Category: समाचार

  • नेपाल-अमेरिका अन्तर्राष्ट्रिय महोत्सवमा ३७ फिल्म

    नेपाल-अमेरिका अन्तर्राष्ट्रिय महोत्सवमा ३७ फिल्म

    काठमाडौं । गत वर्ष लघु फिल्मको विधातर्फ कान्स जितेको अविनाश विक्रम शाह निर्देशित फिल्म लोरी, नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइने भएको छ । यससँगै सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतली, पाकिस्तानका साइम सदिक निर्देशित जोइल्याण्ड र दीपक रौनियार निर्देशित फोर नाइट्सलगायत फिल्म महोत्सवमा देखाइने भएको छ ।

    जुन २२ देखि २५ सम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायतका ११ देशका फिल्म समेटिनेछन् । फिचर, वृत्तचित्र, लघु र एनिमेसन विधामा ३७ फिल्म देखाउने भएको हो ।

    वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र फिल्म एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा प्रदर्शन हुने जनाइएको छ । आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको बिडारी निर्देशित ऐना झ्यालको पुतली देखाउँदै महोत्सवको उद्घाटन हुनेछ ।

    अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ुपासाङस् इन द स्याडो अफ एभरेष्टुको प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण गरिनेछ । त्यस्तै महोत्सवमा सुवर्ण थापा निर्देशित द सिक्रेट अफ राधाको विशेष प्रदर्शन हुनेसमेत जनाइएको छ ।

    उत्कृष्ट फिल्महरु पुरस्कृत पनि गरिने बताइएको छ । महोत्सवमा फिल्म संस्कृति र नयाँ प्रविधिबारे अन्तर्क्रियात्मक छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको पार्क्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको हो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आइरहेको छ ।

  • माधव नेपाल न्यूजील्याण्ड प्रस्थान

    माधव नेपाल न्यूजील्याण्ड प्रस्थान

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज (शुक्रबार) न्युजिल्याण्ड प्रस्थान गरेका छन् । न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    तेञ्जिङ नोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेका अवसरमा सोमबार न्युजिल्याण्ड आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्ने बताइएको छ ।


    उनले न्युजिल्याण्ड सरकारका प्रतिनिधिसँग दुई देशीय हितका पक्षमा छलफल गर्नुहुनेछ । करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली सङ्घ तथा प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ ।

    दुवै मुलुकको भ्रमणका क्रममा उनले विभिन्न नेता, त्यहाँस्थित नेपाली समुदाय, पार्टी निकट प्रवासी नेपाली एकता मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नेछन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका छन् । अध्यक्ष नेपाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका विभिन्न तहका नेताले बिदाइ गरे ।

  • जनमत पार्टीका दुई सांसदलाई निष्काशनको सिफारिस

    जनमत पार्टीका दुई सांसदलाई निष्काशनको सिफारिस

    काठमाडौं । जनमत पार्टीका दुई जना सांसदलाई निष्कासनको सिफारिस गरिएको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मु (मोरङ) र विनिता सिंह (सिरहा) लाई कारबाही गर्दै पदबाट हटाउने सिफारिस गरेको हो । ‘केन्द्रीय कमिटीले सिफारिस गरेको उक्त विषय कारबाहीको प्रक्रियामा गएको बताइएको छ ।

    अनुशासन कमिटीमा उक्त विषय लैजाने र कमिटीले संसदीय दलमा लैजाने प्रक्रिया रहेको छ । मुर्मु मोरङकी समानुपातिक सांसद हुन् भने सिंह सिरहाकी सांसद हुन्। मुर्मुले श्रीमानलाई स्वकीय सचिव राखेको र सिंहले आफन्तलाई स्वकीय सचिव राखेको, पार्टीका कार्यक्रममा नजाने, जनताका कुरा नसुन्ने, जिल्लाका मान्छेलाई नभेट्ने गुनासो आएपछि कारवाही गर्न थालिएको बताइएको छ । आफन्तलाई स्वकीय सचिव राख्न नपाउने पार्टीको नियम छ।

  • काभा वुमन्स कप : नेपाल सेमिफाइनलबाट बाहिरियो

    काभा वुमन्स कप : नेपाल सेमिफाइनलबाट बाहिरियो

    काठमाडौं । काजाकस्तानसँग पाँचौं सेटमा पराजित भएपछि नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुग्न असफल भएको छ । सेन्ट्रल एसियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बलियो विपक्षी काजाकस्तानसँग बहादुरीपूर्ण प्रदर्शनका बाबजुद नेपाल टिम पराजित हुनपुग्यो ।

    पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा नेपालको पुनरागमन लोभलाग्दो रह्यो । क्रमशस् २५–१६ र २५–१५ ले जित्दा नेपालको एकपक्षीय प्रदर्शन थियो । चौथो सेटमा नेपालको लय बिग्रियो ।

    सुरुवातदेखि नै लामो अग्रता बनाएको काजाकस्तानले यो सेट २५–१८ ले जित्यो । अनुभव र एक्स्पोजरमा पछि परेको नेपाल अन्तिम तथा निर्णायक सेटमा पहिलो अंक लिएर अग्रता बनाए पनि त्यसपछि लगातार काजाकस्तानले अंक जोड्न सफल रह्यो । अन्ततः १५–७ ले नेपालले खेल गुमाउन पुग्यो ।


    सेन्ट्रल एसियन भलिबल संघले यस संस्करणमा क्याटागोरी ए र बी टिमलाई एकसाथ गाभेर पहिलोपल्ट प्रतियोगिता आयोजना गरेको हो । नेपालले क्याटागोरी बी का टिमहरु सम्मिलित प्रतियोगिताको उपाधि यसअघि दुईपल्ट जितेको थियो ।

    काजाकस्तान र भारत काभामा क्याटागोरी ए का टिमहरु हुन् । एसियाली वरीयतामा काजाकस्तान पाँचौं र भारत आठौं स्थानमा छन् । यी दुईले यो प्रतियोगिताको फाइनल खेल्ने भएका छन् । शुक्रबारै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको थियो । नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नुपर्ने भएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आइतबार हुनेछ ।

  • राष्ट्रपतिद्वारा रेशमको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता

    राष्ट्रपतिद्वारा रेशमको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता

    काठमाडौं । रेशम चौधरीलाई सजायमाफी दिने गृह मन्त्रालयको प्रस्तावलाई राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयमै फिर्ता गरेका छन्।

    बुधवार गृह मन्त्रालयले चौधरीलाई आम माफीका लागि प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव कानुन र अदालतको फैसला विपरित नहुने गरी फिर्ता पठाएको उनकाे सचिवालयले जनाएको छ ।

    चौधरीलाई केही समयअघि मात्रै सर्वोच्च अदालतले उच्च अदालतको जन्मकैदको फैसललाई सदर गरेको थियो। सरकारले गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट सजाय माफी गराउन प्रस्ताव गरेको थियो। टिकापुर घटनामा संलग्न भएको भन्दै चौधरी कारागारमा छन्।

    यसैगरी टिकापुरमा हत्या भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा निवेदनलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कार्याथ पठाएको छ ।

  • ‘सुन कि पित्तल’ भन्ने नछुटिएसम्म संसद चल्न दिँदैनौं

    ‘सुन कि पित्तल’ भन्ने नछुटिएसम्म संसद चल्न दिँदैनौं

    काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पुशपतिनाथमा राखिएको जलप सुन कि पित्तल निक्र्यौल नगरेसम्म एमालेले सदन सञ्चालन हुन नदिने बताएका छन् ।

    संसद बैठक अवरोध गरेको विषयमा संसदमा बोल्दै नेम्वाङले आफैं सरकारमा भएको बेला भ्रष्टाचारको छानविन गर्नुपर्ने,प्रतिपक्षले उठाएको सवालको जवाफ दिनु पर्नेमा उल्टै प्रतिपक्षीलाई लाञ्छना लगाउनु गैह्र जिम्मवारीपूर्ण काम भएको बताए ।

    ‘पशुपतिमा सुनको होइन पित्तलको जलाहारी राखिएको छ भनेर तत्कालिन प्रधानमन्त्री,प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई लगाएको आरोप निक्र्यौल नगरी सदन अगाडी बढ्न सक्दैन’ । सही भए कारबाही गरोस होइन भने यो आरोप लगाउने माननीयले माफी माग्नु पर्दछ र संसदको रेकर्डबाट हटाइयोस ।’

  • पशुपतिको जलहरी विवाद, एमालेले गर्‍यो संसद अवरोध

    पशुपतिको जलहरी विवाद, एमालेले गर्‍यो संसद अवरोध

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

    त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

    पशुपतिमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चढाइएको जलहरी सुन भनेर पित्तल चढाएको आरोप नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले लगाएको भन्दै एमालेले संसद् अवरोध गरेको हो ।

    सांसद दाहालले नीति तथा कार्यक्रमका विषयमा बोल्ने क्रममा पशुपतिको जलहरीमै भ्रष्टाचार भएको आरोप लगाएका थिए ।

