Category: समाचार

  • राजेन्द्र पाण्डेको आक्रोश-‘प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ’

    राजेन्द्र पाण्डेको आक्रोश-‘प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ’

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त रहेको भन्दै विघटन गर्न आग्रह गरेका छन्।

    बजेटप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै आएका पाण्डेले शुक्रबार मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै यस्तो आक्रोश पोखेका हुन्।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त रहेको बताए ।

    ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ । अस्तव्यस्त छ भन्ने खालको कुरा आज सम्माननीय प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ,’ उनले भने, ‘यो त ३ दिन अगाडि प्रश्न गरेको हो नि । उहाँको सचिवालयले तयार गरिदिनु पर्थ्यो कि पर्दैन थियो ? विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय ।’

    प्रधानमन्त्री दाहालले आफूमा शक्ति केन्द्रित हुने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तरगत निकायहरुलाई कायमै राखेकोमा पनि उपाध्यक्ष पाण्डेले आपत्ति जनाए ।

  • वीर अस्पतालका ७०० जनरल बेड नि:शुल्क

    वीर अस्पतालका ७०० जनरल बेड नि:शुल्क

    काठमाडौं । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो।

    यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो। बेड नि:शुल्क गर्दा वार्षिक ५ करोड रुपैयाँ खर्च हुने बताइएको छ।

    सरकार र आन्तरिक स्रोतबाट उक्त रकम व्यहोरिने बताइएको छ। अस्पतालका क्याबिन र आइसियूमा भने शुल्क लाग्नेछ।

  • देशैभर फैलँदै मनसुन, भारी वर्षा हुने

    देशैभर फैलँदै मनसुन, भारी वर्षा हुने

    काठमाडौं । जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ। बिपरजोय चक्रवात र न्यूनचापीय क्षेत्रको असरका कारण नेपाल भित्रिएको एक सातासम्म मनसुन पश्चिमसम्मै फैलन सकेको थिएन। अब एकदुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले पूर्वदेखि पश्चिमसम्मै तराईका भूभागहरूमा वर्षा भइरहेको छ।

    पहाडी भूभागहरुमा गएरातिदेखि पानी परिरहेको छ। यो क्रम अब देशैभरी चल्नेछ । मनसुन विस्तारै पश्चिमतिर सर्दा तापक्रम समेत घट्ने क्रममा देखिएको छ । आगामी चौबिस घन्टामा सात वटै प्रदेशमा भारी वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य भू(भागमा मनसुनी प्रणाली र बाँकी भूभागमा भारतको उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभरको मौसम बदली भएको छ।

    दिउँसो कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    भारी वर्षा र मेघ-गर्जनचट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव्का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। राति कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • नदी किनारमा बाढीको सम्भावना, सतर्क रहन आह्वान

    नदी किनारमा बाढीको सम्भावना, सतर्क रहन आह्वान

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा रौतहट, सर्लाही, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीमा मध्यम तथा भारी वर्षा भएको बताएको छ। ती जिल्ला भएर वहने नदीहरूको जलसतह बढ्ने हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। त्यस्तै नवलरासी पूर्व नवलरासी पश्चिम, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपास मध्यम-भारी वर्षा भएको र हुन सक्ने अवस्था रहेको औंल्याइएको छ।

    मौसम पूर्वानुमान महाशाखाले पनि दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना देखाएको छ। बाँकी भूभागमा सामान्य बदलीको अवस्था देखाएको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कोशी, मधेश, बागमती, गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।

  • ओखलढुंगामा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

    ओखलढुंगामा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

    काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

    प्रहरी इन्सपेक्टर दासका अनुसार सोही घरका अर्का एक सदस्य १० वर्षीय दिनेश गुरुङ बेपत्ता छन् । उनको खोजी जारी छ । पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए । प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएरातिदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालित छन् ।

  • गोरखामा जिप दुर्घटना, ५ जनाको मृत्यु

    गोरखामा जिप दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

    मृतकको पहिचान खुल्न बाँकी छ ।’ बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘त्यो गाडीमा १८–१९ जना थिए भन्ने खुलेको छ ।’

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् । कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

