Category: समाचार

  • पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न

    पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको ऐतिहासिक सहर बोष्टनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री(१२१ पाठ) लगाउनुका साथै “विशेष होम” गर्ने धार्मिक कार्य सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ अन्तर्गत मे २९ तारिख सोमवारका दिन उक्त धार्मिक कार्य सम्पन्न गरिएको हो। मे २७ तारिखदेखि शुभारम्भ भएको मुख्य कार्यक्रमको तेश्रो दिन, पूर्व कार्यतालिका अनुसार नै लघुरुद्री गरिएको थियो। एकादशिनि रुद्रीको एघार पटक पुनरावृत्ति पाठ गर्नुलाई लघुरुद्री भनिन्छ। यसअघि नै, धार्मिक कार्य सम्पन्न गर्ने जिम्मेवारी सम्हालिरहेका पण्डितहरुले पशुपतिनाथ र बुद्ध मन्दिरमा नियमित पूजा पाठ गर्नुका साथै धार्मिक विधि अनुसार भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा विशेष पूजा गरेका थिए। बृहत कार्यक्रम अन्तर्गत पशुपतिनाथ मन्दिर तर्फको पूजा पाठको मुख्य जिम्मेवारी सम्हाल्दै आएका पूजा संयोजक हरिप्रसाद काफ्ले(शैव)ले सोमवार सम्पन्न कार्यक्रमको संक्षिप्त जानकारी दिए अनुसार सोमवार घृताधिवासमा रहेका भगवान पशुपतिनाथलाई अन्नाधिवास, औसध्याधिवास र पु्ष्पाधिवासमा राखिएको थियो। मे ३० तारिखमा भगवानलाई बस्त्राधिवास र सैय्याधिवासका लागि अनुरोध गरिने छ।

    सोमवारको कार्यक्रम निकै उत्साहजनक, गर्विलो, प्रभावकारी र फलदायी भएको जिकीर गर्दै काफ्लेले भने,’ कार्यक्रम निकै उत्साहजनक र गर्व गर्न लायक रह्यो। सारमा भन्नु पर्दा सोमवारको कार्यक्रम निकै प्रभावकारी र फलदायी भयो।’

    कार्यक्रममा श्रध्दालु भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेकोमा हर्ष व्यक्त गर्दै उनले भने, ‘चुम्बकमा फलाम घोटिरह्यो भने त्यो फलामले पनि चुम्बकको काम गर्न थाल्छ। त्यस्तै झल्को देखियो साोमवारको कार्यक्रममा। बोस्टन सप्ताहको झल्को दिने गरी नेपाली समुदायले कार्यक्रमलाई सफल बनाउन साथ, सहयोग दिनुका साथै सक्रिय सहभागिता जनाइरहेका छन्। जो अत्यन्त कदरयोग्य छ। त्यसका लागि नमन गर्न चाहन्छु।’

    पशुपतिनाथ मन्दिरतर्फका पूजा संयोजक काफ्लेका अनुसार सोही दिन मन्दिरको बाहिरपट्टीको प्राङ्गणमा हिन्दू धार्मिक विधि अनुसार विशेष होम गर्ने कार्य पनि सम्पन्न गरिएको थियो।

    कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागी भएका श्रद्धालु भक्तजनहरुले मन्त्रमुग्ध भएर पूजा, पाठ, ध्यान, जप, आराधन गर्दै धार्मिक कार्यमा सक्रिय सहभागिता जनाएका थिए। यसै सिलसिलामा भजन कीर्तन टोलीले भजन कीर्तन गरेका थिए। भने, श्रद्धालु भक्तजनहरुले पनि मन खोलेर नाँच्दै गाउदै भजन कीर्तन टोलीलाई साथ दिएका थिए। साँझ पख दैनिक गरिने आरती सम्पन्न गरिएको थियो।र, अन्तमा भगवान गौतम बुद्धलाई श्रध्दाका साथ स्मरण गर्दै ५ मिनट ध्यान गरेर २९ तारिखको कार्यक्रमलाई बिट मारिएको थियो।

