Category: समाचार

  • बिहीबार सार्वजनिक विदा

    बिहीबार सार्वजनिक विदा

    काठमाडौं । सरकारले असार १४ गते सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकस इदको अवसरमा बिहीवार सार्वजनिक विदा दिइएकोबारे जनाएको हो।

    ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । यस दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

  • विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागतको लागि तीन जनामात्र जान पाउने

    विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागतको लागि तीन जनामात्र जान पाउने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाइ र स्वागतमा कडाइ गरिएको छ ।

    विमानस्थलको ट्रमिनल भवन बाहिर आफन्त बिदाइ र स्वागतका लागि जानेहरुको भीड बढेपछि विमानस्थल कार्यालयले अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि ३ जना मात्रै जान पाउने व्यवस्था गरेको हो ।

    यात्रुको बिदाइ तथा स्वागतका लागि आवश्यकता भन्दा बढी मानिसहरु जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल बाहिर अत्यधिक भीड हुने गरेको छ । त्यसले ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेकाले भीड नियन्त्रणका लागि कडाइ गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

    टर्मिनल भवन अगाडि भीड बढ्दा यात्रुको सेवामा असर परेको र प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको विमानस्थल सुरक्षा समितिकाे भनाइ छ ।

    पछिल्लो समय दैनिक २५०० बढी नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् । उनीहरूलाई बिदाइ गर्न ठूलो संख्यामा आफन्तहरु विमानस्थलसम्म जाने गरेका छन् ।

  • संसदमा रास्वपाको अवरोध, एमालेले पनि दियो साथ

    संसदमा रास्वपाको अवरोध, एमालेले पनि दियो साथ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको छ ।

    रास्वपाको अवरोधलाई एमालेले पनि साथ दिएको छ । एमालेले पनि संसदमा उठेर अवरोध गरेको छ ।

    मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसदमा उठेर अवरोध गर्ने बताए ।

  • भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

    भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

    काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

    ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनको निवास नक्सालबाट पक्राउ गरेको हो।

    २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।

    यस प्रकरणमा सीआईबीले डेढ वर्षअघि नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए पनि थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो ।

  • प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्रीले सोधे ९ बुँदे स्पष्टीकरण

    प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्रीले सोधे ९ बुँदे स्पष्टीकरण

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोधेका छन् । गम्भीर आरोप लगाउँदै महानिर्देशक प्रदीप अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् ।

    ९ वटा प्रश्न मार्फत लगाइएको विभिन्न आरोपमा जिम्मेवारी पूरा गर्न असफल रहेको प्राधिकरणलाई हानी नोक्सनी पुर्याएको लगायत रहेका छ ।

    उडान सुरक्षामा चरम लापरवाही हुँदासमेत ध्यान नदिएको पदीय जिम्मेवारीविपरीत काम गरेको, आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्न असफल रहेको भन्दै उनको क्षमतामा प्रश्न उठाइएको छ ।

    काठमाडौं । पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदै स्पष्टीकरण सोधेको छ । पदीय जिम्मेवारीविपरीत काम गरेको, आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्न असफल रहेको भन्दै उनको क्षमतामा प्रश्न उठाइएको छ ।

    उडान सुरक्षामा चरम लापरवाही हुँदासमेत ध्यान नदिएको, प्राधिकरणलाई हानि पुर्‍याएकोलगायतका विषयमा सरकारले स्पष्टीकरण सोधेको हो ।

    यस्तो छ स्पष्टीकरण

    (१) तपाइँलाई नेपाल सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको र नेपाल सरकारका नीति, नियम, कार्यक्रमहरुको पालना गर्नु गराउनु तपाइँको कर्तव्य र जिम्मेवारी हो । आ.व. २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएको छ, सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा तपाइँले नेपाल सरकारको उक्त नीति विपरित विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिको प्रतिकुल सञ्चार माध्यमहरुमा अन्तर्वार्ता तथा अभिव्यक्त दिने जस्ता कार्यहरु गरी नेपाल सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौति दिने कार्यमा संलग्न रहेको पाइएको छ । तपाईंको उक्त कार्य नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०५६ को नियम ११.२६ को प्रावधान विपरित रहेकोले के कति कारणले तपाइँले आफ्नो पदीय जिम्मेवारी विपरित सरकारको नीति विरुद्धका कार्य गर्नुभएको हो ?

    (२) प्राधिकरणको महानिर्देशको स्टेट सेफटी प्रोग्रामको अकाउन्टेबल एक्जुकेटीभ भएको र नेपालमा हवाई उडान सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख जिम्मेवार अधिकारी पनि तपाइँ भएको तर तपाइँ महानिर्देशक भएपछि नेपाली दर्ताका २ वटा यात्रु विमानहरु र ३ वटा हेलिकप्टरहरु दुर्घटना भइ धनजनको क्षति भएको, वायूयानसँग सम्बन्धित गम्भीर घटना निरन्तर भइरहँदा देशले क्षति व्यहोर्नु परिरहेको र नेपालको उड्डयन सुरक्षामाथि पनि गम्भीर प्रश्न उठिरहेको छ । अतः उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनु पर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाईं असफल रहेको किन मान्नु नपर्ने ?

    (३) वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपायभन्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सिद्धान्त विपरित घटना दुर्घटना पछि प्रतिक्रियामा जाने गरेको देखिंदा नियामक निकायको प्रमुखको रुपमा तपाइँको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि सुम्पेको जिम्मेवारी बहन गर्न सक्ने तपाईंको क्षमतामा किन प्रश्न नगर्ने ?

