Category: समाचार

  • ललितपुर महानगरले भन्यो : सुन्दरताको अभियानमा अवरोध नगर्नुहोस

    ललितपुर महानगरले भन्यो : सुन्दरताको अभियानमा अवरोध नगर्नुहोस

    काठमाडौं । ललितपुर महानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियानमा अवरोध नगर्न भनेको छ । महानगरपालिकाले सञ्चालन गरेको सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको अभियानमा केही व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक जग्गा तथा सम्पत्ति अतिक्रमणमा लागेको र आफ्नो घरको गेट समेत सार्वजनिक बाटोतर्फ खोल्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बाटोमा प्रयोग गरी अरु नागरिकलाई समेत अवरोध सृजना गर्ने गरेको पाइएकोमा ध्यानाकर्षण भएको महानगरले जनाएको छ ।

    त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई ३५ दिनभित्र सुधार गर्न पनि महानगरपालिकाको आग्रह छ । तोकिएको मिति ३५ दिनभित्र पनि सुधार नगरेमा कानुनी कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । महानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियान अन्तर्गत हरियाली प्रवर्द्धन, सडक पेटीमा सुधार, स्मार्ट बत्ती जडान, ऐतिहासिक सम्पदा तथा सार्वजनिक जग्गा संरक्षणका काम गर्दै आएको जनाएको छ ।

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । देशको पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदली भएको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने भएको छ ।

    कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ–हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना छ । बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरेकाले नेपालमा त्यसको प्रभाव नरहेको बताइएको छ ।

  • दैलेखमा चट्याङ लागेर एकै परिवारका चार घाइते

    दैलेखमा चट्याङ लागेर एकै परिवारका चार घाइते

    काठमाडौं । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका २ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई गएराति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्‍याइएको थियो ।

  • काठमाडौंमा अब अनलाइन प्रणालीबाटै भवनको नक्सापास हुने

    काठमाडौंमा अब अनलाइन प्रणालीबाटै भवनको नक्सापास हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीबाटै भवनको नक्सापास गर्न सकिने व्यवस्था गरेको छ । भवनको नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्डकपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको महानगरले जनाएको छ ।

    ३१ वैशाखमा मेयर बालेन्द्र साहले एक निर्णय गर्दै सोमबारदेखि कागजरहित सेवा सुरु गरेका हुन् । भवनको नक्सा अनलाइन प्रणालीबाट सुरु गर्नका लागि इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (ईबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ ।

    यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो । महानगरका अनुसार नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाण पत्र लिँदा यस अघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानु पर्ने अवस्था थियो ।


    १६ भदौ २०७० देखि महानगरले कागज पनि हुनु पर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेको हो । फाइलमा भएका कागज र प्रणाली भिडाएर प्रक्रिया अगाडि बढाइन्थ्यो । प्रणालीका अंग परिपक्व भइनसकेकाले यस अघि कागज बोक्नु पर्ने अवस्था थियो । प्रणालीलाई विकास गर्दै विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्का सम्बन्धी उजुरीसहितको बनाएपछि काजगरहित सेवामा रुपान्तरण गरिएको महानगरले जनाएको छ ।

    सेवाग्राहीको हातहातमै सेवा दिने, जहाँबाट पनि सेवा लिन सकिने एकीकृत विद्युतीय सुशासन प्रणालीको व्यवस्था गरिसकेको भन्दै मेयर साहले भने, ‘सहज, सरल र पहुँचयुक्त सेवाका लागि हामीले लिएको नीति कार्यान्वयन भएको छ । सेवा प्रवाहसँगै कर प्रणाली, आकस्मिक सेवा, विभिन्न प्रकारका सिफारिस लिने जस्ता महत्वपूर्ण काम इन्टरनेट भएको मोबाइल र कम्प्युटरमा प्राप्त हुनेछ ।’ महानगरले १ वैशाखदेखि ५ हजार वर्गफिटसम्म क्षेत्रफल भएको भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिएको छ ।

