Category: समाचार

  • १ असारदेखि दुई महिना नयाँ सडक खन्न नपाइने

    १ असारदेखि दुई महिना नयाँ सडक खन्न नपाइने

    काठमाडौं । सरकारले असार १ गतेदेखि दुई महिनाका लागि सडक खन्न रोक लगाएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

    असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ । यदि कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । यो कार्यमा सबैको सहयोगको अपेक्षा पनि राखेको विभागले जनाएको छ ।

  • अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई पक्राउ

    अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई पक्राउ

    काठमाडौं । अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीं)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका–१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको हो।

    टिकाथलीमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। त्यसपछि प्रहरीले उक्त स्थानमा निगरानी गर्न थालेको थियो। लामो समय निगरानी गरेपछि उनीहरूले अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्नेगरेको खुलेको एसपी थापाले बताए। ‘उनीहरूबाट ठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरू बरामद गरेका छौं,ʼ उनले भने। यस्तै उनीहरूबाट विभिन्न विदेशी मुलुकका मुद्राहरू पनि बरामद भएका छन्।

    उनीहरूबाट ४ लाख ८० हजार रुपैयाँ, एक हजार ९२५ अमेरिकी डलर, २५ लाख २५ हजार इन्डोनेसियन रुपिया, एक लाख १४ हजार ७७० श्रीलंकन रूपी, १० हजार ५०० आइसल्यान्डिक क्रोन, ५ सय चाइनिज येन, २ लाख ६० हजार म्यानमार क्याट बरामद भएको हो। दूरसंचार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।

  • हरेक आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने, कम्तीमा १० वर्ष लाग्ने

    हरेक आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने, कम्तीमा १० वर्ष लाग्ने

    काठमाडौं । ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घण्टाभन्दा बढी हिँड्न नपर्ने हुने भएको छ । सरकारको हाल एक घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएको हो ।

    दुर्गम क्षेत्रका नागरिकलाई आवागमनमा समस्या हुने भएपछि गोरेटो बाटोबाट एक घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य नहोस् भनेर आधा घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति बनाउन लागिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

    कम्तीमा एक किमीको दूरी कायम गर्दा हालको लक्ष्य हासिल भए पनि आधा घण्टा कायम हुँदा देशभरमा माग बढ्ने विभागका उपमहानिर्देशक अशोककुमार साहले बताए। स्थानीय तहबाट माग भएअनुसार सरकार आफैँले वा स्थानीय तहमार्फत पुल निर्माण गरिने उनले बताए।

    ‘पुल बनाउँदा समन्वय हुनुपर्छ । नयाँ रणनीति अनुसार झोलुङ्गे पुल सम्पन्न गर्नलाई अबको १०/१५ वर्ष लाग्नसक्छ,’ उपमहानिर्देशक साहले भने।

    उनका अनुसार पहिले एउटा पुल वा झोलुङ्गे पुलबाट अर्कोमा जानका लागि कम्तीमा एक घण्टाको दूरी राखिएको थियो । अब बन्न लागेको रणनीति पास भएर कार्यान्वयनमा जाँदा पुलको सङ्ख्या बढ्ने उपमहानिर्देशक साहले बताए ।

    उनले भने, ‘अहिले एउटा खोलामा १० पुल छन् भने नयाँ रणनीति अनुसार १४ हुनसक्छ । अहिलेसम्म यातायातको प्रयोजनका लागि मात्रै पुल बनाइने गरेकामा अब पर्यटन वा अरु प्रयोजनका लागि बनाइने छ ।’

    विगतमा ठाउँठाउँमा रहेका तुईन हटाइएको उपमहानिर्देशक साहले बताए । सरकारले अहिले दुर्गम पहाडी जिल्लालाई प्राथमिकता दिएर पुल निर्माण गरिरहेको उनले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले सशर्त अनुदानमा पैसा दिएपछि गाउँपालिकाले झोलुङ्गे पुल बनाउने गरेको छ ।

    लम्बाइका आधारमा छोटा पुल स्थानीय तहले, मध्यम लम्बाइका पुल प्रदेश सरकारले निर्माण गरिरहेका छन् । सङ्घीय सरकारले लम्बाइका आधारमा लामा र नयाँ प्रविधिका झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । उपमहानिर्देशक साहका अनुसार सबै झोलुङ्गे पुलका लागि आवश्यक लठ्ठा भने विभागले नै उपलब्ध गराउँदै आएको छ ।

    सरकारले चालु आर्थिक वर्षमा झण्डै ६०० पुल सम्पन्न गर्ने भएको छ भने आगामी वर्ष ६०० पुल निर्माण लागि बजेट विनियोजन गरेको छ । हलसम्म देशभरमा १० हजार पुल निर्माण भएको विभागले जनाएको छ ।

  • अर्को वर्ष स्वासमा पनि कर लगाउनु हुन्छ, कति मोल लिनुहुन्छ ?

