Category: समाचार

  • चर्चित रक गायक तथा अभिनेता तामाङको निधन

    चर्चित रक गायक तथा अभिनेता तामाङको निधन

    काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । रविनको फेसबुक पेजबाट उनको मृत्युको जानकारी दिइएको छ । मंगलबार बेलुका यस्तो पोष्ट भएको थियो । जसलाई पारिवारिक स्रोतले पुष्टी गरेको हो । उनको मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएको हो । मृत्युको कारण खुलेको छैन । उनको निधनपछि प्रहरी घरमा पुगेको थियो । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।

    उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

    उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।

  • राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने

    राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो । राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।

    मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले लेखेको पत्रमा उल्लेख छ । यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको छ ।

  • फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न काठमाडौं महानगरको निर्देशन

    फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न काठमाडौं महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो ।

    मंगलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए ३० दिन भित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याउनुपर्नेछ ।’ पत्रअनुसार डिजिटल प्रणाली महानगरको राजस्व विभागलाई पहुँच गराउन निर्देशन दिएको छ ।

    बागमती प्रदेश सरकारले मनोरञ्जन कर चलचित्र घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थिएटर,नाटकघर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, दोहोरी साँझ, डान्सबार, क्यासिनो, फुट्सल, जुम्बा, नाइट क्लब, मसाज एवम् स्पा, जिपलाइन, बन्जिजम्प, स्वीमिङ पुल र पार्क लगायत मनोरञ्जन स्थलमा लगाउने कानुनी व्यवस्था गरेको छ ।

    उक्त व्यवस्था बमोजिम चलचित्र घरमा प्रवेश गर्ने प्रति टिकटमा महानगरमा ५ प्रतिशत मनोरञ्जन कर बुझाउनुपर्नेछ । यस्तै क्यासिनोमा प्रवेश गर्ने प्रतिव्यक्तिबाट ५० रुपैयाँ मनोरञ्जन कर छुट्याउनुपर्नेछ । फनपार्क, वाटर गार्डेन, बाल उद्यान जस्ता स्थानमा ३ प्रतिशत, दोहोरी साँझ, नाइट क्लब लगायतमा प्रवेश गर्ने टिकटमा ५ प्रतिशत मनोरञ्जन कर महानगरमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

  • मीन बहादुरसहितको रिट ‘हेर्न नभ्याइने’मा

    मीन बहादुरसहितको रिट ‘हेर्न नभ्याइने’मा

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको छ ।

    मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारेको हो ।

    यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

  • अर्थ समितिमा प्लास्टिकको बोतल निषेध

    अर्थ समितिमा प्लास्टिकको बोतल निषेध

    काठमाडौं । संसदीय समिति अन्तरगतको अर्थ समितिमा बैठकमा प्लास्टिकका बोतल प्रयोग भएको भन्दै विरोध भएपछि निषेध गरिएको छ । बैठकमा प्लास्टिकका बोतल हटाएर पुनः प्रयोग गर्न मिल्ने स्टील तथा सीसाका भाडाँ सञ्चालनमा ल्याईएको समितिका सदस्य विराजभक्त श्रेष्ठले जनाएका छन् । ‘पर्यावरण संरक्षणमा सानो उपलब्धि । अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोतल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरि पुनः प्रयोग गर्न सकिने स्टील र सीसा को भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद । सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ । नेपालको जय होस्’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

  • कांग्रेसको प्रचार विभागले छुट्टै सामाजिक सञ्जाल चलाउने

    कांग्रेसको प्रचार विभागले छुट्टै सामाजिक सञ्जाल चलाउने

    काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ । विभागले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरूलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गरेको छ । तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने विभागले जनाएको छ ।

    विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा आज बसेको विभागको बैठकले कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पु¥याउने, पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरू नगर्न पार्टी सङ्गठनका सबै तहका पदाधिकारी तथा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    यसैगरी, विभागको दैनिक गतिविधिलाई गतिशीलताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारीसहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवनमा राख्ने निर्णय गरिएको छ । विभागका सदस्यहरूको विशिष्ट ज्ञान, क्षमताअनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण सङ्कलन गर्ने, विभागको कामलाई प्रभावकारी बनाउन विभिन्न समिति गठन गरिएको छ।

