Category: समाचार

  • ‘भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, ‘फायर’ खोल्नुपर्छ’

    ‘भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, ‘फायर’ खोल्नुपर्छ’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले नक्कली शरणार्थी प्रकरणमा राज्यले फायर खोल्नुपर्ने बताएका छन्।

    मंगलबार संसदको विशेष समयमा सम्बोधन गर्दै शर्माले यो प्रकरणमा राज्यले फाइलमात्र खोलेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुर्‍याउन फायर खोल्नुपर्ने बताएका हुन्।

    ‘भुटानी शरणार्थीको सन्दर्भ फाइल खोलेको छ। यसलाई निष्कर्णमा पुर्‍याउनुपर्छ। राज्यले यसविरुद्ध फायर खोल्नुपर्छ,’ शर्माले संसदमा भने, ‘निर्दोष कोही बच्नुहुन्न। दोषी बच्नुहुन्न।’

  • ‘टोपबहादुर दोषी छैनन् भने प्रहरीबाट किन लुकेका ?’

    ‘टोपबहादुर दोषी छैनन् भने प्रहरीबाट किन लुकेका ?’

    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नक्कली शरणार्थी प्रकरणमा मुछिएसँगै एमाले नेता टोपबहादुर रायमाझी फरार भएपछि थप आशंका बढेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै छोरा पक्राउ परेपछि सम्पर्कविहीन हुनुले घटनामा संलग्न भएको पुष्टि गर्ने उनको जिकिर छ ।

    ‘यदि, दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन्? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ,’ सांसद यादवले भने, ‘उनको छोरा पक्राउ पर्नुले यसलाई थप बल पुगेको अवस्था छ।

    प्रहरीले नियन्त्रणमा लिएर छिटोभन्दा छिटो कानुनी दायरमा ल्याउनुपर्छ। नभए प्रहरीको काममाथि नै प्रश्न गर्नुपर्ने हुन्छ। टोपबहादुर नेपालमा प्रहरीको सम्पर्कमा रहेको हल्ला चलेको छ। यसले पूरा प्रकरणमा अनुसन्धान हुनेमा शंका गर्नुपर्ने अवस्था छ।’

    उनले यस प्रकरणले अन्तराष्ट्रिय स्तरमा नेपालको छवि बिगारेकोले यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

  • स्वर्णिमले भने- ‘अर्थमन्त्री ज्यू ! घोषणापत्र लेखिदिएकै छु, कार्यान्वयन गर्नूस्’

    स्वर्णिमले भने- ‘अर्थमन्त्री ज्यू ! घोषणापत्र लेखिदिएकै छु, कार्यान्वयन गर्नूस्’

    काठमाडौं । रास्वपाका सांसद डा स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकता यथास्थितिवादी निबन्ध जस्तो रहेको टिप्पणी गरेका छन्।

    संसदमा सरकारले प्रस्तुत गरेको विधेयकमाथि सोमबार भएको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले उक्त टिप्पणी गरेको हुन्।

    वाग्लेले सामान्य सुधारले मात्रै अर्थतन्त्रमा सुधार नआउने तर्क गरेका हुन्। ‘सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर उम्कन सकिदैन,’ अर्थशास्त्रीसमेत रहेका वाग्लेले भने।

    दशौँ लाखको हाराहारीमा रोजगारीका लागि विदेशिएको भन्दै त्यसलाई रोक्न यो बजेटले व्यवस्था गर्नुपर्ने पनि उनले बताए । छोटो समयमा ठूल्ठूला विकास गर्नुपर्ने भएकाले पनि आधार बनाउन पर्ने उनको भनाइ छ ।

    अर्थमन्त्री डा प्रकाश शरण महतलाई वाग्लेले घोषणा पत्र कार्यान्वयन गर्न पनि अनुरोध गरे। आफूले नै उक्त घोषणापत्र लेखिदिएको भन्दै कार्यान्वयन गरेर देखाउन वाग्लेको आग्रह छ। ‘आफ्नै घोषणापत्र पनि पढेर कुरा कार्यन्यवनमा उतार्नुहोला।