    अर्को वर्ष स्वासमा पनि कर लगाउनु हुन्छ, कति मोल लिनुहुन्छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै श्रेष्ठले गरिबलाई झन गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकीर गरिन् । ‘अब त अर्को वर्ष तपाईंले सासमा पनि कर लगाउनु हुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसाबले रोकिएको छ,’ श्रेष्ठले भनिन्, ‘जनताको लागि अब हामी रोक्छौँ । यस्तो गरिबहरुलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन । यसको विरोध गर्छौं ।’

  • काठमाडौं महानगरको निर्देशन-‘एसईईको नतिजा नआएसम्म भर्नासम्बन्धी प्रक्रिया नथाल्नू’

    काठमाडौं महानगरको निर्देशन-‘एसईईको नतिजा नआएसम्म भर्नासम्बन्धी प्रक्रिया नथाल्नू’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा) १० को नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन परिपत्र गरेको छ।

    महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयलाई परिपत्र जारी गर्दै कक्षा ११ मा भर्नासम्बन्धी कुनै पनि क्रियाकलाप नगर्न/नगराउन अनुरोध गरेको हो।

    शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशित गरेको भन्ने उजुरीका सम्बन्धमा काठमाडौं शिक्षा विभागको ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त कार्य नगर्न परिपत्र गरिएको छ।

    कतिपय कलेजहरुले कक्षा ११ को भर्नाका लागि विभिन्न कार्यक्रमहरु राखेर विज्ञापन गर्न थालेका छन् । राष्ट्रिय परीक्षा बोर्डले असारको पहिलो साता एसईईको नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको जनाएको छ ।

  • बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत

    बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

    बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहलाई जेठ २९ देखि ३२ गतेसम्म बेल्जियममा हुने विश्वका महानगरपालिकाहरूको सम्मेलनमा सहभागी हुन स्वीकृति प्रदान गरेको हो ।

    काठमाडौं महानगरपालिकाका मेयर शाह ब्रसेल्समा हुने मेट्रोपोलिस वर्ल्ड कंग्रेस र ब्रसेल्स अर्बन समिट-२०२३ मा सहभागी हुन बेल्जियम जाने कार्यक्रम रहेको छ ।

  • युक्रेनको निप्रो नदीमा बनाइएको विशाल बाँध भत्कियो, कैयौं मानिस प्रभावित

    युक्रेनको निप्रो नदीमा बनाइएको विशाल बाँध भत्कियो, कैयौं मानिस प्रभावित

    काठमाडौं । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किएको छ । यसबाट हजारौं मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्तिमा पनि ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ । निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ ।

    ८० हजार मानिसलाई त सुरक्षित स्थानमा सारिएको छ । यसले खेरसन सहरमा गम्भीर संकटको स्थिति ल्याउन सक्ने युक्रेनका अधिकारीहरुले बताएका छन् । बाढी र डुबानबाट प्रभावितहरुलाई खेरसानसँग जोडिएको मिकोलाइब भन्ने स्थानमा अस्थायी शिविर बनाएर राखिएको छ । प्रभावितहरुका लागि खाना, कपडा र औषधिको व्यवस्था गर्ने काम भइरहेको छ ।


    युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बाँध भत्किनुमा रुसलाई दोष दिएका छन् । जानीजानी बाँधमा बम आक्रमण गरेर भत्काइदिएको रुसमाथि आरोप छ । रुसले आफूमाथि लगाइएको आरोपको खण्डन गरेको छ र युक्रेनकै गोलीबारीका कारण बाँध भत्किएको भनेको छ । यो बाँध भएको क्षेत्र रुसले नियन्त्रणमा लिएको थियो । यो दक्षिणी युक्रेनका भूभागको तटीय क्षेत्रमा पानी आपूर्तिको महत्वपूर्ण च्यानल मानिन्छ ।