  • टोपबहादुर  पक्राउबारे संसदलाई जानकारी

    टोपबहादुर पक्राउबारे संसदलाई जानकारी

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ भएकाे जानकारी गराएका छन् । सभामुख घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझीकाे पक्राउबारे संसदलाई जानकारी गराएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो। पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि सभामुख घिमिरेले संसदलाई जानकारी गराएका हुन् । *सच्याइएको/सम्पादक

  • टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

    टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

    जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो।

  • अदालतमा टोपबहादुर, हात हल्लाउँदै भित्र छिरे

    अदालतमा टोपबहादुर, हात हल्लाउँदै भित्र छिरे

    काठमाडौं । आइतवार पक्राउ परेका नेकपा (एमाले) सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिल कार्यालयमा उपस्थित गराएको छ। हिरासतबाट सोझै ल्याइएका उनी सरकारी वकिल कार्यालयमा आत्मविश्वासका साथ उपस्थित भएको देखियो।
    अदालतमा जाँदै गर्दा गाडीबाट ओर्लिएपछि टोपबहादुरको मुहारमा मुस्कान देखियो। उनको तस्बिर लिनका लागि अदालत परिसरमा उपस्थित सञ्चारकर्मीतर्फ फर्किँदै रायमाझी मुस्कुराए र हात हल्लाउँदै अदालतभित्र प्रवेश गरे।

    उनलाई सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको थियो। त्यहाँ सबै तयारी पूरा भएपछि मात्र प्रहरीले जिल्ला अदालत पुर्‍याएको थियो। उनलाई अदालतले अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

  • पासाङ दावाले चढे २६ पटक सगरमाथा, कामी रिताको विश्व कीर्तिमान बराबर

    पासाङ दावाले चढे २६ पटक सगरमाथा, कामी रिताको विश्व कीर्तिमान बराबर

    काठमाडौं । पासाङ दावा शेर्पाले सर्वोच्च शिखर सगरमाथामा सर्वाधिक पाइला राख्नेको कीर्तिमान बराबर गरेका छन् ।

    आइतबार बिहान २६औँ पटक सगरमाथाको चुचुरोमा पाइला राख्दै अर्का कीर्तिमानी कामी रिता शेर्पासँग बराबरी गरेका हुन्।

    पासाङ दावाले हंगेरीका क्लाइन्टसँग सगरमाथा आरोहण गरेको उनको कम्पनी इम्याजिन नेपाल ट्रेक्सले जनाएको छ।

    सन् १९९८ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका पासाङले त्यसयताका २६ वर्षमा २६ पटक सगरमाथा चढेर कीर्तिमान कायम गरेका हुन्। आइतबार बिहान पौने ९ बजे वसन्त ऋतुको पहिलो सफल आरोहणमा ३ विदेशी र ३ नेपाली आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेक्दा शेर्पा पनि टोलीमा थिए ।

    आरोहण गर्नेमा पाकिस्तानी नागरिक माइली तानी, अमेरिकी महिला आरोही जेसिका र हंगेरियन मटन टी सेर्स रहेका छन् । नेपाली नागरिकहरू खुम्बुपासाङल्हमु– ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङनिमा शेर्पा रहेका छन् ।

    पा दावा उपनामले पनि चिनिने उनले सन् २००६, २००७, २०१०, २०१३, २०१८, २०१९ र २०२२ मा दुई पटक सगरमाथाको चुचुरोमा पाइला राखेका थिए।

    सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक आरोहण गरेपछि सगरमाथा ११ हजारभन्दा बढी पटक आरोहण गरिसकिएको छ । यसक्रममा कम्तीमा ३२० जनाले ज्यान पनि गुमाएका छन् ।

  • काठमाडौंमा मेलम्चीको पानी वितरण दुई साता बन्द

    काठमाडौंमा मेलम्चीको पानी वितरण दुई साता बन्द

    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट दुुई साता मेलम्चीको पानी वितरण नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

    आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा उपत्यकामा वितरण गरिएको थियो ।

    तर २०७८ जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढीरपहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर फेरि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछिको वर्षामा बन्द गरिएको पानी वितरण गएको मंसिरदेखि फेरि सुरु गरिएको थियो ।