    अहिले विकृती मौलाएको र सबैभन्दा धेरै स्थानीय तहमा भएको पनि उनको भनाइ छ। भ्रष्टाचार बढेको र झण्झटिलो सेवा प्रवाह भएको वाग्लेले बताए। ‘विकृत राज्यव्यवस्थामा हामी सहभागी भइरहेका छौं। स्थानीय तहमा ५० प्रतिशत भन्दा बढी उजुरी भ्रष्टचारसँग सम्बन्धित छन्,’ वाग्लेले भने।

  • संसद बैठकमै अर्धनग्न बने अमरेशकुमार सिंह

    संसद बैठकमै अर्धनग्न बने अमरेशकुमार सिंह

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेर अर्धनग्न बनेका छन् ।

    बैठक सुरू हुनासाथ सभामुखले बोल्न समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । सभामुख घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिए ।

  • भैरहवा गएको यतीको जहाज आकाशमै होल्ड गरेर काठमाडौं फर्कियो

    भैरहवा गएको यतीको जहाज आकाशमै होल्ड गरेर काठमाडौं फर्कियो

    काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ ।

    विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि काठमाडौंबाट भैरहवाको उडान भरेको यती एयरको जहाज आधा घण्टाभन्दा बढी समय आकाशमै होल्ड गरेर पुनः काठमाडौं फर्किएको हो ।

    भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै भैरहवा नै फर्केर गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको थियो। जसका कारण यतीको जहाजले अवतरण गर्न पाएन।

    पश्चिम नवलपरासी पुगेर आकाशमा फन्को लगाएको सो जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौं आएको विमानस्थल कार्यालय स्रोतले बतायो ।

  • काठमाडौं उडेको श्री एयरको जहाज बीच बाटोबाटै भैरहवा फर्कियो

    काठमाडौं उडेको श्री एयरको जहाज बीच बाटोबाटै भैरहवा फर्कियो

    काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडानका क्रममा जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा नै फर्किएको हो ।

    सोमबार बिहान ९.४० मा उडान भरेको श्री एयरको ७२ सिट क्षमताको जहाज उडान भरेको २० मिनेटपछि भैरहवा विमानस्थलमै फर्किएर सुरक्षित रुपमा अवतरण गरेको जनाईएको छ । चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन ।

    जहाज अहिले रनवेमै रहेका कारण विमानस्थल क्लोज गरिएको छ । काठमाडौंबाट भैरहवा गएको एती एयरलाइन्सको एउटा जहाजले आकाशमा फन्को लगाइरहेको छ ।

  • ‘मैले केही बिराएको छैन, डराउदिनँ’

    ‘मैले केही बिराएको छैन, डराउदिनँ’

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाले आफ्नो नाम जोडेर अनेकन प्रश्न उठ्न थालेकोमा गुनासो गरेकी छिन्।

    सांसदमा सम्बोधन गर्दै नेतृ राणाले भनिन् ‘एउटा नारीले आफ्नो हैसियतमा उभिएर राजनीति गरेको यो देशमा सह्य नहुने रहेछ, पुरुषले भनेको मात्र मान्नुपर्ने। आफ्नो पब्लिक लाइफमा आयो भने असह्य नहुने। जति क्रिटिसाइज गरे पनि मैले केही बिराएको छैन डराउदिनँ।’

    आफूलाई दुई मिनेटमात्र समय दिएकोमा आरजुले दुखेसोसमेत पोखिन्। ‘अरुलाई त अलि धेरै टाइम दिया जस्तो लाग्थ्यो। तर ठिकै छ,’ उनले भनिन्।

    ‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस्’ उनले थपेकी छन्, ‘कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’

    आरोपका लागि आरोप लगाउने गरी भ्रष्टाचारको विषय उठाउने र अर्को व्यक्ति उपर आरोप लगाउने कार्य मात्रै गरेर समस्याको समाधान नहुने उनको भनाइ छ ।

  • झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

    झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

    काठमाडौं । झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० जना भारतीयलाई पक्राउ गरेको छ ।