    यसबाट किसानहरुलाई सिँचाइ तथा खानेपानीको सुविधा पुर्याइएको थियो । जोपोरिचास्थित आणविक ऊर्जा संयन्त्रमा पनि पानी आपूर्ति पुर्याइएको थियो । निप्रो नदीबाट विभिन्न जलविद्युत आयोजनाबाट बिजुली निकालिएको छ । बाँध भत्किएपछि ती जलविद्युत आयोजनामा पनि पानी घटेर बिजुली उत्पादन प्रभावित हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

    bbc

  • असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न प्रधानमन्त्रीको आह्वान

    असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गरेका छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त आह्वान गरेका हुन् । नागरिकको जीवन रक्षाका लागि खाद्य स्वच्छताको सुनिश्चितता हुनु जरुरी भएको भन्दै उनले भनेका छन्, ‘म देशका सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरुमा सधैं असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गर्दछु ।’

    अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उपभोगले आम जनसमुदायको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा खाद्य वस्तुको उत्पादन, उपभोग तथा बजारीकरणमा स्वच्छता र गुणस्तर कायम राख्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । साथै नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार, खाद्य प्रणालीमाथिको सहज एवम् सुलभ पहुँच र स्वास्थ्य रक्षालाई आफूले सधैं उच्च प्राथमिकतामा राखेको उनले बताएका छन् ।

    खाद्य प्रशोधन उद्योगमा सधैं असल गुणस्तरयुक्त उत्पादन अभ्यास अवलम्बन गर्दै प्रभावकारी नियमन एवम् स्वीकृत मापदण्डहरुको कार्यान्वयनमा ध्यान दिन पनि प्रधानमन्त्री प्रचण्डले विशेष आग्रह गरेका छन् । हरेक वर्ष ७ जुनका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले वर्ष २०२३ को लागि ‘खाद्य स्वच्छताले जीवन बचाउँछ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । नेपालमा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नारासहित जेठ १८ गतेदेखि २४ गतेसम्म साताव्यापी रुपमा यो दिवस मनाइँदै छ ।

  • ए डिभिजनमा डेब्यू गरेकै वर्ष चर्च ब्वाइज बन्यो च्याम्पियन

    ए डिभिजनमा डेब्यू गरेकै वर्ष चर्च ब्वाइज बन्यो च्याम्पियन

    काठमाडौं । चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै डेब्यु सिजनमै मंगलबार सहिद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ । चर्च ब्वाइज नेपाली माथिल्लो डिभिजनको उपाधि जित्ने १६ औं टिम भएको छ । उसले वर्ष २०११ सालदेखि सुरु भएको प्रतियोगिताको ४४ औं संस्करण जितेको हो ।

    दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग निरश गोलरहित बराबरी खेल्यो । दुवै टिमले गोलका लागि प्रयास गरेनन् र स्पष्ट गोलको अवसर सिर्जना गर्न सकेनन् । लिग उपाधि जित्नका लागि उसलाई थ्रीस्टारविरुद्धको खेलमा एकै अंकमात्र आवश्यक थियो । यो नतिजापछि ४५ अंक भयो ।


    दोस्रो स्थानमा रहेको मछिन्द्रको ३९ अंक छ र उसका दुई खेल बाँकी छन् । यी दुवै खेलमा मछिन्द्र विजयी रहे पनि उसको ४५ अंक हुनेछ र चर्च ब्वाइजसँग बराबरी गर्नेछ । हेड टु हेडको आधारमा चर्च ब्वाइज शीर्षमा रहनेछ । यी दुई टिमको पहिलो खेल गोलरहित बराबरीमा टुंगेको थियो भने दोस्रो खेलमा चर्च ब्वाइज २–१ ले विजयी रहेको थियो ।

    यससँगै दुई पल्टको डिफेन्डिङ मछिन्द्र उपाधि रक्षा गर्न असफल रह्यो । चर्च ब्वाइजले भने क्लब स्थापनाको १४ वर्षपछि नेपाली फुटबलको माथिल्लो डिभिजनको उपाधि जितेको हो । चर्च ब्वाइजले वर्ष ०७७ सी डिभिजनको छनोट पार गरेको थियो । त्यही वर्ष उसले सी डिभिजन पनि जित्यो ।