    ४ दिने बृहत धार्मिक तथा सामाजिक कार्यक्रमको अन्तिम दिन अर्थात मे ३० तारिख मंगलवारका दिन, पशुपतिनाथ, गौतम बुद्ध लगायत भगवानहरुको मूतिहरुमा प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न गर्ने, लाख बत्ती बाल्ने, दान दिने, ब्रतबन्ध गर्ने लगायत धार्मिक कार्य सम्पन्न गर्ने गरि कार्यक्रम तालिका बनाइएको छ। त्यसैगरी, सोही दिन औपचारिक कार्यक्रम गरी सामुदायिक भवनको विधिवत् समुद्घाटन गरिनेछ ।र, साँझ भजन कीर्तनसहित उत्सव मनाउदै खुशीयाली साटासाट गर्ने योजना रहेको आयोजकले जनाएको छ।

  • महोत्तरीमा लुटेराले दिउँसै लुटे एनएमबी बैंक

    महोत्तरीमा लुटेराले दिउँसै लुटे एनएमबी बैंक

    काठमाडौं । महोत्तरीको महोत्तरी बजारमा एनएमबी बैंकको शाखामा लुटपाट भएको छ । मङ्गलवार दिउँसो सााढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारको एनएमबी बैंकको शाखामा नचिनेका मानिसको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

    चार जनाको समूहमा आएका लुटेराले पेस्तोल देखाएर लाइनमा बसेका सेवाग्राही र बैंकको काउन्टरबाट झन्डै ३५ लाख रुपैयाँ लुटेका महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताए । सीसीटीभीमा देखिएको फुजेटअनुसार लुटेराले ढुक्कसँग लुटपाट गरेका छन् । सीसीटीभीमा स्पष्ट दृश्य देखिएको र उनीहरूले मुकुण्डो नलगाएकाले चाँडै पक्राउ पर्ने प्रहरीको दाबी छ ।

  • बाँकेमा कार र बस दुर्घटना, दुई जनाको मृत्यु

    बाँकेमा कार र बस दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रुपन्देहीकी ५३ वर्षकी डा.। सञ्जु खाती खड्का र कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारी रहेका छन् । दुवै जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।

    दुर्घटनामा मृत्यु भएकी डा. खाती सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेको खुलेको एसपी राठौरले जानकारी दिए । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनामा पश्चात बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • ‘ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको सबैको फाइल खुल्छ’

    ‘ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको सबैको फाइल खुल्छ’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान थालिने बताएका छन् ।

    मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला–ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले गौर हत्याकाण्ड र राजदरबार हत्याकाण्डको अनुसन्धान हुने भन्दै ती हत्याकाण्डमा धेरै रहस्यहरू लुकेको बताए । प्रधानमन्त्रीले यस्ता काण्डहरुको फाइल खोल्न अघि बढ्दा आफूलाई जनयुद्धको सुरुवात गर्ने बेलाको जस्तै अवस्था आएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले जनयुद्धकै बलमा मुलुकमा युगान्तकारी परिवर्तन आएको भन्दै यसलाई आधिकारिक र वैधानिक ढंगले स्थापीत गर्नु ठूलो कुरा भएको बताए ।

    उनले कतिपयलाई मन नपरेपनि १५ वर्षअघिकौ माइन्युट खोजेर राजपत्रमा प्रकाशित गर्दै जनयुद्धका सहभागीहरुलाई राष्ट्रिय सहीदको रुपमा सम्मान गरिएको जिकिर गरे ।

    उनले ४६ सालपछिका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानबिन गर्ने समेत बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथी नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको धारणा राखे ।

  • हवाई यात्रामा कोभिड खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने झन्झट हट्यो

    हवाई यात्रामा कोभिड खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने झन्झट हट्यो

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्ट प्रावधान हटाएको छ । साथै, अब कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने झन्झट पनि हटेको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको हो ।

    यो नियम हटेसँगै अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नुपर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नु पर्ने छैन । तर, नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोकेअनुसारका कागजात बोक्नुपर्नेछ ।

