Category: समाचार

  • राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक निलम्बनमा

    राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक निलम्बनमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

    ‘पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङका सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ, महामन्त्री ढकालले भने,‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ ।’ जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको थियो ।

  • सम्पर्कविहिन चिनियाँ विदेशमन्त्री बर्खास्त भए

    सम्पर्कविहिन चिनियाँ विदेशमन्त्री बर्खास्त भए

    काठमाडौं । एक महिनादेखि सम्पर्कविहीन रहेका विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ । चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले बर्खास्त गरेको हो । उनको स्थानमा यसअघि विदेशमन्त्रीको भूमिकामा रहेका चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ यीलाई जिम्मेवारीमा फर्काइएको छ ।

    २५ जुनमा अन्तिमपटक सार्वजनिक रूपमा देखिएका छिन त्यसपछि सम्पर्क विहिन भएका थिए । अमेरिकाका लागि चीनका राजदूत रहेका छिन राष्ट्रपति सी जिनपिङका विश्वास पात्र मानिन्थे । उनलाई सीले पार्टीको १४ औं महाधिवेशनपछि महत्वपूर्ण जिम्मेवारी दिएर राजदूतबाट सिधै चीनको विदेशमन्त्रीको जिम्मेवारीमा ल्याएका थिए ।

    पुनः विदेशमन्त्रीको जिम्मेवारीमा फर्किएका वाङ यी
    गएको डिसेम्बरबाट जिम्मेवारी सम्हालेका उनले पछिल्लो समय विभिन्न मुलुकमा कूटनीतिक भ्रमणलाई तीव्रता दिएका थिए । साथै, लामो समयदेखि रोकिएको अमेरिकी उच्च अधिकारीहरूले समेत चीन भ्रमण गरेका थिए ।

    राष्ट्रपति सीले युक्रेनसँग युद्धमा रहेको रुसको भ्रमण गरेर शान्तिपूर्ण ढंगले समाधान खोज्नुपर्ने सुझाव समेत दिएका थिए । कूटनीतिक भ्रमण र भेटमा सक्रिय रहेका विदेशमन्त्री छिनले २५ जुनमा श्रीलंका र रुसका विदेशमन्त्रीहरूसँग भेट गरेका थिए ।

  • खाद्य प्रणालीमा परिवर्तन आवश्यक : प्रधानमन्त्री

    खाद्य प्रणालीमा परिवर्तन आवश्यक : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन् । उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको बताए ।

    संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज (मङ्गलबार) सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कम्जोर साबित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गरे ।

    वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षिण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढवा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उनले बताए ।

    खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “खाद्य प्रणालीमा हामीले गर्ने परिवर्तनले मात्रै यस्ता विविध चुनौतीलाई सम्बोधन गर्न सकिन्छ ।” प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधार, आर्थिक विकासमा बढवा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने स्पष्ट पारे ।

    उनले त्यस्तो रूपान्तरणले थप समतामूलक, लचिलो र दिगो खाद्य प्रणालीको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले नेपालमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ मार्फत कानुनी दायरा तयार पारी दिगो खाद्य प्रणालीमा जोड दिएको जानकारी गराउनुभयो । स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र पोषणमा खाद्य सुशासन र नीतिमा तादम्यता ल्याउनका लागि सो व्यवस्था एक महत्त्वपूर्ण साधन भएको प्रधानमन्त्रीको भनाइ छ ।

    सन् २०२१ मा सम्पन्न ‘युएन फुड सिस्टम समिट’ले तय गरेको मार्गनिर्देशअनुसार विद्यमान खाद्य प्रणालीमा रहेको कमजोरी पत्ता लगाई त्यसलाई सुधार गर्न र रूपान्तरणको मार्ग तय गर्न सरोकारवालासँग राष्ट्रिय र प्रादेशिकरुपमा सघन छलफल गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

    दिगो विकास लक्ष्यले तय गरेको लक्ष्यअनुसारको कामलाई सुव्यवस्थित रूपमा अगाडि बढाउनका लागि खाद्य प्रणाली रुपान्तरणसमबन्धी रणनीतिक योजना (सन् २०२२–२०३०) तयार पारी कार्यान्वयनमा ल्याइसकिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।


