Category: समाचार

  • भारतमा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु

    भारतमा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु

    काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ ।

    साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन् । दुर्घटनामा परी करिब ९०० जना घाइते भएको बताइएको छ । भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

    यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्य शोकको घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

  • नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिष्टियन धर्म मान्ने कति ?

    नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिष्टियन धर्म मान्ने कति ?

    काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार कुल जनसंख्याको ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ ।

    उनीहरुमध्ये २ करोड ३६ लाख ७७ हजार ७४४ जनाले हिन्दु धर्म मान्ने गरेका छन् । २३ लाख ९३ हजार ५४९ जना अर्थात ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार यस्तो तथ्यांकहरु सार्वजनिक गरेको हो ।

  • रास्वपा सांसद गौतम विवाह बन्धनमा बाँधिइन्

    रास्वपा सांसद गौतम विवाह बन्धनमा बाँधिइन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।

    सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् ।

  • एमालेले तोक्यो प्रदेश इन्चार्ज

    एमालेले तोक्यो प्रदेश इन्चार्ज

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छ प्रदेशका इन्चार्जहरू तोकेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले छ प्रदेशका इन्चार्जहरू तोकेको हो । बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जको रूपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जको रूपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जको रूपमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जको रूपमा गोकर्ण विष्ट, मधेस प्रदेशको इन्चार्जको रूपमा योगेशकुमार भट्टराई र कोशी प्रदेश इन्चार्जको रूपमा रघुवीर महासेठलाई जिम्मेवारी दिएको हो ।

    बाग्मती प्रदेशको भने केन्द्रीय कार्यालयले नै विशेष कामको संयोजन गर्ने एमालेले जनाएको छ । त्यस्तै बैठकले पार्टीको केन्द्रीय सङ्गठन विभागको प्रमुखको रूपमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिएको र प्रचार तथा प्रकाशन विभागको संयोजकको रूपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

    बैठकले योजना र नीतिसँग जोडिएको विभागको नेतृत्व ईश्वर पोखरेल, पूर्वाधार निर्माण र विकाससँग जोडिएको विभागको नेतृत्व सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम रामबहादुर थापा, सामाजिक विकाससँग सम्बन्धित अष्टलक्ष्मी शाक्य, मानव स्रोतसँग सम्बन्धित विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग जोडिएको विभाग सुवासचन्द्र नेम्वाङ र सङ्गठन प्रशिक्षणसँग जोडिएको विभागको नेतृत्व विष्णुप्रसद पौडेलले गर्ने जिम्मेवारी तोकेको छ ।

    एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरेफेर गर्दै सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।

  • भारतीय दूतावास अगाडि राप्रपाका युवा–विद्यार्थीले जलाए अखण्ड भारतको नक्सा

    भारतीय दूतावास अगाडि राप्रपाका युवा–विद्यार्थीले जलाए अखण्ड भारतको नक्सा

    काठमाडौं । भारतको ‘अखण्ड भारत नक्सा’मा नेपालको भू–भाग समेटिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

    हालै भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारत नक्सामा नेपालको केही भू–भाग समेटिएको विरोधमा संगठनले काठमाडौंको लैनचौरस्थित दूतावासअगाडि प्रदर्शन गरेको हो ।

    प्रदर्शनका क्रममा उनीहरुले अखण्ड भारतको नक्सा जलाएका छन् । उनीहरुले भारतले पटक–पटक नेपालको भू–भाग मिच्दै आएको भन्दै भारतको उक्त कदमबिरुद्ध नाराबाजी गरेका थिए ।

    विरोध प्रदर्शनमा उत्रिएकाहरुले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरासमेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

    विरोध प्रदर्शनीमा ‘भारतीय विस्तारवाद–मर्दावाद’, ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो।

