काठमाडौं । नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मा रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मण्डिखाटारबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । भारतको मुम्बईनजिकै एउटा यात्रुवाहक रेलमा चार जनाको गोली हानी हत्या गरेको अभियोगमा भारतीय रेल सेवाको सुरक्षाका लागि खटिएका एक प्रहरी जवान पक्राउ परेका छन्। रेलवे प्रोटेक्शन फोर्स आरटीएफुमा कार्यरत चेतन कुमारमाथि एक वरिष्ठ सुरक्षा अधिकारी र तीन यात्रुको गोली हानी हत्या गरेको आरोप छ।
अधिकारीहरूले उनको नियतबारे अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान गर्ने प्रयासमा आफूहरू रहेको बताएका छन्। भारतीय रेलसेवामा यात्रु र सम्पत्तिको सुरक्षाका लागि आरटीएफका सुरक्षाकर्मीहरू परिचालित गरिन्छ। पश्चिमी राज्य राजस्थानको जयपुरबाट महाराष्ट्रको मुम्बई जाँदै गरेको रेलमा स्थानीय समयानुसार सोमवार बिहान ५ः३० बजे उक्त घटना भएको थियो।
प्रहरी जवान चेतन कुमारले सबैभन्दा पहिले नायब निरीक्षक टीकाराम मीणामाथि गोली प्रहार गरेका थिए। त्यसपछि उनले तीन यात्रुलाई गोली हानेको आरटीएफले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ। उक्त घटना महाराष्ट्रको राजधानी मुम्बई बाट ९६ किलोमिटर टाढाको पालघरबाट रेल पार गरेको केही क्षणमै भएको थियो। गोली प्रहारपछि कुमारले आपत्कालीन अवस्थामा रेल रोक्न प्रयोग गरिने सिक्री तानेका थिए।
लगत्तै उनले भाग्ने प्रयास गरेको तर मुम्बईको बाहिरी भागबाट उनलाई पक्राउ गरिएको वेस्टर्न रेल्वेजले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ। वेस्टर्न रेल्वेजका एक उच्च अधिकारीले गोली प्रहारको घटनाअघि कुमारको अरू व्यक्तिहरूसँग कुनै पनि विवाद भएको नदेखिएको उल्लेख गरेका छन्। “उनी स्वस्थ नभएको जस्तो देखिन्छ,” उनले भने।
काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ । गत वर्ष एनआरएनएको निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहनेगरी यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।
तर, परराष्ट्र मन्त्रालयले सो संस्था दर्ता गर्न नमानेपछि लामाले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो संस्था दर्ता गर्न आदेश दिएको संस्थाका संयोजक लामाले जानकारी दिए ।
सर्वोच्चको फैसलासँग गैरआवासीय नेपालीहरुको वैधानिक रुपमै एकभन्दा बढी संस्थाहरु हुने भएका छन् । गैर आवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ मा ‘गैर आवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैरआवासीय नेपालीहरुले नेपालभित्र गैर आवासीय नेपाली संघ खोल्न पाउनेछन्’ भन्ने व्यवस्था छ । गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ मा गैरआवासीय नेपाली संघ दर्ता गर्न चाहनेले कम्तीमा २५ मुलुकमा ५० जना गैरआवासीय नेपालीले निवेदन दिनुपर्ने उल्लेख छ ।
ऐनको यही व्यवस्थाबमोजिम हाल गैरआवासीय नेपाली संघ दर्ता भएर सञ्चालनमा छ । यो संघ सन् २००३ मा स्थापना भएको हो । तर, गैरआवासीय नेपाली भनेको नेपाली मूलका विदेशी नागरिक वा विदेशमा स्थायी बसोबासको अनुमति पाएका मात्रै (पिपुल अफ नेपाली ओरिजिन– पीएनओ) हुनुपर्ने भन्दै सोनाम लामाले लामो समयदेखि वकालत गर्दै आएका थिए ।
लामो समयको विवादपछि २०७८ चैतमा गैरआवासीय नेपाली संघमा तीन जना अध्यक्ष चुन्ने निर्णय भएपछि सोनाम लामाले ऐनमा भएको व्यवस्थाअनुरुप नयाँ संस्था दर्ताको प्रक्रिया सुरु गरेका थिए । उनले २०७९ वैशाख ६ गते यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । २८ मुलुकका ५८ जना गैरआवासीय नेपालीहरुले संयुक्त रुपमा दर्ताको निवेदन दिएका हुन् । सोनामको पक्षमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले पनि छन् ।
तर, त्यसमा परराष्ट्र मन्त्रालयले कुनै जवाफ नदिएपछि सूचनाको हक प्रयोग गरी निवदेनमा भएको प्रगतिको विवरण माग गरेका थिए । त्यसको पनि जवाफ नआएपछि १ मंसिर २०८९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको यूएनडीओका कानुन व्यवसायी आशिष उप्रेतीले जानकारी दिए । सो रिटमाथि आइतबार फैसला भई रिट जारी भएको हो ।
काठमाडौं । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताए ।
लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्री दाहालले कृषि र अर्थसँग पशुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएकोसमेत बताए । लम्पी स्किन रोग यसअघि दुईवर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताए ।
प्रधामन्त्री प्रचण्डले भने, ‘छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदममा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौँ र क्षति भएको छ ।’ उनले आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री प्रचण्डले बैठकमा भने, ‘अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौँ, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउनेतर्फ ध्यान दिऔँ र सोहीअनुसार योजना बनाऔँ ।’ उनले चीन र भारतको अभ्यास र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि ‘गोटपक्स भ्याक्सिन’ लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा सङ्घ, प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए ।
लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘गाईभैँसी पाल्ने किसान गरिब र निम्म वर्गका नै हुन्छन्, लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठूलो समस्यामा पारेको छ । किसानलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ ।’ किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोटपक्स भ्याक्सिन सङ्घ, प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उहाँले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए ।
काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद पाँचौं पटक पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार रिक्त रहेका दुई मन्त्रालयमा नेपाली कांग्रेसबाट मोहम्मद समिमलाई गृह सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। आजै मधेश प्रदेश सरकारको विनाविभागीयमन्त्री पदबाट वसन्तकुमार कुशवाह र राज्यमन्त्री पदबाट सञ्जयकुमार यादवले राजीनामा दिएका थिए । पार्टीकै निर्देशनमा उनीहरूले राजीनामा दिएका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् ।
सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गरे ।
उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकार र विभिन्न राजनीतिक दलहरूमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको दावी गरे ।
निर्वाचनमा जानु अगाडि रास्वपाले उठाएका मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि पनि राम्रै हुने उनको भनाइ छ ।
लामिछानले आगामी निर्वाचनसम्म धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रीत गर्न आग्रह गरे ।
सभापति लामिछानेले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरुलाई मतदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताए । उनले घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पुर्याउने गरी अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०७९ असोज ८ गते र विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।
सोमवार एक विज्ञप्ति जारी गर्दै पछिल्लो दशकभर सत्याग्रहलगायतका आन्दोलनका कारण चिकित्सा क्षेत्रमा विभिन्न सुधार भएको तर ती महत्वपूर्ण सम्झौता सरकारले कार्यान्वयन नगरेको बताएका छन् ।
सम्झौताहरू कार्यान्वयन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्। अन्यथा साउन २९ गतेदेखि सम्झौता कार्यान्वयनका लागि सत्याग्रह सुरु गर्ने चेतावनी उनले दिएका छन्।
विज्ञप्ति
हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्षरत छौं। पछिल्लो दशकभर हामीले बारम्बार गरेको सत्याग्रह लगायतको आन्दोलनका कारण विभिन्न सुधारहरु भएका छन् तर राज्यले धेरै महत्वपुर्ण सम्झौताहरु कार्यान्वयन गरेको छैन। बरु उल्टै अघि बढेका सुधारका काम मेडिकल माफियाको स्वार्थमा उल्ट्याउने काम गरिरहेको छ।
यसै पृष्ठभुमिमा पछिल्लो समय चिकित्सा क्षेत्रको मुख्य नियामक निकाय चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको छ। आयोगका सह–अध्यक्ष रहेका शिक्षामन्त्री समेत पदीय जिम्मेवारीबाट च्युत भएर माफियाहरुको त्यस्तो प्रयासमा साथ दिइरहेको आशंका उत्पन्न भएको छ। स्वास्थ्य शिक्षाका विभिन्न विषयहरुमा सिटिइभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नगर्नु तथा उनीहरुलाई दण्डित गर्नुको सट्टा संरक्षण गर्नुले त्यस्तो आशंक जन्माएको हो।
साढे दुई दशकसम्मको भद्रगोलका कारण डिग्री किनबेचमा परिणत भएको चिकित्सा शिक्षा सुधारका लागि दशक लामो संघर्षबाट हासिल भएका उपलब्धिहरु उल्ट्याउने यस्तो प्रयास निन्दनीय छ। यसबीच हामीले बारम्बार विज्ञप्तिहरुमार्फत् सरकारलाई त्यस्तो उल्टो बाटो नहिंड्न चेतावनी दिंदादिंदै पनि सरकारले कुनै सुनुवाइ गरेको छैन। बरु चिकित्सा शिक्षा आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि शुरु भइसक्नु पर्ने प्रक्रिया अझै शुरु नगरेर आयोगलाई नेतृत्वविहीन बनाएर त्यसको कार्यसम्पादन अवरुद्ध पार्ने प्रयासमा छ।
यसैबीच दलीय कार्यकर्ता भर्ती केन्द्र बनेका राज्यका अरु नियामक निकायसमेत चिकित्सा शिक्षा आयोगलाई अटेरी गरेर मेडिकल माफियाको भाषा बोल्नु संयोग मात्रै नभई मेडिकल शिक्षा सुधारमा अहिलेसम्म भएको सुधारलाई उल्ट्याउने भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिक दलहरुको संगठित प्रयास भएको देखिन्छ।
त्यसैले सिटिइभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न, दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिन चाहन्छौं।
