Category: समाचार

  • फोहोर बोकेका गाडीसँग शूल्क नलिन सर्वोच्चको आदेश

    फोहोर बोकेका गाडीसँग शूल्क नलिन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । ककनी गाउँपालिकाले गत १९ असारमा काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लिएर सानो गाडीसँग प्रतिखेप १००० र ठूला गाडीसँग १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको थियो ।

    सोमबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यसरी शुल्क लिनु संविधानको धारा २२८ ९२० धारा २३६, फोहोरमैला व्यवस्थापन ऐन २०६८, दफा १८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ विपरीत देखिएको प्रारम्भिक निश्कर्ष निकालेको हो ।

    ‘‘ ककनी गाउँपालिकाको उक्त निर्णय तत्काल कार्यान्वयनमा ल्याइएमा फोहोरमैला व्यवस्थापनमा जटिलता पैदा हुन जाने समेत देखिएको हुँदा सुविधा सन्तुलनको दष्टिले प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म ।।गाउँपालिकाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नू’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ । ककनी गाउँपालिकाको उक्त निर्णयविरुद्ध फोहोरमैला व्यवस्थापन संघले सर्वोच्चमा रिट दिएको थियो ।

  • सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

    सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

    काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । परिवारले किटानी जाहेरी दिएको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरेको हो ।

    घटना शुक्रबार मध्य रातिको हो । प्रहरीको अनुसार उनीहरुले ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको स्वीकारेका छन् ।

  • जथाभावी फिल्मको पोस्टर टाँस्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना

    जथाभावी फिल्मको पोस्टर टाँस्नेलाई महानगरले तिरायो ५० हजार जरिवाना

    काठमाडौं । काठमाडौ महागरपालिका क्षेत्रभित्र जथाभावी रूपमा फिल्मको पोस्टर टाँसेको भन्दै एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    महानगरले नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरक नेपाली वेबसाइट मिडिया हाउस प्रालि नामक कम्पनीलाई जरिवाना तिराएको हो ।

    फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोरमैला गरेबापत जारिवाना गरिएको महानगरले जनाएको छ ।

  • दुवई उड्न लागेका एक व्यक्ति १० हजार डलरसहित पक्राउ

    दुवई उड्न लागेका एक व्यक्ति १० हजार डलरसहित पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला चेकजाँच क्षेत्रमा जाँच गर्ने क्रममा झोलामा लुकाएर लैजान लागेको रु १०० दरका १०० थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

    पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।

  • झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ९.९१ अंकले बढेर २१५४.७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५५ कम्पनीको ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ वटा घटेको छ भने अन्य सबैको परिसूचक बढेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • रास्वपालक्षित गर्दै शंकर पोखरेलले भने- नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो

    रास्वपालक्षित गर्दै शंकर पोखरेलले भने- नयाँ दल आएपछि विदेशीनेको संख्या झन् बढ्यो

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदय भएपछि विदेशिनेको संख्या झन् बढेको बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत्उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि विदेशिने नेपालीको संख्या थप बढेको बताए । नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्ने बताए ।

    ‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ । तर, तथ्यहिनरूपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो,’ पोखरेलले लेखेका छन्, ‘विदेशमा गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरू राष्ट्रिय पार्टीकारूपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झन् बढ्यो । के यसको जिम्मेवारी नेकपा एमालेले नै लिनुपर्ने हो र ?’

  • बुधबारदेखि काठमाडौं उपत्यकाको फोहोर नउठ्ने

    बुधबारदेखि काठमाडौं उपत्यकाको फोहोर नउठ्ने

    काठमाडौं । बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोध कारण काठमाडौं उपत्यकाको फोहर बुधबारदेखि नउठ्ने भएको छ ।

    बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीले फोहोर विसर्जन गर्न मंगलबार पनि अवरोध गरेपछि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकिएका छन् ।

    विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीहरुले नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए । फोहोर विसर्जन गर्न अवरोध गरेपछि फोहोर मैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो ।

  • काठमाडौंको फोहोर बोकेका गाडी आज पनि बन्चरेडाँडा जान पाएनन्

    काठमाडौंको फोहोर बोकेका गाडी आज पनि बन्चरेडाँडा जान पाएनन्

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहर बोकेका गाडी आज पनि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेनन् । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेपछि काठमाडौंबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान अवरोध गरिएको छ ।