    नेपाल किफायती, सुरक्षित, स्वस्थ र पौष्टिक आहारका लागि दिगो खाद्य शृङ्खला विकास गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीको प्रस्टोक्ति छ । उनले कृषि उत्पादकत्वमा सुधार, स्थानीय खेतीको प्रवर्द्धन गर्दै फोहोररहित भण्डारणका लागि लगानी केन्द्रित गरेको बताए । सार्वजनिक–निजी साझेदारीमार्फत पूर्वाधारको विकास र मूल्य शृङ्खलामा सुधारका लागि प्रोत्साहित गरिएको प्रधानमन्त्रीको कथन छ । रासस

  • निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई तोकियो जरिवाना

    निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई तोकियो जरिवाना

    काठमाडौं । निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाचन खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो।

    यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ र प्रदेश सभातर्फका १३ सय ९८ गरेर जम्मा २४ सय ३५ जनालाई १५ हजार रुपियाँका दलले जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।

  • कोशी सरकारविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

    कोशी सरकारविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

    काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट ‘हेर्दाहेर्दै’मा परेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आजदेखि सुनुवाइ भएको यो रिट अब यही इजलासले टुंगो लगाउने भएको छ ।

    सम्भवत् पूर्णइजलासले बुधबार नै फैसला सुनाउने छ । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको थियो ।

    गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    यसअघि सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

  • सुनकाण्डपछि फेरिए त्रिभुवन विमानस्थल भन्सार प्रमुख

    सुनकाण्डपछि फेरिए त्रिभुवन विमानस्थल भन्सार प्रमुख

    काठमाडौं । सुनकाण्डपछि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ।

    यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो ।

    निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए।

    उनै पाण्डेलाई अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन्।

    १० पुस, २०७९ मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए ।

    पोखरेल विदामा रहेको बेला २ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

  • भक्तपुरमा ११ वर्षकी बालिकाद्वारा आत्महत्या

    भक्तपुरमा ११ वर्षकी बालिकाद्वारा आत्महत्या

    काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा रामकुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलाको भान्साको कोठाको झुण्डिएर एकजना ११ वर्षीया बालिकाले मंगलबार आत्महत्या गरेकी छन्।

    सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर भई हाल डेरा गरी बस्ने अभिषेक थामीको छोरी वर्ष ११ की आशिका थामीले काठको निरालमा तन्नाको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ।

    भुण्डिएर आत्महत्या गरिराखेको अवस्थामा निजको बुबा अभिषेक थामीले देखी पासो काटी हेर्दा मृत्यु भइसकेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

  • सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको हस्तक्षेप

    सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको हस्तक्षेप

    काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ।

    काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो। स्थानियले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन्।

    महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलवार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो।

    पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृती समेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे। उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे। यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफुहरुले महोत्सव गरेको बताएका थिए।

    नगरप्रहरी र स्थानीयका बिचमा केहीबेर भनाभन समेत भएको थियो। आफूहरुले लिखित रुपमा अनुमति लिएर भएपनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन्।

  • इटालीमा बंगलादेश र नेपालका प्रधानमन्त्री बीच भेटवार्ता

    इटालीमा बंगलादेश र नेपालका प्रधानमन्त्री बीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

    उनीहरुबीच कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । त्यसका अलावा दुई प्रधानमन्त्रीबीच क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा पनि महत्त्वपूर्ण छलफल भएको थियो ।

    सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका अलावा नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो । त्यस्तै, बङ्गलादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो ।

    बङ्गलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । यस्तै, सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ । केही महत्त्वपूर्ण जलविद्युत आयोजनामा समेत बङ्गलादेशले लगानी गर्ने तयारी गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बङ्गलादेशबीच विद्युत व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरणसमेत बनेको छ । यस्तै, नेपाल र बङ्गलादेशबीच रहेका विभिन्न संयन्त्रमार्फत द्विपक्षीय हित र चासोका क्षेत्रमा समेत विचार विमर्शका अलावा, अनुभवको आदानप्रदानसमेत भइरहेको छ ।