    बैठकले निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने निर्णय गरेको छ ।

    निर्देशिका मस्यौदा समितिमा संयोजक दीपकप्रसाद कुइँकेल र सदस्यहरू गोविन्द परियार, गणेश केसी, लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाईं रहेका छन् । त्यस्तै, तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार झा र सदस्यहरू तिलक राई, उमिद वागचन, ई. हुकुम बुढा, विष्णु तिम्सिना, ई. राघव गौतम र रम्भा मिश्र रहेका छन् । रासस

  • घट्यो इन्धनको मूल्य

    घट्यो इन्धनको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ ।

    यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ । डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ । यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा यस्तो निर्णय भएको हो ।

    विभागले साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने स्थिर छ ।

    ‘नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋण तथा मूल्य स्थिरीकरण कोष लगायतका अन्य दायित्वहरुको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको भएपनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले यो मूल्य समायोजन गरेको जानकारी गराइन्छ,’ निगमले विज्ञप्तिमा भनेको छ । यो समायोजनपछि निगमको पाक्षिक नाफा कति कायम हुन्छ भन्ने खुलाइएको छैन ।

  • नेपाल र टेस्ट मुलुक आयरल्याण्ड पहिलो पटक एकदिवशीय क्रिकेट खेल्दै

    नेपाल र टेस्ट मुलुक आयरल्याण्ड पहिलो पटक एकदिवशीय क्रिकेट खेल्दै

    काठमाडौं । जिम्बाब्वेमा भइरहेको आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको लागि नेपालले आज मंगलबार टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि आयरल्याण्डविरुद्धको खेल यो प्रतियोगितामा अन्तिम हुनेछ ।


    नेपाल र आयरल्यान्डबीचको खेल हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ । अर्कोतर्फ नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा आयरल्याण्डसँग पहिलो पटक खेल्दैछ । टी(२० अन्तर्राष्ट्रियमा भने नेपालले आयरल्याण्डसँग ३ खेल खेलिसकेको छ र सबैमा पराजित भएको थियो ।

    यस्तै नेपालले जारी विश्वकप छनोटमा तेस्रो पटक टेष्ट मान्यता टोलीसँग खेल्दैछ । जुन नेपालको लागि अर्को महत्वपूर्ण अवसर समेत हो । समूह ए मा रहेको नेपालले यसअघि घरेलु टोली जिम्बाब्वे र दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग खेलिसकेको छ । दुवै टोलीसँग नेपाल पराजित भएको थियो ।

    समूहमा पाँच टोलीमध्ये चौथो भएको नेपाल सुपर सिक्समा पुग्न असफल भएपछि सातौंदेखि दशौं स्थानसम्मको वरीयताका लागि प्लेअफ खेलेको थियो । जहाँ प्लेअफ सेमिफाइनलमा नेपालले समूह बी को पाँचौ स्थानमा रहेको यूएईलाई हराएर आयरल्याण्डसँग सातौं स्थानको प्लेअफका लागि भेट पक्का गरेको हो ।

    नेपालले समूह चरणमा तीन खेल हार्दा अमेरिकालाई मात्र पराजित गरेको थियो । जिम्बाब्वेसँग पहिलो खेलमै ८ विकेटले पराजित भएको नेपालले अमेरिकालाई ६ विकेटले हराएर सुकर सिक्स आशा कायम राखेको थियो । तर वेष्ट इन्डिजसँग १०१ रन र नेदरल्याण्ड्ससँग ७ विकेटले हारेपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।

    समूह बी मा खराब प्रदर्शन गर्दै शीर्ष तीनमा अटाउन असफल भएपछि आयरल्याण्डको पनि विश्वकप खेल्ने सपना समाप्त भयो र प्लेअफमा धकेलियो । जहाँ आयरल्याण्डले अमेरकालाई हराएर सातौं स्थानको प्लेअफका लागि स्थान बनाएको हो । आयरल्याण्डले आफ्नो समूहमा यूएईलाई मात्र हराउन सकेको थियो भने ओमान, स्कटल्याण्ड र श्रीलंकासँग पराजित भएको थियो ।

