Category: समाचार

  • आइएससँग सम्बन्ध रहेको भन्दै टर्कीले २२ जना विदेशीलाई पक्रियो

    आइएससँग सम्बन्ध रहेको भन्दै टर्कीले २२ जना विदेशीलाई पक्रियो

    काठमाडौं । टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ परेका छन् । टर्कीको सुरक्षा निकायले विद्रोही समूह इस्लामिक स्टेट ९आईएस० सँग सम्बन्ध रहेको आरोपमा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । सरकारले चलाएको आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरू पक्राउ परेका त्यहाँको समाचार समिति अनादोलुलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    आईएससँग सम्बन्ध रहेका अरु केहीको खोजी चलिरहेको छ । सन् २०१३ मा टर्कीले आईएसलाई आतङ्कवादी समूह घोषणा गरेको हो । इस्लामिक स्टेट अलकायदाबाट अलग्गिएर बनेको एउटा सुन्नी सङ्गठन हो । यसले मुख्य गरी सिरियादेखि इराकका भागमा ठूलो सङ्गठन बनाएर गतिविधि गर्दै आएको छ ।

  • धौलीगंगाको बाँध भारतले खोल्यो, महाकालीमा वहाव बढ्ने

    धौलीगंगाको बाँध भारतले खोल्यो, महाकालीमा वहाव बढ्ने

    काठमाडौं । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । अघि बिहान ५ बजे भारतले बाँध खोलेको हो । बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाँधका ढोका भरेराति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको छ ।

    राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र बाढीले सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

    भारतले सफाइको कामका लागि भन्दै परियोजनाको बाँधका ढोका खोल्ने यसअघि नै जानकारी गराएको थियो । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ । २०७० साल असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

  • यो वर्ष मनसुनमा २५ जनाको ज्यान गयो, २५ अझै वेपत्ता

    यो वर्ष मनसुनमा २५ जनाको ज्यान गयो, २५ अझै वेपत्ता

    काठमाडौं । यसवर्ष मनसुन सुरू भएयता २५ जनाको मृत्यु भएको छ। यो २५ गते साँझ ५ बजेसम्मको तथ्यांक हो। जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना घाइते छन्। बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।

    यस वर्षको बाढी पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ ३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ताको अवस्थामा छन्। पाँचथरमा ३ जनाको मृत्यु भएको भने ३ जना बेपत्ता छन्। यस्तै ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्युु भएको थियो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने आकलन गरेको छ।


    मधेसमा सबैभन्दा बढी अर्थात् ४ लाख ३ हजार १८० र त्यसपछि कोशीमा ३ लाख १ हजार १४३ जनसंख्या प्रभावित हुनसक्ने उसले प्रक्षेपण गरेको छ। बाढी–पहिरोबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने पनि उसले औंल्याएको थियो।

  • दैलेखमा छोरीमाथि बलात्कार गर्नेलाई ३३ वर्ष कैद

    दैलेखमा छोरीमाथि बलात्कार गर्नेलाई ३३ वर्ष कैद

    काठमाडौं । दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । गत चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो ।

    उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तार गरिएको थियो । बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेरअनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।

    फैसलमा तीन लाख जरिवाना, ५० हजार पीडित बालिकालाई क्षतिपूर्ति र दुई हजार आठ सय पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । दैलेखमा चैतदेखि जेठसम्मको अवधिमा १५ देखि १७ वर्ष उमेरका छोरीलाई बाबुबाटै बलात्कृत भएका चारवटा मुद्दा प्रहरीमार्फत अदालत पुगेका छन् ।

    सोमबार भएको सजाय निर्धारण पेसीमा पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गरेका थिए । सरकारवादी मुद्दाहरुमा जिल्ला सरकारी वकिल कार्यालयले कसुरदारलाई अधिकतम सजायको मागदाबीसहित अदालतमा अभियोग दर्ता गराउने र पीडितका तर्फबाट निःशुल्क बहस पैरवी गर्ने गर्दछ ।

  • एमालेलाई प्रधानमन्त्रीको प्रश्न-‘प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो’ ?

    एमालेलाई प्रधानमन्त्रीको प्रश्न-‘प्रतिपक्षीले माग्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने हो’ ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले स्पष्टीकरण दिन्छु भन्दाभन्दै राजीनामा भन्नुको अर्थ के हो भनी प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नका विषयमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा उनले पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टीकरण दिन खोज्दा नपाएको बताए ।

    ‘मैले आफ्नो कमजोरी सहज र स्पष्ट शब्दमा स्वीकार्ने गरेको छु,’ प्रचण्डले भने, ‘तर मेरो राजीनामा मागेर ३ दिनसम्म संसद अवरुद्ध गर्नु जायज हो ?’