  • विपन्नलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

    विपन्नलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताए ।

    शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका हुन् ।

    उनले अस्पताल सञ्चालको स्वीकृति लिँदा दश प्रतिशत विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रावधान राखिएको भए पनि सो प्रावधान पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए । उनले अनुगमनका क्रममा अस्पतालहरुसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण पनि माग गरे । मन्त्री बस्नेतले अस्पताल सञ्चालनको स्वीकृति लिँदाको सम्झौता अनुरुप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन पनि दिए । उनले निःशुल्क उपचार दिने र नदिने अस्पताललाई सरकारले सोही अनुरुप हेर्ने पनि स्पष्ट पारे ।

    उनले अस्पतालमा शैय्या उपलब्ध छ÷छैन भन्ने पनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको भन्दै आगामी दिनमा बेड पाउनका लागि मन्त्री वा सांसदहरुले सिफारिस गर्नुपर्ने अवस्था तोड्ने बताए ।

    उनले अनुगमनका क्रममा अस्पताल प्रशासन, चिकित्सक, बहिरंग सेवामा भर्ना भएका बिरामी, आकस्मिक सेवामा भर्ना भएका बिरामीहरुलाई भेटी अस्पतालले दिएको सेवाको सम्बन्धमा जानकारी लिएका थिए । उनले अस्पताल अनुगमनको काम जारी राख्ने बताए ।

  • सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

    सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

    काठमाडौं । सुनकोशी नदीमा आज बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ ।

    भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीन जना अझै बेपत्ता छन् ।

    बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका-७ का घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भई हाल विद्युत् प्रशिक्षकका रूपमा कार्यरत भानु पौडेल छन् ।

    सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उहाँको हाल शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

    स्कार्पियो अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिए ।

  • इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डलाई सांस्कृति झाँकीले स्वागत

    इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डलाई सांस्कृति झाँकीले स्वागत

    काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुगेका छन्।

    इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे।

    विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन्।

    सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो । सडक उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए। विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए।

  • सुनकोशी नदीमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

    सुनकोशी नदीमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

    काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खसेको छ। गाडीमा सवार ३ जना बेपत्ता भएका छन्।

    घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।

    गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए। उनीहरुमध्ये गाडी चालक भने पौडिएर बाहिर निस्केको र निर्देशकसहित ३ जना बेपत्ता भएको एसपी सिलवालले जानकारी दिए।

    उनीहरु सरकारी गाडीमा खोटाङ जान हिँडेका बताइएको छ। अहिले उनीहरुको खोजी भइरहेको छ।

  • श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

    श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

    काठमाडौं । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २.५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्याङ्कले देखाएको छ । गत महिना मुद्रास्फीति घटेर २५.२ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएपछि ब्याज दरमा कटौती गरिएको हो । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति करिब १० प्रतिशतले घटेको देखिएको छ ।

    मौद्रिक बोर्डले मुद्रास्फीतिको कमी प्रक्षेपण गरेभन्दा छिटो कम भएकाले मौद्रिक अवस्थालाई सहज बनाउने निर्णयमा पुगेको जनाएको छ । जुलाई २०२० मा दरहरू एक प्रतिशत बिन्दुले घटाइएपछि यो पहिलो कटौती हो । आर्थिक सङ्कट बढ्दै गएपछि केन्द्रीय बैंकले सन् २०२२ को सुरुदेखि नै ब्याजदर बढाउन सुरु गरेको थियो र गत वर्षको अप्रिलमा सात प्रतिशत बिन्दुले वृद्धि गरेको थियो । आर्थिक रूपमा धराशायी बनेको एशियाली राष्ट्रले मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा सहयोग प्राप्त गरेको थियो र चार वर्षको अवधिमा कोभिड र राजनीतिक सङ्कटका कारण ऋणभार चुलिएको थियो ।

    केन्द्रीय बैङ्कले गत वर्ष ७.८ प्रतिशतको आर्थिक सङ्कुचनपछि हाल अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको जनाएको छ । श्रीलङ्कामा अति आवश्यक वस्तुहरूको लागि समेत भुक्तानी गर्न नगद अभाव भएपछि खाद्यान्न, इन्धन र औषधि समेतको अभाव भएको थियो ।