    काठमाडौंको विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकतासहित पक्राउ गरी सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा भारत विहार घर भई काठमाडौंको शंखमुल बस्ने भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता र गोपाल गुप्ता, बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने रामसुन्दर गुप्ता, गोंगबु बस्ने रामप्रवेश गुप्ता, कलंकी बस्ने भरत गुप्ता, स्नेहलता गुप्ता, मिनदेवी गुप्ता र राजेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

  • बालेनले उत्खनन् गरेको टुकुचा ढल नभएर ‘इच्छुमती खोला’ नै भएको उच्च अदालत पाटनको फैसला

    बालेनले उत्खनन् गरेको टुकुचा ढल नभएर ‘इच्छुमती खोला’ नै भएको उच्च अदालत पाटनको फैसला

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ । काठमाडौं महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला गर्न सुरु गरेपछि अदालतमा मुद्दा परेको थियो ।

    अदालतले गरेको फैसलाको पूर्णपाठमा खोला नै भन्ने उल्लेख भएपछि जग्गा प्राप्तिसम्बन्धी कानुन अनुसार नदीमाथिको जग्गा लिइएको हो वा होइन भनी नापी कार्यालयलगायत सरोकार भएका निकायसँग बुझ्न लागिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

    “खोला भएकाले यसको पहिचान हुन्छ । यससँग जोडिएको जमिन सार्वजनिक हुन्छ”, उच्च अदालतको पूर्णपाठबारे उनले सुनाए । कानुनबमोजिम जग्गा प्राप्ति गरेको भए लगत कट्टा गर्ने महानगरपालिकाको तयारी छ । लगत कट्टापछि फेरि काम सुरु गर्ने मानन्धर बताउँछन् ।

    अदालतका प्रवक्ता मन्दिरा शाहीले पनि टुकुचा ढल नभइ खोला नै भएको फैसलामा उल्लेख गरिएको जानकारी दिए । महानगरपालिका प्रमुख बालेन्द्र शाहले आजै सामाजिक सञ्जालमा अदालतको फैसलापछि विधिसम्मत तरिकाले महानगरपालिकाले सुरु गरेको खोला र त्यसको दायाँबायाँको जग्गाा संरक्षण गरिने उल्लेख गरेका छन् ।

  • प्रचण्ड सरकार दशौँ पटक विस्तार,  आचार्यले लिए शपथ

    प्रचण्ड सरकार दशौँ पटक विस्तार, आचार्यले लिए शपथ

    काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्।

    उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच शपथ लिएका हुन्।

    नेपाली कांग्रेसबाट मन्त्री बनेका आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल समाजवादी पार्टीका यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    आचार्यलाई मन्त्री बनाइएसँग मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट मात्रै ९ जना मन्त्री भएका छन्।

    योसँगै प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद् १०औँपटक विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पुसमा एक, माघमा तीन, फागुनमा दुई, चैतमा एक र बैशाखमा तीनपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।

  • रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव समाचारको झूटो

    रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव समाचारको झूटो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको भन्ने समाचारले सिङ्गो राजनीतिक र सामाजिक क्षेत्र समेत तरङ्गित बनिरहेका बेला दुई वटै पक्षले यसबारे अनविज्ञता प्रकट गरेका छन् ।

    प्रधानमन्त्रीको प्रस्ताव गरेको भनिएको नेकपा एमाले र प्रस्ताव आएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी दुबैले यो समाचार झूटो भएको प्रतिक्रिया दिएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयम्ले हिजो यसबारे आफूलाई केही कुरा थाहा नभएको प्रतिक्रिया दिएका थिए ।

    त्यसको भोलिपल्ट आज रास्वपाका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य डीपी अर्यालले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव कसैले पनि नगरेको बताएका छन् । बरु उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार रहेको र सरकारमा पुन: फर्किने सङ्केत गरेका छन् ।

    यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर, लामिछानेको नागरिकता प्रकरणका कारण सरकारबाट बाहिरिएको रास्वपा पुन: सोही मन्त्रालयहरूसहित सरकारमा सहभागी हुने उनको सङ्केत छ ।

