सुम्पिएको हो । विभागको यस्तो निर्णयले कसुर गर्नेलाई सजायँ कम हुने चिन्ता विज्ञहरूको छ ।

    २ साउनमा विभागले एक सय किलो बढी सुन विमानस्थल भन्सारको मुल गेटमा बरमद गरेको थियो । हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् ।

    पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् । सुन बरामद भएको तेस्रो सातासम्म विभागले सुन तस्करको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाका चार वटा गोदाममा छापा मारेको थियो ।

  • पार्टी बैठकमा प्रचण्डले भने-‘भ्रष्टाचारमा दोषी देखिएका कसैलाई छोड्दैनौं’

    पार्टी बैठकमा प्रचण्डले भने-‘भ्रष्टाचारमा दोषी देखिएका कसैलाई छोड्दैनौं’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोषी देखिएका कसैलाई नछोड्ने दाबी गरेका छन्।

    पार्टी केन्द्रीय समिति बैठकको समापनमा बोल्दै ‘प्रचण्ड’ ले भ्रष्टाचार विरुद्धको अभियानलाई साथ दिन निर्देशन समेत दिएका हुन् ।

    उनले भने उनले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने दाबी गरे। उक्त अभियान यतिकै नछाड्ने प्रतिवद्धता बैठकमा प्रचण्डले गरेको ती सदस्यले जानकारी दिए।

    ‘माओवादीले गरेन भने त्यसको नेतृत्व अरु कसैले गर्न सक्दैन भनेर योजनावद्ध तरिकाले अघि बढेका हौं,’ प्रचण्डले बैठकमा भने, ‘हामी यसलाई त्यतिकै छाड्दैनौं, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला।’

    त्यस्तै ‘प्रचण्ड’ ले जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने बताए । पार्टी केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानलाई लिएर सातवटा प्रदेशको ७ वटा वडामा आफू पनि पुग्ने बताए । जनताको एउटा घर पनि नछाडि जनताको गुनासो र आलोचना सुन्ने, सहिद परिवारको आफन्तलाई भेट्ने तीन महिले अभियान टुंग्याएर विधान सम्मेलनामा पुग्ने उनले उद्घोष गरे ।

  • पुलिस रिपोर्ट अब अनलाइनबाटै लिन सकिने

    पुलिस रिपोर्ट अब अनलाइनबाटै लिन सकिने

    काठमाडौं । प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अब अनलाइबाटै प्रमाणीकरण हुने भएको छ। कन्सुलर सेवा विभागले आइतबारदेखि यो सेवा प्रारम्भ गरेको हो।

    परराष्ट्रमन्त्री एनपी साउदले विभागमा आयोजित एक कार्यक्रमबीच अनलाइन प्रमाणीकरण सेवा सुरु गरेका हुन् । यससँगै अब अनलाइनबाटै फारम भरी शुल्क तिरी कन्सुलरको छापसहितको प्रहरी रिपोर्ट अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।

    अनलाइनबाटै आवेदन दिने र प्रमाणीकरण हुने भएपछि अब अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपालीले पुलिस रिपोर्ट लिन कार्यालयमै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि चारित्रिक प्रमाणपत्रका लागि सेवाग्राही आफैँ उपस्थिति हुनुपर्दथ्यो ।

    राहदानी विभागमा देखिँदै आएको भीडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले उक्त निर्देशन दिएका थिए।

  • माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, अग्नि सापकोटालाई प्रचार विभागको जिम्मा

    माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, अग्नि सापकोटालाई प्रचार विभागको जिम्मा

    काठमाडौं । माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ । केन्द्रीय समिति बस्नुअघि अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका छन् ।

    उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् भने अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    जनवर्गीय संगठन इन्चार्जमा पम्फा भुसाल, कृष्णबहादुर महरा,पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी तोकिएको छ । यस्तै देवेन्द्र पौडेलले मधेस प्रदेशको जिम्मेवारी पाएका छन् । यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

  • काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु

    काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।

    नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । छोरा भने सकुशल रहेको मेयर महर्जनले जानकारी दिए ।

  • भारतमा पहिरोमा वेपत्ता नेपाली नागरिकको खोेजीका लागि प्रधानमन्त्रीले थाले कूटनीतिक पहल

    भारतमा पहिरोमा वेपत्ता नेपाली नागरिकको खोेजीका लागि प्रधानमन्त्रीले थाले कूटनीतिक पहल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागस्थित गौरीकुण्ठ पहिरोमा बेपत्ता भएका नागरिकको उद्धार र खोजका लागि कूटनीतिक पहल सुरु गरेका छन् । शनिबार साँझ प्रधानमन्त्रीको निजी सचिवालयले सूचना सार्वजनिक गर्दै बेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल सुरु गरेको जनाएको छ ।

    गौरीकुण्डमा गएको पहिरोमा परेर नेपाली र भारतीय नागरिक बेपत्ता भएको खबरले मर्माहत भएको उनले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । ‘

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको बताएका हुन् ।

  • मोदी र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    मोदी र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । दुबै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको थियो ।

    प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएका छन् ।


    छलफलमा दुबै देशका प्रधानमन्त्रीले नेपाल भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत भएका छन् ।

    यसक्रममा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणको क्रममा भएका छलफललाई र सहमतिको स्मरण गर्दै त्यसको कार्यान्वयनका पक्षमा जोड दिइएको थियो । भारतीय प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिइएको छ ।

  • युक्रेन युद्ध अन्त्य गर्नेबारे साउदीमा शिखर सम्मेलन

    युक्रेन युद्ध अन्त्य गर्नेबारे साउदीमा शिखर सम्मेलन

    काठमाडौं । युक्रेनमा रुसी आक्रमण कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न साउदी अरेबियामा शिखर सम्मेलन सुरु भएको छ । साउदी अरबको जेद्दामा आयोजित यस सम्मेलनमा ४० देशका वरिष्ठ अधिकारीहरू सहभागी छन् । रुस वाहेकका मुलुकका प्रतिनिधिहरू सम्मिलित उक्त बैठकले रूसको आक्रमण कसरी अन्त्य गर्ने भन्नेबारे मस्यौदा तयार पार्ने छन् । शनिबार सुरु भएको सम्मेलनमा रुस युक्रेन युद्धका कारण खाद्यान्न, इन्धन लगायतमा प्रभावित विकासोन्मुख देशका प्रतिनिधिहरू पनि सहभागी छन् ।

    ुयो धेरै महत्त्वपूर्ण छ किनभने, खाद्य सुरक्षा जस्ता मुद्दाहरूमा अफ्रिका, एसिया र अन्य भागका लाखौं मानिसहरूको भाग्य विश्वले शान्ति कायम गर्न कत्तिको चाँडो अघि बढ्छ भन्ने कुराले प्रत्यक्ष निर्भर गरेको छ, युक्रेनका नेता जेलेन्स्कीले भने । जेलेन्स्कीले यो सम्मेलनले यसै वर्ष विश्वका नेताहरूको शान्ति शिखर सम्मेलन गर्ने सिद्धान्तलाई समर्थन गर्ने अपेक्षा गरेका छन् । जुन किभको १० बुँदे सूत्रमा आधारित हुनुपर्ने उनको धारणा छ । युक्रेनको उक्त सूत्रले क्षेत्रीय अखण्डताको सम्मान र रुसी सेनालाई फिर्ता गर्ने कुरा समेटेको बताइन्छ ।

    तर युक्रेनको शान्ति सूत्रलाई इन्कार गर्दै आएको रुसलाई भने यस शिखर सम्मेलनमा बोलाइएको छैन । यस शिखर सम्मेलनको विषयमा रुसका उच्च अधिकारीहरूले यसै साताको सुरुमा त्यहाँ के छलफल हुन्छ र के लक्ष्य राखिन्छ भन्नेबारे बुझ्न आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।