  • अमेरिकी सञ्चार नेटवर्क सीएनआईको घुम्न लायक स्थानको सूचीमा मुस्ताङ

    अमेरिकी सञ्चार नेटवर्क सीएनआईको घुम्न लायक स्थानको सूचीमा मुस्ताङ

    काठमाडौं । अमेरिकाको चर्चित मिडिया कम्पनी केबल न्युज नेटवर्क (सीएनएन) ले सन् २०२३ मा घुम्न लायक उत्कृष्ट ठाउँहरूको सूचीमा नेपालको मुस्ताङ उपत्यकालाई समेटेको छ । सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूची सार्वजनिक गर्दै सीएनएनले नेपालको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँलाई १६ औँ नम्बरमा राखेको छ ।

    एउटा फोटोसहित सीएनएनले हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो पदमार्गमा पदयात्राका लागि यो ठाउँ उत्कृष्ट रहेको उल्लेख गरेको छ । तिब्बतको नजिक रहेको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने पनि सीएनएनले उल्लेख गरेको छ । सीएनएनले सन् २०२३ मा घुम्न लायक २३ ठाउँको पहिलो सूचीमा पश्चिमी अस्ट्रेलियाको एउटा पर्यटकीय क्षेत्रलाई राखेको छ ।

  • सरकारको नीति तथा कार्यक्रम ५ जेठमा प्रस्तुत हुने

    सरकारको नीति तथा कार्यक्रम ५ जेठमा प्रस्तुत हुने

    काठमाडौं । आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने भएका छन् । यसबारे सरकारले राष्ट्रपति कार्यालय र संसद सचिवालयमा जानकारी गराएको छ ।

    राष्ट्रपति पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेका हुन्। नीति तथा कार्यक्रममा आधारित भएर सरकारले आगामी वर्षको बजेट निर्माण गर्छ। सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था छ।

  • मोखा चक्रवातको असर नेपालमा कति ?

    मोखा चक्रवातको असर नेपालमा कति ?

    काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। पश्चिमी वायु र स्थानीय वायुकै प्रभावको कारणले आइतबार काठमाडौं लगायत देशको केही भूभागमा हावाहुरी चल्नुका साथै वर्षा भएको थियो। सोमबार पनि देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको बताइएको छ । बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक अति शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको विभागको भनाई छ ।

    नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने बताइएको छ । दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • धरानमा जनप्रतिनिधिबीचको विवाद साम्य

    धरानमा जनप्रतिनिधिबीचको विवाद साम्य

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरुबीचको विवाद साम्य भएको छ । मेयर हर्क साम्पाङले आइतबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति आत्मालोचना गरेपछि दुई महिनापछि विवाद मिलेको हो । मेयरले कार्यपालिका सदस्य र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत जथाभावी नलेख्ने प्रतिबद्धता जाहेर गरेका छन् । वडाध्यक्ष र कार्यपालिका सदस्यको राजीनामा मागप्रति पनि माफी मागेको बताइएको छ ।


    मेयर साम्पाङका स्वकीय सचिवले २९ फागुनमा उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुसँग कामको प्रगति विवरण पठाउन निर्देशन पत्र पठाएपछि विवाद सुरू भएको थियो । १ चैतको कार्यपालिका बैठकमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त निर्देशन पत्र फिर्ता हुनुपर्ने माग राखेर विरोध जनाएका थिए । उक्त बैठकमा १० नम्बर वडाका अध्यक्ष विवेक राईले फरक मत राखेका थिए । जसका कारण कार्यपालिका बैठक नै स्थगित गर्नु परेको थियो । सो बैठकमा फरक मत राखेका वडाध्यक्ष राईलाई ३ चेतमा मेयर साम्पाङले स्पष्टीकरण सोधेका थिए ।

    दुवै गलत कदम सच्याउनका लागि ५ चैतमा २८ जना कार्यपालिका सदस्यहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएका थिए । तर मेयर साम्पाङले उल्टै वडाध्यक्षहरुको राजीनामा मागे पछि विवाद थप चर्किएको थियो । विवाद चर्किएपछि आन्दोलनरत वडाध्यक्षहरुले ७ चैतदेखि विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर काम थालेका थिए ।