    (४) नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने नेपाल सरकारको नीति तथा कार्यक्रम र अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले अप्रिल १३ देखि २५, २०२२ मा गरेको नेपालको उड्डयन सुरक्षा परिक्षणमा भएको सिफारिस विपरित कार्यात्मक विभाजन नै प्रर्याप्त छ भन्ने अभिव्यक्ति दिने तपाइँले हवाई सेवाको क्षेत्रमा स्वार्थको द्वन्द्व हुन नहुने मान्यता विपरित विमानस्थलहरुको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्याण्डर्ड विभागको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई निजकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकन लगायतका गर्नु पर्ने सम्पूर्ण पूर्व तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालनमा किन ल्याएको ? परीक्षण उडान गराइ सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरवाही के कति कारणले गर्नु भएको हो ?

    (५) मिति २०७९ पुष १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन तपाईंको आदेशमा पोखरा विमानस्थलको समय समाप्त भइसकेपछि पनि सिभिल एभिएसन रिक्वायरमेन्ट : रुल अफ द एयरको ४.३ एआईपी नेपालको ईएनआर १.२ विपरित विभिन्न वायूसेवा कम्पनीका ५ वटा उडान गराइएको पाइयो । नियामक निकायको प्रमुखको हैसियतले यस्तो कार्यलाई रोक्नु पर्नेमा उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाहीपूर्ण कार्य किन र कसरी हुन गएको हो ?

    (६) मिति २०७९ जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मिति २०७९ पुष १७ गतेदेखि सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । राज्यले दातृ निकायहरुबाट अरवौं रुपैयाँ ऋण लिएर बनाइएका अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउन नसक्नुमा विमानस्थल सञ्चालकको समेत मूख्य भूमिकामा रहनु भएका तपाइँको कार्यक्षमता कमजोर रहेको किन नमान्ने ?

    (७) महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९.२) मा उल्लेख भएको विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिनेडाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन–वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भएको, रन–वे को उचाई घटाउँदा निस्केको ग्राभेल मिसिएको ढुंगा माटो निर्माण व्यवसायीले वाह्य डिस्पोज गरेको नदेखिएकोले निस्केको सबवेस (ढुंगा सहितको ग्राभेल) उक्त रन वेमा नै प्रयोग गरेको अवस्था देखियो भन्ने उल्लेख छ । रन–वे को उचाई घट्नुको कारण के हो ? रन–वेको उचाई घटाउँदा छिनेडाँडाको उचाई बढि काट्नु परेको र यसबाट आर्थिक नोक्सानी परेको देखिन्छ । हवाई सुरक्षामा समेत यसबाट प्रतिकूल असर पर्ने देखिएकोले यस्तो कार्य किन गरिएको हो ?

    (८) महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ को पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको उपशीर्षकको बुँदा नं. ८९३ मा उल्लेख भएको विमानस्थल निर्माण कार्यका लागि प्राधिकरण र निर्माण व्यवसायीबीच भएको सम्झौतामा प्रोभिजनल सम बापत अमेरिकी डलर ९० लाख व्यवस्था गरेकोमा सो रकम घटाइ अमेरिकी डलर ३१ लाख ७० हजार कायम गरेको छ । निर्माण व्यवसायीले परामर्शदाताको व्यवस्था गर्न बि. ओ. क्यू. मा समावेश भएको अमेरिकी डलर २८ लाखलाई घटाइ सो आइटममा व्ययभार बढ्ने गरी छुट्टै परामर्शदाता नियुक्ति गरेको पाइयो । सम्झौतामा नै परामर्श सेवा वापतको खर्चको व्यवस्था रहेको भएता पनि प्राधिकरणले त्यसैबाट खर्च नगरी छुट्टै सम्झौता गरी प्राधिकरणको बजेटबाट खर्च हुने गरी डिजायन रिभ्यूको लागि परामर्श सेवाका लागि अर्को परामर्शदातासँग रु. ३७ करोड ९५ लाख ९० हजारमा सम्झौता भएको देखिन्छ । सम्झौता गर्दाका बखत प्रति अमेरिकी डलर रु. ८२००९ को दरले परामर्श खर्चको लागि ई.पि.सि.मा रु. २२ करोड ९८ लाख ५२ हजार बराबरको खर्चको व्यवस्था भएता पनि छुट्टै सम्झौता अनुसारको रकम पहिले गरेको अनुमान भन्दा ६५ १५ प्रतिशतले बढी हुनुले निर्माणमा मितव्यिता कायम भएको देखिएन । सुपरभिजन कन्सल्टेन्सी सेवाको ठेक्कामा प्रोभिजनल सम बापत रु १९ करोड ५२ लाखको व्यवस्था गरेको देखिन्छ । परामर्श सेवाको ठेक्कामा ५३ प्रतिशत भार प्रोभिजनल सममा राखेको औचित्यपूर्ण देखिएन भन्ने विषयमा तपाइँको भनाइ के छ ? यसरी छुट्टै सम्झौता गरी प्राधिकरणलाई गम्भीर हानी नोक्सानी किन पुर्याएएको हो ?