    वर्ष ०७८ मा चर्च ब्वाइजले बी डिभिजन जित्न सफल रह्यो । मनाङ मर्स्याङ्दीपछि चर्च ब्वाइजले सी देखि ए डिभिजन जित्ने पहिलो टिम भएको छ । मनाङले यसअघि ०४३ मा पहिलो पल्ट लिग जित्न अगाडि डी देखि बी डिभिजन लगातार जितेको थियो । बराबरीले तीन पल्टको च्याम्पियन थ्रीस्टार भने २९ अंक भएको छ र उसमाथि रेलिगेसन दबाब कायम रहनेछ ।

  • सीटीईभीटीका उच्च तहका कर्मचारीसहित सुनकोशीमा खसेको जिप फेला, दुई जनाको शव भेटियो

    सीटीईभीटीका उच्च तहका कर्मचारीसहित सुनकोशीमा खसेको जिप फेला, दुई जनाको शव भेटियो

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

    त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्स्पेक्टर सुवास थापाको कमान्डमा रहेको गोताखोर सहितको टोलीले खोजिरहेको थियो । तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भँगालोलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो । त्यसपछि गाडीसँगै २ वटा शव फेला परेको जानकारी आएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।


    भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार गाडी सुनकोशीमा खसेको थियो । चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए । भेटिएका दुई शव सहसचिव र विद्युत प्राविधिकको रहेको सनाखत भएको छ ।

  • एमालेमा हट्यो ७० वर्षे उमेर हदम्याद

    एमालेमा हट्यो ७० वर्षे उमेर हदम्याद

    काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो । तत्काललाई यो व्यवस्था खारेज भएको एमालेका पदाधिकारीलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् ।

    ७० वर्षे उमेर हद हटाउनुपर्ने प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेका थिए । अध्यक्ष केपी शर्मा ओली आफैंले यो व्यवस्था तत्काललाई निलम्बन गर्ने निर्णय लिएसँगै ७० वर्षे उमेर हद हटेको हो । एमालेले २०६५ सालको आठौं महाधिवेशनले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था गर्ने निर्णय गरेको थियो । यो व्यवस्था व्यवहारतः २०५९ सालको सातौं महाधिवेशनबाटै सुरु भइसकेको थियो ।

    त्यसबेला घनश्याम भूसाल, योगेश भट्टराई, अरुण नेपाल, ठाकुर गैरे, विजय पौडेल, प्रकाश ज्वाला जस्ता युवा नेताहरुले उमेर हदको व्यवस्था पार्टीमा हुनुपर्ने प्रस्ताव ल्याएका थिए । तर सातौं महाधिवेशनबाटै यो व्यवस्था कार्यान्वयन गर्दा साहना प्रधान केन्द्रीय कमिटीमा नसमेटिने देखिएपछि औपचारिक निर्णय गरेको थिएन ।

  • १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास, ५ जना पक्राउ

    १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास, ५ जना पक्राउ

    काठमाडौं । दाङमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ परेकामध्ये २ जना १६ वर्ष मुनिका नाबालक छन्। बाँकी ३ जनामा दाङको गढवा गाउँपालिका–६ बस्ने १८ वर्षीय दिसान अहमद, गढवा–५ का २० वर्षीय सोहोल भनिने सहले खान र कपिलवस्तुको शिवराज नगरपालिका–११ मैतहवा घर भइ गढवा–६ बस्ने ३० वर्षीय जावेद भनिने जादिब अलि नाउ छन्।

  • कोशीबाट बाहिरियो माओवादी, कार्की नेतृत्वको सरकार अल्पमतमा

    कोशीबाट बाहिरियो माओवादी, कार्की नेतृत्वको सरकार अल्पमतमा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कोशी प्रदेश सरकार अल्पमतमा परेको छ ।

    समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । गएको पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले)का कार्कीलाई अब आफ्नो दलका ४० र राप्रपाका ६ गरी ४६ सांसदको मात्र साथ छ ।

    यसअघि, जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादीसहितको सरकार बनाउँदा कार्कीले ९३ मध्ये ६० सांसदको समर्थन प्राप्त गरेका थिए ।

  • अर्थमन्त्रीको स्पष्टीकरण-‘आर्थिक विधेयक टाइप गर्न नासुलाई ल्याएको हो’


    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि अवकाशप्राप्त नासुलाई राखिएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा। महतले यस्तो बताएका हुन् ।

    स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे । करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको उनले बताए ।

    उनले त्यहाँ रामकृष्ण श्रेष्ठलाई आफू आउनुभन्दा अगाडि नै नियुक्ति गरिएको स्पष्ट पारे ।