यीसहित शुल्क बढाउनेसम्बन्धी सिटिइभीटीको निर्णय खारेज गर्ने सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्याउने तथा संचालनमा ल्याउने,एकिकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न काननुनी व्यवस्था गर्ने, सरकारी अस्पतालहरुमा विद्धमान शैया अनुरुप स्थायी दरवन्दीको व्यवस्था गर्ने, सरकारी स्वास्थ्य संस्थाहरुवाट निशुल्क औषधि तथा उपचार प्रदान गर्नु पर्ने कानुनी प्रावधान कडाईका साथ लागु गर्ने लगायत हामीसित २०७९ असोज आठ गते तथा विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न माग गर्दर्छौं।
यी सबै मागहरु पुरा नभएमा यही साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छौं।
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सडकमा रोकिराखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किँदा २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको ज्यान गएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा ज्यान गएको हो । ट्रक चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीय बासिन्दाहरुले गरेको राजमार्ग बन्द प्रहरीले खुलाएको छ ।
काठमाडौं । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दुधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।
चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।
नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।
काठमाडौं । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङ देउखुरीको लालमटिया आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान साढे २ बजे सूचना जारी गरेर पछिल्लो तीन घण्टायता ती क्षेत्रमा भारी वर्षा भएको जानकारी दिएको हो ।
महाशाखाका अनुसार सबैभन्दा बढी लुम्बिनीमा ७४.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी तौलिहवामा ६२.२ मिलिमिटर, लालमटियामा ६२ मिलिमिटर र भैरहवामा ५५.६ मिलिमिटर वर्षा मापन भएको छ ।
भारी वर्षाका कारण सो क्षेत्र भइ बहने कोठी, बाणगंगा, सुरई लगायत खोलाहरूमा बहाव बढ्ने पूर्वानुमान छ । त्यसैले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन पनि महाशाखाले आह्वान गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थान आसपास अवस्थित छ ।
त्यसैले पूर्वको तुलनामा पश्चिम क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा भूक्षयबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।
काठमाडौं । पाकिस्तानको कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताहरूको र्यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । साथै २ सय जना घाइते भएका छन् ।
अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ ।
कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टी गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् । साथै गम्भीर घाइतेहरूलाई पेशावर र अन्य अस्पतालमा लगिएको पनि उनले बताए । बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लाम–फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ ।
बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएका १ सय ५० जनालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् । जवकि गम्भीर घाइतेहरूलाई हेलीकोप्टरमार्फत् पेशावरस्थित लेडी रिडिङ हस्पिटलमा लगिएको छ ।
पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार विस्फोटको क्रममा घटनास्थलमा रहेका एक स्थानीय पत्रकार पनि घाइते भएका छन् । साथै विस्फोटको समयमा जमियत उलेमा इस्लाम-फजलको कार्यक्रममा ५ सयभन्दा धेरै मानिस भेला भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरूद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्।
समाजवादी मोर्चामा आवद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरूद्ध अभियान थालिएको छ। तस्करीविरूद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।’
भ्रष्टाचारका अरू धेरै फाइल खुल्ने प्रधानमन्त्री दाहालले बताए। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ नभएकाले त्यसमा जनताको साथ र समर्थन जरूरी रहेको उनले स्पष्ट पारे।
प्रधानमन्त्री दाहालले भने, ‘यसमा समाजवादी मोर्चाको समर्थन चाहिएको छ। हेर्दै जानुहोला अरू फाइल खुल्दै जानेछन्। त्यतिबेला तपाईंहरूको समर्थन चाहिन्छ। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौं।’ अहिलेका अभियान बेपत्ता, घाइते र अपाङ्गको सपना साकार गर्ने लडाइँका रूपमा उनले चित्रण गरे ।
काठमाडौं । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका- ७ को बाँसथलामा घाँस काट्ने क्रममा पहिरोको ढिस्को खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा बाँफिकोट- ७ की ४५ वर्षिया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षिय कालीबहादुर खड्का रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार उनीहरु करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेका थिए । आइतबार दिउँसो पौने तीन बजे बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका बेला पहिरो ढिस्को खसेको थियो । पहिरोमा परि एक जना घाइते भएका छन् । घाइते हुनेमा बाँफिकोट ७ कै ४२ वर्षिया बलकुमारी खत्री रहेका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।
