Category: समाचार

  • बालकृष्ण पक्राउ परेपछि ‘गायव’  मञ्जु खाण संसदमा उपस्थित !

    बालकृष्ण पक्राउ परेपछि ‘गायव’ मञ्जु खाण संसदमा उपस्थित !

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन् ।

    नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि देश छोडेर गएको हल्ला चले पनि आज नयाँ बानेश्वरस्थित संसद भवनमा देखिएकी हुन् । मञ्जुका पति पूर्व गृहमन्त्री खाँण २७ वैशाखमा पक्राउ परेका थिए ।

    सार्वजनिक भएको एउटा अडियोले उनको नाम शरणार्थी प्रकरणमा जोडिएको छ। उनीमाथि आरोप लाग्दै पनि आएको छ। प्रहरीले उनलाई सम्पर्क गर्न प्रयास गरे पनि उनी उपलब्ध थिइनन्। कतिसम्म भने उनी फरार भएको र अस्ट्रेलिया पुगिसकेका तर्क पनि गरेका थिए।

  • दोधरा चाँदनी सुक्खा बन्दरगहाको निर्माणकार्य तीन वर्षभित्रसक्ने

    दोधरा चाँदनी सुक्खा बन्दरगहाको निर्माणकार्य तीन वर्षभित्रसक्ने

    काठमाडौं । सरकारले दोधरा चाँदनी सुख्खा बन्दरगाह तीन वर्षभित्र बनाउने घोषणा गरेको छ ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् ।

    “दोधरा चाँदनी सुक्खा बन्दरगहा तीन वर्षभित्र निर्माण सम्पन्न गरिनेछ ,” उनले भने ।

  • दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

    दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

    काठमाडौं । दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष तोकिएको छ । नेपाल नागरिक प्राधिकरणका अनुसार यो प्रावधान १ जनवरी २०२४ बाट लागू हुने छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको नाइनएन–एइटी, डीएचसी–६–३०० जहाज दुर्घटनाबारे अध्ययन गर्न सरकारले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा छानविन आयोग बनाएको थियो । सो आयोगले दिएको सिफारिसका आधारमा प्राधिकरणले यस्तो निर्णय लिएको हो ।

    दुर्घटनाग्रस्त विमान ६२ वर्षका पाइलटले उडाएका थिए । अहिले नेपालमा सबै गन्तव्यमा जहाज उडाउने पाउने उमेर ६५ वर्ष तोकिएको छ । तर आयोगले बढ्दो उमेरसँगै पाइलटको कार्यक्षमतामा आउने ह्रासका कारण हुने जोखिम उच्च हुने निष्कर्ष निकालेको छ र छोटो धावनमार्ग रहेका विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर हद ६० वर्षमा झार्न सिफारिस गरेको छ ।

    प्रतिवेदन अनुसार ५५ वर्ष हाराहारीसम्म राम्रो कार्य कुशलताका साथ काम गर्ने भएपनि त्यसपछि भने क्रमशः क्षमता घट्दै जाने देखिएको छ । यो तथ्य अन्तर्राष्ट्रिय नियामक निकायबाट समेत प्रमाणित भएको संयोजक सुमनले बताए । पाइलटको शारीरिक तथा मानसिक स्वास्थ्य, विगतमा भएका दुर्घटनाको रेकर्डको वैज्ञानिक अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुझाव दिएको छ ।

    पोखराबाट जोमसोम उडेको उक्त जहाज दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । दुर्घटनाको मूख्य कारण मौसममा अकस्मात आएको खराबी थियो । तर चालक दलले जहाजमा रहेका उपकरणहरुलाई उचित तरिकाबाट सञ्चालनमा ल्याउन नसकेको अध्ययनले देखाएको छ ।

    प्रतिवेदन अनुसार जहाज जमिनको नजिकै जाँदा चेतावनी दिने प्रणाली ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ अफ गरिएको थियो । जसले गर्दा जहाज जमिनमा ठोक्किने अवस्था आउँदा समेत चालक दलले यसको संकेत पाएनन् । यो जहाजमा सबै भार चालकले उठाएका थिए । को–पाइलटको यो गन्तव्यमा मात्र दोस्रो उडान थियो । पाइलट बढी उमेर र ज्यादै अनुभवी भएपनि अनुभवविहीन को–पाइलट राख्नु वायुसेवा कम्पनीको कमजोरी मानिएको छ ।

  • भिजिट भिसामा खाडी जानेमाथि निगरानी बढाइने

    भिजिट भिसामा खाडी जानेमाथि निगरानी बढाइने

    काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयहरुलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिहरुप्रति पूर्ण सतर्कताका साथ काम गर्ने भनेका छन् ।