  • ‘महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चूनौति’

    ‘महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चूनौति’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरे पनि महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चुनौती भएको बताएका छन्। पाँचौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनले सबै किसिमका हिंसा, विभेद र शोषणको अन्त्य गर्दै समतामूलक राष्ट्र निर्माणमा एक जुट हुन आग्रह गरेका हुन्।

    ‘विभिन्न नीतिगत, कानूनी तथा कार्यक्रमका प्रयासका बावजुद महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु, अशिक्षा, हानिकारक अभ्यास, लैङ्गिक विभेद तथा हिंसालाई बढावा दिने खालका सामाजिक मूल्य मान्यता, प्रथा परम्परा कायमै रहनु, महिला तथा बालबालिका माथि घरेलु, यौनजन्य तथा लैङ्गिकतामा आधारित हिंसा विद्यमान हुनु हाम्रा लागि चुनौतीका रूपमा रहेका छन्,’ उनले सन्देशमा भनेका छन्।

    महिलाको आर्थिक तथा सामाजिक जीवनमा सारभूत लैङ्गिक समानता कायम गर्नु अहिलेको दायित्व भएको प्रधानमन्त्री प्रचण्डले बताए। ‘राज्यको सबै तह र निकायहरूमा लैङ्गिक दृष्टिकोणलाई मूलप्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धति संस्थागत गर्न संघ, प्रदेश र स्थानीय तहबीच लैङ्गिक समानता सम्बन्धी नीति, योजना तथा कार्यक्रमहरूमा सामञ्जस्यता कायम गर्नु, पारिवारिक र आर्थिक तथा सामाजिक मूल्य मान्यता र लैङ्गिक भूमिकामा परिवर्तन ल्याउन महिलामाथि हुने सबै किसिमका हिंसा, विभेद र शोषणको अन्त्य हुनु आवश्यक छ,’ उनले शुभकामना सन्देशमार्फत भनेका छन्।

  • कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने

    कर्मचारी संचयकोषबाट अब बचतकर्ताको दम्पत्तिले समेत उपचार खर्च पाउने

    काठमाडौं । कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्च अब दम्पतीमा विस्तार भएको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् । बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो प्रावधान ल्याएका हुन् ।

    कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइने उनले बताए । बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आए पति सञ्चयकर्ता भए उनकी पत्नीले र पत्नी सञ्चयकर्ता भए उनका पतिले पनि स्वास्थ्य उपचारको सुविधा पाउनेछन् ।

    सञ्चयकर्ताले सामान्य रोग लागेमा वर्षको १ लाख र जटिल रोग लागेमा सेवा अवधिभर १० लाख रुपैयाँ उपचार खर्च बापत पाउँछन् । त्यसरी रकम पाउँदा उनीहरुले सञ्चय गरेको रकम भने काटिदैन । बजेट वक्तव्यले गरेको नयाँ व्यवस्था अनुसार पति वा पत्नी जो सञ्चयकर्ता भएपनि दुवैले खर्च पाउने गरी सुविधा विस्तार भएको हो । अहिले ५ लाख ५५ हजार सञ्चयकर्ताहरु कर्मचारी सञ्चयकोषमा आवद्ध छन् ।

  • धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

    धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

    काठमाडौं । सरकारले बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ ।

    अर्थमन्त्री डा. प्रकाश शरण महतले शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने जानकारी दिए ।

  • रास्वपा सांसद कंसाकारले लिइन् शपथ

    रास्वपा सांसद कंसाकारले लिइन् शपथ

    काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई निष्काशन गरेर कंसाकारलाई सांसद बनाएको हो ।

  • गणतन्त्र दिवस समारोहमा बालेन अनुपस्थित

    गणतन्त्र दिवस समारोहमा बालेन अनुपस्थित

    काठमाडौं । सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल अनुपस्थित भएका छन् । अ