    (९) नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७९/०४/०२ को यस मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखेको पत्रमा पोखरा महानगरपालिका वडा नं. १५ कोलपाटनमा नेपाल खानेपानी संस्थानद्वारा जाइकाको सहयोगमा निर्माणाधीन खानेपानी ट्याङ्की अन्तर्राष्ट्रिय विमानस्थलको इीक् भित्र पर्ने भएकाले यथाशीघ्र सो ट्याङ्कीको उचाइ २० मिटरबाट घटाएर १५.५७ मिटर वा कम कायम गर्ने व्यवस्थाका लागि कारबाही अघि बढाइदिन भनि उल्लेख भएको । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९.२) मा उल्लेख भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिने डाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन–वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भए जस्तै रन–वे को उचाई घटाउँदा सो पानी ट्याङ्कीको समेत उचाइ घटाउनु पर्ने अवस्था सिर्जना भएको देखिन्छ । पानी ट्याङ्कीको उचाइ घटाउनु पर्ने भएबाट राज्यलाई परेको र पर्न सक्ने नोक्सानीको जिम्मेवारी तथा जवाफदेहिता तपाइँले लिनु किन नपर्ने ?

  • पशुपतिको जलहरीमा कति भेटियो सुन ?

    पशुपतिको जलहरीमा कति भेटियो सुन ?

    काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो। अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ। यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको छैन।


    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सुनचाँदी महासङ्घको विज्ञ टोली, खानी तथा भू–गर्भ विभागका प्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको निगरानीमा जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ। जलहरी राखिएको स्थानमा नेपाली सेनाले पहिलो घेरामा सुरक्षा प्रदान गरिरहेको छ। दोस्रो घेरामा सशस्त्र प्रहरी बलको टोली छ।

    नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले पनि सुरक्षा प्रदान गरिरहेका छन्। उक्त स्थानलाई सिसिटिभीबाट निगरानी गरिएको छ। पशुपति क्षेत्र विकास कोषको कार्यालयका अनुसार बिहीबारसम्ममा सुनको जलहरी पुनः गर्भगृह अर्थात् ज्योतिर्लिङ्गमा राख्ने तयारी भइरहेको छ। जलहरी निकाल्ने बेलामा क्षमापूजा गरिसकिएकाले अब पुनस्र्थापित गरिने छ।

  • कस्तो रहनेछ आज देशको मौसम ?

    कस्तो रहनेछ आज देशको मौसम ?

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज देशभर आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।

    कोशी र बागमती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको उसले बताएको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीकोसमेत सम्भावना औंल्याएको छ। रातिपख पनि देशभर आंशिकदेखि सामान्य बदली नै रहनेछ।

    कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।

  • झापामा सवारी दुर्घटना, २ जनाको मृत्यु

    झापामा सवारी दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी रहेको बि एण्ड सि अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताएका छन् ।

    मृतक दुई जना बाबुछोरी हुन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले बताएको हो। दुर्घटनामा पाँच जना घाइते छन्। उनीहरूको उपचार भइरहको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ। दुईवटै सवारीसाधनको नम्बर खुल्न सकेको छैन। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

  • पोखरामा पनि अब ठेला र घुम्ती पसल राख्न नपाइने

    पोखरामा पनि अब ठेला र घुम्ती पसल राख्न नपाइने

    काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि निषेधित क्षेत्रमा फलफूल, ठेलागाडा, तरकारी, घुम्ती पसल राखे सामान जफत गर्ने भएको छ। १३ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले निषेधित क्षेत्रमा व्यापार गर्नेहरुको सामान जफत गर्ने प्रस्तावसहितको विधेयक प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षको आर्थिक ऐनमा निषेधित क्षेत्रमा ठेलागाडा व्यापार गरे ५ हजार जरिवाना गर्ने उल्लेख थियो। तर सामान जफत गर्ने व्यवस्था थिएन।

    नयाँ आर्थिक विधेयकअनुसार कार्टुन, डोको, मोटरसाइकल, साइकलमा व्यापार गरेको तेस्रो पटक पनि पक्राउ परे सामान जफत हुनेछ। त्यस्तै, महानगरले भूमिगत तलालाई पार्किङ प्रयोजनविपरीत प्रयोग गर्दा लाग्ने जरिवाना दोब्बर बनाएको छ । चालु वर्षको आर्थिक ऐन अनुसार पार्किङ प्रयोजनविपरीत भूमिगत तला प्रयोग भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख थियो। यसपटक यो रकम बढाएर १० हजार रुपैयाँ बनाइएको छ।

    महानगरले संस्थागत विद्यालयको पूर्वप्राथमिक तथा मन्टेश्वरी तहको कक्षा सञ्चालन अनुमति दस्तुर बढाउने भएको छ। चालु आर्थिक वर्षमा १० हजार रुपैयाँ लिँदै आएको महानगरले आगामी आर्थिक वर्षदेखि १२ हजार रुपैयाँ पुर्‍याएको हो । त्यस्तै, संस्थागत विद्यालयतर्फ नै आधारभूत तहको अध्यापन अनुमतिका लागि १५ हजार रुपैयाँ शुल्क तोकेको छ। यसअघि महानगरले १२ हजार रुपैयाँ लिँदै आएको थियो।