    स्थानीय बासिन्दाले हिजोदेखि आन्दोलन थालेका हुन् । काठमाडौंको फोहर लिएर गएका गाडी स्थानीय बासिन्दाले बीच बाटोमै रोकेपछि ती गाडी फर्किएका थिए । आज फोहर बोकेका कुनै पनि गाडी गएका छैनन् ।

    नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ । बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाडौं महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

    फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् । बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

    गएको जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रभावित बासिन्दाको माग रहेको छ । माग पूरा नभएसम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको अडान छ ।

  • स्वास्थ्य मन्त्रीले भेटे बेलायती समकक्षी

    स्वास्थ्य मन्त्रीले भेटे बेलायती समकक्षी

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य (बेलायत) का स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्यमन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लन्डनले जनाएको छ ।

    नेपाल र बेलायतबीच हालै सम्पन्न बेलायतमा नेपाली नर्सका लागि रोजगारीसम्बन्धी सम्झौताप्रति खुसी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोधसमेत गरेका थिए ।

    बेलायती स्वास्थ्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरूको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गरेको दूतावासले उल्लेख गरेको छ ।

    स्वास्थ्य बस्नेत मन्त्रीले आइतबार विन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरूको तालिम तथा स्थानान्तरण प्रक्रियाका बारेमा जानकारी लिनुभएको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बताए । उक्त भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी थिए । मन्त्री बस्नेत गत असार २९ गते संयुक्त अधिराज्यको भ्रमणमा आएका हुन् ।

  • कांग्रेस कार्यसमिति बैठक आज, के छन् एजेण्डा

    कांग्रेस कार्यसमिति बैठक आज, के छन् एजेण्डा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ । लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि मिति तय भएर पनि बैठक स्थगित हुँदै आएको थियो ।

    पार्टीको सोमबार भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलले केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय गरेको छ । छलफलमा सभापति शेरबहादुर देउवाले बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावसमेत गरेका थिए । तर, त्यस विषयमा फरकफरक मत आएकोले के गर्ने भन्ने टुंगिएको छैन ।

    बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन गरिने भएको छ ।

    पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत, नीति अधिवेशन सम्बन्धी प्रस्ताव, विभाग गठनसम्बन्धी प्रस्ताव, एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव, प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने र सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने कार्यक्रम छ ।

  • व्यवसायिक भवनले आफ्ना ग्राहकलाई पार्किङ शुल्क लिन नपाउने

    व्यवसायिक भवनले आफ्ना ग्राहकलाई पार्किङ शुल्क लिन नपाउने

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने भएको छ। सोमबार फेसबुकमा स्ट्याटस राख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने बताए ।

    महानगरको आर्थिक ऐन, २०८० ले समेत यस्तो व्यवस्था गरेको उनले स्मरण गराए । बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका–भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङवापतको शुल्क संकलन गर्न निषेध गरिएको उनले बताएका हुन्. । सेवाग्राहीबाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन पाइने भएको छ ।

    यस्तै व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ ।

    तर पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनले पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरे कारवाही गरिने उनले उल्लेख गरेका छन्। त्यस्ता स्थानबाट सम्पति करसहित सम्बन्धित अन्य कर असुल गरिने जनाएका छन्। मेयर बालेनका अनुसार सार्वजनिक सडकमा भने पार्किङ गर्न पाइने छेन।


    सार्वजनिक सडकहरूमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नदिइने भन्दै उनले काठमाडौं महानगरपालिका आफैंले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएवापत निश्चित सवारी साधन पार्किङ शुल्क लगाइ असुल गरिने जानकारी दिएका छन् । निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनुपर्ने छ।

  • अल्पविकसित मुलुकमा धेरै समस्या छन् : अर्थमन्त्री

    अल्पविकसित मुलुकमा धेरै समस्या छन् : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दिगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको उनको भनाइ छ ।

    उनले स्रोत अभावका कारण स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको स्वीकार गरे । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन उनले आह्वान गरे । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एशियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्था सहभागी छन् ।