  • मेयरको दावि : काठमाडौंमा जाम हुने समय ५ मिनेट घट्यो

    मेयरको दावि : काठमाडौंमा जाम हुने समय ५ मिनेट घट्यो

    काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार भएको दाबी काठमाडौं महानगरपालिकाले गरेको छ । मेयर बालेन शाहले काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै विगतको तुलनामा जाममा बस्नुपर्ने समय ५ मिनेट छोटिएको दाबी गरेका छन् ।

    आर्थिक वर्ष २०७९\८० को रिपोर्ट कार्ड प्रस्तुत गर्दै उनले यसलाई महानगरको उपलब्धि मानेका छन् । १ लाख ८० हजार ७५६ वर्गफिट कालोपत्रे सडकबाट पार्किङ हटाइएको, १६ हजार ७५७ वटा अनधिकृत पार्किङ गरिएको सवारी नियन्त्रणमा लिइएको, २३१ वटा वर्कसपलाई कारबाही गरिएको, १ हजार २० ठाउँको सडक अतिक्रमण हटाउने कार्यलाई मेयर शाहले महानगरको उपलब्धि मानेका छन् ।

    जथाभावी फोहोर फाल्ने २९३ जनालाई कारवाही गरिएको, २७० ठाउँमा आगलागी नियन्त्रण गरिएको, १६ हजार ५७० वटा अनधिकृत संरचना हटाइएको, १८ हजार ९८३ होर्डिङ बोर्ड हटाउने कार्यलाई पनि उनले आफ्नो उपलब्धि मानेका छन् । ८५ हजार ५३८ वर्गफिट अन्य प्रयोजनमा भएको भूमिगत क्षेत्रलाई पार्किङमा रुपान्तरण गरेको दाबी पनि मेयर शाहले गरेका छन् ।

  • वेस्ट इण्डिजसँग नेपालको सम्मानजनक उपस्थिति, तर ठूलो हार

    वेस्ट इण्डिजसँग नेपालको सम्मानजनक उपस्थिति, तर ठूलो हार

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध नेपाल फराकिलो अन्तरले पारजित भएको छ । यद्दपी ब्याटमा पुरै पारी टिक्दै नेपालले शाहसिक प्रदर्शन भने गरेको छ । वेस्ट इण्डिज दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट्र टोली हो । नेपाल वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भएको हो ।

    जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो । २८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ६८ रनको साझेदारी गरे । गुल्सन ४२ रन बनाएर आउट भए । आरिफ ६३ रन बनाउँदै आउट भए ।

    ओपनर कुशल भुर्तेल ५ रनमा र तेस्रो क्रममा आएका भीम सार्की २ रनमा आउट भएपछि अर्का ओपनर ब्याटर आसिफ शेख र कप्तान रोहित पौडेलले नेपाली इनिङस केही सम्हालिन खोजेका थिए । तर कुशल ३६ बल खेल्दै ३ चौका सहित २८ रनमा आउट भए । कप्तान रोहित पौडेलले ४३ बलमा ३ चौका सहित ३० रन जोडे । सातौं ब्याटर दिपेन्द्र सिंह ऐरी क्रिजमा आक्रमक देखिए । उनले २४।६ ओभरमा एकेल होसिनको बलमा लामो छक्का प्रहार गर्दै मिडिया बक्सको सिसा फुटाएका थिए । तर उनी पनि २३ रनमा आउट भए ।

    नेपालको ८ विकेट गुमेपछि ब्याटिङमा आएका करण केसीले १ छक्का र ४ चौकासहित नट आउट २८ रन बनाए पनि हारको अन्तर १०० भन्दा कम बनाउन सकेनन् । अन्तिम नम्बरमा ब्याटिङमा आएका ललित पहिलो बलमै डक आउट भए । सन्दीप लामिछानेले १ तथा कुशल मल्लले २ रन बनाए ।

    त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले । बिहानी विकेट कन्डिसनमा ब्याटिङका लागि संघर्षरत वेष्ट इण्डियन ब्याटरहरुले मध्य ओभरमा शानदार प्रदर्शन गरेका थिए । सुरुवातमै शीर्षक्रमका तीन ब्याटरलाई सस्तैमा आउट गर्न सफल रहे पनि त्यसपछि नेपाली बलरहरु विकेटका लागि संघर्ष गरिरहे । नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच आउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

    करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए । पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे । गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चार्ल्सले खाता खोल्नै सकेनन् ।

    १५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किंग आउट भएका थिए । ३२ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे । त्यसपछि सुरु भयो वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरनको ब्याटिङ । यी दुवैले शतकीय पारी खेल्दा चौथो विकेटका लागि २१६ रनको साझेदारीसमेत गरे ।

    ४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले कट एण्ड बोल्ड गर्नुअघि दुईपल्ट जीवनदान पाएका पुरने ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे । ४७.१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई गुल्सन झाबाट क्याच आउट गराए । पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए । ४९.२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रनमा भीम सार्कीबाट क्याचआउट गराए । होपले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

    इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे । जेसन होल्डर १६ रनमा अविजित रहे । बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए । ललितले १० ओभरमा ५२ रन खर्चिए । सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए । अघिल्लो खेलमा अमेरिकाविरुद्ध प्लेयर अफ द म्याच बनेका करण यसपल्ट महंगो सावित भए । उनले १० ओभरमा १ मेडन राख्दै ८१ रन खर्चिए ।

    प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।

  • नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

    नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

    काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐनसम्बन्धी विवादमा यसअघि एकल इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज गरेको छ।

    नागरिकता ऐनसम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश निरन्तरता नहुने आदेश गरेको हो।

    सर्वोच्चको यो आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन कार्यान्वयनको बाटो खुलेको छ ।

    यसअघिको अल्पकालीन अन्तरिम आदेशले रोकिएको थियो। यो खारेज भएसँगै जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण गर्न पाउने छन्।

    सर्वोच्चको यो आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले वंशजकोआधारमा नागरिकता पाउन बाटो खुलेको छ ।

    गत वर्ष तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्डमा राखेकी थिइन् ।

    तर उक्त विधेयक १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।

  • झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले बढ्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २७६ कम्पनीको ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालिञ्चोक दर्शन लिमिटेड, बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, सिटी होटल्स, हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटल्सको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । आज यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज २९ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

  • ‘देशको सार्वभौमिकतामा म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’

    ‘देशको सार्वभौमिकतामा म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने निर्णयविरूद्ध दिएको अन्तरिम आदेश नमान्ने बताएका छन् ।

    अदालतको आदेश आएको केहीबेरमा उनले सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका हुन्। मेयर शाह लेख्छन् , “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।

    फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।”

  • बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

    बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

    काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

    पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले उनलाई स्वागत गरेका हुन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

    बैंकर शाह गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले निकट देखिएका थिए। उनी एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिए।

    प्रतिनिधि सभा निर्वाचनपछि रास्वपसँग निकट देखिएका बैंकर शाह बिहीबार औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन्।

  • आज तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

    आज तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

    काठमाडौं । आज कोशी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसोको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान विभागको छ । यी प्रदेशका केही ठाउँमा दिउँसो हल्कादेखि मध्यम तथा राति भने ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ । आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ ।

    अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको छ । पश्चिमी क्षेत्रमा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको पनि असर रहेकाले आज हल्का वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

  • नक्कली नागरिकता बनाउन सहयोग गरेका पूर्व गोर्खा सैनिक पक्राउ

    नक्कली नागरिकता बनाउन सहयोग गरेका पूर्व गोर्खा सैनिक पक्राउ

    काठमाडौं । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ । बेलायत पठाउन बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो ।

    मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै नागरिकता बनाइदिएको प्रहरीको आरोप छ । बेलायतमा बसोबास गर्न पठाउन भन्दै पैसा लिएर नागरिकता बनाइदिएको प्रहरीको दाबी छ ।

    मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले हालसम्मको अनुसन्धानमा तीन जनालाई नागरिकता बनाएको देखिएको बताए । उनका अनुसार वृद्धका आफ्नै सन्तान भने दुई जना मात्रै छन् । तीन जना पुरुषलाई बेलायत बसोबासका लागि पठाउनका लागि बुबा बनेर नागरिकता बनाइदिएको देखिएपछि म्याद थप गरी अनुसन्धान भइरहेको दाहालले बताए ।

  • पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान

    पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो ।

    यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डल रहेको थियो । यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किएको हो । १ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।

  • हवाई भाडा घट्यो, कुन गन्तब्यमा कति ?

