काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५ः२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन् ।
दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ । बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक समलिंगी जोडीको विवाद दर्ता गर्न अस्वीकार गरेको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले समलिंगी विवाह गर्ने कानूनी व्यवस्था नरहेको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो ।
उनको इजलासको आदेशमा भनिएको छ, ‘कुनै पुरुष वा महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा निवेदन दिनसक्ने कानूनी व्यवस्था रहेको देखिएकोमा प्रस्तुत दर्ताद्वारा विवाह गरी पाउँ भनी निवेदन दिने दुवै व्यक्ति फरक लिंकका महिला पुरुष नदेखिएको अवस्थामा निवेदन बमोजिम दर्ताद्वारा विवाह गराउन मिलेन । कानून बमोजिम गर्नुहोला ।’ मुलुकी देवानी संहिता, २०७४ को दफा ७७ मा भएको व्यवस्था अनुसार अदालती विवाह गर्न जोडी जिल्ला अदालत पुगेको थियो । उक्त दफामा अदालतमा दर्ता गरेर विवाह गरिने प्रावधान छ ।
यसअघि उक्त जोडीसमेतले समलिंगी विवाहको माग गरेर सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले समलिंगी विवाहको कानुनी व्यवस्था गर्न सरकारलाई आदेश दिँदै कानुनी व्यवस्था नहुँदासम्म अस्थायी दर्ता किताब राखेर भए पनि विवाह दर्ता गर्नु भनी अन्तरिम आदेश दिएको थियो ।
१३ असार, २०८० मा न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासको आदेशमा भनिएको थियो, ‘विवाहको अस्थायी अभिलेख रहने गरी विवाद दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नु÷गराउनू ।’ त्यही अन्तरिम आदेश देखाएर उनीहरुले विवाद दर्ताको प्रयास गरेकामा जिल्ला अदालतले दर्ता गर्न इन्कार गरेको हो ।
समलिंगी, तेस्रोलिंगी समुदायका अधिकारकर्मी सुनीलबाबु पन्तले सर्वोच्चको आदेश हुँदाहुँदै पनि जिल्ला अदालतका न्यायाधीशले विवाह दर्ता गर्न अस्वीकार गरेको बताए । ‘उहाँले अदालतले विवाह दर्ता गर्दैन, दर्ता विवाह गर्छ भनेर शब्दमा खेल्नुभयो । सर्वोच्चको अदालतको सामन्य भाषामा लेखिएको विवाह दर्ता गरिदिनू सम्बन्धित निकायले भन्नेमा उहाँले त्यही शब्दलाई खेलाएर विवाह दर्ता गर्नुभएन’ उनले भने ।
काठमाडौं । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको छ । बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो।
२४ महिना भित्रै विस्तृत अध्ययन सकेर प्रतिवेदन बुझाउने गरी समझदारी भएको बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए । समझदारीमा बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीकातर्फबाट म्यानेजिङ डाइरेक्टर बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् । जर्मन कम्पनीको अध्ययन गर्न २०७८ चैतमा प्रस्ताव गरेको थियो ।
जर्मन कम्पनीले प्राकृतिक ग्याँस, विद्युत अथवा मिश्रित हाइब्रिड मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल उत्पादन गर्ने प्रंस्ताव गरेको छ । यसरी नेपालमा कारखाना खोल्न ७१४ मिलियन अमेरिकी डलर लाग्ने उसको प्रारम्भिक अनुमान छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी पत्नी सीताको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड, माओवादी केन्द्रका नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले सीता दाहाललाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवङ्गत सीताको तस्वीरमा पुष्पगुच्छा अर्पण गरेका थिए । बिहीबार नै शुभेच्छुक तथा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि बङ्गलादेश, इजराइल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरियालगायत देशका राजदूतहरू बालुवाटार पुगेर दिवङ्गत सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
