Category: समाचार

  • सन्दुक रुइतले पाएको पुरस्कारमा कर छूट

    सन्दुक रुइतले पाएको पुरस्कारमा कर छूट

    काठमाडौं । सरकारले डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिएको छ । गृह मन्त्रालयले सोमबार असार ४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै डा. रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट दिने निर्णय भएको जानकारी दिएको हो ।

    गृह मन्त्रालयले गत फागुन ११ मा रुइतले पाउने पुरस्कारमा कर छुट दिने निर्णय भएको जनाएको छ । कानुनअनुसार आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ । आकस्मिक लाभको भुक्तानीमा २५ प्रतिशतका दरले अग्रिम करकट्टी गर्नु पर्दछ । तर यस्तो पुरस्कार रकममा सरकारले कर नलाग्ने गरी छुट दिन सक्नेछ ।

    नेत्र चिकित्सक रुइतले गत फागुन प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका थिए । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

    बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा। रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।

  • ‘एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरिएछ, त्यतिबेला मोर्चाबाट जानुपर्थ्यो’

    ‘एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरिएछ, त्यतिबेला मोर्चाबाट जानुपर्थ्यो’

    काठमाडौं । काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा गठनको बेलामा पार्टी एकताको लागि आफूहरुले हतारो गरेको बताएका छन् ।

    पाँच वर्षअघि नेकपा घोषणा गरिएकै हलबाट समाजवादी मोर्चा घोषणा गरिएपछि सम्बोधन गर्दै उनले त्यतिबेला पार्टी एकता गर्ने हतारो गरिएको बताएका हुन्।

    प्रचण्डले नेकपा बचाउन नसकेकोप्रति आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए । उनले भने, ‘हामीले कहाँ त्रृटि गर्‍यौं, ऐतिहासिक रुपले समीक्षा गरौं । सायद त्यतिबेला पार्टी एकता गर्ने हतारो पो गरेछौं कि ? हामीले त्यतिबेला नै मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गएर एकतामा पुग्ने उद्देश्यले गएका भए सफल हुन्थ्यो कि ? यो सोच्नुपर्ने प्रश्न छ ।’

    २०७५ जेठ ३ गते गठन भएको नेकपा २०७७ फागुन २३ गते सर्वोच्च अदालतको एक फैसलाले भंग भएको थियो। त्यतिबेला नेकपाभित्र विवाद उत्कर्षमा पुगेकाले नेताहरुले पुनः एकतामा उभिन भने सकेका थिएनन्।

  • बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा, चार नेताले गरे सहमतिपत्रमा हस्ताक्षर

    बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा, चार नेताले गरे सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौं । समाजवादी मोर्चाको सहमतिपत्रमा चार नेताले हस्ताक्षर गरेका छन्। सोमबार राष्ट्रिय सभागृहमा सुरू भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा चार नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

    सहमति पत्रमा सत्तारूढ नेकपा (माअ‍ोवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) र संसदीय प्रक्रिया बाहिर रहेको नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवले हस्ताक्षर गरेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द्रले हस्ताक्षर गरेका थिए ।

    नेताहरूले हस्ताक्षर गरेपछि समाजवादी मोर्चाको सहमति पत्रका मस्यौदाकार जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहमति पत्र पढेर सुनाएका छन्।

    मोर्चा घोषणा कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने उपस्थित छैनन्।

  • जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा

    जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसादविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महाप्रबन्धक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    अख्तियारले उनीविरूद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ स्रोत नखुल्ने तवरले सम्पत्ति कमाएको भन्दै मुद्दा दर्ता गरेको हो।

    उनले महानिर्देशकको रूपमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

    उनी २०५१/११/३० देखि २०७९/५/३१ सम्म सरकारी सेवामा रहेका थिए। अख्तियारले उनको आय पारिश्रमिक बचत आय, उनकी श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त आय र शेयर बिक्रीबाट प्राप्त आयस्रोतमाथि अनुसन्धान गरेको थियो।

    कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएका ऋण, घर बहाल, वैदेशिक भ्रमण आय, निवृत्तिभरण आय, कृषि आय, बिप्रेषण आय, शेयर लाभांश आयलगायत केलाएको थियो।

  • पूर्वी नेपालमा बाढी पहिरोमा वेपत्ता २८ जनाको खोजी जारी

    पूर्वी नेपालमा बाढी पहिरोमा वेपत्ता २८ जनाको खोजी जारी

    काठमाडौं । सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा शनिवार रातिको बाढीपहिरोमा बेपत्ता हुनेहरुको खोजी कार्य आज पनि जारी छ । बेपत्ताको खोजी भैरहेको प्रहरीले बताएको छ । बाढीपहिरोमा परेर सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा ४ जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता भएका छन् । अरु चार जना घाइते छन् । पाँचथरमा दुई तथा सङ्खुवासभा र ताप्लेजुङमा एक–एक जनाको ज्यान गएको छ । धनकुटाको छथर जोरपाटीमा तमोर नदी किनारमा हिजो बेलुकी एक महिलाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    सङ्खुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन् । यी जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुल र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । कोशीका विभिन्न जिल्लामा २० घर बगाएको र आठ घरमा आंशिक क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार सङ्खुवासभामा १० घर बाढीपहिरोले बगाएको र आठ घरमा आंशिक क्षति पुगेको छ । पाँचथरमा १० घर बगाएको छ । पाँचथरका ३१ घरपरिवार विस्थापित भएका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलाको बाढीले बढी क्षति पुर्याएको छ । बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीसमेत खोज, उद्धार र राहतको काममा सक्रियताका साथ लागेको सरकारले जनाएको छ ।

  • पोखरा महानगर भित्र पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

    पोखरा महानगर भित्र पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

    काठमाडौं । काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको छ । महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै मेयर आचार्यले दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्। मेयर आचार्यले पोखरामा रहेका सिनेमा घरहरु बाराही चलचित्र मन्दिर क र ख, श्रीकृष्ण चलचित्र मन्दिर, मिडटाउन ग्यालेरिया र सिनेप्लेक्सलाई उक्त पत्र पठाएका छन् ।

    ‘दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको व्यहोरा जानकारी गराइन्छ,’ मेयर आचार्यले सिनेमा हललाई लेखेको पत्रमा भनिएको छ । महानगरबाट पत्र प्राप्त भएपछि भोलि सोमबार चलचित्र आदिपुरुषको कुनै पनि शो हलहरुले राखेका छैनन् । काठमाडौं महानगरपालिकाका हलहरूमा पनि आजदेखि भारतीय सिनेमा नचलाउन मेयर बालेनले निर्देशन दिइसकेका छन्।

  • चार दलको मोर्चा गठन हुँदै, नाम ‘समाजवादी मोर्चा’

    चार दलको मोर्चा गठन हुँदै, नाम ‘समाजवादी मोर्चा’

    काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

    मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाको भनाइ छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने उनले बताए ।

  • न्यूह्यामसायर नेपाली समाजमा नयाँ नेतृत्व, शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति

    न्यूह्यामसायर नेपाली समाजमा नयाँ नेतृत्व, शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति

    म्यानचेष्टर

    न्यूह्यामसायर राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यूह्यामसायर नेपाली समाजमा लाक्पा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

    शनिबार म्यानचेष्टरमा सम्पन्न समाजको साधारण एवं अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्विरोध नयाँ समिति चयन भएको हो। समितिका उपाध्यक्षमा माधव गुरुङ, महासचिव प्रभात भट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई, सह कोषाध्यक्ष जुनु कडरिया एवं सदस्यहरुमा रन गुरुङ, सुदिप पन्त, प्रदिप कार्की, राम श्रेष्ठ, एलिजा कार्की, जंग गुरुङ, शंकर श्रेष्ठ र मिङ्मा शेर्पा खापा चयन भएका छन् ।

    नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समिति संयोगक शम्भु गुरुङले प्रमाणपत्र वितरण एवं सपथ ग्रहण गराएका थिए । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष शान्ता विष्टले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै राज्यमा बसोबास गर्ने सबै नेपालीहरुलाई अझ बृहत दृष्टिबाट समेट्न सुझाव दिएका दिएकी थिइन् ।

    नव निर्वाचित अध्यक्ष शेर्पाले न्यूह्यासायरमा बसोबास गर्ने सबै उमेर, वर्ग, क्षेत्र, एवं पेशाका नेपालीहरुलाई समेट्ने एवं अग्रजहरुको सर सल्लाह बमोजिम समाजलाई अझ गतिशिल र प्रभावशाली बनाउँदै लैजाने प्रतिवद्धता जनाएका थिए । ‘संस्थाले जुन उचाइ हासिल गरेको छ त्यसलाई खुम्चिन नदिइ अझ व्यापक बनाउने हाम्रो प्रयन्त रहनेछ’ शेर्पाको भनाइ थियो ।

    संस्थाका पूर्व अध्यक्षहरु मिन गौतम, रोविन थापा, सोम गुरुङले नयाँ कार्यसमितिलाई सुझाव एवं हौसला प्रदान गरेका थिए । गैर आवासीय नेपाली संघ अमेरिका न्यूह्यामसायर च्याप्टर अध्यक्ष कमल ढुङ्गाना, गुरुङ समाज न्यूह्यामसायरका महासचिव विकास गुरुङ एवं नेपाल सरकारका अवैतिक पर्यटन दूत शिव राईले पनि संस्थाको उत्तरोत्तर प्रगतिको कामना समितको मन्तव्य व्यक्त गरेका थिए ।

    निर्वाचन प्रकृयाभन्दा अगाडि समाजका निवर्तमान महासचिव माधव गुरुङले पेश गरेको सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्ष भेषराज शर्माद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको थियो । सन् २०१० मा स्थापित संस्थाले राज्यमा बसोबास गर्ने नेपालीहरुलाई समेटेर दशैं, तिहार, नेपाली नयाँबर्ष, तीज जस्ता उत्सव सामुहिक रुपले मनाउँदै आएको छ भने बिभिन्न समयमा खेलकुद एवं सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने गरेको छ ।

  • योगेश भट्टराईलाई गृह जिल्ला प्रवेशमा रोक

    योगेश भट्टराईलाई गृह जिल्ला प्रवेशमा रोक

    काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा रोक लगाएको छ । ताप्लेजुङका आदिवासी जनजाति महासङ्घ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै निषेध गरिएको जानकारी गराएको हो ।

    आदिवासी जनजाति समुदायहरूलाई कानुन विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरूको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका विज्ञप्तिमा उल्लेख छ ।

  • हेवाखोलाको बाढीमा बेपत्ता सबैको खुल्यो पहिचान, सडक सम्पर्कविच्छेद

    हेवाखोलाको बाढीमा बेपत्ता सबैको खुल्यो पहिचान, सडक सम्पर्कविच्छेद

    पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम-५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन्। उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ।

    यस्तै, फिदिम-४ र हिलिहाङ-७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन्। स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। बाढीले फिदिम-४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ।

    बाढीले याङवरक गाउँपालिका-२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ। यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ। फिदिम-४ र हिलिहाङ-७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ।

    यस्तै, फालेलुङ गाउँपालिका वडा नम्बर ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नम्बर ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ। सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।

    बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन्। वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका-३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम-३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ।

    वर्षाका कारण सडक बगाएपछि फिदिम-यासोक सडकको कुम्मायक गाउँपालिका-४ वनथाकमा सडक अवरुद्ध भएको छ। यस्तै, फाल्गुनन्द-७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    बाढीले याङवरक-२ मा दुईवटा र फालेलुङ-३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ। क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    सडक सम्पर्कविच्छेद

    भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ।

    गएराति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम-४ र हिलिहाङ-७ जोड्ने हंवाखोला पुल बगाएको छ। बाढीले ५४ दशमलव ५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

    विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन। तर, गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो।

    यस्तै, तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ। फिदिम-४ र हिलिहाङ-७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन्।

    दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ। सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ।

    यस्तै, यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ। रासस

  • सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

    सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएको छ । विद्यालय कर्मचारीले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए ।

    सरकारले वार्ताका लागि समिति गठन गरेपछि आन्दोलनरत विद्यालय कर्मचारीहरूले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।

    नेपाल विद्यालय कर्मचारी युनियन, सामुदायिक विद्यालय कर्मचारी संघ र विद्यालय कर्मचारी परिषदले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर सम्बादको वातावरण बनाउन आग्रह गरेको भन्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको जानकारी दिएको छ ।

    उचित पारिश्रमिक र दरबन्दीको माग गर्दै जेठ १५ यता विद्यालय कर्मचारी आन्दोलनमा छन् । सामुदायिक विद्यालयका लेखाशाखाका कर्मचारी र कार्यालय सहयोगी (पीएन) हरु कामकाज छाडेर आन्दोलनमा थिए । देशभर ३५ हजार यस्ता कर्मचारी रहेका छन् । सरकारले लेखा शाखामा काम गर्नेलाई मासिक साढे १३ हजार र कार्यालय सहयोगीलाई ८ हजार मात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

    वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरु सम्बोधन गर्न सरकार गम्भिर नदेखिएमा, सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षहरुमा भएका र गरिएका सहमति र सम्झौताहरु कार्यान्वयन नगरेको खण्डमा पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने परिषद्ले चेतावनी दिएको छ ।

  • देशभर बाढी-पहिरोले गरेको क्षतिप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त

    देशभर बाढी-पहिरोले गरेको क्षतिप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

    बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ । ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायमा पनि अपिल गरेका छन् ।

  • संखुवासभामा बाढी–पहिरो : डेढ दर्जन मानिस सम्पर्कविहिन

    संखुवासभामा बाढी–पहिरो : डेढ दर्जन मानिस सम्पर्कविहिन

    काठमाडौं । संखुवासभा जिल्लाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।

    बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिए । उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको समेत बताइएको छ । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको प्रहरीको भनाई छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

  • आज कोशी\गण्डकीमा ठूलो वर्षाको प्रक्षेपण

    आज कोशी\गण्डकीमा ठूलो वर्षाको प्रक्षेपण

    काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका पछिल्लो २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ ।

    ताप्लेजुङको दोभान स्टेसनमा मात्र ५५.२ मिलिमिटर र ताप्लेजुङ स्टेसनमा ५१ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । आज पनि कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य स्थानमा भारी वर्षाको सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।


    जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ । ताप्लेजुङको सिदिङ्वा–६ मेहेलेमा एकै परिवारका तीनसहित चार जना पहिरोमा परी बेपत्ता भएका छन् । सडक, पुल लगायतका संरचनामा क्षति पुगेको छ ।

  • आइसीसी विश्वकप छनोट फाइनल : उद्घाटन खेलमा आयोजक जिम्बाब्वेसँग नेपालको भिडन्त

    आइसीसी विश्वकप छनोट फाइनल : उद्घाटन खेलमा आयोजक जिम्बाब्वेसँग नेपालको भिडन्त

    काठमाडौं । आजदेखि जिम्बाब्वेमा आईसीसी क्रिकेट विश्वकप छनोटको फाइनल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो ।

    यसअघि नेपालले सन् २०१८ मा पनि जिम्बाब्वेमै भएको विश्वकप छनोटमा जिम्बाब्वेसँग खेलेको थियो । तर, त्यतिबेला नेपालको ओडीआई मान्यता नभएकोले उक्त खेलले पनि ओडीआई मान्यता पाएन । अब भने विश्वकप छनोट खेल्ने सबै १० टोलीसँग ओडीआई मान्यता छ । २०१८ मा ओडीआई मान्यता पाएपछि नेपालले ५१ ओडीआई खेलिसकेको छ र पाँच वर्षपछि फेरि जिम्बाब्वेमै विश्वकप छनोट खेल्दैछ ।

