Category: समाचार

  • महाकाली नदीमा जलसतह बढ्दै, जोखिमपूर्ण रहने

    महाकाली नदीमा जलसतह बढ्दै, जोखिमपूर्ण रहने

    काठमाडौं । महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ। बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको छ।

    जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ। महाकालीमा आज दिनभर जसलसतह सतर्कता तहमै रहने महाशाखाले जानकारी दिएको छ। कमला नदीका साना सहायक नदीमा बहाव बढ्ने तथा केहिमा आकस्मिक बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

  • नारायणगढ–मुग्लिन सडक खण्डमा बिहानैबाटै अवरोध, अहिले सूचारु

    नारायणगढ–मुग्लिन सडक खण्डमा बिहानैबाटै अवरोध, अहिले सूचारु

    काठमाडौं । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका–७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

    सडकको पहिरो पन्छाएर बिहान ९ः५५ बजेदेखि सडक पुनः दुईतर्फी नै सञ्चालन गरिएको छ । बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनः अवरुद्ध भएको थियो ।

  • रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमारमा नजान सरकारको आग्रह

    रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमारमा नजान सरकारको आग्रह

    काठमाडौं । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । खासगरी थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।

    मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बझ्न पनि भनेको छ ।

    ‘आफैंले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेवसाइट, टेलिफोन र इलमेलमार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नक्कली रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुठा आश्वसनमा नपर्न नेपाली नागरिकहरुलाई अनुरोध गरिन्छ

  • सिंगापुरमा एक महिलालाई दिइयो मृत्युदण्ड

    सिंगापुरमा एक महिलालाई दिइयो मृत्युदण्ड

    काठमाडौं । सिङ्गापुरमा ३० ग्राम लागुपदार्थ हिरोइनको तस्करी गरेको अभियोगमा एक महिलालाई मृत्युदण्ड दिइएको छ । ३० ग्राम हिरोइनसहित सन् २०१८ मा पक्राउ परेकी ४५ वर्षकी सारिदेबी जमानीलाई आज मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । सिङ्गापुरमा बितेको २० वर्षपछि पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिइएको हो । सिङ्गापुरमा बितेको तीन दिनमा दोस्रो व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ ।

    ५० ग्राम हिरोइन तस्करी गरेको अभियोगमा यही हप्ता मोहम्मद अजिल बिललाई पनि मृत्युदण्ड दिएको थियो । सिङ्गापुरमा बितेको १५ महिनामा १५ जनाले मृत्युदण्डको सजाय पाएका बीबीसीले जनाएको छ । सिङ्गापुरमा पाँच सय ग्राम गाँजा वा १५ ग्राम हिरोइनसहित पक्राउ परेका व्यक्तिलाई मृत्युदण्डको सजाय दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।

  • दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला

    दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला

    काठमाडौं । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला परेका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा हिजो बिहीबार मृत भेटिएका हुन्।।

    जाजरकोट जिल्ला खलङ्गा गाउँपालिका–६ का बाँठाको रूम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डिएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निजको पार्थिव शरीर पोर्टमर्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ।

  • काठमाडौंको चन्द्रागिरीमा कार दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौंको चन्द्रागिरीमा कार दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि ४ को पानीघाटमाथि गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    गाडी के कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तलको अर्को सडकमा खसेर कच्याककुचुक भएको छ ।

  • वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत

    वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत

    काठमाडौं । वैदेशिक रोजगारीका लागि असम्बिन्धत व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात युरोपियन श्रम गन्तब्य मुलुकमा रोजगारी दिने बाहनामा लाखौं ठगी भइरहेको खबर सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो ।

    यसबारे सूक्ष्म अध्ययन समेत भइरहेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जान नेपाल सरकारले खुला गरेको मुलुकमा कानुनतः तीन प्रकारले मात्र जान सकिने भन्दै सो भन्दा अतिरिक्त प्रक्रियाबाट जान खोज्दा हुने जोखिमतर्फ मन्त्रालयले सचेत गराएको हो । जीटूजी सम्झौता, वैदेशिक रोजगार विभागमा दर्ता भई अध्यावधिक भएको इजाजत प्राप्त संस्था व्यक्तिगत श्रम स्वीकृति लिएर यी मुलुकमा जान सकिन्छ ।

    इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलव, सेवा सुविधा, आवश्यक सीप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क र फ्री भिसा फ्री टिकेटको प्रावधानबारे संस्थामा आफैं उपस्थित भएर जानकारी लिन वा वैदेशिक रोजगार विभागबाट यकिन गर्न समेत मन्त्रालयले सचेत गराएको छ ।

    अनाधिकृत व्यक्ति वा संस्थाले सञ्चारमाध्य तथा सामाजिक सञ्जालमा राखेको सूचनामा विश्वास नगर्न भन्दै मन्त्रालयले सूचित गरेको छ । ठगि नियन्त्रण गर्न प्रहरी, रोजगार कार्यालय, मन्त्रालयमा खबर गर्न समेत मन्त्रालयले सरोकारवालासँग आग्रह गरेको छ ।

  • प्लाष्टिक निषेध अभियानमा कडाई गर्दै महानगरपालिका

    प्लाष्टिक निषेध अभियानमा कडाई गर्दै महानगरपालिका

    काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिक निषेध अभियानलाई कडाइ गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमा ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, प्लास्टिकका फूल तथा सजावटका सामग्री प्रयोग गर्न नपाइने घोषणा गरेको थियो ।

    सोही अनुसार काठमाडौं महानगरपालिकाले अनुगमनमा कडाइ गर्न लागेको हो । बजेटमा महानगरपालिकाले ‘४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध’ गर्ने उल्लेख गरेको छ ।

    काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्लास्टिकको अनुगमन गर्न टोली परिचालन गर्ने बताएका छन् । ‘हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौं,’ मेयर शाहले भनेका छन्, ‘प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ ।’

    महानगरका अनुसार अनुगमन टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्नेछ । ‘पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्ने छ भने प्लास्टिकका फूल, प्लास्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन,’ अनुमगन टोलीलाई दिएको निर्देशनमा भनिएको छ । महानगरपालिकाका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लास्टिक झोलाको प्रयोग हुने अनुमान छ ।

  • अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी

    अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे ‘शीलत’ विरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।

    अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

    त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ। तामाङ मगर समूदायले आफूहरुको संस्कृतिलाई अपमानित गरेको भन्दै पाण्डेको आलोचना गरिरहेका छन् ।

  • राष्ट्रपतिबाट मिटरब्याजीलाई कारबाही गर्ने विधेयक प्रमाणीकरण

    राष्ट्रपतिबाट मिटरब्याजीलाई कारबाही गर्ने विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेका छन् ।

    संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

    संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विधेयक प्रतिनिधिसभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले बिहीबार सर्वसम्मतीले पुनः पारित गरेको थियो । त्यसपछि राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए।

    विधेयकमा कम रकम दिई बढीको लिखत बनाउने, रकम नै नदिई लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा चलअचल सम्पत्ति हडप्नेहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ ।

  • कोशी प्रदेशमा नयाँ सरकार बनाउन ५ दिनको समय

    कोशी प्रदेशमा नयाँ सरकार बनाउन ५ दिनको समय

    काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ।

    सर्वोच्च अदालतको बिहीबारको आदेशअनुसार असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि आह्वान गरेका हुन्।

    ‘प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न साउन १६ गते मंगलबार साँझ ५ बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

    प्रदेश प्रमुखको कार्यालयले उद्धव थापा नेतृत्वको तत्कालीन सरकारबारे सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, त्यही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा यो निर्णय लिइएको जनाएको छ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । अहिले नेपालमा मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थान र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    राति बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेश सहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • प्रधानमन्त्री आज स्वदेश फर्किदै

    प्रधानमन्त्री आज स्वदेश फर्किदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किने भएका छन् । इटलीको ४ दिने भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन्। उनी कतार एअरलाइन्सको विमानमार्फत विहान १० बजे त्रिभुवन विमानस्थल अवरण गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्ड युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन साउन ६ गते साँझ इटली गएका थिए।

    त्यहाँ उनले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए। रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

    संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो। भेटका क्रममा उनीहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो ।

    प्रधानमन्त्री प्रचण्डसँगै कृषिमन्त्री बेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी पनि आज स्वदेश फर्कने छन्। विमानस्थल अवतरण भएपछि प्रधानमन्त्रीले पत्रकारहरूसँग साक्षात्कार गर्ने कार्यक्रम छ।

  • फिफा विश्वकप प्रारम्भिक छनोटमा नेपाल र लाओस भिड्ने

    फिफा विश्वकप प्रारम्भिक छनोटमा नेपाल र लाओस भिड्ने

    काठमाडौं । फिफा विश्वकप२०२६ को प्रारम्भिक छनोट चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ । एसिया कप–२०२७ को पनि छनोट रहेको यो खेलको ‘ड्र’ बिहीबार निकालिएको हो । नेपाल र लाओसबीच छनोटको पहिलो लेग अक्टोबर १२ मा हुनेछ भने दोस्रो लेग त्यही महिनाको १७ मा हुनेछ ।

    नेपालसँगै प्रारम्भिक चरणमा २० टिम रहेका छन् । ‘ड्र’ अनुसार अन्य खेलमा अफगानिस्तानले मंगोलिया, माल्दिभ्सले बंगलादेश, सिंगापुरले ग्वाम, यमनले श्रीलंका, म्यानमारले मकाउ, कम्बोडियाले पाकिस्तान, चिनियाँ ताइपेईले टिमोर लिस्टे, इन्डोनेसियाले ब्रुनाई तथा हङकङले भुटानको सामना गर्नेछ ।

  • प्रचण्डले गरे इटालीमा स्टुडियो ओलम्पिकको रोमाको भ्रमण

    प्रचण्डले गरे इटालीमा स्टुडियो ओलम्पिकको रोमाको भ्रमण

    काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिकको रोमा’को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेको बताइएको छ ।

    रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालक क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरे । उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरे ।

    प्रधानमन्त्री प्रचण्डलाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए । उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए ।

  • अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै माथि पुर्यायो

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएर २२ वर्षयताकै माथि पुर्यायो

    काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि पनि ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ । यसपटक फेडले २५ आधार अंक ९० दशमलव २५ प्रतिशत विन्दु०ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुर्‍याएको छ । अमेरिकामा मूल्यवृद्धि आकाशिन थालेपछि २०२२ को सुरुवातदेखि नै फेडले ब्याजदर बढाउन थालेको हो । त्यसयता एघारौं पटकको ब्याजदर बढाएर फेडले ५ दशमलव ५ प्रतिशत पुर्‍याएको हो । फेडले सेप्टेम्बरमा थप ब्याजदर बढाउनक्ने संकेत गरेको बीबीसीले जनाएको छ ।


    फेडले ब्याजदर बढाएसँगै यो २००१ यताकै उच्च पुगेको हो । मुद्रास्फीति नियन्त्रणमा नआएसम्म ब्याजदर बढ्नसक्ने फेडका अध्यक्ष जेरोमी पावेलले बताए । जुन महिनामा अमेरिकामा मुद्रास्फीति ३ प्रतिशत थियो । फेडरल रिजर्भले यसलाई २ प्रतिशतभन्दा तल राख्ने लक्ष्य राखेको छ । गत वर्ष अमेरिकामा मुल्य वृद्धिको दर ९ प्रतिशतभन्दा माथि पुगेको थियो । मुद्रास्फीति नघटेमा आगामी महिना अझै ब्याजदर बढ्नसक्ने र त्यसो गर्नुअघि अन्य तथ्यांकहरु हेर्नुपर्ने उनले बताए ।

    फेडले कोभिड(१९ पछि करिब शून्यको नजिक रहेको ब्याजदर बढाएर न्यून लागतको ऋण सापटीलाई अन्त्य गरेको थियो । यसले जनतालाई घर, व्यवसाय विस्तार र अन्य गतिविधिका लागि लिने कर्जालाई महँगो बनाएको छ । बढ्दो ब्याजदरले ऋणको माग घटाउने र बचतलाई प्रोत्साहन गर्ने अपेक्षा फेडको छ । ब्याजदर वृद्धिका बाबजुद पनि अमेरिकाको अर्थतन्त्रको प्रदर्शन अपेक्षा गरेभन्दा राम्रो रहेको जनाइएको छ । ‘विशेष गरी श्रम बजारमा रोजगारी थपिने क्रम जारी छ र ज्याला बढिरहेको छ,’ बीबीसीले उल्लेख गरेको छ ।