    एमालेले माओवादीकातर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नखिने अडान लिएको बताइएको छ । माओवादीले भने आफ्नो भनाइ ठिक भएको दाबीसहित माफी नमाग्ने अडान राखेपछि बैठक अवरोध गरेको हो । वैठक २० मिनेटको लागि स्थगित भएको छ ।

  • वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने

    वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने

    काठमाडौं । अब वर्षाको समयमा काठमाडौं उपत्यकाको फोहाेर बञ्चरेडाँडास्थित फोहाेरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहाेर लैजान समस्या हुने गरेको थियो ।

    सरकारले केही समय पहिले द्रुत मार्ग (फास्ट ट्रयाक)बाट ठेक्का लगाएर फोहाेर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्रयाक’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए । उनले भने, “मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो ।”

    सडक विभागले एक दशक पहिले बालाजु–रानीपौवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो । पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए । इञ्जिनियर भण्डारीले भने, “असारमा ठेक्का तोडेर असोजमा नै नयाँ ठेक्काबाट निर्माण थालिएको हो ।”

    पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ । सो खण्डको सडक झन्डै साढे चार किमी लामो छ । गत असोज २६ देखि नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उनले बताए ।

    लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए । वर्षाका कारण सडक भासिने र फोहाेर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहाेरका गाडी फर्कने गरेका थिए । गत वर्ष वर्षाको समयमा महिनौंसम्म फोहाेर उठ्न नसकेपछि सरकारले सो सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो ।

    बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीनवटा ठेक्का गरिएको थियो । तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक योजनाको कार्यक्षेत्रमा परेको छ । यी तीनै कम्पनीसँग विसं २०७०/७१ मा ठेक्का सम्झौता गरिएको थियो । रासस

  • माओवादी नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीबीच चीनमा भेटवार्ता

    माओवादी नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीबीच चीनमा भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच बिहीबार भेटवार्ता भएको छ । निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।

    उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारीसहित भेटवार्ता भएको थियो । उनीहरुबीच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको भेटमा सहभागी एक नेताले जनाए ।

    भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएका छन् । जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकीमात्र नभएर विकास साझेदार भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।

    यही जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधिमण्डल चीन गएको थियो । सुरुमा ल्हासा र मानसरोवरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । भ्रमण टोलीमा पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा छन् । सापकोटा नेतृत्वको टोली जेठ १८ मा स्वदेश फर्कने कार्यक्रम छ ।

  • तुलसीपुर उपमहानगरमा नक्सापास नगरे अन्य सेवा काटिने

    तुलसीपुर उपमहानगरमा नक्सापास नगरे अन्य सेवा काटिने

    काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ। उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ।

    उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ। गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएका तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिए।

    उपमहानगरले पक्की घरको एक हजार रुपैयाँ, कच्ची घरको पाँच सय रुपैयाँ, अव्यवस्थित बसोबासीका लागि एक सय रुपैयाँ, भूमिहीन दलितका लागि ५० रुपैयाँ र भूमिहीन सुकुमबासीका लागि रु ५० वार्षिक कर निर्धारण गरेको छ। ‘ऐलानी जग्गामा घर बनाएकाले अभिलेखीकरण गर्नुपर्छ’, घर्तीले भने। असार मसान्तसम्म करको दायरामा आउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

    घरको नक्सापास गर्ने प्रक्रियाका लागि विभिन्न कन्सलटेन्सीले सेवा-शुल्क फरक–फरक लिने गरेको गुनासो आएपछि उपमहानगरपालिकाले छानबिन गर्ने भएको छ। प्रवक्ता माधव वलीको संयोजकत्वमा समिति गठन गरिएको छ। यस्तै बैठकले तुलसीपुरका १३ विद्यालयलाई कक्षा थपको अनुमति दिएको छ। नौ सामुदायिक र चार संस्थागत विद्यालयलाई कक्षा थपको अनुमति दिएको प्रवक्ता वलीले जानकारी दिए।

    rss

  • संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

    संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसके पनि प्रतिनिधि सभामा छलफल जारी छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा सुरुमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने उल्लेख छ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित हुने छ । त्यसपछि संसदमा आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत हुनेछ । संविधानको व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने छ ।

