Category: समाचार

  • प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

    प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुने समेत बताइएको छ ।

    नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भएको हो । प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी छ ।

  • भारतीय कफ सिरप निर्यातमा रोक

    भारतीय कफ सिरप निर्यातमा रोक

    काठमाडौं । भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। सोहीकारण तत्कालका लागि भारतीय कफ सिरपको निर्यात बन्द भएको छ ।

    गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि भारतका चारवटा कफ सिरप बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको भन्दै विश्वव्यापी चेतावनी दिएको छ। केही नमुनाहरूको प्रयोगशाला विश्लेषणले तिनमा उल्लेख्य मात्रामा विषाक्त पदार्थहरू रहेको पुष्टि गरेको थियो।

    उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा त्यस देशमा लगिएको सम्बन्धित औषधिको एउटा ब्याचमा एथलीन ग्लाइकोल नामक विषाक्त पदार्थ उल्लेख्य देखिएको थियो। खोकीको झोल औषधिकै कारण झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ। संसारभरि औषधि निर्यात गर्ने भएकाले भारतलाई विश्वको औषधि उत्पादनको पावर हाउस समेत भन्ने गरिन्छ।

    तर हालैका वर्षहरूमा भारतको औषधि उद्योगको द्रुत वृद्धिले औषधिको गुणस्तर खस्किएको र नियमन समेत कमजोर बनेको आरोपहरू लाग्ने गरेको छ ।
    कतिपय अवस्थामा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्शन)बिन‍ै कफ सिरपको बिक्री वितरण हुनु बालबालिकाको लागि जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्।

  • आज भोटे जात्रा, उपत्यकामा बिदा

    आज भोटे जात्रा, उपत्यकामा बिदा

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

    भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।

    डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

    मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।

    आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।

    पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जानेछन् । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

  • नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

    नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ । उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ । सरकारी वकिलको कार्यालयले प्रहरीले दुई दिन अघि बुझाएको प्रतिवदेन अध्ययन गरी बुधबार मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

    मुद्दा दायर गरिएका केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङ, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाण, आङटावा शेर्पा, शम्शेर मिया, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाँई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापा छन् ।

  • चन्द्र भण्डारीसँग भेटघाटका लागि सभामुखको कार्यकक्षमा विशेष व्यवस्था

    चन्द्र भण्डारीसँग भेटघाटका लागि सभामुखको कार्यकक्षमा विशेष व्यवस्था

    काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरूले भेट गरेका छन् । सदनमा भण्डारीले आफ्नो कुरा राखेपछि सभामुखको कार्यकक्षमै सांसदहरुलाई भेटघाट व्यवस्था मिलाइएको थियो । सभामुख घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए ।

  • बिहीवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

    बिहीवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

    काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।

    गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

  • दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७० कम्पनीको १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँ बराबरको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर किनबेच भएका छन् ।

    मंगलवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० परिसूचक बढेको छ भने ३ को घटेको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.६९ प्रतिशतले बढेको छ ।

    आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था १० प्रतिशत र युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, शिवम् सिमेन्ट, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र सोल्टी होटलको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    नेप्सेका अनुसार सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

  • ‘नीति तथा कार्यक्रम सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन’

    ‘नीति तथा कार्यक्रम सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन’

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै बन्न थालेको बताएका छन् ।

    बुधबार संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै थापाले नीति तथा कार्यक्रमको लक्ष्य र उद्देश्य प्रष्ट नभएको दाबी गरेका हुन्।

    त्यो कसका लागि ? केका लागि ल्याइएको भन्ने बारेमा अस्पष्ट हुने गर्दा समस्याको समाधान नहुने गरेको बताए ।

    थापाले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा १८८ बुँदा छ, यसमा सरकारको इच्छा, छ, समीक्षा छ, योजना छ, कार्यक्रम पनि छ ।

    सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन । पहिले नीति तथा कार्यक्रममा छोटो हुन्थ्यो, अहिले लामो आउँछ । समयक्रममा यसलाई हामीले सरकारको विज्ञापन गर्ने अस्त्र बनाएका छौँ ।’

    उनले सरकारले उद्देश्यअनुसारका नीति र कार्यक्रमहरू अबलम्बन गर्नुपर्ने र तिनलाई आवश्यकताअनुसार परिमार्जन र व्यवस्थापन गर्नुपर्ने बताए ।