काठमाडौं । सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग हार टारेको छ । ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका हुन् । खेलमा घरेलु टोली बंगलादेशले कप्तान सबिना खातुनको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेश जिततर्फ अग्रसर भइरहेको बेला नेपालले बराबरी गोल फर्काएको हो ।
इन्जुरी टाइममा नेपालकी स्टार खेलाडी सावित्राले गोल गर्दै नेपालको हार टारिन् । गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप फाइनलमा खेलेपछि नेपाल र बंगलादेशबीच पहिलो पटक खेल भएको हो । साफमा नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।
काठमाडौं । नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुने भएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधिसम्बन्धी अन्तरक्रिया गरेको छ ।
चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिशीप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले जानकारी दिएका छन् । चिया प्रविधि पढाइका लागि दुई वर्षै पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ ।
‘यो शिक्षामा विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्नेछन् । त्यसपछि उद्योगहरुमा चिया प्रविधि सिकाइको अभ्यास हुने बताइएको छ । यसैवर्ष एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई यो शिक्षामा सहभागी गराउने लक्ष्य रहेको बताइएको छ । २० देखि ४० जना विद्यार्थीलाई चिया प्रविधिमा समावेश गराइने बताइएको छ । चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।
मन्त्रालयको सहयोग हुन्जेल यो शिक्षा लिने विद्यार्थीले विनाखर्च अध्ययन गर्न पाउनेछन् । नेपालमा विसं १९२० मा इलामबाट चिया रोपण कार्य सुरु भएको इतिहास छ । तर, अहिलेसम्म देशभरमै कतै पनि चियासम्बन्धी पढाइ भएको छैन ।
काठमाडौं । यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र ‘‘खतराको तह’’ पार गरिसकेको बताएका छन्। अधिकारीहरूका अनुसार जुन महिनाबाट सुरु भएको मनसुनका बेला दिल्ली नजिकका केहीले पछिल्ला वर्षहरूमा हालसम्मकै अधिक वर्षा भएको महसुस गरेको बताएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार गत महिना पानी पर्न सुरु भएयता हिमाञ्चल प्रदेशमा कम्तीमा ८८ जनाले ज्यान गुमाएका छन्। रोयटर्स समाचार संस्थाका अनुसार बुधवार दिल्लीमा यमुना नदीको किनारमा रहेका छाप्रामा बस्ने मानिसहरू सहरमा स्थापना गरिएका २,५०० शिविरमध्ये केहीमा सरेका थिए।
‘‘जलसतह बढ्ने क्रम जारी छ त्यहाँको अवस्था बाढी आएजस्तो छ,’’ केजरीवालले पानीको सतह ‘‘अझै बढ्न सक्ने’’ जनाउँदै सञ्चारकर्मीहरूसँग भने। मौसमी मनसुनका बेला हुने वर्षा भारतको लागि निकै महत्त्वपूर्ण मानिन्छ तर यो सामान्यतया प्रत्येक वर्ष जनधन क्षतिको कारक पनि बन्छ। भारतले पछिल्ला वर्षहरूमा बढ्दो रूपमा चरम मौसमको अनुभूति गरेको छ।
उत्तर भारतका अधिकांश क्षेत्रमा चरम गर्मीको लहर महसुस गरिएको केही साता पछि लगातार वर्षा भएको छ। बाढीका कैयौँ कारक छन्। तर विज्ञहरू विश्वव्यापी तापमानका कारण उत्पन्न जलवायु परिवर्तनले अत्यधिक वर्षाको सम्भावना बढाउने विज्ञहरूले औँल्याएका छन्। बीबीसीको सहयोगमा
काठमाडौं । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को दुई दिन चलेको सम्मेलनमा प्रमुख राष्ट्रहरूले युक्रेनलाई थप हतियार सहयोगको प्रतिबद्धता जनाएका छन् । लिथुआनियाको विलनियसमा मंगलबार र बुधबार भएको सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्विडेन नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सदस्यता प्राप्तिमा ढिलाइ र कुनै अवधि पनि नतोकिएपछि सम्मेलनअघि नै असन्तुष्टि जनाएका थिए । उनले ट्वीट गर्दै यदि युक्रेनलाई नेटोको सदस्यता दिनेबारे कुनै अवधि नतोकिने हो भने यो सम्मेलन निरर्थक रहेको बताएका थिए । सम्मेलनमा नेटोका प्रमुख जेन्स स्टोल्टेनवर्गले युक्रेनलाई सदस्यता दिनेबारे कुनै निर्णय नभएको बताएका छन् । तर, उनले युक्रेन नेटोमा सहभागी हुन नजिक पुगेको धारणा राखेका थिए ।