  • साफ च्याम्पियनसिपको उपाधीका लागि भारत र कुवेत भिड्दै

    साफ च्याम्पियनसिपको उपाधीका लागि भारत र कुवेत भिड्दै

    काठमाडौं । साफ च्याम्पियनसिप २०२३ को उपाधिका लागि घरेलु टोली भारत र कुवेथ आज आज भिड्दैछन् । बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा भारत र कुवेतबिचको फाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । दुवै टोली फाइनलसम्म आइपुग्दा अपराजित छन् ।

    यस पटकदेखि दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले साफ च्याम्पियनसिपलाई अझ प्रतिस्पर्धात्मक बनाउन दक्षिण एसिया बाहिरका दुई टोलीला आमन्त्रण गरेको थियो । जसमा कुवेत र लेबनानले पहिलो पटक साफ खेलेका थिए । कुवेत पहिलो सहभागितामै प्रतियोगिताको फाइनल पुगेको हो । यता कीर्तिमानी ८ पटक साफ जितेर दक्षिण एसियाको पावर हउसको रुपमा स्थापित रहेको भारत लगातार नवौं पटक साफको फाइनल खेल्दैछ । घरेलु मैदान र दर्शकको साथ पाएको भारत कीर्तिमानी नवौं पटक उपाधि उचाल्ने योजनामा छ ।

    भारत र कुवेत दुवै समूह ए मा थिए । समूह चरणमा यी दुई टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । गोलअन्तरका आधारमा भारतलाई पछि पार्दै कुवेत समूह विजेता बनेको थियो । तर दुवै टोली सेमिफाइनल विजयी हुँदै फाइनल भेट पक्का गरे ।

    भारतले अर्को आमन्त्रित टोली लेबनानलाई पेनाल्टीसुटआउटमा हराएर फाइनलमा स्थान बनाउँदा कुवेतले बंगलादेशमाथि १–० को कठिन जित निकालेको थियो । भारत र कुवेत रहेकै समूहमा रहेको नेपाल भने दुई हार एक जितको नतिजासहित समूह्य चरणबाटै बाहिरिएको थियो । सन् २००५ मा कराची र २०११ मा दिल्लीमा खेलाडीका रुपमा साफ जितेका महेश गवलीले फेरि एकपटक भारतको टचलाइन सम्हाल्नेछन् ।

  • कुन-कुन प्रदेशमा आज भइरहेको छ भारी वर्षा ?

    कुन-कुन प्रदेशमा आज भइरहेको छ भारी वर्षा ?

    काठमाडौं । मनसुनी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम छ । त्यसैले आज दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    मौसम विज्ञान विभागका अनुसार स्याङ्जाको कुमालगाउँ, दाङको कोइलाबास, अर्घाखाँचीको खाँचीकोट, पाल्पाको बल्ड्याङगढी, नवलपुरको देउराली, लम्जुङको खुदीबजार, पाल्पाको तानसेन र जितपुर केन्द्रमा अति भारी वर्षा मापन भएको छ । यीमध्ये २४ घण्टाको अवधिमा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै २२७.६ मिलिमिटर वर्षा मापन भएको छ ।

    महाशाखाका अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले खतराको संकेत स्वरुप साइरन बजाइएको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानहरुमा आज बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको छ । अन्य स्थानका नदी तथा खोलाहरुमा भने जलसतह खतराको तहभन्दा तलै छ ।

    मौसमविद गंगा नगरकोटीका अनुसार अहिले देशैभर बादल लागिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा आज राम्रो घाम लाग्ने सम्भावना नरहेको मौसमविद नगरकोटीको भनाइ छ । ‘एकछिन रोकिए पनि फेरि वर्षा हुने हुन्छ,’ उनले भनिन्, ‘आज राम्रो घाम लाग्ने सम्भावना छैन ।’

    आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा तथा राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले क्षतिबाट बच्न सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

  • श्रीलंका गए माधव नेपाल

    श्रीलंका गए माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका गएका छन् । श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन अध्यक्ष नेपाल श्रीलंका गएका एकीकृत समाजवादीले जनाएको छ । सम्मेलनमा नेपालले मन्तव्य दिनेछन् ।