    संस्थागत विद्यालयतर्फ नै ९ र १० कक्षा अनुमति दस्तुरमा पनि महानगरले शुल्क वृद्धि गरेको छ। यसअघि अनुमति शुल्क १५ हजार रुपैयाँ लिँदै आएको महानगरले आगामी आर्थिक वर्षदेखि २० हजार रुपैयाँ लिने नियम बनाएको हो। त्यस्तै, कक्षा ११ र १२ सञ्चालन अनुमति दस्तुरमा महानगरले आगामी आर्थिक वर्षदेखि ३० हजार रुपैयाँ लिने भएको छ। यसअघि ती कक्षा सञ्चालन अनुमतिका लागि २५ हजार रुपैयाँ लिँदै आएको थियो।

  • काठमाडौंबाट स्वीट्जरल्याण्ड उड्न लागेका व्यक्तिको साथबाट ९ किलो चरेस बरामद

    काठमाडौंबाट स्वीट्जरल्याण्ड उड्न लागेका व्यक्तिको साथबाट ९ किलो चरेस बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्वीट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथमा झण्डै ९ किलो चरेश बरामद भएको छ।
    विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा माल्दोभाका नागरिक ४१ वर्षीय डेनिस कुक्रेभीको साथबाट अवैध लागूऔषध चरेश ८ केजी ७ सय ४० ग्राम बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

    कुक्रेभीले आफूलाई अनलाइनमा विदेशी मुद्राको सटहीको काम गर्ने व्यक्तिका रुपमा चिनाएका थिए । टर्किस एयरलाइन्सको उडानमार्फत स्तानबुल हुँदै स्वीजरल्याण्ड जान लागेका उनी पक्राउ परेका हु्न् । प्रहरीका अनुसार उनको लगेजभित्र फल्सबटम भेटिएको छ, जसमा खैरो रंगको प्लास्किले र्‍यापिङ गरेर चरेश लैजान लागिएको अवस्थामा बरामद गरिएको हो। उनलाई चरेश विक्री गर्ने व्यक्तिको खोजी भइरहेको ब्यूरोले जनाएको छ।

  • कांग्रेसको सदस्यता अनलाइनबाटै लिन सकिने

    कांग्रेसको सदस्यता अनलाइनबाटै लिन सकिने

    काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदन मार्फत प्राप्त गर्न सकिने सदस्यता ‘साधारण सदस्यता’ हो । कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन ।

    साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान छ । कांग्रेसको सदस्यता लिनको लागि पार्टीको साइटमा उपलब्ध गराइएको फर्म भर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड गु्रप, भाषा, पेशा प्रदेश, जिल्ला लगायतको विवरण भर्नुपर्दछ ।

    साथै, पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडीको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ ।

    सबै विवरण भरिसकेपछि ‘म पूर्ण निष्ठा र इमान्दारितासाथ राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श, सिद्धान्त एवं उद्धेश्यमा आस्था राख्दै पार्टीको विधान र अनुशाुसन पालना गर्न प्रतिवद्धता साथ शुल्क रु २० बुझाई नेपाली कांग्रेसको सदस्यता प्राप्ति÷नवीकरणका लागि आवेदन गर्दछु ।’ भन्ने वाक्याशंमा सहमति जनाई टिक लगाउनुपर्दछ ।

    प्रतिवद्धता जनाइसकेपछि विवरण भर्ने कार्य सकिन्छ । आवेदन दिइसकेपछि स्कान मार्फत पैसा तिर्न सकिन्छ । पार्टीले विवरण हेरिसकेपछि आवेदकलाई ओटीपी (वन टाइम पासवोर्ड) मोबाइल नम्बरमा पठाउँछ । उक्त ओटीपी नम्बर राखेर भेरिफाई गरेपछि कांग्रेसको साधारण सदस्यता लिने क्रम सकिन्छ । अनलाइन मार्फत नै सदस्यता प्रिन्ट गरिने पार्टीले जानकारी गराएको छ ।

  • आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता

    आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता

    काठमाडौं । नागरिकता माग्दै आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका–४ का निरजकुमार कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट सोमबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। निरजको नाममा जारी भएको ०५–०१–८०–०३९४१ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उनलाई प्रदान गरे। नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा भएको आन्दोलनका क्रममा निरजले गत जेठ ३० गते शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएपछि त्यसको विरोधमा नागरिकता पीडित संघर्ष समितिले निरन्तर आन्दोलन एवं प्रदर्शन गरेको थियो।

  • भोटेबहालमा इनारभित्र दुई युवक मृत फेला

    भोटेबहालमा इनारभित्र दुई युवक मृत फेला

    काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ।

    मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्।

    प्रहरीको अनुसार आज बिहान साढे ८ बजे उनीहरू इनार नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए।

    दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • ‘जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्छौं’

    ‘जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्छौं’

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

    ढकालले पशुपति क्षेत्र विकास कोषमा रहँदा भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमा अख्तियारले छानबिन गरिरहेको थियो ।

    उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।

  • त्रिभुवन विमानस्थलको शौचालयमा एटीएम मेसिनबाट स्यानिटरी प्याड

    त्रिभुवन विमानस्थलको शौचालयमा एटीएम मेसिनबाट स्यानिटरी प्याड

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुको सुविधाका लागि विभिन्न सुधार गरिएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पछिल्लो तीनमहिने कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै विमानस्थलमा यात्रुमैत्री सेवा व्यवस्थित गरिँदै लगेको बताएका छन् ।