    बैठकमा विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशिता लगायतका विषय सत्रमा छलफल भएको छ । सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवम् सुपरिवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन मंगलबारसम्म चल्ने छ ।

  • मैतीदेवीदेखि पशुपतिसम्म राप्रपाको धार्मिक पदयात्रा

    मैतीदेवीदेखि पशुपतिसम्म राप्रपाको धार्मिक पदयात्रा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साउनको पहिलो सोमबार र साउने संक्रान्तिको अवसरमा धार्मिकयात्रा गरेको छ ।

    काठमाडौंको मैतीदेवीबाट सुरु भएको धार्मिकयात्रा पशुपतिनाथ मन्दिरमा पुगेर समापन भएको थियो ।

    पदयात्रामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका नेताहरू र सांसदहरू पनि सहभागी रहेका थिए।

    हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै जनमत सिर्जना गर्न पदयात्रा आयोजना गरिएको हो ।

    देशको सनातन धर्म संस्कृति जोगाउनका लािग राप्रपाले यस्ता धार्मिक अभियानलाई अब देशव्यापी बनाउँदै लैजाने राप्रपाका नेताहरूले बताएका छन् ।

  • साउनको पहिलो दिन नै हरियाली शेयर बजार

    साउनको पहिलो दिन नै हरियाली शेयर बजार

    काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १ वटा घटेको छ भने अन्य सबैको परिसूचक बढेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

  • एलओडीका म्यानेजरसहित दुई जना पक्राउ

    एलओडीका म्यानेजरसहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ परेका छन् ।

    बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको हो । यही प्रकरणमा यसअघि एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।

    तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरु बोलाएका बेला उपस्थित हुने गरी छुटेका छन् ।

  • वर्षायाममै रोकिए काठमाडौंको फोहोर बोकेका ट्रक

    वर्षायाममै रोकिए काठमाडौंको फोहोर बोकेका ट्रक

    काठमाडौं । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका बासिन्दा फेरि आन्दोलित भएका छन् । उनीहरुले काठमाडौंको फोहर लिएर गएका गाडीलाई बिहानैदेखि बीच बाटोमै रोकेका छन् । ककनी गाउँपालिका वडा २ र ३ सशस्त्र प्रहरीको बेसक्याम्प नजिक स्थानीयबासिन्दाले फोहरका गाडीलाई रोकेका हुन् । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ ।

    बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा तथा सिसडोल नुवाकोटमा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै आजदेखि फोहर फाल्न रोकेका हुन् ।

    बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

    गत जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रभावित बासिन्दाको माग रहेको छ ।

    केही दिनअघि मात्रै ककनी गाउँपालिकाले फोहर बोकेर बञ्चरेडाँडा जाने हरेक ठूला ट्रकबाट १५ सयसम्म प्रवेश शुल्क लिने र साना ट्रकको एक हजार रुपैयाँ लिने निर्णय गरेको थियो । अहिले शनिवारबाहेक दैनिक एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बन्चरेडाँडामा पुग्ने गरेको छ ।

  • आजबाट नयाँ आर्थिक वर्ष सुरु, के के कर लागु हुनेछन् ?

    आजबाट नयाँ आर्थिक वर्ष सुरु, के के कर लागु हुनेछन् ?

    काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८०–८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।

    चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र वित्तीयतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ खर्च हुने सरकारको अनुमान छ ।

    खर्च बेहोर्ने स्रोतमध्ये १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट, दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट, दुई खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋणबाट र ४९ अर्ब ९४ करोड रुपियाँ अनुदानबाट प्राप्त हुने अनुमान सरकारको छ । सरकारले बजेटसँगै खर्चको स्रोत बेहोर्न नयाँ करका दरसमेत सार्वजनिक गर्छ ।

    आर्थिक ऐनमार्फत सरकारले नयाँ करका दर लागु गर्छ । भन्सारसम्बद्ध कतिपय करका दर बजेट घोषणा भएकै दिन लागु हुन्छन् भने कतिपय करका दर आर्थिक वर्ष सुरु भएको दिनदेखि कार्यान्वयनमा आउँछन् ।

    चालु आवदेखि सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाख रुपियाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा दुई प्रतिशतका दरले विलासिता शुल्क लागु गरेको छ ।