    रवि लामिछानेले फेरि चुनाव जितेर आएपछि प्रचण्ड रास्वपालाई पुरानो मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न तयार भएको अर्यालको दाबी छ । तर, प्रचण्ड स्वयम्ले भने रास्वपाले भनेकै मन्त्रालयहरू अहिलेको अवस्थामा दिन नसकिने अभिव्यक्ति दिदै आएका छन् । यद्यपि, नीति कार्यक्रम भने पुनर्लेखन गर्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

  • सिम्रिक एयर दुर्घटना : घाइतेमध्ये एकजनाको मृत्यु

    सिम्रिक एयर दुर्घटना : घाइतेमध्ये एकजनाको मृत्यु

    काठमाडौं । संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय भविन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ । उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको हो।

    गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ । भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा हेलिकोप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा जम्मा पाँचजना घाइते भएका थिए भने २ जना गम्भीर थिए। हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जाँदै थियो । हेलिकोप्टर दिउँसो १ बजेबाट एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो ।

  • भुटानी शरणार्थी प्रकरण : थप तीन जनाविरुद्ध पक्राउ पुर्जी

    भुटानी शरणार्थी प्रकरण : थप तीन जनाविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको हो । तर, पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार भएका छन् । पक्राउ परेका अन्य आरोपितको बयानको आधारमा प्रहरीले उनीहरुमाथि छानबिन गरेको थियो । जसका आधारमा केही तथ्य भेटिएपछि अदालतमार्फत पक्राउ पुर्जी लिएको हो । प्रहरीले जनाएअनुसार ठगीमा पीडित बनेका आरोपितहरुको खातामा रकम जम्मा गरिदिएको भेटिएको छ । पक्राउ पुर्जी जारी भएका तिनै जना सहकारी सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

  • ‘मेरो जीवन पनि सम्राट अशोकसँग मेल खान्छ’

    ‘मेरो जीवन पनि सम्राट अशोकसँग मेल खान्छ’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धका अनुयायी सम्राट अशोकको जीवनसँग आफ्नो जीवन पनि मेल खान जाने बताएका छन्।

    २५६७ औं बुद्धपूर्णिमा एवं लुम्बिनी दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित बनेको बताएका हुन्।

    विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुबै गुण रहेको बताएका छन् । वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको उनको भनाई थियो ।

    नेपालको लुम्बिनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहीआएको छ ।

    बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो, वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उहाँले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गर्नुभयो,’ बुद्धलाई स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा उहाँको योगदान विश्वव्यापी रूपमा सर्वमान्य छ । तसर्थ, पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व हुनुभयो ।’

    ‘बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तरार्द्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ,’ प्रचण्डले भने।

    प्रधानमन्त्री प्रचण्डले आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एकअर्काको पुरक रहेको बताए।

  • गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

    गण्डकी प्रदेशसभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्रीले आफुलाई विश्वासको मत दिइओस् भनी गरेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिएका हुन् ।

    मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिए ।

    उनको विपक्षमा नेकपा एमालेका २२ र राप्रपाका २ गरी २४ जना सांसद छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ सांसद भने तटस्थ बसे ।

    मुख्यमन्त्री पाण्डेले ३५ सांसदको समर्थनमा वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

    ६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।

  • एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

    एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

    काठमाडौं । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरूलाई प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।

    एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि अनलाइनबाट प्रिन्ट समेत गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए ।

    उनका अनुसार ढिलोमा अर्को हप्तादेखि अनलाइनबाटै आफैँले प्रिन्ट गर्न मिल्ने व्यवस्था हुनेछ । सरोकारवाला शैक्षिक संस्थाको ‘एपीआई इन्ट्रिग्रेड’ गरी आवेदकले प्रविष्ट गरेका कागजातका आधारमा ‘अटोनोमस भेरिफिकेसन’ गरिने शाखा प्रमुख वस्तीले बताए ।