    दाहालले सरदार प्रितम सिंहप्रतिको आफ्नो प्रेम फेरि दोहोर्‍याएका छन्। उनले आफ्नी छोरी ज्ञानु दाहालको क्यान्सर रोगको उपचारका सिलसिलामा दिल्ली जाने क्रममा प्रितम सिंहले आफू र आफ्नो परिवारलाई धेरै सहयोग गरेको स्पष्ट पारे । ‘प्रितम सिंहको मेरो परिवारप्रति सधैँ माया छ,’ उनले भने।

    सोमबार संसद्‌मा बोल्दै प्रधानमन्त्री दाहालले प्रितम सिंहले छोरीको उपचारका सिलसिलामा दिल्ली जाँदा उनकै व्यवस्थाअनुसार आफ्ना छोरा प्रकाश र छोरी ज्ञानु बसेको स्पष्ट पारेका छन्।

    उनले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाएको नभई २०६८/२०६९ सालताका आफू प्रधानमन्त्री बन्नुपर्छ भनी उनले भनेको कुरा स्मरण गरेको बताएका हुन्।

  • राप्रपाले भन्यो– ‘नैतिकता जीवित भए प्रधानमन्त्रीले राजीनामा दिनुहोस्’

    राप्रपाले भन्यो– ‘नैतिकता जीवित भए प्रधानमन्त्रीले राजीनामा दिनुहोस्’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फेरि प्रधानमन्त्रीको राजीनामा मागेको छ ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नैतिकताका आधारमा प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताए ।

    “यो भन्दा ठुलो नैतिकताको विषय अरू हुन सक्दैन । प्रधानमन्त्रीमा नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ,” लिङ्देनले भने ।

  • बैतडीमा यात्रु सवार बस भीरबाट खस्यो, एक जनाको मृत्यु

    बैतडीमा यात्रु सवार बस भीरबाट खस्यो, एक जनाको मृत्यु

    काठमाडौं । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

    पञ्चेश्वर गाउँपालिका–३ कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस बस सोमवार दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना भएको हो।

    मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का उमेश भण्डारी रहेका छन्। दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको छ। तीमध्ये २६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ।

  • जोर्डन उड्नै लागेका १५ जना विमानस्थलबाट फर्काइए

    जोर्डन उड्नै लागेका १५ जना विमानस्थलबाट फर्काइए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन्। उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ।

    जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्। विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए ।

    उनले भने, उक्त विषयमा अध्ययन हुँदैछ, भोलि छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ।” उनका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ। रासस

  • आजबाट साउने व्रत सुरु

    आजबाट साउने व्रत सुरु

    काठमाडौं । चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत सुरु भएको हो । यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने पात्रोमा उल्लेख गरिएको छ । त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न सुरु गरिएको हो । समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबारमा व्रत लिनुपर्ने निर्णय सिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।

    पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास अनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए ।


    साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए । चन्द्रमास अनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । रासस

  • ठेक्काको म्याद थप्दा पनि किन असन्तुष्ट छन् निर्माण व्यवसायी ?

    ठेक्काको म्याद थप्दा पनि किन असन्तुष्ट छन् निर्माण व्यवसायी ?

    काठमाडौं । सरकारको म्यादसम्बन्धी निर्णयप्रति निर्माण व्यवसायीले असन्तुष्टि जनाएका छन् । सरकारी निर्णयले वास्तविक म्याद थप नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । असार २१ मा राजपत्रमा प्रकाशित म्याद थपसम्बन्धी आदेशले निर्माण उद्योगलाई थप अस्थिर बनाउने महासंघको दाबी छ । काम गरेको रकमसमेत सरकारले भुक्तानी दिन नसकेर उल्टै निर्माण व्यवसायीलाई अन्याय हुने गरी म्याद थपको प्रावधान ल्याइएको महासंघ अध्यक्ष रवि सिंहले बताए ।


    ‘डिजाइन परिवर्तन, बजेट अभाव, निर्माणस्थलको उपलब्धता हुन नसक्नु, निर्माण सामग्रीको अभाव, काम गरेको रकम भुक्तानी हुन नसकेका कारण तोकिएको समयमा काम नसकिएको हो,’ अध्यक्ष सिंहले आइतबार सञ्चारकर्मीसँग भने, ‘म्याद थप्दा थप आर्थिक दायित्व सम्बन्धित सार्वजनिक निकायले बहन गर्नु नपर्ने गरी आदेशमा उल्लेख गरिएको व्यवस्था सार्वजनिक खरिद ऐन, नियम र सम्झौताविपरीत छ ।’

    माइलस्टोन हटाएर भुक्तानीको व्यवस्था असार मसान्तभित्र गर्नुपर्ने र बजेट नभएका आयोजनाको सुबिस्ताका आधारमा ठेक्का अन्त्य गर्नुपर्ने व्यवसायीको माग छ । निर्वाचन, क्रसर उद्योग बन्द, पेट्रोलियम तथा स्टिलजन्य निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिलगायत कारण निर्माणको काम हुन नसकेकाले मूल्य समायोजनसहित एकमुष्ट एक वर्ष म्याद थपको माग महासंघको थियो ।