    अध्यक्ष नेपाल श्रीलंका गएका बेला एकीकृत समाजवादीको कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।

  • नो भोटदेखि सहकारी संस्थामा हिनामिना गर्ने व्यक्ति पनि लड्न नपाउनेसम्मको व्यवस्था

    नो भोटदेखि सहकारी संस्थामा हिनामिना गर्ने व्यक्ति पनि लड्न नपाउनेसम्मको व्यवस्था

    काठमाडौं । निर्वाचन आयोगले विभिन्न नयाँ नियम राखेर एकीकृत निर्वाचन कानूनको मस्यौदा पारित गरेको छ । सोमबार बसेको आयोगको बैठकले निर्वाचन कानूनको मस्यौदा सरकारलाई पठाउने निर्णय गरेको हो ।

    आयोगले निर्वाचनसम्बन्धी कानूनमा केही नयाँ विषयहरू राख्न प्रस्ताव गरेको छ । जसमा ‘नो भोट’ को व्यवस्था, निर्वाचनमा ३३ प्रतिशत मलिा उम्मेदवार अनिवार्य, विदेशमा रहेका नागरिकलाई मताधिकार, प्रतिनिधिसभा र प्रदेश सभामा दुईपटक समानुपातिक सांसद बनेको व्यक्ति समानुपातिक निर्वाचनको उम्मेदवार बन्न नपाउने, एक तहमा निर्वाचन हारे अर्कोमा उमेदवार बन्न नपाउने लगायतका रहेका छन् ।

    आयोगले पठाएको मस्यौदालाई सरकारले विधेयकको रूपमा संसदमा लैजाने छ ।

  • समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ

    समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ गरेको छ ।

    समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीको नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो । सोही जग्गा पछि व्यक्तिका नाममा सारिएको थियो । यो प्रकरणमा हालसम्म पक्राउ परेकाको संख्या ९ पुगेको छ ।

  • समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने

    समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने

    काठमाडौं । निर्वाचन आयोगको सोमबार बसेको बैठकले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । आयोग निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ । हाल यस्तो कुनै समयसीमा छैन ।

  • आगामी आवदेखि कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगर आफैले छान्ने

    आगामी आवदेखि कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगर आफैले छान्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्तिको लागि छनोटसम्बन्धी परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर आफैंले सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यस्तो जानकारी दिएका हुन् ।

    उनले सामाजिक सञ्जालमार्फत् यसबारे सूचना जारी गरेका छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिने मेयर शाहले बताएका छन् ।

    ‘काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०-८१ देखि काठमाडौं महानगरपालिका आफैंले सञ्चालन गर्नेछ, महानगर प्रमुख शाहले उल्लेख गरेका छन् ।

  • पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिङ सडक

    पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिङ सडक

    काठमाडौं । नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

    चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज विहान १ः५० बजे पहिरो खस्ने र ट्रक पल्टेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । पाँच घण्टापछि यातायात सञ्चालनमा जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ

  • भारतबाट घटेर आयो इन्धनको मूल्य

    भारतबाट घटेर आयो इन्धनको मूल्य

    काठमाडौं । भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको छ। यो नयाँ मूल्य सँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ।

    यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो। आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ। त्यस्तै, डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ।

    नयाँ मूल्यअनुसार पन्ध्र दिनमा एक अर्ब ६० करोड रूपैयाँ नाफा हुने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए। अब आन्तरिक बजारमा भने पेट्रोलियम पदार्थको मूल्य के हुनेछ भन्नेबारे निगम सञ्चालक समितिले छलफल गर्ने उनले जानकारी दिए।

    हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेल एक सय ५५ रूपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट र खाना पकाउने एलपिजी ग्यास सिलिन्डरको १८ सय रूपैयाँ छ। नेपाल आयल निगमले आइओसीसँग पेट्रोलियम पदार्थ किनेर यहाँ बिक्री वितरण गर्छ। आइओसीलाई नेपाल आयल निगमलाई पत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य पठाउँछ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो ‍ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ–गर्जन–चट्याङ्ग सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

    महाशाखाका अनुसार राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ(गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जनाएका छ। तसर्थ भारी वर्षा, मेघ(गर्जनरचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • आज गुरु पुर्णिमा पर्व मनाइँदै