नेटोले सन् २००८ मा युक्रेन भविष्यमा संगठनमा आबद्ध हुन सक्ने जनाएको थियो । तर, हालै मात्र ‘फास्ट ट्र्याक’ बाट सदस्यता दिनेबारेमा पनि कुनै निर्णय हुन सकेन । नेटोको प्रावधानअनुसार यदि यसमा आबद्ध कुनै पनि देशमाथि अन्य देशबाट आक्रमण भएमा आक्रमणकारी देशविरुद्ध नेटोले युद्धको घोषणा गर्नुपर्नेछ ।
यदि अहिले युक्रेनलाई सदस्य दिने हो भने नेटोले रुसविरुद्ध युद्धको घोषणा गर्नुपर्नेछ । यद्यपि, युक्रेनले युद्धको समयमा नेटोमा सहभागी हुन नसकिने प्रावधानलाई स्वीकार गरेको छ । तर उसले जतिसक्दो छिटो नेटोको सदस्यता पाउन जोडबल गरिरहेको छ ।
युक्रेनले सदस्यता पाउन पहिले आर्थिक, राजनीतिक र सैन्य योग्यताहरू पूरा गर्नुपर्ने नेटोको भनाइ छ । यस्तै, हाल नेटोले युक्रेनलाई सहयोग गरिरहेको र सदस्यता दिएपछि रुसविरुद्धको युद्धले अझै ठूलो रुप लिने भएकाले पनि ढिलाइ भइरहेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युक्रेन नेटो सदस्य बन्न अझै तयार नभएको बताएका थिए । सम्मेलनअघि उनले एक अन्तर्वार्तामा युद्धको क्रममा युक्रेनलाई सदस्यता दिन नसकिने र उसले अन्य योग्यता पूरा गर्नुपर्ने उल्लेख गरेका थिए ।
सम्मेलनको अन्त्यमा राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेट्दै जी–७ राष्ट्रमार्फत युक्रेनलाई सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् । युक्रेनको स्थल, हवाई र सामुद्रिक गरी तीनै तहको रक्षा क्षेत्रलाई अत्याधुनिक सैन्य उपकरण सहयोग गरिने उनले बताएका हुन् । ‘हाम्रा सबै सहकर्मीहरूको सहमति छ कि युक्रेनको भविष्य नेटोमा नै छ,’ बाइडेनले भने, ‘हाम्रो सहयोग निरन्तर र भविष्यसम्म रहने स्पष्ट पार्छौं ।’
REUTERS\BBC
युक्रेन नेटोको सदस्य नबने पनि जी–७ बाट सहयोग पाउने भएको छ । सुरक्षा प्रबन्धमा रक्षा उपकरण, प्रशिक्षण र प्रविधि हस्तान्तरण हुनेछ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई गरिने सहयोगबाट रुसलाई बलियो सन्देश जाने बताए । यस्तै, युक्रेनलाई अमेरिकाबाट प्राप्त एफ–१६ जेट विमान उडानका लागि आगामी अगस्टदेखि पाइलहरूलाई रोमानियामा प्रशिक्षण दिइने पनि सहमति भएको छ ।
सन् १९४९ मा स्थापना भएको नेटोमा सुरुवाती समयमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्सलगायत १२ देश सहभागी थिए । पछिल्लो सयम युरोप र उत्तर अमेरिकाका गरेर ३१ सदस्य रहेको नेटोमा अब स्विडेन पनि थपिएको छ । नेटोमा आबद्ध देशहरूमा कतैबाट आक्रमण भएमा सबैले प्रतिरक्षा गर्ने सहमति छ । यद्यपि, नेटोको मुखय उद्देश्य भने युरोपमा तत्कालीन सोभियत संघको विस्तार रोक्नु थियो । सन् १९९१ मा सोभियत संघ विघटन भएपछि पूर्वी युरोपका अल्बानिया, बुल्गेरिया, हंगेरी, पोल्यान्ड, रोमानिया, लिथुआनिया लगायत देश सहभागी भएका थिए । युक्रेन पनि नेटोमा सहभागी हुने भएपछि रुसले आफ्नो सुरक्षाको कारण देखाउँदै युद्ध थालेको हो ।
काठमाडौं । आगामी दुई दिन पूर्वी नेपालमा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको हो । आज र भोलि नेपालका पूर्वी र मध्य भेगमा तथा पर्सि पश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज र भोलि दुई दिन तराईका जिल्लाहरुमा हावाहुरीकोसमेत सम्भावना रहेको बताइएको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षाको सम्भावना आज, भोलि, पर्सि तीन दिन नै रहने समेत बताइएको छ । सुदूरपश्चिममा शनिबार भारी वर्षाको सम्भावना छ । आज रातभरी प्रदेश १ र बागमती प्रदेशमा वर्षा भइरहेको छ ।
प्रदेश १ का सुनसरीको धरान, चतरा, झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा आज बिहान मध्यमदेखि भारी वर्षा मापन भएको छ । मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले बिहान २ बजे ट्वीट गरेर पछिल्लो तीन घण्टादेखि ती क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जनाएको छ ।