  • एप्पलको ‘भिजन प्रो रियालिटी हेडसेट’, मूल्य ४ लाखभन्दा बढी

    एप्पलको ‘भिजन प्रो रियालिटी हेडसेट’, मूल्य ४ लाखभन्दा बढी

    एजेन्सी । एप्पलले बहुप्रतिक्षित मानिएको ‘रियालिटी हेडसेट – एप्पल भिजन प्रो’ सार्वजनिक गरेको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले नयाँ हेडसेट वास्तविक संसार र भर्चुअल संसारको मिश्रण रहेको बताएका छन्।

    कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टमसँगै म्याकबुक एयरमा नयाँ अपडेटकोसमेत घोषणा गरेको छ।

    रियालिटी हेडसेटको मूल्य ३ हजार ४९९ अमेरिकी डलर (करिब ४ लाख ६१ हजार नेपाली रुपैयाँ) रहेको छ। दुई घण्टा ब्याटरी लाइन रहने यो हेडसेट अमेरिकामा अर्को वर्षसम्ममा ‘लन्च’ हुनेछ।

    एप्पलको यो हेडसेटको मूल्य बजारमा उपलब्ध अन्य भर्चुअल रियालिटी हेडसेटभन्दा महँगो हो। गत हप्ता मेटाले ४९९ डलर (करिब ६५ हजार नेपाली रुपैयाँ) पर्ने ‘द क्वेस्ट हेडसेट’ घोषणा गरेको थियो।

    एप्पलको भिजन प्रो बजारमा भएका यस्तै अन्य हेडसेटभन्दा केही भिन्न छ । झट्ट हेर्दा यो भर्चुअल रियालिटी हेडसेटभन्दा स्किइङ गगल्स जस्तो देखिन्छ ।

    एप्पलले यो नयाँ डिभाइसको विवरण दिँदै ‘अगमेन्टेड रियालिटी’ शब्दावलीको प्रयोग गरेको छ ।

    अगमेन्टेड रियालिटी अर्थात् संवर्धित वास्तविकता एउटा यस्तो प्रविधि हो जसमा हाम्रो आसपासको दुनियाँमा भर्चुअल चिज राख्ने गरिन्छ । यस्तो अवस्थामा स्क्रिनबाट हेर्दा मिश्रित वास्तविकता देखिन्छ, जसमा वास्तविक चीजहरू बाहेक भर्चुअल चीजहरू पनि छन् ।

    प्रयोगकर्ताहरूले भर्चुअल संसारमा चलचित्रहरू हेर्न, एपहरू प्रयोग गर्न वा दस्ताबेज लेख्न सक्छन् । तर अहिलेसम्म यस्तो प्रविधिको लागि कुनै ठुलो बजारको उपलब्धताको कुनै प्रमाण छैन ।

    म्याकरुमर्जका सिनियर एडिटर हार्टले शाल्ट्रनले यो नयाँ हेडसेटले जनतालाई आफूतिर तान्न सक्छ भन्ने कुरामा अनिश्चितता व्यक्त गरेका छन् ।

    उनी भन्छन्, ‘यसले साधारण उपभोक्तालाई आफूतिर खासै आकर्षित गर्ने छैन किनभने यसको मूल्य असाध्यै धेरै छ र यो फर्स्ट जेनेरेसन डिभाइस हो जसको आफ्नै कमी पनि हुनेछ जस्तै कि यसको ब्याट्री प्याक छुट्टै तारमा जोडिएको छ ।’

    उनले थपेका छन्, ‘एप्पलले सधैँ आफ्नो डिभाइसका लागि ‘आशङ्कालाई गलत साबित गरिदिएको छ’ र यो कम्पनीको इतिहास के छ भने यसले आफ्नो उपकरणतर्फ मानिसलाई जसरी पनि आकर्षित गर्छ र यसका उपकरण हेर्नका लागि आफ्नो पैसा खर्च गरिदिन्छन् ।’

    टिम कुकले यो उपकरणबारे कुरा गर्दै भनेका छन् – यो हेडसेटले मानिसलाई डिजिटल कन्टेन्टलाई यसरी हेर्न, सुन्न र अन्तरक्रिया गर्ने यस्तो मौका दिन्छ कि यो उनीहरूको वास्तविक दुनियाँको हिस्सा हो । यो डिभाइसलाई हात, आँखा र आवाजमार्फत नियन्त्रित गर्न सकिन्छ ।

  • छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी ?

    छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त फितलो भएको टिप्पणी गरेका छन् । भारत भ्रमणका क्रममा पिएका रुपमा रहेकी छोरीलाई प्रचण्डले फर्स्ट लेडीका रुपमा प्रस्तुत गरेको भन्दै आलोचना गरे । परराष्ट्रमन्त्री कता छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, नेताहरु कता हुन्, छोरीलाई सँगै राख्नुभएको छ । पीए राख्नुभएको छ, मन्त्री र सचिव छैनन् । यस्तोमा परिवारको सदस्य राख्न मिल्दैन । फर्स्ट लेडी भनेको स्पाउस (श्रीमान÷श्रीमती) लाई भनिन्छ । अरु फेमिली मेम्बर हुन् । छोरा लगे फस्र्ट जेन्टलम्यान भन्ने त ? थुप्रैले स्पाउस लैजान्छन् महिला प्रधानमन्त्री भएको देशमा । छोरा लगेर स्पाउसको स्टाटस हुँदैन । परिवारका सदस्यलाई फर्स्ट लेडी भनिन्न ।

  • ‘ प्रधानमन्त्रीले भारतबाट ल्याएका १५ वटा राँगामात्रै हुन्’

    ‘ प्रधानमन्त्रीले भारतबाट ल्याएका १५ वटा राँगामात्रै हुन्’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् ।

    सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखाउन चिज नै नभएको दाबी गरेका हुन् ।

    ‘प्रधानमन्त्रीले साँच्चै ल्याएको १५ वटा राँगा हुन् । चढेर ल्याएर पनि डोहोर्‍याएर ल्याए पनि’ ओलीले भने, ‘अरु केही छैन । तर अरु ल्याएको भए प्रमाणित गर्नुपर्छ ? तर भन्न र देखाउनलाई केही छैन ।’

  • ‘बंगलादेश जाने बाटो सट्टापट्टाको विषय होइन’

    ‘बंगलादेश जाने बाटो सट्टापट्टाको विषय होइन’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसक्ने प्रष्ट्याएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न सक्ने अभिव्यक्ति दिएका थिए । त्यस विषयमा प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले भने, ‘बंगलादेश जाने बाटो वा पारबहानको सुविधा सट्टापट्टाको विषय होइन । यसमा कुनै सट्टापट्टाको विषय हुँदैन । बंगलादेश जानका लागि जमिन दिनुपर्छ भन्ने कुरा अन्तराष्ट्रिय प्रचलनमा नभएको आफ्नो राष्ट्रिय अधिकार भन्दा परको हो ।’

  • प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताएका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले सीमा विवाद अन्त्यका लागि सुगौली सन्धी बलियो प्रमाण रहेको बताए ।

    नेपालको जमिन साट्ने कुरा कानुन र संविधानविपरीत रहेको भन्दै उनले भारतीय फौज नेपाल भूमिमा आएर बस्दा बोल्न डराउन नहुने उनको भनाइ थियो ।

    प्रधानमन्त्री प्रचण्डको बंगलादेशसम्म जानका लागि नेपालको भूमि साट्ने भन्ने अभिव्यक्ति भिडियो रेकर्ड नै रहेको बताउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले नेपाली शिर ठाडो हुने गरी भारत भ्रमण नगरेको बताए । साथै प्रोटोकल पनि पूरा नभएको ओलीको भनाइ छ ।

  • एमालेलाई प्रधानमन्त्रीको प्रश्न- तपाईंले गर्दा ठिक हामीले गर्दा त्यही कुरा कसरी बेठिक ?

    एमालेलाई प्रधानमन्त्रीको प्रश्न- तपाईंले गर्दा ठिक हामीले गर्दा त्यही कुरा कसरी बेठिक ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयकको बचाउ गरेका छन् ।

    सदनमा नागरिकता विधेयकका विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यसअघि सहमतिमै भएका निर्णय कार्यान्वायन गर्ने क्रममा प्रतिपक्षीले अनावश्यक बखेडा झिकेको तर्क गरे ।
    उनले भने, ‘नागरिकताको विषयलाई ढंगले अनावश्यक रुपमा विवादित बनाउनु जनताले कसरी बुझ्ने र तपाई हामीले के गरी बुझ्ने भन्ने आयो । हामी सबै एकै ठाउँमा रहेछौ नी त । हामी सबै एकै ठाउँमा रछौं नी त ।’