    खासगरी भिजिट भिसामा खाडी मुलुक, टर्की, फिलिपिन्स, थाइल्याण्ड र मलेसिया जाने यात्रुमाथि बढी निगरानी गर्न निर्देशन दिइएको छ । यस्ता मुलुकका भ्रमणमा जाने व्यक्तिको आवश्यक कागजात, भ्रमणको उद्देश्य जस्ता विषयमा सूक्ष्म अध्ययन तथा क्रम भेरिफिकेसन गर्न भनिएको छ ।

    साथै कागजातको वैधताको समेत अध्ययन गर्न महानिर्देशक अधिकारीले अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएका छन् । भिजिट भिसामा प्रस्थान अनुमति दिंदा नाता प्रमाणित लगायत आवश्यक कागजात अनिवार्य रुपमा ‘नेपाल पोर्ट सिस्टम’मा अपलोड गर्न समेत विभागले निर्देशन दिएको छ ।

  • सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

    सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव मागेका थिए । प्रधानमन्त्री प्रचण्ड आफैंले सार्वजनिक कार्यक्रमहरुमा यसपालिको नीति तथा कार्यक्रम र बजेट, उत्पादनमा वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताइसकेका छन् । यसअघिकै ठूला र रणनीतिक महत्वका पूर्वाधार आयोजनालाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा संघीयताको सवलीकरण, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा जलवायु परिवर्तनलाई ध्यानमा राखेर दिगो विकासमा जोड दिइएको छ ।

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे सक्कली भुटानी शरणार्थीका नेता

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे सक्कली भुटानी शरणार्थीका नेता

    काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा नेता रिजाललाई काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

    राजनीतिक एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।

    पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी छ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए ।

    आज (बिहीबार) मात्रै नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई प्रहरीले सिंहदरबार परिसरबाटै पक्राउ गरेको छ ।

    यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परिसकेका छन् ।

  • नेपाल एयरलाइन्सले  गौतमबुद्ध  विमानस्थलमा नियमित उडान गर्ने

    नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्ने

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गते (जुन १२) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।

    निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । टिकट बुकिङ खुला गरेको छ । यात्रुहरूको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना बनाएको बताइएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको छ ।

    यसै सिलसिलामा निगमका कार्यकारी अध्यक्ष र वाणिज्य विभागका निर्देशकले हालै गरेको मलेसिया भ्रमणमा मलेसियाका डाइरेक्टर अफ सिभिल एभिएसन अथोरिटी (सीएएएम) सँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी छलफल भएको थियो ।

    उक्त भ्रमणमा मलेसियास्थित नेपाली दुतावास, ट्राभल एजेन्टहरू, त्यहाँ रहेका उद्यमी व्यवसायीहरू, नेपाली समुदायका व्यक्तिहरूसँग समेत छलफल भएको बताइएको छ ।

    निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआइए) सम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था पनि गर्ने बताइएको छ ।

  • चित्रबहादुर केसीको प्रश्न– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने नेपालीको बाध्यता के हो?

    चित्रबहादुर केसीको प्रश्न– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने नेपालीको बाध्यता के हो?

    काठमाडौं । प्रतिनिधिसभा बैठकको रोस्ट्रममा उभिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेपछि भारत भ्रमण पहिलो बाध्यता नभएको बताएका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

    सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतबाट हुने भन्दै किन भारतबाटै गर्नुपर्ने बाध्यता के हो भन्दै प्रश्न गरेका थिए ।

    सांसद केसीले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता नरहेको प्रष्टाएका छन्।

    ‘भारत भ्रमण गर्नुपर्ने नेपालमा त्यस्तो कुनै बाध्यता छैन। त्यसको जवाफ मैले पहिलो प्रधानमन्त्रीकालमा दिइसकेको छु,’ उनले भने, ‘भारत भ्रमण गर्ने प्रचलन भए पनि राजनीतिक बाध्यता छैन।’

  • लडाकु शिविरमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड

    लडाकु शिविरमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पूर्वलडाकूको नाममा भ्रष्टाचार भएको भन्ने आरोपहरू केवल आरोप मात्र भएको बताएका छन्।

    तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए ।

    राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले ८४६० पूर्व लडाकुको नाममा अर्बौं रुपैयाँ गएको छ। ती लडाकु को हुन्? अनि क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचारमा छानविन गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले भने क्यान्टोन्टमेन्टमा भएको घोटलाबारे कसैले छानविन गरेर आफू दोषी भए जेल जान तयार बताए।

    संसदमा बिहीबार भएको प्रश्न उत्तरमा प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताए ।

    ‘कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैँ जेल जान तयार रहेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘सबै चिज छानबिन गर्न सकिन्छ। लडाकु शिविरको कुरा कपोलकल्पित र पूर्वाग्रही छ।’