यसैगरी गएराति बागमती प्रदेशको मकवानपुर र आसपासका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको छ । कोशी र बागमती प्रदेशका ती क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।
काठमाडौं । वान एक्स बेटिङमार्फत् सट्टेबाजी खेलाएको र विज्ञापन गरेको आरोपमा पक्राउ परेका १० जना धरौटी बुझाएर छुटेका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएसँगै छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।
प्रहरीले यस घटनामा कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई मुख्य अभियुक्तको रूपमा मुद्दा पेश गरेको थियो। खड्कासँग अदालतले १० लाख र धितालसँग ५ लाख धरौटी माग गरेको छ। यस्तै, विज्ञापन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार एवं युट्युबरहरूलाई भने ५\५ हजार धरौटीमा छाड्न आदेश दिएको हो।
युट्युबर एवं कलाकारहरू जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा (जिडी), बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (पिके भाइन्स( पवन खतिवडा) पक्राउ परेका थिए।
सरकारी वकिलले अभियुक्त खड्का र धितालविरूद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरेको थियो। राष्ट्र बैंकको ऐन अनुसार बिगो जफत गरी बिगो रकमको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ।
मुलुकी अपराध संहिता, २०७४ दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न पनि माग गरेको थियो। त्यसबाहेक उनीहरू दुबैविरूद्ध एकीकृत कसुर बापत थप सजायको माग गरेको थियो।
काठमाडौं । २०७४ मंसिर ३ मा छोरा प्रकाश दाहालको निधनमा नराम्रोसँग भक्कानिएका प्रचण्ड पुत्र वियोगलाई भुलाउन अनेक प्रयास गरिरहेका थिए । तर, उनको वियोग थामिनुको साटो अझै बढ्ने क्रममा थियो । छोराको निधनपछि अझ पिडामा डुबेकी प्रचण्ड पत्नी सीता दाहाल त्यसपछि अझ कमजोर बन्दै गइन् । आफूलाईभन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरूमा शोकले ढलेकी सीता पछि निको नहुने जटिल प्रकारको पार्किन्सन्सबाट ग्रस्त भइन्।
बुधबार बिहान सीताको निधनको घोषणा त्यही अस्पतालले गर्यो, जुन अस्पतालमा ६ वर्षअघि उनका छोरा प्रकाश दाहालको निधनको घोषणा भएको थियो। उनको उपचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माले बिहान ८ बजेर ३३ मिनेट जाँदा उनको निधन भएको घोषणा गरे ।
‘उनले भने, ‘उहाँको हेरचाह गर्ने नर्सिङ स्टाफ हुनुहुन्छ। उहाँले अचानक फोन गर्नुभयो। मैले तुरून्तातुरून्तै नर्भिकको इमरजेन्सी टिमलाई खबर गरें। म बालुवाटार पुगें। त्यहाँ अक्सिजनको मात्रा हेर्दै थिएँ। नर्भिकबाट इमरजेन्सीको टोली पनि पुग्यो। हामीले त्यहाँ अक्सिजन, इन्जेक्सन आदि लगाएर, दौडाएर अस्पताल ल्यायौं,’ शर्माले भनेका छन्, ‘यहाँ ल्याउँदा ८ बजेको थियो। उहाँ पहिलेदेखि नै नसासम्बन्धी दीर्घ रोगी हुनुहुन्थ्यो। दिमागको नसा सुक्दै जाने, खुम्चने हुन्छ। सँगसँगै उहाँलाई डायबेटिज, हाइपरटेन्सन, उच्च रक्तचाप पनि थियो।’
२०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीता ८ वर्षकी हुँदा आफ्नो परिवारसँगै चितवनको सुन्दरबस्तीमा बसाइ सरेर गएकी थिइन्। उनले पढ्न पाइनन् । २०२६ साल वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो। विवाह भएपछि सीता प्रचण्डकै राजनीतिक आन्दोलनमा होमिइन् । २०२८ सालदेखि सीता कम्युनिष्ट पार्टीको सदस्य भएर भूमिगत राजनीतिको पृष्ठभूमिमा सक्रिय भइन्। स–साना छोराछोरी र श्रीमानको भूमिगत राजनीति दुबैलाई सन्तुलन गरेर अघि बढ्न स्वाभाविक रूपमै सीतालाई कठिन थियो। तर उनले आमा, श्रीमती र राजनीतिक कार्यकर्ताको रूपमा जे जति भूमिका निर्वाह गरिन्, त्यसमा कुनै खोट छैन।