    यसैबीच युक्रेन युद्धमा तटस्थ बसेका भारत र ब्राजिलसँग पनि संवादको पहुँच पुर्‍याउने अवसरको रुपमा यो सम्मेलन युक्रेनका लागि महत्त्वपूर्ण रहेको बताइन्छ । साथै रुसको सहयोगी रहेको चीनको उपस्थितिलाई विशेष महत्त्वका साथ हेरिएको छ । जहाँ चीनले पनि जेलेन्स्कीको शान्ति योजनालाई समर्थन गर्नसक्ने भन्दै युक्रेनले अपेक्षा गरेको बताइन्छ ।

    युक्रेनका उच्च अधिकारीले आफूहरूबीच धेरै असमझदारी भए पनि आफ्ना समस्या व्यक्त गर्न पाइने भएकाले यो सम्मेलन आफ्ना लागि महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । चीन सरकारका प्रवक्ता वाङ वेनबिनले भने आफूहरू युक्रेनको संकटपूर्ण राजनीतिक समाधानमा रचनात्मक भूमिका खेल्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

  • भारतमा पहिरोमा परेका नेपालीको खोज तथा उद्दारमा खट्न भारतलाई नेपालको आग्रह

    भारतमा पहिरोमा परेका नेपालीको खोज तथा उद्दारमा खट्न भारतलाई नेपालको आग्रह

    काठमाडौं । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ । शनिबार परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन् ।

    रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १९ जना बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली रहेका छन् । मुख्यमन्त्री धामीले शनिबार बिहानैबाट बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको परराष्ट्रमन्त्री साउदसँग बताएका छन् ।

    धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरुको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको पनि बताएका परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ ।

  • उत्तराखण्डमा डेढ दर्जन मानिस पहिरोमा पुरिए, धेरैजसो नेपाली

    उत्तराखण्डमा डेढ दर्जन मानिस पहिरोमा पुरिए, धेरैजसो नेपाली

    काठमाडौं । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी डेढ दर्जन मानिस वेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पहिरोमा परी १९ जना पुरिएको र त्यसमा कम्तिमा १३ जना नेपाली रहेको बताइएको छ ।

    बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो ।

    घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका थिए । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको समेत बताइएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो गएको हो ।

    उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान पक्राउ

    पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान पक्राउ

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–एइन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।

    इमरानको पार्टी तेहरिक ए इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ । ‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ,’ पार्टीका प्रवक्ताले वक्तव्यमा भनेका छन् । पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

  • ७१८ तरकारी र फलफूल परीक्षण गर्दा केरामा भेटियो सबैभन्दा बढी विषादी

    ७१८ तरकारी र फलफूल परीक्षण गर्दा केरामा भेटियो सबैभन्दा बढी विषादी

    काठमाडौं । बढी उपभोग हुने फलफूल केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा केरामा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो।

    कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात सय १८ तरकारी र फलफूलको नमुना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ। केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ।

    चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उनले बताए। केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग गरेको पाइएको छ।

    प्राविधिक सहायक सिम्खडाका अनुसार फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी प्रयोग गरिएको ४५ प्रतिशतभन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ। पैतीस प्रतिशतभन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टिनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ।
    चितवनमा प्रायः गरेर केरालाई क्वारेन्टिनमा पठाउनुपर्ने अवस्था आएको प्राविधिक सहायक सिम्खडाले बताए। ३५ प्रतिशतभन्दा कम रोकावट आए मात्र केरा खानयोग्य हुन्छ।

    अत्यधिक पोषणले भरिपूर्ण केरा बाह्रैमास पाइने फल हो। तर कहिलेकाहीँ केरा स्वास्थ्यका लागि हानिकारक पनि सावित हुन सक्छ। यसमा बढी मात्रामा रसायन र विषादीको प्रयोग भएमा केरा स्वास्थ्यका लागि हानिकारक हुन सक्ने चिकित्सक बताउँछन्।