    लडाकु शिविरका कुरा राजनीतिक आग्रह र पूर्वाग्रहका साथ बेलाबेला उठ्ने गरेको प्रधानमन्त्री दाहालले बताए। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुँदा रूजु गरेर यो विषय टुंग्याइएको उनको भनाइ छ।

  • ‘लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले नगर्नू भनेकाले रोकिएको छ’

    ‘लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले नगर्नू भनेकाले रोकिएको छ’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन्।

    प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनालले सोधेको प्रश्नमा जवाफ दिँदै उनले लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले सार्वजनिक नगर्नु भनेकाले रोकिएको बताए।

    ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेश र थरुहट आन्दोलनको विषयमा छानबिन गरेर रिपोर्ट पेस गर्न लाल आयोग गठन भएको कुरा साँचो हो। त्यो आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र म पनि पर्छ।’ प्रचण्डले भने, ‘यसलाई कुन रुपमा कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको जानकारी गराउन चाहन्छु।’

  • प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन

    प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको छ । एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को (५) निलम्बन गरिएको हो ।

    नियम निलम्बनका लागि नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले प्रस्ताव राखेका थिए । लेखकको प्रस्तावलाई नेकपा (एमाले)का सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले समर्थन जनाएका छन् । नियमावली आज एक दिनका लागि मात्र निलम्बन गरिएको हो ।

    लेखकले राखेको प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको सर्वसम्मतिबाट पारित भयो ।

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

    नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

    हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहीबार बिहान सिंहदरबारभित्रै बाट पक्राउ गरेको हो ।

    मियाँले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गरेको थियो।

    नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए ।

    उनले चढ्ने गाडी भने यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो ।

    गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए ।

  • धौलागिरि हिमाल चुचुरोमा पुगे ८ आरोही

    धौलागिरि हिमाल चुचुरोमा पुगे ८ आरोही

    काठमाडौं । म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन्। बुधबार धौलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन्। पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए।

    सेभेन समिट ट्रेक्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले आज बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन्। पायनियर एडभेन्चरले आफ्नो कम्पनीमार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पाले धौलागिरिको चुचुरोमा पुगेका जनाएको छ।

    धौलागिरिमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७ः०० बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताए। आरोहणबाट फर्केपछि वार्टेकले चार हजार सात सय मिटर उचाइको वेस क्याम्पमा स्कीसमेत खेलेका थिए । धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षीय ज्येष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेनको सपना अधुरै रहने भएको छ।

    बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाइते भएपछि उनको धौलागिरिको चुचुरोमा पाइला राख्ने १४ औँ प्रयास असफल बनेको हो। दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको थियो। कार्लोसको फेसबुक पेज अनुसार बधुबार राति धौलागिरि चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धार गरी क्याम्प तीनमा झारेको तथा होलिकप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ। रासस

  • काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?

    काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?

    काठमाडौं । आज काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा जारी छ । जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर मौसम अझै तीन दिन बदली रहने छ । पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना छ ।

    अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया सफा रहेको छ। काठ‍माडौै उपत्यकामा विहानैदेखि बादल लागेका कारण भिजिविलिटी कम रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भाग भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राती कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ। मौसमको यो क्रम आगामी तीन दिनसम्मै जारी रहने छ ।

  • संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

    संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

    काठमाडौं । आज बस्ने संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।

    यसअघि नै आज प्रश्नोत्तर कार्यक्रमको तयारी गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ । यस्तै, प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७८\०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ ।

  • हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपाली नेताले पैसा लिने गरेको अमेरिकाको दावि

    हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपाली नेताले पैसा लिने गरेको अमेरिकाको दावि

    काठमाडौं । अमेरिकाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले नेपाललाई हिन्दूराष्ट्रको पक्षमा बोल्न राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पैसा दिने गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा नागरिक समाजका अगुवाहरूलाई उद्धृत गर्दै हिन्दूराष्ट्रका पक्षमा बोल्न नेपालका नेताहरूलाई पैसा दिँदै आएको दाबी गरेको हो ।

    ‘नागरिक समाजका अगुवाहरूले उनीहरूले दक्षिणपन्थी भन्ने गरेको भारतको भाजपासम्बद्ध धार्मिक समूहहरूले सबै राजनीतिक दलका प्रभावशाली नेताहरूलाई हिन्दूराष्ट्रका समर्थनमा बोल्न निरन्तर रूपमा रकम उपलब्ध गराउने गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ । उक्त अमेरिकी प्रतिवेदनको १३ पृष्ठमा नेपालको धार्मिक अवस्थाका बारेमा चर्चा गरिएको छ ।