    अघिल्ला वर्षहरुमा महानगरले नै मञ्च व्यवस्थापनको काम गर्दै आएपनि यो पटक दुवै जना अनुपस्थित थिए ।

    बालेन केही समययता संघीय सरकारसँग असन्तुष्ट थिए । समारोह आयोजनाका लागि हरेक वर्षजस्तै प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको थियो । सबै उपप्रधानमन्त्री, मन्त्री रहने समितिमा काठमाडौंका मेयर पनि सदस्य रहन्छन् ।

    गणतन्त्र दिवस समारोहमा काठमाडौं महानगरको विशेष भूमिका रहने गरेको थियो । समारोहका लागि स्टेज निर्माण र व्यवस्थापनको जिम्मा महानगरले पाउँथ्यो । यसपटक भने यो भूमिकाबाट पनि काठमाडौं महानगर पन्छिएको छ ।

    ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भने सहभागी भएका थिए ।

  • ‘गणतन्त्रमा राजाको शासन जस्तो हुकुम चल्दैन, हामीले अदालतलाई हेप्यौं’

    ‘गणतन्त्रमा राजाको शासन जस्तो हुकुम चल्दैन, हामीले अदालतलाई हेप्यौं’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सरकारले दिएको आममाफीबारे खरो आलोचना गरेका छन्।

    नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले रेशमलाई यसरी माफी दिइनु राजाको शासन नभएको बताए।

    ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ ।’

    सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै हतारहतार निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाए । सरकार चलाउन केही गाह्रो भयो भनेर बलमिच्याँइ गरेर निर्णय गर्न नहुने भन्दै महामन्त्री थापाले भने, ‘अदालतको पूर्णपाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौं । हामीले बलमिच्याइँ गर्‍यौं । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौं ।’

    गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका हुन्। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका छन्।

    रेशम आजै बिहान जेलमुक्त भएका हुन्। टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई उनले जेल जीवन बिताइरहेका थिए।

  • प्रधानमन्त्रीबाट बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

    प्रधानमन्त्रीबाट बालुवाटारमा तरकारी खेतीको शुभारम्भ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भन्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोपेका छन् ।


    सो अवसरमा उहाँले अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको बताउदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए । उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।

  • ‘वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित भएको दिन’

    ‘वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित भएको दिन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित हुनु सामान्य नभएको बताएका छन्।
    गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संयौं वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य नरहेको बताउँदै आजको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको र यसलाई थप मजबुत बनाउन राजनीतिक दल र जनताबीच एकता र सहकार्य आवश्यक रहेको बताएका हुन्।

    उनले संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र संस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधार रहेको बताएका छन्।

    उनले गणतन्त्र दिवसको अवसरमा जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

    प्रधानमन्त्रीले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयन चुनौती देखिए पनि नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिरहेको बताए।

    हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ, प्रधानमन्त्री प्रचण्डले भने, जनताबाट चुनिएका जनप्रतिनिधिबाट आज मुलुकको शासनप्रणाली सञ्चालित भइरहेको छ। विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनसक्नु गौरवको विषय हो ।


    प्रधानमन्त्री प्रचण्डले संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकार लगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्ने र हुँदै गएको पनि बताए। उनले नागरिक हकअधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने सरकारको प्रयासले क्रमशः आकार लिन थालेको बताए।

  • संघीय सरकारको बजेट आज सार्वजनिक हुँदै, के छ प्राथमिकतामा ?

    संघीय सरकारको बजेट आज सार्वजनिक हुँदै, के छ प्राथमिकतामा ?