    उनले भने, “विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए/नलिएको विवरण समेत बैंक तथा वित्तीय संस्थाबाट ‘अटोमेटिक’ हुनेछ । यसका लागि शाखाले बैंक तथा वित्तीय संस्थालाई अभिमुखीकरण गरेको छ । उनीहरूको मागअनुसार ‘युजर म्यानुअल’ समेत तयार भइसकेको छ ।”

    नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत एनओसीका आधारमा विद्यार्थीलाई विदेशी मुद्रा सटही सुविधा दिन सर्कुलर गरेको छ । राष्ट्र बैंककले जारी गरेको परिपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध नो अब्जेक्सन सर्टिफिकेटसम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने भनिएको छ ।

    अहिले सरोकारवाला निकायका ‘सफ्टवेयर’ शाखाको अनलाइन प्रणालीसँग जोड्ने काम भइरहेको छ । कतिपय सरोकारवाला निकाय अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सक्ने अवस्थामा नभएका कारण केही ढिलाइ भइरहेको एनओसी शाखा प्रमुख वस्तीले जानकारी दिए ।

    “यसका लागि २५ भन्दा बढी सरोकारवाला निकायसँग समन्वय आवश्यक हुन्छ,” उनले भने, “राहदानी विभाग, विश्वविद्यालय, अध्यागमनलगायतका सरोकारवाला निकायसँगको समन्वय आवश्यक हुन्छ ।”

    सबै सरोकारवाला निकायले अनलाइनमार्फत सेवा प्रवाह गरेका मात्र एनओसी शाखाले शतप्रतिशत सेवा प्रवाह गर्न सक्ने उनको भनाइ छ ।

    सरकारले वैदेशिक अध्ययनलाई व्यवस्थित गर्नका लागि ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । निर्देशिका एनओसी लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि बनाइएको हो । सोही आधारमा एनओसी जारी गर्ने प्रक्रिया पूर्ण रूपमा अनलाइन गर्न लागिएको हो ।

    हाल अनलाइनमार्फत आवेदन दिई रुजु भएपछि एनओसी लिने समय मोबाइलमा प्राप्त भएको म्यासेजमा आएका कार्यालयमा गई लिनुपर्ने व्यवस्था छ । अब भने एनओसी आवेदनदेखि प्रिन्ट पनि अनलाइनबाट हुन लागेको हो । रासस

  • तीन मन्त्रीले लिए शपथ

    तीन मन्त्रीले लिए शपथ

    काठमाडौं । कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन्।

    बिहीवार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयमा शपथ दिलाएका हुन्।

    मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री छन्।

    यसअघि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको थियो। कांग्रेसबाट खड्का उपप्रधानमन्त्रीसहित रक्षा, प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री, एनपी साउद परराष्ट्रमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री, रमेश रिजाल उद्योग मन्त्रीमा यसअघि नै नियुक्त भइसकेका छन्।

  • सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निरुको हत्या

    सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निरुको हत्या

    काठमाडौं । सिक्री लुट्दा प्रतिकार गरेपछि कपनमा निरा पाण्डेको हत्या भएको खुलेको छ।

    हत्या आरोपमा प्रहरीले एक बाउन्सरलाई पक्राउ गरेपछि हत्याको कारण खुलेको हो। काठमाडौं– ७ वैशाखमा कपन सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य ९निरु० को सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गरिदिएको घटनामा संलग्न विनोद विश्वकर्माले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।

    बाउन्सरसमेत रहेका घटनामा संलग्न विनोद विश्वकर्माले सिक्री लुट्ने मनसायले दिउँसोको समयमै १९ पटक निरुमाथि छुरा प्रहार गरी हत्या गरेको बताएका छन् ।

    साता दिन बित्सासमेत हत्यारा पत्ता लगाउन नसकेको भन्दै नागरिक स्तरबाट सरकारको आलोचना भएपछि प्रहरीले दुई दिनअघि मात्रै घटना अनुसन्धानका लागि सीआईबी प्रमुख किरण वज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो।

