Category: समाचार

  • तनहुँमा सर्वेन्द्र खनालले पाएनन् एमाले कमिटीकै मत

    तनहुँमा सर्वेन्द्र खनालले पाएनन् एमाले कमिटीकै मत

    काठमाडौं । उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तुलनात्मक रूपमा नेकपा (एमाले) को धेरै मत लगेका छन्।

    जारी मतगणनाका क्रममा एमालेकै नेताहरुले पार्टी कमिटीकै सदस्यहरुको मत सर्वेन्द्रलाई नआएको प्रतिक्रिया दिएका छन्।

    दुई महिने ग्रासरुट अभियान भर्खरै सम्पन्न गरेको एमालेले संगठनलाई बलियो बनाएको दाबी गरेको थियो।

    अहिलेसम्मको मतगणनाबाट आएको परिणामलाई आधार मान्ने हो भने वाग्लेले यसअघि एमालेलाई मत दिएका धेरै मतदाताको मत यसपालि आफूतिर तानेका छन्।

    मंसिरको निर्वाचनमा एमालेले झन्डै २० हजार ल्याएको थियो। त्यतिबेला एमाले उम्मेदवार एकबहादुर रानाले सदर मतको झन्डै ३२ प्रतिशत मत पाएका थिए भने अहिले खनालले १५ प्रतिशत मत मात्र पाइरहेका छन्।

    त्यतिबेला कांग्रेस र एमालेबीचको मतान्तर कम थियो। त्यतिबेला कांग्रेसका रामचन्द्र पौडेलले २५३६१ मत पाएका थिए भने एमालेका रानाले १९९८१ मत पाएका थिए।

    अहिले एमालेका सर्वेन्द्र खनालले कांग्रेसका गोविन्द भट्टराईभन्दा झन्डै आधामात्र मत ल्याएका छन्। प्राप्त पछिल्लो मत परिणामअनुसार भट्टराईले ५ हजार मत ल्याउँदा खनालले झन्डै २८ सय मत पाएका छन्।

  • आज कतिपय स्थानमा दिनभर वर्षा

    आज कतिपय स्थानमा दिनभर वर्षा

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ ।

    रातिको समयमा पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का\क्षणिक वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।

  • सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु

    सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु

    काठमाडौं । अफ्रिकी देश सुडानमा द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् । अमेरिका र बेलायतले सुडानको राजधानी खार्तुमबाट आफ्ना कुटनीतिज्ञ र उनीहरुको परिवारलाई बाहिर निकालेको जनाएको छ । यस्तै, फ्रान्स, जर्मनी, इटली र स्पेनले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन्। अमेरिकाले खार्तुममा रहेको अमेरिकी दूतावास बन्द भएको जनाएको छ ।

    बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले सुडानबाट बेलायतले आफ्ना दूतावासका कर्मचारीलाई बाहिर निकालेको र आफ्ना नागरिकको सुरक्षा बेलायत सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सुडानबाट बेलायती कुटनीतिज्ञ र उनीहरूका परिवारलाई बेलायती सेनाले ‘जटिल र द्रूत उद्धार’ पूरा गरेको बताउनुभएको छ । त्यसैगरी, जर्मनीले आफ्ना साझेदारहरूसँगको समन्वयमा सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेको जनाएको छ।

    त्यस्तै, क्यानडाले पनि सुडानमा कुटनीतिक गतिविधि अस्थायी रूपमा स्थगन गर्ने घोषणा गरेको छ । भारतले पनि खार्तुममा रहेका आफ्ना नागरिकको उद्धार गर्न सबै तयारी पूरा भएको जनाएको छ । खार्तुममा सेना र अर्धसैनिक बलबीच भइरहेको द्वन्द्वका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। सयौँको ज्यान गएको छ भने हजारौँ घाइते भएका बीबीसीले जनाएको छ।

  • आज १७ औं लोकतन्त्र दिवस, विविध कार्यक्रम सहित मनाइदै

    आज १७ औं लोकतन्त्र दिवस, विविध कार्यक्रम सहित मनाइदै

    काठमाडौं । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे। जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो।

    त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे। विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भएको थियो। विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो।

    विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो। नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए।

    आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो।

    विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।

    विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ। जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ।

  • एसीसी प्रिमियर कप : आज नेपाल र साउदी भिड्दै

    एसीसी प्रिमियर कप : आज नेपाल र साउदी भिड्दै

    काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार साउदी अरब र नेपाल भिड्दै छन् । नेपालको नजर सेमिफाइनलमा छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पनि गर्नेछ । प्रिमियर कपकै लागि भनेर तयार पारिएको मूलपानी मैदान (माथिल्लो) मा नेपालले साउदीसँग पहिलो पटक खेल्न लागेको हो ।

    नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । साउदीलाई पराजित गरेमा नेपाल कतारसँग खेल्नुअघि नै सेमिफाइनल पुग्नेछ । नेपाल २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ ।

    तीन खेलबाट ४ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ । मलेसिया र साउदीको समान २–२ अंक छ । नेपालले ११ वर्षपछि साउदीसँग ५० ओभरको क्रिकेट खेल्न लागेको हो । यसअघि सन् २०१२ मा एसीसी ट्रफी एलिटकमा नेपालले साउदी अरबलाई ९ विकेटले पराजित गरेको थियो ।

  • प्रारम्भिक रुझान : स्वर्णिमलाई दोब्बर मतको अग्रता

    प्रारम्भिक रुझान : स्वर्णिमलाई दोब्बर मतको अग्रता

    काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् ।

    नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् । तनहुँ क्षेत्र नं १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् । आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।

  • कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?

    कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको नेपाली राजदूतावासले जनाएको छ। उनी उक्त अस्पतालमा भर्ना भएको आइतबार पाँचौ दिन हो। चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन्।

  • उपनिर्वाचनमा ६० प्रतिशत मतदान

    उपनिर्वाचनमा ६० प्रतिशत मतदान

    काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ ।

    ४ मंसिरमा भएको निर्वाचनमा बारा २ मा ६३.५६, चितवन २ मा ६७.६३ प्रतिशत र तनहुँ–१ मा ५४.०३ प्रतिशत मतदान भएको थियो । तीनवटा निर्वाचन क्षेत्रमा गरी तीन लाख ५३ हजार २४७ मतदाता थिए । सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका ढुवानी सुरु हुनेछ ।

    आयोगका अनुसार बारा–२ का सबै मतपेटिका साँझ ८ बजेभित्र कलैयामा, चितवन २ का सबै मतपेटिका राति १० बजेभित्र भरतपुरमा र तनहुँ–१ का सबै मतपेटिका राति ११ बजेभित्र दमौलीमा ढुवानी भइसक्ने जानकारी दिएको छ ।

  • उपनिर्वाचन शान्तिपूर्ण, मतदान समय सकियो

    उपनिर्वाचन शान्तिपूर्ण, मतदान समय सकियो

    काठमाडौं । चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम निर्धारण गरेको थियो ।

    मतदानको समय सकिए पनि केही केन्द्रहरूमा मतदाताहरू लाइनमा नै छ । ५ बजेअघि अघि नै मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताहरूले मतदान गर्न पाउने आयोगले जनाएको छ ।

    यकिन तथ्यांक प्राप्त भैनसकेपछि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।

  • सवारी दुर्घटनाबाट कीर्तिपुर-४ का वडाध्यक्षको मृत्यु

    सवारी दुर्घटनाबाट कीर्तिपुर-४ का वडाध्यक्षको मृत्यु

    काठमाडौं । वैशाख १ गते बाइक दुर्घटनामा परि गम्भीर घाइते भएका कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्याम कुमार अधिकारीकाे निधन भएको छ ।

    माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । गत वैशाख १ गते कीर्तिपुरको पुष्पलाल पार्कस्थित ओरालोमा उनी मोटरसाइकल दुर्घटनामा परेका थिए ।

    ४७ वर्षीय अधिकारी २०७९ को स्थानीय तह निर्वाचनमा उनी स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

  • ५८ देशका आरोही सगरमाथा आरोहणमा

    ५८ देशका आरोही सगरमाथा आरोहणमा

    काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौ सय बढी आरोही आएका छन्।

    तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन्। सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानडाका १९, रसियाका १८, बेलायतका १५ र नेपालका १६ आरोहीले अनुमति लिएका हुन्।

  • आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माग्यो माफी

    आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माग्यो माफी


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचारसंहिता उल्लंघन गरेकोमा माफी मागेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गरेपछि मतदान अवरुद्ध भएको थियो। सर्वदलीय बैठकमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच ४ बुँदे समझदारी भएको छ। जसको पहिलो बुँदामा भनिएको छ, ‘रास्वपाबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो।’

  • रविले फेसबुक लाइभमा भने ‘मभित्र ज्वाला बलेको छ तर, संयमित भएको छु’

    रविले फेसबुक लाइभमा भने ‘मभित्र ज्वाला बलेको छ तर, संयमित भएको छु’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रको कुरा गर्ने राजनीतिक दलहरूलाई इतिहासले मूल्यांकन गर्ने बताएका छन्।

    आइतबार चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा अवलोकनका लागि पुगेका उनीमाथि हुलहुज्जत भएपछि फेसबुक लाइभमार्फत लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज, हुलहुज्जत गरे इतिहासको मूल्यांकन गर्ने बताएका हुन्।

    उनले भनेका छन्, ‘सबैजनालाई संयमित हुनुहोला। यतिखेर हामीसँग मतदान बाहेक विकल्प छैन। लोकतन्त्रको सुन्दर पक्ष मतदान हो। अन्य राजनीतिक दलले के तयारी गरिरहेका छन् थाहा छैन। राजनीतिक दलहरूलाई लोकतन्त्रको सुन्दरताको कुरा गरिरहनुभएको छ। यो पक्षलाई नजरअन्दाज, हुहुज्जत गर्नुभयो भने इतिहासको मूल्यांकन गर्नेछ।’

    सभापति लामिछानेले अन्य राजनीतिक दलहरूको गलत हर्कतलाई चितवन वासीले हेरिरहेकाले एक माघले जाडो नजाने चेतावनी दिएका छन्।
    ‘साथीहरू एक माघले जाडो जाँदैन। चितवन बासीले तपाईंहरूलाई हेरिरहेका छन्। हामीले मतदाताको भरमा ममाथि भएको षड्यन्त्र र घेराबन्दीलाई मतदाताले हेरिरहेका छन्,’ उनले भनेका छन्।

    सभापति लामिछानेले चितवनलाई संसारले हेरिरहेकाले आफू पनि संयमित भएको बताएका छन। उनले आफ्ना पार्टीका समर्थकहरूलाई संयमित भएर उपनिर्वाचनमा खटिन पनि निर्देशन दिएका छन्।

    ‘मभित्र ज्वाला बलेको छ। तर, संयमित भएको छु। तपाईंहरू पनि संयमित रहनुहोला,’उनले भने।

  • रवि लामिछानेमाथि आक्रमण प्रयास, नयाँ किरण माविमा मतदान स्थगित

    रवि लामिछानेमाथि आक्रमण प्रयास, नयाँ किरण माविमा मतदान स्थगित

    काठमाडौं । चितवनको भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।

    मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो।

    मतदान केन्द्रको अवलोकन गर्न जाने क्रममा केही व्यक्तिहरु उनीमाथि आइलागेका थिए । । ‘रवि दाइ हाइ हाइ’ भन्दै नाराबाजी भएपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका हुन् ।

    ‘के को हाइ हाइ ? अहिले नाराबाजी गर्न पाइन्छ ? आचारसंहिता लाग्दैन ?’ भन्दै केही युवाहरुले हुलहुज्जत गरेपछि प्रहरीले रविलाई सुरक्षा दिएर लगेको थियो । ती युवाहरु र प्रहरीबीच झडपसमेत भयो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले विवाद मिलाउनका लागि सर्वदलीय बैठक बसिरहेको छ।

    सर्वदलीय बैठकमा एमालेसहितका दलहरुले आचारसंहिता उल्लंघन भएकाले कारबाही हुनुपर्ने वा उम्मेदवारले कार्यकर्तालाई सम्झाएर माफी माग्दै मतदानस्थलको वातावरण शान्तिपूर्ण बनाउनुपर्ने माग गरेका छन्।

  • नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता सिंह पञ्जावबाट पक्राउ

    नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता सिंह पञ्जावबाट पक्राउ

    काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि फरार ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई पञ्जाब प्रहरीले गिरफ्तार गरेको बीबीसीले लेखेको छ । अमृतपाल सिंहको गिरफ्तारीको पुष्टि पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले गरेका हुन्।

    त्यसपछि पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ। प्रहरीले नागरिकहरूसँग शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ। सिंहले सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका थिए।

    १८ मार्चदेखि उनी फरार रहेका थिए। सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् खोजी गरिदिन आफूहरूलाई पत्राचार गरेको यसअघि नेपालको अध्यागमन विभागले जनाएको थियो ।


    उनन्तीस वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्। सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए। गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए।

    अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे। दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए। पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो। नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए। त्यसको एक महिनापछि उनी वारिस पञ्जाब देका प्रमुख नियुक्त भए।

    उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन्। उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो। केहीअघि सिंहका सशस्त्र समर्थकहरूले एउटा प्रहरी चौकीमा धावा बोलेका थिए । पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो। पञ्जाब प्रहरी अनुसार ुवारिस पञ्जाब देुका कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ।

    उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पुर्‍याएको जस्ता अभियोग लगाइएको छ। पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको थियो। उनी पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन्।

    सिंहका समर्थकहरूले गत फेब्रुअरीमा हिरासतमा रहेका उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको थियो।
    अनियन्त्रित भिडमा रहेका क्रुद्ध मानिसहरूमध्ये धेरैले बन्दुक र तरबार बोकेका थिए। आफ्ना साथी रिहा हुने सुनिश्चित भएपछि मात्र त्यहाँबाट बाहिरिएका थिए। प्रहरी अधिकारीहरूले पछि दाबी गरेअनुसार उनीहरूले सिखहरूको पवित्र ग्रन्थ ‘गुरुग्रन्थ साहिब’लाई ढालका रूपमा प्रयोग गरेका कारण भिड नियन्त्रण गर्न कठिन भएको थियो।

    धेरैलाई चिन्तित पारेको अर्को विषय अमृतपाल सिंहको रूप पनि हो। उनको हाउभाउ र रूप अहिले जरनेल सिंह भिन्डरावालेको जस्तै देखिन्छ। भिन्डारेवालेको नेतृत्वमा झन्डै एक दशक चलेको विद्रोहका क्रममा हजारौँ मानिसहरूको मृत्यु भएको थियो। विद्रोहीहरूले मुख्य नेताहरूदेखि साधारण मानिसहरूलाई पनि निसाना बनाएका थिए। प्रहरी कारबाहीमा कैयौँ सिख युवाहरू समेत मारिए। पञ्जाबमा अझै त्यस हिंसाको त्रास पाइन्छ।

  • रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए

    रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। झुटा पोस्टप्रति सबै सजग रहन पनि रास्वपाले अनुरोध गरेको छ।

    ‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाले आज बिहान पार्टीको फेसबुक पेजमार्फत भनेको छ, ‘यस खालका झुटा पोस्टहरूप्रति सम्बन्धित सबै सजग रहन अनुरोध गर्दछौं।’

    सामाजिक सञ्जाल दुरूपयोग गरी भइरहेका अफवाह फैलाउने र झुटको खेती गर्नेहरूको निगरानी र कानूनबमोजिम कारबाही गर्न रास्वपाले निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ।

    ‘स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धामार्फत जनमत हासिल गरी देशको सेवामा समर्पित होऔं। यस्तो गलत अभ्यासले आजका नेपाली भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ,’ रास्वपाले भनेको छ। रास्वपा सांसद सुमना श्रेष्ठले पनि एक भिडिओ सन्देश जारी गर्दै रास्वपा उम्मेदवारहरूका बारेमा भ्रामक समाचारहरू आइरहेको उल्लेख गरेकी छन्।

    ‘रास्वपाले चुनावअघि कसैसँग गठबन्धन गर्दैगर्दैन। गठबन्धन गर्‍योजस्ता कुराहरू आइरहेका रहेछन्। यो राजनीतिक भ्रष्टाचार हो भन्ने हामी मान्छौं,’ उनले भनेकी छन्, ‘भ्रामक समाचारमा नपर्नुहोला।’ आज तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन जारी छ ।