    ‘नागरिक समाजका अगुवाहरूले भारतको हिन्दूराष्ट्रवादी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतका अन्य हिन्दू समूहहरूले नेपालका राजनीतिज्ञलाई विशेषगरी राप्रपालाई हिन्दू राज्य पुनस्स्थापित गर्न निरन्तर रूपमा दबाब दिइरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ । विभिन्न अनुसन्धान र समाचारमा आधारित भएर प्रतिवेदन तयार गरिएको अमेरिकाको दाबी छ । अमेरिकाले १९९८ मा पारित गरेको कानुनअनुसार अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन तयार पार्छ ।

    प्रतिवेदनमा नेपालको विभिन्न धर्मको अभ्यास गर्ने जनसंख्या, विभिन्न धर्मप्रति सरकारले गर्ने व्यवहार र कानुनी अवस्थाबारे चर्चा गरिएको छ । त्यसैगरी धर्मिक स्वतन्त्रताप्रति समाजिक सम्मानको अवस्था र अमेरिकी सरकारको भूमिकाको विषयमा विस्तृत चर्चा गरिएको छ । जसमा धार्मिक स्वतन्त्र उल्लंघन हुने गरी भएका घटनाहरूको विवरण राखिएको छ । जसमा सन् २०२२ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटनाहरूलाई समावेश गरिएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकार, मानवअधिकारकर्मी, प्राज्ञ, सञ्चार माध्यम तथा अन्य स्रोतबाट सूचनाबाट प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार पारिएको उल्लेख छ । प्रतिवदेनमा नेपालमा तिब्बती बौद्ध धर्मालम्बी नेताहरूले धार्मिक गतिविधि गर्न पछिल्लो वर्ष सहज भए पनि क्रिश्चियनलाई कठिनाइ बन्दै गएको जनाएको छ ।

    प्रतिवेदनमा नेपालमा धार्मिक स्वतन्त्रताको अवस्थाको बारेमा चर्चा गर्दा तिब्बती बौद्धहरूले गैरराजनीतिक कार्यक्रम गर्न खुकुलो भएको तर क्रिश्चियनहरूमाथि जबर्जस्ती धर्मान्तरणको नाममा कानुनको अत्यधिक प्रयोग गर्ने गरिएको उल्लेख छ ।

    ‘तिब्बती बौद्ध समुदायका नेताहरूले यो वर्ष केही धार्मिक तथा सांस्कृतिक पर्व प्रहरी हस्तक्षेपबिना सम्पन्न गरिएको भएको जोड दिएका छन् । सरकारले लोसार, दलाई लामाको जन्मदिनसहित अन्य धार्मिक कार्यक्रम’ आयोजना गर्न दिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा दलाई लामोको फोटो कार्यक्रममा राख्न दिएको विषयलाई जोड दिएको छ । तिब्बती बौद्धहरूलाई अघि वर्षभन्दा सन् २०२२ मा धार्मिक गतिविधि गर्नका लागि सहज भएको प्रतिवेदनमा भनिएको छ ।

    प्रतिवदेनमा धर्मान्तरण गराउने क्रिश्चियन धर्मावलम्बीलाई पक्राउ गरिएकोदेखि दूतावासले उधौलीको शुभकामना दिए समाजिक सञ्जालमा राखेको पोस्टमा भएको ुइन्गेजमेन्टु सम्मका विषयलाई राखिएको छ । प्रतिवेदनमा क्रिश्चियन समुदायका नेताहरूले क्रिश्चियन धर्मविरुद्ध फैलाइएको भावनाप्रति गम्भीर चासो व्यक्त गरेको उल्लेख छ ।

    प्रतिवदेनमा गौहत्याको विषयमा गरिएको विवरण दिँदै गत फेब्रुअरीमा बेलायती सांसदहरूको अनौपचारिक समूहले नेपालमा धार्मिक स्वतन्त्रता सम्बन्धमा जारी गरेको विश्लेषणलाई समावेश गरिएको छ । सो प्रतिवेदनमा नेपालमा फरक धर्म वा धार्मिक आस्था राख्नेहरुमाथि कानुनको अत्यधिक प्रयोग वा दुरुपयोग भएको उद्धृत गरिएको छ । जसमा कानुनको प्रयोग गरेर धार्मिक अल्पसंख्यकलाई दबाउने गरिएको उल्लेख छ । त्यसैगरी फौजदारी न्याय संहितामा रहेको कतिपय विषयलाई धार्मिक अधिकारी र कानुन व्यवसायीहरुले चासो व्यक्त गरेको बताइएको छ ।