    प्रहरीका अनुसार इनड्राइभमार्फत घटनास्थल नजिकै पुगेका विनोदले निरुको सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि ८ मिनेटको बीचमै हत्या गरेको खुलेको छ। हत्या आरोपमा पक्राउ परेका बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ ।

    दिउँसो २ बजेर ४६ मिनेट जाँदा घटनास्थलमा पुगेका बिनोद ५४ मिनेट जाँदा घटनास्थलबाट बाहिरिएका थिए। तर उनले हुलिया चिन्न गाह्रो पर्नेगरी अनुहारमा मास्क लगाएका थिए। सीसी क्यामेरा फुटेजमा पनि राम्रोसँग खुल्न सकेको थिएन।

    कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको ७ वैशाखमा आफ्नै पसलमा हत्या भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा सीसीटीभीमा एक युवकलाई देखेको थियो । ती युवक राइड सेयरको मोटरसाइकलमार्फत कागेश्वरी मनोहरास्थित एक रेष्टुरेन्टमा गएको अनुसन्धानमा खुलेपछि प्रहरीले त्यहाँ पुगेको थियो ।

  • बुटवल-तानसेन सडक अब रातिमात्रै बन्द हुने

    बुटवल-तानसेन सडक अब रातिमात्रै बन्द हुने

    काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अब राति मात्र बन्द हुने भएको छ ।

    सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको उक्त सडकखण्ड अब रातिमात्रै बन्द गरिने भएको हो ।

    यसअघि गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दिनहुँ बन्द हुँदै आएको थियो । अब राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र बन्द हुनेछ ।

    निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणले दिउँसोमा सडक बन्द नगर्न माग गरेपछि रातिको ६ घन्टा मात्र बन्द गराइन लागिएको हो ।

  • कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत

    कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन्।

    शुक्रबार तेस्रो पटक विश्वासको मत लिने क्रममा मतदान गर्ने ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परको छ।

    उनले आफ्नो दल नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) का १ र स्वतन्त्र १ जना सांसदको विश्वासको मत पाएका हुन्।

    राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए । यस्तै मुख्यमन्त्री शर्माले दोस्रो पटक चैत १७ गते विश्वासको मत लिएका थिए ।

    यसअघि सत्तामा रहेको नेकपा (एमाले) अबदेखि प्रमुख प्रतिपक्षी बनेको छ। राप्रपा पनि प्रतिपक्षीका रूपमा रहेको छ।

  • जनमतको सम्मान गर्न रविले रोजेको मन्त्रालय दिनु पर्छ

    जनमतको सम्मान गर्न रविले रोजेको मन्त्रालय दिनु पर्छ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्।

    शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएकाले उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताए ।

    ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनु पर्छ,’ किरातीले भने। त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको मन्त्री किरातीले बताए।

    हजारौं जनताको बलिदानीबाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न नसकेको उल्लेख गर्दै उनले जनताको दिनदैनिकी दयनीय बन्दै गइरहेको बताए । देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गर्न पनि उनले आग्रह गरे ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो । यो जनताको आक्रोश हो । मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो’, उनले भने, ‘हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।’

    किराँतीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नु परेको समेत बताएका छन् । ‘एउटा व्यवसाय दर्ता गर्न ७ ओटा मन्त्रालय र २२ ओटा विभाग र सयौ टेबल पुग्नु पर्ने अवस्था छ’, किराँती भने, ‘विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम कानुनछन् । पैसामा चावि लगाएर मरूभूमिमा श्रम गर्न पठाउने हाम्रो नीतिमा मै खोट छ । युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ तर तिनलाई नै आज प्लेनको टिकट महँगो भएकोले सास्ती भइरहेको छ ।’

  • अर्थमन्त्री महतले भनेः ‘अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन’

    अर्थमन्त्री महतले भनेः ‘अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन’

    काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् ।

    सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही रु दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले आज अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय नभएको बताएका हुन् ।