  • रेशम चौधरीलाई आममाफी दिने तयारी

    रेशम चौधरीलाई आममाफी दिने तयारी

    काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति पौडेलले गृहको यो सिफारिसमा कानुनविद्हरूसँग सल्लाह गर्ने तयारी गरेको सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति कार्यालयबाट यो प्रस्ताव फेरि गृह मन्त्रालयमा आउनेछ। गृहले आममाफी दिनेहरूको सूची मन्त्रिपरिषद्‍मा पठाउने छ।

    मन्त्रिपरिषद्ले पारित गरेको सूचीअनुसार राष्ट्रपतिले आममाफी दिने छन्। २०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

    सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो। रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्नेलगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसदमा ४ सिट जितेको छ। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्। उनी रेशम चौधरीकी श्रीमती हुन्।

  • राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन

    राष्ट्रपतिबाट भोटेजात्रा अवलोकन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्न आयोजित भोटोजात्रामा सरिक भई भोटोजात्रा अवलोकन गरेका हुन् ।

    मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

    गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी भए । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।

  • क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र

    क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र

    काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ । यो गौतमबुद्ध विमानस्थलबाट नेवानिले गर्न लागेको पहिलो नियमित तथा व्यावसायिक उडान हुने छ ।

    यस रुटमा २९ जेठ (१२ जुन)बाट निगमले सातामा एक उडानको तयारी गरेको छ । व्यावसायिक सम्भाव्यताका आधारमा निगमले यस रुटमा उडान बढाउने भएको छ । क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने मात्र १२ हजार ३४६ रुपैयाँ तोकिएको छ । यसअघि सार्वजनिक यो रुटको भाडादर १४ हजार ७२० रुपैयाँ थियो । यस रुटमा यात्रुले ४५ किलो ब्यागेज निःशुल्क बोक्न सक्नेछन् ।

  • नक्कली शरणार्थी प्रकरण- ‘कसैले बयानकै आधारमा पक्राउ गर्न मिल्दैन’

    नक्कली शरणार्थी प्रकरण- ‘कसैले बयानकै आधारमा पक्राउ गर्न मिल्दैन’

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताएका छन् ।

    बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । उनले राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको बताए । उनले देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए ।

    उनले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताए । उनले देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य नहुने बताए । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन प्रहरीलाई निर्देशन दिएको पनि उनले बताए ।

    उनले भने ‘जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ ।

    यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन, सुशासन, अर्थात् भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तब मात्रै समृद्धि हासिल हुनेछ । आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन ।

    यस्तो प्रकारको काम भयो भन्ने कुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ ।

    मैले नेपालप्रहरीलाई निष्पक्ष रुपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन की भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’

  • बागमती प्रदेशमा गाडी भाडा घट्यो

    बागमती प्रदेशमा गाडी भाडा घट्यो

    काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ ।

    नेपाल आयल निगमले गत साता डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएसँगै प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको हो ।

    वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटाएको छ ।

    यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा चढ्ने बित्तिकै न्यूनतम १८ रूपैयाँ भाडा तिर्नु पथ्र्यो भने अब १७ रुपैयाँ तिर्नुपर्नेछ ।

    यसैगरी, मन्त्रालयले उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५.६९ प्रतिशत भाडा घटाएको छ ।

    मन्त्रालयको उक्त निर्णय राजपत्रमा प्रकाशित भएपछि घटेको भाडादर लागू हुनेछ । यसअघि केन्द्र सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.६५ प्रतिशतले भाडा घटाइएको थियो ।

    यसअघि बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो।

    पेट्रोलियम पदार्थको मूल्य घटेपछि संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो।

  • दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, प्रमुख कारण बेरोजगारी

    दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, प्रमुख कारण बेरोजगारी

    काठमाडौं । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले १५७ देशको दु:खी देशहरूको सूचीमा जिम्बाब्वेलाई विश्वको सबैभन्दा दु:खी देशको रुपमा देखाएको छ ।

    मुख्यतया जिम्बाब्वेको आर्थिक अवस्था र उच्च मुद्रास्फीतिका कारण, देश दुखी देशहरूको सूचीमा शीर्ष स्थानमा छ। जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको हो ।

    नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । नेपाल ३७. १८ अंक पाएर दु:खी देशहरुको ६३ औं सूचीमा परेको छ । सर्वेक्षणले दु:खको प्रमुख कारण बेरोजगारी देखाएको छ ।

    यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ ।

    यसैगरी सबैभन्दा दु:खी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ । दु:खी देशमा पर्नुको कारण मुद्रास्फिति रहेको छ । उक्त सूचकांकमा १५७ वटा देशहरु समावेश गरिएको थियो ।