  • सिद्धार्थ राजमार्ग अवरुद्ध, कालिगण्डकी करिडोरमा पनि पहिरो

    सिद्धार्थ राजमार्ग अवरुद्ध, कालिगण्डकी करिडोरमा पनि पहिरो

    काठमाडौं । अविरल वर्षातका कारण सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध बनेको छ । गएरातिदेखि परेको अविरल वर्षात्का कारण सिद्धार्थ राजमार्गको तिनाउ–३, स्थित दोभान नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।

    पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

    कालीगण्डकी कोरिडोर अन्तर्गत रम्भाको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । मङ्गलबार बिहानैदेखि सडक खुलाउने प्रयास भए पनि पानी नरोकिँदा पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पानी राकिएपछि पहिरो तत्काल हटाइने र सडक खुलाइने प्रनाउ थापाले जानकारी दिए ।

  • मुग्लिङ -नारायणगढ सडक खण्ड अवरुद्ध

    मुग्लिङ -नारायणगढ सडक खण्ड अवरुद्ध

    काठमाडौं । चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    बिहान ७ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । पानी परिराखेकाले परिहो पन्छाउन कठिन भएको छ । बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् ।

  • अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

    अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । अमेरिका पठाउने भन्दै मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा घर भई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो। उनलाई ब्युरोले आइतबार पक्राउ गरेको एसपी नरहरि रेग्मीले जानकारी दिए।

    सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभलालच र भ्रममा पारेर अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनेर उनी लगायतले धेरै नेपालीहरूलाई अन्य देशमा पुर्‍याएर अलपत्र पारेका छन्,’ रेग्मीले भने, ‘बन्धक बनाएर यातना दिने र फिरौती समेत लिएको पायौं।’ कमल तामाङसहित केही व्यक्तिहरूले अमेरिका लैजाने भन्दै मानव बेचबिखन गरेको भन्‍दै ब्युरोमा चारवटा जाहेरी परेको छ।

    उनले हवाईमार्ग मार्फत अमेरिका लैजाने प्रलोभन देखाएर जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म लिएको एसपी रेग्मीले बताए। उनीहरूले कुल २ करोड २६ लाख २३ हजार ८९० रूपैयाँ लिएको आरोप छ। यसरी रकम लिएर पीडितहरूलाई अवैध बाटो भारतको नयाँ दिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस र जाम्बिया लगायत देशहरूमा पुर्‍याएर अलपत्र पारेको एसपी रेग्मीले बताए।

    अलपत्र पारेर पीडितहरूसँग थप रकम माग गरेको समेत पाइएको छ। अमेरिका लैजाने भनेर ओसारपसार गर्नेमा पनि नेपालीहरू नै संलग्न रहेको एसपी रेग्मीले बताए। उनका अनुसार तामाङ लगायतको समूह नेपाल लगायत विभिन्न देशहरूमा बसेर आआफ्नो जिम्मेवारी बाँडफाँट गरी संगठित रूपमै परिचालित भएको छ।

    विशेषगरी १६ देखि ५० वर्ष उमेर समूहका पुरूषहरू मानव बेचबिखनको जोखिममा छन्। यस्तै पीडितहरूले ठूलो रकम बुझाए पनि होटल खर्च, टिकट खर्च लगायत पनि आफैंलाई बेहोर्न लगाउने गरेको पनि देखिएको प्रहरीले जनाएको छ। उनीहरूले विशेष गरी भिजिट भिसाको दुरूपयोग गरी त्यहाँ पुर्‍याउने गरेका हुन्। ब्युरोले यस घटनामा थप व्यक्तिहरूको समेत संलग्नता रहेको भन्दै उनीहरूको खोजी गरिरहेको छ। पक्राउ परेका तामाङमाथि भने थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएको ब्युरोले जनाएको छ।

  • मध्य तराईमा भारी वर्षा, तिनाउ नदी खतरापूर्ण

    मध्य तराईमा भारी वर्षा, तिनाउ नदी खतरापूर्ण

    काठमाडौं । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ ।

    तिनाउको बाढी बढ्दो क्रममा छ । त्यसैले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने खतरा छ । विभागले होचा स्थानमा हुनेहरूलाई दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ ।

    यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा मापन भएको छ ।

  • अतिकम मुलुकले कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री

    अतिकम मुलुकले कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको रोममा आयोजित फुड सिस्टम समिटलाई सम्बोधन गर्दै उनले कृषि उत्पादकत्व दोब्बर तुल्याउनका लागि दिगो खाद्य उत्पादन प्रणाली सुनिश्चित गर्ने पारिस्थितीक प्रणाली कायम राख्ने गरी लचिलो कृषि अभ्यासमा संलग्न हुनुपर्ने आवश्यकतासमेत औँल्याए ।


    आम मानिसको जीविकोपार्जन, आम्दानी र खाद्यान्नको मूल्यमा समेत कोभिड–१९ महामारीको प्रभाव विनाशकारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खाद्य असुरक्षाका पछाडि चरम मौसमी घटना, आर्थिक झट्का, मानव, जनावर र बाली स्वास्थ्य पनि उत्तिकै जिम्मेवार रहेको उल्लेख गरे ।

    प्रधानमन्त्री दाहालले अल्पविकसित देशहरु नै खाद्य असुरक्षाको केन्द्रविन्दु रहेको तथ्य पेस गरे । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार, अल्पविकसित देशका दुई सय ५१ मिलियनभन्दा बढी मानिस गम्भीर खाद्य असुरक्षाको जोखिममा छन् । यस्तै, ५० प्रतिशतभन्दा बढीले न्यून पोषणमा छन् ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी ती देश हौँ, जहाँ आवश्यकताहरु धेरै छन्, तर क्षमता सीमित मात्रै छ । हाम्रो कृषि, खाद्य प्रणाली जोखिम र अनिश्चिततामा रहँदै आएको छ ।’ बढ्दो खाद्य असुरक्षा र पोषण सङ्कटलाई उपेक्षा गर्न नहुने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अल्पविकसित देशहरुमा बस्ने मानिसलाई आशाको सञ्चार गराउन सामूहिक प्रतिबद्धता जरुरी रहेको आवश्यकता औँल्याए ।

    जोखिमहरुको सामना गर्दै सबैभन्दा कमजोरलाई सहयोग उपलब्ध गराउन विविध खालका सामाजिक सुरक्षाका उपाय अपनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले कामका लागि खाद्यान्न कार्यक्रम, आर्थिक सहयोग जस्ता कार्यक्रममार्फत कमजोर समुदायमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्रीले जलवायु परिवर्तनको सामना गर्दै उत्पादकत्व बढाउनका लागि साना किसानलाई प्रविधि, मल, बजार, बाली विविधीकरण, सहज लगानी र पूर्वाधारमा सहज पहुँच जरुरी रहेको बताए ।

    उनले सबैभन्दा कमजोर मानिसलाई खाद्य असुरक्षा, कुपोषण र स्वास्थ्य समस्याजस्ता जोखिमबाट सुरक्षित रहेको विश्वास दिलाउनुपर्नेमा जोड दिए ।’हामीसँग भोक र कुपोषणको पीडाबाट मुक्त संसार सुनिश्चित गर्ने अवसर छ । यसलाई मनन गरेर व्यवहारमा कार्यान्वयन गरौँ,’ उनले थपे ।

    दोहा कार्यक्रमले अति गरिब र जोखिममा परेकालाई अत्यावश्यक सहायता प्रवाह गर्न, अल्पविकसित देशका लागि खाद्य भण्डारण प्रणालीको परिकल्पना गरेका स्मरण गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि पहल गरेकामा यसका सरोकारवालाई धन्यवाद दिए ।

    प्रधानमन्त्री दाहालले एजेन्डा २०३० मार्फत खाद्य पर्याप्तता, सुरक्षित, किफायती र पौष्टिक आहारका माध्यमबाट खाद्य सुरक्षा प्राप्त गर्न, पोषणमा सुधार गर्न र दिगो कृषि प्रवद्र्धनका लागि सक्षम रहेको उल्लेख गरे ।

  • बागलुङ भिमगिठेका प्रहरी इन्चार्ज मृत भेटिए

    बागलुङ भिमगिठेका प्रहरी इन्चार्ज मृत भेटिए

    काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिक-(६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको भन्ने खबर छ,’ उनले भनिन्, ‘अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।’