    युरोप र जापानका केन्द्रीय बैंकले पनि ब्याजदर सम्बन्धी निर्णय गर्न बैठक गर्दैछन् । त्यसअघि फेडले ब्याजदर बढाउन निर्णय गरेको हो । बेलायतको ‘बैंक अफ इंग्ल्याण्ड’को आगामी ३ अगस्टमा बस्ने बैठकले ब्याजदर थप बढाउन सक्ने अनुमान गरिएको पनि बीबीसीले जनाएको छ ।

  • कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर

    कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर

    काठमाडौं । सर्वोच्च अदातलले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति बदर गरिदिएको छ।
    न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो ।

    प्रदेश सभाका सभामुखले पनि मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कुरा असंवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ।

    कोशी प्रदेश सरकार निर्माणमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर असंवैधानिक रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन भएको भन्दै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।

  • तोकिएको समयभित्रै करतिरे ३० प्रतिशतसम्म छुट

    तोकिएको समयभित्रै करतिरे ३० प्रतिशतसम्म छुट

    काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जनाएको छ ।

    महानगरले तीर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ ।

    यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर सम्वत् २०८० पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट सुविधा रहेको सूचनामार्फत जनाइएको छ ।

    व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने जनाइएको छ ।

  • बागमती प्रदेशमा गाडी भाडा घट्यो

    बागमती प्रदेशमा गाडी भाडा घट्यो

    काठमाडौं । बागमती प्रेदश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ। साउन ९ गतेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहिबारबाट लागु हुने गरी भाडा समायोजन गरेको हो।

    काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । पहिले पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो ।

    यस्तै, उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्नेछ । पहिलो १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो ।

    १५ किलोमिटरसम्म यात्रा गर्दा पहिला ३० रुपैयाँ रहेकोमा अहिले २९ रुपैयाँ तोकिएको छ । यस्तै, २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ तय गरिएको छ ।

    २० किलोमिटरभन्दा लामो दूरीको भाडा पहिले ३८ रुपैयाँ रहेकोमा अहिले ३७ रुपैयाँ तोकिएको छ ।

    यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

    विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पछिल्लो समय नेपाल आयल निगमले समेत मूल्य समायोजन गर्दै आइरहेको छ ।

    पछिल्लो पटक निगमले १५ दिनको अवधिमै पेट्रोलियम पदार्थको मूल्य दुई पटक समायोजन गरिसकेको छ । यस्तै, निगमले अबदेखि स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा समेत गरिसकेको छ ।

  • पूर्णिमा श्रेष्ठले गरिन् विश्वकै दोस्रो अग्लो केटू हिमालको सफल आरोहण

    पूर्णिमा श्रेष्ठले गरिन् विश्वकै दोस्रो अग्लो केटू हिमालको सफल आरोहण

    काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी छन्।

    उनले बिहीबार मध्यान्ह सगरमाथापछिको विश्वकै दोस्रो अग्लो ८६११ मिटर हिमालको सफल आरोहण गर्न सफल भएको जानकारी दिएकी छन्।

    यो आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल हो । पूर्णिमाले आफ्नो सफल आरोहणका लागि सहयोगी र शुभेच्छुकलाई धन्यवाद पनि दिएकी छन्। पूर्णिमा एटके एक्सपिडिसन्सबाट अन्य सहयोगीसहित माउन्ट के-टु चढ्न पाकिस्तान पुगेकी थिइन्।

    यस अघि उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। उनी ८ हजार ६११ मिटर उचाइको के–टुको आरोहणका लागि गत जेठ २४ गते पाकिस्तान गएकी थिइन्।

    उनी इस्लामाबाद हुँदै विश्वको दोस्रो सर्वोच्च हिमाल के–टु चढ्न पुगेकी थिइन्। के–टु आरोहणका लागि जोखिमयुक्त भएकाले किलर माउन्टेनको उपमा दिइएको छ।