    सांसद थापाले सरकारले नीति तथा कार्यक्रममार्फत् भ्रष्टाचार अन्त्य गर्नकालागि उपचारात्मक नीतिमात्रै उल्लेख गरेको भन्दै त्यतिले मात्रै भ्रष्टाचारको अन्त्य नहुने बताए ।

    थापाले भने,‘पढ्दै गयो भने नीति तथा कार्यक्रममा सबै छ। इच्छा छ, समीक्षा छ, कार्यक्रम छ योजना, तर राम्रोसँग हेर्‍यो भने केही छैन। किनभने यो के का लागि ल्याइएको हो भन्ने कुरामा हामी सघन छलफल गरेनौं।’

  • वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादबले लिए पद तथा गोपनियताको शपथ

    वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादबले लिए पद तथा गोपनियताको शपथ

    काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादबले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

    मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

    ननियुक्त मन्त्रीहरु जनता समाजवादी पार्टी जसपाका हुन् ।

  • काठमाडौंका  संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण महानगरमा पठाउनु पर्ने

    काठमाडौंका संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण महानगरमा पठाउनु पर्ने

    काठमाडौं । काठमाण्डौ महानगरले महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र गरेको छ । महानगरको शिक्षा विभागले आज सूचना निकालेर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन भनेको छ ।

    महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न सूचित गरिएको छ ।

    महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि भनेको छ । साथै, तोकिए अनुसार समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने चेतावनी दिएको छ । महानगरले वडाअध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न पनि आग्रह गरेको छ ।

  • चेन्नई पुग्यो आइपीएलको फाइनलमा

    चेन्नई पुग्यो आइपीएलको फाइनलमा

    काठमाडौं । गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को फाइनलमा पुगेको छ। मंगलबार राति घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो। चेन्नई आइपिएलको १४ सिजन मध्ये दशौं पटक फाइनलमा पुगेको हो। चेन्नईले यसअघि खेलेका नौ फाइनलमध्ये चार फाइनल जित्दै उपाधि जितेको छ। चेन्नईले दिएको १७३ रनको लक्ष्य पछ्याएको गुजरात अन्तिम बलमा १५७ रनमा अलआउट भयो।

    गुजरातका ओपनरद्वय ऋद्धिमान साह १२ रन र शुभमन गिल ४२ रनमा आउट भए। दुवैले चेन्नईका दीपक चाहरले आउट गरे। कप्तान हार्दिक पाण्ड्या ८ रनमा आउट भए भने डेभिड मिलर ४ रनमा पेभिलियन फर्के। १९औं ओभरको तेस्रो बलमा रासिद खान ३० रन बनाएर नवौं विकेटको रुपमा आउट भएपछि गुजरातको आसा सकिएको थियो। बलिङमा चेन्नईका दीपक चाहर, रविन्द्र जडेजा, महीश तिक्षणा र मथीशा पाथिरनाले २(२ विकेट लिए। त्यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ७ विकेटको क्षतिमा १७२ रन जोड्यो।

    चेन्नईका लागि ओपनर रुतुराज गायकवाडले ४४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६० रन र डेभन कनवेले ३४ बलमा ४० रन जोडे। रविन्द्र जोडेजाले २२ रन जोड्दा अन्जिका राहाणे र अम्बाती रायडु १७–१७ रन जोडेर आउट भए। बलिङमा गुजरातका मोहमद सामी र मोहित शर्माले दुई दुई विकेट लिए।
    अब पराजित भएको गुजरातका लागि दोस्रो क्वालिफायर खेल्दै फाइनल पुग्ने मौका छ। दोस्रो क्वालिफायरमा गुजरात र एलिमिनेटरको विजेताबीच खेल हुनेछ। एलिमिनेटरमा लखनउ र मुम्बई भिड्दैछन्।

  • कस्तो छ आजको मौसम ?

    कस्तो छ आजको मौसम ?