    त्यस्तै विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क पनि चालु आवदेखि लागु हुँदै छ । त्यस्तै आजदेखि लागु हुने गरी हवाई टिकटमा मूल्य अभिवृद्धि कर पनि लागु हुँदै छ । हवाई टिकटमा भ्याट लागेसँगै हवाई भाडा औसतमा छ प्रतिशतले बढ्ने वायु सेवा सञ्चालक सङ्घले जनाएको छ ।

  • भारत सरकारले नेपाललाई दियो ३४ एम्बुलेन्स र ५० स्कुल बस उपहार

    भारत सरकारले नेपाललाई दियो ३४ एम्बुलेन्स र ५० स्कुल बस उपहार

    काठमाडौं । काठमाडौँ स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

    आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका हुन् ।

    नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पुर्याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको भारतीय दूतावासले जनाएको छ ।

    त्यस अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे । उनले ती परियोजनाले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए ।

    राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिए ।

    यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई ९७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको सो विज्ञप्तिमा उल्लेख छ ।

  • घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता

    घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता

    काठमाडौं । घोराही सिमेन्ट्र इण्डष्ट्रिजको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङले आज दिउँसो आइपीओ बाँडफाँट गरेका हुन् ।

    क्यापिटलका अनुसार कम्पनीको सेयरमा आवेदन दिने सबैले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ५४६ जनाले आवेदन दिएका थिए । सोमध्ये २३ हजार ८४५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

    १० कित्तादेखि ७० कित्तासम्म माग गर्ने सबै आवेदकले माग अनुसार नै सेयर पाएको क्यापिटलले जनाएको छ ।

    कम्पनीले जेठ ३२ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

  • सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

    सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

    काठमाडौं । संघीय संसद्‌ सचिवालयले आर्थिक वर्ष २०७९/०८ समाप्त भएको ६० दिनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य (सांसद)हरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।

    संसद सचिवालयले सूचना निकालेर साउन १ गतेदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । सांसदहरुले आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्ति तथा सम्पत्तिको स्रोत खुलाउने विवरण पनि पेस गर्नुपर्ने भनिएको छ।

    संघीय संसद्‌ सचिवालयले एक सूचना जारी गर्दै भ्रस्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा(१)तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) बमोजिम सम्पत्ति विवरण बुझाउन भनेको हो।

    साउन १ गतेदेखि मिति २०८० भाद्र २८ गतेसम्म आर्थिक वर्ष २०७९/०८० को लागि आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण भरी सिलबन्दी खाममा देहायो विवरणहरु समेत स्पष्ट उल्लेख गरी संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा मा दर्ता गराउनुहुनु निर्देशानुसार यो सूचना प्रकाशन गरिएको छ’ सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

  • एमाले अध्यक्ष मङ्गलबार कम्बोडिया जाने

    एमाले अध्यक्ष मङ्गलबार कम्बोडिया जाने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने भएका छन् ।

    शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् ।

    उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।

  • अमेरिका र युरोपमा गर्मीले बेहाल

    अमेरिका र युरोपमा गर्मीले बेहाल

    काठमाडौं । अमेरिका र युरोपमा अत्यधिक गर्मी बढेको छ । अमेरिका पछिल्लो १६ दिनयता गर्मीबाट प्रभावित छ । पूरै दक्षिण-पश्चिम अमेरिकाका बासिन्दा गर्मीसँगै तातो हावाबाट प्रभावित भएका छन् ।

    गर्मीबाट अमेरिकामा करिब ११ करोड बासिन्दा प्रभावित भएको बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अब वाशिङ्टन डिसीमा समेत तातो हावा (लु) बाट प्रभावित भएको बीबीसीले जनाएको छ ।

    अमेरिकाका मौसमविदहरुले तत्काल गर्मी नघट्ने भन्दै सावधानीका उपाय अपनाइराख्न आग्रह गरेका छन् । आगामी एक हप्तासम्म गर्मी कायम रहने पूर्वानुमान गरिएको छ

    बीबीसीका अनुसार विश्वको सबैभन्दा गर्मी स्थानमध्येको एक क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम ५३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । लासभेगास, नाभादा लगायतका स्थानको अधिकतम तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