    २०७४ मा मनास्लुको सफल आरोहण गरेकी उनी २०७५ मा सगरमाथाको शिखरमा पुगिन्।

    त्यसपछि अन्नपूर्ण र धौलागिरि आरोहण गरिन्। उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि भइन्

  • १ लाख घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ

    १ लाख घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ

    काठमाडौं ।  सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले केहीबेर अघि नियन्त्रणमा लिएको छ । 

    आयोगको टोलीले प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सिंहलाई नियन्त्रणमा लिएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    उनका अनुसार, सिंहले कुख्रेखोलाको ढल सफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापनको सहजीकरण गरेवापत सेवाग्राहीबाट सो रकम लिएको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । सिंहलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट नियन्त्रणमा लिइएको हो 

  • भारतीय प्रधानमन्त्री मोदी विरुद्ध किन आयो अविश्वासको प्रस्ताव ?

    भारतीय प्रधानमन्त्री मोदी विरुद्ध किन आयो अविश्वासको प्रस्ताव ?

    काठमाडौं । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधका माझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्‌मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ।

    कंग्रेस पार्टीका एकजना सांसदले अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएका हुन्। विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे बोल्न बाध्य पार्न यसो गरिएको बताएका छन्।

    उनीहरूले उक्त राज्यमा देखिएको जातीय द्वन्द्वबारे प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन्।

    गृहमन्त्री अमित शाहले लोकसभामा यसै साता बोल्दै सरकार मणिपुरका विषयमा छलफल गर्न तयार रहेको भए पनि विपक्षीले त्यसमा अवरोध पुर्‍याइरहेको बताएका थिए।

    मे महिनायता मणिपुरमा भएका हिंसात्मक घटनाहरूमा कम्तीमा १३० जनाको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएका छन्।

    त्यहाँ बहुसङ्ख्यक मैतेई र अल्पसङ्ख्यक कुकी समुदायबीच द्वन्द्व भइरहेको छ।

    अघिल्लो हप्ता दुईजना महिलालाई भिडले निर्वस्त्र पारेर हिँड्न लगाएको एउटा भिडिओ सार्वजनिक भएपछि त्यसले विश्वव्यापी आक्रोश र निन्दा निम्त्याएको थियो।

    त्यसले प्रधानमन्त्रीलाई मोदीलाई मौनता तोड्नुपर्ने अवस्था निम्त्याएको थियो। उनले उक्त घटनाले भारतलाई ‘लज्जित तुल्याएको’ भन्दै आक्रमणकारीहरूलाई नछाडिने बताएका थिए।

    सन् २०१४ मा सत्तामा आएयता मोदीले अविश्वासको प्रस्तावको सामना गर्नुपरेको यो दोस्रो घटना हो।

    सन् २०१८ मा एकजना सांसदले मणिपुरलाई विशेष हैसियत दिनुपर्ने माग गर्दै प्रस्ताव दर्ता गराएका थिए। १२ घण्टाको बहसपछि त्यो विफल भएको थियो।

    भारतमा संसद्‌को तल्लो सदन लोकसभामा अविश्वासको प्रस्ताव दर्ता गर्न सकिन्छ। तर कम्तीमा ५० जना सांसदको समर्थन भए मात्रै त्यसलाई स्वीकार गरिन्छ।

    स्वीकार गरिएको अवस्थामा सभामुखले १० दिनभित्र मतदानको मिति तोक्ने छन्।

    यदि सरकार बहुमत कायम गर्न विफल भएमा उसले राजीनामा दिनुपर्ने हुन्छ।

    बुधवार कंग्रेस र भारत राष्ट्र समितिका सांसदहरूले दुईवटा प्रस्ताव अघि बढाएका थिए। तीमध्ये पहिलो स्वीकार गरिएको थियो।

    सभामुख ओम बिरलाले आफूले सबै दलका नेताहरूसँग छलफल गरेपछि बहसको मिति तोक्ने बताएका छन्।