सो अवधिमा पुरीको वैध आय रु १ करोड २० लाख ७७ हजार ७४८ बराबर रहेको पाइएको छ । त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याजआय र जग्गाको मुआब्जालगायत रहेको छ ।
सो अवधिमा पुरीले रु २करोड २४ लाख ८१ हजार ६९० बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध रु १ करोड ४ लाख ३ हजार ९४१ बराबरको बिगो दाबी गरिएको छ । आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।
सार्वजनिक पदमा रहँदा गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ ।
काठमाडौं । पहिरो खसेका कारण आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।
इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी नै यातायातका साधन सञ्चालन गराइएको सो कार्यालयले जानकारी दिएको छ ।
धरानमा डेंगी प्रकोप तीव्र, परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा पोजिटिभ काठमाडौं । सुनसरीको धरानमा डेंगी संक्रमणको जोखिम क्षेत्र देखिएको छ । तीन वर्षअघिझैँ धरानमा संक्रमितको सख्या बढ्न थालेपछि संक्रमणको जोखिम बढेको हो । जेठ अन्तिम सातायता साउन १३ गतेसम्म दुई हजार ३५३ जना संक्रमित भएका छन् ।
साउन १२ गतेसम्म दुई हजार १९९ कुल संक्रमित रहेकोमा एकैदिन १५४ जना संक्रमित थपिएका हुन् ।
डेंगीसँग मिल्दोजुल्दो लक्षण देखिएर परीक्षण गराएकामध्ये झन्डै ६० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । शनिबार परीक्षण गरिएका तीन हजार ९८१ टेस्टमा दुई हजार ३५३ जनामा डेंगी पुष्टि भएकोे थियो ।
जेठ २३ यता मात्रै धरानमा डेंगीबाट एक बालकसहित आठजनाको मृत्यु भएको छ ।
काठमाडौं । राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।
विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनसँग सम्बन्धित एकजना व्यक्ति त्यहाँ बसेको सुराक पाएपछि होटल भियनामा आज बिहान छापा मारेको हो । होटलबाट केही कागजपत्रसहित एक जनालाई पक्राउ पनि गरिएको छ ।
पक्राउ पर्नेमा दावा छिरिङ नामका बेल्जियमका नागरिक रहेको खुलेका छ । राजश्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।
यो प्रकरणमा अहिलेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्टसहित १८ जना पक्राउ परेका छन्। यही साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो।
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको छ ।
ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’
काठमाडौं । साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढी र भेगले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् ।
खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।
विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामुखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न नसकेको उनले बताए । यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत खबर गरेको उनको भनाई छ ।
बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ । काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए । रासस
काठमाडौं । थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।
नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण गर्ने गोदाममा विस्फोट भएको र एक सय १५ जना घाइते भएका बताएका छन् । उनीहरुको उपचार भैरहेको छ । गोदाममा लागेको आगो निभाइएको छ । विस्फोटका कारण थुप्रै घर, पसल र गाडीमा पनि क्षति पुगेको छ ।
काठमाडौं । आज झापा र कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । झापाको केचना वर्षामापन केन्द्रमा अति भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।
जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायत कास्की र पर्वत आसपासका क्षेत्रमा पनि अतिभारी वर्षा भएको महाशाखाले जनाएको छ । सो क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहावको जोखिम छ ।
साथै कुस्मा-पोखरा सडकखण्ड, घान्द्रुक र त्यस आसपास पहिरोको जोखिम छ । त्यसैले कमजोर र भिरालो जमिन भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । जल तथा मौस विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं । नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् । नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङलेले यही साउन १६ गते अपराहृन ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । तर अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षले बहुमत जुटाउन सकेका छैनन् । सत्ता गठबन्धनले राप्रपाको साथ खोजेका छन् र कोशीका नेताहरुलाई छलफलका लागि काठमाडौंमा बोलाएका छन् ।
तर डा. भट्टराईले भने यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त हुने बताएका हुन् ।
भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’
जसरी भए पनि सरकार बनाउन खोजेका दलहरुको प्रयासलाई भट्टराईले सत्ता लिप्सा देखाएको भनेर टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ?’
नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो । सर्वोच्चले संविधानको धारा १६८ -२० बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडाध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् ।
रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको सभापति लामिछानेको जिकिर छ। उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए । देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने उनको भनाइ छ ।
‘म सबैलाई यसै मञ्चबाट देशभरकै रास्वपा समर्थक, रास्वपा प्रेमी र रास्वपामा आवद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाईं उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ । साथीहरू मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु, त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन, किनभने यो पार्टी साधारण परिस्थितिमा बनेको पार्टी होइन, कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन, उनले भने । सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गरेका छन् ।
नेपालले सन् २०१० मा रसियाको सेन्ट्स पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । सो लक्ष्य तोकिएको अवधिअगावै पूरा भएको छ । प्रधानमन्त्री दाहालले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता पूरा गरेकोमा सबैप्रति आभार प्रकट गरेका छन् ।
उनले निर्धारित लक्ष्य हासिल गर्न क्रियाशील वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्था, कर्मचारी र स्थानीय समुदायलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री दाहाले बाघको संख्या वृद्धि भएसँगै मानव र बाघबीचमा हुने आपसी द्वन्द्वका घटनामा समेत वृद्धि भएको उल्लेख गरे । बाघ र मानिसबीचको सहअस्तित्व कायम राख्न संरक्षित क्षेत्रको प्रभावकारी संरक्षण गरी आहारा प्रजातिको उपलब्धता बढाउन र बासस्थान व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय समुदायको जीविकोपार्जनमा समेत सुधार हुनुपर्ने बताए ।
ुबाघको संरक्षण तथा व्यवस्थापनमा थपिएका चुनौतीलाई सम्बोधन गर्न बाघसम्बन्धी थप अध्ययन अनुसन्धान, अग्रपंक्तिमा खटिएका कर्मचारीको क्षमता अभिवृद्धि, सम्बद्ध सरकारी तथा गैरसरकारी क्षेत्र अन्तर्राष्ट्रिय साझेदार संस्थाबीचको समन्वय उत्तिकै आवश्यक छु, प्रधानमन्त्री दाहालले भनेका छन् ।
उनले बाघको बासस्थान नजिकका स्थानीय समुदायलाई जनचेतनामूलक कार्यक्रम तथा वैकल्पिक आयआर्जनसम्बन्धी कार्यक्रमको आवश्यकतालाई मध्यनजर गरी गत वर्ष राष्ट्रिय बाघ संरक्षण समितिको बैठकबाट ‘प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम’ कार्यान्वयनमा ल्याउन वार्षिक एक अर्ब रुपैयाँ बजेट परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय समुदायसामु गरेका प्रतिबद्धता पूरा भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा मानव र वन्यजन्तुबीचको सह–अस्तित्व कायम गर्नमा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आह्वान गरे । उनले आजका दिनमा बाघलगायत अद्वितीय जैविक विविधता संरक्षणमा थप ऊर्जा र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले आगामी दिनमा संसारभर बाघ र मानवबीच सह–अस्तित्व कायम भई बाघ संरक्षण कार्य अझै प्रभावकारी बन्न सकोस् भनी कामनासमेत गरेका छन् ।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनै नसक्ने बताए । केही काम गरेको देखाएर भ्रष्टाचार लुकाउन सरकार लागि परेको उनको भनाई छ ।
पुर्व प्रधानमन्त्री ओलीले नेपालगन्जमा शनिवारदेखि सुरु भएको लुम्बिनी प्रदेशका सबै तहका एमालेबाट विजयी जनप्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै यस्तो बताएका हुन् । उनले सरकारले आफुलाई भ्रष्टाचार विरोधी भनेर जति हल्ला मच्चाइए पनि देशमा भ्रष्टाचार झनै मौलाएको हुनाले एमालेले गम्भीर भएर समीक्षा गरिरहेको बताए ।