    गर्मीबाट जोगिन मानिसहरुले घरमा एसीको अत्यधिक प्रयोग गरेकाले अमेरिकाको टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान कायम भएको बीबीसीले जनाएको छ ।

    अमेरिकाको छिमेकी देश क्यानडाका अधिकारीहरुका अनुसार अत्यधिक गर्मीका जंगलमा डढेलो लागिरहेको छ । आगोबाट २.५ करोड एकड जंगल क्षेत्र जलिसकेको छ । डढेलोको धुवाँले अमेरिकाको केही भाग ढाकेको छ ।

    हाल अमेरिका, चीन, उत्तर अफ्रिका र जापानमा उष्णलहर देखापरेको छ । यीसँगै युरोपेली देशहरु इटली, स्पेन,ग्रिस, जर्मनी, पोल्याण्ड लगायत पनि केही दिनदेखि उच्च गर्मीका कारण प्रभावित छन् ।

    उपग्रहमार्फत् जमिन र समुद्रको तापक्रमको रेकर्ड राख्दै आएको युरोपेली अन्तरीक्ष एजेन्सी (ईएसए)का अनुसार गर्मी अझै केही दिन कायम रहने छ ।

    युरोपमा देखिएको उष्णलहरलाई इटलीको मेट्रोलोजिकल सोसाइटीले ‘सर्बरस’ नाम दिएको छ । उष्णलहरबाट इटलीका पर्यटकीय शहरहरु रोम, फ्लोरेन्स, बोलोन्या लगायत १६ शहरमा उच्च सतर्कता अपनाउन भनिएको छ । दिउँसोको समयमा घर बाहिर ननिस्किन भनिएको छ ।

    इटली सरकारले गर्मीका कारण स्वस्थ मानिस पनि बिरामी पर्नसक्ने भन्दै कफी र मदिरा नपिउन आग्रह गरेको छ । कफी र मदिराले शरीरमा पानीको मात्रा घटाउन सक्ने भन्दै त्यसको सट्टा दैनिक दुई लिटर पानी पिउन भनिएको छ ।

    गि्रसमा केही दिनयता तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गर्मी अत्यधिक भएपछि गि्रसको लोकप्रिय पर्यटकीय केन्द्र एक्रोपोलिस गत शुक्रबार बन्द गरिएको थियो ।

    चेक रिपब्लिकको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने चेतावनी जारी गरिएको छ । चेक रिपब्लिकमा यति धेरै तापक्रम असामान्य मानिएको छ ।

    तर युकेमा भने आँधीसहित ठूलो वर्षा हुने पूर्वानुमान मौसमविदहरुले गरेका छन् ।

    दक्षिण कोरियामा भने केही दिनयता अत्यधिक वर्षा भएको छ । वर्षासँगैको बाढी र पहिरोमा परी दक्षिण कोरियामा करिब दुई दर्जन मानिसहरुको ज्यान गएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाको मौसम पूर्वानुमान कार्यालयले आगामी सातासम्मै वर्षा हुने प्रक्षेपण गरेको छ ।

  • इटहरीमा छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाखसम्म जरिवाना

    इटहरीमा छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाखसम्म जरिवाना

    काठमाडौं । विद्यार्थीलाई दिएको छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई इटहरी उपमहानगरपालिकाले एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ । शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालय छन् ।

    शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।

    छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालय जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, पिस एण्ड हर्ट इङ्लिस बोडिङ् स्कुल, पोल्सान मन्टेश्वरी स्कुल, सृजना किण्डर गार्टेन मन्टेश्वरी र हेप्पील्याण्ड चाईल्ड डे केयर, इन्द्रेणी स्कुल, इटहरी नमुना स्कुल, शुनाखरी विद्या मन्दिर र जानकी मन्टेश्वरी स्कुललाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको हो ।

    माध्यमिक विद्यालयतर्फ गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, इटहरी चिल्ड्रेन स्कुल, इटहरी मोडल सेकेण्डरी स्कुल, ह्वाइट सोल एकेडेमी र लिटल केयर बोडिङ स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको हो ।

    नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको बताए । यसअघि उपमहानगरपालिकाले तीनपटकसम्म छात्रवृत्ति विवरण बुभाउनका लागि सूचना जारी गरेको थियो ।

  • अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी

    अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी

    काठमाडौं । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा देखा पर्ने सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। ती अस्पतालमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, दादुरा, जन्डिसलगायतका रोग लिएर उपचारमा जानेको सङ्ख्या बढेको छ।

    चिकित्सकहरूले पछिल्लो समय अस्पतालहरूमा गर्मी मौसममा लाग्न सक्ने रोगका कारण बिरामीको सङ्ख्या बढिरहेकाले सतर्कता अपनाउन सुझाव दिएका छन्। सन् २०२३ मा उन्मूलन गर्ने भनिएको दादुरा सङ्क्रमण भएर कान्ति अस्पतालमा दैनिक एक, दुई जना बिरामी आउने गरेका छन्।

    यस्तै कान्तिबाल अस्पतालको बहिरङ्ग सेवामा एक हजारदेखि एक हजार दुई सयसम्म बिरामी आउने गरेका छन्। अस्पतालका अनुसार पछिल्ला दिनमा झाडापखाला, आउँ, रुघाखोकी, ज्वरो तथा दादुराका बिरामी आउने गरेका छन् । कतिपय बिरामी शरीरमा पानी नभएर जलविनियोजनको अवस्थामा अस्पताल आएको समेत अस्पतालको भनाई छ ।

    शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश कोइरालाका अनुसार जाडो मौसमभन्दा गर्मीमा सरुवा रोग लागेर आउने बढी हुन्छन् । उनका अनुसार अस्पतालमा दैनिक दुई हजार पाँच सय बिरामी आउने गरेकामा तीन सय बिरामी झाडापखाला, ज्वरो, फुड पोइजन, टाइफाइड, मलेरियालगायतका समस्या लिएर आउने गरेका छन् । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार गर्मी मौसममा ज्वरो, टाइफाइड, एलर्जीलगायतका समस्या लिएर बिरामी आउने गरेका छन्

  • पोखरा–मुग्लिन सडकको बिस्तार धमाधम

    पोखरा–मुग्लिन सडकको बिस्तार धमाधम

    काठमाडौं । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल)लगायतको सहभागि भए ।

    टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायातविज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र आयोजना व्यवस्थापक (पोखरा खण्ड) अमितकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । भेटमा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडि बढाउने विषयमा छलफल भएको प्रमुख आचार्यले बताए । महानगरपालिकाको तर्फबाट यस खण्डमा काम अगाडि बढाउन कुनै समस्या नरहेको र काम गर्दै गर्दा कुनै प्रकारको समस्या देखिए त्यसको तत्काल समाधानका लागि महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।

    अहिले पोखरा खण्डको राइट अफ वे खाली गराउने काम सम्पन्न गरेको उनले जानकारी दिए । अभियानकै रूपमा सडकको मापदण्ड खाली गराउने काम गरिएको र अब केही स्थायी संरचना हटाउन बाँकी भन्दै उनले मुआब्जाको प्रक्रिया सकिना साथ ती सबै संरचना तत्काल हटाइने उनले बताए ।


    हाल काम अघि बढाउनका लागि वातावरण तयार गरिएको र काम अघि बढाउन एडिबीको टोली सकारात्मक देखिएको प्रमुख आचार्यले बताए । एसियाली विकास बैंकको सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको सडक आयोजनाको मापदण्डअन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ ।

    सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल दुुई–दुुई लेनको दुइटा पुल बनाउन रु एक अर्ब सात करोडमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा चारवटा ठूला र १२ साना पुल बन्नेछन् । राससको सहयोगमा

  • आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल

    आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल

    काठमाडौं । जयनगर–जनकपुर–कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म चल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटरमा आइतबार बिहान साढे १० बजे रेल सेवा उद्घाटन गर्ने कार्यकम छ । भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख झालाई हस्तान्तरण गरिसकेको छ ।

    अहिले जयनगर– विजलपुरा स्टेसनसम्म दैनिक एकपटक रेल सेवा सञ्चालन गर्ने तयारी छ । यात्रुको माग अनुसार सेवा थप गर्दै जाने योजना रहेको रेल्वे कम्पनीले जनाएको छ । रेल्वे कम्पनी नयाँ रेल खरिदको प्रक्रियामा रहेको समेत बताइएको छ । अहिले जयनगर –जनकपुर–कुर्था ३५ किलोमिटर खण्डमा दैनिक २ पटक रेल सेवा सञ्चालन भैरहेको छ ।