    तिवारीका अनुसार महिलाले प्रयोग गर्ने शौचालयमा अटोमाइज्ड टेलर मेसिन (एटिएम) बाट सेनेटरी प्याड लिन सक्ने व्यवस्था सुरु गरिएको छ । विमानस्थलभित्र वृद्ध, गर्भवती, अशक्त र बच्चाका लागि चेकइनमा प्राथमिकता दिने व्यवस्थासहित बस्नका लागि छुट्टै कुर्सी र ¥याम्प बसमा समेत उनीहरूका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ ।

    “यात्रुको सहज आवागमनका लागि विमानस्थलको टर्मिनल भवन बाहिर, अध्यागमन र प्रस्थान क्षेत्रमा हेल्प डेक्सको व्यवस्था गरिएको छ,” उनले भने, “नेपाल एयरलाइन्सबाट ब्यागेज ह्यान्डिलिङ गर्दा आउने गुनासो सम्बोधन गर्न अनुगमन बढाउनेदेखि गोप्रो क्यामराको प्रयोग गरिएको छ भने पकेट नभएको ड्रेसले पनि धेरै सुधार देखिएको छ ।”

    विमानस्थलमा चरा तथा वन्यजन्तुबाट हुने खतरा पहिचान गरी सुधार गर्दै पछिल्लो समय विमानस्थलमा बाँदर र कुकुर छिर्ने क्रममा समेत कमी आएको दाबी गरे।  विमानस्थलमा हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न थप सिसिटिभी क्यामरा जडान गरिएको, विमानस्थलको सुरक्षा अडिटमार्फत विगतमा औँल्याइएका कमजोरीमा सुधार आएको उनको भनाइ छ ।

    आन्तरिक टर्मिनलमा आएका हवाई यात्रुलाई विमानस्थल गेटअगाडिको रिङरोडसम्म र अन्तर्राष्ट्रिय आगमनबाट आएर आन्तरिक टर्मिनल जाने यात्रुलाई लक्षित गरी निःशुल्क विद्युतीय सटल बसको व्यवस्था गरिएको जानकारी पनि उनले  दिए । आन्तरिक टर्मिनलमा १० जनासम्म अट्ने लिफ्ट निर्माण तथा विमानस्थल सौन्दर्यीकरणको काम जारी रहेको उनले बताए ।

  • प्रेमी-प्रेमिकाको चोरी धन्दा, अष्ट्रेलिया जाने लक्ष्य

    प्रेमी-प्रेमिकाको चोरी धन्दा, अष्ट्रेलिया जाने लक्ष्य

    काठमाडौं । गत जेठ २८ गते ललितपुरको मानभवनमा ग्लोवल लिंक टेक्नोलोजीमा चोरी भयो। जिल्ला प्रशासन कार्यालय सामुन्नेबाट ल्यापटपहरू चोरी भएपछि संचालक ओमप्रकाश प्रधानले प्रहरीमा उजुरी गरे।  

    ललितपुरका अन्य स्थानमा पनि यस्तै प्रकारको चोरीको उजुरी आइरहेपछि प्रहरीले चोरीमा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन अनुसन्धान अघि बढायो। 

    झण्डै २ साताको अनुसन्धानपछि प्रहरीले शनिबार काठमाडौंको कलंकी नजिकै रहेको सोल्टीसिटी अपार्टमेन्टबाट काठमाडौं-१ नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं-१६ की १९ वर्षीया रोशनी महर्जनलाई पक्राउ गर्यो। 

    ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धीबिक्रम शाहका अनुसार उनीहरू दुबै जना लिभिङ टुगेदर बस्ने गरेका थिए। महर्जनले श्रेष्ठसँग मिलेर चोरी गर्ने गरेको शाहले बताए।

    सुवोध श्रेष्ठ २०६१ सालमा चोरीकै मुद्दामा ९ महिना जेल बसेर छुटेको प्रहरी रेर्कडमा उल्लेख छ। जेलबाट छुटेपछि उनले महाबौद्धमा आइटीसम्बन्धी काम सिकेर आफ्नै पसल समेत खोलेका थिए।

    आइटीको काम सिकेपछि उनले काठमाडौंमा संचालनमा रहेका विभिन्न आइटीकै कम्पनीमा सामान खरिद गर्न दिउँसो गएर कुराकानी र रेकी गर्ने रातको समयमा भने चोरी गर्ने गरेको एसएसपी शाहले बताए।

    उनीहरूले चोरी गरेको सामान हाम्रो बजार डट कममा हालेर बेच्ने गरेको खुलेको शाहले जानकारी दिए। श्रेष्ठ जोडीले ललितपुर र काठमाडौंमा गरेर ४ स्थानमा चोरेको बयान दिएका छन्। 

    तर प्रहरीले भने यी दुई जिल्लामा उनीहरूले ८ स्थानमा चोरी गरेको दाबी गरेको छ।

    उनीहरूले चोरी गरेकै पैसाले अपार्टमेन्टलाई मासिक ६० हजार भाडा तिर्ने गरेको, खाना पनि हरेक दिन रेष्टुरेन्टबाट मगाउने गरेको प्रहरी समक्ष बताएका छन्।

    एक स्थानमा चोरी गर्न जाँदा उनीहरूले ३ वटा सम्म पठाओ बुक गर्ने गरेका थिए। प्रहरीबाट उम्कन सकियोस् भनेर उनीहरूले एक पटक पठाओ बुक गरेपछि त्यो मोबाइल नम्बर अर्को पटक प्रयोग गर्दैनथे।