    घटनास्थलमा रहेका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।

    जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड–७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताए ।

  • एक वर्षमा वैधानिक च्यानलबाट भित्रियो ४४ अर्बको सुन

    एक वर्षमा वैधानिक च्यानलबाट भित्रियो ४४ अर्बको सुन

    काठमाडौं । नेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबर मूल्यको सुन नेपाल भित्रिएको हो । विभागका अनुसार उक्त परिमाणको सुन आयातबाट सरकारले ३ अर्ब १२ करोड रुपैयाँ हाराहारी राजस्व संकलन गरेको छ ।

    सरकारले ल्याउन दिने कोटाअनुसार बैंकहरुले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए भने यात्रामा गएका तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले भन्सार तिरेर ल्याएको सुनको मूल्य २१ अर्ब ५४ करोड रुपैयाँ बराबर रहेको विभागले जनाएको छ । सरकारले अहिले दैनिक १५ किलो सुन आयात गर्न बैंकहरुलाई अनुमति दिएको छ ।

  • कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा

    कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा

    काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।

    मंगलबारदेखि नै सर्वोच्चको पूर्ण इजलासले यो विवादमा सुनुवाइ थाल्नेछ । पूर्ण इजलास ३ सदस्यीय हुने वा ५ सदस्यीय हुने भन्ने टुंगो लागिसकेको छैन ।

    सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेका थिए ।

  • ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

    ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

    काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

    यस प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आज दुई जना मोही पक्राउ गरेको हो । यद्यपी, उनीहरुको पहिचान भने खुलाईएको छैन ।

    यसससँगै ललिता निवास प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

  • मणिपुरमा बर्बर महिला हिंसाको भिडियो रेकर्ड भएको मोवाइल बरामद, ६ जना पक्राउ

    मणिपुरमा बर्बर महिला हिंसाको भिडियो रेकर्ड भएको मोवाइल बरामद, ६ जना पक्राउ

    मणिपुर । मणिपुरमा गत ४ मेमा भएको महिला माथिको बर्बर घटना रेकर्ड भएको मोवाइल प्रहरीले बरामद गरेको छ । सो दिन महिलालाई बिना कपडा भीडले खुला स्थानमा घुमाएको थियो । साथमा महिलामाथि यौन उत्पिडन भएको थियो । यस घटनामा पुलिसले एक्सन जारी राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलिसले ६ आरोपितलाई गिरफ्तार गरिसकेको छ ।

    उनीहरुमध्ये एक जनाको साथमा रहेको मोवाइलमा यी भिडियो रेकर्ड थिए । घटना भने अघिल्लो साता मात्र सार्वजनिक भएको थियो, जब भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । प्रहरीले अन्य व्यक्तिलाई समेत पक्राउको प्रक्रिया जारी राखेको बताएको छ । प्रहरीले सो फोन साइबर सेललाई बुझाएको छ ।

    पक्राउ परेका ६ जनाको बयानका आधारमा थप मानिसहरु समात्ने प्रयास भइरहेको प्रहरीको भनाई छ । ४ मेका दिन कांगपोकपी जिल्लामा भीडले दुई महिलालाई निर्वस्त्र बनाएर घुमाएको थियो । यो घटना सार्वजनिक भएसँगै भारतभर आक्रोस जारी छ । मणिपुरमा ३ मेदेखि भड्किएको हिंसामा १६० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

  • माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा

    माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा०को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेको हो ।

    दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिइन् । मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सृदृढ पार्ने कुरा हो, उनले भने, हामी सबैतिर सुमधुर सम्बन्धमा छौँ । चिनियाँ कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध र भाजपासँग मैत्री सम्बन्ध हो । उनका अनुसार छ दिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग अन्तक्रिया र छलफल गर्ने कार्यक्रम छ ।