उनको अभिभावकीय भूमिकाकै कारण अधिकांश माओवादी नेता कार्यकर्ताहरू उनलाई आमा भनेर सम्बोधन गर्छन्। भूमिगतकालमा प्रचण्डका हरेक आरोह(अवरोहमा सँगसँगै रहेकी सीताको जिन्दगी शान्ति प्रक्रिया पछि भने सहज हुन सकेन। २०७० चैतमा जेठी छोरी ज्ञानु केसीको क्यान्सरका कारण निधन भएपछि सीताको राजनीतिक सक्रियता धेरै थिएन। हुन त त्यसअघि पनि उनले पार्टीमा कहिल्यै आफ्नो लागि भाग खोज्ने र सक्रिय हुने चाहना राखिनन्।
प्रचण्डसँग ५४ वर्षसम्म सँगै रहेकी सीता दाहालले यो समय पूर्ण रूपमा प्रचण्डकै सारथीका रूपमा कटाइन्। भीषण संघर्षका बेला अविचलित प्रचण्डको साथमा रहेकी सीता दाहाल प्रचण्ड परिवारले आर्थिक अवस्थिति सुधारेपछि र चमकधमक पूर्ण जिन्दगी बिताउने बेलामा पारिवारिक शोकका कारण उठ्न सकिनन्।
तीन छोरी र एक छोराकी आमा सीता २०७४ मा छोरा प्रकाशको निधन भएपछि त झन् थला नै परिन्। उनको बिग्रँदै गएको स्वास्थ्यका कारण हुनसक्छ, प्रचण्डले आफू पुग्ने ठाउँमा सम्भव भएसम्म सीतालाई लिएर नै जाने गर्थे। कार्यक्रमहरूका मञ्चमा बसेकै बेला सीता दाहाल सम्हालिन नसकेर रोइरहेको तस्बिर र भिडिओहरू बारम्बार आइरहन्थे। सीता दाहाललाई सन्तान वियोगको पीडाबाट माथि उठाउन हो सायद, प्रचण्ड उनलाई बेला बेलामा विभिन्न ठाउँमा लिएर जान्थे।
तर सीता उठ्न सकिनन्। गम्भीर खालको पार्किन्सन्सले झन् झन् गलाउँदै लगेपछि तीन वर्षयता उनी ओछ्यानमै थला परेकी थिइन्। छोरीहरू रेणु र गंगा उनलाई विशेष हेरचाह गर्दै आएका थिए। सिंगो पार्टी पंक्तिले अभिभावकका रूपमा व्याख्या गर्ने, कुनै पनि विवादमा नमुछिएकी सीता दाहालको आफ्ना श्रीमान प्रचण्ड तेस्रो पटक मुलुकको प्रधानमन्त्री भइरहँदा बुधबार निधन भएको छ। आफ्ना दुई सन्तानको वियोग थेगिसकेका प्रधानमन्त्री प्रचण्ड पत्नी वियोगमा परेका छन्।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन् भने सीता दाहालको आत्माको चीरशान्तिको कामना गरेका छन् ।
उनले ट्वीटरमा नेपालीमा नै लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रचण्ड प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।’
काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिए । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए । शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।
विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो । सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।
काठमाडौं । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिएका छन् । दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले घटनाको पुष्टी गरेका छन् । दाहालको बिहान करिब साढे ८ बजे निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।
काठमाडौं । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो। समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
साउन पहिलो साता पछाडि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, कार्यनीति, कार्यदिशाबारे जानकारी गराउन प्रदेशमा कार्यक्रम गर्ने तयारी मोर्चाको छ । समाजवादी मोर्चाले सदस्य दलहरूबाट एक–एकजना प्रतिनिधि रहेको एउटा कार्यदल पनि बनाएको थियो। मोर्चाको कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप तयार पार्न गठन गरिएको कार्यदलले तयार पारेको दस्तावेजमाथि पनि आज छलफल हुने बताइएको छ ।
कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरूङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्गबहादुर विश्वकर्मा सदस्य छन्। मोर्चाको अघिल्लो बैठकले उनीहरूलाई कार्यादेश दिएको थियो।
मोर्चाको अघिल्लो बैठकले आलोपालो अध्यक्षता गर्ने र नेतृत्व ६–६ महिनामा चक्रीय हिसाबले परिवर्तन हुने निर्णय गरेको थियो। मोर्चाको अहिलेको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्। मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन्। विप्लवबाहेक तीनैवटा सत्ता घटक पनि हुन्।
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको महाशाखाको भनाइ छ।