    हवाई भाडा घट्यो, कुन गन्तब्यमा कति ?

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ । प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ । निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको थियो । निगमले हवाई इन्धनको मूल्य ६।३ प्रतिशतले घटाएको हो ।

    प्राधिकरणका अनुसार हवाई भाडामा प्रतिसिट प्रतिमिनेट ७९.७९ रुपैयाँका दरले ‘फ्यूल सरचार्ज’ लाग्ने गर्छ । सोही अनुसार काठमाडौंबाट धनगढी उड्दा इन्धन खर्च मात्र ६ हजार ६२५ कायम हुन्छ । काठमाडौं–धनगढीको उडान अवधि ८३.०९ मिनेट मानिएको छ । नयाँ दर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा ३४०, भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १२५, पोखरामा १६०, नेपालगन्जमा ३२५, भैरहवामा २१० रुपैयाँ भाडा कम लाग्ने छ ।

  • खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने मेयर बालेनको घोषणा

    खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने मेयर बालेनको घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्दे, खाल्डाखुल्डी रहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका हुन्। यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरे ।

  • काठमाडौंमा प्लास्टिकका फूलका गुच्छा बेच्न नपाइने

    काठमाडौंमा प्लास्टिकका फूलका गुच्छा बेच्न नपाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकामा प्लास्टिकका फूलका गुच्छा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन शाहले यस्तो घोषणा गरेका हुन्। आगामी साउन १ गतेदेखि प्लास्टिकका फूलगुच्छा र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने मेयर साहले बताए। उनले भने, “प्लास्टिकको फूलगुच्छा बिक्री वितरण र आयातका साथै ४० माइक्रोन भन्दा पातला प्लास्टिकको झोलालाई प्रयोगमा प्रतिबन्ध लगाईनेछ।”

  • मेयर बालेनको शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा

    मेयर बालेनको शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् ।

    उनले बुधबार वक्तव्य जारी गर्दै मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको बताएकी छन् । उनलाई बालेनले मेयर भएलगत्तै सल्लाहकार नियुक्त गरेका थिए ।

    आफ्नो मर्म र भावनाविपरीतका शैक्षिक निर्णयहरु भएको भन्दै राजीनामा दिएकी अर्यालले कुन कुन निर्णय र के के कदमबारेमा आफ्नो विमति हो त्यसबारे केही खुलाएकी छैनन् ।

    पछिल्लो समया संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्तवृत्तिमा कडाइ गरेका बालेनले १३ हजार विद्यार्थीहरुलाई छात्तवृत्तिमा अटाएका थिए । हालै भृकुटीमण्डपमा भएको एक शैक्षिक मेलासमेत बालेनले बन्द गराएका थिए ।

    कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी र सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भएकी थिइन् ।

  • १५ सय भन्दा धेरै सरकारी वेवसाइट जब एकै पटक डाउन भए…

    १५ सय भन्दा धेरै सरकारी वेवसाइट जब एकै पटक डाउन भए…

    काठमाडौं । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा मंगलबार करिब १५ सय बेवसाइट एकै पटक डाउन भएका छन् । यसले हवाई उडानदेखि अन्य अत्यावश्यक सेवा प्रभावित बनेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको हो ।

    यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा भने क्षति नपुगेको बताइएको छ । मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको थियो । विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठुलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो।

    प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा दुई वटा इनकमर फिडरमार्फत विद्युत् आपूर्ति गरिएको छ। ती फिडरबाट २२.५ एमएका ट्रान्सफर्मरबाट सात सात वटा फिडर बनाइएको छ। तीमध्ये राष्ट्रिय केन्द्रमा पठाइएको फिडरमै आगलागी भएपछि केन्द्रमा विद्युत् आपूर्ति हुन सकेको थिएन। फिडर २ मार्फत वैकल्पिक आपूर्ति व्यवस्थापन गरेको थियो। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राति १० देखि विद्युत् सेवा सुचारु गराएपछि सेवा चलेको हो ।