    धरानको विवाद समाधान भएसँगे रोकिएका ५ वटा एजेण्डा आइतबारको कार्यपालिका बैठकबाट सर्वसम्मत पास भएको उपप्रमुख बेघाको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार नगर शिक्षा समिति चयन, नदीजन्य पदार्थ उत्खननको मापदण्ड, केही ऐनहरु संशोधन सर्वसम्मत पारित भएको छ ।

  • टोप बहादुर रायमाझी पक्राउ

    टोप बहादुर रायमाझी पक्राउ

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ ।

    उनको सहयोगमा नेपाली नागरिकलाई नक्करी शरणार्थी बनाउने गिरोहले गृह मन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको बताइएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

    पक्राउ पूर्जी जारी भएको दिन राति ९ बजे उनी भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा थिए । त्यहीबेला उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सम्पर्क गरेर करिब १५ मिनेट कुराकानी गरेका थिए । त्यसक्रममा रायमाझीले आफूविरुद्ध पक्राउ पूर्जी जारी भए–नभएकोबारे जिज्ञासा राखेका थिए ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए । उनीहरुको बयानका आधारमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक यो गिरोहका सदस्यले काटेको पाइएको छ ।

    यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।

  • मदन राईलाई ७ दिन हिरासतमा राख्न अनुमति

    मदन राईलाई ७ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा पक्राउ परेका कृषि विज्ञ मदन राईविरुद्ध अनुसन्धान गर्न खोटाङ जिल्ला अदालतले प्रहरीलाई ७ दिनको म्याद दिएको छ ।

    राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको थियो । उनले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।

    राईले दिएका यौनजन्य र अश्लिल अभिव्यक्तिहरु सोसल मिडियामा भाइरल हुँदै आएका थिए।

  • ९ महिनामा ६ लाख युवाले लिए श्रम स्वीकृति

    ९ महिनामा ६ लाख युवाले लिए श्रम स्वीकृति

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको कुल सङ्ख्या हो ।

    प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार चार सय तीन, असोजमा ६२ हजार सात सय छ, कात्तिकमा ७८ हजार तीन सय ७०, मङ्सिरमा ६८ हजार पाँच सय ६४, पुसमा ६५ हजार चार सय ६४, माघमा ६४ हजार दुई सय ८४, फागुनमा ६१ हजार आठ सय ४५ र चैत महिनामा ६१ हजार चार सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ ।

    सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ । गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५.५ प्रतिशतले वृद्धि भएको छ । चैतसम्म तीन लाख ८७ हजार आठ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार नौ सय ५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ । चालु आवको नौ महिनामा रु नौ खर्ब तीन अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।

  • आइसीसी टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट नेपालमा आयोजना हुने

    आइसीसी टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट नेपालमा आयोजना हुने

    काठमाडौं । नेपालले आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने निश्चित भएको छ । २०२४ को टी–२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने गरी तय भएको छ । २० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिले सिधै स्थान पक्का गरिसकेका भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन् । एसिया क्षेत्रको छनोट आयोजनाको जिम्मेवारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

    क्यानलाई इमेल गर्दै टी–२० विश्वकप एसिया छनोटको जिम्मा दिएको छ र यसमा सहभागी हुने अन्य टिमलाई पनि जानकारी गराएको क्यानको भनाई छ । टी२० विश्वकपको एसिया क्षेत्रको छनोट आगामी नोभेम्बर १ देखि १० सम्म हुनेछ । एसिया छनोटमा नेपालसहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् ।

    बाँकी दुई टिम एसिया छनोटको क्वालिफायर चरण पार गरेर आउनेछन् । क्वालिफायरको समूह ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह बी मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । दुवै समूहबाट शीर्ष स्थानमा रहने टिमले नेपालमा हुने अन्तिम छनोट खेल्ने छन् । एसिया क्षेत्रको मुख्य छनोटमा सहभागि ८ टोलीलाई दुई समूह्यमा विभाजन गरेर खेलाइनेछ भने शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुने छन् ।