    जयनगरदेखि भंगाहा बिजलपुरा स्टेसनसम्म जम्मा ५२ किलोमिटर रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ । बिजलपुरा देखि बर्दिबास खण्डमा रेल्वेको काम भने अझै अघि बढ्न सकेको छैन । मुआब्जा विवादमा अल्झिएको सो खण्डमा पनि हाल विवाद सल्टिसकेकाले छिट्टै काम सुरु हुने र २ वर्षभित्रै बर्दिवाससम्म रेल चलाउने तयारी रहेको छ ।

  • लुम्बिनी र सुदूरुपश्चिममा आज ठूलो वर्षा

    लुम्बिनी र सुदूरुपश्चिममा आज ठूलो वर्षा

    काठमाडौं । देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघ-गर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही ठाउँमा भारी वर्षातका साथै हावाहुरी, चट्याङ, बाढीपहिरोको सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

  • ठमेलमा क्लव सञ्चालकमाथि कुटपिट गर्ने ५ जना पक्राउ

    ठमेलमा क्लव सञ्चालकमाथि कुटपिट गर्ने ५ जना पक्राउ

    काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ छन् ।

    प्रहरीका अनुसार १५ असारमा क्लबमा बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको आरोप छ ।

  • देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न

    देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न

    काठमाडौं । देशभर धान खेती हुने क्षेत्रफलमध्ये ५३ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेशसँगको समन्वयमा तयार पारिएको तथ्यांकअनुसार असार २९ गतेसम्म ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयको भनाइ छ ।

    मन्त्रालयका अनुसार गत वर्ष यसै अवधिमा ६५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यो पटक १२ प्रतिशत विन्दु कम रोपाइँ भएको हो । देशभर पर्याप्त वर्षा नहुँदा र खेत जोत्ने गोरुमा लम्पी स्किन रोगको प्रकोपका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

    ‘विशेषगरी मधेस प्रदेश, कोशी प्रदेश र वाग्मती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको हो’ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले भने ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेषगरी गोरुमा लम्पी स्किन रोगको महामारीका कारण गोरुको अभाव भई रोपाइँ केही प्रभावित भएको रिपोर्टिङ भएको छ ।’

    विस्तारै मनसुन सक्रिय भइरहँदा रोपाइँको क्षेत्रफल बढ्दै जाने मन्त्रालयको भनाइ छ । यस पटक रासायनिक मल पनि पर्याप्त रहेको मन्त्रालयको दाबी छ ।

  • लम्पी स्किन रोग रोकथामबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

    लम्पी स्किन रोग रोकथामबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

    काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् । ‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ ।

    यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु’ सभामुख घिमिरेले शुक्रबारको बैठकमा भने । शुक्रबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले विगत चार महिनाको अवधिमा ८ लाख पशु चौपायाहरु संक्रमित भएको र २७ हजार मरेको उल्लेख गर्दै भनेका छन्, ‘विपन्न र गरिब किसानहरुका ३७ अर्ब बराबरको क्षति भएको छ ।

    अवस्था यस्तो विकराल हुँदा पनि सरकारले त्यसलाई जति गम्भीरताका साथ लिनुपर्दथ्यो, जुन तदरुकता देखाउनु पर्दथ्यो र उपचारमा लाग्नु पर्दथ्यो र खोपहरु जसरी प्रभावकारी ढंगले वितरण गर्नुपर्दथ्यो त्यसमा सरकारले उदासिनता देखाएकोले किसानहरुले ३७ अर्बको क्षति ब्यहोर्नु परेको छ ।’

    नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले लम्पी स्किन रोगले सबैतिर प्रभावित बनाएको छ । उनले भने, ‘यो पहाडमा झनै विकराल अवस्था भएको छ । गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ ।’ राप्रपाकी सांसद रोशन कार्कीले पनि लम्पी स्किनको रोकथामका लागि सरकारी योजना के छ भनी प्रश्न गरिन् ।