    मोदीको भारतीय जनता पार्टीले मतदानमा पराजित हुने भनेर चिन्ता लिने छैन। उक्त दल र उसका साझेदारसँग ५४३ सदस्यीय लोकसभामा स्पष्ट बहुमत छ।

    तर प्रधानमन्त्रीले आफ्नो सरकारको बचाउ गर्नुपर्ने हुन्छ जुन विपक्षीको उद्देश्य हो।

    “हामी जानकार छौँ कि सङ्ख्या हाम्रो पक्षमा छैन” एकजना विपक्षी सांसद मनोज के झाले भने। “तर यो सङ्ख्यासँग जोडिएको छैन, प्रधानमन्त्रीले अविश्वासको प्रस्तावपछि सदनमा बोल्नुपर्ने हुन्छ।”

    कांग्रेस नेता मनिकराम टैगोरले ‘अन्तिम अस्त्र भएकाले विपक्षीहरू अविश्वासको प्रस्ताव ल्याउन’ बाध्य भएको बताए

  • अर्थमन्त्रीको सचिवहरुलाई निर्देशन : समयसीमा अनुसार बजेट कार्यान्वयन गर्नुहोस

    अर्थमन्त्रीको सचिवहरुलाई निर्देशन : समयसीमा अनुसार बजेट कार्यान्वयन गर्नुहोस

    काठमाडौं । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा.प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिएका छन् । देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा बोलाएर सामूहिक छलफल गरेका हुन् ।

    छलफलमा मन्त्री डा. महतले डिपिआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रक्रियामा जाने गरी काम गर्न मन्त्री डा. महतले सचिवलाई निर्देशन दिए । उनले डिपिआरको मात्र बजेट माग्ने अथवा प्राथमिकताको आयोजना हो भने डिपिआर गरेर कार्तिकसम्म ठेक्का लगाउन सकिन्छ भने मात्र आयोजना अगाडि बढाउन निर्देशन दिए । उनले भने, ‘कार्तिकभित्र ठेक्का लगाउनुपर्छ ।’

    ‘कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न सकेको छैन । ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थमन्त्रालयमा आउनुपर्छ । एक महिनाभित्र आएको बिल अर्थमन्त्रालयले १५ दिनभित्रमा पास गरेर पठाउने छ’ मन्त्री डा. महतले भने, ‘अब असारमा खर्च हुँदैन ।’

    काम भइसकेर दायित्व सिर्जना भएको छ भने भुक्तानी पाउनुपर्छ । उनीहरूको पनि समस्या छ, त्यसलाई हामीले नजरअन्दाज गर्न हुँदैन । बजेट शीर्षक भएको दायित्वलाई प्राथमिकतामा राखेर भुक्तानी गर्नुपर्छ । बजेट शीर्षक नभएको तर दायित्व सिर्जना भएको छ भने त्यसमा विचार गर्न मन्त्री डा. महतले सचिवहरूलाई सुझाव दिए ।
    मन्त्री डा. महतले धेरै ठुलो आवश्यकताको बीचमा सीमित स्रोतमा काम गर्दैछौं भन्ने हामीले बुझेका छौँ, त्यसकारण जति चाह्यो, त्यत्ति बजेट दिन सकिँदैन । हाम्रो आवश्यकता र श्रोतका बीचमा ठुलो खाडल छ । त्यसैले श्रोत सुनिश्चितता नभएको आयोजना अगाडि नबढाउन मन्त्रालयका सचिवहरूलाई अर्थमन्त्री डा. महतले निर्देशन दिए ।

  • रेडी ट्रेडर्सको गोदाममा छापा, ६६ कार्टुन ब्रेक शु बरामद

    रेडी ट्रेडर्सको गोदाममा छापा, ६६ कार्टुन ब्रेक शु बरामद

    काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागको टोलीले बुधबार काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो ।

    त्यसक्रममा कम्तीमा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद भएको बताइएको छ । बरामद सामग्रीमा सुन भए नभएको विषयमा परीक्षण हुन बाँकी रहेको विभागले जनाएको छ । सोह्रखुट्टेस्थित उक्त गोदाममा हङकङबाट आउने सुन भण्डारण हुने गरेको पाइएको अधिकारीहरु बताउँछन् ।