    दु:ख सूचकाङ्कको इन्डेक्स वर्षको अन्त्यको बेरोजगारीको योगफल, मुद्रास्फीति, र बैंक-ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको थियो ।

  • रौतहटमा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या

    रौतहटमा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या

    काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ ।

    पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसले उनलाई गोली हानेर हत्या गरेकोबारे यकिन हुनसकेको छैन । तैयबको शव घरबाट करिब एक किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ ।

  • बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारीको भाडा घट्ने

    बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारीको भाडा घट्ने

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो ।

    मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधवार बसेको भाडा निर्धारण÷समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको गोरखापत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर लागू हुने छ ।

    राजपत्रमा प्रकाशित गर्न बुधवार नै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाइएको छ । उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५ं९० प्रतिशतले घट्ने छ । यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ । यसअघि बागमती प्रदेशको मन्त्री स्तरीय निर्णयअनुसार गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो ।

  • प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

    प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुने समेत बताइएको छ ।

    नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भएको हो । प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी छ ।

  • भारतीय कफ सिरप निर्यातमा रोक

    भारतीय कफ सिरप निर्यातमा रोक

    काठमाडौं । भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। सोहीकारण तत्कालका लागि भारतीय कफ सिरपको निर्यात बन्द भएको छ ।

    गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि भारतका चारवटा कफ सिरप बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको भन्दै विश्वव्यापी चेतावनी दिएको छ। केही नमुनाहरूको प्रयोगशाला विश्लेषणले तिनमा उल्लेख्य मात्रामा विषाक्त पदार्थहरू रहेको पुष्टि गरेको थियो।

    उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा त्यस देशमा लगिएको सम्बन्धित औषधिको एउटा ब्याचमा एथलीन ग्लाइकोल नामक विषाक्त पदार्थ उल्लेख्य देखिएको थियो। खोकीको झोल औषधिकै कारण झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ। संसारभरि औषधि निर्यात गर्ने भएकाले भारतलाई विश्वको औषधि उत्पादनको पावर हाउस समेत भन्ने गरिन्छ।

    तर हालैका वर्षहरूमा भारतको औषधि उद्योगको द्रुत वृद्धिले औषधिको गुणस्तर खस्किएको र नियमन समेत कमजोर बनेको आरोपहरू लाग्ने गरेको छ ।
    कतिपय अवस्थामा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्शन)बिन‍ै कफ सिरपको बिक्री वितरण हुनु बालबालिकाको लागि जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्।

  • आज भोटे जात्रा, उपत्यकामा बिदा

    आज भोटे जात्रा, उपत्यकामा बिदा

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

    भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।

    डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

    मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।

    आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।

    पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जानेछन् । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

  • नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

    नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ । उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ । सरकारी वकिलको कार्यालयले प्रहरीले दुई दिन अघि बुझाएको प्रतिवदेन अध्ययन गरी बुधबार मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

    मुद्दा दायर गरिएका केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङ, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाण, आङटावा शेर्पा, शम्शेर मिया, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाँई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापा छन् ।

  • चन्द्र भण्डारीसँग भेटघाटका लागि सभामुखको कार्यकक्षमा विशेष व्यवस्था

    चन्द्र भण्डारीसँग भेटघाटका लागि सभामुखको कार्यकक्षमा विशेष व्यवस्था

    काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरूले भेट गरेका छन् । सदनमा भण्डारीले आफ्नो कुरा राखेपछि सभामुखको कार्यकक्षमै सांसदहरुलाई भेटघाट व्यवस्था मिलाइएको थियो । सभामुख घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए ।

  • बिहीवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

    बिहीवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

    काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।

    गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

  • दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७० कम्पनीको १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँ बराबरको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर किनबेच भएका छन् ।

    मंगलवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० परिसूचक बढेको छ भने ३ को घटेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.६९ प्रतिशतले बढेको छ ।

    आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था १० प्रतिशत र युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, शिवम् सिमेन्ट, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र सोल्टी होटलको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    नेप्सेका अनुसार सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

  • ‘नीति तथा कार्यक्रम सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन’

    ‘नीति तथा कार्यक्रम सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन’

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै बन्न थालेको बताएका छन् ।

    बुधबार संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै थापाले नीति तथा कार्यक्रमको लक्ष्य र उद्देश्य प्रष्ट नभएको दाबी गरेका हुन्।

    त्यो कसका लागि ? केका लागि ल्याइएको भन्ने बारेमा अस्पष्ट हुने गर्दा समस्याको समाधान नहुने गरेको बताए ।