    यस पटक अझ ठूला टिमसँग खेल्ने अवसर पाएको नेपालका लागि यो राम्रो अनुभव पनि हुनेछ । नेपालले समूह चरणमा जिम्बाब्वेसहित पूर्वविश्व विजेता वेष्ट इन्डिजसँग पनि पहिलो पटक खेल्दैछ । यस्तै नेदरल्याण्ड्स र अमेरिकासँग पनि समूह चरणमा खेल्नेछ । नेपालले यस पटक सुपर सिक्समा पुग्ने लक्ष्य राखेको छ । नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

  • ताप्लेजुङमा पहिरो, कम्तिमा ४ जना वेपत्ता

    ताप्लेजुङमा पहिरो, कम्तिमा ४ जना वेपत्ता

    काठमाडौं । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् । गतरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।

    गएराति ताप्लेजुङमा भारी वर्षा भएको थियो । बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ । बिहीबार राति पनि वर्षा र बाढीले सदिङ्वा र सिरिजंगामा क्षति पुर्याएको थियो । बाढी पहिरोले सुरुमखिम-खेवाङ-याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको थियो भने काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामान बगाएको थियो । कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र स्थानीयका केही घर जोखिममा छन् ।

  • पाँचथरमा बाढी पहिरो, कम्तिमा ५ जना वेपत्ता

    पाँचथरमा बाढी पहिरो, कम्तिमा ५ जना वेपत्ता

    काठमाडौं । पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् । शनिबार राति आएको बाढीमा परेर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ । हेवा खोलामा आएको बाढीले पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    तर, विवरण आउन बाँकी रहेको जनाएको छ । बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । प्रहरीका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलाको पुल, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा २ वटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको छ ।

  • रेशम चौधरीलाई बाबुराम भट्टराईको स्वागत

    रेशम चौधरीलाई बाबुराम भट्टराईको स्वागत

    काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन् । आफ्नै निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् ।

    ‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत ।’, भट्टराईले लेखेका छन् । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

  • राष्ट्रपति पुनः अस्पताल भर्ना

    राष्ट्रपति पुनः अस्पताल भर्ना

    काठमाडौं । मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । शनिबार बिहान २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए । राष्ट्रपति पौडेल बुधबार मात्र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका थिए ।

    मंगलबार बिहान अचानक छाती दुखेपछि उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । अस्पतालमा पौडेलको मुटुको परीक्षण र २४ घन्टा चिकित्सकहरुको निगरानीपछि पौडेललाई अस्पतालले बुधबार बिहान डिस्चार्ज गरेको हो । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो । त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो ।

  • भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी

    भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी

    काठमाडौं । भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ । विभागले हिजो विज्ञप्ति निकालेर कानुनले तोकेको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो । वस्तुको स्वभाविक मूल्य भन्दा धेरै मूल्य लिएर बिक्री गर्ने काम उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार दण्डनीय अपराध रहेको विभागले जनाएको छ ।

    सरकारले आउँदो आर्थिक वर्ष २०८०–८१ को लागि जेठ १५ गते घोषणा गरेको बजेटमा आलु प्याजमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो । यसैलाई लिएर व्यवसायीले आयात रोकेपछि अहिले बजारमा प्याजको भाउ महंगो भएको छ । पहिला किलोको ३५ पर्ने प्याज अहिले बजारमा एक सय रुपैयाँ पुगेको छ । बजारमा आलु प्याजको अस्वभाविक मूल्य वृद्धिपछि अनुगमन समेत थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

  • ललितपुरको इमाडोलमा बस दुर्घटना, १९ जना यात्रु घाइते

    ललितपुरको इमाडोलमा बस दुर्घटना, १९ जना यात्रु घाइते

    काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । बिहान ललितपुरको लुभुबाट लगनखेलका लागि छुटेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो ।