    “अयोग्य लडाकुका विषय अदालतमा पुग्यो । बजेटमा पनि रहेछ । म अर्थमन्त्री भएपछि कुनै निर्णय भएको छैन । यो विषय अगाडि बढाउन मन्त्रिपरिषद्ले पास गरेको भनिएको कार्यविधिबारे मलाई जानकारी छैन”, अर्थमन्त्री महतले भने, “बजेटको व्यवस्थाअनुसार कार्यविधि गृह मन्त्रालयले अघि बढाएको हुनुपर्छ । म आइसकेपछि कुनै निर्णयमा म संलग्न छैन । मलाई योबारे जानकारी नै छैन ।”

    सरकारबाट अनावश्यकरुपमा राज्यको सम्पत्ति दुरुपयोग हुने विषयमा कुनै शङ्का नगर्न पनि अर्थमन्त्री महतले आग्रह गर्नुभयो । “अयोग्य लडाकुका नाममा राज्यकोष दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार गर्ने, ढुकुटी सक्न लागे कि भन्ने खालका आशङ्का नगर्न म आग्रह गर्दछु”, अर्थमन्त्री महतले भने ।

    उनले व्यक्तिभन्दा माथि देश रहेको उल्लेख गर्नुहुँदै आफ्नो दल नेपाली कांग्रेसले पनि यो विषयमा चासो लिइरहेको बताए । अयोग्य लडाकुका विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुङ्गो लगाइनुपर्ने उनको भनाइ छ ।

    अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले अर्थमन्त्री महतलाई आज सातबुँदे ज्ञापनपत्र बुझाएको छ । “गत चैत ६ गतेको मन्त्रिपरिषद् निर्णयबाट अयोग्य लडाकुलाई प्रतिव्यक्ति रू दुई लाख वितरण गर्नेगरी गृह मन्त्रालयद्वारा तयार गरी यही वैशाख ६ गतेको मन्त्रिपरिषद् वैठकमा प्रस्तुत भएको सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” राष्ट्रिय युवा सङ्घले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

  • ‘विद्यालयमा राजनीतिक गतिविधि नरोकिए विद्रोह हुन्छ’

    ‘विद्यालयमा राजनीतिक गतिविधि नरोकिए विद्रोह हुन्छ’

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भातृ संगठन विरुद्ध विद्रोहको चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौं–८ बाट निर्वाचित रास्वपा सांसद श्रेष्ठले भने ‘प्रचलित शिक्षा ऐन र नियमावली विपरित राजनीतिक दल र भातृ संगठनका गतिविधि गरेको भन्ने कुराको हामीलाई ध्यानाकर्षण ध्यानाकर्षण भएको छ । हामी निर्वाचित भएको क्षेत्रका विद्यालयमा झण्डाहरूसहित कार्यक्रम गरेको गुनासो आएको छ र त्यसलाई रोक्न खोज्दा अभद्र व्यवहार गरेको भन्ने सुन्नमा आएको छ,’ ‘ म विद्यार्थीहरुको भविश्यमा खेलवाड गर्न पाइदैन भनेर सबै राजनीतिक दलहरुलाई निदवेदन गर्न चाहन्छु । सँगसँगै माध्यामिक तहमा राजनीतिक दलका गतिविधि नरोकिए त्यहाँ पनि विद्रो हुने चेतावनी दिन चाहन्छु ।” ‘

    उनले भातृ संगठनहरुलाई मर्यादित गतिविधिका लागि सम्झाउन राजनीतिक दलहरूलाई आग्रह गरेका थिए ।

  • ओलीको अभिव्यक्तिबारे पूर्वराजाको सचिवालयले भन्यो- ‘भ्रमजालबाट मुक्त हुनोस्’

    ओलीको अभिव्यक्तिबारे पूर्वराजाको सचिवालयले भन्यो- ‘भ्रमजालबाट मुक्त हुनोस्’

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न भनेर चूनौति दिएको भोलिपल्टै शाहको सम्वादको सचिवालयले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    ओलीले पूर्वराजा ज्ञानेन्द्रले छोराबुहारीलाई अघि सारेर फुरफुर गरेकाले पुरानो हिसाब किताब धेरै रहेको तर आफूहरुले नगरेर त्यसै छाडेको भन्दै कटाक्ष गरेका थिए ।