    थापाले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा १८८ बुँदा छ, यसमा सरकारको इच्छा, छ, समीक्षा छ, योजना छ, कार्यक्रम पनि छ ।

    सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन । पहिले नीति तथा कार्यक्रममा छोटो हुन्थ्यो, अहिले लामो आउँछ । समयक्रममा यसलाई हामीले सरकारको विज्ञापन गर्ने अस्त्र बनाएका छौँ ।’

    उनले सरकारले उद्देश्यअनुसारका नीति र कार्यक्रमहरू अबलम्बन गर्नुपर्ने र तिनलाई आवश्यकताअनुसार परिमार्जन र व्यवस्थापन गर्नुपर्ने बताए ।

    सांसद थापाले सरकारले नीति तथा कार्यक्रममार्फत् भ्रष्टाचार अन्त्य गर्नकालागि उपचारात्मक नीतिमात्रै उल्लेख गरेको भन्दै त्यतिले मात्रै भ्रष्टाचारको अन्त्य नहुने बताए ।

    थापाले भने,‘पढ्दै गयो भने नीति तथा कार्यक्रममा सबै छ। इच्छा छ, समीक्षा छ, कार्यक्रम छ योजना, तर राम्रोसँग हेर्‍यो भने केही छैन। किनभने यो के का लागि ल्याइएको हो भन्ने कुरामा हामी सघन छलफल गरेनौं।’

  • वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादबले लिए पद तथा गोपनियताको शपथ

    वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादबले लिए पद तथा गोपनियताको शपथ

    काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादबले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

    मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

    ननियुक्त मन्त्रीहरु जनता समाजवादी पार्टी जसपाका हुन् ।

  • काठमाडौंका  संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण महानगरमा पठाउनु पर्ने

    काठमाडौंका संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण महानगरमा पठाउनु पर्ने

    काठमाडौं । काठमाण्डौ महानगरले महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र गरेको छ । महानगरको शिक्षा विभागले आज सूचना निकालेर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन भनेको छ ।

    महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न सूचित गरिएको छ ।

    महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि भनेको छ । साथै, तोकिए अनुसार समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी दिएको छ । महानगरले वडाअध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न पनि आग्रह गरेको छ ।

  • चेन्नई पुग्यो आइपीएलको फाइनलमा

    चेन्नई पुग्यो आइपीएलको फाइनलमा

    काठमाडौं । गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को फाइनलमा पुगेको छ। मंगलबार राति घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो। चेन्नई आइपिएलको १४ सिजन मध्ये दशौं पटक फाइनलमा पुगेको हो। चेन्नईले यसअघि खेलेका नौ फाइनलमध्ये चार फाइनल जित्दै उपाधि जितेको छ। चेन्नईले दिएको १७३ रनको लक्ष्य पछ्याएको गुजरात अन्तिम बलमा १५७ रनमा अलआउट भयो।

    गुजरातका ओपनरद्वय ऋद्धिमान साह १२ रन र शुभमन गिल ४२ रनमा आउट भए। दुवैले चेन्नईका दीपक चाहरले आउट गरे। कप्तान हार्दिक पाण्ड्या ८ रनमा आउट भए भने डेभिड मिलर ४ रनमा पेभिलियन फर्के। १९औं ओभरको तेस्रो बलमा रासिद खान ३० रन बनाएर नवौं विकेटको रुपमा आउट भएपछि गुजरातको आसा सकिएको थियो। बलिङमा चेन्नईका दीपक चाहर, रविन्द्र जडेजा, महीश तिक्षणा र मथीशा पाथिरनाले २(२ विकेट लिए। त्यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ७ विकेटको क्षतिमा १७२ रन जोड्यो।

    चेन्नईका लागि ओपनर रुतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६० रन र डेभन कनवेले ३४ बलमा ४० रन जोडे। रविन्द्र जोडेजाले २२ रन जोड्दा अन्जिका राहाणे र अम्बाती रायडु १७–१७ रन जोडेर आउट भए। बलिङमा गुजरातका मोहमद सामी र मोहित शर्माले दुई दुई विकेट लिए।
    अब पराजित भएको गुजरातका लागि दोस्रो क्वालिफायर खेल्दै फाइनल पुग्ने मौका छ। दोस्रो क्वालिफायरमा गुजरात र एलिमिनेटरको विजेताबीच खेल हुनेछ। एलिमिनेटरमा लखनउ र मुम्बई भिड्दैछन्।