अहिले बिहान कोशी तथा मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको अवस्था छ। त्यस्तै, बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोपख देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
रातिपख देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको उसले बताएको छ
काठमाडौं । ककनी गाउँपालिकाले आगामी १ साउनदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाका प्रमुख सुमन तामाङका अनुसार फोहोर बोकेर आउने ठूला गाडीका लागि प्रतिगाडी १०० रुपैयाँ र अन्यका लागि १००० रुपैयाँ शुल्क लिने गरी गाउँ परिषद्ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गरेको छ ।
बञ्चरेडाँडमा फोहोर पठाउने सबै स्थानीय तहलाई १ साउनदेखि लागु हुने प्रवेश शुल्कबारे जानकारी दिन पत्र काटिएको छ । सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसत ११०० टन फोहोर बञ्चरेडाँडामा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५११ टन र ललितपुर महानगरपालिकासहित आसपासका अन्य नगरबाट ५२३ टन फोहोर उठ्छ । काभ्रेको बनेपा र मण्डनदेउपुरबाट पनि बञ्चरेडाँडामा फोहोर जान्छ ।
ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्याउने गरिएको छ । गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५÷३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । चन्द्रागिरि, महालक्ष्मी र मध्यपुर थिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।
गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५र१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । शंखरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । अब यस्तो फोहोर बोकेर जाने गाडीले कककनी गाउँपालिका प्रवेश गर्दा नै शुल्क तिर्नुपर्ने भएको छ ।
काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।
प्रवक्ता शर्माले भनिन् ‘‘आज कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ। अहिले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ती हजार ३६२ रुपियाँ समर्थन मूल्य तोकिएको छ। यो पहिला भन्दा साढे दुई सय सय रुपियाँले बढी हो।’’
काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका पाइलट र पाँच मेक्सिकन नागरिकको शव काठमाण्डू ल्याइपुर्याइएको छ । पोस्टमार्टम गरी शवहरू हस्तान्तरणको प्रक्रिया अघि बढाइने बताइएको छ । मङ्गलवार बिहान भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेमा सगरमाथा क्षेत्रको भ्रमणमा आएका एकै परिवारका पाँच सदस्य रहेका छन्।
सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। सोलुखुम्बुबाट काठमाडौंका लागि मङ्गलवार बिहान उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै मृत्यु भएको हो । उक्त हेलिकप्टरमा क्याप्टेन सीबी गुरुङसहित ६ जना सवार थिए । दुर्घटनामा परेको हेलिकप्टर रूखमा ठोकिएको देखिएको छ। ने
पाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त हेलिकप्टर बिहान १०ः०५ बजे काठमाडौंका लागि उडेको थियो। तर १०ः१३ बजेपछि हेलिकप्टर सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। सम्पर्कविच्छेद हुँदा हेलिकप्टर १२,३०० फिटको उचाइमा रहेको थियो ।
काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न बनाएको आयोगको अवधिको तीन महिना थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेन (मिटरब्याज)को समस्या समाधन गर्न बनाएको आयोगको अवधि थप गरेको हो।
तीन महिनाका लागि समय थपेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि समय थपिएको हो। गत चैत २० गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगमा पूर्व एआइजी उत्तमराज सुवेदी र पूर्वसहमहान्यायधीवक्ता गणेशराज अर्याल सदस्य छन्।
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले मंगलबार श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