    झापामा आफूमाथि आक्रमण प्रयास हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको ओलीको दाबी थियो ।

    पूर्वराजा शाहको सम्वाद सचिवालयले भने आज सूचना नै जारी गरेको छ । सूचनामा भनिएको छ–‘श्री ५ महाराजाधिराज सरकार, श्री ५ बडामहारानी सरकार तथा श्री ५ युवराज्ञी सरकारबाट कुनैपनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा पुनः जानकारी गराईन्छ ।

    यस्तो निाराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गरिन्छ । यस सम्बन्धमा यस सचिबालयबाट मिति २०७८।०।२३ मा समेत खण्डन भइसकेको जानकारी गराईन्छ । मिति २०८० साल बैशाख १५ गते ।’

  • लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

    लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

    काठमाडौं । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् ।

    बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४-४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद छन् ।

  • गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

    गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

    उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका हुन् ।

    नेता पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको समर्थन छ । गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद चाहिन्थ्यो।

    नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ भने शुक्रबार हुने भएको छ। शुक्रबार मध्यान्ह मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाउने कार्यक्रम तय भएको पाण्डेको सचिवालयले जानकारी दिएको छ।

  • लुम्बिनीको मुख्यमन्त्रीमा ५३ जनाको हस्ताक्षरसहित डिल्लीबहादुरको दाबी पेश

    लुम्बिनीको मुख्यमन्त्रीमा ५३ जनाको हस्ताक्षरसहित डिल्लीबहादुरको दाबी पेश

    काठमाडौं । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ जनाको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४- ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३- ३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र उनले दाबी पेश गरेका हुन् ।

  • घरको सटरमा सञ्चालन बालाजुको कोत: धुकु पेट्रोल पम्प सिल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । जसको कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो ।

    आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।

    अदालतको स्टे अर्डर हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा सिल गरेको पम्पका सञ्चालकले आरोप लगाएका छन् ।

    २०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय ०७६ मा गरेको थियो । ती मध्ये १६ वटा पम्प राजनीतिक पहुँच लगाएर अझै पनि यथास्थानमै सञ्चालनमा छन् । त्यसमध्ये कोतःधुकु एक रहेको थियो ।

  • ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

    ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण कम्पनीको इजाजतपत्र खोज गरेको छ ।

    मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रबर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका निर्माण व्यवसायीको इजाजत रद्द गरेको जानकारी गराएको हो ।

    निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९–०८० का लागि चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेका व्यवसायीहरूको निर्माण व्यवसाय इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ ।

    यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो ।

  • भारतमा उत्पादित ‘कफ सिरप’ प्रयोग नगर्न डब्लुएचओको आग्रह

    भारतमा उत्पादित ‘कफ सिरप’ प्रयोग नगर्न डब्लुएचओको आग्रह

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा उत्पादित ‘कफ सिरप’ (रुघा खोकीको औषधि) को प्रयोग नगर्न आग्रह गरेको छ ।

    पन्जाबस्थित क्यूपी फर्माकेम लिमिटेडले उत्पादन गरेको गुइफेनेसिन टिजी सिरपमा कैफियत पाइएकाले प्रयोग नगर्न आग्रह गरेको हो ।

    यो उत्पादनहरू ‘गुणस्तरहीन’ भएको र कम्पनीले उनीहरूको ‘सुरक्षा र गुणस्तर’ को बारेमा सुनिश्चितता प्रदान गर्न असफल भएको बताएको छ ।

    यी दुवै कम्पाउण्ड मानिसलाई विष समान हुने र अधिक मात्रामा सेवन गरेमा ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    संगठनले यो सिरपबाट कोही विरामी भए/नभएको वा कसैको ज्यान गए/नगएको भन्नेबारे केही खुलाएको छैन ।

    यसैगरी मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

    डब्ल्यूएचओका अनुसार बच्चाले सेवन गर्ने यी औषधिबाट पश्चिम अफ्रिकी मुलुक गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको थियो ।