    बसमा २४ जना यात्रु थिए । घाइतेमध्ये १८ जनाको बी एण्ड बी अस्पताल ग्वार्कोमा र एक जनाको किस्ट अस्पताल इमाडोलमा उपचार भइरहेको प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीले जानकारी दिएका छन् । बस तीव्र गतिमा कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

  • नेपालमा मंकिपक्स भाइरस पुष्टी

    नेपालमा मंकिपक्स भाइरस पुष्टी

    काठमाडौं । नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए।

    ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको हो।’

    मंकिपक्सका बारेमा थप खोज, अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकिपक्स विश्वभरि हाल १११ देशमा फैलिसकेको छ। यो मंकिपक्स भाइरसबाट हुने एक किसिमको सरूवा रोग हो। यो रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्छ।

  • जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च

    जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च

    काठमाडौं । जेठ महिनामा घरजग्गाको कारोबार यस वर्षकै उच्च विन्दुमा पुगेको छ । जेठमा लिखत पासको संख्या ५५ हजार ६९ पुगेको छ । यो लिखत पास चालु आर्थिक वर्ष २०७९–८० कै धेरै हो । गत वैशाखमा ४२ हजार ४६१ र चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । गत फागुनमा ४० हजार ७३४, माघ महिनामा ४१ हजार ८६, पुसमा ३८ हजार ८३१, मंसिरमा २९ हजार १८४, कात्तिकमा २७ हजार ९३९, असोजमा २५ हजार ७८९, भदौमा ३४ हजार ७२० र साउनमा ३३ हजार ७३४ लिखत पारित भएको थियो ।

    यो वर्षको जेठको तथ्याङ्‍कले वैशाख, २०७९ देखि घट्न थालेको घरजग्गा कारोबार अब विस्तारै बढ्दै जाने संकेत देखिएको छ । बैंकहरुमा लगानीयोग्य पूँजी बढेसँगै लगानी बढेपछि घरजग्गाको कारोबारमा सुधार भएको हो । बैंकहरुमा लगानी थुप्रिन थालेपछि घरजग्गामा लगानी बढ्न थालेको छ, जसका कारण फेरि घरजग्गाको कारोबार बढ्दै जान थालेको छ ।

    भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत असोजमा मासिक लिखत पास करिब २६ हजारसम्म झरेपछि पुनः सुस्त गतिमा वृद्धि हुँदै आएको हो । गत जेठमा कारोबार बढ्दा पनि राजस्व संकलन भने ३ अर्ब ७५ करोडमा सीमित भएको छ । गत चैत महिनाको घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ५१ करोडभन्दा बढी राजस्व संकलन भएको थियो । गत असोजमा २५ हजार ७ सय वटा मात्रै लिखत पास हुँदा यस्तो राजस्व २ अर्ब ५६ करोडसम्म झरेको थियो ।

    चैत २०७८ महिनामा लिखत पासको संख्या ७० हजार ८२९ थियो । तर, त्यसपछि ह्वात्तै घटेको जग्गाको कारोबार चालु आर्थिक वर्षमा मासिक २६ हजारसम्म लिखत पास हुने अवस्थासम्म झरेको थियो । घरजग्गा कारोबार शिथिल भएपछि अर्थतन्त्रको अन्य क्षेत्र पनि सुस्ताएको व्यवसायीले बताउँदै आएका छन् । मन्दीका कारण घरजग्गा नबिकेपछि ‘रियलस्टेट’का लगानीकर्ताहरुले समस्या परेको बताउँदै आएका छन् । आर्थिक समस्यामा परेपछि ठूला व्यवसायीहरु पनि आफ्ना जग्गा बेच्न कस्सिएका छन्, तर बिकीरहेको छैन ।

    बजारमा माग घटेकाले समस्यामा परेका व्यवसायीले बैंकको ऋण तिर्न जग्गा बेच्न खोजे पनि मूल्य राम्रो पाइरहेका छैनन् । ठूला सहकारीहरुको लगानी पनि घरजग्गामै फसेको छ । जसका कारण सहकारीका वचतकर्ताहरुले आफ्नो बचत समेत समयमै फिर्ता नपाउनेदेखि सहकारीहरु समस्याग्रस्त हुने क्रम बढ्दै गएको छ ।