    अष्ट्रेलिया जानका लागि आइएलटिएस गरिरहेको र त्यहाँ जान लाखौं रुपैयाँ लाग्ने भएपछि चोरी कार्यमा लागेको उनीहरूले प्रहरी समक्ष दिएको बयानमा भनेका छन्।

    पुतलीसडकको एक आइटी कम्पनीमा उनीहरू रातको ११ बजे छिरेर बिहान ५ बजे निस्किएको एसएसपी शाहले बताए। प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ।

  • काठमाडौं महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध

    काठमाडौं महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध गरेको छ ।

    महानगरका मेयर बालेन साहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा सवारी पार्किङ संचालन गर्न अनुमति नदिइने बताएका हुन्।

    अहिले गाडीहरु सार्वजनिक सडकमा पार्किङ गर्ने गरिएको छ। जसले गर्दा सबै सडकहरुमा भिडभाड हुने र जाम हुने गरेको छ। तर, महानगरले सार्वजनिक सडकहरुमा पार्किङ गर्न अनुमति नदिने योजनाको विकल्प भने ल्याएको छैन।

  • स्थानीय तहमा आज बजेट आउने

    स्थानीय तहमा आज बजेट आउने

    काठमाडौं । ऐन अनुसार आज स्थानीय तहले बजेट ल्याउने दिन हो । अधिकांश स्थानीय तहले आइतबार आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्दै छन् ।
    अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । उक्त कानुनी व्यवस्था अनुसार सबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्ना सभामा पेस गर्ने तयारी गरेका हुन् । 

    ७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । बाँकी ७४३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्ने छन् ।बजेट ल्याउने स्थानीय तहमा कोशीका दुई, मधेशको एक, बागमतीको एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई छन् । 

    सङ्घबाट प्राप्त हुने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रूपमा मानिन्छ । सङ्घीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, ससर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ।

    सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र अगामी वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। सङ्घीय र प्रदेश सरकारले भने यसअघि नै बजेट आआफ्नो सभामा पेस गरिसकेका छन्। 

    स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन्। उक्त बजेटका आधारमा र स्थानीय तहको आफ्नै आन्तरिक स्रोतलाई समेत आधार मानी स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न लागेका

  • दाङमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु

    दाङमा पनि चट्याङ लागेर दुई जनाको मृत्यु


    काठमाडौं । दाङमा चट्याङले लागेर दुई जना पुरूषको मृत्यु भएको छ। दंगीशरण गाउँपालिका वडा नं. ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो। 

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो। 

    चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको समयमा शनिबार अपरान्ह पख चट्याङ लागेको थियो। अहिले चौधरी र केसी दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ। 
    शनिबार दिउँसोदेखि नै दाङमा चट्याङसहित वर्षा भइरहेको छ।

  • मनसुनी प्रभावले देशैभर वर्षा

    मनसुनी प्रभावले देशैभर वर्षा


    काठमाडौं  । मुलुकमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ।

    त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार राती  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना छ।

    महाशाखाले  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने जानकारी गराएको छ।

    भारी वर्षा र मेघ-गर्जन/चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। 

  • गृहमन्त्री चीन जाने

    गृहमन्त्री चीन जाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मंगलबार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् ।

    चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरु पनि रहनेछन् ।

    भ्रमणका क्रममा केही भेटघाट र विश्वविद्यालय भ्रमण लगायतको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । श्रेष्ठ ४ दिन छेन्दुमै रहने र त्यसपछि नेपाल फर्किनेछन्

  • बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    काठमाडौं । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो 

    चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

    चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले

  • चित्त नबुझे नयाँ सरकार बन्छ : गगन थापा

    चित्त नबुझे नयाँ सरकार बन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो कुरा नभएको बताएका छन् । काठमाडौंमा(४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे फेर्न सकिने बताए । ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ, भइराख्छ,’ उनले भने ।

    उनले अहिले केही कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बनाएको बताउँदै त्यसमा एमाले मिसिए पनि कांग्रेसलाई फरक नपर्ने बताए । उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको पनि बताए । उनले सरकार छोड्न परे पनि नडराइकन एक्ला एक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने बताए ।

    ‘चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ,’ थापाले भने, ‘के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस ।’

  • ड्रागन बोट रेसको उपाधी सिचुवानलाई, नेपाल दोस्रो

    ड्रागन बोट रेसको उपाधी सिचुवानलाई, नेपाल दोस्रो

    काठमाडौं । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित निकालेको हो

    । प्रतियोगितामा पहिलो भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ हात पारेको छ । त्यस्तै, प्रतियोगितामा नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दोस्रो बन्न सफल भएको छ । २ र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएका उपाधिसँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको छ ।

    मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो । प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् ।

    विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि भारतीय राजदूत छन् छोङ, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

    ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएको ८ वटा फाइबरका डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिका ८ वटा डुंगा केरुङ नाका हुँदै पोखरा ल्याइएको थियो ।

    चिनियाँहरुको महत्वपूर्ण चार पर्वमध्येको ड्रागन बोट महोत्सवमा यस वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको हो । ‘डान्बु जी’ भनेर पनि चिनिने ड्रागन बोट फेस्टिबल महत्वपूर्ण महोत्सवका रुपमा लिन्छन् । चाइनिज क्यालेन्डर ‘लुनार’अनुसार पाँचौं महिनामा यसलाई भव्य रुपमा मनाउँदै आएका छन् ।