श्रेष्ठ २०६० सालमा भूमीसुधार विभागका महानिर्देशक थिए। २०६० सालमा ललिता निवासको केही जग्गा हालसाविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने निर्णय भएको थियो । त्यो काममा संलग्न भएको आरोप श्रेष्ठमाथि लागेको छ । त्यो हालसाविकको निर्णयबाट सुवर्ण शम्शेरका हकदारहरू सुनिती राणा, शैलजा राणा, हाटक शम्शेर, हेमन शम्शेर र रुक्म शम्शेर समेतका व्यक्तिहरूका नाममा सरकारी जग्गा दर्ता गरिएको थियो।
श्री ५ को सरकार समरजंग कम्पनीको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम भएको जग्गा व्यक्तिविशेषको नाममा हालसाविक गरिदिनको लागि भूमिसुधार तथा व्यवस्थापन विभागबाट मिति २०५९–६–२४ गते सहमति दिने निर्णय गरेको देखिएकोमा उक्त निर्णय प्रक्रियामा तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठ संलग्न भएको छानबिन प्रतिवेदनमा उल्लेख छ। उनीमाथि चार वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १३ करोड २३ लाख विगो मागी भ्रष्टाचार मुद्दा चलाएको थियो ।
काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
‘आज असाध्यै दुखद् घटना तपाईं हामी सबैलाई थाहा छ, मेक्सिकोका नागरिकहरु बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ’ उनले भनिन्, ‘यसप्रति मन्त्रिपरिषद् बैठकले सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ ।’
बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
काठमाडौं । मंगलबार मनाङ एयरको ९एन–एएमभी हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको छ । यो नेपालको इतिहासको ४२ औं हेलिकप्टर दुर्घटना हो । सोलुखुम्बु, लुक्लानजिकै रहेको सुर्केबाट बिहान १० बजेर ५ बजे काठमाडौंका लागि उडेको यो हेलिकप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो । सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो ।
त्यसपछि काठमाडौं टावरले यो हेलिकप्टरलाई सम्पर्क गर्नुपर्ने थियो, तर गरेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार टावरसँग सम्पर्क टुटुेपछि काठमाडौं विमानस्थलस्थित खोज तथा उद्दार केन्द्रले अल्टिच्यूड एयरको दुई हेलिकप्टर सम्भावित घटनास्थलततर्फ खटाएको थियो ।
स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो । सर्वप्रथम घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार घटनास्थल आसपास बाक्लो हुस्सु लागेको थियो । टोलीले सोलुखुम्बुको लामजुरा पासनजिकै हेलिकप्टरलाई दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो ।
मंगलबार दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबै विदेशी पर्यटक हुन् । उनीहरु मेक्सिकोका नागरिक रहेको महाप्रबन्धक तिवारीले जानकारी दिए । उनीहरु सोमबार लुक्ला पुगेका थिए । सोमबार प्रतिकुल मौसमका कारण उडान सम्भव भएन । त्यसपछि रात उतै बिताएपछि यो टोलीले मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेको थियो । हेलिकप्टर ५५ वर्षीय अनुभवी पाइलट सीबी गुरुङले उडाएका थिए । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार उनीसँग ७ हजार घण्टा उडानको अनुभव थियो ।
काठमाडौं । टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ परेका छन् । टर्कीको सुरक्षा निकायले विद्रोही समूह इस्लामिक स्टेट ९आईएस० सँग सम्बन्ध रहेको आरोपमा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । सरकारले चलाएको आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरू पक्राउ परेका त्यहाँको समाचार समिति अनादोलुलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आईएससँग सम्बन्ध रहेका अरु केहीको खोजी चलिरहेको छ । सन् २०१३ मा टर्कीले आईएसलाई आतङ्कवादी समूह घोषणा गरेको हो । इस्लामिक स्टेट अलकायदाबाट अलग्गिएर बनेको एउटा सुन्नी सङ्गठन हो । यसले मुख्य गरी सिरियादेखि इराकका भागमा ठूलो सङ्गठन बनाएर गतिविधि गर्दै आएको छ ।