    यसै मुद्दाका कारण तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई महिनौं लामो विरोध प्रदर्शनपछि गत जुलाईमा देश छोड्न र राजीनामा दिन बाध्य पारिएको थियो । केन्द्रीय बैङ्कले अर्थतन्त्रको पछिल्लो समीक्षामा यस वर्षको अन्त्यसम्ममा मुद्रास्फीति एकल आँकडामा झर्ने अनुमान गरिएको जनाएको छ । यो सेप्टेम्बरमा ६९.८ प्रतिशतमा पुगेको थियो र खाद्य मुद्रास्फीति लगभग १०० प्रतिशत पुगेको थियो । रासस-एएफपी

  • दरबार हत्याकाण्डको २२ वर्ष पुरा

    दरबार हत्याकाण्डको २२ वर्ष पुरा

    काठमाडौं । शुक्राबर दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो ।

    घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् । २२ वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ ।

  • भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

    भारतका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले गरेको समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् ।

    सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताए । उनले सरकारले लगानीकर्ताको हितका लागि एकल बिन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गरे ।

    नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गर्दै उनले नेपालमा लगानीकर्ता प्रतिफल ल्याउन कुनै समस्या नपर्ने, भाषाको समस्या नरहेको र समान सांस्कृतिक एवं बलियो सम्बन्धले थप सहज बनाउने बताए ।


    भारतीय कम्पनीको लगानी रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफलरुपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले पश्चिम सेती, सेती नदी (एसआर ६), तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै भारतका सङ्घीयमन्त्री पीयूष गोयलले नेपाल र भारतबीचको सम्बन्ध अद्विप्तीय रहेको बताए । सीमा, भूराजनीतिले दुई देशबीचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उनले आफूहरु एकै परिवारका सदस्यका रुपमा रहेको बताए । प्रधानमन्त्री प्रचण्ड भारतका समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा चार दिने भारत भ्रमणमा छन् । प्रचण्ड बुधवार भारत गएका हुन् ।

  • अमेरिकी राष्ट्रपति सार्वजनिक कार्यक्रममा लडेपछि…

    अमेरिकी राष्ट्रपति सार्वजनिक कार्यक्रममा लडेपछि…

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा लडेका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाएर आफ्नो सिटतर्फ जाँदै गर्दा भुइँमा पछारिएका हुन् । वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठेका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर उनी लडेको बताइएको छ ।

    बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए । बुढ्यौली लागे पनि उनले २०२४ मा फेरि चुनाव लड्ने घोषणा गरेका छन् । एक दिन अघि उनका डाक्टरले बाइडेन शारीरिक रूपमा फिट रहेको र दैनिक व्यायाम गरिरहेको रिपोर्ट जारी गरेका थिए । बाइडेन यसअघि पनि सार्वजनिक कार्यक्रममा लडेका थिए । नोभेम्बर २०२० मा बाइडेनको दाहिने खुट्टामा स्ट्रेस (हेयरलाइन) फ्र्याक्चर भएको थियो। उनी आफ्नो कुकुरसँग खेलिरहेको बेला उक्त दुर्घटना भएको थियो ।

    गत फेब्रुअरी २३ मा पोल्याण्डबाट अमेरिका फर्कने क्रममा एयरफोर्स वनको भर्‍याङ उक्लिइरहेको बेला पनि उनी लडेका थिए । त्यस्तै १६ नोभेम्बर २०२२ मा जी(२० शिखर सम्मेलनमा भाग लिन बाली गएका बेला पनि जङ्गलमा हिंड्नेक्रममा उनी लडेका थिए । सोही वर्ष जुनमा लस एन्जलसमा टेलिभिजन अन्तर्वार्ता दिन जाने क्रममा विमानको भर्‍याङ चढ्ने बेला उनी ठोक्किएर लडेका थिए ।