    आज गुरु पुर्णिमा पर्व मनाइँदै

    काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।


    आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् । आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

    वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए ।

  • आज बिहानैबाट मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

    आज बिहानैबाट मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

    काठमाडौं । आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा उपचार भइरहेको छ ।

    ट्रक सडकमै रहेको र पहिरो पनि झरेकाले दुईतर्फी नै आउ-जाउ बन्द भएको मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले जानकारी दिए । पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । दुई तर्फी सडक खुलाउनका लागि ट्रक हटाउनुपर्ने हुन्छ । दुईतर्फी नै सडक खुलाउन ट्रक उठाउने क्रेनलाई बोलाइएको प्रहरीले जनाएको छ ।

    यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो । त्यसअघि पनि बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो । राजधानी काठमाडौंको लाइफलाइन मानिने यो सडकखण्ड पहिरोले पटक(पटक अवरुद्ध हुँदा सयौं सवारी साधनसँगै यात्रुहरु घण्टौं जाममा परेर समस्यामा परेका छन् । पहिरो झरिरहेको बेला यात्रा असुरक्षित हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

  • यूएईविरुद्ध नेपाल विजयी

    यूएईविरुद्ध नेपाल विजयी

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको नेपालले ४४ औं ओभरमा भेट्टायो ।

    १०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी गर्दै जिताएका हुन् । ऐरी ‍‍ ७९ रनमा र लामिछाने २३ रनमा नट आउट रहे । यसअघि कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ तथा गुल्सन झा १२ रनमा आउट भएका थिए ।

    अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् । १० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईसँग खेलेको हो । नेपालले अब सातौं स्थानका लागि आयरल्याण्डसँग खेल्ने छ ।

    आइतबार बिहान टस जितेर फिल्डिङ रोजेको नेपालले चीर प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि नै दवावमा राखेको थियो । यूएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भएपछि नेपालले १८२ रनको लक्ष्य पाएको थियो ।

    नियमित कप्तान मोहम्मद वासिम चोटग्रस्त हुँदा ओपनिङ गरेका यूएईका आसिफ खान खाता नखोली आउट हुँदा अर्का ओपनर अर्यान्स शर्माले तेस्रो नम्बरमा आएका कप्तान भृत्य अरविन्दसँग मिलेर दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । आर्यन्सलाई सन्दीप लामिछानेले २८ रनको स्कोरमा आरिफ शेखबाट क्याचआउट गराए भने यूएईको इनिङ्समै सर्बाधिक ४४ रन बनाएर अरविन्द गुल्सन झाबाट बोल्ड भए ।

    त्यसपछि रमिज शहजाद १० रनमै आउट भए पनि रोहन मुस्तफा र बसिल हमिदले पाँचौं विकेटका लागि अर्को ५८ रनको साझेदारी गरे । मुस्तफाले ३५ तथा हमिदले २९ रज जोडे । सन्चित शर्माले १२ रन बनाए । बलिङमा करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए भने करणले ८।५ ओभरमा ३६ रन खर्चिए । प्रतीश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

  • ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

    ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

    काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।

    यो मुद्दामा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् । सीआईबीले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

  • विगतको समिक्षा गरी नेकपातर्फ फर्कनु पर्ने प्रचण्डको धारणा

    विगतको समिक्षा गरी नेकपातर्फ फर्कनु पर्ने प्रचण्डको धारणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन् । त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा बनाएको पनि उनले बताए ।

    नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज बिहान भक्तपुरमा सम्बोधन गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको बताए । देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवाद तिर जान सकिन्छ भनेर एमालेसँग एकता गरेको स्मरण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ ।’

    उनले त्यो एकता के कारणले टिक्न सकेन भनेर गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने प्रचण्डले बताए । उनले भने, ‘आज हामीले फेरि एकपटक चिन्तन गर्नुपर्यो कि हिजो एकीकृत भएको कम्युनिष्ट आन्दोलन के कारणले टिक्न सकेन, त्यहाँ के त्रुटी थियो, के प्रवृत्तिका कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्दछ ।’