    धितोमा राखेका जग्गाहरुको समेत मूल्य प्रभावित हुँदा खराब बैंक ऋणको धितोको लिलामीमा समेत समस्या छ । यसले बैंकको खराब कर्जा बढ्दै जाने जोखिम देखिएको छ । एकातर्फ घरजग्गाको मूल्य घट्ने, कारोबार नहुने तथा लगानी फस्ने भइरहँदा नयाँ परियोजनाका लागि ऋण लिन जग्गा नै धितो खोज्ने बैंकिङ प्रणालीको चरित्रले पनि समस्या थपेको छ । जग्गाको कमजोर मूल्याङ्‍कनका कारण ऋण लिन समेत व्यवसायीहरुलाई सकस परेको छ ।

  • लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश

    लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश


    काठमाडौं । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको हो ।

    अदालतले प्रतिवादी लक्ष्मी महर्जनलाई पाँच लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

  • प्रधानन्यायाधीश कार्कीले लिए शपथ

    प्रधानन्यायाधीश कार्कीले लिए शपथ

    काठमाडौं । आठ महिनायता कायम मुकायम जिम्मेवारीमा रहेका हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त भएका छन् ।

    उनले आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिए ।

    कार्कीले केही बेरमै सर्वोच्च अदालतपुगेर प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।

    संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो । आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

  • महानगर प्रमुख बालेनलाई प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण

    महानगर प्रमुख बालेनलाई प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको हो ।

    महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो ।

    ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईँ (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु,’ प्राधिकरणले मेयर शाहलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

    प्राधिकरणले यसै विषयमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ ।

  • मेलम्ची खानेपानी यो बर्ष बर्षायाममा पनि नरोकिने

    मेलम्ची खानेपानी यो बर्ष बर्षायाममा पनि नरोकिने

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले यो बर्ष बर्षायाममा पनि पानी ल्याउन नरोक्ने भएको छ । बुधबारदेखि मनसुन भित्रिएपनि आयोजनाले पानी नरोक्ने तयारी अघि बढाएको हो ।

    गत वर्षको तुलनामा हेडवक्र्समा सुरक्षाका थप उपाय अपनाइए पनि यो वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने सम्बन्धमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको आयोजनाले जनाएको छ ।

    बालुवासहितको बाढी आएको छैन भने पानी वितरणलाई निरन्तर गर्न सकिने गरी मुहान क्षेत्र तथा हेडवक्र्समा संरचना निर्माण गरिएको छ ।

    त्यसै गरी बाढीपहिरोको पूर्वसूचनाका आधारमा ‘हाइड्रो मेकानिकल’ प्रणालीका आधारमा स्विच थिचेर आयोजनाको मुहानको ढोका बन्द गर्न तथा खोल्न सकिने भएकाले पनि बन्द नगर्ने तयारी समितिको छ ।

    आयोजनाले विगत दुई वर्षदेखि बर्खाको समयमा पानी वितरण रोक्दै आएको थियो । दुई वर्षअघि मनसुन भित्रिएको पहिलो दिन असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पु–याएको थियो ।

    २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा जनधनको ठुलो क्षति पु–याएपछि गत वर्ष पानी बन्द गरिएको थियो ।

  • भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन

    भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न–नगराउन भनेको हो । मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न–गराउन नहुने, यदि यस्तो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने परिपत्रमा उल्लेख गर्दै त्यो कुरा स्वास्थ्य संस्था एवं प्रयोशागाला परिसरमा टाँस्न पनि भनिएको छ ।

    मन्त्रालयले राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीतिमा विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न लिङ्ग पहिचान गर्न नपाइने उल्लेख गरिएको छ । मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न भनिएको छ ।

  • भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी

    भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी

    काठमाडौं । अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी विपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको तट नजिक आँधी पुगेको अधिकारीहरूले बताएका छन्। बिहीवार साँझ भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्त नजिक पुगेको आँधीले पुर्‍याएको क्षतिका विवरणहरू अझै आउन बाँकी छ।

    आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोट लगायत धेरै जिल्लामा भारी वर्षा र तीव्र गतिमा हावा चलिरहेको विवरण आएका छन्। मुम्बईका तटीय क्षेत्रमा जान मानिसहरूलाई रोक लगाइएको छ। पाकिस्तानको सिन्ध प्रान्त स्थित केटी बन्धरमा हावाको गति १०० देखि १२० किलोमिटर प्रतिघण्टा मापन गरिएको मौसमविद्हरूले बताएका छन्। त्यहाँ नजिक पुगेपछि आँधीको गति कम भएको त्यहाँको मौसम विभागले जनाएको छ।

    पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराचीदेखि भारतको गुजरातसम्मको समुद्रमा अग्ला छाल आउनसक्ने सक्ने चेतावनी दिएको छ।भारतको मौसम कार्यालयले गुजरातमा समुद्री आँधीका कारण सडक र कच्ची घर भत्किन तथा रूख र बिजुलीका खम्बा ढल्न सक्ने बताएको छ। अग्ला छालहरूका कारण तटीय क्षेत्रमा अवस्थित होचा ठाउँहरू जलमग्न हुन सक्ने मौसमविद्हरूले बताएका छन्। समुद्री आँधी जमिनमा बज्रिनुभन्दा अगाडि नै त्यसको मार्गमा पर्ने भारत तथा पाकिस्तानका विभिन्न स्थानबाट एक लाख ७०,००० जनाभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

    बाङ्ग्ला भाषामा बिपरजोयको अर्थ प्रकोप भन्ने हुन्छ। मौसमविद्हरूले उक्त समुद्री आँधी अगाडि बढ्दा त्यसले आफ्नो बाटोमा पर्ने खेती र भवनहरूमा क्षति पुर्‍याउन सक्ने चेतावनी दिएका छन्। अरब सागर पार गर्दै आएको उक्त आँधीका कारण गुजरातको तटीय क्षेत्रमा ठूलो पानी परेको, निकै ठूला छाल आएको र समुद्र अशान्त भएको त्यहाँबाट प्राप्त भिडिओमा देखिन्छ।

    गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको भए पनि त्यसलाई उनले निकै खतरनाक भनेका छन्। भारतको मौसम कार्यालयले गुजरातमा समुद्री आँधीका कारण सडक र कच्ची घर भत्किन तथा रूख र बिजुलीका खम्बा ढल्न सक्ने बताएको छ। पाकिस्तानमा यसअघि नै देशको दक्षिणपूर्वी तटबाट ८१,००० मानिसलाई स्थानान्तरण गरिएको छ।

    त्यस्तै विद्यालयहरूमा ७५ वटा राहत शिविर बनाइएको छ। अग्ला छालहरूका कारण तटीय क्षेत्रमा अवस्थित होचा ठाउँहरू जलमग्न हुन सक्ने मौसमविद्हरूले बताएका छन्। भारतमा ठूलो वर्षाका कारण यो साता कम्तीमा सात जनाको मृत्यु भइसकेको छ।

  • काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कबाट मात्र छुट्ने

    काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारी साधन नयाँ बसपार्कबाट मात्र छुट्ने

    काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन भोलिबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्। १ असारबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने गरी निर्णय भएको महानगरपालिकाले जनाएको छ । भोलिदेखि गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायी समेत सहमत भएका छन्।

    महानगरभित्र रहेका टिकट काउन्टर, होर्डिङ बोर्डहरु हटाइने भएको छ। ‘बसपार्क बाहेक अन्य क्षेत्रमा कतै यात्रुहरु सुरक्षित चढाउन र ओराल्‍न सकिन्छ की भन्ने अध्ययन गर्न पनि कार्यदल गठन भएको छ । कार्यदलमा ३ वटा यातायात मजदूर संगठनका प्रतिनिधि, उपत्यका ट्राफिक प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिलगायत छन्।