  • भारतीय प्रधानमन्त्रीलाई प्रचण्डले दिए नेपाल भ्रमणको निम्तो

    भारतीय प्रधानमन्त्रीलाई प्रचण्डले दिए नेपाल भ्रमणको निम्तो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन् । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।


    प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गरे । उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको बीचको सम्बन्ध र सहयोगलाई अझ बलियो बनाउनका लागि लिइएको छिमेकी पहिलो नीतिको म प्रशंसा गर्न चाहन्छु।”

    प्रधानमन्त्री दाहालले भेटवार्तामा दुई देशबीच व्यापार, पारवाहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत्, विद्युत् व्यापार, सिँचाइ, कृषि, रेल्वे, पुल, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँचचौकीका साथै अतिरिक्त हवाई प्रवेश विन्दुलगायत बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताए ।

    उनले भेटवार्तामा नेपालमा निर्माण भइरहेका जलविद्युत् परियोजना तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको जानकारी दिए । “नेपालको जलविद्युत् क्षेत्र नेपालको आर्थिक उन्नति र ऊर्जा सुरक्षाको आधार मात्रै नभई यो वातावरण संक्षणका लागि पनि महत्त्वपूर्ण छ”, प्रधानमन्त्री दाहालले भने ।
    भारतले हाल नेपालबाट चार सय ५० मेगावाट विद्युत् आयात गरिरहेकामा प्रशंसा गर्दै उनले आगामी दिनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत्सहित थप एक हजार दुई सय मेगावाट विद्युत् आयात गर्ने प्रधानमन्त्री मोदीको सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गरे ।


    प्रधानमन्त्री दाहालले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताउए । यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा सम्भव भएको उनको भनाइ छ।

    उनले नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म दैनिक ५० मेगावाट विद्यत् पुर्‍याउनका लागि गरेको सहयोगको प्रशंसासमेत गरे । उनले विद्युत् व्यापारका सन्दर्भमा नेपाल–भारत–बङ्गलादेशबीच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री दाहालले छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना र चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौताले विद्युत् विकास र अन्तरदेशीय प्रसारण लाइनको विकासमा नयाँ सुरुआत भएको बताए । उनले दुई प्रधानमन्त्रीबीच तीन महिनाभित्र बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र डिपिआर स्वीकृत भएको एक वर्षभित्र कार्यान्वयनको ढाँचा तयार गर्ने सहमति भएको जानकारी दिए ।

    उनले टनकपुर नहरबाट नेपालतर्फको सिँचाइ, मनसुन सुरु हुनुअघि नै नेपालको तराई क्षेत्रमा हुनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रले काम गर्ने विषयमा छलफल भएको जानकारी गराए । उनले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमा सहजीकरण गर्न आग्रह गरेको बताए । उनले नेपालको जुटजन्य वस्तुको सामग्रीमा एन्टिडम्पिङ हटाउन आग्रह गरेको बताए ।

    प्रधानमन्त्री दाहालले अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौताले दुवै देशका विद्यार्थी, व्यापारी, पर्यटक र तीर्थालुका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । मोतिहारी–अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने, भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण गर्ने विषयमा सम्झौता भएको उनको भनाइ छ।

    प्रधानमन्त्री दाहालले अतिरिक्त हवाई प्रवेश विन्दुका लागि आफूले छलफल गरेको र सोसम्बन्धमा भारत सकारात्मक पाएको बताए । “भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु। यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ”, उनले भने ।

    उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताए । सो अवसर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सौहार्दपूर्ण भ्रमणका लागि निम्तो दिँदै आफू स्वागत गर्न आतुर रहेको बताए ।

  • प्रचण्डसँगको भेटपछि भारतका प्रधानमन्त्री मोदीले के भने ?

    प्रचण्डसँगको भेटपछि भारतका प्रधानमन्त्री मोदीले के भने ?