    उता, अमेरिकी सरकारको प्रतिवेदनप्रति भारत सरकारले भने असन्तुष्टि व्यक्त गरेको छ । प्रतिवेदनमा भारतमा सरकारी निकायबाट नै धार्मिक अल्पसंख्यक समुदायमाथि ज्यादती हुने गरेको उल्लेख छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन पक्षपातपूर्ण भनेका छन् । ‘यस्तो प्रतिवेदन भ्रामक सूचना र गलत बुझाइमा आधारित हुन्छ,’ बागचीले भनेका छन् ।

    source : Ekantipur.com

  • ट्याक्टरको ठक्करबाट पाँचथरमा २ दिदी-बहिनीको मृत्यु

    ट्याक्टरको ठक्करबाट पाँचथरमा २ दिदी-बहिनीको मृत्यु

    काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(७ मा बुधबार ट्र्याक्टरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय कमल सुवेदीका विद्यालय जाँदै गरेका ९ वर्षीया छोरी गंगा र १३ वर्षीया पुजनालाई मे १ त २९६१ नम्बरको ट्र्याक्टरले बिहान साढे १० बजेतिर ठक्कर दिएको थियो ।

    ठक्करबाट सख्त घाइते भएका दिदीबहिनीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिएका छन् । घटनामा ११ वर्षकी रेश्मा बराइली र १० सोनिया अधिकारी घाइते भएका छन् । उनीहरुको पाँचर अस्पतालमा उपचार जारी छ । ट्र्याक्टर चालक फरार रहेकोले खोजी जारी रहेको प्रहरी निरीक्षक कुँवरले बताए ।

  • सर्वोच्चको फैसलाविरुद्ध नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा

    सर्वोच्चको फैसलाविरुद्ध नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ।

    रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो ।

    पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको विरोधमा नाउपाले नेपाल बन्द लगायत कार्यक्रम सार्वजनिक गरेको हो । विज्ञप्तिमा जेठको ३, ४ र ५ गते देशव्यापी राँके जुलुस प्रदर्शन, कोण सभा गर्ने र जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने उल्लेख गरिएको छ ।

    २०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

  • पासाङ ल्हामुका श्रीमानले गरे सगरमाथाको सफल आरोहण

    पासाङ ल्हामुका श्रीमानले गरे सगरमाथाको सफल आरोहण

    काठमाडौं । पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

    शेर्पा अध्यक्ष रहेको कम्पनी थामशेर्कु ट्रेकिङका अनुसार उनले बुधबार बिहान साढे ७ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

    थामशेर्कुका अनुसार शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै सात वटै महादेशका सबैभन्दा अग्ला चुचुरो चुम्ने रेकर्ड समेत राखेका छन् ।

    उनी आफ्नो धर्मपत्नी पासाङ ल्हामुले सगरमाथाको चुचुरो चुम्दै रेकर्ड राखेको ३० वर्षपछि सगरमाथा चढेका हुन् ।

    यसअघि उनकी श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने ल्हाक्पा सोनामको प्रयास सफल हुन सकेको थिएन । उनी क्याम्प – २ बाटै फर्केका थिए ।

    पहिलो नेपाली महिला आरोहीको कीर्तिमान बनाएकी पासाङ ल्हामु शेर्पाले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

    आरोहण गरी फर्कने क्रममा उनको बाटोमै निधन भएको थियो । श्रीमती पासाङल्हामुले सगरमाथाको सफल आरोहण गरेको ३० वर्षपछि ल्हाक्पा सोनाम सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

  • युक्रेनको राजधानीमा रुसले पुनः थाल्यो आक्रमण

    युक्रेनको राजधानीमा रुसले पुनः थाल्यो आक्रमण

    काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले फेरि हवाई आक्रमण गरेको छ । यस महिनामा रुसको यो लगातार आठौं आक्रमण हो । युक्रेनका अधिकारीले किभलाई लक्षित गरी सोमबार प्रहार गरिएका १८ वटा मिसाईलाई नष्ट गरेको बताएका छन् । तर, रुसले आफ्ना ड्रोन र मिसाइल लक्षित क्षेत्रमा नै खसेको दाबी गरेको छ ।

    यी आक्रमणका कारण दुई देशबीचको युद्ध झनै चर्किने देखिएको छ । रुसले मे महिनाको सुरुवातदेखि फेरि युक्रेनमा आक्रमण सुरु गरेको हो । त्यसअघि करिब दुई महिनासम्म रुसले कुनै आक्रमण गरेको थिएन । हवाई आक्रमण रोक्ने युक्रेनको प्रणालीलाई अन्त्य गर्न रुसले यस्तो रणनीति अपनाएको युक्रेनी अधिकारीहरूको भनाइ छ, जुन प्रणाली रुसको हवाई आक्रमण रोक्न निकै सफल भएको थियो ।