  • आज अधिकांश भेगमा वर्षाको सम्भावना

    आज अधिकांश भेगमा वर्षाको सम्भावना

    काठमाडौं । देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा मे-(गर्जन-चट्याङ्ग सहित वर्षा भइरहेको छ।

    दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरुमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोको जानकारी दिएको छ।

    राति अधिकांश भूभागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    भारी वर्षा र मेघ-गर्जनरचट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने महाशाखाको आकलन छ।

  • गैंडाकोटमा पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

    गैंडाकोटमा पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

    काठमाडौं । नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को गैंडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए । पोखरीमा डुबेका करिब १३\१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन ।

    इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली घटनास्थलमा पुगेको छ । गर्मी छल्नका लागि बालक पोखरीमा पौडी खेल्न जाँदा दुर्घटना भएको बुझिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । रासस

  • विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र नेदरल्याण्ड्स भिड्दै

    विश्वकप छनोट : जित्नै पर्ने दवावका बीच नेपाल र नेदरल्याण्ड्स भिड्दै

    काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२ः ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । यस अगाडीको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ ।

    आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ । नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

    नेदरल्यान्ड्सले पनि अमेरिकालाई पाँच विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्डस्ले नेपाल र वेष्ट इन्डिजसँ खेल्न बाँकी छ । समूह ए मा वेस्ट इन्डिजर जिम्बाब्वे २र२ खेलबाट चाररचार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरका पाँचौ स्थानमा रहेका छ ।

  • माधव नेपाल भन्छन् : ओलीले कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दैछन्

    माधव नेपाल भन्छन् : ओलीले कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दैछन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ। कस्तो बिडम्वना होला, कस्तो चरित्र होला, अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पुँजीवादसँग उदार पुँजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’

    उनले ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु जस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाए। उनले भने, ‘समाजवादी शक्तिलाई एकतावद्ध बनाउन चाहेन, अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ।’ उनले आफ्नो पार्टी नेपालको राजनीतिमा महत्वपूर्ण शक्तिको रुपमा उदाएको दाबीसमेत गरे। उनले एमालेले समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरुले गरेको कदमलाई पनि सहन नसकेको बताए।

    ‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाएको छ। हामीले चालिरहेको कदमलाई सकारात्मक रुपमा लिनुपर्नेमा समाजवादी शक्तिलाई एकतावद्ध बनाएर समाजवाद विरोधी शक्तिलाई एक्लो बनाउने काममा लाग्नुपर्ने, बिस्तार गर्न शुभकामना दिनुपर्ने, हामीले त गरेनौँ, तपाईहरुले गर्नुभयो भन्नुपर्ने हो। ठूलो पार्टीले गर्नुपर्ने हो तर चाहेन, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन चाहेन।’ अध्यक्ष नेपालले नेपाली काँग्रेस काल्पनिक समाजवादी, उदार पुँजीवादी र दलाल पुँजीवादी पार्टी भएको आरोप लगाए ।

  • मनसुन प्रणाली फैलियो देशभर

    मनसुन प्रणाली फैलियो देशभर

    काठमाडौं । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली आज देशभर फैलिएको छ।

    नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस वर्ष मनसुन प्रणाली कोशी प्रदेश, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट आगमन भएको थियो। देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिन असार ८ गतेदेखि १० गतेसम्ममा देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै सोही प्रदेशका एक रदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू–क्षय, बाटो हिलाम्य हुने तथा ग्रेग्रान बहावजस्ता प्रभावले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रमा प्रभावित हुनसक्ने देखिन्छ।

    खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

  • ‘एएचएफ’ले भन्यो -‘एचआईभी र हेपाटाइटिस सीको निम्न आय भएका मुलुकका जनताको पहुँचमा पुग्न जरुरी’

    ‘एएचएफ’ले भन्यो -‘एचआईभी र हेपाटाइटिस सीको निम्न आय भएका मुलुकका जनताको पहुँचमा पुग्न जरुरी’

    काठमाडौं । विशाल औषधि निर्माता कम्पनी ‘गिलियड साइन्सेस’ लाई मुनाफाभन्दा पहिले जीवनलाई राख्न एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले ५ सुझाव दिएको छ ।

    शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि एएचएफले लोभी रणनीतिहरू रोक्न र मुनाफाभन्दा पहिले जीवन राख्न आग्रह गरेको हो ।

    गिलियड साइन्सेसले उत्पादन गर्ने औषधिहरू मध्ये एचआईभी र हेपाटाइटिस सीको औषधिहरु धेरैलाई विश्वव्यापी रूपमा, विशेष गरी निम्न आय भएका देशहरूमा पहुँच भन्दा बाहिर रहेको बताएको छ ।

    गिलियड कम्पनीद्वारा उत्पादन हुँदै आएको विभिन्न औषधिमध्ये एचआईभी र हेपाटाइटिस सीको औषधि निम्न आयका भएका मुलुकका जनताको पहुँचमा पुग्न जरुरी रहेको एएचएफ नेपालका कार्यक्रम प्रबन्धक दिब्यराज जोशीले बताए ।

    ‘जीवनरक्षक औषधिहरूको मूल्य अत्यधिक निर्धारण गरिएको तथा यसले निम्न आय भएका देशहरूमा केही औषधिहरू दर्ता गर्न इन्कार गरेका कारण एएचएफले औषधि कम्पनीको उक्त रवैयाको विरोध गरेको हो,’ प्रबन्धक जोशीले भने ।