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गरे ।

    “यही भावनाअनुसार सबै मुद्दा, चाहे सीमाका हुन्, या अन्य कुनै विषय सबै समाधान गर्छौं”, उनले भने, “यो सुन्दर सम्बन्धलाई थप प्रगाढ बनाउन प्रधानमन्त्री दाहाल र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन चाहेका छौँ ।”

    नौ वर्षअघि सन् २०१४ मा आफूले भारतको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको स्मरण गर्दै उनले नौ वर्षमा दुवै देशबीच अनेकौँ क्षेत्रमा कयौं उपलब्धि हासिल भएको उल्लेख गरे । “वीरगञ्जमा नेपालको पहिलो एकीकृत जाँचचौकी (आइसिपी) बनेको छ, भारत–नेपालका बीचमा पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण भएको छ।‘ब्रोडगेज’ रेललाइन स्थापित भएको छ, सीमा क्षेत्रमा नयाँ प्रसारण लाइन निर्माण भएको छ।नेपालबाट चार सय ५० मेगावाट बिजुली आयात गरिरहेका छौँ”, भारतीय प्रधानमन्त्री मोदीले भने ।

    उनले भारत–नेपाल ‘पार्टनरसीप’ लाई ‘सुपरहिट’ बनाउन दुवै देशका प्रधानमन्त्रीले महत्त्वपूर्ण निर्णय लिएको उल्लेख गरे । “आज पारवहन सम्झौता सम्पन्न भएको छ।यसमा नेपालीका लागि नयाँ रेलमार्गका साथ भारतको जलमार्गको सुविधा प्राप्त हुनेछ।नयाँ रेल लिङ्क स्थापना गरेर भौतिकरूपमा सम्पर्क सञ्जाल जोडिएको छ”, प्रधानमन्त्री मोदीले भने ।


    भारतीय रेल संस्थानमा नेपालका रेलकर्मीलाई प्रशिक्षण प्रदान गर्ने निर्णय लिएको पनि उनले जानकारी दिए । उनले अन्तरदेशीय डिजिटल भुक्तानीसम्बन्धी सम्झौतासँगै हजारौँ विद्यार्थी, लाखौं पर्यटक अथवा तीर्थयात्रीका साथ स्वास्थ्योपचारका लागि भारत आउने नेपालीले लाभ लिने उल्लेख गरे । उनले थप तीनवटा एकीकृत जाँचचौकी निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुने विश्वास व्यक्त गरे ।

  • कोभिड अगाडीकै अवस्थामा पुग्यो पर्यटक आगमन, अमेरिकी दोस्रो स्थानमा

    कोभिड अगाडीकै अवस्थामा पुग्यो पर्यटक आगमन, अमेरिकी दोस्रो स्थानमा

    काठमाडौं । सन् २०२३ को पहिलो ५ महिनाको अवधिमा ४ लाख ४ हजार २३१ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२३ मा मात्र ७७ हजार ७०३ जना पर्यटक आएका छन् । यो संख्या सन् २०१९ मा आएको पर्यटकको संख्या हाराहारी हो । सन् २०१९ मा ७८ हजार ३२९ जना पर्यटक मे महिनामा नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार कोभिड–१९ अगाडिकै हाराहारीमा अब पर्यटक आगमन पुग्न थालेका छन् ।

    कुन महिनामा कति पर्यटक ?

    जनवरी : ५५,०७४
    फेब्रुअरी : ७३,२५५
    मार्च : ९९,४२६
    अप्रिल : ९८,७७३
    मे : ७७,७०३
    भारतीय पहिलो, दोस्रोमा अमेरिकी, चिनियाँ तेस्रो

    सन् २०२३ को मे महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट ३६ हजार ५७५ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट ८ हजार ५४५ जना पर्यटक नेपाल आएको तथ्यांक छ । चीन तेस्रो स्थानमा पुगेको छ । चीनबाट ४ हजार ६६७ जना पर्यटक नेपाल आएका छन् ।

    मे २०२३ मा कुन मुलुकबाट कति आए र ?