  • उप-निर्वाचनमा मतदान सुरु

    उप-निर्वाचनमा मतदान सुरु

    काठमाडौं । बारा क्षेत्र नं.२, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो ।

    चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ लगायत उम्मेदवार छन् ।
    तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् । बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा उत्रिएका छन् ।

  • काठमाडौंमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु

    काठमाडौंमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा दुई वटा छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका १४स्थित सडकमा एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बाप्र-०२-०१९ प ९७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा शनिबार बिहान मकवानपुर थाहा नगरपालिका ७का २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएपछि उनलाई कलंकीस्थित नेशनल अस्पताल लगिएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार जारी छ।

    यस्तै चन्द्रागिरि नगरपालिका(१० सतुङ्गल सिजी गेट अगाडि बा ५ ख ७००४ नम्बरको हायस गाडीलाई ओभरटेक गर्नेक्रममा अर्को मोटरसाइकल पनि दुर्घटनामा परेको थियो। प्रदेश ०३(०२०औ०१३ प ९१८ नम्बरको मोटरसाइकल सोही गाडी मुनी छिरेको थियो। उक्त दुर्घटनामा भने पाल्पाको तानसेन नगरपालिका(३ घर भएका २२ वर्षीय रसिक रामजालीको शनिबार बिहान मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, कैयौं घाइते

    विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, कैयौं घाइते

    काठमाडौं । विराटनगरमा शनिबार भएको झडपमा कम्तीमा १० जना घाइते भएको प्रहरीले जनाएको छ । छ जना प्रहरी र चार जना पहिचानवादी आन्दोलनकारी घाइते भएका हुन् । कोशी नाम खारेजी माग गर्दै आएको संयुक्त संघर्ष समितिले भने आन्दोलनकारीतर्फ छ जना घाइते भएको बताएको छ । यसअघि चैत ५ को आन्दोलनको क्रममा घाइते भई निधन भएका पदम लिम्बूको शव प्रदर्शनका क्रममा विराटनगरमा झडप भएको थियो। मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार प्रदर्शनकारीले रोडसेस चोक नजिक मुख्यमन्त्री कार्यालय अगाडि निषेधाज्ञा तोडेपछि झडप भएको हो।

    झडप सुरू हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार भएको प्रहरीले दावी गरेको छ। एक जना प्रहरीको टाउकोमा चोट लागेको कारण न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ। आन्दोलनकारीतर्फ घाइते भएका झापाको शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ। आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ।

    एसपी पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा शेर्मालाई बारको ब्लेडले काटेको थियो। यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन्। उनीहरू तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ।

  • दार्चुलामा तुइनबाट झरेर एक जनाको मृत्यु

    दार्चुलामा तुइनबाट झरेर एक जनाको मृत्यु

    काठमाडौं । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा नदीमा खसेर मृत्यु भएको हो । शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् ।

    सिङ्दलसिंहकी आमा सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् ।

    सिङ्दलसिंहको शव भारतीय भू–भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेका छन् । उनकी श्रीमतीको भने चार वर्ष अघि मृत्यु भएको थियो ।

  • नेपालमा थप ७८ जनामा कोरोना देखियो, १ जनाको मृत्यु

    नेपालमा थप ७८ जनामा कोरोना देखियो, १ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।

  • कतारमा रहेका नेपालीले दूतावासबाटै श्रम स्वीकृति सेवा पाउने

    कतारमा रहेका नेपालीले दूतावासबाटै श्रम स्वीकृति सेवा पाउने

    काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलबार अर्थात् वैशाख १२ देखि श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावासबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै सो सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    कतार दूतावासको यो तयारीसँगै करार अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश आउनुपर्ने बाध्यता हटेको छ । सरकारले केही महिनाअगाडि मन्त्रीस्तरीय निर्णय गर्दै श्रम गन्तव्य देशबाट श्रम स्वीकृतिको व्यवस्था गर्ने घोषणा गरेको थियो । दूतावासबाट श्रम स्वीकृति बढीमा दुई पटकसम्म लिन पाइने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।

    पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस०मा आबद्ध भएर अनलाइनबाटै आवेदन दिन सकिने जनाइएको छ । श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउनुपर्ने हुन्छ । कनेक्ट आईपीएस, इसेवा, खल्तीलगायत एपबाट यस्तो रकम तिर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ । त्यसो त मलेसियामा रहेको दूतावासले पनि यही वैशाख १५ देखि पुनः श्रम स्वीकृति दिने तयारी गरिएको जनाएको छ ।

  • उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा

    उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।

  • एमबाप्पे चम्किएको खेलमा पीएसजी विजयी

    एमबाप्पे चम्किएको खेलमा पीएसजी विजयी

    काठमाडौं । केलियन एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले एन्गर्सलाई पराजित गरेको छ। लिग वान अन्तर्गत गएराती भएको खेलमा लिग लिडर पिएसजीले अंक तालिकाको पुछारमा रहेका एन्गर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा दुबै गोल फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गरेका हुन्।

    उनले खेलको नवौं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए। लगत्तै २६ औं मिनेटमा थप एक गोल गर्दै पहिलो हाफअघि नै टोलीको अग्रता दोब्बर बनाए। दोस्रो हाफको अन्त्यतिर एन्गर्सले सान्त्वना गोल फर्काएको थियो।

    एन्गर्सका लागि ८७ औं मिनेटमा सादा थिओबले गोल गरेपनि एन्गर्सको हार टरेन। जितसँगै अंकतालिकाको शीर्ष स्थानमा रहेको पिएसजीले ३२ खेलबाट ७५ अंक बनाएको छ। ३१ खेल खेलको मर्सेली ६४ अंकसहित दोस्रो स्थानमा छ।

  • समृद्धिको लक्ष्य हाँसिल गर्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री

    समृद्धिको लक्ष्य हाँसिल गर्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताएका छन्। इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएको बताए।

    उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको उल्लेख गरेका छन्। इद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएका बताए।

    ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन्,’ सन्देशमा उनले भनेका छन्, ‘मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन्।’

    प्रधानमन्त्री दाहालले इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले मुस्लिम समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरेका छन्।

  • आज इद, विश्वभर मनाइंदै

    आज इद, विश्वभर मनाइंदै

    काठमाडौं । रमदान अर्थात् रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।

    चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदको अवसरमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले शुभकामना दिएका छन् ।

    ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने(खुवाउने चलन छ ।

    यस पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा पनि छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।

    फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ । ईदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने गरेको छ ।

  • सिंहदरबार फोहोर तत्काल उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

    सिंहदरबार फोहोर तत्काल उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको हो ।

    अधिवक्ता पदमबहादुर श्रेष्ठले गएको हप्ता दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो।

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो । अधिवक्ता पदम बहदुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिद दर्ता गरेका थिए।

  • नेपालमा थप १०६ जनामा कोरोना पुष्टी

    नेपालमा थप १०६ जनामा कोरोना पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १३०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ५३७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ९० हजार ९७ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २६ पुगेको छ ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ४१४ जना पुगेको छ ।

  • काठमाडौंका सडकमा धुवाँ आउनेगरी सेकुवा पोल्न नपाइने

    काठमाडौंका सडकमा धुवाँ आउनेगरी सेकुवा पोल्न नपाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ ।

    महानगरपालिकाले सेकुवाको कारण वायु प्रदूषण भएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र वडाहरुमा पनि गुनासो समेत आउन थालेपछि नगर प्रहरी मार्फत पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाउन सुरु गरेको हो ।

    धुँवा निकाले सुरुमा सचेत गर्ने, त्यसपछि पनि नमाने कारबाही नै गर्ने जनाएको छ ।

  • जम्मु-कश्मीरमा सेनामाथि आक्रमण, कम्तिमा ५ को मृत्यु

    जम्मु-कश्मीरमा सेनामाथि आक्रमण, कम्तिमा ५ को मृत्यु

    काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो ।


    यो घटनामा राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । ती जवानहरु सो क्षेत्रमा चरमपन्थीहरुविरुद्ध चलाइएको अभियानमा तैनाथ थिए । आक्रमणमा एक जना गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।