    युक्रेनका राष्ट्रपति भोल्दिमिर जेलेन्स्की अहिले युरोपेली मुलुकको भ्रमणमा छन् । बेलायत र जर्मनीले युक्रेनलाई हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । बेलायतले २५० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइल दिने भएको छ । जर्मनीले पनि २।७ अर्ब युरोको नयाँ हतियार दिने भएको छ ।

  • पाकिस्तानमा कोइला खानीका विषयमा विवाद हुँदा डेढ दर्जन मानिस मारिए

    पाकिस्तानमा कोइला खानीका विषयमा विवाद हुँदा डेढ दर्जन मानिस मारिए

    काठमाडौं । पाकिस्तानमा कोइला खानीका विषयमा भएको विवादमा दुई आदिवासी समुदायबीच झडप भएको छ । सो क्रममा कम्तिमा १६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको कोहट सहरमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

    खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप भएको थियो । बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद छ । दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको प्रहरी कार्यालयले जनाएको छ।

  • डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो

    डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो

    काठमाडौं । नेपाल आयल निगमले डेढ महिनाको अवधिमा डिजेल र मट्टीतेलको मूल्य २० रुपैयाँले घटाएको छ । गत चैत २० मा डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले गतरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०–१० रुपैयाँले मूल्य घटाएको हो ।

    तर पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् छ । अब डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ थियो । चैत २० गते अघि डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ७५ रुपैयाँ थियो ।

  • अर्घाखाँचीमा जंगलमा आगो लगाउने चार जना पक्राउ

    अर्घाखाँचीमा जंगलमा आगो लगाउने चार जना पक्राउ

    काठमाडौं । अर्घाखाँचीको भूमिकास्थानमा चार जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २६ गते भूमिकास्थान नगरपालिका वडा नम्बर २ स्थित तिरतिरे जंगलमा लगाइएको डढेलो घरमा सल्किन पुग्दा जलेर चार जनाको ज्यान गएको थियो।

    आगलागीमा परी गम्भीर घाइते भएका भूमिकास्थान २ बेल्बासे टोलका ७२ वर्षीय पिताम्बर बेल्बासे, ३६ वर्षीय माधव बेल्बासे, ५२ वर्षीय घनश्याम बेल्बासे र ५५ वर्षीय पदमप्रसाद बेल्बासेको उपचारको क्रममा वैशाख २७ गते मृत्य भएको हो। घटनामा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्बासे उपचारपछि घरमा आराम गरिरहेकी छन्।

    वनमा आगो लगाएको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका वडा नम्बर २ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दिपक विक, ७० वर्षीय देवीराम बेल्बासे र ३६ वर्षीय धर्मराज बेल्बासेलाई पक्राउ गरेको छ। उनीहरूलाई वैशाख ३१ गते पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो। पक्राउ परेका चारै जनामाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।

    मुलुकी अपराध संहिता २०७४ मा कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा ६ महिनादेखि दुई वर्षसम्म कैद वा बीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

    घटना विवरणअनुसार वैशाख २६ गते बिहान घाँस काट्न गएका उनीहरूले जंगल क्षेत्रमा आगो लगाएका थिए। सोही आगो फैलिदै बेल्बासे टोलका घर, गोठ तथा परालका टौवामा सल्किएको प्रहरीले जनाएको छ। जंगली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ।

  • नागरिक अगुवाले गृहमन्त्रीलाई भेटेर जनाए ऐकिवद्धता

    नागरिक अगुवाले गृहमन्त्रीलाई भेटेर जनाए ऐकिवद्धता

    काठमाडौं । नागरिक अगुवाद्वय डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । उनीहरूले मंगलबार गृहमन्त्री श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धको कदममा ऐक्यबद्धता जनाएका हुन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको एक्सनलाई समर्थन र बधाई दिंदै उनीहरूले थप अपेक्षाका साथ नागरिक खबरदारीसमेत गरेका थिए । गृहमन्त्रीको सचिवालयका अनुसार दुवै जनाले सरकारको पछिल्लो कदमले केही खुसी दिलाएको भन्दै थप अपेक्षा र विश्वास रहेको बताएका थिए ।

  • नक्कली भुटानी शरणार्थी काण्डमा गगन थापाले दिए पहिलो प्रतिक्रिया

    नक्कली भुटानी शरणार्थी काण्डमा गगन थापाले दिए पहिलो प्रतिक्रिया

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी काण्डमा पहिलो प्रतिक्रिया दिएका छन् । उनले भ्रष्टाचारविरूद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले दुई पेज लामो धारणा सार्वजनिक गरेका हुन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय रहेको भन्दै उनले मुद्दा लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने धारणा राखेका छन् ।