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    दिउँसो कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पश्चिमबाट न्यूनचापीय प्रणाली पूर्वतिर सर्ने क्रममा गण्डकीबाट बागमती प्रदेशमा आइपुगेको छ। यसले मेघगर्जन र चट्याङसहित वर्षा गराउने महाशाखाको भनाई छ ।

    काठमाडौं उपत्यकामा दिउँसो हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशको तराईका भूभागमा हावाहुरीको सम्भावना छ। मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

    बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो।

    यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

  • काठमाडौंमा पहिलो पटक सुरु भयो ‘हप अन हप अफ’ बस सेवा, सम्पदा घुम्ने

    काठमाडौंमा पहिलो पटक सुरु भयो ‘हप अन हप अफ’ बस सेवा, सम्पदा घुम्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा (हप अन हप अफ) सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा यस्तो सेवा थालेको हो ।

    विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने आजबाट सम्पदा घुम्ती बस सेवाको परीक्षण सञ्चालन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले ललितपुरबाट सम्पदा घुम्ती बस सेवा सुरु गरे ।

    बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन हुने अपेक्षा गरिएको बताए । उनले उपत्यकाको पर्यटन प्रवर्द्धनमा लागि यो एउटा सानो प्रयास भएको बनाउँदै यसको परीक्षण पश्चात सेवा विस्तार गरिने समेत जानकारी दिए ।

    मंगलबारदेखि सुरु भएको सम्पदा बसमा पर्यटनमन्त्री किरातीले पुल्चोकदेखि नारायणहिटी दरबार संग्रहालयसम्म यात्रा समेत गरेका थिए ।

    कार्यक्रममा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पर्यटन प्रवर्द्धनका लागि सम्पदा घुम्ती बस सेवा सहयोगी हुने बताए । उनले सबैको समन्वय र सहकार्यमा यसलाई सफल बनाउनु पर्ने समेत बताए ।

    पर्यटन बोर्डका वरिष्ठ निर्देशक वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले उपत्यकाको पर्यटन प्रर्वद्धनका लागि बोर्डले साझासँग सहकार्यमा यो सेवा सुरु गरेको जानकारी दिँदै सम्पदा घुम्ती बस सेवाको सञ्चालनलाई सफल र प्रभावकारी बनाउन निजी क्षेत्रका संगठन र व्यवसायीहरुसँग समन्वय र सहकार्य आवश्यक भएको धारणा राखे ।

    साझा यातायातका कार्यबाहक अध्यक्ष सुशिल प्याकुरेलले सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालन हुने र यसको सफलताको आधारमा अरु बस थपिने जानकारी दिए ।

    पर्यटन बोर्डका अनुसार सम्पदा घुम्ती बस विहान ८ः०० बजे देखी बेलुकी ६ः०० बजे सम्म हुनेछ । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक),महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग ,नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी , पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँदै बौद्ध पुग्ने छ ।

    फर्किदा तारागाँउ संग्रहालय, बौद्ध, चावहिल चोक,नारायण गोपाल चोक, गंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार ९कालीमाटी० कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुँदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हुँदै साझा यातायात, पुल्चोक आउने बोर्डले जानकारी दिएको छ ।

    यो रुटमा दिनमा ५ सय रुपैयाँ तिरेर दिनभर यात्रा गर्न सकिने गरी भाडादर प्रस्ताव गरिएको छ । भाडा स्वीकृत नभएसम्म सेवा निःशुल्क दिइने साझा यातायातले जनाएको छ । एक पटक टिकट काटेपछि सो दिन एक रुटमा उत्रिएर उक्त सम्पदा घुमफिर गरी पुनः सोही रुटमा आएको साझाको बस चढ्न सकिनेछ । नेपालमा पहिलो पटक यस्तो सेवा सुरु गरिएको हो ।

  • केपी शर्मा ओलीको चेतावनी -‘नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबरजस्ती मुछ्न खोजिए सहँदैन’

    केपी शर्मा ओलीको चेतावनी -‘नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबरजस्ती मुछ्न खोजिए सहँदैन’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न खोजियो भने त्यो सह्य नहुने बताएका छन् ।

    पार्टीको जनसंगठन समन्वय संयन्त्रले आज काठमाडौंमा आयोजना गरेको जनसंगठन पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्नुहुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेको कुनै संलग्नता नरहेको र कसैले जबरजस्ती मुछ्न खोजे एमालेले नसहने बताएका हुन् ।

    ‘पार्टीभित्रका कसैले त्यो काममा संलग्नता जनाएको ठहरिए त्यस्ता व्यक्तिलाई कारबाही गर्न एमाले स्वयम् अग्रसर हुन्छ र कारबाही गर्छ,’ अध्यक्ष ओलीले भने, ‘मिडिया प्रयोग गरेर, करकाप गरेर मानिसलाई नाम उच्चारण गर्न लगाएर नेकपा एमालेलाई मुछ्न खोजिन्छ भने एमालेलाई सह्य हुँदैन ।’