  • साफ फुटबल : आज नेपालले बलियो कुवेतको सामना गर्दै

    साफ फुटबल : आज नेपालले बलियो कुवेतको सामना गर्दै

    काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फूटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण आजबाट भारतमा सुरु हुँदैछ । बेंगलुरुस्थित कान्तरभा स्टेडियममा बुधबार नेपालले बलियो टोली कुवेतको सामना गर्न लागेको हो । कुवेत प्रतियोगिताको पाहुना टोलीका रुपमा साफमा खेल्न लागेको हो ।

    पहिलो पटक साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हालेका इटालियन युवा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको वास्तविक परीक्षा समेत आज हुँदैछ । ए डिभिजन लिग सकिएलगत्तै मैत्रीपूर्ण खेल खेल्न फिलिपिन्स पुगेको नेपालले एक हार बेहोरेको थियो । ३८ वर्षीय इटालियन नागरिक भिनसेन्चो नेपालको प्रशिक्षक छन् ।

    मध्यपूर्वी राष्ट्र कुवेत पछिल्लो समय नेपालको लागि परिचित प्रतिद्वन्द्वी जस्तै बनिसकेको छ । २०१९ यता नै नेपालले कुवेतसँग पाँच खेल खेलिसकेको छ । तर नेपालले अन्तर्राष्ट्रिय फुटबलमा कुवेतलाई हराएको छैन । नेपालले अहिलेसम्म कुवेतविरुद्ध ९ खेल खेल्दा एक खेल मात्र बराबरी गरेको छ भने ८ खेलमा पराजित भएको छ ।

    २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो । त्यही नै अहिलेसम्मको राम्रो नतिजा हो । पछिल्लो पटक २०२२ मा भएको एसिया कप छनोटमा नेपाल कुवेतसँग ४–१ ले पराजित भएको थियो । उक्त खेलमा नेपालका लागि दर्शन गुरुङले गोल गरेका थिए । तर उनी अहिले अष्ट्रेलियामा छन् ।

  • पोखरा विमानस्थलमा पहिलो पटक विदेशी व्यवसायिक जहाज बस्दै

    पोखरा विमानस्थलमा पहिलो पटक विदेशी व्यवसायिक जहाज बस्दै

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाजले उडान तथा अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । यो चार्टर्ड जहाज हो ।

    जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित १३० जना यात्रु रहने पर्यटन मन्त्रालयले जनाएको छ । जहाज ११ बजे काठमाडौं आउने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएको हो । यहाँ हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको भएपनि पहिलो पटक ठूलो जहाज यात्रुसहित जान लागेको हो ।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । मनसुनजन्य विपदबाट प्रभावित कोशी प्रदेशमा आज राति ठूलो पानी पर्ने अनुमान गरिएको छ । मनसुन भित्रिएदेखि कोशी प्रदेशका पहाडी जिल्लामा लगातारजसो पानी परिरहेको छ । आज पनि बिहान र दिउँसो हल्का तर राति भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुको भनाई छ । बाढी, पहिरो प्रभावित ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत पहाडी जिल्लामा राति ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

    ठूलो पानी पर्ने सम्भावना रहेकाले यी जिल्लामा फेरि पनि बाढी पहिरोको खतरा रहेको मौसमविद्ले बताएका छन् । आज राति नै गण्डकी प्रदेश र मधेस प्रदेशका पूर्वी क्षेत्रमा पनि ठूलो वर्षाको अनुमान गरिको छ । खोला, नदी आसपास र भिरालो जमिनमा बसोबास गर्नेलाई विशेष सचेत हुन मौसमविद्को आग्रह छ । अन्य प्रदेशमा भने हल्का पानी पर्ने अनुमान गरिएको छ ।

  • आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा, झण्डा आधा झुकाइने

    आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा, झण्डा आधा झुकाइने

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।

    गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ । चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • सुदूरपश्चिम प्रदेशका कानून मन्त्रीको सडक दुर्घटनामा निधन

    सुदूरपश्चिम प्रदेशका कानून मन्त्रीको सडक दुर्घटनामा निधन

    काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

    दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ‍‍‍‍सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए । मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