    उक्त प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेका छन्। उनी पक्राउ परेता पनि कांग्रेसले अहिलेसम्म भने पार्टीबाट निलम्बन गरेको छैन। उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन भएको भन्दै नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रूपान्तरण र सुशासनको प्रत्याभूति हुन नसकेको बताएका छन् । यसो हुन नसक्नुमा एउटा प्रमुख कारण भ्रष्टाचार र कुशासन भएको उनको निष्कर्ष छ ।


    उनले भनेका छन्, ‘विगत लामो समयदेखि हाम्रो शासकीय संरचनामा प्रवृत्ति कै रूपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्र लगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा छ।’ यस्तो प्रवृत्तिविरूद्ध पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ भएको भन्दै उनले यसलाई जायज र स्वाभाविक भनेका छन् ।

    यसका विरूद्ध भइरहेका तमाम नागरिक आन्दोलन र अभियानप्रति ऐक्यबद्धता प्रकट समेत उनले गरेका छन् । उनले अगाडी भनेका छन्, ‘अब कुनै पनि व्यक्ति, समूह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बीचको बाटो कसैसँग पनि छैन।’

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने पछिल्लो प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो र भ्रष्टाचारको संगठित प्रवृत्ति उजागर भएको भन्दै उनले यो प्रकरण सबैको मापन गर्ने विषय बनेको बताए ।
    उनको धारणा यस्तो छ :
    १. नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन यो संगठित अपराध हो, मानव बेचबिखन हो। यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो। तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागिदार छन्।

    २. हालसम्म यस प्रकरणमा सरकार र नेपाल प्रहरीले गरेको प्रयास प्रशंसनीय छ। अपराधमा संलग्न जोसुकै हुन, जुनसुकै परिवार, पद र पार्टीका किन नहुन्, निष्पक्ष छानबिन हुनुपर्छ। कुनै पनि बहानामा अनुसन्धान अवरोध, ढिलासुस्ती, दबाब वा प्रभाव पारिनु हुँदैन। पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्छ।

    ३. विधिको शासन र कानूनको दृष्टिमा सबै नागरिकहरू समान हुन्छन्। अपराधमा संलग्न भैसकेपछि अपराधको दल, वर्ण, जात, लिङ्ग वा समुदाय हुँदैन, हुनुहुँदैन। दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउनु हुँदैनस तर निर्दोष छ भने अन्यायमा पनि पर्नु हुँदैन। अनुसन्धानको स्वतन्त्र र स्वाभाविक दिशाले निर्दिष्ट गरेको अन्तिम विन्दुसम्मै अनुसन्धान हुनुपर्छ।

    ४. विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ। पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रशस्त गर्नुपर्छ। अनुसन्धानबाट निर्दोष साबित भए पुनर्स्थापना हुन्छ नै। यो कानूनमात्र होइन न्यूनतम नैतिक विषय पनि हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा यो नै नेपाली कांग्रेस पार्टीको धारणा हो। नेपाली कांग्रेस पार्टीका लाखौं आम सदस्यहरूको धारणा हो।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो। पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार
    वा अपराधमा संलग्न हुन सक्छ। तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन।

    पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो( अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ। दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो। यति गम्भिर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ।

    पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु। पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि, आज पनि र भोली पनि मेरो धारणा यही नै रहनेछ। पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु( गलत परम्परा तोडिनु पर्छ। परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन। मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु, लागिरहनेछु। अतः हामी कांग्रेस प्रष्ट हुनुपर्छ ।

    १. नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानून बमोजिमको सजाय पाउनै पर्छ।

    जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वाभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ। परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरूपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ।

    २. नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन, अख्तियारको दुरूपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग जस्ता विगतमा भएका अन्य मुद्दाहरूको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारवाही गर्न र सुशासन कायम गर्न दृढतापूर्वक नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ।

    ३. भ्रष्टाचारको एउटा महत्वपूर्ण कारण र आधार नीतिगत भ्रष्टाचार बनेको छ। नीतिगत विषयमा ठूला र शक्तिशाली भ्रष्टाचारका कार्य भइरहेका प्रसंग उठेका छन्। त्यसैले, विगतमा नीतिगत निर्णयका नाममा तामेलीमा रहेका वा अनुसन्धानको दायरामा नआएका भ्रष्टाचारका विषयहरू समेत अनुसन्धानको दायरामा ल्याउनु पर्छ। भ्रष्टाचार सम्बन्धी कसुरमा हदम्याद हटाउनु पर्छ।

    यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार सम्बन्धी दुइटा ऐन संशोधन विधेयक विचाराधीन छन्। हामी नेपाली कांग्रेसका सांसदहरूले यी विषयलाई संशोधनमा राखेका छौं। यी विषय लगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानूनी, संरचनागत र संस्थागत सुधार गर्ने जुन वातावरण ऐले बनेको छ, त्यसको नेतृत्व र अग्रसरता कांग्रेसले नै लिनुपर्छ।