    विभागले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा चिनियाँ नागरिक जीक्वाङ लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनको बालुवाटारस्थित गोदाममा ४ साउनमा विभागले छापा मारेको थियो । उनलाई गोदाम खोजिदिन सहयोग गरेको आरोपमा विभागले बुधबार नक्सालबाट नरेश भनिने सुरेन्द्र तामाङलाई पनि पक्राउ गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्विन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।

  • कांग्रेस केन्द्रिय समितिको बैठक असोज २ मा बोलाइयो

    कांग्रेस केन्द्रिय समितिको बैठक असोज २ मा बोलाइयो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने गरी बोलाएका छन् । विधानतः कांग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एकपटक बस्नुपर्दछ । साउन २ मा बोलाइएको बैठक एकवर्ष पछि बसेको थियो ।

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकको पहिलो दिन प्रस्तुत गरेको प्रतिवेदनमा विधान अनुसार बैठक बस्न नसकेको बताएका थिए । विधानलाई कार्यान्वयन गर्ने गरि देउवाले असोज २ गते अर्को बैठक बस्ने सार्वजनिक रुपमा भनेका छन् । बैठक अन्त्य गर्दै अर्को मिति देउवाले घोषणा गरेका हुन् ।

  • कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

    कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

    काठमाडौं । प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन् ।

    बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले सुन प्रकरण छानबिन गर्न राजीनामा दिनुपर्ने बताए।

    ‘भरियालाई जेलभित्र हाल्ने, मुख्य नाइके नसमाउने?,’ उनले भने, ‘मुख्य नाइके सरकारले समाएन भने म संसदमै अनसन बस्छु।’

    ‘उनले भने उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपथ्र्यो, समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपथ्र्यो’ उनले भने, ‘होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’

  • माडीकाे घाँघर खोला तर्दै गरेको बस बाढीमा डुब्यो, चालकसहित यात्रु सकुशल

    माडीकाे घाँघर खोला तर्दै गरेको बस बाढीमा डुब्यो, चालकसहित यात्रु सकुशल

    चितवन । चितवनकाे माडी नगरपालिका-८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो ।

    ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै सकुशल छन् ।

    माडी क्षेत्रमा गएरातिदेखि नै ठूलो पानी परेको थियो । खोलाको बाढी अहिले भने घट्दै गएको छ । माडी–ठोरी हुलाकी सडकअन्तर्गत पर्ने घाँघर खोलामा पुल निर्माणको काम सुरु भए पनि सकिएको छैन । पुलका तीनवटा स्पान मात्रै ढलान भएका छन् । बाँकी काम अधुरै छ ।

  • सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले संसद्‍मा दर्ता गरायो प्रस्ताव, एमालेले अवरोध गरे साथ नदिने

    सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले संसद्‍मा दर्ता गरायो प्रस्ताव, एमालेले अवरोध गरे साथ नदिने


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदहरूले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्।

    रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन् । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने यो प्रकरणमा गैरजिम्मेवारीको हद नाघेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। रास्वपाले फरक बाटो अपनाएको हो । एमालेले राजीनामा मागे पनि रास्वपाले त्यसलाई साथ नदिएर सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो।

  • सीतापाइलामा बसभित्र लगेर १३ वर्षीया बालिका बलात्कार

    सीतापाइलामा बसभित्र लगेर १३ वर्षीया बालिका बलात्कार

    काठमाडौं । सीतापाइलामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिकालाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    महर्जनले ती बालिकालाई सितापाइलामा पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

    सोही उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले महर्जनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटना गत असार ३० गते भएको थियो। बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले महर्जनलाई पक्राउ गरेको हो।

    प्रहरीले उनीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

  • नेपालमा विकास, समृद्धि र सुशासनको नयाँ अभियान सुरु भएको छ : प्रधानमन्त्री

    नेपालमा विकास, समृद्धि र सुशासनको नयाँ अभियान सुरु भएको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताए ।

    आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताए ।


    जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताए । “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ”, प्रधानमन्त्री दाहालले भने, “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।”

    नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए । “शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो”, उनले भने ।

    प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ”, उनले भने ।