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।


    आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा बढेन् छैन । यसअघि सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ । सरकारले सार्वजनिक खर्च कटौतीलाई प्राथमिकता दिने भएको छ । आकर्षक नारासहित बजेट लोकप्रिय बनाउने प्रयास गरिएको छ ।

  • आज गणतन्त्र दिवस, देशभर मनाइंदै

    आज गणतन्त्र दिवस, देशभर मनाइंदै

    काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

    विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । अन्ततस् तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

    विसं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

    पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

    संविधान सभाले डा। रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।

  • रेशम चौधरी जेलबाट छूटे

    रेशम चौधरी जेलबाट छूटे

    काठमाडौं टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो । यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।

    २०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । सोही घटनाको योजनाकारका रुपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो ।

    घटनाको योजनाकारको आरोप लागेका उनी त्यसपछि भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा उनी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए । वारिसनामा उम्मेदवारी दिएर चुनाव जिते पनि प्रमाणपत्र ग्रहण गर्न उनी आफैं आउनु पर्ने भयो । त्यसैले प्रमाणपत्र बुझ्न पाउनुपर्ने मागसहित रिट हाले तर सर्वोच्चले अस्वीकार गरेपछि उनले १५ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे ।

    पूर्पक्षका लागि थुनामा रहेकै बेला १९ पुस २०७५ मा सांसदको शपथ लिएका उनलाई दुई महिनापछि जिल्ला अदालत, कैलालीले जन्मकैदको सजाय सुनायो भने ३ पुस २०७७ मा उच्च अदालत, दिपालयले सजायलाई सदर गरेको थियो ।

  • ८ महिनामा ७४१ जना विदेशीले नेपालमा लिए श्रम स्वीकृति

    ८ महिनामा ७४१ जना विदेशीले नेपालमा लिए श्रम स्वीकृति

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९–८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ ।

    आर्थिक वर्ष २०७८–७९ को एक वर्षको अवधिमा कुल ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । २०७७–७८ मा यो संख्या १०९० थियो । २०७४–७५ मा १ हजार ६०८ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ । श्रम स्वीकृति नवीकरण आर्थिक २०७७–७८ मा १३ सय जनाले गरेको तथ्यांक छ ।

  • नेपालभर साढे १७ हजार किलोमिटर सडक कालोपत्रे

    नेपालभर साढे १७ हजार किलोमिटर सडक कालोपत्रे

    काठमाडौं । नेपालभर कालोपत्रे सडकको लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०७९–८० को फागुनसम्म २४८ किलोमिटर कालोपत्रे थप भएसँगै कुल लम्बाई १७ हजार ४८० किलोमिटर पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

    २०७८–७९ सम्म कालोपत्रे सडकको लम्बाइ १७ हजार २३२ किलोमिटर रहेको थियो । देशभर ग्राभेल सडकको लम्बाइ ७ हजार ९५६ किलोमिटर र ८ हजार ६६४ किलोमिटर सडक कच्ची अवस्थाको रहेको छ । यसअनुसार देशभर सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ । गत असारसम्म कुल सडकको लम्बाइ ३३ हजार ९९६ रहेको थियो ।

  • एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान

    एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढा मगरलाई सम्मान

    काठमाडौं । नेकपा (एमाले)ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढा मगरलाई सम्मान गरेको छ ।

    एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उनलाई पुष्प गुच्छासहित सम्मान गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपालीहरू र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए । मान्छे साहस, सङ्कल्प ग¥यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमानै पेश गर्नु भएकोले पार्टीले उनलाई सम्मान गरेको पनि स्पष्ट पारे ।

    अध्यक्ष ओलीले उनको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे ।

    कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिहरूमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोहण गरेको बताए । त्यस अवसरमा उनले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र माया भन्दा पनि साथ र अवसर दिन आग्रह गरे । बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उँचो राख्न सहयोग पुगेको होला भन्ने आशा आफूले राखेको पनि बताए ।

  • कोसी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पक्राउ

    कोसी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पक्राउ

    विराटनगर । प्रदेश नं १ को नाम कोसी प्रदेश राखेको विरुद्धमा प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    आजबाट सुरु हुने प्रदेशसभाको बैठकलाई अवरोध गर्ने उद्देश्यले भएको सो आन्दोलनलाई निस्तेज पार्न प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरेको हो ।

    कोसी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार प्रदेशसभा सचिवालय आसपास, देवकोटा चोक र अस्पताल चोकबाट आन्दोलनकारीलाई पक्राउ गरिएको हो ।