    भ्रष्टाचार देश र इमानको शत्रु भएको तथा मानिसको नैतिकता, इमानबाट च्यूत हुने बताउँदै ओलीले अगाडि भने, ‘नेकपा एमाले त्यसमा (शरणार्थी प्रकरण) संलग्न थिएन, छैन र हुने छैन । नेकपा एमाले कुनै भैष्टाचारमा संलग्न थिएन र हुने छैन । यदि कसैले एमालेभित्र रहेर रहेर पनि एमालेका आदर्श, यसका मूल्य मान्यताविपरीत, उद्देश्यलाई आघात पुग्नेगरी अनुचित र अनैतिक क्रियाकलाप कसैले गर्छ भने नेकपा एमाले त्यस्तोमा कारबाही गर्न आफैं अग्रसर भएर अगाडि बढ्न ।’

  • रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश

    रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश

    काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

    आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो ।

    गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरेको थियो । तर, प्रशासनको निर्णयविरुद्ध २ जेठमा युवराज पौडेल सफलले दिएको निवेदनउपर सुनुवाइ गर्दै मंगलबार सर्वाेच्च अदालतले लामिछानेविरुद्ध रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।

  • पाँच महिनापछि प्रचण्ड सरकारले पायो पूर्णता, वीरेन्द्र महतो बने वनमन्त्री

    पाँच महिनापछि प्रचण्ड सरकारले पायो पूर्णता, वीरेन्द्र महतो बने वनमन्त्री

    काठमाडौं । माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छ । जसपाबाट मंगलबार दुई जनामन्त्री बनेका छन् । वीरेन्द्र महतो वनमन्त्री बनेका छन् भने प्रमिला कुमारी शिक्षा राज्यमन्त्री बनेकी छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा महतो र प्रमिलालाई मन्त्री नियुक्त गरी कार्यभारसमेत तोकेका छन् । उनीहरूको शपथ आजै हुने भएको छ ।

    जसपाबाट महताे सरकारमा सहभागी भएसँगै प्रचण्ड मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले पाँच महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् ।

  • केही दिन मौसम प्रतिकुल, कस्तो छ आंकलन

    केही दिन मौसम प्रतिकुल, कस्तो छ आंकलन

    काठमाडौं । अबको दुई–तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । त्यसैले आजदेखि दुई–तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । लगातार झरी भने पर्दैन । आज देशभर नै सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ । बिहानैदेखि लुम्बिनी, गण्डकी, बागमतीका थोरै स्थानमा पानी पनि परिरहेको छ ।

    आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पनि कोशी, बागमती पहाडी भूभागहरुमा वर्षाको सम्भावना छ । मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि राति पानी पर्ने सम्भावना छ । भोलि मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको छ ।

  • नेपालको तिर्न बाँकी ऋण २१ खर्ब भन्दा माथि

    नेपालको तिर्न बाँकी ऋण २१ खर्ब भन्दा माथि

    काठमाडौं । नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब भन्दा माथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९आव० २०७९-८० को १० महिना (साउन–वैशाख) सम्मको आंकडामा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । तथ्यांक अनुसार नेपालले तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १० खर्ब ८३ अर्ब ४७ करोड पुगेको छ । बाह्य ऋण १० खर्ब ७० अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

    चालु आर्थिक वर्ष सुरु हुनु अगाडि अर्थात असार २०७९ मा सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । वैशाख मसान्तसम्म सरकारले २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यसै अवधिमा ८९ अर्ब ४१ करोड रुपैयाँ सावाँ भुक्तानी भएको छ । यस अनुसार १० महिनामा खुद सार्वजनिक ऋण भने १ खर्ब ४० अर्ब ८३ करोड रुपैयाँले वृद्धि भएको छ ।

    कार्यालयका अनुसार नेपालले १० महिनाको अवधिमा आन्तरिक ऋण १ खर्ब ५९ अर्ब ५० करोड रुपैयाँ लिएको छ । नेपालले चालु आर्थिक वर्ष भित्र २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखेको छ । यसै अवधिमा बाह्य ऋण भने मात्र ७० अर्ब ७४ करोड रुपैयाँ प्राप्त भएको छ । नेपालले एक वर्षको अवधिमा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको थियो ।