    भारत : ३६,५७५
    अमेरिका : ८,५४५
    चीन : ४,६६७
    संयुक्त अधिराज्य : २,९२७
    अष्ट्रेलिया : २,१८४
    बंगलादेश : २,१६४
    मलेसिया : १,३२१
    जर्मनी : १,१६५
    फ्रान्स : १,०९७
    दक्षिण कोरिया : १,०३९

  • भारत भ्रमणमा रहेका प्रचण्डले पाएनन् ‘गार्ड अफ अनर’

    भारत भ्रमणमा रहेका प्रचण्डले पाएनन् ‘गार्ड अफ अनर’

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ नपाउने भएका छन् । प्रचण्डको भ्रमण ‘राजकीय’ नभएका कारण भारतले ‘गार्ड अफ अनर’ प्रदान नगरेको भारतीय पक्षले जनाएको छ ।

    राजकीय भ्रमणमा विदेशी सरकार प्रमुख तथा राष्ट्रप्रमुखको भ्रमणका क्रममा ‘गार्ड अफ अनर’ दिने प्रचलन छ ।

    यद्यपि प्रचण्डको भ्रमण ‘अफिसियल’ मात्र रहेका कारण भारतले उनलाई ‘गार्ड अफ अनर’ नदिएको स्रोतको भनाइ छ ।

  • प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

    प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

    काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो।

    कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ। भेटवार्तामा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ।

    ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ। यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ। त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन्।

    प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ।

  • देशैभर बढ्यो तापक्रम, तराई भेगको जनजिवन नराम्रोसँग प्रभावित

    देशैभर बढ्यो तापक्रम, तराई भेगको जनजिवन नराम्रोसँग प्रभावित

    काठमाडौं । देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ । पछिल्लो दुई–तीन दिन यता काठमाण्डौसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ । गत सोमवार र मंगलवार काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको हाराहारीमा थियो । हिजो ३२ दशमलव २ डिग्री सेल्सियसमा पुगेको छ ।

    तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ भने केही क्षेत्रमा नाघेको छ । यसले सो भेगको जनजिवन नराम्रोसँग प्रभावित बनेको हो । सिमराको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस र भैरहवाको ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । नेपालगञ्ज, विराटनगर, धरान लगायत क्षेत्रको मौसम ४० डिग्री सेल्सियसको हाराहारीमा छ। तीन दिन मौसम यस्तै रहने अनुमान रहेको मौसमविद्हरुको छ । तापक्रम बढिरहेकाले तराईका जिल्लामा तातो हावा चल्ने सम्भावनासमेत रहेको मौसमविद्ले बताएका छन् ।

    तराई मधेसका धेरैजसो जिल्लामा केही दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान रहेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने सम्भावना हुन्छ । घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न विज्ञको सुझाव छ । यस्तै, प्रशस्त मात्रामा पानी पिउन तथा पानी पाइने फलफूल खान, खेतबारीका काम बिहान बेलुका मात्रै गर्न विज्ञको सुझाव छ ।

  • प्रचण्ड र मोदीबीच आज औपचारिक भेट, आजै राष्ट्रपतिसँग भेट्ने

    प्रचण्ड र मोदीबीच आज औपचारिक भेट, आजै राष्ट्रपतिसँग भेट्ने

    काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड आज महत्वपूर्ण भेटवार्तामा व्यस्त रहने छन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।

    आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएकोछ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

    आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

    त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

    यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम छ ।

  • नयाँ दिल्लीमा प्रधानमन्त्रीको भेटवार्ता सुरु

    नयाँ दिल्लीमा प्रधानमन्त्रीको भेटवार्ता सुरु

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ। बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा होटल मौर्यामा उनीहरूले भेट गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्।

    दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्। द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ। दिल्लीमा राजनीतिक भेटघाट सकेर प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको उज्जैन जाने कार्यक्रम छ। उनी जेठ २० गते स्वदेश फर्कने छन्।