  • बझाङमा कार दुर्घटनाः मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

    बझाङमा कार दुर्घटनाः मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

    काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती र भाउजुको मृत्यु भएको छ।

    दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

    बाँकी घाइतेहरुलाई हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ। मंगलबार दिउँसो २ बजेतिर सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो।

    डडेल्धुराबाट चैनपुर जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ।

  • ‘अखण्ड भारत’ को नक्साबारे बुझ्न दूतावासलाई निर्देशन

    ‘अखण्ड भारत’ को नक्साबारे बुझ्न दूतावासलाई निर्देशन

    काठमाडौं । नेपाल सरकारले भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नयाँ नक्साबारेमा बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

    परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्य तथ्य जानकारी लिन दूतावासलाई निर्देशन भइसकेको जानकारी दिएका हुन्

    । भारतले नेपाली केही भू-भागसमेत समेटेर नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राखेपछि नेपालमा यसको चर्को विरोध भइरहेको छ ।

  • विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता

    विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता

    काठमाडौं । विपद्का घटनाहरुबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए । त्यस्तै ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्णरुपमा क्षति भएको उनले जनाए ।

    यही असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको गृहमन्त्री श्रेष्ठले जनाए ।

    ‘असार २ गते रातिदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपद्का घटनाहरुबाट देशको पूर्वी भूभागका संखुवासभा, ताप्लेजुङ र पाँचथर लगायतका जिल्लामा केही व्यक्तिहरुको मृत्यु हुनुका साथै केही घाइते र बेपत्ता भएका छन्,’ उनले भने, ‘विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु, ६ जना घाइते, २६ जना बेपत्ता छन् भने ५४ घर पूर्णरुपमा क्षति भएको जानकारी प्राप्त भएको छ । विवरण आउने क्रम अझै जारी छ ।’

    उनले भने, ‘यस वर्ष नेपालमा मिति २०८० जेठ ३१ गतेबाट मनसुन प्रवेश गरेको छ। यसको असर नेपालको पूर्वी पहाडी जिल्लाहरुमा संखुवासभा, ताप्लेजुङ, पाँचथरमा बढी देखिएको छ।

    असार २ गते रातिदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपद्का घटनाहरुबाट देशको पूर्वी भूभागका संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा केही व्यक्तिहरुको मृत्यु हुनुका साथै केही घाइते र बेपत्ता भएका छन्।

    उनले भने, ‘विपद् पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम मृतकको परिवारमा एकजनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। घरवास क्षति भएकालाई तत्काल गुजाराको लागि प्रति परिवार १५ देखि २० हजार उपलब्ध गराउने व्यवस्था मापदण्ड अनुसार मिलाइएको छ। तत्काल खोज, उद्दार तथा राहत सम्बन्धी अन्य व्यवस्था मापदण्ड बमोजिम भइरहेको छ।’

  • तीन प्रदेशमा आज वर्षा

    तीन प्रदेशमा आज वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको बताएको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताइएको छ। अहिले कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ।

    संखुवासभाको नुम स्टेसनमा भारी वर्षा मापन गरिएको छ। कोसी जलाधारभित्र पर्ने त्यस स्थानमा २४ घन्टाभित्र ३८१.२ मिलिमिटर वर्षा मापन गरिएको छ। दिउँसोपख कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा पनि आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने बताइएको छ।

    कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी , मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको प्रक्षेपण गरिएको छ।

  • पूर्वी नेपालमा बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कोशी सरकारले १ लाख राहत दिने

    पूर्वी नेपालमा बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कोशी सरकारले १ लाख राहत दिने

    काठमाडौं । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । प्रदेश सरकारले घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने निर्णय पनि गरेको छ ।

    शनिबार राति कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर र संखुवासभामा आएको बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले नामकरणको विपक्षमा आन्दोलरत पक्षसँग वार्ता गर्न गठित समितिको प्रशासनिक र व्यवस्थापकीय खर्च दिने निर्णय गरेको छ । कोशी सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग सोमबार नै पहिलो चरणको वार्ता गरेको थियो ।