    भरतपुर अस्पतालका डा गोविन्द कँडेलले धेरै परिमाणमा इथालिन र क्याल्सियम कार्बोनेट जस्ता औषधि प्रयोग गरेर पकाइएको केरा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने बताए। यस्तो केरा खाएमा पेट दुख्ने, अल्सर हुने, न्यूरो प्रणालीमा असर गरेर टाउको धेरै दुख्नेजस्ता गम्भीर असर देखिन सक्ने उनले बताए। गर्भवतीलाई यस्तो केरा खुवाएमा पेटमा रहेको बच्चालाई समेत असर गर्न सक्छ।

    कृषि विज्ञका अनुसार केरामा रसायन हालेर पकाइएको छ कि छैन भनेर चिन्न केही कुरामा ध्यान दिनुपर्छ। कर्बोहाइड्रेड तथा अन्य रसायन प्रयोग गरिएको छ भने गन्ध फरक हुन्छ। आकार हेरेर पनि केरामा रसायन मिसाएको छ कि छैन पत्ता लगाउन सकिन्छ।

    केरालाई विषादीरहितभन्दा पनि विषादीको प्रभाव कम गर्न केरा किनेर ल्याएको एक–दुई दिनपछि मात्र प्रयोग गर्नु उपयोगी हुने चिकित्सक बताउँछन्। खानुअघि एक घण्टा पानीमा डुबाएर राखियो भने पनि त्यसमा भएको रसायनको मात्रा कम भएर जान्छ।

  • बैतडीमा टाउकोतिर खुट्टा पल्टिएको शिशुको जन्म

    बैतडीमा टाउकोतिर खुट्टा पल्टिएको शिशुको जन्म

    काठमाडौं । बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी हुन्। अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्ममा परेका छन्। लुहारको आर्थिक अवस्था कमजोर छ। उनका श्रीमान् भोला लुहार रोजगारीको सिलसिलामा भारत छन्।

  • एक क्वीन्टल सुन प्रकरणको अनुसन्धानको जिम्मा ‘सिआईबी’लाई

    एक क्वीन्टल सुन प्रकरणको अनुसन्धानको जिम्मा ‘सिआईबी’लाई

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ ।

    बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफल गरेका हुन्।

    छलफलमा महान्यायाधिवक्ता डा.पोखरेलले सङ्गठित अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्र भएको उल्लेख गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले गर्नुपर्ने बताएका थिए ।

    सुन तस्करीको ‘सङ्गठित जालो’ बारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले सिआईबीलाई लेखेर पठाउनुपर्छ ।

    सुन तस्करीको अनुसन्धान राजस्व छलीमात्रै नभएर अन्य अपराधमा पनि कसुर भएको भन्दै प्रहरीलाई जिम्मा लगाउनुपर्ने आवाज उठ्दै आएको थियो। तर विभागले प्रहरीसँग एक जना प्रहरीमात्रै माग गरेको थियो।

    विभागले प्रहरीसँग सहयोग मागेपछि एसपी कृष्ण पंगेनीलाई पठाइएको थियो।

    राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । यसमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।

  • तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो

    तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो

    काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार रुपैयाँ बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ।

    गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो।

    भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ।

    सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाइएको हो।

    भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन्। बरामद गरी भन्सारलाई बुझाइएका २२० सवारीसाधन ३ करोड ४३ लाख मूल्यबराबरका रहेका छन्। यसैगरी २३ लाख ८२ हजार रुपैयाँ बराबरको पशुचौपाया तथा तीन करोड २३ लाख मूल्यबराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरिएको एसपी खनालले जानकारी दिए।