एमाले अध्यक्ष ओलीले अहिलेको सरकार सुशासनको पक्षमा नरहेको र राष्ट्रप्रतिको जिम्मेवारीबोध पनि सरकारलाई नभएको आरोप लगाए । उनले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले सम्बन्धको आधारमा सिफारिस नगर्न निर्देशन दिंदै यो कुरा पार्टीका लागि घातक बन्न सक्ने बताए । उनले एमालेका जनप्रतिनिधिले गलत कार्यमा सिफारिस गर्न नहुने जनाउँदै जनप्रतिनिधि बदनाम हुनु भनेको पार्टी बदनाम हुनु भएको बताए ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तीन देशको भ्रमण सकेर काठमाडौं फर्किएका छन्। उनी शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए।
अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गरेका थिए। बैठकमा सहभागी भएर अध्यक्ष नेपाल मलेसिया र सिंगापुरको भ्रमणमा थिए।
करिब एक साताको भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गरेको पार्टी पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए। पार्टीका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नेपाललाई स्वागत गरेका थिए।
काठमाडौं । वैज्ञानिक अध्ययनलाई आधार मान्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रेसले यो जुलाई महिना विश्व इतिहासकै सबैभन्दा गर्मी महिना भएको घोषणा गरेका छन् । वास्तवमा जुलाईले विश्वको औसत तापक्रमका सम्पूर्ण रेकर्ड तोडेको छ ।
संयुक्त राष्ट्रसंघ अन्तरगतको विश्व मौसम संगठन तथा युरोपेली युनियन कपरनिकसन क्लाइमेट चेन्जले एक संयक्त विज्ञप्ति जारी गर्दै जुलाई महिना इतिहासकै गर्मी महिना भएको पुष्टि गरेका छन् । राष्ट्रसंघ महासचिव गुटेर्रेसले जलवायु परिवर्तनले भयानक रुप लिइरहेको भन्दै यो त्रासदीपूर्ण रहेको चेतावनी दिएका छन् ।
उच्चतम तापक्रमको यो अवस्था केवल खतरनाक सुरुआत मात्र रहेको भन्दै उनले मानवजाति विश्वव्यापी उम्ल्याइतर्फ अगाडि बढिरहेको बताएका छन् । यो जुलाईमा गर्मीको असर पूरै दुनियाभर देखिएको छ । चाहे ग्रिक टापु रोड्स होस् वा अमेरिकाको दक्षिण पश्चिम इलाका होस् ।
चीनको एक गाउँमा त तापमान ५२.६ डिग्री सेल्सियस पुगेको छ । जर्मनीको लाइपिग विश्वविद्यालयले बुधबार एक तथ्यांक सार्वजनिक गरेको छ । त्यसले पनि जुलाई महिना यो पटक विश्वमै सबैभन्दा गर्मी महिना रहेको उल्लेख गरेको छ । यो जुलाई महिनाले अन्त्यसम्ममा सबै खालका तापमानका रेकर्ड तोड्ने छ ।
जुलाईमा विश्वको तापमान सन् २०१९ को जुलाईको तुलनामा औसतमा ०।२ डिग्री .सेल्सियस बढी रहेको छ । यसअघि यतिधेरै गर्मी १७४ वर्षअघि थियो । यो पटकको जुलाईको विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिपूर्वको तापक्रमभन्दा १.५ डिग्री सेल्सियस बढी रहेको बताइएको छ । अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयका जलवायु वैज्ञानिक माइकल मानका अनुसार विश्वमा जिवाश्म इन्धनको दहन हुँदासम्म पृथ्वी यहीँ प्रकारले तातो हुँदै जानेछ ।
काठमाडौं । पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ । हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दो बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता लगाउन उक्त समिति गठन गरिएको हो ।
सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मुलुकभर सञ्चालनमा रहेका एयरक्राफ्ट सञ्चालन विधि र प्रक्रियाबारे बुझ्न र हवाई उद्योग कति सुरक्षित छन् भन्नेबारे समितिले अध्ययन गर्ने बताए । सङ्घमा आबद्ध रहेका सबै वायुसेवा कम्पनीको सञ्चालन प्रक्रिया र विधिबारे पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा गठित समितिले एक महिनासम्म अध्ययन गर्ने भएको छ । समितिले अध्ययनका क्रममा देखिएका कमी कमजोरी हटाउन थप प्रक्रिया अघि बढाउने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले माउन्टेन फ्लाइट र ‘स्लिङ’ उडानमा गरेको कडिकडाइले हवाई दुर्घटना न्यूनीकरण नहुने समेत उनको दाबी छ । हेलिकोप्टरको मुख्य काम नै माउन्टेन फ्लाइट र स्लिङ उडान रहेको जनाउँदै उहाँले माउन्टेन फ्लाइट र स्लिङ उडान रोक लगाउन नहुने उनको भनाइ छ ।