  • मनसुनी प्रभाव फैलिँदै, यी प्रदेशमा हुने छ भारी वर्षा

    मनसुनी प्रभाव फैलिँदै, यी प्रदेशमा हुने छ भारी वर्षा

    काठमाडौं । मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ। मनसुनी वायुको प्रभाव आंशिक र न्युनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहँदा केही दिनसम्म कम पानी परेको थियो।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा राति गण्डकी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    अन्य प्रदेशका पहाडी भूभागहरुमा मध्यम वर्षा र बाँकी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ। मधेश प्रदेशका एक-दुई स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ। ‍ वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • कांग्रेस बैठकमा आज सभापति र महामन्त्रीले जवाफ दिँदै

    कांग्रेस बैठकमा आज सभापति र महामन्त्रीले जवाफ दिँदै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ। अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्। असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।

    ती विषयमा आइतबारसम्म केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। सहमहामन्त्रीहरूले आइतबार नै बोलिसकेका छन्। केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको आज सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ। बैठकमा प्रस्तुत भएको दस एजेन्डाबारे आजै वा भोलि निर्णय हुन सक्नेछ

  • नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि

    नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि

    काठमाडौं । नेपालको सार्वजनिक ऋण २२ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–८० सम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । यस अवधिसम्म आन्तरिक ऋण ११ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ र बाह्य ऋण १० खर्ब ९३ अर्ब ३४ करोड पुगेको छ ।

    आर्थिक वर्ष २०७५–७६ मा सार्वजनिक ऋण १० खर्ब ४८ अर्ब रुपैयाँ मात्र थियो । आर्थिक वर्ष २०७८–७९ को अन्तिमसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९–८० मा मात्र २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

    यो रकम नेपाल सरकारले यस वर्ष भुक्तानी गरेको ऋण घटाएर थपिएको खुद सार्वजनिक ऋण हो । १ वर्षको अवधिमा सरकारले ३ खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । जसमध्ये २ खर्ब ५५ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण हो । १ खर्ब २ अर्ब १२ करोड रुपैयाँ बाह्य लिएको छ । एक वर्षमा सरकारले १ खर्ब ४९ अर्ब ७३ करोड रुपैयाँ भने साँवा भुक्तानी गरेको छ ।

    यस अवधिमा १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ आन्तरिक ऋणको र ३४ अर्ब ६१ करोड रुपैयाँ बराबर बाह्य ऋणको साँवा भुक्तानी भएको छ । जसले गर्दा एक वर्षमा सवा २ खर्ब रुपैयाँ ऋण थपिएको हो । एक वर्षको अवधिमा सरकारले ब्याज र कमिसन भुक्तानीमा मात्र ७३ अर्ब रुपैयाँ खर्च गरेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋणको ब्याज भुक्तानीमा ६४ अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ । आन्तरिक ऋणको कमिसनमा ११ करोड खर्च भएको छ । बाह्य ऋणको ब्याज भुक्तानीमा भने ८ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । सरकारले यस वर्ष मंसिरबाटै आन्तरिक ऋण उठाउन थालेको थियो ।

  • सामाखुसीमा बाढीले किशोरलाई बगायो, अवस्था अज्ञात

    सामाखुसीमा बाढीले किशोरलाई बगायो, अवस्था अज्ञात

    काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको बताइएको छ । उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ । तर आइतबार साँझसम्म पत्ता लागेको छैन ।

  • गठबन्धन भित्रबाटै ‘समाजवादी मोर्चा’ कसको लागि बन्यो ?

    गठबन्धन भित्रबाटै ‘समाजवादी मोर्चा’ कसको लागि बन्यो ?

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले समाजवादी मोर्चाबारे प्रश्न उठाएका छन्।

    आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोइरालाले समाजवादी मोर्चा किन बनेको हो भन्ने प्रश्न राखेका हुन्।उनले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे।

    ‘हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र। हामीहरूको गठबन्धन भित्रपनि अर्को गठबन्धन बनेको छ। समाजवादी मोर्चा, त्यो कसको लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ,’ कोइरालाले भने।

    नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भिर बन्नुपर्ने आवश्यकता रहेको पनि कोइरालाले बताए।

    उनले यस केन्द्रीय समिति बैठकले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिने विश्वास पनि व्यक्त गरे।

    कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम कांग्रेसकै मन्त्रीबाट भइरहेको भन्दै केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरे ।

    कोइरालाले भने, ‘नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’