काठमाडौं । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । अघि बिहान ५ बजे भारतले बाँध खोलेको हो । बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाँधका ढोका भरेराति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको छ ।
राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र बाढीले सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।
भारतले सफाइको कामका लागि भन्दै परियोजनाको बाँधका ढोका खोल्ने यसअघि नै जानकारी गराएको थियो । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ । २०७० साल असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।
काठमाडौं । यसवर्ष मनसुन सुरू भएयता २५ जनाको मृत्यु भएको छ। यो २५ गते साँझ ५ बजेसम्मको तथ्यांक हो। जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना घाइते छन्। बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।
यस वर्षको बाढी पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ ३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ताको अवस्थामा छन्। पाँचथरमा ३ जनाको मृत्यु भएको भने ३ जना बेपत्ता छन्। यस्तै ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्युु भएको थियो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने आकलन गरेको छ।
मधेसमा सबैभन्दा बढी अर्थात् ४ लाख ३ हजार १८० र त्यसपछि कोशीमा ३ लाख १ हजार १४३ जनसंख्या प्रभावित हुनसक्ने उसले प्रक्षेपण गरेको छ। बाढी–पहिरोबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने पनि उसले औंल्याएको थियो।
काठमाडौं । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । गत चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो ।
उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तार गरिएको थियो । बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेरअनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।
फैसलमा तीन लाख जरिवाना, ५० हजार पीडित बालिकालाई क्षतिपूर्ति र दुई हजार आठ सय पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । दैलेखमा चैतदेखि जेठसम्मको अवधिमा १५ देखि १७ वर्ष उमेरका छोरीलाई बाबुबाटै बलात्कृत भएका चारवटा मुद्दा प्रहरीमार्फत अदालत पुगेका छन् ।
सोमबार भएको सजाय निर्धारण पेसीमा पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गरेका थिए । सरकारवादी मुद्दाहरुमा जिल्ला सरकारी वकिल कार्यालयले कसुरदारलाई अधिकतम सजायको मागदाबीसहित अदालतमा अभियोग दर्ता गराउने र पीडितका तर्फबाट निःशुल्क बहस पैरवी गर्ने गर्दछ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले स्पष्टीकरण दिन्छु भन्दाभन्दै राजीनामा भन्नुको अर्थ के हो भनी प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नका विषयमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा उनले पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टीकरण दिन खोज्दा नपाएको बताए ।
‘मैले आफ्नो कमजोरी सहज र स्पष्ट शब्दमा स्वीकार्ने गरेको छु,’ प्रचण्डले भने, ‘तर मेरो राजीनामा मागेर ३ दिनसम्म संसद अवरुद्ध गर्नु जायज हो ?’
दाहालले सरदार प्रितम सिंहप्रतिको आफ्नो प्रेम फेरि दोहोर्याएका छन्। उनले आफ्नी छोरी ज्ञानु दाहालको क्यान्सर रोगको उपचारका सिलसिलामा दिल्ली जाने क्रममा प्रितम सिंहले आफू र आफ्नो परिवारलाई धेरै सहयोग गरेको स्पष्ट पारे । ‘प्रितम सिंहको मेरो परिवारप्रति सधैँ माया छ,’ उनले भने।
सोमबार संसद्मा बोल्दै प्रधानमन्त्री दाहालले प्रितम सिंहले छोरीको उपचारका सिलसिलामा दिल्ली जाँदा उनकै व्यवस्थाअनुसार आफ्ना छोरा प्रकाश र छोरी ज्ञानु बसेको स्पष्ट पारेका छन्।
उनले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाएको नभई २०६८/२०६९ सालताका आफू प्रधानमन्त्री बन्नुपर्छ भनी उनले भनेको कुरा स्मरण गरेको बताएका हुन्।