    निषेधित क्षेत्र तोडेर अघि बढ्ने प्रयास गरेपछि उनीहरूलाई रोक्नका लागि पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट गुलेली र ढुङ्गा बरामद भएको प्रहरीले जनाएको छ ।

  • रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

    रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौं । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई आम माफीका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ।

    मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन्।

    शुक्रवार राष्ट्रपति पौडेलले चौधरीलाई सजायमाफी दिने गृहको प्रस्तावलाई ‘कानुन अनुसार गर्नु’ भन्दै गृह मन्त्रालयमै फिर्ता गरेका थिए। राष्ट्रपतिको उक्त निर्णयपछि सरकारलाई आम माफीका लागि सिफारिस गर्ने बाटो खुलेको थियो।

    सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना, प्रविधिमन्त्री रेखा शर्माले सञ्चारकर्मीसँग भनिन्- ‘रेशमलाल चौधरी, जो अहिले कारागारमा हुनुहुन्छ, जसको अस्ति भर्खर उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको अवस्था छ, राष्ट्रपति कार्यालयले सोधेका केही बिषयहरु सम्वोधन गरेर राष्ट्रपति कार्यालयमा बाकी सजायँ मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।’

    उनका अनुसार आजको मन्त्रिपरिषद बैठकले यसरी सिफारिस गर्दा सरकारले कुनै कानुनी उलंघन गरिएको छैन । ‘हामीले बिभिन्न कानुन ब्यावसायसँग गरेको सल्लाह अनुसार कानुनत: ठिक छ भन्ने कुरा छ, अहिले हामीले यो निर्णय कानुन भन्दा बाहिर गएर गरेका छैनौं ।’ उनले भनिन् ।

    चौधरीको पार्टी नागरिक उन्मुक्ति सरकारमा सहभागी छ। पत्नी तथा नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई रिहा गर्न लगातार लविङ गर्दै आएकी छिन्।

    यसअघि उच्च अदालतको फैसललाई सदर गर्दै सर्वोच्च अदालतले चौधरीलाई जन्मकैदको फैसला गरेको थियो। २०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ७ जना प्रहरीसहित १ जना दूधे बालकको ज्यान गएको थियो ।

    टीकापुर घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरेको थियो ।

  • आज आर्थिक सर्वेषण सार्वजनिक हुने

    आज आर्थिक सर्वेषण सार्वजनिक हुने

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश हुँदै छ । दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् ।

    त्यसअघि बिहान ११ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने छ । छलफलपछि नियमावली मस्यौदा समितिको प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।

  • संघीय संसदको संयुक्त बैठक आज

    संघीय संसदको संयुक्त बैठक आज

    काठमाडौं । नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

    संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र नियमावली पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा।भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

  • ओलीलाई जोडेर संसदमा प्रस्तुत अभिव्यक्ति रेकर्डबाट हट्यो

    ओलीलाई जोडेर संसदमा प्रस्तुत अभिव्यक्ति रेकर्डबाट हट्यो

    काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर दिएको अभिव्यक्ति सङ्घीय संसद्को रेकर्डबाट हटाइएको छ । ‘कोभिड सङ्कटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको हो ।

    शनिवार आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद दाहालले दिएको अभिव्यक्तिसहितको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए । गत जेठ १० गते सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि आरोप लगाउँदै यस्तो अभिव्यक्ति दिएको भन्दै एमालेले शुक्रवार हिजो संसद् बैठक अवरुद्ध पारेको थियो ।

    एमालेले सांसद दाहालको यो अभिव्यक्तिबारे सरकारले जवाफ नदिएसम्म संसद् बैठक सुरु हुन नदिने अडान लिँदै आएको थियो । शनिवार प्रधानमन्त्री प्रचण्डले सांसद दाहालको अभिव्यक्ति उचित नभएको बताएपछि एमालेले संसद् बैठक सुरु हुन दिएको छ ।