    अन्त्यमा, अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग पुछिँदैन, अनुहारकै दाग पुछ्नु पर्छ। त्यसका लागि पार्टीभित्र शुद्धीकरणको अपरिहार्यतालाई बोध गर्दै पार्टीका प्रत्येक सदस्यले दृढ संकल्प गर्ने बेला आएको छ। सुशासन र सदाचार नै समुन्नत नेपाल निर्माणको आधारशिला हुन्। त्यसैले तिनको पक्षमा दृढतापूर्वक उभिन र जहाँ हुनुहुन्छ त्यहीबाट भ्रष्टाचार र कुशासनका विरुद्धमा पार्टीभित्र र बाहिर आवाज उठाउन दबाब दिन र खबरदारी गर्न पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु । जय नेपाल…

  • नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले मागे सत्तारुढ दलसँग सुझाव

    नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले मागे सत्तारुढ दलसँग सुझाव

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिएका हुन्।

    सरकारले यही जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। त्यसैका लागि सुझाव लिन मंगलबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका नेताहरुसँग छलफल गरेका नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

    ‘कतिपयले मौखिकरुपमा पनि राख्नुभयो’, छलफलपछि पाण्डेले भने, ‘समयको चाप भएकाले बाँकी रहेकाले लेखेर दिनुहोला भनेर भनेपछि आजको बैठक सकिएको छ ।’

    छलफलमा कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र युवा प्रतिभा पायलन रोक्न शिक्षामा सुधार गर्नुपर्ने कुरा सुझावका रुपमा आएको उनले बताए । ‘कृषि र पर्यटनलाई अलि जोड दिएर रोजगारी सिर्जना गर्ने र प्रतिभा पलायन हुँदै युवा शक्ति जसरी बाहिर गइरहेको छ, त्यसलाई रोक्न यहाँको शिक्षालाई कसरी व्यवस्थित गर्न सक्छौं भनेर सुझाव दिने काम भएको छ’, पाण्डेले भने ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनले आफूहरुले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको बताए।

    ‘समय नभएको हुनाले हामीले सुझाव भरेभोललि लेखेर दिने कुरा छ। हामीले त अब हाम्रा सुझाव कार्यान्वयन हुने भए त धेरैठाउँ लथालिंग छ राष्ट्रको कृषिमा, उद्योगमा, शिक्षामा, स्वास्थ्यमा कहाँ छैन गडबडी रु त्यसकारणले त्यो सुधार गर्नुपर्छ । नयाँ शिराबाट जानुपर्छ’ केसीले भने ।

    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सत्तारुढ दलमा आवद्ध नेताहरु सहभागी थिए।

  • मुकेश कायस्थलाई सहिद घोषणा

    मुकेश कायस्थलाई सहिद घोषणा

    काठमाडौं । सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिन अघि दिवंगत भएका कायस्थलाई सहिद घोषणा गरेको हो।

    दोस्रो जनआन्दोलनका घाइते कायस्थलाई यसअघि जिउँदा सहिद घोषणा गरिएको थियो। २०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।

  • भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ

    भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ ।

    निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको हो।

    अहिले पनि घटेर आएकाले यही मूल्य कायम रहे निगमलाई आगामी १५ दिनमा लगभग साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ। स्रोतका अनुसार निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १९ रुपैयाँ र डिजल लिटरमा १४ रुपैयाँ नाफा रहनेछ।

    हालसम्म ४२ अर्ब ५२ करोड रुपैयाँ दायित्व बाँकी रहेको निगमले जनाएको छ।

    हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

  • रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर

    रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर

    काठमाडौं । टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

    सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो ।

    इजलासले भनेको छ- अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन। यो निर्णयसँगै अब चौधरीले बाँकी समय पनि थुनामा नै बिताउनुपर्नेछ।

    २०७२ भदौ ७ गते मधेश-थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए।

    सोही प्रकणमा रेशम चौधरीलाई उच्च अदालतले समेत टीकापुर प्रकरणमा जन्मकैदको सजाय सुनाएको थियो।

    घटनाका मुख्य आरोपी सांसद भएको समयमा चौधरी जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्।

  • ‘शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था देख्दिनँ’

    ‘शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था देख्दिनँ’

    काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धन फेरबदल नहुने बताएको छ।

    कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताएका हुन्।

    सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

    ‘नक्कली शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था म देख्दिनँ’, उनले भने, ‘यही प्रकरणले सत्ता गठबन्धन तलमाथि हुने सम्भावना छैन। म त्यस्तो देख्दिनँ।’

    उनले सभापति शेरबहादुर देउवाले यो प्रकरणलाई निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न आग्रह गरिसकेको बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन्।