  • श्रमिक बाहेक घुमफिर र अध्ययनमा गएर फर्कने नेपालीले साथमा दोस्रो मोवाइल ल्याउन चाहे भन्सार लाग्ने

    श्रमिक बाहेक घुमफिर र अध्ययनमा गएर फर्कने नेपालीले साथमा दोस्रो मोवाइल ल्याउन चाहे भन्सार लाग्ने

    काठमाडौं । विदेशबाट फर्किंदा थप एउटा मोबाइल ल्याउन दिने गरी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा भन्सार विभागले थप व्याख्या गरी सार्वजनिक गरेको छ । विभागका अनुसार अब सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाले मात्रै थप एउटा मोबाइल शतप्रतिशत भन्सार छुटमा ल्याउन पाउने भएका छन् । विदेशबाट फर्किने अन्य नागरिकलाई सो छुट नदिइने भएको छ ।

    यसअघि सबै यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश, २०७७ बमोजिम विदेशबाट फर्कने यात्रुहरूले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान १ महसुल नतिरी ल्याउन पाउने व्यवस्था थियो ।
    भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार विदेशबाट फर्किएका जोसुकै यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश बमोजिम विदेशवाट फर्किने यात्रुहरुले आफूले प्रयोग गरिरहेको १ थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नु पर्ने छैन । जो सुकैले एक थान मोबाइल महसुल नतिरी ल्याउन पाइने छ ।

    सोही सुविधाको ब्यहोराअनुसार उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एडीएमएस०मा व्यक्ति स्वयमले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ । पहिलो फोनका हकमा जोसुकैले पनि छुट पाउने भएपनि दोस्रो फोनको हकमा भने वैदेशिक रोजगारीमा ६ महिनाभन्दा बढी काम गरेर फर्किएकाहरुले मात्रै भन्सार छुट सुविधा पाउनेछन् ।

    विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप १ थान मोबाइल फोन ल्याएमा त्यसको भने भन्सार प्रज्ञापनपत्र लिनुपर्नेछ । वैदेशिक रोजगारीमा गएकाहरुले ल्याएको दोस्रो मोबाइलको भन्सार कार्यालयमा घोषणा गरी प्रज्ञापनपत्र निःशुल्क पाइने प्रज्ञापनपत्र लिनुपर्नेछ । सोही प्रज्ञापनपत्रका आधारमा एमडीएमएसमा सो फोन दर्ता गर्न सकिने छ ।

    तर, भ्रमणमा गएर फर्किएका, वैदेशिक अध्ययनबाट फर्किएकासहित अन्य प्रयोजनमा विदेश गएर नेपाल फर्किएकाहरुले ल्याउने दोस्रो फोनमा भने भन्सार महसुल लाग्नेछ । दोस्रो फोनको भन्सार प्रक्रिया पुरा गर्दा तोकिएको महसुल तिरेपछि प्रज्ञापन पत्र पाइने र त्यही प्रज्ञापनपत्रका आधारभा एमडीएमएसमा दर्ता हुन सकिने व्यवस्था गरिएको प्रवक्ता खड्काले बताए ।

    विदेशबाट ल्यााएर नेपाली मोबइल सेवा प्रदायकको सिम प्रयोग भएको १५ दिनभित्र फोन दर्ता नभए उक्त फोन नेपालमा चल्ने छैन । २६ वैशखमा बसेको मन्त्रिपरिषद् बैठकले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप १ थान मोबाइल फोन समेत ल्याएमा कुनै पनि महसुल नलाग्ने निर्णय गरेको थियो ।

  • भ्रष्टाचारविरुद्ध प्रदर्शन होइन,थाहा छ भने सिधै बागमतीमा लगेर चोपाल्नुस्

    भ्रष्टाचारविरुद्ध प्रदर्शन होइन,थाहा छ भने सिधै बागमतीमा लगेर चोपाल्नुस्

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भ्रष्ट्राचार विरुद्ध आन्दोलन गर्नेहरुलाई भ्रष्ट्राचार गर्ने नेता को हो थाहा छ भन्दै प्रश्न गरेका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै उनले सडकमा भ्रष्ट्रचार विरुद्ध गरेको आन्दोलनको नाटक आफूले धेरै पटक देखेको उल्लेख गर्दै आफूले अब नपत्याउने टिप्पणी गरे ।