    समाजवादी मोर्चा गठन गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूबीच फेरि नेकपातिरै फर्किनुपर्छ भन्ने सल्लाह भएको पनि उनले जानकारी गराए । ‘माधव नेपाल, विप्लव र उपेन्द्र यादवले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गराउने पहल सुरु गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माधव जी र मैले के पनि भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्दछ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ पनि हामीले भनेका छौं ।’

  • ललिता निवासको जग्गा तारबार गर्ने भन्दै बालुवाटार पुग्यो काठमाडौंको नगर प्रहरी

    ललिता निवासको जग्गा तारबार गर्ने भन्दै बालुवाटार पुग्यो काठमाडौंको नगर प्रहरी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।

    अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।

  • नारायणगढ-मुग्लिन सडक, यी ठाउँमा पहिरोको उच्च जोखिम

    नारायणगढ-मुग्लिन सडक, यी ठाउँमा पहिरोको उच्च जोखिम

    काठमाडौं । वर्षायाम सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले हैरानी बनाउन थालेको छ ।

    दुई वर्ष अघि स्तरोन्नति गरिएको सो सडकखण्डमा सडक विस्तार र पुल निर्माणका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जान खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको हो ।

    निरन्तर पहिरो खसिरहँदा पन्छाउन समेत समस्या हुने गरेको छ । भित्ता कटानका क्रममा बनेका अग्ला डाँडा र यसअघि नै भएका अग्ला पहाडमाथिबाट ठूला ढुंगासहित पहिरो खस्दा सडक खुलाउन कठिन हुने गरेको छ । जसकारण हजारौं सवारीसाधन र यात्रु बीचबाटैमा अलपत्र पर्ने गरेका छन् ।

    नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिराको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । विगत तीन वर्षयता वर्षात्को समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

    कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रमेशकुमार पौडेलका अनुसार विगत वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिराको जोखिम उच्च छ । विश्व बैंकका पहिरो विज्ञसहितको प्राविधिक टोलीले दुईपटक आएर अवस्थाको अध्ययन गरेर फर्किएको छ ।

    पुल भएको ठाउँमा माथि डाँडाबाट पहिरो खस्ने गर्दछ । गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडा रहेको देखिएको थियो । डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिरोको जोखिम बढ्दै गएको छ ।

    सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो । पछि पहिराले तत्कालीन समयमा गरेको काम बगाएको थियो । सो सडकखण्डमा पहिराको समयमा काम गरेका ई शिव खनालका अनुसार भू–गर्भविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झन्डै ७०० मिटर लम्बाइ क्षेत्र पहिरामा संरचना बनेकाले चलायमान छ ।

    यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरूले आकलन गरेको खनालले जानकारी दिए । सो सडकको ४ किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ । ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएको छ ।

    यस्तै सेती दोभान र सिमलताल पनि पहिराको जोखिममा रहेको छ । सडकका १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्ता काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ ।

  • वायुसेवा निगमको स्पष्टीकरण-‘ सामान हराएको दाबी रिपोर्ट गरिएको छैन्’

    वायुसेवा निगमको स्पष्टीकरण-‘ सामान हराएको दाबी रिपोर्ट गरिएको छैन्’

    काठमाडौं । नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा यात्रुले गरेको गुनासोको स्पष्टीकरण दिएको छ ।

    सामान हराएको भनि गरेका गुनासोमा छानबिन गर्दा यात्रुले ब्यागेज क्लेम डेक्समा सम्बन्धित एयरलाइन्ससँग दाबी रिपोर्ट नगरेको पाइएको निगमले जनाएको छ ।

    शनिबार दामु दाई (छविलाल भण्डारी) नामका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा व्यागेजमा रहेको २५ प्रतिशत सामान हराएको गुनासो गरेका थिए । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ । गत असार १५ गते भण्डारीले कोरियाबाट आउँदा विमानस्थलमा सामान हराएको र दुईवटा मोबाइल ल्याएबापत भन्सार तिर्नु परेको भन्दै गुनासो गरेका थिए ।

  • गृहमन्त्री स्वदेश फिर्ता

    गृहमन्त्री स्वदेश फिर्ता

    काठमाडौं । जनवादी चीनको पाँचदिने भ्रमण पुरा गरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्। उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग , चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरे। सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ बुधबार चीनको सिचुवान प्रान्त भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरेका थिए।

    भेटवार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचार–विमर्श भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । उनले सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपाल–चीन सम्बन्धका बारेमा सम्बोधन मन्तव्य दिएका थिए।

    यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफल गरी उनले छेन्दु–काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न आग्रह गरेका थिए। छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो। नेपाली प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको थियो । रासस

  • कस्तो छ देशभरको मौसम ?