  • पूर्वराजालाई झलनाथको आग्रह : राजतन्त्र फर्कने सपना नदेख्नुहोस

    पूर्वराजालाई झलनाथको आग्रह : राजतन्त्र फर्कने सपना नदेख्नुहोस

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको बताए । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र सार्वजनिक कार्यक्रममा सहभागी हुने र मन्तव्य दिने गर्दै आइरहेका छन् । उनी इटहरी, धनगढी लगायतका ठाउँमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर भाषण गरेका थिए ।

    ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन’ उनले भने ।

    पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको पनि बताए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै खनालले ढोल र घण्टी अराजकताको संकेत भएको टिप्पणी गरे । खनालले भने, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ । कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन् ।’

    पूर्वप्रधानमन्त्री खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिए । उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने पनि बताए ।

    ‘नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो लज्जास्पद छ’ खनालले भने, ‘यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ ।’

  • काठमाडौंबाट बेंगलोर उडेको जहाज काठमाडौं फिर्ता

    काठमाडौंबाट बेंगलोर उडेको जहाज काठमाडौं फिर्ता

    काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

    शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेका छन् ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका केही स्थानको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय प्रणालीका कारण अहिले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का पानी परिरहेको छ। भारतको उत्तराखण्डमा बनेको पश्चिमी वायु सुदूरपश्चिमका भू-भागबाट नेपाल प्रवेश गर्न लागेको हो । त्यही वायुका कारण सुदूरपश्चिमका भू-भागमा एकाध घन्टापछि वर्षा हुने सम्भावना देखिएको बताइएको छ ।

    आज दिउँसो पनि पहाडी भू–भागहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा र तराईका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना छ। राती पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। रातिपनि कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

  • प्रतिनिधि सभा बैठक आज, एमालेले अवरोध गर्ला ?

    प्रतिनिधि सभा बैठक आज, एमालेले अवरोध गर्ला ?

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बैठकको कार्यसूची छ।

    शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्रीले सदनमा जवाफ दिन पाएका थिएनन्। पशुपतिको जलहरीबारे माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदीय दलका नेता केपी ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै एमालेले त्यसको जवाफ माग्दै संसद अवरुद्ध पारेको थियो।

    शुक्रबार एमालेको अवरोधपछि २० मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरिएको थियो। तर, अबेरसम्म पनि सहमति जुट्न नसकेपछि बैठक आजका लागि सारिएको थियो। एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले पशुपतिको जलहरीबारे स्पष्ट कुरा सरकारले सदनलाई जानकारी नगराए आज पनि संसद चल्न नदिने बताएका छन् ।

    जलहरीमा अनियमितता भएको छ भने त्यसको अनुसन्धान गरेर कारबाहीमा ल्याउने सन्दर्भमा सरकारले चालेको कदमबारे पनि संसदलाई जानकारी दिनुपर्ने उनले बताए। बजेटको मुखमा एमालेले संसदमा गरेको अवरोधको भने चौतर्फी आलोचना भइरहेको छ ।

  • नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सरकारको आग्रह

    नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सरकारको आग्रह

    काठमाडौं । सरकारले संघीय संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

    निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राष्ट्रपतिको कार्यालयमा अलपत्र पारेको नागरिकता विधेयक कसरी टुंगो लगाउने भन्नेबारे राष्ट्रपति रामचन्द्र पौडेल कानुनी परामर्शमा थिए । उनले विधेयक प्रमाणीकरण गर्ने आधार र कानुनी धरातलबारे बारम्बार जिज्ञासा राखेका थिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्ता सहित संवैधानिक मामिलाका कानुन व्यवसायीहरुसँग विधेयक अघि बढाउनेबारे परामर्श गरेका थिए ।
    आफ्नो सन्देश सहित एक पटक फर्काएको विधेयक हुबहु फेरि पेश भएपछि निवर्तमान राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी अलपत्र छाडेकी थिइन् ।