    बालेनले भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई नभई भन्दै सिधै कारबाही गर्न जिताएको भनेका छन् ।

    उनले भ्रष्टाचार गर्ने नेता को हो, घर कहाँ हो भन्दै प्रश्न गरेका छन् । उनले भ्रष्टाचार गर्ने नेता को हो भन्ने थाहा छ भने सिधै बागमतीमा लगेर चोपल्न भनेका छन् ।

    फेसबुकमा लेख्दै बालेनले भनेका छन्ः

    भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
    को नेता हो थाह छ ?
    घर कहाँ हो थाह छ ?
    सिधै लगेर बागमतीमा चोपाल्नुस ।
    यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
    पत्याउदिन म चही ।
    तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।

  • भुटानी शरणार्थी प्रकरण: कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी

    भुटानी शरणार्थी प्रकरण: कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    हिरासतमा सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो ।

    शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।

    शेर्पाले यो प्रकरणमा पक्राउ परेकाहरुलाई भेटेर पूर्वगृहमन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको नाम नपोल्न भन्दै आग्रह गरेका थिए।

    रकम फिर्ता दिलाउने भन्दै शेर्पाले केशव दुलाल र सानु भण्डारीलाई खाणको नाम नलिन भनेको प्रहरी स्रोतले जनाएको छ।

    पक्राउ पूर्जी जारी हुनुपूर्व नै यो घटनाका हाइप्रोफाइल व्यक्ति पक्राउ पर्न थालेपछि शेर्पा मोबाइलको स्विच अफ गरेर फरार छन्। शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए।

  • ‘नक्कली शरणार्थी प्रकरण अन्तर्राष्ट्रिय चासोको विषय बनिसक्यो, पछि हट्दिनँ’

    ‘नक्कली शरणार्थी प्रकरण अन्तर्राष्ट्रिय चासोको विषय बनिसक्यो, पछि हट्दिनँ’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका हुन् ।

    राप्रपाले भनेको छ- ” सदन, सडक दुवैतिर दबाब बढेको छ । कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुन्न…. सबै ठुलठुला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनु पर्यो। २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीहरूको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गरियोस्। ”

    प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए। उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका थिए।

    ज्ञापनपत्र बुझाएपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानविनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए।

  • दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार दिने सरकारको निर्णय

    दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

    शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले जेठ २०७८ यताका ५ हजार ८८० भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो ।

    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार उक्त बैठकले २०७८ र २०७९ मा गएका भूकम्पबाट पूर्ण रूपमा घर क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा गरी ५० हजार अनुदान दिने निर्णय गरेको हो।

    यसअवधिमा लमजुङ, खोटाङ, डोटी र बाजुरा केन्द्रविन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुराका ५ हजार आठ सय ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका सरकारी तथ्यांक रहेको छ ।

  • मन्त्री बन्ने सूचीबाट मनाङे आउट

    मन्त्री बन्ने सूचीबाट मनाङे आउट


    काठमाडौं । गण्डकीमा नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) को ठाउँमा तनहुँका जीतप्रकाश आले मन्त्री बन्ने भएका छन् । मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका पाण्डेले अन्तत तनहुँ–२ प्रदेश सभा २ का आलेलाई मन्त्री बनाउने निश्चित भएको हो । मनाङेलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मन्त्री बनाउने पक्षमा थिएनन् ।

  • प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

    शुक्रबार बिहान ८ बजे बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन्। भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्‍याउन लामिछानेले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

  • रेशमको मुद्दा फिर्ताको तयारी, सरकारले दर्ता गर्‍यो विधेयक

    रेशमको मुद्दा फिर्ताको तयारी, सरकारले दर्ता गर्‍यो विधेयक

    काठमाडौं । सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने तयारी थालेको छ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार दर्ता गरेको विधेयकमा टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको छ ।