    उनले यसअघि कै कुरा कार्यान्वायन गर्ने विषयलाई नउछाल्न उनको आग्रह छ । ‘जन्मसिद्ध नागरिकता पाएका आमा बाउका छोरा छोरी नागरिकता पाउनु पर्छ भन्ने कुरा र आमा बाउको कुरामा त हामी एकै ठाँउमा थियौं । एउटै गर्यौ । अहिले त्यही कुरा आउदाँ हामी किन दुई ठाउँमा हुन बल गरिरहेका छौ । त्यसो नगरौं ।’

    सरकारले निर्णय गर्ने, अदालतले रोक्ने प्रवृतिप्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्री प्रचण्डले अब अदालतको फैसला कुर्न र यसमा नअल्झिन प्रतिपक्षलाई अनुरोध गरे ।

  • ‘कालापानीको विकल्प खोज्न सकिन्छ भनेको छैन, विज्ञका सुझाव यस्ता छन् मात्र भनेको हुँ’

    ‘कालापानीको विकल्प खोज्न सकिन्छ भनेको छैन, विज्ञका सुझाव यस्ता छन् मात्र भनेको हुँ’

    काठमाडौं । प्रधानन्त्रधी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले ‘बंगलादेश मोडल’ अपनाउन सकिन्छ भनेर नबोलेको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा उनले विज्ञले यस्ता सुझाव पनि राखेका छन् मात्र भनेको भन्दै त्यसलाई नै अतिरञ्जित नबनाउन आग्रह गरे ।

    ‘कालापानीबारे मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेको छैन प्रष्ट होस्। मैले नेपालको भूमि नेपालकै हुनुपर्छ भनेको हो’, ‘केही बुद्धिजीवीहरुले सीमा समस्या समाधान गर्न बंगलादेशी मोडल अपनाउन सकिन्छ भनेका हुन्।

    प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको सट्टा भारतले बंगलादेशसम्मको बाटो नेपाललाई दिए हुने भन्दै धारणा राखेको भन्दै संसद्मा विरोध गरिएको थियो ।

    उनीहरुले बंगलादेश जाने बाटो पाउन सके कालापनी साट्न सकिन्छ भनेका हुन्। मैले त सीमा समस्या हल गर्नुको विकल्प नरहेको कुरा राखेको हुँ।’

    उनले कालापानीसँग पूर्वीनाका साट्ने कुरा आफ्नो नभइ विज्ञहरुको भएको बताए। प्रचण्डले विज्ञहरुबाट यस्ता विकल्प पनि आएका छन् भनेर राखेको कुरालाई अतिरञ्जित नगर्न पनि आग्रह गरे।

  • शून्यमा झर्‍यो नेपालमा कोरोना संक्रमण

    शून्यमा झर्‍यो नेपालमा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार ७६० वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो। आज एकजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १७ मा झरेको छ ।

  • तराई भेगमा बढ्न थाल्यो तातो हावा

    तराई भेगमा बढ्न थाल्यो तातो हावा

    काठमाडौं । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ।

    मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताउनुभयो। मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ।

    जलवायु विश्लेषक इन्दिरा कँडेलका अनुसार आगामी केही दिनसम्म तराईका धेरै जसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने छ। उहाँले तराईमा पाँच दिनसम्म तातो हावा चल्ने भएकाले सोबाट बच्ने उपाय अपनाउन सुझाव दिनुभयो। लू लाग्दा शरीर शिथिल हुँदै जाने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने आदि लक्षण देखापर्छ।

  • निर्णायक खेलमा आज नेपाल र मलेसिया भिड्दै

    निर्णायक खेलमा आज नेपाल र मलेसिया भिड्दै

    काठमाडौं । महिला टी–२० क्रिकेट शृङ्खलाको पाँचौँ तथा निर्णायक खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । शृङ्खला २–२ को बराबरीमा छ ।
    आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । खेल बिहान पौने ९ बजे बाङ्गीमा सुरु हुनेछ ।

    हिजो भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै, पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो ।

  • बुटवलमा सवारी दुर्घटना, २ जनाको मृत्यु

    बुटवलमा सवारी दुर्घटना, २ जनाको मृत्यु

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका १२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।
    बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गुल्मी मालिका गाउँपालिका ४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिएका छन् । दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बसका चालकलाई प्रहीले नियन्त्रणमा लिएको छ ।

  • भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८० पुग्यो

    भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८० पुग्यो

    काठमाडौं । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८० पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । बहनागा बाज़ार रेलवे स्टेशन हुँदै गइरहेको शालीमार-चेन्नई कोरोमंडल ट्रेनका १२ डिब्बा पटरीबाट निस्केका थिए । यी डब्बा छेउकै ट्र्याकमा गइरहेको हावड़ा एक्सप्रेस ट्रेन सँग ठोक्किन पुगे ।