    तर आफूहरूका माग बेवास्ता गर्दै राजपत्रमा सूचना आएको अध्यक्ष सिंहको भनाइ छ । बजेटको व्यवस्था नभएका, डिजाइन र जग्गा प्राप्तिको समस्या, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निगरानी गर्ने सरकारी निकायमा उजुरी परेका कारण अगाडि बढ्न नसकेका आयोजनाको हालसम्मको कामको भुक्तानी गरी सुबिस्ताका आधारमा ठेक्का अन्त्य गर्दै फरफारक गरिनुपर्ने महासंघको माग छ ।

    ‘सरकारी भुक्तानी प्रणाली एकदमै कमजोर छ, निर्माणको काम सक्दा पनि समयमै भुक्तानी पाइँदैन,’ उनले भने, ‘विभिन्न मन्त्रालय र विभागबाट अझै ५० अर्ब भुक्तानी लिन बाँकी छ, जसमा भौतिक मन्त्रालयबाट मात्र २० अर्ब रुपैयाँ लिनुपर्ने छ ।’ भौतिक, खानेपानी, ऊर्जा तथा सिँचाइ, सहरी विकास मन्त्रालय, प्रदेश र स्थानीय तहबाट सकिएको कामको पनि पूरै भुक्तानी नपाएको सिंहले बताए ।

    आफूहरूका जायज माग पूरा नभए सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघका कार्यवाहक महासचिव शिवहरि घिमिरेको भनाइ छ । महासंघका सल्लाहकार जयराम लामिछानेले पनि सरकारको अव्यावहारिक नीति नियमका कारण मुलुकको निर्माण क्षेत्र अघि बढाउन नसकिने अवस्थामा रहेको दाबी गरे ।

    माइलस्टोन हटाएर भुक्तानीको व्यवस्था असार मसान्तभित्र गर्नुपर्ने र बजेट नभएका आयोजनाको सुबिस्ताका आधारमा ठेक्का अन्त्य गर्नुपर्ने व्यवसायीको माग छ । निर्वाचन, क्रसर उद्योग बन्द, पेट्रोलियम तथा स्टिलजन्य निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिलगायत कारण निर्माणको काम हुन नसकेकाले मूल्य समायोजनसहित एकमुष्ट एक वर्ष म्याद थपको माग महासंघको थियो ।

    तर आफूहरूका माग बेवास्ता गर्दै राजपत्रमा सूचना आएको अध्यक्ष सिंहको भनाइ छ । बजेटको व्यवस्था नभएका, डिजाइन र जग्गा प्राप्तिको समस्या, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निगरानी गर्ने सरकारी निकायमा उजुरी परेका कारण अगाडि बढ्न नसकेका आयोजनाको हालसम्मको कामको भुक्तानी गरी सुबिस्ताका आधारमा ठेक्का अन्त्य गर्दै फरफारक गरिनुपर्ने महासंघको माग छ ।

    ‘सरकारी भुक्तानी प्रणाली एकदमै कमजोर छ, निर्माणको काम सक्दा पनि समयमै भुक्तानी पाइँदैन,’ उनले भने, ‘विभिन्न मन्त्रालय र विभागबाट अझै ५० अर्ब भुक्तानी लिन बाँकी छ, जसमा भौतिक मन्त्रालयबाट मात्र २० अर्ब रुपैयाँ लिनुपर्ने छ ।’ भौतिक, खानेपानी, ऊर्जा तथा सिँचाइ, सहरी विकास मन्त्रालय, प्रदेश र स्थानीय तहबाट सकिएको कामको पनि पूरै भुक्तानी नपाएको सिंहले बताए ।

    आफूहरूका जायज माग पूरा नभए सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघका कार्यवाहक महासचिव शिवहरि घिमिरेको भनाइ छ । महासंघका सल्लाहकार जयराम लामिछानेले पनि सरकारको अव्यावहारिक नीति नियमका कारण मुलुकको निर्माण क्षेत्र अघि बढाउन नसकिने अवस्थामा रहेको दाबी गरे ।

  • भारतको पहाडी भेगमा बाढी र पहिरोले वितण्डा

    भारतको पहाडी भेगमा बाढी र पहिरोले वितण्डा

    काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ । गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते)सम्म सबै विद्यालय बन्द गरिएको छ । नोयडामा पनि आज सबै स्कुल बन्द छन् । बन्द अवधिभर अनलाइनमार्फत् पढाइ हुने सूचना स्कुलहरुले जारी गरेका छन् ।

    पहाडदेखि मैदानी इलाकासम्म वर्षाले जनजीवन कष्टप्रद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कतिपय स्थानमा सडक र पुल बगेका छन् । खेतियोग्य जमिन र घरहरु जलमग्न भएका छन् । कार र दुई पाङ्ग्रे सवारी साधनहरु पानीमा डुबेको देखिन्छ । मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।