    अन्तर्राष्ट्रिय सहायतामा सञ्चालित आयोजनाहरुको कमजोर प्रगतिका कारण नेपालले लक्ष्य अनुसार बाह्य ऋण भने प्राप्त गर्न हरेक वर्ष असफल हुने गरेको छ । सोहीकारण साधारण खर्च चलाउन समेत आन्तरिक ऋण लिनु पर्ने अवस्था छ । त्यसो त ऋणको भुक्तानीमा समेत नेपालले ठूलो रकम खर्च गर्दै आएको छ ।

    तथ्यांक अनुसार १० महिनामा नेपालले ८९ अर्ब ४१ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ । यसमध्ये आन्तरिक ऋणको सावाँ भुक्तानीमा ६३ अर्ब ४७ करोड र बाह्य ऋण भुक्तानीमा २५ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ । ब्याज भुक्तानीमा समेत नेपालको ठूलो रकम खर्च हुने भएको छ ।

    १० महिनामा आन्तरिक ऋणको ब्याज भुक्तानीमा मात्र ४६ अर्ब ८५ करोड रुपैयाँ र कमिसन भुक्तानीमा १० करोड रुपैयाँ खर्च भएको छ । बाह्य ऋणको ब्याज भुक्तानीमा ७ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ । सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीमा मात्र १० महिनाको अवधिमा १ खर्ब ४३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।

  • ढाकाकुमारको सांसद पदसम्बन्धी रिट ‘हेर्न नभ्याइने’मा

    ढाकाकुमारको सांसद पदसम्बन्धी रिट ‘हेर्न नभ्याइने’मा

    काठमाडौं । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा तोकिएको ढाकाकुमार श्रेष्ठको सांसद पदसम्बन्धी रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।

    मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेको थियो । सो कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।

  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ८.१०अंकले बढेर १८९१.३१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७२ कम्पनीको १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँ बराबरको ३४ लाख ९२ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् ।

    आइतवारको तुलनामा कारोबार रकममा पनि घटेको छ । त्यसदिन १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । कारोबारमा १३ उपसूचकमध्ये २ वटा घटेको छ भने अन्य बढेर हरियाली छाएको छ।

    आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड ३४ लाख सोल्टी होटलको ६ करोड १७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • नक्कली शरणार्थी प्रकरणः राज्यविरुद्धको कसूरमा मुद्दा चलाउन सिफारिस

    नक्कली शरणार्थी प्रकरणः राज्यविरुद्धको कसूरमा मुद्दा चलाउन सिफारिस

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो।

    पक्राउ परेका १६ जना र अन्य फरारलाई प्रतिवादी बनाएर फाइल बुझाइएको हो। चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो।

    वैशाख ४ गतेसम्म प्रहरीले धरपकड भने जारी नै राखेको थियो। यस प्रकरणमा प्रहरीले ठगी, संगठित अपराध र राज्य विरुद्धको अपराधमा मुद्दा चलाउन राय दिएको छ।

    अब सरकारी वकिलले आगामी शुक्रबारसम्म यो मुद्दा जिल्ला अदालतमा पुर्‍याइसक्नु पर्नेछ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा पूर्वउप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँणसमेत १६ जना पक्राउ परेका छन्। उनीहरू सबै प्रहरी हिरासतमा छन्।

  • योगेशलाई देवेन्द्रको जवाफ- ‘मानिसले लडेको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने’ ?

    योगेशलाई देवेन्द्रको जवाफ- ‘मानिसले लडेको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने’ ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन् ।
    सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताए ।

    त्यसअघि नेकपा(एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाउनुभएको थियो । भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र डुङ्गाहरूले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पारे ।

    उनले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोश पल्टाएर हेर्न पनि आग्रह गरे । उनले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफू हजार पटक आँखा जुधाएर बहस गर्न तयार रहेको बताए ।

    उनले इतिहासलाई सम्मान गर्न पनि आग्रह गरे । उनले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनी नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गरे ।

    उनले भने, ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछा युद्ध थियो रु भालु युद्ध थियो रु जङ्गलका अर्नाहरू लडेका थिए रु कि रुख, डुङ्गाहरू लडेका थिए रु माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला । मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ । कि जनयुद्ध भनिन्छ ।

    , ‘तपाईँको नेताले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बिर्सनुभयो । हामी त्यही श्रृंखलामा छौं । नेपाली जनतालाई जनतालाई सर्वभौम र संविधान बनाउनका लागि जनयुद्ध लडिएको थियो । म हजार पटक आँखा जुधाएर बहस गर्न तयार छु । तर, इतिहासलाई नबिर्सौं ।’