    कस्तो छ देशभरको मौसम ?

    काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जानकारी दिएको छ। साथै कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ। महाशाखाका अनुसार राति साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन-चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

  • श्री एयरलाइन्सका आजका सबै उडान रद्द

    श्री एयरलाइन्सका आजका सबै उडान रद्द

    काठमाडौं । श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो। यससँगै एयरलाइन्सले आइतबार सबै जहाज ग्राउन्डेड गरिएको जानकारी दिएको हो।

    एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार सोमबारसम्म सबै प्राविधिक जाँच गरेपछि नियमित उडान हुनेछन्। शनिबार काठमाडौंबाट धनगढीतर्फ उडान भरेको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्किएको थियो। काठमाडौंबाट ३ः३० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण हुन नसकेपछि डेढ घण्टामा पुनः काठमाडौं नै फर्किएको थियो।

  • फ्रान्सका राष्ट्रपतिले किन रोके जर्मनी भ्रमणको कार्यक्रम ?

    फ्रान्सका राष्ट्रपतिले किन रोके जर्मनी भ्रमणको कार्यक्रम ?

    काठमाडौं । एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि फ्रान्समा चर्किएको विरोध प्रदर्शनपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो जर्मनीको लागि तय भएको भ्रमण स्थगित गर्ने निर्णय गरेका छन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरका प्रवक्ताले राष्ट्रपति म्याक्रोँले जर्मनीको राजकीय भ्रमण अर्को मितिमा सार्न आग्रह गरेको पुष्टि गरेका छन् । स्टेनमियरको कार्यालयका अनुसार म्याक्रोँले शनिबार जर्मन समकक्षीसँग टेलिफोन वार्ताका क्रममा आफ्नो भ्रमण स्थगन गर्न आग्रह गरेका हुन् ।

    स्टेनमियरले भने, ‘जर्मनी भ्रमण रद्द गर्नुपरेकोमा दुःखी छ साथै छिमेकी देशको स्थितिलाई ध्यानमा राख्दै यस बिषयप्रति पूर्ण समझदार पनि छ ।’ जर्मनीका राष्ट्रपतिको कार्यालयले जतिसक्दो चाँडो हुनेगरी भ्रमणको मिति तय गरिने जनाएको छ । म्याक्रोँ आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन र ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो । यसैबीच, फ्रान्समा प्रदर्शनकारीले ठाउ ठाउमा आगो बालेर आवागमनमाअवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेका छन् ।

    सिएनएनका अनुसार हिंसाको चौथो दिन पनि सरकारले शान्ति सुव्यवस्था कायम गर्न संघर्ष गरिरहेको छ । प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ । फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ९९४ जनालाई हिरासतमा लिइएको छ । सार्वजनिक सडकमा दुई हजार ५६० स्थानमा आगजनी गरिएको, एक हजार ३५० कार जलेको र २३४ वटा भवनमा क्षति वा आगलागीका घटना भएको बताइएको छ ।

    शुक्रबार रातिसम्म ७९ जना प्रहरी घाइते भएका छन् भने ५८ प्रहरी स्टेसनमा आक्रमण भएका छन् । बिएफएमटिभीका अनुसार मार्सिलेको पुरानो बन्दरगाहमा शुक्रबार साँझ विस्फोट भएको थियो तर कुनै मानवीय क्षति भने भएको थिएन । पेरिसको उपनगरीय शहर नान्टेरेमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा रोकिएपछि नाहेल भनिने १७ वर्षीय किशोरको मृत्यु भएपछि यो घटना भएको हो । उनलाई गोली हानेको आरोप लागेका अधिकारीलाई जेल लगिएको थियो । नाहेलको अन्त्येष्टि शनिबार गरिएको छ । एएफपी