    राजधानी नयाँदिल्लीमा पछिल्लो १२ घण्टामा १२६ मिलिमिटरसम्म वर्षा भएको रेकर्ड रहेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि मौसम विभागले भने दिल्लीमा २४ घण्टामा १५० मिलिमिटर वर्षा भएको जनाएको छ । उत्तर प्रदेशका अधिकांश जिल्लामा भारी वर्षाले चेतावनीको तह पार गरेको छ । आज सोमबार पनि भारी वर्षाको पूर्वानुमान छ ।

    यमुना नदीको बाढी खतराको तहसम्म पुगेपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको छ । अत्यधिक बाढीका कारण हरियाणाको हथिनी कुण्ड ब्यारेजका ढोका खोलेर प्रतिसेकेण्ड एक लाख क्युसेक पानी छाडिएको छ । यससँगै तटीय क्षेत्रका बासिन्दालाई बाढीको चेतावनी जारी गरिएको छ ।

  • युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद

    युक्रेनलाई अमेरिकाले दिने क्लस्टर बमबारे अमेरिकाका सहयोगी मुलुकबीच नै मतभेद

    काठमाडौं । युक्रेनलाई क्लस्टर बम उपलब्ध गराउने वाशिङ्गटनको निर्णयमाथि अधिकांश अमेरिकी सहयोगी राष्ट्रहरूले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रवार राष्ट्रपति जो बाइडनले “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिँदै अमेरिकाले युक्रेनमा विवादास्पद अस्त्रहरू पठाउने विषय पुष्टि गरेका थिए। प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोगको विरुद्ध उभिएको बताएका छन्।

    क्लस्टर बमले आम नागरिकलाई निम्त्याउने जोखिमका कारण यो एक सयभन्दा बढी देशहरूमा प्रतिबन्धित छ। क्लस्टर उपकरणले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउँछ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई ‘डड्स’भनिन्छ।

    विस्फोट नभएका यस्ता बमहरूमाथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ। बाइडनले शुक्रवार सीएनएनसँगको एक अन्तर्वार्तामा, आफूले ८० करोड अमेरिकी डलर बराबरको सैन्य राहत सामग्री अन्तर्गत अस्त्र दिने निर्णयबारे सहयोगी राष्ट्रहरूसँग छलफल गरेको बताएका थिए। राष्ट्रपतिले यस्तो निर्णय गर्न तयार हुन आफूलाई केही समय लागेको बताए। यद्यपि युक्रेनीहरूसँग अस्त्र कम हुँदै गएकाले” आफूले त्यस्तो कदम चालेको बताएका थिए।

    मानव अधिकार समूहहरूले उक्त निर्णयको तत्कालै आलोचना गरेका थिए। एमनेस्टी इन्टरन्याश्नलले क्लस्टर अस्त्रहरू द्वन्द्व समाप्त भएको लामो समयसम्म नागरिक जीवनका गम्भीर खतरा बन्न सक्ने बताएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पत्रकारहरू समक्ष अमेरिकाले युक्रेनमा पठाउन लागेको क्लस्टर बमहरूको असफलता दर रुसले युद्धमा प्रयोग गरेको उस्तै अस्त्रहरूको तुलनामा कम भएको बताएका थिए।

    तर अमेरिकाका केही पश्चिमी सहयोगी राष्ट्रहरूले यसको निर्णयमा समर्थन जनाउन अस्वीकार गरेका छन्। बाइडनको यस निर्णयले एक प्रतिशतभन्दा बढी असफलता दर भएका क्लस्टर अस्त्रहरूको उत्पादन, प्रयोग वा स्थानान्तरणलाई प्रतिबन्ध लगाएको विद्यमान अमेरिकी कानुनको उलङ्घन गर्छ।

    युद्धको प्रारम्भमा रुसले क्लस्टर तथा भ्याक्युम बमहरूको प्रयोग गरिरहेको आरोपबारे ह्वाइट हाउसलाई प्रश्न गरिँदा तत्कालीन प्रेस सेक्रेटरीले त्यो आरोप साँचो भएको खण्डमा त्यो सम्भावित ूयुद्ध अपराधू हुने जनाएका थिए। संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका तर्फबाट बोल्दै मार्टा हुर्टाडोले भनिन्ः यस्ता अस्त्रहरूको प्रयोग अभिलम्ब रोकिनु पर्छ र यसलाई कुनै पनि स्थानमा प्रयोग गर्न हुँदैन।

    अमेरिकाको निर्णयबारे उनको अडानबारे प्रश्न गर्दा यूकेका प्रधानमन्त्री ऋषि सुनकले उक्त अस्त्रहरूको उत्पादन वा प्रयोगमा प्रतिबन्ध लगाउने र प्रयोगलाई निरुत्साहित गर्ने क्लस्टर अस्त्रसम्बन्धी अभिसन्धिमा हस्ताक्षर गरेका १२३ देशमध्ये यूके पनि एक भएको बताए। न्यूजिल्यान्ड उक्त अभिसन्धिका लागि जोड दिने राष्ट्रहरूमध्ये एक हो।