  • नेपाल–अमेरिका व्यापार : १६ अर्बको आयात, १५ अर्बको निर्यात

    नेपाल–अमेरिका व्यापार : १६ अर्बको आयात, १५ अर्बको निर्यात

    काठमाडौं । नेपाल र अमेरिकाबीच तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्ष २०७९\८० को १० महिनाको अवधिमा अमेरिकाबाट १६ अर्ब ३० करोडको वस्तु आयात भएको छ । यसै अवधिमा १५ अर्ब ५८ अर्बको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । अमेरिकासँग तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको पाइएको छ । नेपालले १० महिनाको अवधिमा १६६ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।

    जसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । १० महिनामा भारतबाट ८ खर्ब ४४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने ९१ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ । जस अनुसार नेपालको भारतसँग ७ खर्ब ५३ अर्ब रुपैयाँको व्यापार घाटा देखिन्छ । चीनबाट १ खर्ब ७९ अर्बको वस्तु आयात भएको छ । निर्यात भने मात्र १ अर्ब ३५ करोड रुपैयाँको भएको छ । इण्डोनेसियाबाट ३५ अर्ब र अर्जेण्टिनाबाट २१ अर्बको वस्तु आयात भएको छ ।

  • लुम्बिनी विकास कोषलाई पर्यटन मन्त्रालयले सोध्यो १३ बुँदे स्पष्टीकरण

    लुम्बिनी विकास कोषलाई पर्यटन मन्त्रालयले सोध्यो १३ बुँदे स्पष्टीकरण

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले कोषका उपाध्यक्षले पदीय दुरुपयोग, निर्माण कम्पनीसँगको सम्झौतामा मनपरी, टेण्डर निष्काशन रकमको अपचलन र दाताबाट प्राप्त रकमको परिचालन लगायतका विभिन्न १३ विषयमा १३ बुँदे स्पष्टीकरण बुझाउन १५ दिनको समय तोकेको हो।

    ‘महायान पोखरीमा गुरुयोजना विपरीत अनधिकृत ढङ्गबाट बुद्धमूर्ति बनाउन दिएको भन्ने गुनासोको सन्दर्भमा उक्त मूर्ति बनाउन दिएको हो वा होइन भन्ने विषयमा कोषलाई १५ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो,’ मन्त्रालयद्वारा जारी टिप्पणी र आदेशमा उल्लेख गरिएको छ।

    विभिन्न प्लटहरू कोषले बदनियतपूर्ण ढङ्गले वितरण गरेको, सोक्यो जापानलगायतका सम्झौताको समय सीमाभित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरेको तर अन्य सङ्घसंस्थाको सम्झौता आफूखुसी समयावधि बढाउँदै लगेकोबारे मन्त्रालयले सम्पूर्ण विवरणको माग गरेको हो।

    मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तु नष्ट गरी बनाइएका पोखरीमा करोडौँको टेण्डर निष्काशन गरी रकमको अपचलन गरेको गुनासोमा स्पष्टीकरण मागेको हो। कोषको परिसरभित्र काम गर्ने सङ्घसंस्था, निर्माणाधीन परियोजना र परिसरभित्र मोटरबोट सञ्चालनका कानूनी आधारबारे यर्थाथ विवरण पेश गर्न भनिएको छ।


    कोषलाई पाँच वर्षदेखि विभिन्न दाताले गरेको सहयोग रकमको परिचालन र उपाध्यक्षले गरिमामय पदको दुरुपयोगबाट मासिक तलब बुझेको भन्ने विषयमा स्पष्टीकरण सोधेको छ। मन्त्रालयद्वारा जारी टिप्पणी तथा आदेशले मन्दिर जाने बाटोको पसलदेखि क्रेन (सारस चरा) फाउण्डेशनको दुरुपयोगको बारे यथार्थ पेश गर्नुपर्ने बताएको छ।

  • भुटानी शरणार्थी काण्डको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यायमा बुझाउने तयारी

    भुटानी शरणार्थी काण्डको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यायमा बुझाउने तयारी

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ ।

    झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले यो संगठित अपराधमा हालसम्म ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन् । उनीहरुमध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिनेछ । प्रहरीले स्पष्ट संलग्नता देखिएका ३२ जनालाई प्रतिवादी बनाएर सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाउँदैछ ।