    विश्वकै शीर्ष १५ औषधि कम्पनीमध्येमा पर्ने गिलियड औषधि कम्पनीले २७ अर्ब डलरभन्दा बढी मुनाफा आर्जन गरिसकेको छ । सन् २०२१ मा मात्रै यस कम्पनीले आफ्नो सीईओलाई १९ मिलियन डलरभन्दा बढी भुक्तानी दिएको थियो ।

    प्रबन्धक जोशीका अनुसार गिलियडले जीवनरक्षक औषधिको अत्यधिक मूल्य निर्धारण गर्नुका साथै यसले निम्न आय भएका देशहरूमा केही औषधिहरू दर्ता गर्न इन्कार गरेको छ र यसका औषधिहरूको सस्तो, जेनेरिक संस्करणहरू ल्याउने प्रयासहरूलाई निरन्तर अवरुद्ध गरिरहेको छ ।

    एएचएफले काम गर्ने धेरै देशहरूमा आगामी विरोध प्रदर्शनहरू र विश्वव्यापी रूपमा अन्य योजनाबद्ध कार्यहरूको साथ, एएचएफले गिलियडको लज्जास्पद अभ्यासहरूको बारेमा जागरूकता बढाइरहेको छ र कम्पनीलाई निम्न कार्यहरू गर्न ५ सुझाव दिएको छ ।

    १. टु्रवाडा जस्ता विद्यमान एचआईभी/एड्सका औषधिहरूमा सदाबहार पेटेन्ट हरू बन्द गर्नुहोस् – यो शोषण हो, नवीनता होइन।

    २.हेपाटाइटिस सी को औषधि हार्भोनीको जेनेरिक उत्पादनको लागि इजाजतपत्र सबै निम्न र मध्यम आय भएका देशहरूमा बिना अपवाद खोल्नुहोस्।

    ३. कोभिड–१९ महामारीको अवधिभर रेम्डेसिभिरलाई गैरनाफामुलक मूल्यमा जेनेरिक वितरणका लागि बिक्री वा लाइसेन्स दिने ।

    ४. जेनेरिक निर्माताहरूलाई क्रिप्टोकोकल मेनिन्जाइटिसको लागि उपचार उत्पादन गर्न लाइसेन्स र टेक्नोलोजी दिनुहोस् ।

    ५. कार्यकारी क्षतिपूर्तिलाई सकारात्मक जनस्वास्थ्य परिणाम र विकासशील देशहरूमा औषधिहरूको पहुँचमा पर्ने प्रभावसँग जोडेर हेर्नुहोस् ।

    एएचएफ एसिया ब्युरोका प्रमुख डा. चिम सरथले भने, “हामी गिलियडलाई यी पाँच वटा काम गर्न आह्वान गर्दैछौं किनभने निम्न र मध्यम आय भएका मुलुकका लाखौं मानिसहरूलाई सहयोग गर्न यी महत्वपूर्ण छन्।

    ‘गिलियडले आफ्नो लोभीपन, एकाधिकारवादी रणनीतिमार्फत एचआईभी र अन्य अवस्थाहरूको लागि सबैभन्दा प्रभावकारी र राम्रो सहनशील एन्टिरेट्रोभाइरल उपचारहरूको पेटेन्टहरू (सदाबहारको रूपमा चिनिने) नियन्त्रण गरेर एचआईभीको संक्रमणका साथ बाँचिरहेका मानिसहरूलाई हानि पुर्याउँदै अरबौं डलर कमाएको छ, जसले गर्दा सस्तो जेनेरिक औषधिहरू उत्पादन गर्न अनुमति दिँदैन।

    संसारभरिका एड्भोकेटहरु यो अति भयो – गिलियडले सही काम गर्नुपर्छ र मानिसहरूको जीवनलाई नाफाभन्दा माथि राख्न थाल्नुपर्छ।

    “हामीले विगत दशकहरूमा एचआईभीमा एक सफल विश्वव्यापी प्रतिक्रिया देखेका छौं जुन मुख्यतया किफायती, जेनेरिक एआरभी (एन्टिरेट्रोभाइरल) को लागि धन्यवाद दिन चाहन्छौं।

    यी उपचारहरू विस्तारित क्षेत्रीय उत्पादनको कारण पहुँचयोग्य छन् जुन बौद्धिक सम्पत्तिको साझेदारीद्वारा सम्भव भएको छ जसले अन्य निर्माताहरूलाई यी औषधिहरू उत्पादन गर्न र कम मूल्यमा उपलब्ध गराउन अनुमति दिन्छ। गिलियडको लोभ र पेटेन्ट एकाधिकार यसको विपरीत छ र यसले एचआईभी संक्रमित मानिसहरूलाई मात्र हानि पुर्याउँदैन् ।

    गिलियडले कोभिड–१९ खोप र अन्य हेपाटाइटिस सीका लागि किफायती औषधिको पहुँचलाई पनि सीमित गरेको छ । हामी गिलियडको लोभिपना स्वीकार गर्दैनौं र अब सबै नागरिकले जीवनरक्षक औषधि प्राप्त गर्न सकून् भनेर यो कदम चाल्न माग गर्दछौं।’ जोशीले भने ।

    अत्यधिक प्रभावकारी हेपाटाइटिस सी औषधिको मूल्य प्रति चक्की १,००० अमेरिकी डलर पर्छ र १२ हप्ताको उपचारको खुद्रा मूल्य अमेरिकामा ९०,००० डलरभन्दा बढी छ।