    स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेको प्रतिक्रिया अनुसार त्यहाँका प्रधानमन्त्रीले अझै स्पष्ट रूपमा अमेरिकाको निर्णयविरुद्ध बोले। क्रिस हिप्किन्सले ती अस्त्रहरूले “अन्धाधुन्ध ढङ्गमा निर्दोष मानिसहरूलाई ठूलो क्षति पुर्‍याउने र सम्भवतः दीर्घकालीन प्रभाव पार्न सक्ने” बताए। उनले युक्रेनमा क्लस्टर बमको प्रयोगबारे न्यूजिल्यान्डको मत ह्वाइट हाउसलाई अवगत गराएको बताए।

    स्पेनकी रक्षामन्त्री मार्गारिटा रोबल्सले युक्रेनमा केही हतियार र बम पठाउन नपाइने कुरामा आफ्नो देशको “दृढ प्रतिबद्धता” रहेको बताइन्। “क्लस्टर बमको विपक्षमा र युक्रेनको वैध प्रतिरक्षाका लागि पक्षमा छौँ जुन हामीलाई लाग्छ क्लस्टर बमको प्रयोगबाट सम्भव छैन,” उनले भनिन्। क्यानडा सरकारले आफू त्यस्ता बमले बालबालिकामा पार्न सक्ने सम्भावित असरबारे चिन्तित रहेको बताएको छ।

    क्यानडाले पनि आफू क्लस्टर बमको प्रयोगको विपक्षमा रहेको र यससम्बन्धी अभिसन्धिको पूर्ण पालना गरिरहेको बताएको छ। हामी यस सम्झौतालाई विश्वव्यापी रूपमा आत्मसात् गर्न प्रोत्साहित गर्ने सन्धि अन्तर्गतको हाम्रो दायित्वलाई गम्भीरतापूर्वक लिन्छौँ, एक विज्ञप्तिमा जनाइएको छ। अमेरिका, युक्रेन र रुसले उक्त अभिसन्धिमा हस्ताक्षर गरेका छैनन् भने मस्को र किएभ दुवैले युद्धका क्रममा क्लस्टर अस्त्रहरू प्रयोग गरेका छन्।

    यसैबीच अभिसन्धिमा हस्ताक्षर गरेको जर्मनीले आफूले युक्रेनलाई त्यस्ता हतियार नदिने तर अमेरिकी अडानमा समर्थन रहेको जनाएको छ। युक्रेनका रक्षमन्त्रीले क्लस्टर अस्त्रहरू सहरी क्षेत्रमा नभई दुस्मनको प्रतिरक्षा सीमाहरू तोड्न मात्र प्रयोग गरिने बताएका छन्।

    अमेरिकाका लागि रुसी राजदूतले बाइडनको उक्त निर्णयको भर्त्सना गरेका छन्। क्रूरता र निन्दाबीच वाशिङ्गटनले किएभमा घातक अस्त्रहरू हस्तान्तरण गर्न अपनाएको नीति भर्त्सनायोग्य छ, अनातोली एन्टोनोभलाई उद्धृत गर्दै तास समाचार संस्थाले जनाएको छ।

    बीबीसीको सहयोगमा

  • आज र भोली वर्षाको सम्भावना, सचेत रहन आह्वान

    आज र भोली वर्षाको सम्भावना, सचेत रहन आह्वान

    काठमाडौं । आज र भोलि अघिल्ला दिनको तुलनामा देशभर बढी पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । तर लगातार झरी पर्ने सम्भावना भने छैन । आज र भोलि देशका धेरै स्थानहरुमा केहीबेर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने हुने बताइएको छ ।

    मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्व भू-भागतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले अघिल्ला दिनको तुलनामा आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।

    मौसमविद बिनु महर्जनका अनुसार मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाश क्षेत्रलाई बुझिन्छ । त्यो रेखा नेपालतर्फ सर्यो भने नेपालमा बढी पानी पर्दछ । अहिले मनसुनी रेखा भारततर्फ छ । त्यसैले भारतमा अत्यधिक वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।

    तर नेपालमा अत्यधिक वर्षाको सम्भावना तत्काल नरहेको अर्का मौसमविद विनोद पोख्रेलले ट्वीटरमा उल्लेख गरेका छन् । मौसमविद लामिछानेका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आजै राति कोशी, मधेश, गण्डकी र लुम्बिनीमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनको समयमा बाढी पहिरोको जोखिम रहने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ ।

  • बहालवाला सचिव परे सिआइबीको फन्दामा

    बहालवाला सचिव परे सिआइबीको फन्दामा

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा बहालवाला सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न १७६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा उनलाई जोगाएको थियो ।