    त्यतिबेला अलपत्र छाडिएको विधेयक अघि बढाउन सरकारले पत्र लेखेको हो । संघीय संसदले दोस्रोपटक पेश भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधान छ । समयसीमा कटेपछि प्रमाणीकरण गर्न बाधा भएको अर्थमा बुझ्न नहुनेबारे भन्दै महान्यायाधिवक्ता लगायत कतिपय कानुनविद्ले विधेयक प्रमाणीकरण गर्न सल्लाह दिएका थिए ।

    त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक पेश गर्नेमध्ये तल्लो सदन ९प्रतिनिधिसभा०को पदावधि सकिएकाले नयाँ जनादेश सहितको प्रतिनिधिसभाले फेरि विधेयक पेश गरे विचार गर्ने जवाफ लेखेकी थिइन् । त्यसक्रममा सबैले कुनै टुंगो नलागेर राष्ट्रपति कार्यालयमा विधेयक अलपत्र परेको अवस्थामा संसदमा नयाँ विधेयक लैजान नसकिने, विधेयक फिर्ता हुने सम्भावना पनि नभएकाले प्रमाणीकरण नै सही विकल्प भएको सुझाव दिएका थिए ।

    संघीय संसदबाट पारित भएको नागरिकता विधेयकलाई निवर्तमान राष्ट्रपति भण्डारीले सन्देश सहित फिर्ता पठाएकी थिइन् । संसदले हुबहु पारित गरेर फेरि पठाएपछि उनले प्रमाणीकरण नगरी विधेयक त्यत्तिकै अलपत्र पारेकी थिइन् । अदालतमा मुद्दा परेपछि तत्कालीन राष्ट्रपति भण्डारीले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर विधेयक यथास्थितिमा राखेको दाबी गरेकी थिइन् ।

    पहिलोपटक विधेयक पेश भएपछि सन्देशसहित संघीय संसदमा पेश भएको विधेयक कुनै छलफल र परिमार्जन विना यथास्थितिमा आएको भन्दै राष्ट्रपति कार्यालयले त्यतिबेला त्यसलाई ‘सन्देशको अनदेखा गरिएको’ निष्कर्ष निकालेको थियो । लिखित जवाफमा भनिएको थियो, ‘प्रमाणीकरणका लागि मात्रै पठाउनुले यो संस्थाको गरिमा कायम रहेन ।’

  • रेशम चौधरीलाई माफी दिने बाटो खुला

    रेशम चौधरीलाई माफी दिने बाटो खुला

    काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीले आफ्नो सजाय माफीका लागि दिएको निवेदन राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रेशमको निवेदन गृहमा पठाएका हुन् । रेशमको निवेदन गृहमार्फत नै राष्ट्रपति कार्यालय पुगेको थियो ।

    त्यसमा प्रचलित कानुन, अदालतहरुबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी गर्नू भनेर गृह मन्त्रालयलाई फिर्ता पठाइएको राष्ट्रपति कार्यालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । यससँगै रेशम चौधरीको सजाय माफी गर्ने बाटो खुलेको छ ।

    सर्वोच्च अदालतले २ जेठ, २०८० मा मात्र रेशमलाई जन्मकैद सजाय गर्ने उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । सर्वोच्च अदालतको फैसलालगत्तै त्यसविरुद्ध पुनरावलोकनमा जाने भनी वक्तव्य दिएका चौधरीले संविधानको धारा २७६ अनुसार माफी मिनाहाको बाटोबाट कैदमुक्त हुने बाटो रोजेका थिए । धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

    यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिन सक्ने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर रेमशले सजाय माफीका लागि निवेदन दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपतिलाई भेटेका थिए ।

    शुक्रबार राष्ट्रपति कार्यालय कानुन बमोजिम गर्नु भनेर निवेदन गृहमा पठाएको छ । अब गृह मन्त्रालयले राष्ट्रपति कार्यालयबाट आएको फाइलमा महान्यायाधिवक्ताको राय लिएर ‘माफी मिनाहा’को प्रस्ताव मन्त्रिपरिषद पठाउँछ । मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयले निर्णय गरेपछि कैदीको बाँकी कैद माफी मिनाहा हुन्छ ।