    बरामद गरिएका अन्य सामानमा एक करोड ९ लाख मूल्यबराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजार रुपैयाँका कपडा, २८ लाख ३० हजार रुपैयाँका चौँरी गाईका पुच्छर, २५ लाख ६३ हजार रुपैयाँ इलेक्ट्रोनिक्स सामानलगायत छन्। रासस

  • दोलखामा पहिरोमा परी एक बालकको मृत्यु, तीन जना बेपत्ता

    दोलखामा पहिरोमा परी एक बालकको मृत्यु, तीन जना बेपत्ता

    दोलखा । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

    गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो ।

    गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

    पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताउनुभयो ।

    सो पहिरोमा परी तीन जना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

  • रास्वपाको केन्द्रिय पदाधिकारी हुन स्नातकोत्तर अनिवार्य

    रास्वपाको केन्द्रिय पदाधिकारी हुन स्नातकोत्तर अनिवार्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको हो ।

    पार्टी महामन्त्री मुकुल ढकालका अनुसार प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै स्नातक उत्तीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनाइएको छ । स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभाग अनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको महामन्त्री ढकालले बताए ।

  • जाजरकोटमा विषालु च्याउ सेवनबाट एक जनाको मृत्यु

    जाजरकोटमा विषालु च्याउ सेवनबाट एक जनाको मृत्यु

    काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको र आमा सिकिस्त बिरामी भएको जनाइएको छ ।

    वडा अध्यक्ष विष्णु रावतले बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा उपचार भइरहेको जानकारी दिएका छन् ।

  • दोलखामा पहिरो, कम्तिमा ३ जना वेपत्ता

    दोलखामा पहिरो, कम्तिमा ३ जना वेपत्ता

    काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए । पहिरोले ३ घर पुरिएको उनले बताए । पहिरोले बस्तीका धेरै घर जोखिममा परेको र टेलिफोन सम्पर्क पनि हुन नसकेको उनले बताए ।


    यस्तै, बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ । १५ घर विस्थापित बनेको वडाध्यक्ष शेर्पाले बताए । दुर्गम भेग भएकाले पहिराले गरेको क्षतिको विवरण आउन बाँकी छ । स्थानीय घट्टे खोलामा आएको बाढीले उक्त गाउँ पुग्ने झोलुङ्गे पुल पनि बगाएपछि उद्वारमा कठिनाइ भएको छ । घटनास्थलमा उद्वारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

  • सामाखुसीबाट वेपत्ता किशोर १३ दिनपछि दक्षिणकालीमा मृत फेला

    सामाखुसीबाट वेपत्ता किशोर १३ दिनपछि दक्षिणकालीमा मृत फेला

    काठमाडौं । सामाखुसीमा नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् । मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो ।

    काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलका अनुसार मुचुल्का सकेर पोस्टमार्टमका लागि शव शिक्षण अस्पतालमा लगिएको छ । मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो । सामाखुसी घर भएका साजन पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्दै आएका थिए ।

  • रास्वपाले के निर्णय गर्यो ?

    रास्वपाले के निर्णय गर्यो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले पार्टी सदस्य दामोदर खत्रीलाई तीन महिना निलम्बन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

    सैनामैना नगर र्‍यापिड एक्सन टिमका संयोजक रहेका खत्रीले गत असार ३१ गते आफ्नो समूहमाथि कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए। रूपन्देही २ निर्वाचन क्षेत्रीय कमिटी सदस्य विक्रम तिवारीको समूहले कुटपिट गरेको बताए पनि उक्त घटनामा खत्री नै दोषी देखिएको भन्दै रास्वपाले कारबाहीस्वरूप तीन महिना निलम्बन गर्ने निर्णय गरेको हो।

    बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निलम्बन भने फुकुवा गरिएको महामन्त्रीसमेत रहेका ढकालले बताएका छन्। उनीमाथि बझाङकै एक पत्रकारलाई कुटपिट गरेको आरोप लागेको थियो। त्यसमा उनको दोष नदेखिएको ढकालले बताए।

    बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ। त्यस्तै पार्टीका विभागको सदस्य र पदाधिकारी बन्न आवश्यक मापदण्डसमेत तोकेको छ। बैठकले नीति तथा विचार प्रतिनिधिमण्डलका सदस्यहरूलाई स्थलगत अध्ययन गर्न गाउँ पठाउने र उनीहरूको भ्रमण खर्चसमेत स्वीकृत गरिएको प्रवक्ता ढकालले जानकारी दिए।

  • महिला विश्वकपको प्रिक्वाटरफाइनल समिकरण पुरा

    महिला विश्वकपको प्रिक्वाटरफाइनल समिकरण पुरा

    काठमाडौं । न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको छ। बिहीबार समूह ‘एच’ का अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको हो।

    समूह चरणको अन्तिम दिन दक्षिण कोरिया र जर्मनीले १-१ को बराबरी खेल्दा दुवै टिम बाहिरिए। यो समूहबाट कोलम्बिया र मोरक्को अन्तिम १६ मा पुगे। अन्तिम दिन कोलम्बियामाथि मोरक्कोले १-० गोलको जित हासिल गर्‍यो। अन्तिम १६ का खेल भोलि शनिबारदेखि हुँदैछन्। अन्तिम १६ को पहिलो दिन स्विट्जरल्यान्ड्स र स्पेन तथा जपान र नर्वेबीच खेल हुनेछ।

    अन्तिम १६ प्रतिस्पर्धा
    स्विट्जरल्यान्ड भर्सेस स्पेन
    जापान भर्सेस नर्वे
    नेदरल्यान्ड्स भर्सेस दक्षिण अफ्रिका
    स्विडेन भर्सेस अमेरिका
    इंग्ल्यान्ड भर्सेस नाइजेरिया
    अस्ट्रेलिया भर्सेस डेनमार्क
    कोलम्बिया भर्सेस जमैका
    फ्रान्स भर्सेस मोरक्को

  • कुन-कुन भेगमा आज ठूलो वर्षाको सम्भावना ?

    कुन-कुन भेगमा आज ठूलो वर्षाको सम्भावना ?

    काठमाडौं । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंसिक प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ।

    त्यस्तै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ ।

    अहिले देशभर आंशिक देखि सामान्य बदली रही कोशी ,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको पनि सम्भावना छ भने लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    राति सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय र हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • सरकार र सहकारी पिडितबीच सहमति

    सरकार र सहकारी पिडितबीच सहमति

    काठमाडौं । सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ। दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसनरधर्ना आजैदेखि स्थगन गरेका छन्। सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच आज छलफल भएको थियो।

    छलफलबाट सहकारी संस्थाका बचतकर्ताको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाउने सहमति भएको सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए । “सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई छिटो–छरितो र प्रभावकारी बनाउन कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरणको स्थापना गर्न मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।

    सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा अनसनरधर्नामा रहेका सहकारी संस्थाका बचतकर्ताको समेत प्रतिनिधित्व गराउन धेरैमा तीन जनासम्म प्रतिनिधि आमन्त्रित सदस्यका रूपमा समावेश गर्ने सहमति भएको छ”, उनले भने ।


    यस्तै सहकारी क्षेत्रको सुधार गर्न विद्यमान कानुनी व्यवस्थाभित्र तत्काल सुधार गर्न सकिने र कानुन संशोधन गर्नुपर्ने भए त्यस्तो विषयमा समेत तत्काल मन्त्रालय, सहकारी विभाग र समस्याग्रस्त व्यवस्थापन समितिबाट आवश्यक गृहकार्य अघि बढाउने सहमति भएको छ। सहकारीपीडित बचतकर्ता माइतीघरमण्डलामा दुई महिनादेखि अनसनधर्नामा बस्दै आएका थिए।

    सहमतिअनुसार ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग मन्त्रालयले समन्वय गर्ने निर्णय भएको छ।