प्राधिकरणले असार २८ गतेदेखि हेलिकोप्टरहरूले उडानको सुरु गन्तव्यमा नफर्की बिचबाटै अन्य गन्तव्यमा गएको जनाउँदै चालु मनसुन अवधिभर (सेप्टेम्बर २०२३ सम्म) माउन्टेन, स्लिङ र पुष्पवृष्टिका उडानमा रोक लगाएको छ ।
बिहान एक ठाउँबाट उडान गरेका हेलिकोप्टर दिनभरि आफूखुसी उडान गरेर बेलुका मात्रै गन्तव्यमा आउने गरेको पाइएको भन्दै प्राधिकरणले टावरलाई समेत जानकारी नगराई उडान गर्दा हवाई दुर्घटना बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको हो । सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि गठन गरेको टास्कफोर्स समितिमा क्याप्टेन हीराबाबु दाहाल, रवि कंसाकार र नारायणबहादुर सिंह डङ्गोल रहेका छन् ।
काठमाडौं । दश वर्षको अवधिमा झन्डै तीन गुणाले बाघको सङ्ख्या बढाउने ‘महत्त्वपूर्ण उपलब्धि’ प्राप्त गरेको नेपालको अबको चुनौती ती जनावरको उचित व्यवस्थापन र मानवसँगको द्वन्द्व कम गर्नु रहेको जानकारहरूले बताएका छन्। सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्या सन् २०२२ मा बढेर ३५५ पुगेको सरकारी निकायहरूले घोषणा गरेका थिए। उक्त उपलब्धि नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमै व्यापक चर्चाको विषय बनेको थियो।
तर सङ्ख्या बढेसँगै बाघ र उनीहरूको वासस्थान रहेका स्थान आसपासमा बस्ने सर्वसाधारणबीच द्वन्द्व पनि चर्किँदैँ गएको घटनाहरू प्रकाशमा आउने गरेका छन् जसको प्रत्यक्ष प्रभाव स्थानीय समुदायमा परेको छ। अधिकारीहरूका अनुसार पछिल्लो गणना पश्चात् वैज्ञानिक रूपमा मूल्याङ्कन नगरिएको भए पनि अप्रत्यक्ष सूचकहरूले सङ्ख्या बढ्दो क्रममा नै रहेको देखाएका छन्।
विज्ञहरू पनि पछिल्ला वर्षहरूको अवस्था र सँगसँगै मृत्युदरलाई नियाल्दा ५० देखि ६० को हाराहारीमा पछिल्लो एक वर्षमा बाघको सङ्ख्या बढेको हुनसक्ने अनुमान गर्न सकिने बताउँछन्। त्यसका कारण आगामी दिनहरूमा बाघ र स्थानीयवासीबीच सन्तुलन कायम गर्नु नै मुख्य चुनौती हुने जानकारहरूको बुझाइ छ।
अधिकारीहरूका अनुसार नेपालमा आर्थिक वर्ष २०७८–७९ मा बाघको आक्रमणबाट २१ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७९(८० मा त्यो सङ्ख्या १२ थियो। चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको सरकारी तथ्याङ्कले देखाउँछ।
‘‘पक्कै पनि यो बाघको सङ्ख्या बढेर हो भनेर अनुमान लगाउन सकिन्छ,’’ पछिल्ला केही वर्षमा बाघबाट हुने आक्रमण तुलनात्मक रूपमा घटेको उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले भने। ‘‘तर नेपालको सन्दर्भमा हामीले त्यति धेरै गहन रूपमा अध्ययन गरिसकेका छैनौँ। सङ्ख्या कति हुन्छ, हाम्रो क्षमताले कति धान्ने हो भन्ने विषयमा पनि भरपर्दो अनुमान र अध्ययन अनुसन्धान हुन सकेको छैन।’’
नेपालका प्राकृतिक वासस्थानमा कति बाघ बस्न सक्छन् भन्ने कुरा पर्यावरणीय अवस्था, मौसममा हुने परिवर्तन, प्रत्येक वर्ष फेरिने वासस्थान र सामाजिक परिस्थितिहरूले समेत असर गर्ने हुनाले उक्त विषय अनुमान गर्न कठिन भएको उनी बताउँछन्।
नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटास्थित राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रहरूमा बाघको वासस्थान छ। एक अध्ययनका अनुसार पूर्वका दुई क्षेत्र (चितवन र पर्सा) मा १७५ वटा बाघ बस्न सक्ने देखिएको छ। पश्चिमी भेगमा भने त्यस्तो अध्ययन भई नसकेको अधिकारीहरू बताउँछन्। तर राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्रकी आयोजना व्यवस्थापक रचना शाहका अनुसार पछिल्लो एक अध्ययन अनुसार नेपालले अझै थप बाघको सङ्ख्या धान्न सक्ने अवस्था देखिन्छ।