    यस घटनामा १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ । केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर ९कीर्ते०मा मुद्दा चलाउन प्रहरीले सिफारिस गर्नेछ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

    पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत फरार छन् । यो प्रकरणमा तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई मुख्य योजनाकार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

  • धरानमा १६ वर्ष अघि भएको सामूहिक बलत्कार काण्डका आरोपित दुई जना पक्राउ

    धरानमा १६ वर्ष अघि भएको सामूहिक बलत्कार काण्डका आरोपित दुई जना पक्राउ

    काठमाडौं । सुनसरीको धरानमा १६ वर्षअघि भएको सामूहिक बलत्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
    २०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले १६ वर्षपछि दुई जनालाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लका अनुसार धनकुटा शहीदभूमि गाउँपालिका १ धापका ५६ वर्षीय चन्द्रबहादुर राई र सोही स्थानका ४४ वर्षीय कल्पन राई पक्राउ परका हुन् । घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको डीएसपी मल्लले बताए।

    २०६४ साल मंसिर २३ गते बेलुका तत्कालीन धरान नगरपालिका ५ (हाल धरान १२) मा रहेको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नम्बर २१८ मा २५ वर्षीय ललिता राईको शव विभत्स अवस्थामा फेला परेको थियो । धरान १० बेलगाछी बस्ने उनको शव सडेको अवस्थामा थियो । घटनापछि मुस्किलले मृतकको पहिचान गरेको प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेको थिएन् । आरोपीको स्पष्ट ‘क्लु’ नभेटेको र किटानी जाहेरी पनि नपरेपछि घटनाको फाइल थन्किएको थियो ।

    करिब दुई महिनाअघि फाइल खोलेर अनुसन्धान सुरु गरेको प्रहरीले बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । ‘पेन्डिङ फाइल खोल्ने डीआइजी र एसपी सापको निर्देशन अनुसार यो फाइल खोलेका थियौं,’ तीन महिनाअघि धरान हाजिर भएका डीएसपी मल्लले भने,’ पुरानो फाइल खोलेर अनुसन्धान गर्दा आरोपीसम्म पुग्यौं ।’

    प्रहरीका अनुसार पक्राउ परेका दुवै जना साथी हुन् । मिसिल अध्ययन गरी विगतमा रोकिएको स्थानबाट अनुसन्धान सुरु गरेको प्रहरी शंकास्पद व्यक्ति खोज्दै धनकुटा पुगेको थियो । सुरुमा चन्द्रबहादुरलाई पक्राउ गरेको प्रहरीले लगतै कल्पनलाई पनि पक्राउ गरेको हो । प्रहरीका अनुसार ललिता श्रीमानसँग सम्बन्ध बिग्रिएपछि माइतमा बस्दै आएकी थिइन् । उनको प्रेम सम्बन्ध चन्द्रबहादुरसँग थियो ।

    महिलालाई चन्द्रबहादुरले २०६४ मंसिर १९ गते धर्मशालामा बोलाएका थिए । महिलालाई लगेपछि उनले आफ्ना साथी कल्पन राईलाई पनि बोलाएर करणी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार धर्मशालामा दुई वटा कोठा बुक गरेर एउटामा चन्द्रबहादुर र ललिता र अर्कोमा कल्पन बसेका थिए । चन्द्रबहादुरले कल्पनलाई कोठामा बोलाएपछि दुवै जनाले पालैपालो करणी गरे । महिलाले प्रतिकार गरेपछि पोल खुल्ने डरले घाटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

    हत्यापछि कोठामा नै शव छाडेर उनीहरु फरार भएका थिए । डीएसपी मल्लका अनुसार त्यसबेला चन्द्रबहादुर शंकाको घेरामा थिए । तर पक्राउ परेका थिएनन् । उनी भागेर भारत गएर बसेको देखिएको डीएसपी मल्लले बताए । शंकास्पद नदेखिएका कारण कल्पन भने भागेको नदेखिएको उनले बताए ।

    लामो समय भारतको सिक्किम बसेका चन्द्रबहादुर केही वर्षअघि मात्रै घर फर्किएको प्रहरीले बताएको छ । ‘फाइल थन्किएको थियो, पटकपटक मृतकका आफन्तलाई बोलाएर सोधीखोजी गर्‍यौं,’ उनले भने, ‘सूक्ष्मरुपमा अनुसन्धान गर्‍यौं ।’ पक्राउ परेकामाथि बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