    प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरेको छ। चौधरीको मुद्दा फिर्ता लिनेगरी कानुन संशोधन गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ।

    सरकारले विधेयकमार्फत् मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा एउटा बुँदा थप गरेको छ। जसमा शान्तिपूर्ण राजनीतिमा आउन सम्झौता गरेका दल वा समूहका नेता कार्यकर्ताविरुद्ध चलेका मुद्दा फिर्ता लिन सक्ने प्रावधान राखिएको छ।

    टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

    त्यसपछि रेशम पक्षका कानून व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदन गरेका थिए । उक्त पुनरावेदनउपर पटकपटक साधारण तारिख र पेसी सर्दै आएको छ ।

    कानूनमन्त्रालयनिकट स्रोतका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ पछि दफा ११६ ‘क’ थप गरिएको हो । जसमा शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रावधान राखिएको छ ।

  • ‘भ्रष्टाचार काण्डमा निर्दोषलाई फसाउने चलखेल हुँदैछ’- अध्यक्ष ओली

    ‘भ्रष्टाचार काण्डमा निर्दोषलाई फसाउने चलखेल हुँदैछ’- अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भनेर चलखेल भइरहेको आरोप लगाएका छन्।

    बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    भ्रष्टाचार गर्ने जोकोही पनि कारबाहीको दायरामा आउनुपर्ने तर एमालेप्रति लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको उनले बताए। उनले आफ्नै पार्टीको नेता पनि भ्रष्टाचारमा संलग्न भए कारवाही हुनुपर्ने तर दोषी नै हो भनेर यत्तिकै करार गर्न नमिल्ने बताए।

    ‘हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ, जो सुकैको नाम आओस्, यदी दोषी छ भने कारवाही हुन्छ,’ उनले भने।

  • १७ वर्षदेखि अचेत ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

    १७ वर्षदेखि अचेत ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

    काठमाडौं । दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ ।

    कायस्थलाई उपचारका लागि बनेपाको शीर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    २०६२/०६३ को १९ दिने जनआन्दोलनका क्रममा बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेश प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । उनको कन्चटमा चोट लागेको थियो ।

    मुकेश कक्षा आठको जिल्लास्तरीय परीक्षा सकेर साथीभाइसँगै जुलुसमा होमिएका थिए । मुकेश गोली लाग्दा १४ वर्षका थिए । १७ वर्षससम्म अर्धचेत अवस्थामा बाँचेका मुकेशको उपचारका लागि सरकारले मासिक रुपमा खर्च दिँदै आएको थियो।

  • पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

    पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

    बबरमहलस्थित जिल्ला अदालत काठमाडौंले बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो। खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ।

    उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

    त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

  • फेक अडियो बनाएको भन्दै आरजुले दिइन् साइबर ब्यूरोमा उजुरी

    फेक अडियो बनाएको भन्दै आरजुले दिइन् साइबर ब्यूरोमा उजुरी

    काठमाडौं । कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् ।केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी उनको छ।

    ‘विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ उनले दिएको उजुरीमा उल्लेख छ।

  • सरकारलाई बधाई दिँदै गगनले भने- ‘दह्रो खुट्टा टेक्नुभयो भने तपाईंको फिल्म चल्छ’

    सरकारलाई बधाई दिँदै गगनले भने- ‘दह्रो खुट्टा टेक्नुभयो भने तपाईंको फिल्म चल्छ’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई बधाई दिएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको बताउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका हुन् ।

    उनले भने, ‘यसका हामी सबैको एउटै आवाज छ संलग्न जोसुकै होस् । जुनसुकै दल, तह र ओहोदाको होस् । कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

    बजारको हाल्ला, भेटघाट र कुनै प्रभावले छानबिनमाथि प्रभावित हुन नहुने उनले बताए ।

    उनले भने, ‘निर्दोष कोही नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछाड्नुस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भनेर सुशासनको नारा लगाउन सकिन्छ । तपाईंको फिल्म चल्छ हाउसफुल हुन्छ ।’