कोषका अनुसार सन् २०२२ को गणना अनुसार चितवनमा बाघको सङ्ख्या १२८ देखिएको थियो भने पर्सामा ४१ वटा बाघ देखिएका छन्। एक अध्ययनले चितवनमा मात्रै २०० भन्दा बढी बाघ बस्न सक्ने उल्लेख गरेको कोषले जनाएको छ। बाघसँगै देशको जनसङ्ख्या पनि बढ्दै गएको अवस्थामा राष्ट्रिय निकुञ्जहरूमा भएका अतिक्रमणका कारण पनि समस्या उत्पन्न भएको शाहको बुझाइ छ।
बाघ संरक्षणमा उल्लेख्य उपलब्धि प्राप्त गरेको नेपालका लागि अबको सबैभन्दा ठूलो चुनौती ती जनावरको व्यवस्थापन रहेको जानकारहरू बताउँछन्। पछिल्ला दिनहरूमा सङ्ख्या बढेसँगै मानव बस्तीमै आएर बाघले स्थानीयवासी र घरपालुवा जनावरहरूलाई आक्रमण गरेका थुप्रै घटनाहरू सार्वजनिक भएका छन्।
‘‘जहाँ बाघ पाइने वन छ ती क्षेत्रका मानिसहरूको जीवनस्तर निम्न किसिमको छ जस कारण उनीहरू वनमा आश्रित छन्। जीविकोपार्जनका लागि उनीहरू वनमा पटक पटक जानुपर्ने आवश्यकता र अवस्था छ जसले गर्दा यस्ता घटना दोहोरिने गरेका छन्,’’ कार्कीले भने।
यस्ता घटना न्यूनीकरण गर्नका लागि बाघलाई मानव बस्तीमा आउन नदिने, मान्छेको वनमा निर्भरता घटाउने र मानिसहरूको आनीबानी परिवर्तन गर्ने अभियान चलाउन आवश्यक रहेको र त्यस तर्फ केही काम आफूहरूले सुरु गरिसकेको विभागको दाबी छ। कार्कीका अनुसार सन् २०२२ मा विभागले पारित गरेको रणनीतिमा पनि यी विषयवस्तु उल्लेख छन् र चालू आर्थिक वर्षको कार्यक्रममा पनि तीनलाई प्राथमिकतामा राखिएको छ।
‘‘बाघको बानी बेहोरा बुझ्न पनि कठिन छ र त्यो परिवर्तन गर्न पनि कठिन छ। मान्छेको बानी बेहोरा तुलनात्मक रूपमा बुझ्न पनि सहज छ र त्यसलाई परिवर्तन गर्न पनि सहज छ। हामी इन्टरभेन्सन (हस्तक्षेप) गर्न सक्छौँ। त्यसो भएर हामीले अहिले इन्टरभीन गर्ने भनेको मान्छेको बिहेभिअर (आनीबानी) परिवर्तन गर्ने अभियान। त्यो कार्यक्रमलाई धेरै प्राथमिकतामा राखेका छौँ।
विज्ञहरूका अनुसार बाघ र मानिसहरूबीचको द्वन्द्व रोक्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा प्राकृतिक वासस्थानको उचित व्यवस्थापन हो। हाल नेपाल सरकारदेखि विभिन्न दातृ निकाय तथा गैर सरकारी संस्थाका कार्यक्रममा उक्त विषयलाई केन्द्रमा राखिएको कार्की बताउँछन्। वासस्थानबाहेक आहार प्रजातिका जनावरको सङ्ख्या वृद्धि अर्को महत्त्वपूर्ण विषय हो।
‘‘आहार प्रजातिका जनावर पूर्व र पश्चिममा नै फरक पर्छ। त्यसको व्यवस्थापन गर्ने कार्यक्रम पनि हामीले ल्याएका छौँ,’’ कार्कीले भने। शाहका अनुसार आहार पर्याप्त मात्रामा नपाउँदा बाघ वन बाहिर निस्कने सम्भावना बढी रहन्छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा आहार प्रजातिको जनावरको सङ्ख्या पनि पर्याप्त रहेको देखिएको उनी बताउँछिन्। तर नजिकै मानव बसोबासका कारण नै बेलाबेला बाघको आक्रमणमा मानिसहरू पर्ने गरेको उनको बुझाइ छ।
त्यस्तै संवेदनशील स्थानहरूमा रहेका मानव बस्तीमा जनावर नआऊन् भनेर तारबार गर्ने कामहरू पनि गरिएको सरकारी दाबी छ। ‘‘मानिसहरूको जीवनस्तर उकास्ने गरी सिपमूलक तालिमहरू दिने, जीविकोपार्जनका विभिन्न वैकल्पिक उपायहरू सुझाउने गरी सिपमूलक कार्यक्रमहरू सर्वसाधारणहरू समक्ष पुर्याइएको अवस्था छ,’’ कार्कीले भने। शाह पनि सबैभन्दा महत्त्वपूर्ण पाटो जनचेतना नै रहेको बताउँछिन्।
‘‘निकुञ्जहरूमा नछिर्ने, सामुदायिक वनमा पनि निश्चित समयमा मात्रै जाने, जति पनि मापदण्डहरू छ सबै पालना गर्ने हो भने एउटा हदसम्म यो द्वन्द्व हामीले पनि कम गर्न सक्छौँ,’’ उनले थपिन्। बाघबाट हुने आक्रमणका घटनाहरू बढ्दो क्रममा रहे पनि पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्नका लागि पनि बाघको सङ्ख्या वृद्धि गर्नुको विकल्प भने नभएको संरक्षणमा जुटेका अधिकारी तथा विज्ञहरू बताउँछन्। बीबीसी