    भ्रष्टाचारजन्य गैरकानुनी कार्यमा प्रत्यक्ष संलग्नता पुष्टि नभएको भन्दै आयोगले राउतसहित १७ जनालाई मुद्दा नचलाउने निर्णय गरेको थियो । यकिन प्रमाणबाट संलग्नता रहेको पुष्टि भएपछि कानुन बमोजिम हुने भन्दै त्यसबेला मुद्दा नचलाउने भनिएको थियो ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक किरण बज्राचार्यका अनुसार राउतले जग्गा हिनामिना गर्ने गिरोहलाई सहयोग हुने गरी भौतिक योजना तथा निर्माण मन्त्रालयमा हुँदा टिप्पणी उठाएका थिए । मन्त्रालयले १७ असार २०६७ मा रायका लागि पेश गरेको निर्णयको मिसिलमा उनको हस्ताक्षर छ । मन्त्रिपरिषद्ले २९ चैत २०६६ मा ‘प्रधानमन्त्री निवास विस्तार’ गर्ने निर्णय गरेको थियो । त्यो निर्णयमा ‘ललितानिवास क्याम्पभित्र समरजंग कम्पनीको नाममा रहेको २७ रोपनी ७ आना जग्गा प्रधानमन्त्री निवासमा ल्याउने’ उल्लेख थियो ।

    त्यसरी जग्गा ल्याउँदा त्यहाँ रहेका मोहीलाई बाहिरको सरकारी जग्गा सट्टा भर्ना दिने भन्दै अर्को निर्णय समेत भएको थियो । अधिकृतहरुका अनुसार, प्रस्तावको टिप्पणी उठाएका बेला उनको मन्त्रालयमा उपसचिव थिएनन्, त्यसैले अधिकृतकै हैसियतमा उनले प्रस्ताव उठाएका थिए । सीआईबीले अहिले ललितानिवास प्रकरणमा सरकारी कागजात किर्ते र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

    सीआईबीले आइतबारै समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ । यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम ९२०४२–४५० र खरिदार गोपाल कार्कीलाई पनि सीआईबीले नियन्त्रणमा लिइसकेको छ ।

    ब्यूरोले उनीहरुसँगै कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेको थियो । तर, उनीहरु सर्वोच्च अदालतको निषेधाज्ञाको आदेश देखाएर पक्राउ परेकै दिन छुटिसकेका छन् ।

  • काठमाडौंमा मर्निङ वाक गएकाहरूको सिक्री लुट्ने ४ जना पक्राउ

    काठमाडौंमा मर्निङ वाक गएकाहरूको सिक्री लुट्ने ४ जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ ।

    सिक्री लुटपाटमा संलग्न व्यक्तिलाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

    पक्राउ पर्नेहरुमा रामेछाप, लिखु गाउँपालिका- १ स्थायी घर भई काठमाडौं, हाँडी गाउँ बस्ने ३२ वर्षीय दमाई, धरान- ८ घर भई काठमाडौं, चाबहिल बस्ने १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे, पाँचखाल- ७ घर भई काठमाडौं, बानेश्वर बस्ने २६ वर्षीय उमेश क्षेत्री, धनकुटा, लेगुवा घर भई काठमाडौं, रामन्दिर बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बंगाल घर भई काठमाडौं, न्युरोड बस्ने ४२ वर्षीय श्रीमान्ती माइती छन्।

    लुटेराहरुले विशेष गरी मर्निङ वाक गरिरहेका महिलाले घाँटीमा लगाएको सिक्री लुटेर भाग्ने गरेको प्रहरीले जनाएको छ।

  • नयाँ बानेश्वर पूर्णरूपमा धूमपान निषेधित क्षेत्र

    नयाँ बानेश्वर पूर्णरूपमा धूमपान निषेधित क्षेत्र

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भोलिदेखि ‘स्मोकिङ जोन’ छुट्याइएका ठाउँहरू बाहेक अन्य क्षेत्रमा धूमपान गर्न निषेध गरिएको छ ।

    निषेधित क्षेत्रमा चुरोट, सुर्ती तथा कुनैपनि सुर्तीजन्य पदार्थ खान र फाल्न पाइने छैन । नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, छक्कुबक्कु मन्दिर संरक्षण समिति, हाम्रो बानेश्वर, वडा नम्बर ३० का स्थानीय, नयाँ मार्ग टोल विकास समिति लगायतका निकायबाट खटिएका स्वंयम्सेवकले प्रयोगकर्ताको निगरानी गर्नेछन् ।

    खुला ठाउँमा कसैले धूमपान गरिरहेको पाइएमा सम्झाइ बुझाइ गर्नेछन् । प्रयोगकर्ताले अटेर गरेको खण्डमा काठमाडौं महानगरका नगर प्रहरीले कारबाही गर्नेछन् ।

  • नक्कली भुटानी शरणार्थी प्रकरण:आरजु जोडिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो

    नक्कली भुटानी शरणार्थी प्रकरण:आरजु जोडिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेता तथा सांसद आरजु राणाको नाम जोडेर करौडौं रुपैयाँ बराबर रकमको डिल भएको जनाउने अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ।

    राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

    त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणको प्रहरी अनुसन्धान चलिरहँदा आरजुको नाम समेत लिएर रकम डिल भएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

  • कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

    कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

    डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका हुन् ।

  • संसदको अवरोध हटाउन तीन दलबीच सहमति, प्रधानमन्त्रीले स्पष्टीकरण दिने

    संसदको अवरोध हटाउन तीन दलबीच सहमति, प्रधानमन्त्रीले स्पष्टीकरण दिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच अवरोध हुँदै आएको संसद सुचारु गर्न सहमति भएको छ । सिंहदरबारमा भएको छलफलमा तीन दलबीच सहमति जुटेको हो । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमति भएको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।

  • अधिकांश स्थानमा आज पनि भारी वर्षा

    अधिकांश स्थानमा आज पनि भारी वर्षा

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राती देशभर आंशिक देखि सामान्य रही कोशी र गण्डकी प्रदेश लगायत देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाको अनुमान छ।

    त्यसकारण हावा हुरी भारी वर्षा, मेघ गर्जन-चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

    नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

    काठमाडौं । नारायणघाट-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। आज बिहान पौने ५ बजे तीन नम्बर पुलमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो। झन्डै एक घन्टा लगाएर पहिरो पन्छाइएपछि अहिले दुइतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले जानकारी दिए।

    यसअघि शनिबार अपराह्न ४ बजे इच्छाकामना गाउँपालिका ६ कालीखोलामा पहिरो खस्दा ९ घन्टा सडक दुईतर्फी नै अवरूद्ध भएको थियो। तीनवटा स्काभेटर प्रयोग गरी राति १ बजे पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको थियो।

  • सुडानमा हवाई हमला, कम्तिमा २२ जनामा मारिए

    सुडानमा हवाई हमला, कम्तिमा २२ जनामा मारिए

    काठमाडौं । सुडानमा हवाई हमला भएको छ । जसमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ । हवाई हमला सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा शनिबार भएको थियो । सो हमलाबाट २२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ।

    सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई दिएका छन् ।

    विद्रोही संगठनका नेता अब्देल फतह अल बुरहानले सेनाले भने आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको र कयौं घाइते भएको बताएका छन् । यसबारे सेनाको तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । स्वास्थ्य मन्त्रालयले भने २२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    स्थानीयवासीका अनुसार सेनाले विद्रोही समूहलाई लक्षित गरी निरन्तर हवाई हमला गर्दै आएको छ । विद्रोही समूहले पनि ड्रोन र लन्चरको माध्यमबाट जवाफी हमला गर्दै आएका छन् । ओमडुरमन विद्रोही समूहले डारफुरबाट सामान आपूर्ति गर्ने एक महत्वपूर्ण स्थान हो । अहिले सेनाले त्यहीँ आक्रमण केन्द्रित गरेको छ ।

  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चीन प्रस्थान

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चीन प्रस्थान

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने पहिलो उच्च स्तरीय ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन डा. श्रेष्ठ शनिबार चीन प्रस्थान गरेका हुन् । उक्त फोरममा विभिन्न २० देशका मन्त्री स्तरीय प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

    कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाहरूको समेत सहभागिता हुनेछ । फोरममा सहभागिता मुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ । नेपालको प्रतिनिधित्व गर्नुहुँदै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ ।

    आइतबार बेइजिङ फ्रेण्डसीप होटलमा चिनियाँ विकास (सीआईडीसीए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ । सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम छ । मङ्गलबार भने उपाध्यक्ष श्रेष्ठ र चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटवार्ता हुने छ । सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्किने छन् ।

  • समाजवादी मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने

    समाजवादी मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने

    काठमाडौं । समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६–६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् । शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६–६ महिनामा पालैसँग गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    ‘सामान्यतया यो मोर्चाको ६–६ महिनामा अध्यक्षता गर्ने । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ । यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ, लगभग समझदारी त्यही छ । समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ बैठकपछि पत्रकारहरुसँग उनले भने ।

    यसअघि मोर्चामा नेतृत्व आलोपालो गर्ने समझदारी भए पनि कति कति समयमा नेतृत्व गर्ने भन्ने तय भएको थिएन । शनिबारको बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो । बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ । तर त्यसको मिति भने २७ गते बस्ने बैठकले तय गर्ने नेता पाण्डेले बताए ।

    बैठकले मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेका छन् । चार दलले ४ असारमा समाजवादी मोर्चा गठन गरेका थिए । समाजवादी मोर्चामा आवद्ध दलका प्रतिनिधिसभामा ५४ सांसद छन् ।

  • भारतले धौलिगङ्गाको बाँध खोल्दै, महाकाली नदीमा जलस्तर बढ्ने

    भारतले धौलिगङ्गाको बाँध खोल्दै, महाकाली नदीमा जलस्तर बढ्ने

    काठमाडौं । महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

    वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलिगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

    उनले भने, ‘वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले जुनसुकै बेला पनि बाँधका ढोका खोलिने जानकारी आएको छ । त्यसैले महाकाली नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ ।’ लगातारको वर्षा र बाँध खोलिएपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना बढी भएकाले नदी आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको उनले बताए ।

    दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले पनि अनुरोध गरेको छ ।

    धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षात्का बेला हरेक वर्ष खोलिने गर्दछ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ । विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रुपैयाँको क्षति भएको थियो ।

  • रसुवाका नागरिकले नागरिकताका आधारमा मात्र केरूङ आवतजावतको पास पाउने

    रसुवाका नागरिकले नागरिकताका आधारमा मात्र केरूङ आवतजावतको पास पाउने

    काठमाडौं । नेपाल(चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ । यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आइएको थियो ।
    बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरूङ जाने परिचयपत्र लिएको गुनासो बढेपछि रसुवा जिल्लाबाट जारी भएका नागरिकता प्राप्त गर्ने व्यक्तिलाई मात्र स्थायी परिचयपत्र प्रदान गर्न स्थानीय सरकारले अनुरोध गरेको छ । नेपाली नागरिकतामा रसुवाको स्थायी ठेगाना उल्लेख भएका व्यक्तिमात्र सीमापासका लागि योग्य हुने बताउँदै रसुवा प्रशासनले जारी गरेका नागरिकतालाई आधार मानी परिचयपत्र दिन अध्यागमन कार्यालय टिमुरेलाई गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ ।

    स्थायी पास नपाउने व्यक्तिलाई केरूङ जाने पहुँच पुर्‍याउन ‘वान डे’पास उपलब्ध हुने व्यवस्थाका लागि सम्बन्धित निकायमा अनुरोध गरिने गाउँपालिकाले जनाएको छ । समयसमयमा नकारात्मक कुरा उठ्न थालेपछि नेपालको उत्तरी नाका रसुवागढीलाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय सरकारकोतर्फबाट पहल कदमी चालिएको गोसाइँकुण्ड गाउँपालिकालका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।
    उनका अनुसार नाका क्षेत्रमा हुने कमीकमजोरीलाई सुधार गरी व्यवस्थित र मर्यादित बनाउन चाल्नुपर्ने कदमका बारेमा स्थानीयसँग पालिकाले सुझाव सङ्कलन गरेको थियो । नाका क्षेत्रमा हुने सम्पूर्ण काम व्यवस्थित र नियमबद्ध तरिकाले गराउने उद्देश्यले टिमुरेमा सुझाव सङ्कलन गरिएको उनले जानकारी दिए ।

    नेपाल भित्रने चिनियाँ पर्यटकले प्रयोग गर्ने सवारीसाधनको सही व्यवस्थापन, स्थानीय बासिन्दालाई आवश्यक सामग्री ल्याउन सहजता, सामग्री आयात–निर्यात गर्ने सडक मार्ग सुधारलगायत व्यवस्थापकीय कामका लागि सम्बन्धित निकायसामु गाउँपालिकाले अनुरोध गरेको अध्यक्ष तामाङले बताए ।

  • इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

    इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले श्रीलंकामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनालले पूनरागमन गरेका छन् ।

    सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी बाहिरिएका छन् । क्यानडामा आयोजना हुने टी–२० ग्लोबल खेल्न जान लाागेका कारण सन्दीप र दीपेन्द्रलाई टोली बाहिर राखिएको हो । आइसीसी एकदिवसीय विश्वकप खेलेका चार खेलाडीमा करण केसी र ज्ञानेन्द्र मल्ललाई पनि विश्राम दिईएको छ ।

    प्रतियोगिता १३ जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलंकामा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र भारत ‘ए’ छन् । समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान रहेका छन् ।

    नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ‘ए’ सँग खेल्नेछ । नेपालले जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको कुनैपनि खेललाई एकदिवसीय मान्यता रहने छैन ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ। राति भने देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा रातिपनि मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखका आकलन छ।

    त्यसकारण हावाहुरी, भारी वर्षा, मेघ गर्जनचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • असारभर सार्वजनिक बिदामा पनि बैंक खुल्ने

    असारभर सार्वजनिक बिदामा पनि बैंक खुल्ने

    काठमाडौं । राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि असारभर शनिबार र सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुलै हुने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम यो नियम कार्यान्वयन गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

    २३, २४ र ३० गते बिदाका दिन राति ८ बजेसम्म र असार ३१ गते भने बेलुका ७ बजेसम्म बैंकहरु खुला राख्नु पर्ने भएको छ । यसमा नेपाल क्लयरिङ हाउस समेत खुला राख्नु पर्ने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । सो अवधिसम्म यी निकाय खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिइएको छ ।

  • मकवानपुरमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

    मकवानपुरमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

    काठमाडौं । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मनहरी गाउँपालिका ६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाएका हुन् ।

    ट्रक ठोक्किएपछि दुवै ट्रकमा आगलागी भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति ननगरपालिका(८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका(२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका(३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताए ।

    आगलागी भएको सवारी निभाउन हेटौंडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको बताइएको छ ।