  • विश्वबैंकले दिने भयो झण्डै २० अर्ब ऋण र अनुदान

    विश्वबैंकले दिने भयो झण्डै २० अर्ब ऋण र अनुदान

    काठमाडौं । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ । शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो ।

    सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ । अनुदान भने विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम अन्तर्गत शिक्षाका लागि ग्लोबल पार्टनरसीपबाट प्राप्त हुने छ । सम्झौतामा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरे ।

  • नागरिकता विधेयक प्रमाणिकरणप्रति रवि लामिछानेको विरोध

    नागरिकता विधेयक प्रमाणिकरणप्रति रवि लामिछानेको विरोध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाएका छन् । नागरिकता प्रमाणीकरण गर्न अपनाइएको शैलीलाई लामिछानेले राष्ट्रहित बिपरीतको कार्य भनेका छन् ।

    ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरुद्ध छ’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

    अघिल्लो संसदको दुबै सदनले पारित गरेर पठाएको नागरिक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’मा राखेकी थिइन् । उक्त विधेयक बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

  • प्रधानमन्त्री प्रचण्डलाई दिल्लीस्थित विमानस्थलमा राज्यमन्त्री लेखीले गरिन् स्वागत

    प्रधानमन्त्री प्रचण्डलाई दिल्लीस्थित विमानस्थलमा राज्यमन्त्री लेखीले गरिन् स्वागत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली पुगेका छन् । चार दिनको भारत भ्रमणका लागि गएका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न भारतीय सरकारका अधिकारीहरू र नेपाली राजदूत शंकर शर्मा विमानस्थल पुगेका थिए ।

  • चारदिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

    चारदिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। बुधबार अपरान्ह उनी भारतको राजधानी नयाँदिल्ली गएका हुन्। त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले विदाइ गरे । भारत रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेट हुने छ ।
    प्रधामन्त्री शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

  • कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,कार्की नेतृत्वको सरकार संकटमा

    कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा,कार्की नेतृत्वको सरकार संकटमा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेश सरकार छोड्ने निर्णय गरेको छ ।
    बुधबार इटहरीमा बसेको बैठकले जसपाका तर्फबाट सरकारमा रहेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउनेसमेत निर्णय गरेको हो । एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकारमा गत पुस २५ गते जसपा सहभागी भएको थियो । जसपाले सरकार छाड्ने निर्णयसँगै हिक्मत कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ । जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरु गरेको छ ।

  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

    कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएका छन्।

    प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदैछन्। दाहाल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।

    प्रधानमन्त्री दाहालले आफू विदेशमा रहुन्जेलका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिएका हुन्।

    प्रधानमन्त्री स्वदेश नआउँदासम्म खड्काले दैनिक प्रशासनिक कामहरू गर्नेछन्। दाहाल नेतृत्वको अहिलेको सरकारमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्का दोस्रो वरीयतामा छन्।

  • राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

    राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

    काठमाडौं । राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।

    अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो।

    अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।

  • साफ च्याम्पियनसिप खेल्ने नेपाली टीम घोषणा

    साफ च्याम्पियनसिप खेल्ने नेपाली टीम घोषणा

    काठमाडौं । भारतमा जुन २१ देखि जुलाई ४ सम्म हुने साफ च्याम्पियनसिप २०२३ का लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो ३० सदस्यीय टोली घोषणा गरेका हुन्। च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालले आयोजक भारत, कुवेत र पाकिस्तानसँग खेल्नेछ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

    टोलीमा गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, परेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमन्त थापा , अन्जल महर्जन परेका छन् । मिडफिल्डरमा पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, सुदीप गुरुङ, लकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ छन् ।
    फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, गिलेस्पे जंग कार्की र दिनेश हेञ्जन रहेका छन् ।

  • आज निर्लजा एकादशी, तुलसीको बिउ राखिँदै

    आज निर्लजा एकादशी, तुलसीको बिउ राखिँदै

    काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ(आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।

    यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

    चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए । आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।