  • बुढानिलकण्ठ हिट एण्ड रन केशका आरोपित पृथ्वी मल्ल दोषि ठहर, ४ वर्ष जेल

    बुढानिलकण्ठ हिट एण्ड रन केशका आरोपित पृथ्वी मल्ल दोषि ठहर, ४ वर्ष जेल

    काठमाडौं । उच्च अदालत पाटनले बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरणका अभियुक्त पृथ्वी मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना गरेको छ। आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले मल्ललाई उक्त कसुरमा ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिएकी छिन् ।

    मादकपदार्थ सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएका कारण गोरखाकी लीला देवकोटाको ज्यान गएको भन्दै सरकारी वकिलले उनलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना हुनुपर्ने सरकारी वकिलको दाबी थियो।

    जिल्ला अदालत काठमाडौंले सामान्य दुर्घटना मान्दै ६ महिना कैद र १ हजार जरिवाना हुने गरि भएको फैसला उल्ट्याएर उच्च अदालतले लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गरेको निष्कर्ष निकालेको थियो। जिल्लाको फैसला फैसलाविरूद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन दिएको थियो।

    सोही पुनरावेदनमा आज कसुर कायम गरिएको हो। सुरूमा मल्ललाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार राख्ने आदेश दिएको थियो। तर सात महिना थुनामा बसेका मल्ललाई सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान सहितको इजलासले धरौटीमा छोडेको थियो।

    २०७६ मंसिर २७ गते बिहान १० बजेतिर मल्लले चलाएको कारले ठक्कर दिएर विपरीत दिशाको सडकपेटीमा हिँडिरहेकी गोरखाकी लीला देवकोटाको मृत्यु भएको थियो। त्यसपछि प्रहरीले मल्ललाई पक्राउ गरी प्रहरीले सवारी ज्यान मुद्दामा अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानमै मल्लले मादक पदार्थ सेवन गरेर कार चलाएको खुलेको थियो।

    उनले आफ्नो बयानमा रातभरि रक्सी खाएको र बिहान गाडी चलाउँदा निद्रा लागेकाले दुर्घटना भएको बताएका थिए। चिरायु अस्पतालको स्वास्थ्य रिपोर्टमा समेत मल्लले मादक पदार्थ सेवन गरेको उल्लेख थियो। प्रहरीले आफ्नो प्रतिवेदनमै मल्लले मादकपदार्थ सेवन गरी लापरबाही तरिकाले चलाएको कारले देवकोटालाई ठक्कर दिएको उल्लेख गरेको थियो। यी सबै प्रमाण मूल्यांकन गरेर सरकारी वकिल कार्यालयले मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएकाले देवकोटाको ज्यान गएको भन्दै ३ देखि १० वर्षसम्म कैद हुनुपर्ने माग गरेको थियो।

  • भारतीय पर्यटकमाथि लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

    भारतीय पर्यटकमाथि लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं । भारतीय पर्यटकहरुमाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका ४ सिम्ले घर भई हाल काठमाडौंको बालाजु माछा पोखरी बस्‍ने ३२ वर्षीय पदमबहादुर र कैलालीको धनगढी उपमहानगरपालिका ३ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्‍ने ३३ वर्षीय पुरन भन्‍ने ओम प्रकाश ऐरी रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरुलाई सिंहदरबार दक्षिण गेटबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत बानेश्वर पठाइएकोमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

  • बझाङमा हिमपहिरो : तीन जना पुरिए

    बझाङमा हिमपहिरो : तीन जना पुरिए

    काठमाडौं । बझाङमा हिमपहिरोमा परेर ४ जना बेपत्ता भएकोमा एक जनाको शव भेटिएको छ । सुर्मा गाउँपालिका–३ घर भएर यार्सागुम्बा संकलन गर्न गएकी रमादेवी भनिने रामकोइलादेवी बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।

    घटनास्थलतर्फ गएको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यहाँ नपुगेपनि स्थानीय बासिन्दाले बोहराको शव भेटिएको जानकारी प्रहरीलाई गराएका छन् । हिमपहिरोमा परेर बेपत्ता भएका अन्य दुई जनाको भने खोजी भइरहेको डीएसपी भण्डारीले बताए ।

    उनका अनुसार पहिरोमा परेर दुई जना घाइते भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो गएको खबर स्थानीय बासिन्दाले दिएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ । तर पैदल जानुपर्ने भएकाले त्यहाँ पुग्न समय लाग्ने प्रहरीले बताएको छ ।