    त्यसपछि हावड़ा एक्सप्रेस ट्रेनका पनि ३ डिब्बा पटरीबाट बाहिर आएका थिए । बहनागा बजार स्टेशनमा ४ वटा ट्रैक छन् । एक लूप ट्रेकमा मालगाड़ी रोकेर राखेको थियो । कोरोमंडल ट्रेनका डिब्बा पटरीबाट निस्केर मालगाडीमा ठोक्किएको भारतीय रेल्वेका वरिष्ठ अधिकारीको भनाइलाई उद्धृत गर्दै इण्डियन एक्स्प्रेसले लेखेको छ ।

    भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उहाँले बताउनुभएको छ ।

    यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । अहिले प्रधानमन्त्री मोदी घटनास्थलतर्फ गइरहनुभएको छ । दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

  • भारत भ्रमण पुरा गरी स्वदेश फर्किए प्रधानमन्त्री

    भारत भ्रमण पुरा गरी स्वदेश फर्किए प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । उनले आफ्नो भ्रमण परिणाममुखी भएको बताए । चार दिने भारत भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको बताए ।

    ‘भ्रमण विगतको भन्दा परिउणामुखी भएको छ, कामकाजी भएको छ, आर्थिक क्रियाकलाप र द्विपक्षीय सहयोगको क्षेत्रमा बढी केन्द्रित भएको छ’ उनले भने । भारत भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रुपमा पूरा भएको प्रचण्डले बताए । ‘यो भ्रमण जे भनेर गएको थिएँ, मूलभूत रुपमा सोचेको कुरा पूरा भएको छ, केही महत्वपूर्ण दूरगामी सहमति समझदारी भएका छन्’ प्रधानमन्त्री प्रचण्डले भने ।

    उनले दुई देशको राजनीतिक नेतृत्व तहमा विश्वासको वातावरण बनेको पनि बताए । ‘ पहिले विश्वासको संकटजस्तो देखिन्थ्यो । नेतृत्व लेभलमा विश्वासको वातावरण बन्यो’ प्रधानमन्त्री प्रचण्डले भने । ऊर्जा व्यापारमा लामो अवधिको सम्झौता हुनु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने कुरा गर्नु, पारवहन सम्झौता हुनु, रेलमार्ग, पुल निर्माण सुख्खा बन्दरगाह भारतले अनुदानमा बनाउन तयार हुनुजस्ता कुराले विश्वासको वातावरण बनेको उनको भनाइ छ ।

  • देशभरको गर्मी अझै केही दिन रहने

    देशभरको गर्मी अझै केही दिन रहने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ। मौसमविद्हरुका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्नेछ। हिजो काठमाडौ उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको थियो भने भैरहवा, सिमरा लगायका क्षेत्रहरूमा ४२ डिग्री तापक्रम मापन गरिएको थियो। गौरको अधिकतम तापक्रम झन्डै ४३ डिग्री मापन गरिएको थियो ।

    हिजो सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भएको थियो। आज पनि ती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायु कमजोर भएका कारण अन्य भूभागमा भने वर्षाको सम्भावना नरहेको बताइएको छ ।

    काठमाडौं उपत्यकामा दिउँसो केहीबेर मौसम बदली हुने सम्भावना रहेको छ। शुक्रबार दिउँसो पनि केहीबेर मौसम बदली भइ तापक्रम घटेको थियो। यसपालि मनसुन केही ढिला हुने देखिएको छ। सामान्यतया जुन १३ देखि नेपालमा मनसुन भित्रन्छ, तर यसपालि केही ढिला हुने सम्भावना छ।

  • स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु खुकुलो पारियो

    स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु खुकुलो पारियो

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए ।

    यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ को परीक्षण गरेको र कोभिड–१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड–१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए ।

    मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड–१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो ।

    मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ । मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।

  • प्रधानमन्त्री आज स्वदेश फर्कने

    प्रधानमन्त्री आज स्वदेश फर्कने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन् । दिल्लीबाट अपराह्न ४ः २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।

    भारत भ्रमणका क्रममा प्रधानमन्त्री स्तरीय भेटवार्तासहित केही सम्झौताहरू भएका छन् । प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरिसकेका छन् । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।