  • लगानीकर्ता उत्साहित हुँदा सेयर बजारमा उछाल

    लगानीकर्ता उत्साहित हुँदा सेयर बजारमा उछाल

    काठमाडौं । सेयर बजारमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएसँगै नेप्सेले आज एकैदिन ६३ अंकको छलाङ हानेको हो ।

    राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने व्यवस्था गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सले ठूलो फड्को मारेको हो ।

    सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरुी आएको छ । गत साता औसतमा दैनिक सवा ३ अर्ब हाराहारीको सेयर कारोबार हुँदै आएकोमा आज बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

    आइतबार नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको छ । यसदिन २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । बैंकिङ समूह सबैभन्दा धेरै ४.९८ प्रतिशतले बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ज्योति विकास बैंक साढे १३ करोड र ग्लोबल आइएमई बैंक १२ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । किसान लघुवित्त र चन्द्रागिरि हिल्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, लिबर्टी इनर्जी र स्वरोजगार लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

  • इण्डोनेसियामा कुकुर र बिरालोको मासु बेच्न प्रतिवन्ध

    इण्डोनेसियामा कुकुर र बिरालोको मासु बेच्न प्रतिवन्ध

    जाकार्ता । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु किनबेच नहुने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो ।

    शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न नपाइने प्रतिबन्धात्मक आदेश जारी भएको छ । विगतमा निर्दयी बनेका पशुबजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका छन् । पशुअधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेश्नलले शुक्रबार विज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएको हो ।

    कुकुर–बिरालाको मासु बेच्न नपाइने सरकारी आदेशपछि मानव उपभोगका खातिर हजारौँ पशुले चरम यातना खपेर अब मर्नु नपर्ने भएको उल्लेख गर्दै सोसाइटीले सरकारी निर्णयलाई ऐतिहासिक कदम भनेको छ । साथै उसले उक्त निर्णयको स्वागत गरेको छ ।

    स्थानीय संस्कृतिका कारण कुकुर–बिरालाको मासु बेच्ने विश्वका अति थोरै मुलुकको सूचीमा इण्डोनेशिया रहेको छ । शुक्रबार पशुबजारका छ जना व्यापारी र तोमोहन नगरका प्रमुखबीच कुकुर–बिरालाको मासु नबेच्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । व्यापारीले अब उप्रान्त कुकुर–बिरालाको मासु नबेच्न प्रतिबद्धतासमेत जनाएका सोसाइटीले विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त टापुमा बर्सेनि एक लाख ३० हजार कुकर मासुका लागि मारिने गरेका थिए ।

    पशुलाई नमरुन्जेल कुट्ने, झन्ड्याउने, जिउँदै आगोलगाउनेजस्ता क्रूर एवम् अमानवीय व्यवहारका कारण सुलावेसीको पशुबजार अति आलोचित छ । सन् २०२० मा चिनियाँ सहर बुहानबाट कोरोना भाइरस यस्तै मासुबजारबाट मानवमा सरेको भन्ने जानकारी बारम्बार गराएपछि मासु व्यापारी सहमत भएका बताइएको छ । यसबाट रेबिजको सङ्क्रमण रोक्न पनि मद्दत पुग्ने वास्तविकताबारे उनीहरूलाई अवगत गराइएको थियो ।

  • कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस आज

    कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस आज

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले स्मृति दिवस मनाउँदैछन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेका छन् ।

    नेकपा (एकीकृत समाजवादी)ले पुष्पलाल स्मृति उद्यानमा एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । २००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए ।

    १९८१ साल असारमा रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन् ।

  • कुन स्थानमा आउनेछ आज ठूलो वर्षा ?

    कुन स्थानमा आउनेछ आज ठूलो वर्षा ?

    काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ् सहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोप र हावाहुरीको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • धनुषास्थित नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानेर हत्या

    धनुषास्थित नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानेर हत्या

    काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या गरिएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

    धनुषा प्रहरी समेत घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । महिलाको पनि पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ । घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो ।

    भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शवको पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताएका छन् । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए । उनका अनुसार दशगजा क्षेत्रमा प्रहार भएका गोलीका खोका भेटिएका छन् ।